सत्यता कसरी पछ्याउने (४) भाग पाँच

उदाहरण ९: स्वच्छताबारे ख्याल नगर्नु

कतिपय मानिसहरू अल्पविकसित देश वा वातावरणमा, वा कमजोर अवस्था भएका परिवारमा जन्मेका हुनाले आफ्नो जीवनका कुराहरूका बारेमा त्यति धेरै ध्यान दिँदैनन्। तिनीहरू खाद्य स्वच्छताबारे सतर्क नहुन सक्छन्, तिनीहरूले लामो समयसम्म नधोई एउटै लुगा लगाउन सक्छन्, र तिनीहरूलाई लुगामा पसिना गन्हाएको समेत थाहा नहुन सक्छ। यो कस्तो प्रकटीकरण हो? (यो व्यक्तिको जीवनशैलीका बानीहरूको प्रकटीकरण हो।) यो जीवनशैलीका बानीहरूको मामला हो; यो स्वच्छतामा त्यति ध्यान नदिनु हो। कतिपय मानिसहरू मुख धुँदा पनि र खुट्टा धुँदा पनि एउटै तौलिया प्रयोग गर्छन्, त्यसपछि दिउँसो बाहिर काम गर्न जाँदा पसिना पुछ्‍न यसैको प्रयोग गर्छन्। कहिलेकाहीँ, यदि तिनीहरूले कसैलाई चोट लागेको देखेमा, घाउ छोप्न समेत त्यही तौलिया प्रयोग गर्छन्। तिनीहरूले स्वच्छताप्रति पटक्‍कै चासो देखाउँदैनन्। यो कस्तो समस्या हो? तिनीहरू जन्मिएको परिवारका अवस्थाहरूसँग यसको एउटा निश्‍चित सम्बन्ध हुन्छ। कतिपय मानिसहरू जिउने अवस्था राम्रो भएका परिवारबाट आएका हुन्छन्, जहाँ हरेक व्यक्तिको धेरै वटा तौलिया अनि नुहाउँदा प्रयोग गरिने तौलियाहरू हुन्छन्, साथै मुख पुछ्ने र खुट्टा पुछ्ने छुट्टाछुट्टै हुन्छन्। तिनीहरूले हरेक दिन नुहाउँछन् र मुख धुन्छन्, र तौलिया र नुहाउने तौलिया पनि दैनिक रूपमा धुन्छन्, त्यसकारण तिनीहरू सरसफाइमा विशेष ध्यान दिने जस्ता देखिन्छन्। त्यस्ता बानी कसरी विकास हुन्छ? ती कुराहरू परिवारमा एउटा निश्‍चित आर्थिक जग र आर्थिक अवस्थाहरू हुनुका परिणाम हुन्, जसले यी परिष्कृत जीवनशैलीका बानीहरू विकास हुन्छन्। यसले गर्दा व्यक्ति स्वच्छतामा अत्यन्तै ध्यान दिने र आदरणीय देखिन्छ। झट्ट हेर्दा, तिनीहरू सरसफाइमा ध्यान दिने देखिन्छन्, तर वास्तवमा, यो सबैको पछाडि जन्मजात अवस्थाहरू हुन्छन् जसले यो निम्त्याएको हुन्छ। त्यसोभए, किन कतिपय मानिसहरूले यी कुराहरूप्रति ध्यान दिँदैनन्? कतिपय मानिसहरूमा स्वाभाविक रूपमै त्यस्ता कुराहरूलाई त्यति ध्यान दिने प्रवृत्ति हुँदैन, र तिनीहरूसँग स्रोतसाधन भए पनि, तिनीहरूले यी कुराहरूलाई त्यति गम्भीरतापूर्वक लिँदैनन्—यो ठूलो समस्या होइन। अरूका हकमा, यो तिनीहरूको पारिवारिक अवस्था र वातावरणको कारणले गर्दा हुन्छ। सात-आठ जनाको परिवारमा, सबैले मुख र खुट्टा धोएपछि एउटै तौलिया पालैपालो प्रयोग गर्न सक्छन्। कतिपय मानिस खुट्टा समेत नधोई सुत्छन् र पनि राम्ररी निदाउँछन्। यसले तिनीहरूको दैनिक जीवन वा तिनीहरूको आत्मआचरणमा असर गर्दैन। सरसफाइमा ध्यान दिनेहरूले यसो भन्‍न सक्छन्, “तर तिम्रो खुट्टामा कीटाणुहरू हुन्छन्—तिम्रो खुट्टा कति फोहर छ!” जसप्रति अरूले यस्तो प्रतिक्रिया दिन सक्छन्, “खुट्टा फोहोर छैनन्; ती दिनभरि ढाकिएका हुन्छन् र बाहिरी संसारको सम्पर्कमा आउँदैनन्, त्यसकारण कुनै कीटाणुहरू छैनन्, खुट्टामा थोरै पसिना आएको मात्र हो। मानिसहरूले खुट्टाको पसिना फोहोरी हुन्छ भन्‍ने सोच्छन्, तर वास्तवमा त्यस्तो हुँदैन। कतिपय ठाउँमा, खानेकुरा उत्पादन गर्न समेत खुट्टाको प्रयोग गरिन्छ। कसलाई थाहा, बजारमा किनेको खानेकुरा मानिसहरूको खुट्टाले आटा मुछेर बनाइएको पनि हुन सक्छ। तिमीले त्यो कुरा देख्‍न सक्दैनौ, र त्यो खान्छौ—तैपनि तिमी आफूलाई सरसफाइमा अत्यन्तै ध्यान दिने व्यक्ति ठान्छौ!” कुनै व्यक्तिले ध्यान दिन्छ या दिँदैन, यो सबै जन्मजात अवस्थाहरूले आकार दिएको जीवनशैलीको बानी वा जिउने तरिका हो। तिनीहरू कसरी आफूलाई आचरणमा ढाल्छन् भन्‍ने कुरासँग यसको कुनै सम्बन्ध छैन। त्यसोभए, व्यक्तिको आचरणमा कस्ता प्रकारका प्रकटीकरणहरू समावेश हुन्छन्? उदाहरणका लागि, कुनै खतरनाक परिस्थितिको सामना गर्दा, ठूलो रातो अजिङ्गरले खेदो गर्दा, सबैलाई तनाव हुन्छ र डर लाग्छ, र तिनीहरूले केही जन्मजात प्रवृत्तिका प्रतिक्रियाहरू देखाउनेछन्। तर, कतिपय मानिसहरूले यसो भन्‍न सक्छन्, “अहिले हामी सबै जति नै तनावग्रस्त र भयभीत भए पनि, हामीले शान्त भएर परिस्थितिजन्य समस्याहरूलाई समाधान गर्नुपर्छ। हामीले सुरुमा अगुवा र कामदारहरू, साथै अरू क्षेत्रबाट आएका दाजुभाइ-दिदीबहिनीहरूलाई रक्षा गर्नुपर्छ, ताकि उनीहरू तुरुन्तै निस्केर जान सकून्।” तर अरूले फरक तरिकाले सोच्न सक्छन्: “उनीहरूलाई रक्षा गर्ने? मलाई चाहिँ कसले गर्छ? यदि अन्त्यमा म उम्कन सकिनँ भने के गर्ने? पहिले म भाग्‍नुपर्छ! जो पहिले भाग्छ उसलाई पक्राउ गरिनेछैन, र उसलाई दण्ड वा यातना दिइनेछैन।” हेर् त, खतराको सामना गर्दा, सबैको जन्मजात प्रवृत्तिको प्रतिक्रिया डर नै भए पनि, कतिपय मानिस अरूको सुरक्षालाई प्राथमिकता दिन्छन् र आफ्नो जीवनको सुरक्षालाई पृष्ठभागमा राख्छन्—त्यस्ता मानिसहरू प्रेम र दया देखाउँछन्। तर अरू मानिसहरू सुरुमा आफ्नै बारेमा सोच्छन्, र अरूका बारेमा नसोची भाग्छन्—यो स्वार्थ हो। वास्तवमा, तिनीहरूको मानवताको विवेकको हिसाबले, के यो पछिल्लो समूहलाई तिनीहरूले सुरुमा अगुवा र कामदारहरू र अरू क्षेत्रबाट आएका दाजुभाइ-दिदीबहिनीहरूलाई रक्षा गर्नुपर्छ भन्‍ने थाहा हुन्छ? तर्कको हिसाबले, के तिनीहरूले यो कुरा बुझ्छन्? (बुझ्छन्।) जब सबैले यो तर्कलाई समान रूपमा बुझ्छन् र जन्मजात प्रवृत्तिका प्रतिक्रियाहरू देखाउँछन्, तब मानिसहरूको प्रकटीकरणमा भिन्‍नता हुन्छ। यसले व्यक्तिहरू बीचको मानवतामा रहेका भिन्‍नताहरूलाई प्रतिविम्बित गर्छ। कतिपय मानिसहरू स्वार्थी र नीच हुन्छन्, जसले आफ्नो मात्रै ख्याल गर्छन् र अरूलाई बेवास्ता गर्छन्, जबकि अरू दयालु हृदयका हुन्छन्, अरूप्रति निःस्वार्थ र विचारशील हुन सक्छन्, अरूको सुरक्षालाई प्राथमिकता दिन्छन् र स्वार्थी रूपमा काम गर्दैनन्। के यसले फरक-फरक प्रकारका मानवतालाई प्रतिविम्बित गर्छ? (हो।) यसले भिन्‍नतालाई प्रस्ट पार्छ। त्यसोभए, दुई प्रकारका मानवता भएका यस्ता मानिसहरूमध्ये, कुन प्रकारको व्यक्तिले सत्यतालाई स्वीकार गर्न र आफ्नो भ्रष्ट स्वभावलाई फाल्न सक्छ? (असल मानवता भएको व्यक्तिले सत्यतालाई स्वीकार गर्न र सजिलै आफ्नो भ्रष्ट स्वभावलाई फाल्न सक्छ।) स्वार्थी मानिसहरूले सक्छन् कि सक्दैनन्? (तिनीहरूलाई सत्यता अभ्यास गर्न सजिलो हुँदैन; तिनीहरूले सत्यता बुझे पनि अभ्यास गर्न सक्दैनन्, त्यसकारण तिनीहरूलाई आफ्नो भ्रष्ट स्वभाव फाल्न गाह्रो हुन्छ।) ठीक भनिस्। त्यसकारण, सबैले भ्रष्ट स्वभाव प्रकट गर्न सक्‍ने भए पनि, यदि मानिसहरूको मानवता फरक छ भने, तिनीहरूले आफ्नो भ्रष्ट स्वभाव फाल्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरा पनि त्यहीअनुसार फरक हुनेछ। जब मानिसहरूमा फरक-फरक प्रकारको मानवता हुन्छ, तब तिनीहरू एउटै परिस्थितिमा फरक-फरक मनोवृत्ति र विधिद्वारा प्रतिक्रिया दिन्छन्। कुनै व्यक्तिले अन्तिममा सत्यता र सकारात्मक कुराहरूलाई स्वीकार गर्न सक्छ कि सक्दैन, ऊ सत्यता पछ्याउने मार्गमा हिँड्न सक्छ कि सक्दैन, र उसले आफ्नो भ्रष्ट स्वभाव फाल्न सक्छ कि सक्दैन भन्‍ने कुरालाई यसैले निर्धारित गर्छ। व्यक्तिको मानवता अति महत्त्वपूर्ण हुन्छ, होइन र? खतराको सामना गर्दा, हरेकले केही न केही जन्मजात प्रवृत्तिका प्रतिक्रियाहरू देखाउँछन्—तिनीहरू सबै डराउँछन्, आत्तिन्छन्, र आतङ्कित हुन्छन्, तिनीहरू अनिश्‍चित हुन्छन्, मृत्युको डर मान्छन्, र भाग्‍न चाहन्छन्। यस्तो नाजुक अवस्थामा, असल र दयालु मानवता भएको व्यक्तिले सुरुमा अगुवा र कामदारहरू, साथै अरू क्षेत्रबाट आएका दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा गर्ने बारेमा सोच्नेछ—उसले सुरुमा अरूको सुरक्षाबारे सोच्छ। तिनीहरूमा पनि डर, भय, त्रासजस्ता जन्मजात प्रवृत्तिका प्रतिक्रियाहरू हुने भए पनि, र तिनीहरूमा प्राकृतिक रूपमा आत्म-रक्षा गर्ने जन्मजात प्रवृत्ति पनि हुने भए पनि, तिनीहरू सुरुमा आफ्नो नभई अरूको सुरक्षा गर्ने तरिकाले परिस्थितिलाई सम्हाल्छन्। दयालु मानवता भएको व्यक्तिले यसरी नै आफूलाई आचरणमा ढाल्छ। अनि स्वार्थी व्यक्तिले कसरी आफूलाई आचरणमा ढाल्छ? तिनीहरूले अरूका बारेमा सोच्लान् तर अरूलाई सुरक्षा दिँदैनन्—तिनीहरूले सुरुमा आफ्नै रक्षा गर्छन्। त्यसकारण, दयालु मानवता भएका, अरूप्रति सहानुभूति जनाउन र तिनीहरूलाई सुरक्षा दिन सक्‍ने मानिसहरूले सत्यतालाई स्वीकार गर्ने सम्भावना हुन्छ। तिनीहरूको मानवताको विवेक र समझ सत्यतालाई स्वीकार गर्न र आफ्नो भ्रष्ट स्वभावलाई फाल्नका लागि आवश्यक सर्तहरू अनुरूप हुन्छ। स्वार्थी प्रकारको व्यक्तिले सत्यता बुझे पनि यसलाई न त स्वीकार गर्छ न अभ्यास गर्छ। खतराको सामना गर्दा, तिनीहरूको मानवताले आत्म-रक्षा र स्वार्थ प्रकट गर्छ। त्यसकारण तिनीहरूले प्रकट गर्ने यस मानवताका आधारमा हेर्दा, तिनीहरूमा सत्यतालाई स्वीकार गर्न र आफ्नो भ्रष्ट स्वभावलाई फाल्नका लागि आवश्यक आधारभूत सर्तहरू हुँदैनन् भन्‍ने कुरा स्पष्ट हुन्छ। यसको अर्थ सत्यता अभ्यास गर्नुपर्ने अवस्थामा, तिनीहरूको विवेक र समझले काम गर्न छोड्छ। तिनीहरूले आफ्नो विवेक र समझविपरीत काम गर्छन्। तिनीहरू सत्यताको खोजी गर्न र आफूले गर्नुपर्ने न्यायोचित कामकुरा गर्नतिर लाग्दैनन्, बरु तिनीहरू आफ्नो विवेक र समझका विरुद्धमा जान रोज्छन्, र नैतिक न्यायविरुद्ध र सत्यताविरुद्ध समेत जान्छन्, र यसरी आफ्नो रक्षा गर्न र आफ्ना सबै हितहरूको रक्षा गर्नका लागि आफ्ना स्वार्थी चाहना र हितका आवश्यकताहरूलाई पूर्ण रूपमा पूर्ति गर्नतिर लाग्छन्। त्यसकारण, यस्तो व्यक्तिलाई सत्यता पछ्याउने मार्ग वा मुक्तिको मार्ग पछ्याउन सजिलो हुनेछैन। यसको तात्पर्य के हो भने तिनीहरूको भ्रष्ट स्वभावलाई फाल्न निकै गाह्रो हुन्छ। यसलाई अलि संयमित तरिकाले भन्नुपर्दा, तिनीहरूले आफ्नो भ्रष्ट स्वभाव फाल्न सक्दैनन् भनेर भन्‍नुको सट्टा, हामी तिनीहरूलाई त्यसो गर्न निकै गाह्रो हुन्छ भन्नेछौँ। त्यसकारण, अहिले समस्यालाई हेर्दा, के व्यक्तिले आफ्नो भ्रष्ट स्वभाव फाल्न र मुक्ति प्राप्त गर्न सक्छ कि सक्दैन भन्‍ने कुरा पूर्ण रूपमा उसका जन्मजात अवस्थाहरूमा निर्भर हुन्छ? (हुँदैन।) यो के कुरामा निर्भर हुन्छ? (उसको मानवतामा।) यो उसको चरित्रमा, र उसले विभिन्‍न मानिस, घटना, र कामकुराको सामना गर्दा उसको मानवताको विवेक र समझले काम गर्न सक्छ कि सक्दैन भन्‍ने कुरामा निर्भर हुन्छ। अर्को शब्दमा भन्दा, यो परिस्थितिहरू आइपर्दा उसले आफ्नो विवेक र समझअनुसार काम गर्छ कि गर्दैन भन्‍ने कुरामा निर्भर हुन्छ। यदि कुनै व्यक्तिले आफ्नो विवेक र समझको निर्देशनमा काम गर्छ भने, उसले सकारात्मक कुराहरू र सत्यता रोज्नेछ। तर, यदि उसले आफ्नो विवेक र समझका विरुद्धमा काम गर्छ भने, उसले जति धेरै सत्यता बुझे पनि वा उसको क्षमता उच्च भए पनि न्यून भए पनि, ऊ नैतिक न्यायविरुद्ध जानेछ, सत्यता सिद्धान्तहरूविरुद्ध जानेछ, र उसले आफ्नो मानवता समेत गुमाउनेछ। यसले तँलाई के प्रस्ट पार्छ? के मानवता अति महत्त्वपूर्ण छ? (छ।) यदि कुनै व्यक्तिले, परिस्थिति जस्तोसुकै भए पनि, आफ्नो हितसँग सम्बन्धित काम गर्दा आफ्नो विवेक र समझका विरुद्धमा र नैतिक न्यायविरुद्ध काम गर्‍यो भने, उसले आफ्नो मानवता गुमाउनेछ। उसले आफ्ना हितहरूलाई सुरक्षित गर्न र रक्षा गर्न जे पनि गर्नेछ। त्यसकारण, कुनै परिस्थितिको सामना गर्नुपर्दा, ऊ आफ्नो विवेक र समझअनुसार काम गर्नतिर लाग्दैन। बरु, ऊ आफ्नै हितहरूका खातिर तिनका विरुद्धमा जान्छ, र उसले आफ्ना लक्ष्यहरू हासिल गर्न आफ्नो निष्ठा र इज्जत त्याग्‍नेछ। यस दृष्टिकोणबाट हेर्दा, यस्तो व्यक्तिले सामान्यतया जति नै राम्रो व्यवहार गरे पनि, उसले आफ्नै हितहरू बाहेक केही पनि पछ्याउँदैन—उसको भ्रष्ट स्वभावलाई फाल्न निकै गाह्रो हुन्छ। ऊ सत्यतालाई स्वीकार गर्दैन—त्यो क्षण जति धेरै महत्त्वपूर्ण छ, र उसले वास्तविकताको जति धेरै सामना गर्छ, त्यति नै ऊ आफ्नो विवेक, समझ, र सत्यताका विरुद्धमा जान रोज्छ; र त्यो क्षण जति महत्त्वपूर्ण छ, ऊ सत्यताप्रति वितृष्ण हुने आफ्नो भ्रष्ट स्वभाव र आफ्नो स्वार्थी र नीच मानवता त्यति नै प्रकट गर्छ। त्यसकारण, यस्तो व्यक्तिलाई आफ्नो भ्रष्ट स्वभाव फाल्न निकै गाह्रो हुन्छ। के व्यक्तिको मानवता भ्रष्ट स्वभावलाई फाल्ने एक आधारभूत सर्त हो भन्‍ने कुरा अब प्रस्ट भयो? व्यक्तिमा कस्तो मानवता छ भन्ने कुराले उसले अन्तिममा आफ्नो भ्रष्ट स्वभाव फाल्न सक्छ कि सक्दैन, ऊ अन्तिममा सत्यता पछ्याउने मार्गमा हिँड्न सक्छ कि सक्दैन, र उसले अन्तिममा मुक्ति प्राप्त गर्न सक्छ कि सक्दैन भन्‍ने कुरालाई निर्धारित गर्छ।

उदाहरण १०: स्वाभाविक रूपमा मौन हुनु

कतिपय मानिसहरू स्वाभाविक रूपमा नै मौन बस्‍ने गर्छन्, र तिनीहरूमा कोमल र सहनशील व्यक्तित्व हुन्छ। तिनीहरू बिरलै अरूसँग बखेडा झिक्ने वा विवाद गर्ने गर्छन्, न त तिनीहरू बढ्ता होहल्‍ला नै गर्छन्। तिनीहरूको बोलीवचन धाक लगाउने किसिमको हुँदैन, र तिनीहरूको आवाज नरम हुन्छ। बाहिरी रूपमा, तिनीहरू विशेष रूपमा कोमल देखिन्छन्, र तिनीहरूले विधिवत् रूपमा र हतार नगरी काम गर्छन्। कतिपय मानिसहरू लज्जालु पनि हुन्छन्, जो अरूसँग धेरै मौखिक कुराकानी गर्न मन पराउँदैनन् र मानिसहरूसँग धेरै अन्तरक्रिया गर्न अनिच्छुक हुन्छन्। तिनीहरू जहाँ गए पनि, तिनीहरू उपस्थित छन् भन्‍ने कुराको लगभग कुनै बोध हुँदैन। यी प्रकटीकरणहरू कस्तो समस्यासँग सम्बन्धित छन्? (यो तिनीहरूको व्यक्तित्वसँग सम्बन्धित समस्या हो।) यो तिनीहरूको जन्मजात व्यक्तित्वको समस्या हो। यी मानिसहरूमा बाहिरी रूपमा यस्तो व्यक्तित्व हुन्छ, र भित्री रूपमा तिनीहरूको विचार पनि अत्यन्तै सरल हुन्छ। तिनीहरू अरूसँग तुलनात्मक रूपमा राम्रो व्यवहार गर्छन्, अरूसँग तुलनात्मक रूपमा निष्पक्ष रूपमा अन्तरक्रिया गर्छन्, अरूबाट फाइदा लिँदैनन्, र अरूबाट निगाह वा सहयोग प्राप्त गरेपछि त्यसको ऋण तिर्छन्, र तिनीहरू हृदयमा अरूको दयालाई पनि याद गरेर राख्छन्। बाहिरी रूपमा यी मानिसहरूमा असल मानवता छ जस्तो देखिन्छ: तिनीहरू मानिस र पशु दुवैका लागि हानिरहित हुन्छन्; तिनीहरू सहनशील हुन्छन्, अरूप्रति संवेदनशील हुन्छन्, र अरूसँग बखेडा झिक्दैनन्; तिनीहरू विवादमा फस्दैनन्, न त तिनीहरूले अरूका बारेमा कुरा नै काट्छन्; तिनीहरू मानिसहरूलाई पिठ्यूँ पछाडि गलत ठहराउँदैनन्, र कहिल्यै पनि सक्रिय रूपमा अरूलाई आक्रमण वा हानि गर्दैनन्; जब कुनै व्यक्ति कठिनाइमा हुन्छ, तब तिनीहरूले सकेको खण्डमा सहयोग गर्न कहिल्यै पनि इन्कार गर्दैनन्, र बदलामा केही पनि माग्दैनन्। धेरैजसो मानिसहरूले यी व्यक्तिहरू निकै मिलनसार हुन्छन् भनेर भन्‍नेछन्। त्यसोभए, के यी मानिसहरूमा बाहिरी रूपमा असल मानवता भए जस्तो देखिन्छ? (हो।) तर एक पटक, परमेश्‍वरको घरले तिनीहरूलाई कामकुरा कस्तो चलिरहेको छ भनेर सोध्छ: “तिमीहरूका मण्डली अगुवाहरूको काम कस्तो छ? दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूका बारेमा के सोच्छन्? के यस अवधिमा सुसमाचारका कामले कुनै परिणामहरू ल्याएको छ? के कसैले मण्डलीका काममा बाधा वा अवरोध ल्याएको छ?” तिनीहरू यसका बारेमा ध्यानपूर्वक विचार गर्छन्: “तिनीहरू किन मलाई यसका बारेमा सोधिरहेका छन्? तिनीहरू के भन्न खोजिरहेका छन्? के तिनीहरू अगुवाहरूले राम्रो गरिरहेका छैनन् भनेर मैले भन्‍नुपर्छ भन्‍ने तात्पर्य दिइरहेका छन्? के तिनीहरू हाम्रा अगुवाहरूलाई बर्खास्त गर्न खोजिरहेका छन्? तिनीहरू मबाट कुरा धुत्ने र पुष्टि प्राप्त गर्ने प्रयास गरिरहेका छन्। खैर, म केही भन्‍नेछैनँ। यदि कुनै दिन अगुवाहरूलाई बर्खास्त गरियो, र मैले तिनीहरूका समस्याका बारेमा रिपोर्ट गरेको छु भन्‍ने तिनीहरूले थाहा पाए भने, के तिनीहरूले मप्रति ईख राख्‍नेछैनन् र?” त्यसकारण तिनीहरूले जवाफ दिन्छन्, “अगुवाहरूले आजभोलि निकै राम्रो काम गरिरहेका छन्; मैले कुनै समस्या देखेको छैनँ।” तिनीहरूले यति मात्रै भन्छन्। तिनीहरूलाई फेरि “तिमीले साँच्‍चै कुनै समस्याहरू देखेका छैनौ?” भनेर सोधियो भने, तिनीहरूले जवाफ दिन्छन्, “तपाईंले फलानो-फलानो सिस्टरलाई सोध्दा राम्रो हुन्छ, किनभने ऊ अगुवाहरूसँग बारम्बार अन्तरक्रिया गरिरहेकी हुन्छे। तिनीहरू बारम्बार सङ्गत गर्छन् र उसले तिनीहरूलाई राम्ररी चिनेकी छे। मलाई तिनीहरूका बारेमा त्यति राम्ररी थाहा छैन।” तर वास्तवमा, तिनीहरूले मनमनै सोच्छन्: “मलाई थाहा भए पनि, मैले केही पनि भन्‍न सक्दिनँ। यदि मैले बोलेँ र पछि अगुवाहरूलाई बर्खास्त गरियो भने, के तिनीहरूले मप्रति ईख राख्‍नेछैनन् र? तिनीहरूलाई बर्खास्त गरिएन भने पनि, यदि मैले तिनीहरूका बारेमा नराम्रो कुरा भनेको छु भन्‍ने तिनीहरूले थाहा पाए भने, के तिनीहरूले मलाई दुःख दिनेछैनन् र? के तिनीहरूले मलाई कष्ट दिन सक्छन्? के मेरो कर्तव्य खोसिनेछ? मैले केही पनि भन्‍नु हुँदैन!” यो कस्तो प्रकटीकरण हो? (यो छलको प्रकटीकरण हो।) अनि यो कस्तो समस्यासँग सम्बन्धित छ? भ्रष्ट स्वभाव। यस्तो व्यक्ति बाहिरी रूपमा स्वाभाविक रूपमा नै राम्रो व्यक्तित्व र असल मानवता भएको देखिन्छ, तर जब अरूलाई मूल्याङ्कन गर्ने वा समस्याहरूका बारेमा रिपोर्ट गर्ने कुरा आउँछ, तब उसले आफूलाई थाहा छैन भनेर दाबी गर्छ, र उसले विश्‍वास गरेको थोरै समय मात्रै भएको छ र सत्यता बुझेको छैन, र ऊ यस्ता कुराहरूलाई पारदर्शी रूपमा देख्‍न नसक्‍ने गरी मूर्ख छ भनेर भन्छ। उसले जसका समस्याहरू देखे पनि, यसका बारेमा कहिल्यै रिपोर्ट गर्दैन वा बोल्दैन। जब कसैले अगुवाहरूलाई पिठ्यूँ पछाडि गलत ठहराउँछ वा झाराटारुवा रूपमा आफ्नो कर्तव्य निर्वाह गर्छ, तब उसले यो नदेखेको वा यसबारे थाहा नभएको बहाना गर्छ र कहिल्यै पनि कुनै कुराको रिपोर्ट गर्दैन। अगुवाहरूले “तिमीले त फलानोसँग धेरै समय बिताएका छौ; तिनीहरूले कर्तव्य निर्वाह गर्दा सामान्यतया यो कस्तो हुन्छ? के तिनीहरूले कठिनाइ सहन र मूल्य चुकाउन सक्छन्?” भनेर सोध्दा तिनीहरूले यस्तो जवाफ दिन्छन्, “अँ, ऊ सबेरै उठ्ने र राती निकै ढिलो सुत्ने गरेको देख्छु।” वास्तवमा, यो व्यक्तिले प्रायजसो गैरविश्‍वासी संसारका भिडियोहरू हेर्छ र आफ्नो कर्तव्य निर्वाह गर्दा मूल्य चुकाउँदैन भन्‍ने कुरा तिनीहरूले धेरै पहिले नै देखेका हुन्छन्, तर तिनीहरू साँचो बोल्दैनन्; तिनीहरू सधैँ सबैसँग सतही सद्भाव कायम राख्छन्। बाहिरी रूपमा, तिनीहरूको अन्तर्निहित व्यक्तित्व ठीक देखिन्छ, र तिनीहरूको मानवता पनि राम्रो देखिन्छ, तर असल मानवताको यो रूपमुनि के लुकेको हुन्छ? तिनीहरू मान्छे खुसी पारिहिँड्ने मानिस हुन्; तिनीहरू मान्छे खुसी पारिहिँड्ने मानिस हुन् जो कसैलाई चिढ्याउँदैनन्, कसैलाई कहिल्यै हानि गर्दैनन्, अरूबाट कहिल्यै फाइदा लिँदैनन्, र शत्रुहरू बनाउँदैनन्। आफूलाई आचरणमा ढाल्ने तिनीहरूको सिद्धान्त के हो? (कसैलाई नचिढ्याउने।) तिनीहरू कसैलाई चिढ्याउँदैनन्, कसैलाई हानि गर्दैनन्, र आफ्नो रक्षा मात्रै गर्न खोज्छन्। के यो चिप्ले हुनु हो? (हो।) कसैले तिनीहरूसँग “हामीले आफ्नो कर्तव्य निर्वाह गर्दै सबैभन्दा बढी समय सँगै बिताएका छौँ। ममा देखिएका कुनै पनि समस्याहरू कृपया औँल्याइदिनुहोस्। म यसलाई स्विकार्ने र परिवर्तन हुने प्रतिज्ञा गर्छु। यस विषयमा अभ्यासका सिद्धान्तहरूका बारेमा मसँग पनि सङ्गति गर्नुहोस्” भनेर इमानदारीका साथ सङ्गति गर्दा पनि—अर्को व्यक्ति यति इमानदार हुँदा, तिनीहरू अझै पनि साँचो बोल्दैनन्। बरु, तिनीहरूले बेइमानी रूपमा यसो भन्छन्, “तपाईं मभन्दा निकै असल हुनुहुन्छ। वास्तवमा, तपाईंहरू कसैले पनि यो थाहा पाउनुभएको छैन, तर म साँच्‍चै कमजोर छु। म नकारात्मक बन्छु, र म विद्रोही पनि छु।” अरूले तिनीहरूलाई जति नै इमानदारीका साथ अनुरोध गरे पनि, तिनीहरूले केही भन्दैनन्। तिनीहरूले कसैलाई चिढ्याउन पूर्ण रूपमा इन्कार गर्छन् र कहिल्यै एउटा पनि साँचो अभिव्यक्ति दिँदैनन्। तिनीहरू आफ्नो हृदयमा सबै कुरा लुकाएर राख्छन् र साँचो कुरा कसैलाई बताउँदैनन्। यसबाट के देख्‍न सकिन्छ भने तिनीहरूमा कुनै विचार हुँदैन भन्‍ने होइन, किनभने तिनीहरू रोबोट होइनन्, र तिनीहरू शून्यतामा जिउँदैनन्। तिनीहरूसँग फरक-फरक मानिस र मामलाहरूका बारेमा विचारहरू हुन्छन्, तर तिनीहरूले ती कुरा कहिल्यै व्यक्त गर्दैनन् वा कसैलाई ती कुरा बताउँदैनन् वा सुनाउँदैनन्। तिनीहरू सबै कुरा मनमा लुकाएर राख्छन्, किनभने तिनीहरू एक हिसाबमा अरूले तिनीहरूको वास्तविकता नदेखून् भन्‍ने चाहन्छन्, र अर्को हिसाबमा तिनीहरू कसैलाई चिढ्याउन चाहँदैनन्। त्यसोभए, आफूलाई आचरणमा ढाल्ने तिनीहरूको सिद्धान्त के हो? के तिनीहरूको कुनै सिद्धान्त छैन? (हो।) तिनीहरूसँग कुनै सिद्धान्त हुँदैन। तिनीहरू कहिल्यै पनि सत्यताको खोजी गर्दैनन् वा सिद्धान्तहरू पालना गर्दैनन्। तिनीहरू आफ्नो बचाउ र रक्षा गर्ने कार्यमा मात्रै ध्यान दिन्छन्। तिनीहरूलाई चोट पुग्दैन भने, परमेश्‍वर के माग गर्नुहुन्छ भन्‍ने कुरालाई तिनीहरूले वास्ता गर्दैनन्। तिनीहरू कसरी आफूलाई आचरणमा ढाल्छन् भन्ने कुरामा तिनीहरूको कुनै सिद्धान्त वा सीमा हुँदैन, र तिनीहरू कसैलाई चिढ्याउँदैनन्—तिनीहरू मान्छे खुसी पारिहिँड्ने मानिस मात्रै हुन्। त्यसकारण, अरूका नजरमा, तिनीहरूलाई असल मानिसका रूपमा पनि हेरिन्छ किनभने तिनीहरूसँग अन्तरक्रिया गर्नेहरूले प्रायजसो तिनीहरूको सहयोग प्राप्त गर्छन्, र अरूले तिनीहरूलाई कुनै कुरा माग्दा, तिनीहरूले कहिल्यै पनि इन्कार गर्दैनन्, जसले गर्दा मानिसहरूले तिनीहरू असल मानिस हुन् भन्‍ने ठान्छन्। तर, यदि तैँले आफूलाई आचरणमा ढाल्ने तिनीहरूका सिद्धान्तहरूलाई नजिकबाट जाँचिस् भने, तैँले तिनीहरूसँग आफूलाई आचरणमा ढाल्ने कुनै सिद्धान्त नभएको पाउनेछस्। जब भ्रष्ट स्वभावहरूसँग सम्बन्धित समस्याहरूको कुरा आउँछ, तब के तिनीहरूले तिनलाई समाधान गर्न सत्यताको खोजी गर्नेछन्? के तिनीहरूले सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्नेछन्? (गर्नेछैनन्।) उत्तर अवश्य नै गर्नेछैनन् भन्‍ने हुन्छ। यी मानिसहरू आफूसँग असल मानवता र दयालु हृदय छ भन्‍ने विश्‍वास गर्दै आफ्नै व्यक्तिपरक बुझाइलाई पक्रिराख्छन्। तिनीहरू आफूले अरूप्रति कहिल्यै पनि खराब अभिप्राय नराख्ने, वा कम्तीमा पनि, अरूलाई सक्रिय रूपमा हानि नगर्ने वा तिनीहरूका हितहरूमा हानि नगर्ने सोच्छन्। जब अरूसँग कुनै अनुरोध वा आवश्यकता हुन्छ, तब तिनीहरू सधैँ पूरा गरिदिन्छन्। तिनीहरूको बुझाइमा, तिनीहरू कसैलाई नचिढ्याउनु वा हानि नगर्नुले नै तिनीहरूलाई असल मानिसहरू बनाउने विश्‍वास गर्छन्। कुनै शत्रु नबनाउँदा, तिनीहरू आफू कुनै खतरनाक परिस्थितिमा परिनेछैन, र कसैले पनि तिनीहरूलाई शत्रुका रूपमा हेर्नेछैनन् भन्‍ने सोच्छन्। यसरी, तिनीहरूलाई चोट पुग्‍नेछैन र तिनीहरू सुरक्षित नै रहनेछन्। यस्ता मानिसहरू जसरी आफूलाई आचरणमा ढाल्छन् त्यसको उद्देश्य के हुन्छ? तिनीहरूको एउटै उद्देश्य भनेको आत्म-सुरक्षा हो; तिनीहरूका लागि आफूले सबैभन्दा सहज र सुरक्षित आश्रय र आराम क्षेत्र ठानेको स्थानमा बस्‍नु नै पर्याप्त हुन्छ। आफूलाई आचरणमा ढाल्ने तिनीहरूको तरिकाका सिद्धान्त र सीमाहरू वा तिनीहरूको आचरणको दिशा परिवर्तन गर्ने तिनीहरूको कुनै अभिप्राय हुँदैन, र अवश्य नै आफ्नो भ्रष्ट स्वभाव फाल्ने तिनीहरूको कुनै अभिप्राय हुँदैन। यिनीहरू मान्छे खुसी पारिहिँड्ने र समस्याबाट जोगिने मानिस हुन्। अरूले सत्यता सिद्धान्तहरूका बारेमा वा कसरी आफूलाई आचरणमा ढाल्ने भन्‍ने कुराका सीमा र सिद्धान्तहरूका बारेमा जसरी सङ्गति गरे पनि, तिनीहरू आफूलाई आचरणमा ढाल्ने तरिका परिवर्तन गर्दैनन्। त्यसोभए, के यी मानिसहरूमा असल मानवता हुन्छ? (हुँदैन।) के यी मानिसहरूले सत्यतालाई स्वीकार गर्न वा सिद्धान्तहरू पालना गर्न सक्छन्? (सक्दैनन्।) तिनीहरूले किन सत्यता सिद्धान्तहरू पालना गर्न सक्दैनन्? किनभने तिनीहरूका विचारमा, आफूलाई आचरणमा ढाल्ने तिनीहरूको मानक भनेको मान्छे खुसी पारिहिँड्ने मानिस बन्‍नु नै हो। राय राख्‍नु वा अडान लिनुपर्ने कुनै पनि मामलाको हकमा, तिनीहरू चुप बस्छन्, उदासीन मनोवृत्ति कायम राख्छन्, र हात हाल्दैनन्, अनि आफूलाई व्यक्तिगत रूपमा असर नगर्ने मामिलाहरूबाट टाढा बस्छन्। फलस्वरूप, तिनीहरू कसरी आफूलाई आचरणमा ढाल्छन् र व्यवहार गर्छन्, त्यसमा कुनै विशिष्टता छैन; तिनीहरू चिप्‍ले माछा जस्तै हुन्। तिनीहरूलाई आफ्नो वरिपरिका मानिस र घटनाहरूका बारेमा वास्ता हुँदैन। कुनै पनि वातावरणमा रहेका वा कुनै पनि व्यक्तिसँगका मामलाहरू जति नै महत्त्वपूर्ण भए पनि, तिनीहरूलाई तिनका बारेमा वास्ता गर्ने, सोधपुछ गर्ने, वा जान्ने कुनै चासो हुँदैन। तिनीहरू यदि यो कुरा तिनीहरूसँग सम्‍बन्धित छैन भने तिनीहरूले चिन्ता गर्नु पर्दैन भन्ने विश्वास गर्छन्। यसका लागि एउटा भनाइ छ, यस भनाइले के भन्छ? “योग्यता नखोज, बरु आरोपबाट बच।” यो मान्छे खुसी पारिहिँड्ने मानिसहरूले आफूलाई आचरणमा ढाल्ने सिद्धान्त पनि हो। त्यस्ता मानिसहरूको भ्रष्ट स्वभावका विशेषताहरू के-के हुन्? छल, दुष्टता, हठीपन, सत्यतालाई स्वीकार गर्न नमान्‍ने—तिनीहरूमा भ्रष्ट स्वभावका लगभग सबै विशेषताहरू हुन्छन्। बाहिरी रूपमा, तिनीहरूले दुष्कर्म गर्दैनन् र बिरलै अपराधहरू गर्छन् होला, तर यदि तैँले तिनीहरूको आफूलाई आचरणमा ढाल्ने सिद्धान्त र तरिकाहरू अवलोकन गरिस् भने, सबैभन्दा उल्लेखनीय विशेषता के हो भने तिनीहरू कहिल्यै पनि सत्यता सिद्धान्तहरू पालना गर्दैनन् र आफूलाई आचरणमा ढाल्ने तिनीहरूको तरिकामा कुनै सीमा हुँदैन। कसैले तिनीहरूलाई अपमान गर्दा वा तिनीहरूको इज्जतमा चोट पुर्‍याउँदा पनि, तिनीहरूले यसलाई सहेर हाँसोमै उडाउन सक्छन्, र आफ्ना भित्री विचारहरू कहिल्यै प्रकाश वा प्रकट गर्दैनन्। बाहिरी रूपमा, तिनीहरू अत्यन्तै सहनशील, दयालु मानवता भएका देखिन्छन्, र तिनीहरूले आक्रमण गर्ने वा बदला लिने कुनै अभिप्राय देखाउँदैनन्। तर, तिनीहरूमा कुनै विचार हुँदैनन् भन्‍ने होइन—तिनीहरू तैँले के गरेको छस् भन्‍ने कुरा याद गर्छन्, र सही समयमा, तिनीहरू बाहिर आएर आफ्नो सुरक्षा र बचाउ गर्नेछन्, र तैँले पत्ता समेत लगाउन नसक्‍ने किसिमको निश्‍चित प्रतिप्रहार गर्नेछन्। तिनीहरू सत्यता सिद्धान्तहरू पालना गरिरहेका हुँदैनन्; तिनीहरू कसरी आफूलाई आचरणमा ढाल्छन् भन्‍ने कुराका सिद्धान्त र सीमाहरू आफ्नै हित, सुरक्षा, र प्रतिष्ठाको रक्षा गर्नका लागि मात्रै हुन्छन्। यस्ता मानिसहरूलाई दुष्ट, हठी, छली, र सत्यताप्रति वितृष्ण भनेर व्याख्या गर्नु सही हुन्छ। कतिपय मानिसहरूले यसो भन्‍न सक्छन्, “तिनीहरूले अरूका हितहरूमा हानि गरेका वा कुनै दुष्टता गरेका छैनन्, त्यसकारण तिनीहरूमा यी भ्रष्ट स्वभावहरू छन् भनेर कसरी भन्‍न सकिन्छ? तपाईं केका आधारमा यसो भनिरहनुभएको छ?” यो तिनीहरूले मानिस र परिस्थितिहरूलाई कसरी हेर्छन् र तिनीहरू कसरी आफूलाई आचरणमा ढाल्छन् र व्यवहार गर्छन् भन्‍ने सम्बन्धमा तिनीहरूका विचार, दृष्टिकोण, र मनोवृत्तिहरूमा आधारित हुन्छ। के तिमीहरूले यो कुरा याद गरेका छौ? (अहिले देख्यौँ।) तैँले यो कुरा किन पहिले नै देख्‍न सकिनस्? तिनीहरूको के कुराले तँलाई भ्रममा पार्‍यो? (हामीलाई तिनीहरूले आफ्‍नो बोलीवचन र व्यवहारमा, र तिनीहरूले अरूसँग कसरी अन्तरक्रिया र सहकार्य गर्छन् भन्‍ने कुरामा निकै सहज व्यवहार गर्छन् भन्‍ने लाग्थ्यो, र तिनीहरूले कसैलाई चोट पुर्‍याउँदैनथिए, त्यसकारण हामीले तिनीहरूमा असल मानवता छ भन्‍ने अनुमान गर्थ्यौँ। हामीलाई तिनीहरूको बाहिरी आवरणले भ्रमित पारेको हो।) कुनै व्यक्तिमा बाहिरी रूपमा कोमल व्यक्तित्व छ र उसले मानिसहरूलाई कहिल्यै आक्रमण गर्दैन र पशुहरूलाई चोट पुर्‍याउँदैन भन्दैमा उसमा असल मानवता छ भन्‍ने हुँदैन। मानवताका कस्ता प्रकाशहरूले साँच्‍चै नै असल मानवतालाई प्रतिनिधित्व गर्छन्? (एउटा कुरा, अरूलाई हानि नगर्नु वा तिनीहरूबाट फाइदा नलिनु हो। यसका साथै, जब खतरा उत्पन्न हुन्छ, तब व्यक्तिले सोच्ने पहिलो कुरा आफ्नो सुरक्षाको ख्याल नगरी अगुवा र कामदारहरूलाई, साथै सत्यता पछ्याउने दाजुभाइ-दिदीबहिनीहरूलाई सुरक्षा दिनु, र हरेक अवस्थामा परमेश्‍वरको घरका हितहरूलाई पहिलो स्थानमा राख्न सक्‍ने हुनु हो। यी सबै असल मानवताका प्रकटीकरणहरू हुन्।) दयालु हृदय भएको, प्रेमिलो, धैर्यवान् र सहनशील, अरूप्रति आदर गर्ने, अरूको ख्याल गर्न तयार हुने, मानिसहरूबाट फाइदा नलिने, तुलनात्मक रूपमा सीधा, साथै नम्र, सानो भएर बस्‍ने, र प्रभुत्वशाली नबन्‍ने: मानवताका यी गुणहरू हुनु, सत्यता सिद्धान्तहरू पालना गर्ने र परमेश्‍वरको घरका हितहरूको रक्षा गर्ने क्षमता हुनु—यो असल मानवता हो। यदि कुनै व्यक्तिमा बाहिरी रूपमा सहनशीलता, धैर्य, दया, अरूको फाइदा नलिने, अरूप्रति संवेदनशीलता, अरूको हेरचाह गर्ने जस्ता मानवताका गुणहरू छन्, तर जब परमेश्‍वरको घरका हितहरूको कुरा आउँछ, तब उसले सजिलै त्यसलाई अरूको हातमा सुम्पिदिन्छ र सक्रिय रूपमा त्यसलाई धोका समेत दिन्छ भने, के उसमा राम्रो मानवता हुन्छ? (हुँदैन।) यसको अर्थ तिनीहरूको मानवता राम्रो छैन भन्‍ने हुन्छ। असल मानवतालाई कसरी मापन गरिन्छ? न्यूनतम आवश्यक कुरा के हो? (कम्तीमा पनि, परमेश्‍वरको घरका हितहरूको रक्षा गर्न सक्‍नु।) परमेश्‍वरको घरका हितहरूको रक्षा गर्न सक्‍नु; त्यसपछि, यस जगमा रहेर, अरूसँग सद्भावपूर्ण रूपमा सहकार्य गर्न सक्‍नु, दयालु र सहनशील हुनु, अरूबाट फाइदा नलिनु, र धैर्यवान् हुन र अरूका कमजोरीहरू बुझ्न सक्‍नु, अरूप्रति संवेदनशील हुनु, प्रेमिलो बन्न सक्‍नु, अरूलाई सहयोग गर्न र साथ दिन सक्‍नु, र कमजोरहरूको हेरचाह गर्नु, इत्यादि—यी सबै असल मानवताका विशेषता हुन्। यसको विपरीत, स्वार्थीपन, नीचता, लोभ, अरूसँग कठोर बन्‍नु र अति नै हिसाबी बन्‍नु, मानिसहरूको कुरा काट्न र तिनीहरूलाई दमन गर्न मन पराउनु, स्वेच्छाचारी, देखौवा, विशेष रूपमा देखावटी, दुष्ट, लम्पट, निर्लज्ज बन्‍नु, र लाजको बोध नहुनु—यी कस्ता प्रकारका प्रकटीकरणहरू हुन्? (यी खराब मानवताका प्रकटीकरणहरू हुन्।) के यी प्रकटीकरणहरू भएको व्यक्तिले अझै पनि परमेश्‍वरको घरका हितहरूको रक्षा गर्न सक्छ? (सक्दैन।) परमेश्‍वरको घरका हितहरूको रक्षा गर्ने क्षमता साथै असल मानवताका प्रकटीकरणहरू हुनु—साँचो रूपमा असल मानवता भनेको यही हो।

उदाहरण ११: दयालु देखिनु तर भेटीहरू फजुलमा उडाउनु

कतिपय मानिसहरू बाहिरी रूपमा अत्यन्तै दयालु देखिन्छन्; तिनीहरू अरूसँग धैर्यवान् र सहनशील हुन सक्छन्, र तिनीहरूसँग असल मानवताका सबै विशेषताहरू हुन्छन्। तर जब मण्डलीको काम, परमेश्‍वरका भेटीहरू, वा परमेश्‍वरको घरका हितहरूको कुरा आउँछ, तब तिनीहरूले यी सबै कुरामा धोका दिन सक्छन्। के तिमीहरू यस्तो व्यक्तिमा असल मानवता हुन्छ भनेर भन्छौ? (भन्दैनौँ।) उदाहरणका लागि, विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूका लागि सामान किन्दा, कतिपय मानिसहरू राम्रो गुणस्तरका, सस्तो मूल्यका, र व्यावहारिक सामानहरू छनौट गर्छन्। तर भेटी खर्च गरेर सामान किन्ने कुरामा, तिनीहरूले महँगा सामानहरू रोज्छन्। त्यो ट्र्याक्टर मात्रै भए पनि, तिनीहरूले नेभिगेसन सहितको ट्र्याक्टर किन्‍न चाहन्छन्। तिनीहरूले जे किन्न लागेका भए पनि, तिनीहरू सधैँ सबैभन्दा राम्रो, सबैभन्दा महँगो, र उच्च प्रविधिका सामानहरू लिन्छन्, र सस्तो चीजबारे विचार गर्न मान्दैनन्। सामान्यतया, तिनीहरू अरूसँग सामान्य रूपमा मिलेर बसेका देखिन्छन्; तिनीहरू मानिसहरूबाट फाइदा लिँदैनन्, निकै सहनशील हुन्छन्, र सबै तरिकाले अरूसँग राम्रो व्यवहार गर्छन्। तर भेटीहरू खर्च गर्ने क्रममा, तिनीहरूको निर्दयी पक्ष देखा पर्छ, र तिनीहरूको अनिष्टकर अनुहार देखिन्छ। के तिनीहरूलाई असल मानवता भएको मान्न सकिन्छ? (सकिँदैन।) के तिनीहरूको असल मानवता साँच्‍चै नै सच्‍चा हुन्छ? यो बाहिरी ढोँग र कृत्रिमता मात्रै हो, यो सबै देखावटी रूप हो। जब परमेश्‍वरको घरका हितहरूसँग सम्बन्धित मामलाहरूको कुरा आउँछ, विशेष गरी भेटीहरू खर्च गर्ने मामलाको कुरा आउँछ, तब तिनीहरूको लोभ देखा पर्छ, र तिनीहरूको अनिष्टकर अनुहार, दुष्ट रूप, र उग्र चालढाल प्रकट हुन्छन्। के यो असल मानवता हो? (होइन।) उदाहरणका लागि, कसैले “वचन देहमा देखा पर्नुहुन्छ” नामक पुस्तकको प्रतिलिपि अधिकारका लागि आवेदन दिइरहेको छ, र उसले भन्छ: “यदि हामीले संस्थाका रूपमा मण्डलीको नाममा आवेदन दियौँ भने, धेरै पैसा जोगिन्छ। तर यदि हामीले देहधारी ख्रीष्टका नाममा आवेदन दियौँ भने, खर्च बढी लाग्नेछ। हामीले यसमा पैसा बचत गर्नुपर्छ; भेटी लापरवाही रूपमा खर्च गर्नु हुँदैन!” के यो अभिव्यक्ति सही छ? के त्यस्तो महत्त्वपूर्ण मामला सम्हाल्ने कार्यमा तिनीहरूसँग सिद्धान्तहरू हुन्छन्? यी वचनहरू कसले व्यक्त गर्नुभएको थियो, परमेश्‍वरले कि मण्डलीले? (ती परमेश्‍वरले व्यक्त गर्नुभएको हो।) त्यसोभए प्रतिलिपि अधिकार कसको हुनुपर्छ? यसको स्वामित्व परमेश्‍वरलाई दिनु उचित हो कि मण्डलीलाई? (यो परमेश्‍वरलाई दिनु बढी उचित हुन्छ।) यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो। यस्तो महत्त्वपूर्ण मामलामा पैसा बचत गर्नमा ध्यान दिँदा कस्ता परिणामहरू आउँछन्? के-कस्ता समस्याहरू उत्पन्न हुन सक्छन्? परिणामहरू अकल्पनीय हुन सक्छन्! यदि तैँले परमेश्‍वरको घरका हितहरूलाई बेवास्ता गरिस् र पैसा बचत गर्ने बारेमा मात्रै सोचिस् भने, तँ कस्तो व्यक्ति होस्? त्यस्ता मानिसहरूमा विवेक वा मानवता हुन्छ? (तिनीहरूमा कुनै मानवता हुँदैन।) त्यस्ता मानिसहरू बाहिरी रूपमा जति नै दयालु वा सहनशील देखिए पनि, के तिनीहरूमा साँच्‍चै नै मानवता हुन्छ? (हुँदैन।) मण्डलीमा, खानपान, र दैनिक आवश्यकताहरूका सबै सामानहरूको खर्च पूर्ण रूपमा परमेश्‍वरका भेटीहरूद्वारा बेहोरिन्छ। के मैले यी खर्चहरूका बारेमा कहिल्यै तिमीहरूलाई किचकिच गरेको छु? यति मात्र हो कि तिमीहरूले खेर फाल्न चाहिँ हुँदैन, तर के मैले कहिल्यै तिमीहरूको सामान्य खर्चको छानबिन गरेको छु? (गर्नुभएको छैन।) सबै पक्षमा, मैले तिमीहरूका बारेमा ध्यान दिएको छु र तिमीहरूको खर्चको कहिल्यै छानबिन गरेको छैनँ, तर तिमीहरू ठ्याक्कै उल्टो मसँग कन्जुस्याइँ गर्छौ। के यो मानवताको कमी होइन र? (हजुर, हो।) मानवताविनाको व्यक्ति मानिसहरूप्रति जति नै दयालु वा सहनशील देखिए पनि, यो त देखावटी रूप मात्रै हो। विवेक र समझ साँच्‍चै नै प्रयोग हुनुपर्ने क्षणमा, तिनीहरू सारा मानवतारहित मानिसका रूपमा प्रकट हुन्छन्। के तिनीहरू मानव नै हुन्? (होइनन्।) तिनीहरूलाई मानव भन्‍न मिल्दैन। किनमेल गर्दा, म पनि सामानहरू कहिले छुटमा पाइन्छन् र ती किन्ने उचित तरिकाहरू के हुन् भनेर विचार गर्दै होशियारीका साथ र मितव्ययी रूपमा किनमेल गर्छु, र यदि कुनै वस्तु व्यावहारिक, उपयुक्त, र उचित मूल्यको छ भने, म त्यो किन्छु। तर म लापरवाही रूपमा किन्दिनँ, र अनुचित खरिदमा पैसा खर्च गर्दिनँ। तर, कतिपय कुरामा खर्च गर्नैपर्ने हुन्छ, र ती अवस्थामा, म सिद्धान्तहरू अनुसार खर्च गर्छु। म आफ्नै खाना, लुगा, र दैनिक आवश्यकताहरूमा पनि मितव्ययीता अपनाउने प्रयास गर्छु। यो आफूलाई जे मन लाग्यो त्यही किन्ने कुरा होइन; मैले खरिद गर्दा ध्यानपूर्वक विचार गरेर गर्नुपर्छ। हेर् त, म सरल, उचित, र सभ्य लुगा लगाउँछु। म खर्च गर्दा सिद्धान्तहरू पछ्याउँछु: म आवश्यक र व्यावहारिक कुरा किन्छु, र त्यस बाहेकको कुरा किन्दिनँ। पैसा फजुलमा उडाउने वा बरबाद गर्ने काम नगर्; खर्च गर्न नहुने पैसा खर्च नगर्; बचत गर्नुपर्ने ठाउँमा बचत गर्, र अनावश्यक खर्चबाट टाढा बस्—सिद्धान्तहरू यिनै हुन्। तर, जब मानवताविनाका कतिपय मानिसहरूले परमेश्‍वरका भेटीहरू खर्च गर्ने अवसर देख्छन्, तब तिनीहरूको आँखा बल्छ। यदि यो मानिसहरूको गाँस, बास, कपास वा यातायातमा खर्च गर्ने कुरासँग सम्बन्धित छ भने, तिनीहरूले हतार-हतार कदम चाल्छन्। विशेष गरी अरूका लागि लुगा किन्‍ने वा जीविकोपार्जनका खर्चहरू बाँड्ने कार्यमा, तिनीहरू अत्यन्तै उत्साहित र निकै उदार बन्छन्। तिनीहरू हृदयमा सोच्छन्, “खैर, मेरो पैसा खर्च हुने होइन। परमेश्‍वरकै पैसा खर्च हुने हो, र यसले मेरो प्रतिष्ठामा सहयोग गर्छ, त्यसकारण किन खर्च नगर्ने?” त्यसकारण तिनीहरूले अवसरको फाइदा उठाएर पैसाको खोलो बगाउँछन्। हृदयमा, तिनीहरूले दुष्ट अभिप्रायहरू राख्छन्, र परमेश्‍वरको घरलाई हानि गर्ने बाहेक केही चाहँदैनन्! तर यदि यो तिनीहरूको आफ्नै पैसा थियो भने, तिनीहरूले सबै कुराको हिसाबकिताब गर्नेथिए, र आवश्यकभन्दा बढी एक पैसा पनि खर्च गर्न मान्दैनथिए। तिनीहरू सामान्यतया जति नै दयालु देखिए पनि, त्यस्ता मानिसहरूमा असल मानवता हुँदैन। मेरो दृष्टिकोणमा, परमेश्‍वरका भेटीहरूप्रतिको तिनीहरूको मनोवृत्तिले धेरै कुरा बताउँछ। तिनीहरूले भेटीहरू फजुलमा उडाउन सक्छन् र तिनीहरूसँग परमेश्‍वरको डर मान्‍ने हृदय पटक्‍कै हुँदैन भन्‍ने तथ्यले, कम्तीमा पनि, तिनीहरू दयालु छैनन्, तिनीहरू नीच छन्, र तिनीहरूमा खराब मानवता छ भन्‍ने देखाउँछ। के कुरा यही होइन र? (हजुर, हो।)

व्यक्तिको जन्मजात अवस्था, मानवता, र भ्रष्ट स्वभावसँग सम्बन्धित धेरै प्रकटीकरणहरू हुन्छन्। आज हामीले तीमध्ये केहीलाई सरसर्ती हेरेका छौँ; अरू प्रकटीकरणहरू पनि हुन सक्छन्, जुन कुरालाई हामी भविष्यका सङ्गतिहरूमा समावेश गर्न सक्छौँ। आजका लागि हाम्रो सङ्गतिलाई यहीँ समाप्त गरौँ। बिदा!

सेप्टेम्बर २३, २०२३