सत्यता कसरी पछ्याउने (११) भाग चार

कला मन पराउनु

अब हामी कला मन पराउने विषयलाई हेरौँ। कला मन पराउनेहरू जन्मजात रूपमै गाउन, नाच्न, र साङ्गीतिक बाजाहरू बजाउन मन पराउँछन्, र तिनीहरूलाई प्रस्तुति दिन पनि मन पर्छ। जति धेरै मानिस हुन्छन्, तिनीहरू त्यति नै उत्साहित बन्छन्; र तिनीहरू सबैलाई खुसी बनाउन र आराम गर्न मद्दत गर्नका लागि हास्य-संवाद, प्रहसन, गायन, नृत्य, वा साङ्गीतिक बाजाहरू वादन गरेर केही प्रस्तुति दिन चाहन्छन्। कला मन पराउनु कस्तो प्रकारको प्रकटीकरण हो? पहिले, हामीले कलामा सकारात्मक कुराहरू समावेश छन् कि नकारात्मक कुराहरू समावेश छन् भनेर हेर्नुपर्छ। यदि तिमीहरू यसबारे स्पष्ट छैनौ भने, म तिमीहरूलाई सोध्छु: के तिमीहरूलाई गाउनु र नाच्नु मानवताका उचित आवश्यकताहरू हुन् जस्तो लाग्छ? (लाग्छ।) ती मानवताका उचित आवश्यकताहरू हुन्। अर्थात्, मानिसहरू जीवनलाई रमाइलो बनाउन, जीवनको आनन्द बढाउन, वा आफ्ना मनस्थितिहरूमध्ये एउटा व्यक्त गर्न आफ्नो गायनको आवाज, शारीरिक हाउभाउ, वा एक प्रकारको कलात्मक विधि प्रयोग गर्छन्। के यसलाई उचित मान्‍न सकिन्छ? (सकिन्छ।) अब, हामी मूल विषयमा फर्कौँ—कला मन पराउनु, गाउन र नाच्न, बाजाहरू बजाउन र प्रस्तुति दिन मन पराउनु—यस प्रकारका प्रकटीकरणहरू कुन वर्गमा पर्छन्? (रुचि र सोखहरू।) ती रुचि र सोखहरू भएका हुनाले, ती के अन्तर्गत पर्छन्? (जन्मजात अवस्थाहरू।) कतिपय केटाकेटीलाई पाँच-छ वर्षको उमेरदेखि नै सङ्गीत सुन्‍न र नृत्य हेर्न मन पर्छ, र तिनीहरूले सङ्गीतको ताल सुन्दा, तिनीहरूका हातखुट्टा चल्न थाल्छन्, र तिनीहरूलाई नाच्न मन लाग्छ। यो जन्मजात कुरा हो। कतिपय मानिस गीत र नृत्य सङ्गीत सुन्छन् र सिक्न चाहन्छन्, तर तिनीहरू किशोरावस्था वा बीस-बाइस वर्षको उमेरमा पनि त्यसो गर्न असक्षम हुन्छन्। तिनीहरूका लागि नाच्न सिक्ने प्रयास गर्नु निकै कष्टकर हुन्छ, र तिनीहरू अत्यन्तै भद्दा हुन्छन्। यो पनि जन्मजात कुरा हो। यसको विपरीत, जन्मजात रूपमै गाउन र नाच्न मन पराउनेहरू सङ्गीत बजेको सुन्दा खुसीसाथ नाच्न थाल्न सक्छन्। तिनीहरू कसैले गीत गाएको सुन्दा सँगसँगै गाउन र ऊबाट सिक्न सक्छन्, र केही पटक मात्रै अभ्यास गरेपछि, तिनीहरू आफै गाउन सक्छन्। यसले यस प्रकारको व्यक्तिका लागि, यी कुराहरू जन्मजात हुन् र तिनीहरूको नसा-नसामा हुन्छन् भन्‍ने प्रमाणित गर्छ; तिनीहरूलाई यी कुराहरू हृदयदेखि नै मन पर्छन्, र तिनीहरू यसमा निपुण पनि हुन्छन्। तिनीहरूलाई कसैले पनि सिकाउनु नपरी ती कुराहरू कसरी गर्ने भन्‍ने थाहा हुन्छ। केही अत्यन्तै उत्कृष्ट व्यक्तिहरू समेत हुन्छन्, जो सात-आठ वर्षको उमेरमै क्षेत्रीय ओपेराका केही पङ्क्ति गाउन सक्छन्, र तिनीहरूको गायनमा त्यो मौलिक भाव हुन्छ, र यो सही धुनमा हुन्छ र सही तालमा चल्छ—त्यो साँच्‍चै नै दुर्लभ कुरा हो! कतिपय केटाकेटीले केही पप गीत समेत गाउन सक्छन्, र कतिपयले भारतीय नृत्य, सिन्जियाङ नृत्य, वा आधुनिक नृत्य जस्ता शैलीहरूमा नाच्न सक्छन्। नृत्यका गीत वा सङ्गीत सुन्दा, तिनीहरूलाई ती जन्मजात प्रवृत्तिले मन पर्छन्, र तिनीहरू चाँडै नै सङ्गीतको तालमा आफ्नो शरीर हल्लाउन थाल्छन्। यदि तैँले तिनीहरूलाई गाउन दिइनस् भने, तिनीहरू हृदयमा सुटुक्क गाउनेछन् वा ठूलो स्वरमा गाउनका लागि उपयुक्त ठाउँ खोज्नेछन्। तिनीहरू गाउन मात्रै चाहन्छन् र गाउन मन पराउँछन्, र कसैले पनि तिनीहरूलाई रोक्न सक्दैन। तिनीहरू आफ्ना आमाबुबाबाट प्रभावित भएका थिएनन्, न त तिनीहरूलाई कसैले सिकाएको नै थियो। सानैदेखि, तिनीहरूमा यी सबल पक्ष वा सोखहरू थिए। यो एउटा जन्मजात अवस्था हो भन्‍ने कुरा स्पष्ट छ—तिनीहरूमा कलाप्रति जन्मजात रुचि हुन्छ। यदि ती केटाकेटीहरूलाई कलामा रुचि छ भने, के तिनीहरू यस काममा संलग्न हुनैपर्छ—के तिनीहरूले आफ्नो जीवनभर यही उद्योगमा काम गर्नैपर्छ? गर्नैपर्छ भन्ने छैन। यो परमेश्‍वरको नियोजनमा, परमेश्‍वरले कसरी आफ्नो सार्वभौमिकता प्रयोग गर्नुहुन्छ र कामकुराको प्रबन्ध गर्नुहुन्छ भन्‍ने कुरामा निर्भर हुन्छ। यदि परमेश्‍वरले तिनीहरूलाई कलाको क्षेत्रमा काम गर्नका लागि प्रबन्ध गर्नुभयो भने, तिनीहरू जीवनभर यस उद्योगमा बाँधिनेछन्। तर यदि परमेश्‍वरले तिनीहरूलाई यस उद्योगमा काम गर्नका लागि प्रबन्ध वा नियोजन गर्नुभएको छैन भने, तिनीहरूमा यो रुचि र सोख मात्रै हुनेछ, र तिनीहरू यसमा रमाए पनि, तिनीहरू त्यस काममा संलग्न हुन सम्भव हुनेछैन। कतिपय मानिसहरूलाई बाल्यकालदेखि नै कला मन परेको हुन्छ। तिनीहरूका आमाबुबाले, आफ्नो बच्चामा यो रुचि र सोख छ भनी देखेर, यस्तो सोच्छन्, “त्यसोभए हामीले यसलाई संवर्धन गरौँ। सायद हाम्रो परिवारले एक जना कलात्मक प्रतिभा उत्पादन गर्न सक्छ। सायद हाम्रो बच्चा प्रसिद्ध र स्टार समेत बन्‍नेछ!” त्यसैले तिनीहरूले आफ्नो बच्चालाई उसको नृत्य र गायन अध्ययनमा संवर्धन गर्न थाल्छन्, र अन्ततः, त्यो बच्चा एउटा कला प्रतिष्ठानमा भर्ना हुन्छ। स्नातक गरेपछि कलामा बच्चाको रुचि र सोख बलियो नै रहे पनि, उसले यस उद्योगमा काम गर्न सक्छ कि सक्दैन भन्‍ने कुरा अनिश्चित हुन्छ। सम्भवतः ऊ यस काममा संलग्न हुनै लाग्दा, उसको मुड परिवर्तन हुन्छ, र त्यसपछि यस कामप्रति उसका मनोवृत्ति र दृष्टिकोणहरू पनि परिवर्तन हुन्छन्, र सम्भवतः वस्तुगत परिस्थितिहरूभित्रका विभिन्‍न कारणहरूले गर्दा, उसले यस उद्योगको एक हिस्सा बन्‍ने मौका गुमाउन पनि सक्छ। यी सबै कुराहरू सम्भव छन्; यो परमेश्‍वरको पूर्वनियोजनमा भर पर्छ। तर यसलाई मूल कारणबाट हेर्दा, बच्चाको रुचि र सोख उसको जन्मजात अवस्था हो—ऊ जन्मनुभन्दा अघि नै, परमेश्‍वरले उसका लागि यो सबल पक्षको नियोजन गरिसक्नुभएको थियो, र उसको मानवतामा निश्चित विशेष गुणहरू थपिदिनुभएको थियो, जसले उसलाई जन्मजात रूपमै सङ्गीत, नृत्य, र कलाका अन्य पक्षहरूप्रति विशेष रूपमा संवेदनशील र निपुण बनाएको थियो। यसरी, उसले आफ्नो दैनिक जीवनमा प्रकट गर्ने कुरा भनेको गायन र नृत्यप्रतिको विशेष अनुराग हो। उसको व्यक्तित्व जीवन्त होस् वा लजालु, उसलाई बोल्न मन परोस् वा मन नपरोस्, जेसुकै भए पनि, उसको नसा-नसामा हटाउन नसकिने एउटा कुरा हुन्छ—उसलाई गाउन मन पर्छ, नाच्न मन पर्छ, र प्रस्तुति दिन मन पर्छ। कतिपय मानिस गाउँदा अत्यन्तै ऊर्जावान् हुने र तिनीहरूलाई आफ्नो आत्मामा राहतको अनुभूति हुने भए पनि, तैँले तिनीहरूसँग कुरा गर्दा तिनीहरू अझै पनि निकै लजालु हुन्छन्, र तिनीहरू आफूलाई व्यक्त गर्न वा मानिसहरूसँग अन्तरक्रिया गर्न सिपालु हुँदैनन्। अरूसँग सङ्गत गर्दा, तिनीहरू अत्यन्तै असहज र तनावग्रस्त हुन्छन्, र घबराउने र त्रसित हुने समेत गर्छन्, र तिनीहरूलाई यी परिस्थितिहरू कसरी सम्हाल्ने भन्‍ने थाहा हुँदैन। तर तिनीहरू प्रस्तुति दिन मञ्चमा उक्लँदा सहजै त्यसो गर्छन्; मानौँ तिनीहरू अर्कै व्यक्ति बनेका छन्। गैरविश्‍वासीहरू तिनीहरूको क्षेत्रको “संरक्षक देवता” ले तिनीहरूलाई जीविकोपार्जन गर्न यो सामर्थ्य प्रदान गर्नुभएको हो भनेर भन्छन्—के यो सही हो? वास्तवमा, यो परमेश्‍वरको नियोजन हो। व्यक्तिमा जन्मजात रूपमै के-कस्ता सबल पक्ष, रुचि, र सोखहरू हुन्छन् भन्‍ने कुरा परमेश्‍वरको पूर्वनियोजनसँग सम्बन्धित हुन्छ। व्यक्तिमा जेसुकै सबल पक्ष र सोखहरू भए पनि, ती सबै परमेश्‍वरद्वारा पूर्वनियोजित हुन्छन्। यदि परमेश्‍वरले तँलाई कुनै रुचि र सोख दिनुहुन्छ भने, तँलाई त्यो मन पर्छ र तँ हृदयको गहिराइबाटै त्यसको कदर गर्छस्, र त्यसबारे विशेष रूपमा उत्साहित महसुस गर्छस्। जब तँ यस काममा संलग्‍न हुन्छस् वा यस कामसँग सम्बन्धित केही गर्छस्, तब तँलाई भित्रभित्रै विशेष रूपमा शान्त र सहज महसुस हुन्छ, र तँलाई यसमा विशेष रुचि पनि हुन्छ। त्यसकारण, यदि तँसँग कुनै प्रकारको सबल पक्ष छ भने, परमेश्‍वरको घरको कामलाई यसको आवश्यकता पर्दा, तैँले सोही अनुरूपको कर्तव्य निर्वाह गर्नुपर्छ। तेरा लागि, आफ्नो सबल पक्षलाई प्रयोगमा ल्याउने यो सबैभन्दा उत्तम अवसर हो। त्यसै गरी, तँलाई यो सबल पक्ष परमेश्‍वरले दिनुभएको हुनाले, यो तेरो निजी सम्पत्ति होइन; तैँले यसलाई जथाभावी दुरुपयोग गर्न मिल्दैन। परमेश्‍वरको घरको कामलाई यसको आवश्यकता पर्दा, तैँले यसलाई प्रयोगमा ल्याउनुपर्छ र परमेश्‍वरलाई अर्पण गर्नुपर्छ, र यसलाई आफ्नो कर्तव्यमा प्रयोग गर्नुपर्छ। यो तैँले मुक्ति प्राप्त गर्नका लागि एउटा अनुकूल अवस्था हो, र यो परमेश्‍वरले तँलाई दिनुभएको एउटा श्रेष्ठ अवस्था पनि हो—तैँले कुनै कसर बाँकी नराखी यसलाई राम्ररी प्रयोगमा ल्याउनुपर्छ र यसलाई राम्ररी लागू गर्नुपर्छ। त्यसरी, एक हिसाबमा, तँ आफ्नो सबल पक्षलाई प्रयोगमा ल्याउन सक्छस्, र अर्को हिसाबमा, तँ परमेश्‍वरको प्रेम चुक्ता गर्न आफ्नो कर्तव्य पूरा गर्न पनि सक्छस्। के यो एकदमै राम्रो कुरा होइन र? (हो।)

परमेश्‍वरले मानिसहरूलाई निश्चित प्रकारका सबल पक्षहरू दिनुभएको छ, र प्राचीन कालमा होस् वा आधुनिक कालमा, यीमध्ये एउटा, कलालाई, कहिल्यै गम्भीरतापूर्वक लिइएको छैन, र यसलाई सधैँ तल्लो वर्गका कुराहरूमाझ सूचीकृत गरिएको छ। विशेष गरी, केही तुलनात्मक रूपमा परम्परागत र सामन्ती सामाजिक वातावरणमा, सबै मानिसले कलालाई पूर्वाग्रही नजरले हेर्छन्, र कतिपयले कलालाई सधैँ भेदभाव गर्छन्। मानिसहरूका बीचमा, कलालाई यसरी चित्रण गरिन्छ, र मानिसहरूका धारणाहरू, मानिसहरूका सामन्ती विचारहरू, वा शैतानले मानिसहरूमा रोपिदिने ती विकृत, भ्रामक विचार र दृष्टिकोणहरूले गर्दा तिनीहरूको यस प्रकारको दर्जा, हैसियत, वा परिभाषा हुन्छ। यसको अर्को कारक पनि छ, त्यो के हो भने, दुष्ट समाज र दुष्ट प्रचलनहरूको प्रभावका कारण यस उद्योगमा खराब वातावरणको विकास भएको छ, र त्यसैले, मानिसहरू कला उद्योगलाई खराब मूल्याङ्कन गर्छन्। यस उद्योगमा संलग्‍न कतिपय मानिसले कलामा भएका आफ्ना रुचि र सबल पक्षहरूलाई धेरै नकारात्मक र दुष्ट कुराहरू गर्न प्रयोग गरेका छन्, जसले कलालाई कलङ्कित गरेको छ र कलाको प्रकृतिलाई विकृत बनाएको छ। फलस्वरूप, मानिसहरूले कला जगत्‌का बारेमा धेरै नकारात्मक राय विकास गरेका छन्, र कलाको क्षेत्रमा काम गर्ने वा यस क्षेत्रमा रुचि र सोख भएकाहरूलाई नकारात्मक पात्रका रूपमा हेर्छन्। तर, यस समाज र मानवजातिले यस प्रकारको सबल पक्षलाई जसरी हेरे पनि, छोटकरीमा भन्दा, यदि कुनै व्यक्तिसँग—चाहे ऊ परमेश्‍वरको घरको सदस्य होस् वा परमेश्‍वरको घरबाहिरको व्यक्ति होस्—यस क्षेत्रमा सामर्थ्य वा रुचि र सोख छ भने, यो सबल पक्ष र सोख जन्मजात अवस्थाहरू हुन् भन्‍ने कुरालाई नकार्न सकिँदैन। ती जन्मजात अवस्थाहरू भएकाले नै, ती न त नकारात्मक हुन्छन् न त दुष्ट नै हुन्छन्। विशेष युगहरूमा केही त्रुटिपूर्ण विचार र सिद्धान्तहरूको निर्देशनका कारणले मात्रै कला र यसमा संलग्‍न हुनेहरूलाई दुष्ट र नकारात्मक कुराहरूका रूपमा चित्रण गरिएको हो। यो इतिहासभरि बारम्बार घटेको कुरा हो। यो भटमासलाई मानिसहरूले खान मन पराउने बास्नादार तोफु बनाउन सकिनु, तर तोफुलाई ढुसीजस्ता सूक्ष्मजीवहरूद्वारा कुहाएर गन्हाउने तोफु बनाउन सकिनु जस्तै हो। तँलाई गन्हाउने तोफु खान मन पर्दैन भन्दैमा तैँले भटमास खराब हो भनेर भन्‍न मिल्दैन। के यो तर्क सही छ? (छैन।) यो स्पष्ट रूपमा गलत छ; यो विकृत छ। त्यसकारण, समाजका कला समूहहरूभित्र केही फोहोरी र कुरूप कुरा भए पनि, तैँले कला आफैमा फोहोरी, कुरूप, र नकारात्मक छ भनेर भन्‍न मिल्दैन, र कला मन पराउने र यसमा दक्ष यी मानिसहरू सबै दुष्ट र कुरूप नकारात्मक पात्रहरू हुन् भनेर त झन् भन्‍न मिल्दैन। यो त्रुटिपूर्ण तर्क हो; यो सही बोध होइन। यदि तँ तीमध्ये कतिपय मानिस दुष्ट भएका कारण तिनीहरू सिपालु रहेको कला पनि दुष्ट छ भनेर भन्छस् भने, यो गम्भीर गल्ती हो। परमेश्‍वरले मानिसहरूलाई दिने विभिन्‍न सबल पक्ष मानव संसारको सेवा गर्नका लागि हुन्। यदि मानवजातिको कुनै सांस्कृतिक जीवन नभएको भए, त्यो अत्यन्तै नीरस हुनेथ्यो। परमेश्‍वरले मानिसहरूका लागि सांस्कृतिक जीवनको प्रबन्ध गर्नु गलत होइन। ती दुष्ट कुराहरू सबै नै दियाबलसहरू र शैतानले बाधाहरू सिर्जना गर्ने अवसरहरूको फाइदा उठाएका कारणले भएका हुन्। सिद्ध मानवजाति, अर्थात् अन्ततः पूर्ण पारिने मानवजातिको तुलनामा, परमेश्‍वरले सृष्टि गर्नुभएको यो मानवजाति सिद्ध नभए पनि र यसमा अहिले खराबीहरू भए पनि, यसको अर्थ परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजाति दुष्ट वा नकारात्मक छ भन्‍ने होइन—यी दुई फरक-फरक अवधारणा हुन्। के तिमीहरूले बुझ्यौ? (बुझ्यौँ।) यस दुष्ट युग र दुष्ट संसारले कलालाई, र गाउने र नाच्ने रुचि, सोख, वा सबल पक्षहरूलाई जस्तो स्थान दिए पनि, जेसुकै भए पनि, ती मानवताका आवश्यकताहरू हुन्, र ती कतिपय विशेष मानिसमा हुने रुचि र सोखहरू पनि हुन् भन्‍ने कुरालाई नकार्न सकिँदैन। ती रुचि र सोखहरू हुन्, त्यसैले मानिसहरूमा ती कुरा जन्मजात रूपमै हुन्छन् र ती मानिसहरूले जन्मँदै लिएर आएका कुराहरू हुन्, जसको अर्थ ती परमेश्‍वरबाट आउँछन् र परमेश्‍वरले दिनुभएका हुन्। मानिसहरू जन्मनुभन्दा अघि नै, परमेश्‍वरले तिनीहरूमध्ये प्रत्येकले अँगाल्ने पेसा पूर्वनिर्धारित गरिसक्नुभएको हुन्छ: कतिपय मानिसलाई व्यापार गर्न वाणिज्य क्षेत्रमा राखिन्छ, कतिपयलाई कामदार बन्‍न कारखानाहरूमा राखिन्छ, कतिपयलाई खेतीपाती गर्न कृषि क्षेत्रमा राखिन्छ, कतिपयलाई शिक्षक बन्‍न शिक्षा क्षेत्रमा राखिन्छ, र कतिपयलाई कलाकार बन्‍न कला क्षेत्रमा राखिन्छ। परमेश्‍वरले मानिसहरू जन्मिने बेलासम्ममा विभिन्‍न मानिसभित्र विभिन्‍न प्रकारका सबल पक्षहरू राखिसक्नुभएको हुन्छ। अर्थात्, आफ्नो दैहिक जीवनभित्र, प्रत्येक व्यक्तिका रुचि, सोख, र सबल पक्षहरू फरक-फरक हुन्छन्। तँ जन्मनुभन्दा अघि नै, परमेश्‍वरले तँमा केही विशेष र फरक कुरा थपिसक्नुभएको थियो। यदि तँमा रुचि र सोखहरू वा सबल पक्षहरू छैनन् भने, परमेश्‍वरले तँलाई ती कुराहरू थपिदिनुभएन भनेर तैँले गुनासो गर्नु हुँदैन। यी कुराहरूबिना, तँ अझै पनि जिउन सक्छस्, र तँ अझै पनि आफ्नो कर्तव्य निर्वाह गर्न सक्छस्। अरूको तुलनामा तँमा कुनै कुराको कमी छैन, किनभने तँसँग पनि अरूको जस्तै कर्तव्य निर्वाह गर्ने अवसर छ। तेरा भ्रष्ट स्वभावहरू अरूका जस्तै छन्; कुरा यति मात्र हो कि, मानिसहरूका जन्मजात अवस्थाहरू फरक हुन्छन्—प्रत्येक व्यक्तिका आफ्नै सबल र दुर्बल पक्षहरू हुन्छन्। त्यसोभए मुख्य कुरा के हो त? मुख्य कुरा मानवतामा हुने भिन्‍नताहरू हुन्। आफ्ना जन्मजात अवस्थाहरूभित्र केही विशेष रुचि, सोख, र सबल पक्षहरू भएको व्यक्ति कुनै विशेष प्रतिभा होइन, र आफ्ना जन्मजात अवस्थाहरूभित्र कुनै रुचि, सोख, वा सबल पक्षहरू नभएको व्यक्ति कुनै मामुली व्यक्ति होइन। सबै जना लगभग उस्तै हुन्छन्। कुरा यति मात्र हो कि, परमेश्‍वर तँलाई जे दिनुहुन्छ, तँबाट त्यही माग गर्नुहुन्छ, र तैँले त्यसलाई आफ्नो कर्तव्यमा प्रयोग गर्नुपर्छ, र उहाँ तँलाई जे दिनुहुन्न, तँबाट अतिरिक्त रूपमा माग गर्नुहुन्न। परमेश्‍वरले तँलाई रुचि र सोखहरू, वा सबल पक्षहरू नदिनुभएको हुन सक्ने भए पनि, तेरो मानवताभित्र भएका विभिन्‍न कुरा वा अवस्था तैँले एउटा काम वा कर्तव्य सम्हाल्नका लागि अझै पनि पर्याप्त हुन्छन्। यदि तँ यो कुरा सम्हाल्न असक्षम छस् भने, तँ सम्भवतः कर्तव्य निर्वाह गर्नेहरूको पङ्क्तिभन्दा बाहिरको व्यक्ति हुन सक्छस्, र त्यो पूर्ण रूपमा अर्कै कुरा हुनेछ।

कला मन पराउने विषयबारे हाम्रो छलफल हामी यहीँ टुङ्ग्याउनेछौँ। यस प्रकारको सबल पक्षको चित्रण अब तिमीहरूलाई स्पष्ट भएको हुनुपर्छ। कला मन पराउनेहरू अनौठा वा दुष्ट हुन्छन् भन्‍ने नसोच। यदि तिमीहरू यस्तो सोच्छौ भने, तिमीहरूको बोध अत्यन्तै विकृत छ। तिमीहरूले त्यस्ता मानिसहरूलाई सही तरिकाले व्यवहार गर्नुपर्छ, त्यस्ता मानिसहरूसँग सही तरिकाले अन्तरक्रिया गर्नुपर्छ, र तिनीहरू सिपालु रहेका र तिनीहरूले बुझेका पेसागत सीपहरूलाई आफ्ना कर्तव्यहरूमा लागू गर्न तिनीहरूलाई प्रोत्साहित गर्नुपर्छ। यदि तँ अगुवा वा कामदार होस् भने, तैँले त्यस्ता मानिसहरूलाई आफ्ना सबल पक्षहरू प्रयोगमा ल्याउन मद्दत गर्न, मार्गदर्शन गर्न, र निर्देशन दिन सही तरिका प्रयोग गर्न सिक्नैपर्छ, ताकि तिनीहरू सही मार्गमा लाग्न सकून् र आफ्ना रुचि र सोखहरूसँग सम्बन्धित कर्तव्य सम्हाल्न सकून्, र यसरी मानकअनुरूपका सृजित प्राणी बन्‍न सकून्, र परमेश्‍वरले तिनीहरूलाई दिएका विभिन्‍न रुचि, सोख, र सबल पक्षहरूको योग्य बन्‍न सकून्। यदि तिनीहरू आफ्ना रुचि र सोखहरूसँग सम्बन्धित कर्तव्य सम्हाल्न असक्षम छन् भने, तिनीहरूले अर्को कर्तव्य पूरा गर्नु पनि ठीकै हुन्छ। तर, तिनीहरूलाई आफ्नै रुचि र सोखहरू राख्‍नबाट रोक्नु हुँदैन, किनभने यो मानवताको एउटा हिस्सा हो।

यसै प्रसङ्गमा, मलाई एउटा कुरा याद आयो—अहिले, परमेश्‍वरको घरमा, केही नयाँ गायकले गीतहरू रेकर्ड गरेका छन्। यी नयाँ गायकहरूले लगनशीलताका साथ पेसागत ज्ञान हासिल गरेर अनि गायन अभ्यास गरेर अन्ततः पर्दा पछाडि काम गर्ने अवस्थाबाट मुख्य मञ्चमा प्रस्तुति दिने अवस्थामा पुग्दै, पूरा भएका गीतहरू रेकर्ड गर्न सक्षम भएका छन्। तिनीहरूको गायन पेसागत मानकभन्दा कम भए पनि, र पेसागत गायकहरूको स्तरमा पुगिनसकेको भए पनि, र सुधारका लागि ठाउँ भए पनि—तिनीहरूमध्ये कतिपयले धेरै परिपक्व कौशलबिनै गाउँछन्, कतिपय गायकको आवाज त्यति सुमधुर हुँदैन र तिनीहरूको प्रस्तुति हेर्नमा त्यति आकर्षक हुँदैन—आफ्नो कर्तव्य निर्वाह गर्दा तिनीहरूले अपनाउने मनोवृत्ति प्रोत्साहनयोग्य छ। एउटा अव्यावसायिकबाट पर्दामा नयाँ गायक, अनुभवहीन गायकका रूपमा देखा पर्नु प्रोत्साहनयोग्य कुरा हो। त्यसोभए यस मामिलाको सम्बन्धमा म तिमीहरूलाई के भन्‍न चाहन्छु त? त्यो के हो भने, जब यी नयाँ गायकहरूले रेकर्ड गरेका भजनका भिडियोहरू इन्टरनेटमा अपलोड गरिन्छन्, तब तिमीहरूले तिनीहरूलाई केही प्रोत्साहन दिनुपर्छ। तिमीहरू तिनीहरूलाई लाभ मिल्न सक्ने केही राम्रा सुझाव पनि दिन सक्छौ, तर स-साना गल्तीहरू नखोज, तिनीहरूलाई तिरस्कारपूर्ण तरिकाले नहोच्याऊ, र अति आलोचना नगर। यो मनोवृत्ति राम्रो होइन; कम्तीमा पनि, यसमा कुनै प्रेम र सहनशीलता हुँदैन, र यो आफ्ना ब्रदर-सिस्टरहरूप्रति हुनुपर्ने मनोवृत्ति होइन। त्यसोभए तिनीहरूलाई व्यवहार गर्ने उचित तरिका के हो त? तिमीहरूले तिनीहरूलाई प्रोत्साहित गर्नुपर्छ र तिनीहरूको अलिकति प्रशंसा गर्नुपर्छ, र त्यसपछि केही उपयुक्त सुझाव दिनुपर्छ; यो मात्रै तिनीहरूका लागि लाभदायक हुन्छ। कम्तीमा पनि, तिनीहरूसँग मञ्चमा उभिएर परमेश्‍वरको प्रशंसा गर्न भजनहरू गाउने साहस हुन्छ, जुन परमेश्‍वरका चुनिएका मानिसहरूका लागि लाभदायक छ। त्यसकारण, सबैले तिनीहरूलाई आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न मद्दत गर्नुपर्छ, र सबैले गैरजिम्मेवारपूर्ण टिप्पणीहरू बिलकुलै गर्नु हुँदैन, र तिनीहरूको डाहा गर्नु हुँदैन। परमेश्‍वरको घरमा गाउनमा प्रतिभाशाली मानिसहरूको सङ्ख्या बढेको छ भन्‍ने कुरामा हामी खुसी र प्रसन्न हुनुपर्छ—यो राम्रो कुरा हो। यस क्षेत्रमा सबल पक्ष हुनेहरू सबैलाई ती प्रयोग गर्न अनुमति दिइनुपर्छ; तिनीहरू सबैलाई अवसरहरू दिइनुपर्छ। तिनीहरू आफैमा खासै आत्मविश्वासी हुँदैनन्, र तिनीहरूसँग आफ्ना थोरै रुचि र सोखहरूका लागि कुनै निकास हुँदैन। यदि तिनीहरूमा यो कर्तव्य राम्ररी निर्वाह गर्ने इच्छा छ र तिनीहरूले भजनका भिडियोहरू रेकर्ड गरेका छन् भने, तैँले त्यो हेर्दा कम्तीमा पनि दुई-तीन पटक सुन्‍नुपर्छ—ध्यान दिएर र होसियारीसाथ सुन्—र तिनीहरूलाई केही प्रोत्साहन दे। पिठ्यूँपछाडि तिनीहरूलाई कमजोर नबना। तैँले अरू ब्रदर-सिस्टरहरूलाई तिनीहरूले गाएका गीतहरू अझ बढी सुन्‍न र तिनीहरूलाई अझ बढी लाइक दिन भन्‍नुपर्छ। तिनीहरूमध्ये कतिपयले सच्चा भावनाका साथ, हरेक पङ्क्ति एकदमै स्पष्ट रूपमा उच्चारण गर्दै निकै राम्ररी गाउँछन्; तिनीहरूको पहिरन र हाउभाउ मर्यादित र उचित हुन्छ, जसले गर्दा तिनीहरू अरूसामु उपयुक्त देखिन्छन्। तर, अरू भने आफ्नो आवाज र प्राविधिक परिपक्वताको हिसाबमा अलिक कमजोर हुन सक्छन्। यदि तँलाई सङ्गीतबारे अलिकति थाहा छ र तँ गल्तीहरू औँल्याउन सक्छस् भने, तिनीहरूलाई गिल्ला नगर्; तिनीहरूलाई उचित रूपमा व्यवहार गर्, र तिनीहरूलाई उसै गरी प्रोत्साहित र समर्थन गर्। परिवारको सदस्यका रूपमा, दाजुभाइ वा दिदीबहिनीका रूपमा तँसँग हुनुपर्ने मनोवृत्ति यही हो। अरूलाई होच्याउने वा अरूलाई तल खसाल्ने कुराहरू गरेर खराब मानिसहरूको सिको नगर्। यदि तँ आफै मञ्चमा उक्लिन सक्दैनस्, तैपनि अरू कोही उक्लिँदा, तँ डाहा गर्छस्, उसलाई कमजोर पार्छस्, र पिठ्यूँपछाडि तुच्छ टिप्पणीहरू गर्छस् भने, यो मानवताको कमी हुनु हो। यसरी आफूलाई आचरणमा ढाल्नु राम्रो होइन—यो घृणास्पद कुरा हो। तैँले उनीहरूका गल्तीहरू औँल्याउन सके पनि, अझै पनि उनीहरूलाई प्रोत्साहित गर्नुपर्छ। तैँले यसो गर्नुपर्छ किनभने उनीहरू ब्रदर-सिस्टरहरू हुन्—उनीहरू पेसाकर्मी होइनन्, न त उनीहरूले पेसागत तालिम नै लिएका छन्—र उनीहरू अहिले जसरी गाउन सक्षम हुनु विशुद्ध रूपमा उनीहरूको आफ्नै अन्वेषण, अभ्यास, र कडा परिश्रमको नतिजा हो। त्यसोभए उनीहरूलाई किन प्रोत्साहित नगर्ने त? यदि तँ प्रोत्साहित गर्न र सहनशील हुन सिक्छस्, र उनीहरूको गायनमा केही कमीकमजोरी देख्दा पनि प्रेम र सहनशीलताका साथ उनीहरूलाई सही तरिकाले व्यवहार गर्न सक्छस् भने, यसले तँमा मानवता छ भन्‍ने देखाउँछ। कतिपय मानिस सधैँ परमेश्‍वरको घरका गायकहरूलाई गैरविश्‍वासी संसारका पेसागत गायकहरूसँग तुलना गर्छन्, र त्यसैले परमेश्‍वरको घरका गायकहरूलाई तुच्छ ठान्छन् र यो वा त्यो कुरामा स-साना गल्तीहरू खोज्छन्। यो मानवताको कमी हुनु हो। यदि तँ सधैँ अरूका कमी-कमजोरीहरू औँल्याउँछस् र सधैँ आफूलाई अरूभन्दा राम्रो र श्रेष्ठ ठान्छस् भने, तँ मानिसहरूलाई प्रभावित गर्ने गीत किन गाउन सक्दैनस् त? अरूका स-साना गल्तीहरू नखोज्। मण्डलीका गायकहरू पेसागत पृष्ठभूमिबाट आएका होइनन्, तर तिनीहरूका बारेमा एउटा विशेष कुरा छ: यो काम गर्दा, तिनीहरू कुनै करियरमा संलग्‍न भइरहेका हुँदैनन्—तिनीहरू आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुन्छन्। तिनीहरूको कर्तव्य भनेको परमेश्‍वरका वचनहरू गाउन र परमेश्‍वरका वचनहरूको गवाही दिन र तिनलाई प्रसार गर्न आफ्नो आवाज प्रयोग गर्नु हो। त्यसकारण तैँले तिनीहरूलाई प्रोत्साहित गर्नुपर्छ। के यसो गर्नु राम्रो होइन र? (हो।) यो मानवता हुनु हो। नयाँ गायकले गाएको सुन्दा यसो भन्दै स-साना गल्तीहरू नखोज्, “यस व्यक्तिको आवाज राम्रो छैन। यो परिष्कृत छैन। ऊ तालमा छैन, र उसको सुर पनि मिलेको छैन—म त सुन्दिनँ! कसैले पनि उसलाई सुन्‍नु हुँदैन, र कसैले पनि उसलाई लाइक दिनु हुँदैन!” यस मामिलामा तँ किन यति धेरै नाटीकुटी गरिरहेको छस्? अलिकति बेतालमा गाउनु, धेरै परिपक्व कौशलबिनै गाउनु, वा गैर-पेसेवर तरिकाले गाउनु—के यो सत्यता सिद्धान्तहरू विपरीत जान्छ? जाँदैन। ऊ आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ, त्यसकारण तैँले उसको गायनलाई तेरा आफ्नै रुचि र दृष्टिकोणहरूका आधारमा नभई कर्तव्य निर्वाह गर्ने सिद्धान्तहरूअनुसार मापन गर्नुपर्छ। ठाडै भन्दा—तँलाई के थाहा छ र? यदि तँलाई गायनबारे यति धेरै थाहा छ भने, तैँले किन एउटा पनि गीत उदाहरणीय मानकअनुसार गाएको छैनस् त? तैँले उदाहरणीय मानकअनुसार नगाएको हुनाले, तँलाई अरूको आलोचना गर्ने कुनै अधिकार छैन। अवश्य नै, तैँले उदाहरणीय मानकअनुसार गाउन सके पनि, तैँले अझै पनि अरूको आलोचना गर्नु हुँदैन। उनीहरूले यो काम गर्नु आफैमा कला उद्योगमा संलग्‍न हुनु वा कला क्षेत्रमा काम गर्नु होइन—यो कर्तव्य निर्वाह गर्नु र परमेश्‍वरका वचनहरू प्रसार गर्नु हो, जसको प्रकृति फरक हुन्छ। उनीहरूले राम्ररी गाए पनि वा नगाए पनि, उनीहरू आफूले गर्ने कुरामा आफ्नो हृदय लगाइरहेका हुन्छन्—उनीहरू आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुन्छन्। जहाँसम्म उनीहरूको पेसागत स्तरको कुरा छ, त्यो अर्कै मामिला हो। पेसेवर मानक सिकाइ र दीर्घकालीन अभ्यासमार्फत मात्रै बिस्तारै हासिल गर्न सकिन्छ। परमेश्‍वरको घरका नयाँ गायकहरू अहिले जुन स्तरमा छन् त्यही स्तरमा छन्। मानिसहरूले तिनीहरूलाई सही तरिकाले व्यवहार गर्नुपर्छ—सबैले प्रोत्साहन दिनुपर्छ र समर्थन गर्नुपर्छ। स-साना गल्तीहरू नखोज्, र आडम्बर नदेखा। यदि तँ आडम्बर देखाउँछस् भने, मानिसहरूले तँलाई विकर्षणीय ठान्‍नेछन्। यदि तँ आडम्बर देखाउँदैनस् र बरु अझै दुई-चार पटक सुन्छस् भने, मानिसहरूले तँलाई निकै असल व्यक्ति, परमेश्‍वरको डर मान्‍ने हृदय भएको, परमेश्‍वरको घरमा हृदय भएको, र सहनशीलता भएको व्यक्ति सोच्नेछन्, र यो तेरो मानवताको एउटा सबल पक्ष, एउटा असल गुण हो। यदि तँ यसो गर्छस् भने, मानिसहरूले तँलाई मन पराउनेछन्, र परमेश्‍वरले पनि तँलाई मन पराउनुहुनेछ। यदि तँ आफू उत्कृष्ट र विशेषज्ञ रहेको देखाउन सधैँ गल्तीहरू खोज्दै आडम्बर देखाउँछस् भने, तँ परमेश्‍वरको घरको कामलाई कमजोर पार्दै र त्यसमा बाधा दिँदै छस्। यदि तँ कामलाई कमजोर पार्छस् भने, के परमेश्‍वर तँलाई मन पराउन सक्नुहुन्छ र? (सक्नुहुन्न।) परमेश्‍वर तँलाई मन पराउनुहुनेछैन, र दाजुभाइ-दिदीबहिनीहरूले पनि तँलाई मन पराउनेछैनन्। गायकहरूले तँलाई कसरी चिढ्याएका छन् र? तैँले किन यसरी आडम्बर देखाउनुपर्छ र तिनीहरूलाई कमजोर पार्नुपर्छ? के तँ एक जनालाई मात्रै कमजोर पारिरहेको छस् र? होइन, तँ परमेश्‍वरको घरको कामलाई कमजोर पारिरहेको छस्, परमेश्‍वरलाई नै कमजोर पारिरहेको छस्। यदि तँ यसो गर्छस् भने, के परमेश्‍वर तँलाई मन पराउन सक्नुहुन्छ र? तैँले तिनीहरूले गाएका गीतहरूमा गल्तीहरू सुने पनि, तैँले तिनीहरूलाई गलत ठहराउनु हुँदैन, किनभने कुनै पनि विशेषीकृत काममा पेसागत मानकमा पुग्‍नु भनेको रातारात हुने कुरा होइन। यो सजिलो छैन—यसका लागि निखार्ने काम र अभ्यास, र पेसाकर्मीहरूबाट मार्गदर्शन चाहिन्छ; र यसका साथै, सबैका फरक-फरक योग्यताहरू हुन्छन्। परमेश्‍वर समेत तिनीहरूसँग पेसागत मानकका आधारमा मागहरू गर्नुहुन्न भने, तिनीहरूसँग यस्तो माग गर्ने तँसँग के योग्यता छ र? अरू मानिसहरू कुनै निश्‍चित स्तरमा पुग्नुपर्छ भनी सधैँ माग गर्नु तर्कसङ्गत कुरा होइन; यो अहङ्कार हो, र यो आडम्बर देखाउनु हो। अरू उत्कृष्ट देखिँदा र प्रशंसा पाउँदा, तँलाई हृदयमा खिन्न महसुस हुन्छ र तँ लगातार डाहा गर्छस्, आफ्नो आडम्बर सन्तुष्ट पार्न सधैँ केही व्यङ्ग्यात्मक र घोच्‍ने शब्दहरू भन्‍न चाहन्छस्। यसो गर्नु कति नीच कुरा हो! यो घृणास्पद र दुष्ट कुरा हो, र यस्तो व्यक्तिमा विवेक र समझ हुँदैन। तैँले अरूका लागि लाभदायक कुराहरू, अरूको प्रशंसाको योग्य र परमेश्‍वरले पनि स्मरण गर्ने कुराहरू गर्नुपर्छ। अरूलाई कमजोर पार्ने कुराहरू नगर्। के तँ यो कुरा याद राख्नेछस्? (राख्नेछु।) यदि तँ सहनशील, सहयोगी, र प्रोत्साहनदायी बन्‍ने कुरा हासिल गर्न सक्दैनस्, र मण्डलीको कामको रक्षा र सुरक्षा गर्न पुग्न सक्दैनस्, यदि तँमा यो मानवताको कमी छ भने, कम्तीमा पनि अरूलाई कमजोर पार्ने कुराहरू गर्ने वा भन्‍ने नगर्। यो गरिनुपर्ने सबैभन्दा न्यूनतम कुरा हो—यो सीमा हो।