सत्यता कसरी पछ्याउने (११) भाग दुई
सबै जना आशिष् प्राप्त गर्न चाहन्छन्। कोही पनि नष्ट हुन र नरकमा पठाइन चाहँदैन, तर धेरै मानिसहरू आफ्नो इच्छाविपरीत बारम्बार दुष्टता गर्छन्, र नरकतर्फ जाने मार्गमा तीव्र गतिमा हिँड्छन्। कतिपय मानिसहरू परमेश्वरको घरले दिएको आफ्नो कर्तव्य निर्वाह गर्ने अवसरहरूलाई बारम्बार बेवास्ता गर्छन्, पवित्र आत्माले आफूलाई झकझकाउँदा र हप्काउँदा बेवास्ता गर्छन्, र परमेश्वरको घरको सहायता र अपेक्षाहरूलाई बेवास्ता गर्छन्। तिनीहरू झाराटारुवा हुन, जथाभावी कुकर्म गर्दै हिँड्न, मनमानी र बेपरवाह तरिकाले कार्य गर्न, र मण्डलीको काममा अवरोध र बाधा पुर्याउन जिद्दी गर्छन्, र अलिकति पनि आत्मचिन्तन गर्दैनन्। के तिनीहरू सुध्रिन नसक्ने, निर्लज्ज मानिस मात्रै होइनन् र? तँ यसरी निरन्तर दुष्टता गर्छस्। अरूले तँलाई यसो गर्न बाध्य पारेका होइनन्—यो स्पष्ट रूपमा तेरो व्यक्तिगत छनौट हो, तँलाई व्यक्तिगत रूपमा मन पर्ने र तैँले खुसीसाथ गर्ने कुरा हो। यदि कसैले तँ हिँडिरहेको मार्ग परमेश्वरको प्रतिरोध गर्ने र नरकतर्फ लैजाने मार्ग हो भनी भन्यो भने, तँ दुःखी हुन्छस् र नकारात्मक महसुस गर्छस्। तँ के कुराबारे नकारात्मक महसुस गरिरहेको छस्? के तैँले यो आफैमाथि ल्याएको र आफ्नै कर्मको फल पाएको होइनस् र? के तँ यसैको हकदार होइनस् र? कतिपय मानिस भन्छन्, “म अनिच्छित रूपमै दुष्टता गर्छु। हरेक पटक, म कामकुराहरू राम्ररी गर्न चाहन्छु, तर गरिसकेपछि, म मेरा कार्यहरूका परिणामहरू त्यति राम्रा नभएको पाउँछु।” तैँले दुष्टता गरेको छस्, अवरोध र बाधाहरू खडा गरेको छस्, र मण्डलीको काममा नोक्सानी निम्त्याएको छस्। तँलाई तेरा अपराधहरूका लागि जवाफदेही नठहराइए पनि, तिनले लुकेका खतराहरू छोडेका छन्, र तँ भविष्यमा ती अपराध फेरि गर्न सक्छस्। यो अत्यन्तै खतरनाक कुरा हो। यो कुनै व्यक्ति हिँडेको बाटो जस्तै हो—ऊ जहाँ-जहाँ हिँड्छ, उसले त्यहाँ-त्यहाँ अवश्यै डोबहरू छोड्छ। के तैँले आफूले गरेका अपराधहरू चिनेको छस्? के तँलाई तिनका लागि पछुतो लाग्छ? के तँलाई ऋणी र दुःखी महसुस हुन्छ? के तँ तिनको कारणले धुरुधुरु रुन्छस्? के तैँले आफ्नो हृदय परिवर्तन गरेको छस्? के तँ साँच्चै आफ्ना दुष्ट कार्यहरूलाई घृणा गर्छस्? के तैँले आफ्नो हातमा भएको दुष्टता त्यागेको छस् र परमेश्वरसामु साँचो रूपमा पश्चात्ताप गरेको छस्? कतिपय मानिस भन्छन्: “म पनि आफैलाई घृणा गर्छु। मैले एकान्तमा आफैलाई अनगिन्ती पटक थप्पड हानेको छु, र म परमेश्वरसामु घुँडा टेकेर, प्रार्थनामा धुरुधुरु रोएको पनि छु।” तँ यी प्रक्रियाहरूबाट गुज्रेको हुन सक्छस्, तर परमेश्वर यी प्रक्रियाहरूलाई हेर्नुहुन्न। परमेश्वरले हेर्ने कुरा भनेको त तेरा प्रकटीकरणहरू हुन्। जब फेरि उस्तै परिस्थिति उत्पन्न हुन्छ वा तँलाई फेरि उही कर्तव्य आइपर्छ, तब तँ त्यसलाई कसरी लिन्छस्? के तँमा निष्कपटता र बफादारी छ? के तँ मूल्य चुकाउन सक्छस्? के तँ परमेश्वरका वचनहरूअनुसार कार्य गर्न सक्छस्? तैँले आफ्नो हृदय परिवर्तन गर्नुका प्रकटीकरणहरू के-के हुन्? के तैँले आफ्नो हातमा भएको दुष्टता त्यागेको छस्? के तँ अझै पनि आफूले विगतमा गरेका दुष्ट कुराहरू गरिरहेकै छस्? के तँ अझै पनि झूट बोलिरहेको छस्, अझै पनि मनमानी र बेपरवाह तरिकाले कार्य गरिरहेको छस्, अझै पनि कामका प्रबन्ध र सत्यता सिद्धान्तहरूविरुद्ध गइरहेको छस्, अझै पनि आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरूअनुसार कार्य गरिरहेको छस्, र अझै पनि मण्डलीको काममा अवरोध र बाधा पुर्याउन दुष्ट मानिसहरूसँग मिलोमतो गरिरहेको छस्? यदि तँ अझै पनि यसरी नै कार्य गर्छस् भने, तेरो पश्चात्ताप र धुरुधुरु रुवाइ झूटो र झाराटारुवा हो। झाराटारुवा, झूटो पश्चात्तापलाई केका रूपमा चित्रण गरिन्छ? (पाखण्ड।) के यसलाई पाखण्डका रूपमा चित्रण गरिन्छ? यसलाई छलका रूपमा चित्रण गरिन्छ। के यो भनाइ सही छ? (छ।) परमेश्वरको नजरमा, यस्तो धुरुधुरु रुवाइ र यस्तो पश्चात्ताप छल हो। उदाहरणका लागि, परमेश्वर भन्नुहुन्छ, “यस वर्षको उब्जनीबाट मलाई दश किलो चामल चढाऊ।” कतिपय मानिस यो चढाउन अनिच्छुक हुन्छन् र आफै खानका लागि त्यो राख्न चाहन्छन्, त्यसैले तिनीहरू दश किलो धानको भुस लिन्छन् र त्यसलाई वेदीमा राख्छन्। यो के हो भनेर सोधिँदा, तिनीहरू यो धान हो भन्छन्। परमेश्वर भन्नुहुन्छ, “के मैले तँसँग चामल मागेको थिइनँ र?” तिनीहरू भन्छन्, “धान नै चामल हो।” के यो छल हो? (हो।) यो खुल्लमखुल्ला छल हो। दुष्टता गरेपछि, तँ आफ्नो पाप स्वीकार गर्छस्, आफू परमेश्वरप्रति ऋणी रहेको भनी बारम्बार भन्छस्, र धुरुधुरु रुने समेत गर्छस्, तर त्यसपछि, तँ केही नभएजस्तो व्यवहार गर्छस् र पहिलेकै जस्तो तरिकाले कामकुराहरू गर्न जारी राख्छस्। परमेश्वरले यस प्रकारको व्यवहारलाई छलका रूपमा चित्रण गर्नुहुन्छ। परमेश्वरको नजरमा, यस प्रकारको छली व्यवहार दुष्ट कार्यहरू बराबर हुन्छ। यदि तैँले साँच्चै आफूलाई बदल्ने र सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्ने अठोट गरेको छस् भने, तैँले सङ्कल्पहरू गर्नु वा धुरुधुरु रुनु आवश्यक छैन। पहिले यो गर्—आफूले गर्न सकेको बेला परमेश्वरसामु प्रतिज्ञा गर्। यदि तँ त्यसो गर्न सक्दैनस् भने, तैँले प्रतिज्ञा गर्नै हुँदैन। यदि तैँले प्रतिज्ञा गरिस् भने, परमेश्वरले यसलाई गम्भीरतापूर्वक लिनुहुनेछ र तैँले प्रतिज्ञा गरेको कुराको नतिजा माग्नुहुनेछ। यदि तँ यो पूरा गर्न सक्दैनस् भने, परमेश्वरको नजरमा त्यो छल हो—परमेश्वरलाई छल गर्नु तेरो विरुद्धमा दर्ता हुने अर्को दुष्ट कार्य बन्छ। त्यसैले, यदि तँ साँचो रूपमा पश्चात्ताप गर्न सक्दैनस् र त्यसको सट्टा आफ्ना प्रतिज्ञाहरूद्वारा परमेश्वरलाई छल गर्छस् भने, तँ हिँडिरहेको मार्ग विनाशतर्फ लैजाने मार्ग हो। तेरो प्रत्येक दुष्ट कार्य नरकको ढोकामाथिको प्रहार हो; सायद यी प्रहारहरूमध्ये एउटाले अन्ततः त्यो खोल्नेछ, र त्यसपछि तेरो मृत्युको समय आइसकेको हुनेछ। कतिपय मानिसका हकमा, तिनीहरूले परमेश्वरमा विश्वास गर्न थालेदेखि अहिलेसम्म, तिनीहरूका सबै कार्य र व्यवहार निरन्तर दुष्ट कार्यहरू थुपार्ने र नरकको ढोकामा प्रहार गर्ने खालका, र साथसाथै, परमेश्वरको रिस थुपार्ने खालका रहँदै आएका छन् भनेर भन्न सकिन्छ; तिनीहरू आफूमाथि परमेश्वरको दण्ड आइपर्ने प्रतीक्षा गरिरहेका छन्। तर, अरू मानिसहरू परमेश्वरमा विश्वास गर्ने क्रममा सकारात्मक र सही दिशामा अघि बढिरहेका छन्। तिनीहरू हिँड्ने मार्ग स्वर्गको राज्यतर्फ जाने मार्ग हो। यस अवधिमा, तिनीहरू विद्रोही भए पनि र तिनीहरूले भ्रष्ट स्वभावहरू प्रकट गरे पनि, र तिनीहरूमा अवश्य नै परमेश्वरबारे धारणाहरू र कल्पनाहरू भए पनि, र आफ्नो कर्तव्य निर्वाह गर्दा आफ्नै इच्छा भए पनि, यी प्रकटीकरणहरू प्रकाश गर्दा वा यी व्यवहारहरूमा संलग्न हुँदा, तिनीहरू निरन्तर सत्यता स्वीकार पनि गरिरहेका हुन्छन्, र निरन्तर आफ्ना भ्रष्ट स्वभावहरू फालिरहेका र तिनलाई रूपान्तरित गरिरहेका हुन्छन्; तिनीहरूले साँचो रूपमा आफ्नो हृदय परिवर्तन गरेका हुन्छन्, र तिनीहरूसँग सत्यता स्वीकार गर्ने र त्यसमा समर्पित हुने प्रकटीकरण र वास्तविकता हुन्छ। त्यस्ता मानिसहरूले कुनै समय धेरै अपराध गरेका र परमेश्वरले घृणा गर्ने धेरै कुरा गरेका, र परमेश्वरले दोषी ठहराउने केही कुरा गरेका भए पनि, सत्यता बुझेपछि र आफ्नो हृदय परिवर्तन गरेपछि, तिनीहरू बिस्तारै आफ्ना भ्रष्ट स्वभावहरू फाल्छन् र उप्रान्त दुष्टता गर्दैनन्। तिनीहरूमा भएको हृदय परिवर्तन, र सत्यताका लागि कष्ट सहन र मूल्य चुकाउन तिनीहरूले गरेको अठोट र सङ्कल्पले परमेश्वरलाई प्रभावित गर्छन्। साथसाथै, तिनीहरूका प्रयास र कार्यहरू, र तिनीहरूले तयार गर्ने असल कार्यहरूले बिस्तारै परमेश्वरको स्वीकृति र अनुमोदन प्राप्त गर्छन्, र यी कुराहरूलाई परमेश्वरद्वारा स्मरण पनि गरिन्छ। त्यस्ता मानिसहरूका समग्र प्रकटीकरणहरूबाट हेर्दा, तिनीहरू तिमीहरूले प्रायजसो भनेजस्तै आधारभूत रूपमा सच्चा मानिस हुन्। यी सच्चा मानिसहरू हिँड्ने मार्ग स्वर्गको राज्यतर्फ लैजाने मार्ग हो, मुक्तितर्फ लैजाने मार्ग हो। त्यस्ता मानिसहरू मुक्तिको मार्गमा हिँडिरहेका छन्। अवश्य नै, यी मानिसहरूका प्रकटीकरणहरू आधारभूत रूपमा अरूको दबाब, सुपरिवेक्षण, व्यवस्थापन, वा काटछाँटको नतिजा होइनन्, न त मण्डलीका प्रशासनिक आदेशहरूको नियमनको परिणाम नै हुन्। बरु, तिनीहरू सक्रिय रूपमा आफ्नो हृदय परिवर्तन गर्छन् र तिनीहरूसँग आफ्नो जीवन प्रवेशमा आफ्नै व्यक्तिगत योजना र रूपरेखाहरू, साथै आफ्नै सक्रिय सङ्कल्प हुन्छ। यी मानिसहरू हिँड्ने मार्ग सही मार्ग हो। तिनीहरू यी सकारात्मक, सक्रिय प्रकटीकरणहरूद्वारा आफ्नै गन्तव्यका लागि असल कार्यहरू तयार गरिरहेका छन्। तिनीहरूको व्यक्तिगत, व्यक्तिपरक पछ्याइले नै तिनीहरूले लिने मार्ग निर्धारण गर्छ र तिनीहरूप्रतिको परमेश्वरको मनोवृत्ति निर्धारण गर्छ। अन्ततः, तिनीहरूको व्यक्तिगत, व्यक्तिपरक पछ्याइका कारण, तिनीहरू परमेश्वरबाट उपयुक्त फैसला र उपयुक्त गन्तव्य प्राप्त गर्न सक्षम हुन्छन्।
मलाई भन, मानिसहरूले कसरी न्यायोचित कार्यहरू गर्नुपर्छ, र त्यो असल कार्यहरू तयार गर्नु भनेर मानिनका लागि तिनीहरूले यो कस्तो स्थिति र अवस्थामा गर्नुपर्छ? कम्तीमा पनि, तिनीहरूमा सकारात्मक र सक्रिय मनोवृत्ति हुनैपर्छ, र तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा बफादार हुनैपर्छ, सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न सक्नैपर्छ, र परमेश्वरको घरका हितहरूको रक्षा गर्नैपर्छ। सकारात्मक र सक्रिय हुनु नै मुख्य कुरा हो। यदि तँ सधैँ निष्क्रिय हुन्छस् भने, यो समस्याजनक कुरा हो। यो त तँ परमेश्वरको घरको सदस्य नभएजस्तो हो; तँ आफ्नो कर्तव्य निर्वाह गरिरहेको छैनस्, बरु तलब पाउनका लागि रोजगारदाताको आदेशमा त्यसो गर्नुबाहेक तँसँग कुनै विकल्प छैन—तँ यो स्वेच्छाले गर्दैनस्। तँ अलिकति गर्छस् भने पनि, तँ आफूले गर्नैपर्ने भएकाले यो गरिरहेको छस्, र तँ यो निष्क्रिय रूपमा गरिरहेको छस्। यदि यसमा तेरा हितहरू समावेश नभएका भए, तँ यो पटक्कै गर्नेथिइनस्, वा यदि कसैले तेरो सुपरिवेक्षण नगरेको भए, तँ यो पक्कै पनि गर्नेथिइनस्। यस्ता नकारात्मक र निष्क्रिय कार्यहरू असल कार्य होइनन्। त्यसकारण, यस प्रकारको व्यक्ति अत्यन्तै मूर्ख हुन्छ। ऊ सकारात्मक कुराहरू गर्न र आफूले गर्नुपर्ने कुराहरू गर्नमा अत्यन्तै निष्क्रिय हुन्छ—ऊ आफूले सोच्न सक्ने कुराहरू गर्दैन, न त ऊ समय र ऊर्जा आवश्यक पर्ने आफू सक्षम रहेका कुराहरू नै गर्छ, ऊ केवल पर्खन्छ र छेउमा बसेर हेर्छ, र अरूले नै ती कुराहरू गरिदिए सबैभन्दा राम्रो हुन्छ भनी सोच्छ। यो झन्झटिलो कुरा हो, र उसका लागि आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न अत्यन्तै गाह्रो हुन्छ। पहिलो, तेरो क्षमता अपर्याप्त भएर होइन; दोस्रो, तेरो अनुभव अपर्याप्त भएर होइन; तेस्रो, तँसँग यो गर्नका लागि सही अवस्थाहरू नभएर होइन। तँसँग यो काम गर्ने क्षमता छ, र यदि तैँले समय र ऊर्जा खर्च गरिस् भने, तँ यो गर्न सक्षम हुनेछस्, तर तँ गर्दैनस्, तँ असल कार्यहरू तयार गर्न असफल हुन्छस्। यो अत्यन्तै खेदजनक छ। म यो खेदजनक छ भनेर किन भन्छु? किनभने यदि तैँले धेरै वर्षपछि यसलाई फर्केर हेरिस् भने, तँलाई पछुतो लाग्नेछ, र यदि तँ त्यो काम गर्नका लागि त्यो वर्ष, त्यो महिना, र त्यो दिनमा फर्केर जान चाहन्छस् भने, परिस्थितिहरू परिवर्तन भइसकेका हुनेछन् र त्यो समय बितिसकेको हुनेछ। तैँले त्यस्तो अर्को मौका पाउनेछैनस्; जब त्यो अवसर बित्छ, त्यो बित्छ, जब त्यो गुम्छ, त्यो गुम्छ। यदि तैँले राम्रो खाना खाने वा राम्रो लुगा लगाउने जस्ता दैहिक सुखहरू गुमाइस् भने, यसले खासै फरक पार्दैन, किनभने यी कुराहरू खोक्रा हुन्छन्, र तिनले तेरो जीवन प्रवेश वा तेरो असल कार्यहरूको तयारी, वा तेरो गन्तव्यमा कुनै प्रभाव पार्दैनन्। तर, यदि कुनै कुरा परमेश्वरको तँप्रतिको मनोवृत्ति र मूल्याङ्कनसँग, वा तँ हिँड्ने मार्ग र तेरो गन्तव्यसँग समेत सम्बन्धित छ भने, त्यो गर्ने अवसर गुमाउनु अत्यन्तै खेदजनक हुन्छ। यस्तो किन हुन्छ भने, यसले तेरो अस्तित्वको भविष्यको मार्गमा एउटा दाग छोड्नेछ र पछुतो उत्पन्न गराउनेछ, र तैँले तेरो पूरै जीवनमा त्यसलाई परिपूर्ति गर्ने अर्को मौका कहिल्यै पाउनेछैनस्। के यो खेदजनक होइन र? यदि तेरो क्षमता असाध्यै कमजोर छ र तैँले यो काम गर्न सक्दैनस् भने, त्यो खेदजनक छैन—परमेश्वरको घरले यो गर्नका लागि अरू कसैलाई प्रबन्ध गर्न सक्छ। यदि तँ यो राम्ररी गर्न सक्षम छस्, तर तँ त्यो गर्दैनस् भने, त्यो अत्यन्तै खेदजनक हुन्छ। यो परमेश्वरद्वारा तँलाई दिइएको अवसर हो, तर तँ यसलाई गम्भीरतापूर्वक लिँदैनस्, तँ यो अवसरलाई च्याप्प समात्दैनस्, र तँ यसलाई आफ्नो औँलाहरूबाट फुत्कन दिन्छस्—यो अत्यन्तै खेदजनक छ! तेरा लागि, यो खेदजनक छ; परमेश्वरका लागि, यो निराशाजनक छ। परमेश्वरले तँलाई पर्याप्त क्षमता र श्रेष्ठतर अवस्थाहरू दिनुभएको छ, जसले तँलाई केही कुरा स्पष्ट रूपमा देख्न र यस कामका लागि सक्षम बनाउँछ। तर, तँमा आफ्नो कर्तव्यप्रति सही मनोवृत्ति छैन, तँमा निष्कपटता छैन, अर्पण त झनै छैन, र तँ यो राम्ररी गर्नका लागि आफ्नो सक्दो प्रयास गर्न चाहँदैनस्। यसले परमेश्वरलाई निकै निराश तुल्याउँछ। त्यसैले, यदि तँ अल्छी छस् र तँलाई दिइएको काम सधैँ झन्झटिलो लाग्छ र तँ त्यो गर्न चाहँदैनस्, र तँ भित्रभित्रै “अरू कसैलाई नभई मलाई नै किन यो गर्न लगाइँदै छ?” भन्दै गनगन गर्छस् भने, यो एक मूर्ख विचार हो। तँलाई कुनै कर्तव्य आइपर्दा, त्यो दुर्भाग्यपूर्ण घटना होइन, त्यो एक सम्मान हो, र परमेश्वरद्वारा गरिएको उन्नयन हो। तैँले यो खुसीसाथ स्वीकार गर्नुपर्छ र आफूले निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुपर्छ; यसले तँलाई लखतरान पार्नेछैन। यसको विपरीत, यदि तँ आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्छस्, सत्यता बुझ्छस् र समस्याहरू समाधान गर्छस् भने, तैँले आफ्नो हृदयमा शान्ति र स्थिरता महसुस गर्नेछस्, र तैँले परमेश्वरलाई निराश तुल्याएको हुनेछैनस्। तँसँग परमेश्वरसामु आस्था हुनेछ र तँ शिर ठाडो पारेर आफूलाई आचरणमा ढाल्न सक्षम हुनेछस्। यदि तैँले आफ्नो कर्तव्य पूरा गरेको छैनस् र तँ सधैँ झाराटारुवा हुन्छस् भने, यो एउटा अपराध हो, र तैँले कुनै क्षति नगरेको भए पनि, यो अपराधले तेरो हृदयमा आजीवन पछुतो छोड्नेछ। यो अपराध अतल कालो खाडलजस्तो हुनेछ; जब-जब तँ यसबारे सोच्छस्, तब-तब तैँले पीडा र असहजता, हृदय छेड्ने पीडा महसुस गर्नेछस्। तँसँग शान्ति वा आनन्द नहुने मात्रै होइन, बरु, पछुतो र सास्तीको पीडा तेरो पूरै जीवनभरि तँभित्रै रहनेछ र त्यो कहिल्यै मेटिनेछैन। के यो अनन्त पछुतो होइन र? अनि परमेश्वरको दृष्टिकोणबाट नि? परमेश्वर यो मामिला निर्धारण गर्न सत्यता सिद्धान्तहरू प्रयोग गर्नुहुन्छ, त्यसैले यसको प्रकृति तैँले महसुस गर्नेभन्दा अत्यन्तै गम्भीर हुन्छ। के तैँले बुझिस्? (बुझेँ।) त्यसैले, परमेश्वरले तँ हिँडिरहेको मार्ग हेर्नका लागि तेरो सामान्य कार्यसम्पादनलाई, र सत्यता र आफ्नो कर्तव्यप्रतिको तेरो मनोवृत्तिलाई वृहत् रूपमा विचार गर्नुहुनेछ। मानौँ सत्यता र आफ्नो कर्तव्यप्रतिको तेरो मनोवृत्ति सधैँ झाराटारुवा छ, र तैँले बाहिरी रूपमा प्रतिज्ञाहरू गर्छस् तर पर्दापछाडि तिनलाई व्यवहारमा लागू गर्दैनस्, र तँ ढिलासुस्ती र आलटाल गर्छस्, र तँमा परमेश्वरको अभिप्रायलाई ख्याल गर्ने सकारात्मक मनोवृत्ति छैन। बाहिरी रूपमा तैँले अवरोध र बाधाहरू नगर्ने, दुष्टता नगर्ने, मनमानी र बेपरवाह तरिकाले कार्य नगर्ने वा कुकर्म गर्दै जथाभाबी नदौडने, र तँ नियम-पालन गर्ने र निकै शिष्ट भएको व्यक्ति देखिने भए पनि, तँ परमेश्वरले तँलाई गर्न लगाउनुभएका कुराहरू सकारात्मक र सक्रिय रूपमा गर्दैनस्, बरु तँ धूर्त हुन्छस् र ढिलासुस्ती गर्छस्, र वास्तविक काम गर्नबाट पन्छिन्छस्। त्यस्तो अवस्थामा, तँ कुनचाहिँ मार्गमा हिँडिरहेको छस् त? यो ख्रीष्टविरोधीको मार्ग नभए पनि, कम्तीमा पनि यो झूटा अगुवाको मार्ग हो।
कतिपय मानिसमा आफ्नो कर्तव्य पूरा गर्दा समर्पणता भएजस्तो देखिन्छ, र माथिले जे प्रबन्ध गर्नुहुन्छ त्यही गर्छन्। तर “के तिमी आफ्नो कर्तव्य झाराटारुवा तरिकाले निर्वाह गर्छौ? के तिमी यो सिद्धान्तहरूअनुसार गर्छौ?” भनेर सोधिँदा, तिनीहरू कुनै निश्चित जवाफ दिन सक्दैनन्, र यति मात्रै भन्छन्, “म माथिले निर्देशन दिएअनुसार गर्छु र कुकर्म गर्दै जथाभाबी हिँड्ने आँट गर्दिनँ।” जब तिनीहरूलाई आफ्नो जिम्मेवारी पूरा गरेको कि नगरेको भनी सोधिन्छ, तब तिनीहरू भन्छन्, “अँ, म आफूले गर्नुपर्ने काम गरिरहेको छु।” तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ यस्तै प्रकारको मनोवृत्ति राख्छन्, हतार नगर्ने र उदासीन। कुनै स्पष्ट समस्या उत्पन्न नभए पनि, यदि सत्यता सिद्धान्तहरूअनुसार मापन गर्ने हो भने, तिनीहरूको कर्तव्य निर्वाह अदक्ष हुन्छ र मानकअनुरूप हुँदैन। तर तिनीहरू मतलब गर्दैनन्। तिनीहरू अझै पनि विगतमा जस्तै झाराटारुवा तरिकाले कार्य गर्छन्, र आफूले गर्न पहल गर्नुपर्ने कुराहरूको हकमा तिनीहरू अझै पनि त्यत्तिकै निष्क्रिय हुन्छन्—तिनीहरू पटक्कै परिवर्तन भएका हुँदैनन्। के तिनीहरू निर्लज्ज रूपमा हठी छैनन् र? तिनीहरू सधैँ यो मनोवृत्ति कायम राख्छन्: “तेरा हजारौँ उत्कृष्ट योजनाहरू हुन सक्छन्, तर मेरा आफ्नै नियमहरू छन्। म यस्तै छु। हेरौँ, तँ मलाई के गर्न सक्छस्। मेरो मनोवृत्ति यही हो!” तिनीहरूले कुनै अत्यन्तै विश्वासघाती वा दुष्ट काम गरेका हुँदैनन्, तर साथै तिनीहरूले थोरै मात्र असल कार्य गरेका हुन्छन्। तँ तिनीहरू कुन मार्गमा हिँडिरहेका छन् भनी भन्छस्? के परमेश्वरमा विश्वास र आफ्नो कर्तव्यप्रतिको यस्तो मनोवृत्ति असल हो? (होइन।) बाइबलको प्रकाशको पुस्तकमा, परमेश्वर यसो भन्नुहुन्छ: “त्यसैले तँ, न त चिसो न त तातो, बरु मनतातो भएको हुनाले, म तँलाई मेरो मुखबाट ओकलिदिनेछु” (प्रकाश ३:१६)। न चिसो न तातो, मनतातो हुनु—के यो मनोवृत्ति असल हो? (होइन।) यस प्रकारको व्यक्तिको मनमा आफ्नै हिसाबकिताब पनि हुन्छ: “मैले आफ्नो कर्तव्य निर्वाह गर्दा दुष्टता नगरेसम्म वा मण्डलीको काममा अवरोध नपुर्याएसम्म, मलाई दोषी ठहराइनेछैन। यदि आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नु अत्यन्तै थकाइलाग्दो कुरा हो र यसमा धेरै कष्ट भोग्न आवश्यक हुन्छ भने, म त्यो गर्नेछैनँ। म आफूलाई लखतरान पार्नेछैनँ, तर म ठूला गल्तीहरू पनि गर्नेछैनँ। यसरी, मलाई निकालिने वा हटाइनेछैन, र म अझै पनि कर्तव्य निर्वाह नगर्नेहरूभन्दा धेरै राम्रो छु। त्यसैले म मनतातो रहन्छु, न चिसो न तातो। तिमी मलाई जे गर्न भन्छौ, म त्यही गर्नेछु। तर यदि तिमी मलाई केही गर्न भन्दैनौ भने, म हस्तक्षेप गर्नेछैनँ। यसरी, म थाक्नेछैनँ, र त्यसमाथि मानिसहरूले ममा गल्ती भेट्टाउन सक्नेछैनन्। यो तरिका उत्कृष्ट छ!” के आफूलाई आचरणमा ढाल्ने यो तरिका असल हो? (होइन।) तँलाई यो असल होइन भन्ने थाहा छ, त्यसोभए तेरो अभ्यास कसरी परिवर्तन हुनुपर्छ? यदि तँ कहिल्यै सत्यता पछ्याउने मार्गमा हिँड्न खोज्दैनस् र अझै पनि शैतानका दर्शनहरूअनुसार जिउन लागिरहन्छस् भने, तैँले मुक्ति प्राप्त गर्ने कुनै आशा नहुने कुरा निश्चित छ। यदि तँ संसारमा आफूलाई यसरी आचरणमा ढाल्छस् भने, तँलाई साँच्चै नै फाइदा हुनेछ। संसारसँग व्यवहार गर्ने तेरो दर्शन र मनोवृत्तिले तँलाई सुरक्षा दिनेछ, र तैँले मानिसहरूलाई चिढ्याउने पनि छैनस्। यसमाथि, प्रतिष्ठा र ख्याति भएका ती उच्च वर्गका मानिसहरूले तँ तिनीहरूका लागि खतरा होस् भन्ने महसुस गर्नेछैनन् र तिनीहरू सबैले तेरो धेरै कदर गर्नेछन्। हैसियत नभएका ती तल्लो वर्गका मानिसहरूले पनि तँलाई चिढ्याउने आँट गर्नेछैनन्। त्यसैले, तँ निकै लोकप्रिय हुनेछस्—तल्लो वर्गका मानिसहरू र उच्च वर्गका मानिसहरू दुवैका लागि, तँ तिनीहरूले आफ्नो पक्षमा पार्न खोज्ने व्यक्ति हुनेछस्, तँ अत्यधिक माग भएको माल हुनेछस्, र तँ उँचो र निचो, असल र खराब सबै वृत्तमा सहजै घुलमिल हुन सक्नेछस्। तर, यदि तँ अझै पनि परमेश्वरको घरमा र परमेश्वरसामु संसारसँग व्यवहार गर्ने यस प्रकारको मनोवृत्ति प्रयोग गर्छस् भने, यसले काम गर्नेछैन। सत्यता समावेश हुने सबै विभिन्न सिद्धान्तले तँबाट एउटा मनोवृत्तिको माग गर्छन्, र यो मनोवृत्ति कि त सही कि गलत, कि कालो कि सेतो, कि साँचो कि झूटो हुन्छ—यो एकदमै स्पष्ट, र एकदमै सिद्धान्तनिष्ठ हुन्छ। तिनले तेरो मध्यमार्गी दृष्टिकोणको सट्टा, तेरो अडान र तेरो सही दृष्टिकोणको माग गर्छन्। मध्यमार्गी दृष्टिकोण अपनाउनेहरू सत्यतासामु दृढ रहन सक्दैनन्। यस्तो नसोच्, “मेरो जिउने तरिका कति चलाख छ, हेर त! मैले बाल्यकालदेखि नै यो विधि प्रयोग गरेर आफूलाई सुरक्षित राख्न सिकेँ, र अहिलेसम्मको मेरो जीवनलाई फर्केर हेर्दा, मलाई यो विधि अत्यन्तै व्यावहारिक लाग्छ। परमेश्वरमा विश्वास गर्न पुगेपछि पनि, म अझै यही विधिअनुसार जिउँछु। मैले परमेश्वरमा विश्वास गरेका यी वर्षहरूमा, मलाई काटछाँट गरिएको छैन, म आफ्नो कर्तव्य निर्वाह गर्नमा उल्लेखनीय रूपमा असफल भएको छैनँ, मलाई कुनै ठूलो शोधन वा परीक्षा भोगाइएको छैन, र परमेश्वरले मलाई कहिल्यै दोषी ठहराउनुभएको वा तिरस्कार गर्नुभएको छैन। म आफूलाई आचरणमा ढाल्नमा कति सफल छु, म यसमा कति सिपालु छु, हेर त!” तँ गलत छस्! तँ आफूलाई आचरणमा ढाल्न जान्दैनस्—तँ हरेक मामिला र सत्यतालाई सम्हाल्न एउटा धूर्त तरिका प्रयोग गर्छस्। यो तरिका पूर्ण रूपमा गलत छ, र तँ यसो गरेर दृढ रहन सक्दैनस्। यस्तो सोच्दै भाग्यमा भर पर्ने मानसिकता नराख्, “म पहिले यसो गर्थेँ र सधैँ सफल हुन्थेँ। म कहिल्यै असफल भइनँ, र मैले कहिल्यै इज्जत गुमाइनँ वा आफ्नो अज्ञानता देखाइनँ। अब म परमेश्वरमा विश्वास गर्ने हुनाले, म अझै पनि संसारसँग व्यवहार गर्ने यो सबैभन्दा परिष्कृत रणनीति अपनाइरहनेछु।” म भन्छु, यो तेरो मूर्खता हो! परमेश्वर मानिसहरूलाई मुक्ति दिन किन यति धेरै वचन बोल्नुहुन्छ? यो ठ्याक्कै मानिसहरूलाई, यी वचनहरूको मार्गदर्शनमा, जीवनको सही मार्ग के हो र मानिसहरू कस्तो मार्गमा हिँड्नुपर्छ भन्ने बुझ्न सक्षम तुल्याउनका लागि हो; यो तँलाई छनौट गर्न दिनका लागि हो—यो तँलाई यहाँ अवसरवादी भएर धमिलो पानीमा माछा मार्न दिनका लागि होइन। यदि यो तँलाई अवसरवादी भएर धमिलो पानीमा माछा मार्न दिनका लागि हुन्थ्यो भने, परमेश्वरले यी वचनहरू बोल्नुहुने वा यो काम गर्नुहुने थिएन। हामीले विभिन्न मामिलाबारे गर्ने सङ्गतिमा, सत्यताको विरुद्धमा जाने सबै कुरालाई किन छर्लङ्ग पारिन्छ? यो ठ्याक्कै तँलाई सकारात्मक कुराहरू के हुन् र नकारात्मक कुराहरू के हुन् भनी बताउनका लागि हो, ताकि तैँले तिनलाई स्पष्ट रूपमा छुट्याउन र तिनलाई छर्लङ्गै देख्न सकेस्। परमेश्वरसामु, सकारात्मक कुराहरू र नकारात्मक कुराहरू सबै पूर्ण रूपमा खुला, सबै प्रकटित, र सबै पारदर्शी हुन्छन्, ती धमिलो हुँदैनन्। त्यसकारण, परमेश्वर तँलाई कुनै पनि कुरा गर्दा र तेरो मार्ग छनौट गर्दा स्पष्ट हुन माग गर्नुहुन्छ—तेरो मनोवृत्ति स्पष्ट हुनैपर्छ, र तेरा विचार र दृष्टिकोणहरू स्पष्ट हुनैपर्छ; कुनै पनि कुरा अस्पष्ट हुनु हुँदैन। सत्यता र सत्यता सिद्धान्तहरू समावेश हुने कुरामा केही पनि अस्पष्ट हुँदैन—कालो कालो नै हो, सेतो सेतो नै हो, हो भनेको हो नै हो, होइन भनेको होइन नै हो। एउटा झूट, हजार पटक भनिए पनि, झूट नै रहन्छ र कहिल्यै सत्यता बन्न सक्दैन। सत्यतालाई संसारमा थोरैले मात्रै स्वीकार गरे पनि, वा धेरै राष्ट्रले यसलाई इन्कार गरे पनि र दोषी ठहराए पनि, यो सत्यता नै रहन्छ। सत्यता सधैँ सत्यता नै हो र यो भ्रम वा विधर्म बिलकुलै बन्नेछैन। जतिसुकै धेरै मानिसले शैतानका नकारात्मक कुराहरूलाई पछ्याए पनि वा ती जतिसुकै वर्षदेखि सांसारिक प्रचलन बनेका भए पनि, ती अझै पनि नकारात्मक कुराहरू नै हुन् र अझै पनि शैतानकै हुन्—ती कहिल्यै सकारात्मक कुराहरूमा परिणत हुनेछैनन्। यसको विपरीत, सकारात्मक कुराहरूलाई यस संसारमा आक्रमण, दमन गरिए पनि, र दोषी ठहराइए पनि, ती सकारात्मक कुराहरू नै रहन्छन् र कहिल्यै नकारात्मक कुराहरू बन्नेछैनन्। परमेश्वर सदासर्वदा परमेश्वर हुनुहुन्छ, सदासर्वदा इन्साफको मूर्तरूप हुनुहुन्छ, र सदासर्वदा सबै सकारात्मक कुराको प्रतिनिधि हुनुहुन्छ। परमेश्वरको हैसियत अपरिवर्तनीय छ, र उहाँको सार अपरिवर्तनीय छ। यसैबीच, शैतान सदासर्वदा शैतान हो, सदासर्वदा दुष्टताको मूर्तरूप हो, सदासर्वदा दुष्टताको धुरीको प्रतिनिधि हो, सदासर्वदा नकारात्मक हो, र यो कहिल्यै सकारात्मक कुरा बन्नेछैन।
कतिपय मानिस यसो भन्छन्, “मण्डलीमा जिउँदा लचिलो हुनुपर्छ। कुनै पनि दिशामा धेरै नढल्क। सत्यता स्वीकार पनि नगर, तर यसप्रति वितृष्ण पनि नहोऊ; सकारात्मक वा नकारात्मक व्यक्तिहरूलाई नचिढ्याऊ। तटस्थ बस्नु नै सबैभन्दा राम्रो हो। म सकारात्मक कुराहरूको विरोध गर्दिनँ, र म नकारात्मक कुराहरूको आलोचना गर्दिनँ। म सत्यता पछ्याउने मानिसहरूको चापलुसी गर्दिनँ वा उनीहरूको चाकडी खोज्दिनँ, न त म उनीहरूको नजिक नै हुन्छु। म ख्रीष्टविरोधीहरूबाट पनि टाढा बस्दिनँ। तँ मलाई के गर्न सक्छस् र? मैले जीवनलाई कति स्पष्ट रूपमा बुझेको छु, हेर् त!” के यो स्पष्ट रूपमा बुझ्नु हो? यो स्पष्ट रूपमा बुझ्नु होइन; यो त मूर्खता हो। यो अन्योलमा पर्नु र सही र गलत छुट्याउन नसक्नु हो। त्यस्तो व्यक्ति अन्योलमा परेको व्यक्ति हो। म तँलाई भन्छु, यस प्रकारको दहीचिउरे व्यक्ति पटक्कै असल हुँदैन। यसरी जिउनुको अन्तिम नतिजा के हुनेछ? (ऊसँग कुनै परिणाम र कुनै गन्तव्य हुनेछैन।) उसले आफ्नै गन्तव्य बरबाद गरेको हुनेछ। उसले सकारात्मक कुराहरूको विरोध नगरे पनि, सारमा, सकारात्मक कुराहरू स्वीकार पनि गरेको हुँदैन। विरोध नगर्नु भनेको स्वीकार गर्नु होइन, र नकारात्मक कुराहरूको आलोचना नगर्नु भनेको तिनलाई त्याग्नु होइन। के तँलाई सकारात्मक कुराहरू स्वीकार नगरेर र नकारात्मक कुराहरूको आलोचना नगरेर आफूले नकारात्मक कुराहरू र नकारात्मक दृष्टिकोणहरू त्यागेको भन्ने लाग्छ? तँ ती त्याग्न सक्दैनस्। सकारात्मक कुराहरू स्वीकार गरेर र सत्यता स्वीकार गरेर मात्रै मानिसहरूका नकारात्मक विचार र दृष्टिकोणहरू, साथै शैतानका दुष्ट विचार र दृष्टिकोणहरू बिस्तारै त्याग्न र तोड्न सकिन्छ; तब मात्रै मानिसहरूले सकारात्मक विचार र दृष्टिकोणहरू, साथै सत्यता सिद्धान्तहरूसँग मिल्ने अभ्यास, अन्तर्बोध, बुझाइ, र मापदण्डहरू स्वीकार गर्न सक्छन्। अर्को शब्दमा भन्दा, यदि तँ सकारात्मक विचार र दृष्टिकोणहरू स्वीकार गर्न चाहन्छस्, यदि तँ सत्यता स्वीकार गर्न चाहन्छस्, यदि तँ सत्यता आफूभित्र प्रवेश गरोस् र आफ्नो जीवन बनोस् भन्ने चाहन्छस् भने, तैँले पहिले आफूभित्र भएको कुरालाई निकाल्नुपर्छ, र त्यसपछि सत्यता स्वीकार गर्नुपर्छ र सत्यतालाई आफूभित्र प्रवेश गर्न र आफ्नो हृदयमा शासन गर्न दिनुपर्छ। सत्यता जीवनका रूपमा हुनु भनेको यही हो। सत्यताको पछ्याइ यसरी नै अभ्यास गरिन्छ। परमेश्वरमा विश्वास गर्नुको मुख्य उद्देश्य सत्यता प्राप्त गर्नु हो। तैँले सत्यताको विरुद्धमा जाने विभिन्न विचार र दृष्टिकोण खुट्ट्याउन सक्नुपर्छ। विशेष गरी, यदि तँ शैतानको दर्शन पछ्याउने प्रकारको व्यक्ति होस् भने, तैँले मध्यमार्गी बाटोका चिप्ले विचार र दृष्टिकोणहरू त्याग्नैपर्छ, र सचेत रूपमा तिनको विरुद्धमा विद्रोह गर्नैपर्छ। जब तैँले सामना गर्ने परिस्थितिहरूमा त्यस्ता विचार र दृष्टिकोणहरू उत्पन्न हुन्छन्, तब तैँले ती गलत हुन् भन्ने महसुस गर्नैपर्छ र तैँले यस्तो सोच्नैपर्छ: “परमेश्वरका वचनहरूले के भन्छन्? परमेश्वर के माग गर्नुहुन्छ? कार्य गर्ने जुन तरिका सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ, म सोहीअनुसार पहलकदमी लिनेछु र कार्य गर्ने प्रयास गर्नेछु, मध्यमार्गी बाटोका विचार र दृष्टिकोणहरूलाई ममाथि शासन गर्न वा मलाई सत्यता अभ्यास गर्नबाट रोक्न दिनेछैनँ। बरु, मैले परमेश्वरका वचनहरू, सत्यतालाई मेरो आचरण र कार्यहरूका लागि, र मेरो कर्तव्य निर्वाहका मापदण्ड बन्न दिनैपर्छ।” यसरी अभ्यास गर्दा फरक नतिजा आउनेछ। यो अत्यन्तै सानो मामिला भए पनि र परमेश्वरले स्मरण गर्न लायक नभए पनि, कम्तीमा पनि, परमेश्वरले यसलाई दोषी ठहराउनुहुनेछैन। यसरी तेरा कार्यहरू अलि-अलि गर्दै थुप्रिँदै जाँदा, तेरा असल कार्यहरू बिस्तारै अलि-अलि गर्दै तयार हुनेछन्। यदि तैँले गर्ने कामकुराहरूलाई परमेश्वरको नजरमा असल कार्य मान्न सकिन्छ भने, तँसँग आशा हुनेछ। तँसँग सही र सकारात्मक दिशा र लक्ष्य हुन थाल्नेछ, र तँ सकारात्मक व्यक्ति, सच्चा व्यक्ति बन्न थाल्नेछस्। यसरी, तैँले आफूलाई विनाशको मार्गबाट टाढा राखेको हुनेछस्, नरकतर्फ लैजाने मार्गबाट टाढा राखेको हुनेछस्, र बिस्तारै स्वर्गको राज्यतर्फ लैजाने मार्गतिर फर्केको हुनेछस्। यो व्यक्तिले आफ्नो हृदय परिवर्तन गर्न सक्नुको एउटा राम्रो नतिजा हो। के यो हासिल गर्न सजिलो छ? त्यो कुरा व्यक्तिले सत्यतालाई कुन हदसम्म प्रेम गर्छ भन्ने कुरामा निर्भर हुन्छ। यदि तँ गल्ती गर्छस् र “म साँच्चै आफूलाई घृणा गर्छु! मैले कसरी यस्तो नीच र घृणित काम गर्न सकेँ? मलाई त आफैलाई दुई-चार थप्पड हान्न मन लागिरहेको छ!” भनेर मात्र भन्दै आफैलाई घृणा मात्रै गर्छस् भने, त्यो कुनै काम लाग्नेछैन। मुख्य कुरा के हो भने, जब तँ गल्ती गर्छस्, तब तैँले त्यसमा के गलत छ, तँलाई त्यसो गर्न केले प्रेरित गरेको छ, तँ किन सत्यता अभ्यास गर्न असक्षम छस्, मूल कारण के हो, र तेरा कार्यहरूका आधार र सिद्धान्तहरू के हुन् भनी खुट्ट्याउन सक्नैपर्छ। मुख्य कुरा त, कुनै मामिला सामना गर्दा, तँ सचेत रूपमा परमेश्वरका वचनहरूअनुसार कार्य गरिरहेको छस् र सचेत रूपमा आफ्ना शैतानी विचार र दृष्टिकोणहरू, आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू, र आफ्ना अभिप्राय र योजनाहरूविरुद्ध विद्रोह गरिरहेको छस् कि छैनस् भन्ने पनि हो। यदि तैँले सचेत रूपमा यी सबै कुरा गरेको छस् भने, तैँले असल कार्यहरू तयार गरेको छस्, र यो एउटा ठूलो कुरा हो, र तैँले केही प्राप्त गरेको छस्। के यस्तो नतिजा राम्रो हो? के तिमीहरूले देख्न चाहेको नतिजा यही हो? के तिमीहरूले पछ्याउन चाहेको कुरा यही हो? (हो।) अहिले धेरैजसो मानिस कस्तो दृष्टिकोण राख्छन्? त्यो यो हो: “म दुष्टता गर्दिनँ वा अवरोध र बाधाहरू खडा गर्दिनँ। यदि मलाई पूर्णकालीन कर्तव्य मण्डलीबाट निकालिँदैन भने, सबै कुरा ठीकै हुन्छ। मैले धेरै असल कार्य तयार नगरेको भए पनि, म आफ्नो कर्तव्यमा त्यति बफादार नभए पनि, ममा त्यति धेरै निष्कपटता नभए पनि, र म सत्यता सिद्धान्तहरूअनुसार गम्भीरतापूर्वक अभ्यास नगर्ने भए पनि, यदि म दुष्टता गर्दिनँ वा अवरोध र बाधाहरू खडा गर्दिनँ भने, त्यो नै पर्याप्त हुँदैन र?” यो दृष्टिकोण कस्तो छ? यो एउटा पतित विचार र दृष्टिकोण हो—यो प्रगति नखोज्ने विचार र दृष्टिकोण हो। तैँले आफूले दुष्टता नगरेमा वा अवरोध र बाधाहरू खडा नगरेमा, असल व्यक्ति भइन्छ, कुलीन व्यक्ति भइन्छ, दृढ रहन सकिन्छ, र आफूले गर्ने कुरा सत्यतासँग मिल्छ भनेर पटक्कै सोच्नु हुँदैन। म तँलाई भन्छु, त्यो गलत हो—यो मूर्ख तरिकाको सोचाइ हो! दुष्टता नगर्नु भनेको असल कार्यहरू तयार गर्नु बराबर होइन। दुष्टता नगर्नु र असल कार्यहरू तयार गर्नु दुई फरक अवधारणा हुन्। दुष्टता नगरी कर्तव्य निर्वाह गर्नु भनेको सृजित प्राणीले गर्नुपर्ने कुरा हो; यो सामान्य मानवताको विवेक र समझ भएकाहरूमा हुनुपर्ने एउटा प्रकटीकरण हो। उदाहरणका लागि, कतिपय मानिस यसो भन्छन्: “हत्या गर्ने मानिसहरू पनि छन्, तर मैले त्यसो गरेको छैनँ; त्यस व्यक्तिले अरू मानिसहरूका कुराहरू चोर्यो, तर मैले त्यसो गरेको छैनँ। यसको अर्थ म असल व्यक्ति हुँ।” के यो धाक लगाउन लायक कुरा हो र? के तिनीहरूको दाबी सही छ? (छैन।) यसलाई अवधारणाहरूबारे भ्रमित हुनु भनिन्छ। चोर नहुनु, हत्या वा आगजनी नगर्नु, र अवैध यौन सम्बन्धमा संलग्न नहुनु भनेको असल व्यक्ति हुनु सरह होइन। दुष्टता नगर्नु वा कानुन नतोड्नु असल व्यक्ति हुनुभन्दा फरक अवधारणा हो। असल व्यक्ति हुनुका आफ्नै मानकहरू छन्। दुष्टता नगर्नु र असल कार्यहरू तयार गर्नु पनि दुई छुट्टै अवधारणा हुन्। दुष्टता नगरी आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको तैँले सामान्य व्यक्तिका रूपमा हासिल गर्नुपर्ने कुरा हो। तर असल कार्यहरू तयार गर्नुको अर्थ तैँले परमेश्वरका मागहरू र सत्यता सिद्धान्तहरूअनुसार सक्रिय र सकारात्मक रूपमा सत्यता अभ्यास गर्नैपर्छ र आफ्नो कर्तव्य पूरा गर्नैपर्छ भन्ने हो। तँमा बफादारी हुनैपर्छ, तँ कष्ट सहन र मूल्य चुकाउन इच्छुक हुनैपर्छ, जिम्मेवारी लिन इच्छुक हुनैपर्छ, र सकारात्मक र सक्रिय रूपमा काम गर्न सक्षम हुनैपर्छ। यी सिद्धान्तहरूअनुसार गरिएका कार्यहरू आधारभूत रूपमा सबै असल कार्य हुन्। ती साना मामिला होऊन् वा ठूला, ती मानिसहरूद्वारा याद गर्न लायक होऊन् वा नहोऊन्, मानिसहरूले तिनलाई उच्च ठाने पनि वा नगण्य माने पनि, अथवा मानिसहरूले ती ध्यान दिन लायक छन् भनी सोचे पनि वा नसोचे पनि, परमेश्वरको नजरमा, ती सबै असल कार्य हुन्। यदि तैँले असल कार्यहरू तयार गरेको छस् भने, यसले अन्ततः तँकहाँ विपत्हरू नभई आशिष्हरू ल्याउनेछ। कतिपय मानिस कुनै पनि असल कार्यहरू तयार गर्दैनन् र निम्न कुराहरूमै सन्तुष्ट हुन्छन्: “म आफूलाई जे गर्न भनिन्छ त्यही गर्छु र जहाँ जान भनिन्छ त्यहीँ जान्छु। म कहिल्यै मनमानी तरिकाले बोल्दिनँ वा कार्य गर्दिनँ, र म कहिल्यै बदमासी गर्दै समस्या वा अवरोध र बाधाहरू खडा गर्दिनँ। म साँच्चै नै आज्ञाकारी र ज्ञानी छु।” तिनीहरू सधैँ यस प्रकारकै मनोवृत्ति राख्छन्। तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा सक्रिय रूपमा सत्यता खोज्दैनन् वा सिद्धान्तहरू पालन गर्दैनन्। तिनीहरू आफ्नै विचलन र गल्तीहरू पत्ता लगाउँदा तिनलाई तुरुन्तै सच्याउँदैनन् वा परिवर्तन गर्दैनन्। तिनीहरू आफू विद्रोही भएको र भ्रष्ट स्वभावहरू प्रकट गरेको पत्ता लगाउँदा कहिल्यै आत्मचिन्तन गर्दैनन्, न त तिनीहरू समस्या समाधान गर्न सक्रिय रूपमा सत्यता नै खोज्छन्; बरु, तिनीहरू आफूलाई जे मन लाग्छ त्यही गर्छन्। तिनीहरूले परमेश्वरको घरका हितहरूमा घाटा पुर्याउने कुनै ठूलो दुष्टता नगरेका भए पनि, तिनीहरूले मण्डलीको कामको प्रगतिलाई अझै पनि असर गरेका हुन्छन्। बढीमा, तिनीहरूको कर्तव्य निर्वाह भनेको श्रम गर्नु मात्रै हो, र श्रम गर्नु, प्रकृतिले नै, असल कार्य हुने स्तरसम्म पुग्न सक्दैन। त्यसोभए अन्ततः असल कार्यहरूलाई कसरी परिभाषित गरिन्छ? यो भनेको, तैँले गर्ने कुरा कम्तीमा पनि तेरो आफ्नै र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशका लागि सहयोगी हुनु, र परमेश्वरको घरको कामका लागि लाभदायक हुनु हो। यदि यो तेरा लागि, अरूका लागि, र परमेश्वरको घरका लागि लाभदायक छ भने, तेरो प्रदर्शन परमेश्वरसामु प्रभावकारी हुन्छ र परमेश्वरद्वारा अनुमोदन गरिन्छ। परमेश्वरले तँलाई अङ्क दिनुहुनेछ। त्यसैले, यी कुराहरूको मूल्याङ्कन गर्: तैँले यतिका वर्षमा कतिवटा असल कार्यहरू तयार गरेको छस्? के यी असल कार्यहरूले तेरा अपराधहरूको भर्पाई गर्न सक्छन्? तिनको भर्पाई गरेपछि, कतिवटा असल कार्यहरू बाँकी रहन्छन्? तैँले आफैलाई अङ्क दिनुपर्छ र यसबारे स्पष्ट बुझाइ राख्नुपर्छ; तँ यस मामिलामा अन्योलमा पर्नु हुँदैन।
मलाई भन, के यी मामिलाहरूबारे मेरो सङ्गति आवश्यक छ? (छ।) मैले तिमीहरूलाई यी वचनहरू भन्नैपर्छ, र तिमीहरूलाई केही सुझाव दिनैपर्छ। तिमीहरूलाई सुझावहरू दिनुको उद्देश्य तिमीहरूको उत्साह हटाउनु होइन, न त तिमीहरूलाई गिल्ला गर्नु हो, तिमीहरूलाई दोषी ठहराउनु त झनै होइन, बरु तिमीहरूलाई स्मरण गराउनु, चेतावनीको घण्टी बजाउनु हो, ताकि तिमीहरूलाई, अहिले, वर्तमानमा, हाल तिमीहरू कस्तो परिस्थितिमा छौ, तिमीहरूको स्थिति कस्तो छ, र सम्भावित खतराहरू के-के हुन् भन्ने थाहा होस्। तिमीहरू यी कुराहरूबारे आफ्नो हृदयमा स्पष्ट हुनैपर्छ। मानिसहरूले परमेश्वरमाथिको आफ्नो विश्वासमा परमेश्वरसामु आफ्नो स्थिति कस्तो छ भनी निरन्तर र बारम्बार जाँच्नैपर्छ। तिनीहरूले परमेश्वरसँगको आफ्नो सम्बन्ध कस्तो छ, आफू र परमेश्वरबीच द्वन्द्वहरू छन् कि छैनन्, आफू र परमेश्वरबीच तगाराहरू छन् कि छैनन्, आफूमा परमेश्वरबारे धारणाहरू र गलत बुझाइहरू छन् कि छैनन्, आफूले परमेश्वरसँग अनुचित मागहरू गर्छन् कि गर्दैनन्, र परमेश्वर निश्चित अवधिका तिनीहरूका प्रकटीकरणहरूलाई वा तिनीहरूका समग्र प्रकटीकरणहरूलाई कसरी हेर्नुहुन्छ भन्ने कुरा निरन्तर र स्पष्ट रूपमा जान्नैपर्छ। मानिसहरूले यी कुराहरू बुझ्नैपर्छ र जान्नैपर्छ; यो तिनीहरूको जीवन प्रवेशका लागि अत्यन्तै लाभदायक छ। यसरी अभ्यास गर्नुको उद्देश्य मानिसहरू परमेश्वरका अभिप्रायहरूअनुसार सटीक रूपमा कार्य गर्न सकून् भन्ने कुरा सुनिश्चित गर्नु हो। कुनै पनि गलत मोडहरू नलेऊ, आत्मसन्तुष्ट महसुस नगर, र आफैलाई र अरूलाई धोका नदेऊ। कुनै पनि गलत मोडहरू नलिनुको अर्थ आफ्नै विचलित मार्ग नपछ्याउनु हो। तँलाई परमेश्वरमाथिको विश्वासमा आफ्नो यो कार्यसम्पादन निकै राम्रो छ भन्ने लाग्छ, त्यसैले तँ यसरी नै हिँडिरहन्छस्। तर, के पत्ता लाग्छ भने, तँ सही मार्गबाट विचलित भएको छस्; परमेश्वरले तँलाई धेरै अघि नै त्यागिसक्नुभएको छ, र पवित्र आत्माले तँमा काम गर्न छोड्नुभएको छ। परमेश्वर तँलाई घृणा गर्नुहुन्छ, तैपनि तँलाई अझै पनि आफ्नो विश्वासमा राम्रो गरिरहेजस्तो लाग्छ: “मैले परमेश्वरमा विश्वास गरेर कुराहरू प्राप्त गरेको छु। म अब कष्ट सहन सक्छु, म अब दुष्टता गर्दिनँ, मलाई अवरोधहरू खडा गर्नबाट कसरी जोगिने भन्ने थाहा छ, र मलाई अब अवरोध र बाधाहरू खडा गर्नेहरूलाई किन निकालिन्छ वा अलग गरिन्छ, र तिनीहरूलाई किन कर्तव्य निर्वाह गर्न दिइँदैन भन्ने कुरा थाहा छ।” यी कुराहरू जान्नु मात्रै पर्याप्त हुँदैन। तैँले परमेश्वरको मार्ग पछ्याउनका लागि कसरी कार्य गर्ने, सही मार्गमा हिँड्नका लागि कसरी अभ्यास गर्ने, र मुक्ति प्राप्त गर्न सक्षम हुनका लागि कसरी कार्य गर्ने भन्ने कुरा जान्नैपर्छ। यी सबै अत्यन्तै महत्त्वपूर्ण छन्; तैँले नियमित अन्तरालहरूमा समीक्षाहरू गर्नैपर्छ र निष्कर्षहरू निकाल्नैपर्छ। यस विषयमा यति नै। हामीले यस अवधिमा सङ्गति गरिरहेको विषयमा सङ्गति गर्न जारी राखौँ।