असल व्यवहार गर्यो भन्दैमा व्यक्तिको स्वभाव परिवर्तन भएको छ भन्ने हुँदैन (भाग एक)
अहिले, कतिपय मानिसहरू झिसमिसदेखि गोधूलिसम्म काम गर्छन्, र आफ्नो कर्तव्य निर्वाह गर्दा खान वा सुत्न नै बिर्सन्छन्, तिनीहरू देहलाई काबुमा राख्न, शारीरिक कठिनाइविरुद्ध विद्रोह गर्न, र बिरामी हुँदासमेत काम गर्न सक्छन्। तर तिनीहरूमा यी सन्तोषजनक गुणहरू भए पनि, अनि तिनीहरू असल र सही मानिसहरू भए पनि, तिनीहरूको हृदयमा अझै पनि तिनीहरूले पन्छाउनै नसक्ने कुराहरू ख्याति, प्राप्ति, हैसियत र घमण्ड हुन्छन्। यदि तिनीहरू यी कुराहरूलाई कहिल्यै पन्छाउँदैनन् भने, के तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन् त? उत्तर आफैमा स्पष्ट छ। परमेश्वरमा विश्वास गर्नुको सबैभन्दा गाह्रो पक्ष भनेको स्वभाव परिवर्तन गर्नु हो। सायद तँ जीवनभरि अविवाहित रहन सक्छस्, वा तैँले कहिल्यै पनि मिठो नखान वा राम्रो नलाउन सक्छस्; कतिपय मानिसहरू त यसोसमेत भन्छन्, “जीवनभरि दुःख पाए पनि, वा जीवनभरि एक्लै भए पनि, म त्यो सहन सक्छु—परमेश्वर मेरो साथमा हुनुभएकोले, यी कुरा केही पनि होइनन्।” यस प्रकारको शारीरिक पीडा र कठिनाइलाई छिचोल्न र समाधान गर्न सजिलो छ। केलाई चाहिँ छिचोल्न सजिलो छैन? मान्छेको भ्रष्ट स्वभावलाई। भ्रष्ट स्वभावहरू आत्मसंयमद्वारा मात्र हटाउन सकिँदैन। मानिसहरूले आफ्नो कर्तव्य उचित रूपमा निर्वाह गर्न, परमेश्वरका अभिप्रायहरू पूरा गर्न, र भविष्यमा राज्यमा प्रवेश गर्नको लागि शारीरिक कष्ट सहन सक्छन्—तर के कष्ट भोग्न र मूल्य चुकाउन सक्नुको अर्थ तिनीहरूको स्वभाव परिवर्तन भएको छ भन्ने हो त? होइन। व्यक्तिको स्वभाव परिवर्तन भएको छ कि छैन भनेर मापन गर्न उसले कति कष्ट सहन सक्छ, वा उसले बाहिरी रूपमा कति असल व्यवहार देखाउँछ भनेर नहेर्। व्यक्तिको स्वभाव परिवर्तन भएको छ कि छैन भनी सही रूपमा मापन गर्ने एकमात्र तरिका भनेको तिनीहरूका कार्यहरूको उद्देश्य, मनसाय, र अभिप्राय, तिनीहरूले व्यवहार गर्ने र मामिलाहरू सम्हाल्ने सिद्धान्तहरू, अनि सत्यताप्रतिको तिनीहरूको मनोवृत्तिलाई हेर्नु हो।
परमेश्वरमा विश्वास गर्न थालेपछि, कतिपय मानिसहरू सांसारिक प्रवृतिहरू पछ्याउने वा आफ्ना लुगाफाटा र रूपरङ्गमा ध्यान दिने बिलकुलै गर्दैनन्। तिनीहरू कष्ट भोग्न र मेहनत गर्न, अनि देहलाई वशमा राख्न र देहविरुद्ध विद्रोह गर्न सक्छन्। तर तिनीहरू कर्तव्य निभाउँदा, अरूसित अन्तरक्रिया गर्दा र कामकुरा सम्हाल्दा, विरलै इमानदार हुन्छन्। तिनीहरूलाई इमानदार हुन मन लाग्दैन, तिनीहरू सधैँ अलग देखिन र भिन्न हुन चाहन्छन्, अनि तिनीहरूले गर्ने र भन्ने हरेक कुराको पछाडि अभिप्राय हुन्छ। तिनीहरू आफू कति राम्रो छु भनी मानिसहरूलाई देखाउन, मानिसहरूको मन जित्न, अनि मानिसहरूलाई आफ्नो समर्थन र आराधना गर्ने तुल्याउन यति हदसम्म होसियारी र सावधानीसाथ हिसाब लाउँछन् कि मानिसहरू आफूलाई केही आइपर्दैपिच्छे तिनीहरूकहाँ नै आएर सहयोग माग्नेछन्। यसो गरेर, तिनीहरू देखौवा गरिरहेका हुन्छन्। तिनीहरूले प्रकट गर्ने त्यो कस्तो स्वभाव हो? त्यो शैतानी स्वभाव हो। के यस्ता मानिसहरू धैरै छन्? सबैजना यस्तै हुन्छन्। यसो हेर्दा, तिनीहरू हरेक नियम पालना गर्छन्, तिनीहरू अलि कष्ट भोग्न सक्छन्, अनि तिनीहरू केही हदसम्म समर्पित हुन इच्छुक हुन्छन्। तिनीहरू थोरै सांसारिक कुराहरू त्याग्न सक्छन्, तिनीहरूसित सत्यता पछ्याउने अलिअलि सङ्कल्प र चाहना हुन्छ, अनि तिनीहरूले परमेश्वरप्रति विश्वासको मार्गमा जग बसालेका हुन्छन्। तिनीहरूको भ्रष्ट स्वभाव मात्र जस्ताको तस्तै रहेको हुन्छ। तिनीहरू बिलकुलै परिवर्तन भएका हुँदैनन्। तिनीहरूले सत्यता बुझे पनि त्यसलाई अभ्यास गर्न सक्दैनन्। बिलकुलै परिवर्तन भएका नहुनु भन्नुको अर्थ त्यही हो। सबै कामकुरा आफूखुसी गर्नु त शैतानी स्वभावहरूमा जिउनेहरूले व्यवहार गर्ने तरिका हो। तिनीहरू आफ्ना कार्यहरूको अभिप्राय गलत हुँदा, परमेश्वरलाई प्रार्थना गर्ने वा आफ्नो इच्छा नकार्ने गर्दैनन्, तिनीहरू सत्यता सिद्धान्तहरू खोज्दैनन्, न त तिनीहरू अरूबाट मद्दत माग्छन्, न त अरूसित सङ्गति नै गर्छन्। तिनीहरू आफू जे चाहन्छन्, आफूलाई जे इच्छा लाग्छ त्यही गर्छन्; तिनीहरू असावधानीपूर्वक र संयमविना कार्य गर्छन्। तिनीहरूले बाहिरी रूपमा दुष्टता त नगर्लान्, तर सत्यता अभ्यास पनि गर्दैनन्। तिनीहरू आफ्नो कार्यमा आफ्नै इच्छा पछ्याउँछन् अनि शैतानी स्वभावमा जिउँछन्। यसको मतलब तिनीहरूमा सत्यताप्रतिको प्रेम वा परमेश्वरको डर मान्ने हृदय हुँदैन, अनि तिनीहरू परमेश्वरसामु पनि जिउँदैनन्। तिनीहरूमध्ये कतिपयले त परमेश्वरको वचन र सत्यता बुझ्न पनि सक्छन्, तर ती अभ्यास गर्न सक्दैनन्। किनभने तिनीहरू आफ्ना चाहना र महत्त्वाकाङ्क्षाहरूलाई जित्न सक्दैनन्। तिनीहरूलाई आफूले गरिरहेको काम गलत हो, त्यो अवरोध र बाधा हो, परमेश्वरलाई त्यो घिन लाग्छ भनी प्रस्टसित थाहा हुन्छ, तैपनि तिनीहरू बारम्बार त्यही गर्छन्, र सोच्छन्, “के परमेश्वरमा विश्वास गर्नु आशिष् प्राप्त गर्नको लागि होइन र? म आशिष्हरूको पछि लाग्नुमा के गल्ती छ र? मैले परमेश्वरमा विश्वास गरेका वर्षहरूमा धेरै कष्ट भोगेको छु; मैले परमेश्वरका अनुमोदन र आशिष्हरू प्राप्त गर्न आफ्नो जागिर छाडेको छु र संसारका आफ्ना सम्भाव्यताहरू त्यागेको छु। मैले सहेका सबै कष्टहरूको आधारमा मात्र पनि परमेश्वरले मलाई सम्झनुपर्छ। उहाँले मलाई आशिष् दिनुपर्छ र समृद्ध बनाउनुपर्छ।” यी वचनहरू मानव रुचि सुहाउँदा छन्। परमेश्वरमा विश्वास गर्ने हरेक व्यक्तिले यस्तै सोच्छ—तिनीहरूलाई आशिष् प्राप्त गर्ने अभिप्रायद्वारा अलिकति दूषित हुनु त्यति ठूलो समस्या होइन भन्ने लाग्छ। तर यदि तैँले यी वचनहरूलाई ध्यानपूर्वक विचार गरिस् भने, के तीमध्ये कुनै सत्यता वा सत्यता वास्तविकताको केही भागअनुरूप छ त? यो सब परित्याग र कष्टहरू असल मानव व्यवहारका प्रकारहरू हुन्। यी कार्यहरू आशिष् प्राप्त गर्ने अभिप्रायद्वारा सञ्चालित हुन्छन्, र यी सत्यता अभ्यास होइनन्। यदि कुनै व्यक्तिले यी मानिसहरूको नैतिक व्यवहार मापन गर्न मान्छेका नैतिक मानकहरू प्रयोग गरेको भए, तिनीहरू मेहनती र मितव्ययी, परिश्रमी र बलिष्ठ मानिनेथिए। बेलाबेलामा तिनीहरू काममा यति तल्लीन हुन्छन् कि खान र सुत्न पनि बिर्सिन्छन्, अनि तिनीहरूमध्ये कतिपयचाहिँ भेटेको चीज त्यसको धनीलाई फिर्ता गर्न, सहयोगी र परोपकारी हुन, अरूलाई समझदार र उदार भई व्यवहार गर्न, अति कन्जुस वा नाटीकुटी गर्ने नहुन, अनि आफूलाई सबैभन्दा बढी मनपर्ने कुरा अरूलाई दिनसमेत इच्छुक हुन्छन्। यी सबै व्यवहारहरूले मान्छेको प्रशंसा पाउँछन्, र यस्तो व्यवहार गर्ने व्यक्ति असल मानिसको रूपमा चिनिन्छ। यस्ता मानिसहरू गौरवशाली, प्रशंसनीय, अनि अनुमोदन पाउन योग्य देखिन्छन्; तिनीहरू आफ्ना कार्यहरूमा अत्यन्तै नैतिकवान्, निष्पक्ष र उचित हुन्छन्। तिनीहरू अरूको दयाको ऋण तिर्छन् र भातृत्वलाई ख्याल राख्छन्, यतिसम्म कि तिनीहरूले आफ्ना कुनै साथीको लागि आफ्नो बलिदान नै दिनेछन्, र आफ्ना नजिककाहरूको निम्ति कष्ट सहँदै अन्तिम हदसम्मै अथक प्रयास गर्नेछन्। यस प्रकारको असल व्यक्तिलाई धेरै मानिसहरूले प्रशंसा गर्न सक्छन्, तैपनि के उसले वास्तवमै सत्यता स्विकार्न र अभ्यास गर्न सक्नेछ त? के उसले परमेश्वरलाई उच्च पार्न र उहाँको गवाही दिन आफ्नो जीवन अर्पण गर्नेछ त? यस्तै हुन्छ भन्ने छैन। त्यसोभए के उसलाई असल व्यक्ति भन्न सकिन्छ त? यदि तँ कुनै व्यक्तिले परमेश्वरको डर मान्छ कि मान्दैन र ऊ दुष्टताबाट अलग बस्छ कि बस्दैन, वा उसमा सत्यता वास्तविकता छ कि छैन भनी मूल्याङ्कन् गर्न खोज्दै छस् भने, के उसलाई सधैँ मानव धारणा, कल्पना, आचारनीति र नैतिकताको आधारमा मूल्याङ्कन् गर्नु सही हुनेछ? के त्यो सत्यताअनुरूप हुनेछ? यदि मानव धारणा, कल्पना, आचारनीति र नैतिकता सत्यता हुँदा हुन् त, परमेश्वरले सत्यता व्यक्त गर्नुपर्ने नै थिएन, न त न्याय र सजायको काम नै गर्नुपर्ने थियो। तैँले संसार र मानवजाति अन्धकारमय र दुष्ट छन्, तिनमा सत्यता छँदै छैन, र भ्रष्ट मानवजातिलाई परमेश्वरको मुक्ति आवश्यक छ भनेर स्पष्टसँग बुझ्नैपर्छ। तैँले परमेश्वर मात्र सत्यता हुनुहुन्छ, उहाँको वचनले मात्र मान्छेलाई शुद्ध पार्न सक्छ, उहाँले मात्र मान्छेलाई मुक्ति दिन सक्नुहुन्छ, अनि व्यक्तिको व्यवहार जति नै असल भए पनि त्यो सत्यता वास्तविकता होइन, र झनै त्यो सत्यताको त एकछेउ पनि पुग्दैन भनेर बुझ्नैपर्छ। मानिसहरूमाझ यी असल व्यवहारहरू व्यापक र मान्य बनेका भए पनि, यी व्यवहार सत्यता होइनन्, र कहिल्यै हुनेछैनन् पनि, र यिनले कुनै कुरा पनि परिवर्तन गर्न सक्नेछैनन्। के तँ आफ्ना साथीहरूको निम्ति आफ्नो बलिदान दिने र उनीहरूको लागि हदैसम्मको प्रयास गर्ने व्यक्तिलाई परमेश्वर र सत्यता स्विकार गर्न लगाउन सक्थिस्? कदापि सक्थिनस्, किनकि त्यस्तो व्यक्ति नास्तिक हो। के तँ परमेश्वरबारे धारणा र कल्पनाहरूले भरिएको व्यक्तिलाई उहाँप्रति साँचो समर्पण गराउन सक्थिस्? कदापि सक्थिनस्, किनकि जब व्यक्ति धारणाहरूले भरिन्छ, तब उसलाई सत्यता स्विकार्न र त्यसप्रति समर्पित हुन एकदमै कठिन हुन्छ। के व्यक्तिमा हुने कुनै पनि मात्राको असल व्यवहारले गर्दा, ऊ परमेश्वरप्रति साँच्चै समर्पित हुन सक्छ? के उसले उहाँलाई साँचो रूपमा प्रेम गर्न सक्छ? के उसले उहाँलाई उच्च पार्न र उहाँको गवाही दिन सक्छ? कदापि सक्दैन। के तँ प्रचार गर्ने र प्रभुको निम्ति काम गर्ने हरेक व्यक्ति परमेश्वरलाई साँचो प्रेम गर्ने व्यक्ति बन्छ भनेर ग्यारेन्टी दिन सक्छस्? त्यो पूरै असम्भव हुनेछ। त्यसैले, कुनै व्यक्तिमा जति नै धेरै असल व्यवहार भए पनि, त्यसको मतलब उसले साँच्चै पश्चात्ताप गरेको छ र ऊ परिवर्तन भएको छ भन्ने होइन, झन् उसको जीवन स्वभाव परिवर्तन भएको छ भन्ने त कुरै नगरौँ।
तिमीहरूले असल व्यवहार भनेको के हो, र सत्यता अभ्यास गरेर आफ्नो स्वभावमा परिवर्तन हासिल गर्नु भनेको के हो त्यो खुट्याउन सिक्नैपर्छ। आफ्नो स्वभाव परिवर्तन गर्ने कार्यमा सत्यता अभ्यास गर्ने, परमेश्वरका वचनहरू सुन्ने, उहाँमा समर्पित हुने, र उहाँका वचनहरूअनुसार जिउने कार्यहरू समावेश छन्। त्यसकारण, परमेश्वरका वचनहरू अभ्यास गर्न र तीअनुसार जिउन व्यक्तिले के गर्नुपर्छ? उदाहरणको लागि, मानिलिऊँ दुई मानिसहरू छन्, जो आपसमा अत्यन्तै मिल्ने साथी हुन्। तिनीहरूले विगतमा एकअर्कालाई सहयोग गरेका छन्, कठिन परिस्थितिहरू सँगै पार गरेका छन्, र तिनीहरू एकअर्कालाई बचाउन आफ्नो ज्यान दिन्छन्। के त्यो सत्यता अभ्यास हो त? त्यो भाइचारा हो, त्यो अरूको लागि आफैलाई त्याग गर्नु हो, त्यो असल व्यवहार हो, तर त्यो सत्यता अभ्यास गर्नु कदापि होइन। सत्यता अभ्यास गर्नु भनेको परमेश्वरका वचन र मापदण्डहरूअनुसार चल्नु हो; यो परमेश्वरमा समर्पित हुनु र उहाँलाई सन्तुष्ट तुल्याउनु हो। असल व्यवहार भनेको देहगत सम्बन्धहरू पूरा गर्नु र भावनात्मक सम्बन्धहरू संरक्षण गर्नु हो। त्यसकारण, भाइचारा गर्नु, सम्बन्ध जोगाउनु, एकअर्कालाई सहयोग गर्नु, सहनु र सन्तुष्ट पार्नु, यी सबै निजी, व्यक्तिगत मामिला हुन् र यी कुराको सत्यता अभ्याससँग कुनै सम्बन्ध छैन। त्यसकारण परमेश्वर मानिसहरूलाई अरूसँग कसरी व्यवहार गर्नुपर्ने मापदण्ड दिनुहुन्छ? (परमेश्वर हामीलाई एकअर्कासित सिद्धान्तहरूअनुसार व्यवहार गर्नुपर्ने मापदण्ड दिनुहुन्छ। यदि अर्को व्यक्तिले कुनै गलत काम, सत्यता सिद्धान्तहरूअनुरूप नरहेको काम गर्छ भने, हामीले उसको कुरा सुन्नु हुँदैन, चाहे त्यो व्यक्ति हाम्रो आफ्नै आमा वा बुबा नै किन नहोस्। हामीले सत्यता सिद्धान्तहरूमा लागेर परमेश्वरको घरका हितहरू रक्षा गर्नैपर्छ।) (परमेश्वर दाजुभाइ-दिदीबहिनीहरूले एकअर्कालाई सहयोग गरून् भन्ने मापदण्ड दिनुहुन्छ। यदि हामीले अर्को व्यक्तिमा समस्या देख्यौँ भने, यसलाई औँल्याउनैपर्छ, यसबारे सङ्गति गर्नैपर्छ, र यसलाई हल गर्न मिलेर सत्यता सिद्धान्तहरू खोज्नैपर्छ। यसो गरेर मात्रै हामीले साँचो रूपमा तिनीहरूलाई सहयोग गरिरहेका हुन्छौँ।) उहाँ एकअर्काप्रति मानिसहरूको व्यवहार सत्यता सिद्धान्तहरूमा आधारित भएको चाहनुहुन्छ, चाहे त्यो सम्बन्ध जस्तोसुकै किन नहोस्। यी सिद्धान्तहरूभन्दा बाहिरका कुनै पनि कुरा सत्यता अभ्यास हुँदैन। उदाहरणको लागि, कुनै व्यक्तिले मण्डलीको काममा हानि गर्ने कुनै कुरा गर्छ, जुन कुराको सबैले निन्दा र खुलासा गर्छन्। उसको साथीले भन्छ, “उसले गल्ती गर्यो भन्दैमा तपाईंहरूले उसलाई खुलासा गर्नु पर्दैन! म उसको साथी हुँ; सर्वप्रथम त, म ऊप्रति समझदार हुनैपर्छ; मैले उसलाई सहेर सहयोग गर्नैपर्छ। म तपाईंहरूले जस्तो उसको खुलासा गर्न सक्दिनँ। मैले उसलाई सान्त्वना दिनैपर्छ, चोट पुर्याउनु हुँदैन, र म उसलाई त्यो गल्ती ठूलो कुरा होइन भनेर भन्छु। यदि तपाईंहरू कसैले फेरि पनि उसलाई खुलासा गरेर गाह्रो बनाउनुभयो भने, तपाईंहरूले मेरो सामना गर्नु पर्नेछ। तपाईंहरूमध्ये कोही पनि ऊसँग मजत्तिको नजिक हुनुहुन्न। हामी मिल्ने साथी हौँ। मैले उसको बचाउ गर्नुपर्छ भने गर्नेछु।” के यो सत्यता अभ्यास गर्नु हो? (होइन, यो त दुनियाँसित व्यवहार गर्ने दर्शन हो।) व्यक्तिको मानसिकता अर्को सैद्धान्तिक जगमा पनि आधारित हुन्छ: उसले के विश्वास गर्छ भने, “मेरो साथीले मलाई मेरो जीवनको सबैभन्दा कठिन र पीडादायी समयमा सहयोग गरेको छ। अरू सबैले मलाई त्यागेका थिए, उसले मात्रै मेरो ख्याल गऱ्यो र मलाई सहयोग गऱ्यो। अहिले ऊ समस्यामा छ, र उसलाई सहयोग गर्ने पालो मेरो हो—मलाई लाग्छ, विवेक र मानवता हुनु भनेको यही हो। यदि तपाईंहरू परमेश्वरमा विश्वास गर्नुहुन्छ तर यति थोरै पनि विवेक छैन भने आफूलाई कसरी मानव भन्न सक्नुहुन्छ? के त्यसले परमेश्वरप्रति तपाईंहरूको विश्वास र तपाईंहरूको सत्यता अभ्यासलाई खोक्रो कुरा बनाउँदैन र?” यी शब्दहरू सही हुन् जस्तै लाग्छन्। धेरैजसो मानिसहरूले यी शब्दहरूको भित्री वास्तविकता बताउन सक्दैनन्—यी कुरा बोल्ने व्यक्तिले समेत सक्दैन, उसले त आफ्ना कार्यहरूपछाडिको मनसाय सत्यतासित मेल खान्छ भन्ठान्छ। तर के उसका कार्यहरू सही छन् त? वास्तवमा, छैनन्। नियालेर हेर्, उसले बोल्ने हरेक शब्द मानव आचारनीति, नैतिकता, र विवेकबाट आएको हुन्छ। यदि उसलाई मानव आचारनीतिअनुसार मूल्याङ्कन् गर्ने हो भने, उसमा विवेक छ र ऊ बफादार व्यक्ति हो। आफ्नो साथीको यसरी बचाउ गर्दा ऊ असल व्यक्ति बन्छ। तर यो “असल व्यक्ति” को पछाडि कस्तो स्वभाव र सार लुकेको छ, के कसैलाई थाहा हुन्छ र? ऊ परमेश्वरको साँचो विश्वासी होइन। सर्वप्रथम त, केही आइपर्दा, उसले त्यो परिस्थितिलाई परमेश्वरका वचनहरूअनुसार हेर्दैन। उसले परमेश्वरका वचनहरूमा सत्यता खोजी गर्दैन, बरु अविश्वासीहरूको नैतिकता र आचारनीति अनि जीवन उक्तिहरूअनुसार मामिलाहरू हेर्ने छनौट गर्छ। उसले शैतानका झूट र भ्रमहरूलाई सत्यता मान्छ, र परमेश्वरका वचनहरूलाई एकातिर पन्छाउँछ, र परमेश्वरका वचनहरूमा भनिएका कुराहरूलाई बेवास्ता गर्छ। उसले यसो गरेर सत्यताको उपहास गरिरहेको हुन्छ। यसले ऊ सत्यतालाई प्रेम गर्दैन भन्ने देखाउँछ। उसले सत्यताको ठाउँमा सैतानी जीवन उक्ति अनि मान्छेका धारणा, आचारनीति, र नैतिकतालाई राख्छ, र उसले शैतानी दर्शनहरूअनुसार कार्य गर्छ। उसले यो सत्यता अभ्यास गर्नु र परमेश्वरका अभिप्रायहरू पुरा गर्नु हो, यो कार्य गर्ने न्यायोचित तरिका हो भनेरसमेत विश्वस्त भई भन्ने गर्छ। के उसले सत्यता उल्लङ्घन गर्न न्यायिकताको यो खोल ओढिरहेको मात्रै होइन र? मानिसहरूले कस्तो व्यवहार गर्छन् वा कसरी मामिलाहरू सम्हाल्छन् भन्ने सन्दर्भमा भन्नुपर्दा, के यस्तो परिस्थिति आम रूपमै हुन्छ होइन र? जब तैँले सधैँ शब्द र सिद्धान्तहरू बोल्छस्, तब तँलाई आफूसँग सत्यता छैन र सत्यताबारे साँच्चै सङ्गति गर्नुको मोल छ भनेर थाहा हुन्छ, अनि तँलाई यस अन्धकार र दुष्ट संसारमा सत्यता प्राप्त गरेकाहरूको जीवनको मात्र आशा र मूल्य छ भनेर पनि थाहा हुन्छ। तैपनि, जब तैँले सामना गर्नुपर्ने कुनै ठूलो घटना घट्छ र तैँले विकल्पहरू छनौट गर्नुपर्ने हुन्छ, तब तँलाई शैतानको दर्शन, नैतिकता र आचारनीतिहरू नै सत्यता हुन् र ती कुरा नै उपयोगी छन् भन्ने लाग्छ। त्यस बेला, तँलाई परमेश्वरको वचनमा भएको र तैँले पछ्याउन चाहेको सत्यता उपयोगी लाग्दैन। यो कस्तो समस्या हो? यदि तँ परमेश्वरको वचन नै सत्यता हो भनी स्विकार्न सक्छस् भने, त्यसलाई किन अभ्यास गर्न सक्दैनस्? किन तँ सत्यता अभ्यास गर्ने आँट गर्दैनस्? तँलाई के कुरादेखि डर लाग्छ? तँलाई अरू मानिसहरूले निन्दा र आलोचना गर्लान्, सांसारिक सम्भाव्यताहरू गुम्लान्, अनि आफ्नो व्यक्तिगत हितमा क्षति पुग्ला भनेर डर लाग्छ। जब तँ सत्यता अभ्यास गर्दैनस्, जब तँ भगौडा बन्छस्, र निर्णायक मोडमा परमेश्वरका वचनहरूमा भएको सत्यताको मूल्य नकार्छस्, तब यसले तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनस्, बरु शैतानी दर्शन, झूटो शिक्षा, र भ्रमलाई प्रेम गर्ने, र सांसारिक सम्भाव्यता, देहगत हित, अनि ख्याति र हैसियत पछ्याउने व्यक्ति होस् भनेर प्रमाणित गर्छ। तैपनि तँ सत्यतालाई प्रेम गरेको दाबी गर्छस्—यो पाखण्ड हो। यति कुरा नै तैँले कहिल्यै सत्यता स्विकारेको छैनस् वा परमेश्वरप्रतिको आफ्नो विश्वासमा सत्यता अभ्यास गरेको छैनस् भनेर साबित गर्न यथेष्ट छ। त्यस्तो अवस्थामा, के तँमा परमेश्वरको डर मान्ने हृदय हुन्छ त? के तेरो हृदयमा परमेश्वरको निम्ति स्थान छ त? सामान्यतया तैँले परमेश्वरका वचनहरू सत्यता हुन् भनेर त स्विकार्छस्, तर केही आइपर्नेबित्तिकै, तेरो हृदयमा परमेश्वर हुनुहुनेछैन र तैँले आफूलाई नै सबैभन्दा बढी महत्त्व दिनेछस्, अनि मानव सम्बन्ध, दुनियाँसित व्यवहार गर्ने दर्शन, नैतिक नियम र सिद्धान्तहरू, अनि विवेक र नैतिकताका मानकहरूलाई सत्यताको रूपमा लिनेछस्। शैतानका यी कुराहरूले तेरो हृदयमा सत्यताको स्थान ओगटिसकेका छन्—अनि के तँ पतन भइसकेको छैनस् र? अहिले तैँले परमेश्वरलाई पूरै धोका दिएको छस् र तँ पूर्णतया अन्धकारमा खसेको छस्।
थुप्रै मानिसहरू परमेश्वरमा आफूले विश्वास गरेका धेरै वर्षहरूमा अत्यन्तै व्यस्त भएका छन्, तैपनि किन तिनीहरूसँग सत्यता वास्तविकता छैन त? खासमा, ती मानिसहरूले सत्यतालाई प्रेम नगर्नु नै समस्याको जड हो। यदि तैँले तिनीहरूलाई तिमीहरू सत्यतालाई प्रेम गर्दैनौ भनेर भनिस् भने, तिनीहरूले चित्त दुखाउनेछन्, तर वास्तवमा के तिनीहरूको चित्तदुखाइ उचित छ त? अहँ, छैन। ती मानिसहरूले जतिवटा प्रवचनहरू सुनेका वा जतिवटा धर्मसिद्धान्तहरू बुझेका भए पनि, अभ्यास गर्ने समय आउँदा तिनीहरू सत्यता अभ्यास गर्दैनन्; तिनीहरू सत्यता सिद्धान्तबमोजिम कार्य गर्ने, मामिलाहरू तह लगाउने, वा आफू वरपरका मानिस, घट्ना र परिस्थितिहरू सम्हाल्ने गर्दैनन्, र तिनीहरूसित सधैँ आफ्नै धारणाहरू हुन्छन्। जब कुनै व्यक्ति मसित बोलिरहेको हुन्छ, तब ती मानिसहरू सधैँ यसो भन्छन्, “मेरो कुरा सुन्नुस्, मलाई मेरो दृष्टिकोण बताउन दिनुस्; यो मेरो दृष्टिकोण हो, मैले भन्न खोजेको यही हो,” र “म यस तरिकाले कार्य गर्न चाहन्छु, के तपाईंले मेरो कुरा सुन्नुहुनेछ?” तैँले भन्न खोजेको कुरा नभनीकनै मलाई थाहा हुन्छ; तैँले भन्न खोजेको कुराबारे सधैँ बताइरहनै पर्दैन, त्यो सत्यता होइन, र त्यसलाई प्रस्ट रूपमा बताउँदैमा त्यो सत्यता बन्नेछैन। यदि तँलाई आफूमा जन्मैदेखि सत्यता छ भन्ने विश्वास छ भने, किन तँ अझै पनि परमेश्वरमा विश्वास गर्छस्? यदि तँ परमेश्वरले व्यक्त गर्नुभएका सबै सत्यता सहज रूपमा बुझ्न सक्छस् भने—मानौँ तँ सबै सत्यता बुझ्न सक्छस् र तँ आफै सत्यता होस् भने, अनि तैँले सम्पूर्ण समस्या समाधान गर्न सक्छस् भने—किन अझै पनि तँ परमेश्वरमा विश्वास गर्छस्? कतिपय मानिसहरू भन्छन्, “तपाईं किन सधैँ सही हुनुहुन्छ र सधैँ सबै निर्णयहरू गर्न पाउनुहुन्छ? तपाईं किन मेरो कुरा सुन्नुहुन्न?” यी कस्ता प्रकारका शब्दहरू हुन्? मैले यत्तिका वर्षसम्म तेरो कुरा सुनेपछि पनि, सही र सत्यताअनुरूपको एउटा शब्द सुनेको छैनँ, त्यसैले मैले किन तेरो कुरा सुन्ने? म मान्छेका केही तुलनात्मक रूपमा अलि सही विचारहरू सुन्न चाहन्छु। त्यसले केही मात्रामा मेरो सोच र ऊर्जा बचाउँछ, तर म त्यस्तो केही सुन्दिनँ। मैले सुन्ने भनेकै भ्रम र विद्रोही शब्दहरू, र गनगन र नकारात्मक कुराहरू मात्र हुन्; ती सब सत्यताविपरीत छन्, त्यसैले मैले ती कुरा किन सुन्ने? यदि सबै जनालाई तेरो कुरा सुन्न लगाइएको भए, तिनीहरूले परमेश्वरविरुद्ध विद्रोह गर्नेथिए, परमेश्वरको प्रतिरोध अनि स्वर्गको विरोध गर्नेथिए, तिनीहरू सबैले शैतानलाई पछ्याउनेथिए र अन्ततः नष्ट हुनेथिए। यदि तैँले मेरा वचनहरू सुनिस् र तिनलाई मनन गरिस् भने, तैँले सत्यता बुझ्नेछस्, र तँ परमेश्वरसामु आउन र मुक्तिको मार्ग हिँड्न सक्षम हुनेछस्। परमेश्वरका वचनहरूले मात्र मानिसहरूलाई मुक्ति दिन सक्छन्, अनि मानिसहरूले सत्यता बुझेर, सत्यता अभ्यास गरेर, र परमेश्वरप्रति समर्पित भएर मात्र परमेश्वरको मुक्ति प्राप्त गर्न सक्छन्। मानिसहरूलाई सत्यता स्विकार्नु सजिलो हुँदैन। जब म मानिसहरूमाझ हुन्छु, दाजुभाइ-दिदीबहिनीहरू कसरी सत्यतामा भर्खरै प्रवेश गरेका छन् भनी सुन्न चाहन्छु; र तिनीहरूले मानिस, घट्ना, र वस्तुहरू खुट्याउनमा र सत्यता अभ्यास गर्नमा के-कति प्रगति गरेका छन्; तिनीहरूको अवस्था कस्तो छ; तिनीहरूले आफ्ना गलत स्थितिहरू उल्ट्याएका र परिवर्तन गरेका छन् कि छैनन्; तिनीहरूलाई आफ्नो भ्रष्ट स्वभावबारे कतिको ज्ञान छ; तिनीहरूले आफ्नो भ्रष्ट स्वभावको प्रकटीकरणबाट आफूलाई कति बुझेका छन्; परमेश्वरबारे तिनीहरूका कतिवटा गलत बुझाइहरू हटेका छन्; र परमेश्वरबारे तिनीहरूको ज्ञान कति बढेको छ भनी सुन्न चाहन्छु। म यी अनुभवहरू र ज्ञानबारे सुन्न चाहन्छु, तर दुर्भाग्य, अधिकांश मानिसहरू यस प्रकारको अनुभवात्मक गवाही दिन सक्दैनन्। तिनीहरूमा सत्यता वास्तविकता हुँदैन, अनि तिनीहरू खोक्रा शब्द र सिद्धान्तहरू; विकृत, र पूर्वाग्रही शब्दहरू अनि गुनासाहरू; वा देखावा गर्न र श्रेय लिन अनि इनाम पाउन खोज्ने शब्दहरू मात्र बोल्छन्। तिमीहरूलाई के लाग्छ, ती कुराहरू सुन्दा मलाई कस्तो अनुभूति होला? के ती कुराले मेरो मुड राम्रो होला? (अहँ।) मानिसहरूले विरलै मात्र सत्यताबारे अर्थात् सुनेपछि मानिसहरूलाई राम्रो महसुस गराउने वचनहरूबारे आफ्ना व्यावहारिक अनुभव र अन्तर्ज्ञान बताउँछन्, अनि त्यस प्रकारका वचनहरूविना मानिसहरू किचाहिँ श्रेय लिने र इनाम खोज्ने शब्दहरू किचाहिँ असान्दर्भिक र खोक्रा शब्दहरू बोल्छन्। के तैँले मसित ती खोक्रा धर्मसिद्धान्तहरूबारे कुरा गर्नुपर्छ? तैँले ती धर्मसिद्धान्तहरूबारे बोलेर अज्ञानी मानिसहरूलाई त विरलै मात्र बहकाउन सक्छस्, त्यसैले के तीबारे मसँग कुरा गर्नु समझ नहुनु होइन र? जब केही मानिसहरू मसित भलाकुसारी गर्छन्, तिनीहरू जहिले पनि झूटा आत्मिक धर्मसिद्धान्तहरूबारे कुरा गर्छन्, अनि जब कुनै मामिलाबारे छलफल गर्छन्, तिनीहरू जहिले पनि यसो भन्छन्, “सबथोक परमेश्वरको हातमा छ, त्यो सबै परमेश्वरले तोक्नुभएको हो।” तिनीहरू बाहिरी मामिलाहरूबारे बोल्नु आत्मिक होइन र आत्मिक धर्मसिद्धान्तहरूबारे बोल्न जान्नु मात्र आत्मिक हो भन्ठान्छन्। जब म तिनीहरूलाई केही व्यावहारिक वचनहरू बताउँछु र जीवन जियाइबारे तिनीहरूसित विस्तारमा कुरा गर्छु, तब तिनीहरू त्यो स्विकार्दैनन्; तिनीहरू सानदार प्रवचन र ठूल्ठूला आत्मिक धर्मसिद्धान्तहरू मात्र सुन्न चाहन्छन्। के यस्ता मानिसहरूमा वास्तविकता हुन्छ? तिनीहरूमा त वास्तविकता नहुने मात्र होइन, समझको समेत अत्यन्तै अभाव हुन्छ। तिनीहरू साँच्चै अहङ्कारी र अज्ञानी मानिसहरू हुन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।