मानिस नयाँ युगभित्र कसरी प्रवेश गर्छ (भाग एक)
आजको हाम्रो सङ्गतिको विषय हो—नयाँ युग अर्थात् राज्यको युगमा मानिसको प्रवेश, अनि यो राज्यको युगमा मानिसहरूले कसरी जिउनुपर्छ, यो राज्यको युगमा परमेश्वरको काम अनुभव कसरी गर्नुपर्छ ताकि ऊ नयाँ युगमा साँच्चै प्रवेश गरोस्। यो नयाँ युगमा मानिस कसरी प्रवेश गर्छ भन्ने विषयको यो छलफल मुख्यतः के कुरामा केन्द्रित हुनेछ? परमेश्वरले राज्यको युगमा कति धेरै वचनहरू व्यक्त गर्नुहुन्छ र उहाँले न्याय र सजायको काम गरिरहनुभएको छ, र परमेश्वरका चुनिएका सबै मानिसहरूले परमेश्वरका मापदण्डहरू पूरा गर्न मानिसले राज्यको युगमा परमेश्वरमा कसरी विश्वास गर्नुपर्छ भनेर ठ्याक्कै थाहा पाउनुपर्छ। विगतमा प्रायः मानिसहरू प्रभुमा विश्वास गर्थे र परमेश्वरको प्रचुर अनुग्रहको आनन्द लिन्थे। अहिले, तिनीहरूले परमेश्वरको न्याय र सजायको काम अनुभव गर्न थालेका छन्, त्यसैले तिनीहरूले कसरी परमेश्वरमाथिको विश्वासबारे आफ्नो पुरानो विचारबाट परमेश्वरका मापदण्डहरू पूरा गर्ने नयाँ विचारमा अवस्थान्तर गर्न सक्छन्? परमेश्वरमाथिको विश्वासबारे तेरा विगतका दृष्टिकोणहरू सही वा गलत जे भए पनि, त्यो अनुसन्धानको विषय हुनेछैन, र तैँले वास्तविकताको सामना गर्नुपर्छ, र अहिले कसरी विश्वास गर्ने र कसरी पछ्याउने भनी तँलाई थाहा हुनैपर्छ। यदि तैँले अनुग्रहको युगमा जसरी विश्वास गरिस्, र त्यही आधारमा पछ्याइरहिस् भने, र तैँले आफ्नो विगतका दृष्टिकोणहरूको आधारमा परमेश्वरमा विश्वास गरिरहिस् भने, तँ नयाँ युगमा प्रवेश गरेको हुनेछैनस्। म पहिला एउटा नमुना वाक्यांश बोल्छु जसले यस मामिलालाई स्पष्ट पार्नेछ। त्यो कुन वाक्यांश हो? त्यो वाक्यांश अनुग्रहको युगमा धेरै बोलिन्थ्यो, र त्यो हो: “जब एक व्यक्तिले परमेश्वरमा विश्वास गर्छ, उसको सम्पूर्ण परिवार आशिषित हुन्छ।” अर्थात्, जब एक व्यक्तिले येशूमा विश्वास गर्थ्यो, तब सम्बन्धकै कारण जेठोदेखि कान्छोसम्म उसको सम्पूर्ण परिवार लाभान्वित हुन्थ्यो र तिनीहरू सबैले शान्ति र खुसीको आनन्द उठाउँथे। येशूले छुटकाराको काम गर्नुभएको हुनाले, उहाँ असीम रूपमा सहनशील, धैर्यवान्, क्षमाशील र मानिसलाई पापमुक्त पार्ने हुनुहुन्थ्यो। तेरो जीवन प्रवेश र तेरो क्षमता जे-जस्तो भएको भए पनि, वा तैँले विगतमा जति पापहरू गरेको भए पनि, तैँले बस प्रभुसामु स्वीकार गर्नुपर्थ्यो र सबै पाप क्षमा गरिन्थ्यो, र तँलाई शान्ति र आनन्द प्रदान गरिन्थ्यो। तैँले बस “विश्वास” गर्नुपर्थ्यो र त्यो पर्याप्त थियो—त्यो कति सरल थियो। के अहिले एक व्यक्तिले परमेश्वरमा विश्वास गर्दा उसको सम्पूर्ण परिवार आशिषित हुने अवस्था छ? छैन। त्यो काम अहिले किन भइरहेको छैन? किनकि समय भइसकेको छ, र परमेश्वर न्यायको काम गर्न र मानवजातिलाई शैतानको प्रभावबाट पूर्णतः मुक्ति दिन आउनुभएको छ। त्यसैले परमेश्वर अब मानिसहरूलाई उहाँप्रति बफादार र इमानदार हुन, उहाँको आराधना गर्न र उहाँमा समर्पित हुन, अनि उहाँको डर मान्ने हृदय धारण गर्न माग गर्नुहुन्छ—यी कुराहरू मानिसहरूले गर्नैपर्छ। यदि परमेश्वरमा विश्वास गर्नेहरूले सत्यता बोध गर्न, स्वीकार गर्न, सत्यता बुझ्न र प्राप्त गर्न सक्छन् भने, तिनीहरूलाई पूर्ण रूपमा मुक्ति दिइनेछ। तर सत्यता नस्विकार्नेहरू र केवल परमेश्वरको अनुग्रहको लोभ राख्नेहरूलाई हटाइनेछ। यदि तँ अझै पनि परमेश्वरमा विश्वास गर्दा तेरो सम्पूर्ण परिवारलाई आशिष् दिइनेछ भन्ने सोच्दै, परमेश्वरलाई अनुग्रहको युगको काम गर्न माग गर्छस् भने, त्यो ठूलो मूर्खता हो! परमेश्वरले अहिले अनुग्रहको युगको काम गरिरहनुभएको छैन। त्यो युग समाप्त भइसक्यो। तैँले कुरा बुझिस् नि, हैन?
शब्दले नै इङ्गित गरेझैँ, यो “नयाँ युगमा प्रवेश गर्नु” भनेको आजको राज्यको युगमा प्रवेश गर्नु हो, र यसमा परमेश्वरमाथिको विश्वासबारे तेरो दृष्टिकोण, तेरा अभिप्राय, तेरो विश्वास, तेरो जीवन जिउने र विभिन्न कुराहरू अनुभव गर्ने तरिका सबै परिवर्तन हुनैपर्छ। यदि तैँले एउटा कुरा मात्र परिवर्तन गरिस् भने, यदि तँ येशूमा विश्वास गर्थिस् तर आज सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्छस्, र तैँले विश्वास गर्ने परमेश्वरको नाम मात्र परिवर्तन भएको छ भने, वास्तविकतामा तेरो विश्वास गर्ने तरिका, तँ हिँड्ने मार्ग, र तैँले पछ्याउने कुराहरू परिवर्तन भएका छैनन्। अर्थात्, तेरो पछ्याइ, बुझाइ, र दृष्टिकोणहरूमा केही परिवर्तनहरू हुनैपर्छ। यस आधारमा सत्यता पछ्याउँदा मात्र तेरो विश्वास शुद्ध र साँचो हुन सक्छ। अहिले किन केही मानिसहरू परमेश्वरमा विश्वास गर्नु अर्थहीन छ, र आफ्नो विश्वासमा पहिलेको जस्तो उत्साहजनक छैनन् भनी सोचेर सधैँ नकारात्मक हुन्छन्? किनभने परमेश्वरमाथिको विश्वासबारे तिनीहरूको दृष्टिकोण अझै परिवर्तन भएको छैन। अलिकति अनुग्रह प्राप्त गर्न वा अलि धेरै परिश्रम गर्न र दौडधुप गर्नमा मात्र ध्यान केन्द्रित गर्दै, तिनीहरू अझै पनि येशूमा विश्वास गर्दाका आफ्ना धारणाहरूमै अल्झिरहन्छन्; तिनीहरू प्रतिभाहरूमा, सतही-स्तरका काम र उपदेशहरूमा, र उत्साहमा मात्र ध्यान दिन्छन्। तैपनि तिनीहरू परमेश्वरको वर्तमान कामको गतिअनुसार अघि बढ्दैनन्, परमेश्वरका वचनहरू खान र पिउनमा ध्यान दिँदैनन्, र तिनीहरूले पवित्र आत्माबाट अन्तर्दृष्टि पाउँदैनन् त्यसैले तिनीहरू सधैँ नकारात्मक महसुस गर्छन्। यस्ता मानिसहरू परमेश्वरमा विश्वास गर्नेझैँ देखिन्छन्, जबकि वास्तवमा, तिनीहरूले आफ्नो हृदयमा सत्यता स्विकारेकै हुँदैनन्, र त्यसैले तिनीहरूको नकारात्मक स्थिति कहिल्यै समाधान हुँदैन। तिनीहरूसँग जीवन प्रवेश कदापि हुँदैन, तिनीहरू अझै पनि कुनै रूपान्तरणबिना, परमेश्वरमाथिको विश्वासबारे आफ्ना पुराना दृष्टिकोणहरूलाई पक्रिरहन्छन्। के कुरा यही होइन र? पवित्र आत्माको काम परिवर्तन भएको छ, र परमेश्वरमाथिको मानिसको विश्वास पनि पवित्र आत्माको कामसँगै परिवर्तन हुनुपर्छ। यदि तेरो पछ्याइ, जीवन शैली, अनुभवको तरिका, परमेश्वरमाथिको विश्वासबारे तेरो मनोवृत्ति, र परमेश्वरमाथिको विश्वासमा तैँले पालेको अभिप्राय र दृष्टिकोण परिवर्तन भएको छैन भने, यसले तैँले पवित्र आत्माको कामका पाइलाहरूसँगै अघि बढिरहेको छैनस् भन्ने देखाउँछ। यदि मानिसहरू पवित्र आत्माको नयाँ कामको गतिसँगै अघि बढ्न, नयाँ तरिकामा परिवर्तित हुन र नयाँ बुझाइहरू प्राप्त गर्न चाहन्छन् भने, तिनीहरूले सत्यता खोज्नैपर्छ, भित्र प्रवेश गर्नैपर्छ, र आफ्ना हरेक चाल र कार्य, विचार र अवधारणा, हरेक अभिप्राय र दृष्टिकोणजस्ता स-साना कुराहरूमा परिवर्तन ल्याउनैपर्छ—तब मात्र तिनीहरूले प्रगति गर्नेछन्। यदि मानिसहरूले यसका लागि मुख मात्र चलाउँछन्, र व्यवहारमा थोरै मात्र परिवर्तन ल्याउँछन् भने, यसलाई रूपान्तरण मानिँदैन। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तँ आफ्ना विचार र दृष्टिकोण अनि जीवन जिउने तरिकाको रूपान्तरणबाट गुज्रनैपर्छ। यदि तँ आफ्ना पुराना धारणा र कल्पनाहरू त्याग्न सक्छस्, र परमेश्वरमाथिको विश्वासबारे आफ्ना पुराना दृष्टिकोणबारे समझ र ज्ञान प्राप्त गर्न सक्छस् भने, यसले तँ रूपान्तरित भएको प्रमाणित गर्छ। तेरा कुन भागहरू अझै रूपान्तरित भएका छैनन् भनी हेर्न आफैलाई जाँच्, र हेर् कि तैँले अझै पनि बोल्ने वा विभिन्न कुराहरू हेर्ने पुरानो तरिकाहरू कायम राख्छस् कि राख्दैनस्, र तँमा गहिरो गरी गढेका तर अझै उजागर नगरिएका विगतका कुराहरू के-के छन्। यदि तैँले कुनै पनि खोजतलास गरिनस् भने, तँलाई त्यहाँ केही छैन भन्ने लाग्न सक्छ, तर तैँले ध्यानपूर्वक खोजतलास गर्दा उजागर गर्नुपर्ने धेरै कुराहरू पाउनेछस्। किन अहिले केही मानिसहरू परमेश्वरको कामका पाइलाहरूसँगै अघि बढ्न कहिल्यै सक्षम नभएका हुन्? किनभने मानिसहरूभित्र त्यसो गर्नबाट रोक्ने धेरै कुराहरू छन्, र किनभने मानिसहरूमा नयाँ कुराहरूबारे कुनै बुझाइ छैन र तिनीहरू तिनलाई बोध गर्न सक्दैनन्। किन मानिसहरू सधैँ परमेश्वरबारे धारणाहरू पाल्छन्? तिनीहरूसँग परमेश्वरको वचन र कामबारे धारणाहरू हुन्छन्, परमेश्वरको न्याय र सजायबारे पनि धारणाहरू हुन्छन्, परमेश्वरले कुन मानिसहरूलाई मुक्ति दिनुहुन्छ र कुन मानिसहरूलाई हटाउनुहुन्छ भन्ने कुरा तिनीहरू बोध गर्न सक्दैनन्, र परमेश्वरले चिन्ह र चमत्कारहरू देखाउनुहुन्न भन्ने तथ्यलाई पचाउन सक्दैनन्। यसको खास कारण के हो? एउटा कारण के हो भने यो मानिसहरूको घमण्डी र आत्मधर्मी प्रकृतिद्वारा निर्धारित हुन्छ, किनभने मानिसहरूसँग हरेक मामिलाबारे सधैँ आफ्नै धारणा र कल्पनाहरू हुन्छन्—यो मामिलाको जड यही हो; अर्को कारण वस्तुगत छ, र त्यो के हो भने, मानिसहरूले परमेश्वरमाथिको विश्वासबारे धेरै गलत धारणाहरू पालेर राखेका हुन्छन् जुन रूपान्तरित भएकै हुँदैनन्, र त्यो किन हो भने ती गहिरो गरी गढेका कुराहरू अझै पनि रूपान्तरित गरिएकै हुँदैनन्। येशू वा यहोवामाथिको आफ्नो विश्वासबाट बोलिने ती पुराना तरिकाले अझै पनि तिनीहरूको हृदयमा जरा गाडेका हुन्छन्, त्यसैले तिनीहरूले परमेश्वरको नयाँ काम सामना गर्दा, साँचो मार्गलाई त स्विकार्छन्, तर परमेश्वरको बोल्ने र काम गर्ने नयाँ तरिकाहरू बोध गर्न सक्दैनन्। तँ किन यी नयाँ कुराहरू बोध गर्न सक्दैनस्? किनभने तँ अझै पनि विगतका ती पुराना कुराहरूमै टाँसिइरहेको छस् र तँ तिनलाई त्याग्न सक्दैनस्, जसले तँलाई यी नयाँ कुराहरूको प्रतिरोध गर्ने तुल्याउँछ। यदि तँभित्र विगतका ती कुराहरू नभएका भए, तँ परमेश्वरको अहिलेको काम स्विकार्न सक्षम हुनेथिइस्। यदि तँ विगतका ती कुराहरू त्याग्न सक्दैनस् भने, तैँले परमेश्वरबारे धारणाहरू विकास गर्ने र उहाँविरुद्ध विद्रोह गर्ने सम्भावना हुनेछ, र परिणामस्वरूप तैँले घाटा भोग्नेछस्। यदि तैँले आफूलाई परमेश्वरविरोधी बनाइस् भने, तँ परमेश्वरद्वारा हटाइने सम्भावनामा पर्नेछस्, र परमेश्वरले तँलाई दण्ड दिनुहुनेछ।
कुराहरू गर्ने र बुझ्ने कुन पुराना तरिकाहरूले र विगतका कुन पुराना दृष्टिकोणहरूले अझै पनि तिमीहरूभित्र गहिरो जरा गाडेका छन् भनी हेर्न तिमीहरूले खोजतलास र जाँच गर्नुपर्छ। म तिमीहरूलाई एउटा सरल उदाहरण दिन्छु। केही मानिसहरूले ख्रीष्टलाई कहिल्यै देखेका छैनन् न उहाँले बोल्नुभएको सुनेका नै छन्। तिनीहरूले ख्रीष्टले व्यक्त गर्नुभएका वचनहरू मात्र पढेका छन्, र यी वचनहरू असल र अख्तियारपूर्ण छन्, र ती न्यायका वचनहरू हुन् भन्छन्, तर वास्तविकतामा ख्रीष्टसँग सम्पर्कमा आएपछि, तिनीहरूभित्र धारणाहरू उत्पन्न हुन थाल्छन्, र तिनीहरू यसो सोच्छन्, “परमेश्वर किन यति कडा रूपमा बोल्नुहुन्छ? परमेश्वरले मानिसहरूलाई किन यसरी उपदेश दिनुहुन्छ? उहाँ किन यति आडम्बरपूर्ण रूपमा बोल्नुहुन्छ? मानिसको खुलासा र न्याय गर्दै कुरा गर्ने उहाँको तरिका अति डरलाग्दो छ। त्यसलाई कसले स्विकार्न सक्छ? येशूमाथिको हाम्रो विश्वास फरक छ। सबै जना नम्र भएर बोल्छन् र एकअर्कासँग सौहार्दपूर्ण छन्। उहाँले जसरी कोही बोल्दैन। म त्यस प्रकारको परमेश्वरलाई कदापि स्विकार्न सक्दिनँ र उहाँजस्तो परमेश्वरलाई सहन सक्दिनँ। यदि उहाँ प्रभु येशूजस्तै नरम र सौहार्दपूर्वक रूपमा बोल्नुभयो भने, यदि उहाँ मानिसहरूसँग दयालू र मिलनसार हुनुभयो भने, म उहाँलाई स्विकार्न सक्षम हुनेछु। तर म यस प्रकारको परमेश्वरलाई स्विकार्न सक्दिनँ। म उहाँसँग संलग्न हुन पनि सक्दिनँ!” तँ यो साँचो मार्ग हो, यी देहधारणका वचनहरू हुन् भनी स्विकार्छस्, र तँ पूर्ण हृदयले विश्वस्त भएको छस्, त्यसोभए, जब तँ ख्रीष्टको सम्पर्कमा आउँछस्, उहाँको स्वरबारे, उहाँले प्रयोग गर्नुहुने वचनहरूबारे, र उहाँ बोल्नुहुने तरिकाबारे किन धारणाहरू राख्छस् जुन तैँले त्याग्नै सकेको छैनस्? यसले के प्रमाणित गर्छ? यसले प्रमाणित गर्छ कि तेरो हृदयलाई ती पुराना कुराहरूले पहिले नै कब्जा गरिसकेका छन् र ती धारणा र प्रावधान बनिसकेका छन्। वास्तवमा, यी सबै कुराहरू मानिसबाट आउँछन्, तिनीहरू सबै मानिसका निर्णय र कल्पनाहरू हुन्, र तिनीहरू सत्यतासँग मेल खाँदैनन्। यदि कसैले आजको परमेश्वरमा यी कुराहरू थोपर्ने प्रयास गऱ्यो भने, तिनीहरू यो गर्न असमर्थ हुने मात्र होइन, तिनीहरूले उहाँको प्रतिरोध गर्ने पनि सम्भावना हुनेछ। परमेश्वरले विभिन्न युगहरूमा गर्नुहुने काम फरक-फरक हुन्छ, त्यसैले उहाँले व्यक्त गर्ने स्वभाव पनि फरक हुन्छ, र परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, जुन उहाँले प्रकट गर्नुहुन्छ, त्यो पनि फरक हुन्छ। तँ यसमा प्रावधानहरू लागू गर्न सक्दैनस्; जब लागू गर्छस्, तब तैँले परमेश्वरबारे धारणाहरू विकास गर्ने सम्भावना हुनेछ, र तैँले परमेश्वरको प्रतिरोध गर्न पनि सक्नेछस्। यदि तैँले आफैबारे चिन्तन गरिनस् र पश्चात्ताप गर्न पूर्ण रूपमा अस्वीकार गरिस् भने, तँ परमेश्वरद्वारा निन्दित हुनेछस् र उहाँले तँलाई दण्ड दिनुहुनेछ। हरेक युगमा उहाँको काम यस्तै हुन्छ—परमेश्वरलाई स्विकार्ने र उहाँमा समर्पित हुने, उहाँद्वारा आशिषित हुने केही मानिसहरू र परमेश्वरको विरोध र निन्दा गर्ने, उहाँद्वारा नष्ट गरिने केही मानिसहरू सधैँ हुनेछन्। परमेश्वरले आफ्नो आखिरी दिनहरूको काममा कति धेरै वचनहरू बोल्नुहुन्छ र कति धेरै सत्यताहरू व्यक्त गर्नुहुन्छ। मानिसहरूले धारणा बोक्छन् भन्ने कुरा चिन्ताजनक होइन; मानिसहरूले उहाँका वचनहरू पढ्नेछैनन्, वा उहाँले व्यक्त गर्नुभएको सत्यता स्विकार्दैनन् भन्ने कुराचाहिँ चिन्ताजनक कुरा हो—यो सबैभन्दा डरलाग्दो कुरा हो। यदि तेरा धारणा र दृष्टिकोणहरू परमेश्वरले व्यक्त गर्नुभएको सत्यतासँग मेल खाँदैनन् भने, तिनीहरू सत्यताको विपरीत छन्, तिनले परमेश्वरको विरोध गर्छन्, र तिनीहरू असमर्थनीय छन्। मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ, तिनीहरू विद्रोही र प्रतिरोधी हुन्छन्, र तिनीहरूसँग विचारहरू हुन्छन्—तिनीहरूको विचारमा के हाबी हुन्छ? तिनमा मानिसहरूको अभिप्राय, र मानिसहरूले कुराहरूलाई हेर्ने तरिका र दृष्टिकोण हाबी हुन्छ, त्यसैले तेरा विचारहरू पवित्र आत्माबाट आउँदैनन्, न त ती सत्यताको आधारबाट पैदा हुन्छन्। म किन भन्छु कि तेरा धारणा र दृष्टिकोण मानिस र देहका कुराहरू हुन्? किनभने तेरा विचारहरूमा सत्यता हाबी हुँदैन, न त ती सत्यतामा आधारित चिन्तनबाट पैदा हुन्छन्। केही मानिसहरूका विचारहरू बाइबलमा आधारित चिन्तनबाट आउँछन्, र त्यो झन् गलत हो। हामी बाइबल आफैमा गलत छ भनिरहेका छैनौँ, परमेश्वरले विगतमा गर्नुभएको कामलाई उहाँको नयाँ कामसँग तुलना गर्न अनुपयुक्त छ मात्र भनिरहेका छौँ—तैँले उहाँको कामलाई यसरी तुलना गर्नै हुँदैन। उदाहरणका लागि, के अनुग्रहको युगमा मानिसहरूले यहोवाको कामलाई प्रभु येशूको कामसँग तुलना गर्न उपयुक्त हुने थियो? के तैँले प्रभु येशूको कामलाई राज्यको युगमा हुने परमेश्वरको आजको कामसँग तुलना गर्न उपयुक्त हुन्छ? अवश्य नै हुँदैन, तिनीहरूलाई तुलना गर्नै सकिँदैन। किनभने परमेश्वरको कामको प्रत्येक चरण अगाडिको चरणभन्दा उच्च छ, र उहाँले आफ्नो काम दोहोऱ्याउनुहुन्न। जब परमेश्वरले नयाँ कामको नयाँ चरण गर्नुहुन्छ र नयाँ युग सुरु गर्नुहुन्छ, तब त्यहाँ सधैँ परमेश्वरको कामको विरोध गर्ने र उहाँको विरुद्धमा खडा हुने मानिसहरूको एक समूह वा समूहका अधिकांश मानिसहरू किन हुन्छन्? हरेक युगमा यस्तो किन हुन्छ? किनभने, मानिसहरूले परमेश्वरको नयाँ कामलाई स्विकारे वा नस्विकारे पनि, तिनीहरूले विगतमा गरेका बाइबलको व्याख्याहरू, साथै परमेश्वरको नाम, स्वरूप, अनि परमेश्वरमाथिको विश्वास र परमेश्वरमा विश्वास गर्ने तरिकाहरूबारे तिनीहरूका विचारहरू पहिले नै तिनीहरूका हृदयमा संरचित हुन्छन्। यसबाहेक, तिनीहरू ती कुराहरूलाई कदर गर्छन्, र, आफूले केही सत्यता प्राप्त गरेको विश्वास गर्दै, तिनीहरू असीम रूपमा अहङ्कारी हुन्छन्, र आफूलाई अद्भुत र अति महान् ठान्छन्, र जब परमेश्वरले आज गर्नुहुने काम उहाँले विगतमा गर्नुभएको कामभन्दा कति फरक छ भनी देख्छन्, तिनीहरू त्यसलाई मुल्याङ्कन गर्छन्। तिनीहरूले सधैँ अनुग्रहको युगबाट कुराहरू लिन्छन् र तिनलाई आजको परमेश्वरसँग, परमेश्वरले अहिले गर्नुहुने कामसँग, र आजका सत्यताहरूसँग तुलना गर्छन्—के तिनीहरूलाई तुलना गर्न मिल्छ? कुराहरूमा प्रावधानहरू लागू नगर्, बरु तँमा यो सचेतना हुनैपर्छ: “मैले अब परमेश्वरको नयाँ काम स्विकारेको छु तर त्यहाँ केही कुराहरू छन् जुन म बोध गर्न सक्षम छैन। म तिनलाई बिस्तारै अनुभव गर्नेछु र चिन्नेछु, म तिनलाई अलि अलि गरेर पछ्याउनेछु, कमिलाले हड्डी ताछे जस्तै तिनलाई ग्रहण गर्न जारी राख्नेछु र बिस्तारै म तिनीहरूलाई बुझ्नेछु।” परमेश्वरको काम अनन्त रूपमा रहस्यमय छ, र यो बुझ्न नसकिने छ; मानिस कहिल्यै यसको जरासम्म पुग्न सक्दैन। एक-दुई वर्षसम्म यो अनुभव गरेपछि, मानिसहरूले केही बुझाइ प्राप्त गर्न सक्लान्; तीन-चार वर्ष पछि, मानिसहरूले अलि बढी बुझाइ प्राप्त गर्न सक्लान्, र अलि अलि गर्दै तिनीहरू बढ्नेछन् र परिवर्तन हुनेछन्। ती पुराना कुराहरूबारे तिनीहरूको दृष्टिकोण बिस्तारै परिवर्तन हुनेछ, र अलि अलि गर्दै तिनीहरूले ती दृष्टिकोणलाई फाल्नेछन्; जब मानिसहरूले ती पुराना कुरालाई त्याग्छन् तब मात्र तिनीहरूले नयाँ कुराहरू बुझ्नेछन्। ती पुराना कुराहरू अझै पनि तँभित्र गहिरो रूपमा गढिएका छन्, र तैँले ती भेट्टाउन सुरु पनि गरेको छैनस्, र तैपनि तँ जानाजानी आफ्ना धारणाहरू फैलाउन र आफ्नो राय व्यक्त गर्ने हिम्मत गर्छस्, र मनपरी बोल्छस्—यसमा समझको अभाव हुन्छ। म किन भन्छु कि मानिस अति अहङ्कारी बन्छन्? कारण यही हो। मानिसभित्रका ती सडेका कुराहरू बेकार छन्, तर तिनीहरू अझै पनि तिनलाई जानीजानी व्यक्त गर्ने र फैलाउने साहस गर्छन्। के यो अत्यन्तै समझ रहित हुँदैन र? तसर्थ, केही मानिसहरूले कामको यो चरणलाई स्विकारेका छन् र परमेश्वरका वचनहरू पढेका छन्, तर तिनीहरूले वास्तवमा आफूभित्र बोकेका ती पुराना कुराहरूलाई त्यागेका छैनन्। कतिपय ठाउँमा अगुवा र कामदारहरूले आफ्नो धारणाअनुसारको काम पूरा र कार्यान्वयन गर्न सक्षम हुन्छन्, तर काम आफ्नो धारणाअनुसार छैन र तिनीहरूले त्यो काम गर्न चाहेनन् भने किन कार्यान्वयन गर्दैनन्? यो अवस्था किन आउँछ? किनभने मानिसहरू ती पुराना कुराहरू त्याग्न असमर्थ छन् जुन तिनीहरूले भित्र बोकेका छन्। तँभित्रका ती पुराना कुराहरूले जति आकार लिन्छन्, त्यति नै तीव्र रूपमा तँ प्रतिरोध गर्छस्। के त्यस्तो होइन र? किन अहिले धार्मिक संसारमा केही त्यस्ता अगुवाहरू छन्, जो जति उच्च स्थानमा पुग्छन् र जति धेरै मानिसहरूलाई अगुवाइ गर्छन् त्यति नै अहङ्कारी र त्यति नै परमेश्वरको आखिरी दिनहरूको काम स्विकार्न असक्षम हुन्छन्? किनभने मानिसहरू सधैँ विगतका कुराहरूमा टाँसिन्छन्, तिनीहरूले परमेश्वरका वचनहरूलाई सत्यता र जीवनको रूपमा लिँदैनन्, र परमेश्वरलाई सर्वोच्च र महान् मानेर सम्मान गर्न सक्षम हुँदैनन्। बरु, तिनीहरूले आफ्नै धार्मिक धारणा र आफ्नै विचार र दृष्टिकोणलाई सत्यता र साँचो मार्गको रूपमा लिन्छन्—के यो भयानक गल्ती होइन? यसरी, के तँ कतै पनि सत्यता भेट्टाउन सक्षम हुनेछस्? यदि तँ आफ्ना ती कुराहरू सत्यता हुन् भनी विश्वास गर्छस् भने, के तँ अझै पनि परमेश्वरबाट सत्यता प्राप्त गर्न सक्षम हुनेछस्? के तँ अझै पनि सत्यता खोज्न र यसको तृष्णा गर्न सक्षम हुनेछस्?
केही मानिसहरू भन्छन्, “मैले परमेश्वरका धेरै वचनहरू पढेको छु, मैले परमेश्वरको आवाज सुनेको छु, म साँचो मार्ग स्विकार्छु र म परमेश्वरको वचन कसरी पढ्ने भनी जान्दछु। म आफ्ना समस्याहरू आफै समाधान गर्छु, मलाई अरूको मद्दत चाहिँदैन, र यसले मेरो जीवन वृद्धि सुनिश्चित गर्छ।” जब तँ त्यसरी कुरा गर्छस्, तँ कुराहरूलाई अतिरञ्जित गर्छस्। यदि तँ आफैमा मात्रै भर परेर परमेश्वरका वचनहरू पढ्छस् र पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुहुन्न भने, के तँ तिनलाई बुझ्न सक्षम हुन्छस्? यदि परमेश्वरका वचनहरूले तेरो खुलासा र तँभित्रको भ्रष्टताको विश्लेषण गरेनन् भने, तँ परिवर्तित हुन र बुझ्न असक्षम हुनेछस्—तँलाई कुनै पनि बुझाइमा पुग्न गाह्रो हुनेछ। मानिसहरू उपन्यास पढ्दा, तिनलाई राम्ररी बुझेर धेरै दृश्यहरू सम्झन सक्षम हुन्छन्, र एउटा उपन्यास पढिसक्दा, तुरुन्तै अरूलाई त्यसबारे बताउन सक्छन्। तर जीवनका मामिलाहरू अरू कुनै पनि कुरा भन्दा फरक हुन्छन्। जीवनका मामिलाहरू अत्यन्तै गहन हुन्छन्, र ती थोरै मात्र बुझ्नुअघि पनि तैँले वर्षौँसम्म विश्वास गर्नैपर्छ। तैँले परमेश्वरको एउटा वाणी जीवनभर अनुभव गर्न सक्छस्, तैपनि त्यसलाई पर्याप्त रूपमा अनुभव गर्न चाहिँ सक्दैनस्। परमेश्वरले जेसुकै वाणी उच्चारण गर्नुभए पनि, तैँले बाँचुन्जेल त्यसलाई पर्याप्त रूपमा कहिल्यै अनुभव गर्नेछैनस्; तेरो क्षमता जतिसुकै राम्रो भए पनि, तैँले सत्यता बुझ्नुअघि परमेश्वरका वचनहरूको अनुभव र अभ्यासमा भर पर्नैपर्छ। उदाहरणका लागि, एक इमानदार व्यक्ति बन्नुलाई लिऊँ। तैँले झूट बोल्ने समस्या समाधान गर्न सक्नुअघि कति वर्ष अनुभव गर्नुपर्छ? केवल एक वा दुई वर्षको अनुभवपछि काम सक्कियो, तँ अब झूट बोल्दैनस्, तँ अब छली छैनस्, र अब एक इमानदार व्यक्ति भइस् भन्ने हुँदैन। यो सम्भव छैन। तैँले यो परिणाम देख्नुअघि तँसँग धेरै दशकको अनुभव हुनैपर्छ। किनभने मानिसहरू धेरै जटिल हुन्छन्, तिनीहरूको भ्रष्ट स्वभावले तिनीहरूभित्र गहिरो जरा गाडेको हुन्छ, तिनीहरूका धारणाहरूले तिनीहरूलाई सत्यतामा प्रवेश गर्नबाट, परमेश्वरलाई चिन्नबाट रोक्छ, तिनीहरूको अभिप्रायले तिनीहरूलाई स्वभाव परिवर्तन गर्नबाट, सत्यता अभ्यास गर्नबाट रोक्छ, र तिनीहरूले आफ्नो कार्य र बोलीमा राख्ने दृष्टिकोण र अडानले तिनीहरूलाई सत्यता बुझ्नबाट रोक्छ। यदि तँ सत्यताको पक्षमा, परमेश्वरले राज्यको युगमा मानिसहरूले प्राप्त गरून् भनी माग गर्नुहुने सत्यताको पक्षमा बोल्न र कार्य गर्न सक्षम हुन्छस् भने, तँ सजिलैसँग उहाँको काममा समर्पित हुन र परमेश्वरमाथिको विश्वासको सही मार्गमा प्रवेश गर्न सक्षम हुनेछस्। यदि तँ सत्यताको पक्षमा खडा हुँदैनस् भने, तँ परमेश्वरबाट टाढा भड्किसकेको हुनेछस्, वा तँ परमेश्वरको विरोधमा खडा भइरहेको हुनेछस्। तैँले धेरै प्रवचनहरू सुनेको र यति लामो समयसम्म परमेश्वरमा विश्वास गरेकाले तेरो कदमा अझै पनि ठूलो कमी छैन भनेर नसोच्! सत्यता पछ्याउनु भनेको जीवन प्राप्त गर्ने मामला हो, अनन्त जीवन प्राप्त गर्नु हो। सत्यता सदैव अपरिवर्तनीय हुन्छ, सधैँ उपयुक्त हुन्छ, कहिल्यै त्याग्न नमिल्ने, अकाट्य, निर्विवाद हुन्छ—सत्यताको मूल्य र महत्त्व यही हो। सत्यता सबैभन्दा उच्च, गहन र मूल्यवान् कुरा हो। यो बहुमूल्य छ, र व्यक्तिले जीवनभरको अनुभवपछि जे बुझ्न र प्राप्त गर्न सक्छ भन्ने कुराको सीमा हुन्छ।
कसैले भन्छ, “म सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्छु र म मेरो आस्था घरमा एक्लै चलाउँछु, र त्यसैगरी म भजन गाउँछु र परमेश्वरको प्रार्थना गर्छु। काम जुनसुकै चरणमा भए पनि म त्यसलाई पछ्याउँछु र यो विश्वासलाई अन्तिम समयसम्म कायम राख्दा परमेश्वरले मलाई त्याग्नुहुनेछैन।” तँलाई यो कस्तो लाग्छ? तँ घरमा आफ्नो विश्वास चलाएर कसरी सत्यता पछ्याउन सक्छस्? तैँले आफ्नो कर्तव्य ननिभाई परमेश्वरको काम कसरी अनुभव गर्न सक्छस्? यदि तैँले आफ्नो कर्तव्य निभाइनस् भने, केही भ्रष्ट स्वभावहरू खुलासा हुनेछैनन्, अनि त्यसपछि तँ कसरी आत्म-चिन्तन गर्नेछस्? परमेश्वरका वचनहरूको न्याय र सजायलाई तैँले कसरी अनुभव गर्नेछस्? परमेश्वरका वचनहरूले कसरी तेरो खुलासा र काटछाँट गर्नेछन्? मानिसहरू घरमा यी कुरा अनुभव गर्न असमर्थ हुन्छन्। के तँ व्यावहारिक अनुभवबिनै आफैलाई साँच्चै चिन्न सक्छस्? के तँ साँच्चै परिवर्तन हुन सक्छस्? परिवर्तन असम्भव हुनेछ। परमेश्वरको काम अनुभव गर्न, तैँले मण्डली जीवन जिउनैपर्छ, र आफ्नो कर्तव्य निभाएर मात्र तैँले कुराहरू उचित रूपमा अनुभव गर्न सक्छस्। यदि तँ घरमा दस वर्ष वा सोभन्दा बढी, बिस वर्ष वा सोभन्दा बढी आफ्नो विश्वास सञ्चालन गर्छस्, र ठूलो रातो अजिङ्गरलाई ढालियो र ठूला विपत्तिहरू समाप्त भए भने, तब के तँ साँचो अनुभवात्मक गवाहीबारे कुरा गर्न सक्षम हुनेछस्? के तैँले पनि परमेश्वरले कष्ट भोग्नुभएझैँ कष्ट भोगेको हुनेछस्? परमेश्वरका मानिसहरू, जसले यस्तो सुन्दर गवाही दिएका हुनेछन्, तिनीहरू साँच्चै परिवर्तित भएका हुनेछन्, साँच्चै परमेश्वरमा समर्पित हुनेछन् र उहाँप्रति साँच्चै निष्ठावान् हुनेछन्—के तँ यस्तो गवाही दिन सक्षम हुनेछस्? मलाई डर छ, त्यतिबेला तँ पूर्ण रूपमा लज्जित हुनेछस्। परमेश्वर किन भन्नुहुन्छ कि धेरैलाई बोलाइन्छ, तर थोरै चुनिन्छन्? किनभने, भ्रष्ट मानवजातिमाझ सत्यतालाई प्रेम गर्नेहरू निकै कम छन्। अधिकांश मानिसहरू सत्यतालाई प्रेम गर्दैनन्, तिनीहरूमा सत्यता स्विकार्ने क्षमता त झनै कम हुन्छ। म किन यसो भन्छु? केही मानिसहरू परमेश्वरमा विश्वास गर्छन्, र घरमा सबै ठीकठाक हुँदा कुनै गुनासो गर्दैनन्। तर, केही गडबड हुँदा, परिवारको कुनै सदस्य बिरामी भएर अस्पतालमा भर्ना हुँदा, वा छोराछोरी कलेजमा भर्ना हुन असफल हुँदा वा कुनै विपत्ति आइपर्दा, तिनीहरूले टेबुलमा मुट्ठी बजार्छन् र यसो भन्दै परमेश्वरबारे गुनासो गर्छन्, “ह्या! परमेश्वरमाथिको विश्वासले मलाई के दियो? परमेश्वरले मलाई आशिष् दिनुभएको छैन! तपाईँले मलाई, मसँग सम्बन्धित सबै कुरालाई, मेरो सम्पूर्ण परिवार, मेरा छोराछोरीहरू, मेरो पति (वा मेरी पत्नी), साथै मेरो आमा र बुबा, सबै जनालाई आशिष् दिनुपर्छ। यदि मेरो परिवारलाई यस्तो नभएको भए, के म गम्भीरताका साथ सत्यता पछ्याउने थिइनँ र?” सत्यता प्राप्त नगरेकोमा तिनीहरू यस्ता बहाना बनाउँछन्! के तिनीहरूको बहानाले सत्यताको स्थान लिन सक्छ? तिनीहरू आफ्ना बहाना पूर्णतया पर्याप्त र युक्तिसङ्गत छन्, र गुनासो गर्नु सही हो भनी विश्वास गर्छन्। मानिसहरूले परीक्षा र सङ्कष्टहरूको सामना नगर्दा परमेश्वरबारे गुनासो गर्दैनन्। तिनीहरू परमेश्वर कति महान् र अद्भुत हुनुहुन्छ भनेर कराउँछन्। तर परीक्षा र सङ्कष्टहरू आउनेबित्तिकै, परमेश्वरबारे गुनासो गर्ने तिनीहरूको इच्छा जुनसुकै बेला पनि प्रस्फोट हुन सक्छ। तिनीहरू कुराबारे चिन्तन गर्ने र सोच्ने प्रयास नै गर्दैनन्; केवल प्राकृतिक रूपमा आफ्ना भावनाहरू पोख्छन्। केही मानिसहरूका लागि, यो तिनीहरूको परिवारलाई हुने कुरा नभई तिनीहरूका गाईवस्तुलाई हुने कुरा हो र तिनीहरू परमेश्वरबारे गुनासो गर्छन्। के यो अति मूर्खतापूर्ण कुरा होइन र? यदि व्यक्ति आफ्नो परिवारमाथि जेसुकै आइपर्दा पनि, जस्तोसुकै विपत्ति आइपर्दा पनि परमेश्वरबारे गुनासो नगर्ने, कुरालाई मनमा नलिने अवस्थामा पुग्न सक्छ, यदि ऊ जेसुकै आइपर्दा पनि आफ्नो कर्तव्य निभाउने वा आफू परमेश्वरमा समर्पित हुने कार्यमा ढिलाइ गर्दैन, जब परमेश्वरप्रतिको उसको समर्पण प्रभावित हुँदैन, र आइपरेको कुराले उसलाई परमेश्वरको प्रशंसा गर्नबाट रोक्दैन भने, यसले परमेश्वरमाथि विश्वास गर्ने उसको हृदय शुद्ध छ भन्ने प्रमाणित गर्छ। “जब एक व्यक्तिले परमेश्वरमा विश्वास गर्छ, उसको सम्पूर्ण परिवार आशिषित हुन्छ” भन्ने दृष्टिकोण गलत छ। यदि तँ परमेश्वरमाथिको तेरो विश्वासमा सधैँ यो दृष्टिकोणमा टाँसिन्छस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्। आफ्नो गैरविश्वासी परिवारका सदस्यहरू र आफन्तहरूलाई हेर्, तिनीहरू हरेक दिन आफ्नो जीवन जिउन व्यस्त छन्; जब विपत्तिहरू आउँछन्, के तिनीहरू उम्कन सक्नेछन्? अहँ, तिनीहरू सक्नेछैनन्। यदि तँ परमेश्वरमाथिको तेरो विश्वासमा सत्यता पछ्याउँदैनस् र आफ्ना आफन्तहरू जस्तै विपत्तिहरूको दण्डबाट बच्न असमर्थ रहन्छस् भने, तँ तिनीहरूसँगै नष्ट हुनेछस्। यद्यपि, यदि तँ सत्यता पछ्याउँछस्, र तिनको सार बुझ्न सक्षम हुन्छस् भने, तँ शैतानलाई अस्वीकार गर्न सक्षम हुनेछस्, र सोच्नेछस्, “तिनीहरू परमेश्वरमा विश्वास गर्दैनन्। तिनीहरू पिशाच हुन् र तिनीहरू विपत्तिहरूमा नष्ट हुनुपर्छ। तिनीहरू मलाई परमेश्वरमा विश्वास गर्नबाट रोक्न खोज्थे, र तिनीहरूले परमेश्वरको प्रतिरोध गर्ने, परमेश्वरप्रति निन्दनीय कुराहरू भन्थे। विपत्तिमा मरेपछि तिनीहरूले आफ्ना उचित परिणाम पाए। यसमा परमेश्वरका वचनहरू साँच्चै पूरा भएका छन्।” तँसँग पहिला यो विश्वास थिएन र तँ पिशाचहरूलाई सराप्ने हिम्मत गर्दैनथिइस्। अब, तैँले पिशाचहरूको वास्तविक अनुहार देखिस् र तेरो हृदयले यी परमेश्वर-विरोधी पिशाचहरूलाई घृणा गर्न थालेको छ, र यदि तिनीहरू मरे भने, तैँले तिनीहरूलाई गाड्नु मात्र पर्नेछ। तिनीहरूसँग यसरी व्यवहार गर्न सक्षम हुनुले तेरो हृदय साँच्चै परमेश्वरतर्फ फर्केको देखाउँछ। यदि तँ अझै पनि आफ्नो हृदयमा “जब एक व्यक्तिले परमेश्वरमा विश्वास गर्छ, उसको सम्पूर्ण परिवार आशिषित हुन्छ, परिवारले हुर्काएका पशुहरू पनि आशिषित हुन्छन्, घर आशिषित हुन्छ, र त्यो खेतमा भएका बालीहरू आशिषित हुन्छन्,” भन्ने धारणा र कल्पनाहरू बोकेर हिँड्छस् भने, यी कुराहरूले तँलाई सत्यता र परमेश्वरलाई पछ्याउन अनि आफ्नो कर्तव्य निभाउनबाट रोक्नेछन्। यदि कसैको हृदय शुद्ध रूपमा परमेश्वरतर्फ फर्कन्छ, केवल परमेश्वरतर्फ फर्कन्छ भने, तिनीहरूको हृदय निकै शुद्ध र सरल बन्छ, र समय आएपछि तिनीहरूले निकै कम कष्ट भोग्छन्। अहिले तैँले किन यति धेरै कष्ट भोग्छस्? किनभने तँ सारा दिन आफ्नो परिवारका लागि, आफ्ना छोराछोरीहरूका लागि धेरै मेहनत गर्दै, दौडधुप गर्दै र व्यस्ततामा बिताउँछस्। यदि तैँले आफूलाई विशुद्ध रूपमा मण्डलीका लागि समर्पित गरिस् भने, म भन्न सक्छु कि तैँले आराम महसुस गर्नेछस्, होइन र? तँ अहिले पारिवारिक मामिलाहरूमा निकै व्यस्त भएको र मण्डलीका मामिलाहरूमा निकै कम व्यस्त भएको, अनि तेरो घरका मामिलाहरू अति बोझिलो भएको कारणले नै तँ यसलाई सहन सक्दैनस्, र परमेश्वरबारे गुनासो गर्न थाल्छस्। तर वास्तवमा, तैँले परमेश्वरलाई कति अर्पण गरेको छस्? तैँले उल्लेख गर्नलायक केही अर्पण गरेको छैनस्! तँ अझै पनि घर र आफ्नो देहको मामिलामा यति धेरै दौडधुप गर्छस् र व्यस्त हुन्छस्, त्यसोभए तैँले कसरी परमेश्वरबारे गुनासो गर्न सक्छस्? तैँले अबउप्रान्त परमेश्वरबारे गुनासो गर्नै हुँदैन। परमेश्वरमा विश्वास गर्ने जो कोही पनि सत्यता प्राप्त गर्न सक्षम हुन्छ र ऊसँग परमेश्वरलाई चिन्ने मौका हुन्छ—यो महत्त्वपूर्ण छ, अरू कुनै पनि कुरा भन्दा महत्त्वपूर्ण छ, र तैँले मुक्ति प्राप्त गर्नेछस् कि गर्नेछैनस् भन्ने कुरासँग सीधै सम्बन्धित छ। यद्यपि, पहिला तैँले विगतका आफ्ना गलत अभिप्राय, दृष्टिकोण र बुझाइका साथै तैँले आफैभित्र पछ्याउने कुराहरूलाई लिएर, तिनलाई परमेश्वरका वचनअनुसार विश्लेषण गरेर बुझ्नुपर्छ। जब तँ यी कुराहरूलाई स्पष्ट रूपमा देख्न सक्षम हुन्छस्, तब तँ तिनलाई घटाउने र त्याग्ने अभ्यास गर्न सक्छस्। तैँले यी कुराहरूलाई जति धेरै स्पष्ट र तीक्ष्ण रूपमा देख्न सक्छस्, यी सबै पुराना, गलत कुराहरू त्याग्न सक्ने नभएसम्म तैँले त्यति धेरै कुराहरू छोड्नेछस्। तैँले त्यसपछि धेरै आराम महसुस गर्नेछस्, र जब तँ आफूले बुझेका सत्यताहरू अभ्यास गर्छस् र तिनको गवाही दिन सक्षम हुन्छस्, तँ अलि अलि गर्दै परिवर्तन हुन थाल्नेछस्। तैँले अब यस दिशामा अभ्यास र प्रशिक्षण सुरु गर्नुपर्छ, र बिस्तारै तँ अबउप्रान्त ती कुराहरूको बन्धन र बाधामा पर्नेछैनस्—त्यसपछि तँ परमेश्वरमाथिको विश्वासको सही मार्गमा प्रवेश गरेको हुनेछस्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।