हृदय परमेश्‍वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ (भाग एक)

तिमीहरू आज कस्ता परीक्षाहरू थेग्‍न सक्षम छौ? के तिमीहरू आफूसँग जग छ भन्‍ने हिम्मत गर्छौ, र के तिमीहरू परीक्षा सामना गर्दा खरो उत्रन सक्षम छौ? उदाहरणको लागि, शैतानद्वारा खेदो गरिने र सतावटमा पारिने परीक्षाहरू, वा पद र प्रतिष्ठा, विवाह वा धनका परीक्षाहरू, के तिमीहरू यी परीक्षाहरू पार गर्न सक्षम छौ? (हामी लगभग तीमध्ये केही पार गर्न सक्छौँ।) परीक्षाका कतिवटा श्रेणीहरू छन्? अनि तिमीहरू कुन-कुन श्रेणी पार गर्न सक्छौ? उदाहरणको लागि, परमेश्‍वरमा विश्‍वास गरेको कारण कोही गिरफ्तार भएको सुन्दा तँ डराउँदैनस् होला, र अरूलाई गिरफ्तार गरिएको र यातना दिइएको देख्दा तँ डराउँदैनस् होला—तर जब तँ पक्राउ पर्छस्, जब तैँले आफैलाई यो अवस्थामा पाउँछस्, के तँ दृढ भई खडा रहन सक्षम हुन्छस्? यो ठूलो परीक्षा हो, हैन र? उदाहरणको लागि, मानौँ तँ असल मानवत्व भएको कसैलाई चिन्छस् रे, जो परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा उत्कट छ, जसले आफ्नो कर्तव्य पूरा गर्न परिवार र करियर त्यागेको छ र धेरै कठिनाइ भोगेको छ: एक दिन अचानक उसलाई परमेश्‍वरमाथिको उसको विश्‍वासको लागि गिरफ्तार गरिन्छ र उसले जेल सजाय पाउँछ, र तैँले सुन्छस् कि पछि उसलाई कुटपिट गरेर मारियो रे। के यो तेरो परीक्षा होइन र? यदि तँलाई यस्तो हुन्थ्यो भने, तैँले कस्तो प्रतिक्रिया जनाउनेथिस्? तैँले यसलाई कसरी अनुभव गर्नेथिस्? के तैँले सत्यता खोज्नेथिस्? तैँले सत्यता कसरी खोज्नेथिस्? यस्तो परीक्षाको दौरान, के तैँले आफैलाई दृढ भई खडा हुने र परमेश्‍वरको अभिप्राय बुझ्ने बनाउन सक्थिस्, र के यसबाट सत्यता प्राप्त गर्थिस्? के तैँले कहिल्यै यस्ता कुराहरू विचार गरेको छस्? के यस्ता परीक्षाहरू पार गर्न सजिला छन्? के ती असाधारण छन्? असाधारण अनि मानव धारणा र कल्पनाविपरीत हुने कुराहरूलाई कसरी अनुभव गरिनुपर्छ? यदि तँसँग कुनै मार्ग छैन भने, के तैँले गुनासो गर्ने सम्भावना हुन्छ? के तँ परमेश्‍वरका वचनहरूमा सत्यता खोज्न र समस्याहरूको सार देख्न सक्षम छस्? के तँ अभ्यासका सही सिद्धान्तहरू निर्धारण गर्नको लागि सत्यता प्रयोग गर्न सक्षम छस्? सत्यता पछ्याउनेहरूमा यही कुरा पाइनुपर्दैन र? तैँले परमेश्‍वरको काम कसरी जान्‍न सक्छस्? तैँले यसलाई परमेश्‍वरको न्याय, शुद्धीकरण, मुक्ति र सिद्धताका फलहरू हासिल गर्न कसरी अनुभव गर्नुपर्छ? मानिसहरूका परमेश्‍वरविरुद्धका असंख्य धारणा र गुनासोहरू समाधान गर्न के-के सत्यताहरू बुझ्नुपर्छ? तैँले आफूलाई सुसज्जित पार्नुपर्ने सबैभन्दा उपयोगी सत्यताहरू, अर्थात् तँलाई विभिन्न परीक्षाहरूमाझ दृढ खडा रहन मदत गर्ने सत्यताहरू के-के हुन्? अहिले तेरो कद कति ठूलो छ? तँ कुन हदका परीक्षाहरू पार गर्न सक्षम छस्? तँलाई केही अनुमान छ? छैन भने, यो सन्देहयुक्त छ। तिमीहरूले भर्खरै “लगभग तीमध्ये केही पार गर्न सक्छौँ” भनेका थियौ। यी अन्योलपूर्ण कुरा हुन्। तँलाई आफूसँग कस्तो प्रकारको कद छ त्यो थाहा हुनुपर्छ, र तैँले कुन सत्यताहरूले आफूलाई सुसज्जित गरिसकिस्, तँ कुन परीक्षाहरू पार गर्न सक्छस्, तँ कुन जाँचहरू स्वीकार गर्न सक्षम छस्, र कुन जाँचहरूको दौरान तँसँग कुन सत्यता हुनुपर्छ, तँसँग परमेश्‍वरको कामबारे के ज्ञान हुनुपर्छ र परमेश्‍वरलाई सन्तुष्ट पार्न तैँले कुन बाटो रोज्नुपर्छ भनेर तँ स्पष्ट हुनैपर्छ—यी सबैबारे तँलाई राम्ररी थाहा हुनैपर्छ। जब तँ तेरा धारणा र कल्पनाहरूसँग मेल नखाने केही कुरा सामना गर्छस्, तब तँ त्यसलाई कसरी अनुभव गर्छस्? त्यस्ता मामिलाहरूमा, आफ्ना धारणाहरू समाधान गरेर मात्र होइन, परमेश्‍वरको साँचो ज्ञान प्राप्त गरेरसमेत सहज रूपमा पार पाउनको लागि, तैँले आफूलाई सत्यताले कसरी र सत्यताका कुन पक्षहरूले सुसज्जित पार्नुपर्छ—के तैँले खोज्नुपर्ने यही होइन र? तिमीहरूले सामान्यतया कस्ता प्रकारका परीक्षाहरू अनुभव गर्छौ? (हैसियत, ख्याति, लाभ, पैसा, पुरुष र महिलाबीचका सम्बन्धहरू।) यी मूलतः आम परीक्षाहरू हुन्। अनि, आज तिमीहरूको कदको सन्दर्भमा, तिमीहरू कुन परीक्षाहरूमा आफूलाई कायम राख्न र दृढ खडा रहन सक्षम छौ? के तिमीहरूसँग यी परीक्षाहरू पार गर्ने वास्तविक कद छ? के तिमीहरू आफ्नो कर्तव्य ठीकसँग पूरा गर्नेछौ, र सत्यता उल्लङ्घन गर्ने, वा अवरोध र बाधा पुऱ्याउने, वा अवज्ञाकारी र विद्रोही, वा परमेश्‍वरलाई दुखी तुल्याउने कुनै पनि काम गर्दैनौ भनी साँच्चै ठोकुवा गर्न सक्छौ? (सक्दैनौँ।) त्यसोभए तैँले आफ्नो कर्तव्य सही रूपमा पूरा गर्न के गर्नुपर्छ? एउटा त, तेरा कार्यहरू सत्यता सिद्धान्तहरूअनुसार छन् वा छैनन्, लापरवाह छन् वा छैनन्, त्यसमा विद्रोही वा प्रतिरोधी तत्वहरू छन् वा छैनन् भनेर हेर्नको निम्ति, तैँले सबै कुरामा आफैलाई जाँच्नैपर्छ। यदि छन् भने, तैँले तिनलाई समाधान गर्न सत्यता खोजी गर्नैपर्छ। यसको साथै, यदि तँलाई थाहा नभएका केही कुराहरू भएमा, तैँले तिनलाई समाधान गर्न पनि सत्यता खोजी गर्नैपर्छ। यदि तँलाई काँटछाँट गरिएको छ भने, तैँले त्यसलाई स्वीकार गरेर समर्पित हुनुपर्छ। जबसम्म मानिसहरू तथ्यहरूअनुसार बोल्छन्, तबसम्म तैँले तिनीहरूसँग बिलकुलै तर्कवितर्क गर्नु र शब्दजालमा संलग्न हुनु हुँदैन; तब मात्र तैँले आफैलाई चिन्न सक्छस् र साँच्चै पश्चात्ताप गर्न सक्छस्। मानिसहरूले यी कुराहरूका यी दुई पक्षहरूको मापदण्ड पूरा गर्नुपर्दछ र वास्तविक प्रवेश हासिल गर्नुपर्छ। यस तरिकाले, तिनीहरूले सत्यताको बुझाइ प्राप्त गर्न र वास्तविकतामा प्रवेश गर्न सक्छन्, अनि तिनीहरूले स्वीकार्य मापदण्डअनुरूप आफ्नो कर्तव्य पूरा गर्न सक्छन्।

केही मानिसहरू भन्छन्, “धेरैजसो जब ममाथि केही आइपर्छ, मलाई सत्यता कसरी खोजी गर्ने भनी थाहा हुँदैन र थाहा पाइसकेपछि पनि, म कुनै जवाफ पाउँदिनँ। मैले प्रार्थना, खोजी र प्रतीक्षा गरेको छु, तर कुनै परिणाम आएन। मलाई के गर्ने थाहा छैन। म यसको समाधान गर्न परमेश्‍वरका वचनहरू भेट्टाउन चाहन्छु, तर ती अति धेरै छ्न्, परमेश्‍वरका वचनहरूको कुन खण्ड लागू हुन्छ, र यो समस्या समाधान हुन सक्छ, मलाई थाहा छैन।” तब तिनीहरूले के गर्नुपर्छ? यसको लागि न्यूनतम मापदण्ड छ: जब तँमाथि केही आइपर्छ र तँलाई के गर्ने भनी थाहा हुँदैन, तैँले गर्नुपर्ने सबैभन्दा आधारभूत कुरा भनेको आफ्नो विवेक पछ्याउनु हो; यो एक जीवनबुटी हो, यो एक आधाररेखा हो, जुन सबैभन्दा माथि राखेर पालना गरिनुपर्छ, र यो अभ्यासको एक सिद्धान्त पनि हो। त्यसोभए हरेक व्यक्तिमा विवेकले कत्तिको प्रभुत्व राख्छ त? जब व्यक्तिले सत्यता बुझ्दैन, उसको विवेकले कति ठूलो भूमिका खेल्‍न सक्छ त्यो कुरा उसको मानवत्व कस्तो छ भन्‍ने कुरामा निर्भर हुन्छ। यदि यस व्यक्तिले सत्यता बुझ्दैन र आफ्‍नो विवेकअनुसार काम गर्दैन भने, र यदि तैँले उसको कार्यहरूको कुनै पनि पक्षले परमेश्‍वरका अभिप्रायहरूलाई ध्यान दिएको वा उसमा परमेश्‍वरको डर मान्ने कुनै हृदय भएको देख्न सक्दैनस् भने—यदि तैँले यीमध्ये केही पनि देख्दैनस् भने, के यो व्यक्तिलाई विवेक र मानवत्व भएको व्यक्तिको रूपमा गन्ती गर्न सकिन्छ त? (सकिँदैन।) यो कस्तो प्रकारको व्यक्ति हो? यस प्रकारको व्यक्तिलाई नै मानवत्वहीन व्यक्तिको रूपमा पारिभाषित गरिन्छ। उसले न त समझको आधारमा न त विवेकको आधारमा काम गर्छ, उसले त मानवीय आचरणको आधाररेखा नै नाघेर काम गर्छ। कतिपय मानिसहरूले कैयौँ सत्यताहरू बुझ्दैनन्। तिनीहरूले आफूले गर्ने कुनै पनि कामका सिद्धान्तहरू बुझ्दैनन्, र समस्याहरू सामना गर्दा तिनलाई उचित रूपमा कसरी सम्हाल्ने भनेर तिनीहरूलाई थाहै हुँदैन। तिनीहरूले यो परिस्थितिमा कसरी अभ्यास गर्नुपर्छ? न्यूनतम मापदण्ड भनेको विवेकअनुसार काम गर्नु हो—आधाररेखा यही हो। अनि, तैँले विवेकअनुसार कसरी काम गर्नुपर्छ? तैँले इमानदारीसाथ काम गर्नुपर्छ, र तँ परमेश्‍वरको दया, परमेश्‍वरले दिनुभएको यो जीवन, र परमेश्‍वरप्रदत्त यो मुक्ति पाउने अवसरको योग्य बन्‍नुपर्छ। के त्यो तेरो विवेकको प्रभाव होइन र? तैँले यो न्यूनतम मापदण्ड पूरा गरेपछि, तैँले सुरक्षा प्राप्त गरेको हुनेछस् र तैँले गम्भीर गल्तीहरू गर्नेछैनस्; तैँले सहजै परमेश्‍वरविरुद्ध विद्रोह गर्ने कुराहरू गर्नेछैनस् वा आफ्ना जिम्‍मेवारीहरूबाट पछि हट्नेछैनस्, न त तँ त्यसरी झारा टार्ने तरिकाले काम गर्ने जिम्मेवार हुनेछस्। तँ आफ्‍नो हैसियत, ख्याति, लाभ, र भविष्यको लागि षड्यन्त्र गर्नतिर ढल्कनेछैनस्। विवेकले खेल्‍ने भूमिका यही हो। विवेक र तर्कशक्ति दुवै व्यक्तिको मानवत्वका तत्वहरू हुनुपर्छ। यी सबैभन्दा आधारभूत र सबैभन्दा महत्त्वपूर्ण, दुवै हुन्। अनि, अन्तस्करणको कमी भएको र सामान्य मानवजातिको विवेक नभएको व्यक्ति कस्तो प्रकारको मानिस हो? सामान्य रूपमा भन्नुपर्दा, ऊ मानवत्वको कमी भएको, अत्यन्तै कमजोर मानवत्व भएको व्यक्ति हो। यसलाई अलि विस्तारमा हेर्दा, यस व्यक्तिले पतित मानवत्वका के-कस्ता प्रकटीकरणहरू प्रदर्शन गर्छ? त्यस्ता मानिसहरूमा के-कस्ता विशेषताहरू हुन्छन् र तिनीहरूले के-कस्ता खास प्रकटीकरणहरू प्रदर्शन गर्छन् भनेर विश्‍लेषण गरी हेर्। (तिनीहरू स्वार्थी र नीच हुन्छन्।) स्वार्थी र नीच मानिसहरू आफ्ना कार्यहरूमा झाराटारुवा हुन्छन् र आफूसँग व्यक्तिगत रूपमा कुनै सरोकार नभएका कुराहरूबाट अलग्गै बस्छन्। तिनीहरूले परमेश्‍वरको घरका हितहरूबारे विचार गर्दैनन्, न त तिनीहरूले परमेश्‍वरका अभिप्रायहरूबारे कुनै वास्ता नै राख्छन्। तिनीहरूले आफ्ना कर्तव्यहरू पूरा गर्ने कुनै पनि भार बोक्ने वा परमेश्‍वरको गवाही दिने काम गर्दैनन् र तिनीहरूमा जिम्मेवारीको कुनै बोध हुँदैन। अनि, तिनीहरूले जब केही गर्छन्, तब के सोच्छन्? तिनीहरूको पहिलो विचार यस्तो हुन्छ, “यदि मैले यो गरें भने, के परमेश्‍वरले थाहा पाउनुहुनेछ? के यसलाई अरू मानिसहरूले देख्न सक्नेछन्? यदि अरू मानिसहरूले मैले सारा प्रयत्‍न लगाएको र परिश्रमी रूपमा काम गरेको देख्दैनन् भने, र यदि परमेश्‍वरले पनि यो देख्नुहुन्न भने, मैले त्यस्तो प्रयत्‍न गर्दा वा त्यसको लागि कष्ट भोग्दा कुनै फाइदा हुँदैन।” के यो हदैसम्मको स्वार्थीपन होइन र? यो अत्यन्तै नीच शैलीको आशय पनि हो। जब तिनीहरूले यसरी सोच्छन् र काम गर्छन्, के तिनीहरूको विवेकले कुनै भूमिका खेलिरहेको हुन्छ? के यसमा तिनीहरूको विवेकले घोच्छ? अहँ, तिनीहरूको विवेकले कुनै भूमिका खेलिरहेको हुँदैन, र यसले कहीँकतै घोच्दैन। कतिपय मानिसहरूले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको हुँदा पनि कुनै जिम्मेवारी लिँदैनन्। तिनीहरूले आफूले पत्ता लगाएका समस्याहरूबारे आफ्ना वरिष्ठहरूलाई तुरुन्तै रिपोर्ट पनि गर्दैनन्। मानिसहरूले अवरोध र बाधा पुऱ्याइरहेको तिनीहरूले देख्दा, तिनीहरू आँखा चिम्लन्छन्। दुष्ट मानिसहरूले दुष्कर्म गरिरहेको देख्दा पनि तिनीहरू उनीहरूलाई रोक्‍ने प्रयास गर्दैनन्। तिनीहरू परमेश्‍वरको घरका हितहरूको सुरक्षा गर्दैनन्, न त आफ्नो कर्तव्य र जिम्मेवारी के हुन् भनेर ख्याल नै गर्छन्। यस्ता मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा कुनै वास्तविक कार्य गर्दैनन्; तिनीहरू मान्छे खुसी पार्दै हिँड्नेहरू र आरामको लालसा गर्नेहरू हुन्; तिनीहरू आफ्नै आडम्बर, इज्‍जत, हैसियत र हितको लागि मात्र बोल्छन् र काम गर्छन्, अनि आफूलाई फाइदा हुने कुराहरूमा मात्र आफ्नो समय र प्रयास समर्पण गर्न इच्छुक हुन्छन्। त्यस किसिमको व्यक्तिका कार्य र उद्देश्यहरू सबैलाई स्पष्ट हुन्छ: जब मुख देखाउने वा केही आशिष्‌ पाउने अवसर हुन्छ, तब तिनीहरू देखा परिहाल्छन्। तर जब मुख देखाउन पाउने कुनै अवसर हुँदैन, वा जब पीडा भोग्ने समय हुन्छ, तब कछुवाले टाउको लुकाएजस्तै तिनीहरू दृश्यबाट हराइजान्छन्। के यस प्रकारको मानिसमा विवेक र समझ हुन्छ? (हुँदैन।) के यस्तो व्यवहार गर्ने विवेक र समझहीन व्यक्तिले स्व-निन्दा महसुस गर्छ? यस्ता मानिसहरूमा स्व-निन्दाको कुनै बोध हुँदैन। यस प्रकारको व्यक्तिको विवेकले केही काम गर्दैन। यस्ताहरूले कहिल्यै पनि आफ्नो विवेकबाट स्व-निन्दा महसुस गरेका हुँदैनन्, त्यसैले के तिनीहरूले पवित्र आत्माले गर्नुहुने निन्दा वा अनुशासन ताडना महसुस गर्न सक्छन् त? अहँ, तिनीहरूले सक्दैनन्।

पवित्र आत्माको काम सिद्धान्तपरक छ, र यसका पूर्वशर्तहरू छन्। पवित्र आत्माले सामान्यतया कुन किसिमको व्यक्तिमा आफ्नो काम गर्नुहुन्छ? पवित्र आत्माको काम प्राप्त गर्नको लागि व्यक्तिले के-कस्ता पूर्वशर्तहरू पूरा गर्नुपर्छ? परमेश्‍वरमा विश्‍वास गर्नेहरूले पवित्र आत्माको काम प्राप्त गर्नको लागि आफूसँग हुनैपर्ने न्यूनतम कुराहरू बुझ्नैपर्छ। कम्तीमा, तिनीहरूसँग विवेक र इमानदार हृदय हुनैपर्छ, र तिनीहरूको विवेकमा इमानदारीको तत्व हुनैपर्छ। तेरो हृदय इमानदार हुनैपर्छ र त्यसले परमेश्‍वरको जाँच स्वीकार गर्नैपर्छ। परमेश्‍वरको जाँच स्वीकार गर्ने साहस नगर्नेहरू इमानदार मानिसहरू होइनन्, र तिनीहरूले परमेश्‍वरमा इमानदारीपूर्वक विश्‍वास गर्दैनन्। मानिसहरू सधैँ के भन्छन् भने परमेश्‍वरले मानिसहरूको भित्री हृदय जाँच्नुहुन्छ, उहाँ सबै नियाल्नुहुन्छ र मानिसले बाहिरी कुरा देख्छ, जबकि परमेश्‍वरले हृदय देख्नुहुन्छ, तैपनि किन तिनीहरू परमेश्‍वरको जाँच स्वीकार गर्न सक्दैनन्? किन तिनीहरू परमेश्‍वरको वचन सुन्न र उहाँमा समर्पित हुन सक्दैनन्? यसको स्पष्टीकरण के हो भने, मानिसहरूले शब्द र सिद्धान्तहरू मात्र बुझ्छन्, तर सत्यतालाई प्रेम गर्दैनन्। किन केही मानिसहरू पवित्र आत्माको काम कहिल्यै प्राप्त गर्न सक्षम हुँदैनन्, सधैँ नकारात्मक, निराश स्थितिमा, कुनै आनन्द वा शान्तिविहीन हुन्छन्? यदि तैँले तिनीहरूको स्थितिलाई ध्यानपूर्वक जाँचिस् भने, तिनीहरू सामान्यतया विवेकको चेतनारहित, इमानदार हृदयरहित, र कमजोर क्षमताका हुन्छन्, र तिनीहरूले सत्यताको लागि कुनै प्रयास गर्दैनन्, त्यसैले तिनीहरूको स्थिति विरलै मात्र सामान्य हुन्छ। सत्यतालाई प्रेम गर्नेहरू फरक हुन्छन्। तिनीहरूले सँधै सत्यताको लागि प्रयास गर्छन्, जब तिनीहरूले सत्यताका अंशहरू बुझ्छन्, तब तिनीहरूको स्थिति सुधार हुन्छ, र जब तिनीहरू सत्यताका अंशहरू बुझ्छन्, तब तिनीहरूले केही वास्तविक समस्याहरू समाधान गर्न सक्षम हुन्छन्, र त्यसैले तिनीहरूको स्थिति निरन्तर सुध्रँदै र झन्झन् सामान्य बन्दै जान्छ। तिनीहरू आफूलाई जे आइपरे पनि विरलै नकारात्मक हुन्छन्, र तिनीहरू परमेश्‍वरको उपस्थितिमा बाँच्न सक्षम हुन्छन्। अनुभवको जुनसुकै समयावधिमा, तिनीहरूले सधैँ लाभ र ज्ञान हासिल गर्छन्, र आफ्नो कर्तव्य पूरा गर्दा सधैँ उपलब्धिहरू हासिल गर्छन्। तिनीहरू सुसमाचार फैलाउँदा मानिसहरूलाई आफ्नो पक्षमा ल्याउन सक्षम हुन्छन्, र तिनीहरूको कर्तव्य जेसुकै भए पनि, तिनीहरू यसलाई सिद्धान्तपरक तवरले निर्वाह गर्छन्। यी लाभहरू कहाँबाट आउँछन्? यी कुराहरू परमेश्‍वरका वचनहरू बारम्बार पढेर, अनि अन्तर्दृष्टि, ज्योति, र सत्यताको बुझाइ प्राप्त गरेर हासिल गरिएका परिणामहरू हुन्, यी पवित्र आत्माको कामद्वारा हासिल गरिएका परिणामहरू हुन्। जब तँसँग इमानदार हृदय, र मानवजातिसँग हुनुपर्ने विवेक र समझ हुन्छ, तब मात्र पवित्र आत्माले तँमा आफ्नो काम गर्न सक्नुहुन्छ। के तिमीहरू सबैमा पवित्र आत्माको कामसम्बन्धी नियमहरूको बोध छ? पवित्र आत्माले कस्तो प्रकारको व्यक्तिमा आफ्नो काम गर्नुहुन्छ? पवित्र आत्माले सामान्यतया इमानदार हृदय हुनेहरूमाथि आफ्नो काम गर्नुहुन्छ। उहाँले कठिनाइहरू भएका र सत्यता खोजी गर्नेहरूमा काम गर्नुहुन्छ। कुनै पनि मानवता, विवेक वा समझ नभएकाहरूलाई परमेश्‍वरले ध्यान दिनुहुन्न। यदि कोही इमान्दार छ, तर उसको हृदय अस्थायी रूपमा परमेश्‍वरबाट टाढा जान्छ, ऊ राम्रो बन्ने प्रयास गर्न चाहँदैन, र ऊ नकारात्मक स्थितिमा अड्किएको छ, न प्रार्थना गर्छ, न यो सबथोक समाधान गर्न सत्यता खोज्‍ने काम नै गर्छ, अनि ऊ सहकार्य गर्न इच्छुक छैन भने—यो अस्थायी अन्धकार, अस्थायी पतनको स्थितिमा, पवित्र आत्माले आफ्नो काम गर्नुहुन्न। झन् आधारभूत रूपमा मानवताको केही चेतना नभएको व्यक्तिको लागि त उहाँले यो कति कम गर्नुहोला? यो त उहाँले पक्‍कै गर्नुहुने नै छैन। यस प्रकारको विवेक र समझ नभएको, सत्यतालाई पटक्कै प्रेम नगर्ने व्यक्तिबारे परमेश्‍वर के गर्नुहुन्छ? उहाँ तिनीहरूलाई कुनै ध्यान दिनुहुन्न। के यी मानिसहरूको लागि कुनै आशा हुन्छ? तिनीहरूको लागि एउटा मात्र आशाको त्यान्द्रो हुन्छ। तिनीहरूको लागि पार पाउने एक मात्र उपाय भनेको साँच्चै पश्चात्ताप गर्नु, र इमानदार मानिसहरू बन्नु हो, र त्यसपछि मात्र तिनीहरूले पवित्र आत्माको काम प्राप्त गर्न सक्छन्। अनि, व्यक्ति कसरी इमानदार बन्छ? सबैभन्दा पहिले त, तैँले परमेश्‍वरसामु आफ्नो हृदय खोलेर उहाँबाट सत्यता खोज्नुपर्छ, र जब तैँले सत्यता बुझ्छस्, तब तैँले त्यसलाई अभ्यास गर्न र परमेश्‍वरका बन्दोबस्तहरूमा आफूलाई समर्पित गर्न सक्नुपर्छ, र यो सब भनेको तैँले परमेश्‍वरलाई आफ्नो हृदय दिनुबराबर हो। तब मात्र तँ परमेश्‍वरद्वारा स्वीकार गरिन सक्छस्। तैँले पहिला आफ्नो देहविरुद्ध विद्रोह गर्नैपर्छ, आफ्नो आडम्बर र घमण्ड त्याग्नैपर्छ, आफ्नो हित त्याग्नैपर्छ, शारीरिक र मानसिक रूपले कर्तव्यमा होमिनैपर्छ, समर्पित हृदयले कर्तव्य निभाउनैपर्छ, र परमेश्‍वरलाई सन्तुष्ट पारुन्जेलसम्‍म आफूले जे कष्ट भोगे पनि फरक पर्दैन भनेर विश्‍वास गर्नैपर्छ। यदि तैँले कठिनाइहरू सामना गर्छस्, र परमेश्‍वरलाई प्रार्थना गर्छस्, अनि सत्यता खोज्छस् भने, परमेश्‍वरले तँलाई कसरी अगुवाइ गर्नुहुन्छ, तेरो हृदयमा शान्ति र खुसी छ छैन, तँसँग यो प्रमाण छ छैन भन्‍ने कुरा हेर्। यदि तँ पवित्र आत्माको काम प्राप्त गर्न चाहन्छ्स् भने, पहिला तैँले साँच्चै पश्चात्ताप गर्नैपर्छ, आफूलाई परमेश्‍वरमा समर्पित गर्नैपर्छ, उहाँको उपस्थितिमा हृदय खोल्नैपर्छ, र तैँले अति कदर गर्ने ख्याति, लाभ र हैसियतजस्ता फोहोरी कुराहरू त्याग्नैपर्छ। यदि तँ यी कुराहरू पछ्याउन जारी राख्छस्, तर अझै पनि परमेश्‍वरबाट ठूला आशिष्‌हरू माग गर्न चाहन्छस् भने, के उहाँले तँलाई स्वीकार गर्नुहुनेछ त? पवित्र आत्माको कामका पूर्वशर्तहरू हुन्छन्। परमेश्‍वर दुष्टतालाई घृणा गर्ने परमेश्‍वर हुनुहुन्छ, र उहाँ पवित्र परमेश्‍वर हुनुहुन्छ। यदि मानिसहरू सधैं ख्याति, लाभ र हैसियत पछ्याउँछन् भने, र सुरुदेखि अन्त्यसम्म, तिनीहरूले यी कुराहरू त्याग्न सक्दैनन् भने, यदि तिनीहरूको हृदय परमेश्‍वरको लागि बन्द छ भने, यदि तिनीहरू उहाँसामु खुल्ने हिम्मत गर्दैनन् भने, यदि तिनीहरूले सधैँ उहाँको काम र निर्देशन अस्वीकार गर्छन् भने, उहाँले केही गर्नुहुन्न। परमेश्‍वरले यो वा त्यो गर्न बाध्य पार्दै, प्रत्येक व्यक्तिमा आफ्नो काम गर्नु जरुरी छैन। परमेश्‍वरले तँलाई बाध्य पार्नुहुन्न। दुष्ट आत्माहरूले मात्र मानिसहरूलाई नियन्त्रण गर्न तिनीहरूमाथि बलजफती प्रभुत्व जमाउँदै, यो वा त्यो गर्न बाध्य पार्छन्। पवित्र आत्माको काम यति विशेष कोमल हुन्छ कि उहाँले तँलाई उत्प्रेरित गर्नुहुँदा, तैँले अनुभूतिसमेत गर्दैनस्। तँलाई आफूले अनजानमै बुझेको र सचेत बनेको जस्तो लाग्‍नेछ। यसरी पवित्र आत्माले मानिसहरूलाई उत्प्रेरित गर्नुहुन्छ। त्यसैले यदि कसैले पवित्र आत्माको काम प्राप्त गर्न चाहन्छ भने, तिनीहरूले साँच्चै नै पश्चात्ताप र सहकार्य गर्नैपर्छ।

तैँले आफ्नो हृदय परमेश्‍वरलाई कसरी दिने गर्छस्? जब तँमाथि केही आइपर्छन्, तैँले आफूमाथि भर पर्दिनँ भनेर परमेश्‍वरसामु घोषणा गर्नुपर्छ। आफ्नो हृदय परमेश्‍वरलाई दिनु भनेको परमेश्‍वरलाई तेरो घरको मालिक हुन दिनु हो। यसको साथै, तैँले आफूलाई सत्यता अभ्यास गर्नबाट बाधा पुर्‍याउने ख्याति, हैसियत, आडम्बर र घमण्डजस्ता चीजहरू त्याग्‍नुपर्छ, र परमेश्‍वरलाई तेरो अगुवाइ गर्न दिनुपर्छ, तेरो हृदयलाई परमेश्‍वरमा समर्पित हुन दिनुपर्छ, उहाँलाई तेरो हृदयमा शासन गर्न दिनुपर्छ, र उहाँका वचनहरूअनुसार कार्य गर्नुपर्छ। जब तँ देहले आनन्द लिने कुराहरू त्याग्न सक्षम हुन्छस् र जब परमेश्‍वरले तैँले अहिले बिलकुलै बोझहरू बोकिरहेको छैनस्, बरु उहाँसामु समर्पित हृदयसाथ आउँदै छस्, र तँ उहाँका वचनहरू सुन्न इच्छुक छस् र उहाँका प्रबन्ध र योजनाहरूमा समर्पित छस्, र तँ उहाँलाई कार्य गर्न, र उहाँलाई अगुवाइ गर्न दिन्छस् भनी देख्नुहुन्छ—जब परमेश्‍वरले तँ यसरी इमानदार भएको देख्नुहुन्छ, तब पवित्र आत्माले आफ्नो काम गर्नुहुनेछ। पहिला तैँले साँच्चै पश्चात्ताप गर्नैपर्छ, आफ्नो हृदय परमेश्‍वरतर्फ फर्काउनैपर्छ, उहाँका अभिप्रायहरूप्रति विचार पुर्‍याउनैपर्छ, र सत्यताको लागि प्रयास गर्नैपर्छ। तँ नकारात्मक वा अल्छी हुन मिल्दैन, झन् जिद्दी हुन मिल्ने त कुरै नगर्। यदि तँ सधैं जिम्‍मावाल हुन, र आफ्नो घरको मालिक बन्न चाहन्छस्, र आफ्नो प्राथमिकताअनुसार कार्य गर्न चाहन्छस् भने, यो कस्तो मनोवृत्ति हो? यो कस्तो स्थिति हो? यो विद्रोह र प्रतिरोध हो। के तँलाई लाग्छ कि परमेश्‍वरले तँलाई मुक्ति दिनैपर्छ, र उहाँ तँबिना रहनै सक्नुहुन्न? कुरा यही हो? आखिरी दिनहरूमा परमेश्‍वरको काम किन अन्यजातिहरूतिर सरेको छ? उहाँले इस्राएलमा किन काम गर्नुहुन्न? उहाँले धार्मिक संसारमा किन काम गर्नुहुन्न? तिनीहरू परमेश्‍वरप्रति निकै विद्रोही र प्रतिरोधी भएका कारण उहाँले यो काम अन्यजातिहरूमा सार्नुभएको हो। यो मामिलालाई परमेश्‍वरले कसरी हेर्नुहुन्छ? परमेश्‍वरले सत्यता स्वीकार गर्नेहरूलाई मुक्ति दिनुहुन्छ। तिनीहरू धर्म भित्रैबाट परिवर्तन भएका हुन कि तिनीहरू यो काम स्वीकार गर्ने गैरविश्‍वासीहरू हुन् भन्‍ने कुराले फरक पार्दैन—सत्यता स्वीकार गर्नेहरूप्रति परमेश्‍वर अनुग्रही हुनुहुन्छ र तिनीहरूलाई उहाँले मुक्ति दिनुहुन्छ। के तिमीहरू सबै यी मामिलामा स्पष्ट छौ? परमेश्‍वरले गर्नुहुने हरेक काम सबैभन्दा अर्थपूर्ण हुन्छ, र त्यसभित्रै परमेश्‍वरको स्वभाव र बुद्धि हुन्छ। निस्सन्देह नै, मानिसहरूले परमेश्‍वरका चाहनाहरू बुझ्दा वा उहाँका बन्दोबस्तहरूमा समर्पित हुँदा त्यसमा घमण्ड गर्नुपर्ने केही कुरा हुँदैन। तैँले आफू चलाक छु, वा सत्यतालाई प्रेम गर्छु, वा अरू मानिसहरूभन्दा धेरै बलियो छु भनेर नसोच्। तँ एउटा मामिलामा चलाक छस् भन्दैमा अर्को मामिलामा पनि चलाक नै हुनेछस् भन्‍ने हुँदैन, त्यसैले तैँले प्रायः प्रार्थना गर्नुपर्छ र सबै कुरामा सत्यता खोजी गर्नुपर्छ। तैँले आफ्ना सबै कार्यहरू जाँचेर आफूमा परमेश्‍वरको डर मान्ने हृदय छ छैन, ती कार्य सत्यताअनुरूप छन् छैनन्, र ती परमेश्‍वरका अभिप्रायहरू सन्तुष्ट पार्न सक्षम छन् छैनन् भन्‍ने कुराहरू हेर्नुपर्छ।

तेरो मानवता स्वीकार्य मापदण्डअनुरूप होस् या नहोस्, वा त्यो सामान्य विवेक र समझको मापदण्डअनुरूप होस् या नहोस्, परमेश्‍वर केवल ती मानिसहरूसँग मात्र प्रसन्न हुनुहुन्छ जो सत्यता पछ्याउँछन्। सत्यता पछ्याइ र जीवन प्रवेश अनवरत भइरहने कुरा हुन्। यदि कसैसँग केवल विवेक छ, र ऊ आफ्नो विवेकअनुसार काम गर्छ भने, यो सिद्धान्त सत्यताको मापदण्डअनुरूप हुँदैन। तिनीहरूले सत्यताको लागि प्रयास गर्न, परमेश्‍वरको मापदण्डअनुसार व्यवहार गर्न, र उहाँको मापदण्डअनुसार कर्तव्य राम्रोसँग गर्नको लागि मूल्य पनि तिर्नैपर्छ। यसरी पछ्याएर मात्र तिनीहरूले जीवन प्रवेश प्राप्त गर्न, र सत्यता बुझ्न र प्राप्त गर्न, र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न सक्छन्। केही मानवता, विवेक र समझ भएका मानिसहरू छन्, जो यस्तो सोच्छन्: “मैले आफ्नो विवेकअनुसार कर्तव्य गर्नु परमेश्‍वरको अनुमोदनयोग्य हुनेछ।” के यो सही हो? के विवेकको मापदण्डले सत्यतालाई प्रतिस्थापन गर्न सक्छ? के तँ आफ्नो विवेकअनुसार कार्य गरेर परमेश्‍वरप्रति समर्पित हुन सक्छस्? के तँ परमेश्‍वरको इच्छा पालन गर्न सक्छस्? के तँ शैतानलाई घृणा गर्न र त्यसविरुद्ध विद्रोह गर्न सक्छस्? के तँ साँच्चै परमेश्‍वरलाई प्रेम गर्न सक्छस्? के तँ शैतानलाई लज्जित पार्न सक्छस्? के तेरो विवेकअनुसार कार्य गर्नु साँचो गवाही हो? यीमध्ये कुनै कुरा पनि हासिल गर्न सकिँदैन। विवेकको मापदण्डमा के-के पर्छन्? विवेक भनेको हृदयको भावना हो, यो हृदयको मूल्याङ्कन् हो, र यसले सामान्य मानवताका प्राथमिकताहरू प्रतिनिधित्व गर्छ। प्रायजसो कानूनका धेरै लेखहरू र नैतिकताका धारणाहरू विवेकका भावनाहरूमा आधारित हुन्छन्, र यसरी विवेकका भावनाहरूले सजिलैसँग कानूनका लेखहरू र नैतिकताका धारणाहरूलाई मापदण्डको रूपमा प्रयोग गर्छन्। त्यसैले, विवेकका भावनाहरू धेरै हदसम्म सत्यताको मापदण्डभन्दा धेरै तल हुन्छन्, र अझ भन्‍ने हो भने, ती भावनात्मक अवरोधहरूको अधीनमा हुन्छन्, वा ती राम्रा सुनिने शब्दहरूको छल र बहकाउमा परेका हुन्छन्, र यसले कैयौँ त्रुटिहरू उत्पन्न गराउँछ। यदि मानिसहरूले सत्यता बुझ्दैनन् भने, तिनीहरू शैतानको छलमा पर्छन्, र तिनीहरूले शैतानलाई तिनीहरूबाट फाइदा उठाउन दिन्छन्। त्यसैले, तेरो विवेकअनुसार कार्य गर्नुले परमेश्‍वरका मापदण्डहरू पूरा गर्दैनन्। तैँले सत्यतातर्फ पनि प्रयत्‍न लगाउनैपर्छ। जब तैँले सत्यता बुझ्छस् र सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य गर्छस्, तब मात्र तैँले परमेश्‍वरका मापदण्डहरू पूरा गर्न सक्छस्। सत्यताको मापदण्ड विवेकको मापदण्ड भन्दा धेरै माथि हुन्छ। यदि तैँले आफ्नो विवेकअनुसार मात्रै आफ्नो कर्तव्य गर्छस् भने, के तैँले परमेश्‍वरको अनुमोदन पाउन सक्छस् त? सक्दैनस्। विवेकले सत्यतालाई प्रतिस्थापन गर्न नसक्ने हुनाले, र परमेश्‍वरका मापदण्डहरूलाई प्रतिस्थापन गर्न झनै नसक्ने हुनाले, तँ विवेकअनुसार आफ्नो कर्तव्य गरेर सन्तुष्ट हुन सक्दैनस्। यति गरेर तैँले परमेश्‍वरको अनुमोदन हासिल गर्न सक्दैनस्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्