सत्यता कसरी पछ्याउने (३) भाग छ
कतिपय मानिसहरूले परमेश्वरमा विश्वास गरेको दश, बीस, वा तीस वर्षभन्दा बढी भएको हुन्छ, तैपनि यति धेरै वर्षपछि, तिनीहरूले आफू आफ्नो बाहिरी व्यवहारमा अलिक परिवर्तन भएका छन् र हृदयमा थोरै चेतना अनुभव मात्रै गरेका छन्, तर तिनीहरूका भ्रष्ट स्वभावहरूमा आधारभूत परिवर्तन आएको छैन भन्ने कुरा अहिले मात्रै महसुस गर्छन्। कतिपयले, आफूमा केही व्यवहारगत परिवर्तनहरू देख्दा, यो जीवन स्वभाव परिवर्तन हो भन्ने सोच्छन् र अरूको अघि यसो भनेर फुइँ समेत लगाउँछन्, “हेर त, के मेरो जीवन स्वभाव परिवर्तन भएको छैन र?” वास्तवमा, तँ व्यवहारमा मात्रै परिवर्तन भएको हुन्छस्; तँसँग स्वभाव परिवर्तनका वास्तविक प्रकटीकरणहरू हुँदैनन् र तैँले सामान्य मानवता जिएको हुँदैनस्। त्यसोभए, तेरो स्वभाव परिवर्तन भएको छ कि छैन भन्ने कुरा कसैले कसरी थाहा पाउन सक्छ? यो अनुहार हेरेर थाहा पाइने कुरा होइन; यो कुरा कसैले तेरो बाहिरी रूप हेरेर, तैँले भनेको कुरा सुनेर, तैँले आफ्ना सङ्कल्प र चाहनाहरू व्यक्त गरेको सुनेर पत्ता लगाउन त झनै सक्दैन—सङ्कल्प र चाहनाहरू सबैभन्दा खोक्रा कुराहरू हुन्। त्यसोभए कसैले कसरी थाहा पाउन सक्छ त? तँलाई कसैले प्रोत्साहन नदिई, सुपरिवेक्षण नगरी, वा तँलाई साथ र सहयोगसमेत नगरी, तँसँग हरेक मामलालाई परमेश्वरका वचनहरू अनुसार हेर्ने र सम्हाल्ने मार्ग र क्षमता छ कि छैन, र तैँले गर्ने सबै कुरामा आफूलाई संयमित गर्नका लागि तँसँग परमेश्वरका वचनहरू तेरो हृदयमा तेरो जीवनका रूपमा छन् कि छैनन् भन्ने कुरालाई हेरेर यो कुरा पत्ता लगाउन सक्छ। यदि तँ यो स्तरमा पुगेको छैनस् भने, हामी योभन्दा तल्लो स्तरबारे कुरा गरौँ: तँसँग आफूले गर्ने र भन्ने सबै कुरामा सिद्धान्तका रूपमा परमेश्वरका वचनहरू प्रयोग गर्ने सचेतना छ कि छैन। यदि तैँले यो कुरा हासिल गर्न सक्दैनस् भने, दुःखको कुरा, तँसँग जीवनका रूपमा सत्यता छैन। तेरा भ्रष्ट स्वभावहरू अझै पनि तेरो जीवन हुन्; तिनले अझै पनि तँलाई कुनै पनि बेला, कुनै पनि ठाउँमा नियन्त्रण गर्न सक्छन्, तेरो अभिज्ञता अनि तेरा विचार र दृष्टिकोणहरूमा प्रभुत्व जमाउन सक्छन्। कुनै पनि बेला, कुनै पनि ठाउँमा, तैँले कुनै पनि व्यक्ति, घटना, वा कामकुरालाई आफ्ना भावना, मुड, चाहना, मूल्याङ्कन, दृष्टिकोण, र प्राथमिकताहरूका आधारमा व्यवहार गर्नेछस् र सम्हाल्नेछस्। तँ अझै पनि ठूलो खतरामा हुन्छस्; तैँले अझै पनि आत्मनिर्भर रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्दैनस्, र तँ आत्मनिर्भर रूपमा जिउन सक्दैनस्—तँ सधैँ अरूमा भर पर्नुपर्छ, र अरूको आडविना, तँ ढल्नेछस्। यसको अर्थ तेरो कद अत्यन्तै सानो छ भन्ने हुन्छ; यसले तैँले आफ्नो जीवनका रूपमा सत्यता प्राप्त गरेको छैनस् भन्ने कुरा प्रमाणित गर्छ। जीवनका रूपमा सत्यता प्राप्त नगर्नुको अर्थ के हो? यसको अर्थ तँसँग खराब कामकुराहरू गर्न वा ठूला गल्तीहरू गर्नबाट तँलाई रोक्ने एक-दुई वटा सिद्धान्तहरू मात्रै छन्। अर्थात्, जब तेरो चेतना सामान्य हुन्छ, र कसैले पनि तँलाई उक्साउने वा भड्काउने गरिरहेको हुँदैन, तब तैँले कदापि जानी-जानी परमेश्वरको निन्दा गर्नेछैनस्, परमेश्वरलाई सराप्नेछैनस्, वा मण्डलीको काममा अवरोध र बाधा दिनेछैनस्। तर, तैँले जानी-जानी त्यसो गर्नेछैनस् भन्नुको अर्थ तँ त्यसो गर्न असमर्थ छस् भन्ने हुँदैन; तैँले सक्रिय रूपमा त्यसो नगर्न सक्छस्, तर तैँले अझै पनि निष्क्रिय रूपमा त्यसो गर्न सक्छस्। यहाँ निष्क्रिय रूपमा भन्नाले केलाई जनाउँछ? यसको अर्थ तेरा भ्रष्ट स्वभावहरू कुनै पनि बेला तँलाई नियन्त्रण गर्न र तँलाई जेसुकै भन्न र गर्न लगाउन, र कुनै पनि बेला कुनै व्यक्ति वा मामलालाई भ्रमपूर्ण दृष्टिकोणले हेर्न लगाउन, अनि त्यसपछि कुनै मामिला वा कुनै प्रकारको व्यक्तिलाई सम्हाल्नका लागि तेरा भ्रष्ट स्वभावहरू प्रयोग गर्न लगाउन सक्छ। उदाहरणका लागि, मानौँ तैँले कुनै गलत काम गरेको छस् र तैँले माथिलाई, अगुवाहरूलाई, वा अरू कसैलाई यो कुरा थाहा दिनु हुँदैन भन्ने सोच्छस्। यसको पछाडिको कारण जेसुकै भए पनि, तँसँग तेरा आफ्नै दुष्ट विचारहरू हुन्छन्, त्यसकारण तँ यसलाई लुकाउँछस् र केही भन्दैनस्। यहाँ तेरा भ्रष्ट स्वभावहरूले हैकम जमाउँछन् कि सत्यताले? स्पष्ट रूपमा नै, तेरा भ्रष्ट स्वभावहरूले नै हैकम जमाउँछन्। तेरा भ्रष्ट स्वभावहरूले तँमाथि प्रभुत्व जमाउँछन्, जसले गर्दा तँ तिनलाई लुकाउँछस् र केही भन्दैनस्, र तँ उम्कन सक्दैनस्। उम्कन नसक्नु भनेको के हो? यसको अर्थ तँ आफूले बुझेका सत्यताहरू अभ्यास गर्न इच्छुक भए पनि, तँसँग त्यसो गर्ने सामर्थ्यको कमी हुन्छ; तँ आफ्ना भ्रष्ट स्वभावहरूलाई बस जित्नै सक्दैनस्। यसको अर्थ तँ समस्यामा छस्; तँ सत्यता अभ्यास गर्न सक्दैनस्। यदि तँ कुराहरू लुकाउन र अरूलाई छल्न चाहन्छस् भने, तँ लुकाउने र छल गर्ने कार्यहरू गर्न, विशेष गरी माथिसँग यसो गर्न, असल समाचार मात्रै रिपोर्ट गर्न तर खराब समाचार रिपोर्ट नगर्न, माथिकालाई छल गर्न र तलका मानिसहरूबाट कुराहरू लुकाउनसमेत एकदम सक्षम छस्। तँ भन्छस्, “म सत्यतालाई साँच्चै प्रेम गर्छु, र म सत्यता अभ्यास गर्ने व्यक्ति हुँ। म परमेश्वरले बोल्नुहुने हरेक सत्यतालाई ध्यान दिएर टिपोट गर्छु, मनन गर्छु, र सारांश गर्छु, त्यसपछि यसलाई वास्तविक जीवनमा अभ्यास गर्छु।” तँ यसरी सोच्छस्, तँसँग यो चाहना हुन्छ, तर यसको अर्थ तैँले सत्यता अभ्यास गरेको छस् भन्ने हुँदैन। किन? किनभने तँभित्र तेरो हृदय कब्जा गरिसकेका धेरै भ्रमपूर्ण विचार र दृष्टिकोणहरू हुन्छन्। परिणाम स्वरूप, भ्रष्ट स्वभावहरू तेरो जीवन बनेका हुन्छन्। तेरा भ्रष्ट स्वभावहरूले हैकम जमाइरहेका छन्, र तेरा विचार र व्यवहारमा हाबी छन्। तैँले सत्यता अभ्यास गर्न चाहे पनि, त्यो व्यर्थ हुन्छ; तैँले आफूलाई त्यसो गर्न लगाउन सक्दैनस्। त्यसकारण, यदि तेरा भ्रष्ट स्वभावहरू समाधान भएका छैनन् भने, तैँले आफ्नो कर्तव्य निर्वाह गरिरहेको भए पनि, तैँले सिद्धान्तहरू अनुसार कार्य गर्नु असम्भव हुन्छ—तँ सक्रिय रूपमा र खुलस्त रूपमा परमेश्वरलाई गलत ठहराउन, उहाँको प्रतिरोध गर्न, वा ईश्वरनिन्दा गर्नबाट जोगिन सक्छस् भने, यो पहिले नै निकै राम्रो कुरा हो। तर, तेरो हृदयमा भ्रष्ट स्वभावहरूले शासन गरिरहेका हुने हुनाले, तँ परमेश्वरविरुद्ध विद्रोह नगरी र उहाँको प्रतिरोध नगरी बस्न सक्दैनस्। सायद तँ सोच्छस्, तँ आफू निष्क्रिय हुने परिस्थितिहरूमा वा हताश क्षणहरूमा मात्रै माथिलाई छल गर्ने र माथिबाट कुराहरू लुकाउने र परमेश्वरलाई छल गर्ने प्रयास गर्छस्, र हताशका क्षणहरूमा मात्रै मानिसहरूलाई दमन गर्छस् वा उग्रता प्रकाश गर्छस् भन्ने तँलाई लाग्छ होला। के यो साँच्चै नै क्षणिक हताशका क्षणहरूका कारण मात्रै हुन्छ त? अहँ, यो तेरा गहन रूपमा जरा गाडेर बसेका भ्रष्ट स्वभावहरूले हैकम जमाउनुको नतिजा हो। यो अपरिहार्य कुरा हो। यो किन अपरिहार्य हुन्छ? किनभने तैँले बुझ्ने सत्यताहरू तेरा लागि एक प्रकारको इच्छुकता, एक प्रकारको विश्वास मात्रै हुन्; ती अझै तेरो जीवन बनिसकेका हुँदैनन्। तँसँग ज्ञान भए पनि वा तेरो क्षमता उच्च वा न्यून भए पनि, कम्तीमा पनि, सत्यता तेरो जीवन बनेको हुँदैन। अर्थात्, तँभित्र सत्यताले हैकम जमाइरहेको हुँदैन; तँभित्र हैकम जमाइरहेका कुराहरू त शैतानी स्वभाव र शैतानका दर्शनहरू हुन्। जब तँ शैतानी स्वभावहरूको प्रभुत्वमा हुन्छस्, तब तँ शैतानी स्वभाव अनुसार जिइरहेको हुन्छस्, र तँ अझै पनि शैतानको प्रभावअन्तर्गत जिइरहेको हुन्छस्। जब तेरा स्वार्थ र गौरवमा हानि हुँदैन, जब तेरो हैसियत, ख्याति, र प्राप्तिमा कुनै असर पर्दैन, तब तँ अलिकति सत्यता अभ्यास गर्न इच्छुक हुन्छस्। तर तेरो ख्याति, प्राप्ति, हैसियत, वा गन्तव्य संलग्न हुनेबित्तिकै, तेरा भ्रष्ट स्वभावहरूले तँलाई दह्रिलो र कसिलो गरी पक्रिन्छन् र नियन्त्रण गर्छन्। तँसँग अझै पनि परमेश्वरप्रति कुनै साँचो समर्पण हुँदैन; तैँले परमेश्वर र सत्यतालाई धोका दिने सम्भावना अझै पनि शतप्रतिशत हुन्छ। यी घटनाहरूका आधारमा मूल्याङ्कन गर्दा, के तेरा भ्रष्ट स्वभावहरू समाधान भएका छन् त? के ती फालिएका छन् त? के सत्यता तेरो जीवन बनेको छ? जब कुनै घटना घट्छ, तब यदि तैँले बुझेका सत्यताहरूले तेरा भ्रष्ट स्वभावहरूलाई जित्न सक्दैनन्, तेरा छनौट र चाहनाहरूलाई जित्न सक्दैनन्, तेरा कामना, महत्त्वाकाङ्क्षा, हैसियत, र प्रतिष्ठालाई जित्न सक्दैनन् भने, तैँले बुझेका सत्यताहरू तेरो जीवन होइनन्। जब सत्यता तेरो जीवन बन्छ, तब तँ स्वाभाविक रूपमै यी भ्रष्ट स्वभावहरूलाई जित्न सक्छस्। यदि तँ आफ्ना भ्रष्ट स्वभावहरूलाई जित्न सक्दैनस् भने, यसले सत्यताले अझै पनि तँभित्र हैकम जमाएको छैन, र यो अझै पनि तेरो जीवन बनेको छैन भन्ने देखाउँछ। तँ सत्यतालाई प्रेम गर्छस् भनेर भन्छस्, तर यो तेरो तृष्णा र चाहना मात्रै हो; त्यसले तेरो जीवन प्रतिनिधित्व गर्दैन। सामान्य मानवता भएका सबै मानिसहरूमा सकारात्मक तृष्णा हुन्छ। के असल व्यक्ति बन्ने तृष्णा गर्नुको अर्थ तँ असल व्यक्ति होस् भन्ने हुन्छ? (हुँदैन।) के सत्यता, निष्पक्षता, र धार्मिकतालाई प्रेम गर्नुको अर्थ तँसँग सत्यता, निष्पक्षता, र धार्मिकता छ भन्ने हुन्छ? अहँ—तँसँग यी कुराहरू हुँदैनन्, तँ ती कुराहरूको तृष्णा मात्रै गर्छस्। तृष्णाले के जनाउँछ? (व्यक्तिको सुन्दर चाहना।) हो, यो त चाहना मात्रै हो। तैँले वास्तवमा आफूलाई आचरणमा कसरी ढाल्छस् भन्ने कुरासँग यसको कुनै सम्बन्ध हुँदैन, हुन्छ र? (हुँदैन।)
के तिमीहरूसँग अहिले तिमीहरूको जीवनका रूपमा सत्यता छ? (छैन।) तँसँग तेरो जीवनका रूपमा सत्यता छ कि छैन भनेर कसरी पत्ता लगाउन सकिन्छ? तेरा स्वार्थहरू सत्यतासँग बाझिँदा, तेरा स्वार्थहरूले घाटा वा खतरा भोग्न लाग्दा, तैँले बुझ्ने सत्यताहरूले तेरा भ्रष्ट स्वभावहरूलाई जित्न सक्छन् कि सक्दैनन् भन्ने कुरालाई हेरेर यो कुरा पत्ता लगाउन सकिन्छ। यदि तिनले त्यसो गर्न सक्छन् भने, तँ जीवनका रूपमा सत्यता भएको व्यक्ति होस्। यदि तिनले त्यसो गर्न सक्दैनन् भने, यसले तेरो कद अत्यन्तै सानो छ भन्ने प्रमाणित गर्छ। कति सानो? तँसँग तेरो जीवनका रूपमा सत्यता छैन। वास्तविकता यही हो। कतिपय मानिसहरू भन्छन्, “यदि हामीसँग हाम्रो जीवनका रूपमा सत्यता छैन भने, हामीले किन परमेश्वरको घरमा आफ्ना कर्तव्य पूरा गर्नका लागि सबै कुरा त्याग्न सक्छौँ त? हामीले किन अझै पनि परमेश्वरका लागि कष्ट भोग्न र मूल्य चुकाउन सक्छौँ त?” कतिपयले यसो समेत भन्छन्, “मसँग पहिल्यै केही अर्पण छ; मलाई विजेता बनाइसकिएको छ।” वास्तवमा, त्यस्ता अभिव्यक्तिहरू मानिसहरूका धारणा र कल्पनाहरूले दूषित हुन्छन्। मानिसहरूमा सङ्कल्प र आकाङ्क्षाहरू हुनु गलत कुरो होइन। ज्योति, इन्साफप्रतिको मानिसहरूको तृष्णा, साथै सत्यता पछ्याउने, मुक्ति प्राप्त गर्ने, र इत्यादि कुराको तृष्णा—यी सुन्दर चाहनाहरूले तिनीहरूको सचेतना, तिनीहरूले हिँड्ने मार्गको दिशा, र अवश्य नै, तिनीहरूका केही व्यवहार, र बाहिरी रूपमा, तिनीहरूको आनीबानी र तिनीहरूको जीवनशैलीका केही पक्षहरूलाई परिवर्तन गर्न सक्छन्। यहाँ परिवर्तनले के जनाउँछ? उदाहरणका लागि, मानौँ हाल तँसँग आस्था छ, तेरो स्थिति अत्यन्तै असल छ, तँ नकारात्मक छैनस्, र तेरो कर्तव्य निकै सहज रूपमा अघि बढिरहेको छ। फलस्वरूप, तँलाई तँ निकै बफादार छस्, र तँसँग मुक्ति प्राप्त गर्ने आफ्नो इच्छा पूरा गर्ने आशा छ, र तँलाई कुनै पनि कष्ट सहनुपर्दा ठिकै हुन्छ भन्ने लाग्छ। तर असल समयहरू टिक्दैनन्। आफ्नो कर्तव्य पूरा गर्ने प्रक्रियामा, तैँले केही गतिरोध र असफलताहरू सामना गर्छस्, तँ काटछाँटमा पर्छस्, धेरै घुमौरो बाटो हिँड्छस्, र तँलाई ख्रीष्टविरोधीहरूले बहकाउँछन् र दमन समेत गर्छन्, तैँले धेरै पीडा भोग्छस्। त्यसपछि तँलाई हृदयमा असहजता हुन्छ। तैँले सत्यता बुझेको हुँदैनस्, यी कुराहरू किन घटेका हुन् भन्ने तँलाई थाहा हुँदैन, र परमेश्वरलाई प्रार्थना गरेर तैँले कुनै उत्तर प्राप्त गर्दैनस्, त्यसकारण तँ हैरान हुन्छस्। निकै हदसम्म, यी कुराहरू घट्दा यसले सत्यता र ज्योतिको तृष्णा गर्ने तेरो सङ्कल्पमा निश्चित आघात पुऱ्याउँछ र बरबादी ल्याउँछ। यो बरबादी भोगेपछि, तँलाई कर्तव्य पूरा गर्नुको कुनै अर्थ छैन भन्ने महसुस हुन्छ, उप्रान्त आफ्नो कर्तव्य पूरा गर्न मन लाग्दैन। के भइरहेको छ? तँ कसरी यति छिटो परिवर्तन भइस्? तँ किन पहिलेको भन्दा पूर्ण रूपमा फरक व्यक्तिझैँ बनेको छस्? यदि तँसँग कद भएको भए, र तँसँग आफ्नो जीवनका रूपमा सत्यता भएको भए, तेरो अर्पण परिवर्तन हुनेथिएन। तर तँसँग तेरो जीवनका रूपमा सत्यता नभएकाले, तेरो भित्री स्थिति, मानसिकता, र परमेश्वरमा विश्वास गर्ने र आफूलाई समर्पित गर्ने तेरो जोस सधैँ अस्थिर हुन्छ र तिनमा उतारचढाव भइरहन्छन्। सबै कुरा सहज रूपमा अघि बढ्दा र तँ राम्रो मुडमा हुँदाको अवधिमा, तँसँग जोस हुन्छ, प्रार्थनाको बेला तँसँग भन्नका लागि कुरा धेरै हुन्छ, तँ परमेश्वरका वचनहरू पढ्न इच्छुक हुन्छस्, तैँले आफ्नो कर्तव्यमा निकै मेहनत गर्छस्, र व्यस्त वा थकित हुँदा, र कुनै पनि कष्ट भोग्दा तँ ठीकै हुन्छस्। तर परिस्थिति अलिक प्रतिकूल बन्ने बित्तिकै, तँ नकारात्मक र कमजोर बन्छस्, र तैँले आफ्नो कर्तव्य पूरा गर्ने जोस गुमाउँछस्। जब तैँले एक छाक खाना छुटाउँछस् वा अलिक कम सुत्न पाउँछस्, तब तँलाई यो ठूलो कष्ट हो भन्ने लाग्छ, र तेरो हृदयमा गुनासाहरू पैदा हुन्छन्: “म किन कष्ट भोग्ने? मैले आफ्नो कर्तव्य पूरा गरेर पैसा समेत कमाउँदिनँ, र यो सार्थक पनि छैन!” हेर् त, तेरो मानसिकता पूर्ण रूपमा फरक छ। यस्तो ठूलो परिवर्तन किन आएको हो? किनभने तँसँग तेरो जीवनका रूपमा सत्यता छैन, र तेरा भ्रष्ट स्वभावहरू अझै पनि तँभित्र अवस्थित हुन्छन्। जब मानिसहरू उत्साहित हुन्छन्, तब तिनीहरूलाई परमेश्वरप्रति कुनै महत्त्वाकाङ्क्षा वा चाहना, वा मागहरू नभएझैँ लाग्छ। वास्तवमा, तिनीहरूका भ्रष्ट स्वभावहरूले अझै पनि तिनीहरूभित्र हैकम जमाएका हुन्छन्; यी कुराहरू अपरिवर्तित नै रहन्छन्। जब मानिसहरू सकारात्मक हुन्छन्, तब तिनीहरू अत्यन्तै उत्साहित र निकै जोसिला हुन्छन्, र कसैले पनि तिनीहरूलाई रोक्न सक्दैन। जब तिनीहरू नकारात्मक हुन्छन्, निस्तेजझैँ हुन्छन्, कसैले पनि तिनीहरूलाई माथि उठाउन सक्दैन। तिनीहरू सधैँ चरमतामा जान्छन्, र पूर्ण रूपमा अस्थिर हुन्छन्। यसले तिनीहरूको सामान्य मानवतामा केही कुराको कमी छ भन्ने देखाउँछ। तिनीहरूमा के कुराको कमी हुन्छ? तिनीहरूमा जीवनको रूपमा सत्यताको कमी हुन्छ—कुरा त्यही हो। तेरो स्थितिमा उतारचढाव भइरहन्छ, एक क्षण नकारात्मक र अर्को क्षण सकारात्मक हुन्छ। यसको कारण के हो? समस्या पैदा गर्ने तेरा भ्रष्ट स्वभावहरू नै हुन्। आज तिनले तँलाई एउटा कुरा सोच्न लगाउँछन्, भोलि अर्को कुरा; जे भए पनि, यी विचारहरू सधैँ तेरा चाहनाहरू, तेरो उग्रता, र तेरो वर्तमान स्थिति, मुड, र संवेगहरू अनुरूपका हुन्छन्। तर मानिसहरूभित्र सत्यता हुँदा यो कुरा फरक हुन्छ। यदि सत्यता तेरो जीवन बन्यो भने, त्यसले तँलाई आफूले गर्ने कुराको सही र साँचो परिभाषा प्राप्त गर्न सधैँ सक्षम बनाउनेछ, र यो कहिल्यै परिवर्तन हुनेछैन। तँमा उतारचढाव भइरहनेछैन, र तँ एउटा असफलता र गिराइका कारण, वा थोरै काटछाँट वा थोरै गतिरोधका कारण नकारात्मक बन्नेछैनस् र दलदलमा फस्नेछैनस्। न त तँ यति सकारात्मक नै हुनेछस् कि तैँले तीन दिन-तीन रात जागा बस्ने जोसिलो युवाले जस्तो व्यवहार गर्नेछस्। बरु, तँसँग सामान्य चेतना हुनेछ। होइन र? (हो।) मानिसहरूले सत्यता बुझेपछि र सत्यता तिनीहरूको जीवन बनेपछि, तिनीहरू दर्शनहरूबारे स्पष्ट हुन्छन्। तिनीहरूले किन परमेश्वरलाई पछ्याउनुपर्छ, किन आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, आफ्नो कर्तव्य पूरा गर्दा तिनीहरूले के-कस्ता नतिजाहरू हासिल गर्नुपर्छ, र यी कष्ट सहनुको उद्देश्य, महत्त्व, र मूल्य के हो भन्ने तिनीहरूलाई थाहा हुन्छ। तिनीहरू अन्योलता वा अस्पष्टताबिना, हृदयमा यी सबै सत्यता सिद्धान्त राम्ररी बुझ्छन्। र त्यसकारण, तिनीहरूले स्वेच्छाले र गुनासोविना कष्ट भोग्छन्, तिनीहरूले गर्ने सबै कुरामा तिनीहरूसँग नियम र सिद्धान्तहरू हुन्छन्, र तिनीहरूले परमेश्वरमाथिको आस्था कहिल्यै गुमाउँदैनन्; जब तिनीहरूलाई नकारात्मक महसुस हुन्छ, तब तिनीहरू परमेश्वरबारे गुनासो गर्दैनन् वा उहाँलाई त्याग्दैनन्, र जब तिनीहरूलाई सकारात्मक महसुस हुन्छ, तब तिनीहरूसँग परमेश्वरप्रति कुनै थप मागहरू हुँदैनन्, र तिनीहरूको स्थिति अत्यन्तै सामान्य हुन्छ। के तिमीहरू अहिले यस्तै छौ? (छैनौँ।) त्यसोभए के गर्नुपर्छ त? (अबदेखि, हामी हाम्रा भ्रष्ट स्वभावहरू समाधान गर्नका लागि सत्यता पछ्याउनमा केन्द्रित हुनुपर्छ; अरू कुनै मार्ग छैन।) सत्यता पछ्याउनु बाहेक अर्को कुनै मार्ग छैन। म तँलाई भन्छु: यदि तँ सत्यता पछ्याउँदैनस्, र भ्रष्ट स्वभावहरूले सधैँ तेरो जीवनका रूपमा हैकम जमाउँछन् भने, तेरो गन्तव्य असल हुनेछैन; बढीमा, तँ श्रमिक बन्न पुग्नेछस्। तर यदि तैँले सत्यता पछ्याइस् भने, मुक्ति पाउने तेरो आशा ठूलो हुनेछ, र तैँले अन्ततः प्राप्त गर्ने आशिष्हरू पनि ठूला हुनेछन्। यदि तैँले सत्यता पछ्याइस् भने, तँ भ्रष्ट स्वभावहरूको बन्धनबाट स्वतन्त्र हुनेछस्, भ्रष्ट स्वभावहरू उप्रान्त तेरो जीवन हुनेछैनन्, र परिणाम स्वरूप तैँले मुक्ति पाउने आशा साँच्चै देख्नेछस्। यदि तँ सत्यता पछ्याउँदैनस्, र तेरा भ्रष्ट स्वभावहरू अनसुल्झा नै रहन्छन्, र तँ असल कुराहरू गर्न र दुष्कर्म नगर्नका लागि आत्म-नियन्त्रण र इच्छाशक्तिमा मात्रै भर पर्न चाहन्छस् भने, तँ यो मार्गको अन्त्यसम्म पनि पुग्न सक्छस् कि सक्दैनस् भनेर भन्न गाह्रो हुन्छ। बुझिस्? (बुझेँ।) परमेश्वरमा विश्वास गर्दा मानिसहरूले समाधान गर्नुपर्ने सबैभन्दा ठूलो समस्या के हो? (भ्रष्ट स्वभावहरू।) भ्रष्ट स्वभावहरूलाई समाधान गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यस्तो नसोच्, “अहिले मैले परमेश्वरको घरमा पूर्णकालीन कर्तव्य पूरा गरिरहेको छु, आफूलाई पूर्णकालीन रूपमा समर्पित गरिरहेको छु, त्यसकारण म विजेता हुँ!” परमेश्वरले विजेताहरूको समूह बनाउने बारेमा कुरा गर्नुभएको छ—विजेताहरू भन्नुको अर्थ के हो? “यिनीहरू ती हुन्, जो थुमा जता-जता जानुहुन्छ उहाँलाई त्यता-त्यतै पछ्याउँछन्” (प्रकाश १४:४)। शब्दको सरल अर्थमा विजेताहरू यिनीहरू हुन्। व्यक्ति विजेता बनेर मात्रै सन्तुष्ट हुन सक्दैन। यो सरल अर्थमा विजेता हुनुको अर्थ व्यक्तिका भ्रष्ट स्वभावहरू फालिएका छन् भन्ने हुँदैन, र यसको अर्थ व्यक्तिसँग जीवनका रूपमा सत्यता छ भन्ने हुँदैन। अन्ततः मुक्ति पाउनेहरू विजेताहरू मात्रै होइनन्—यो कुरा त्यति सरल छैन। विजेताहरू दैहिक संसार, शैतान, दुष्ट प्रचलनहरू, र दुष्ट शासनहरूलाई जित्ने मानिसहरू मात्रै हुन्—विजेताहरू यही नै हुन्। यदि तँ केही सत्यता सिद्धान्तहरू मात्रै बुझ्छस्, र तैँले अस्थायी रूपमा देह र भावनाहरूलाई जित्न सक्छस्, वा तँ विभिन्न आधारहीन अफवाहहरूका बन्धनमा छैनस्, वा तँलाई दुष्ट मानिसहरू वा अविश्वासीहरूले बाधा दिँदैनन् भने, यसले अझै पनि विजेताको मानकलाई पूर्ण रूपमा पूरा गर्दैन। यी थोरै सानातिना अनुभवहरू मात्रै हुनुको ठूलो मूल्य हुँदैन। के बहुमूल्य हुन्छ त? आफ्नो जीवनका रूपमा सत्यता हुनु नै सबैभन्दा बहुमूल्य कुरा हो। व्यक्तिले कसरी सत्यतालाई आफ्नो जीवन बनाउन सक्छ? एउटै मात्र मार्ग छ: तैँले परमेश्वरका वचनहरू अझै धेरै पढ्नुपर्छ, र परमेश्वरका वचनहरूको अभ्यास र अनुभव अझै धेरै गर्नुपर्छ। यसरी मात्रै तैँले परमेश्वरका वचनहरूबाट सत्यता प्राप्त गर्न र सत्यतालाई आफ्नो जीवनका रूपमा पाउन सक्छस्। यदि तैँले आफ्नो सम्पूर्ण जीवन, आफ्नो दैनिक जीवन, र तैँले कार्य गर्ने र आफूलाई आचरणमा ढाल्ने सिद्धान्तहरूलाई मार्गदर्शन गर्न सत्यता प्रयोग गरिस् भने—यदि तैँले यसरी अभ्यास गरिस् भने—तँसँग सत्यता वास्तविकता हुनेछ। जब तँसँग सत्यता वास्तविकता हुन्छ, तब तेरो पुराना शैतानी स्वभावहरू पन्छाइनेछन्। तैँले कसरी कार्य गर्ने भनेर निर्णय गर्नुभन्दा पहिले, सुरुमा मनन गर्, “मैले सोचेको कुराले सत्यता सिद्धान्तहरूलाई प्रतिनिधित्व गर्दैन। मैले परमेश्वरका वचनहरूले के भन्छन् भनेर हेर्नैपर्छ।” यदि तैँले हरेक पटक यसरी मनन गरिस्, र यदि तैँले हरेक पटक परमेश्वरका वचनहरू अनुसार बोलिस् र अभ्यास गरिस् भने, के सत्यता तेरो जीवनमा अलि-अलि गर्दै प्रवेश गर्नेछैन र? थोपा-थोपा मिलेर सागर बन्छ। तेरो दैनिक जीवन, तेरा दृष्टिकोण, अस्तित्वको तेरो वर्तमान स्थिति, र तेरो स्थितिलाई परिवर्तन गर्न सत्यतालाई तेरो हृदयमा अलि-अलि गर्दै प्रवेश गर्न दे। तेरो स्थिति बिस्तारै परिवर्तन हुँदै जाँदा र यो राम्रो दिशामा विकसित हुँदै जाँदा, तैँले दुष्कर्म गर्ने र अवरोध र बाधाहरू दिने सम्भावना घटिरहनेछ, तैँले धाक लगाउने सम्भावना घटिरहनेछ, जबकि सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्नेबारे तेरा गवाहीहरू बढिरहनेछन्। जब सही र गलतका निर्णायक मामलाहरू देखा पर्छन्, तब सत्यता सिद्धान्तहरूले तेरा शैतानी भ्रष्ट स्वभावहरू, र तेरा व्यक्तिगत चाहना, प्राथमिकता, र योजनाहरूलाई जित्छन्। त्यसपछि मात्रै तँ साँचो विजेता, जीवनका रूपमा सत्यता भएको व्यक्ति, र मुक्ति प्राप्त गर्न सक्ने व्यक्ति बन्नेछस्। नत्र भने, यदि तैँले “यसरी व्यवहार गर्नु असल कुरा हो, म यी कुराहरू खुसीसाथ र स्वेच्छाले गर्छु र मसँग कुनै गुनासो छैन” भनेर सोच्दै आफ्ना प्राथमिकताहरूका आधारमा मात्रै काम गर्छस् भने, त्यसको के काम? तँसँग कुनै गुनासा छैनन्, तर तेरो अभ्यासका सिद्धान्तहरू के-के हुन्? तेरो अभ्यास पूर्ण रूपमा तेरा भ्रष्ट स्वभावहरूका प्राथमिकताहरू, गलत विचार र दृष्टिकोणहरू, स्वार्थी अभिप्रायहरू, महत्त्वाकाङ्क्षा र चाहनाहरू, भावनाहरू, र उग्रताबाट आउँछ—यो पूर्ण रूपमा तेरा भ्रष्ट स्वभावहरूद्वारा निर्देशित हुन्छ। यो भ्रष्ट स्वभावहरू प्रकाश गर्ने जीवन हो, सत्यता प्रकाश गर्ने जीवन होइन। परमेश्वरले यसलाई याद नगर्नुहुने मात्र होइन, तर उहाँले यसलाई दोषी पनि ठहराउनुहुनेछ। तेरो जियाइ, तैँले बोल्ने शब्द र गर्ने कुराहरू, र प्रकट गर्ने विचार र दृष्टिकोणहरू सबै सत्यता अनुरूप होऊन्; भ्रष्ट स्वभावहरूले पैदा गर्ने ती भ्रमपूर्ण विचार र दृष्टिकोणहरू तेरो हृदयमा झन्-झन् कम होऊन्; र तैँले हृदयमा सोच्ने कुरा र मामिलाहरूबारे तेरा दृष्टिकोणहरू सबै सत्यतासँग सम्बन्धित होऊन्, र सबै सत्यता अनुरूप होऊन् भनेर तैँले सक्दो प्रयास गर्नुपर्छ। तैँले यो पक्षलाई पछ्याउनुपर्छ र तँ यसमा केन्द्रित हुनुपर्छ, त्यसपछि तँभित्र झन्-झन् धेरै परिवर्तनहरू आउनेछन्, र तेरो स्थिति झन्-झन् राम्रो हुनेछ। अचेल, धेरै मानिसहरू शब्द र धर्मसिद्धान्तहरू बोल्न सक्छन्, तिनलाई स्पष्ट र तार्किक रूपमा व्यक्त गर्न सक्छन्, तर सत्यता वास्तविकताबारे कुरा गर्नुपर्दा, तिनीहरूसँग भन्नलाई केही हुँदैन, र तिनीहरूले अलिकति व्यावहारिक बुझाइ समेत व्यक्त गर्न सक्दैनन्। के भइरहेको छ? (हामीसँग सत्यता छैन।) तेरो जीवन अझै पनि भ्रष्ट स्वभावहरूको जीवन, शैतानको जीवन हो, र यो सत्यताको जीवन होइन।
के तिमीहरूले हामीले भर्खरै सङ्गति गरेको कुरा बुझ्यौ? यदि तिमीहरूले अहिलेसम्म पनि आफ्ना भ्रष्ट स्वभावहरू फालेका छैनौ र तिमीहरू अझै पनि भ्रष्ट स्वभावहरूअनुसार जिउँछौ भन्ने कुरा तिमीहरू साँचो रूपमा पहिचान गर्छौ भने, के तिमीहरू नकारात्मक बन्नेछौ? (अहिले भर्खरै, जब मैले परमेश्वरले हाम्रा भ्रष्ट स्वभावहरू परिवर्तन भएका छैनन् भनेर भनेको सुनेँ, तब मलाई हृदयमा ठूलो असमानता महसुस भयो, र मैले सोचेँ कि म यतिका वर्षदेखि निरन्तर परमेश्वरका वचनहरू खाँदै-पिउँदै आएकी छु, र निश्चित परिस्थितिहरूमा सत्यता अभ्यास गर्नमा केन्द्रित रहेकी छु—त्यसोभए मेरा भ्रष्ट स्वभावहरू किन अझै परिवर्तन भएका छैनन्? मलाई अलिक निराश र नकारात्मक महसुस भयो। तर परमेश्वरले मार्गदर्शन प्रदान गरेर अलि-अलि गर्दै सङ्गति गर्नुभएपछि, मैले केही बाहिरी असल व्यवहार मात्रै प्रदर्शन गर्दी रहेछु, तर मेरा भ्रष्ट स्वभावहरूले अझै पनि मभित्र हैकम जमाइरहेका छन् भन्ने बुझेँ; वास्तवमा कुनै परिवर्तन आएको छैन रहेछ। परमेश्वरले भन्नुभयो, कामकुरा गर्दा, मानिसहरूले सुरुमा मनन गर्नुपर्छ, र तिनीहरूका विचार जति नै असल भए पनि, तिनले सत्यता सिद्धान्तहरूलाई प्रतिनिधित्व गर्दैनन्, र तिनीहरूले परमेश्वरका वचनहरूमा सत्यताले के भन्छ भनेर हेर्नैपर्छ, र तिनीहरूले कुनै काम गर्दा हरेक पटक परमेश्वरका वचनहरूअनुसार सत्यताको खोजी गर्न र अभ्यास गर्न तालिम लिनुपर्छ, त्यसपछि बिस्तारै तिनीहरूको स्थिति परिवर्तन हुनेछ। परमेश्वरको सङ्गति सुनेपछि, मैले फेरि आशा देखेकी छु जस्तो लाग्यो, र मलाई एउटा मार्ग छ भन्ने लाग्यो, र म उप्रान्त नकारात्मक भइनँ।) नकारात्मक हुनु गलत कुरा हो; तँ कुनै पनि परिस्थितिमा नकारात्मक हुनु हुँदैन। भ्रष्ट स्वभावहरू फाल्नु त मुक्ति प्राप्त गर्ने ठूलो मामला हो। कुनै कुरा जति भ्रष्ट स्वभाव हुन्छ, तँ यसलाई समाधान गर्न त्यति नै केन्द्रित हुनुपर्छ। तँ यसमा पूर्ण रूपमा समर्पित हुनुपर्छ र तैँले आफ्नो सारा ध्यान यसमा अर्पित गर्नुपर्छ। तँ नकारात्मक हुन मिल्दैन, र तैँले हरेस खान मिल्दैन। अहिले तिमीहरूले सत्यता पछ्याउनमा केन्द्रित हुन थाले पनि, कहिलेकहीँ कसरी अभ्यास गर्ने भन्ने तिमीहरूलाई अझै थाहा हुँदैन। अहिले तिमीहरूसँग अभ्यासको मार्गबारे कुरा गर्दा यो तिमीहरूको जीवन प्रवेशका लागि अझै फाइदाजनक हुन्छ, साथ-साथै, यसले तिमीहरूमा सङ्कटको बोध पैदा गर्न सक्छ, र तिमीहरूलाई सत्यतामा केन्द्रित हुन, र सत्यतालाई बुझ्न र जति सक्दो चाँडो सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम तुल्याउन सक्छ। आत्मसन्तुष्ट नबन, र आफ्नो वर्तमान परिस्थितिमा सन्तुष्ट नबन। तिमीहरू आज्ञाकारी र असल व्यवहार गर्ने मात्रै बनेका छौ, र तिमीहरू पहिलाभन्दा अलिक समझदार छौ, तर तिमीहरू अझै पनि आफ्ना भ्रष्ट स्वभावहरू फाल्नबाट निकै टाढा छौ! तथ्यहरू स्पष्ट छन्, त्यसकारण नकारात्मक हुनुको के फाइदा? नकारात्मक हुनुले वास्तविक समस्याहरू समाधान गर्न सक्दैन। तैँले समस्या कहाँबाट उत्पन्न भएको हो भनेर पत्ता लगाउनुपर्छ र त्यसलाई त्यहीँबाट समाधान गर्ने प्रयास गर्नुपर्छ। अहिले सुरु गर्न धेरै ढिला भएको छैन। कहिले धेरै ढिला हुनेछ त? परमेश्वरको काम समाप्त हुँदा धेरै ढिला भइसकेको हुनेछ। के तिमीहरूसँग सत्यता वास्तविकतामा प्रवेश गर्ने र सत्यतालाई आफ्नो जीवनका रूपमा प्राप्त गर्ने सङ्कल्प छ? (अब हामीसँग यो सङ्कल्प छ।) वास्तवमा, सत्यता वास्तविकतामा प्रवेश गर्नु गाह्रो छैन। यसबारे विचार गर, सत्यताबारे सङ्गतिका धेरै शब्दहरू बोलिएका छन्, र ती अत्यन्तै विस्तृत र निर्दिष्ट छन्। विषयवस्तु धेरै छ जस्तो देखिन्छ, तर सिद्धान्तहरू परिवर्तन हुँदैनन्, र अभ्यासको मार्ग परिवर्तन हुँदैन। जब तैँले भ्रष्ट स्वभाव प्रकाश गर्छस्, तब त्यो विचार वा सोचाइलाई सचेत रूपमा समात्, र हृदयमा मनन गर्, “यो भ्रष्ट स्वभाव हो, त्यसोभए मैले यसलाई कसरी समाधान गर्नुपर्छ? मैले यसलाई यसअघि समाधान गरेको छैनँ। मैले परमेश्वरमा विश्वास गरेको अत्यन्तै धेरै वर्ष भएको छ, तर म बाहिरी कार्यहरू र धाक लगाउने कार्यहरूमा मात्रै केन्द्रित भएको छु, र ममा अझै पनि भ्रष्ट स्वभावहरू छन् भन्ने तथ्यबारे मैले कहिल्यै मनन गरेको छैनँ। आज मैले अचानक मभित्र यस्तो विचार छ भन्ने पत्ता लगाएँ। यो विचार कहाँबाट आयो? भ्रष्ट स्वभावबाट। त्यसोभए यो भ्रष्ट स्वभावलाई कसरी समाधान गर्नुपर्छ?” परमेश्वरलाई प्रार्थना गर् र सत्यता खोजी गर्, साथै तेरा वरिपरिका अनुभवी मानिसहरूलाई पनि सोध्; तिनीहरूले तँलाई सत्यताको खोजी गर्न र समस्या समाधान गर्न अगुवाइ गर्नेछन्। जब सबै जना सँगै हुन्छन्, तब तिमीहरूले एक-अर्कालाई साथ दिनुपर्छ र सहयोग गर्नुपर्छ, र एक-अर्काप्रति समझदार हुनुपर्छ। सबैको कद उही हो, र कसैले पनि अरूलाई उच्च मान्नु वा हेयको दृष्टिले हेर्नु हुँदैन। सबैले यसरी एक-अर्कालाई सहयोग र साथ दिएमा, र सबैको कद बिस्तारै बढेमा, र अन्त्यमा, तिमीहरू सबैले मुक्ति प्राप्त गरेर सँगै राज्यमा प्रवेश गरेमा, के त्यो राम्रो हुनेथिएन र? (हो।) ठीक छ, आजका लागि हाम्रो सङ्गतिलाई यहीँ समाप्त गरौँ। बिदा!
सेप्टेम्बर ९, २०२३