सत्यता कसरी पछ्याउने (३) भाग एक

सत्यता पछ्याउनुको पहिलो अभ्यास: त्याग्‍नु

आफू र परमेश्‍वरबीचका तगारोहरू र परमेश्‍वरप्रतिको शत्रुता त्याग्‍ने

१. परमेश्‍वरबारेका आफ्ना धारणा र कल्पनाहरू त्याग्‍ने: परमेश्‍वरको कामबारेका आफ्ना धारणा र कल्पनाहरू त्याग्‍ने

केही समयदेखि, हामीले सत्यता पछ्याउने विषयवस्तुमा सङ्गति गरिरहेका छौँ। यस विषयमा संलग्‍न विषयवस्तु निकै व्यापक छ, तर विषयवस्तु चाहे जति व्यापक भए पनि, यो मानिसहरूले आफ्नो दैनिक जीवनमा सामना गर्ने मानिस र कामकुराहरूलाई कसरी हेर्छन्, र तिनीहरूले आफूलाई कसरी आचरणमा ढाल्छन् र कार्य गर्छन् भन्‍ने कुरासँग सम्बन्धित केही समस्याबाट अविभाज्य छ, होइन र? (हो।) यी मानिसहरूको जीवनका वास्तविक समस्याहरू हुन्। ती कुराहरू मानिसहरूको दैनिक जीवनबाट अलग छैनन्, न त ती कुराहरू मानिसहरूको सामान्य मानवताबाट नै अलग छन्। यी समस्याहरूमा विभिन्‍न कामकुराहरूप्रतिको मानिसहरूका मनोवृत्ति र दृष्टिकोणहरू, साथै मानिसहरूले आफ्नो अस्तित्व र आफ्नो जीवनको यात्रामा सामना गर्ने सबै किसिमका मुख्य मामलाहरू समावेश हुन्छन्। हाम्रो यसअघिको सङ्गतिको विषयवस्तु “सत्यता कसरी पछ्याउने” अन्तर्गतको “त्याग्‍नु” को अभ्यासको एउटा पक्षसँग सम्बन्धित थियो—आफू र परमेश्‍वरको बीचमा रहेका तगाराहरू र परमेश्‍वरप्रतिको आफ्नो शत्रुतालाई त्याग्‍नु। यो अभ्यासमा के समावेश हुन्छ? यसमा मानिसहरू र परमेश्‍वरको बीचमा रहेको सम्बन्ध समावेश हुन्छ, होइन र? (हो।) विगत केही सङ्गतिका विषयवस्तुहरू परमेश्‍वरले माग गर्नुहुने सिद्धान्त र मानकहरू अनुसार सबै प्रकारका मानिसहरू र सबै प्रकारका कामकुराहरूलाई कसरी हेर्नुपर्छ, र सबै प्रकारका मानिसहरू र सबै प्रकारका कामकुराहरूलाई कसरी सम्हाल्‍नुपर्छ भन्‍ने कुरासँग सम्बन्धित थिए। हाम्रो यसअघिको सङ्गतिको विषयवस्तु मानिस र परमेश्‍वरबीच रहेको सम्बन्धसँग सम्बन्धित थियो, र त्यसले मानिसहरूलाई परमेश्‍वरका अभिप्रायहरू अनुरूप नरहेका, परमेश्‍वरका मागहरू अनुरूप नरहेका, र सत्यता सिद्धान्तहरू अनुरूप नरहेका विभिन्‍न धारणा र कल्पनाहरूलाई तिनीहरूले कसरी त्याग्‍नुपर्छ भन्‍ने कुराबारे जानकारी दियो। यी त परमेश्‍वरमा विश्‍वास गर्ने यात्रामा र अस्तित्वमा रहने प्रक्रियामा मानिसहरू र परमेश्‍वरबीच रहने वास्तविक समस्याहरू हुन्। हामीले “आफू र परमेश्‍वरको बीचमा रहेका तगाराहरू र परमेश्‍वरप्रतिको आफ्नो शत्रुतालाई त्याग्‍नु” भन्‍ने यो ठूलो विषयलाई चार वटा पक्षमा विभाजित गरेका छौँ: पहिलो हो धारणा र कल्पनाहरू, दोस्रो हो अनुचित मागहरू, तेस्रो रक्षात्मकता र आशङ्का हो, र चौथो छानबिन र खोजीनिती गर्नु हो। हामीले धारणा र कल्पनाहरूबाट हाम्रो सङ्गति सुरु गऱ्यौँ। धारणा र कल्पनाहरूअन्तर्गतको पहिलो बुँदा परमेश्‍वरको कामसँग सम्बन्धित छ—अर्थात्, परमेश्‍वरको कामबारे मानिसहरूसँग के-कस्ता धारणा र कल्पनाहरू हुन्छन्। हामीले यसबारे केही सङ्गति गऱ्यौँ। यस विषयमा रहेको हाम्रो सङ्गति मानिसहरूले परमेश्‍वरको कामलाई कसरी हेर्छन्, र परमेश्‍वरको कामबारे रहेको आफ्नो ज्ञान र विचारहरूमा मानिसहरूमा के-कस्ता विचलन, धारणा, र कल्पनाहरू हुन्छन् भन्‍ने कुरासँग सम्बन्धित थियो; यी धारणा र कल्पनाहरू मानिसहरूले त्याग्‍नुपर्ने कुराहरू हुन्। यदि मानिसहरूले यी धारणा र कल्पनाहरूलाई त्याग्छन् र सत्यताको खोजी गर्छन् भने, तिनीहरूले परमेश्‍वरको काम जान्‍न र परमेश्‍वरका वचनहरूबारे विशुद्ध बुझाइ प्राप्त गर्न सक्‍नेछन्। जब परमेश्‍वरको काम मानिसहरूका धारणा र कल्पनाहरू अनुरूप हुँदैन, तब मानिसहरूले आत्मचिन्तन गर्नुपर्छ र आफैलाई चिन्न खोज्नुपर्छ, र तिनीहरूले आफ्ना धारणा र कल्पनाहरू पनि त्याग्नुपर्छ, परमेश्‍वरको काम कस्तो हुनुपर्छ, वा परमेश्‍वरले आफ्नो कामले मानिसहरूमा हासिल गर्ने अभिप्राय राख्‍नुभएको प्रभाव के हो भनेर मापन गर्नका लागि तिनमा भर पर्नु हुँदैन। परमेश्‍वरको कामबारे रहेका मानिसहरूका धारणा र कल्पनाहरूले मानिसहरूको जीवन प्रवेश र परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्तिमा प्रत्यक्ष असर पार्छन्, त्यसकारण यी धारणा र कल्पनाहरू पनि मानिसहरूले त्याग्‍नुपर्ने कुरा नै हुन्। उदाहरणका लागि, हामीले के सङ्गति गर्‍यौँ भने परमेश्‍वरले मानिसहरूको अन्तर्निहित क्षमता, व्यक्तित्व, जन्मजात प्रवृत्ति, र आदि इत्यादि कुरालाई परिवर्तन गर्नुहुन्न, मानिसहरूका जन्मजात गुणहरू र तिनीहरूको देहका जन्मजात प्रवृत्तिहरू परमेश्‍वरको कामका निसानाहरू होइनन्, र उहाँको कामले मानिसहरूको भ्रष्ट स्वभाव, र परमेश्‍वरविरुद्ध विद्रोह गर्ने र परमेश्‍वरसँग नमिल्ने मानिसहरूका भित्री कुराहरूलाई लक्षित गर्छ। यदि मानिसहरूले परमेश्‍वरको कामले तिनीहरूको क्षमता, जन्मजात प्रवृत्तिहरू, र तिनीहरूको व्यक्तित्व, बानी, जीवनशैली, र आदि इत्यादि कुरालाई समेत परिवर्तन गर्ने उद्देश्य राख्छ भन्‍ने कल्पना गर्छन् भने, तिनीहरूको दैनिक जीवनको अभ्यासको हरेक पक्ष तिनीहरूका आफ्नै धारणा र कल्पनाहरूद्वारा प्रभावित हुनेछ र बहकिनेछ, र अपरिहार्य रूपमा नै धेरै विकृत भाग वा चरम कुराहरू देखा पर्नेछन्। यी विकृत भाग र चरम कुराहरू सत्यता सिद्धान्तहरू अनुरूप हुँदैनन् र तिनले मानिसहरूलाई सामान्य मानवताको विवेक र समझबाट टाढा जान, र सामान्य मानवताको मार्गबाट अलग हुन लगाउनेछन्। उदाहरणका लागि, मानौँ, तेरा धारणा र कल्पनाहरूमा, तँ परमेश्‍वरले मानिसहरूको क्षमता, सक्षमता, र तिनीहरूका जन्मजात प्रवृत्तिसमेत परिवर्तन गर्न चाहनुहुन्छ भन्‍ने विश्‍वास गर्छस्; यदि तँ परमेश्‍वरले परिवर्तन गर्न चाहनुहुने कुराहरू यिनै हुन् भन्‍ने सोच्छस् भने, तँसँग कस्तो प्रकारका पछ्याइहरू हुनेछन्? तँसँग विकृत र दह्रिलो गरी पकडमा राखिएका पछ्याइहरू हुनेछन्—तैँले श्रेष्ठतम क्षमता पछ्याउन चाहनेछस्, र तैँले श्रेष्ठतम क्षमता र श्रेष्ठतम सक्षमताहरू, र श्रेष्ठतम अन्तर्ज्ञान र आत्म-संवर्धन, र साधारण मानिसहरूको भन्दा श्रेष्ठतम केही क्षमताहरू समेत प्राप्त गर्नका लागि विभिन्‍न प्रकारका सीपहरू सिक्‍ने र विभिन्‍न प्रकारका ज्ञानहरूमा निपुण हुनमा ध्यान दिनेछस्—यसरी, तैँले बाहिरी क्षमता र प्रतिभाहरूलाई ध्यान दिनेछस्। त्यसोभए, त्यस्ता पछ्याइहरूले मानिसहरूमा के-कस्ता परिणामहरू ल्याउँछन्? तिनीहरू सत्यता पछ्याउने मार्गमा हिँड्न नसक्‍ने मात्र होइन, बरु तिनीहरूले फरिसीहरूको मार्ग लिनेछन्। तिनीहरू कोसँग श्रेष्ठतम क्षमता छ, कोसँग श्रेष्ठतम वरदान छ, कोसँग श्रेष्ठतम ज्ञान छ, कोसँग अधिक सबल सामर्थ्यहरू छन्, कोसँग बढी सबल पक्षहरू छन्, मानिसहरूका बीचमा कोसँग उच्च प्रतिष्ठा छ र अरूले कसलाई आदर र सम्मान गर्छन् भनेर हेर्नका लागि एक-अर्कासँग प्रतिस्पर्धा गर्नेछन्। यसरी, तिनीहरूले सत्यता अभ्यास गर्न र सत्यता सिद्धान्तहरू अनुसार काम गर्न नसक्‍ने मात्र होइन, बरु तिनीहरू सत्यताबाट टाढा जाने मार्गमा हिँड्नेछन्।

च. परमेश्वरको कामले मानिसहरूका जन्मजात अवस्थाहरू परिवर्तन गर्दैन; यसले तिनीहरूका भ्रष्ट स्वभावहरू परिवर्तन गर्ने उद्देश्य राख्छ
१. परमेश्वरको कामले मानिसहरूका जन्मजात अवस्थाहरू परिवर्तन गर्दैन

परमेश्‍वरको काम भनेको मानिसहरूका भ्रष्ट स्वभाव, र सत्यतालाई उल्लङ्घन गर्ने तिनीहरूका विभिन्‍न भ्रमपूर्ण विचार र दृष्टिकोणहरूलाई तिनीहरूको सामान्य मानवताको दायराभित्र रूपान्तरण गर्नु हो, ताकि तिनीहरूको विवेक र समझलाई पुनर्स्थापित र अझ उत्तम बनाउन सकियोस्। अर्को शब्दमा भन्दा, तँ सत्यता जति धेरै बुझ्छस्, तेरो विवेक र समझ त्यति नै सामान्य बन्‍नेछन्, र ती फाइदाजनक दिशामा विकास पनि भइरहनेछन्; यो अलौकिक कुरा पटक्‍कै होइन। मैले “सामान्य” भन्‍नुको अर्थ के हो? यदि मानिसहरूमा विवेकको सचेतना र इन्साफको बोध छ भने, तिनीहरू दयालु बन्‍नेछन्—मानिसका शब्दहरूमा भन्दा, तिनीहरू बुझ्ने, सीधा, उचित बन्‍नेछन्, र हठी बन्‍नेछैनन् र तिनीहरू विकृतिहरूमा पर्ने प्रवृत्ति राख्नेछैनन्। मानिसहरूको मानवताको सन्दर्भमा परमेश्‍वरले हासिल गर्न अभिप्राय राख्‍नुहुने प्रभाव यही हो। मानिसहरूले सत्यता झन्-झन् बढी बुझ्दै गर्दा, एउटा गौण प्रभाव के हुन्छ भने, तिनीहरूको मानवता झन्-झन् सामान्य हुँदै जान्छ। तर, यदि मानिसहरू आफ्नै धारणा र कल्पनाहरू अनुसार पछ्याउँछन् भने, यी धारणा र कल्पनाहरूले तिनीहरूको पछ्याइमा अत्यन्तै नकारात्मक प्रभाव पार्नेछन् र नकारात्मक मार्गदर्शन दिनेछन्, र तिनीहरूलाई तिनले सबै किसिमका विकृत र हठी ढङ्गले पछ्याइने, चरम, र भ्रमपूर्ण मार्गहरूमा डोऱ्याउनेछन्। उदाहरणका लागि, मानिसहरूका धारणा र कल्पनाहरूमा, तिनीहरू के विश्‍वास गर्छन् भने परमेश्‍वरको कामले मानिसहरूको मानवतालाई उच्च बनाउने, र मानिसहरूलाई मानवका जन्मजात प्रवृत्ति, मानव क्षमता, र मानव उमेर र लिङ्गभन्दा समेत माथि उठ्न सक्षम बनाउने अभिप्राय राख्छ। जब मानिसहरूमा यस्ता धारणाहरू हुन्छन्, तब तिनीहरूले यही दिशा पछ्याउनेछन्, तिनीहरू त्यसमा लागिपर्नेछन्, र त्यसतिर छामछुम गर्दै बढ्नेछन्। त्यसपछि तिनीहरूले के-कस्ता कुराहरूमा ध्यान दिनेछन्? एक हिसाबमा, तिनीहरूले ज्ञान, क्षमता, सीप, वरदान, र प्रतिभाहरूमा ध्यान दिनेछन्; अर्को हिसाबमा, तिनीहरूले अलौकिकतामा ध्यान दिनेछन्। अलौकिकताका प्रकटीकरणहरू के-के हुन् के तिमीहरूलाई थाहा छ? (के यसको अर्थ, कतिपय कुरामा, मानिसहरूले मूल्य नचुकाई तिनीहरू सीधै गुणात्मक परिवर्तनहरू अनुभव गर्नेछन् भन्‍ने हुन्छ?) यो त यस्तो अवस्था हो, जब कसैले सामान्यतया परमेश्‍वरका वचनहरू पढ्दैन, तर उसलाई केही आइपर्छ, अनि उसको मनमा अचानक परमेश्‍वरका वचनहरू देखा पर्छन्, वा जब कसैले कहिल्यै गाउन वा नाच्न सकेको हुँदैन, तर उत्प्रेरित भएपछि ऊ अचानक गाउन र नाच्न सक्छ, र निकै राम्ररी नाच्न समेत सक्छ, वा जब कसैले कहिले पनि विदेशी भाषा सिकेको हुँदैन, तर अचानक ऊ विदेशी भाषा बोल्न सक्ने हुन्छ। के यी कुराहरू अलौकिक हुन्? (हुन्।) उदाहरणका लागि, मानौँ तँ अत्यन्त जरुरी मामलाले गर्दा बाहिर जानुपर्छ, तर तँलाई सवारी कसरी चलाउने भन्‍ने थाहा छैन, र तँ हतास भएर प्रार्थना गर्छस्, र तुरुन्तै तँमा अत्यन्तै जोस उत्पन्न हुन्छ, र अचानक तँलाई सवारी कसरी चलाउने भन्‍ने थाहा हुन्छ, र तँ अनुभवी चालकले जस्तै राम्ररी सवारी चलाउँछस्। कसैले तँलाई सोध्छ, “तपाईंले कसरी यति राम्ररी सवारी चलाउन थाल्‍नुभयो?” तँ भन्छस्, “मलाई पनि थाहा छैन। यो सबै परमेश्‍वरले गर्नुभएको हो; म पवित्र आत्माद्वारा उत्प्रेरित भएँ। हेर त, मेरा यी हातहरू अबदेखि मेरा आफ्नै हात नै होइनन्; पवित्र आत्माले तिनलाई थामिरहनुभएको छ!” वास्तवमा, पवित्र आत्माले यसो गरिरहनुभएको हुँदैन; बरु, अर्को प्रकारको आत्मा तँमा प्रवेश गरेको हुन्छ र तँलाई चालबाजी गरिरहेको हुन्छ, जसले गर्दा तँ फरक व्यक्ति बनेको हुन्छस् र तँ आफूलाई नियन्त्रण गर्न सक्दैनस्। के यो आफ्ना अन्तर्निहित क्षमतालाई नाघ्नु होइन र? यो अलौकिक कुरा हो, होइन र? (हो।) अलौकिकको अर्थ के हो? के यो असल घटना हो? (अहँ, यसले व्यक्तिलाई असामान्य तुल्याउँछ।) यदि तँ केही समयसम्म अध्ययन नगरी वा कुनै पनि विशेषज्ञको मार्गदर्शन बिना अचानक कुनै भाषा जान्न, सीप प्राप्त गर्न, वा केही ज्ञान बुझ्न सक्छस् भने, त्यो अलौकिक कुरा हो। यदि व्यक्तिले सत्यता पछ्याउनु, खोजी गर्नु, प्रतीक्षा गर्नु, वा कामकुराहरूको अनुभव गर्नु नपरी उसको जीवन स्वभाव परिवर्तन भएको छ भने, के यो डरलाग्दो कुरा होइन र? (हो।) यदि तेरो मन र तेरो अवचेतनमा अझै पनि धारणा र कल्पनाहरूका धेरै कुराहरू छन् भने, तैँले तिनलाई त्याग्‍नुपर्छ र तिनलाई पछ्याउनु हुँदैन, किनभने ती परमेश्‍वरको कामका साँचो ज्ञान होइनन्, र ती परमेश्‍वरको कामका विधि र सिद्धान्तहरू अनुरूप हुँदैनन्। परमेश्‍वरको कामले नै तेरो सामान्य मानवतालाई बिलकुलै पार गर्नेछैन, र तँमा परमेश्‍वरले गर्नुहुने कामले हासिल गर्ने प्रभाव तेरो सामान्य मानवतालाई उच्च, अलौकिक मानवतामा रूपान्तरण गर्ने प्रभाव बिलकुलै होइन। यति मात्र होइन, परमेश्‍वरले तँलाई सामान्य व्यक्तिबाट असामान्य व्यक्तिमा रूपान्तरण गर्नुहुनेथिएन। मानौँ, परमेश्‍वरको काम अनुभव गर्ने प्रक्रियामा, तेरो विवेक झन्-झन् संवेदनशील हुँदै जान्छ, र तँमा अझै ठूलो लाजको बोध विकास हुन्छ। तँ दयालु बन्छस्, तैँले परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्न सक्छस्, र मण्डलीको काम र परमेश्‍वरको घरका हितहरूको संरक्षण गर्न सक्छस्। यसका साथै, तेरा शब्द र कार्यहरू तेरो विवेक र समझविरुद्ध जाँदैनन्, तँ बिस्तारै सत्यता सिद्धान्तहरू अनुसार काम गर्न सक्छस्, र तँ परमेश्‍वरका वचनहरू अनुसार सबै प्रकारका मानिस, घटना, र कामकुराहरूलाई पहिचान गर्न सक्छस्। यसले परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले हिँडिरहेको मार्ग सही छ भन्‍ने कुरा प्रमाणित गर्छ। तर मानौँ तँ प्रार्थना गर्दा अझै पनि केही आवाज सुन्‍ने कार्यमा ध्यान दिन्छस्, र परमेश्‍वरबाट खोजी गर्दा र परमेश्‍वरलाई बिन्ती गर्दा केही प्रेरणा, ज्योतिको झलक, वा अलौकिक प्रकाशको प्रतीक्षा गर्छस्। यसको साथै, तेरो विवेक र समझ कुनै पनि हालतमा पुनर्स्थापित गरिएका वा सच्याइएका छैनन्, र तँसँग इन्साफको बोध हुन पुगेको छैन वा तँ परमेश्‍वरमा समर्पित भएको छैनस्। यसले तेरो पछ्याइ र तँ हिँडिरहेको मार्गमा समस्याहरू छन् भन्‍ने कुरा प्रमाणित गर्छ, र तँ सत्यता पछ्याउने मार्गमा पटक्‍कै हिँडेको छैनस् भनेर पनि भन्‍न सकिन्छ। तैँले प्रायजसो अवचेतन रूपमा अलौकिक व्यक्ति बन्‍ने प्रयास पनि गर्छस्, र प्रायजसो तँलाई देहलाई पार गर्नुपर्छ भन्‍ने लाग्छ—खाना खाइनस् भने भोक नलाग्‍ने, र कैयौँ दिनसम्म नसुत्दा वा विश्राम नगर्दा पनि थकित वा तन्द्रा महसुस नहुने—अनि तैँले आफ्नो कर्तव्य पूरा गर्ने प्रक्रियामा आफूले नबुझेका वा नसिकेका कुराहरू तँलाई आतुरीको साथ चाहिँदा अचानक बुझ्न र निपुण हुन समेत खोज्छस्। अलौकिक कुराहरूका बारेमा रहेका यी सबै कल्पनाहरू मानव धारणा र कल्पनाहरूबाट आउँछन्। मानिसहरूले परमेश्‍वरको काम अनुभव नगरेका हुनाले, तिनीहरू स्वाभाविक रूपमै उहाँको कामका बारेमा कल्पनाहरूले भरिएका हुन्छन्। वास्तवमा, परमेश्‍वरको काम सबैभन्दा वास्तविक र व्यावहारिक कुरा हो। परमेश्‍वरले कहिले पनि मानिसहरूका धारणा र कल्पनाहरू अनुसार काम गर्नुहुन्न; उहाँ कहिले पनि मानिसहरूमा यस प्रकारको काम गर्नुहुन्न। उहाँ अत्यन्तै विशेष परिस्थितिहरूमा र अत्यन्तै थोरै मानिसहरूमा मात्रै अलिकति अलौकिक काम गर्नुहुन्छ, तर यो काम अस्थायी मात्रै हो र विशेष परिस्थितिहरूमा चाहिने कुरा हो—यो मानिसहरूमा प्रायजसो प्रकट हुने परमेश्‍वरको मुक्तिको कामको विधि होइन। आफ्नो व्यवस्थापनको कार्यमा, परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिने, तिनीहरूलाई आफ्नो भ्रष्ट स्वभाव फाल्न र मुक्ति प्राप्त गर्न सक्षम तुल्याउने अभिप्राय राख्‍नुहुन्छ, र परमेश्‍वरले काम गर्नुहुने आधारभूत विधि भनेको मानिसहरूलाई सत्यता प्रदान गर्नु हो, ताकि तिनीहरूले सत्यता बुझेपछि सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्न सकून्। त्यसकारण, तेरो मन र तेरो अवचेतनमा तैँले जेसुकै धारणा र कल्पनाहरू राखे पनि, तेरा धारणा र कल्पनाहरू जति नै तार्किक भए पनि वा तिनले तेरा आत्मिक आवश्यकताहरूलाई जति नै पूरा गरे पनि—कारणहरू जेसुकै भए पनि, ती सधैँ धारणा र कल्पनाहरू नै हुनेछन्, र तैँले तिनलाई त्याग्‍नुपर्छ र तँ तिनलाई पक्रिरहनु हुँदैन। परमेश्‍वरको काम जतिसुकै हदसम्म गरिए पनि, र यो जतिसुकै लामो समयसम्म अघि बढे पनि, मानिसहरू सधैँ मानिस नै रहनेछन् र तिनीहरू कहिले पनि स्वर्गदूत बन्‍नेछैनन्। तँ शिरदेखि खुट्टासम्म सेतो भए पनि, तेरो कपाल सेतो भए पनि, तेरो अनुहार सेतो रङ्गले पोतिए पनि, र तैँले कमिज र पाइन्ट सेतो लगाए पनि, र तैँले दुई वटा पखेटा लगाए पनि, तँ स्वर्गदूत बन्‍न सक्दैनस्—मानिसहरू सधैँ मानिसहरू नै हुनेछन्। यसका साथै, यहाँ “मानिसहरू” ले सामान्य मानवताको विवेक र समझ भएका मानिसहरूलाई जनाउँछ, असाधारण मानिसहरूलाई होइन, र असामान्य मानिसहरूलाई त झनै जनाउँदैन। यी मानिसहरू अलौकिक पटक्‍कै हुँदैनन्, तर तिनीहरू परमेश्‍वरमा विश्‍वास नगर्ने गैरविश्‍वासीहरूभन्दा स्पष्ट रूपमा फरक हुन्छन्, किनभने तिनीहरू दुष्कर्म गर्दैनन्, तिनीहरू सत्यता बुझेपछि त्यसलाई अभ्यास गर्न सक्छन्, र तिनीहरू आफ्ना भ्रष्ट स्वभाव र शैतानले मानिसहरूमा हालिदिने विभिन्‍न विचार र दृष्टिकोणहरू अनुसार जिउनुको सट्टा परमेश्‍वरका वचनहरूका आधारमा, र परमेश्‍वरका मागहरू र सत्यता सिद्धान्तहरू अनुसार कसरी मानिसहरू र कामकुराहरूलाई हेर्ने, र आफूलाई कसरी आचरणमा ढाल्ने र कार्य गर्ने भन्‍ने कुरा बुझ्छन्। मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने प्रक्रियामा, आफ्ना धारणा र कल्पनाहरू अनुसार चाहे जति लामो समयसम्म पछ्याएका भए पनि, र तिनीहरूले धेरै प्राप्ति गरेका छन् भन्‍ने तिनीहरूलाई जति नै महसुस भए पनि, परमेश्‍वरका नजरमा यसको गन्ती हुँदैन, र परमेश्‍वरले यी कुनै पनि कुरालाई याद गर्नुहुन्न। मैले यसो भन्दा मैले केलाई जनाइरहेको छु? तोकेरै भन्दा यदि तँ आफ्ना धारणा र कल्पनाहरूका आधारमा, आफ्नो देहका सबै विभिन्न सामान्य आवश्यकताहरूलाई काबुमा राख्छस्, वा आफ्ना नैसर्गिक गुण, क्षमता, सक्षमता, व्यक्तित्व, जीवनशैली, र जीवनका बानीबेहोराहरूलाई परिवर्तन गर्न मेहनत गर्छस् भने, तैँले यी कुराहरूलाई काबुमा राख्‍न र परिवर्तन गर्न जतिसुकै मेहनत गरे पनि, तैँले केही नतिजाहरू प्राप्त गर्न सके पनि, यसको अर्थ तैँले सत्यता अभ्यास गर्ने मार्गमा केही प्राप्ति गरिसकेको छस् भन्‍ने हुँदैन, र अझै बढी, यसको अर्थ तँ पहिले नै सत्यता पछ्याउने व्यक्ति होस् भन्‍ने हुँदैन—परमेश्‍वरले यी कुराहरूलाई याद गर्नुहुन्न। बुझ्यौ? (बुझ्यौँ।)

मानिसहरूका धारणा र कल्पनाहरू अदृश्य भए पनि र बाहिरी रूपमा तिनले मानिसहरूलाई कुनै कुरा भन्‍न वा गर्न, वा कुनै पनि प्रकारको मार्ग हिँड्न जबरजस्ती नगर्ने जस्तो देखिए पनि, तिनले मानिसहरूको विचार र भित्री सत्त्वलाई, तिनीहरूको हृदय र अवचेतनको गहिराइमा कडाइका साथ नियन्त्रण गर्छन्। किन यस्तो हुन्छ? किनभने मानिसहरूले प्रेम गर्ने र पछ्याउने कुराहरू तिनीहरूका धारणा र कल्पनाहरूसँग निकै राम्ररी मिल्छन्, र यी कुराहरूले मानव देहका आवश्यकताहरू पनि पूरा गर्छन् र तिनले सबै किसिमका मानव कामना र जिज्ञासाहरू सन्तुष्ट पार्छन्। उदाहरणका लागि, मानिसहरूका धारणा र कल्पनाहरूमा, तिनीहरू के विश्‍वास गर्छन् भने परमेश्‍वरको कामले तिनीहरूलाई साधारण मानिसहरूभन्दा फरक असाधारण प्राणीहरूमा रूपान्तरण गर्ने अभिप्राय राख्छ, र जब तिनीहरू पवित्र आत्माद्वारा उत्प्रेरित हुन्छन्, तब तिनीहरूले कैयौँ भाषा बोल्न सक्‍नेछन्। यसले अवश्य नै मानिसहरूको अन्तर्निहित क्षमता र सामान्य मानवताको दायरालाई पार गर्छ, तर यसले निकै हदसम्म तिनीहरूको अभिमान, जिज्ञासा, र प्रतिस्पर्धात्मकता सन्तुष्ट पार्छ। अर्को शब्दमा भन्दा, मानिसहरूले सत्यता प्राप्त गर्नुभन्दा पहिले, तिनीहरूलाई केही अलौकिक कुराहरू मन पर्छ, र यी कुराहरूले तिनीहरूलाई साधारण मानिसहरूभन्दा महत्त्वपूर्ण र श्रेष्ठ र फरक महसुस गराउँछन्—भ्रष्ट मानवजातिले प्रेम गर्ने र तृष्णा गर्ने कुरा यही हो। हरेकले मानवजातिमाझ उत्कृष्ट बन्‍ने, अरूभन्दा फरक बन्‍ने, पृथक् र अद्वितीय बन्‍ने, र अरूको सम्‍मान र आदर पाउने आशा गर्छ। उदाहरणका लागि, भ्रष्ट मानवजातिमाझ एउटा घटना के छ भने यदि कुनै वस्तु एउटा मात्र उत्पादन गरियो भने, धनी र अग्रणी मानिसहरूले यसलाई किन्‍नका लागि जोसका साथ प्रतिस्पर्धा गर्नेछन्। तिनीहरूले कुन हदसम्म यसो गर्नेछन्? यहाँसम्म कि यो उत्पादन यसको मूल मूल्यभन्दा कैयौँ गुणा बढी वा दश गुणा समेत बढी मूल्यमा बेचिन पुग्छ। यो किन्‍न सफल हुने व्यक्तिले सोच्छ, “हेर त, मैले संसारमा एउटै मात्र रहेको यो कुरा हात पारेको छु। म साँच्‍चै नै शक्तिशाली छु, होइन र? म अरूभन्दा श्रेष्ठ छु, होइन र? म जस्तो सक्षम अरू कोही छैन!” ऊ आफ्नै मनमा आफूप्रति प्रसन्न हुन्छ, र उसलाई ऊ विशेष, असाधारण, र अत्यन्तै सक्षम छ भन्‍ने लाग्छ। यो कस्तो प्रकारको स्वभाव हो? (यो अहङ्कार हो।) यो अहङ्कारी स्वभावले पैदा गरेको हुन्छ। कतिपय मानिसहरूलाई अर्को व्यक्तिको जस्तै लुगा लगाउँदा अप्ठ्यारो लाग्छ। यदि तिनीहरू अरूले किन्‍न नसक्‍ने र पहिले कहिल्यै नदेखेको लुगा लगाउँछन्, र यसलाई हेर्ने सबै जनाले डाहा गर्छन् भने, तिनीहरूलाई कस्तो महसुस हुन्छ? (आफूप्रति प्रसन्‍न महसुस हुन्छ।) तिनीहरूलाई आफूप्रति विशेष रूपमा प्रसन्‍न महसुस हुन्छ, र तिनीहरूले तिनीहरू अरू जस्तो नभएको र अरूभन्दा माथि छन् भनी सोच्छन्। कस्तो प्रकारको स्वभावले यो पैदा गर्छ? (अहङ्कार।) यो पनि अहङ्कारी स्वभावले पैदा गर्छ। हेर् त, लगभग १००% मानिसहरूमा यो मानसिकता हुन्छ: यदि तिनीहरूले प्राविधिक वा पेसागत सीपमा कुशलता प्राप्त गरेका छन् भने, तिनीहरूले आफू अरूभन्दा श्रेष्ठ भएको र आफू जस्तो श्रेष्ठ कोही पनि नभएको भनी सोच्छन्। यदि अरू कसैले पनि उस्तै प्राविधिक वा पेसागत सीपमा कुशलता हासिल गर्छ भने, तिनीहरूलाई त्यो व्यक्तिप्रति डाहा हुनेछ र तिनीहरूले कोही पनि आफ्नो तुलनामा आउन नसकोस् भनेर उत्कट रूपमा कामना गर्नेछन्। तिनीहरूमा किन यस्तो मानसिकता हुन्छ? (तिनीहरू अरूभन्दा उत्कृष्ट बन्न चाहन्छन्।) यदि यो पेसागत सीपमा निपुण तिनीहरू मात्रै हुन् भने, तिनीहरू आफ्नो समूहका औसत व्यक्तिभन्दा श्रेष्ठ हुन्छन्। यो प्राविधिक वा पेसागत सीपको ज्ञान भएको हुनाले, तिनीहरूलाई अरूले तिनीहरूबाट यो कुरा सिक्छन् भन्‍ने डर लाग्छ। यदि अरूले तिनीहरूबाट सहयोग मागे भने, के तिनीहरूले उनीहरूलाई सिकाउनेछन्? (अहँ, सिकाउनेछैनन्।) तिनीहरूले तँलाई केही सरल कुराहरू मात्रै सिकाउनेछन्; सबैभन्दा महत्त्वपूर्ण र निर्णायक कुराहरूका हकमा भन्दा, तिनीहरूले ती कुरा कसैलाई सिकाउनेछैनन्, र तँलाई ती कुराहरू आफै पत्ता लगाउन छोडिदिनेछन्। तिनीहरूले वास्तवमा के सोचिरहेका हुन्छन्? “यदि मैले तिमीलाई यो कुरा सिकाएँ भने, म कसरी अरूभन्दा उत्कृष्ट देखिन सक्छु? यदि सबैले यो काम गर्न सके भने, के म साधारण व्यक्ति मात्रै बन्‍नेछैनँ र? यदि यो काम कसरी गर्ने भन्‍ने तिमीहरूमध्ये कसैलाई थाहा भएन भने, यहाँ सबैभन्दा श्रेष्ठ व्यक्ति म हुन्छु, र तिमीहरू सबैले मेरो चापलुसी गर्नुपर्छ—त्यसरी म महत्त्वपूर्ण भएको महसुस गर्न पाउँछु, होइन र? के तिमीहरूमध्ये सबैभन्दा उच्च हैसियत भएको र सबैभन्दा सक्षम व्यक्ति म होइनँ र? म तिमीहरूमध्ये सबैभन्दा बडेमानको व्यक्ति हुँ, होइन र?” पेसागत वा प्राविधिक सीपबारेमा केही ज्ञान भएको हुनाले, तिनीहरूलाई अरूले तिनीहरूबाट यो कुरा सिक्छन् भन्‍ने गहन डर लाग्छ, र तिनीहरूले अरू तिनीहरू जस्तै होऊन् भन्‍ने चाहँदैनन्। यदि कसैसँग तिनीहरूको जस्तै पेसागत वा प्राविधिक सीप वा विशेषज्ञता छ भने, तिनीहरू व्याकुल हुन्छन्, त्यसकारण तिनीहरू सधैँ अरूलाई उछिन्नका लागि केही न केही सिक्‍ने उपायहरू सोचिरहेका हुन्छन्। तिनीहरू अरूभन्दा श्रेष्ठ हुन चाहन्छन् र आफूलाई महत्त्वपूर्ण महसुस गराउन सधैँ अरूभन्दा उत्कृष्ट देखिन चाहन्छन्। के यो सही पछ्याइ हो? (होइन।) भ्रष्ट मानवजातिसँग त्यस्ता तृष्णा र पछ्याइहरू हुने हुनाले नै, तिनीहरू स्वाभाविक रूपमै परमेश्‍वरको कामबारे सबै किसिमका धारणा र कल्पनाहरू विकास गर्छन्, र अरूभन्दा एक स्तर माथि हुने, हैसियत र प्रतिष्ठा प्राप्त गर्ने, महत्त्वपूर्ण महसुस गर्ने, अरू कोही भन्दा भिन्न बन्ने, र अरूका नजरमा महामानव वा असाधारण मानिसहरू समेत बन्‍ने प्रयास गर्छन्। त्यसकारण, मानिसहरूले परमेश्‍वरको कामबारे रहेका यी धारणा र कल्पनाहरू त्याग्‍नुपर्छ। निर्दिष्ट हिसाबमा भन्दा, यसलाई कसरी अभ्यास गर्नुपर्छ? श्रेष्ठ वरदान वा प्रतिभा नपछ्या, र आफ्नो क्षमता वा जन्मजात गुणलाई परिवर्तन गर्ने प्रयास नगर्, बरु, आफ्नो जन्मजात अवस्थाहरू—जस्तै क्षमता, सक्षमता, र जन्मजात प्रवृत्तिहरू—अन्तर्गत परमेश्‍वरका मागहरूअनुसार आफ्नो कर्तव्य निर्वाह गर्ने, र परमेश्‍वरले माग गर्नुभएअनुसार हरेक कुरा गर्। परमेश्‍वरले तेरो सक्षमता वा क्षमता बाहिरका कुराहरू माग गर्नुहुन्न—तैँले आफ्ना लागि कामकुराहरू कठिन बनाउनु पनि हुँदैन। तँ आफूले बुझेको र हासिल गर्न सक्‍ने कुराका आधारमा मात्रै सक्दो गर्छस्, र आफ्ना अवस्थाहरूले जे कुरालाई अनुमति दिन्छ त्यही अनुसार अभ्यास गर्छस् भने पनि ठीकै हुन्छ। उदाहरणका लागि, यदि तेरो क्षमता र प्रतिभाले तँलाई टोली अगुवाको भूमिकाका लागि मात्रै उपयुक्त तुल्याउँछ भने, टोली अगुवाका रूपमा राम्रो काम गर्, यो भूमिकाको दायराभित्र रहेका जुनसुकै कार्य र पेसागत सीपहरूलाई क्रमबद्ध गर्, तिनलाई एक-एक गरी सम्हाल्, र परमेश्‍वरले तँलाई सिकाउनुभएका विधि र सिद्धान्तहरू अनुसार तिनलाई कार्यान्वयन गर्—यसरी, तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्नेछस्। मानौँ तँ आफ्ना धारणा र कल्पनाहरू अनुसार चल्छस्, र तँ यसो सोच्छस्, “म टोली अगुवा बन्‍न सक्‍ने हुनाले, यदि म अझै राम्रो गर्न लागिपरेँ, मैले अलिक कठिनाइ सहेँ र अलिक मूल्य चुकाएँ र पवित्र आत्माले ममा ठूलो काम गर्नुभयो भने, के म मण्डली अगुवा वा निर्णयकर्ता समूहको अगुवा बन्‍न सक्दिनँ र? मानिसहरूले ममा यो क्षमता छैन भन्‍ने सोच्छन् होला, तर म परमेश्‍वरलाई बिन्ती गर्नेछु—परमेश्‍वरलाई हासिल गर्न गाह्रो केही पनि छैन! म टोली अगुवा बन्‍न चाहन्नँ। म परमेश्‍वरलाई प्रार्थना गर्नेछु, र मलाई अझै ठूलो काम वहन गर्न दिनुहोस्, मलाई अगुवा वा कामदार बन्न दिनुहोस् भनेर उहाँलाई अनुरोध गर्नेछु।” के यस्तो पछ्याइ सही हो? (अहँ, यो गलत हो।) तिमीहरू यो गलत हो भनेर किन भन्छौ? (त्यस्ता मानिसहरू सधैँ आफ्नो क्षमता र सक्षमताबाहिरका कुराहरू गर्न चाहन्छन्, र तिनीहरू आफ्नो क्षमता र प्रतिभाका आधारमा आफ्नो काम गर्नमा लागिरहन सक्दैनन्, आफ्नो उचित स्थानमा बस्न सक्दैनन्।) सधैँ महामानव बन्‍न चाहनु उचित हुँदैन; सामान्य व्यक्तिले पछ्याउनुपर्ने कुरा यो होइन।

कतिपय मानिसहरू प्रायजसो भन्छन्, “परमेश्‍वरका लागि केही पनि गाह्रो हुँदैन”; यो भनाइ तथ्य हो, र सबैले त्यो बुझ्न सक्छन्। तर कतिपय मानिसहरूको विकृत बुझाइ हुन्छ, तिनीहरू के विश्‍वास गर्छन् भने मानिसहरूले परमेश्‍वरलाई प्रार्थना मात्रै गरे भने तिनीहरूले गर्न नसक्‍ने कुनै पनि कुरा परमेश्‍वरले तिनीहरूका लागि हासिल गरिदिन सक्नुहुन्छ, र यसरी परमेश्‍वरमा भर परेर, मानिसहरू आफ्नै जन्मजात प्रवृत्तिलाई पार गरेर महामानव बन्‍न सक्छन्। के कुरा यही हो त? (होइन।) “परमेश्‍वरका लागि केही पनि गाह्रो हुँदैन” भन्‍ने भनाइले स्पष्ट रूपमा नै परमेश्‍वरको शक्ति र सार, परमेश्‍वरको सर्वशक्तिमान्‌ता, र साथै यावत् थोकमाथि रहेको परमेश्‍वरको सार्वभौमिकतालाई जनाउँछ—परमेश्‍वरले हासिल गर्न नसक्‍ने कुनै पनि कुरा छैन। तर, यसको अर्थ मानिसहरूले सामान्य मानवतालाई पार गर्नु नै पर्छ र तिनीहरू अलौकिक बन्‍नु नै पर्छ भन्‍ने हुँदैन; परमेश्‍वर चाहे जति नै सर्वशक्तिमान् हुनुभए पनि, उहाँले मानिसहरूमा गर्नुहुने काम तिनीहरूको सामान्य मानवतामा आधारित हुन्छ र यो सामान्य मानवताको दायराभित्र गरिन्छ। परमेश्‍वरले यावत् थोकलाई योजनाबद्ध गर्नुहुन्छ र चलाउनुहुन्छ, उहाँले मानिस, घटना, र कामकुराहरूलाई चलाउनुहुन्छ, ताकि तिनले उहाँलाई सबै किसिमका कुराहरू हासिल गर्नका लागि सेवा प्रदान गरून्, उहाँले हासिल गर्न लाग्‍नुभएका तथ्यहरू हासिल गरून्। परमेश्‍वरले सबै किसिमका कुराहरू हासिल गर्नुहुने अवधिमा, मानिसहरू अझै पनि सामान्य मानवतामा नै हुन्छन्—तिनीहरूमा केही पनि परिवर्तन भएको हुँदैन, र तिनीहरू अझै पनि मानिसहरू नै हुन्छन्। परमेश्‍वर चाहे जति नै सर्वशक्तिमान् हुनुभए पनि, र परमेश्‍वरले कुनै कुरामाथि सार्वभौमिकता अभ्यास गर्न वा कुनै कुरा हासिल गर्न जुनसुकै विधिहरू प्रयोग गर्नुभए पनि, सृजित मानिसहरू सधैँ सृजित मानिस नै हुन्छन्; तिनीहरू अझै पनि सामान्य मानवतामा नै जिउँछन् र तिनीहरू कुनै पनि तरिकाले अलौकिक हुँदैनन्। के तिमीहरू सबैले यी तथ्य हुन् भनेर भन्नेछौ? (भन्नेछौँ।) “अलौकिक हुँदैनन्” को अर्थ के हो? यसको अर्थ, जब परमेश्‍वरले मानिस, घटना, र कामकुराहरूलाई योजनाबद्ध गर्नुहुन्छ, तब मानिसहरू परमेश्‍वरको योजनाबद्ध कार्यमा नजिई, नबाँची, हरेक कुरा नगरी, र वर्तमान क्षणमा नजिई बस्न सक्दैनन्। तर जब तँ वर्तमान क्षणमा जिउँछस्, के तेरो चेत अस्पष्ट हुन्छ? (हुँदैन।) तँ अझै पनि स्पष्ट मनको हुन्छस्। त्यसोभए, के तेरो क्षमता तुरुन्तै सुधार भएको वा परिवर्तन भएको हुन्छ? (हुँदैन।) यो मूल रूपमा जस्तो थियो त्यस्तै रहन्छ। त्यसोभए के तेरा जन्मजात प्रवृत्तिहरू तुरुन्तै परिवर्तन भएका हुन्छन्? अहँ, ती पनि परिवर्तन भएका हुँदैनन्। परमेश्‍वरको सार्वभौमिकता, योजनाबद्ध कार्य, र प्रबन्धहरूअन्तर्गत, तैँले चाहे जति नै धेरै कुरा अनुभव गरे पनि, तेरो व्यक्तित्व, बानीबेहोरा, जीवनशैली, र तेरो सामान्य मानवताको क्षमता, सक्षमता, र विभिन्‍न प्रकार्यहरूमा कुनै परिवर्तन हुँदैन। यति मात्र हो कि, जब मानिसहरूले परमेश्‍वरको काम अनुभव गर्छन्, तिनीहरूले आ-आफ्नै वातावरणमा सबै प्रकारका कामकुरा र मानिसहरू अनुभव गर्छन्, जसको अन्तिम नतिजा के हुन्छ भने, परमेश्‍वरको काम अनुभव गर्ने प्रक्रिया दौरान, तिनीहरूले अन्तर्ज्ञान प्राप्त गर्छन् र केही पाठहरू सिक्छन्। यदि तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन् भने, तिनीहरूले सत्यता र परमेश्‍वरलाई चिन्‍ने सन्दर्भमा फसल कटनी गर्न सक्छन्। परमेश्‍वरको काम अनुभव गर्ने प्रक्रियामा, मानिसहरूको सोचाइ सामान्य हुन्छ, तिनीहरूको चेत अस्पष्ट हुँदैन, र तिनीहरूको क्षमता, सक्षमता, र जन्मजात प्रवृत्तिहरू मूल रूपमा जस्ता थिए त्यस्तै रहन्छन्, र तिनमा कुनै परिवर्तन हुँदैन। त्यसकारण, “परमेश्‍वरका लागि केही पनि गाह्रो हुँदैन” भन्‍ने वाक्यले परमेश्‍वरको सर्वशक्तिमान्‌ता र परमेश्‍वरले यावत् थोकलाई योजनाबद्ध गर्नुहुने कार्यलाई जनाउँछ। यसले मानिसहरूलाई अलौकिक बनाउनु वा सृजित मानवहरूको सार परिवर्तन गर्नुलाई जनाउँदैन। परमेश्‍वरले मानिसहरूको सार परिवर्तन गर्नुहुन्न; मानिसहरू अझै पनि मानव नै हुन्छन्, र तँ पुरुष भए पनि वा महिला भए पनि, यस सन्दर्भमा कुनै परिवर्तन आएको हुँदैन। परमेश्‍वरले सबै कुरालाई योजनाबद्ध गर्नुहुन्छ, र परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ; परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो यही हो, र परमेश्‍वरसँग यही छ। “परमेश्‍वरका लागि केही पनि गाह्रो हुँदैन” भन्‍नुको अर्थ मानिसहरू अलौकिक बनेका छन् भन्‍ने हुँदैन, न त यसको अर्थ मानिसहरू सर्वशक्तिमान् छन् भन्‍ने नै हुन्छ। कतिपय व्यक्तिहरूले कहिलेकहीँ आफ्नो क्षमताभन्दा बाहिर वा तिनीहरूको शारीरिक जन्मजात प्रवृत्तिभन्दा बाहिरका कुराहरू हासिल गर्न सक्छन् भने पनि, यो पवित्र आत्माको काम हो। यो वरदान परमेश्‍वरले नै तिनीहरूलाई दिनुभएको हो; तिनीहरू यो क्षमता लिएर जन्मेका थिए भन्‍ने होइन। किनभने सृजित मानिसहरूमा परमेश्‍वरले नियोजन गर्नुभएका यी सबै कुरालाई परिवर्तन गर्ने क्षमता हुँदैन। म मानव जन्मजात प्रवृत्तिको मामलाबारेमा एउटा सरल उदाहरण दिनेछु। उदाहरणका लागि, जब मानिसहरूले डरलाग्दो आवाज सुन्छन्, तब तिनीहरूलाई डर लाग्नेछ र तिनीहरू जन्मजात प्रवृत्तिले नै कुक्रुक्क पर्छन्। तँ चाहे जति नै उमेरको भए पनि, तँ सानैदेखि यस्तै छस्, र मृत्यु नभएसम्म तँ यस्तै हुनेछस्—यो जन्मजात प्रवृत्ति हो। “जन्‍मजात प्रवृत्ति” को अर्थ के हो? यो भौतिक शरीरको अन्तर्निहित प्रकार्य हो र यो कहिल्यै परिवर्तन हुनेछैन। अन्तर्निहित जन्मजात प्रवृत्ति हुँदा मात्रै सामान्य व्यक्तिले सामान्य मानवताको जीवन र अस्तित्वलाई कायम राख्‍न सक्छ, त्यसकारण मानव जन्मजात प्रवृत्तिहरू परमेश्‍वरले परिवर्तन गर्ने अभिप्राय राख्‍नुहुने कुरा होइनन्। के तिमीहरूले यो कुरा बुझ्यौ? (बुझ्यौँ।) “परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ” भन्‍ने वाक्यांशले के जनाउँछ? (यसले परमेश्‍वरको आफ्नै अख्तियार र परमेश्‍वरको सर्वशक्तिमान्‌ता जनाउँछ।) के मानिससँग यसको कुनै सम्बन्ध हुन्छ? (मानिसहरूसँग यसको कुनै सम्बन्ध हुँदैन, र यसको अर्थ मानिसहरू अलौकिक कार्यहरू गर्न सक्छन् भन्‍ने हुँदैन।) यसको अर्थ परमेश्‍वरको नियन्त्रणअन्तर्गत, मानिसहरू सर्वशक्तिमान् हुन्छन् भन्‍ने हुँदैन; मानिसहरू परमेश्‍वरको नियन्त्रणमा हुँदा पनि, तिनीहरू सर्वशक्तिमान्‌ता हासिल गर्न सक्दैनन्। किन? (किनभने मानिसहरू परमेश्‍वर होइनन्; मानिसहरू सृजित प्राणीहरू मात्रै हुन्, जबकि परमेश्‍वर अद्वितीय हुनुहुन्छ।) ठीक भन्यौ, कुरा यही हो। मानिसहरू सधैँ मानिसहरू नै हुनेछन्। तिनीहरू अर्को प्रजाति बन्‍नेछैनन्, र, अवश्य नै, तिनीहरू परमेश्‍वर त झनै बन्‍नेछैनन्; मानिसहरूका गुण परिवर्तन हुनेछैनन्। मानिसहरूका गुण परिवर्तन हुनेछैनन्, त्यसोभए के तिनीहरूका जन्मजात प्रवृत्तिहरू परिवर्तन हुनेछन् त? (अहँ, हुनेछैनन्।) मानिसहरूका जन्मजात प्रवृत्तिहरू परिवर्तन हुनेछैनन्, न त तिनीहरूको जीवनका बानीबेहोरा र जीवनशैली, वा परमेश्‍वरद्वारा दिइएका जन्मजात व्यक्तित्वहरू नै परिवर्तन हुनेछन्। उदाहरणका लागि, जीवनशैलीलाई लिऊँ। धेरैजसो प्राणीहरू जस्तै, मानिसहरू पनि सूर्योदयपछि काम गर्छन् र सूर्यास्तपछि विश्राम गर्छन्। जब तिनीहरू बिहान उठ्छन्, र तिनीहरूको मस्तिष्कले राम्ररी विश्राम पाएको हुन्छ र तिनीहरूलाई शरीर सहज भएको लाग्छ, तब तिनीहरू काम गर्न थाल्छन्; राती, जब तिनीहरूको शरीर थाक्न थाल्छ, र तिनीहरूले हाइ काढिरहेका हुन्छन् र तिनीहरूको मस्तिष्क थकित हुन्छ, तब तिनीहरू विश्रामको स्थितिमा प्रवेश गर्न थाल्छन्—यो अत्यन्तै सामान्य जीवनशैली हो। यो मानिसहरूको आम अन्तर्निहित गुण हो, र यो मानव जन्मजात प्रवृत्ति पनि हो, र अवश्य नै यो परमेश्‍वरले मानवजातिका लागि स्थापित गर्नुभएको जिउने शैली पनि हो। यो ढाँचा सूर्य, चन्द्रमा, र ताराहरूको घुमाव, र सूर्योदय र सूर्यास्तअनुसार निर्धारित भएको हुन्छ। यदि तैँले यो जीवनशैली तोडिस् भने, छोटो समयावधिमा कुनै ठूला समस्याहरू नहुन सक्छन्—जब तँलाई कहिलेकहीँ थकाइ लाग्छ र तँलाई सुत्न मन लाग्छ, तब तैँले आत्म-नियन्त्रण अभ्यास गरेर अलिकति चिया वा कफी पिउन सक्छस्, अनि तेरो शारीरिक थकाइ अलिक कम हुनेछ—तर लामो समयावधिमा, तेरो शरीरमा समस्याहरू विकास हुनेछन्। त्यसमा किन समस्याहरू विकास हुनेछन्? किनभने तैँले परमेश्‍वरले मानिसहरूका लागि स्थापित गर्नुभएको जिउने शैलीलाई उल्लङ्घन गरेको हुन्छस्। जब तेरो शरीरमा समस्याहरू विकास हुन्छन् र तँ डाक्टरलाई देखाउन जान्छस्, तब तिनीहरूले भन्‍नेछन्, “तपाईं राती चाँडै सुत्नुपर्छ, १० बजेभित्र विश्राम लिनुपर्छ, र बिहान ४-५ बजे उठ्नुपर्छ; केही महिनापछि, तपाईं फेरि ठीक हुनुहुनेछ।” डाक्टरको सल्लाह पछ्याएको तीन महिनापछि, शारीरिक असहजताका तेरा सबै लक्षणहरू मूलतः हराउनेछन्, त्यसकारण तैँले मनमनै यस्तो सोच्नेछस्, “मेरो शरीरका समस्याहरू कुनै गम्भीर रोग रहेनछन्, तर मैले आफ्नो जीवनको यो सामान्य शैली नपछ्याएकोले पैदा भएका रहेछन्।” हेर् त, के तैँले मानिसहरूको जिउने शैलीलाई तोड्न सकिँदैन भनेर भन्‍नेथिइनस् र? (भन्‍नेथिएँ।) मानिसहरूको यो जिउने शैली अरू प्राणीहरूको जस्तै हुन्छ; तिनीहरू सबै सूर्योदयपछि काम गर्छन् र सूर्यास्त भएपछि विश्राम गर्छन्। अवश्य नै, कतिपय प्राणीहरू हुन्छन्, जस्तै उल्लूहरू, जसले दिनभरि विश्राम गर्छन् र राती बाहिर निस्केर सक्रिय हुन्छन्; तिनीहरूको जिउने शैली मानिसहरू र अरू प्राणीहरूको भन्दा फरक हुन्छ, तर यदि तैँले तिनीहरूको यो शैली तोड्न चाहिस् भने, त्यो असम्भव हुनेथियो। यसका साथै, कतिपय प्राणीहरू जाडोमा शीतनिद्रामा लिन्छन्। के मानवहरूको यस्तो शैली हुन्छ? (हुँदैन।) अहँ, मानिसहरूले शीतनिद्रा लिनु पर्दैन। मानिसहरूको जीवनको एउटा शैली हुन्छ—तिनीहरू हप्तामा एक-दुई दिन विश्राम गर्छन्, सूर्योदयपछि काम गर्छन् र सूर्यास्तपछि विश्राम गर्छन्, र निरन्तर काम र विश्रामको यो सामान्य शैलीलाई कायम राख्छन्, र यसरी तिनीहरूको जीवनको संरक्षण गर्न र तिनीहरूको अस्तित्वलाई कायम राख्‍न सकिन्छ। मानवजातिका आफ्नै जीवनशैली हुन्छन्, र यी जीवनशैलीहरू परमेश्‍वरले नै स्थापित गर्नुभएको थियो। ती सबै अर्थपूर्ण हुन्छन् र ती सबैको उद्देश्य मानवजातिको सामान्य जीवन र अस्तित्व कायम राख्नु हो। त्यसकारण, परमेश्‍वरको कामले मानिसहरूले कल्पना गरे जस्तो मानव जीवन र अस्तित्वका शैलीहरूलाई पटक्‍कै तोड्नेछैन, र तैँले पनि यो धारणा र कल्पनालाई त्याग्‍नुपर्छ। यदि मानिसहरूले परमेश्‍वरले तिनीहरूका लागि स्थापित गर्नुभएका यी शैलीहरूलाई जबरजस्ती तोडे, वा अलौकिक कुराहरूका बारेमा रहेका केही विचारहरूद्वारा नियन्त्रित भएर तिनलाई निरन्तर परिवर्तन गर्न चाहे भने, त्यो मूर्खतापूर्ण कुरा हुनेथियो। यदि तँलाई ती कुरा परिवर्तन गर्दा यसले तेरो जीवन उत्थान गर्नेछ र तेरो मानवतालाई सुधार्नेछ भन्‍ने लाग्छ भने, तिनलाई परिवर्तन गरेर तँ कति लामो समयसम्म जिउन सक्छस्, त्यसपछिका दिनहरूमा कामकुराहरू कसरी परिवर्तन हुन्छन्, र तेरो सामान्य मानवता उत्थान गरिएको हुन्छ कि हुँदैन, र तँ महामानव बनेको छस् कि छैनस्, वा स्वर्गदूत बनेको छस् कि छैनस् भनेर हेर्ने प्रयास गर्। यदि तँ परमेश्‍वरको काममा अलौकिक तत्त्व हुनुपर्छ, र त्यसले तेरो जिउने शैली परिवर्तन गर्नुपर्छ भन्‍ने विश्‍वास गर्छस्, र तँ आफूलाई पारमित बनाउनका लागि तिनलाई जबरजस्ती परिवर्तन गर्न पनि चाहन्छस् भने, तँ प्रयास गरेर हेर्न सक्छस्। सायद कैयौँ वर्ष प्रयास गरेपछि, तैँले साँच्‍चै नै आफ्नो जीवन र अस्तित्वका शैलीहरू परिवर्तन गर्छस्। यस्तो हुन सक्‍ने अवस्था एउटै मात्र छ, जुन के हो भने तेरो भौतिक शरीर उप्रान्त अस्तित्वमा रहनेछैन, जुन बेला तँ साँच्‍चै नै अलौकिक हुनेछस् र तँ धुवाँको एउटा मुस्लो बन्‍नेछस्, र तँ “स्वर्गीय प्राणी” मा परिणत हुनेछस् र तँ अमर बन्नेछस्। यदि तँ आफ्नो देहको शरीरलाई सामान्य र स्वस्थ राख्‍न, र सामान्य स्थितिमा हुँदा परमेश्‍वरको काम र उहाँका वचनहरूलाई स्वीकार गर्न सक्‍ने बन्‍न चाहन्छस् भने, तैँले आफ्ना धारणा र कल्पनाहरूका आधारमा तथाकथित महामानव बन्‍ने वा तथाकथित उच्च मानवता पछ्याउने प्रयास गर्नु हुँदैन; बरु, तँ सामान्य मानवतामा जिउनुपर्छ, तैँले आफ्नो सामान्य मानवताको जीवन र अस्तित्व शैली कायम राख्‍नुपर्छ, र आफ्नो सामान्य मानवताका जन्मजात प्रवृत्तिहरू पनि कायम राख्‍नुपर्छ। परमेश्‍वरसँग अनुचित मागहरू नगर्; यी अनुचित मागहरू सबै तेरा कल्पना र धारणाहरूबाट आउँछन्। तेरा जन्मजात प्रवृत्तिहरू, जिउने शैलीहरू, र इत्यादि कुराहरूलाई परमेश्‍वरले परिवर्तन गर्ने अभिप्राय राख्‍नुहुन्न, न त उहाँले आफ्नो कामद्वारा तिनलाई परिवर्तन गर्ने अभिप्राय नै राख्‍नुहुन्छ। मुक्ति दिइएको व्यक्ति अवश्य नै धारणा र कल्पनाहरूले भरिएको व्यक्ति होइन, र ऊ महामानव वा असामान्य व्यक्ति त झनै होइन। बरु, ऊ सामान्य मानवता, र विवेक र समझ भएको व्यक्ति हो, परमेश्‍वरका वचनहरू मान्न, र सत्यता सिद्धान्तहरू अनुसार मानिसहरू र कामकुराहरूलाई हेर्न, र आफूलाई आचरणमा ढाल्‍न र काम गर्न सक्‍ने व्यक्ति हो; ऊ सबै कुरामा परमेश्‍वरमा समर्पित हुन सक्‍ने, अलौकिक पटक्‍कै नरहेको, र विशेष रूपमा सामान्य र व्यावहारिक मानवता भएको व्यक्ति हो।

सम्बन्धित विषयवस्तु