सत्यता कसरी पछ्याउने (३) भाग चार

३. सत्यता र जीवन प्राप्त गर्नका लागि व्यक्तिले सत्यता पछ्याउन र आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्न जरुरी हुन्छ

कतिपय मानिसहरू कोमल, सहनशील, र धैर्यशील देखिन्छन्; तिनीहरू परिष्कृत रूपमा बोल्छन् र बिजुलीले जस्तै तुरुन्तै र प्रखर रूपमा अनि प्रभावशाली उपस्थितिका साथ काम गर्छन्। तिनीहरूको मानवता निकै सिद्ध देखिन्छ, र तिनीहरूमा अगुवाइ गर्ने व्यक्तिको मानकअनुरूप आनीबानी हुन्छ। तर, तिनीहरू कुनै सत्यता बुझ्दैनन्, तिनीहरू सबै प्रकारका समस्याहरू समाधान गर्न धर्मसिद्धान्तहरू प्रयोग गर्ने प्रयास गर्छन्, र तिनीहरू कुनै पनि ठोस काम गर्न वा कामका प्रबन्धहरू कार्यान्वयन गर्न असमर्थ हुन्छन्। के तिनीहरू व्यर्थ हुँदैनन् र? तिनीहरू खाँटी फरिसीहरू हुन्। बाहिरी रूपमा, फरिसीहरू चिटिक्कसँग लुगा लगाउँछन्, इज्जतदार हुन्छन्, र सन्तुलित हुन्छन्; तिनीहरू सभ्य हुन्छन्, शिष्टाचारमा अभ्यस्त हुन्छन्, शिष्ट हुन्छन्, प्रेमिलो हुन्छन्, सहनशील हुन्छन्, र धैर्य हुन्छन्। तिनीहरूको चालचलन असाधारण रूपमा सभ्य हुन्छ, र तिनीहरू अरूसँग विशेष कोमलता, विनम्रता, र नम्रताका साथ बोल्छन्। तैँले तिनीहरूमा कुनै असिद्धता, दरार, वा खराबीहरू देख्‍न सक्दैनस्। तिनीहरूको मानवताका आधारमा मूल्याङ्कन गर्दा, तिनीहरू चिनियाँ मानिसहरूले उल्लेख गर्ने गरेका सभ्य र शिष्ट भद्रजनहरू जस्तै निकै भरपर्दा, अन्तर्ज्ञानयुक्त, परिष्कृत, र शालीन देखिन्छन्। तिनीहरूको मानवता सिद्ध देखिन्छ, र बाहिरी रूपमा, तिनीहरूमा कुनै गल्ती भेट्टाउन सकिँदैन, तर के तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू बुझ्छन् त? के तिनीहरूले सबै प्रकारका कामकुराहरू गर्ने सिद्धान्तहरू बुझ्छन् त? यी मानिसहरू हरेक भेलामा घण्टौँसम्म बोल्न सक्छन्, र सत्यता नबुझ्नेहरू भने तिनीहरूले अत्यन्तै कुशल रूपमा बोल्छन्, र अत्यन्तै स्पष्ट र तार्किक तरिकाले आफ्नो कुरा व्यक्त गर्छन् भन्‍ने सोच्दै प्रशंसामा लम्पसार पर्छन्। तर सत्यता बुझ्ने मानिसहरूले यी व्यक्तिहरूले भनेको कुरा सुनेपछि के थाहा पाउँछन् भने तिनीहरूले बोल्ने कुरा सबै धर्मसिद्धान्त हो, र त्यसले मानिसहरूका समस्याहरूलाई लक्षित गरेर तिनीहरूका वास्तविक कठिनाइहरू समाधान गर्दैन। यी व्यक्तिहरूले मानिसहरूका वास्तविक कठिनाइहरू वास्तवमा के-के हुन् भन्‍ने कुरालाई बेवास्ता गर्छन्, र तिनीहरूलाई रित्ता धर्मसिद्धान्तहरू कसरी प्रचार गर्ने र उच्च र खोक्रा सिद्धान्तहरूका बारेमा कसरी अटुट रूपमा कुरा गर्ने भन्ने मात्रै आउँछ। बोलेपछि, तिनीहरू आफूसँग निकै प्रसन्न समेत हुन्छन्, र तिनीहरूले सत्यता बुझेका छन् र तिनीहरूसँग सत्यता वास्तविकता छ भन्‍ने सोच्छन्। वास्तवमा, तिनीहरूले आफ्नो मानवताको बाहिरी आवरणलाई सिद्ध र शिष्ट देखाउन, यसलाई उच्च र भव्य देखिने तुल्याउनका लागि ढाकछोप गर्ने प्रयास मात्रै गर्छन्। तर, परमेश्‍वरको प्रतिरोध गर्ने तिनीहरूको सार र भ्रष्ट स्वभाव अलिकति पनि परिवर्तन भएको हुँदैन। परमेश्‍वरबारे तिनीहरूका धारणा, उहाँप्रतिको तिनीहरूको विद्रोहीपन, परमेश्‍वरप्रतिको तिनीहरूको गलतफहमी, रक्षात्मकता, र आशङ्का, र विशेष गरी परमेश्‍वरप्रतिको तिनीहरूका अनुचित माग र विलासी कामनाहरूले तिनीहरूको सम्पूर्ण मन भरेको हुन्छ। तिनीहरू सत्यता पटक्‍कै पछ्याउँदैनन्, न त तिनीहरू सत्यतालाई स्वीकार नै गर्छन्। त्यसकारण, तिनीहरूको मानवतालाई “सिद्ध” भनेर व्याख्या गर्नु भनेको “सिद्ध” भन्‍ने शब्दलाई अपमानजनक अर्थमा प्रयोग गर्नु हो, किनभने कुनै पनि मानवता “सिद्ध” हुँदैन; तिनीहरूको “सिद्धता” विशुद्ध रूपमा देखावट र झुटो आवरण हो। खराबीहरूविनाको मानवता अस्तित्वमा हुँदैन; यो देखावट हो, तिनीहरूलाई विश्‍वास नगर्। बाहिरी रूपमा कुनै व्यक्ति जति सिद्ध देखिन्छ, तँ त्यस व्यक्तिबाट त्यति नै रक्षात्मक हुनुपर्छ, उसलाई अवलोकन गर्नुपर्छ, र खुट्ट्याउनुपर्छ। तैँले तिनीहरूलाई कसरी खुट्ट्याउन सक्छस्? तिनीहरूसँग अझै धेरै अन्तरक्रिया गर्, तिनीहरूसँग अझै धेरै कुराकानी गर्, र तिनीहरूले आफूलाई बुझेका छन् कि छैनन् हेर्। मानौँ तिनीहरू यसो भन्छन्, “म दियाबलस हुँ, म शैतान हुँ, म परमेश्‍वरको प्रतिरोध गर्छु, म भ्रष्ट छु! म पापी, घोर पापी हुँ, परमेश्‍वर मसँग प्रसन्न हुनुहुन्न, परमेश्‍वरले मलाई तिरस्कार गर्नुहुन्छ!” वा, “म अन्धो र मूर्ख, दरिद्र र दयनीय छु! म फोहोरी छु, म अशुद्ध छु!” के यी शब्दहरूमा कुनै वास्तविक तथ्यहरू छन्? के कुनै ठोस बुझाइ छ? (छैन।) तिनीहरूसँग आफ्‍नो भ्रष्ट स्वभावबारे कुनै बुझाइ हुँदैन; तिनीहरू आफूमा भ्रष्ट स्वभावहरू छन् भन्‍ने तथ्यलाई समेत मान्दैनन्। तिनीहरू केही रित्ता शब्दहरू र केही सिद्धान्तहरू बोल्न मात्रै सिक्छन्। यी रित्ता शब्द र सिद्धान्तहरू तिनीहरूले हृदयको गहिराइमा महसुस गरेर वा अनुभव गरेर आएका बुझाइ होइनन्; ती त कर्ण-प्रिय शब्दहरू मात्रै हुन्, ती सबै तिनीहरूले प्रस्तुत गरिरहेका देखावट हुन्। यदि तैँले तिनीहरूलाई तिनीहरूको अनुभवबारे, तिनीहरूले कसरी आफ्नो भ्रष्ट स्वभाव बुझ्न पुगे, र तिनीहरूले कस्तो काट-छाँट भोगेका छन्, अनि आफ्नो भ्रष्ट स्वभावलाई समाधान गर्न त्यसपछि तिनीहरूले परमेश्‍वरका कुन-कुन वचनहरू पढेका छन् त्यसबारे बताउन लगाइस् भने, तिनीहरूले तेरो कुरा नसुनेझैँ गर्छन्, र फेरि पनि धेरै व्यर्थ शब्दहरूका चाङ्ग बोल्छन्: “मेरो क्षमता कमजोर छ, म पापी जन्मेको थिएँ, म मलको थुप्रोमा बस्‍ने नीच व्यक्ति हुँ, म परमेश्‍वरको मुक्ति पाउन लायक छैनँ! ममा भ्रष्ट स्वभावहरू छन्, र म जहाँ भए पनि परमेश्‍वरको गवाही दिन सक्दिनँ; मलाई हैसियत पाउनु मात्रै मन पर्छ।” यदि तैँले तिनीहरूले यसलाई कसरी समाधान गर्ने प्रयास गरेका छन् भनेर सोधिस् भने, तिनीहरूले यसको प्रतिक्रियामा अझै पनि तँलाई असम्बन्धित उत्तर दिनेछन्: “मानिसहरूमा हैसियत हुनु हुँदैन; मानिसहरूले हैसियत पाएपछि, तिनीहरू खतम हुन्छन्। हैसियत पछ्याउनु विलासी कामना हो। बस सबैभन्दा कम महत्त्वपूर्ण व्यक्ति बन्‍ने प्रयास गर, र तिमी जहाँ गए पनि, सबैभन्दा तल्लो स्थानमा बस, सबैभन्दा कम ध्यानाकर्षित गर्ने ठाउँमा बस। मानिसहरू विनम्र हुनुपर्छ; विनम्रता भनेको यही हो।” के तिनीहरूले कुनै ठोस परिवर्तन भोगेका हुन्छन्? के तिनीहरूसँग कुनै वास्तविक अनुभवहरू हुन्छन्? (हुँदैन।) यीमध्ये कुनै पनि कुरा भएका हुँदैनन्। के तिनीहरूसँग आफ्नै भ्रष्ट स्वभावबारे कुनै बुझाइ हुन्छ? (हुँदैन।) तिनीहरूसँग ती बारे कुनै बुझाइ हुँदैन। त्यसोभए, के तिनीहरू सत्यता वा परमेश्‍वरका वचनहरूलाई स्वीकार गर्छन्? (गर्दैनन्।) आफूमा भ्रष्ट स्वभाव छ भनेर नमान्ने मानिसहरूले कहिल्यै सत्यता स्वीकार गर्दैनन्। यदि तिनीहरूले सत्यतालाई स्वीकार गर्थे भने, तिनीहरूले आफ्नो हरेक शब्द र कार्य अनि भ्रष्टताका आफ्ना प्रकटीकरण परमेश्‍वरका वचनहरूसँग तुलना गर्नेथिए। तिनीहरूले भ्रष्टता प्रकट गर्दा, आत्मचिन्तन गर्नेथिए, र फलानो-फलानो प्रसङ्गमा, तिनीहरूले किन भ्रष्टता प्रकाश गरे, र त्यो बेला तिनीहरूले के सोचिरहेका थिए र तिनीहरू केद्वारा निर्देशित थिए भनेर आफैलाई सोधिरहनेथिए। परमेश्‍वरका वचनहरूको खुलासाद्वारा र तुलनाहरू गरेर, तिनीहरूले यो भ्रष्ट स्वभाव हो, र तिनीहरू आफूले कल्पना गरे जस्तो पवित्र वा शुद्ध छैनन्, तिनीहरूसँग पनि छलीपन, स्वार्थी अभिप्राय, महत्त्वाकाङ्क्षा, र कामनाहरू छन्, र तिनीहरू सत्यता वास्तविकता भएका मानिस हुँदै होइनन् भन्‍ने पत्ता लगाउनेथिए। के तिनीहरूले त्यस्ता अनुभवहरू गरेका हुन्छन्? हुँदैनन्। तिनीहरूले धेरै शब्दहरू बोलेका हुन्छन्, तर तिनीहरूले आफूमा भ्रष्ट स्वभाव छ भनेर मानेका छन् भन्‍ने कुरालाई प्रमाणित गर्ने एउटा तथ्य पनि हुँदैन। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको अत्यन्तै धेरै वर्ष भएको हुन्छ, तैपनि तिनीहरूसँग सत्यताको कुनै अनुभव हुँदैन। तिनीहरू धर्मसिद्धान्तहरू मात्रै बोल्छन्, आफ्नो मानवताका कमीकमजोरी र खराबीहरूलाई ढाकछोप गर्नका लागि कसरी देखावटी रूप धारण गर्ने र आफूलाई सजाउने भनेर मात्रै मनन गर्छन्। तिनीहरू झूटो आत्मिकताको बाहिरी व्यवहार, कार्य, अनुहारको हाउभाउ, चालचलन, र आनीबानीद्वारा आफूलाई सजाउँछन्, जबकि आफ्नो भ्रष्ट स्वभावलाई भित्री रूपमा कसिलो गरी, दह्रिलो गरी, र सुरक्षित रूपमा बाँधेर राख्छन्। तिनीहरू परमेश्‍वरले खुलासा गर्ने मानिसका भ्रष्ट स्वभावहरूका विभिन्‍न समस्या वा यी स्वभावहरू खुलासा गर्नका लागि परमेश्‍वरले प्रयोग गर्ने विभिन्न अभिव्यक्तिमध्ये कुनैलाई पनि अलिकति पनि स्वीकार गर्दैनन्, न त तिनीहरू ती कुरालाई ध्यान दिन्छन् वा हृदयमा लिन्छन्; तिनीहरूले आफ्नो मानवताको बाहिरी रूपमा मात्रै मेहनत लगाउँछन्। त्यसपछि यदि तैँले तिनीहरूलाई परमेश्‍वरका वचनहरूका बारेमा रहेको तिनीहरूको बुझाइबारे, उहाँका सजाय र न्यायका वचनहरू, मानवजातिको भ्रष्ट स्वभाव खुलासा गर्ने उहाँका वचनहरू, वा परमेश्‍वरको स्वभाव सम्बन्धी उहाँका वचनहरूका बारेमा तिनीहरूसँग कुनै साँचो बुझाइ वा सुझबुझ छ कि छैन भनेर कुरा गर्न आग्रह गरिस् भने, तिनीहरू यी व्यावहारिक विषयहरूबाट तर्किन्छन् र फेरि पनि आत्मिक सिद्धान्तहरूबारे अनवरत रूपमा बोल्छन्: “परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, परमेश्‍वरले यावत् थोकमाथि सार्वभौमिकता राख्‍नुहुन्छ, परमेश्‍वरका कार्यहरू अद्भुत छन्! परमेश्‍वर प्रशंसाको योग्य र उच्च पारिन लायक हुनुहुन्छ, परमेश्‍वर अद्वितीय हुनुहुन्छ, परमेश्‍वरको अख्तियार र शक्ति सर्वोच्च छ!” मानिसहरू भन्छन्, “त्यसोभए तिमी आफ्नै अनुभवबारे कुरा गर। कुन मामलामा तिमीले परमेश्‍वरको स्वभाव र परमेश्‍वरको पवित्रता देखेको छौ?” तिनीहरू जवाफ दिन्छन्, “परमेश्‍वर अत्यन्तै महान् हुनुहुन्छ, मानिस अत्यन्तै महत्त्वहीन छ, मानिस अयोग्य छ! परमेश्‍वरका नजरमा, मानिस भुईँका कमिलाभन्दा पनि निकृष्ट छ। परमेश्‍वरले मानिसलाई उत्थान गर्नुहुन्छ!” के तिनीहरूसँग यस्तो कुनै बुझाइ हुन्छ? (हुँदैन।) तिनीहरूसँग यस्तो खालको कुनै बुझाइ हुँदैन। यो कस्तो प्रकारको व्यक्ति हो? (ढोँगी फरिसी।) यो ढोँगी फरिसी हो। उसले अलिकति पनि सत्यता स्वीकार गर्दैन; उसका नजरमा परमेश्‍वरका वचनहरू र सत्यता नारा र धर्मसिद्धान्तहरू मात्रै हुन्। उसले प्रायजसो परमेश्‍वरका वचनहरू पढ्छ, आत्मिक भक्तिका टिपोटहरू बनाउँछ, र भेलाहरूमा सहभागिता जनाउँछ र परमेश्‍वरका वचनहरू प्रार्थनार्थ पढ्छ—उसले एउटा पनि नछुटाई वा नछोडी यी सबै प्रक्रियाहरू पूरा गर्छ। त्यसोभए, उसले परमेश्‍वरका यी वचनहरू पढेर के कुरा अवशोषित गरेको हुन्छ? उसले के प्राप्त गरेको हुन्छ? उसले सत्यता बुझ्नका लागि परमेश्‍वरका वचनहरू पढ्दैन, उसका समस्याहरू समाधान गर्न, र आफ्नो अभ्यासमा पछ्याउने मार्ग प्राप्त गर्नका लागि उहाँका वचनहरूलाई उसका आफ्नै भ्रष्ट स्वभाव, धारणा र कल्पनाहरू, वा विकृत विचार र दृष्टिकोणहरूसँग तुलना गर्नका लागि पढ्नु त परको कुरा हो। ऊ आफूलाई धर्मसिद्धान्तहरूद्वारा सुसज्जित गर्नका लागि परमेश्‍वरका वचनहरू पढ्छ ताकि उसले भेलाहरूमा भाषण दिन र अरूलाई पाठहरू सिकाउन सकोस्। उसले हरेक पटक भन्‍ने कुरा फरक हुन्छ, र ऊ निरन्तर लामो समयसम्म कुरा गर्न सक्छ, फरक-फरक मानिसहरूसँग सङ्गति गर्नका लागि परमेश्‍वरका फरक-फरक वचनहरू छनौट गर्न सक्छ, र अरूलाई उसको आदर र आराधना गर्न लगाउने उद्देश्य राख्छ। कतिपय मानिसहरू छली रूप धारण गर्नमा विशेष रूपमा सिपालु हुन्छन्—तिनीहरू कतिचाहिँ घृणित हुन सक्छन्? जब तिनीहरूले मैले बोलेका वचनहरू सुन्छन् र ती उपयोगी भएको पाउँछन्, तब तिनीहरू ती कुराहरू कण्ठ गर्छन्, त्यसपछि भेलाहरूमा धाक लगाउने अवसरहरू खोज्छन्। विशेष गरी, जब तिनीहरू नयाँ विश्‍वासीहरूको समूहमाझ हुन्छन्—धेरै प्रवचन नसुनेका, र परमेश्‍वरका केही वचन पढिसके पनि ती याद गर्न नसक्‍ने मानिसहरूको समूहमा हुन्छन्—तब तिनीहरूले यो अवसरको दुरुपयोग गर्छन् र ती नयाँ विश्‍वासीहरूका बीचमा धाक लगाउन र घमण्ड गर्न थाल्छन्। तिनीहरूको कुरा सुनेपछि, सबैले सोच्छन्, “यो व्यक्तिलाई पवित्र आत्माले अन्तर्दृष्टि दिनुभएको छ, ऊ आत्मिक व्यक्ति हो।” अरूको आदर र आराधना प्राप्त गर्नका लागि आफूलाई प्रदर्शन गर्न त्यस्ता माध्यमहरू प्रयोग गर्नु—के यो घृणास्पद कुरा होइन र? के यो मानिसहरूलाई बहकाउनु होइन र? (हो।) यो मानिसहरूलाई बहकाउनु हो।

यदि, तेरो जीवनभरि, तँ सत्यता सिद्धान्तहरू खोज्छस् र आफ्नो भ्रष्ट स्वभाव र सत्यतासँग नमिल्ने तँभित्रका कुराहरूलाई समाधान गर्ने आधारका रूपमा परमेश्‍वरका वचनहरू खोज्छस् भने, अन्त्यमा तँ अवश्य नै मुक्ति प्राप्त गर्ने व्यक्ति बन्‍नेछस्। तर मानौँ, तेरो जीवनभरि, तैँले आफ्नो मानवताका कमीकमजोरी र खराबीहरूलाई समाधान गर्न आफ्नो प्रयास केन्द्रित गर्छस् र मार्गहरू खोज्छस् भने, आफूलाई कुनै पनि कमीकमजोरी र खराबीहरूबाट मुक्त गर्न हरप्रकारका माध्यमहरू विकास गर्छस्, ताकि तँ अरूभन्दा फरक, सिद्ध, र त्रुटिरहित व्यक्ति बन्‍न सकेस्। कतिपय मानिसहरू यसो समेत भन्छन्, “म शुद्ध व्यक्ति, उच्च र भव्य व्यक्ति, सबै सामान्य मानवतालाई पार गर्ने व्यक्ति बन्‍न चाहन्छु।” म तँलाई भन्छु: यसो गरेर, तँ असफल भएको हुन्छस्! तैँले आफ्नो मानवताको जुनसुकै कमीकमजोरी वा खराबीलाई समाधान गर्ने प्रयास गरे पनि, तेरो मुक्तिसँग त्यसको कुनै सम्बन्ध हुँदैन, किनभने तैँले आफ्ना भ्रष्ट स्वभावलाई समाधान गर्न सत्यता पछ्याइरहेको हुँदैनस्। यदि तैँले आफ्नो मानवताका खराबी र कमीकमजोरीहरूलाई समाधान गरिस् भने पनि, बढीमा यसको अर्थ बाहिरबाट तँमा मानवताका कुनै कमीकमजोरीहरू देख्‍न सकिँदैन, र तँ सतहमा सिद्ध र परिष्कृत देखिन्छस् भन्‍ने मात्रै हुन्छ। तेरो मानवताका कमीकमजोरी र खराबीहरूलाई परिवर्तन गर्न आधारभूत रूपमा असम्भव नै छ भन्‍ने तथ्यलाई बिर्सिदे; तिनलाई परिवर्तन गरिए पनि, तेरा अझ ठूला कमीकमजोरी र खराबीहरू—तेरा भ्रष्ट स्वभावहरू—अझै पनि तँभित्र नै लुकेका हुन्छन्! तैँले जति धेरै देखावटी रूप धारण गर्छस् र कुनै खराबी नभएको सिद्ध मानवता पछ्याउँछस्, तेरो भ्रष्ट स्वभावले तँलाई त्यति नै गहन र कसिलो गरी अल्झाउनेछ र बाँध्नेछ, जसले तँलाई अझै अहङ्कारी, छली, दुष्ट, र हठी बनाउनेछ। अनि यसको परिणाम के हुन्छ? यसले तँलाई सत्यताबाट र सत्यता पछ्याउने मार्गबाट झन् टाढा बरालिने बनाउँछ। अन्ततः, हटाइनु नै तेरो परिणाम हुनेछ, र तँ खतम हुनेछस्। तँ बाहिरी रूपमा सिद्ध छस् वा शुद्ध व्यक्ति जस्तो देखिन्छस् भन्दैमा परमेश्‍वरले तँलाई अपवाद बनाउनुहुनेछ र मुक्ति दिनुहुनेछ भन्‍ने कुराको कुनै सम्भावना हुँदैन। यसको विपरीत, तैँले कुनै खराबीविनाको सिद्ध मानवतालाई जति पछ्याउँछस्, परमेश्‍वरले तँलाई त्यति नै घृणा गर्नुहुनेछ र तँमा काम गर्नुहुनेछैन। तर, कतिपय मानिसहरूले भ्रष्ट स्वभावहरू प्रकाश गरेकोमा प्रायजसो पछुतो र दुःख महसुस गर्छन्। पछुतो महसुस गर्दै गर्दा, तिनीहरूले सत्यता पछ्याउने सङ्कल्प विकास गर्छन्, तिनीहरू सत्यता प्राप्त गर्नका लागि कष्ट भोग्‍न र मूल्य चुकाउन सक्छन्, तिनीहरू दैनिक रूपमा परमेश्‍वरका वचनहरू पढ्नमा अडिग रहन्छन्, र तिनीहरूले सबै मामलाहरूमा परमेश्‍वरलाई प्रार्थना गर्छन् र सत्यता खोजी गर्छन्। यसरी, तिनीहरू सत्यताबारे झन्-झन् स्पष्ट हुँदै जान्छन्, र सत्यताका सबै पक्षहरूका हकमा, बिस्तारै केही प्रवेश, प्राप्ति, र वास्तविक जियाई हासिल गर्छन्। अन्ततः, जब तिनीहरूले सबै प्रकारका मानिस, घटना, र कामकुराहरूको सामना गर्छन्, तब तिनीहरूसँग अभ्यास गर्न र जाँच गर्नका लागि सम्बन्धित सत्यता सिद्धान्तहरू हुन्छन्। धेरै वर्षको अनुभवपछि, परमेश्‍वरको सजाय र न्याय, काट-छाँटमार्फत, साथै सत्यता पछ्याउँदा तिनीहरूले चुकाएको मूल्यमार्फत, तिनीहरूले बिस्तारै सत्यतालाई आफ्नो जीवनको रूपमा प्राप्त गर्न पुग्छन्। मुक्ति पाउने तिनीहरूको आशा झन्-झन् ठूलो हुँदै जान्छ, र तिनीहरूले परमेश्‍वरको विरुद्धमा विद्रोह गर्ने र उहाँलाई धोका दिने सम्भावना झन्-झन् कम हुँदै जान्छ। तिनीहरूको मानवताका खराबी र कमीकमजोरीहरू र तिनीहरूका अन्तर्निहित अवस्थाहरू आधारभूत रूपमा अपरिवर्तित नै रहे पनि, तिनीहरूको भ्रष्ट स्वभाव निरन्तर घट्दै जान्छ, तिनीहरूले परमेश्‍वरको विरुद्धमा प्रतिरोध र विद्रोह गर्ने कार्य झन्-झन् घट्दै जान्छ, परमेश्‍वरले तिनीहरूलाई झन्-झन् मन पराउनुहुन्छ, तिनीहरूले अरूको आत्मिक उन्नति झन्-झन् गर्छन्, र तिनीहरू उपयोगका लागि झन्-झन् उपयुक्त हुन्छन्। यदि यस्ता मानिसहरू यो मार्गमा निरन्तर हिँडे भने, तिनीहरू अवश्य नै मुक्ति प्राप्त गर्नेहरू हुनेछन्; परमेश्‍वरको कामले मुक्ति दिने अभिप्राय राख्‍ने मानिसहरू यिनीहरू नै हुन्। आफ्नो वरिपरिका मानिसहरूलाई अवलोकन गर। कसले सधैँ बाहिरी स्वरूपमा, आफ्नो मानवताका खराबी, त्रुटि, र कमजोरीहरूमा निरन्तर मेहनत लगाउँछ, अरूको आदर, सम्‍मान, र आराधना प्राप्त गर्न, र मानिसहरूको हृदयमा हैसियत प्राप्त गर्नका लागि झुटो आवरण धारण गर्न र देखावटी रूप धारण गर्न सक्दो गर्छ हेर—यस्ता प्रकारका मानिसहरू फरिसीहरू हुन्। फरिसीहरूको अन्तिम नतिजा एउटै मात्रै हुन्छ: मुसासँगै नष्ट हुनु। त्यसकारण म के भन्छु भने यस्ता प्रकारका मानिसहरू खतम भएका हुन्छन् र हटाइएका हुन्छन्।

सुरुदेखि अन्त्यसम्मै, परमेश्‍वरले गर्नुहुने काम भनेको मानिसहरूको मानवताका खराबी र कमीकमजोरीहरूलाई परिवर्तन गर्नु होइन, तर यो सामान्य मानवताको विवेक र समझलाई पुनर्स्थापित गर्नु मात्रै हो। परमेश्‍वरले मानिसहरूका भ्रष्ट स्वभावलाई परिवर्तन गर्न चाहनुहुन्छ। अवश्य नै, परमेश्‍वरले प्रायजसो मानिसहरूका भ्रष्ट स्वभावलाई हटाउने अनि यसरी तिनीहरूलाई मुक्ति प्राप्त गर्न सक्षम तुल्याउने बारेमा पनि कुरा गर्नुहुन्छ। त्यसोभए, सामान्य मानवताको पुनर्स्थापना कुन जगमा निर्माण भएको हुन्छ? यो मानिसहरूले आफ्ना भ्रष्ट स्वभाव फाल्‍ने कार्यको जगमा निर्माण भएको हुन्छ। मानिसहरूको सामान्य मानवता बिस्तारै पुनर्स्थापित हुनुको अर्थ तिनीहरूको विवेकले अनुभूति प्राप्त गर्छ, तिनीहरूको समझ झन्-झन् सामान्य हुँदै जान्छ, र तिनीहरूले सामान्य मानवताको दृष्टिकोणबाट सही कामकुराहरू गर्न र सही शब्दहरू बोल्न सक्छन्; तिनीहरूले अवरोध वा बाधाहरू दिँदैनन्, तिनीहरूको बोलीवचन र व्यवहार आवेगपूर्ण, अन्धो, वा उग्र हुँदैन, बरु ती पूर्ण रूपमा परमेश्‍वरका वचनहरूका सिद्धान्तहरूमा आधारित हुन्छन्, तिनीहरूको समझ अत्यन्तै सामान्य हुन्छ, र तिनीहरूको मानवता निकै सीधा र दयालु हुन्छ। त्यसोभए, कुन आधारमा यी कुराहरू हासिल गर्न, र यो हदको पुनर्स्थापना हासिल गर्न सकिन्छ? यो मानिसहरूका भ्रष्ट स्वभावमा हुने परिवर्तनका आधारमा, सत्यताको अभ्यास गरेर अनि परमेश्‍वरको न्याय र सजाय स्वीकार गरेर मानिसहरूले आफ्ना भ्रष्ट स्वभाव फाल्ने आधारमा हासिल हुन्छ। तर, यदि तेरो भ्रष्ट स्वभाव परिवर्तन भएको छैन वा फालिएको छैन भने, तेरो मानवता तुलनात्मक रूपमा असल भए पनि र तँसँग केही विवेक र समझ भए पनि, सत्यता तेरो जीवनको रूपमा नहुँदा, तेरो विवेक र समझले कमान लिन सक्दैन, र तँ अझै पनि प्रायजसो तेरो विवेक र समझको विरुद्धमा जाने कामकुराहरू गर्नेगरी तेरो भ्रष्ट स्वभावको प्रभाव, उक्साहट, र उत्तेजनामा पर्नेछस्। त्यसकारण, तँसँग अलिकति इन्साफको बोध भए पनि, यो एक प्रकारको चाहना र सङ्कल्प मात्रै हुन्छ। तँसँग थोरै दयालु मानवता मात्रै हुन्छ, तर तेरा भ्रष्ट स्वभावहरू नै तेरो जीवन भएकाले र तिनले नै तँलाई भित्री रूपमा नियन्त्रण गर्ने हुनाले, तैँले हासिल गर्न सक्‍ने कुरा भनेको दुष्कर्म नगर्नु र अरूलाई छल गर्ने र हानि गर्ने पहल नगर्नु मात्रै हो, जुन पहिले नै निकै राम्रो गर्नु हो। अर्को शब्दमा भन्दा, तैँले आफ्ना व्यक्तिगत हितहरूमा असर नपर्दा मात्रै, दुष्कर्म नगर्ने कुरा सुनिश्‍चित गर्न सक्छस्, र तेरा व्यक्तिगत हितहरूमा असर परेपछि, तेरो विवेक र समझलाई दमन गर्न तेरा भ्रष्ट स्वभावहरू देखा पर्नेछन्, जसले तँलाई आफ्ना हित र अधिकारहरूको रक्षा गराउनेछन्, र त्यस अर्थ विवेक र समझलाई कमान लिन दिनु तँलाई निकै गाह्रो हुनेछ। किन? किनभने सत्यता तेरो जीवन होइन; बरु, शैतानका भ्रष्ट स्वभावहरू तेरो जीवन हुन्। त्यसकारण, तेरा हितहरूमा हानि नहुँदा मात्रै तैँले आफ्नो मानवताको थोरै विवेक वा समझ प्रकाश गर्न सक्छस्। तेरा हितहरूमा हानि हुने वा खतरामा पर्ने बित्तिकै, तेरा भ्रष्ट स्वभावहरू तेरो विवेक र समझलाई दमन गर्न तुरुन्तै देखा पर्नेछन्, जसले तँलाई विवेक र समझको विरुद्धमा जाने कुराहरू गर्न लगाउनेछन्—अर्थात्, नैतिकता र नैतिक न्यायविरुद्ध जाने कुराहरू गर्न लगाउनेछन्—अनि तैँले जेसुकै समेत गर्न सक्छस्। अवश्य नै, यी सबै कार्यहरू सत्यताविरुद्ध जान्छन् भनेर भन्‍न सकिन्छ; यो अपरिहार्य कुरा हो। त्यसकारण, व्यक्तिले जे जिउँछ त्यो उसको मानवताका अवस्थाहरूमा निर्भर हुँदैन, बरु उसको भित्री जीवन सार के हो त्यसमा निर्भर हुन्छ। यदि ऊसँग साँच्चै नै सत्यता जीवनका रूपमा छ भने, उसको जीवनमा सत्यता, परमेश्‍वरका वचनहरू, र परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्ग समावेश हुन्छ। त्यसपछि उसको सामान्य मानवताको विवेक र समझ इष्टतम स्थितिमा रहनेछन् र तिनले काम गर्न सक्‍नेछन्, जसले गर्दा उसले सत्यता अभ्यास गर्न र सिद्धान्तहरू अनुसार काम गर्न सक्नेछ। तर, यदि व्यक्तिको जीवन सार उसका भ्रष्ट स्वभावहरू हुन् भने, उसको विवेक र समझ सबैभन्दा न्यून मानकमा सीमित हुन्छ, अर्थात्, ऊ केवल मानवताको सबैभन्दा न्यून सीमाभन्दा तल झर्दैन। यो सबैभन्दा न्यून सीमा के हो? “आइनलागिञ्‍जेल जाइलागिँदैन; आइलागे छोडिँदैन”; “खुनको बदला खुन, ज्यानको बदला ज्यान”; “जस्तालाई त्यस्तै, ढिँडोलाई निस्तै।” अरू के छ? “नक्‍कली भलाद्मी बन्‍नुभन्दा त साँचो खलनायक बन्‍नु बेस हो।” कति जना गैरविश्‍वासीहरूले आफूलाई आचरणमा ढाल्‍ने सबैभन्दा न्यून सीमा यही हो। गैरविश्‍वासीका लागि, यसरी अभ्यास गर्न सक्नु पहिले नै निकै राम्रो कुरा हो। यसबाट तिमीहरूले के बुझेका छौ? यदि तैँले सत्यता पछ्याइनस् भने, तेरा भ्रष्ट स्वभावहरू फालिनेछैनन्, तेरो जीवन सार परिवर्तन हुनेछैन, र यदि तेरो जीवन सार परिवर्तन भएन भने, तेरो सामान्य मानवताको विवेक र समझ सारगत रूपमा पुनर्स्थापित हुनेछैन, र यो हेर्दा मात्रै, मानवताको सबैभन्दा तल्लो सीमाभन्दा तल नझरेको देखिनेछ। तर, यदि तेरो भ्रष्ट स्वभाव फालिएको छ र तेरो जीवनको सार परिवर्तन भएको छ भने, तेरो सामान्य मानवताको विवेक र समझलाई केही हदसम्म इष्टतम बनाइएको र उत्थान गरिएको हुनेछ। यहाँ “इष्टतम बनाइएको” र “उत्थान गरिएको” ले के जनाउँछ? यसको अर्थ तेरो विवेक र समझ सामान्य रूपमा काम गर्न पुग्छन् भन्‍ने हुन्छ—तिनले केवल सबैभन्दा तल्लो सीमा काट्दैनन् भन्‍ने मात्रै होइन, बरु ती सत्यताको अभ्यास गर्ने मानकमा पुग्छन्। गैरविश्‍वासीहरूका बीचमा रहेका तथाकथित असल मानिसहरूले केही विवेक र समझ मात्रै प्रदर्शन गर्छन्, स्पष्ट रूपमा दुष्ट कार्यहरू गर्दैनन्, र नैतिक इन्साफको सबैभन्दा नीच सीमा काट्दैनन्। यो पहिले नै निकै राम्रो अवस्था हो; तिनीहरूलाई अत्यन्तै असल मानिसहरू मान्न सकिन्छ। तर, सत्यता जीवनका रूपमा भएका मानिसहरू यसभन्दा अगाडि जान्छन्; तिनीहरूसँग सही र गलत खुट्ट्याउने क्षमता हुन्छ, र तिनीहरूले विभिन्‍न प्रकारका सही र गलतलाई पहिचान गर्न, र विभिन्‍न प्रकारका मानिसहरूलाई पहिचान गर्न सक्छन्। त्यसोभए तिनीहरूको आधार के हो? सत्यता सिद्धान्तहरू हुन्। तिनीहरूसँग सत्यता सिद्धान्तहरू हुन्छन्—के यो विवेक र समझको मानकभन्दा निकै माथि हुँदैन र? (हुन्छ।) तिनीहरूले सत्यता बुझ्ने हुनाले र सत्यता तिनीहरूको जीवनका रूपमा हुने हुनाले, र तिनीहरूले विभिन्‍न मामलाहरूलाई पहिचान गर्ने आधार साधारण भ्रष्ट मानिसहरूको मानकभन्दा निकै माथि हुने हुनाले, जटिल मामलाहरू सामना गर्दा तिनीहरू सत्यता सिद्धान्तहरूअनुसार काम गर्नमा अडिग रहनेछन्। सत्यता सिद्धान्तहरू बुझेपछि, तिनीहरूको मन अलमल्ल हुनेछैन र तिनीहरूको सोचाइ स्पष्ट हुनेछ। स्पष्ट भनेको के हो? यसको अर्थ तर्कसङ्गत भन्‍ने हुन्छ। तिनीहरूले सामना गर्ने मामलाहरू जति नै जटिल भए पनि, अभ्यासका सत्यता सिद्धान्तहरू तिनीहरूको हृदयमा कुँदिएका हुन्छन्; तिनीहरूले सत्यतालाई सही रूपमा र राम्ररी बुझेका हुन्छन्, र यो तिनीहरूको जीवन बनिसकेको हुन्छ। सबै प्रकारका जटिल मानिस, घटना, र कामकुराहरू सामना गर्दा, तिनीहरूसँग एउटा आधारभूत मापदण्ड हुन्छ, जुन सत्यता सिद्धान्तहरू पालन गर्नु हो। यी सत्यता सिद्धान्तहरूले तिनीहरूलाई विभिन्‍न जटिल कुराहरूको सार र समस्याको वास्तविकता छर्लङ्ग देख्ने तुल्याउँछन्; तिनीहरू यी कुराहरूलाई पहिचान गर्न सक्छन्। यो तिनीहरूको चेतना हो। के यो चेतना साधारण मानिसहरूको भन्दा उच्च छैन र? (छ।) त्यसोभए, यो स्तरमा पुगेपछि, के तिनीहरूको चेतना उत्थान गरिएको र इष्टतम बनाइएको हुँदैन र? (हुन्छ।) परमेश्‍वरले यस्तै सामान्य मानवता चाहनुहुन्छ; परमेश्‍वर अलमल्ल मानिसहरू चाहनुहुन्न। कतिपय मानिसहरू भन्छन्, “म निष्कपट र कायर छु, र म सधैँ हेपाइमा पर्छु,” जबकि अरूले भन्छन्, “मेरो क्षमता निकै कमजोर छ, र मसँग कुनै क्षमता वा प्रतिभा छैन।” परमेश्‍वरले यी कुराहरू महत्त्वपूर्ण छैनन्, र तँ सत्यता सिद्धान्तहरू बुझ्छस् कि बुझ्दैनस् भन्‍ने कुरा चाहिँ महत्त्वपूर्ण छ भनेर भन्‍नुहुन्छ। यदि तँ सत्यता सिद्धान्तहरू बुझ्छस्, र तँ इमानदार व्यक्ति बन्‍ने मानकहरू र सिद्धान्तहरूअनुसार बोल्छस् र व्यवहार गर्छस् भने, गैरविश्‍वासीहरूले तँलाई मूर्ख भनेर गिल्ला गरे पनि, यो साँचो मूर्खता हुँदैन। किन? किनभने, तैँले सत्यता सिद्धान्तहरू बुझेपछि, तेरो समझ चुस्त र इष्टतम बन्छ, सामान्य मानिसहरूको भन्दा उच्च हुन्छ। जब तैँले कुनै पनि मामला सामना गर्छस्, तब तँ अलमल पर्दैनस्; तँसँग यसलाई सम्हाल्ने आधारका रूपमा सही सिद्धान्त, अडान, र उद्देश्यहरू हुन्छन्। तेरो मन स्पष्ट हुन्छ र तेरा विचारहरू स्पष्ट हुन्छन्। तँ ती सिद्धान्त र मानकहरू पूरा गर्न लागिपर्दै काम गर्छस्, र तँ निश्चय नै परमेश्‍वरका अभिप्रायहरूविरुद्ध जाँदैनस्; तँ अवश्य नै उहाँका अभिप्रायहरू अनुसार काम गर्छस्। तैँले मामलालाई सम्हालेपछि, त्यो बेला मानिसहरूले यसलाई छर्लङ्ग देखे पनि वा नदेखे पनि, पर्याप्त समय बितिसकेपछि र मानिसहरूले बुझेपछि, तिनीहरू सबै पूर्ण रूपमा विश्‍वस्त हुनेछन्, र तैँले यसलाई सम्हालेको तरिका अत्यन्तै फाइदाजनक थियो भन्‍ने तिनीहरूलाई थाहा हुनेछ। त्यसोभए, यस्तो प्रभाव हासिल गर्ने मूल के हो? तँसँग सत्यता तेरो जीवनका रूपमा छ भन्‍ने हो। तब मात्रै तेरो चेतनाले तँलाई जोकोही र कुनै पनि कुराबारे सही मूल्याङ्कन गर्न, सही चित्रण गर्न, र सही निष्कर्षहरू निकाल्‍न, साथै अभ्यासका सही सिद्धान्तहरू राख्न, र अवश्य नै, मानिसहरूलाई सहयोग र मार्गदर्शन गर्ने बारेमा सही सिद्धान्तहरू राख्न सक्षम बनाउन सक्छ। के त्यसपछि तेरो चेतना उत्थान गरिएको र इष्टतम बनाइएको हुँदैन र? सामान्य मानवताले त्यस्तो चेतना कहाँबाट प्राप्त गर्छ? (सत्यताबाट।) आफ्नो जीवनको रूपमा सत्यता भएका मानिसहरू परमेश्‍वरले चाहनुहुने मानवजाति हुन्। सायद तँ मूर्ख, निष्कपट, कायर, र अयोग्य छस्, सायद तँ अप्रसिद्ध छस् र तँलाई संसारका मानिसहरूले हेप्छन्, तर यीमध्ये कुनै पनि कुराले फरक पार्दैन; परमेश्‍वरले यसलाई हेर्नुहुन्न। सायद तँ संसारमा अत्यन्तै सक्षम छस्, तँ मानिसहरू कस्ता छन् भनेर पत्ता लगाउन, प्रचलनहरू खुट्ट्याउन, र अवस्था अनुसार आफूलाई अनुकूल बनाउन विशेष रूपमा सिपालु छस्, तर यो पनि व्यर्थ हो; यो तेरो चेतना चुस्त हुनु सरह होइन। तैँले सत्यतालाई स्वीकार गरेपछि, सत्यता बुझेपछि, र सबै सत्यताहरू जानेपछि, अभ्यास गरेपछि, र अनुभव प्राप्त गरेपछि, र सत्यता तेरो जीवन बनेपछि मात्रै, विभिन्‍न मामलाहरूका बारेमा रहेको तेरो पहिचान, मूल्याङ्कन, र निर्णय सही हुन सक्छ।