सत्यता कसरी पछ्याउने (११) भाग एक

पूरक: मानिसहरूले हिँड्ने मार्गले तिनीहरूले अन्ततः के-कस्तो फल प्राप्त गर्छन् भन्‍ने कुरा निर्धारण गर्छ

परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य के हो? के यो अनुग्रह र आशिष्‌हरू प्राप्त गर्नका लागि हो? के यो खोक्रो जीवन जिउनबाट जोगिन र तल्लो स्तरका रुचिहरूबाट मुक्त हुनका लागि हो? (होइन।) त्यसोभए यो केका लागि हो त? (सत्यता प्राप्त गर्नका लागि।) यो सत्यता प्राप्त गर्न, जीवन प्राप्त गर्नका लागि हो। त्यसोभए, के मानिसहरूले हरेक दिन गर्ने सबै कुरा यही लक्ष्यतर्फ निर्देशित हुन्छन् त? के तैँले हरेक दिन आफ्नो कर्तव्य निर्वाह गर्दा खर्च गर्ने समय र ऊर्जा सबै यही लक्ष्यका खातिर हो त? मानिसहरू सत्यता प्राप्त गर्ने स्पष्ट लक्ष्यविना नै परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरू आफ्नो हृदयमा दर्शनहरूको यस पक्षबारे अस्पष्ट हुन्छन्, र तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य के हो भन्‍ने थाहा हुँदैन। तिनीहरूलाई हृदयमा यो आशिष्‌हरू प्राप्त गर्नका लागि हो भन्‍ने मात्रै थाहा हुन्छ जस्तो देखिन्छ—तर आशिष्‌हरू प्राप्त गर्न व्यक्तिले के गर्नुपर्छ? तिनीहरूलाई आशिष्‌हरू प्राप्त गर्नका लागि सत्यता बुझ्नु, सत्यता अभ्यास गर्नु, र सत्यता पछ्याउनु आवश्यक हुन्छ भन्‍ने थाहा हुँदैन। त्यसोभए, के तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन् त? तिनीहरू यसबारे पनि निश्चित हुँदैनन्। तिनीहरू सोच्छन्, “यो ठूलो समस्या होइन। म परमेश्‍वरमा निष्कपट रूपले विश्‍वास गर्छु; परमेश्‍वरले मलाई त्याग्नुहुनेछैन। मानिसहरूले म सत्यता पछ्याउने व्यक्ति होइनँ भनेर भने पनि, केही फरक पर्दैन।” कहिलेकाहीँ, अरूले आफ्नो अनुभवात्मक गवाही बाँडेको देख्दा तर आफूले त्यही कुरा बाँड्न नसक्दा, तिनीहरू पनि दुःखी हुन्छन्, र हृदयमा अलिक चिन्तित र व्याकुल हुन्छन्। तर धेरैजसो समय, तिनीहरूलाई यो ठूलो समस्या होइन भन्‍ने लाग्छ। यसरी नै, हेर्दाहेर्दै पाँच वर्ष बित्छ, हेर्दाहेर्दै दश वर्ष बित्छ—कतिपय मानिसले अहिले तीस वा चालीस काटेका छन्, कतिपयले पचास नाघिसकेका छन्; तिनीहरूले विवाह गरेका छैनन्, र सधैँ आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुन्छन्। अहिलेसम्म, तिनीहरूले कति सत्यता प्राप्त गरेका छन्? के तिनीहरूसँग जीवन छ? तिनीहरू आफै पनि निश्चित हुँदैनन्। तिनीहरूलाई यस्तो लाग्छ: “मैले धेरै सत्यता बुझेको छु र म धेरै प्रवचन दिन सक्छु जस्तो लाग्छ; मसँग जीवन हुनुपर्छ, होइन र?” चाहे सङ्गतिहरूको दौरान होस्, वा आफूले आफ्ना कर्तव्यहरूमा समस्याहरू सामना गर्दा होस्, तिनीहरू हरेक सत्यता बुझेझैँ गरी लामो कुरा गर्न सक्छन्, तर तिनीहरू कुनै पनि वास्तविक समस्याहरू समाधान गर्न सक्दैनन्। तिनीहरूले बोल्ने धर्मसिद्धान्तहरू सुन्दा जतिसुकै ठूला-ठूला लागे पनि, तिनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्दा अझै पनि सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न सक्दैनन् र धेरै मामिलामा अझै पनि आफ्नै इच्छा पछ्याउनेसमेत गर्छन्, र सत्यता सिद्धान्तहरू अलिकति पनि बुझ्दैनन्। त्यसैले, तिनीहरू हृदयमा अन्योल महसुस गर्छन्: “म वास्तवमा सत्यता बुझ्ने व्यक्ति हुँ कि होइनँ?” तिनीहरूलाई आफू सत्यता बुझ्ने व्यक्ति भए-नभएको थाहा हुँदैन। त्यसोभए, के तिनीहरू सत्यता पछ्याउने र सत्यता अभ्यास गर्ने मानिस हुन् त? तिनीहरू आफै पनि यसबारे अनिश्चित हुन्छन्। त्यसोभए तिनीहरूले वास्तवमा सत्यता प्राप्त गरेका छन् कि छैनन्? तिनीहरूलाई अझै पनि यसमा शङ्का छ। त्यसोभए तिनीहरूसँग वास्तवमा जीवन छ कि छैन त? आखिर जीवन भनेको ठ्याक्कै के हो त? व्यक्तिसँग जीवन हुँदा कस्तो महसुस हुन्छ? व्यक्तिसँग यो हुँदा उसको दैनिक जीवनमा के-कस्ता परिवर्तनहरू आउनेछन्? उसका विचारहरू कसरी परिवर्तन हुनेछन्? उसको मानवतामा के-कस्ता परिवर्तनहरू आउनेछन्? तिनीहरू यीमध्ये कुनै पनि कुराबारे स्पष्ट हुँदैनन्। तिनीहरूले जतिसुकै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका भए पनि, सत्यताको कुनै पक्षबारे बोल्दा, तिनीहरू केही शब्द र धर्मसिद्धान्त प्रचार गर्न सक्छन्; तर जब सत्यता अभ्यास गर्ने सिद्धान्तहरू समावेश हुन्छन्, तब तिनीहरू तिनलाई स्पष्ट रूपमा व्याख्या गर्न सक्दैनन्। विशेष गरी, कतिपय मानिस आफ्ना क्रियाकलापहरूमा सिद्धान्तहरूविरुद्ध गएको कारण काटछाँट गरिएपछि नकारात्मक बन्‍ने मात्र होइन, अलमल्ल पनि पर्छन् र आफैलाई शङ्का गर्दै यसो भन्छन्: “मैले वास्तवमा जीवन प्राप्त गरेको छु कि छैनँ? के मेरो हृदयमा सत्यताका लागि स्थान छ, के यो मेरो जीवन बनेको छ? के म वास्तवमा अझै पनि मुक्ति प्राप्त गर्न सक्छु त?” तिनीहरू सत्यता समावेश हुने यी सबै मामलाबारे अन्योलमा हुन्छन्, तर सत्यता समावेश नहुने बाहिरी मामलाहरूको कुरा आउँदा, तिनीहरूलाई ती कुरा निकै स्पष्ट रूपमा याद हुन्छ। उदाहरणका लागि, तिनीहरूले कति वर्ष, महिना, र दिनदेखि परमेश्‍वरमा विश्‍वास गरेका छन्, तिनीहरूले कुन स्तरको अगुवा वा कामदारका रूपमा सेवा गरेका छन्, तिनीहरूले के-कस्ता कर्तव्यहरू निर्वाह गरेका छन्, तिनीहरूले मण्डलीको कति काम गरेका छन्, तिनीहरूले कति ठाउँहरूको यात्रा गरेका छन्, तिनीहरूले सुसमाचार प्रचार गरेर कति जना मानिस प्राप्त गरेका छन्, तिनीहरूले कति वटा मण्डलीलाई मलजल गरेका छन्, तिनीहरूले परमेश्‍वरप्रति आफूलाई समर्पित गर्दा कति कष्ट भोगेका छन्, तिनीहरूले कति पैसा चढाएका छन्, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई के-कस्ता कुराहरू दान दिएका छन्, तिनीहरू कति लामो समयसम्म पक्राउ परेका र जेल परेका थिए, तिनीहरूले कति पटक कुटाइ खाएका छन्, तिनीहरूले कति यातना भोगेका छन्, तिनीहरू परमेश्‍वरका लागि आफ्नो गवाहीमा कति पटक दृढ रहेका छन्, इत्यादि—तिनीहरू यी सबै बाहिरी मामलालाई आफ्नो सम्झनामा अत्यन्तै महत्त्वका साथ कुँदेर राख्छन्, र प्रायजसो तिनलाई आफ्नो मनमा ल्याउँछन्। तिनीहरू आफ्नो मनमा यी सबैको हिसाब राख्छन्, हरेक प्रविष्टिलाई स्पष्ट रूपमा याद गर्छन् र त्यसलाई कहिल्यै बिर्सँदैनन्। तर तिनीहरू कति वटा सत्यता बुझ्छन् र तिनीहरूसँग कति वास्तविकता छ भन्‍ने कुरा आउँदा, तिनीहरूसँग भएको यसको हिसाब सधैँ अन्योलपूर्ण हुन्छ। तिनीहरू कुन-कुन सत्यता बुझ्छन्, तिनीहरूले कुन-कुन सत्यता अभ्यास गरेका छन्, र तिनीहरू आफूलाई कुनै कुरा आइपर्दा सत्यतामा अडिग रहन र सिद्धान्तहरूअनुसार कार्य गर्न सक्छन् कि सक्दैनन् भन्‍नेबारे तिनीहरू आफ्नो मनमा कहिल्यै स्पष्ट हुँदैनन्; तिनीहरूसँग भएको यी सबैको हिसाब अन्योलपूर्ण हुन्छ। तिनीहरूले आफ्ना कुन-कुन भ्रष्ट स्वभावहरूको साँचो बुझाइ प्राप्त गरेका छन्, तिनीहरूले ती फालेका छन् कि छैनन्, र तिनीहरू प्रायजसो कुन-कुन भ्रष्ट स्वभावहरू प्रकट गर्छन् तर फालेका छैनन् भन्‍नेबारे पनि तिनीहरू आफ्नो मनमा अस्पष्ट हुन्छन्; तिनीहरूसँग भएको यी सबैको हिसाब अन्योलपूर्ण हुन्छ। यति धेरै वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेपछि, तिनीहरू कुन-कुन सत्यता अभ्यास गर्न सक्छन् र कुन-कुन सत्यता अभ्यास गरेका छैनन्, तिनीहरूले सत्यताका कुन-कुन पक्षहरूमा प्रगति गरेका छन्, र तिनीहरूले कति प्रगति गरेका छन्—तिनीहरूसँग भएको यी सबैको हिसाब अन्योलपूर्ण हुन्छ। तिनीहरू आफ्नो मानवताको हिसाबमा ठ्याक्कै के जिउँछन्—तिनीहरूसँग विवेक र समझ छ कि छैन, र तिनीहरूले सामान्य मानवता जिएका छन् कि छैनन्—तिनीहरूसँग भएको यी सबैको हिसाब अन्योलपूर्ण हुन्छ। तिनीहरूले आफ्ना कति वटा कर्तव्यहरू निष्कपटता र बफादारीका साथ निर्वाह गरेका छन्, कति वटा कर्तव्यहरू जानी-जानी झाराटारुवा रूपमा गरिएका थिए, कति वटा मानकअनुरूप गरिएका थिए र कति वटा अझै मानकअनुरूप भएका छैनन्, तिनीहरूले आफ्नो कर्तव्यको निर्वाह गर्दा परमेश्‍वरलाई सन्तुष्ट पार्ने र परमेश्‍वरका अभिप्रायहरूसँग मिल्ने गरी कुन-कुन कर्तव्यहरूमा सिद्धान्तहरूअनुसार कार्य गर्न सकेका छन्, र कुन-कुन कर्तव्यहरूमा तिनीहरूले अझै सत्यता सिद्धान्तहरू बुझेका छैनन् र परमेश्‍वरलाई सन्तुष्ट पार्न सकेका छैनन्—तिनीहरूसँग भएको यी सबैको हिसाब अन्योलपूर्ण हुन्छ। तिनीहरू ठ्याक्कै कुन-कुन पक्षहरूमा परमेश्‍वरका मागहरू पूरा गर्न र परमेश्‍वरमा समर्पित हुन सक्छन्, तिनीहरू कुन हदसम्म परमेश्‍वरमा समर्पित भएका छन्, तिनीहरू कुन-कुन पक्षहरूमा अझै पनि परमेश्‍वरमा समर्पित हुन सक्दैनन्, तिनीहरू परमेश्‍वरमा समर्पित हुन नसक्नुको कारण के हो, र अघि बढ्दा तिनीहरू कसरी प्रवेश गर्नुपर्छ—यी सबै कुराका सम्बन्धमा, तिनीहरूसँग कुनै योजना र कुनै विचार हुँदैन, र अवश्य नै, तिनीहरूसँग स्पष्ट मार्ग त झनै हुँदैन। यति धेरै वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेपछि, तिनीहरूलाई परमेश्‍वरको घरका हितहरूको सुरक्षा गर्न आफूद्वारा कति वटा कुराहरू गरिएको छ, वा कति वटा असल कार्यहरू तयार गरिएको छ भन्‍ने थाहा हुँदैन; तिनीहरूलाई आफूद्वारा कति दुष्टता गरिएको छ, वा अवरोध र बाधाहरू ल्याउने कति वटा कुराहरू गरिएको छ भन्‍ने थाहा हुँदैन—तिनीहरूलाई आफ्नो सम्झनामा आफूले यीमध्ये केही कुरा गरे जस्तो लाग्छ, तर दुष्टता गरेपछि आफूले पश्चात्ताप गरे-नगरेको कुरा तिनीहरूलाई थाहा हुँदैन। तिनीहरूले कहिलेकाहीँ आफूले दुष्टता गरेको कुरा महसुस गर्न र दुःखी हुन सके पनि, र तिनीहरूले परमेश्‍वरलाई प्रार्थना गरेर आफ्ना पापहरू स्वीकार गरेका भए पनि, के तिनीहरूले परमेश्‍वरको क्षमा प्राप्त गरेका छन् त? के तिनीहरूको हृदयमा कुनै दोषी भाव छ त? तिनीहरूलाई यी कुराहरू पनि थाहा हुँदैन। तिनीहरू मनमनै सोच्छन्: “मलाई दोषी भाव महसुस हुन्छ कि हुँदैन भन्‍ने कुराको कसलाई मतलब छ र? जे होस्, म अहिले निकै आरामसँग जिइरहेको छु; म अझै पनि आफ्नो कर्तव्य निर्वाह गरिरहेको छु।” त्यसोभए तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा कति वटा असल कार्यहरू गरेका छन् त? तिनीहरू यो पनि ठ्याक्कै भन्न सक्दैनन्, तैपनि तिनीहरूलाई आफूले केही असल कार्य गरे जस्तो लाग्छ—हालै, तिनीहरूले सुसमाचार प्रचार गरे र दुई जना मानिस प्राप्त गरे। तिनीहरूसँग यति सानो सङ्ख्यामा असल कार्यहरू हुन्छन्, तर तिनीहरू सिद्धान्तहरूविना कामकुरा गर्छन्, र आफ्नै इच्छाअनुसार र स्वेच्छाचारी र लापरवाह तरिकाले कार्य समेत गर्छन्—के यसलाई दुष्ट कार्यहरू मानिन्छ त? तिनीहरू यसबारे पनि अस्पष्ट हुन्छन्। तिनीहरूलाई मण्डलीले आफूलाई कारबाही नगरेको हुनाले, र अगुवाहरूले आफूलाई काटछाँट नगरेको वा यी कुराहरूका लागि आफूलाई जवाफदेही नठहराएको हुनाले, ती दुष्ट कार्य होइनन् भन्ने लाग्छ; यदि तिनीहरूलाई जवाफदेही ठहराइएको भए, सायद यी कुराहरू दुष्ट कार्यहरू हुनेथिए। तिनीहरूलाई आफूद्वारा कति वटा असल कार्यहरू तयार गरिएको छ भन्‍ने थाहा हुँदैन। तिनीहरूले अहिले गरिरहेका कुराहरू असल कार्य हुन् कि दुष्ट कार्य हुन्, तीमध्ये कति वटा असल कार्य हुन्, तीमध्ये कति वटा दुष्ट कार्य हुन्, कति वटा सत्यता सिद्धान्तहरूसँग मिल्छन्, कति वटा कामका प्रबन्ध र सत्यता सिद्धान्तहरूविरुद्ध जान्छन्—तिनीहरूलाई यीमध्ये कुनै पनि कुरा थाहा हुँदैन। तिनीहरूले यी मामलाहरूको अभिलेख कहिल्यै राखेका हुँदैनन्। जे होस्, तिनीहरू हरेक दिन समयमै खान्छन् र सुत्छन्, आत्मिक भक्ति वा कामका लागि तोकिएको समयमा उठ्छन्, र काम गर्दा अघिल्लो दिनकै स्थिति र अघिल्लो दिनकै कामका चरणहरू कायम राख्छन्, र आफूले सधैँ गर्दै आएका कुराहरू नै गर्छन्। तिनीहरूले सत्यता पछ्याउने र सत्यता वास्तविकतामा प्रवेश गर्ने वा भ्रष्ट स्वभावहरू फाल्ने र जीवन प्राप्त गर्ने मामिलाहरूलाई कहिल्यै विशिष्ट वा व्यवस्थित रूपमा जानेका वा संक्षेप गरेका हुँदैनन्। त्यसकारण, सत्यताको पछ्याइ वा जीवन प्रवेश समावेश हुने कुनै पनि कुरा तिनीहरूका लागि अन्योलपूर्ण हिसाब हुन्छ। मलाई भन, यदि कोही हरेक दिन यसरी नै जिउँछ, यस्तो स्थितिमा जिउँछ भने, के ऊ अन्योलमा परेको हुँदैन र? (हुन्छ।) “अन्योलमा परेको” एउटा साहित्यिक अभिव्यक्ति हो; बोलचालको भाषामा, यसको अर्थ कुनै लक्ष्यविना बहावसँगै बग्नु हो। के जिउने यो स्थिति, अस्तित्वमा रहने यो स्थिति राम्रो हो कि होइन? (यो राम्रो होइन।) बाहिरी रूपमा, तिनीहरू परमेश्‍वरको प्रतिरोध गर्ने कुनै स्पष्ट व्यवहार वा प्रकटीकरणहरू देखाउँदैनन्, तर सत्यताको पछ्याइ र जीवन प्रवेशका मामिलाहरूको कुरा आउँदा, तिनीहरू अलमल्ल पर्छन् र यसबारे गम्भीर हुँदैनन्। ठ्याक्कै यो स्थिति नै अन्योलमा पर्नुको अर्थ हो। यसले व्यक्तिको समस्यालाई स्पष्ट रूपमा देखाउँछ र परमेश्‍वरमा विश्‍वास गर्दा ऊ हिँड्ने मार्ग स्पष्ट रूपमा प्रकट गर्छ।

परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा सत्यताको पछ्याइ र जीवन प्रवेशका मामलाहरूको कुरा आउँदा, व्यक्तिको मनोवृत्ति, व्यक्तिपरक इच्छाहरू, वा प्रकटीकरणहरू जेसुकै भए पनि, परमेश्‍वरको नजरमा, व्यक्ति जुन स्थितिमा हुन्छ, त्यसले ऊ कुन मार्गमा हिँडिरहेको छ भन्‍ने कुरा देखाउँछ। कतिपय मानिस परमेश्‍वरमा विश्‍वास गर्न सुरु गरेको क्षणदेखि नै सत्यतालाई प्रेम गर्दैनन्, र सत्यताबारे जतिसुकै सङ्गति गरिए पनि, तिनीहरू त्यो स्वीकार गर्दैनन्। तिनीहरू हिँड्ने मार्ग सीधै मृत्यु र नरकतर्फ जाने मार्ग हो। कतिपय मानिस पहिलो पटक परमेश्‍वरमा विश्‍वास गर्न थाल्दा परमेश्‍वरका मागहरू बुझ्दैनन् र आशिष्‌हरूको प्राप्ति गर्ने र स्वर्गको राज्यमा प्रवेशलाई मात्रै पछ्याउँछन्। तर, परमेश्‍वरका वचनहरू निरन्तर खाएर र पिएर, तिनीहरू सत्यता बुझ्न पुग्छन् र सत्यता पछ्याउन सक्षम हुन्छन्, र सत्यता प्राप्त गर्नका खातिर कष्ट सहन र मूल्य चुकाउन सक्छन्। अन्त्यमा, तिनीहरू हिँड्ने मार्गले उज्यालो र स्वर्गको राज्यतर्फ डोर्‍याउँछ भन्‍ने कुरा देख्न सकिन्छ। जीवन प्रवेशका मामिलाहरूका सम्बन्धमा, धेरैजसो मानिस त्यसरी नै आफ्ना लक्ष्यहरूबारे अस्पष्ट हुन्छन् र अन्योलको स्थितिमा रहन्छन्। तर, यी मानिसहरूका प्रकटीकरणहरूबाट हेर्दा, कतिपयले सत्यतालाई पटक्कै स्वीकार गर्दैनन्, तिनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्दा एकनासले झारा टार्छन्, र धेरै वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेपछि पनि, अलिकति पनि परिवर्तन भएका हुँदैनन्—तिनीहरू हिँड्ने मार्ग विनाश र नरकतर्फ जाने मार्ग हो। अर्कोतर्फ, कतिपय मानिस सत्यता स्वीकार गर्न सक्षम हुन्छन्, आफ्ना कर्तव्यहरू निर्वाह गर्दा काटछाँट स्वीकार गर्न सक्छन्, तिनीहरूमा केही साँचो समर्पणता हुन्छ, र बिस्तारै आफ्ना कर्तव्यहरू मानकअनुरूप गर्न पुग्छन्—तिनीहरू हिँड्ने मार्ग उज्यालो र स्वर्गको राज्यतर्फ जाने मार्ग हो। सत्यता पटक्कै स्वीकार नगर्नेहरू—अर्को शब्दमा भन्दा, विनाशको मार्गमा सिधै अघि बढिरहेकाहरू—आफ्नो कर्तव्यको निर्वाह गर्दा, निरन्तर दुष्टता गर्छन्, र प्रायजसो सत्यताको विरुद्धमा जाने र परमेश्‍वरले घृणा गर्ने कार्यहरू गर्छन्, जसले गर्दा मण्डलीको जीवन र मण्डलीको काममा बाधा पुग्छ। यी मानिसहरूले केही “विशेष” प्रकटीकरण देखाउँछन्। अर्थात्, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न सुरु गरेको क्षणदेखि अहिलेसम्म कहिल्यै पश्चात्ताप गरेका छैनन्, र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, तिनीहरू प्रायजसो झारा टार्छन्, छली व्यवहार र ढिलासुस्ती गर्छन्, सजिला कार्यहरू रोज्छन् र कठिन कार्यहरूबाट पन्छिन्छन्, र परमेश्‍वरको घरका हितहरूको सुरक्षा गर्दैनन्; तिनीहरू अत्यन्तै स्वार्थी र घृणास्पद हुन्छन्, र आफ्नो आनन्दको मात्रै ख्याल गर्छन्। यो पनि यी मानिसहरूको एउटा विशेषता हो। कतिपय मानिस अझै बढी दुष्ट हुन्छन्—आफ्नो कर्तव्य पूरा गर्ने क्रममा, तिनीहरू जथाभावी दुष्कर्म गर्छन् र स्वेच्छाचारी र लापरवाह तरिकाले कार्य गर्छन्, कार्य प्रबन्धहरूअनुसार कहिल्यै अभ्यास गर्दैनन् वा काम लागू गर्दैनन्। कतिपय मानिस यस्ता पनि हुन्छन्, जो आफ्नो कर्तव्यमा बारम्बार हैसियतका लागि प्रतिस्पर्धा गर्छन्, आफूलाई उचाल्छन् र आफ्नै गवाही दिन्छन्, र आफ्नै स्वतन्त्र राज्य स्थापना गर्न मानिसहरूलाई आफूतिर तान्छन्। आफ्नो कर्तव्य निर्वाह गर्दा भेटीहरू चोर्ने, भेटीहरू उडाउने, र परमेश्‍वरको घरका हितहरूमाथि विश्वासघात गर्नेहरू पनि हुन्छन्। यी प्रकटीकरणहरू सकारात्मक हुन् कि नकारात्मक? (नकारात्मक।) यी मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न सुरु गरेको क्षणदेखि नै यस्ता प्रकटीकरणहरू देखाएका छन्। परमेश्‍वरको घरले तिनीहरूलाई अवसरहरू दिइरहन्छ—अलिकति क्षमता भएका कतिपयलाई सुपरिवेक्षकको कर्तव्य निर्वाह गर्ने प्रबन्ध मिलाइन्छ, तर केही समयको खराब प्रदर्शनपछि, तिनीहरूलाई एकल कर्तव्य निर्वाह गर्ने प्रबन्ध मिलाइन्छ; तर, एकल कर्तव्यमा पनि, तिनीहरू झारा नै टार्छन्, जथाभावी दुष्कर्म नै गर्छन्, स्वेच्छाचारी र लापरवाह तरिकाले नै कार्य गर्छन्, अवरोध र बाधाहरू नै ल्याउँछन्, र कतिपय त परमेश्‍वरको घरका हितहरूको सुरक्षा नगरी, हैसियत र शक्तिका लागि प्रतिस्पर्धा समेत गर्छन्। मौका पाउँदा, तिनीहरू भेटीहरू चोर्ने र भेटीहरू उडाउने समेत गर्छन्। तिनीहरूले जतिसुकै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका भए पनि, तिनीहरूमा भएका यी प्रकटीकरणहरू अलिकति पनि घटेका छैनन्, न त ती अलिकति पनि परिवर्तन नै भएका छन्। अन्त्यमा, तिनीहरूमा के देखिन्छ त? तिनीहरूमा के देखिन्छ भने, आफ्नो कर्तव्य निर्वाह गर्दा, यी मानिसहरू एकनासले झाराटारुवा व्यवहार गर्छन्, छली हुन्छन् र ढिलासुस्ती गर्छन्, सजिला कार्यहरू रोज्छन् र कठिन कार्यहरूबाट पन्छिन्छन्, र दैहिक सुखसुविधामा लिप्त समेत हुन्छन् र गैरजिम्मेवार रूपमा कार्य गर्छन्। तिनीहरूका प्रकटीकरणहरू अनित्य वा अस्थायी हुँदैनन्, बरु एकनासका हुन्छन्—यो तिनीहरूका लागि समस्याजनक कुरा हो। आफ्नो कर्तव्य निर्वाह गर्दा, तिनीहरू एकनासले झाराटारुवा व्यवहार गर्छन्, जथाभावी दुष्कर्म गर्छन्, र अवरोध र बाधाहरू निम्त्याउँछन्, र तिनीहरूसँग जसले कुरा गरे पनि, तिनीहरू परिवर्तन हुँदैनन्। तिनीहरू जतिसुकै प्रवचनहरू सुने पनि कहिल्यै पश्चात्ताप गर्दैनन् वा तिनीहरूमा पछुतोको हृदय हुँदैन। एकनासले हैसियतका लागि प्रतिस्पर्धा गर्ने, एकनासले परमेश्‍वरको घरका हितहरूमाथि विश्वासघात गर्ने, र परमेश्‍वरको घरका हितहरूको कहिल्यै सुरक्षा नगर्नेहरू पनि हुन्छन्। के “एकनासले” भन्‍ने शब्द बुझ्न सजिलो छ? आफ्नो कर्तव्य निर्वाह गर्दा, जसले झाराटारुवा व्यवहार गरे पनि, स्वेच्छाचारी र लापरवाह भए पनि, वा केही खराब प्रकटीकरण देखाए पनि, परमेश्‍वरको घरले तिनीहरूलाई सधैँ पश्चात्ताप गर्ने धेरै अवसर दिन्छ। तिनीहरूलाई कहिल्यै तिनीहरूका अस्थायी प्रकटीकरणहरूका कारण धपाइँदैन र कर्तव्य पूरा गर्नबाट वञ्चित गरिँदैन। बरु, तिनीहरूलाई बारम्बार अर्ती दिइन्छ, सत्यताबारे सङ्गति गरिन्छ, र प्रेमपूर्वक मद्दत गरिन्छ र साथ-सहयोग दिइन्छ, र सायद तिनीहरू अझै पनि अलिकति श्रम गर्न सक्छन्। तैपनि यस्ता मानिसहरू हृदयदेखि नै हठी र सत्यताप्रति वितृष्ण हुन्छन्। तिनीहरू कहिल्यै सत्यता स्वीकार गर्दैनन्, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूको मद्दत, आलोचना, अनुगमन, वा सुपरिवेक्षण कहिल्यै स्वीकार गर्दैनन्, र तिनीहरूसँग पवित्र आत्माको अन्तर्दृष्टि र ताडना भए पनि तिनलाई अझै पनि स्वीकार गर्दैनन्। तिनीहरूले तीन वा पाँच वर्ष, वा दश वा बीस वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका भए पनि, तिनीहरू यस्तै रहन्छन्। तिनीहरू अहिले पाका भएका भए पनि र अलिक बढी परिपक्व र अनुभवी देखिए पनि, तिनीहरू अझै पनि आफ्ना कर्तव्यहरू त्यसरी नै निर्वाह गर्छन्—तिनीहरू एकनासले झाराटारुवा व्यवहार गर्छन् र जथाभावी खराब कुराहरू गर्छन्। तिनीहरू यी बीस वर्षदेखि यस्तै छन्, र अलिकति पनि परिवर्तन भएका छैनन्। जब तिनीहरू बोल्छन्, तब तिनीहरूको मुखबाट झुट मात्रै निस्कन्छ, र तिनीहरू कहिल्यै सत्य बोल्दैनन्। तिनीहरू अहिले पनि यस्तै छन्; तिनीहरूले जतिसुकै शब्दहरू बोले पनि, कुन साँचो हो र कुन झूटो हो भन्‍ने कुरा कसैलाई थाहा हुँदैन—तीमध्ये एउटा पनि इमानदार शब्द हुँदैन। यी बीस वर्षमा आफ्ना कर्तव्यहरू निर्वाह गर्दा तिनीहरूले केही कष्ट भोगेका भए पनि, र सुसमाचार प्रचार गरेर केही मानिस प्राप्त गरेका भए पनि, तिनीहरूको जीवन स्वभाव अलिकति पनि परिवर्तन भएको छैन। तिनीहरू अझै पनि अत्यन्तै धूर्त र छली छन्; तिनीहरू एउटा पनि इमानदार शब्द बोल्न नसक्ने पुराना सर्प मात्रै हुन्। तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू होइनन् भन्‍ने प्रमाणित गर्न यति नै पर्याप्त छ; तिनीहरू सत्यता अलिकति बुझे पनि त्यो अभ्यास गर्न सक्दैनन्। तिनीहरू कस्ता प्रकारका मानिसहरू हुन्? तिनीहरू एकनासले झाराटारुवा व्यवहार गर्ने, एकनासले जथाभावी खराब कुराहरू गर्ने अनि स्वेच्छाचारी र लापरवाह तरिकाले कार्य गर्ने, एकनासले अवरोध र बाधाहरू निम्त्याउने, शक्तिका लागि प्रतिस्पर्धा गर्ने, र एकनासले चालबाजी गर्ने, झुट बोल्ने, र छल गर्ने मानिस हुन्। तिनीहरू धूर्त बूढा स्याल हुन्—तिनीहरू पुराना सर्प, चिप्ले माछा, पुराना दियाबलस, पुराना शैतान मात्रै हुन् भनेर भन्‍न सकिन्छ। तिनीहरूका सबै कार्यअघि “एकनासले” भन्‍ने विशेषण थप्नैपर्छ। “एकनासले” थपिएपछि, यो तिनीहरूप्रतिको व्यक्तिगत पूर्वाग्रहको कुरा हुनेछैन बरु तिनीहरूका आफ्नै कार्य र व्यवहारले गर्दा भएको कुरा हुनेछ। सबैको नजरमा, यस व्यक्तिले यी कुराहरू एक वा दुई पटक मात्रै गरेको हुँदैन—ऊ बानी परेको अपराधी हो। विभिन्न देशका प्रहरी विभागहरूले बानी परेका अपराधीहरूलाई कसरी व्यवहार गर्छन्? बानी परेका अपराधीहरूका आपराधिक अभिलेखहरू सङ्ग्रह गरिनैपर्छ। जब-जब कुनै अपराध हुन्छ, तब-तब यी बानी परेका अपराधीहरू नै मुख्य संदिग्ध व्यक्तिहरू हुन्छन्, र प्रहरीले मुद्दाको अनुसन्धान गर्न र आफ्नो छानबिन सुरु गर्दा पक्कै पनि तिनीहरूबाट नै सुरु गर्नेछ। त्यसोभए परमेश्‍वरको घरमा एकनासले झाराटारुवा तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्नेहरूको हकमा के हुन्छ त? तिनीहरूले झारा टार्ने र जथाभावी दुष्कर्म गर्ने प्रकटीकरणहरू एक वा दुई पटक मात्रै हुने कुराहरू होइनन्, न त ती विशेष परिस्थितिहरूमा मात्रै हुन्छन्। यी स्थिति र प्रकटीकरणहरू तिनीहरूले आफ्नो कर्तव्यलाई व्यवहार गर्ने एकनासे तरिका हुन्। तिनीहरूले आफ्नो कर्तव्यलाई व्यवहार गर्ने यो एकनासे तरिकालाई हेर्दा, सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति के हो भन्‍ने कुरा देख्न सकिन्छ। त्यसोभए सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति के हो त? (तिनीहरू यसप्रति वितृष्ण हुन्छन् र प्रतिरोधी महसुस गर्छन्।) यस प्रकारका मानिसहरू सत्यताप्रति वितृष्ण हुन्छन् र प्रतिरोधी महसुस गर्छन्। तिनीहरू कहिल्यै सत्यता स्वीकार गर्दैनन्। भित्री गहिराइमा, तिनीहरू यसलाई तुच्छ ठान्छन् र सकारात्मक कुराहरूलाई घृणा गर्छन्। तिनीहरूसँग जोसुकैले सत्यताबारे सङ्गति गरे पनि, तिनीहरू सुन्दैनन्। तिनीहरूलाई पश्चात्ताप गर्ने जतिसुकै अवसरहरू दिइए पनि, तिनीहरू तिनको कदर गर्दैनन् वा तिनलाई गम्भीरतापूर्वक लिँदैनन्। तिनीहरू आफूले चाहेजसरी, आफूलाई मन लाग्ने तरिकाले कार्य गर्छन्। जब पवित्र आत्माले तिनीहरूलाई झकझकाउनुहुन्छ, तब तिनीहरूलाई केही पनि महसुस हुँदैन र तिनीहरू त्यसको वास्ता गर्दैनन्। तिनीहरू मानिसहरूका अर्ती र मद्दतप्रति वितृष्ण हुन्छन् र तिनलाई बेवास्ता गर्छन्, र यदि ती मानिसहरूले तिनीहरूलाई काटछाँट गरे भने, तिनीहरू रिसाउँछन्, क्रुद्ध हुन्छन्, उनीहरूसँग झोक्किन्छन्, र हृदयमा विकर्षित महसुस गर्छन्। मण्डलीसँग हरेक चरणमा प्रत्येक व्यक्तिका प्रकटीकरणहरूको मूल्याङ्कन हुन्छ, र यो मूल्याङ्कन व्यक्तिको परिणामका लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यदि कुनै व्यक्तिको चित्रण गरिँदा उसका दुष्ट कार्यहरूका प्रकटीकरणहरूमा “एकनासले” भन्‍ने शब्द थपियो भने, यो उसका लागि समस्याजनक कुरा हो। त्यस्ता मानिसहरू ठ्याक्कै कस्तो प्रकारको मार्गमा हिँडिरहेका छन् भन्‍ने कुरा धेरै स्पष्ट हुन्छ। त्यसोभए तिनीहरू ठ्याक्कै कुन मार्गमा हिँडिरहेका छन् त? यो विनाशतर्फ डोर्‍याउने मार्ग हो कि मुक्तितर्फ डोर्‍याउने मार्ग हो? (विनाशमा डोर्‍याउने मार्ग हो।) यस्तो नतिजा किन आउँछ? के यो यी मानिसहरूलाई गलत ठहराउनु हो? के यो वास्तविक परिस्थितिसँग मेल नखाने हो र? (होइन।) के तिनीहरूलाई अझै पनि पश्चात्ताप गर्ने अवसरहरू दिइनुपर्छ? (पर्दैन।) कतिपय मानिस भन्छन्, “हामीले तिनीहरूलाई पूर्ण रूपमा माया मार्नु हुँदैन—सायद कुनै दिन तिनीहरूले पश्चात्ताप गर्नेछन्!” निनवेका मानिसहरूले अनेकौँ दुष्ट कार्य गरे, र तिनीहरूका दुष्ट कार्यहरू परमेश्‍वरको कानसम्म पुगेका थिए। जब परमेश्‍वरले तिनीहरूलाई नष्ट गर्न लाग्नुभएको थियो, तब उहाँले निनवे चालीस दिनमा नष्ट हुनेछ भनी बताउन एउटा सन्देश दिनका लागि योनालाई अगाडि पठाउनुभयो। यो सुनेपछि निनवेका मानिसहरूले कस्तो व्यवहार गरे? चालीस दिनभित्र, तिनीहरूले भाङ्ग्रा लगाए र खरानी घसे र परमेश्‍वरसामु पश्चात्ताप गरे। तर अहिले, आफ्नो कर्तव्यनिर्वाह गर्दा एकनासले खराब प्रदर्शन गर्नेहरूलाई पश्चात्ताप गर्न कति वटा चालीस दिनहरू दिइसकिएको छ? के तिनीहरूले पश्चात्ताप गरेका छन्? के तिनीहरूमा पश्चात्ताप गर्ने इच्छा छ? के तिनीहरू पश्चात्ताप गर्ने कुनै झुकाव देखाउँछन्? (देखाउँदैनन्।) विगत दश वा बीस वर्षमा, तिनीहरूका प्रकटीकरणहरू एकनासले दुष्टता गर्ने खालका रहिआएका छन्, त्यसैले, आगामी दश वा बीस वर्षमा, के तिनीहरू परिवर्तन हुन सक्छन्? के तिनीहरू दुष्टता गर्न छोड्न सक्छन्? त्यो अज्ञात कुरा हुन सक्छ, तर विगत दश वा बीस वर्षमा यी मानिसहरूका विभिन्न प्रकटीकरणले तिनीहरूका सबै व्यवहार र प्रकटीकरण सत्यताको विरुद्धमा जान्छन्, तिनले परमेश्‍वरको प्रतिरोध गर्छन्, र परमेश्‍वरको विरोध गर्छन् भनेर देखाउन पर्याप्त छन्। यसले तिनीहरूको हृदय सत्यताप्रति वितृष्ण छ, तिनीहरूको प्रकृति सार दुष्ट छ र यसमा सत्यतालाई प्रेम गर्ने कुनै तत्त्व छैन, र तिनीहरूसँग सत्यतालाई प्रेम गर्ने र सत्यता अभ्यास गर्ने मानवता छैन भन्‍ने प्रमाणित गर्छ। विगत दश वा बीस वर्षका तिनीहरूका प्रकटीकरणहरू मूल्याङ्कन गर्दा, निष्कर्ष यही हो। अहिलेसम्मको निष्कर्ष यही भएको हुनाले, तिनीहरूको मानवता र तिनीहरूको सारबाट हेर्दा, आगामी दश, बीस, वा तीस वर्षमा, के तिनीहरूमध्ये कोही साँच्चै पश्चात्ताप गर्न र परिवर्तन हुन सक्षम हुनेछ त? तीस जना मानिसमध्ये एक जना हुन सक्छ? पचास जना मानिसमध्ये एक जना हुन सक्छ? सय जना मानिसमध्ये एक जना हुन सक्छ? अर्थात्, आगामी दश वा बीस वर्षमा, के तिनीहरू अचानक विवेकको सचेतना प्राप्त गर्न, सत्यता र सकारात्मक कुराहरूमा रुचि राख्न, सत्यता र सकारात्मक कुराहरू स्वीकार गर्न सक्षम हुन, आफैलाई चिन्न र साँचो पश्चात्ताप गर्न पुग्न, र विगतमा आफूले गरेको दुष्टताका लागि पछुतो र ऋणी महसुस गर्न सक्छन् त? तिमीहरूको अवलोकनका आधारमा, यसको अनुपात कति छ? एक हजार मानिसहरूमध्ये, एक जना हुन सक्छ? (मलाई लाग्छ, एक हजार मानिसमा पनि एक जना छैन।) तँ यो कुरा केका आधारमा भन्छस्? (दश वा बीस वर्षदेखि परमेश्‍वरमा विश्‍वास गर्दा, सत्यताप्रतिको त्यस्ता मानिसहरूको मनोवृत्ति एकनासले विकर्षण र प्रतिरोधी महसुस गर्ने खालको रहिआएको छ, र तिनीहरू सत्यतालाई अलिकति पनि स्वीकार गर्दैनन्, र तिनीहरूले पश्चात्तापको अलिकति पनि प्रकटीकरण देखाएका छैनन् भन्‍ने तथ्यका आधारमा। यसले तिनीहरू भविष्यमा पनि साँचो पश्चात्ताप गर्नेछैनन् भन्‍ने प्रमाणित गर्छ।) के यो भनाइ सही छ? (छ।) कतिपय मानिस भन्छन्, “हामी अरूप्रति सहनशील र धैर्यवान हुनुपर्छ। यदि तिनीहरूले विगत दश वा बीस वर्षमा पश्चात्ताप गरेनन् भने, त्यो तिनीहरू जवान र अपरिपक्व भएकाले, वा तिनीहरूको पारिवारिक अवस्था राम्रो भएको र तिनीहरूलाई पुलपुल्याइएको र बिगारिएको हुनाले, वा तिनीहरूको उच्च सामाजिक हैसियत र निश्चित सामर्थ्यहरू भएकाले गर्दा थियो। के तिनीहरूका केही विशेष परिस्थितिहरू थिएनन् र? के तिनीहरू निश्चित वातावरणहरूका कारण यस्ता थिएनन् र? सायद आगामी दश वा बीस वर्षमा, तिनीहरू ती पारिवारिक वातावरण र प्रतिकूल कारकहरूको प्रभावबाट मुक्त हुनेछन्, र तिनीहरू परिवर्तन होलान्।” त्यो भन्न गाह्रो छ। तर, यी मानिसहरूका विगतका प्रकटीकरणहरूका आधारमा, आफ्ना प्रकटीकरणहरूअघि “एकनासले” भन्‍ने विशेषण थपिएका सबै मानिस ठूलो खतरामा छन्। यी मानिसहरूमध्ये सय वा हजार जनामा पनि, साँच्चै पश्चात्ताप गर्न सक्ने एक जना पनि हुन सक्दैन। यदि तिनीहरूका कुनै पनि दुष्ट कार्यहरूअघि “एकनासले” भन्‍ने विशेषण थपिएको छैन भने, सायद त्यस्ता मानिसहरूका लागि अझै पनि थोरै आशा बाँकी छ। यो आगामी तीनदेखि पाँच वर्षमा तिनीहरूका प्रकटीकरणहरू कस्ता हुन्छन् भन्‍ने कुरामा निर्भर हुनेछ। यदि यो तिनीहरू जवान र अपरिपक्व भएकाले, वा परमेश्‍वरप्रतिको तिनीहरूको विश्‍वासको कुनै जग नभएकाले, वा तिनीहरूको क्षमता कमजोर भएकाले, वा केही वस्तुगत वातावरणीय कारकले तिनीहरूको सत्यता स्वीकार गराइ र बुझाइमा प्रभाव पारेकाले हो भने—यदि यो यी वस्तुगत कारणहरूले गर्दा भएको हो, र तिनीहरूका दुष्ट कार्यहरूका प्रकटीकरणहरू अस्थायी मात्रै हुन् भने, थप अवलोकन आवश्यक हुन्छ। तर अहिलेसम्म, निरन्तर दुष्ट कार्यहरू गर्नेहरूले—आफ्ना प्रकटीकरणहरूअघि “एकनासले” भन्‍ने शब्द थपिएकाहरूले—आफ्नो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गरेका छैनन्। बरु, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा धेरै दुष्ट कार्य थुपारेका छन्। कुरा यत्ति मात्र हो कि, तिनीहरू आफू दुष्ट मानिस भएको स्वीकार गर्न मान्दैनन्, र आफूले भोगेका कष्टहरू, आफूले चुकाएको मूल्य, र लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गर्नेहरूका रूपमा आफ्नो वरिष्ठता प्रयोग गरेर आफैलाई सही ठहराउने प्रयास पनि गर्छन्। यी मानिसहरूले हिँड्ने मार्ग तिनीहरूको अगाडि राखिएको मात्र छैन, सबैको अगाडि प्रकट पनि भएको छ। तिनीहरूका प्रकटीकरण र प्रकाशहरू, तिनीहरूका कार्य र व्यवहार, आफ्नो कर्तव्य निर्वाह गर्नेप्रतिको तिनीहरूको मनोवृत्ति, सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति, र सबै सकारात्मक कुराप्रतिको तिनीहरूको मनोवृत्ति तिनीहरूको सार देखाउन पहिले नै पर्याप्त छन्। अवश्य नै, आफ्नो कर्तव्यप्रतिको तिनीहरूको मनोवृत्ति र सत्यताप्रतिको तिनीहरूको मनोवृत्तिले तिनीहरू कुन मार्गमा हिँडिरहेका छन् भन्‍ने कुरा पनि प्रकट गरिसकेका छन्।

मानिसहरू हिँड्ने मार्गले तिनीहरूले अन्ततः के-कस्तो फल प्राप्त गर्छन् भन्‍ने कुरा निर्धारण गर्छ। यदि मानिसहरू विनाशको मार्गमा हिँड्छन् भने, तिनीहरूले अन्ततः प्राप्त गर्ने कुरा भनेको नरकका ढोकाहरू फोडेर नरकमा ओर्लनु हो। यसको अरूसँग कुनै सम्बन्ध छैन—यो अरू मानिसहरूले गर्दा भएको होइन, बरु यो त तँ हिँड्ने मार्गले अन्ततः ल्याएको नतिजा हो। तैँले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको र धेरै अपराध गरेको, केही गलत मोड लिएको, र सही मार्गबाट विचलित हुने केही कुरा गरेको हुन सक्छस्; परमेश्‍वरको विरुद्धमा विद्रोह गर्ने र परमेश्‍वरको प्रतिरोध गर्ने केही कार्य गरेका कतिपय मानिससमेत छन्। यी प्रकटीकरणहरू राम्रा नभए पनि, र परमेश्‍वरको नजरमा ती दोषी ठहरिने भए पनि, यदि तैँले भ्रष्ट स्वभाव प्रकट गर्ने र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्ने र प्रतिरोध गर्ने समयमा नै, तँ आत्मचिन्तन गर्न र साँच्चै आफ्नो हृदय परिवर्तन गर्न सक्षम हुन्छस्, र सक्रिय रूपमा धेरै असल कार्य तयार गर्न तेरो निष्कपटता, तैँले चुकाएको मूल्य, तेरो सत्यताको अभ्यास, र सत्यताप्रतिको तेरो सकारात्मक र सक्रिय मनोवृत्ति प्रयोग गर्छस् भने, तँप्रतिको परमेश्‍वरको मनोवृत्ति परिवर्तन हुनेछ। उदाहरणका लागि, मानौँ ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूले मण्डलीको काममा अवरोध र बाधाहरू ल्याउँदा र दाजुभाइ-दिदीबहिनीहरूलाई भ्रमित पार्दा, तँ ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूका दुष्ट कार्यहरू तुरुन्तै खुलासा गर्न, तिनीहरूका अवरोध र बाधाहरू रोक्न, दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा गर्न, र परमेश्‍वरको घरका हितहरूको सुरक्षा गर्न सक्षम हुन्छस्। यसका साथै, आफ्नो कर्तव्य निर्वाह गर्ने प्रक्रियामा, धेरै अप्रत्याशित कठिनाइ र अड्चन आइपरेका छन्, र तैँले आफ्नो समय, ऊर्जा, र शारीरिक बल खर्च गरेको छस्, दैहिक आनन्दका आफ्ना खुसीका पलहरू त्याग गरेको छस् र यी कठिनाइ र समस्याहरू समाधान गर्न आफ्नो पूर्ण प्रयास लगाएको छस्। तेरो झकझकाहट, सुपरिवेक्षण, र अनुगमनमार्फत, तैँले भोगेको कष्ट र चुकाएको मूल्यमार्फत, मण्डलीको सुसमाचारको काम सामान्य र सहज रूपमा विकास हुन र अघि बढ्न सकेको छ। यसबाहेक, सुसमाचार प्रचार गर्ने क्रममा, तैँले राम्रो क्षमता र सत्यता बुझ्ने क्षमता भएका केही मानिसलाई ल्याएको छस्, र तिनीहरूसँग विभिन्न सत्यताहरूबारे स्पष्ट रूपमा सङ्गति गरेको छस्, जसले गर्दा तिनीहरूले साँचो मार्गमा जग बसाल्न, र मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्न, र निश्चित कामहरूमा सक्षम सहायक बन्न सकेका छन्। अथवा तैँले परमेश्‍वरको घरको कुनै विशेष पेसागत काममा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छस्, कामको प्रगतिलाई अघि बढाउन र यसका नतिजाहरू सुधार गर्न प्रभावकारी कार्यविधिहरू वा कार्य चरणहरू प्रयोग गरेको छस्। अथवा, मण्डली जीवनमा, तैँले नकारात्मक र कमजोर भएका, वा हराएको महसुस गर्ने र मार्ग नभएका केही दाजुभाइ-दिदीबहिनीलाई मद्दत गरेको छस्, तिनीहरूलाई अघि बढ्ने मार्ग खोज्न, परमेश्‍वरका अभिप्रायहरू बुझ्न र उहाँलाई गलत नबुझ्न, र सत्यता पछ्याउने सङ्कल्प गर्न मद्दत गरेको छस्। अझ राम्रो कुरा त, तैँले यी मानिसहरूलाई प्रोत्साहित गर्न सकेको छस्, जसले गर्दा तिनीहरू कर्तव्य निर्वाह गर्न र परमेश्‍वरप्रति आफूलाई समर्पित गर्न इच्छुक भएका छन्। अथवा, कुनै विशिष्ट काममा, तैँले अपरिहार्य भूमिका सम्हालेको छस्—तैँले गर्ने काम कठिन र थकाइलाग्दो हुन सक्छ, र यो काम देखिने खालको नहुन सक्छ, तैपनि तँ कुनै इनाम नमागी आफ्नो हड्डी घोट्दै, आफ्नो निष्कपटता र बफादारी अर्पण गर्न मात्रै खोज्दै, पर्दापछाडिको एक गुमनाम कामदार बन्न इच्छुक हुन्छस्। यस्ता सबै सकारात्मक प्रकटीकरण, परमेश्‍वरको नजरमा, स्मरण गर्न योग्य असल कार्यहरू हुन्। अर्कोतर्फ, तँ यी कुराहरूको सामना गर्दा आफ्नो कर्तव्य निर्वाह गर्न र आफ्ना जिम्मेवारीहरू पूरा गर्न असफल हुने मात्र होइन, हात नहाल्ने दृष्टिकोण पनि अपनाउँछस् र छेउमा बसेर परिस्थितिलाई हेर्छस् र हाँस्छस्, तिनलाई पूर्ण रूपमा बेवास्ता गर्छस्, र देखेर पनि नदेखेझैँ र सुनेर पनि नसुनेझैँ गर्छस्। तँ आफूले सक्ने कुरा गर्दैनस्, र तँ आफूलाई थकाइ लाग्छ भन्‍ने डरले एउटा सुझाव दिन समेत कष्ट गर्दैनस्। तँ जति फुर्सदिलो भइयो त्यति नै राम्रो हुन्छ भन्‍ने सोच्दै, सम्भव भएसम्म कुराहरूबाट पन्छिन्छस्। तँलाई सूक्ष्मग्राही र जिम्मेवार हुनु सार्थकता छैन, र कामका मामिलाहरूबारे चिन्ता लिनु अत्यन्तै झन्झटिलो हुन्छ भन्‍ने सधैँ लाग्छ। यी प्रकटीकरणहरू मण्डलीको काममा अवरोध र बाधाहरू ल्याउने दुष्ट कार्यहरूभन्दा फरक भए पनि, र परमेश्‍वरले तँलाई खराब मूल्याङ्कन नदिनुभए पनि, उहाँले तँलाई राम्रो मूल्याङ्कन पनि दिनुहुनेछैन। तँलाई राम्रो मूल्याङ्कन नदिनु भनेर मैले भन्नुको अर्थ के हो? यसको अर्थ के हो भने, तैँले यी कुराहरूमा असल कार्यहरू तयार गरेको छैनस्, न त तैँले परमेश्‍वरको स्मरण कमाउने कुराहरू नै गरेको छस्। जब तैँले यी कुराहरूको सामना गरिस्, तब तैँले असल कार्यहरू तयार गर्ने अवसर गुमाइस्। तँ असाध्यै मूर्ख छस्; तँ भरोसायोग्य छैनस्, बढुवा हुन योग्य छैनस्, उचालिन योग्य छैनस्, र परमेश्‍वरद्वारा कामकुराहरू सुम्पिन योग्य छैनस्। तँ अनि नोआ र अब्राहामबीच आकाश-जमिनको फरक छ। मलाई भन्, परमेश्‍वरले कुनै पनि कुरा सुम्पिन आँट नगर्ने व्यक्ति अन्ततः नरकमा नजान पनि सक्छ, तर के ऊ स्वर्गको राज्यमा प्रवेश गर्न सक्छ त? यो अनिश्चित छ भनेर मात्रै भन्न सकिन्छ, र यसको पछाडि धेरै प्रश्‍नचिह्न आउँछन्; यो धेरै अनिश्चितताले भरिएको हुन्छ। यो अनिश्चितता तिनीहरूका एकनासका प्रकटीकरणहरूमा आधारित हुन्छ। यदि तैँले सबैलाई तिनीहरू किन परमेश्‍वरमा विश्‍वास गर्छन्, तिनीहरू स्वर्गको राज्यमा प्रवेश गर्न चाहन्छन् कि नरकमा जान चाहन्छन् भनेर सोधिस् भने, कतिपय मानिसले यो प्रश्‍न अत्यन्तै मूर्खतापूर्ण छ भन्दै तँलाई गिल्ला गर्नेछन्: “को नरकमा गएर नष्ट हुन चाहन्छ र? को स्वर्गको राज्यमा प्रवेश गर्न र मुक्ति प्राप्त गर्न चाहँदैन र?” तर यो प्रश्‍न सोध्नु साँच्चै आवश्यक छ। यो मूर्खतापूर्ण कुरा होइन। कतिपय मानिसले कहिल्यै यसरी आत्मचिन्तन गरेका हुँदैनन्। तिनीहरू परिस्थितिहरूको सामना गर्दा सधैँ समस्यासँग डराउँछन् र विवादहरू निम्त्याउन डराउँछन्। विशेष गरी, जब तिनीहरूले दुष्ट मानिसहरूले मण्डलीको काममा अवरोध र बाधाहरू ल्याएको, परमेश्‍वरका चुनिएका मानिसहरू भ्रमित र शोषित भएको, र फलस्वरूप मण्डलीको काम अघि बढ्न नसकेको देख्छन्, तब तिनीहरूलाई परमेश्‍वर मानिसहरूको छानबिन गरिरहनुभएको छ भन्‍ने कुरा थाहा हुँदैन, न त तिनीहरूलाई यो ठ्याक्कै असल कार्यहरू तयार गर्ने अवसर हो भन्‍ने नै थाहा हुन्छ। बरु, तिनीहरू मान्छे खुसी पारिहिँड्ने व्यक्ति बन्न रोज्छन् र सत्यता सिद्धान्तहरू त्याग्छन्, र अलिकति पनि आत्मचिन्तन गर्दैनन्। तेरो जिम्मेवारी के हो? तेरो दायित्व के हो? तेरा लागि परमेश्‍वरको आज्ञा के हो? परमेश्‍वरले यति धेरै वचन बोल्नुभएको छ र यति धेरै काम गर्नुभएको छ—तँप्रतिको परमेश्‍वरको अपेक्षा के हो? के तँ परमेश्‍वरलाई सन्तोषजनक जवाफ दिन सक्छस्? के तैँले असल कार्यहरू तयार गरेको छस्? यी सबै मामलाहरूमा, तैँले प्रायजसो आत्मचिन्तन गर्नुपर्छ र तेरो हृदयमा स्पष्टता हुनुपर्छ।