मानिसको प्रकृति कसरी चिन्ने (भाग एक)
आफ्नो प्रकृतिलाई कसरी चिन्ने? मानिसको प्रकृति के कुराहरूले बनेको हुन्छ? तैँले मानिसका कमजोरीहरू, दोषहरू, अभिप्रायहरू, धारणाहरू, नकारात्मकता, र विद्रोहीपनको बारेमा मात्र जान्दछस्, तर तँ मानिसको प्रकृतिभित्रका कुराहरू पत्ता लगाउन असमर्थ छस्। तैँले बाहिरी तहको बारेमा मात्र जान्दछस् तर यसको उत्पत्ति कहाँ-कसरी भयो भन्ने बारेमा पत्ता लगाउन सक्दैनस्, अनि यस्तो ज्ञानलाई मानिसको प्रकृतिको ज्ञान भनेर भन्न सकिँदैन। कतिपय मानिसहरूले आफूमा अपर्याप्तता र नकरात्मकताहरू रहेको स्विकार्छन् र भन्छन्, “म आफ्नो प्रकृतिलाई बुझ्छु। देख्नुभयो, म मेरो अहङ्कार स्विकार्छु। के त्यो मैले आफ्नो प्रकृति बुझ्नु होइन र?” अहङ्कार मानिसको प्रकृतिको एक हिस्सा हो, त्यति चाहिँ सत्य हो। तर यसलाई धर्मसिद्धान्तको अर्थमा स्वीकार गर्नु काफी छैन। आफ्नो प्रकृतिलाई चिन्नु भनेको के हो? कसरी यसको बारेमा जान्न सकिन्छ? के-के पक्षहरूबाट यसको बारेमा जान्न सकिन्छ? व्यक्तिले प्रकट गर्ने कुराहरूमार्फत उसको प्रकृतिलाई कसरी निश्चित रूपमा बुझ्नुपर्छ? सर्वप्रथम, तैँले कुनै व्यक्तिको प्रकृति उसका रुचिहरूमार्फत देख्न सक्छस्। उदाहरणको लागि, केही मानिसहरूमा प्रसिद्ध र प्रतिष्ठित व्यक्तिहरूप्रति विशेष श्रद्धा हुन्छ, केहीले गायक वा चलचित्रका कलाकारहरूलाई विशेष प्रिय ठान्छन्, र केहीचाहिँ खेल खेल्नमा विशेष रुचि राख्छन्। मानिसहरूका यी प्राथमिकताहरूबाट हामीले तिनीहरूको प्रकृति के-कस्तो छ भनेर देख्न सक्छौं। एउटा सरल उदाहरण छ: केही मानिसहरूले कुनै निश्चित गायकलाई आदर्श बनाउन सक्छन्। तिनीहरूले कुन हदसम्म त्यो गायकलाई आदर्श बनाउँछन्? तिनीहरू त्यो गायकको हर चाल, हर मुस्कान, र हर शब्दप्रति आशक्त हुने हदसम्म पुग्छन्। तिनीहरू यो गायकप्रति मोहित हुन्छन्, उसले लगाएका सबै कुराहरूको तस्विर खिच्छन् र त्यसपछि त्यो सब नक्कल गर्न थाल्छन्। कुनै व्यक्तिप्रतिको यो तहको आदर्शीकरणले कुन समस्या देखाउँछ? यसले देखाउँछ कि त्यस्तो व्यक्तिको हृदयमा त्यस्ता गैरविश्वासी कुराहरू मात्रै छन्, र उसँग सत्यता छैन, उसले सकारात्मक कुराहरू धारण गर्दैन, अनि उसको हृदयमा परमेश्वर हुनु त परको कुरा हुन्छ। यो व्यक्तिले सोच्ने, मन पराउने, र खोजी गर्ने सबै कुराहरू शैतानका हुन्; यी कुराहरूले नै यो व्यक्तिको हृदय भरिएको हुन्छ, यी कुराहरूमै हृदय सुम्पिइसकिएको हुन्छ। के तिमीहरूले तिनीहरूको प्रकृति सार के हो भनेर भन्न सक्छौ? यदि कुनै कुरालाई चरम हदसम्म प्रेम गरिन्छ भने त्यो कुरा व्यक्तिको जीवन बन्न सक्छ र त्यसले उसको हृदय ओगट्न सक्छ, र यसले यो व्यक्ति यस्तो मूर्तिपूजक व्यक्ति हो जो परमेश्वरलाई चाहँदैन, बरु उहाँको सट्टा दियाबलसलाई प्रेम गर्छ भन्ने कुरालाई पूर्ण रूपमा प्रमाणित गर्छ। त्यसकारण, यो निष्कर्ष निकाल्न सकिन्छ कि यस्तो व्यक्तिको प्रकृति भनेको दियाबलसलाई मन पराउने र त्यसको आराधना गर्ने, सत्यलाई मन नपराउने, र परमेश्वरलाई नचाहने हो। के कसैको प्रकृतिलाई हेर्ने सही तरिका यही होइन र? यो पूर्ण रूपमा सही छ। मानिसको प्रकृतिलाई यसरी नै चिरफार गरिनुपर्छ। उदाहरणको लागि, केही मानिसहरूले विशेष गरी पावललाई आदर्श मान्छन्। तिनीहरू बाहिर गएर भाषण दिन र काम गर्न मन पराउँछन्, भेलाहरूमा उपस्थित हुन र प्रवचन दिन मन पराउँछन्, अनि तिनीहरू मानिसहरूले तिनीहरूलाई सुनेको, पुजेको, र तिनीहरूको वरिपरि घुमेको मन पराउँछन्। तिनीहरू अन्य व्यक्तिहरूको हृदयमा आफ्नो स्थान बनाउन चाहन्छन् र तिनीहरूले प्रस्तुत गरेको प्रतिरूपलाई अन्य व्यक्तिहरूले भाउ दिएमा तिनीहरू त्यसको सराहना गर्छन्। अब यी व्यवहारहरूबाट तिनीहरूको प्रकृति चिरफार गरौँ। तिनीहरूको प्रकृति के हो? यदि तिनीहरूले साँच्चै यसरी नै व्यवहार गर्छन् भने, तिनीहरू अहङ्कारी र अभिमानी छन् भनी देखाउन यही काफी हुन्छ। तिनीहरूले परमेश्वरको आराधना गर्दै गर्दैनन्; तिनीहरूले अझ उच्च हैसियत खोज्छन् र अन्य व्यक्तिहरू उपर अधिकार जमाउन, तिनीहरूलाई स्वामित्वमा लिन र तिनीहरूको हृदयमा आफ्नो स्थान बनाउन चाहन्छन्। यो शैतानको चिरपरिचित प्रतिरूप हो। तिनीहरूको प्रकृतिको सहजै देख्न सकिने पक्षहरू भनेका अहङ्कार र अभिमान, परमेश्वरको आराधना गर्न अनिच्छुक हुनु, र अन्य व्यक्तिहरूले आफ्नो आराधना गरून् भन्ने चाहना गर्नु जस्ता कार्य हुन्। त्यस्ता व्यवहारहरूले तिनीहरूको प्रकृतिको बारेमा एकदमै स्पष्ट दृष्टिकोण प्रदान गर्न सक्छन्। उदाहरणको लागि, कतिपय मानिसहरू परिस्थितिहरूको अनुचित लाभ उठाउन साँच्चै मन पराउँछन्, र यस्ता मानिसहरूले सबै मामिलामा आफ्नै स्वार्थहरू पूरा गर्न चाहन्छन्। तिनीहरूले जे गर्छन् त्यसले तिनीहरूलाई लाभ पुर्याउनुपर्छ, नत्र त तिनीहरूले त्यो काम नै गर्दैनन्। कुनै कुराले तिनीहरूलाई कुनै न कुनै फाइदा नपुर्याइञ्जेलसम्म तिनीहरू त्यसको झमेलामा पर्दैनन्, र तिनीहरूका सबै कार्यहरूमा सधैँ गोप्य मनसाय हुन्छ। तिनीहरू आफूलाई लाभ पुर्याउने सबैको बारेमा राम्रो बोल्छन् र आफ्नो चापलुसी गर्ने जोकोहीलाई बढुवा गर्छन्। तिनीहरूलाई मन पर्ने मानिसहरूमा समस्या भए पनि, तिनीहरूले ती मानिसहरू सही छन् भनेर भन्छन् र तिनीहरूको प्रतिरक्षा गर्ने र तिनीहरूको गल्ती ढाकछोप गर्ने प्रयास गर्छन्। त्यस्ता मानिसहरूमा कस्तो प्रकृति हुन्छ? यी बानीबेहोराहरूबाट तैँले तिनीहरूको प्रकृतिलाई स्पष्ट रूपमा देख्न सक्छस्। तिनीहरू हरेक परिस्थितिमा निरन्तर लेनदेनमा संलग्न हुँदै आफ्ना कार्यहरूमार्फत परिस्थितिहरूको अनुचित लाभ लिने प्रयास गर्छन्, र तिनीहरूको प्रकृति भनेको पूर्ण हृदयले फाइदाको लोभ गर्ने प्रकृति हो भन्ने कुरामा तँ निश्चित हुन सक्छस्। तिनीहरूले गर्ने सबै कुरामा आफ्नै फाइदा हेरिरहेका हुन्छन्। तिनीहरूलाई फाइदा नभइञ्जेलसम्म तिनीहरू एकाबिहानै उठ्दैनन्। तिनीहरू सबैभन्दा स्वार्थी मानिसहरू हुन्, र तिनीहरू कहिल्यै चित्त नबुझाउने खालका हुन्छन्। तिनीहरूको प्रकृतिलाई नाफाप्रतिको मोह र सत्यताप्रतिको प्रेमको अभावले प्रकट गर्छ। कतिपय पुरुषहरू स्त्रीहरूद्वारा मोहित हुन्छन्, र जहाँ गए पनि तिनीहरू स्त्रीहरूसँग लठ्ठिँदै घुमिरहेका हुन्छन्। सुन्दर स्त्रीहरू त्यस्ता मानिसहरूको स्नेहका पात्र हुन् र तिनैले तिनीहरूको हृदयमा सबैभन्दा ठूलो स्थान लिएका हुन्छन्। तिनीहरू सुन्दर स्त्रीहरूका लागि आफ्नो जीवन दिन, र सबै कुरा बलिदान गर्न इच्छुक हुन्छन्; स्त्रीहरूले तिनीहरूको हृदय भरिएको हुन्छ। यी पुरुषहरूको प्रकृति के हो? तिनीहरूको प्रकृति भनेको सुन्दर स्त्रीहरूलाई प्रेम गर्नु र तिनीहरूको पूजा गर्नु र दुष्टतालाई प्रेम गर्नु हो। तिनीहरू दुष्ट, लोभी प्रकृतिका कामवासनाले भरिएका मानिसहरू हुन्। यो तिनीहरूको प्रकृति हो भनेर म किन भन्छु त? तिनीहरूको व्यवहारले लोभी प्रकृति प्रकट गर्छ। यी व्यवहार बेला-बखतमा गरिने अपराध मात्रै होइनन्, न त यस्ता मानिसहरू सर्वसाधारण मानिसहरूभन्दा अलिक खराब मात्रै नै हुन्—बरु तिनीहरू यी कुराहरूमा पूर्ण रूपमा लिप्त भएका हुन्छन्, जुन तिनीहरूको प्रकृति र सार नै बनेको हुन्छ। त्यसकारण, यी कुराहरू तिनीहरूको प्रकृतिको खुलासा बनेका हुन्छन्। व्यक्तिको प्रकृतिका अंशहरू निरन्तर आफै प्रकट भइरहेका हुन्छन्। व्यक्तिले जुनसुकै काम गरे पनि, त्यसले उसको प्रकृतिलाई प्रकट गर्न सक्छ। मानिसहरूले गर्ने हरेक कामकुरामा तिनीहरूका आफ्नै मनसाय र उद्देश्यहरू हुन्छन्, र चाहे अतिथिसत्कार होस्, सुसमाचार प्रचार होस्, वा अरू कुनै पनि प्रकारको काम होस्, तिनीहरूले थाहै नपाई आफ्नो प्रकृतिको केही अंश प्रकट गर्न सक्छन्, किनभने व्यक्तिको प्रकृति नै उसको जीवन हो, र मानिसहरू जबसम्म जीवित हुन्छन् तबसम्म आफ्नो प्रकृतिद्वारा उत्प्रेरित हुन्छन्। व्यक्तिको प्रकृति कहिलेकाहीँ प्रकट हुने वा संयोगबस देखा पर्ने मात्रै हुँदैन; बरु, यसले पूर्ण रूपमा व्यक्तिको सारलाई प्रतिनिधित्व गर्न सक्छ। मानिसहरूको हाड र रगतमा बग्ने हरेक कुराले तिनीहरूको प्रकृति र जीवनलाई प्रतिनिधित्व गर्छ। कतिपय मानिसहरूले सुन्दर स्त्रीहरू मन पराउँछन्। अरूले रुपियाँपैसा मन पराउँछन्। कतिपयमा हैसियतप्रतिको विशेष प्रेम हुन्छ। कतिले आफ्नो प्रतिष्ठा र आफ्नो व्यक्तिगत छविलाई मूल्यवान् ठान्छन्। कतिले विशेषतः मूर्तिहरूलाई प्रेम वा आराधना गर्ने गर्छन्। अनि कतिपय मानिसहरू विशेष रूपमा अहङ्कारी र घमण्डी हुन्छन्, तिनीहरू आफ्नो हृदयमा कसैप्रति पनि झुक्दैनन् र कदको लागि लागिपर्छन्, तिनीहरूलाई अरूभन्दा माथि हुन र अरूमाथि अख्तियार चलाउन मन पर्छ। प्रकृति विभिन्न प्रकारका हुन्छन्। मानिसहरूअनुसार ती फरकफरक हुन सक्छन्, तर तिनको आम तत्व भनेका परमेश्वरको विरोध गर्नु र उहाँलाई धोका दिनु हो। त्यस हिसाबमा तिनीहरू सबै उस्तै हुन्छन्।
कुनै व्यक्तिको प्रकृति कस्तो हो भनेर कसरी थाहा पाउने भन्ने सम्बन्धमा, थप केही उदाहरण हेरौँ। उदाहरणको लागि स्वार्थीपनकै कुरा गरौँ। यो भन्न सकिन्छ कि स्वार्थीपन कुनै व्यक्तिको प्रकृतिको एउटा तत्व हो। यो तत्व सबै मानिसभित्र हुन्छ। कतिपय मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन्, चरम रूपमा स्वार्थी हुन्छन्, र सबै कुरामा तिनीहरू आफ्नै बारेमा मात्र सोच्छन्, व्यक्तिगत फाइदाबाहेक अरू केही खोज्दैनन्, र तिनीहरूले अरूको बारेमा अलिकति पनि सोच्दैनन्। यो स्वार्थीपनले तिनीहरूको प्रकृतिको प्रतिनिधित्व गर्छ। सबै जना नै केही हदसम्म स्वार्थी हुन्छन्, तर त्यसमा भिन्नता हुन्छ। अरूसँग उठबस गर्दा, कतिपय मानिसहरूले होशियार भएर अरूको वास्ता गर्न, अरूको चिन्ता गर्न, र आफूले गर्ने हरेक कुरामा अरूको बारेमा सोच्न सक्छन्। तर कतिपय अरूचाहिँ त्यस्ता हुँदैनन्। यी मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन् र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई पाहुना राख्दा सधैँ तुच्छ व्यवहार देखाउँछन्। यिनीहरूले सधैँ आफ्नै परिवारलाई सबैभन्दा मिठो र सबैभन्दा धेरै खानेकुरा दिन्छन्, तर दाजुभाइ-दिदीबहिनीहरूलाई भने अलि नमिठो र अलि कम खानेकुरा मात्रै दिन्छन्। तर जब यिनीहरूका आफ्नै आफन्तहरू आउँछन्, यिनीहरूले तिनीहरूको लागि सबैभन्दा आरामदायी बन्दोबस्त मिलाउँछन्। तर जब दाजुभाइ-दिदीबहिनीहरू आउँछन्, तिनीहरूलाई भूँइमा सुत्न लगाउँछन्। यिनीहरूले दाजुभाइ-दिदीबहिनीहरू आउँदा बास बस्न दिनु नै काफी छ भन्ने सोच्छन्। जब दाजुभाइ-दिदीबहिनीहरू बिरामी पर्छन् वा कुनै समस्यामा पर्छन्, त्यस्तो व्यक्तिले तिनीहरूको बारेमा कुनै विचार गर्दैन, देखे पनि नदेखेझैँ गर्छ। त्यस्ता मानिसहरूले अरूको वास्ता गर्दैनन् वा अरूको लागि अलिकति पनि चिन्ता लिँदैनन्। तिनीहरूले आफ्नै र आफ्ना आफन्तहरूको मात्रै वास्ता गर्छन्। तिनीहरूको यो स्वार्थी प्रकृतिले नै तिनीहरू अरूको वास्ता गर्न अनिच्छुक हुने प्रवृत्ति निर्धारित गरेको हुन्छ। अरूलाई वास्ता गर्दा घाटा बेहोर्नुपर्छ र त्यो ठूलो समस्या हो भन्ने तिनीहरूलाई लाग्छ। कतिपय मानिसहरूले यसो भन्न सक्छन्, “अरूको ख्याल कसरी गर्ने त्यो स्वार्थी व्यक्तिलाई थाहा हुँदैन।” त्यो गलत हो। यदि स्वार्थी मानिसहरूलाई अरूको ख्याल गर्न आउँदैन भने, तिनीहरू किन आफ्ना आफन्तहरूलाई राम्रो व्यवहार गर्छन् र तिनीहरूको खाँचोको पूर्ण वास्ता गर्छन्? कसरी तिनीहरूले आफैमा के कुराको कमी छ र निश्चित समयमा के लाउनु वा खानु उचित हुन्छ भनेर तिनीहरूले जान्दछन्? तिनीहरू किन अरूप्रति त्यस्तो हुन सक्दैनन्? वास्तवमा तिनीहरूले सबै कुरा बुझ्छन्, तर तिनीहरू स्वार्थी र तुच्छ हुन्छन्। यो कुरा तिनीहरूको प्रकृतिले निर्धारित गरेको हुन्छ। स्वार्थी मानिसहरू अरूलाई निष्पक्ष व्यवहार गर्न असक्षम हुन्छन्। यसमा दुष्टपनको कुरा पनि छ। परमेश्वरको घरले बारम्बार व्यभिचार गर्ने सबैलाई हटाइनुपर्ने नियम तोकेको छ। तर केही मानिसहरूको हकमा, यो क्षणिक अपराध मात्र हुन्छ। के यिनीहरूलाई पनि बारम्बार व्यभिचार गर्नेहरूलाई जस्तै गरी सम्हाल्नुपर्छ? यो सिद्धान्तसम्बन्धी मामला हो। बेलाबखत मात्र व्यभिचार गरेकाहरूलाई दुष्ट प्रकृति भएका मानिसहरू मान्न सकिँदैन। यदि कुनै व्यक्ति जता गए पनि विपरीत लिङ्गीहरूसँग बारम्बार जिस्किरहन्छ, र ऊ निर्लज्ज छ र उसमा मानव सम्बन्धबारे कुनै नैतिकता छैन भने, त्यो दुष्ट व्यक्ति हो, र ऊसँग दुष्ट प्रकृति छ। त्यस्ता व्यक्तिहरूले जे कदम चाले नि वा जे काम गरे नि आफ्नो प्रकृति प्रकट गरिछोड्छन्। तिनीहरूको प्रकृति नियन्त्रण गर्न नसकिने हुन्छ र तिनीहरूको हृदय यी फोहोरी कुराले भरिएका हुन्छन्। तिनीहरू जहाँ गए नि विपरीत लिङ्गीहरूसँग जिस्किरहन्छन्, र केही समयको लागि रोकिइहाले पनि, तिनीहरूले वातावरण नमिलेर वा उपयुक्त जोडी नभएर मात्र त्यसो गर्छन्। व्यक्तिको प्रकृतिसम्बन्धी कुराहरू जुनसुकै बेला र जुनसुकै ठाउँमा खुलासा हुन सक्छन्; तीमाथि केही कुराले रोक लगाउन सक्दैन। केही मानिसहरू विशेष गरेर पहिरन, सुन्दरता, र आडम्बरमा फस्छन्; तिनीहरू अति दम्भी हुन्छन्। तिनीहरू दैनिक अनेक पहिरन फेर्छन्। तिनीहरू कसले कति राम्रा लुगा र कति राम्ररी पहिरिन्छन् भनेर हेर्छन्, र यी चीज प्राप्त गर्न नसके, तिनीहरू सुत्नै सक्दैनन्, अनि यी वस्तुहरू प्राप्त गर्न तिनीहरूले पैसा सापटी लिनेछन् वा जतिसुकै मूल्य पनि तिर्नेछन्। यी चीज प्राप्त गर्न सकेनन् भने, तिनीहरूले परमेश्वरमा विश्वास गर्ने चाहना गुमाउन सक्छन्, भेलाहरूमा सहभागी हुन मन गर्न छोड्न सक्छन्, र परमेश्वरको वचन पढ्नमा निरुत्साहित हुन सक्छन्। तिनीहरूको दिमाग यस्तै कुराहरूले भरिएको हुन्छ। तिनीहरू अरू केहीबारे सोच्नै सक्दैनन्। यस्ता मानिसहरू अत्यन्तै आडम्बरी हुन्छन्, औसत मानिसभन्दा धेरै नै दम्भी हुन्छन्। यो तिनीहरूको प्रकृति र नसानसामै हुने कुरा हो। तिनीहरूको प्रकृति नै दम्भी हुन्छ। कुनै व्यक्तिको प्रकृतिका कुराहरू क्षणिक कमजोरीमार्फत प्रकट हुने होइनन्, बरु ती लगातार भइरहने प्रकटीकरण हुन्। मानिसहरूले जे गरे पनि, तिनमा तिनीहरूका प्रकृतिका तत्वहरू रहिरहन्छन्। बाहिरबाट स्पष्ट नदेखिए पनि, भित्र अशुद्धता रहेकै हुन्छ। कुनै छली व्यक्तिले इमानदारीपूर्वक बोलिहाले पनि, वास्तवमा उसका शब्दहरूपछाडि गुप्त अर्थ लुकेको हुन्छ। तिनीहरूका बोलीहरू अझै छलले दूषित हुन्छन्। छली व्यक्तिले जोसँग पनि छल गर्छ, आफ्ना नातागोता र बालबच्चालाई समेत छोड्दैन। तिनीहरूसँग तँ जतिसुकै खरो भए पनि, तिनीहरूले तँसँग छल गर्नेछन्। यो तिनीहरूको साँचो मुहार हो, यो ठ्याक्कै तिनीहरूको प्रकृति हो, जुन परिवर्तन गर्न सजिलो छैन, र यो सधै यस्तै रहिरहनेछ। इमानदार व्यक्तिले कहिलेकाहीँ घुमाउरो र छली कुरा गर्छ, तर ऊ प्राय इमानदार नै हुन्छ, सापेक्षिक गम्भीरतासाथ काम गर्छ, अरूसँग अन्तरक्रिया गर्दा तिनीहरूको फाइदा उठाउँदैन, र अरूसँग बोल्दा तिनीहरूलाई परीक्षा गर्ने अभिप्राय राख्दैन। तिनीहरूले खुलेर हृदयदेखि नै अरूसँग सङ्गति गर्न सक्छन्, र अरू सबैले तिनीहरूलाई निष्कपट ठान्छन्। जब तिनीहरूले कहिलेकाहीँ छली शब्द बोल्छन्, यो केवल तिनीहरूको भ्रष्ट स्वभाव आफै प्रकट भएको कुरा हो। यसले तिनीहरूको प्रकृति जनाउँदैन किनकि तिनीहरू छली मानिस होइनन्। त्यसकारण, जब व्यक्तिको प्रकृतिको कुरा आउँछ, तैँले त्यो प्रकृतिका तत्वहरू के-के हुन् र भ्रष्ट स्वभाव के हो भनी बुझ्नुपर्छ। तैँले यी दुईबीचमा स्पष्ट भिन्नता छुट्याउन सक्नुपर्छ। अहिले, मानिसहरूलाई आफ्नै प्रकृति चिरफार गर्न लगाउँदा, केहीले “म कहिलेकाहीँ रूखो तरिकाले बोल्छु” वा “म असंस्कारी छु र मलाई कस्तो व्यवहार गर्ने भन्ने थाहा छैन” वा “मैले आफ्नो कर्तव्य निर्वाह गर्दा कहिलेकाहीँ अशुद्धताहरू हुन्छन्,” भनेर भन्नेछन्, तर तिनीहरूले आफ्नो प्रकृति कस्तो छ वा आफ्नो मानवता राम्रो छ छैन त्यसबारे कुरा गर्दैनन्। तिनीहरू त्यस प्रकारका कुराहरू सधैँ पन्छाउँछन्, र सम्भवतः साँचो रूपमा आफूलाई चिन्नै सक्दैनन्। जहिले पनि ढाकछोप गरिरहनु र बेइज्जत हुने कुराको डर मानिरहनु स्वीकार्य कुरा होइन। तेरो प्रकृतिमा जे छ, त्यो खोतल्नुपर्छ। यदि खोतल्न सकिन्न भने, त्यो बुझ्न सकिन्न, र यदि त्यो बुझ्न सकिन्न भने परिवर्तन गर्न पनि सकिन्न। आफूलाई चिन्ने कुरामा तँ अति कठोर बन्नुपर्छ। तैँले आफैलाई छल गर्नु हुँदैन, र यस कुरामा तँ कामचलाउ तरिकाले लाग्नु हुँदैन।
आफ्नो प्रकृतिलाई बुझ्ने कार्यमा प्राथमिक रूपमा आफू कस्तो प्रकारको व्यक्ति हुँ भन्ने कुरा बुझ्ने कार्य नै समावेश हुन्छ। तँ कुन प्रकारको व्यक्ति होस् त्यसले तँसँग कस्तो प्रकृति छ भन्ने कुराको सङ्केत दिन्छ। उदाहरणको लागि, कुनै व्यक्ति यस्तो वा त्यस्तो छ भनेर भन्दा, त्यसले उसको प्रकृतिको धेरै कुरा बताउँछ। व्यक्तिमा रहेको प्रकृतिको प्रकारले ऊ कस्तो प्रकारको व्यक्ति हो भन्ने कुरा निर्धारित गरेको हुन्छ। व्यक्तिको प्रकृति उसको जीवन हो। अनि, व्यक्तिको प्रकृति कस्तो छ, त्यो तैँले कसरी देख्न सक्छस्? तँ बारम्बार उसको सम्पर्कमा आउनुपर्छ, र तैँले ऊ कस्तो प्रकारको व्यक्ति हो भनेर अवलोकन गर्दै समय बिताउनुपर्छ। उसमा जे कुरा प्रष्टै प्रकट हुन्छ, र जेले उसको सार र चरित्र प्रतिनिधित्व गर्छ, त्यसैलाई उसको प्रकृति सार भनेर भन्न सकिन्छ। उसको सारका ती तत्वहरूद्वारा नै उसको प्रकृति बनेको हुन्छ। जब कुनै व्यक्ति कस्तो प्रकारको व्यक्ति हो भनेर पत्ता लगाउने कुरा आउँछ, योचाहिँ अझ सही तरिका हो। मानिसको सार जे हुन्छ, उसको प्रकृति त्यस्तै हुन्छ। व्यक्तिको प्रकृतिले नै ऊ कस्तो प्रकारको व्यक्ति हो भन्ने कुरा निर्धारित गर्छ। उदाहरणको लागि, यदि कसैले पैसालाई विशेष मन पराउँछ भने, उसको प्रकृतिलाई एकदुई शब्दमा सारांशित गर्न सकिन्छ: ऊ पैसा-प्रेमी हो। यदि कसैको सबैभन्दा मुख्य विशेषता भनेको स्त्रीलाई मन पराउने हो, र ऊ सधैँ स्त्रीहरूसँग लसपस गरिरहेको हुन्छ, भने, यो व्यक्तिले दुष्टता मन पराउँछ र उसमा दुष्ट प्रकृति छ। कतिपय मानिसहरूले खान धेरै मन पराउँछन्। यदि तैँले त्यस्तो व्यक्तिलाई केही रक्सी र केही मासु दिन्छस् भने, त्यसले तेरो हितमा काम गर्छ। त्यसकारण, यसले यो व्यक्तिमा सुँगुरजस्तै खन्चुवा प्रकृति छ भन्ने देखाउँछ। हरेक व्यक्तिमा भ्रष्ट स्वभाव र घातक त्रुटि हुन्छ, अनि उसको वास्तविक जीवनमा उसलाई यो भ्रष्ट स्वभावले नियन्त्रित गर्छ। ऊ यो भ्रष्ट स्वभावअनुसार जिउँछ, यसले उसको प्रकृति प्रतिनिधित्व गर्छ। यो भन्न सकिन्छ कि उसको प्रकृति उसको जीवनको अंश हो र त्यही नैँ उसको घातक त्रुटि हो—उसको घातक त्रुटि नै उसको प्रकृति हो। कतिपय मानिसहरूमा स्वीकार्य मानवता छ भन्ने देखिन्छ र बाहिरी रूपमा कुनै पनि त्रुटि प्रदर्शन गर्दैनन्, तर तिनीहरूको सबैभन्दा ठूलो कमजोरी भनेकै नाजुकता हुन्छ। तिनीहरूसँग जीवनसम्बन्धी कुनै लक्ष्य वा आकांक्षा हुँदैन; तिनीहरू जीवनमा अल्याङटल्याङ गर्दै अघि बढ्छन्, सानोतिनो बाधा आइपर्दा नै पछारिन्छन् र परिस्थिति कठिन हुँदा नकारात्मक भइहाल्छन्। यदि अन्त्यमा तिनीहरूमा धारणा पलाउँछ, र तिनीहरू त्यसउप्रान्त विश्वास गर्न नै मन नगर्ने हदमा पुग्छन् भने, तिनीहरूको सबैभन्दा ठूलो कमजोरी नै नाजुकता हो; तिनीहरूको प्रकृति नाजुक छ, तिनीहरू बेकारका छन्, र तिनीहरूलाई मदत गर्न सकिँदैन। कतिपय मानिसहरू अत्यन्तै भावुक हुन्छन्। हरेक दिन, तिनीहरूले बोल्ने सबै कुरामा, अरूसित व्यवहार गर्ने तिनीहरूका सबै तौरतरिकामा, तिनीहरू आफ्नो भावनाअनुसार जिइरहेका हुन्छन्। तिनीहरूले यो व्यक्ति र त्यो व्यक्तिप्रति स्नेहको अनुभूति गर्छन्, र तिनीहरू स्नेहको शिष्टतामा उठबस गर्दै दिन बिताउँछन्। आफूले सामना गर्ने हरेक काममा, तिनीहरू भावनाको क्षेत्रमा जिउँछन्। जब त्यस्तो व्यक्तिको गैरविश्वासी आफन्तको मृत्यु हुन्छ, ऊ तीन दिनसम्म रुनेछ, र उसले शव गाड्न दिनछैन। उसमा मरेको व्यक्तिप्रति अझै पनि भावनाहरू हुन्छन् र उसका भावनाहरू अत्यन्तै तीब्र हुन्छन्। यो भन्न सकिन्छ कि भावनाहरू नै उसको घातक त्रुटि हो। यस्ता व्यक्तिहरू हर मामिलामा भावनाहरूद्वारा नियन्त्रित हुन्छन्, तिनीहरू सत्यता अभ्यास गर्न वा सिद्धान्तअनुसार काम गर्न असक्षम हुन्छन्, र तिनीहरूमा प्राय परमेश्वरविरुद्ध विद्रोह गरिरहने प्रवृत्ति हुन्छ। भावनाहरू नै तिनीहरूका सबैभन्दा ठूला कमजोरी, र घातक त्रुटि हुन्, अनि तिनीहरूका भावनाहरूले तिनीहरूलाई पूर्ण रूपमा बर्बाद र नाश पार्न सक्छन्। अत्यन्तै भावुक मानिसहरू सत्यता अभ्यास गर्न वा परमेश्वरप्रति समर्पित हुन असक्षम हुन्छन्। तिनीहरू देहमा लिप्त हुन्छन्, अनि तिनीहरू मूर्ख र बेवकुफ हुन्छन्। यस्ता व्यक्तिहरूको प्रकृति नै एकदमै भावुक हुने हुन्छ, र तिनीहरू आफ्ना भावनाहरूअनुसार जिउँछन्। त्यसकारण, यदि तँ आफ्नो स्वभावमा परिवर्तन खोज्छस् भने, तैँले आफ्नो प्रकृतिलाई जान्नैपर्छ। “नानीदेखि लागेको बानी बदल्न सकिँदैन!” त्यसैले प्रकृति बदल्न सकिन्छ भन्ने त कल्पनै नगर्। यदि व्यक्तिको प्रकृति अत्यन्तै खराब छ भने, ऊ कहिल्यै बदलिनेछैन र परमेश्वरले उसलाई मुक्ति दिनुहुनेछैन। स्वभावमा हुने रूपान्तरण भनेको के हो? जब सत्यतालाई प्रेम गर्ने कुनै व्यक्तिले परमेश्वरको कामको अनुभव गर्दै उहाँका वचनहरूको न्याय र सजाय स्वीकार गर्छ अनि सबै प्रकारका कष्ट र शोधन भोग्छ, तब यस्तो हुने गर्छ। यस्तो व्यक्तिको भित्री शैतानी विषहरू पखालिन्छ अनि उसले आफ्ना भ्रष्ट स्वभावहरू पूर्ण रूपमा फालिदिन्छ ताकि ऊ कहिल्यै पनि परमेश्वरविरुद्ध विद्रोह नगर्न वा उहाँको विरोध नगर्नको लागि परमेश्वरका वचनहरू र उहाँका सबै योजनाहरू र व्यवस्थापनहरूमा समर्पित हुन सकोस्। स्वभावमा हुने रूपान्तरण यही हो। यदि कुनै व्यक्तिको प्रकृति धेरै खराब छ, र यदि ऊ दुष्ट व्यक्ति हो भने, परमेश्वरले उसलाई मुक्ति दिनुहुनेछैन, र पवित्र आत्माले उभित्र काम गर्नुहुनेछैन। अर्को शब्दमा भन्नुपर्दा, यो चिकित्सकले बिरामी हेरेजस्तै हो: सुन्निएको छ भने उपचार गर्न सकिन्छ, तर क्यान्सर नै भएको रहेछ भने उसलाई मुक्ति दिलाउन सकिँदैन। स्वभावमा हुने रूपान्तरण भनेको सत्यतालाई प्रेम र स्वीकार गर्ने व्यक्तिले अन्ततः परमेश्वरसित विद्रोह गर्ने र परमेश्वरविरुद्ध रहेको आफ्नो प्रकृति चिन्नु हो। उसले मानिसहरू अति गहन रूपमा भ्रष्ट पारिएका छन् भनेर बुझ्छ, र उसले मानवजातिको बेतुकेपन र छलीपन, अनि मानवजातिको दरिद्रता र दयनीय अवस्था पनि बुझ्छ, अनि आखिरमा उसले मानवजातिको प्रकृति सार पनि बुझ्न पुग्छ। यी सबै कुरा जानेर, ऊ आफूलाई पूर्ण रूपमा इन्कार्न र आफैविरुद्ध विद्रोह गर्न, परमेश्वरका वचनहरूद्वारा जिउन, र हरेक कुरामा सत्यता अभ्यास गर्न सक्षम हुन्छ। ऊ त्यो व्यक्ति हो जसले परमेश्वरलाई चिन्छ र जसको स्वभाव रूपान्तरित भएको छ।
सबै मानवजाति शैतानद्वारा भ्रष्ट पारिएका छन्, र मानिसको स्वभाव भनेको परमेश्वरलाई धोका दिनु हो। तापनि, शैतानले भ्रष्ट पारिएका सबै मानिसहरूमध्ये केहीले परमेश्वरको काममा समर्पित हुन र सत्यतालाई स्वीकार्न सक्छन्। यिनीहरू सत्यता प्राप्त गर्न सक्ने र स्वभावमा रूपान्तरण हासिल गर्न सक्ने मानिसहरू हुन्। कतिपय मानिसहरूले सत्यता खोजी गर्दैनन्, बरु जस्तो पर्छ त्यस्तै टर्छ भनेर अघि बढ्छन्। तैँले तिनीहरूलाई जे भन्छस् त्यही मान्छन् र त्यही गर्छन्, तिनीहरूले विभिन्न कुराहरू त्याग्न र आफैलाइ समर्पण गर्न सक्छन्, र तिनीहरूले जुनसुकै कष्ट भोग्न सक्छन्। त्यस्ता मानिसहरूमा थोरै विवेक र समझ हुन्छ, र तिनीहरूले मुक्ति पाउने र बाँच्ने आशा हुन्छ, तर तिनीहरूको स्वभाव परिवर्तन हुन सक्दैन किनभने तिनीहरूले सत्यता खोजी गर्न सक्दैनन्, र तिनीहरू धर्मसिद्धान्त बुझ्नमा नै सन्तुष्ट हुन्छन्। तिनीहरूले विवेक उल्लङ्घन गर्ने कुनै कुरा बोल्ने र गर्ने गर्दैनन्, तिनीहरूले आफ्नो कर्तव्य इमानदारीपूर्वक पूरा गर्न सक्छन्, र तिनीहरूले कुनै पनि समस्याबारे गरिएको सत्यताको सङ्गतिलाई स्वीकार गर्न सक्छन्। तैपनि, तिनीहरू सत्यताका सन्दर्भमा गम्भीर प्रयास गर्दैनन्, तिनीहरूको मन अन्योलमा हुन्छ, र तिनीहरूले सत्यताको सार कहिल्यै बुझ्दैनन्। तिनीहरूको स्वभाव परिवर्तन हुनु असम्भव नै हुन्छ। यदि तँ आफूलाई भ्रष्टताबाट धोइन र तेरो जीवन स्वभाव बदल्न चाहन्छस् भने, तँमा सत्यताप्रति प्रेम अनि सत्यता स्वीकार गर्ने क्षमता हुनुपर्छ। सत्यतालाई स्वीकार गर्नु भनेको के हो? सत्यता स्वीकार गर्नुको अर्थ के हो भने, तँसँग जे-जस्तो भ्रष्ट स्वभाव भए तापनि, वा रातो अजिङ्गरको अर्थात् शैतानका जुनसुकै विषहरू तेरो प्रकृतिमा भए तापनि, जब परमेश्वरका वचनहरूले यी कुराहरू पर्दाफास गर्छन्, तब तैँले ती कुरा स्विकार्नुपर्छ र तँ समर्पित हुनुपर्छ, तैँले फरक निर्णय गर्नु हुँदैन, र तैँले परमेश्वरका वचनहरूअनुसार आफूलाई चिन्नुपर्छ। परमेश्वरका वचनहरू स्विकार्न र सत्यता स्विकार्न सक्नु भनेको यही हो। परमेश्वरले जेसुकै भन्नुभए तापनि, उहाँका वाणीहरू जति नै कठोर भए तापनि, र उहाँले जुनसुकै वचनहरू प्रयोग गर्नुभए तापनि, उहाँले भन्नुभएका कुराहरू सत्य हुन् भने तैँले तिनलाई स्वीकार गर्न सक्छस् र ती वास्तविकतासँग मेल खान्छन् भने तैँले तिनलाई स्वीकार्न सक्छस्। तैँले परमेश्वरका वचनहरूलाई जति गहन रूपमा बुझे पनि तँ ती वचनहरूमा समर्पित हुन सक्छस्, र तँ पवित्र आत्माद्वारा प्रकट गरिएको अनि तेरा दाजुभाइ-दिदीबहिनीहरूले सङ्गति गरेको ज्योतिलाई स्वीकार गर्न र त्यसमा समर्पित हुन सक्छस्। जब त्यस्तो व्यक्तिले केही हदसम्म सत्यको खोजी गरेको हुन्छ तब उसले सत्य प्राप्त गर्न सक्छ र उसले आफ्नो स्वभावको रूपान्तरण हासिल गर्न सक्छ। सत्यतालाई प्रेम नगर्ने मानिसहरूमा थोरै मानवता भए पनि, तिनीहरूले केही सुकर्म र परमेश्वरको लागि त्याग र समर्पण गर्न सक्ने भए पनि, तिनीहरू सत्यताबारे अन्योलमा हुन्छन् र यसलाई गम्भीर रूपमा लिँदैनन्, त्यसकारण तिनीहरूको जीवन स्वभाव कहिल्यै परिवर्तन हुँदैन। तैँले देख्न सक्छस् कि पत्रुससँग पनि अरू चेलाहरूको जस्तै मानवता थियो, तर सत्यताको खोजीमा तिनी अरूभन्दा माथि उठेका थिए। येशूले जेसुकै भन्नुभए पनि, तिनले गम्भीरतासाथ मनन गरे। येशूले सोध्नुभयो, “यूहन्नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुसले इमानदारीसाथ जबाफ दिए, “म स्वर्गमा हुनुहुने पितालाई मात्र प्रेम गर्छु, तैपनि मैले पृथ्वीका प्रभुलाई प्रेम गरेको छैनँ।” पछि तिनले बुझे, र सोचे, “यो सही होइन, पृथ्वीमा हुनुहुने परमेश्वर नै स्वर्गका परमेश्वर हुनुहुन्छ। के स्वर्ग र पृथ्वी, दुवैमा हुनुहुने परमेश्वर एउटै हुनुहुन्न र? यदि मैले स्वर्गमा हुनुहुने परमेश्वरलाई मात्र प्रेम गरें भने, मेरो प्रेम व्यावहारिक हुँदैन। मैले पृथ्वीमा हुनुहुने परमेश्वरलाई पनि प्रेम गर्नुपर्छ, तब मात्र मेरो प्रेम व्यावहारिक हुनेछ।” यसरी, येशूले सोध्नुभएको कुराबाट पत्रुसले परमेश्वरको वचनको साँचो अर्थ बुझे। परमेश्वरलाई प्रेम गर्न, र त्यो प्रेम व्यावहारिक हुनका लागि, व्यक्तिले पृथ्वीमा हुनुहुने देहधारी परमेश्वरलाई प्रेम गर्नैपर्छ। अस्पष्ट र अदृश्य परमेश्वरलाई प्रेम गर्नु न त वास्तविक न व्यावहारिक नै हुन्छ, तर व्यावहारिक, देखिने परमेश्वरलाई प्रेम गर्नु सत्यता हो। येशूका वचनहरूबाट, पत्रुसले सत्यता र परमेश्वरको अभिप्रायहरूको बुझाइ प्राप्त गरे। स्पष्ट छ, परमेश्वरमाथिको पत्रुसको विश्वास केवल सत्यताको पछि लाग्ने कार्यमा मात्रै केन्द्रित थियो। आखिरमा, तिनले व्यावहारिक परमेश्वर अर्थात् पृथ्वीमा हुनुहुने परमेश्वरको प्रेम पाउन सके। पत्रुस सत्यताको खोजीमा विशेष रूपमा गम्भीर थिए। येशूले तिनलाई सल्लाह दिनुहुँदा प्रत्येक पटक नै तिनले येशूका वचनहरूलाई गम्भीरताका साथ विचार गर्थे। सायद तिनले महिनौंसम्म, एक वर्ष, वा पवित्र आत्माले तिनलाई अन्तर्दृष्टि नदिऊञ्जेल धेरै वर्षसम्म मनन-विचार गर्थे र तिनले परमेश्वरका वचनहरूको सार बुझ्थे। यसरी, पत्रुस सत्यतामा प्रवेश गरे, र तिनले त्यसो गर्ने क्रममा, तिनको जीवन स्वभाव रूपान्तरण र नवीकरण भयो। यदि व्यक्ति सत्यताको पछि लाग्दैन भने, उसले यसलाई कहिल्यै पनि बुझ्न सक्नेछैन। तैँले शब्द र सिद्धान्तहरू दस हजारपटक बोल्न सक्लास्, तर ती केवल शब्द र धर्मसिद्धान्तहरू मात्र हुनेछन्। कतिपय मानिसहरूले यति मात्र भन्छन्, “ख्रीष्ट सत्य, बाटो र जीवन हुनुहुन्छ।” यदि तैँले यी शब्दहरूलाई दस हजार पटक दोहोऱ्याइस् भने पनि, त्यो व्यर्थ हुनेछ; तैँले तिनको अर्थ बुझेको हुँदैनस्। ख्रीष्ट सत्य, बाटो र जीवन हुनुहुन्छ भनेर किन भनिन्छ? के तैँले यस विषयमा अनुभवबाट प्राप्त गरेको ज्ञानलाई बताउन सक्छस्? के तँ सत्य, बाटो र जीवनको वास्तविकतामा प्रवेश गरेको छस्? परमेश्वरले आफ्ना वचनहरू यसकारण बोल्नुभएको छ ताकि तिमीहरूले तिनको बारेमा अनुभव र ज्ञान प्राप्त गर्न सक। शब्द र सिद्धान्तहरूको मात्रै कुरा गर्नु व्यर्थ हो। तैँले परमेश्वारका वचनहरू बुझेर ती वचनभित्र प्रवेश गरेपछि मात्र तैँले आफैलाई जान्न सक्छस्। यदि तँ परमेश्वरका वचनहरूलाई बुझ्दैनस् भने, तैँले आफैलाई चिन्न सक्दैनस्। तँ सत्यता बुझ्छस् भने मात्र तैँले समझशक्ति प्राप्त गर्न सक्छस्; सत्यता नबुझीकन, तैँले समझ पाउन सक्दैनस्। तँ सत्यता बुझ्छस् भने मात्र, तैँले मामिलाहरूलाई स्पष्टसित देख्न सक्नेछस्। सत्यता नबुझीकन, तैँले मामिलाहरूलाई स्पष्टसित देख्न सक्दैनस्। तँ सत्यता बुझ्छस् भने मात्र तैँले आफैलाई चिन्न सक्छस्। सत्यता नबुझीकन, तैँले आफूलाई चिन्न सक्दैनस्। तैँले सत्यता प्राप्त गरेको छस् भने मात्र तेरो स्वभाव परिवर्तन हुन सक्छ, सत्यताविना तेरो स्वभाव परिवर्तन हुन सक्दैन। तैँले सत्यता प्राप्त गरेको छस् भने मात्र तैँले परमेश्वरको अभिप्रायअनुसार सेवा गर्न सक्छस्। सत्यता प्राप्त नगरीकन, तैँले परमेश्वरको अभिप्रायअनुसार सेवा गर्न सक्दैनस्। सत्यता प्राप्त गरिसकेपछि मात्रै तैँले परमेश्वरको आराधना गर्न सक्छस्। सत्यता नबुझीकन, तैँले उहाँको आराधना गरे पनि, तेरो आराधना धार्मिक संस्कारहरूभन्दा बढी अरू केही पनि हुनेछैन। सत्यताविना, तैँले गर्ने कुनै पनि कुरा वास्तविकता हुँदैन। सत्यता प्राप्त गरेपछि भने, तैँले गर्ने सबै कुरा वास्तविकता हुन्छ। यी सबै थोक परमेश्वरका वचनहरूबाट सत्यता प्राप्त गर्ने कुरामा निर्भर हुन्छन्। कतिपय मानिसहरूले सोध्नेछन्, “ठ्याक्कै भन्नुपर्दा परमेश्वरका वचनहरूबाट सत्यता प्राप्त गर्नुको मतलब के हो?” के यो सोधिरहनु साँच्चै आवश्यक छ? सबै सत्यता परमेश्वरद्वारा व्यक्त गरिएका छन्, र ती सबै परमेश्वरका वचनमा छन्। परमेश्वरका वचनहरूभन्दा बाहिर कुनै सत्यता छैन। यस्ता कैयौँ मानिसहरू छन् जो शब्द र सिद्धान्तबारे बोल्न सक्नु नै सत्य जान्नु हो भन्ठान्छन्, र यो हास्यास्पद कुरा हो। तैँले धर्मसिद्धान्त बोलेर मात्र सत्यता प्राप्त गर्न सक्दैनस्। परमेश्वरका वचनहरूको शाब्दिक अर्थ मात्र सङ्गति गरेर के काम? तैँले परमेश्वरका वचनहरूको अर्थ, परमेश्वरका वचनहरूको स्रोत र ती वचनले पार्न खोजेको प्रभाव बोध गर्नु आवश्यक छ। परमेश्वरको वचनमा सत्यता, जीवन, प्रकाश, सिद्धान्त, र मार्गहरू हुन्छन्। परमेश्वरको प्रत्येक वचनमा थुप्रै कुराहरू हुन्छन्; तिनीहरूको सोझो अर्थ मात्र बताउने, अनि त्यतिकै छोडिदिने, त्यो काफी हुँदैन। म तँलाई एउटा उदाहरण दिन्छु। परमेश्वरले “इमानदार मानिस बन्, छली नबन्” भन्नुभएको छ। यो भनाइको अर्थ के हो? कतिपयले भन्छन्, “यो मानिसहरूलाई इमानदार बन छली नबन भनेको हो, होइन र?” यसको अन्य अर्थ के हुन्छ भनेर तिनीहरूलाई सोधिस् भने, तिनीहरूले यसो भन्नेछन्, “यसको मतलब तिमीहरू छली होइन, इमानदार व्यक्ति बन्नुपर्छ। त्यसले यी दुई कुराहरू मात्र बोल्छ।” तैँले त्यसपछि सोध्न सक्छस्, “इमानदार व्यक्ति बन्नु भनेको ठ्याक्कै के हो त? कस्ता व्यक्तिलाई इमानदार भन्ने? इमानदार व्यक्तिको व्यवहार कस्तो हुन्छ? छली व्यक्तिको व्यवहार कस्तो हुन्छ?” तिनीहरूले यस्तो जवाफ दिनेछन्, “इमानदार व्यक्ति त्यो हो जो इमानदारीपूर्वक बोल्छ, आफ्नो वचनमा झूटोपन मिसाउँदैन, र झूट बोल्दैन। छली व्यक्ति त्यो हो जो घुमाउरो तरिकाले कुरा गर्छ, सत्य बताउँदैन, आफ्नो वचनमा सधैँ अशुद्ध हुन्छ, र झूट बोल्न मन पराउँछ।” तिनीहरूले भन्न सक्ने यति नै हो। मान्छेको सोच अति साधारण हुन्छ। इमानदार मानिसलाई यति साधारण तरिकाले व्याख्या गरेर, के तँ कहिल्यै सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छस्? परमेश्वरको वचनले इमानदार मानिसबारे के भन्छ? पहिलो, इमानदार मानिसहरूले अरूको बारेमा कुनै शङ्का गर्दैनन्, र दोस्रो, इमानदार मानिसहरूले सत्यता स्विकार्न सक्छन्। यी मूख्य दुई विशेषताहरू हुन्। परमेश्वरले यसमार्फत भन्न खोज्नुभएको के हो? परमेश्वर किन यसो भन्नुहुन्छ? परमेश्वरको वचनमार्फत, तैँले इमानदार व्यक्ति बन्नुको गहन अर्थ के हो, त्यसले के जनाउँछ, र इमानदार व्यक्तिको ठ्याक्कै परिभाषा के हो भनी बुझ्न सक्छस्। तैँले यो परिभाषा सही रूपमा बुझेपछि, परमेश्वरको वचनमा, इमानदार व्यक्तिका प्रकटीकरणहरू के-के हुन्, छली मानिसहरू के हुन्, र छली व्यक्तिका प्रकटीकरणहरू के-के हुन् भनी तैँले बुझ्न सक्छस्। त्यसपछि यी प्रकटीकरणहरू मूल्याङ्कन गरिस् भने, इमानदार व्यक्ति भनेको के हो र छली व्यक्ति भनेको के हो, साथसाथै छली मानिसहरूले परमेश्वरको वचनलाई कसरी लिन्छन्, तिनीहरूले परमेश्वरलाई कस्तो व्यवहार गर्छन्, र अन्य मानिसहरूलाई कस्तो व्यवहार गर्छन् भनी तैँले ठ्याक्कै बुझ्नेछस्। यस तरिकाले तैँले परमेश्वरका वचनहरू साँचो रूपमा बुझ्नेछस्, र तैँले इमानदार मानिसहरू र छली मानिसहरूबारे मान्छेको अवधारणा परमेश्वरको वचनले भनेको कुराभन्दा कति फरक छ भनी जान्नेछस्। परमेश्वरको वचनले तँलाई “इमानदार व्यक्ति बन्, छली व्यक्ति नबन्” भन्दाखेरि, त्यसमा थुप्रै कुराहरू हुन्छन्। जब तँ ती वचनहरूको साँचो अर्थ बुझ्छस्, तैँले इमानदार व्यक्ति भनेको के हो र छली व्यक्ति भनेको के हो भन्ने कुरा जान्नेछस्। अभ्यास गर्दा, तैँले निश्चित रूपमा इमानदार व्यक्तिको प्रकटीकरण देखिनेगरी कसरी अभ्यास गर्ने भनेर जान्नेछस्, र तैँले अभ्यासको बाटो र इमानदार व्यक्ति बन्नको लागि अभ्यासका सिद्धान्तहरू प्रष्ट रूपमा देख्नेछस्, जसले तँलाई परमेश्वरको जाँच पास हुने प्रत्याभूति गर्छ। तैँले यी वचनहरू साँच्चिकै बुझ्छस् र व्यवहारमा लागू गर्छस् भने, तँ परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्षम हुनेछस्। तर यदि यी वचनहरू बुझ्दैनस् भने, तँ इमानदार व्यक्ति बन्नेछैनस्, र तैँले परमेश्वरको अनुमोदन कहिल्यै प्राप्त गर्नेछैनस्। परमेश्वरका वचनहरूको सच्चा बुझाइ हासिल गर्नु सजिलो विषय होइन। यस्तो तरिकाले नसोच: “म परमेश्वरका वचनहरूको शाब्दिक अर्थ व्याख्या गर्न सक्छु र सबै जनाले मेरो व्याख्या राम्रो छ भनेर भन्छन् र मलाई स्याबासी दिन्छन्, यसको मतलब मैले परमेश्वरका वचनहरूलाई बुझ्छु।” यो परमेश्वरका वचनहरूलाई बुझ्नु होइन। यदि तैँले परमेश्वरका वाणीहरूभित्रबाट केही ज्योति प्राप्त गरेको छस् भने, र तैँले उहाँका वचनहरूको साँचो अर्थको अनुभूति प्राप्त गरेको छस् भने, र यदि तैँले उहाँका वचनहरूपछाडिको अभिप्राय र तिनीहरूले अन्तमा जे-जस्तो प्रभाव पार्नेछन् सो व्यक्त गर्न सक्छस् भने—यदि तैँले यी सबै कुराहरूको बारेमा स्पष्ट बुझाइ हासिल गरिसकेको छस् भने—तैँले परमेश्वरका वचनहरूको बारेमा केही तहको बुझाइ हासिल गरेको छस् भन्ने मान्न सकिन्छ। यसरी, परमेश्वरका वचनहरूलाई बुझ्नु त्यति सरल छैन। तैँले परमेश्वरका वचनहरूको शाब्दिक अर्थको आलंकारिक व्याख्या गर्न सक्छस् भन्दैमा तैँले तिनलाई बुझ्छस् भनेर भन्न मिल्दैन। तैँले तिनीहरूको शाब्दिक अर्थको जतिसुकै व्याख्या गर्न सक्ने भए तापनि, तेरो व्याख्या अझै पनि मानव कल्पना र मानव सोच शैलीमा आधारित हुन्छ। यो बेकार छ! तैँले कसरी परमेश्वरका वचनहरूलाई बुझ्न सक्छस्? यसको कडी भनेको तिनीहरू भित्रैबाट सत्यता खोजी गर्नु हो। त्यस तरिकाले मात्रै तैँले परमेश्वरका वचनहरू साँचो रूपमा बुझ्न सक्छस्। परमेश्वरले कहिल्यै पनि खोक्रा कुराहरू बोल्नुहुन्न। उहाँले बोल्नुहुने हरेक वाक्यमा विस्तृत विवरणहरू हुन्छन्, जसलाई अवश्य नै उहाँका वचनहरूमा थप पर्दाफास गरिन्छ, अनि तिनीहरूलाई फरक रूपमा व्यक्त गर्न सकिन्छ। परमेश्वरले सत्यता व्यक्त गर्नुहुने शैलीहरूलाई मानिसले पूर्ण रूपमा बुझ्न सक्दैन। परमेश्वरका वाणीहरू एकदमै गहन हुन्छन् र तिनलाई मानव सोचाइद्वारा सजिलै बुझ्न सकिँदैन। मानिसहरूले जबसम्म प्रयत्न गर्छन् तबसम्म सत्यताको हरेक पक्षको सम्पूर्ण अर्थ मोटामोटी रूपमा पत्ता लगाउन सक्छन्। तिनीहरूको लागि यसमा बाँकी रहेका विवरणहरू भने तिनीहरूले यसपछि अनुभवहरू गर्दै जाने क्रममा पवित्र आत्माको अन्तर्दृष्टिले भर्दै जानुपर्नेछ। एउटा भाग भनेको मनन गर्दै परमेश्वरका वचनहरूको बुझाइ हासिल गर्नु र तिनलाई पढेर तिनको विशेष विषयवस्तु खोजी गर्नु हो। अर्को भागचाहिँ परमेश्वरका वचनहरूको अर्थको बुझाइ तिनलाई अनुभव गरेर र पवित्र आत्माबाट अन्तर्दृष्टि प्राप्त गरेर हासिल गर्नु हो। यी दुई पक्षमा निरन्तर प्रगति गरेर, तैँले परमेश्वरको वचन बुझ्न सक्छस्। यदि तँ यसलाई शाब्दिक रूपमा, पाठको तहमा वा आफ्नै सोच र कल्पनाको आधारमा अर्थ्याउँछस् भने, यसलाई फूलबुट्टा भर्दै कलात्मक शैलीमा व्याख्या गरे पनि, तैँले अझै पनि साँचो रूपमा सत्यता बुझेको हुँदैनस्, र यो सबै अझै पनि मानव सोच र कल्पनामा आधारित हुन्छ। यो पवित्र आत्माको अन्तर्दृष्टिबाट प्राप्त गरिएको हुँदैन। मानिसहरूले आफ्ना धारणा र कल्पनाहरूका आधारमा परमेश्वरका वचनहरूलाई अर्थ लगाउने प्रवृत्ति हुन्छ, र यसरी तिनीहरूले आफूलाई परमेश्वरका वचनहरू प्रसङ्गबाहिर अर्थ्याउँदै परमेश्वरलाई गलत बुझ्न र आलोचना गर्न सक्ने बनाउँछन्, र यो समस्याको कुरा हो। त्यसकारण, परमेश्वरका वचनहरू बुझेर अनि पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गरेर नै मुख्य रूपमा सत्यता प्राप्त हुन्छ। परमेश्वरको वचनको शाब्दिक अर्थ बुझ्न र व्याख्या गर्न सक्दैमा तैँले सत्यता प्राप्त गरेको छस् भन्ने हुँदैन। यदि शाब्दिक तहमा परमेश्वरको वचन बुझ्नुको अर्थ तैँले सत्यता बुझेको छस् भन्ने हुने भए, तँलाई थोरै शिक्षा र ज्ञान मात्रै चाहिन्थ्यो, तब किन तँलाई पवित्र आत्माको अन्तर्दृष्टि चाहिन्थ्यो र? के परमेश्वरको काम मानव मस्तिष्कले बुझ्न सक्ने कुरा हो? त्यसकारण, सत्यता बुझ्ने कार्य मानव धारणा वा कल्पनामा आधारित हुँदैन। वास्तविक अनुभव र ज्ञान प्राप्त गर्नको लागि तँलाई पवित्र आत्माको अन्तर्दृष्टि, ज्योति, र मार्गदर्शन चाहिन्छ। सत्यता बुझ्ने र प्राप्त गर्ने प्रक्रिया यही हो, र यो अत्यावश्यक सर्त पनि हो।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।