सत्यता कसरी पछ्याउने (१३) भाग दुई

दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूका विशेषताहरू

पछिल्लो पटक, हामीले मानिसहरूलाई मोटामोटी रूपमा तीन वर्गमा विभाजन गरिन्छ भनी उल्लेख गर्‍यौँ। यी तीन वर्गहरूलाई कसरी छुट्ट्याइन्छ? तिनलाई तिनको उत्पत्तिका आधारमा छुट्ट्याइन्छ। पहिलो वर्ग पशुहरूबाट पुनर्जन्म लिएकाहरू हुन्, दोस्रो वर्ग दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरू हुन्, र तेस्रो वर्ग मानिसहरूबाट पुनर्जन्म लिएकाहरू हुन्। हामीले पशुहरूबाट पुनर्जन्म लिएकाहरूका विशेषताहरूबारे छलफल गरिसकेका छौँ, र अब दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरूका विशेषताहरूबारे कुरा गरौँ। दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूका कुन-कुन मुख्य विशेषताहरूबारे तिमीहरूले सोच्न सक्छौ? (तिनीहरू सत्यता र परमेश्‍वरको विरोधी हुन्छन्।) यो निकै सामान्य अभिव्यक्ति हो; तिमीहरूले तिनीहरूका सारभूत व्यवहारहरू वर्णन गर्नुपर्छ, र तिमीहरूले यस प्रकारका मानिसहरूका दैनिक प्रकटीकरणहरू र जीवनमा तिनीहरूले देखाउने विशिष्ट व्यवहारहरू प्रयोग गरेर तिनीहरूका विशेषताहरू पत्ता लगाउनुपर्छ। के तिमीहरूलाई विशेषता भनेको के हो भन्‍ने थाहा छ? विशेषता भनेको एक प्रकारको व्यक्तिको सारलाई प्रतिनिधित्व गर्ने प्रकटीकरण हो। यदि कसैमा कुनै निश्‍चित प्रकारको व्यक्तिका विशेषताहरू छन् भने, ऊसँग त्यस प्रकारको व्यक्तिको सार हुन्छ, र यदि कुनै व्यक्ति त्यस प्रकारको व्यक्ति हो भने, उसमा स्वाभाविक रूपमै ती विशेषताहरू हुनेछन्—कोही पनि अपवाद हुँदैन। विशेषता भनेको यही हो। के तिमीहरूले दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूका विशेषताहरूबारे सोच्न सक्छौ? (तिनीहरू सत्यताप्रति निकै वितृष्ण हुन्छन् र सत्यतालाई घृणा गर्छन्। तिनीहरूले सत्यता सुनेपछि क्रोध र घृणाका साथ प्रतिक्रिया जनाउँछन्।) सत्यता देखेपछि क्रोध र घृणाका साथ प्रतिक्रिया जनाउनु एक निश्‍चित प्रकटीकरण हो। तिमीहरूले अरू के सोच्न सक्छौ? (तिनीहरू दुष्ट र कपटी हुन्छन्। मलाई थाहा छैन, त्यसलाई विशेषता मानिन्छ कि मानिँदैन?) त्यो केही हदसम्म सान्दर्भिक छ। (तिनीहरू निर्दयी र अहङ्कारी पनि हुन्छन्।) निर्दयीपन अर्को निश्‍चित प्रकटीकरण हो। अहङ्कार भ्रष्ट मानिसहरूमा हुने एक आम विशेषता हो, र यो दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरूमा मात्रै हुँदैन; पशुहरूबाट पुनर्जन्म लिएकाहरू र मानिसहरूबाट पुनर्जन्म लिएकाहरू—यी दुई प्रकारका मानिसहरूमा पनि यो हुन्छ। ती निश्‍चित शैतानी भ्रष्ट स्वभावहरूबाहेक, दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरूको मानवताको हिसाबमा के-कस्ता निश्‍चित विशेषताहरू हुन्छन्? अर्थात्, तिनीहरूले आफ्नो दैनिक जीवनमा प्रकट गर्ने, बोल्ने, र गर्ने कुराहरूका मुख्य विशेषताहरू के-के हुन्? (क्रूरता।) यो एउटा विशेषता हो। अरू के-कस्ता विशेषताहरू छन्? दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरू र पशुहरूबाट पुनर्जन्म लिएकाहरू दुवैमा केही खास र सारभूत विशेषताहरू हुन्छन्, तर यी दुई प्रकारका मानिसहरूका विशेषताहरू पूर्ण रूपमा फरक हुन्छन्। पशुहरूबाट पुनर्जन्म लिएकाहरूका विशेषताहरू विकृत बुझाइ, भावशून्यता, अन्योलता, र मूर्खता हुन्। किन यी विशेषताहरू हुन्छन्? यस प्रकारको व्यक्ति सारको हिसाबमा मानवीय विशेषताहरूदेखि टाढा हुन्छ, र मानिसहरूमा हुनुपर्ने उचित बुद्धिमत्ता र सोच्ने तरिकादेखि टाढा हुन्छ भनी प्रमाणित गर्न यी विशेषताहरू नै पर्याप्त हुन्छन्। त्यसकारण, यिनै विशिष्ट विशेषताहरूले यस प्रकारका मानिसहरूले पशुहरूबाट पुनर्जन्म लिएका हुन् भनेर प्रमाणित गर्छन्। दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरू पशुहरूबाट पुनर्जन्म लिएकाहरूभन्दा फरक हुन्छन्। तिनीहरूका विशेषताहरू के-के हुन्? तिनीहरूले दियाबलसहरूबाट पुनर्जन्म लिएका हुनाले, तिनीहरू मानव बनेका दियाबलसहरू हुन्। तिनीहरूको भित्री सार दियाबलसको हुन्छ। तिनीहरू पशु नभए पनि—तिनीहरू मूर्ख, वा भावशून्य नभए पनि, र सायद तिनीहरूमा विकृत बुझाइ नभए पनि—तिनीहरू मानव पनि होइनन्, र तिनीहरूमा मानिसहरूको सामान्य सोचाइ हुँदैन। तिनीहरूले दियाबलसहरूबाट पुनर्जन्म लिएका हुनाले, सार र साँचो रूपको हिसाबमा, तिनीहरू कुनै पनि भिन्नताविना दियाबलसहरूसँग निश्‍चय नै पूर्ण रूपमा मिल्दाजुल्दा र समान हुन्छन्। त्यसोभए, दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरूका विशेषताहरू के-के हुन्? पहिलो विशेषता हो, तिनीहरूको झूट बोल्‍ने बानी नै हुन्छ। तिनीहरूले जसरी झूट बोले पनि, तिनीहरूको अनुहार रातो हुँदैन, तिनीहरूको मुटु काँप्दैन, र तिनीहरूले कुनै कुरा नखुस्काई वा कुनै कमजोरी नदेखाई, अत्यन्तै सामान्य र स्वाभाविक रूपमा व्यवहार गर्छन्। तिनीहरूका कुन-कुन शब्दहरू साँचो हुन् र कुन-कुन झूटा हुन् भनेर कसैले खुट्ट्याउन सक्दैन। दोस्रो विशेषता पथभ्रष्टता हो। तिमीहरूले भर्खरै तेस्रो विशेषता उल्लेख गर्‍यौ, जुन दुष्टता हो। दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूका तीन वटा विशेषताहरू हुन्छन्—पशुहरूबाट पुनर्जन्म लिएकाहरूको भन्दा एउटा विशेषता कम भए पनि, तिनीहरूले मानिसहरूलाई पुर्‍याउने गम्भीर हानिको विनाशकारी शक्ति र मात्रा पशुहरूबाट पुनर्जन्म लिएकाहरूले पुर्‍याउने चोट वा क्षतिभन्दा धेरै बढी हुन्छ, किनभने तिनीहरू दियाबलसहरू हुन्। कठोरताको हिसाबमा भन्दा, मानिसहरूलाई गम्भीर रूपमा हानि पुर्‍याउने दियाबलसहरूका माध्यमहरू मानिसहरूलाई चोट पुर्‍याउने पशुहरूका माध्यमभन्दा धेरै कडा हुन्छन्। मानिसहरूलाई फसाउनु, कुल्चनु, लठ्याउनु, भ्रमित पार्नु, र गम्भीर रूपमा हानि पुर्‍याउनु दियाबलसहरूको जन्मजात गुण हो; यो तिनीहरूको प्रकृति सार हो। पशुहरूको हकमा भन्दा, तिनीहरू हिंस्रक छैनन् भने, तिनीहरूमा सामान्यतया मानिसहरूप्रति ठूलो विनाशकारी शक्ति हुँदैन; केही निश्‍चित पशुहरूले मात्रै मानिसहरूलाई केही हदसम्म गम्भीर रूपमा हानि पुर्‍याउँछन्, मान्छेको मासु खान्छन् वा जन्मजात प्रवृत्तिले गर्दा मानिसहरूलाई चोट पुर्‍याउँछन्। दियाबलसहरू फरक हुन्छन्। तिनीहरू ठूला दियाबलस भए पनि वा साना दियाबलस भए पनि फरक पर्दैन—विभिन्न प्रकारका दियाबलसहरूबीच भिन्‍नता छुट्टाउनु आवश्यक छैन—तिनीहरू सबैले मानिसहरूलाई उस्तै चोट र गम्भीर हानि पुर्‍याउँछन्। कुनै पनि तथाकथित भिन्नताहरू माध्यम वा विधिहरूमा मात्रै प्रकट हुन्छन्, तर दियाबलसहरूको सारको हिसाबमा भन्दा, यो सधैँ मानिसहरूलाई गम्भीर रूपमा हानि पुर्‍याउने नै हुन्छ। तैँले तिनीहरूलाई उक्साएको भए पनि वा नभए पनि, तिनीहरूको प्रकृति सार सधैँ मानिसहरूलाई चोट पुर्‍याउने नै हुन्छ। जबसम्म तँ तिनीहरूको नजिक हुन्छस्, जबसम्म तेरो जीवनका ठूला वा साना मामिलाहरूमा तिनीहरू संलग्न हुन्छन्, तबसम्म तँलाई तिनीहरूबाट हानि हुने सम्भावना हुन्छ। यदि तैँले केही सत्यताहरू बुझ्छस्, तँसँग केही सत्यता वास्तविकताहरू छन्, र यी दियाबलसहरूलाई खुट्ट्याउने क्षमता छ भने, तँलाई तिनीहरूबाट हुने हानिको मात्रा तुलनात्मक रूपमा कम हुन्छ वा घट्छ। तर यदि तेरो कद सानो छ, तैँले सत्यता बुझ्दैनस्, र तँ सत्यता र जीवनविनाको व्यक्ति होस् भने, तँलाई हुने हानिको मात्रा कति हुन्छ भनेर सजिलै अनुमान गर्न सकिन्छ—तिनीहरूले तँलाई जसरी हानि गर्न चाहन्छन्, त्यसरी नै हानि गर्नेछन्, र तिनीहरूले तँलाई जुन हदसम्म हानि गर्न चाहन्छन्, तँलाई त्यति नै हदसम्म हानि हुनेछ। दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरूले मानिसहरूलाई पुर्‍याउने हानि यही हो। हेर् त, जब दियाबलसहरू शक्तिमा हुन्छन्, तब तैँले तिनीहरूलाई समर्थन गरे पनि, तँलाई तिनीहरूबाट अझै पनि हानि हुनेछ, र यदि तैँले तिनीहरूलाई समर्थन गरिनस् वा तिनीहरूको विरोध गरिस् भने पनि, तँलाई हानि नै हुनेछ। जबसम्म तँ तिनीहरूद्वारा शासित हुन्छस्, जबसम्म तँ तिनीहरूको शक्तिको अधीनमा हुन्छस्, जबसम्म तैँले परमेश्‍वरलाई पछ्याउँछस् तर सत्यता प्राप्त गरेको हुँदैनस् वा परमेश्‍वरद्वारा पूर्ण रूपमा प्राप्त गरिएको हुँदैनस्, तबसम्म तँ पूर्ण रूपमा, दियाबलसहरूको पराजित विरोधी, तिनीहरूको सिकार रहन्छस्, कोही पनि यसको अपवाद हुँदैन। यसले ठूला दियाबलसहरूलाई जनाउँछ। दियाबलसहरूबाट पुनर्जन्म लिएकाहरूको हकमा भन्दा, तिनीहरू वास्तविक जीवनका साना दियाबलसहरू हुन्, तिनीहरू विभिन्न प्रकारका दियाबलसहरू हुन्। यदि तँ तिनीहरूसँगै बसिस् भने, एउटा सबैभन्दा आम घटना के हुनेछ भने, तिनीहरूले आफ्नो बानीले नै झूट बोल्नेछन्। तँ सधैँ तिनीहरूबाट ठगिनेछस् र तैँले सधैँ तिनीहरूबाट धोका पाउनेछस्; तँलाई तिनीहरूका कुन शब्दहरू साँचो हुन् र कुन झूटा हुन् भन्‍ने थाहा हुनेछैन, र तेरो मन हरेक दिन बेचैन हुने गरी तँलाई बाधा पुग्नेछ। “तिनीहरूले भनेको यो कुरा साँचो हो कि झूटो हो? के तिनीहरूले मलाई फेरि धोका दिने प्रयास गरिरहेका छन्? तिनीहरूले भनेको कुरा सही हो कि गलत हो भनेर मैले कसरी खुट्ट्याउन सक्छु?” हेर् त, यदि तँ तिनीहरूसँगै बस्छस् भने, तैँले तिनीहरूको हानिबाट गहिरो कष्ट भोग्नेछस्। तिनीहरूको निरन्तर झूट बोल्ने यो मामिलाले मात्रै तँलाई यतिसम्म बाधा पुर्‍याउनेछ कि तँ पूर्ण रूपमा अस्तव्यस्त हुनेछस्, र हरेक दिन तेरो हृदयमा कुनै शान्ति, चैन, वा आनन्द हुनेछैन।

अ. पहिलो विशेषता: झूट बोल्ने लत लाग्नु

दियाबलसबाट पुनर्जन्म लिएको प्रकारको व्यक्तिको हकमा भन्दा, उसले बानीले नै झूट बोल्छ, र उसले गर्ने सबै कुरा अत्यन्तै कुटिल हुन्छ। तिनीहरूले गोप्य रूपमा अरूलाई जे भने पनि वा पर्दा पछाडि जे गरे पनि, तिनीहरूले पछि त्यसबारे सत्य बोल्दैनन्; बरु, तिनीहरूले फरक कथा प्रस्तुत गर्छन्। तिनीहरूले तेरो अगाडि अरू मानिसहरूको कुरा काट्छन्, र तिनीहरूले अरू मानिसहरूका अगाडि तेरो कुरा काट्छन्। फलस्वरूप, तँ र ती अरू मानिसहरूका बीचमा तगारोहरू उत्पन्न हुन्छन्, र तिमीहरूले एक-अर्काका बारेमा नराम्रो सोच्छौ। वास्तवमा, तिमीहरू एक-अर्कासँग पटक्कै परिचित हुँदैनौ, र तिमीहरूले एक-अर्काका बारेमा त्यति धेरै जान्दैनौ। खासमा यो दियाबलसले तिमीहरूका बीचमा फाटो ल्याउन कुराहरू बनाएकाले नै तिमीहरू शत्रु बनेका हौ। तँलाई दियाबलसले खेलाएको छ तैपनि तँलाई के भइरहेको छ भन्‍ने अझै थाहा हुँदैन, र तँ दियाबलसले भनेको कुरा साँचो हो र ऊ तेरा लागि असल छ भन्‍ने सोच्छस्। हेर् त, बानीले नै झूट बोल्ने व्यक्तिले मानिसहरूलाई यो हदसम्म खेलाउन सक्छ। तिनीहरूले निरन्तर झूट बोल्छन्; तिनीहरूले तँसँग हुँदा प्रायजसो कुरा काट्छन्, फाटो ल्याउँछन्, र कथाहरूलाई बढाइचढाइ गरेर र रङ्ग भरेर अनि निराधार दाबीहरू गरेर मनमानी ढङ्गमा अफवाहहरू फैलाउँछन्। यसले तँलाई यति बाधा दिन्छ कि तँलाई असहज महसुस हुन्छ, र तैँले निरन्तर खुट्ट्याउनुपर्छ र तँ सतर्क रहनुपर्छ: “फलानोले मेरो बारेमा के नराम्रो कुरा भन्यो? मैले फलानोलाई कस्तो व्यवहार गर्नुपर्छ?” तिनीहरूले तँलाई पूर्ण रूपमा अस्तव्यस्त हुने हदसम्म बाधा दिन्छन्, र तेरा जीवनको लय, तेरा जिउने ढाँचा, र तेरो वर्तमान अवस्थालाई बिथोल्छन्। जब तेरो कद सानो हुन्छ र तैँले सत्यता बुझ्दैनस्, र जब तैँले सत्यता प्राप्त गरिसकेको हुँदैनस्, तब तँ प्रायजसो तिनीहरूको प्रभावमा पर्छस्, र तिनीहरूका केही झूटहरूद्वारा भ्रमित भएको, विचलित भएको, नियन्त्रित भएको, र बन्धनमा परेको समेत हुन्छस्। उदाहरणका लागि, मानौँ तँ मण्डली अगुवाका रूपमा चुनिएको छस्, र तिनीहरूले तँलाई यसो भन्छन्, “फलानोले तिम्रो बारेमा यसो भन्यो: ‘त्यस व्यक्तिलाई आफू अगुवा हुन सक्छु भन्‍ने लाग्छ? ऊ वास्तवमा केही पनि होइन, तैपनि उसले मानिसहरूलाई सत्यतामा सङ्गति गर्ने आँट गर्छ!’” वास्तवमा, त्यो व्यक्तिले यो कुरा पटक्कै भनेको हुँदैन; यो त यो दियाबलसले भन्न चाहेको कुरा हुन्छ, र तिनीहरूले यसको दोष अरू कसैमाथि थोपरिरहेका हुन्छन्। तिनीहरूको यही एउटा टिप्पणीले तँलाई कमजोर महसुस गराउँछ, र तँ परमेश्‍वरको सामु आएर प्रार्थना गर्छस्, “हे परमेश्‍वर, मेरो कद साँच्चै सानो छ र म यो कामको भार बोक्न सक्दिनँ। म तपाईँप्रति ऋणी छु, मैले आफ्नो काम राम्ररी गरेको छैनँ। म राजीनामा दिन चाहन्छु, तर मलाई यसो गर्नु भनेको बफादार नहुनु हो कि भन्‍ने डर लाग्छ। मैले के गर्ने?” तिनीहरूले तँलाई यति बाधा दिएका हुन्छन् कि तैँले आफ्नो काम जारी राख्नै सक्दैनस्; यदि तैँले जारी राखिहालिस् भने पनि, तैँले एक प्रकारको नकारात्मक भावनाका साथ त्यसो गर्छस्, र बिस्तारै मण्डलीको कामका लागि आफ्नो बोझको बोध गुमाउँदै जान्छस्, अनि अन्त्यमा, काम ठप्प हुन्छ। तँलाई बाधा पुगेको हुन्छ, होइन र? (हो।) यस प्रकारको व्यक्तिसँग जिउनु, अन्तरक्रिया गर्नु, र काम गर्नु साँच्चै कष्टकर हुन्छ। तिनीहरूका शब्दहरूमा धेरै असत्यता, धेरै मिसावट, तिनीहरूको आफ्नै धेरै इच्छा, र तिनीहरूका आफ्नै धेरै मनसायहरू हुन्छन्; तिनीहरूले भन्ने सबै कुरा झूट हुन्छन्। तैँले निरन्तर खुट्ट्याउनुपर्छ: “तिनीहरूका कुन शब्दहरू साँचो हुन् र कुन झूटा हुन्? तिनीहरूले पर्दा पछाडि वास्तवमा के गरेका छन् र के गरेका छैनन्? के तिनीहरू परमेश्‍वरका साँचो विश्‍वासी हुन्? तिनीहरूले भविष्यमा आफ्नो कर्तव्य निश्‍चय नै राम्ररी पूरा गर्नेछु र परमेश्‍वरको घरले तिनीहरूलाई दिएको यो पदोन्नतिमा खरो उत्रनेछु भनी भन्छन्—के यी शब्दहरू साँच्चै हृदयदेखिका हुन्छन्? के तिनीहरूले खाएको शपथ र व्यक्त गरेको सङ्कल्पअनुसार काम गर्नेछन्?” जब तैँले तिनीहरूको व्यवहार देख्छस्, तब तेरो दिमागमा प्रश्‍नहरूको बाढी आउँछ। तँलाई प्रायजसो तिनीहरू डरलाग्दा छन् भन्‍ने लाग्छ, तर तिनीहरूका शब्दहरू निकै विश्‍वसनीय र तर्कसङ्गत सुनिन्छन्। तैपनि, राति सपनामा, तैँले तिनीहरूको अनुहार दियाबलसको अनुहारमा परिणत भएको, तिनीहरूले आफ्ना दाह्रा किट्दै र नङ्ग्रा चलाउँदै गरेको देख्छस्, र तैँले सोच्छस्, “के तिनीहरू वास्तवमै मानव हुन्? तिनीहरूका कुन शब्दहरू साँचो हुन् र कुन झूटा हुन्? मैले तिनीहरूलाई किन छर्लङ्गै देख्न सकिरहेको छैनँ? यस प्रकारको व्यक्ति अति डरलाग्दो हुन्छ!” तँलाई तिनीहरू डरलाग्दा र अविश्‍वासिला छन् भन्‍ने लाग्छ, तर जब तैँले तिनीहरूको कामको जाँच गर्छस्, तब त्यो आधारभूत रूपमा ठीकै हुन्छ, र जब तैँले तिनीहरूले बोलेको सुन्छस्, तब तैँले कुनै गल्तीहरू भेट्दैनस्। तर, तैँले तिनीहरूलाई छर्लङ्ग देख्नै सक्दैनस्—तेरो आत्मामा एक बेनामी शङ्का हुन्छ, र तँलाई आफ्नो हृदयमा सधैँ तिनीहरूले समस्या खडा गर्न सक्छन् भन्‍ने लाग्छ, सधैँ तिनीहरूका शब्दहरू जाली छन् र पूर्ण रूपमा सत्य छैनन् भन्‍ने लाग्छ। सायद एक दिन तिनीहरूको झूट बोल्ने प्रकृति खुलासा हुन्छ, र तिनीहरूबारेको तेरो भावना पुष्टि हुन्छ: तैँले त्यतिबेला तिनीहरूबारेको तेरो शङ्का र भावना सही थियो, र तिनीहरूले बोलेका शब्दहरू धेरै राम्रा र विश्‍वसनीय सुनिए तापनि, ती सबै झूटा र छली थिए भन्ने कुरा पत्ता लगाउँछस्; पर्दा पछाडि, तिनीहरूले कुनै वास्तविक काम गरेकै थिएनन्। त्यसोभए, के यस प्रकारको व्यक्तिलाई अझै पनि भरोसा गर्न सकिन्छ? (सकिँदैन।) तेरो हृदयमा तँलाई तिनीहरूलाई अब भरोसा गर्न सकिँदैन भन्‍ने लागे तापनि, जब तैँले तिनीहरूलाई फेरि भेट्छस् र तिनीहरू बोलेको सुन्छस्, तब तिनीहरूको बोध निकै शुद्ध देखिन्छ, तिनीहरूले भन्ने कुरा राम्रा सुनिन्छन्, र तैँले तिनीहरूका शब्दहरूमा कुनै समस्या भेट्टाउन सक्दैनस्, र तिनीहरूले बाहिरी रूपमा कष्ट सहन र मूल्य चुकाउन पनि सक्छन्। तैँले यस्तो सोच्छस्, “यहाँ के भइरहेको छ? सायद मैले तिनीहरूलाई गलत ठानेँ, सायद मैले छुद्र व्यवहार गरेँ। म तिनीहरूलाई फेरि एक पटक भरोसा गर्छु। जे होस्, अहिले मैले यो काममा तिनीहरूको ठाउँ लिन सक्ने उपयुक्त व्यक्ति भेट्टाउन सकेको छैनँ, त्यसैले म तिनीहरूलाई फेरि एक पटक प्रयोग गर्नेछु।” त्यसपछि तैँले तिनीहरूलाई प्रयोग गर्न जारी राख्छस्, र अन्तिम परिणाम अझै पनि उस्तै हुन्छ: तैँले आफूलाई तिनीहरूले फेरि धोकामा पारेको पत्ता लगाउँछस्। तिनीहरू राम्रो बोल्छन्, तर वास्तवमा, पर्दा पछाडि, तिनीहरू आफ्नै उद्यममा लाग्छन् र केही वास्तविक काम गर्दैनन्। यदि तिनीहरूले एक महिना सुसमाचार प्रचार गरेर दश जना मानिसहरू प्राप्त गरे भने, तिनीहरूले पचास जना प्राप्त गरेको भनेर जिद्दी गर्छन्। तिनीहरूले सत्य बोल्दै बोल्दैनन्। तिनीहरू बानीले नै झूट बोल्ने हुन्छन्, तिनीहरू झूट बोल्नमा विशेषज्ञ हुन्छन्। तैँले तिनीहरूलाई बारम्बार भरोसा गर्छस् र प्रयोग गर्छस्, र फलस्वरूप, तँ बारम्बार मूर्ख बन्छस्। अनि अन्त्यमा घाटा कसलाई हुन्छ? अवश्य पनि, यी कुराहरू अनुभव गरेर, मानिसहरूले अरूलाई खुट्ट्याउने क्षमता विकास गर्छन्, तिनीहरूको अन्तर्दृष्टि बढ्छ, तिनीहरूको अनुभव बढ्छ, र तिनीहरू मानिसहरूलाई जाँच्नमा अझ राम्रो हुन्छन्, तर वास्तवमा घाटा केलाई हुन्छ? त्यो मण्डलीको कामलाई हुन्छ। त्यसैले मलाई भन, दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूको यो एउटै प्रकृति सारले—अर्थात् बानीले नै झूट बोल्ने गर्नाले—अरूलाई ठूलो हानि गर्छ कि गर्दैन? (गर्छ।) यो हानि कति ठूलो हुन्छ? के तिनीहरूले तँलाई बहकाउन सक्छन्? (सक्छन्, हामी बहकाउमा पर्न र शोषित हुन सक्छौँ।) तँ बहकाउमा पर्न, शोषित, र बाधित हुन सक्छस्—के यो कुरा तँलाई तिनीहरूले औँलामा नचाउने हदसम्म पुग्न सक्छ? (सक्छ।) यदि तँ जवान छस् र तँसँग अनुभवको कमी छ, र तैँले सत्यता बुझ्दैनस् र कामकुराहरूलाई छर्लङ्गै देख्न सक्दैनस् भने, तँलाई तिनीहरूले औँलामा नचाउन सक्छन्। तिनीहरूले औँलामा नचाउनुको अर्थ के हो? यसको अर्थ, तँ तिनीहरूको विरुद्धमा असहाय हुन्छस्, तँ तिनीहरूद्वारा नियन्त्रित हुन्छस्, तेरा हातखुट्टा तिनीहरूद्वारा बाँधिएका हुन्छन्, कामकुराहरूबारे सोच्ने तेरो तरिका र तेरा विचार र दृष्टिकोणहरू तिनीहरूद्वारा प्रभावित र विचलित हुन्छन्, तैँले यसपछि के गर्छस् भन्‍ने कुरा पूर्ण रूपमा तिनीहरूको योजनाअनुसार अघि बढ्छ, र तँ तिनीहरूले तेरा लागि बनाएको पासोमा पूर्ण रूपमा फस्छस्—औँलामा नचाइनुको अर्थ यही हो। तिनीहरूले पर्दा पछाडि पहिले नै सबै योजना बनाउँछन्, र तँविरुद्ध षड्यन्त्र रच्न सबै प्रकारका युक्तिहरू प्रयोग गर्छन्। तिनीहरूले तँलाई छर्लङ्गै देख्छन्—तैँले के बुझ्छस् र के छर्लङ्गै देख्न सक्दैनस्, तैँले कुन कुराहरूलाई खुट्ट्याउन सक्छस् र कुनलाई सक्दैनस्, तेरा सीमाहरू के हुन्, तँलाई कसरी शोषण गर्न सकिन्छ, र कुन शब्दहरूले तँलाई भ्रमित पार्न सक्छन् भन्‍ने कुराहरू राम्रोसँग बुझ्छन्। अन्त्यमा, तिनीहरूले तेरा कमीकमजोरीहरू र विभिन्न दुर्बलताहरूको फाइदा उठाएर झूटहरूको रचना गर्छन् र तँलाई मूर्ख बनाउँछन्। तेरो हृदयमा, तैँले तिनीहरूले गरेको काम गलत थियो, वा तिनीहरूले भनेको कुरामा समस्या थियो र तिनीहरूले झूट बोलिरहेका थिए भनेर स्पष्ट रूपमा जानेको हुन्छस्, तर तँसँग त्यसलाई सम्हाल्ने बुद्धि हुँदैन; तँलाई दुःख लाग्छ तर तँ तिनीहरूको विरुद्धमा असहाय हुन्छस्, र तँ तिनीहरूले जता डोऱ्यायो त्यतै जान बाध्य हुन्छस्। के यो तिनीहरूले औँलामा नचाउनु होइन र? (हो।) अन्ततः, परिस्थितिको विकास हुने दिशा, ठीक अन्तिम परिणामसम्म नै तिनीहरूको योजनाअनुसार अघि बढ्छ—यसको अर्थ तँलाई तिनीहरूले औँलामा नचाएका हुन्छन्। अर्थात्, तैँले परिस्थितिको विकासको दिशालाई नियन्त्रण गर्ने क्षमता पूर्ण रूपमा गुमाउँछस्, र तँ पूर्ण रूपमा तिनीहरूले जता डोऱ्यायो त्यतै जान्छस्। तिनीहरूले जुन लक्ष्य हासिल गर्न चाहे पनि, जे पूरा गर्न चाहे पनि, जसलाई शोषण गर्न चाहे पनि, र जसरी काम गर्न चाहे पनि, तिनीहरूले अन्ततः आफूले चाहेको कुरा गरिछाड्छन्। मलाई भन, के यो तिनीहरूले औँलामा नचाउनु होइन र? (हो।)

मलाई भन, दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूको बानीले नै झूट बोल्ने प्रकृतिको हिसाबमा मात्रै हेर्दा, के तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई, र विशेष गरी मण्डलीको कामलाई गर्ने हानि ठूलो हुन्छ कि हुँदैन? (हुन्छ।) हानि निकै ठूलो हुन्छ! त्यसोभए कतिपय व्यक्तिहरूको दैनिक जीवनलाई असर गर्नु बाहेक, तिनीहरूले मानिसहरूलाई अरू के-कस्ता ठूला हानि गर्छन्? (दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूका कार्यहरूले तिनीहरूका वरपरका मानिसहरूलाई दिने बाधा अत्यन्तै गम्भीर हुन्छ। मैले पहिले यस्तै एक जना व्यक्तिलाई भेटेको थिएँ; ऊ जहाँ भए पनि, त्यो ठाउँ छलछाम र शक्ति र हैसियतका लागि प्रतिस्पर्धाले भरिएको हुन्थ्यो, मानिसहरूका बीचमा तगारोहरू उत्पन्न हुन्थे, र दाजुभाइ-दिदीबहिनीहरूले पनि आफ्नो हृदयमा अन्धकार महसुस गर्थे।) यसले अराजकता सृजना गर्‍यो, होइन र? (हो।) मानिसहरूलाई एक-अर्काप्रति शङ्कालु बनाउनु र एक-आपसमा झगडा गर्ने तुल्याउनु, र अराजकताको स्थितिमा प्रवेश गराउनु—यो निकै ठूलो हानि हो! त्यसोभए, पछि, सबैले यो दियाबलसलाई खुट्ट्याए त? (खुट्ट्याए।) के उसलाई पखालेर फालियो? (उसलाई पखालेर फालियो।) उसलाई पखालेर फालिएपछि, के सबैले सारांश निकाले? उसको झूटका मुख्य निश्‍चित प्रकटीकरणहरू, उसले बोलेका झूटहरू, उसले जुन कुराहरूका खातिर झूट बोल्यो ती कुराहरू, उसले झूट बोल्दा प्रयोग गरेका विधिहरू र उसको आवाजको लय, उसले हासिल गर्न चाहेको उद्देश्य—के तिमीहरू सबैले यी निश्‍चित विधि र प्रकटीकरणहरूको सार निकाल्यौ? (निकाल्यौँ। उदाहरणका लागि, ऊ बानीले नै झूट बोल्ने व्यक्ति हो; उसका शब्दहरूमा सही र गलतलाई गोलमाल गर्ने र कालोलाई सेतो भन्‍ने प्रकृति हुन्छ, जसले सकारात्मक व्यक्तिहरूलाई नकारात्मक र नकारात्मक व्यक्तिहरूलाई सकारात्मक बनाउँछ। आफूले डाहा गर्ने वा घृणा गर्ने जोकोहीमाथि उसले निराधार आरोपहरू लगाउँथ्यो, र दाजुभाइ-दिदीबहिनीहरूलाई उनीहरूको विरोध गर्न उक्साउँथ्यो, र अराजकता सृजना गर्थ्यो। उसले केही असल मानिसहरू वा आफ्नो कर्तव्यमा परिणाम ल्याउनेहरूलाई दमन पनि गर्‍यो, जबकि उसले मन पराएका र उसको चापलुसी गर्नेहरूलाई प्रवर्धन गर्‍यो।) यो ख्रीष्टविरोधी हो, होइन र? (हो।) यस प्रकारको व्यक्तिले झूट बोल्न प्रयोग गर्ने मुख्य विधिहरू के-के हुन्? नभएको कुरा बनाउनु, कथाहरूमा रङ्ग भर्नु र त्यसलाई बढाइचढाइ गर्नु, अरूमाथि दोष थोपर्नु, द्वन्द्व सृजना गर्न कथाहरू सुनाउनु, र फाटो ल्याउनु—अरू के छ? (आगोमा घिउ थप्‍नु।) आगोमा घिउ थप्‍नु र द्वन्द्वहरूलाई तीव्र पार्नु। उदाहरणका लागि, दुई जना मानिसहरू निकै राम्ररी मिलिरहेका हुन्छन्, तिनीहरूले कुनै पनि कुरामा बहस गर्न वा कसैसँग शत्रुता मोल्न चाहँदैनन्, तर यस प्रकारको व्यक्तिले तिनीहरूलाई झगडा गर्न लगाउन तिनीहरूका बीचमा आगोमा घिउ थप्‍छ। यदि उसले ती दुई जनाले झगडा गरेको देख्यो भने, ऊ खुसी हुन्छ, र उसको षड्यन्त्र सफल हुन्छ। हरेक समूहमा यस प्रकारका केही मानिसहरू हुन्छन्। सबैमा भ्रष्ट स्वभावहरू हुन्छन्, तर के मानवहरूबाट पुनर्जन्म लिएका मानिसहरूले यी कामहरू गर्छन्? (गर्दैनन्।) किन गर्दैनन्? तिनीहरू र दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूका बीचमा के भिन्नता हुन्छ? (सामान्य मानिसहरूसँग विवेकको न्यूनतम मानक हुन्छ।) ठीक हो। तिनीहरूसँग विवेकको न्यूनतम मानक हुन्छ; आत्मआचरणमा, तिनीहरू विवेकद्वारा बाँधिएका हुन्छन्। तिनीहरूले यी नैतिक रूपमा भ्रष्ट कामहरू, निष्ठा र इज्जत गुमाउने यी कामहरू, वा अरूलाई हानि गर्ने र आफूलाई फाइदा हुने यी कामहरू गर्दैनन्। विवेक हुनुको अर्थ तिनीहरूसँग न्यूनतम मानक हुन्छ, र फलतः तिनीहरूका कार्यहरू बाँधिएका हुन्छन्। त्यसोभए, के दियाबलसहरूबाट पुनर्जन्म लिएका यी मानिसहरूसँग विवेक हुन्छ? (हुँदैन।) त्यसोभए तिनीहरूसँग कस्तो प्रकारको हृदय हुन्छ? (दुर्भावनापूर्ण हृदय।) तिनीहरूसँग दुर्भावनापूर्ण र दुष्ट हृदय हुन्छ, र त्यसैले तिनीहरूले बानीले नै झूट बोल्न सक्छन्, र तिनीहरूले जसरी झूट बोले पनि, तिनीहरूले भित्रभित्रै असहज महसुस गर्दैनन्। तिनीहरूले किन असहज महसुस गर्दैनन्? किनभने तिनीहरू दियाबलसहरू हुन् र तिनीहरूसँग विवेक हुँदैन, त्यसैले जब तिनीहरूले झूट बोल्छन् र दुष्टता गर्छन्, तब तिनीहरूले असहज महसुस गर्दैनन्, न त तिनीहरूले निन्दित भएको नै महसुस गर्छन्। यसको विपरीत, यदि तिनीहरूले झूट बोलेनन् भने, र यदि—तिनीहरू जहाँ छन्—त्यहाँ तिनीहरूले केही दुष्टता गरेनन् वा केही हङगामा र अराजकता सृजना गरेनन् भने, र सबै जना शान्तिपूर्वक र खुसीसाथ जिउँछन्, र सबै जना परमेश्‍वरसामु जिउँछन् भने, तिनीहरूले भित्रभित्रै निराश र असहज महसुस गर्छन्। तिनीहरूले किन असहज महसुस गर्छन्? किनभने सबै जना परमेश्‍वरसामु आउँछन्, उनीहरूले उहाँका वचनहरू मनन गर्छन्, उहाँका वचनहरू र सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्छन्, सामान्य मानवताभित्र जिउँछन्, र तिनीहरूको आराधना गर्दैनन्; तिनीहरू मानिसहरूका बीचमा अलग देखिँदैनन् वा आफू महत्त्वपूर्ण भएको महसुस गर्दैनन्, त्यसैले तिनीहरूले यस्तो सोच्छन्, “यसरी जिउनु त कति पट्यारलाग्दो छ, यसमा कुनै रमाइलो नै छैन!” रमाइलो गर्न, जीवनलाई रोचक बनाउन, सम्मानपूर्वक र आफू महत्त्वपूर्ण भएको भावनाका साथ जिउनका लागि, तिनीहरूले केही समस्या सिर्जना गर्नुपर्छ र केही समस्या निम्त्याउनुपर्छ, मानिसहरूका बीचमा केही तरङ्गहरू र केही अशान्ति र अराजकता उत्पन्न गर्नुपर्छ। त्यो भनाइ के पो हो अरे? आँधीबेहरी मच्चाउनु। यस प्रकारको व्यक्ति जहाँ भए पनि उसलाई आँधीबेहरी मच्चाउन मन पर्छ; उसलाई आफ्नो उचित स्थानमा बस्न मन पर्दैन। सामान्य मानिसहरू आफ्नो उचित स्थानमा बस्न चाहन्छन्—स्थिर जीवन जिउन, र आफूले गर्नुपर्ने काम नियमित रूपमा गर्न चाहन्छन्—तिनीहरूलाई आँधीबेहरी मच्चाउन मन पर्दैन। तर दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरू आफ्नो उचित स्थानमा बस्दैनन्। तिनीहरू किन आफ्नो उचित स्थानमा बस्दैनन्? किनभने यस प्रकारको व्यक्तिभित्र एक दियाबलस बसेको हुन्छ, र दियाबलसहरू आफू भएको कुनै पनि समूहमा समस्याहरू सृजना गर्न मन पराउँछन्। यदि तैँले तिनीहरूलाई उक्साएको वा दिक्क लगाएको छैनस् भने पनि, तिनीहरूले आफै समस्या सुरु गर्छन्—यो आँधीबेहरी मच्चाउनु हो। यस प्रकारको व्यक्ति जुनसुकै समूहमा भए पनि, चाहे तैँले त्यसलाई टाढाबाट हेरे पनि वा त्यसका सदस्यहरूको परिस्थितिका बारेमा सोधपुछ गरे पनि, तँलाई त्यहाँको वातावरण दानवी छ भन्‍ने सधैँ महसुस हुन्छ। समय-समयमा, तैँले फलानो व्यक्तिको फलानो व्यक्तिसँग द्वन्द्व छ, फलानो व्यक्ति फलानो व्यक्तिसँग मिलिरहेको छैन र तिनीहरूले एक-अर्कालाई बेवास्ता गरिरहेका छन्, काममा फलानो व्यक्तिको फलानो व्यक्तिसँग विवाद छ, फलानो व्यक्तिले सधैँ हैसियतका लागि प्रतिस्पर्धा गरिरहेको हुन्छ, र उसको काम सधैँ दोहोर्‍याएर गर्नुपर्छ भन्‍ने सुन्छस्। यदि तैँले सधैँ अराजक र दूषित वातावरण भएको, शान्ति नभएको, मानिसहरू सधैँ मिल्न वा सामञ्जस्यपूर्ण रूपमा सहकार्य गर्न असमर्थ हुने कुनै मण्डली देखिस् भने, त्यसभित्र एक जना वा धेरै जना दियाबलसहरूले बाधा दिइरहेका हुन्छन्। एउटा मण्डलीमा जतिसुकै दियाबलसहरूले बाधा दिइरहेका भए पनि, विवेकको केही न्यूनतम मानक भएका र सत्यता सिद्धान्तहरूअनुसार काम गर्न चाहने ती अरू मानिसहरू सबैलाई तिनीहरूले गहिरो रूपमा हानि गर्छन्। जब सबै प्रकारका दियाबलसहरूलाई सफा गरेर निकालिन्छ, र सबै जनाले फेरि सँगै मण्डली जीवन जिउँछन् र आफ्नो कर्तव्य पूरा गर्छन्, तब वातावरण फरक हुन्छ। सबै जना जोसले उम्लिरहेका हुन्छन् भनेर भन्‍न नसकिए पनि, कम्तीमा सबैले त्यहाँका मानिसहरूमा मानवीय न्यानोपन छ र तिनीहरूले समस्या सिर्जना गर्दैनन् भन्‍ने महसुस गर्छन्; त्यहाँको वातावरण दानवी हुँदैन, त्यहाँ मानवीय वातावरण हुन्छ। जहाँको वातावरण दानवी हुन्छ, त्यहाँ मानिसहरू सँगै कुरा गर्दा, तिनीहरूको आँखाको हेराइमा, साथै तिनीहरूको आवाजको लय र तिनीहरू बोल्दाको वातावरणमा केही गडबडी हुन्छ। तिनीहरूले कुरा गर्दा आँखा जुधाउँदैनन्; यसबाहेक, तिनीहरूले भन्ने कुरा धेरै सरल हुन्छ, तिनीहरूमध्ये कोही पनि हृदयदेखि बोल्न इच्छुक हुँदैनन्, र त्यहाँ कुनै मौखिक कुराकानी हुँदैन। तिनीहरूका बीचमा एउटा पर्खाल भएजस्तो हुन्छ। तिनीहरूका बीचमा कुनै कुराकानी हुँदैन; तिनीहरूले आफ्नो हृदयमा घृणा पालेका हुन्छन्। यी मानिसहरू पीडितहरू हुने सम्भावना पनि हुन्छ। यी मानिसहरू पीडित भए पनि वा पीडक भए पनि, छोटकरीमा भन्दा, यस समूहभित्र दियाबलसहरू मिसिएका हुन्छन् र तिनीहरूले बाधा दिइरहेका हुन्छन्, तिनीहरूले मानिसहरूको हृदयलाई यति बाधा दिन्छन् कि ती मानिसहरूको अवस्था अस्तव्यस्त हुन्छ र उनीहरूले कुनै शान्ति पाउन सक्दैनन्। जब यस समूहका मानिसहरू सँगै बस्छन्, तब तिनीहरूलाई सधैँ कुराहरू असन्तोषजनक भएको र सहज रूपमा अघि नबढेको महसुस हुन्छ, तिनीहरू सामञ्जस्यपूर्ण रूपमा सँगै बस्न सक्दैनन्, र अवश्य पनि, सामञ्जस्यपूर्ण सहकार्य त झन् असम्भव हुन्छ। यस समूहमा बोल्दा, काम गर्दा, र आफ्नो कर्तव्य पूरा गर्दा, मानिसहरूले भित्री रूपमा सधैँ अप्रसन्न महसुस गर्छन्, र तिनीहरूका बीचमा तगारोहरू पनि हुन्छन्। किनभने यस समूहमा दियाबलसहरूले बाधा दिइरहेका हुन्छन्, र त्यसैले सबै जना बाँधिएका हुन्छन् र तिनीहरूले दुःखी महसुस गर्छन्।

कतिपय मानिसहरूले दियाबलसहरूद्वारा गरिएको गम्भीर बाधा अनुभव गरेका थिए र उनीहरूलाई तिनीहरूले लगभग औँलामा नचाएका थिए। जब मैले तिनीहरूलाई एक-दुई महिनापछि देखेँ, तब तिनीहरूको अनुहार कता-कता मलिन देखिन्थ्यो, मानौँ तिनीहरूलाई मूर्ख बनाइएको थियो। के तिनीहरूमा पवित्र आत्माको काम र परमेश्‍वरको उपस्थितिको कमी भएको हुन सक्छ? तिनीहरू किन यति अनौठा देखिए? पछि, होसियारीसाथ सोधपुछ गरेपछि, मैले साँच्चै केही कुरा भएको रहेछ भन्ने थाहा पाएँ: दुई दियाबलसहरूले यी सबै मानिसहरूलाई नियन्त्रण गरेका रहेछन्। दियाबलसहरूले तिनीहरूलाई कुन हदसम्म नियन्त्रण गरे? दियाबलसहरूले जे चाहे त्यही गरे; माथिबाट जारी गरिएका कार्य प्रबन्धहरू र माथिबाट सङ्गति गरिएका सिद्धान्तहरू लागू हुन सकेनन्—ती सबै नाममा मात्रै अस्तित्वमा थिए। यी दुई दियाबलसहरूले बाटो छेकेकाले, कसैले पनि आफ्नो विचार व्यक्त गर्ने वा समस्याहरू रिपोर्ट गर्ने आँट गरेन। पछि, कतिपय मानिसहरू यी दुई दियाबलसहरूलाई उल्लेख गरिँदा यति रिसाए कि तिनीहरू भक्कानिएर रोए। त्यति बेला तैँले तिनीहरूलाई किन खुलासा गरिनस्? त्यहाँ यति धेरै मानिसहरू हुँदा पनि, कसैले पनि उभिएर दियाबलसहरूलाई खुलासा गर्ने आँट गरेन—ती दियाबलसहरूसँग कति शक्ति थियो होला? बाहिरी रूपमा तिनीहरू मानव जस्ता देखिन्छन्, तर तिनीहरूको सार वास्तवमा दियाबलसको सार हो। यस प्रकारको व्यक्ति जहाँ गए पनि अन्य मानिसहरू ऊसँग डराउँछन्। मानिसहरू तिनीहरूसँग सम्पर्कमा आउनेबित्तिकै डराउँछन्, तिनीहरूको आङ नै सिरिङ्ङ हुन्छ। यदि कुनै बच्चाले यस प्रकारको व्यक्तिलाई भेट्यो भने, ऊ डराएर रुनेछ। निष्कपट मानिसहरू यस प्रकारको व्यक्तिलाई भेट्दा कुन हदसम्म डराउँछन्? जब तिनीहरू उनीहरूको अगाडि हुन्छन्, तब तिनीहरूले ठूलो सास फेर्ने वा ठूलो स्वरमा बोल्ने आँट गर्दैनन्, र उनीहरूबाट टाढा रहनका लागि छिट्टै छेउको बाटो समात्छन्। कसैले यी दियाबलसहरूले कार्य प्रबन्धअनुसार काम लागू गरिरहेका छैनन् भनी देख्यो र भन्यो, “यसरी काम गर्नु ठीक होइन; यो माथिबाट सङ्गति गरिएका सिद्धान्तहरूअनुरूपको छैन।” तीमध्ये एक जना दियाबलसले जवाफ दियो, “यहाँ मैले भनेको चल्छ। यदि तिमीले सीमा नाघ्यौ भने, विश्‍वास गर वा नगर, म तिमीलाई अहिले नै निष्कासित गर्न सक्छु!” यसले त्यो व्यक्तिलाई यति तर्सायो कि उसको अनुहारको रङ्ग उड्यो, र उसले फेरि आफ्नो विचार व्यक्त गर्ने आँट गरेन, र उसले रुँदै भन्यो, “म गलत थिएँ। मैले केही पनि नभने जस्तो गरिदिनुहोस् न। बिन्ती छ, मलाई निष्कासित नगर्नुहोस्!” अरूले यो देखे र भने, “ऊ अति दह्रिलो छ, उसको शक्ति अति ठूलो छ! उसले आफ्नो आज्ञा नमान्ने जोकोहीलाई पनि निष्कासित गर्नेछ! हामीले परमेश्‍वरको घरमा आफ्‍नो कर्तव्य पूरा गर्ने अवसर मुस्किलले पाएका थियौँ। यदि उसले हामीलाई निष्कासित गर्‍यो भने, हामीले हाम्रो गुनासो कहाँ सुनाउने? के हामी सकिनेछैनौँ र? के हाम्रो मुक्तिको आशा हराउनेछैन र? हामीले साँच्चै आफ्नो विचार व्यक्त गर्नु हुँदैन; हामी क्षणिक लापरवाहीले गर्दा निष्कासित हुनु हुँदैन।” हेर् त, तिनीहरू यो हदसम्म डराएका थिए। अन्तमा, जब दियाबलसहरूलाई खुलासा गरिँदै थियो, तब कतिपय मानिसहरूले दियाबलसहरूले कसरी फाटो ल्याएका थिए र गुटहरू बनाएका थिए भनी खुलासा गरे, जबकि अरूले दियाबलसहरूले मानिसहरूलाई बहकाउन फैलाएका तर्कहीन सिद्धान्तहरू खुलासा गरे। वास्तवमा, यी मानिसहरूले त्यति बेला दियाबलसहरूले गरेको दुष्टता स्पष्ट रूपमा देखेका थिए; यति मात्र हो कि, कसैले पनि एक शब्द बोल्ने वा प्रतिरोध गर्ने आँट गरेका थिएनन्। कतिपय त बोल्दा रुँदै पनि थिए, र निकै दयनीय देखिन्थे। तर दियाबलसहरूले तिनीहरूलाई चालबाजीमा पारिरहेको र नियन्त्रण गरिरहेको बेला, तिनीहरूले किन प्रतिरोध गरेका थिएनन्? त्यति बेला तिनीहरू किन शक्तिहीन भएका थिए? अब माथिले नै दियाबलसहरूलाई सम्हाल्ने भएपछि, तिनीहरूमा बल आयो। मलाई भन, यदि परमेश्‍वरले सानो कद भएका र सत्यता नबुझ्ने यी मानिसहरूलाई हेरविचार नगर्नुभएको र सुरक्षा नदिनुभएको भए, र यदि तिनीहरूसँग परमेश्‍वरको सुरक्षा थिएन भने, के तिनीहरू समाप्त हुने हदसम्म गम्भीर रूपमा दियाबलसहरूको हानिमा पर्नेथिएनन् र? होइन र? (हो।) हेर् त, मानिसहरू परमेश्‍वरसँग त्यति डराउँदैनन्, तर जब दियाबलसहरू र शैतानहरूले मानिसहरूलाई सास्ती दिन्छन्, तब तिनीहरू यति डराउँछन् कि तिनीहरू थरथर काँप्छन् र ग्वाँग्वाँ रुन्छन्—तिनीहरू कति धेरै डराएका हुन्छन्! जब माथिले यी दुई दियाबलसहरूलाई खुलासा गरे र सम्हाले, तब ती मानिसहरूले यो खबर सुने र अन्ततः मुक्त भएको महसुस गरे। ती केही महिनाहरूमा, तिनीहरू दियाबलसहरूद्वारा नियन्त्रित गरिएका थिए र शैतानको शक्तिको अधीनमा बसेका थिए, तिनीहरू अन्धकारमा खसेका थिए, आशाको कुनै किरण थिएन, र तिनीहरूको पुकार सुन्‍ने कोही थिएन। तिनीहरूको जीवन अति दयनीय थियो! अन्ततः यी दुई दियाबलसहरूलाई निकालियो, र सबै जना मुक्त र खुसी भए। मैले सोचेँ, “माथिले यस पटक यी दुई दियाबलसहरूलाई निकालेका छन्, त्यसकारण यदि यी मानिसहरूले फेरि दुष्टता गरिरहेका र मानिसहरूलाई नियन्त्रण गरिरहेका दियाबलसहरूको सामना गरे भने, के तिनीहरूले उनीहरूलाई खुट्ट्याउन सक्नेछन्? के तिनीहरूले माथिले अघि सरेर यो मामिला समाधान गर्नु आवश्यक नपर्ने गरी दियाबलसहरूलाई पदबाट हटाउन सक्नेछन्? के तिनीहरू सबैले सामूहिक रूपमा दियाबलसहरूलाई खुलासा गर्न, उनीहरूका सबै दुष्ट कार्यहरूको सार निकालेर उनीहरूलाई उनीहरूको पदबाट हटाउन, र उनीहरूको कुरा नसुन्न, आफ्नो कर्तव्य पूरा गर्दा उनीहरूद्वारा नबाँधिन, र उनीहरूलाई मण्डलीबाट बाहिर निकाल्न सक्नेछन्?” तर तिनीहरूको कदलाई हेर्दा मलाई तिनीहरूले त्यो कुरा हासिल गर्न सक्छन् जस्तो लाग्दैन। यी मानिसहरूले परमेश्‍वरमा निष्कपट रूपमा विश्‍वास गरे तापनि, तिनीहरूसँग कष्ट भोग्ने सङ्कल्प भए तापनि, तिनीहरू आफ्नो कर्तव्य समर्पित भई पूरा गर्न इच्छुक भए तापनि, र सत्यता पछ्याउन इच्छुक भए तापनि, तिनीहरू अति कायर छन्। केवल एउटा सानो दियाबलस बाधा दिन बाहिर आउँदा यी मानिसहरू, जतिसुकै उमेरका भए पनि, पछि हटे र डराए, तिनीहरू सबैलाई उसले नियन्त्रण गर्न सक्यो र तिनीहरूले प्रतिरोध गर्ने आँट गरेनन्। यो देखेर, मैले यी मानिसहरू कति दयनीय रहेछन् भन्‍ने बुझेँ। यदि परमेश्‍वरले मानिसहरूलाई सुरक्षा दिनुभएन, वास्ता गर्नुभएन, र हेरविचार गर्नुभएन भने, यो मानवजातिसँग बाँच्ने कुनै उपाय हुनेछैन। वास्तविक जीवनमा हुने यी कुराहरूलाई हेर्: विभिन्न दियाबलसहरूको व्यवहार, तिनीहरूका उद्देश्यहरू, र तिनीहरूका काम गर्ने विधि र युक्तिहरू मूलतः एकनासका र खुट्ट्याउन सजिला हुन्छन्, तैपनि जब विभिन्न दियाबलसहरू अवरोध र बाधा दिन, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई बाँध्न, नियन्त्रण गर्न, बन्धनमा पार्न, र गम्भीर रूपमा हानि पुऱ्याउन बाहिर आउँछन्, तब थोरै मानिसहरूले मात्रै उभिएर प्रतिरोध गर्ने आँट गर्छन्, कसैले पनि यी दियाबलसहरूलाई खुलासा गर्ने, उनीहरूको पदबाट हटाउने, र उनीहरूलाई मण्डलीबाट निकाल्ने पहल गर्दैन; तिनीहरूले दियाबलसहरूलाई परमेश्‍वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्न र मण्डलीको कामलाई बाधा दिन र अन्तर्ध्वंस गर्न अनुमति दिन्छन्। यी दयनीय मानिसहरूले यो सबै सहन्छन्; तिनीहरूले आफ्नो हृदयमा निराश महसुस गर्छन्, र तिनीहरू परमेश्‍वरलाई प्रार्थना गर्दा तिक्त आँसु झार्दै रुन्छन्, तर तिनीहरूसँग कुनै समाधान हुँदैन; तिनीहरूसँग कुनै बुद्धिमानी विधिहरू हुँदैनन्, र तिनीहरूले दियाबलसहरूको प्रतिरोध गर्न र उनीहरूसँग लड्न, र उनीहरूलाई सम्हाल्न सत्यतालाई शक्तिशाली हतियारका रूपमा प्रयोग गर्दैनन्। कसैले यो गर्दैन, न त गर्ने आँट नै गर्छ; तिनीहरूसँग दियाबलसहरूसँग लड्ने साहस समेत हुँदैन। कुनै पनि मण्डलीमा, यदि दुष्ट मानिसहरू वा दियाबलसहरू मानिसहरूलाई नियन्त्रण गर्न र मण्डलीको काममा अवरोध गर्न र बाधा दिन देखा परे भने, धेरैजसो मानिसहरूले त्यो सहेर बस्छन्। अन्त्यमा, परमेश्‍वरको घर नै यी विभिन्न प्रकारका दियाबलसहरूलाई सम्हाल्न, तिनीहरूको भाग्य समाप्त पार्न, दाजुभाइ-दिदीबहिनीहरूलाई सुरक्षित हुन, सामान्य रूपमा मण्डली जीवन जिउन, सामान्य रूपमा परमेश्‍वरका वचनहरू खान र पिउन, र सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्षम पार्न, र मण्डलीका विभिन्न कामहरूलाई व्यवस्थित रूपमा अघि बढ्न सक्षम पार्न अघि सर्छ। पूर्ण रूपमा परमेश्‍वरले मानिसहरूलाई पठाउनुभएको, र परमेश्‍वरको घरले व्यक्तिगत रूपमा यो खास कामको कार्यसम्पादनलाई प्रबन्ध र मार्गदर्शन गरेको माध्यमबाट नै यी अपरिपक्व, अज्ञानी, र कमजोर मानिसहरू दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूको बहकाउ र गम्भीर हानिमा पर्नबाट सुरक्षित हुन्छन्। सत्यता नबुझ्ने यी मूर्ख र अज्ञानी मानिसहरू कति दयनीय छन्! बृहत् वातावरणमा, सम्पूर्ण मानवजातिलाई शैतानले भ्रष्ट पारेको छ; निश्‍चित जिउने वातावरणमा, मानिसहरू विभिन्न दियाबलसहरूको बाधा, नियन्त्रण, र गम्भीर हानिमा परेका हुन्छन्। कतिपय मानिसहरूको कद सानो हुन्छ र तिनीहरूको जग कमजोर हुन्छ, त्यसैले जब तिनीहरूले दुष्ट मानिसहरूको बाधाको सामना गर्छन्, तब तिनीहरूले यी कुराहरूलाई छर्लङ्गै देख्न सक्दैनन्। तिनीहरूले सधैँ मण्डलीमा दुष्ट मानिसहरू हुनु हुँदैन भन्‍ने सोच्छन्, र मानिसहरूका बीचमा कुनै प्रेम वा मानवीय न्यानोपन छैन भन्‍ने सोच्छन्। कतिपयले त उप्रान्त आफ्नो कर्तव्य समेत पूरा गर्न चाहँदैनन्, र यसो भन्छन्, “घरमै परमेश्‍वरमा विश्‍वास गर्दा राम्रो हुनेथियो। मण्डलीमा यस्ता मानिसहरूलाई किन अस्तित्वमा रहन दिइन्छ?” सत्यता नबुझ्ने मानिसहरूले यी कुराहरूलाई छर्लङ्गै देख्न सक्दैनन्। तिनीहरूले यी मामिलाहरूबाट पाठ सिक्न सक्दैनन्; तिनीहरूलाई आफूले यस्ता कुराहरूको सामना गर्नुको पछाडि परमेश्‍वरका असल अभिप्राय हुन्छन् भन्‍ने थाहा हुँदैन; तिनीहरूलाई कसको पक्षमा उभिनुपर्छ वा सत्यता सिद्धान्तहरू प्रयोग गरेर यी मामिलाहरूलाई कसरी हेर्नुपर्छ भन्‍ने थाहा हुँदैन; तिनीहरू दियाबलसहरूको विरोध गर्न र उनीहरूसँग लड्न साँचो दाजुभाइ-दिदीबहिनीहरूसँग एकजुट हुन सक्दैनन्। के यो सानो कदको हुनु होइन र? के यो दयनीय कुरा होइन र? (हो।)

दियाबलसबाट पुनर्जन्म लिएको प्रकारको व्यक्तिको दैनिक जीवनमा प्रकट हुने पहिलो विशेषता भनेको बानीले नै झूट बोल्नु हो। उमेर, लिङ्ग, वा पृष्ठभूमि जेसुकै भए पनि, उसले परमेश्‍वरमा जति वर्षदेखि विश्‍वास गरेको भए पनि, यदि कसैको बोलीमा सधैँ झूट हुन्छ, यदि ऊ झूटले भरिएको हुन्छ र उसले बानीले नै झूट बोल्छ भने, ऊ दियाबलसबाट पुनर्जन्म लिएको व्यक्ति हो; ऊ मानव होइन। मानवहरूले पनि झूट बोल्छन्, किनभने तिनीहरूमा भ्रष्ट स्वभावहरू हुन्छन्; भ्रष्ट स्वभावहरूभित्रको छलीपन र दुष्टताले मानवहरूलाई झूट बोल्ने तुल्याउन सक्छ। तर मानवले झूट बोल्ने हद दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूको भन्दा फरक हुन्छ। यदि कसैले बानीले नै झूट बोल्छ भने, उसको सारमा, ऊ मानव नभई दियाबलस हो भन्‍ने कुरालाई प्रमाणित गर्न यो तथ्य मात्रै पनि पर्याप्त हुन्छ। विवेकको प्रभावका कारण, मानवहरू बानीले नै झूट बोल्ने हदसम्म पुग्नु पूर्णतः असम्भव छ। कहिलेकाहीँ मानवहरूले झूट बोल्ने र छलमा संलग्न हुने भए तापनि, तिनीहरूले झूट बोल्नु भ्रष्ट स्वभावको सामान्य प्रकटीकरण मात्र हो; यसमा केही मामिलाहरूका बारेमा कहिलेकाहीँ बोलिने झूटहरू समावेश हुन्छन्। मानवहरूले झूट बोल्नु र दियाबलसहरूले झूट बोल्नु बाहिरी रूपमा उस्तै देखिए तापनि, सारमा, एउटा भिन्नता हुन्छ। जब दियाबलसहरूले झूट बोल्छन्, तब तिनीहरूले कहिल्यै आत्म-ग्लानि वा पछुतो महसुस गर्दैनन्। यसमाथि, तिनीहरूले आफूले बोलेका झूटहरू र आफूले गरेका छली कार्यहरूका बारेमा आफैसँग खुसी, सन्तुष्ट, र उपलब्धिबोध महसुस गर्छन्। यदि कुनै झूट असफल भयो भने, तिनीहरूले अझ धेरै मानिसहरूलाई धोका दिन अझ धेरै झूटहरू बोल्ने र अझ उन्नत छली युक्तिहरू प्रयोग गर्ने आफ्नो प्रयासलाई अझ बढाउनेछन्। तर भ्रष्ट स्वभाव भएका सामान्य मानवहरूले झूट बोलेपछि, तिनीहरूको विवेक अशान्त हुन्छ र तिनीहरूले धिक्कारिएको महसुस गर्छन्, र तिनीहरूले यति अपमानित महसुस गर्छन् कि तिनीहरूलाई बाँच्न पनि लाज लाग्छ। यदि तिनीहरूले कसैलाई धोका दिएका छन् भने, तिनीहरूले उसलाई फेरि भेट्दा अलिकति लाज महसुस गर्छन्। यदि तिनीहरूलाई सार्वजनिक रूपमा आफूले झूट बोलेको स्वीकार गर्न र फेरि कहिल्यै झूट नबोल्ने बरु सत्य मात्र बोल्ने प्रतिज्ञा गर्न भनियो भने, तिनीहरूको वर्तमान कद त्यसका लागि पर्याप्त भइसकेको हुँदैन। तर, तिनीहरूसँग भित्री सचेतना हुन्छ; तिनीहरूले आफूले बोलेका झूटहरूका लागि लाज, दोष, र असहजता महसुस गर्छन्; तिनीहरूले भित्रभित्रै दोष लगाइएको महसुस गर्छन्। तर दियाबलसबाट पुनर्जन्म लिएको यस प्रकारको व्यक्तिले बानीले नै झूट बोल्छ। उसले झूट बोलेपछि, उसले कुनै भित्री दोषारोपण र कुनै दोषी भावना महसुस गर्दैन। उसले किन दोषी महसुस गर्दैन? किनभने ऊ दियाबलस हो। मानिसहरू वा परमेश्‍वरप्रति दोषी महसुस गर्नु, आफ्नो हृदयमा दोष लगाइएको महसुस गर्नु—त्यो एउटा मानवको सामान्य सचेतना हो। ऊ दियाबलस भएकाले, ऊ त्यस्तो सचेतनारहित हुन्छ। त्यसकारण, उसले झूट बोल्न जारी राख्न सक्छ, र आफ्नो प्रयासलाई अझ बढाउन पनि सक्छ; उसले झूट बोलिरहनेछ र ऊ कहिल्यै परिवर्तन हुनेछैन। अन्ततः, उसको झूट बोल्ने काम कहिले रोकिन्छ? उसको भौतिक जीवनको अन्तिम सासपछि मात्र, जब उसले उप्रान्त बोल्न सक्दैन, तब मात्र उसको झूट बोल्ने काम रोकिन्छ। तर ऊभित्रको झूट बोल्ने दियाबलसको आत्माले अर्को व्यक्तिमा पुनर्जन्म लिन्छ, र त्यो व्यक्तिले त्यसपछि झूट बोल्न जारी राख्नेछ। त्यसकारण, दियाबलसहरूको झूट बोल्ने प्रकृति कहिल्यै परिवर्तन हुँदैन। बानीले नै झूट बोल्नु भनेको यही हो। दियाबलसहरूबाट पुनर्जन्म लिएका मानिसहरूले जोकोहीलाई पनि धोका दिन्छन् र कुनै पनि झूट बोल्न सक्छन्। तिनीहरूले कुनै पनि परिस्थितिमा र कुनै पनि मामिलाका बारेमा झूट बोल्न सक्छन्, र तिनीहरूका झूट बोल्ने युक्तिहरू निकै परिष्कृत हुन्छन्; कसैले पनि तिनीहरूले झूट बोलिरहेका छन् भनेर देख्न सक्दैन। हेर् त, जब प्रायजसो झूट बोल्ने मानिसहरूले झूट बोल्छन्, तब त्यो सामान्य व्यक्तिले सत्य बोलेको जस्तै हुन्छ—यो कुनै पनि खुट्ट्याउन सकिने त्रुटिहरूविहीन, अत्यन्तै स्वाभाविक देखिन्छ। तैँले तिनीहरूले सत्य बोलिरहेका छन् भनेर सोच्न सक्छस्। यदि तैँले तिनीहरूका झूटहरूलाई सत्यका रूपमा लिइस् भने, तिनीहरूले यस्तो सोच्दै आफ्नो हृदयमा तँलाई हाँसोमा उडाउनेछन्, “मूर्ख, मैले त ठट्टा मात्रै गरिरहेको थिएँ र तैँले त्यसलाई सत्यका रूपमा लिइस्? तँ त साँच्चै महामूर्ख रहेछस्!” अर्को पटक तिनीहरूले तँलाई देख्दा, झूट सुनेपछि तेरो प्रतिक्रिया के हुने रहेछ भनेर हेर्नका लागि मात्रै पनि तिनीहरूले अझै पनि झूट बोल्नेछन् र तँलाई खेलाउनेछन्। यदि तैँले फेरि त्यसलाई सत्यका रूपमा लिइस् भने, तिनीहरू अझ खुसी हुनेछन्, अझ ठूलो उपलब्धिबोध प्राप्त गर्नेछन्, र आफ्नो आत्मआचरणमा आफू सफल भएको अझ बढी महसुस गर्नेछन्। मलाई भन, के तिनीहरू मानव हुन्? के तिनीहरूसँग मानवीय सचेतना हुन्छ? के तिनीहरूसँग मानवीय विवेकको बोध हुन्छ? स्पष्ट रूपमा हुँदैन। तिनीहरूका झूटहरू जति प्रभावकारी हुन्छन्, तिनीहरू भित्रै त्यति नै खुसी र प्रसन्न हुन्छन्, तिनीहरूको उपलब्धिबोध त्यति नै ठूलो हुन्छ, र तिनीहरूले आफू त्यति नै सक्षम भएको महसुस गर्छन्। यदि कुनै दिन तिनीहरूले कसैलाई धोका दिन वा खेलाउनका लागि झूट बोलेनन् भने, तिनीहरूलाई त्यो दिन असहज भएको र खेर गएको महसुस हुन्छ, र तिनीहरूले मानिसहरूलाई धोका दिने अवसर खोज्नुपर्छ। उदाहरणका लागि, यदि कुनै दियाबलसले दुई जना मानिसहरूको राम्रो सम्बन्ध छ र तिनीहरूले आफ्नो कर्तव्यमा सामञ्जस्यपूर्ण रूपमा सहकार्य गरिरहेका छन् भनी देख्यो भने, उसले भित्र असहज महसुस गर्छ र सोच्छ, “म केही फाटो ल्याउँछु र केही अफवाहहरू सुरु गर्छु ताकि तिमीहरू दुई जना एक-अर्काको विरुद्धमा लाग, र तिमीहरूले चाहे पनि राम्रो सम्बन्धमा फर्कन नसक।” केही शब्दहरूले मात्र, यो दियाबलसले ती दुई जनालाई अन्यौलताको भूमरीमा पार्छ, र त्यसपछि तिनीहरूबीच असहमति र विवादहरू हुन्छन् र तिनीहरू पहिले जस्तो सामञ्जस्यपूर्ण रहँदैनन्, जसले यो दियाबलसलाई प्रसन्न पार्छ, र असाधारण रूपमा खुसी महसुस गराउँछ। मण्डलीमा लुकेका दियाबलसहरूले सधैँ यस्ता कामहरू गरिरहेका हुन्छन्। गैरविश्‍वासी संसारका दियाबलसहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई क्रूरतापूर्वक गिरफ्तार गर्छन्। तैँले अब परमेश्‍वरमा विश्‍वास गर्दिनँ वा उहाँलाई पछ्याउँदिनँ भनिस्, वा तैँले परमेश्‍वरबारे गुनासो गरिस् वा परमेश्‍वरलाई धोका दिइस् भने, तिनीहरू खुसी हुन्छन्। तैँले जे पनि गर्न सक्छस्—तैँले खान, पिउन, वेश्यावृत्ति गर्न, र जुवा खेल्न सक्छस्; तैँले आगजनी, हत्या, र लुटपाट गर्न सक्छस्; तैँले कुनै पनि अपराध गर्न सक्छस्—जबसम्म तैँले परमेश्‍वरमा विश्‍वास गर्दैनस्, तबसम्‍म तिनीहरू खुसी नै हुन्छन्। के दियाबलसहरूले मानवहरूका बीचमा गर्ने कामहरू र शैतानले आत्मिक क्षेत्रमा गर्ने कामहरूका बीचमा कुनै सम्बन्ध छ? के कुनै समानताहरू छन्? यी दियाबलसहरूले विशेष गरी परमेश्‍वरमा विश्‍वास गर्ने र सही मार्गमा हिँड्ने जोकोहीलाई घृणा गर्छन्। सत्यता पछ्याउने, वा सधैँ सिद्धान्तहरूअनुसार काम गर्न जिद्दी गर्ने, वा प्रायजसो परमेश्‍वरको गवाही दिने, वा आफ्नो कर्तव्य समर्पित भई पूरा गर्ने जोकोही—जब तिनीहरूले यस्ता मानिसहरूलाई देख्छन्, तब तिनीहरू रिसाउँछन् र उनीहरूलाई शत्रुका रूपमा लिन्छन्। यो डाहा होइन; यो घृणा हो। तहसनहस पार्ने उद्देश्य हासिल गर्न, तिनीहरूले अपनाउने एउटा विधि भनेको तँलाई बाधा दिन, तँलाई भ्रमित पार्न, र तँलाई तल तान्न झूट बोलेर धोका दिनु हो। यसो गर्दा तिनीहरूलाई कुनै फाइदा नहुन सक्छ, तर तैँले परमेश्‍वरमाथिको आस्था गुमा, तँ नकारात्मक र कमजोर बन् र आफ्नो कर्तव्य पूरा गर्न अनिच्छुक हो, वा अरूसँग सामञ्जस्यपूर्ण रूपमा सहकार्य गर्न नसक् भनेर तिनीहरूले तँलाई तल तानेपछि, तिनीहरूले आफ्नो उद्देश्य हासिल गरेका हुन्छन्, र तिनीहरू खुसी हुन्छन्, र तिनीहरूका चिन्ताहरू हराएर जान्छन्। के दियाबलसहरूले यही गर्दैनन् र? (हो।) दियाबलसहरू बानीले नै झूट बोल्नेहरू हुन् भन्‍ने कुरामा कुनै शङ्का छैन। कुनै पनि व्यक्तिलाई लिऊँ—उसको नश्‍ल, उसको रूप जस्तो भए पनि, ऊ अग्लो भए पनि वा होचो भए पनि, मोटो भए पनि वा दुब्लो भए पनि, कुरूप भए पनि वा सुन्दर भए पनि, उसको शिक्षाको स्तर वा व्यक्तित्व जस्तो भए पनि, उसका वरदानहरू ठूला भए पनि वा साना भए पनि, ऊसँग सामर्थ्यहरू भए पनि वा नभए पनि, उसका रुचि र सोखहरू जे-जस्ता भए पनि—उसमा एउटा मात्र विशेषता हुन आवश्यक छ, त्यो के हो भने, उसले बानीले नै झूट बोल्न सक्छ र ऊ कहिल्यै परिवर्तन हुँदैन। यो कहिलेकाहीँ झूट बोल्नु होइन, न त अरू कुनै विकल्प नहुनु नै हो, न त कुनै निश्‍चित मामिलामा बुद्धि प्रयोग गर्नुपर्ने आवश्यकता हुनु नै हो, बरु, आवश्यकता जेसुकै भए पनि, परिस्थिति वा पृष्ठभूमि जेसुकै भए पनि, मामिला जेसुकै भए पनि, तिनीहरूले झूट बोल्न, कुराहरू बनाउन, छलछाम गर्न, र सानातिना चालबाजीहरूमा संलग्न हुन जिद्दी गर्छन्। यदि तिनीहरूमा यो विशेषता छ भने, यस्तो किसिमको व्यक्ति शतप्रतिशत दियाबलस हो। तिनीहरू असल व्यक्ति बन्न सक्छन् भनेर पटक्कै विश्‍वास नगर्, र तिनीहरूको मुखबाट निस्कने कर्णप्रिय शब्दहरूलाई पटक्कै विश्‍वास नगर्। तिनीहरूले सङ्कल्प व्यक्त गरे पनि वा कडा शपथहरू खाए पनि, तिनीहरूलाई विश्‍वास नगर्, किनभने तिनीहरू दियाबलस हुन् र मानव होइनन्। दियाबलसहरूले कडा शपथहरू खाए पनि, त्यो परिस्थितिलाई निप्टाउनका लागि मात्रै भनिएको हुन्छ; त्यो सबै धोका हो। तिनीहरू आफूले खाएका शपथहरूअनुसार काम गर्न आधारभूत रूपमा असमर्थ हुन्छन्। यदि तैँले तिनीहरूलाई विश्‍वास गरिस् भने, तँ मूर्ख होस्; तैँले दियाबलसहरूको सारलाई छर्लङ्गै देख्न सक्दैनस्। तिनीहरूले कुनै पनि कुराका बारेमा झूट बोल्न सक्छन्, त्यसैले तिनीहरूले खाने कडा शपथहरू पनि झूट नै हुन्। तिनीहरूले परमेश्‍वरले सबै कुराको छानबिन गर्नुहुन्छ भनी कहिल्यै विश्‍वास गर्दैनन्, र परमेश्‍वरले प्रत्येक व्यक्तिको कार्यअनुसार प्रतिफल दिनुहुनेछ भनी विश्‍वास गर्दैनन्—तिनीहरूले परमेश्‍वरले यसरी काम गर्न सक्नुहुन्छ भनी विश्‍वास गर्दैनन्, त्यसैले तिनीहरूले आफ्ना कार्यमा आफ्नो इच्छालाई मात्र पछ्याउँछन्, आफूलाई मन लागेअनुसार झूट बोल्छन् र धोका दिन्छन्; तिनीहरू आफ्नो उद्देश्य हासिल गर्नका लागि कुनै पनि काम गर्न सक्षम हुन्छन्। यो दियाबलसहरूको विशेषता हो, र यो तिनीहरूको प्रकृति सार पनि हो। अब तैँले यो कुरा स्पष्ट रूपमा देखिस्, होइन र? (हो।)