सत्यता कसरी पछ्याउने (१२) भाग तीन
आ. दोस्रो विशेषता: बोधोपन
जनावरहरूबाट पुनर्जन्म भएका मानिसहरूको अर्को प्रकटीकरण हो, तिनीहरू धेरै मानिस, घटना, र कामकुराहरूको सामना गर्दा विशेष गरी बोधा हुन्छन्। तिनीहरूले मामलाहरूलाई ढिपीपूर्ण र विकृत तरिकाले हेर्ने मात्र होइन, तर तिनीहरूले उत्पन्न हुने कुनै पनि कुराको प्रकृति, सार, वा मूल कारण के हो, त्यसले कस्तो प्रभाव पार्न सक्छ, वा त्यसले कस्ता परिणामहरू निम्त्याउन सक्छ भन्ने कुरा पनि पटक्कै ठम्याउन सक्दैनन्। कतिपय मानिसहरूले पहिले नै केही कुराहरू भनिसकेका वा गरिसकेका, वा केही सङ्केत र इसाराहरू प्रकट गरिसकेका भए पनि, तिनीहरूले अझै पनि यी कुराहरू ठम्याउन सक्दैनन् र तिनीहरू तीप्रति अनभिज्ञ रहन्छन्—तिनीहरू मूर्खहरूजस्तै हुन्छन्। तिनीहरूले ती कुराहरू ठम्याउँदासम्म मामला पहिले नै समाप्त भइसकेको हुन्छ, र परिणामहरू पहिले नै उत्पन्न भइसकेका हुन्छन्। यति धेरै सत्यताहरू सुनेपछि पनि, तिनीहरूलाई आफ्नो वरपरका मानिसहरू कस्ता प्रकारका छन्, तिनीहरूको सार के हो, वा तिनीहरूले के गर्न सक्छन् भन्ने थाहा हुँदैन र तिनीहरूले त्यो महसुस गर्न सक्दैनन्। कतिपय मानिसहरूले स्पष्ट रूपमा समस्याग्रस्त कुराहरू भन्छन्, तैपनि तिनीहरूले त्यो महसुस गर्न सक्दैनन्। उदाहरणका लागि, जब कतिपय मानिसहरूले घमण्ड गर्छन्, ठूला कुरा गर्छन्, धाक लगाउँछन्, र आफूलाई प्रदर्शन गर्छन्, तब यो स्पष्ट रूपमा अहङ्कारी स्वभावको प्रकटीकरण हो, तैपनि जनावरहरूबाट पुनर्जन्म भएका मानिसहरूले समस्या ठम्याउन सक्दैनन्। बरु, तिनीहरूले यी मानिसहरू सक्षम छन् भनी सोच्छन्, तिनीहरूले उनीहरूको प्रशंसा गर्छन् र उनीहरूलाई सम्मान गर्छन्, र पछि त्यस्ता मानिसहरूलाई पछ्याउन पनि चाहन्छन्। यसले तिनीहरू बोधा छन् भन्ने देखाउँछ। स्पष्ट दुष्ट मानिसहरू र दुष्ट कार्यहरू, भ्रष्ट स्वभावका स्पष्ट प्रकटीकरणहरू, कामकुराहरू स्पष्ट रूपमा गइरहेको दिशा—यस्ता मानिसहरूले यीमध्ये कुनै पनि कुरा ठम्याउन सक्दैनन्। तिनीहरूलाई मामलाको सार के हो, वा समस्याको जड के हो भन्ने थाहा हुँदैन; तिनीहरूले यो पटक्कै महसुस गर्न सक्दैनन्, तिनीहरूमा चेतना समेत हुँदैन। तिनीहरू त्यही हुन् जसलाई हामी प्रायः आत्माविनाका लाशहरू भनेर भन्छौँ। यस प्रकारको व्यक्ति सत्यता सिद्धान्तहरू समावेश भएका मामलाहरूमा त झनै पछि पर्छ। तैँले तिनीहरूलाई कुन सिद्धान्तअनुसार अभ्यास गर्ने भनेर बताउँछस्, तर तिनीहरूले बुझ्दैनन्; तिनीहरूले पालन गर्नुपर्ने प्रावधानहरूलाई मात्रै याद गर्छन्। तैँले सङ्गति गर्ने सिद्धान्तहरूलाई तिनीहरूले बुझ्न सक्दैनन्, ती तिनीहरूको पहुँचभन्दा बाहिर हुन्छन्। तैँले तिनीहरूमा भएको एउटा निश्चित अवस्था औँल्याइदिन्छस्, जुन तिनीहरूको भ्रष्ट स्वभावको प्रकटीकरणको एउटा स्वरूप हो, तर तिनीहरूले तैँले अरू कसैको बारेमा कुरा गरिरहेको छस् भन्ने सोच्छन्। तिनीहरूले मौखिक रूपमा आफूमा पनि यस प्रकारको भ्रष्ट स्वभाव छ भनेर स्वीकार गरे पनि, तिनीहरूले आफूले बोलेका कुन शब्दहरू वा गरेका कुन कार्यहरू यो अवस्था वा यो प्रकटीकरणसँग मेल खान्छन् भनी चिन्दैनन्। तैँले के कुरा गरिरहेको छस् भन्ने तिनीहरूले बुझ्दैनन् र थाहा पाउँदैनन्। भेलाहरूमा सत्यताको बारेमा सङ्गति गर्दा, जब अरू पहिले नै अर्को विषयमा अघि बढिसकेका हुन्छन्, तब तिनीहरूले अझै पनि छलफललाई पहिलेको विषयमा कुरा गर्नका लागि फर्काउँछन्। के यो सुस्त र बोधो हुनु होइन र? जब अरूले बोल्छन्, तब तिनीहरूले सँगसँगै पछ्याउन सक्दैनन्—तिनीहरूको सोचाइले सँगसँगै पछ्याउन नसक्ने भएकोले होइन, तर तिनीहरूको क्षमता अपर्याप्त भएकोले र त्यो पछि परेकोले हो। जब केही दुष्ट मानिसहरूले तिनीहरूलाई धोका दिन, तिनीहरूसँग खेल्न, वा तिनीहरूलाई सास्ती दिन खोज्छन्, तब तिनीहरूले त्यो महसुस गर्न सक्दैनन्, बरु दुष्ट मानिसहरूलाई दाजुभाइ र दिदीबहिनीको रूपमा व्यवहार गर्छन् र तिनीहरू उनीहरूसँग घनिष्ठ रूपमा घुलमिल हुन्छन्, र उनीहरूबाट हानि भोगेपछि मात्रै तिनीहरूले आफू ठगिएको रहेछु भनी महसुस गर्छन्। त्यसपछि तिनीहरूले सोच्छन्, “म कति मूर्ख रहेछु! मलाई मानिसहरूलाई कसरी जाँच्ने भन्ने थाहा छैन, मलाई मानिसहरूलाई कसरी खुट्ट्याउने भन्ने थाहा छैन! यस पटक, मैले साँच्चै पाठ सिकेँ—अबदेखि, म कसैलाई भरोसा गर्नेछैन, म आफैलाई मात्र भरोसा गर्नेछु। त्यो नै सर्वोच्च बुद्धि हो!” एक पटक धोका खाएपछि, तिनीहरूले आफूले अन्तर्दृष्टि प्राप्त गरेको छु भन्ने विश्वास गर्छन् र आफू अहिले अझ चलाख भएको छु भन्ने समेत सोच्छन्, र एउटा चरमबाट अर्को चरममा सर्छन्। जनावरहरूबाट पुनर्जन्म भएका मानिसहरू हरेक मामलाप्रति बोधा हुन्छन्। उदाहरणका लागि, यस्तै एक व्यक्ति पशुपालन र रोपणको जिम्मेवारीमा थियो। एक दिन तापक्रम घट्यो, र मैले उसलाई भनेँ, “आज राति माइनस पाँच डिग्री हुनेछ। चिसो सहन नसक्ने ती बोटबिरुवा र जनावरहरूको हेरचाह गरिनुपर्दैन र?” यो सुनेपछि, उसले जवाफ दियो, “मसँग बाक्लो जाकेट छ, र म राति सिरक र कम्बल ओढेर सुत्छु, त्यसैले मलाई चिसो हुनेछैन।” के उसले मैले भनेको कुरा बुझ्यो त? यो जवाफको आधारमा, उसले स्पष्ट रूपमा बुझेन। के यो बोधो हुनु होइन र? (हो।) यदि मैले, “आज राति माइनस पाँच डिग्री हुनेछ। यदि फूलहरू आँगनमा छन् भने, ती कठ्याङ्ग्रिएर मर्नेछन्। चिसोप्रति संवेदनशील र कमजोर जनावरहरूलाई खोरमा राखिनुपर्छ। तैँले ढोकामा एउटा थप पर्दा लगाउनुपर्छ र खोरमा हावा छिर्ने ठाउँहरू टाल्नुपर्छ” भनेको भए, यो सुनेपछि, उसले एकछिन सोच्नेथियो र यस्तो विचार गर्नेथियो, “ए, तपाईंले त जनावर र बोटबिरुवाको कुरा पो गर्नुभएको रहेछ। त्यसोभए फूलहरूलाई भित्र सार्दा मात्रै ठीक हुँदैन र? यति धेरै जनावरहरू छन्, र तपाईंले कुनचाहिँ चिसोप्रति संवेदनशील छन् र कुनचाहिँ छैनन्, कुनचाहिँलाई भित्र ल्याउनुपर्छ र कुनचाहिँलाई पर्दैन भनी भन्नुभएन।” साँच्चै, मैले तोकेर भनिनँ—तर के तैँले सिद्धान्तअनुसार काम गर्न सक्दैनस्? जाडोमा बाहिर छोडिएका फूलहरू कठ्याङ्ग्रिएर मर्न सक्छन् भन्ने कुरासमेत तैँले महसुस गर्दैनस्, र यदि मैले तँलाई यी कामहरू गर्न लगाइनँ भने, तैँले ती गर्दैनस्—यो कस्तो प्रकारको समस्या हो? के यो बोधो हुनु होइन र? (हो।) यसले ऊ बोधो छ भन्ने देखाउँछ। उदाहरणका लागि, बाहिर घाम लागेको छ र कपडाहरू सुकाउन आँगनमा बाहिर झुन्ड्याइएको छ, र कसैले भन्छ, “दिउँसो पानी पर्न सक्छ जस्तो छ। के बाहिर सुकिरहेका कपडाहरू भिज्नेछन्?”—यी शब्दहरूले सम्झाउनुलाई जनाउँछन्। सामान्य मानव सोच भएको व्यक्तिले यो सुन्छ र सोच्छ, “मैले ध्यान दिनुपर्छ—जब आकाशमा बादल लाग्छ, तब म तुरुन्तै कपडाहरू भित्र ल्याउनेछु।” तर सामान्य मानवताको सोच नभएकाहरूले यो कुरा थाहा पाउनेछैनन्। जब तैँले दिउँसो पानी पर्छ भन्छस्, तब तिनीहरूले यो सुन्छन् र सोच्छन्, “त्यसो भन्नुको के अर्थ हो? यसको मसँग कुनै सरोकार छैन। म भित्र हुनेछु, त्यसैले पानी पर्यो भने म भिज्नेछैन। यसबाहेक, पानी पर्नुको बारेमा मैले के गर्न सक्छु र? मलाई यो कुरा भन्नुको कुनै फाइदा छैन!” तिनीहरूलाई यो कुरा किन भनियो वा यो मामला किन उठाइयो भन्ने कुरा तिनीहरूले महसुस नै गर्दैनन्। त्यसोभए तिनीहरूले वास्तवमा बुझ्नका लागि तिमीहरूले तिनीहरूसँग कसरी कुरा गर्नुपर्छ? तिमीहरूले तिनीहरूलाई भन्नुपर्छ, “दिउँसो यति-यति बजे पानी पर्नेछ। पानी पर्नुअघि, जब तिमीले आकाशमा बादल लागेको देख्छौ, तुरुन्तै कपडाहरू भित्र ल्याउनू। यदि तिमीले त्यसो गरेनौ भने, ती भिज्नेछन् र फेरि धुनुपर्नेछ। साथै, कपडाहरू जम्मा गर्दा, आँगनमा भिजाउन नहुने वा पानीमा पार्न नहुने अरू केही छ कि भनी जाँच गर्नू, र तिनलाई पनि भित्र ल्याउनू।” तिमीहरूले तिनीहरूलाई यसरी निर्देशन दिनुपर्छ। यदि तिमीहरूले तिनीहरूलाई यसरी निर्देशन दिएनौ भने, तिनीहरूले कपडा भित्र ल्याउनुपर्छ भन्ने महसुस गर्नेछैनन्, न त तिनीहरूले पानीमा भिजाउन नहुने अन्य कुनै पनि वस्तुहरू भित्र ल्याउनुपर्छ भन्ने नै महसुस गर्नेछन्। तिनीहरूले यी कामहरू गर्नेछैनन्। किन? किनभने तिनीहरू धेरै बोधा छन्, तिनीहरूमा सामान्य मानवताको सोच हुँदैन, र तिनीहरूले सामान्य मानवताको मानक पूरा गर्दैनन्। अर्थात्, तिनीहरूको बौद्धिकता र क्षमता सामान्य मानवताको मानकमा पुग्दैन। जनावरहरूबाट पुनर्जन्म भएका मानिसहरू यस्तै हुन्छन्। यस्तो व्यक्तिलाई केही गर्न लगाउँदा, मैले तिनीहरूलाई पहिले नै धेरै पटक निर्देशन दिइसकेको भए पनि, र तिनीहरूले यो धेरै पटक गरिसकेका भए पनि, मैले अझै पनि तिनीहरूलाई फेरि निर्देशन दिनुपर्छ। यदि मैले तिनीहरूलाई निर्देशन दिइनँ भने, तिनीहरूले के गर्नुपर्छ भनी महसुस गर्नेछैनन्, न त तिनीहरूले यो कुरा गर्न सक्नेछन्। त्यसैले हरेक पटक जब तिनीहरूले यस प्रकारको कामको सामना गर्छन्, तब तैँले तिनीहरूलाई ठ्याक्कै के गर्नुपर्छ र कसरी गर्नुपर्छ भनी बताउनुपर्छ, र प्रक्रियाको हरेक चरणमा तिनीहरूलाई निर्देशन दिनुपर्छ। यदि तैँले एउटै कुरा पनि छोडिस् भने, तिनीहरूले त्यो कुरा गर्नेछैनन्, वा सम्भवतः पूरै कुरा बिगार्न पनि सक्छन्। अनि यदि तैँले त्यसपछि तिनीहरूका समस्याहरू औँल्याइस् भने, तिनीहरूले थुप्रै विकृत तर्कहरूले जवाफ दिनेछन् र फेरि तिनीहरू जानाजान तर्कहीन हुन थाल्नेछन्। यो बोधो हुनुको प्रकटीकरण हो।
पशुबाट पुनर्जन्म भएका मानिसहरूको यो विशेषता, अर्थात् तिनीहरूको बोधोपन, एकदमै स्पष्ट हुन्छ। उदाहरणका लागि, सत्यतासम्बन्धी सङ्गतिबाट, तिनीहरूले मण्डली अगुवाले खास काम गर्छ कि गर्दैन, ऊ मानकअनुरूपको अगुवा हो कि होइन, वा ऊ झूटो अगुवा वा ख्रीष्टविरोधी हो कि होइन भनी कसरी खुट्ट्याउने भन्ने कुरा धर्मसिद्धान्तको हिसाबमा बुझ्छन्। तर, जब आफ्नै मण्डली अगुवा कुन श्रेणीमा पर्छ भनी खुट्ट्याउने कुरा आउँछ, तब मण्डली अगुवाले प्रस्तुत गरेका निश्चित प्रकटीकरणहरू देख्दा पनि, तिनीहरूले उसलाई कसरी खुट्ट्याउने भन्ने जान्दैनन्। यदि तैँले तिनीहरूलाई “के तिमीहरूको मण्डली अगुवाले खास काम गर्छ?” भनेर सोधिस् भने, तिनीहरूले भन्छन्, “म उसलाई हरेक दिन भेलाहरूमा व्यस्त रहेको र विभिन्न कुराहरू मिलाउन दौडधूप गरिरहेको देख्छु, उसले दाजुभाइ-दिदीबहिनीहरूलाई पुस्तकहरू वितरण गर्यो, र उसले सुसमाचारको कामलाई निगरानी गर्यो।” त्यसपछि तैँले सोध्छस्, “त्यसोभए, उसले आफ्नो काम कत्तिको राम्ररी गर्छ? के ऊ सत्यता पछ्याउने व्यक्ति हो?” तिनीहरूले जवाफ दिन्छन्, “उसले आफ्नो पेसा र परिवार त्यागेको छ। उसका आमाबुबा भेट्न आउँदा समेत, ऊ आफ्नो कर्तव्य निर्वाह गर्नमा यति व्यस्त थियो कि उसले तिनीहरूलाई भेट्न पाएन। ऊ सत्यता पछ्याउने व्यक्ति हुनुपर्छ, होइन र?” तिनीहरूले मण्डली अगुवाका यी बाहिरी प्रकटीकरणहरूलाई मात्रै हेर्छन्; तर अगुवाले गोप्य रूपमा जति नै दुष्ट कामहरू गरे पनि, तिनीहरूले यो देखे पनि, यसलाई समस्याको रूपमा चिन्दैनन्, तिनीहरूलाई यो समस्या हो भन्ने थाहा हुँदैन। तिनीहरूको अगाडि यीमध्ये जति नै कुराहरू भए पनि, यो तिनीहरूले केही पनि नदेखे जस्तै हुन्छ, मानौँ तिनीहरू मानिसहरूका बीचमा नभई पूरै अर्कै संसारमा बाँचिरहेका छन्। के यस्ता मानिसहरू अत्यन्तै बोधा हुँदैनन् र? (हुन्छन्।) बोधो हुनु भनेको यही हो। जब संवेदनहीन मानिसहरूले सधैँ अलौकिक मामलाहरूमा ध्यान दिने र सधैँ आफूले अनुभूति गरेका कुराहरूका बारेमा बोल्ने, र सधैँ, “मैले एउटा आवाज सुनेँ, परमेश्वरले मलाई प्रबोधित गर्नुभयो, परमेश्वरले मलाई ज्योति दिनुभयो, परमेश्वरले मलाई मार्गदर्शन गर्नुभयो, परमेश्वरले फेरि मभित्र केही कुरा प्रकाश गर्नुभयो” भनी भन्ने दुष्ट आत्माहरूको काम भएको कसैलाई भेट्छन्, तब तिनीहरूले यस्तो सोच्छन्, “तिनीहरूले साँच्चै परमेश्वरलाई प्रेम गर्छन्। तिनीहरूले प्रकाशहरू पाएका छन्—मैले किन पाएको छैन?” तिनीहरूले यो दुष्ट आत्माहरूको काम हो भन्ने महसुस नै गर्दैनन्। एक दिन त्यो व्यक्ति अचानक पागल भएर, सबैको अगाडि ठूलो तमासा गरेर, भुईँमा लडीबुडी गरेर, अनि सडकहरूमा नाङ्गै दौडिएपछि मात्रै तिनीहरूले यो दुष्ट आत्मा रहेछ भनी अन्तमा देख्छन्। वास्तवमा, त्यो व्यक्ति पागल हुनुभन्दा पहिले, धेरै सङ्केतहरू देखिएका थिए, र यी प्रकटीकरणहरू उसलाई दुष्ट आत्माहरूको काम भएको व्यक्तिको रूपमा ठहर गर्न र उसलाई पहिले नै निकाल्नका लागि पर्याप्त हुनेथिए। तर तिनीहरू बोधा हुन्छन्, तिनीहरूले यी कुराहरू ठम्याउन सक्दैनन्, र यस्तो व्यक्तिलाई मण्डलीमा छोड्दा के परिणामहरू हुन सक्छन् भनी महसुस गर्दैनन्—के यसले विपत्तिहरू निम्त्याउने सम्भावना हुँदैन र? कतिपय दुष्ट आत्मा र दुष्ट पिशाचहरू मानिसहरूलाई हानि गर्ने हदसम्म समेत पुग्छन्, तैपनि बोधा मानिसहरूले तिनीहरूलाई चिन्न सक्दैनन्। तिनीहरू त यस्ता व्यक्तिहरूले साँच्चै परमेश्वरलाई प्रेम गर्छन् र तिनीहरू जोसले भरिएका हुन्छन्, प्रायजसो राति ढिलोसम्म बसेर परमेश्वरका वचनहरू पढ्छन् र भजनहरू सिक्छन्, अनि धेरै दिनसम्म नखाईकन वा नसुतीकन पनि थकित महसुस गर्दैनन् भन्ने ठान्छन्। यो स्पष्ट रूपमा अस्वाभाविक भए पनि, तिनीहरूले यो परमेश्वरप्रतिको प्रेम हो भनी दाबी गर्छन्। के तिनीहरू ज्यादै बोधा हुँदैनन् र? बोधा मानिसहरूले, एकातिर, मामिलाहरूलाई छर्लङ्गै देख्न सक्दैनन्; तिनीहरू सतही घटनाहरूभन्दा पर हेरेर समस्याहरूको सारलाई छर्लङ्गै देख्न असमर्थ हुन्छन्। यसरी, कुनै पनि समस्यालाई सही रूपमा ठहर गर्न तिनीहरूलाई धेरै गाह्रो हुन्छ। यसका साथै, बोधा मानिसहरूमा सोच्ने सामान्य तरिकाहरू वा कुराहरू परख गर्ने सामर्थ्य हुँदैन, त्यसैले तिनीहरू आफ्नो वरपर भइरहेका धेरै कुराहरूबारे पूर्ण रूपमा अनजान रहन्छन्। यस्ता मानिसहरू कुनै ठाउँमा धेरै वर्षसम्म बस्न सक्छन्, तैपनि जब तिनीहरूलाई, “त्यहाँको मौसम कस्तो छ? ऋतुहरूको ढाँचा कस्तो छ? के त्यो बस्नका लागि सहज ठाउँ हो?” भनेर सोधिन्छ, तब तिनीहरू जवाफ दिन असमर्थ हुन्छन्। तिनीहरूले यसो भन्छन्, “मौसमबारे त के भन्नु? मलाई थाहा छैन। जे होस्, अप्रिलमा फूलहरू फुल्छन्, सेप्टेम्बर वा अक्टोबरतिर पातहरू पहेँलो भएर झर्न थाल्छन्, र हिउँद आएपछि, हिउँ पर्ने समय हुन्छ।” यदि “त्यहाँका स्थानीय चलनहरू कस्ता छन्? सामाजिक प्रणाली कस्तो छ? के त्यहाँ जातीय भेदभाव छ? सरकारका नीतिहरू कस्ता छन्? तिनीहरूले अन्य ठाउँका मानिसहरूलाई कस्तो व्यवहार गर्छन्?” भनेर सोधियो भने, तिनीहरू पूर्ण रूपमा अनभिज्ञ हुन्छन्, र अवाक् भएर हेर्छन्, अनि केही पनि भन्न सक्दैनन्। सबैभन्दा महत्त्वपूर्ण कुरा—धार्मिक विश्वासप्रतिको सरकारको मनोवृत्ति—को हकमा समेत, तिनीहरूले केही पनि भन्न सक्दैनन्, र यति मात्रै जवाफ दिन्छन्, “अँ, हामी त्यहाँ बस्छौँ र सरकारले हामीलाई कहिल्यै कुनै समस्या दिँदैन।” तिनीहरू काठका पुतलीहरू जस्तै, कुनै पनि कुराप्रति पूर्ण रूपमा अनजान हुन्छन्—यो चरम बोधोपन हो। कतिपय मानिस यस्ता पनि छन्, जो आफू आफ्नो कर्तव्य निर्वाह गर्नमा ज्यादै व्यस्त रहेको र आफूसँग यी कुराहरू व्यवस्थित गर्ने समय नभएको भनेर भन्छन्—के यो एउटा बहाना मात्र होइन र? (हो।) यो बहाना हो भन्ने स्पष्ट छ। के यस्ता सरल कुराहरूका लागि जानाजान ध्यान दिन र अभिलेख राख्न आवश्यक पर्छ र? पर्दैन। यदि तँसँग सामान्य मानवताको सोचाइ छ भने, कुनै ठाउँमा तीन वर्षभन्दा बढी बसेपछि, तैँले आधारभूत रूपमा त्यहाँको स्थानीय मौसम, चलन, जीवनशैलीका बानीबेहोरा, धार्मिक विश्वाससम्बन्धी अवस्था, र सरकारका नीतिहरू र अन्य ठाउँका मानिसहरूप्रतिको यसको मनोवृत्तिलाई बोध गरिसकेको हुनुपर्छ। तैँले विशेष रूपमा यसबारे सिक्नु, पत्ता लगाउनु, वा यो जानकारी सङ्कलन गर्नु आवश्यक पर्दैन—तँलाई थाहा भइहाल्छ। सामान्य मानवताको सोचाइ भएको जोकोहीले पनि यी कुराहरूलाई निकै स्वाभाविक रूपमा बोध गर्न सक्छ। यदि सामान्य मानिसहरूले बोध गर्न र स्पष्ट रूपमा देख्न सक्ने समस्याहरूलाई समेत तैँले बोध गर्न सक्दैनस् भने, यसले के सङ्केत गर्छ? यसले तँसँग सामान्य मानवताको सोचाइ वा विवेकशीलता छैन र तैँले सामान्य मानवताको मानक पूरा गर्दैनस् भन्ने सङ्केत गर्छ। यस प्रकारको व्यक्तिले सामान्य मानवताको मानक पूरा गर्न नसक्नुको आधारभूत कारण के हो भने ऊ मानिसबाट नभई पशुबाट पुनर्जन्म भएको व्यक्ति हो। के तिमीहरूले बुझ्यौ? (बुझ्यौँ।) यदि कसैको बोधोपनको विशेषता धेरै स्पष्ट छ भने, यसले समस्यालाई छर्लङ्ग पार्छ।
पशुबाट पुनर्जन्म भएका मानिसहरूका विशेषताहरूका बारेमा भर्खरैको हाम्रो सङ्गतिबाट तिमीहरूले के बुझ्यौ? के तिमीहरूले एउटा तथ्य याद गर्यौ—विकृत बोध र बोधोपन, यी दुवै विशेषताहरू, यस श्रेणीका मानिसहरूमा निकै स्पष्ट रूपमा देखिन्छन् भन्ने तथ्य? (देख्यौँ।) यी मानिसहरूमा यी दुई प्रकटीकरणहरू किन हुन्छन्? तिनीहरूको मानवतामा के कुराको कमी हुन्छ? (सामान्य सोचाइ।) यो केही हदसम्म मिल्यो—तिनीहरूमा मानवीय बुद्धि हुँदैन। झट्ट हेर्दा, कस्तो देखिन्छ भने, यी मानिसहरूको क्षमता कमजोर छ—त्यो कति कमजोर हुन्छ त? तिनीहरू विकृत हुने प्रवृत्तिका र बोधा दुवै हुन्छन्; जब सामान्य मानवता भएकाहरूले बारम्बार सामना गर्ने र आत्मनिर्भर रूपमा सम्हाल्न र समाधान गर्न सक्ने केही समस्याहरूको कुरा आउँछ, तब तिनीहरू कमजोर साबित हुन्छन् र तिनीहरूले तिनलाई समाधान गर्न सक्दैनन्, र तिनीहरू एकदमै केटाकेटी जस्ता, हास्यास्पद, र अपरिपक्व देखिन्छन्। अझ गम्भीर कुरा के हो भने, यीमध्ये कतिपय मानिसहरूमा स्वाधीनताका साथ बाँच्ने क्षमता हुँदैन—तिनीहरूले आफूलाई पाल्न सक्दैनन्, र तिनीहरू काम गर्न बाहिर गए पनि वा कुनै पनि प्रकारको काममा संलग्न भए पनि, तिनीहरू असक्षम हुन्छन्। तिनीहरू जहाँ गए पनि, रोजगारदाताहरूले कि त तिनीहरूलाई चाहँदैनन् कि त बर्खास्त गर्छन्। यसका साथै, मुख्य कुरा के हो भने जब तिनीहरूले आफ्नै जीवनको दायराभित्रका विभिन्न समस्याहरू जस्तै जीवनका सामान्य समस्याहरू र केही सानातिना कुराहरूको सामना गर्छन्, तब तिनीहरूले तिनलाई राम्ररी सम्हाल्न सक्दैनन्। तिनीहरूले एकदमै सरल समस्यालाई समेत बिगार्न सक्छन्; तिनीहरूले सधैँ अन्धाधुन्ध रूपमा प्रावधानहरू लागू गर्छन्। तिनीहरूले कुराहरू सम्हाल्न प्रयोग गर्ने विधि र तरिकाहरू अत्यन्तै मूर्खतापूर्ण र भद्दा हुन्छन्; तिनीहरूमा एक वयस्कले संसारका कुराहरूसँग व्यवहार गर्न प्रयोग गर्ने विधि र माध्यमहरू हुँदैनन्। यसले तिनीहरूमा मानवीय बुद्धि छैन भन्ने कुरा एकदमै स्पष्ट पार्छ। उदाहरणका लागि, यस्तै एक व्यक्तिलाई कुनै रोग लाग्छ र उसले सधैँ अस्वस्थ महसुस गर्छ। उसले केही जानकारी खोज्छ, र त्यसमा यो गम्भीर रोग वा ठूलो बिमार हुन सक्छ भनिएको हुन्छ; ऊ डराउँछ, र जाँचका लागि हतार-हतार अस्पताल जान्छ। डाक्टरले भन्छ, “यो रोग धेरै गम्भीर छ। यसको मृत्युदर अत्यन्तै उच्च छ। उपचार नगर्ने हो भने, यो बढ्दै जान्छ र मृत्यु हुन्छ। यसको उपचार गर्ने एउटै मात्र तरिका शल्यक्रिया हो। यदि तिमीले शल्यक्रिया गरेनौ भने, तिमी बढीमा तीन महिना बाँच्छौ।” यो सुनेर, ऊ अत्यन्तै डराउँछ र के गर्ने भन्ने थाहा पाउँदैन। निदान पुष्टि गर्न थप जाँचहरू नगरीकनै, उसले डाक्टरको कुरा सुन्छ र शल्यक्रिया गर्ने निर्णय गर्छ। शल्यक्रिया गर्नुअघि, उसले के-कस्ता सावधानीहरू अपनाउनुपर्छ, शल्यक्रिया सकिएपछि केही दुष्प्रभावहरू हुन्छन् कि हुँदैनन् भनेर सोध्दा पनि सोध्दैन—उसलाई यी प्रश्नहरू सोध्नुपर्छ भन्ने समेत थाहा हुँदैन, र डाक्टरले तर्साएपछि आज्ञाकारी भई ऊ शल्यक्रिया गर्ने टेबुलमा चढ्छ। अन्त्यमा, शल्यक्रियापछि, उसलाई यता पनि असहज र उता पनि असहज महसुस हुन्छ, र औषधि खाँदा पनि काम हुँदैन। पछि, उसले अरूबाट के सुन्छ भने यो रोगलाई शल्यक्रिया आवश्यक पर्दैन, यो वास्तवमा गम्भीर रोग होइन, र व्यायाम गरेर र केही सामान्य औषधिहरू खाएर, यो बिस्तारै निको हुँदै जान्छ र बढ्दैन वा खराब हुँदैन। डाक्टरहरूले, पैसा कमाउनका लागि, कहिलेकाहीँ मानिसहरूलाई डराउनका लागि डरलाग्दा कुराहरू भन्छन्, र संवेदनहीन व्यक्तिसँग आफ्नै विचार हुँदैन र उसले निर्णय गर्न सक्दैन; डाक्टरले भनेको कुरा सुनेर, डरले उसको सातोपुत्लो उड्छ, र जब डाक्टरले उसलाई शल्यक्रिया गर्न भन्छ, तब ऊ अघि बढ्छ। जब यस्ता कुराहरू आइपर्छन्, यदि उसको वरिपरि आफ्नै विचार भएको र दृढ मनको, र सही निर्णय लिनका लागि जाँच्न मद्दत गर्ने बुद्धि भएको कोही छ भने, ऊ घुमाउरो बाटो लिनबाट जोगिन सक्छ र उसले अलि कम दुःख भोग्छ। तर यदि उसलाई यस्ता कुराहरू, विशेष गरी ठूला कुराहरू, आफै सम्हाल्न दिइयो भने, ऊ कि त यता कि त उता विचलित हुन्छ, ऊ कि त ठगिन्छ कि त हानिमा पर्छ; उसले सधैँ चरम उपायहरू अपनाउँछ। ऊ सिद्धान्तहरू वा यस्ता कुराहरू सम्हाल्नका लागि सामान्यतया प्रयोग गरिने तरिका र विधिहरूका आधारमा कुराहरूलाई समग्र रूपमा मापन गर्न र त्यसपछि तिनलाई लिने सबैभन्दा उचित र तर्कसङ्गत तरिका पत्ता लगाउन असमर्थ हुन्छ। जोकोहीले उसलाई छक्याउन, खेलाउन, प्रभावित पार्न, र भ्रमित पार्न सक्छ। कतिपय मानिसहरूले सोध्छन्, “के यी मानिसहरूसँग आफ्नै विचार वा राय हुँदैन?” वास्तवमा तिनीहरूसँग आफ्नै विचार वा राय हुँदैन भन्ने होइन—हेर् त, जब तिनीहरूले दुष्कर्म गर्छन् र त्रुटिपूर्ण र बेतुके तर्कहरू निकाल्छन्, तब तिनीहरू पक्कै पनि हठी हुन्छन्। जसले सही कुरा भने पनि, तिनीहरूले सुन्दैनन्, र कसैले सही कुरा भने पनि, तिनीहरू अटेरी हुन्छन् र आफ्नै त्रुटिपूर्ण र बेतुके, विकृत तर्कहरूमा लागिरहन्छन्। तैपनि जब वास्तवमा सामान्य समझ र सामान्य सोचाइ प्रयोग गरेर दैनिक जीवनमा उत्पन्न हुने कुराहरूको सामना गर्ने र सही तरिकाले लिने र सम्हाल्ने आवश्यकता पर्छ, तब तिनलाई सम्हाल्न कुन विधि वा प्रक्रिया प्रयोग गर्ने भन्ने तिनीहरूलाई थाहा हुँदैन, तिनलाई कसरी लिने भन्ने थाहा हुँदैन, तिनीहरूसँग कुनै तरिका वा विधि हुँदैन, र तिनीहरूसँग आफ्नै विचार वा राय हुँदैन। अन्त्यमा, तिनीहरू अरूको चालबाजीमा पर्न मात्रै सक्छन्—अरूले जे गर्न भन्छन् तिनीहरूले त्यही गर्छन्। सामान्य मानवताको बुद्धि नहुनु पशुबाट पुनर्जन्म भएका मानिसहरूको एउटा विशेषता हो। त्यसोभए, तिनीहरू किन आफ्ना त्रुटिपूर्ण र बेतुके, विकृत तर्कहरूमा लागिरहन, यहाँसम्म कि तिनलाई ठूलो स्वरमा बोल्न र जताततै फैलाउन सक्षम हुन्छन्? यसले के प्रमाणित गर्छ भने तिनीहरूको बुद्धिको हिसाबमा, तिनीहरू सत्यता के हो र त्रुटिपूर्ण र बेतुके तर्क के हो, सामान्य तर्कसङ्गतताअनुरूप के हुन्छ र के हुँदैन भनी खुट्ट्याउन असक्षम हुन्छन्—तिनीहरूले यी कुराहरूका बीचमा भिन्नता छुट्याउन सक्दैनन्; त्यसकारण, जब तैँले सही तर्क बाँड्छस्, तब तिनीहरूले त्यसलाई स्वीकार गर्न सक्दैनन् र बुझ्दैनन्। तिनीहरू आफ्नै विकृत, कुतर्कमा लागिरहन्छन्, र त्यसलाई सही हो भनी विश्वास गर्छन्। अरू कसैले तिनीहरूसँग बोल्न जुनसुकै विधि प्रयोग गरे पनि, तिनीहरूको बोल्ने तरिका जतिसुकै राम्रो वा बुद्धिले भरिएको भए पनि, पशुबाट पुनर्जन्म भएकाहरूले त्यसलाई ग्रहण गर्न सक्दैनन् र बुझ्दैनन्—तिनीहरूको उपाय लाग्दैन। यसले तिनीहरूमा सामान्य मानवताको बुद्धि छैन भन्ने देखाउँछ। दैनिक जीवनको सबैभन्दा सामान्य कुराको लागि समेत, जब तँ तिनीहरूसँग तर्क गर्छस्, तब त्यो कुरा तिनीहरूको दिमागमा पस्दैन—तिनीहरू अझै पनि आफ्नो कुतर्कमा लागिरहन्छन्। जब मानिसहरूले यो देख्छन्, तब तिनीहरूले सोच्छन्, “यो व्यक्ति किन यति अनौठो छ? उसलाई किन केही भनेर पनि सम्झाउनै सकिँदैन? ऊ मानसिक रोग लागेको व्यक्ति र उमेर नपुगेको व्यक्ति दुवै जस्तो छ—उसले किन सधैँ बच्चाले जस्तो कुरा गर्छ?” तर तिनीहरू जवान हुँदैनन्—जब तिनीहरू पचास वा साठी वर्षका हुन्छन्, तब पनि तिनीहरू यस्तै हुन्छन्, र जब तिनीहरू असी वर्ष पुग्छन्, तिनीहरू अझै पनि यस्तै हुन्छन्। तिनीहरूको पूरै जीवन, तिनीहरू अपूर्ण बुद्धि भएका मानिसहरू हुन्छन्; तिनीहरूको पूरै जीवन, तिनीहरूमा सामान्य मानवीय सोचाइ वा सामान्य मानवीय बुद्धि हुँदैन। यो पशुबाट पुनर्जन्म भएका मानिसहरूको एउटा विशेषता हो। के यो विशेषता स्पष्ट छ? (छ।) उदाहरणका लागि, मानौँ एउटी मूर्ख स्त्री छे जो अलि राम्री छे, र कुनै दुष्ट बदमासले उसलाई फसाएपछि, तिनीहरू सँगै बस्न थाल्छन्। त्यो दुष्ट बदमास बाहिर जतिबेला पनि केटी खेलाउँदै हिँड्छ, तर जब उसले थाहा पाउँछे, ऊ रिसाउँदिन—जे भए पनि, जबसम्म उसले राम्रो व्यवहार गर्छ तबसम्म उसका लागि ठीकै हुन्छ। पछि, त्यो दुष्ट बदमास अरू कसैसँग लाग्छ, तर जब उसले थाहा पाउँछे, तब उसले वास्ता गर्दिन र अझै पनि अटल भक्तिसाथ त्यो दुष्ट बदमाससँगै बस्छे। उसले यसो समेत भन्छे, “जबसम्म उसले मलाई त्याग्दैन, तबसम्म मलाई ठीक छ।” कसैले उसलाई यसो भनेर सल्लाह दिन्छ, “ऊ यति तल झरिसक्यो—तिमी ऊसँग बस्न छोड्नुपर्छ।” उसले भन्छे, “हुँदैन, म ऊविना बस्न सक्दिनँ। उसले मलाई प्रेम गर्छ र म उसलाई मन पराउँछु!” यस्तो व्यक्ति यही दुष्ट बदमाससँग बसेर जीवनभर दुःख भोग्न लायक हुन्छ—उसले असल व्यक्ति को हो वा सभ्य व्यक्ति को हो भनी खुट्ट्याउनै सक्दिन। ऊ एउटा दुष्ट बदमाससँग लाग्छे र उसले आफूलाई साँच्चै प्रेम गर्छ भनेर समेत सोच्छे। त्यो दुष्ट बदमासले उसलाई केही मिठा कुराहरू भन्छ र केही राम्रा खानेकुराहरू किनिदिन्छ, र त्यसै गरी, उसले मिठा-मिठा कुरा गरेर उसलाई आफ्नो बनाउँछ। उसले माटोको खेलौनासँग खेले जस्तै गरी उसलाई खेलाउँछ। जब उसले पिठ्युँ पछाडि केटी खेलाउँछ र उसले थाहा पाउँछे, तब केही शब्दहरू बोलेरै, उसले कुरा मिलाउँछ, उसलाई धोका दिन्छ, र उसले वास्तविकता छर्लङ्गै देख्न सक्दिन। अन्त्यमा, त्यो दुष्ट बदमासले उसको सबै सम्पत्ति र घर कब्जा गर्छ र त्यसपछि उसलाई त्यागिदिन्छ। उसले ऊसँग विवेक छैन भनेर सराप्छे, तर मानिसहरूलाई छर्लङ्गै देख्न नसकेकाले आफू ठगिएँ भनेर चाहिँ भन्दिन। त्यो दुष्ट बदमासले अरूलाई धोका नदिई उसलाई किन धोका दियो? के ऊ मूर्ख भएर होइन र? यस प्रकारको व्यक्तिका मुख्य विशेषताहरू के-के हुन् भने ऊ हरेक कुरालाई बोध गर्ने र व्यवहार गर्ने तरिकामा ढिपीवाल र हास्यास्पद हुन्छ, र उसमा सामान्य मानवताको बौद्धिकता हुँदैन। त्यसैले हामी तिनीहरू पशुबाट पुनर्जन्म भएका हुन् भनी भन्छौँ। तिनीहरू पशु भएकाले, तिनीहरूमा मानवीय बौद्धिकता हुँदैन। तिनीहरूमा मानवीय बौद्धिकता छैन भन्ने तथ्य नै तिनीहरूको भित्री सार मानिसहरूको सार होइन भनी प्रमाणित गर्न पर्याप्त छ। त्यसकारण, तिनीहरूले मानवीय मामलाहरूको सामना गर्न वा सामान्य मानिसहरूले सम्हाल्न र समाधान गर्न सक्नुपर्ने समस्याहरूलाई सम्हाल्न र समाधान गर्न सक्दैनन्। जब तिनीहरूको आफ्नै दैनिक जीवनका कुराहरू—तिनीहरूका दैनिक भोजन, आधारभूत आवश्यकताहरू, साथै पारस्परिक सम्बन्धहरू र वरपरको वातावरण—लाई लिने तरिकाको कुरा आउँछ, तब पनि तिनीहरू निकै बोधा हुन्छन्। यसबाहेक, जब तिनीहरूले आफूले सामना गर्नुपर्ने र सम्हाल्नुपर्ने निश्चित कुराहरू सामना गर्छन्, तब तिनीहरूमा सामान्य मानिसहरूको बौद्धिकता हुँदैन, र अवश्य पनि, बुद्धिको त कुरै नगरौँ। जब तिनीहरूले यी समस्याहरूको सामना गर्छन्, तब तिनीहरूले तिनलाई ठूलो कठिनाइ, ठूलो थकाइ, र चरम भद्दापनका साथ सम्हाल्छन्। तिनीहरू यति बूढा भइसकेका र तिनीहरूले यति लामो समय बाँचिसकेका हुन्छन्: तिनीहरूले कुराहरूलाई यसरी कसरी सम्हाल्न सक्छन्? तिनीहरूले भन्ने कुराहरू किन यति घिनलाग्दो र अप्ठ्यारो सुनिन्छन्? तिनीहरूले किन सामान्य मानिसहरू जस्तो कुरा गर्दैनन्? तिनीहरूले धेरै वर्ष बाँचिसके र धेरै अनुभव बटुलिसके, तैपनि यस्तो सरल कुरा सम्हाल्दा, तिनीहरूले कसरी यस्तो व्यवहार गर्न सक्छन्? तिनीहरूमा मानवताको सबैभन्दा आधारभूत सीमा वा मानिसहरूमा हुनुपर्ने सबैभन्दा आधारभूत सिद्धान्तहरू समेत हुँदैनन्।