सत्यता कसरी पछ्याउने (४) भाग दुई

उदाहरण ३: मौन देखिनु

कतिपय मानिसहरू स्वाभाविक रूपमै बोल्न मन नपराउने हुन्छन्; सानै उमेरदेखि नै, तिनीहरूलाई धेरै बोल्न मन पर्दैन। अरूसँग अन्तरक्रिया गर्दा, तिनीहरू सरल र थोरै शब्दमा बोल्छन्, र जब तिनीहरूका जीवनमा धेरै कुराहरू आइपर्छन्, तब तिनीहरूसँग धेरै विचार हुँदैन, न त तिनीहरूसँग विचार व्यक्त गर्ने धेरै भाषा नै हुन्छ। तिनीहरूले आफ्नो कुरा व्यक्त गरे पनि, यो अत्यन्तै सरल हुन्छ। यो कस्तो समस्या हो? (यो तिनीहरूको व्यक्तित्व सम्बन्धी समस्या हो।) यो तिनीहरूको व्यक्तित्वको समस्या हो, जुन तिनीहरूको जन्मजात अवस्थाको पाटो हो। तिनीहरूको व्यक्तित्व स्वाभाविक रूपमा नै मौन किसिमको हुन्छ। तिनीहरू सरल भाषा प्रयोग गर्छन्, तिनीहरूमा त्यति जटिल विचारहरू हुँदैनन्, र अरूसँग अन्तरक्रिया गर्दा तिनीहरू बोल्न अनिच्छुक हुन्छन्। भेलाहरूमा सत्यतामा सङ्गति गरिँदा, तिनीहरू अरूले बोलेको मात्रै सुन्छन्, र अरूले बोलिसकेपछि तिनीहरूले एउटा सामान्य प्रतिक्रिया दिन सके त्यो नै निकै राम्रो मानिन्छ। यदि तैँले तिनीहरूलाई “यसबारे तिम्रो बुझाइ के छ?” भनेर सोधिस् भने, तिनीहरूले भन्‍नेछन्, “मेरो बुझाइ पनि तिम्रो जस्तै छ।” यदि तैँले तिनीहरूलाई ठ्याक्कै भन्न लगाइस् भने, तिनीहरूले “मलाई पनि तिमीलाई जस्तै लाग्छ” भन्नेछन्, त्यसपछि तिनीहरूसँग भन्‍नलाई अरू केही हुँदैन। यो तिनीहरूको व्यक्तित्व मात्रै हो; यदि तैँले तिनीहरूलाई थप कुरा भन्‍न लगाइस् भने, तिनीहरूले भन्‍ने केही हुँदैन। यो तिनीहरूको जन्मजात अवस्थाको पाटो हो। अर्को प्रकारको व्यक्ति पनि हुन्छ, जो बाहिरी रूपमा धेरै नबोल्ने र प्रायः मौन बस्‍ने देखिए पनि, पर्दापछाडि गफका बारेमा सोध्न मन पराउँछ, र यस्ता कुरा भन्छ: “फलानो दाजुभाइ वा दिदीबहिनी कुन पाष्टरीय इकाइको हो? उसले परमेश्‍वरमा विश्‍वास गरेको आठ वर्ष भएको छ भन्‍ने सुनेको थिएँ—के ऊ कहिल्यै अगुवा बनेको छ? उसको उमेर कति भयो? के उसको सम्बन्धविच्छेद भएको र उसको एउटा बच्चा भएको कुरा साँचो हो?” यो कस्तो प्रकटीकरण हो? झट्ट हेर्दा, तिनीहरू त्यति धेरै बोल्दैनन् र सार्वजनिक स्थानमा बोल्न मन पराउँदैनन्। तिनीहरूको भाषा त्यति सम्पन्‍न हुँदैन, र अरूसँग सामान्य रूपमा कुराकानी गर्नका लागि तिनीहरूसँग शब्दको कमी हुन्छ। तर, अर्को हिसाबमा, तिनीहरूले भन्‍ने धेरै कुरा हुन्छ र सधैँ अरूका बारेमा सोधपुछ गर्न मन पराउँछन्, र यस्ता कुराहरू भन्छन्: “के त्यो व्यक्तिले आँखाको डबल आइलिड शल्यक्रिया गराएकी थिई? उसको छाला अत्यन्तै सफा छ—के ऊ प्रायजसो ब्यूटी सैलून जान्छे?” वा “म फलानोले सधैँ सबैभन्दा अत्याधुनिक कम्प्युटर प्रयोग गर्ने गरेको, र उसका लुगाहरू सबै नामी ब्रान्डका र निकै महँगा हुने गरेको देख्छु। के उसको परिवार सम्पन्‍न छ? उसको परिवारले कस्तो व्यवसाय गर्छ? के उसको बुबा पदाधिकारी हो?” यी प्रकटीकरणहरूमा के-कस्ता समस्याहरू समावेश हुन्छन्? (तिनमा तिनीहरूको मानवताका समस्याहरू समावेश हुन्छन्।) अफवाहबारे सोध्न मन पराउनु, सानातिना व्यक्तिगत मामलाहरूबारे जानकारी सङ्कलन गर्नु, र अरू मानिसका मामलाहरूका बारेमा कुरा गर्न रुचाउनु—यी कुराहरू व्यक्तिको मानवतासँग सम्बन्धित प्रकटीकरण हुन्। के यी प्रकटीकरणहरू राम्रा हुन्? (होइनन्।) ती कुन-कुन तरिकाले राम्रा होइनन्? तिनमा मानवताका के-कस्ता समस्याहरू समावेश हुन्छन्? तिनीहरूले कसैलाई हानि गरेका वा सास्ती दिएका त छैनन्, न त तिनीहरूले अरूका हितलाई नै हानि गरेका छन्, तर पनि किन यी प्रकटीकरणहरूलाई खराब मानिन्छ? (तिनीहरू सधैँ अरू मानिसका मामलाहरूका बारेमा जान्‍न चाहन्छन्, र अरूका पिठ्युँपछाडि तिनीहरूका मामलाहरूबारे निरन्तर चियोचर्चो गर्छन्। तिनीहरूको मानवताको समझमा समस्या छ।) यो तिनीहरूको मानवताको समझसँग सम्बन्धित छ। उदाहरणका लागि, यदि तिनीहरूले “फलानो ब्रदर तपाईं कति वर्षको हुनुहुन्छ?” भनेर निष्कपट र सीधा रूपमा सोधे भने, के यो मानवताको सामान्य प्रकटीकरण हुनेछ? (हो।) के यसरी सोध्नु खुलस्त र इमानदार तरिका होइन र? के यो उचित होइन र? (हो।) त्यसोभए किन कतिपय मानिसहरूले सम्बन्धित व्यक्तिहरूलाई सिधै प्रश्‍नहरू सोध्दैनन् वा कुराहरू भन्दैनन्? तिनीहरू किन अरूको पिठ्युँपछाडि गोप्य चालहरू चाल्छन्? यदि कुनै विषयका बारेमा व्यक्तिगत रूपमा सोध्न वा छलफल गर्न सकिन्छ भने, यस्तो कुरा खुलस्त उठाउनुपर्छ। किन अरूको पिठ्युँपछाडि गोप्य कुराहरू कानेखुसी गर्ने? के यसमा आफूलाई आचरणमा ढाल्ने र परिस्थितिहरूलाई सम्हाल्ने निश्‍चित मनोवृत्ति र विधि समावेश हुँदैन र? के यो मनोवृत्ति र विधि राम्रो छ? (छैन।) यो मनोवृत्ति र विधिलाई किन राम्रो मानिँदैन? के गोप्य रूपमा कुराहरूका बारेमा सोधपुछ गर्न मन पराउने यी मानिसहरू अरूको गोपनीयता खोतल्न र मानिसहरूका पिठ्युँपछाडि तिनीहरूलाई छानबिन गर्न रमाइलो मान्छन्? (हो।) तिनीहरू किन मानिसहरूलाई पिठ्युँपछाडिबाट छानबिन गर्न मन पराउँछन्? यदि तिनीहरूसँग प्रश्‍नहरू छन् भने, तिनीहरूले किन सिधै सोध्दैनन्? के आमने-सामने भएर सोध्नमा कठिनाइ हुन्छ? तिनीहरूलाई सिधै सोध्नु सजिलो छैन वा सम्भव छैन भन्‍ने लाग्छ, त्यसकारण तिनीहरू अरूको पिठ्युँपछाडि सोधपुछ गर्छन्। के तिनीहरूले यसरी व्यवहार गर्नुको कारण यही होइन र? (हो।) वास्तवमा, कतिपय कुरा सिधै सोध्न सकिन्छ, जस्तै कसैलाई यस्ता प्रश्‍नहरू सोध्‍न सकिन्छ: “तपाईंले परमेश्‍वरमा विश्‍वास गर्नुभएको कति वर्ष भयो? के तपाईंले कलेज पढ्नुभएको छ? तपाईंको शैक्षिक स्तर कति हो? तपाईं कति वर्षको हुनुभयो?” यी सबै कुरा आमने-सामने सोध्न सकिन्छ। यदि कतिपय मानिसहरू तँलाई बताउन अनिच्छुक छन् भने, नसोध्, र तिनीहरूको पिठ्युँपछाडि पनि सोधपुछ नगर्। यदि तँलाई तिनीहरू तँसँग निश्‍चित कुराहरू बाँड्न तयार हुन्छन् भन्‍ने लाग्छ भने, वा यदि तिमीहरू एकअर्कालाई चिन्छौ र तिनीहरूले कुरा गर्नका लागि तँमा पर्याप्त भरोसा गर्छन् भने, तैँले तिनीहरूलाई सिधै सोध्न सक्छस्। किन तिनीहरूको पिठ्युँपछाडि सबैतिर सोधपुछ गरिहिँड्न जिद्दी गर्ने? के त्यसो गर्नु साँच्चिकै जरुरी छ? के त्यो निकै नीच देखिँदैन र? यी मानिसहरू अर्को व्यक्तिले नबताउला भन्‍ने डरले सिधै सोध्‍ने आँट गर्दैनन्। तर तिनीहरूलाई यी कुराका बारेमा जान्‍ने र पत्ता लगाउने ठूलो चाहना हुन्छ। यदि तिनीहरूले पत्ता लगाएनन् भने, तिनीहरूलाई असहज महसुस हुनेछ, तर जानकारी प्राप्त भएपछि तिनीहरूलाई भित्री रूपमा सहज महसुस हुन्छ, मानौँ तिनीहरूले बहुमूल्य सम्पत्ति प्राप्त गरेका छन्। तिनीहरू कस्ता प्रकारका मानिस हुन्? अरूका निजी मामलाहरू वा व्यक्तिगत जानकारीहरूका बारेमा सोधपुछ गर्दा र बुझ्दा आनन्द लिनु—यस्ता मानिसहरूमा अरूको कुरा काट्ने र अरूलाई गलत ठहराउने प्रवृत्ति हुन्छ, होइन र? (हो।) यदि तँलाई अर्को व्यक्ति तेरा प्रश्‍नहरूको जबाफ दिन तयार हुनेछ भन्‍ने विश्वास लाग्छ भने, तैँले सिधै उसलाई यी कुराहरू सोधेर तिनका बारेमा पत्ता लगाउन सक्छस्। यदि अर्को व्यक्तिलाई तेरा केही प्रश्‍नहरू आवश्यकताभन्दा बढी छन् र तैँले सोध्नुपर्ने सीमाभन्दा बाहिर छन् भन्‍ने लाग्छ, र उसले तँलाई जबाफ दिन इन्कार गर्छ भने, त्यो ठीकै हो। यदि तिनीहरू तँलाई जबाफ दिन चाहँदैनन् वा तैँले निश्‍चित कुराहरू थाहा पाएको चाहँदैनन् भने, तिनीहरूको पिठ्युँपछाडि पनि सोधपुछ नगर्। यदि तँ अरू कसैको जानकारी वा निजी मामलाहरू जान्न जिद्दी गर्छस् भने, एकातिर, तिनीहरूले तँलाई शङ्काको नजरले हेर्न थाल्छन्: “तिमी किन यी कुराहरू जान्‍न चाहन्छौ? तिमी किन मेरो पिठ्युँपछाडि मेरा बारेमा थाहा पाउन खोज्दै छौ? के तिमी मलाई नियन्त्रण गर्न, सास्ती दिन, वा धोका दिन खोजिरहेको छौ?” त्यो एउटा पक्ष हो। अर्कोतिर, तँलाई अरूका बारेमा जान्‍नुपर्ने के जरुरी छ र? तँसँग तिनीहरूका बारेमा कुराहरू जान्ने के अधिकार छ? के तँ सबैका बारेमा जानकारी सङ्कलन गर्न चाहन्छस्? तँलाई सबथोकबारे जान्नुपर्ने—के तँ जानकारी सङ्कलन गर्ने विज्ञ होस्? के यो तेरो काम हो? परमेश्‍वरको घरले कसैलाई यस्तो आज्ञा दिएको छैन। यदि तैँले निरन्तर अरूका निजी मामलाहरूका बारेमा सोधपुछ गर्ने, तिनीहरूले तँलाई थाहा दिन नचाहने कुराहरूका बारेमा सोधपुछ गर्ने प्रयास गरिस् भने, तिनीहरूले तँप्रति अत्यन्तै झिजो मान्‍नेछन्। अरूलाई झिजो लाग्ने व्यक्तिको मानवता कस्तो हुन्छ? कम्तीमा पनि, यो व्यक्ति निर्लज्ज हुन्छ। गैरविश्‍वासीहरू त्यस्तो व्यक्तिलाई के भन्छन्? दुस्साहसी बदमास। तिनीहरूको मानवता नीच हुन्छ, तिनीहरूसँग इज्जत हुँदैन, र तिनीहरू सबै कुराबारे सोधपुछ गर्न चाहन्छन्, यसरी आफूलाई अनुचित तरिकाले आचरणमा ढाल्छन्। के तिनीहरू यस्तै हुँदैनन् र? (हुन्छन्।) यस्तो व्यक्तिको मानवता असल हुन्छ कि खराब? (तिनीहरूको मानवता खराब हुन्छ।) तिनीहरूको मानवता कम्तीमा पनि राम्रो चाहिँ हुँदैन। यो असल मानवता नहुनुको वर्गभित्र पर्ने एउटा प्रकटीकरण हो—अनुचित रूपमा व्यवहार गर्नु र सधैँ कपटी चालहरू चाल्नु। झट्ट हेर्दा, तिनीहरू तँप्रति भद्र, आदरपूर्ण, र शिष्ट देखिन्छन्, आफ्नो आचरणमा सुशील र उचित देखिन्छन्। तर, तेरो पिठ्युँपछाडि, तिनीहरू कपटी चालहरू चाल्छन्, तेरो उमेर, पारिवारिक पृष्ठभूमि, र तेरा अरू पक्षहरूबारे सोधपुछ गर्छन्, खुला रूपमा छलफल गर्दैनन् वा तँलाई सिधै सोध्दैनन्। अरूसँग अन्तरक्रिया र कुराकानी गर्दा, तिनीहरू स्पष्टसित वा सिधा कुरा गर्दैनन्; बरु, सधैँ मानिसहरूको पिठ्युँपछाडि कपटी चालहरू चाल्छन्, र देखाउनै नमिल्ने कामकुरा गर्छन्। तिनीहरू निरन्तर अरूका निजी मामलाहरू र अरूले के सोचिरहेका छन् भनेर सोचविचार गर्छन्, सधैँ त्यस्ता मामलाहरूबारे नै सोचिरहेका हुन्छन्। यस्तो व्यक्तिको मानवता राम्रो हुँदैन, र कुनै पनि समूहमा, त्यस्ता मानिसहरूलाई सबैले मन पराउँदैनन्। मानिसहरूले तँलाई व्यक्तिगत कुराहरू थाहा दिन चाहँदैनन् वा तिनीहरूले तँबाट केही कुरा लुकाइरहेका हुन्छन् भन्‍ने होइन; कुरा के हो भने तेरो मानवता र आफूलाई आचरणमा ढाल्ने र परिस्थितिहरूलाई सम्हाल्ने तेरो तरिकाले गर्दा चाहिँ अरूले तँलाई मन पराउँदैनन्। मानिसहरूले तँलाई मन नपराउनुको कारण के हो भने, तैँले आफूलाई आचरणमा ढाल्ने र परिस्थितिहरूलाई सम्हाल्ने तेरो विधि अलिक घटिया छ; तैँले प्रयोग गर्ने दाउपेचहरू उचित र इमानदार नभई नीच र फोहोरी हुन्छन्। कतिपय मानिसलाई अरूसँग आमने-सामने अन्तरक्रिया गर्दा कुनै समस्या हुँदैन जस्तो देखिन्छ, तर उनीहरूको पिठ्युँपछाडि, सधैँ गुपचुप तरिकाले काम गर्छन्। जब अरू टाढा जान्छन्, तब तिनीहरू तुरुन्तै उनीहरूको कम्प्युटर खोल्छन् र उनीहरूले कोसँग कुराकानी गरिरहेका छन्, केबारे कुरा गरेका छन्, उनीहरूले आफ्नो डायरीमा के लेखेका छन्, र उनीहरूसँग के-कस्ता अन्तर्ज्ञानहरू छन् भनेर हेर्छन्। कहिलेकाहीँ, यदि कसैको कम्प्युटरमा पासवर्ड राखेको छ भने, तिनीहरू यसो भन्दै फकाएर लिने प्रयास गर्छन्, “के तिमीले आफ्नो कम्प्युटरको पासवर्ड फेरेको हो? मैले भर्खरै मेरो पासवर्ड फेरेर १२३४५६७ राखेँ, सायद तिमीले पनि तिम्रो पासवर्ड फेर्नुपर्छ।” यसो भन्‍नुको उद्देश्य के हो? “म तिमीलाई मेरो पासवर्ड बताउँदै छु—तिमीले पनि मलाई आफ्नो पासवर्ड बताउनुपर्छ, ताकि मैले तिम्रो कम्प्युटर जाँच गर्ने मौका पाउन सकूँ।” कतिपय मानिस अरू नभएको बेला उनीहरूको झोला र सामानहरू खोतल्ने आँटसमेत गर्छन्। उदाहरणका लागि, यदि तिनीहरूले कसैले नयाँ हेडफोन लगाएको देखे र त्यसमा आवाज कस्तो सुनिन्छ भनेर जान्‍न चाहे भने, तिनीहरूले त्यो व्यक्ति त्यहाँ नहुँदा हेडफोन लिएर सुन्‍ने आँट गर्न सक्छन्। यदि तैँले खुला रूपमा त्यस व्यक्तिको हेडफोन सापट मागिस्, र ऊ दिन सहमत भयो भने, तैँले त्यसलाई प्रयोग गरेर हेर्ने अधिकार पाउँछस्। यदि ऊ सहमत भएन भने, तैँले त्यो प्रयोग गरेर हेर्नु हुँदैन। के यसलाई सम्हाल्ने उचित तरिका त्यही होइन र? अरू सहमत भए पनि नभए पनि, तैँले खुला रूपमा तिनीहरूकै अगाडि कामकुरा सम्हाल्नुपर्छ, तिनीहरूको पिठ्युँपछाडि होइन। यस्तो व्यक्तिले त्यसो गर्नै सक्दैन—तिनीहरूले सधैँ कपटी चालहरू चाल्छन्। कुन हदसम्‍म? तँ टाढा जानेबित्तिकै, तिनीहरू तुरुन्तै तेरा सामानहरू खोतल्छन्, तैँले आफ्नो आत्मिक भक्तिका नोटहरूमा के लेखेको छस् भनेर जाँच गर्छन् र कुनै कुरा छुट्ला भन्‍ने डरले तुरुन्तै त्यो सार्छन्। झट्ट हेर्दा, तिनीहरू सत्यताको तृष्णा गर्छन् जस्तो देखिन्छ, तर पर्दापछाडि तिनीहरूका कार्यहरू फोहोरी हुन्छन्। तैँले नयाँ कम्प्युटर किनेको देख्दा, तिनीहरूलाई डाहा लाग्छ। बाहिरी रूपमा, तिनीहरू नयाँ कम्प्युटर राम्रो छ र छिटो चल्छ भनेर भन्छन्, तर भित्री रूपमा यस्तो सोच्छन्, “छिटो? कुनै दिन यो बिग्री जाओस्!” एक दिन, तैँले नयाँ कम्प्युटरले राम्ररी काम गरिरहेको छैन र त्यो ढिलो चल्छ भनेर भनिस् भने, तिनीहरू मनमनै दङ्ग पर्छन्: “नयाँ चलाइस् होइन? खुच्चिङ! मैले त अझै चलाउन पाएकै छैन, त्यसैले तैँले पनि चलाउन नपाएकै राम्रो!” तिनीहरूको मन नीच, फोहोरी विचारहरूले भरिएको हुन्छ, जुन भन्नै लाजमर्दो हुन्छ। कतिपय मानिसले कसैसँग एउटा राम्रो लुगा देख्छन् र आफू पनि त्यो लगाएर हेर्न चाहन्छन्। तर सिधै सोध्नुको सट्टा, तिनीहरू त्यो व्यक्ति नहुँदा थाहा नपाउने गरी त्यो लगाएर हेर्ने मौका मात्र पर्खिन्छन्। तिनीहरू ऐनामा आफूलाई हेर्छन् र राम्रो देखिन्छ भन्‍ने सोच्छन्, तर त्यो व्यक्ति फर्केर आउँदै गरेको पाइलाको आवाज सुनेपछि, त्यो लुगा तुरुन्तै खोल्छन् र त्यसको ठाउँमा राख्छन्। यस्तो व्यक्तिका कपटी चालहरू र परिस्थितिहरू सम्हाल्ने उसको तरिकामा भ्रष्ट स्वभाव समावेश नहुने भए पनि वा त्यो भ्रष्ट स्वभाव जत्तिको गम्भीर नहुने भए पनि, आफूलाई आचरणमा ढाल्ने र परिस्थितिहरू सम्हाल्ने उसको मनोवृत्ति र मानिसहरूलाई व्यवहार गर्ने उसको तरिका निकै मन नपर्दो र घृणित हुन्छ, र यसले केही हदसम्‍म अरूको सामान्य जीवनमा असर गर्छ। त्यसकारण, यस्तो व्यक्तिमा उसको मानवतासम्‍बन्धी गम्भीर समस्याहरू हुन्छन् भनेर भन्‍न सकिन्छ। कति गम्भीर? तिनीहरू अनुचित तरिकाले आफूलाई आचरणमा ढाल्छन्, पर्दापछाडि धेरै कपटी चालहरू चाल्छन्, र समस्याहरू सम्हाल्ने तिनीहरूको तरिका घटिया र फोहोरी हुन्छ। तिनीहरू सधैँ कुरा लुकाउँछन्; तिनीहरू कहिल्यै खुलस्त कामकुरा गर्दैनन्, र सधैँ मानिसहरूको पिठ्युँपछाडि कामकुरा गर्छन्। जब अरू हुँदैनन्, अरूले ध्यान दिइरहेका हुँदैनन्, वा जब तिनीहरूले के गरिरहेका छन् भनेर कसैले देख्‍न वा पत्ता लगाउन सक्दैनन्, तब तिनीहरू गुपचुप तरिकाले कामकुरा गर्छन्। यस्तो व्यक्तिको मानवता असल हुँदैन। तिनीहरू सधैँ अँध्यारो कुनामा जिउँछन्, अँध्यारो वातावरणले ढाकिएका हुन्छन्, र ज्योति वा अरू मानिसको सामना गर्न सक्दैनन्। तिनीहरूको मानवता नीच र फोहोरी हुन्छ। के तिनीहरूको नीच मानवताका यी प्रकटीकरणहरू नैसर्गिक हुन्? (होइनन्।) तिनीहरूलाई अरूको अगाडि कामकुरा गर्न लाज लाग्छ; तिनीहरू ती अरूको पिठ्युँपछाडि गर्न रुचाउँछन्, र अरूको पिठ्युँपछाडि काम गर्दा, तिनीहरू पटक्कै संयमता देखाउँदैनन्। के तिनीहरूको व्यक्तित्वसँग यसको कुनै सम्बन्ध हुन्छ? (हुँदैन।) यदि तैँले यी कपटी चालहरू वा तिनीहरूले आफ्नो मानवतामा प्रकट गर्ने र जिउने कुराहरू भ्रष्ट स्वभावहरूको निश्‍चित पक्षसँग सम्बन्धित छन् भनेर भनिस् भने, त्यो सही हुनेछैन। तर, तिनीहरूका कपटी चालहरू निरन्तर चलिरहन्छन्। झट्ट हेर्दा, तिनीहरूले कुनै ठूलो गल्ती गरेका छैनन् जस्तो देखिन्छ, र मण्डलीले तिनीहरूलाई कर्तव्य अह्राउँदा, तिनीहरू प्रायजसो यसमा आफ्नो हृदय लगाउँछन् र आज्ञाकारी हुन्छन्; बाहिरबाट त तिनीहरू निकै उचित देखिन्छन्। तर पर्दापछाडि, कथा बेग्लै हुन्छ—मुसोजस्तै, कसैले नहेर्नेबित्तिकै, तिनीहरू कपटी चालहरू चाल्न र कामकुरा गर्न थाल्छन्। के यी मानिसहरू ठ्याक्कै मुसाजस्तै हुँदैनन् र? सोच् त—यदि तिनीहरूको मानवता र तिनीहरूले अरूसँग अन्तरक्रिया गर्ने र कामकुरा सम्हाल्ने तरिका यही हो भने, यदि तिनीहरूको मानवताको नैतिक चरित्र यस्तै हो र तिनीहरूमा यस्तो मानवता सार छ भने, तिनीहरूले परमेश्‍वर र सत्यतालाई कस्तो व्यवहार गर्छन्? के तिनीहरू परमेश्‍वर र सत्यतालाई पनि मानिसलाई जस्तै व्यवहार गर्छन्? (गर्छन्।) तिनीहरू पर्दापछाडि कपटी चालहरू पनि चाल्छन्, होइन र? तिनीहरू अगुवा र कामदारहरूको सुपरिवेक्षणबाट जोगिन सम्भव भएको हरेक तरिका प्रयोग गरिहेर्छन्, तिनीहरूको अगाडि एक तरिकाले र तिनीहरूको पिठ्युँपछाडि अर्को तरिकाले काम गर्छन्। तिनीहरू परमेश्‍वरको छानबिन स्वीकार गर्दैनन्, न त हृदयको गहिराइमा सत्यतालाई नै स्वीकार गर्छन्। परमेश्‍वरका वचनहरूले जे भने पनि, तिनीहरू तिनलाई आफ्नै तरिकाले लिन्छन्, केही कपटी चालहरू चाल्छन् र देखाउनका लागि केही कामकुरा गर्छन्, ताकि बाहिरी रूपमा कसैले पनि कुनै समस्या वा गलत कार्यहरू देख्‍न नसकून्। बाहिरी रूपमा, तिनीहरूले केही पनि गलत नगरेको र सत्यता अभ्यास गरिरहेको देखिन्छ, तर पर्दापछाडि, तिनीहरूले पहिले नै कपटी चालहरू चालिसकेका हुन्छन्, र कसैले थाहा नपाई पहिले नै गुप्तमा गल्तीहरू गरिसकेका हुन्छन्। तिनीहरू परमेश्‍वरको छानबिनमा विश्‍वास गर्दैनन् वा त्यसलाई स्वीकार गर्दैनन्, त्यसकारण, तिनीहरू सत्यता स्वीकार गर्दैनन्। यसमा के समावेश हुन्छ? यसमा भ्रष्ट स्वभावहरू समावेश हुन्छन्। जब तिनीहरू परमेश्‍वर, सत्यता, र आफ्नो कर्तव्यलाई यस्तो मानवताद्वारा र अरूसँग अन्तरक्रिया गर्ने र कामकुरा सम्हाल्ने यस्तो तरिकाद्वारा लिन्छन्, तब तिनीहरूले प्रकट गर्ने तिनीहरूको मानवताका विशिष्ट प्रकटीकरणहरूमा भ्रष्ट स्वभावहरू समावेश हुन्छन्। यी भ्रष्ट स्वभावहरूमा के समावेश हुन्छ? कम्तीमा पनि, तिनमा छल समावेश हुन्छ। यदि तिनीहरूको कार्य झनै गुप्त र छली छ भने, त्यसमा के समावेश हुन्छ? (त्यो दुष्टतासम्म पुग्छ।) त्यसमा तिनीहरूको भ्रष्ट स्वभावभित्रको छलीपन र दुष्टपन समावेश हुन्छ। यसअतिरिक्त, तिनीहरू आफ्नो हृदयको गहिराइमा सधैँ सत्यता र परमेश्‍वरको छानबिनबारे शङ्का पाल्छन्। यो तिनीहरूमा गहिरोसित गडिएको हुन्छ। तिनीहरू सोच्छन्, “मैले पर्दापछाडि गर्ने कुरा कसैलाई थाहा हुँदैन। मैले परमेश्‍वरलाई कहीँ देखेको छैनँ, त्यसकारण परमेश्‍वरलाई पनि अवश्य नै थाहा हुँदैन—मलाई मात्रै थाहा हुन्छ।” के यसमा पनि भ्रष्ट स्वभाव समावेश हुँदैन र? यो भ्रष्ट स्वभावहरूको कुन पक्षसँग सम्बन्धित छ? (के यो हठीपन हो?) तिनीहरूमा हठी स्वभाव हुन्छ नै। त्यसोभए, के यी विचारहरूको सार सत्यताप्रतिको वितृष्णा हो? (हो।) सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति प्रतिरोध र विरोधको मनोवृत्ति हो। हठी हुनेबाहेक, तिनीहरू सत्यताप्रति विशेष रूपमा वितृष्ण हुन्छन्, जसले गर्दा यो गम्भीर समस्या बन्छ। यसमा भ्रष्ट स्वभाव समावेश भएपछि, यो खराब मानवता मात्रै रहँदैन, अझै गम्भीर बन्छ। यसमा परमेश्‍वरविरुद्ध विद्रोह, परमेश्‍वरप्रति विरोध, र सत्यताविरुद्ध जाने सार समावेश हुन्छन्। यसमा परमेश्‍वर र सत्यताप्रतिको व्यक्तिको मनोवृत्ति समावेश हुन्छ। यसमा भ्रष्ट स्वभाव समावेश भएपछि, यसमा सत्यता सिद्धान्तहरू र सत्यताद्वारा भ्रष्ट स्वभावहरूलाई समाधान गर्नुपर्ने आवश्यकता समावेश हुन्छ।

उदाहरण ४: बाहिरी रूपहरूको वास्ता गर्नु

कतिपय मानिसहरू स्वाभाविक रूपमा नै अग्ला हुन्छन् र तिनीहरूको जिउडाल सुन्दर हुन्छ, यसका साथै, तिनीहरूमा मिलेका, सफा, र परिष्कृत शारीरिक विशेषताहरू हुन्छन् जसलाई अरूले मन पराउँछन्। तिनीहरूले जेसुकै लगाए पनि, मानिसहरूले यसो भन्दै प्रशंसा गर्छन्, “तिनीहरू साँच्‍चै नै पत्रिकाका विज्ञापनमा छापिने मानिस जस्तै छन्—कति राम्रो, कति सुन्दर, कति आकर्षक!” यो तिनीहरूको जन्मजात अवस्था, तिनीहरूको मानवता, कि तिनीहरूको भ्रष्ट स्वभावअन्तर्गत पर्छ? (यो तिनीहरूको प्राकृतिक रूप हो।) तिनीहरू सुन्दर रूप लिएरै जन्मिएका हुन्। तिनीहरू प्राकृतिक रूपमा नै आकर्षक भएकाले र तिनीहरूको जिउडाल राम्रो हुने भएकोले, सानैदेखि नै, तिनीहरूलाई अग्रजहरूले प्रशंसा गर्थे, सहपाठीहरूले डाहा गर्थे, र आमाबुबाले विशेष रूपमा माया गर्थे। हरेक दिन, तिनीहरूलाई आमाबुबाले मिलाएर लुगा लगाइदिन्थे, र तिनीहरू तीन वा पाँच वर्षका हुनुभन्दा पहिले, एक दिन तिनीहरूलाई फुच्चीलाई जस्तो लुगा लगाइदिइन्थ्यो, र भोलिपल्ट फुच्चेलाई जस्तो। छोटकरीमा भन्दा, तिनीहरूलाई बहुमूल्य सानो खेलौनालाई जस्तै माया गरिन्थ्यो। तिनीहरू ठूलो हुँदै जाँदा, तिनीहरूलाई राम्रा देखिन निकै मन पर्छ। आधुनिक र सुविधा सम्पन्न जियाइ वातावरणमा हुर्केका हुनाले, तिनीहरू मिलाएर लुगा लगाउने बानी विकास गर्छन्। विशेष गरी विभिन्‍न फेसन ज्ञानहरू प्राप्त गरेपछि, तिनीहरू रङ, ढाँचा, र स्टायल मिलाउन रमाइलो मान्न थाल्छन्; तिनीहरू विशेष रूपमा आकर्षक लुगा लगाउँछन्, र परिष्कृत चालढाल देखाउँछन्। साधारण टी-शर्ट र जिन्स समेत तिनीहरूले लाउँदा फरक देखिन्छ, र मिल्दो रङ्गका जुत्ता लगाउँदा, तिनीहरूको शैली अझै आकर्षक हुन्छ—तिनीहरू पूर्ण रूपमा मनमोहक र अत्यन्तै सुन्दर हुन्छन्। तिनीहरूलाई देख्दा मात्रै पनि आँखालाई शीतल हुन्छ। जब तिनीहरू सार्वजनिक स्थलमा वा बाटोमा देखा पर्छन् तब तिनीहरूले अवश्य नै धेरैलाई आकर्षित गर्छन्। तिनीहरू सुन्दरता लिएर जन्मेका हुनाले र तिनीहरूसँग यो जन्मजात अवस्था हुने भएकोले, साथै तिनीहरूले मिलाएर लुगा लगाउन जानेका हुने भएकाले, तिनीहरूले जस्तो लुगा लगाए पनि विशेष रूपमा परिष्कृत चालढाल देखाउने भएकाले, समान लिङ्गका र विपरीत लिङ्गका व्यक्तिहरू दुवैले तिनीहरूसँग अन्तरक्रिया र सङ्गत गर्न विशेष रूपमा मन पराउँछन्। मानिसहरू तिनीहरूसँग नजिक बसेर कुरा गर्न र गफ गर्न, र तिनीहरूसँग नजिकबाट अन्तरक्रिया गर्न आतुर हुन्छन्, ताकि तिनीहरूको सुन्दरताले तिनीहरूलाई आनन्द दिन सकोस्। के यो तिनीहरूको गल्ती हो? (होइन।) तिनीहरूको अनुकूल जन्मजात अवस्थाको कारण, मानिसहरू तिनीहरूमा हुन सक्‍ने कुनै पनि समस्या, त्रुटि, वा खोटहरूप्रति सधैँ सहनशील हुन्छन्। त्यसकारण, तिनीहरू जहाँ गए पनि, तिनीहरूलाई अत्यन्तै राम्रो स्वागत गरिन्छ र तिनीहरू लोकप्रिय हुन्छन्। तिनीहरूले केही अप्रिय कुरा भने पनि, त्यो सुन्दा अरूलाई रमाइलो नै लाग्छ। तिनीहरू रिसाउँदा वा घमन्ड गर्दा, मानिसहरू नराम्रो मान्दैनन् वा चिढिदैनन्—यहाँसम्म कि तिनीहरू त्यसलाई तिनीहरूबाट आएको इनाम जस्तै ठान्छन्। यी अनुभवहरू थुप्रिँदै जाँदा, तिनीहरूको जन्मजात अवस्थाले तिनीहरूलाई श्रेष्ठताको अनुभूति दिन्छ। तिनीहरू यस्तो सोच्न थाल्छन्, “मसँग सुन्दरता, परिष्कृत चालढाल भएकोले, र मैले मिलाएर लुगा लगाउने भएकोले म जहाँ गए पनि लोकप्रिय हुन सक्छु—यो अद्भुत कुरा हो! यो समाज, यो मानवजातिले यसलाई साँच्‍चै नै महत्त्व दिन्छ। मेरा आमाबुबाले मलाई दिनुभएको यो जन्मजात अवस्था नै मेरो पूँजी हो जस्तो देखिन्छ। जागिर खोज्न सजिलो भएको छ, र परीक्षाको बेला, यदि मैले कसैको उत्तरपुस्तिकाबाट चोर्न चाहेँ भने, मैले उसलाई एक नजर हेर्नेबित्तिकै उसले मलाई दिइहाल्‍नेछ।” विपरीत लिङ्गका धेरै मानिसले तिनीहरूलाई पछ्याउँछन्, र समान लिङ्गका मानिसहरूका बीचमा, तिनीहरूलाई राम्रो व्यवहार गर्ने र निरन्तर तिनीहरूको सुन्दरता र सुन्दर रूपको प्रशंसा गर्ने मानिसहरू पनि धेरै हुन्छन्। समय बित्दै जाँदा, यसले तिनीहरूलाई यो फाइदाबाट अझ बढी आनन्द लिन लगाउँछ। यो फाइदाले तिनीहरूलाई धेरै सहजता, धेरै लाभ, र धेरै विशेष व्यवहार दिन्छ, जसले गर्दा तिनीहरूले धेरै कुराको आनन्द लिन पाउँछन्। त्यसकारण, यस्तो वातावरणमा, तिनीहरूले आफ्ना लागि निश्‍चित मागहरू विकास गर्छन्। तिनीहरू मेकअप नलगाई घरबाट बाहिर जाँदैनन्, र यदि तिनीहरूलाई डन्डीफोर समेत आयो भने, तिनीहरू अरूका अगाडि देखा पर्ने आँट गर्दैनन्। तिनीहरू आफ्नो आहारप्रति सतर्क हुन्छन्, मसालेदार खाना र सोया सस खाँदैनन्, र मनमनै चिन्ता गर्छन्: “यो डन्डीफोर कहिले हराउने होला? म यसलाई निचोर्न सक्दिनँ—मलाई दाग बस्छ कि भन्‍ने डर लाग्छ। तर यदि मैले निचोरिनँ भने, के मलाई कुनै बेला प्रशंसा गर्ने विपरीत लिङ्गका मानिसहरूले यो कुरा देखेर म अब आकर्षक नरहेको, तिनीहरूको सपनाको व्यक्ति नरहेको सोच्नेछन्? के तिनीहरू मप्रति उदासीन हुन थाल्नेछन्? म के गरूँ? मेरो विचारमा म डन्डीफोर हटेपछि मात्रै बाहिर जानुपर्छ। मैले मानिसहरूलाई मेरो यस्तो अवस्था बिलकुलै देखाउनु हुँदैन; यसले तिनीहरूका मनमा रहेको मेरो सिद्ध छविलाई बरबाद गर्नेछ।” कतिपय मानिसहरूलाई आफ्नो लुगाको रङ, ढाँचा, र शैली पूर्ण रूपमा मिलेको हुनुपर्छ। बाहिर जानुभन्दा पहिले, तिनीहरूले हरेक कोणबाट आफूलाई ऐनामा जाँच्नुपर्छ, र कतिपयले घाममा वा कृत्रिम बत्तीको उज्यालोमा तिनीहरू सिद्ध देखिन्छन् भन्‍ने पक्का गर्न सेल्फी समेत लिन्छन्, ताकि तिनीहरूको छाला, रूपरङ, कपालको बनावट, लुगा, र चालढाल जस्ता पक्षहरू देख्दा आकर्षक लागून् र तिनले अरूको मन जितून्, त्यसपछि मात्रै तिनीहरू बाहिर जान तयार भएको महसुस गर्छन्। कर्तव्य निर्वाह गर्न थालेपछि पनि, तिनीहरूले यो जीवनशैलीलाई अझै कायम राख्छन्। यदि विशेष परिस्थितिहरूका कारण तिनीहरूले त्यो दिन नुहाएका छैनन् र कुनै विपरीत लिङ्गको व्यक्ति तिनीहरूको नजिक आयो भने, तिनीहरू तुरुन्तै त्यस व्यक्तिबाट पन्छिन्छन्। यदि तिनीहरूले नुहाएका छैनन् भने, तिनीहरूलाई आफू देखिन लायक छैनँ भन्‍ने लाग्छ। तिनीहरूले आफ्नो रूप र चालढालमा धेरै मागहरू राख्‍ने हुनाले, यसले तिनीहरूको दैनिक जीवनलाई असर गर्छ। यदि तिनीहरू त्यस्तो ठाउँमा जानुपर्यो जहाँ नुहाउन सकिँदैन भने, तिनीहरूलाई पिर लाग्छ र धेरै कष्ट हुन्छ, र तिनीहरू राम्ररी खान वा सुत्न सक्दैनन्। तिनीहरू सोच्छन्, “मैले नुहाउन पाइनँ भने के गर्ने होला? म ननुहाई कहिल्यै पनि तीन दिनभन्दा बढी बसेको छैनँ। यदि म गन्हाउन थालेँ भने, के मानिसहरूले मलाई हेयका नजरले हेर्नेछन्? मेरो छवि उप्रान्त सिद्ध रहनेछैन, होइन र? म उप्रान्त अरूको सपनाको व्यक्ति हुनेछैनँ, होइन र? म के गरूँ?” यदि तिनीहरू त्यस्तो ठाउँमा पुगे जहाँ जिउने अवस्था खराब छ र पर्याप्त रूपमा पोषणयुक्त वा सन्तुलित खाना खान पाइँदैन भने, तिनीहरू चिन्ता गर्न थाल्छन्: “के यसले मेरो छालालाई असर गर्नेछ? के मेरो छाला खस्रो वा बूढो हुनेछ? के मेरो छाला चाउरी पर्नेछ? म यो ठाउँमा बस्‍न सक्दिनँ—म यहाँबाट निस्कनुपर्छ!” तिनीहरूको जन्मजात अवस्थाले ल्याउने श्रेष्ठताको बोधले तिनीहरूको जीवनलाई विशेष रूपमा जटिल बनाउँछ, जसले गर्दा तिनीहरू विशेष रूपमा थकाइलाग्दो र संयमित रूपमा जिउँछन्। तिनीहरू अरूले तिनीहरूबारे के भन्लान्, विशेष गरी अरूले तिनीहरूको लुगा, चालढाल, र आनीबानीलाई कसरी मूल्याङ्कन गर्छन् भनेर अत्यन्तै चिन्तित हुन्छन्, तिनीहरू अरूले तिनीहरूलाई कसरी लिन्छन् भन्‍नेबारे धेरै वास्ता गर्छन्—यो कति हदसम्‍म पुग्छ? यहाँसम्म कि यसले तिनीहरूको सामान्य जीवन, काम, र कर्तव्य निर्वाहलाई असर गर्छ। तिनीहरूको रूपबाट आउने श्रेष्ठताको भावनाले तिनीहरूलाई अत्यन्तै देखावटी तुल्याएको हुन्छ, तिनीहरूको रूपप्रति अत्यन्तै चिन्तित तुल्याएको हुन्छ, र अरूले तिनीहरूलाई कसरी लिन्छन् भन्‍ने कुराप्रति अत्यन्तै चिन्तित तुल्याएको हुन्छ। यो कस्तो समस्या हो? के यी सबै प्रकटीकरणहरू दैनिक जीवनका समस्याहरूलाई सम्हाल्ने सही मनोवृत्ति हुन्? (होइनन्।) के यी तिनीहरूले आफ्नो दैनिक जीवनको अवधिमा विकास गरेका विकृत दृष्टिकोणहरू हुन्? (हुन्।) त्यसोभए, यी प्रकटीकरणहरू केसँग सम्बन्धित छन्? (ती तिनीहरूको मानवतासँग सम्बन्धित छन्।) यो तिनीहरूको मानवताको कुन पक्षसँग सम्बन्धित छ? तिनीहरूले जसरी आफूलाई आचरणमा ढाल्छन् त्यसमा के समस्या छ? के यो देखावटीपन हो? (हो।) देखावटीपन तिनीहरूको मानवताभित्रकै एउटा समस्या हो। अरू के छ? आडम्बर, अरूले तिनीहरूलाई कसरी बुझ्छन् भन्‍नेबारे चिन्ता, अरूका नजरमा सबैभन्दा सिद्ध व्यक्ति बन्‍ने चाहना, र अत्यन्तै कमजोर र कठिनाइ सहन नसक्‍ने अवस्था। यसका साथै, स्वार्थ पनि हुन्छ। आफ्नो छवि कायम राख्‍नका लागि, तिनीहरूले सबैलाई तिनीहरूलाई कुरेर बस्न र सेवा गर्न लगाउँछन्, जबकि आफू चाहिँ अलिकति पनि कठिनाइ सहन मान्दैनन्। तिनीहरूको प्राकृतिक रूपले ल्याउने श्रेष्ठताको भावनाले गर्दा तिनीहरू सबै नै तिनीहरूको वरिपरि घुम्नुपर्छ भन्‍ने चाहन्छन्। तिनीहरूको दैनिक जीवनको मुख्य ध्यान र तिनीहरूले हासिल गर्न चाहने उद्देश्य भनेको आफ्नो बाहिरी रूपलाई कायम राख्‍नु हो। उदाहरणका लागि, एकपटक, फोटो खिच्ने क्रममा, मुस्कुराउँदा कसैले तिनीहरूका दाँतमा सागको टुक्रा अड्किएको देख्छ। त्यो क्षणदेखि तिनीहरूले हरियो साग खान छोड्छन्। यदि त्यो नै एकमात्र विकल्प हो र तिनीहरूसँग त्यो खाने बाहेक अरू कुनै उपाय छैन भने पनि, तिनीहरूले खाना खाएपछि तुरुन्तै मुख धुन्छन् र तिनीहरू ऐनामा हेरेर दाँतमा केही अड्किएको छैन भन्ने पक्का भएपछि मात्र बाहिर गएर अरूसँग भेटघाट गर्ने आँट गर्छन्। के यो तिनीहरूको मानवताको समस्या हो? (हो।) दैनिक जीवनका यी आम समस्याहरू मानवताको दायराभित्र पर्छन् र ती भ्रष्ट स्वभावका स्तरमा पुगेका हुँदैनन्। तिनीहरूले सम्हाल्ने समस्याहरू सबै मानव जीवनका पक्षहरूसँग मात्रै सम्बन्धित हुन्छन्—तिनीहरू आफ्नो शारीरिक रूप र भित्री मागहरूमा ध्यान दिएर आफ्नो सुन्दरता र अरूबाट धेरै ध्यान पाउने अवस्थालाई कायम राख्‍ने प्रयास गर्छन्। तिनीहरूले जे गरे पनि—चाहे त्यो खाने होस्, मिलाएर लुगा लगाउने होस्, वा कठिनाइ भोग्‍ने र मूल्य चुकाउने कुरा होस्—यी समस्याहरूलाई सम्हाल्दा, तिनीहरूको दृष्टिकोण र मनोवृत्ति सबै तिनीहरूको बाहिरी छविलाई कायम राख्‍नमा केन्द्रित हुन्छ ताकि तिनीहरू हेर्दा सधैँ मनमोहक देखिऊन्, जसले गर्दा अरूमा तिनीहरूको राम्रो छाप परोस् र तिनीहरूले धेरै ध्यान आकर्षित गरून्। के यो तिनीहरूको मानवतासँग सम्बन्धित छ? (छ।) यी सबै प्रकटीकरणहरू तिनीहरूको मानवतासँग सम्बन्धित छन्—तिनले तिनीहरूको मानवता अत्यन्तै देखावटी छ भन्‍ने देखाउँछन्।