सत्यता कसरी पछ्याउने (५) भाग दुई

सत्यता पछ्याउनुको पहिलो अभ्यास: त्याग्‍नु

आफू र परमेश्‍वरबीचका तगाराहरू र परमेश्‍वरप्रतिको शत्रुता त्याग्‍ने

१. परमेश्‍वरबारेका आफ्ना धारणा र कल्पनाहरू त्याग्‍ने: परमेश्‍वरको कामबारेका आफ्ना धारणा र कल्पनाहरू त्याग्‍ने

च. परमेश्वरको कामले मानिसहरूका जन्मजात अवस्थाहरू परिवर्तन गर्दैन; यसले तिनीहरूका भ्रष्ट स्वभावहरू परिवर्तन गर्ने उद्देश्य राख्छ

हामी “सत्यता कसरी पछ्याउने” भन्‍ने विषयमा सङ्गतिलाई जारी राखौँ। यस अवधिमा, हामी अझै पनि “सत्यता कसरी पछ्याउने” भित्र “त्याग्‍नु” सँग सम्बन्धित विषयवस्तुमा छलफल गरिरहेका छौँ, र हामी “आफू र परमेश्‍वरबीचका तगाराहरू र परमेश्‍वरप्रतिको शत्रुता त्याग्‍ने” भन्‍ने प्रमुख विषयबारे कुरा गरिरहेका छौँ। यस विषयको पहिलो पक्ष भनेको परमेश्‍वरबारे आफ्ना धारणा र कल्पनाहरूलाई त्याग्‍नु हो। यस पक्षमा, हामीले परमेश्‍वरको कामबारे मानिसहरूमा रहेका धारणा र कल्पनाहरूबारे छलफल गरेका छौँ, जसमा एउटा तुलनात्मक रूपमा जटिल विषय समावेश छ: जन्मजात अवस्था, मानवता, र भ्रष्ट स्वभावहरूबीचका भिन्‍नताहरू। यसमा धेरै विवरणहरू छन्। जब मानिसहरूले दैनिक जीवनमा समस्याहरूको सामना गर्छन्, तब तिनीहरू सधैँ अवधारणाहरूमा अलमलिन्छन् र कुनै विषय कुन वर्गमा पर्छ वा तिनलाई कसरी छुट्ट्याउने भनेर स्पष्ट रूपमा खुट्ट्याउन सक्दैनन्। उदाहरणका लागि, निश्‍चित प्रकटीकरणहरूका सम्बन्धमा, मानिसहरूले ती मानवतासँग सम्बन्धित छन् कि जन्मजात अवस्थासँग सम्बन्धित छन् भनेर छुट्ट्याउन सक्दैनन्। अनि केही अन्य प्रकटीकरणहरूका हकमा, मानिसहरूले ती भ्रष्ट स्वभावसँग सम्बन्धित समस्या हुन् कि मानवतासँग सम्बन्धित समस्या हुन् भनेर भन्‍न सक्दैनन्। मानिसहरूले यी कुराहरू छुट्ट्याउन सक्दैनन्। मानिसहरूले प्रायजसो जन्मजात अवस्थाका निश्‍चित समस्या र त्रुटिहरूलाई भ्रष्ट स्वभावका रूपमा लिन्छन्, वा मानवताका निश्‍चित कमीकमजोरी र समस्याहरूलाई भ्रष्ट स्वभावका रूपमा लिन्छन्। कहिलेकाहीँ, यो कुनै भ्रष्ट स्वभावको प्रकटीकरण हुँदा समेत, तिनीहरू बरु यसलाई परिवर्तन हुन नसक्ने कुनै जन्मजात अवस्थाको प्रकटीकरणका रूपमा लिन्छन्। त्यसकारण, मानिसहरूले प्रायजसो परमेश्‍वरमा विश्‍वास गर्ने प्रक्रियाको दौरान जन्मजात अवस्था, मानवता, र भ्रष्ट स्वभावका विषयहरूका बारेमा धेरै अस्पष्ट महसुस गर्छन्, र ती कुरालाई छुट्ट्याउन सक्दैनन्। पछिल्लो पटक, हामीले यसको एक भागमा सङ्गति गर्‍यौँ र केही उदाहरणहरू पनि दियौँ, तर मलाई त्यो विस्तृत थिएन जस्तो लाग्छ। आज, हामी यी तीन वर्गभित्रका विषयहरूलाई लिनेछौँ र तिनमा अझै विशेष रूपमा सङ्गति गर्नेछौँ। म केही खास प्रकटीकरण र उदाहरणहरूबारे कुरा गर्नेछु, र त्यसपछि तिमीहरूले ती कुन वर्गमा पर्छन् भनेर खुट्ट्याउनेछौ: जन्मजात अवस्था, मानवता, कि भ्रष्ट स्वभाव। यदि तिमीहरूले तिनलाई खुट्ट्याउन सकेनौ भने, हामी तिनलाई सँगै हेर्नेछौँ। कस्तो लाग्यो? (राम्रो।) पछिल्लो पटक, हामीले जन्मजात अवस्थाबारे अलिक बढी सङ्गति गर्‍यौँ, त्यसकारण यस सम्बन्धमा तिमीहरूको खुट्ट्याउने क्षमता अवश्य नै केही स्पष्ट छ। तर, अझै पनि कतिपय यस्ता कुरा छन् जुन तुलनात्मक रूपमा सीमारेखामा वा मानवताभित्रका पक्षहरू जस्तै छन्, र मानिसहरू अझै पनि तिनलाई जन्मजात अवस्थाअन्तर्गत वर्गीकृत गर्ने कि मानवताअन्तर्गत भनेर छुट्ट्याउन सक्दैनन्। म केही प्रकटीकरण वा केही व्यवहार र कार्यहरू प्रस्तुत गर्नेछु, र त्यसपछि तिमीहरूले ती कुन पक्षअन्तर्गत वर्गीकृत गरिनुपर्छ भनेर भन्‍नेछौ। यसरी सङ्गति गर्नुको फाइदा के हो? जब कुनै प्रकटीकरण कुन पक्षमा पर्छ भनेर तँलाई थाहा हुन्छ, तब तैँले त्यसलाई कसरी लिने र त्यसलाई कसरी सम्हाल्ने भनेर थाहा पाउनेछस्।

६. जन्मजात अवस्थाहरू, मानवता र भ्रष्ट स्वभावहरूका विभिन्न प्रकटीकरण

कामकुरा गर्ने लगनशीलता र अल्छीपना

हामी पहिलो प्रकटीकरणबाट सुरु गरौँ: कामकुराहरू लगनशीलताका साथ गर्नु, अर्थात् व्यक्ति धेरै मेहनती हुनु। यो कुन पक्षअन्तर्गत पर्छ? (यो व्यक्तिको मानवताको एउटा प्रकटीकरण हो।) त्यसोभए, यो मानवताको गुण हो कि अवगुण हो? (मानवताको गुण हो।) धेरै लगनशील र मेहनती हुनु मानवताको गुण हो। सफासुग्घर र स्वच्छता मन पराउनु, र सरसफाइ कायम राख्‍नु—यो कस्तो प्रकारको प्रकटीकरण हो? (मानवताको गुण हो।) (यो राम्रो जीवनशैलीको बानी हो, यो व्यक्तिको जन्मजात अवस्थाअन्तर्गत पर्छ।) के यो जन्मजात अवस्था हो? के यो व्यक्तिको मानवताको गुण र सबल पक्ष होइन र? (हो।) भर्खरै कसैले यो जन्मजात अवस्था हो भन्यो; यो गलत हो। यसमा व्यक्तिको मानवता, साथै जिउने बानीबेहोराहरू समावेश हुन्छन्; अवश्य नै, यो मानवताको गुण र सबल पक्ष पनि हो। अर्को प्रकटीकरण: कतिपय मानिसहरू अल्छी हुन्छन्; तिनीहरूलाई आराम मन पर्छ र तिनीहरूले परिश्रमलाई घृणा गर्छन्, र तिनीहरूलाई काम गर्न मन पर्दैन। काम नगर्दा, तिनीहरूले निकै सहज महसुस गर्छन्, तर जब तिनीहरूले काम गर्न थाल्छन्, तब तिनीहरूको मनस्थिति खराब हुन्छ—तिनीहरू झिजो मान्‍ने, चिढिने, र रिसाउने गर्छन्। जब गर्नुपर्ने काम हुन्छ, तब तिनीहरूले सुस्त महसुस गर्छन्, तिनीहरूमा ऊर्जाको कमी हुन्छ, र तिनीहरू काम गर्न चाहँदैनन्। तर, जब खानपिन र रमाइलो गर्ने कुरा आउँछ, तब तिनीहरूसँग असीम ऊर्जा हुन्छ। अल्छीपना—यो कस्तो प्रकारको समस्या हो? (खराब मानवता।) कम्तीमा पनि, यो मानवताको अवगुण हो, मानवतामा रहेको एउटा त्रुटि र गम्भीर समस्या हो। यो अझै खराब मानवताको स्तरमा पुगेको हुँदैन। यदि त्यस्ता मानिसहरूले अरूमाथि हुकुम चलाउन र मानिसहरूबाट फाइदा लिन मन पराउँछन्, र आफूले कुनै काम नगरी अरूलाई काम गर्न लगाउँछन् भने, यो कस्तो प्रकारको समस्या हो? (खराब मानवता।) जब तिनीहरूलाई केही काम गर्न भनिन्छ, तब तिनीहरूले त्यसबाट पन्छिन सबै किसिमका कारण र बहानाहरू खोज्छन्; तिनीहरूले पटक्‍कै काम गर्न चाहँदैनन्। तिनीहरूले आफ्ना अभिप्राय खुलस्त रूपमा बताउँदैनन् बरु विभिन्न विधि, जुक्ति, वा झूट र छलहरू प्रयोग गरेर अरूलाई काम गर्न लगाउने प्रयास गर्छन् र आफूचाहिँ फुर्सदको आनन्द लिन त्यसबाट पन्छिन्छन्। यो कस्तो प्रकारको समस्या हो? (भ्रष्ट स्वभाव, दुष्ट स्वभाव।) के यो भ्रष्ट स्वभाव मात्रै हो? अरूबाट फाइदा लिन र अरूमाथि हुकुम चलाउन मन पराउने मानिसहरूमा, पहिलो कुरा, खराब मानवता र नीच चरित्र हुन्छ। दोस्रो कुरा, अरूमाथि हुकुम चलाउने तिनीहरूका धूर्त तरिकाहरूले तिनीहरूको छली, दुष्ट स्वभावलाई खुलासा गर्छन्। अरूबाट फाइदा लिन र हुकुम चलाउन मन पराउने तिनीहरूका प्रकटीकरणहरूले तिनीहरूको मानवता खराब छ र तिनीहरूको भ्रष्ट स्वभाव गम्भीर—छली र दुष्ट—छ भन्‍ने दुवै कुरा देखाउँछन्। हेर् त, कतिपय प्रकटीकरणहरूले केवल खराब मानवता वा व्यक्तिको मानवतामा भएको निश्‍चित कमीकमजोरीलाई मात्रै प्रतिबिम्बित गर्छन्, र ती भ्रष्ट स्वभावको स्तरमा पुग्दैनन्। तर, कतिपय प्रकटीकरणहरू, नीच मानवताको जगमा आधारित भएर, सीधै भ्रष्ट स्वभावहरूसँग सम्बन्धित हुन्छन्। त्यसकारण, कुनै पनि प्रकटीकरण त्यति सरल हुँदैन। कतिपय प्रकटीकरणहरूमा एउटा मात्रै नभई दुइटा समस्या समावेश हुन्छन्।

देखावटीपन

देखावटीपन—यो कुन पक्षअन्तर्गत पर्छ? (यो मानवताको अवगुण हो।) सही हो, यो मानवताको अवगुण हो। यदि यो केवल आफूलाई सिँगार्ने, आफूलाई सुन्दर देखाउने, र सुन्दर, राम्रो, आकर्षक, वा जवान भएकोमा प्रशंसा पाउन मन पराउने—अर्थात् अरूले आफ्नो रूपरङ्गबारे उच्च धारणा वा सकारात्मक दृष्टिकोण राखून् भन्‍ने चाहना राख्ने—कुरा मात्रै हो भने, यो मानवताको समस्यामा मात्रै सीमित हुन्छ। मानवताको कस्तो समस्या? स्पष्ट रूपमा, यो गुण नभई अवगुण हो। कतिपय मानिसहरूले भन्‍न सक्छन्, “सबैले सुन्दरता मन पराउँछन्—यो कसरी अवगुण हुन सक्छ?” त्यसोभए म देखावटीपनलाई मानवताको अवगुण किन भन्छु त? देखावटीपन एउटा अवगुण भएकाले, यसका प्रकटीकरणहरू जायज हुँदैनन्। देखावटीपन भनेको उचित, गरिमामय, भक्त, वा गम्भीर देखिनु, र अरूमा आफ्‍नो गरिमा र शालीनताको छाप छोड्नु होइन; यो उचित देखिने स्तरमा हुँदैन, बरु यो उचित देखिनमा जायज ध्यान केन्द्रित गराउने कार्यभन्दा बढी अत्यधिक र गम्भीर हुन्छ। जब मानिसहरू देखावटी हुन्छन्, तब तिनीहरूले आफूलाई सिँगार्न र प्रदर्शन गर्नमा विशेष ध्यान दिन्छन्, र अरूलाई आफ्नो रूपमा ध्यान केन्द्रित गराउँछन्, यहाँसम्म कि केही निर्लज्ज समेत हुन्छन्—अर्को शब्दमा भन्दा, यी मानिसहरू धेरै मामलाहरूमा रूपरङ्गद्वारा प्रभावित र बन्धनमा परेका हुन्छन्। यो मानवताको अवगुण हो। उदाहरणका लागि, कतिपय मानिसहरूलाई मेकअप नगरी बाहिर जान लाज लाग्छ। तिनीहरूले अत्तर नछर्की अरूलाई भेट्न लाज मान्छन्। तिनीहरू सधैँ यिनै कुराहरूमा नै तल्लीन रहन्छन्, सधैँ अरूले तिनीहरूलाई उच्च ठानून् र मन पराऊन् भनेर आफूलाई अत्यधिक रूपमा सिँगार्न चाहन्छन्। यो अति नै देखावटी हुनु हो—यस बिन्दुमा, यो अवगुण बन्छ। यो अवगुण सामान्य मानवताको दायरा र माग गरिएको मानकभन्दा बाहिर गइसकेको हुन्छ। धेरै देखावटी हुनु मानवताको अवगुण हो। यस प्रकटीकरणसम्बन्धी हाम्रो छलफल यहीँ समाप्त हुन्छ।

चर्चामा आउन मन पराउनु

अर्को प्रकटीकरण हो, चर्चामा आउन मन पराउनु। यो कस्तो प्रकारको प्रकटीकरण हो? (यो व्यक्तिको मानवताको कमीकमजोरी हो; यो आफूलाई अगाडि धकेल्न मन पराउनु, आफूलाई प्रदर्शन गर्न मन पराउनु हो।) त्यसोभए, के यसभित्र भ्रष्ट स्वभाव हुन्छ? (हुन्छ, किनभने यदि कोही चर्चामा आउन मन पराउँछ भने, ऊ आफूलाई प्रदर्शन गर्न चाहन्छ, ऊ अरूभन्दा फरक देखिन चाहन्छ।) चर्चामा आउन मन पराउनु र सधैँ आफूलाई प्रदर्शन गर्न चाहनु—यो कस्तो प्रकारको समस्या हो? के यो तिनीहरूसँग अगुवाइ गर्ने सक्षमता भएकाले हो, कि तिनीहरूले सत्यता बुझ्ने अनि तिनीहरूसँग बोझको बोध हुने भएकाले हो? यदि तिनीहरूसँग बोझको बोध छ, कार्य सक्षमता छ, र तिनीहरू कुनै कामको जिम्मा लिन सक्छन् भने, यो चर्चामा आउन मन पराउनु होइन। त्यसोभए चर्चामा आउन मन पराउनु कस्तो प्रकारको समस्या हो? एउटा पक्षमा, यो व्यक्तिको मानवताको अवगुण हो। यस्ता मानिसहरू चर्चामा आउन मन पराउँछन्। तिनीहरू जहाँ गए पनि आफूलाई प्रदर्शन गर्न मन पराउँछन्, र अरूले आफूलाई देख्दैनन् कि भन्‍ने डर मान्छन्। तिनीहरू निकै देखावटी, अतिरञ्जित, र ठूलो स्वरमा बोल्ने समेत गर्छन्। जति धेरै मानिसहरू हुन्छन्, तिनीहरू त्यति नै धेरै बोल्न उत्सुक हुन्छन्, र सधैँ भीडमा आफ्नो स्थान बनाउन चाहन्छन्। चर्चामा आउन मन पराउनुलाई खराब मानवताको प्रकटीकरण मान्‍न सकिँदैन। यसमा व्यक्तिको चरित्र समावेश हुँदैन, र यो केवल मानवताको अवगुण, एक प्रकारको त्रुटि वा समस्या हो। म यसलाई मानवताको त्रुटि वा समस्या किन भन्छु? किनभने यो समझको कमी हुनुको प्रकटीकरण हो। यी मानिसहरू निरन्तर चर्चामा आउन खोज्छन्, तर के तिनीहरू साँच्चै कामको जिम्मा लिन सक्षम हुन्छन्? तिनीहरू किन सधैँ चर्चामा आउन चाहन्छन्? के यो तिनीहरू महत्त्वाकाङ्क्षा र चाहनाद्वारा प्रेरित भएकाले हो? के यो तिनीहरूलाई हैसियत पाउन, उच्च पारिन, र आफूलाई ध्यानको केन्द्र बनाउन मन परेकाले हो? के यो तिनीहरूलाई मानिसहरूमाझ प्रतिष्ठा पाउन, अरूभन्दा श्रेष्ठ हुन, र अरूलाई अगुवाइ गर्न मन परेकाले हो? (हो।) के यस्तो व्यक्तिको मानवता खुलासा भएको हुँदैन र? यो कस्तो प्रकारको मानवता हो? यसमा समझको कमी हुन्छ। के यो मानवताको अवगुण होइन र? (हो।) एउटा हिसाबमा, यो मानवताको अवगुण हो। अर्को हिसाबमा, यस्तो व्यक्तिले कहिलेकाहीँ मात्रै आफूलाई अगाडि धकेल्ने वा प्रदर्शन गर्ने गर्दैन; बरु, तिनीहरू महत्त्वाकाङ्क्षा र चाहनाद्वारा प्रेरित हुने, र तिनीहरूले हैसियत, शक्ति, र अन्तिम निर्णय गर्ने अधिकार मन पराउने हुनाले, तिनीहरू चर्चामा आउन मन पराउँछन्। त्यसोभए, के यसमा भ्रष्ट स्वभाव पनि समावेश हुँदैन र? (हुन्छ।) यो कस्तो प्रकारको भ्रष्ट स्वभाव हो? (अहङ्कारी।) यो अहङ्कार हो। तिनीहरूलाई चर्चामा आउने अधिकार केले दिन्छ? तिनीहरूलाई अन्तिम निर्णय गर्ने र अरूलाई अगुवाइ गर्ने अधिकार केले दिन्छ? कतिपय मानिसहरूले यसो भन्छन्, “मैले सत्यता बुझेको छु र मसँग बोझको बोध छ।” तँसँग बोझको बोध भए पनि, तँ वास्तविक काम गर्न सक्छस् कि सक्दैनस् भनेर हेर्नु आवश्यक छ। तँसँग बोझको बोध छ र तँ यो काम गर्न चाहन्छस् भन्दैमा, तँ वास्तवमा यो राम्ररी गर्न सक्छस् भन्‍ने हुँदैन। यी दुई कुराबीच कुनै तार्किक सम्बन्ध छैन। यो काम गर्न चाहनु र गर्न मन पराउनुको अर्थ तँ यो गर्न सक्छस् वा तँ अगुवाइको काममा सक्षम छस् भन्‍ने हुँदैन। तँ चर्चामा आउन मन पराउँछस्, तँलाई हैसियत मन पर्छ—के यसको अर्थ सबैले तँलाई चुन्‍नैपर्छ भन्‍ने हुन्छ? मण्डलीका अगुवाहरू चुन्‍ने सिद्धान्तहरू के हुन्? (यो कुरा व्यक्तिसँग कार्य सक्षमता छ कि छैन, ऊ सत्यता पछ्याउने व्यक्ति हो कि होइन, र ऊ सच्चा व्यक्ति हो कि होइन भन्‍ने कुरामा आधारित हुनैपर्छ।) कम्तीमा पनि, तँ सच्चा व्यक्ति हुनैपर्छ। तँसँग आत्मिक बुझाइ हुनैपर्छ, सत्यता बुझ्ने सामर्थ्य हुनैपर्छ, र कार्य सक्षमता पनि हुनैपर्छ। त्यसपछि मात्रै तैँले संवर्धन गरिने सर्तहरू पूरा गर्छस् र तँ संवर्धनका लागि उम्मेदवार बन्छस्। तैँले यी सबै सर्तहरू पूरा गर्नैपर्छ। यदि तैँले यीमध्ये कुनै पनि सर्त पूरा गर्दैनस् भने, के तँ चर्चामा आउन मन पराउँछस् भन्दैमा सबैले तँलाई अगुवाका रूपमा चुन्नेछन्? त्यस्तो कहिल्यै हुँदैनथियो। त्यसोभए यदि तँ सधैँ चर्चामा आउन मन पराउँछस्, सधैँ आफूलाई प्रदर्शन गर्न मन पराउँछस् भने, के यो अहङ्कार होइन र? (हो।) यो अहङ्कार र आफूलाई बढी आँक्नु हो। मानवताको दृष्टिकोणबाट हेर्दा, अहङ्कार भनेको समझको कमी हो। सत्यताद्वारा नापियो भने, यो भ्रष्ट स्वभाव हो, र यो शैतानी स्वभाव हो। चर्चामा आउन मन पराउनुको प्रकटीकरण मानवताको अवगुण र भ्रष्ट स्वभाव दुवै हो, जसमा दुइटा विषय पनि समावेश हुन्छन्। चर्चामा आउन मन पराउनु कमजोर वा खराब मानवता भएको स्तरमा नपुगे पनि, यो समझको कमी हुनुको विशिष्ट प्रकटीकरण र अहङ्कारी स्वभावको प्रकटीकरण पनि हो। यदि कुनै व्यक्ति चर्चामा आउन मात्र मन पराउँछ, र ऊ मानिसहरूलाई दमन गर्दैन वा सास्ती दिँदैन, र ऊ कलह छर्न वा गुटबन्दी गर्न दुष्ट मानिसहरूका उपायहरू प्रयोग गर्दैन भने, यो उसको मानवताको अवगुण मात्रै हो। तर, यदि उसले दुष्ट मानिसहरू वा ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरू प्रकट गर्छ, र ऊ केही दुष्ट कार्यहरूमा पनि संलग्न हुन्छ भने, मानवताको यो अवगुण बढेर जान्छ—यो के बन्छ? खराब, भयानक र दुष्ट मानवता—यी पक्षहरू यस्तो मानवतालाई चित्रण गर्न प्रयोग गरिन्छन्। यसका साथै, त्यस्ता मानिसहरूले प्रकट गर्ने भ्रष्ट स्वभावका प्रकटीकरणहरूमा अहङ्कार र क्रूरता दुवै समावेश हुन्छन्; अवश्य नै, अझै धेरै विशिष्ट प्रकटीकरणहरू पनि हुन्छन्। त्यसकारण, त्यस्ता मानिसले यी भ्रष्ट स्वभावहरू कुन हदसम्म प्रकट गर्छन् भन्‍ने आधारमा तिनीहरूको मानवतालाई चित्रण गरिनुपर्छ। यदि तिनीहरू चर्चामा आउन मात्र मन पराउँछन्, र तिनीहरू दुष्ट मानवताका प्रकटीकरणहरू देखाउँदैनन्—मानिसहरूलाई दमन गर्दैनन् वा सास्ती दिँदैनन्, गोप्य रूपमा गुटबन्दी र स्वतन्त्र राज्य स्थापना गर्दैनन्, वा मानिसहरूलाई बहकाउन र तिनीहरूलाई आज्ञापालन गराउन अपरम्परागत विधिहरू प्रयोग गर्दैनन् भने—यसरी चर्चामा आउन मन पराउनु मानवताको अवगुण मात्रै हो। तर एक पटक त्यस्ता दुष्ट कार्यहरू गरिसकेपछि, यो मानवताको अवगुण मात्रै रहँदैन। त्यसोभए यो कस्तो प्रकारको समस्या हो? (यो खराब, भयानक र दुष्ट मानवता हो।) हो ठ्याक्कै। त्यसउप्रान्त यो मानवताको अवगुण मात्रै हुँदैन, बरु, यो दुष्ट मानवता हुन्छ। चर्चामा आउन मन पराउनु मानवताको अवगुण मात्रै हो। यदि यस्तो व्यक्तिसँग आत्मिक बुझाइ, निश्‍चित क्षमता, र कार्य सक्षमता छ भने, के तिमीहरू उसलाई अगुवाका रूपमा चुन्छौ? (चुन्छौँ।) तिमीहरूले उसलाई किन चुन्छौ? (किनभने ऊ दुष्ट व्यक्ति होइन।) उसले चर्चामा आउन मन पराउनु भ्रष्ट स्वभावको प्रकटीकरण मात्रै हो। ऊ चर्चामा आउन मन पराउनुमा दुष्टताको कुनै तत्त्व हुँदैन, र ऊ दुष्ट व्यक्ति होइन। यदि उसले अगुवा हुनका लागि चाहिने सर्तहरू पूरा गर्छ भने, उसलाई चुन्‍न र थप संवर्धन गर्न सकिन्छ। चर्चामा आउन मन पराउनु मानवतामा कमजोर समझ हुनुको प्रकटीकरण भए पनि, ऊ काम गर्न सक्छ, ऊसँग कार्य सक्षमता छ, आत्मिक बुझाइ छ, सत्यता बुझ्ने सामर्थ्य छ, र यसका साथै ऊ केही काम गर्न र सुपरिवेक्षक बन्‍न इच्छुक छ भन्‍ने कुरालाई ध्यानमा राख्दा, उसलाई चुन्‍न सकिन्छ। उसलाई किन चुन्‍न सकिन्छ? किनभने उसको मानवता मानकअनुरूप छ, र उसको क्षमता पनि त्यस्तै छ। यदि ऊ दुष्ट व्यक्ति वा ख्रीष्टविरोधी होइन, ऊ मानिसहरूलाई सास्ती दिँदैन वा दमन गर्दैन, र ऊ स्वतन्त्र राज्य स्थापना गर्ने प्रयास गर्दैन भने, उसलाई अगुवाका रूपमा चुन्‍न सकिन्छ। तर यदि ऊ चर्चामा आउन मन पराउनुमा दुष्ट मानवताका तत्त्वहरू छन् भने, के यस्तो व्यक्तिलाई चुन्नु हुन्छ? (हुँदैन।) उसलाई अगुवाका रूपमा चुन्‍नुअघि, उसले पहिले नै कुटिल उपायहरू प्रयोग गर्न, गोप्य रूपमा गुटबन्दी गर्न, र मतदानमा धाँधली गर्न थाल्छ। आफ्नो लक्ष्य हासिल गर्नका लागि, उसले गोप्य चालबाजीहरू गर्छ, र ऊ सत्यता पछ्याउनमा तुलनात्मक रूपमा इमानदार हुने र आफ्नो कर्तव्य पूरा गर्ने केही असल मानिसहरूका बारेमा अफवाहहरू रच्न र नराम्रो बोल्न समेत सक्षम हुन्छ। उसले सत्यता र मानव नैतिकताको विरुद्धमा जाने धेरै कामहरू गर्छ, र केही दुष्ट कार्यहरू गर्छ। के तिमीहरूले यस्तो व्यक्तिलाई अगुवाका रूपमा चुन्‍न सक्छौ? (सक्दैनौँ।) किन सक्दैनौ? (किनभने उसको मानवता दुष्ट हुन्छ।) तोकेरै भन्दा, यो ऊ दुष्ट व्यक्ति भएकाले हो; उसले मानिसहरूलाई प्रयोग गर्ने सम्बन्धी परमेश्‍वरको घरका सिद्धान्तहरू पूरा गर्दैन। परमेश्‍वरको घरले दुष्ट मानिसहरूलाई प्रयोग गर्दैन। यदि परमेश्‍वरका चुनिएका मानिसहरू दुष्ट मानिसहरूको हातमा परे भने परिणामहरू के हुन्छन्? एकातिर, तिनीहरूलाई सास्ती दिइनेछ र दमन गरिनेछ। अर्कोतिर, मण्डली खुकुलो बालुवाझैँ छरिनेछ र अव्यवस्थित बन्‍नेछ। यस्तो अवस्थामा, तैँले आफ्नो कर्तव्य पूरा गरिरहेको हुनेछैनस्, बरु दुष्ट मानिसहरूको सेवा गरिरहेको, दुष्ट मानिसहरूद्वारा नियन्त्रित भइरहेको, र दुष्ट मानिसहरूलाई पछ्याइरहेको हुनेछस्। यसका परिणामहरू के हुनेछन्? मुक्ति पाउने तेरो आशा बर्बाद हुनेछ। अब बुझिस्? (बुझेँ।) त्यसोभए, यदि दुई जना मानिस दुवै चर्चामा आउन मन पराउँछन् र दुवैमा अहङ्कारी भ्रष्ट स्वभाव छ भने, तिमीहरू कुन आधारमा एक जनालाई अगुवा चुन्नेछौ? (उसको मानवताका आधारमा।) ठीक हो, तिनीहरूको मानवताका आधारमा। अहङ्कार, छलीपन, र हठीपन जस्ता विभिन्न भ्रष्ट स्वभावका प्रकटीकरणहरू विश्वव्यापी छन्; यस सम्बन्धमा सबै जना उस्तै हुन्छन्। त्यसोभए, भिन्‍नता कहाँ हुन्छ त? मानिसहरूको मानवतामा। सतही रूपमा, कतिपय मानिसहरू बढी अनियन्त्रित हुन्छन्, जबकि कतिपय बढी रूढिवादी हुन्छन्; कतिपय तुलनात्मक रूपमा अन्योलमा परेका र हतार गर्ने हुन्छन्, जबकि अरू तुलनात्मक रूपमा चतुर र सावधान हुन्छन्। कतिपय बढी बहिर्मुखी र हँसिला हुन्छन्, जबकि अरू बढी अन्तर्मुखी हुन्छन्। मानिसहरूका व्यक्तित्वका बाहिरी प्रकटीकरणहरू फरक-फरक हुन्छन्, र तिनीहरूको मानवता सार पनि निश्‍चय नै उस्तै हुँदैन। कतिपय मानिसहरूसँग विवेक र नैतिकताको सिमाना हुन्छ, जबकि अरूसँग हुँदैन। कतिपय त दुष्ट, निर्दयी, र क्रूर समेत हुन्छन्—तिनीहरूले कुनै सङ्कोच नमानी हत्या गर्छन् र मानिसहरूलाई हड्डीसहित निलिदिन्छन्। तिनीहरू जे पनि गर्न सक्षम हुन्छन्। त्यसकारण, दुष्ट मानिसहरूका लागि, अरूलाई सास्ती दिनु त केही पनि होइन। यदि तिमीहरू दुष्ट मानिसहरूको हातमा पर्‍यौ भने, तिमीहरूका राम्रा दिनहरू समाप्त हुनेछन्, त्यसपछि तिमीहरू अन्धकारमा जिउनेछौ। यदि कोही दुष्ट मानिसहरूको हातमा पर्यो भने, यो ठूलो रातो अजिङ्गरको हातमा पर्नु जस्तै हो। के तिमीहरूले यो अनुभव गरेका छौ? (छौँ।) दुष्ट मानिसहरूको मानवताको हिसाबमा सबैभन्दा प्रमुख र स्पष्ट प्रकटीकरणहरू दुष्टता, क्रूरता, निर्दयता, नैतिक सिमानाको अभाव, र विवेकको कुनै मानक नहुनु हुन्। परमेश्‍वर र सत्यताप्रतिको तिनीहरूको मनोवृत्तिको हिसाबमा हेर्दा, तिनीहरूसँग परमेश्‍वरको डर मान्‍ने हृदय पटक्कै हुँदैन। तिनीहरू दुस्साहसी र असावधान हुन्छन्, जे पनि गर्ने आँट गर्छन्, र तिनीहरूमा विवेकको कुनै दायरा हुँदैन। सत्यताको कुरा गर्नुपर्दा, तिनीहरू यसलाई अलिकति पनि स्वीकार गर्दैनन्। सतही रूपमा, तिनीहरूले आफ्नो कर्तव्यमा मेहनत गर्न र कष्ट सहन सक्छन्, र तिनीहरूले दान पनि दिन सक्छन्। तर, तिनीहरूले परमेश्‍वर र सत्यतासँग व्यवहार गर्ने तरिकामा अलिकति पनि डर मान्दैनन्। जब परमेश्‍वरको गवाही दिने, देहधारी परमेश्‍वरको गवाही दिने, परमेश्‍वरको पहिचान र सारको गवाही दिने, परमेश्‍वरका कार्यहरूको गवाही दिने, वा परमेश्‍वरले मानवजातिका लागि कसरी मूल्य चुकाउनुहुन्छ र परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन आफ्नो रगत-पसिना र आफ्नो जीवन कसरी प्रयोग गर्नुहुन्छ भन्‍ने कुराको गवाही दिने कुरा आउँछ, तब तिनीहरूसँग भन्‍नलाई केही हुँदैन र तिनीहरू बोल्न चाहँदैनन्। तिनीहरू हृदयमा परमेश्‍वरलाई अपहेलना गर्छन्। तर जब तिनीहरूले आफ्नो गवाही दिन्छन्, तब तिनीहरूसँग भन्‍ने कुरा धेरै हुन्छ र तिनीहरू अनवरत रूपमा बोल्छन्। चर्चामा आउन मन पराउनु मानवताको अवगुण मात्रै हो। यदि त्यस्ता मानिसहरू दुष्टता गर्दैनन्, र तिनीहरूसँग विवेक र नैतिकताको सिमाना छ भने, तिनीहरूले केही सत्यता बुझ्न सक्ने सर्तमा, तिनीहरूले सामान्यतया आफ्नो विवेकको सिमानाअनुसार मामलाहरूलाई नाप्न सक्छन्; तिनीहरूको विवेकले काम गर्छ। उदाहरणका लागि, यदि तिनीहरूले विपरीत लिङ्गी कसैलाई मन पराउँछन् र तिनीहरूसँग नजिक हुन चाहन्छन् भने, तिनीहरूको मानवतामा विवेकको सिमाना र निष्ठा र लाजको बोध हुने हुनाले, तिनीहरूले स्वाभाविक रूपमा आफूलाई रोक्नेछन्। तर, दुष्ट मानिसहरूले त्यस्ता कुराहरूको वास्ता गर्दैनन्। यदि तिनीहरूले कसैलाई मन पराए भने, तिनीहरू जबरजस्ती उनीहरूसँग नजिक हुनेछन्; यदि अर्को पक्षले सहमति दिएन भने, तिनीहरूले उनीहरूलाई सास्ती दिने, वशमा पार्ने, वा उनीहरूका लागि समस्या खडा गर्ने सबै किसिमका उपायहरू रच्नेछन्। विवेकको सिमाना भएका मानिसहरू आफ्नो विवेकद्वारा रोकिन्छन्; तिनीहरूसँग निष्ठा र लाजको बोध हुने हुनाले, तिनीहरूले नगर्ने निश्‍चित अपराधहरू र ननाघ्ने निश्‍चित सीमाहरू हुन्छन्। यदि तिनीहरूले सत्यता बुझ्छन्, र त्यसप्रतिको तिनीहरूको स्वीकार तुलनात्मक रूपमा गहिरो र बलियो छ भने, तिनीहरूसँग परमेश्‍वरको डर मान्‍ने हृदय हुनेछ। तिनीहरू परमेश्‍वरदेखि भयभीत हुने र तिनीहरूले उहाँको डर मान्ने हुनाले, सामान्यतया निश्‍चित सीमाहरू नाघ्दैनन्। त्यसकारण, विवेकको सिमाना भएको कसैलाई अगुवाका रूपमा पाउनु तिमीहरूका लागि धेरै लाभदायक हुन्छ। कम्तीमा पनि, तिनीहरूले तँलाई चोट पुऱ्याउनेछैनन्, तँलाई बाधा दिने वा हानि गर्ने कुरा त परै जाओस्, र तिनीहरूले तिमीहरूलाई केही प्रबन्ध र मद्दत पनि प्रदान गर्न सक्छन्। तर, दुष्ट मानिसहरू फरक हुन्छन्। तिनीहरूले तँलाई बहकाउन शब्दहरू मात्रै प्रयोग गर्दैनन्; तिनीहरूले तँलाई सास्ती दिन, दमन गर्न, र कुल्चन विभिन्न विधिहरू पनि प्रयोग गर्छन्। यदि तैँले तिनीहरूको पालन गरिनस्, तिनीहरूको कुरा सुनिनस्, वा कुनै कुरामा तिनीहरूसँग बहस गरिस् भने, तिनीहरूले तँलाई आक्रमण गर्ने मात्रै नभई तँलाई दोषी ठहराउनेछन्, लज्जित पार्नेछन्, र वशमा पार्न समेत खोज्नेछन्। यसरी, तँ पूर्ण रूपमा तिनीहरूको हातमा पर्नेछस्। साधारण भ्रष्ट मानिसहरू र दुष्ट मानिसहरूबीचको सबैभन्दा ठूलो भिन्‍नता तिनीहरूको मानवता असल छ कि दुष्ट छ, र तिनीहरूको विवेकले काम गर्छ कि गर्दैन भन्‍नेमा हुन्छ। दुष्ट मानिसहरूसँग विवेक हुँदैन, त्यसकारण तिनीहरूसँग निष्ठा वा लाजको बोध पनि हुँदैन र तिनीहरू कुनै पनि प्रकारको खराब काम गर्न सक्षम हुन्छन्। साधारण भ्रष्ट मानिसहरूको मानवतामा पनि अवगुण र त्रुटिहरू हुने भए तापनि, तिनीहरू विवेक र समझद्वारा रोकिने हुनाले, तिनीहरूले पार गर्न नसक्‍ने धेरै प्रकारका सीमाहरू हुन्छन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास नगरे पनि, तिनीहरूले निश्‍चित स्पष्ट दुष्टताहरू गर्नेछैनन्; उदाहरणका लागि, तिनीहरू यौनिक व्यभिचार वा चोरी जस्ता कार्यहरू गर्न असक्षम हुन्छन्। सोच् त: तैँले परमेश्‍वरमा विश्‍वास गर्नुअघि, तँ संसारमा हुँदा, यदि कसैले तँलाई अनुमति दियो भने के तँ व्यभिचारमा संलग्न हुन सक्थिस्? व्यभिचारले केलाई जनाउँछ? यसले धेरै यौन साथीहरू हुनु, यहाँसम्म कि एकै समयमा विपरीत लिङ्गका धेरै मानिसहरूसँग संलग्न हुनु, तर कुनै गल्तीको बोध वा भित्री दोष महसुस नगर्नुलाई जनाउँछ। के तिमीहरूले यस्तो काम गर्न सक्थ्यौ? (सक्दैनथ्यौँ।) ती व्यभिचारी महिला, वेश्या, र लम्पटहरूलाई हेर—तिनीहरूले त्यस्ता कामहरू गर्न सक्छन्। के तिमीहरू यी मानिसहरूभन्दा फरक छैनौ र? (छौँ।) भिन्‍नता कहाँ छ? यो व्यक्तिसँग मानवताको विवेक र समझ छ कि छैन भन्‍नेमा छ। विवेक र समझले तँलाई निष्ठा र लाजको बोध दिन्छ, त्यसकारण तैँले व्यभिचारका कार्यहरू गर्नेछैनस् र तँसँग एउटा मानक हुन्छ: “त्यसरी आफूलाई आचरणमा ढाल्नु राम्रो होइन; म त्यस्तो प्रकारको व्यक्ति बन्‍नेछैनँ। म आफू र ती मानिसहरूबीच स्पष्ट रेखा कोर्नेछु। मलाई कुटेर मारिए पनि, म व्यभिचारमा संलग्न हुनेछैनँ।” यदि कतिपय मानिसहरू त्यस्तो स्थितिमा परे भने, तिनीहरूले भन्‍नेछन्, “म बरु मर्न तयार छु तर त्यस्तो प्रकारको व्यक्ति बन्‍न तयार छैनँ!” कतिपय मानिसहरूले अपमान र अन्याय सहन्छन्, मन नलागी नलागी त्यसलाई स्विकार्छन्, तर तिनीहरू हृदयमा इच्छुक हुँदैनन् र त्यो परिस्थितिबाट बाहिर निस्कन कुनै पनि अवसरको फाइदा उठाउँछन्। तर, अरूले भने, अरूले रोक्न खोजे पनि, आफै त्यस्तो परिवेश खोज्नेछन्। तिनीहरूले त्यसबाट पैसा नकमाए पनि यस्तो काम गर्छन्—तिनीहरू केवल व्यभिचारमा संलग्न हुन रमाउँछन्, र यो लाभदायक छ कि छैन भन्‍ने कुराको वास्ता गर्दैनन्। के यी दुई प्रकारका मानिसहरू फरक छैनन् र? (छन्।) मानिसहरूको मानवताबीचको भिन्‍नता ठ्याक्कै यही नै हो। मानवतामा भएको भिन्‍नता निकै महत्त्वपूर्ण छ। यदि तिमीहरूले विभिन्न प्रकारका मानिसहरूमाझ मानवताका प्रकटीकरणहरूमा भएका भिन्‍नताहरूलाई छर्लङ्ग देख्‍न सक्यौ भने, तिमीहरूले मानिसहरूलाई खुट्ट्याउन सक्‍नेछौ। त्यसकारण, कुनै व्यक्तिलाई पूर्ण रूपमा उसको भ्रष्ट स्वभाव वा छोटो समयका लागि वा एउटै घटनामा भएको उसको प्रकटीकरण र प्रकाशका आधारमा मूल्याङ्कन गर्न सकिँदैन। बरु, ऊ वास्तवमा कस्तो प्रकारको व्यक्ति हो भन्‍ने कुरा उसको मानवता र उसको प्रकृति सारका आधारमा मूल्याङ्कन गरिनुपर्छ। चर्चामा आउन मन पराउने प्रकटीकरणबारे हाम्रो छलफल यहीँ समाप्त हुन्छ।

विधिपूर्वक, मानसिक रूपरेखाका साथ, र व्यवस्थित रूपमा कामकुरा गर्नु

हामी अर्को प्रकटीकरणतर्फ जाऔँ। कतिपय मानिसहरू विधिपूर्वक, मानसिक रूपरेखाका साथ, र व्यवस्थित रूपमा काम गर्छन्; तिनीहरूले सोचविचार गरेर पहिले के गर्ने र पछि के गर्ने भनेर निर्धारण गर्न सक्छन्। तिनीहरूले हतारमा काम गर्नुको सट्टा चरणहरू पछ्याउँछन् र योजनाहरू बनाउँछन्। तिनीहरूले जे गरे पनि, तिनीहरूले चरणहरू पछ्याउँछन्, यहाँसम्म कि लुगा धुने जस्तो सबैभन्दा सरल कामका लागि पनि त्यसो गर्छन्। तिनीहरू लुगालाई रङ्गअनुसार छुट्टाउँछन्, गाढा र हल्का रङ्गका लुगाहरूलाई छुट्टाछुट्टै धुन्छन्; तिनीहरू धुनुपर्ने लुगा कति छ भन्‍ने आधारमा पानी र डिटर्जेन्ट कति प्रयोग गर्ने भन्ने कुरा जान्दछन्, र खेर जान दिँदैनन्—यी सबै सुनियोजित, व्यवस्थित, सूक्ष्म, र किफायती हुन्छन्। यो कस्तो प्रकारको प्रकटीकरण हो? (यो मानवताको गुण र सबल पक्ष हो।) त्यसोभए के यो गुणले यस्तो व्यक्तिसँग असल मानवता छ भन्‍ने कुराको प्रतिनिधित्व गर्न सक्छ? (सक्दैन।) यो तिनीहरूको मानवताको गुण र सबल पक्ष मात्रै हो। यो व्यक्तिको चरित्र वा आत्मआचरणका सिद्धान्तहरू समावेश हुने स्तरमा पुग्दैन, न त यसमा भ्रष्ट स्वभाव नै समावेश हुन्छ। यो केवल जीवनशैलीको बानी वा जीवनप्रतिको मनोवृत्ति हो। कतिपय मानिसहरू मानसिक रूपरेखाका साथ, योजना बनाएर काम गर्छन्; तिनीहरूले ढाँचाहरू बोध गर्न सक्छन्, र जब काम सकिन्छ, तब अरूले त्यसलाई सन्तोषजनक पाउँछन्। यी राम्रो क्षमता भएका मानिसहरू हुन्। तर कमजोर क्षमता भएकाहरूका लागि, कुरा फरक हुन्छ—तिनीहरूले सबै कुरा अव्यवस्थित र अराजक रूपमा, मानसिक रूपरेखा वा योजनाविना, पूर्ण रूपमा जथाभाबी तरिकाले गर्छन्, जुन पूर्ण रूपमा अस्तव्यस्ततामा टुङ्गिन्छ। यो कस्तो प्रकारको समस्या हो? (मानवताको अवगुण।) मानवताको यो अवगुणमा के समावेश हुन्छ? (अत्यन्तै कमजोर क्षमता।) यस्ता अत्यन्तै कमजोर क्षमता भएका मानिसहरूलाई बस दिमाग नभएको भनिन्छ। जब म कतिपय मानिसहरूलाई “के तँ सुँगुर-दिमाग भएको होस्? यस्तो सरल कुरा पनि कसरी बुझ्न सक्दैनस्?” भनेर भन्छु, तब तिनीहरूले “मसँग दिमाग छैन” भनेर जवाफ दिन्छन्। “दिमाग नभएको” हुनुको अर्थ के हो? यसको अर्थ कुनै क्षमता नहुनु वा कमजोर क्षमता हुनु हो—यो क्षमताको समस्या हो। यो समस्या के अन्तर्गत आउँछ? के यो जन्मजात अवस्था होइन र? (हो।) यदि कोही जन्मजात रूपमै दिमागहीन छ भने, के उसलाई तालिम दिनुको कुनै अर्थ हुन्छ? यस्ता मानिसहरूले योजना वा मानसिक रूपरेखाविना नै सबै कुरा गर्छन्। एउटा सरल कामले तिनीहरूको पूरै दिन लिन्छ, र महत्त्वपूर्ण मामलाहरूमा ढिलाइ हुन्छ। यो कुनै क्षमता नहुनु वा कमजोर क्षमता हुनु हो। गैरविश्‍वासीहरूले प्रायजसो खराब मानवता भएका मानिसहरूलाई कुनै क्षमता नभएको भनेर वर्णन गर्छन्। उदाहरणका लागि, जब कसैले अर्को व्यक्तिले फोहोर फ्याँकिरहेको, फोहोरी भइरहेको, वा सार्वजनिक स्थानमा ठूलो स्वरमा चिच्याइरहेको, र अध्ययन गरिरहेका वा आराम गरिरहेका अरूलाई बाधा दिइरहेको देख्छ, तब तिनीहरूले त्यो व्यक्तिसँग कुनै क्षमता छैन भनेर भन्‍न सक्छन्। मेरा लागि, यो व्यवहारका मान्यताहरू नबुझ्नु र मानवताको कमी हुनु हो—यसलाई कुनै क्षमता नहुनु भनेर कसरी भन्‍न सकिन्छ? के “कुनै क्षमता नहुनु” ले यसलाई जनाउँछ त? “क्षमता” ले केलाई जनाउँछ? यसले कामकुराहरू गर्ने दक्षता र प्रभावकारितालाई जनाउँछ—यसलाई क्षमता भनिन्छ। त्यसोभए, के मानसिक रूपरेखाविना काम गर्ने मानिसहरू कमजोर क्षमताका हुन्छन्? (हुन्छन्।) यो मानवताको अवगुण पनि हो। के यो अवगुण जन्मजात हुन्छ? के यसलाई परिवर्तन गर्न सजिलो छ? के यसलाई तालिमद्वारा परिवर्तन गर्न सकिन्छ? के सुँगुरलाई रूख चढ्न लगाउन सकिन्छ र? सुँगुर त्यसका लागि बनेको हुँदैन—त्यससँग त्यो क्षमता हुँदैन। कामकुराहरू गर्दा मानसिक रूपरेखाको कमी हुनु क्षमताको समस्या हो।