सत्यता कसरी पछ्याउने (१०) भाग तीन

निकृष्टता

हामी अर्को प्रकटीकरणबारे कुरा गरौँ: निकृष्टता। यो कस्तो समस्या हो? (यो दुष्ट चरित्रको समस्या हो।) निकृष्टता दुष्ट चरित्रभित्र पर्छ र यसलाई मानवताअन्तर्गत वर्गीकरण गरिन्छ। के निकृष्टता केही हदसम्‍म नीचता जस्तै हो? (हो।) यो पनि दुष्ट चरित्रको प्रकटीकरण हो। निकृष्टता भनेको नियमहरू पालन नगरी, धूर्त तरिकाले काम गर्नु, विवेक र नैतिकताका सिद्धान्तहरू वा सीमाहरूविना काम गर्नु मात्र होइन तर निकै घृणास्पद र नीच तरिकाले काम गर्नु पनि हो। निकृष्टताका प्रकटीकरणहरू के-के हुन्? उदाहरणका लागि, निकृष्ट व्यक्तिले आफूले किन्‍न नसक्‍ने राम्रो कार कसैले किनेको देख्छ। बाटो भएर जाँदा, उसले बाहिरी रूपमा त्यो व्यक्तिलाई यसो भन्दै अभिवादन गर्छ, “कस्तो राम्रो कार! तपाईं त धनी हुनुपर्छ!” उसका शब्दहरू मनमोहक सुनिन्छन्, तर कारको मालिक जाने बित्तिकै, उसले कारमा थुक्‍क गर्दै थुक्छ। के यो निकृष्ट हुनु होइन र? (हो।) थुक्‍नु कस्तो व्यवहार हो? (निकृष्ट हुनु।) निकृष्ट हुनु भनेको यही हो। निकृष्टता भनेको विशेष रूपमा घृणास्पद, फोहोरी, र नीच हुनु हो—यो लाजमर्दो व्यवहार गर्नु, अरूले तँलाई गिल्ला गर्ने र घृणा गर्ने तुल्याउनु, मानिसहरूलाई तेरो चरित्र नीच छ र तँ कलङ्क होस् भन्‍ने महसुस गराउनु हो। उदाहरणका लागि, कतिपय मानिसहरूले आफ्नो छिमेकीको कुकुर राम्रो छ भन्‍ने देख्छन् र भित्रभित्रै डाहा गर्छन्: “तिनीहरूको परिवारमा कति राम्रो कुकुर छ। मैले किन त्यो कुकुर किनिनँ?” त्यसकारण तिनीहरू त्यो कुकुर मार्ने उपाय खोज्छन्, र त्यसपछि, तिनीहरू खुसीले फुरुङ्ग हुन्छन्। तिनीहरू घर गएपछि उत्सव मनाउँछन्, श्याम्पेन फोड्छन् र भोज खान्छन्, पहिले कहिल्यै नभएझैँ गरी खुसी हुन्छन्। मलाई भन, यो व्यक्ति खत्तम छ कि छैन? (छ।) यो निकृष्ट हुनु हो। यदि अरूसँग कुनै असल घटना घट्यो र उनीहरू खुसी भए भने, तिनीहरू अप्रसन्न हुन्छन् र उनीहरूको कामकुरा बरबाद गर्ने उपायहरू सोच्छन्। जब तिनीहरूले अरूले प्रकोप सामना गरिरहेका देख्छन्, तब तिनीहरू उनीहरूको दुर्भाग्यमा आनन्दित हुन्छन्। त्यस्ता मानिसहरू अत्यन्तै निकृष्ट हुन्छन्।

निकृष्ट मानिसहरूका विचारहरू अत्यन्तै नकारात्मक हुन्छन्। तिनीहरू कसरी नकारात्मक हुन्छन्? उदाहरणका लागि, जब तँ कसैलाई कुनै कुरा दिन्छस्, तब सामान्य परिस्थितिहरूमा, उसलाई कृतज्ञता महसुस गर्नुपर्छ, उसले यसो भन्‍नुपर्छ, “यो कुरा निकै राम्रो छ। तिमीलाई पहिले यो निकै मन पर्थ्यो, तर अहिले तिमीलाई यसको खाँचो छैन। तिमीले यो अरू कसैलाई दिएनौ तर तुरुन्तै मलाई नै दियौ—हामी साँच्‍चै नै साथी हौँ!” विवेक र समझ भएको जोकोहीले यस्तो सोच्नेथियो; उसले यो मामलालाई सकारात्मक रूपमा बुझ्नेथियो। तर निकृष्ट मानिसहरूको सोचाइ विकृत हुन्छ। तिनीहरूले मनमनै यसो भन्नेथिए: “तिमीलाई उप्रान्त यो नचाहिने भएर मात्रै तिमीले मलाई यो दिएका हौ। यदि तिमीलाई अझै पनि यसको खाँचो थियो भने, के तिमीले मलाई दिनेथियौ त? तिमीले असल कुराहरू आफ्ना लागि राख्छौ र खराब कुरा मलाई दिन्छौ—त्यो कसले चाहन्छ र! के तिमीले मलाई भिखारीलाई जस्तो टारिरहेका छौ? के तिमीलाई मलाई के राम्रो हो भन्‍ने थाहा छैन जस्तो लाग्छ? तिमीलाई यो उप्रान्त नचाहिने हुनाले मात्रै मलाई दिएका हौ, र तिमी अझै म कृतज्ञ होऊँ भन्‍ने अपेक्षा गर्छौ। के तिमी मलाई मूर्ख ठान्छौ?” देखिस्, यस्तो सरल मामलामा, तिनीहरूले यस्तो घृणास्पद, फोहोरी, र नीच तरिकाले सोच्छन्। तिनीहरूलाई केही कुरा दिँदा यसले तँ आफैलाई समस्या दिन पुग्छ। यसले किन समस्या दिन्छ? किनभने तैँले यो कुरा दिएको व्यक्ति निकृष्ट व्यक्ति हो—घृणास्पद, फोहोरी, र नीच विचार भएको व्यक्ति। तिनीहरूले जोकोहीबारे नकारात्मक रूपमा सोच्छन्। जब तिनीहरूले कसैलाई हेर्छन्, तब तिनीहरूले उसलाई सिद्धान्तहरूका आधारमा हेर्दैनन्, न त त्यो व्यक्तिसँग धेरै वर्ष समय बिताएका कारण तिनीहरूलाई थाहा भएको त्यो व्यक्तिको चरित्र वा उसको आत्म-आचरणका सिद्धान्तहरूका आधारमा नै हेर्छन्। बरु, तिनीहरूले अरूलाई आफ्नै चरम र हठी विचार र दृष्टिकोणहरूका आधारमा हेर्छन्। त्यस्ता मानिसहरू अत्यन्तै निकृष्ट हुन्छन्। यदि तँ तिनीहरूसँग सङ्गत गर्दैनस् वा तिनीहरूलाई केही पनि दिँदैनस् भने, कामकुरा शान्तिपूर्ण नै रहन्छन्। तर यदि तँ तिनीहरूसँग साँच्‍चै सङ्गत गर्छस् र तिनीहरूलाई सहयोग गर्छस् भने, तँलाई प्रायजसो तिनीहरूले गलत ठहराउनेछन् र आलोचना गर्नेछन्। जब तैँले कुनै असल कुरा प्रयोग गरेको तिनीहरूले देख्छन्, तब तिनीहरू सधैँ त्यो कुरा चाहन्छन्। यदि तैँले तिनीहरूलाई यो कुरा दिइनस् भने, तिनीहरूले तँ लोभी र कन्जुस होस् भन्‍ने सोच्छन्। त्यस्ता मानिसहरू अत्यन्तै समस्याजनक हुन्छन्, र तिनीहरूसँग मिलजुल हुन निकै गाह्रो हुन्छ। तिनीहरूले सीधै केही नबोल्न सक्छन्, तर भित्र गहिराइमा, सुटुक्क, तिनीहरू सधैँ तँसँग प्रतिस्पर्धा गरिरहेका हुन्छन्, र हृदयमा तेराबारे प्रतिकूल विचारहरू विकास गरिरहेका हुन्छन्। सरल रूपमा भन्दा, त्यस्ता मानिसहरूको हृदय र विचारहरू कुत्सित हुन्छन्। मलाई लाग्छ व्यक्तिको यस्तो फोहोरी विचार र हृदयलाई व्याख्या गर्नका लागि “कुत्सित” भन्‍ने शब्द निकै उपयुक्त छ—यसको अर्थ ऊ सफा, सकारात्मक, र दयालु छैन भन्‍ने हुन्छ। कुनै कुरा जति नै सकारात्मक भए पनि, जब तिनीहरू यसबारे कुरा गर्छन्, तब यो नकारात्मक कुरामा परिणत हुन्छ। तैँले तिनीहरूका लागि जति धेरै असल कुराहरू गरे पनि, तिनीहरूले यसको कदर नगर्ने मात्र होइन, तर तिनीहरूले तँसँग खराब अभिप्रायहरू छन् भन्दै तँलाई होच्याउने र फसाउने पनि गर्छन्। यदि तैँले तिनीहरूलाई केही फाइदा दिइस् भने, तैँले तिनीहरूलाई शोषण गर्ने प्रयास गरिरहेको छस् कि भनेर तिनीहरूले मनन गर्नेछन्। यदि तँ तिनीहरूप्रति उदासीन भइस् भने, तिनीहरूले तँ धनी र शक्तिशाली भएकाले, तैँले गरिबलाई हेला गर्छस् भन्‍ने सोच्नेछन्। तिनीहरूलाई तँमा मानव न्यानोपनको कमी छ, तँलाई मानिसहरूसँग कसरी मिलजुल हुने भन्‍ने थाहा छैन, र तँ अरूका भावनाहरूलाई ख्याल गर्न असमर्थ छस् भन्‍ने लाग्‍नेछ। यदि तैँले तिनीहरूबाट आफूलाई टाढा राखिस् भने, त्यसले पनि काम गर्नेछैन—तिनीहरूसँग यसबारे भन्नका लागि अझै पनि केही हुनेछ। त्यस्ता मानिसहरू अत्यन्तै समस्याजनक हुन्छन्। तैँले तिनीहरूसँग जसरी सङ्गत गरे पनि, तैँले तिनीहरूलाई कहिल्यै सन्तुष्ट पार्न सक्दैनस्। तिनीहरूले के सोच्नेछन् तँलाई थाहा हुँदैन, र तैँले असल अभिप्रायका साथ गर्ने कुराहरूबाट के-कस्ता समस्याहरू पैदा हुनेछन् भन्‍ने तँलाई थाहा हुँदैन। त्यसकारण त्यस्ता मानिसहरूसँग व्यवहार गर्ने एउटै मात्र तरिका छ—तिनीहरूबाट टाढा बस् र तिनीहरूसँग संलग्‍न नहो। साथीहरू बनाउने क्रममा, त्यस्ता मानिसहरूलाई छनौट नगर्, किनभने तिनीहरू अत्यन्तै निकृष्ट हुन्छन्; तिनीहरूसँग सङ्गत गर्नाले तँलाई ठूलो समस्या र हैरानी दिनेछ, र यो सबै हैरानी र समस्या पूर्ण रूपमा अनावश्यक हुन्छ। के निकृष्ट मानिसहरूमा चेतना हुन्छ? (हुँदैन।) तिनीहरूसँग कुनै चेतना हुँदैन भनेर भन्‍नुको अर्थ के हो? (तिनीहरूसँग कुनै विवेक वा समझ हुँदैन, र कुनै नैतिक सीमाहरू हुँदैनन्।) यसका विवरणहरू के-के हुन्? (तिनीहरूसँग सामान्य मानिसहरूको सोचाइ हुँदैन।) सामान्य मानिसहरूको सोचाइ नहुनु एउटा पक्ष हो। मलाई भन, के त्यस्ता मानिसहरूमा कुनै लाज हुन्छ? (हुँदैन।) तिनीहरूमा कुनै लाज हुँदैन, तिनीहरूसँग सामान्य मानवताको सोचाइ हुँदैन, र तिनीहरूले विकृत र भ्रमपूर्ण तर्क मात्रै बोल्छन्। तिनीहरूको तर्क आफ्नै हितहरूको रक्षा गर्नमा लक्षित हुन्छ—यो सबै विकृत तर्क हो। यदि तैँले तिनीहरूलाई केही दिइस् भने, तैँले तिनीहरूलाई हेला गर्छस् र तँलाई नचाहिने कुराहरू मात्रै दिन्छस् भनेर भन्छन्। यदि तैँले तिनीहरूलाई केही दिइनस् भने, तिनीहरूले तँ अत्यन्तै कन्जुस छस् भनेर भन्छन्। के त्यस्ता शब्दहरू विकृत तर्क होइनन् र? (हो।) तिनीहरूले कुराहरूलाई सही रूपमा बस बुझ्नै सक्दैनन् र अत्यन्तै नकारात्मक तरिकाले सोच्छन्—यो विकृत तर्क हो। गैरविश्‍वासीहरूले प्रायजसो मानिसहरूले आफूलाई समझपूर्ण आचरणमा ढाल्नुपर्छ भनेर भन्छन्—यदि कुनै व्यक्ति असमझ छ र उसले विकृत तर्क मात्रै बोल्छ भने, ऊ पटक्‍कै असल हुँदैन। यदि कसैले तँलाई कुनै कुरा दियो भने, यसको अर्थ उसले तँलाई केही मात्रामा आदर गर्छ भन्‍ने हुन्छ; यदि उसले तँलाई त्यो कुरा दिएन भने, त्यो पनि सही नै हुन्छ—उसले आफ्नो सम्पत्ति आफूले चाहेको जोसुकैलाई दिन सक्छ। यदि उसले तँलाई यो कुरा दिए पनि तँ अझै गल्ती खोज्छस् तर तिनीहरूले दिएनन् भने तिनीहरूलाई कन्जुस भन्छस् भने, के यो समझभन्दा बाहिर हुनु होइन र? के यस्तो विकृत तर्कमा संलग्‍न हुने मानिसहरू निकृष्ट हुँदैनन् र? (हुन्छन्।) तिनीहरू अत्यन्तै निकृष्ट हुन्छन्! निकृष्ट मानिसहरू समझबाहिर हुन्छन्, त्यसकारण कुनै पनि तर्क तिनीहरूमा छिर्दैन। विवेक र समझअनुसार, वा सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्नु, तिनीहरूका लागि अर्थहीन नै हुन्छ। निकृष्टता पनि अलिकति नीचता जस्तै हो, होइन र? (हो।) उदाहरणका लागि, कतिपय मानिसहरूले कुनै कुरा किन्‍न पैसा खर्च गर्छन् र तिनीहरूले सधैँ मूल्य महँगो भयो भन्‍ने महसुस गर्छन्, मानौँ तिनीहरूले घाटा भोगेका छन्। त्यसपछि तिनीहरूले यस्तो मनन गर्छन्, “तिमीले मबाट फाइदा उठायौ, त्यसकारण मैले तिमीलाई घाटामा पार्ने उपाय खोज्नुपर्छ—त्यसपछि मात्रै मलाई भित्र सन्तुलित महसुस हुनेछ।” यस्ता घृणास्पद र निकृष्ट मानिसहरूले सधैँ अरूबाट कसरी फाइदा उठाउने भनेर मनन गरिरहेका हुन्छन्। यदि तिनीहरूलाई घाटा भोगेको छु भन्‍ने लाग्यो भने, तिनीहरूले अरूका लागि कामकुराहरू कठिन बनाइदिन्छन्; तिनीहरूले सधैँ तिनीहरूलाई घाटा नहोस् भन्‍ने कुरालाई सुनिश्‍चित गर्न चाहन्छन्, त्यसपछि मात्रै तिनीहरू सन्तुष्ट हुन्छन्। यदि तिनीहरूले अरू कसैबाट फाइदा उठाए भने, तिनीहरूले उत्सव मनाउँछन् र तिनीहरू यति खुसी हुन्छन् कि तिनीहरू सपनाबाट हाँस्दै बिउँझन्छन्। तैँले कुनै कुरामा कति पैसा खर्च गर्छस् त्यो तेरो आफ्नै निर्णय हो—कसैले पनि तँलाई तिनीहरूलाई पैसा दिन जबरजस्ती गरेको थिएन। तैँले स्वेच्छाले त्यो किनेकाले, तँ किन अझै पनि आक्रोशित छस् र अझै पनि अरूबाट फाइदा लिन र घाटा भोग्‍नबाट जोगिन खोजिरहेको छस्? के त्यस्ता मानिसहरू अत्यन्तै निकृष्ट हुँदैनन् र? (हुन्छन्।) जब तिनीहरू किरानाका सामान किन्‍न सुपरमार्केट जान्छन् र ती अत्यन्तै महँगा छन् भन्‍ने महसुस गर्छन्, तब घाटाबाट जोगिनका लागि, तिनीहरू थप केही प्लास्टिकको झोला उठाउँछन्। यदि नयाँ वर्ष वा चाडबाडको बेला छ र सुपरमार्केटले क्यालेन्डरहरू बाँडिरहेको छ भने, तिनीहरूलाई अझै धेरै वटा लिनुपर्छ, अनि मात्रै तिनीहरू सन्तुष्ट महसुस गर्छन्। जब तिनीहरूले अरूको फाइदा उठाउँछन्, तब तिनीहरू प्रसन्न हुन्छन् र तिनीहरू कति सक्षम र सिपालु छन् भनेर प्रदर्शन समेत गर्दै हिँड्छन्। मलाई भन, त्यस्ता मानिसहरूमा कस्तो मानसिकता हुन्छ? जेसुकै भए पनि, तिनीहरूले सधैँ फाइदा उठाउन र घाटा भोग्‍नबाट जोगिन सक्छन् कि सक्दैनन् भन्‍ने कुराका आधारमा कामकुराहरूलाई मापन गर्छन्। यस्तो सोचाइ र दृष्टिकोण मात्रै पनि अत्यन्तै निकृष्ट र घृणास्पद हुन्छ। अवश्य नै, यसमा हुकुमी पक्ष पनि हुन्छ, साथै दुष्ट पक्ष पनि हुन्छ। त्यस्ता मानिसहरूसँग व्यवहार गर्न गाह्रो हुन्छ र तिनीहरू किचकिचे हुन्छन्। त्यस्ता मानिसहरूमा मानवताका धेरै खराबीहरू प्रदर्शन हुन्छन्—मानवताको दृष्टिकोणबाट हेर्दा, तिनीहरूको सोचाइको तरिका सामान्य समझ वा व्यवहारका कुनै पनि नियमअनुरूप हुँदैन, र यो सामान्य मानवताको आधारभूत नैतिक आधाररेखाभन्दा तल हुन्छ; अवश्य नै, तिनीहरू मानवताको विवेक र समझसँग पनि मिल्दैनन्। तिनीहरू अत्यन्तै विकृत, अत्यन्तै नीच, र अत्यन्तै दुराग्रही पनि हुन्छन्। के त्यस्ता मानिसहरूलाई प्रायजसो मानिसहरूको समूहमा देखिँदैन र? (देखिन्छ।) निकृष्ट मानिसहरूको चरित्र दुष्ट हुन्छ र तिनीहरूसँग व्यवहार गर्न निकै गाह्रो हुन्छ। कुनै कुरा तिनीहरूको हितहरूसँग सम्बन्धित भएसम्म, चाहे त्यो भौतिक हितहरूसँग सम्बन्धित होस् वा तिनीहरूको अभिमान र हैसियतसँग सम्बन्धित होस्, यस विषयमा तिनीहरूको आचरण प्रकाश हुनेछ; यो निकै स्पष्ट रूपमा प्रदर्शन हुनेछ। तिनीहरूले विकृत र भ्रमपूर्ण तर्कहरू बोल्न थाल्छन्, र तिनीहरू समझप्रति पूर्ण रूपमा अभेद हुन्छन्। ठिक छ, निकृष्ट मानिसहरूका बारेमा रहेको हाम्रो छलफल यति नै हो।

स्वार्थीपन

अर्को प्रकटीकरण स्वार्थ हो। के स्वार्थ असल कुरा हो? (होइन।) त्यसोभए सुरुमा, मलाई भन, के स्वार्थ जन्मजात कुरा हो? (होइन।) स्वार्थ जन्मजात हुँदैन, त्यसोभए यो कस्तो प्रकारको समस्या हो? (यो मानवताको खराबी हो।) (मलाई लाग्छ यो चरित्रको समस्या हो।) स्वार्थलाई परिस्थितिका आधारमा वर्गीकरण गर्नुपर्छ। स्वार्थका केही घटनाहरू मानव जन्मजात प्रवृत्तिका प्रकटीकरणहरू हुन्; ती एक प्रकारका मानव जन्मजात प्रवृत्ति हुन्, जुन मानिसहरूमा हुनुपर्ने अधिकार, आफ्नै हितहरूको सुरक्षा गर्ने अधिकार हो। यदि यो मानव जन्मजात प्रवृत्तिको प्रकटीकरण हो भने, यो मानिसहरूसँग हुनुपर्ने कुरा हो। यस्तो स्वार्थ भनेको आफ्नो मानव अधिकार र आफ्नो वैध अधिकार र हितहरूको सुरक्षा गर्ने कार्यको प्रकटीकरण हो। यस्तो प्रकारको स्वार्थ उचित हुन्छ; यो मानवताको खराबी होइन। तर, अर्को प्रकारको प्रकटीकरण पनि छ जुन यस्तो प्रकारको स्वार्थभन्दा अझ गम्भीर हुन्छ—यसमा अरूका हितहरूमा हानि गर्ने कार्य समावेश हुन्छ, र यो मानवताको खराबी हो; यो चरित्रको समस्यामा आइपुगेको हुन्छ। यी समस्याहरूलाई खुट्ट्याउनु नै पर्ने हुन्छ: स्वार्थका कुन-कुन प्रकटीकरणहरू उचित छन्, स्वार्थका कुन-कुन प्रकटीकरणहरू मानवताको खराबी हुन्, र स्वार्थका कुन-कुन प्रकटीकरणहरूमा चरित्रको समस्या समावेश हुन्छ। यदि यी समस्याहरूलाई स्पष्ट रूपमा देख्‍न सकियो भने, सिद्धान्तहरूअनुसार कसरी अभ्यास गर्ने भन्‍ने कुरा व्यक्तिलाई थाहा हुनेछ। उदाहरणका लागि, मानिसहरूले आफ्नो जीवनको राम्रो हेरचाह गर्न, आफ्‍ना जिम्मेवारी र दायित्वहरू पूर्ण रूपमा पूरा गर्न, र अरूको मामलामा चासो नलिई आफूलाई राम्ररी व्यवस्थापन गर्न, अरूका हितहरूमा हस्तक्षेप नगरी आफूलाई राम्ररी व्यवस्थापन गर्न मात्र चाहन्छन्—मानवताको दृष्टिकोणबाट हेर्दा, यो पनि एक प्रकारको स्वार्थ हो, होइन र? तर, अर्को दृष्टिकोणबाट हेर्दा, यो मानिसहरूमा हुने जन्मजात प्रतिक्रिया पनि हो। अवश्य नै, यो परमेश्‍वरद्वारा मानिसहरूलाई दिइएको अन्तर्निहित अधिकार पनि हो—अर्थात्, अरूको मामलामा चासो नलिई सुरुमा आफ्नो ख्याल राख्ने अधिकार तँसँग हुन्छ। तैँले आफ्नो मानव जीवन कायम राखेर, आफ्नो जीवन टिकाइ कायम राखिरहेको हुन्छस्। यो उचित कुरा हो। अवश्य नै, मानवताको दृष्टिकोणबाट हेर्दा, आफ्ना बारेमा मात्रै वास्ता गर्नु र अरूबारे वास्ता नगर्नु पनि स्वार्थको प्रकटीकरण नै हो। तर, यस्तो प्रकारको स्वार्थ मानवताको सामान्य प्रकटीकरण हो र यो उचित छ। मानव दृष्टिकोणबाट हेर्दा, यसलाई मानवताको खराबीका रूपमा हेरिने भए पनि, वास्तवमा, यो मानवताको खराबीचाहिँ होइन। आफ्नो बारेमा मात्रै वास्ता गर्नु—अघाउञ्जेल खानु र न्यानो लुगा लगाउनु, आफ्नो काम राम्ररी गर्नु, आफ्‍ना दायित्वहरू पूरा गर्नु, र यति मात्रै हो—अरूको हेरचाह गर्न सक्षम नहुनु वा अरूको हेरचाह गर्न नचाहनु, तँसँग भएको अधिकार हो, र यो परमेश्‍वरले तँलाई दिनुभएको जन्मजात प्रवृत्ति पनि हो। जन्मजात अवस्थाहरूको दृष्टिकोणबाट हेर्दा, यदि व्यक्तिलाई कसरी आफ्‍नो हेरचाह गर्ने भन्‍ने समेत थाहा छैन, यदि उसमा यो जन्मजात प्रवृत्तिको कमी छ भने, उसले वयस्क बन्‍ने मानक पूरा गर्दैन। यस्तो प्रकारको स्वार्थ मानिसहरूसँग हुने प्रवृत्तिगत प्रतिक्रिया हो। तिनीहरूले आफ्नो बारेमा मात्रै वास्ता गर्ने भए पनि, आफ्नै अधिकार र हितहरूको मात्रै सुरक्षा गर्ने भए पनि, बाँच्‍नका लागि आफ्ना आधारभूत खाँचोहरू, साथै आफ्नो जीवन र कामको वृत्तभित्र रहेका मामलाहरूको मात्रै वास्ता गर्ने भए पनि, तिनीहरूले अरूका हितहरूमा हस्तक्षेप गर्दैनन् भने, यस्तो स्वार्थलाई निन्दा गरिँदैन। आफूलाई मात्रै वास्ता गर्ने भन्दा पनि साँच्‍चै नै दुष्ट चरित्रको तहमा पुग्‍ने यस प्रकारको स्वार्थमा अरूका हित र अधिकारहरूमाथि अतिक्रमण गर्ने वा हानि गर्ने, अरूका मानव अधिकारहरू हनन गर्ने कार्य पनि समावेश हुन्छ। यो साँचो स्वार्थ हो, र यो दुष्ट चरित्रको समस्या हो। यदि, तेरा हित, प्रतिष्ठा, हैसियत, र अभिमानको रक्षा गर्नका लागि, तैँले अरूका हितहरू हडप्न वा जबरजस्ती लिनका लागि कुनै कसर बाँकी राख्दैनस् भने—अरूका हितहरूलाई आफ्नै हितहरूका रूपमा लिन्छस्, अरूको नभई आफ्नै बारेमा मात्रै ख्याल गर्छस्, अरूलाई बाँच्ने कुनै मार्ग समेत छोड्दैनस् भने—यस्तो प्रकारको स्वार्थले दुष्ट चरित्र जनाउँछ। उदाहरणका लागि, राती, जब अरू सबै सुतिरहेका हुन्छन्, तब तँ उत्साहित हुन्छस् र तँ सुत्न सक्दैनस्, त्यसकारण तँलाई गीत गाउन मन लाग्छ। तँ बहकिएर, ठूलो स्वरमा गाउन थाल्छस्, र गाउँदा सङ्गीत लगाएर नाच्ने समेत गर्छस्। तेरो आफ्नै मुडमा सुधार आउँछ, र तँलाई खुसी लाग्छ, तर तैँले अरू सबैलाई बिउँझाउँछस्, तिनीहरू निदाउनै सक्दैनन्। यसलाई के भनिन्छ? (स्वार्थ।) यस्तो प्रकारको व्यवहारलाई स्वार्थ भनिन्छ। के यो व्यवहारले दुष्ट चरित्र जनाउँछ? (जनाउँछ।) यो व्यवहार किन दुष्ट चरित्रको सङ्केत हो? (किनभने तिनीहरूले अरूलाई ख्याल गरिरहेका हुँदैनन्, र तिनीहरूले अरूको विश्राममा असर गरिरहेका हुन्छन्।) आफैलाई खुसी पार्नका लागि, तँ अरूको विश्राम गर्ने र निदाउने समयलाई बलिदान गर्न पनि हिचकिचाउँदैनस्, सबैलाई तेरो गीतमा साथ दिन र तेरो रमाइलोमा सामेल हुन बाध्य बनाउँछस्। आफ्ना उद्देश्यहरू हासिल गर्न र आफ्ना हितहरूको सुरक्षा गर्नका लागि, तैँले अरूका हित र अधिकारहरूलाई अतिक्रमण गर्छस्। अर्थात्, तेरा आफ्ना हितहरूको रक्षा गर्ने सर्त भनेको अरूका हित र अधिकारहरू बलिदान गर्नु हो। यस्तो प्रकारको प्रकटीकरणलाई स्वार्थ भनिन्छ। यस्तो प्रकारको स्वार्थले घृणास्पद र दुष्ट चरित्रलाई जनाउनुको कारण के हो भने यस्तो व्यवहारले अरूका हितहरूमा हानि गर्छ। तैँले अरूका हितहरूमा हानि गर्दै र तिनलाई कमजोर पार्दै आफ्ना हितहरूको सुरक्षा गर्न अनुचित माध्यमहरू प्रयोग गर्छस्—स्वार्थ भनेको यही हो। उदाहरणका लागि, जब सबैले सँगै खाना खान्छन्, तब कतिपय मानिसहरूले आफूले मासु पाउँछु कि पाउँदिन भन्‍ने बारेमा मात्रै वास्ता गर्छन्, र अरूको भागको मासु समेत खान्छन्। के बढी मासु खाने त्यस्ता मानिसहरू स्वार्थी भइरहेका हुन्छन्? (हुन्छन्।) तिनीहरूको आफूलाई आचरणमा ढाल्ने तरिका अनुचित हुन्छ, तिनीहरूले आफ्‍नो बारेमा मात्रै ख्याल गर्छन् र अरूलाई बेवास्ता गर्छन्—स्वार्थ भनेको यही हो। यो परिस्थितिलाई किन स्वार्थ भनिन्छ? यसलाई किन दुष्ट चरित्र मानिन्छ? किनभने, आफ्‍ना हितहरूको सुरक्षा गर्नका लागि, तिनीहरूले अरूका हितहरूमा अतिक्रमण गर्छन्, अरूका सामानहरू हडप्छन् र ती आफ्नै जस्तो गरी लिन्छन्। यसलाई स्वार्थ भनिन्छ, र यस्तो प्रकारको स्वार्थले घृणास्पद मानवता र दुष्ट चरित्रलाई जनाउँछ। त्यसकारण, यदि तैँले अरूका हितहरूलाई अतिक्रमण गरेर अनि हानि गरेर आफ्ना अधिकार र हितहरूको सुरक्षा गर्छस् भने, तँ स्वार्थी व्यक्ति होस्, दुष्ट चरित्र भएको व्यक्ति होस्। तँ खराब मानवता भएको व्यक्ति होस् भनेर पनि भन्‍न सकिन्छ। तर, यदि तैँले अरूका हितहरूमा हानि गरेको छैनस्, अरूका सम्बन्धहरूलाई तोडेको वा क्षति गरेको छैनस्, र अरूको मामलामा चासो नदिइकन आफैबारे मात्रै ख्याल गरेको छस् भने, यस्तो प्रकारको स्वार्थ अझै पनि केही हदसम्म उचित हुन्छ। बढीमा, तँ त्यति दयालु छैनस्, र तँ सङ्कीर्ण र आत्म-केन्द्रित छस् भनेर भन्‍न सकिन्छ, तर तँ खराब व्यक्ति होइनस्; यो दुष्ट चरित्रको तहमा चाहिँ पुग्दैन। के यी दुई प्रकारका स्वार्थको प्रकृतिमा कुनै भिन्‍नता छ? (छ।) मानिसहरूको स्वार्थको हद र तिनीहरूले कसरी कार्य गर्छन् भन्ने कुराको सारका आधारमा तिनीहरूको चरित्रलाई खुट्ट्याएर, मानिसहरूभित्रको चरित्र फरक हुन्छ भन्‍ने कुरा देख्‍न सकिन्छ—भिन्‍नताहरू हुन्छन्।

कतिपय मानिसहरूले कहिल्यै अरूका मामलाहरूमा चासो दिँदैनन् र आफ्नै मामलाहरूमा मात्रै ध्यान दिन्छन्। त्यस्ता मानिसहरू अरूसँगको अन्तरक्रियामा त्यति न्यानो हृदयका, त्यति मित्रवत्, र त्यति मायालु देखिँदैनन् होला। तर, तिनीहरू कहिल्यै बाधाहरू पैदा गर्दैनन्, अरूका बारेमा कहिल्यै झूट वा अफवाहहरू बनाउँदैनन्, र अरूको सामानमा कहिल्यै हडप्ने वा त्यसलाई अतिक्रमण गर्ने गर्दैनन्। अवश्य नै, तिनीहरूले कहिल्यै अरूलाई आफ्‍नो सामान दिँदैनन्। तिनीहरू अत्यन्तै कन्जुस र अत्यन्तै लोभी देखिएलान्, तर तिनीहरू अरूका हितहरूमा कहिल्यै हानि गर्दैनन्, र तिनीहरू आफूलाई आचरणमा ढाल्ने तरिकामा अत्यन्तै सिद्धान्तअनुरूप हुन्छन्। त्यस्ता मानिसहरूको आधाररेखा हुन्छ, जुन यस्तो हुन्छ: “म तिमीबाट फाइदा उठाउँदिन, र तिमीले मबाट फाइदा उठाउने बारेमा सोच्नु हुँदैन। म कहिल्यै तिमीलाई शोषण गर्दिनँ, र तिमीले मलाई शोषण गर्ने बारेमा सोच्नु हुँदैन।” तिनीहरू अत्यन्तै सिद्धान्तनिष्ठ हुन्छन्। त्यस्ता मानिसहरू अरूप्रति उदासीन भए पनि, अरूलाई सहयोग गर्न उत्कट नभए पनि, अरूसँग अन्तरक्रिया नगर्ने भए पनि, र अरूलाई त्यति धेरै मित्रता वा जोस नदेखाए पनि, तिनीहरू कहिल्यै अरूलाई हानि गर्दैनन्। तिनीहरूसँग कुनै कुरा धेरै भए पनि, तिनीहरू अरूलाई दिँदैनन्। जब तिनीहरूले अरूसँग असल कुराहरू देख्छन्, तब तिनीहरू कहिलेकहीँ डाहा वा ईर्ष्या महसुस गर्न सक्छन्, तर तिनीहरूसँग ती कुराहरू लोभी ढङ्गले लिने कुनै अभिप्राय हुँदैन; तिनीहरूले अरूबाट सुटुक्क फाइदा पनि उठाउँदैनन्, न त आफ्नै फाइदाका लागि अरूका हितहरूलाई अतिक्रमण नै गर्छन्। माथि उल्लेख गरिएका यी बुँदाहरूबाट मूल्याङ्कन गर्दा, तिनीहरू दुष्ट हुँदैनन्। त्यसोभए, के यसको अर्थ तिनीहरूको मानवता असल छ भन्‍ने हुन्छ? तिनीहरूको मानवता असल छ कि छैन भन्‍ने कुरा तिनीहरूको विवेक र समझ, सत्यतालाई स्वीकृतिप्रतिको तिनीहरूको मनोवृत्ति, र सकारात्मक कुराहरूप्रतिको तिनीहरूको मनोवृत्तिमा निर्भर हुन्छ—यो अर्को मामला हो। तर कम्तीमा पनि, अरूसँग मिलजुल गर्दा तिनीहरूले अपनाउने मनोवृत्ति र शैलीबाट मूल्याङ्कन गर्दा, तिनीहरू अरूप्रति दुर्भावनापूर्ण हुँदैनन्। झट्ट हेर्दा, तिनीहरू अत्यन्तै स्वार्थी देखिन्छन्, तिनीहरूले आफ्नो बारेमा मात्रै ख्याल गर्छन्, आफ्नै सानो संसारमा जिउँछन् र अरूका मामलाहरूमा चासो दिँदैनन्। तर, तिनीहरूले कहिल्यै अरूका हितहरूमा हानि गर्दैनन्, त्यसकारण तिनीहरूको चरित्र अझै पनि स्वीकार्य नै हुन्छ। अर्थात्, जब तैँले तिनीहरूसँग अन्तरक्रिया गर्छस् वा तिनीहरूसँग भौतिक वा सामाजिक लेनदेन गर्छस्, तब तिनीहरूले कम्तीमा पनि तेरा हितहरूमा हानि गर्नेछैनन्। यदि तैँले तिनीहरूलाई सल्लाह मागिस् वा केही विचारहरू प्रदान गर्न आग्रह गरिस् भने, तिनीहरूले तँलाई सहयोग गर्नेछन्, तर यदि तैँले आग्रह गरिनस् भने, तिनीहरूले सहयोग गर्न पहल गर्नेछैनन्। यो प्रकटीकरणबाट मूल्याङ्कन गर्दा, त्यस्ता मानिसहरू निकै एकलकाँटे देखिन्छन् होला, तर तिनीहरूले कहिल्यै अरूको फाइदा उठाउँदैनन् वा अरूका हितहरूमा हानि गर्दैनन् भन्‍ने तथ्य मूल्याङ्कन गर्दा, तिनीहरूमा अझै पनि मानवता हुन्छ र तिनीहरू तुलनात्मक रूपमा सभ्य हुन्छन्। के यसलाई यसरी हेर्दा यो सही र वस्तुगत हुन्छ? (हुन्छ।) त्यसकारण, सबै स्वार्थी मानिसहरू दुष्ट मानिसहरू वा कमजोर चरित्र भएका मानिसहरू हुन्छन् भन्‍ने हुँदैन। तैँले तिनीहरूको स्वार्थ अरूका हितहरूमा हानि गर्ने वा अरूको सम्पत्ति हडप्ने बिन्दुसम्म पुगेको छ कि छैन, साथै आफूलाई आचरणमा ढाल्‍ने र संसारसँग व्यवहार गर्ने तिनीहरूको सिद्धान्तहरू के-के हुन्, तिनीहरूको चरित्रको सार के हो, र तिनीहरूले आफूलाई आचरणमा ढाल्‍ने तरिकामा तिनीहरूसँग सीमा र सिद्धान्तहरू छन् कि छैनन् भन्‍ने कुरालाई पनि हेर्नुपर्छ। सतहमा, कतिपय मानिसहरू, अरूसँग मिलजुल गर्दा अत्यन्तै उदार र हार्दिक देखिन्छन्। तिनीहरूले अरूलाई दिन्छन्, अरूलाई सहयोग गर्छन्, र अरूका लागि कामकुरा पनि गरिदिन्छन्। तँलाई कुनै कुरामा सहयोग चाहिएको खण्डमा, यदि तिनीहरूले यो कुरा देखे भने, तैँले आग्रह नै गर्नु नपरी तिनीहरूले हात बटाउँछन्। यी प्रकटीकरणहरूका आधारमा मूल्याङ्कन गर्दा, तिनीहरू निकै दयालु देखिन्छन्। तर, यदि तैँले तिनीहरूलाई चिढ्याइस् वा अनजानमा तिनीहरूको हितमा हानि गर्ने कुनै कुरा गरिस् भने, तिनीहरूले यस कुरालाई छोड्न मान्नेछैनन्, ईख राख्नेछन्, पुराना कुराहरू उठाउनेछन्, र तँलाई चकनाचुर नपारेसम्‍म विश्राम लिनेछैनन्। यिनीहरू दुष्ट मानिसहरू हुन्—बाहिरी रूपमा स्वार्थी देखिने मानिसहरूभन्दा पनि मानवतामा निकै खराब। बुझ्यौ? (बुझ्यौँ।) मानिसहरूमध्ये, यी दुईमध्ये कुन प्रकार बढी आम हुन्छ? तिमीहरूलाई कुन प्रकारचाहिँ मन पर्छ? धेरैजसो मानिसहरूलाई उदासीन र स्वार्थी मानिसहरू मन पर्दैन। कतिपय मानिसहरूले, जब तँलाई कठिनाइमा परेको देख्छन्, तब सहयोग गर्न पहल लिनेछन्। तैँले आग्रह गरिनस् भने पनि, तिनीहरूले तँलाई सहयोग चाहिन्छ कि भनेर अझै पनि सोध्नेछन्। यदि तँलाई चाहिने रहेछ भने, तिनीहरूले तँलाई सहयोग गर्नेछन्। त्यस्ता मानिसहरूसँग अरूप्रतिको प्रेम हुन्छ र अरूलाई दिने र सहयोग गर्ने प्रवृत्ति हुन्छ। कतिपय अरूले, जब तँलाई कठिनाइमा परेको देख्छन्, तब तँलाई सहयोग गर्न पहल लिनेछैनन्, तर यदि तँ बोलिस् र तैँले तिनीहरूलाई अनुरोध गरिस् भने, तिनीहरूले अझै पनि सहयोग गर्नेछन्। त्यस्ता मानिसहरू अलिक निष्क्रिय हुने भए पनि, तिनीहरू अझै पनि खराब हुँदैनन् र तिनीहरूलाई असल मानिसहरू मान्न सकिन्छ। अर्को प्रकारको व्यक्ति पनि छ—तैँले जति नै ठूलो कठिनाइ सामना गरे पनि, उसले तँलाई सहयोग गर्नेछैन। तैँले उसलाई अनुरोध गरे पनि, उसले इन्कार गर्ने बहाना र कारणहरू खोज्नेछ। यस्तो प्रकारको व्यक्ति सबैभन्दा स्वार्थी हुन्छ। कतिपय मानिसहरूले प्रायजसो बाहिरी रूपमा भन्छन्, “यदि तिमीलाई कुनै सहयोग चाहिएको छ भने, बस मलाई भन।” जब केही भइरहेको हुँदैन, तब तिनीहरू विशेष रूपमा हार्दिक, सक्रिय, र सकारात्मक देखिन्छन्। तर जब तैँले तिनीहरूलाई कुनै कुरामा सहयोग गर्न साँच्‍चै आग्रह गर्छस्, तब सहयोग गरेपछि, तिनीहरूले भुक्तानीको सङ्केत दिन थाल्छन्, र यस्ता कुराहरू भन्छन्, “मैले त्यसका लागि मेरो मालिकलाई उपहार दिन यति धेरै पैसा खर्च गरेँ।” हेर् त, सतहमा, तिनीहरू निकै हार्दिक देखिन्छन्, र बदलामा केही नमागी तेरा लागि सेवाहरू प्रदान गर्ने र कामहरू गर्ने प्रस्ताव गर्छन्। तर तिनीहरूले सहयोग गरेपछि, तैँले व्यक्तिगत निगाहको ऋण कहिल्यै पूर्ण रूपमा तिर्न सक्‍नेछैनस्। त्यस्ता मानिसहरू कति धूर्त हुन्छन्! के तैँले त्यस्ता मानिसहरूसँग सङ्गत गर्नु हुन्छ? (हुँदैन।) म त्यस्ता मानिसहरूसँग बस सङ्गत नै गर्दिनँ। तिनीहरू मीठो बोल्छन्, निकै न्यानोपन र ख्याल देखाउँछन्। तिनीहरूले तेरो अगाडि राम्रा कुराहरू भन्छन्, तर तेरो पिठ्युँपछाडि खराब कुराहरू गर्छन्। तिनीहरूले गर्ने कुरामा तिनीहरूसँग पटक्कै कुनै सिद्धान्त हुँदैन; तिनीहरू त मुखले रामराम बगलीमा छुरा जस्तो व्यवहार गर्ने, अनि मुस्कुराउने बाघहरू जस्ता मात्रै हुन्। जब केही भइरहेको हुँदैन, तब तिनीहरू सधैँ तँसँग हाँसो-ठट्टा गरिरहेका हुन्छन्, र तँ निकै नजिकको भएजस्तो व्यवहार गरिरहेका हुन्छन्। तर जब तँलाई साँच्‍चै नै तिनीहरूको सहयोग चाहिन्छ, तब तिनीहरूको अत्तोपत्तो हुँदैन। तिनीहरूलाई गर्न अत्यन्तै सजिलो हुने कुराहरूका हकमा समेत, तिनीहरू ती कुराहरूबाट जोगिनका लागि कारण र बहानाहरू खोज्छन्। थोरै मेहनत लाग्‍ने कुनै कुरा भए पनि, तिनीहरूले तँबाट अझै पनि व्यक्तिगत निगाहहरू माग्‍नेछन्। जब तिनीहरूले तेरा लागि कुनै काम गर्छन्, तब तिनीहरूले तँलाई बदलामा केही न केही दिन लगाउनका लागि हर-प्रकारका उपायहरू सोच्नेछन्। तैँले यो व्यक्तिगत निगाह कहिल्यै पूर्ण रूपमा चुकाउन सक्‍नेछैनस्। अर्कोतर्फ, बाहिरी रूपमा निकै रुखो देखिने र निकै स्वार्थी देखिने मानिसहरूका आचरणमा प्रायजसो सीमाहरू हुन्छन् र तिनीहरू आफ्नो व्यवहारमा अत्यन्तै होसियार हुन्छन्। तिनीहरूले तँप्रति मनतातो व्यवहार गरे पनि, तिनीहरूले कहिल्यै तेरो विरुद्ध षड्यन्त्र गर्नेछैनन्। यदि तैँले तिनीहरूलाई कुनै कुरामा साँच्चै सहयोग मागिस् भने, तिनीहरूले अवश्य नै ठूलो गम्भीरताका साथ सहयोग गर्नेछन्। त्यसपछि, यदि तैँले सानो व्यक्तिगत निगाह वा कुनै भौतिक कुराद्वारा तिनीहरूको गुन तिरिस् भने, तिनीहरूले यसलाई उचित रूपमा लिनेछन्। तर, यदि तैँले तिनीहरूलाई केही दिइनस् भने, तिनीहरूले तँलाई केही पनि माग्‍नेछैनन्, न त तिनीहरूले निगाह वा गुन फिर्ता लिनका लागि नै यो कुरा उठाइरहनेछन्। त्यस्ता मानिसहरू सच्चा हुन्छन्; बाहिरबाट तिनीहरू जस्ता देखिन्छन् भित्री रूपमा तिनीहरू ठ्याक्कै त्यस्तै हुन्छन्। तर, प्रायजसो, त्यस्ता मानिसहरूलाई कसैले पनि मन पराउँदैन, र उनीहरूले तिनीहरू स्वार्थी, मिलजुल हुन गाह्रो, रुखो छन्, र तिनीहरूमा मानव न्यानोपनको कमी छ भनेर भन्छन्, र तिनीहरूसँग कुनै सम्पर्क कायम गर्न चाहँदैनन्। वास्तवमा, यीमध्ये कतिपय मानिसमा सभ्य मानवता हुन्छ। तिमीहरूको वरिपरि हेर अनि कोचाहिँ यस्तो प्रकारको हो भनेर हेर। तिनीहरू बोल्न कुशल नभए पनि, तिनीहरूको व्यक्तित्व निकै रुखो भए पनि, र बाहिरी रूपमा तिनीहरूमा मानव न्यानोपनको कमी छ जस्तो देखिए पनि र अरूसँग कसरी सङ्गत गर्ने वा कुराकानी कसरी सुरु गर्ने भन्‍ने तिनीहरूलाई थाहा नभए पनि, तिनीहरू आफ्नो आचरणमा निकै सिद्धान्तअनुरूप हुन्छन्। तिनीहरू अत्यन्तै दयालु नहुने भए पनि, तिनीहरूको हृदयमा कुनै कुविचार हुँदैन; कम्तीमा पनि, धेरैजसो मानिसहरूप्रति तिनीहरूसँग कुनै खराब अभिप्रायहरू हुँदैनन्। तिनीहरू बाहिरी रूपमा जस्ता देखिन्छन् भित्री रूपमा ठ्याक्कै त्यस्तै हुन्छन्। तिनीहरूले मानिसहरूलाई जित्न संसारसँग व्यवहार गर्ने रणनीति वा दर्शनहरू प्रयोग गर्दैनन्। त्यस्ता मानिसहरू सरल हुन्छन्। के कुरा त्यही हो? (हो।) त्यसोभए अहिले, के तँसँग स्वार्थी मानिसहरूलाई सही रूपमा व्यवहार गर्ने आधार छैन त? तैँले तिनीहरूलाई केका आधारमा व्यवहार गर्नुपर्छ? यो तेरो भावना वा प्राथमिकताहरूमा आधारित हुनु हुँदैन, न त तँलाई यी मानिसहरू मन पर्छ कि पर्दैन, तँ तिनीहरूसँग मिलजुल गर्न सक्छस् कि सक्दैनस्, तिनीहरू तेरा लागि सहयोगी वा लाभदायी छन् कि छैनन्, वा तँप्रतिको तिनीहरूको मनोवृत्ति कस्तो छ त्यसमा नै यो आधारित हुनुपर्छ—यो यी कुराहरूमा आधारित हुन सक्दैन। बरु, यो तिनीहरूको चरित्र, तिनीहरूको मानवता सार, र मानिसहरूप्रति, सत्यताप्रति, र सकारात्मक कुराहरूप्रतिको तिनीहरूको मनोवृत्तिमा आधारित हुनुपर्छ। तैँले स्वार्थी मानिसहरूसँग व्यवहार गर्ने तरिका यी तत्त्वहरूमा आधारित हुन्छ। यदि तिनीहरू साँच्‍चै नै दुष्ट मानिसहरू हुन् भने, तिनीहरूलाई त्यही अनुसार निराकरण गर्। यदि तिनीहरू बाहिरी रूपमा स्वार्थी देखिन्छन् तर तिनीहरूको मानवता दुष्ट छैन भने, तैँले तिनीहरूलाई दुष्ट मानिसहरू वा खराब मानवता भएका मानिसहरूका रूपमा व्यवहार गर्नु हुँदैन। तँलाई यी मानिसहरू मन पर्दैनन् भने पनि वा तिनीहरू अरूसँग सङ्गत गर्न वा सम्बन्धहरू कायम राख्‍न सिपालु छैनन् भने पनि, तैँले तिनीहरूलाई बाहिरी रूपमा स्वार्थी देखिएकै भरमा मात्रै दुष्ट मानिसहरू वा मानवताविनाका मानिसहरूका रूपमा लिनु हुँदैन। यो त यी मानिसहरूविरुद्ध पूर्वाग्रह राख्‍नु हो। त्यसोभए अहिले, के तँसँग स्वार्थी मानिसहरूसँग कसरी व्यवहार गर्ने भन्‍ने बारेमा सिद्धान्त छैन र? यसलाई सामान्यीकरण गर्न सकिँदैन; बरु, यो तिनीहरूको मानवता सार र सत्यता अनि आफ्‍नो कर्तव्यप्रतिको तिनीहरूको मनोवृत्ति र तिनीहरूले आफूलाई आचरणमा ढाल्ने मनोवृत्तिमा आधारित हुनुपर्छ—तैँले तिनीहरूलाई व्यवहार गर्नुपर्ने सिद्धान्त यही हो। स्वार्थको मामला सम्बन्धी हाम्रो सङ्गति यति नै हो।