परमेश्‍वरले मानिसहरूका परिणामहरू कसरी निर्धारण गर्नुहुन्छ भन्‍नेसम्बन्धी वचनहरू (अंश ७८)

परमेश्‍वरको आखिरी दिनहरूको काममा, उहाँले मानिसहरूको परिणाम तिनीहरूका प्रकटीकरणहरूको आधारमा निर्धारित गर्नुहुन्छ। यहाँ यो “प्रकटीकरणहरू” ले के जनाउँछ, के तिमीहरूलाई थाहा छ? तिमीहरू प्रकटीकरणहरूले मानिसहरूले आफ्‍नो काम गर्दा प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई बुझाउँछ भनी सोच्छौ होला, तर वास्तवमा यसको अर्थ त्यो होइन। यहाँ, प्रकटीकरणहरूले तँ सत्यता अभ्यास गर्न सक्‍ने वा नसक्‍ने कुरा; तँ आफ्नो कर्तव्य पूरा गर्ने क्रममा बफादार रहन सक्षम रहेको वा नरहेको कुरा; परमेश्‍वरमा विश्‍वास गर्ने कुराबारे तेरो दृष्टिकोण, परमेश्‍वरप्रतिको तेरो मनोवृत्ति, कठिनाइहरू सहने तेरो सङ्कल्प; न्याय, सजाय र काटछाँट स्विकार्ने तेरो मनोवृत्ति; तैँले गरेका गम्भीर अपराधहरूको सङ्ख्या; र तैँले अन्त्यमा कुन हदसम्म पश्‍चात्ताप र रूपान्तरण हासिल गर्न सक्छस् भन्‍ने कुराहरूलाई जनाउँछ। यी सबै कुरा मिलेर तेरा प्रकटीकरणहरू बन्छन्। यहाँ प्रकटीकरणहरूले तैँले कति वटा भ्रष्ट स्वभावहरू प्रकट गरेको छस्, वा कति वटा नराम्रा कामकुराहरू गरेको छस् भन्‍ने कुराहरूलाई जनाउँदैन, बरु यसले तैँले परमेश्‍वरमाथिको तेरो विश्‍वासमा कति वटा नतिजाहरू निकालेको छस् र तैँले आफूमा कति वास्तविक परिवर्तन हासिल गरेको छस् भन्‍ने कुरालाई जनाउँछ। यदि मानिसहरूका परिणामहरू तिनीहरूको प्रकृतिले कति धेरै भ्रष्टता प्रकट गरेको छ भन्‍ने आधारमा निर्धारित गरिन्थ्यो भने, कसैले पनि मुक्ति पाउन सक्दैनथ्यो, किनकि सबै मानिसहरू गहन रूपमा भ्रष्ट छन्, तिनीहरू सबैमा शैतानी प्रकृति छ, र तिनीहरू सबैले परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वर सत्यता स्विकार्न र उहाँको काममा समर्पित हुन सक्‍नेहरूलाई मुक्ति दिन चाहनुहुन्छ। तिनीहरूले जति धेरै भ्रष्टता प्रकट गरे पनि, यदि आखिरमा तिनीहरू सत्यता स्विकार्न, साँचो पश्‍चात्ताप गर्न, र साँचो रूपमा परिवर्तन हुन सक्छन् भने, तिनीहरू परमेश्‍वरले मुक्ति दिनुहुने मानिसहरू हुन्। कतिपय मानिसहरूले यो कुरा स्पष्टसित बुझ्न सक्दैनन् र तिनीहरू अगुवाको रूपमा सेवा गर्नेले धेरै भ्रष्ट स्वभावहरू प्रकट गर्छन्, अनि जसले धेरै भ्रष्टता प्रकट गर्छ उसलाई अवश्यै हटाइनेछ र ऊ जीवित रहिरहन सक्दैन भन्‍ने सोच्छन्। के यो दृष्टिकोण सही छ त? अगुवाहरूले धेरै भ्रष्टता प्रकट गरे पनि, यदि तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन् भने, तिनीहरू परमेश्‍वरको न्याय र सजाय अनुभव गर्न योग्य हुन्छन्, तिनीहरूले मुक्ति पाउने र सिद्ध पारिने मार्ग हिँड्न सक्छन्, र तिनीहरूले अन्त्यमा परमेश्‍वरको लागि सुन्दर गवाही दिन सक्नेछन्। तिनीहरू साँचो रूपमा परिवर्तन भएका मानिसहरू हुन्। यदि मानिसहरूको परिणाम तिनीहरूको कति भ्रष्ट स्वभाव प्रकट भएको छ भन्‍ने आधारमा निर्धारण गरिन्थ्यो भने, तिनीहरूले जति धेरै अगुवा र कामदारको रूपमा सेवा गर्थे, त्यति नै छिटो तिनीहरू प्रकाश हुन्थे। यदि त्यस्तो हुन्थ्यो त, अगुवा र कामदार बन्‍न कसले आँट गर्थ्यो र? परमेश्‍वरद्वारा प्रयोग गरिने र सिद्ध पारिने बिन्दुसम्म को पुग्न सक्थ्यो र? के यो दृष्टिकोण एकदमै वाहियात छैन र? परमेश्‍वरले मुख्य गरी मानिसहरूले सत्यता स्विकार्न र अभ्यास गर्न सक्छन् कि सक्दैनन्, तिनीहरूले दिने गवाहीमा दृढ खडा हुन सक्छन् कि सक्दैनन् र तिनीहरू साँच्चै परिवर्तन भएका छन् कि छैनन् भनी हेर्नुहुन्छ। यदि मानिसहरूसँग साँचो गवाही छ र तिनीहरू साँचो रूपमा परिवर्तन भएका छन् भने, तिनीहरू परमेश्‍वरको अनुमोदन पाउने मानिसहरू हुन्। कतिपय मानिसहरूले सतही रूपमा अलिअलि मात्रै भ्रष्टता प्रकट गरेको देखिन सक्छ, तर तिनीहरूसँग साँचो अनुभव गवाही हुँदैन, र तिनीहरू साँचो रूपमा परिवर्तन भएका हुँदैनन् र परमेश्‍वरले तिनीहरूलाई अनुमोदन गर्नुहुन्‍न।

परमेश्‍वरले कुनै पनि व्यक्तिको परिणाम उसको प्रकटीकरण र सारको आधारमा निर्धारण गर्नुहुन्छ। यहाँ प्रकटीकरण भन्नाले कुनै व्यक्ति परमेश्‍वरप्रति बफादार छ कि छैन, उहाँलाई प्रेम गर्छ कि गर्दैन, सत्यता अभ्यास गर्छ कि गर्दैन र उसको स्वभाव कुन हदसम्म परिवर्तन भएको छ भन्‍ने कुरालाई बुझाउँछ। यिनै प्रकटीकरणहरू र उसको सारको आधारमा परमेश्‍वरले व्यक्तिको परिणाम निर्धारण गर्नुहुन्छ, उसले कति धेरै भ्रष्टता प्रकट गर्छ भन्‍ने आधारमा होइन। यदि तँलाई परमेश्‍वरले व्यक्तिको परिणाम उसले कति धेरै भ्रष्टता प्रकाश गर्छ भन्‍ने आधारमा निर्धारण गर्नुहुन्छ भन्‍ने लाग्छ भने, तैँले उहाँको अभिप्रायलाई गलत व्याख्या गरेको छस्। वास्तवमा, मानिसहरूमा एकै किसिमको भ्रष्ट सार हुन्छ, फरक भनेको तिनीहरूसँग असल वा खराब मानवतामध्ये कुन छ, र तिनीहरू सत्यता स्विकार्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरामा रहन्छ। चाहे व्यक्तिले जतिसुकै भ्रष्टता प्रकट गरोस्, उसको हृदयको गहिराइमा के छ भन्‍ने कुरा परमेश्‍वरलाई राम्रोसँग थाहा हुन्छ; तैँले यो लुकाउनै पर्दैन। परमेश्‍वरले मानिसहरूको हृदयको गहिराइलाई नियाल्नुहुन्छ। चाहे अरूको अगाडि वा पछाडि तैँले गरेको कुनै कुरा होस्, वा हृदयमा तैँले गर्न चाहेको कुनै कुरा होस्, ती सबै कुरा परमेश्‍वरको सामु उदाङ्गो हुन्छन्। मानिसहरूले गुप्त रूपमा के गर्छन् भन्‍ने कुरा परमेश्‍वरलाई कसरी थाहा हुन सक्दैन र? के यो आत्मभ्रम होइन र? साँचो भन्‍ने हो भने, व्यक्तिको प्रकृति जतिसुकै छली भए पनि, उसले जतिसुकै झुट बोले पनि, ऊ आफूलाई लुकाउन र चलाकी गर्न जतिसुकै सिपालु भए पनि, परमेश्‍वरले यी सबै कुराहरूबारे आफ्नो हातका औँलाहरूबारे जानेजस्तै जान्‍नुहुन्छ। परमेश्‍वरले अगुवा र कामदारहरूलाई यति राम्रोसँग चिन्‍नुहुन्छ भने, के उहाँले आफ्ना साधारण अनुयायीहरूलाई पनि त्यति नै राम्ररी चिन्‍नुहुन्‍न र? कतिपय मानिसहरूले सोच्छन्, “अगुवाइ गर्ने जोकोही मूर्ख र अज्ञानी हुन्छन्, तिनीहरूले आफ्नै विनाश निम्त्याइरहेका हुन्छन्, किनभने अगुवाको रूपमा काम गर्दा मानिसहरूले अपरिहार्य रूपमै भ्रष्टता प्रकट गर्छन् र परमेश्‍वरले त्यो देख्नुहुन्छ। यदि तिनीहरूले यो काम नगरेका भए त्यहाँ त्यति धेरै भ्रष्टता प्रकट हुन्थ्यो र?” कस्तो वाहियात विचार! यदि तँ अगुवाको रूपमा कार्य गर्दैनस् भने, के तैँले भ्रष्टता प्रकट गर्दैनस् र? के अगुवा नहुनुको अर्थ, तैँले कम भ्रष्टता देखाए पनि, तैँले मुक्ति पाएको छस् भन्‍ने हुन्छ र? यो तर्कअनुसार, के अगुवाको रूपमा सेवा नगर्नेहरू सबै जीवित रहिरहन सक्ने र मुक्ति पाउनेहरू हुन् र? के यो भनाइ हास्यास्पद छैन र? अगुवाको रूपमा कार्य गर्ने मानिसहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरका वचनहरू खान-पिउन र परमेश्‍वरको कार्य अनुभव गर्न मार्गदर्शन गर्छन्। यो मापदण्ड र मानक उच्च छ, त्यसैले अगुवाहरूले सुरुमा तालिम सुरु गर्दा अपरिहार्य रूपमै केही भ्रष्ट स्थितिहरू देखाउने नै छन्। यो सामान्य कुरा हो र यसको लागि परमेश्‍वरले दण्डाज्ञा दिनुहुन्‍न। परमेश्‍वरले यसमा दण्डाज्ञा नदिनुहुने मात्र होइन, बरु उहाँले त यी मानिसहरूलाई अन्तर्दृष्टि, ज्योति र मार्गदर्शनसमेत प्रदान गर्नुहुन्छ र तिनीहरूमाथि थप बोझ राखिदिनुहुन्छ। तिनीहरूले परमेश्‍वरको मार्गदर्शन र काममा समर्पित हुन सकुन्जेल जीवनमा साधारण मानिसहरूभन्दा छिटो प्रगति पनि गर्नेछन्। यदि तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन् भने तिनीहरूले परमेश्‍वरद्वारा सिद्ध पारिने मार्ग हिँड्न सक्नेछन्। परमेश्‍वरले सबभन्दा बढी आशिष् दिनुहुने कुरा यही हो। कतिपय मानिसहरूले यो कुरा देख्न सक्दैनन् र तथ्य बङ्गाउँछन्। मानव बुझाइअनुसार त अगुवा जतिसुकै परिवर्तन भए पनि परमेश्‍वरले वास्ता गर्नुहुन्‍न; अगुवा र कामदारहरूले कति धेरै भ्रष्टता प्रकट गर्छन् भन्‍ने कुरा मात्र उहाँले हेर्नुहुन्छ र यसैको आधारमा तिनीहरूलाई दण्डाज्ञा दिनुहुन्छ। अनि, अगुवा र कामदारहरू नरहेकाहरूको कुरा गर्दा, तिनीहरूले थोरै भ्रष्टता प्रकट गर्ने हुनाले तिनीहरू परिवर्तन नभए पनि परमेश्‍वरले तिनीहरूलाई दण्डाज्ञा दिनुहुन्‍न। के यो वाहियात कुरा होइन र? के यो परमेश्‍वरविरुद्धको निन्दा होइन र? यदि तैँले हृदयमा परमेश्‍वरलाई यति गम्भीर रूपले प्रतिरोध गर्छस् भने, के तैँले मुक्ति पाउन सक्नेछस् र? तैँले मुक्ति पाउन सक्नेछैनस्। परमेश्‍वरले मानिसहरूको परिणाम मुख्य गरी तिनीहरूसँग सत्यता र साँचो गवाही छ कि छैन भन्‍ने आधारमा निर्धारित गर्नुहुन्छ र यो मुख्य गरी तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन् कि होइनन् भन्‍ने कुरामा निर्भर रहन्छ। यदि तिनीहरूले सत्यता पछ्याउँछन् र अपराध गरेकोमा न्याय र सजाय पाएपछि साँचो पश्‍चात्ताप गर्न सक्छन् भने, जबसम्म तिनीहरूले परमेश्‍वरको निन्दा गर्ने शब्द बोल्ने वा कार्य गर्ने गर्दैनन्, तबसम्म तिनीहरू अवश्यै मुक्ति पाउन सक्षम हुनेछन्। तिमीहरूको कल्पनाअनुसार त अन्त्यसम्‍मै परमेश्‍वरलाई पछ्याउने सबै साधारण विश्‍वासीहरूले मुक्ति पाउन सक्छन् र अगुवाको रूपमा काम गर्नेहरू सबैलाई हटाइनुपर्छ। यदि तिमीहरूलाई अगुवा हुन भनिन्थ्यो भने, तिमीहरू यो नगर्नु ठीक नहुने भन्‍ने तिमीहरू सोच्नेथ्यौ, तर तिमीहरूले अगुवाको रूपमा सेवा गर्नुपर्ने भयो भने तिमीहरूले नजानीकनै भ्रष्टता प्रकट गर्नेथ्यौ र त्यो आफैलाई टाउको काट्ने मेसिनमा पठाउनुजस्तै हुन्थ्यो। के यो सबै परमेश्‍वरबारे तिमीहरूको गलत बुझाइको कारण उत्पन्‍न भएको होइन र? यदि मानिसहरूको परिणाम तिनीहरूले प्रकट गरेको भ्रष्टताको आधारमा निर्धारण हुन्थ्यो भने, कसैले पनि मुक्ति पाउने थिएनन्। त्यस्तो अवस्थामा, परमेश्‍वरले मुक्तिको कार्य गर्नुको अर्थ के हुनेथियो र? यदि साँच्‍चै यस्तो अवस्था हुन्थ्यो त, परमेश्‍वरको धार्मिकता कहाँ हुन्थ्यो र? मानवजातिले परमेश्‍वरको धर्मी स्वभाव देख्न सक्दैनथ्यो। तसर्थ, तिमीहरू सबैले परमेश्‍वरको अभिप्रायलाई गलत बुझेका छौ र यसले तिमीहरूसँग परमेश्‍वरको साँचो ज्ञान छैन भन्‍ने देखाउँछ।

परमेश्‍वरले मानिसहरूको परिणाम तिनीहरूका प्रकटीकरणहरूको आधारमा निर्धारण गर्नुहुन्छ र यहाँ प्रकटीकरणहरूले तिनीहरूमाथि परमेश्‍वरको कार्यका नतिजाहरू जनाउँछ। म तिमीहरूलाई एउटा तुलनात्मक उदाहरण दिन्छु: एउटा बगैँचामा मालिकले रुखहरूमा पानी र मल हाल्छ र फल पाकेर टिप्ने प्रतीक्षा गर्छ। फल दिने रुखहरू राम्रा रुखहरू हुन् र तिनीहरूलाई जोगाएर राखिन्छ; फल नदिने रूखहरू अवश्यै राम्रा रुखहरू होइनन् र तिनलाई जोगाएर राख्न सकिँदैन। यो अवस्थाबारे विचार गर: एउटा रुखले फल दिन्छ, तर यसमा रोग पनि लाग्छ, र यसका केही खराब हाँगाहरू काट्नुपर्ने हुन्छ। के तिमीहरूलाई यो रुख जोगाएर राख्नुपर्छ जस्तो लाग्छ? यसलाई जोगाएर राख्‍नुपर्छ र यसलाई काटछाँट र उपचार गरिसकेपछि यो ठीक हुनेछ। अर्को अवस्था हेर: एउटा रुखमा रोग लागेको छैन, तर यसले फल दिँदैन—यस्तो रुखलाई जोगाएर राख्नु हुँदैन। यहाँ “फल दिनु” को अर्थ के हो? यसले परमेश्‍वरको कामले नतिजा हासिल गरेको अवस्था बुझाउँछ। मानिसहरू शैतानद्वारा भ्रष्ट तुल्याइएका हुनाले, तिनीहरूले परमेश्‍वरको काम अनुभव गर्ने क्रममा अपरिहार्य रूपमै भ्रष्टता प्रकट गर्नेछन्, र तिनीहरूले अपरिहार्य रूपमै केही अपराध पनि गर्नेछन्। तैपनि, यस क्रममा, परमेश्‍वरको कामले तिनीहरूमा केही न केही नतिजाहरू हासिल गर्छ। यदि परमेश्‍वरले यी नतिजाहरूबारे कुनै विचार गर्नुहुन्थेन, र मानिसहरूले प्रकट गर्ने भ्रष्ट स्वभावहरू मात्रै हेर्नुहुन्थ्यो भने, मानिसहरूलाई मुक्ति दिने कुरा त कुरै नगरे हुन्थ्यो। मुक्तिका नतिजाहरू मुख्य रूपमा मानिसहरूले आफ्‍ना कर्तव्यहरू निर्वाह गर्दा र सत्यता अभ्यास गर्दा प्रकट हुन्छन्। परमेश्‍वरले यी क्षेत्रमा तिनीहरूले हासिल गरेका नतिजाहरू, अनि तिनीहरूको अपराधको गम्भीरता हेर्नुहुन्छ। त्यसपछि, उहाँले यी तत्त्वहरूको विभिन्‍न संयोजनको आधारमा तिनीहरूको परिणाम र तिनीहरू रहनेछन् कि छैनन् भन्‍ने कुरा निर्धारण गर्नुहुन्छ। उदाहरणको लागि, कतिपय मानिसहरूले विगतमा धेरै मात्रामा भ्रष्टता प्रकट गर्थे र आफ्नो देहको बारेमा अत्यन्तै धेरै वास्ता गर्थे; तिनीहरू आफूलाई परमेश्‍वरप्रति समर्पित गर्न इच्‍छुक हुँदैनथे, न त तिनीहरूले मण्डलीका हितहरूको रक्षा नै गर्थे। तथापि, धेरै वर्षसम्‍म प्रवचनहरू सुनिसकेपछि, तिनीहरूमा साँचो परिवर्तन आयो। अहिले, तिनीहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्दै सत्यता सिद्धान्तमा कसरी लागिपर्ने भनेर थाहा हुन्छ, र तिनीहरूले कर्तव्यमा झन्झन् बढी नतिजाहरू प्राप्त गर्छन्। तिनीहरू सबै कुरामा परमेश्‍वरको पक्षमा खडा हुन र परमेश्‍वरको घरको कामको रक्षा गर्न सक्दो गर्न पनि सक्षम छन्। आफ्‍नो जीवन स्वभाव रूपान्तरण गर्नु भनेको यही हो, र परमेश्‍वरले मानिसहरूमा चाहनुहुने रूपान्तरण पनि यही हो। यसको साथै, कतिपय मानिसहरूले आफूमा विगतमा धारणाहरू पैदा हुँदा त्यसलाई सधैँ वरपर फैलाउँथे, र यी धारणाहरू अरू मानिसहरूमा पनि पैदा हुँदा मात्र तिनीहरूको हृदय सन्तुष्ट हुन्थ्यो, तर अहिले जब तिनीहरूसँग केही धारणा हुन्छन्, तिनीहरू परमेश्‍वरसित प्रार्थना गर्न, सत्यता खोजी गर्न र आफ्‍ना धारणाहरू नफैलाई वा परमेश्‍वरको प्रतिरोध गर्ने केही नगरी समर्पित हुन सक्षम हुन्छन्। के तिनीहरूमा रूपान्तरण आएको छैन र? कतिपय मानिसहरू विगतमा अरूद्वारा काटछाँट गरिनेबित्तिकै तुरुन्तै प्रतिरोधी बन्थे; तथापि, अहिले जब तिनीहरूलाई त्यस्तो हुन्छ, तिनीहरू त्यो स्वीकार गर्न र आफैलाई चिन्‍न सक्षम हुन्छन्। केही पछि, तिनीहरूमा केही वास्तविक रूपान्तरण हुन्छ। के यो नतिजा होइन र? तथापि, तेरो बदलाव जति नै ठूलो भए पनि, अपराधहरूबाट पूर्ण रूपमा मुक्त हुनु असम्‍भव छ, र तेरो प्रकृतिलाई पूर्ण रूपमा एकै पटक परिवर्तन गर्न सकिँदैन। यदि कुनै व्यक्ति परमेश्‍वरमाथिको विश्‍वासको साँचो मार्गमा लाग्छ, र सबै कुरामा सत्यता खोजी गर्न जान्दछ भने, त्यस्ता व्यक्तिहरूले थोरै विद्रोह देखाए पनि, त्यति नै बेला तिनीहरूले त्यो कुरा महसुस गर्छन्। त्यो कुरा महसुस गरेपछि, तिनीहरूले परमेश्‍वरसित पापस्वीकार र पश्‍चात्ताप गर्न, र परिवर्तन हुन हतारिन्छन्, अनि तिनीहरूको स्थिति बस झन्झन् सुधार हुँदै जानेछ। तिनीहरूले एक-दुई पटक त्यही अपराध फेरि पनि गर्न सक्छन्, तर तेस्रो वा चौथो पटकचाहिँ दोहोर्‍याउनेछैनन्। यही नै रूपान्तरण हो। यसको अर्थ यो व्यक्ति केही हदसम्म परिवर्तन भएकोले अब उसले भ्रष्टता देखाउँदैन वा अबउप्रान्त उसले कुनै अपराध गर्दैन भन्‍ने होइन। यसको अर्थ त्यो होइन। यसप्रकारको रूपान्तरणको अर्थ त परमेश्‍वरको काम अनुभव गरेपछि व्यक्तिले अझ धेरै सत्यता अभ्यास गर्न सक्छ र परमेश्‍वरले तोक्‍नुभएका केही मापदण्ड अभ्यासमा ल्याउन सक्छ भन्‍ने हो। त्यस्तो व्यक्तिले कमभन्दा कम अपराध गर्दै जानेछ, उसले थोरैभन्दा थोरै भ्रष्टता प्रकट गर्दै जानेछ र उसका विद्रोहका घटनाहरू कमभन्दा कम गम्भीर हुँदै जानेछन्। यसबाट परमेश्‍वरको कामले प्रभाव हासिल गरेको छ भन्‍ने स्पष्ट हुन्छ; उहाँले मानिसहरूमा यस्तै प्रकारका प्रकटीकरणहरू चाहनुहुन्छ, जसले तिनीहरूमा नतिजाहरू हासिल भएका छन् भन्‍ने देखाउँछ। त्यसकारण, परमेश्‍वरले मानिसहरूका परिणामहरू जे-जसरी सम्हाल्नुहुन्छ वा उहाँले हरेक व्यक्तिसँग जे-जसरी व्यवहार गर्नुहुन्छ त्यो पूर्ण रूपमा धर्मी, उचित, र निष्पक्ष हुन्छ। तैँले आफूलाई परमेश्वरप्रति समर्पित गर्नमा मात्र आफ्‍नो सारा प्रयास लगाउनुपर्छ, र बिनाचिन्ता, साहससाथ र आश्‍वस्त भई, आफूले अभ्यास गर्नुपर्ने सत्यता अभ्यास गर्नुपर्छ, अनि परमेश्‍वरले तँसँग गलत व्यवहार गर्नुहुनेछैन। यसबारे विचार गर्: के सत्यतालाई प्रेम र अभ्यास गर्नेहरू परमेश्‍वरद्वारा दण्डित हुन सक्छन्? धेरै मानिसहरू आफूले सत्यता अभ्यास गरेपछि पनि दण्ड पाइन्छ भन्‍ने डरले परमेश्‍वरको धर्मी स्वभावप्रति सधैँ शङ्का गर्छन्; तिनीहरू आफूले बफादारी देखाए पनि, परमेश्‍वरले त्यो देख्‍नुहुनेछैन भनेर सधैँ डराउँछन्। त्यस्ता मानिसहरूमा परमेश्‍वरको धर्मी स्वभावबारे कुनै ज्ञान हुँदैन।

केही मानिसहरू आफूलाई काटछाँट गरिएपछि नकारात्मक हुन्छन्; तिनीहरूले आफ्ना कर्तव्यहरू गर्ने सबै ऊर्जा गुमाउँछन्, र तिनीहरूको बफादारीसमेत गुम्छ। यस्तो किन हुन्छ? यो एकदमै गम्भीर समस्या हो; यो सत्यता स्विकार्न नसकेको अवस्था हो। अनि, तिनीहरूले सत्यता स्विकार्न नसकेको आंशिक रूपमा आफ्ना भ्रष्ट स्वभावहरूको ज्ञान नहुनाले गर्दा हो, र यसले तिनीहरूलाई काटछाँट स्विकार्न नसक्‍ने तुल्याउँछ। यो तिनीहरूको प्रकृतिबाट निर्धारित हुन्छ जुन अहङ्कारी र अभिमानी हुन्छ, र जसले सत्यलाई प्रेम गर्दै गर्दैन। यो आंशिक रूपमा मानिसहरूले काटछाँट गरिनुको महत्त्व नबुझ्नाले गर्दा पनि भएको हो। तिनीहरूले काटछाँट गरिनु भनेको तिनीहरूका परिणामहरू निर्धारण गरिसकिएको हुनु हो भनी विश्‍वास गर्छन्। फलस्वरूप, तिनीहरूले गलत रूपमा यो विश्‍वास गर्छन् कि यदि तिनीहरूले आफूलाई परमेश्‍वरप्रति समर्पित गर्न आफ्‍नो परिवार त्याग्छन्, र तिनीहरूसित परमेश्‍वरप्रति केही बफादारी छ भने, तिनीहरूलाई काटछाँट गरिनु हुँदैन; र यदि तिनीहरूलाई काटछाँट गरियो भने त्यो परमेश्‍वरको प्रेम र धार्मिकता होइन। यसप्रकारको गलत बुझाइले धेरै मानिसहरूलाई परमेश्‍वरप्रति बफादार बन्‍न साहस नगर्ने बनाउँछ। वास्तवमा, निष्कर्ष के हो भने तिनीहरू अत्यन्तै धेरै छली र कठिनाइ भोग्‍न नचाहने भएकाले यस्तो भएको हो। तिनीहरू केवल सजिलो प्रकारले आशिष्‌हरू प्राप्त गर्न मात्र चाहन्छन्। मानिसहरूले परमेश्‍वरको धर्मी स्वभाव बुझ्दै बुझ्दैनन्। तिनीहरू परमेश्‍वरका सबै कार्य धर्मी छन् वा उहाँले सबैप्रति गर्ने व्यवहार धर्मी छ भनेर कहिल्यै विश्‍वास गर्दैनन्। यस मामिलामा तिनीहरू सत्यता कहिल्यै खोज्दैनन्, बरु यसमा सधैँ आफ्नै तर्क गरिरहन्छन्। चाहे कुनै व्यक्तिले जस्तोसुकै खराब काम गरेको होस्, जति नै ठूलो पाप गरेको होस्, वा जति धेरै दुष्ट्याइँ गरेको नै किन नहोस्, यदि ऊमाथि परमेश्‍वरको न्याय र सजाय आइपर्छ भने, उसले स्वर्ग पक्षपाती छ र परमेश्‍वर धर्मी हुनुहुन्‍न भन्‍ने नै सोच्नेछ। यदि परमेश्‍वरका कार्यहरू उसका चाहनाअनुसारका छैनन् भने, वा यदि उहाँका कार्यहरू उसका भावनाहरूको ख्याल गर्ने खालका छैनन् भने, मान्छेको नजरमा उहाँ धर्मी हुँदै हुनुहुन्‍न। तर मानिसहरूले आफ्ना कार्यहरू सत्यताअनुरूप छन् कि छैनन् भनेर चाहिँ कहिल्यै जान्दैनन्, न त तिनीहरूले आफ्ना कार्यहरूद्वारा परमेश्‍वरविरुद्ध विद्रोह र उहाँको विरोध गर्छन् भनेर नै कहिल्यै महसुस गर्छन्। यदि मानिसहरूले जे-जसरी अपराध गरे पनि परमेश्‍वरले तिनीहरूलाई कहिल्यै पनि काटछाँट गर्ने वा तिनीहरूको विद्रोहको निम्ति तिनीहरूलाई गाली गर्ने नगरेर, तिनीहरूसित सदैव शान्त र नम्र रहँदै, अनि प्रेम र धैर्यसाथ व्यवहार गर्दै तिनीहरूलाई उहाँसँग खानपान र रमाइलो गर्न दिनुभएको भए, मानिसहरूले परमेश्‍वरसित कहिल्यै पनि गुनासो गर्ने वा उहाँलाई अधर्मी भनेर आलोचना गर्नेथिएनन्; बरु, तिनीहरूले बेइमानीसाथ उहाँ अत्यन्तै धर्मी हुनुहुन्छ भनेर दाबी गर्नेथिए। के त्यस्ता मानिसहरूले परमेश्‍वरलाई चिन्छन्? के तिनीहरू परमेश्‍वरसँग एउटै हृदय र मनका हुन सक्छन्? जब परमेश्‍वरले मानिसहरूलाई न्याय र काटछाँट गर्नुहुन्छ, तब तिनीहरू उहाँमा समर्पित हुन र उहाँलाई प्रेम गर्न सफल हुन सकून् भनेर उहाँले तिनीहरूको जीवन स्वभाव शुद्ध पार्न र रूपान्तरित गर्न चाहिरहनुभएको हुन्छ भनेर तिनीहरूलाई कुनै आभास हुँदैन। त्यस्ता मानिसहरूले परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वासै गर्दैनन्। जबसम्म परमेश्‍वरले मानिसहरूलाई गाली, खुलासा र काटछाँट गर्नुहुन्छ, तबसम्म तिनीहरू नकारात्मक र कमजोर भइरहनेछन्, परमेश्‍वरले प्रेम गर्नुहुन्‍न भनी गुनासो गरिरहनेछन् र मानिसहरूलाई परमेश्‍वरले गर्नुभएको न्याय र सजाय गलत छ भनी गनगन गरिरहनेछन्, तर तिनीहरूले यो परमेश्‍वरले मान्छेलाई शुद्धीकरण गरी मुक्ति दिइरहनुभएको कुरा हो भनेर देख्न सक्‍नेछैनन् र परमेश्‍वरले मानिसहरूको परिणाम तिनीहरूले देखाउने पश्‍चात्तापको आधारमा निर्धारण गर्नुहुन्छ भनेर विश्‍वास गर्नेछैनन्। तिनीहरू सधैँ परमेश्‍वरलाई शङ्का गर्ने अनि उहाँविरुद्ध प्रतिरक्षात्मक हुने गरिरहन्छन्, अनि यसको नतिजा के हुनेछ? के तिनीहरू परमेश्‍वरको काममा समर्पित हुन सक्नेछन्? के तिनीहरूले साँचो परिवर्तन हासिल गर्न सक्नेछन्? यो असम्भव छ। यदि तिनीहरूको स्थिति निरन्तर यस्तै रहिरह्यो भने यो निकै खतरनाक हुनेछ, र परमेश्‍वरद्वारा तिनीहरू शुद्ध र सिद्ध पारिनु असम्भव हुनेछ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्