सत्यता कसरी पछ्याउने (४) भाग चार

उदाहरण ७: पिरो खाना खान रुचाउनु

कतिपय मानिसहरू खुर्सानी खाने चलन भएको ठाउँमा जन्मेका हुन्छन्; सायद मौसमको कारण, वा तिनीहरूको परिवारमा खुर्सानी खाने बानी भएकोले र तिनीहरूलाई त्यो खान मन पर्ने भएकोले, तिनीहरूले त्यो हरेक दिन खान्छन्, र तिनीहरूको दैनिक आहारमा प्रायजसो पिरो धेरै हालिएको हुन्छ। यो स्पष्ट रूपमा नै एउटा जन्मजात अवस्था हो। यो जन्मजात अवस्थाहरूमध्ये कुन हो? (जीवनशैलीको बानी।) तिनीहरूको जीवनशैलीको बानी के हो भने तिनीहरूले आफ्नो दैनिक आहारमा पिरो नखाई बस्‍न सक्दैनन्; तिनीहरूले खाने सबै कुरामा पिरो स्वाद हुनैपर्छ। यो रुचि कति हदसम्‍म पुग्छ? तिनीहरूले गुलियो खानामा समेत पिरो हाल्छन्, बर्गर र पिज्जामा पिरो हालेर खान्छन्, र चिया र कफीमा समेत खुर्सानी हाल्छन्—तिनीहरूले पिरो खाना यो हदसम्म खान्छन्। यो जीवनशैलीको बानी हो। यसमा सही वा गलत भन्ने हुन्छ? (हुँदैन।) पिरो खानाको रुचि व्यक्तिको जिउने वातावरण र जीवनशैलीका बानीहरूले पैदा गर्छन्; यसमा सही वा गलत भन्ने नै हुँदैन। कतिपय मानिसहरू अति मात्रामा पिरो खाना खान्छन्; यदि पिरो खाना छैन भने, तिनीहरूले खाना नै खाँदैनन्। तैँले यसलाई स्विकार्न सके पनि नसके पनि, तिनीहरूले पिरो खाना खान जिद्दी गर्छन्, र कसैले पनि यसलाई परिवर्तन गर्न सक्दैन। छोटकरीमा भन्दा, खुर्सानी खान मन पराउनु जीवनशैलीको बानी हो, यसमा कुनै समस्या छैन, र यो सत्यतासँग सम्बन्धित छैन। कतिपय मानिसहरू भन्छन्, “यो जीवनशैलीको बानी अत्यन्तै चरम छ; के यसलाई नकारात्मक कुरा मान्नुपर्छ? के यसलाई आलोचना वा नियमन गर्नुपर्छ? के हामीले केही स्वास्थ्य ज्ञान प्रवर्धन गर्नुपर्छ, र खाने र जीवनशैलीका बानीहरूका सिद्धान्तहरूमा स्वास्थ्यलाई प्राथमिकता दिइनुपर्छ भन्‍ने विचार फैलाउनुपर्छ?” के तैँले खुर्सानी र पिरो खाना खानु अस्वस्थकर हो भनेर निश्‍चितताका साथ भन्न सक्छस्? तिनीहरूले धेरै वर्षदेखि, कैयौँ पुस्तादेखि यसरी नै खाँदै आएका हुन्छन्, र तिनीहरू निकै स्वस्थ हुन्छन्। विशेषगरी, कतिपय ठाउँका मानिसहरूले यति धेरै खुर्सानी खान्छन् कि अरूलाई यो स्विकार्नै गाह्रो हुन्छ। जब मानिसहरूले तिनीहरूको खाना कति पिरो छ भन्‍ने देख्छन्, तब तिनीहरूलाई असहज लाग्छ, तैपनि यी व्यक्तिहरू बलिया, स्वस्थ, र निकै सुगठित हुन्छन्, र तिनीहरूमा शारीरिक काम गर्ने तागत र सहनशक्ति हुन्छ। यसले खुर्सानी खाँदा त्यसले कुनै हानि गर्दैन र स्वास्थ्यलाई असर गर्दैन भन्‍ने कुरा प्रमाणित गर्छ; अनि तिनीहरूको पिरो आहार पनि स्वास्थ्य सिद्धान्तहरू अनुरूप हुन्छ जस्तो देखिन्छ। खुर्सानी खान मन पराउनु जन्मजात जीवनशैलीको बानी हो। अरूलाई यो मन परे पनि नपरे पनि वा अरूले यसलाई स्वीकार गर्न सके पनि नसके पनि, कुनै व्यक्तिले यसबाट आनन्द लिन्छ र यसले अरूको जीवन वा आहारमा असर गर्दैन भने, यसलाई कायम राख्‍न सकिन्छ। यसमा कुनै सही वा गलत भन्ने हुँदैन; यो कुनै ठूलो समस्या होइन, र परमेश्‍वरको घरले यसबारे कुनै राय बनाउँदैन। कतिपय मानिसहरू भन्छन्, “खुर्सानी खानु पेटका लागि राम्रो होइन।” यदि तँलाई यो पेटका लागि राम्रो होइन भन्‍ने चिन्ता लाग्छ भने, तैँले ती नखाँदा भैगो नि। यदि अरूले लामो समयदेखि पिरो खाना खाँदै आएका छन् र तिनीहरूलाई पेट दुख्यो भने, तिनीहरूले आफै यो कुरा महसुस गर्नेछन् र आफै निर्णय गर्नेछन्। त्यसकारण, हरेकको आ-आफ्नै स्वाद हुन्छ—तिनीहरूलाई गुलियो, अमिलो, तीतो, वा पिरो के मन पर्छ, यो व्यक्तिगत मामला हो। तैँले जसरी खाए पनि वा जति हदसम्‍म खाए पनि, तैँले ग्लानि महसुस गर्नु पर्दैन। अवस्था र वातावरणले साथ दिउन्जेल, तैँले सबै चिन्ताहरूलाई छोडेर कुनै हिचकिचाहटविना खान सक्छस्। मेरो कुरा गर्नुपर्दा, यस सम्बन्धमा यो वा त्यो खानुपर्छ भन्ने छैन। यदि यसका बारेमा कसैले केही भन्‍न चाहन्छ भने, तैँले यसो भनेर प्रतिक्रिया दिन सक्छस्, “यो मेरो स्वतन्त्रता हो, यो मेरो अधिकार हो, र तिमीले हस्तक्षेप गर्नु पर्दैन। मैले खानामा खुर्सानी मात्र खाए पनि, त्यो तिम्रो सरोकारको विषय होइन। यसले मेरो पेटमा हानि गर्छ कि गर्दैन भन्‍ने कुरा मेरो आफ्नै जिम्मेवारी हो, तिम्रो होइन।” के यसरी बोल्नु ठीक हो? (हो।) त्यो तेरो आफ्नै मामला हो; यो अरूको सरोकारको विषय होइन, र मेरो सरोकारको विषय पनि होइन। मैले किन यसो भनेँ? किनभने यो मामला सत्यतासँग सम्बन्धित छैन, भ्रष्ट स्वभावसँग सम्बन्धित छैन, र यो मानिसहरूलाई मुक्ति दिँदा परमेश्‍वरले समाधान गर्न चाहनुहुने समस्यामा पर्दैन। त्यसकारण, जीवनशैलीका बानीहरूका हकमा, हामीले तिनलाई बेवास्ता गर्न सक्छौँ। यो सकारात्मक कुरा होइन, तर यो नकारात्मक कुरा पनि होइन—यो कतिपय मानिसहरूमा हुने रुचि मात्रै हो।

अतिथिसेवा गर्ने कतिपय मानिसहरूलाई खुर्सानी खान मन पर्छ, र तिनीहरू दिनको तीनै छाक पिरो खाना खान चाहन्छन्। त्यसकारण, खाना पकाउँदा, तिनीहरूले हरेक छाकमा पिरो खाना तयार गर्छन्। खुर्सानी कहिल्यै नखाएका कतिपय मानिसहरूलाई यो सहन गाह्रो हुन्छ र तिनीहरूले यसको सट्टा पिरो नहालिएको खाना बनाउन सुझाव दिन्छन्। तर, खाना पकाउने व्यक्ति यो कुरालाई स्वीकार गर्न अनिच्छुक हुन्छ र भन्छ, “त्यसरी हुँदैन। मलाई पिरो खाना खाने बानी परेको छ; यदि मैले पिरो बनाइनँ भने, मलाई त्यो मीठो लाग्दैन। तपाईंले पिरो खाना खाने अभ्यास गर्नुपर्छ; केही समयसम्म खाएपछि, तपाईंलाई बानी पर्छ र पिरोको डर लाग्दैन।” यहाँ के समस्या छ? (तिनीहरूको मानवतामा समस्या छ।) तिनीहरूको मानवतामा कस्तो समस्या छ? (तिनीहरूले अरूमाथि जबरजस्ती गरिरहेका छन्।) अरूमाथि जबरजस्ती गर्नु राम्रो होइन। के यो अरूलाई तिनीहरूले जे गर्न चाहेका छैनन् त्यो गर्न बाध्य पार्नु होइन र? त्यस्ता मानिसहरू आफूलाई मन पर्ने कुरा नै सबैभन्दा राम्रो हो, र अरूले यसलाई स्विकार्नैपर्छ भन्‍ने विश्‍वास गर्दै आफूले गर्ने सबै कुराको केन्द्रमा आफूलाई नै राख्‍ने प्रयास गर्छन्। यदि तिनीहरूलाई कुनै कुरा मन पर्छ भने, तिनीहरूले अरूलाई पनि त्यो कुरा मन पराउन लगाउने प्रयास गर्छन्; सबैले तिनीहरूलाई सन्तुष्ट पार्नु नै पर्छ। के यो स्वार्थी र नीच कुरा होइन र? तिनीहरूले अरूमाथि जबरजस्ती गर्ने मात्र नभई यसमा अलिकति दुर्भावना पनि हुन्छ। के यस्तो व्यक्तिको मानवता असल हुन्छ? (हुँदैन।) खराब मानवता भएका मानिसहरू अरूलाई लाभ दिलाउन सक्दैनन्; तिनीहरूले चोट मात्रै पुर्‍याउन सक्छन्, र गम्भीर अवस्थामा, तिनीहरूले हानि समेत गर्न सक्छन्। त्यस्ता मानिसहरू अत्यन्तै स्वार्थी र नीच हुन्छन्, र तिनीहरू अनुचित रूपमा अभद्र पनि हुन्छन्। यदि कुनै व्यक्तिमा समझ छ भने, उसले यसो भन्‍न सक्छ, “मलाई पिरो खाना खान मन पर्छ, तर कतिपय मानिसहरूलाई मन पर्दैन। त्यसकारण जब म खाना पकाउँछु, तब मैले आफ्नो बारेमा मात्रै सोच्नु हुँदैन। मैले पिरो र पिरोरहित दुवै खाना बनाउनुपर्छ, ताकि म र अरू सबै जना सन्तुष्ट हुन सकौँ। आफ्नो कर्तव्य निर्वाह गर्दा मैले पालना गर्ने सिद्धान्त भनेको सबैलाई सन्तुष्ट पार्नु हो, सबैले राम्ररी खान पाएका छन् भन्‍ने कुरालाई सुनिश्‍चित गर्नु हो, र आफूमा मात्रै ध्यान नदिनु हो। मैले सिद्धान्तहरू अनुसार यो कर्तव्य राम्ररी पूरा गर्नैपर्छ।” यस्तो व्यक्ति तिमीहरूलाई कस्तो लाग्छ? (तिनीहरूको मानवता तुलनात्मक रूपमा असल हुन्छ।) यो कुन-कुन हिसाबमा असल हुन्छ? (तिनीहरूले अरूको वास्ता र हेरचाह गर्न जानेका हुन्छन्। तिनीहरूले आफूलाई मात्र सन्तुष्ट पार्छन् भन्‍ने होइन।) तिनीहरू तुलनात्मक रूपमा दयालु हुन्छन्, होइन त? असल मानवतामा दया समावेश हुन्छ—अरूका बारेमा सोचविचार गर्नु र तिनीहरूको हेरचाह गर्नु। के यसमा व्यक्तिको मानवता संलग्न हुन्छ? (हुन्छ।) व्यक्तिको उमेर, लिङ्ग, वा स्वभाव जेसुकै भए पनि, यदि उसमा राम्रो मानवता छ भने, उसको वरिपरिका मानिसहरू र ऊसँग अन्तरक्रिया गर्नेहरूलाई फाइदा हुनेछ। अझै विशिष्ट रूपमा भन्दा, कतिपय मानिसहरूले तिनीहरूबाट साथ र सहयोग प्राप्त गर्नेछन्, जबकि अरूलाई दैनिक जीवनमा तिनीहरूले हेरचाह गर्नेछन्। यो असल मानवताको एउटा प्रकटीकरण हो।

यस्ता मानिसहरू पनि हुन्छन् जो पिरो खाना यति धेरै मन पराउँछन् कि तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्न बाहिर जाँदा पनि खाने समयमा पिरो खानेकुरा पाउने ठाउँ नै खोज्छन्। यदि तिनीहरूले एक छाक पिरो नहालेको खाना खाएमा, तिनीहरूलाई भित्री रूपमा असहज महसुस हुन्छ: “यहाँ पिरो खाना खान नपाउँदा, आफ्नो कर्तव्य निर्वाह गर्न मनै लाग्दैन। म घर जान चाहन्छु, जहाँ म प्रत्येक छाक मज्जाले पिरो खाना खान पाउँछु—मलाई चाहिने त त्यो पो हो त! खुर्सानीविना त केहीको स्वाद हुँदैन; सुँगुरको भुटेको मासुमा पनि स्वाद हुँदैन। म के गरूँ?” त्यसकारण, तिनीहरूले खुर्सानी खान पाइने ठाउँहरू खोजिरहन्छन्। पछि, तिनीहरूले विशेषगरी पिरो खाना पाइने रेस्टुराँका बारेमा थाहा पाउँछन्, तर त्यहाँ पुग्‍न गाडीमा एक घण्टाभन्दा बढी लाग्छ। तिनीहरू भन्छन्, “त्यो जति नै टाढा भए पनि, म जानुपर्छ! यदि आज मैले पिरो चिज खाइनँ भने, म आफ्नो कर्तव्य निर्वाह गर्नेछैनँ। यदि मैले पिरो खान पाइनँ भने, मलाई सहज हुनेछैन, र म दिन कटाउनै सक्दिनँ!” कसैले तिनीहरूलाई भन्छ, “यतिखेर बाहिरको वातावरण खतरनाक छ, र यो क्षेत्र निकै अस्तव्यस्त छ! हामी त्यहाँ खान नजाऊँ।” तर तिनीहरूले कुरा सुन्दैनन्, र भन्छन्, “डराउनुपर्ने कुरा के छ र? खानु नै महत्त्वपूर्ण कुरा हो! के तिमी पनि प्रायः बाहिर जाँदैनौ र? नडराऊ, केही पनि हुनेछैन—परमेश्‍वरले हाम्रो रक्षा गर्नुहुनेछ!” खाना खाएपछि, तिनीहरू सन्तुष्ट हुन्छन्। तिनीहरूले आफूले तृष्णा गरेको खुर्सानी र स्वादिष्ठ खाना खान पाए भने, सबै कुरा ठीकठाक हुन्छ, र तिनीहरू यति खुसी हुन्छन् कि सुत्दा पनि मुस्कुराउन छोड्दैनन्। यो कस्तो मानवता हो? (स्वार्थी र नीच मानवता।) स्वार्थी र नीच हुनुका साथै, अर्को विशेषता पनि छ: तिनीहरूले कुनै काम गर्न चाहँदा वस्तुगत वातावरण वा अवस्थाहरूलाई विचार गर्दैनन्। तिनीहरूले आफ्नै चाहना र रुचिहरूलाई पूरा गर्न सक्छन् भने, त्यो नै महत्त्वपूर्ण हुन्छ। तिनीहरू आफूले खान चाहेको चिज एकपटक चाख्नका लागि जुनसुकै मूल्य तिर्न तयार हुन्छन्—हदैसम्म जानु परे पनि, तिनीहरूले आफ्नो लक्ष्य हासिल गर्नका लागि जे गर्नुपर्छ त्यो गर्छन्। के यो स्वार्थी र नीच हुनु मात्रै हो? के यो स्वेच्छाचारिता पनि होइन र? (हो।) यो चरम स्वेच्छाचारिता हो! तिनीहरूसँग हुने जोकोहीले तिनीहरूको स्वेच्छाचारिताको मूल्य चुकाउनुपर्छ र यसको कारण अन्यायपूर्ण व्यवहार सहनुपर्छ। तिनीहरूले जे भन्यो त्यही हुनुपर्छ, र तिनीहरूले जे गर्न चाहन्छन् त्यही हुन्छ। आज, तिनीहरूको मुड खराब छ, त्यसकारण तिनीहरू खाना खान चाहँदैनन्। तिनीहरूले किन खाइरहेका छैनन् भनेर सोधियो भने, तिनीहरू यसो भन्छन्, “आज मलाई रिस उठेको छ, मेरो मुड खराब छ, त्यसकारण मलाई खान मन छैन।” साँझमा, जब विश्रामको समय आउँछ, तब तिनीहरू सुत्न पनि जाँदैनन्, निद्रा लागेन र आफ्नो भावना व्यक्त गर्न गीत गाउन चाहन्छु भन्छन्। कसैले तिनीहरूलाई यसो भन्दै मनाउने प्रयास गर्छ, “तिमीले गीत गायौ भने अरूको निद्रा बिग्रिनेछ।” तिनीहरूले यस्तो जबाफ दिन्छन्, “अहिले म खराब मुडमा छु। म गाउन चाहन्छु। तिमीहरू निदाउन सक्नु वा नसक्नु मेरो सरोकारको विषय होइन। म खराब मुडमा छु, तैपनि कसैले पनि मलाई सान्त्वना दिइरहेको वा वास्ता गरिरहेको छैन—तिमीहरू सबै अत्यन्तै स्वार्थी छौ!” के यो स्वेच्छाचारी हुनु होइन र? तिनीहरू अत्यन्तै स्वेच्छाचारी हुन्छन्; तिनीहरूले आफूलाई ठीक ठाउँमा राख्दैनन्, र जे मन लाग्यो त्यही गर्छन्। जब तिनीहरू खुसी हुन्छन्, तब अरूले भनेको कुनै कुरामा तिनीहरूलाई झिजो लाग्दैन, र तिनीहरूले यसो समेत भन्छन्, “म फराकिलो सोचाइ भएको व्यक्ति हुँ। मलाई सानो कुरालाई ठूलो बनाउन मन पर्दैन।” तर तिनीहरू खुसी नहुँदा, सबैले अत्यन्तै होसियार भएर बोल्नुपर्छ, ताकि तिनीहरू रुष्ट नहोऊन्, किनभने तिनीहरू रुष्ट भएमा ठूलो समस्या आउन सक्छ। तिनीहरूले रिसको झोँक देखाउन, सामानहरू तोड्न सक्छन्, र खाना खान समेत इन्कार गर्न सक्छन्। अझै गम्भीर अवस्थामा, तिनीहरूले आफ्नो कर्तव्य त्याग्‍न, काम रोक्न र घर जान चाहन सक्छन्, र सँगसँगै यसो भन्‍न सक्छन्, “तिमीहरू कसैले पनि मलाई राम्रो व्यवहार गर्दैनौ; तिमीहरू सबैले मलाई हेप्छौ। संसारमा असल मानिसहरू छैनन्!” के यो स्वेच्छाचारी हुनु होइन र? (हो।) के स्वेच्छाचारिता व्यक्तिको मानवताभित्रको समस्या हो? (हो।) तिनीहरू अत्यन्तै स्वेच्छाचारी हुन्छन्—सबैले तिनीहरूको इच्छा पूरा गरिदिनुपर्छ, र यदि तिनीहरूले भने जस्तो भएन भने, तिनीहरू तुरुन्तै शत्रुवत् बन्छन्, र तिनीहरूको आक्रामक रिस बल्झिन्छ। कोही पनि तिनीहरूका विरुद्धमा जानु हुँदैन, र सबैले तिनीहरूलाई मनाउनुपर्छ। तिनीहरू अब जवान नरहे पनि, तिनीहरूको मानवता बच्‍चाको जस्तै अपरिपक्‍व नै हुन्छ। तिनीहरूले आफ्नो कर्तव्य जहाँ निर्वाह गरे पनि, तिनीहरूले कहिल्यै पनि सार्वजनिक नियमहरू पालना गर्दैनन्। जब तिनीहरू खुसी हुन्छन् र कुरा गर्न चाहन्छन्, तब सबैले सुन्‍नुपर्छ, र यदि कसैले सुनेन भने, तिनीहरूले त्यस व्यक्तिका विरुद्धमा ईख राख्छन्। तिनीहरूसँग बोल्दा तैँले मुस्कुराउनुपर्छ; यदि तैँले कुनै भाव देखाइनस् र तँ सुन्‍न त्यति इच्छुक देखिनस् भने, तिनीहरू रिसाउँछन् र झोँक्‍किन्छन्। मण्डलीमा, तिनीहरू जे मन लाग्यो त्यो गर्छन्, जहिले मन लाग्यो तहिले गर्छन्, अरूको सामान्य जीवनको दिनचर्यामा यसले कस्तो असर पार्छ भन्‍ने कुरालाई पर्वाह गर्दैनन्। तिनीहरूलाई सहज महसुस भयो र तिनीहरू राम्रो मुडमा छन् भने, तिनीहरूलाई त्यो नै महत्त्वपूर्ण हुन्छ, र अरूले कुनै आपत्ति जनाउन पाउँदैनन्। यदि कसैले घृणा वा बेखुसी देखाउन आपत्ति जनायो भने, यसले तिनीहरूलाई चिढ्याउँछ, र तिनीहरूले यो कुरा छोड्दैनन्। यस्ता कतिपय मानिसहरू जवान हुन्छन्, र तिनीहरूमा अपरिपक्‍व मानवता हुन्छ, तर अरू चालीस, पचास, वा सत्तरी वा असीका दशकमा हुन्छन्, र बुढेसकालमा पनि तिनीहरूमा अझै यस्तो मानवता हुन्छ, र तिनीहरू विशेष रूपमा स्वेच्छाचारी हुन्छन्। चाहे वातावरण वा अवस्थाहरूले साथ दिऊन् वा नदिऊन्, तिनीहरू जे मन लाग्यो त्यो गर्छन्। उदाहरणका लागि, तिनीहरू त्यस्तो ठाउँमा पुग्छन् जहाँ नुहाउने अवस्था हुँदैन, तर तिनीहरूले यसो भन्दै नुहाउन जिद्दी गर्छन्, “घरमा त म हरेक दिन नुहाउँछु; म ननुहाइ बस्‍न सक्दिनँ।” तर, यो ठाउँमा उचित अवस्था हुँदैन; हप्तामा एक पटक नुहाउनु समेत गाह्रो हुन्छ। त्यसोभए तैँले के गर्नेथिइस्? सामान्य मानवता भएको व्यक्तिले यो परिस्थितिलाई कसरी लिने र सम्हाल्ने भन्‍ने जानेको हुन्छ। यदि मौसम आर्द्र र धुम्मिएको छ भने, सुत्न सकूँ भनेर एक बाटा पानी लिएर राती जिऊ पुछपाछ गरे पुग्छ—यो सहन सकिने कठिनाइ हो। यो सहनु असम्भव छैन। तर, यस्तो व्यक्तिले यसलाई सम्हाल्न सक्दैन; यदि उसले नुहाएन भने, ऊ सुत्न सक्दैन, खान सक्दैन, र यहाँसम्म कि उसलाई बाँच्न सकिँदैन जस्तो महसुस हुन्छ, मानौँ उसले ठूलो अपमान सहिरहेको छ। तिनीहरू कति स्वेच्छाचारी हुन्छन्? तिनीहरू यति स्वेच्छाचारी हुन्छन् कि तिनीहरू सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैनन्, सामान्य रूपमा अरूसँग अन्तरक्रिया गर्न वा मिलेर बस्‍न सक्दैनन्, र सामान्य व्यक्तिले जस्तो जिउन समेत सक्दैनन्। अरूका नजरमा, यस्तो व्यक्तिमा मानसिक असन्तुलन छ जस्तो देखिन्छ। यदि कसैसँग तिनीहरूको सम्बन्ध राम्रो छ भने, तिनीहरू छुट्टिन सक्दैनन्, मानौँ तिनीहरू एउटै व्यक्ति हुन्। तर यदि कुनै व्यक्तिसँग तिनीहरूको सम्बन्ध खराब छ वा कसैले तिनीहरूलाई कहिल्यै चिढ्याएको छ भने, तिनीहरू त्यो व्यक्तिसँग जिन्दगीभरि नबोली बस्न सक्छन्। उसलाई देख्दा, तिनीहरू आँखा तर्छन्, र तुरुन्तै अँध्यारो मुख लगाउँछन्, मानौँ तिनीहरू कुनै शत्रुको सामना गरिरहेका छन्—अत्यन्तै चरम। के यस्तो व्यक्तिको मानवता सामान्य हुन्छ? (हुँदैन।) यस्तो व्यक्ति अत्यन्तै स्वेच्‍छाचारी हुन्छ, र उसको मानवता सामान्य हुँदैन। “सामान्य हुँदैन” भन्‍नुको अर्थ के हो? यसको अर्थ तिनीहरूमा सामान्य मानवता हुँदैन। के त्यस्ता मानिसहरूले अरूसँग सामान्य अन्तरक्रिया र सहकार्य गर्न सक्छन्? के तिनीहरू मानिसहरूका बीचमा सामान्य रूपमा जिउन सक्छन्? के तिनीहरूले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छन्? (सक्दैनन्।) तिनीहरूले आफ्नो उद्देश्य हासिल गर्न चाहन्छन् भने—चाहे त्यो तिनीहरूले खाना खाने होस्, राम्रो व्यवहार पाउने होस्, वा आफूले गर्न चाहेको कुनै कुरा गर्ने होस्—त्यो पूरा हुनैपर्छ। होइन भने, आकाश खस्दै छ, तिनीहरूको संसार सकिँदै छ जस्तो हुन्छ। तिनीहरू व्याकुल हुन्छन् र अरूका बारेमा, वातावरणका बारेमा, र यसो भन्दै परमेश्‍वरका बारेमा समेत गुनासो गर्न थाल्छन्, “मलाई यति धेरै कष्टमा पारेर परमेश्‍वरले मेरा लागि कस्तो वातावरण खडा गर्नुभएको हो? अरूले किन त्यस्ता वातावरणहरूको सामना गरेका र यसरी कष्ट भोगेका छैनन्? किन मैले नै कष्ट भोगिरहेको छु? परमेश्‍वर पक्षपाती हुनुहुन्छ!” हेर् त, तिनीहरूको पैशाचिक प्रकृति देखा परेको छ, होइन त? के यस्तो मानवता मानकअनुरूप हुन्छ? (हुँदैन।) त्यस्ता मानिसहरूलाई निराकरण गर्नुपर्छ। यस्तो व्यक्तिलाई कसरी निराकरण गर्नुपर्छ? (तिनीहरूलाई कुनै साधारण मण्डलीमा पठाउनुपर्छ।) यदि तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्नै नसक्‍ने अवस्थामा पुग्छन्, तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा बाधा र अवरोध मात्र सिर्जना गर्छन्, जसले गर्दा तिनीहरूलाई हेर्ने सबैलाई तिनीहरूप्रति घिन र झिजो लाग्छ, र अरू तिनीहरूसँग मिलेर बस्‍न सक्दैनन् भने, तिनीहरूलाई तुरुन्तै लखेट्नुपर्छ—यस्तो व्यक्ति कुकुरको गन्हाउने गुहुजस्तै हो। स्वेच्छाचारितामा स्वार्थीपन, नीचता, र अनुचित अभद्रता पनि समावेश हुन्छन्। कहिलेकहीँ यसमा अत्यधिक हिसाबी कुरा, कठोरता, साथै क्रूरता र दुर्भावना समेत समावेश हुन्छन्। जब यस्तो व्यक्तिले केही समयसम्म आफ्नो कर्तव्य निर्वाह गर्छ, तब सबैलाई गहन रूपमा हानि हुन्छ, र उसलाई हेर्ने जोकोही त्रसित हुन्छ। यदि तैँले तिनीहरूबाट जोगिने र तिनीहरूलाई नचिढ्याउने प्रयास गरिस् भने पनि तिनीहरूले भन्‍नलाई केही कुरा पाउनेछन्: “तपाईं केबाट लुकिरहनुभएको छ, चोरबाट? मैले तपाईंलाई कसरी चिढ्याएँ जसले गर्दा तपाईं मबाट टाढा बस्नुहुन्छ?” तर यदि तैँले तिनीहरूकहाँ गएर केही कुरा भन्‍ने प्रयास गरिस् भने, तिनीहरू अझै पनि तँसँग सामान्य कुराकानीमा संलग्‍न हुनेछैनन्। तिनीहरूमा सामान्य मानवता हुँदैन, र तिनीहरूसँग अन्तरक्रिया गर्नेहरूले मौखिक रूपमा मात्रै चोट भोग्दैनन् बरु तिनीहरूको निष्ठामा, भावनामा, र शारीरिक रूपमा समेत चोट पुग्छ। त्यस्ता मानिसहरू साँच्‍चै नै घृणित हुन्छन्! के तिनीहरूलाई खराब मानवता भएको व्यक्ति भनेर वर्गीकरण गर्नु उचित हुन्छ? (हुन्छ।) यस्तो व्यक्तिमा खराब मानवता हुन्छ र ऊ स्वेच्‍छाचारी हुन्छ। स्वेच्छाचारी व्यक्तिले अरूलाई सुधार गर्न नसक्‍ने मात्र नभई तिनीहरूलाई ऊप्रति झिजो र घृणा लाग्‍ने समेत तुल्याउँछ, र ऊ कसैसँग मिलेर बस्‍न सक्दैन। ल भन् त, के स्वेच्छाचारी व्यक्तिले सत्यतालाई स्वीकार गर्न सक्छ? (सक्दैन।) त्यसोभए तिनीहरूमा भित्री रूपमा कस्तो स्वभाव हुन्छ? (हठीपन।) तिनीहरूको हठीपन प्रस्ट देखिन्छ, तर अर्को कुरा पनि छ—त्यो के हो? (सत्यताप्रति वितृष्ण हुनु।) ठीक भनिस्। हठी र सत्यताप्रति वितृष्ण हुने भ्रष्ट स्वभावहरू हुनु—यी स्वेच्छाचारी मानिसहरूका दुई वटा विशेषता हुन्। यस्तो व्यक्ति स्वेच्‍छाचारी मात्र नभई स्वार्थी र अनुचित रूपमा अभद्र पनि हुन्छ। तिनीहरूको अनुचित अभद्रतामा अरूलाई अनुचित र स्वेच्छाचारी ढङ्गले दिक्क पार्ने तत्व समावेश हुन्छ। जब तैँले तिनीहरूसँग अन्तरक्रिया गर्छस्, तब दयापूर्वक बोलेर हुँदैन—तिनीहरूले तँसँग गोप्य मनसायहरू छन् भन्‍ने सोच्छन्। यदि तैँले कडा रूपमा बोलिस् भने, तिनीहरू तैँले तिनीहरूलाई हेपिरहेको छस् भन्ने सोच्छन्, तर तिनीहरूको स्वेच्छाचारिताले अरूलाई हानि गरेपछि पनि तिनीहरूले यसो भन्‍नेछन्, “मेरो उद्देश्य तिमीलाई चोट पुर्‍याउने थिएन। यदि तिमीलाई चोट पुग्यो भने, म माफी चाहन्छु।” यी शब्दहरू मिठा सुनिने भए पनि, जब चोट पुगेको व्यक्तिले उसलाई क्षमा दिँदैन र आलोचना समेत गर्छ, तब स्वेच्छाचारी व्यक्ति रिसाउँछ र उसले भन्छ, “तिमीले यो कुरा छोड्नै सक्दैनौ—के तिमीले मेरो माफीको फाइदा मात्रै लिइरहेको छैनौ र? के तिमीलाई मैले माफी मागेँ भन्दैमा मलाई सजिलै हेप्‍न सकिन्छ भन्‍ने लाग्छ? अनि अहिले तिमी मेरा कमीकमजोरीहरू औँल्याइरहेको छौ! के ममा कमीकमजोरीहरू छन्? के तिमी तिनलाई औँल्याउन योग्य छौ?” के यो सत्यतालाई स्वीकार नगरेको अवस्था होइन र? (हो।) यसमा तिनीहरूको भ्रष्ट स्वभाव संलग्न हुन्छ। तिनीहरूको मानवतामा रहेका यी विशेषताहरू स्वाभाविक रूपमा नै भ्रष्ट स्वभावका निश्‍चित विशेषताहरूमा पनि प्रकट हुन्छन्—ती जोडिएका हुन्छन्। यस किसिमका मानिसहरूमा हुने भ्रष्ट स्वभावका विशेषताहरूमा हठीपन, सत्यताप्रति वितृष्णा, र अलिकति क्रूरता समावेश हुन्छ। यी पक्षहरू तिनीहरूको भ्रष्ट स्वभावका विशेषता हुन्।

उदाहरण ८: मानवका जन्मजात प्रवृत्तिहरू

जन्मजात अवस्थाहरूमा थप एउटा पक्ष समावेश हुन्छ, जुन मानवको जन्मजात प्रवृत्ति हो। उदाहरणका लागि, कतिपय मानिसले परमेश्‍वरमा विश्‍वास गरेपछि, तिनीहरूले चिनियाँ कम्युनिस्ट पार्टीका सरकारले परमेश्‍वरका चुनिएका मानिसहरूलाई गरेको उन्मत्त दमन, पक्राउ, र निर्दयी व्यवहार देख्छन्, र तिनीहरू डराउँछन्, हडबडाउँछन्, डरपोक, र भयभीत हुन्छन्। कहिलेकाहीँ, तिनीहरूको खुट्टा कमजोर समेत हुन्छ, र तिनीहरू लगातार शौचालय जान चाहन्छन्। यो केको प्रकटीकरण हो? (जन्मजात प्रवृत्तिको।) यो जन्मजात प्रवृत्तिको प्रतिक्रिया हो। सामान्य मानवताभित्र, जब निश्‍चित भयानक घटनाहरू, मानिसहरूको आफ्नै जीवनसँग सम्बन्धित परिस्थितिहरू, वा तिनीहरूलाई खतरामा पार्न सक्‍ने मामलाहरूको कुरा आउँछ, तब चाहे त्यो जानकारी सुन्दा होस् वा वास्तविकता सामना गर्दा होस्, तिनीहरूसँग जन्मजात प्रवृत्तिका केही प्रतिक्रिया हुनेछन्, र तिनीहरू डरपोक र भयभीत हुनेछन्। यसका साथै, तिनीहरूको शरीरले स्वाभाविक रूपमा नै केही सामान्य प्रतिक्रिया देखाउनेछ, जस्तै अत्यासिनु, मांसपेशी बटारिनु, केही समयका लागि कान नसुन्नु वा आँखा नदेख्नु, साथै मुख सुक्‍ने हुनु, खुट्टा कमजोर हुनु, अत्यधिक पसिना आउनु, पिसाब वा दिसा नरोकिनु। के यी प्रतिक्रियाहरू देखापर्ने सम्भावना हुन्छ? (हुन्छ।) यी प्रतिक्रियाहरू, चाहे स्‍नायु प्रणालीद्वारा नियन्त्रित होऊन् वा अरू कुनै कारणले पैदा होऊन्, जे भए पनि, ती बाहिरी कारकले देहमा गराउने प्रतिक्रिया हुन्, र यी प्रतिक्रियाहरूलाई समग्रमा जन्मजात प्रवृत्ति भनिन्छ। शरीरको सहनशक्तिको सीमा हुन्छ; त्यसले व्यक्तिको साहसका सीमाहरू पार गरेपछि, यसले केही जन्मजात प्रवृत्तिका प्रतिक्रियाहरू देखाउनेछ। अरूले यी प्रतिक्रियाहरूलाई कमजोरीका रूपमा देख्लान्, वा ती हास्यास्पद, दयनीय, वा सहानुभूति पाउन लायक देखिएलान्, तर यी कुरा व्यक्तिको जन्मजात प्रवृत्तिका प्रकटीकरण हुन् जसलाई नकार्न सकिँदैन। खतराको सामना गर्दा, टाउकोमा हात राखेर रुने, आँसु झार्ने, वा ठूलो सोरले चिच्याउने मानिसहरू पनि हुन्छन्; अरू चाहिँ अँध्यारो कुनामा कुचुक्क परेर लुक्लान्—यस्ता सबै प्रतिक्रिया नैसर्गिक प्रतिक्रिया हुन्। यी जन्मजात प्रवृत्तिका प्रतिक्रियाहरू, चाहे त्यो रुने होस्, हाँस्ने होस्, वा अत्यन्तै डराएर अपमानजनक काम गर्ने होस्—के यी कुरामा कुनै सही वा गलत भन्‍ने हुन्छ? (हुँदैन।) त्यसोभए, सरकारले विश्‍वासीहरूलाई पक्राउ गरेको सुन्दा डर मान्‍नेहरूका हकमा भन्दा, के हामी यी मानिसहरू कायर हुन् र तिनीहरूमा मानवता छैन भनेर भन्‍न सक्छौँ? (सक्दैनौँ।) के “परमेश्‍वरमा विश्‍वास गर्न आस्था हुनुपर्छ; डराउनु हुँदैन!” भन्‍ने अभिव्यक्ति सही हो? (होइन।) “यो कमजोरी, कायरता र अयोग्यताको प्रकटीकरण हो। यसले परमेश्‍वरमाथि आस्था नभएको देखाउँछ, र तिनीहरू परमेश्‍वरमा भर पर्न जान्दैनन् भन्‍ने देखाउँछ। त्यस्तो व्यक्ति विजेता होइन!” के हामीले यसो भन्‍न मिल्छ? (मिल्दैन।) किन मिल्दैन? (यो त कसैले बाहिरी परिस्थितिहरू सामना गर्दा देखापर्ने शारीरिक प्रतिक्रिया मात्रै हो।) यो सामान्य शारीरिक प्रतिक्रिया हो, भ्रष्ट स्वभावद्वारा उत्प्रेरित प्रकटीकरण होइन। यसको अर्थ जब त्यस्ता परिस्थितिहरूमा मानिसहरूसँग यी प्रकटीकरण र प्रकाशहरू हुन्छन्, तब त्यो कुनै भ्रष्ट स्वभावको प्रभावको कारणले गर्दा होइन, न त त्यो तिनीहरूको मानवतामा कुनै विचार वा दृष्टिकोण हाबी भएर नै हो। यी प्रतिक्रियाहरू तैँले पूर्वकल्पना गर्ने कुरा होइनन्; त्यस्ता परिस्थितिहरू सामना गर्दा, तँमा अचानक उन्मत्त विचारहरू आउने, त्यसपछि, यसबारे अझ बढी सोच्दा, तँ आत्तिने, तेरो शरीर ऐँठन पर्ने, वा तैँले आफ्नो पिसाब वा दिसा रोक्‍नसमेत नसक्ने होइन। यी प्रतिक्रियाहरू पछाडिको कारण त्यो होइन। बरु, त्यो त यी घटनाहरू वा यो समाचारबारे सुनेपछि, जानीबुझी विचार नगरी, कुनै मानसिक छानबिन वा प्रशोधन नगरी, तेरो शरीरले अत्यन्तै स्वाभाविक रूपमा केही जन्मजात प्रवृत्तिका शारीरिक प्रतिक्रिया पैदा गर्ने हुनाले गर्दा हुन्छ। त्यसकारण, यस्तो प्राकृतिक प्रतिक्रिया देहको जन्मजात प्रवृत्तिले पैदा गर्छ। यसमा सही वा गलत भन्ने हुँदैन, सबलता र दुर्बलताबीच कुनै भिन्‍नता हुँदैन, र निश्चित रूपमा सकारात्मक र नकारात्मकबीच कुनै भिन्‍नता हुँदैन। कतिपय मानिस भन्छन्, “सरकारले जसरी पक्राउ कारबाही अघि बढाए पनि, मलाई डर लाग्दैन!” म त भन्छु, त्यसोभए त्यसले गर्दा तँ मूर्ख हुन्छस्। जब ठूलो रातो अजिङ्गरले तँलाई यातना दिन्छ, तब तँ डराउँछस् कि डराउँदैनस् हेरौँ न—त्यो बेला, तँ नचिच्याई बस्‍नु असम्भव हुनेछ। पीडा चरम अवस्थामा पुगेपछि तैँले के सोच्नेछस्? “म बरु मर्न चाहन्छु। यदि म मरेँ भने, स्वतन्त्र हुनेछु, र उप्रान्त मलाई पीडा हुनेछैन।” यी सबै देहका जन्मजात प्रवृत्तिका प्रतिक्रिया हुन्, र यीमध्ये कुनै पनि समस्या होइन। कतिपय मानिसले यसो भन्लान्, “म डराउँदिनँ; यदि कसैले मलाई हिर्कायो भने, म पनि उसलाई हिर्काउनेछु, र जित्न सकिनँ भने, भागिहाल्नेछु।” तर जब तँ भाग्छस् र कसैले तँलाई बन्दुक ताक्छ, तब तेरो खुट्टा कमजोर हुनेछ, तेरो हृदय डरपोक हुनेछ, र तैँले “म डराउँदिनँ” भनेर चिच्याउन छोड्नेछस्। जब तेरो जीवन जोखिममा हुन्छ, तब तँलाई पनि मर्नदेखि डर लाग्नेछ—यो तेरो जन्मजात प्रवृत्तिको प्रतिक्रिया हो। यी जन्मजात प्रवृत्तिका प्रतिक्रियाहरू भएका हुनाले, व्यक्तिमा जस्तोसुकै प्रकटीकरणहरू भए पनि वा मानव कमजोरीका जुनसुकै प्रकाशहरू भए पनि, यसलाई गलत मानिँदैन, न त यो लाजमर्दो कुरा नै हो, र परमेश्‍वर यसलाई दोषी ठहराउनुहुन्न। स्वाभाविक रूपमा, तैँले यी प्रतिक्रियाहरूलाई रोक्‍ने प्रयास गर्नु हुँदैन, र देख्‍नेहरूले पनि तिनलाई गिल्ला गर्नु हुँदैन, किनभने सबै जना उस्तै हुन्छन्—सबै जना देह र रगतले बनेका हुन्छन्। देह र रगतका जन्मजात प्रवृत्तिका प्रतिक्रियाहरू यस्तै हुन्छन्; तँ यस्तै छस्, तिनीहरू यस्तै छन्, सबै जना यस्तै हुन्छन्। यो त कुनै व्यक्तिले ब्वाँसोको सामना गर्नुजस्तै हो; उसको पहिलो जन्मजात प्रवृत्तिको प्रतिक्रिया के हुन्छ? “भाग्! जति सक्दो छिटो भाग्!” अनि भाग्ने क्रममा, ऊ ब्वाँसोले उसलाई भेट्न लागेको छ कि छैन भनेर हेर्छ, र चिन्ता गर्छ: “यदि यसले मलाई भेट्यो भने के गर्ने? यदि यसले मेरो घाँटी ङ्याक्यो भने के गर्ने—के म मर्नेछु? मसँग बन्दुक वा फलामको लाठी मात्रै भएको भए पनि हुन्थ्यो।” भाग्दै गर्दा उसले यी कुराहरू मात्र सोच्छ। तर तैँले जेसुकै सोचे पनि, तेरो पहिलो जन्मजात प्रवृत्तिको प्रतिक्रिया अवश्य नै यसको खेदाइबाट चाँडै उम्कनु, जति सक्दो छिटो र जति सक्दो टाढा भाग्नु, यसले पक्रेर खानबाट जोगिनु हो। यी सबै जन्मजात प्रवृत्तिका प्रतिक्रिया हुन्। तेरो जन्मजात प्रवृत्तिको प्रतिक्रिया के हो? यो आफूलाई बचाउनु, आफ्नो जीवनको रक्षा गर्नु, र आफ्नो जीवन खतरामा छैन भनेर सुनिश्चित गर्नु हो। हेर्नेलाई यी जन्मजात प्रवृत्तिका प्रतिक्रियाहरू कायर, असहनीय, वा लाजमर्दा देखिए पनि, वास्तवमा ती लाजमर्दा होइनन्, किनभने ती देह र रगतले बनेका मानिसहरूका सामान्य प्रकटीकरण हुन्; ती प्राकृतिक प्रकाश हुन्। जन्मजात प्रवृत्तिको प्रतिक्रिया भनेको प्राकृतिक प्रकाश मात्रै हो, र यसमा लाजमर्दो कुरा केही छैन। उदाहरणका लागि, चुट्किला सुनेपछि तँ हाँस्नेछस्। तेरो मुखमा खाना वा पानी छ भने पनि, तँ हाँस्नेछस्, किनभने यो जन्मजात प्रवृत्तिको प्रतिक्रिया हो। जन्मजात प्रवृत्तिको प्रतिक्रिया परमेश्‍वरले दिएको, जन्मजात कार्य हो, जुन अवस्थाहरू सही हुँदा प्राकृतिक रूपमा देखा पर्नेछ र काम गर्नेछ। त्यसकारण, जन्मजात प्रवृत्तिका प्रतिक्रियाहरूको कुरा गर्नुपर्दा, तब ती प्राकृतिक प्रकाश हुन्। ती कमजोरीका प्रकाश वा मानवताको त्रुटि हुन सक्छन्, वा ती तेरो देहको प्राकृतिक प्रकटीकरणका प्रकाश हुन सक्छन्। जेसुकै भए पनि, यो जन्मजात प्रवृत्तिको प्रतिक्रिया भएको हुनाले, यसमा सही वा गलत भन्ने हुँदैन। यदि तँलाई लाज लाग्छ भने, यसले तँमा अन्तर्ज्ञानको कमी छ र तेरो मानवता निकै देखावटी छ भन्‍ने देखाउँछ—तँ अरूमा राम्रो छाप छोड्न चाहन्छस्। यदि तँ आफ्ना जन्मजात प्रवृत्तिका प्रतिक्रियाहरूलाई रोक्‍ने प्रयास गर्छस् भने, यसले तँ मूर्ख छस् र तेरो समझमा समस्या छ भन्‍ने प्रमाणित गर्छ। विशेष खतरनाक वातावरण र परिस्थितिहरूमा, तँलाई यति डर लाग्यो कि तैँले आफ्नो पाइन्ट भिजाइस् भने पनि, तैँले यसलाई लाजमर्दो कुराका रूपमा लिनु हुँदैन। वास्तवमा, यो सामान्य मानवताको प्रकटीकरण हो। त्यस्ता परिस्थितिहरूमा जोसुकै व्यक्तिमा यी प्रकटीकरणहरू देखिन्छन्—प्रसिद्ध वा महान् मानिसहरू पनि यसको अपवाद हुँदैनन्। कठोर परिस्थितिहरूमा, कोही पनि महामानव हुँदैन—तँ साधारण व्यक्ति मात्रै होस्, तँमा असाधारण केही छैन, र घमण्ड गर्नुपर्ने कुनै कुरा छैन। यदि तँ यति डराइस् कि तैँले आफ्नो पाइन्ट नै भिजाइस्, र अरूले थाहा पाए भने पनि, यो लाजमर्दो कुरा होइन, किनभने यसरी, मानिसहरूले तँलाई मान गर्नेछैनन् वा आदर्श ठान्‍नेछैनन्, र कम्तीमा पनि, तँ सुरक्षित हुनेछस्। अब त प्रस्ट भयो होला नि? मानवका जन्मजात प्रवृत्तिका प्रतिक्रियाहरू अत्यन्तै सामान्य र प्राकृतिक हुन्छन्। उदाहरणका लागि, जब तेरो कपाल फोहर भएर तेरो कपाल चिलाउँछ, तब तँ जन्मजात प्रवृत्तिले नै कन्याउँछस्। पछि तेरा नङ फोहोरले भरिए पनि र मानिसहरूले तँ अशोभनीय वा फोहोरी रहेछस् भन्‍ने सोचे पनि, तैँले के नै गर्न सक्छस् र? तेरो कपाल फोहोर हुँदा, त्यहाँ मैला हुनेछ, किनभने तँ देह र रगतले बनेको होस्, र तँ धूलोबाट बनेको होस्, र तैँले यो तथ्य स्वीकार गर्नुपर्छ। यो अवस्थाले तँलाई तेरो कपाल फोहोर छ र यसलाई धुनुपर्छ भनेर मात्रै भनिरहेको हुन्छ। कपाल चिलाउँदा कन्याउनु जन्मजात प्रवृत्तिको प्रतिक्रिया हो। जन्मजात प्रवृत्तिको प्रतिक्रिया एक प्राकृतिक, सामान्य प्रतिक्रिया, परमेश्‍वरले सृष्टि गर्नुभएका जन्मजात अवस्था र स्नायु प्रणालीअन्तर्गत पर्ने एउटा सामान्य प्रकटीकरण हो। कहिलेकाहीँ प्रकटीकरणहरूले तँलाई लज्जित, अनुचित, वा अमर्यादित भएको महसुस गराउन सक्ने भए पनि, तैँले तिनलाई परिवर्तन गर्ने वा रोक्‍ने प्रयास गर्नु हुँदैन। एक हिसाबमा, त्यसो गर्दा यसले तँलाई मानव नैसर्गिक प्रवृत्तिहरूलाई सही रूपमा लिन मद्दत गर्छ; अर्को हिसाबमा, तैँले आफूलाई कसरी आचरणमा ढाल्छस् त्यसका लागि पनि यो सुधारात्मक र फाइदाजनक हुन्छ। तैँले यो पक्षबारे निश्‍चित बुझाइ र चेतना प्राप्त गरेपछि, अरूसँग अन्तरक्रिया र व्यवहार गर्दा, यदि मानव दैहिक जन्मजात प्रवृत्तिका निश्‍चित पक्षहरू प्राकृतिक रूपमा प्रकट हुन्छन् र प्रकाश हुन्छन् भने, तैँले जानाजानी तिनलाई ढाकछोप गर्नु पर्दैन। अनि यदि कहिलेकाहीँ, साँच्‍चै नै लाजमर्दो परिस्थिति पैदा भयो भने, यसलाई व्याख्या गर्नु, रूप बदल्नु वा देखावटी रूप धारण गर्नु पर्दैन, किनभने यो सामान्य मानवताको प्रकटीकरण हो, र यो मानवको जन्मजात प्रवृत्तिको प्रतिक्रिया पनि हो—यो सबै सामान्य व्यक्तिले स्वीकार गर्न सक्‍ने कुराभित्र पर्छ। उदाहरणका लागि, जब मानिसहरू गेडागुडी खान्छन्, तब तिनीहरूको शरीरले स्वाभाविक रूपमा केही ग्याँस पैदा गर्छ, र जन्मजात प्रवृत्तिले नै तिनीहरू डकार्छन् वा पाद्छन्। यो अत्यन्तै प्राकृतिक कुरा हो। युवायुवतीहरूलाई प्रायजसो त्यस्ता प्रकटीकरणहरू लाजमर्दा कुरा हुन् भन्‍ने लाग्छ, तर वास्तवमा यसमा लाजमर्दो कुरा केही छैन। यो त शरीरको सामान्य जन्मजात प्रवृत्तिको प्रतिक्रिया मात्रै हो, र कसरी आफूलाई आचरणमा ढाल्ने वा व्यवहार गर्ने भन्‍ने सिद्धान्तहरूसँग यसको कुनै सम्बन्ध हुँदैन। कतिपय मानिसले यो कुरा नबुझ्ने भए पनि वा तिनीहरू यसप्रति असन्तुष्ट हुन सक्‍ने भए पनि, यो अवश्य नै व्यक्तिको आत्मआचरणमा कुनै सीमा नभएको, उसको हुर्काइ नराम्रो भएको, ऊ छाडा, स्वेच्छाचारी, स्वार्थी भएको, वा उसको मानवता अत्यन्तै खराब वा दुष्ट भएको स्तरमा पुग्दैन—यसलाई यो हदसम्‍म बढाउनु पर्दैन। यो समस्या आत्मआचरणसँग सम्बन्धित छैन, र भ्रष्ट स्वभावसँग यसको अवश्य नै कुनै सम्बन्ध छैन। यो मामलालाई अत्यधिक बढाइचढाइ गर्न आवश्यक छैन। यी कुराहरूलाई सही रूपमा लिनुपर्छ।