उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ (भाग दुई)
मानिसहरूले आफ्नो कर्तव्य निर्वाहका समयमा अरूसँग सहकार्य गर्न समस्या हुँदा यसलाई कसरी सम्हाल्ने भनेर सिक्न आवश्यक छ। तिनलाई सम्हाल्ने सिद्धान्त के हो? कस्तो परिणाम हासिल गर्नुपर्छ? सबैसँग मिलेर काम गर्न सिक्, अनि भावना वा आवेगले होइन तर सत्यता, परमेश्वरको वचन र सिद्धान्तद्वारा अरूसँग अन्तरक्रिया गर्। यसरी, के सत्यताले मण्डलीमा राज गर्दैन र? सत्यताको राज चलेसम्म, के सबै काम निष्पक्ष र उचित रूपमा सम्हालिँदैनन् र? के तिमीहरूलाई सद्भावपूर्ण सहकार्य सबैका लागि फाइदाजनक हुन्छ भन्ने लाग्दैन? (हो, लाग्छ।) यसरी काम गर्नु तिमीहरूका लागि अत्यन्तै लाभदायक हुन्छ। प्रथमतः तिमीहरूले आफ्ना कर्तव्यहरू पूरा गर्दा यो तिमीहरूका लागि सकारात्मक रूपमा सुधारात्मक र मूल्यवान् हुन्छ। त्यसबाहेक, यसले तिमीहरूलाई गल्ती गर्न, बाधा र अवरोध ल्याउन र ख्रीष्टविरोधीहरूका मार्गमा हिँड्नदेखि रोक्छ। के तिमीहरूलाई ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्न डर लाग्छ? (लाग्छ।) के डर आफैमा उपयोगी हुन्छ? हुँदैन—डरले मात्रै समस्या समाधान गर्न सक्दैन। ख्रीष्टविरोधीहरूका मार्गमा हिँड्न डराउनु सामान्य कुरा हो। यसले ऊ सत्यतालाई प्रेम गर्ने, सत्यताका निम्ति लागिपर्ने र सत्यता पछ्याउन इच्छुक व्यक्ति हो भन्ने देखाउँछ। यदि तँ हृदयमा डर मान्छस् भने, तैँले सत्यताको खोजी गर्नुपर्छ र अभ्यासको मार्ग भेट्टाउनुपर्छ। तैँले अरूसँग सद्भावपूर्ण सहकार्य गर्न सिकेर सुरुवात गर्नैपर्छ। यदि समस्या छ भने, सङ्गति र छलफलद्वारा समाधान गर्, ताकि हरेकले सिद्धान्तहरूका साथै समाधानसम्बन्धी निश्चित तर्क र कार्यक्रमहरू जान्न सकून्। के यसले तँलाई एक्लै निर्णय लिनुबाट बचाउँदैन र? यसको साथै, यदि तँसँग परमेश्वरको डर मान्ने हृदय छ भने, तैँले स्वाभाविक रूपमै परमेश्वरको छानबिन स्वीकार गर्न सक्छस्, तर तैँले परमेश्वरका चुनिएका मानिसहरूको रेखदेखलाई पनि स्विकार्न सिक्नुपर्छ, जसको लागि तँमा सहनशीलता र स्वीकार क्षमता हुनुपर्छ। यदि तैँले कसैले तँलाई रेखदेख गरेको, तेरो काम निरीक्षण गरेको, वा तँलाई थाहा नहुने गरी तेरो जाँच गरेको देखिस्, र तँ गरम मिजास राख्छस्, यस व्यक्तिलाई शत्रुको रूपमा हेर्छस् र घृणा गर्छस्, अनि तिनीहरूलाई धोकेबाज भनेर आक्रमण गर्ने र सम्हालनेसमेत गर्छस्, र तिनीहरू मेटिएर जाऊन् भन्ने चाहना गर्छस् भने, यो समस्या हो। के यो अत्यन्तै घटिया कार्य होइन र? यो र दियाबलसको राजाबीच के फरक छ र? के यसो गर्नु मानिसहरूलाई उचित व्यवहार गर्नु हो? यदि तँ सही मार्गमा हिँड्छस् र तैँले सही तरिकाले व्यवहार गर्छस् भने, तँलाई मानिसहरूले जाँच्दा किन डराउने? यदि तँ डराइस् भने यसले तेरो हृदयमा केही लुकेको छ भन्ने देखाउँछ। यदि तँमा समस्या छ भन्ने तँलाई हृदयमा थाहा छ भने, तैँले परमेश्वरको न्याय र सजाय स्वीकार गर्नुपर्छ। यो समझदार कुरा हो। यदि तँमा समस्या छ भन्ने तँलाई थाहा छ, तर पनि अरूलाई तेरो रेखदेख गर्न, तेरो काम निरीक्षण गर्न, वा तेरो समस्या अनुसन्धान गर्न दिँदैनस् भने, तैँले अत्यन्तै असमझदार व्यवहार गरिरहेको हुन्छस्, तैँले परमेश्वरको विरुद्धमा विद्रोह र प्रतिरोध गरिरहेको हुन्छस्, र यस्तो अवस्थामा, तेरो समस्या अझै गम्भीर हुन्छ। यदि परमेश्वरका चुनिएका मानिसहरूले तँ दुष्ट व्यक्ति वा अविश्वासी होस् भनी खुट्ट्याएमा, परिणामहरू अझै कष्टपूर्ण हुनेछन्। तसर्थ, अरूको रेखदेख, जाँच, र निरीक्षणलाई स्वीकार गर्न सक्ने मानिसहरू नै सबैभन्दा समझदार हुन्छन्, तिनीहरूमा सहनशीलता र सामान्य मानवता हुन्छ। जब तैँले कुनै गलत काम गरिरहेको छस् वा तँमा भ्रष्ट स्वभावको प्रकाश छ भन्ने पत्ता लगाउँछस्, तब यदि तैँले मन खोलेर मानिसहरूसँग कुराकानी गर्न सक्छस् भने, तँलाई निगरानी गर्न यसले तेरो वरिपरिका मानिसहरूलाई सहयोग गर्छ। रेखदेख स्वीकार गर्नु अवश्य नै अत्यावश्यक कुरा हो, तर मुख्य कुरा भनेको परमेश्वरलाई प्रार्थना गर्नु र उहाँमा भरोसा गर्नु, अनि निरन्तर आत्मजाँच गर्नु हो। विशेष गरी जब तैँले गलत मार्ग लिएको हुन्छस् वा कुनै गलत काम गरेको हुन्छस्, वा जब तैँले कुनै कुरा आफै गर्न वा निर्णय गर्न लागेको हुन्छस्, अनि तेरो नजिक रहेको कसैले तँलाई यो कुरा औँल्याउँछ र चेतावनी दिन्छ, तब तैँले त्यो कुरा स्वीकार गरेर तुरुन्तै आत्मचिन्तन गर्नुपर्छ, र आफ्नो गल्ती स्वीकार गरेर सुधार गर्नुपर्छ। यसले तँलाई ख्रीष्टविरोधीहरूका मार्गमा कदम चाल्नबाट रोक्न सक्छ। यदि कसैले तँलाई यसरी सहयोग गरिरहेको र चेतावनी दिइरहेको छ भने, के तैँले थाहै नपाई सुरक्षा पाइरहेको हुँदैनस् र? हुन्छस्—त्यो तेरो सुरक्षा हो। त्यसकारण, तैँले सधैँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरू वा तेरो वरपरका मानिसहरूबाट आफूलाई जोगाउनु हुँदैन। अरूले तँलाई बुझ्न वा तँ को होस् भनेर हेर्न नमिल्ने गरी सधैँ आफ्नो भेष नबदल् र आफैलाई ढाकछोप नगर्। यदि तेरो हृदयले सधैँ अरूबाट आफूलाई सुरक्षित राख्न खोजेमा, यसले तेरो सत्यताको खोजलाई असर गर्नेछ, र तैँले पवित्र आत्माको काम, साथै सिद्ध बन्ने थुप्रै अवसरहरू सजिलै गुमाउनेछस्। यदि तँ सधैँ अरूबाट आफूलाई जोगाउँछस् भने, तँसित हृदयमा गोप्य कुराहरू हुनेछन्, र तैँले मानिसहरूसँग सहकार्य गर्न सक्नेछैनस्। तँलाई गलत काम गर्न र गलत बाटो हिँड्न सजिलो हुनेछ र आफूले गल्ती गर्दा तँ अक्क न बक्क हुनेछस्। त्यस बेला तैँले के सोच्नेछस्? “मैले थाहा पाएको मात्र भए म आफ्नो कर्तव्य निर्वाह गर्न सुरुदेखि नै आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर सहकार्य गर्नेथिएँ र पक्कै पनि कुनै समस्या हुनेथिएन। तर म सधैँ अरूले मलाई छर्लङ्ग देख्लान् भनेर डराएको हुनाले, मैले आफूलाई अरूबाट जोगाएँ। तर अन्ततः, अरू कसैले गल्ती गरेनन्—पहिलो गल्ती मैले नै गरेँ। कस्तो लाजमर्दो र मूर्ख कुरा!” यदि तँ सत्यता खोज्नमा ध्यान दिन सक्छस्, र तँलाई कठिनाइ आइपर्दा आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गतिमा खुल्न सक्छस् भने, तेरा दाजुभाइ-दिदीबहिनीहरूले तँलाई मद्दत गर्न सक्छन्, र अभ्यासको सही मार्ग र अभ्यासका सिद्धान्तहरू बुझ्ने बनाउन सक्छन्। यसले तँलाई आफ्नो कर्तव्य पूरा गर्दा गलत मार्ग हिँड्नबाट जोगाउन सक्छ, यसो गर्दा तँ असफल वा पतन हुनेछैनस्, वा परमेश्वरद्वारा तिरस्कृत हुने र हटाइने छैनस्। बरु, तैँले सुरक्षा प्राप्त गर्नेछस्, आफ्नो कर्तव्य ठिकसँग पूरा गर्नेछस्, र परमेश्वरको अनुमोदन पाउनेछस्। मानिसहरूले सद्भावपूर्ण सहकार्यबाट कत्ति धेरै फाइदाहरू पाउँछन्!
“सद्भावपूर्ण सहकार्य” भन्ने शब्दहरूलाई शाब्दिक रूपमा बुझ्न सजिलो छ, तर अभ्यास गर्न गाह्रो छ। यी शब्दहरूको व्यावहारिक पक्षमा जिउन सजिलो कुरा होइन। किन यो सजिलो कुरा होइन? (मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ।) त्यो ठिक हो। मानिसमा अहङ्कार, दुष्टता, हठीपन आदिजस्ता भ्रष्ट स्वभावहरू हुन्छन्, र यी कुराले तिनीहरूलाई सत्यता अभ्यास गर्न रोक्छन्। जब तँ अरूसँग सहकार्य गर्छस्, तब हरप्रकारका भ्रष्ट स्वभाव प्रकट गर्छस्। उदाहरणका लागि, तँ सोच्छस्: “तिमी मलाई त्यस व्यक्तिसँग सहकार्य गर्न लगाउँछौ, तर के ऊ त्यसको लायक छ? यदि मैले क्षमता नै नभएको व्यक्तिसँग सहकार्य गरेँ भने मानिसहरूले मलाई तुच्छ ठान्नेछैनन् र?” अनि कहिलेकाहीँ, तैँले यस्तोसमेत विचार गर्छस् होला, “त्यो व्यक्ति कति मूर्ख छ, र उसले मैले भनेको कुरा बुझ्दैन!” वा “मैले भन्नुपर्ने कुरा विचारशील र अन्तर्दृष्टिपूर्ण हुन्छ। यदि मैले उसलाई यो कुरा बताएँ र यो कुरा लागू गर्न दिएँ भने, के म अझै पृथक नै देखिनेछु? मेरो प्रस्ताव सबैभन्दा राम्रो हुन्छ। यदि मैले यो कुरा भनेँ र तिनीहरूलाई सोहीअनुसार गर्न दिएँ भने, यो मेरो योगदान हो भनेर कसले थाहा पाउँछ र?” यस्ता विचार र दृष्टिकोण—यस्ता दुष्ट शब्दहरू—आम रूपमा सुनिन्छ र देखिन्छ। यदि तँसँग यस्ता विचार र दृष्टिकोण छन् भने, के तँ अरूसँग सहकार्य गर्न इच्छुक हुन्छस्? के तैँले सद्भावपूर्ण सहकार्य गर्न सक्छस्? यो सजिलो छैन; यसमा केही हदसम्म चुनौती छ! “सद्भावपूर्ण सहकार्य” भन्ने शब्दहरू भन्न त सजिला छन्—मुखबाट फुत्त निस्किहाल्छन्। तर ती अभ्यास गर्ने बेलामा, तँभित्र विघ्नबाधाहरूले प्रभाव जमाउँछन्। तँ घरी यो सोच्छस् घरी त्यो सोच्छस्। कहिलेकाहीँ, तँ राम्रो मुडमा हुँदा, तैँले अझै अरूसँग अलिअलि सङ्गति गर्न सक्छस् होला; तर यदि तेरो मुड खराब छ र तँलाई भ्रष्ट स्वभावले बाधा दिन्छ भने, तैँले यो कदापि अभ्यास गर्न सक्नेछैनस्। कतिपय मानिस अगुवाका रूपमा कसैसित सहकार्य गर्न सक्दैनन्। तिनीहरू सधैँ अरूलाई हेय नजरले हेर्छन्, अरूलाई नाटीकुटी गर्छन्, र अरू मानिसलाई तिनीहरूको कमीकमजोरी देखेपछि, आलोचना र आक्रमण गर्छन्। यसले गर्दा यस्ता अगुवाहरू कुहिएका आलु बन्छन्, र तिनीहरूलाई प्रतिस्थापन गरिन्छ। के तिनीहरूले “सद्भावपूर्ण सहकार्य” भन्ने शब्दहरूको अर्थ बुझ्दैनन्? वास्तवमा तिनीहरूले यी शब्दहरूलाई राम्ररी बुझेका हुन्छन्, तर तिनलाई अभ्यास गर्न सक्दै सक्दैनन्। तिनीहरूले किन अभ्यास गर्न सक्दैनन्? किनभने तिनीहरूले हैसियतलाई अत्यन्तै बहुमूल्य ठान्छन्, र तिनीहरूको स्वभाव अत्यन्तै अहङ्कारी हुन्छ। तिनीहरूले आफ्नो प्रदर्शन गर्न चाहन्छन्, र हैसियत हात पारेपछि, तिनीहरूले यसलाई छोड्दैनन्, किनभने तिनीहरूलाई यो अर्को व्यक्तिको हातमा पर्ला र आफूसँग वास्तविक शक्ति नहोला भन्ने डर लाग्छ। तिनीहरूलाई अरूले आफूलाई बेवास्ता गर्लान् र आदर नगर्लान् भन्ने डर लाग्छ, अनि आफ्ना शब्दहरूमा कुनै शक्ति वा अख्तियार नहोला भन्ने डर लाग्छ। तिनीहरूलाई यही कुराको डर लाग्छ। तिनीहरूको अहङ्कार कति हदसम्म पुग्छ? तिनीहरूले आफ्नो समझ गुमाउँछन् र स्वेच्छाचारी, र हतपते काम गर्छन्। र त्यसले के निम्त्याउँछ? तिनीहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह नगर्ने मात्र होइन, तिनीहरूको कार्य अवरोध र बाधासमेत बन्छ, र तिनीहरूलाई स्थानान्तर र प्रतिस्थापन गरिन्छ। मलाई भन, त्यस्तो स्वभाव भएको व्यक्ति कहीँकतै कर्तव्य पूरा गर्न योग्य हुन्छ? दुःखको कुरा तिनीहरूलाई जहाँ राखिए पनि, तिनीहरूले आफ्नो कर्तव्य राम्ररी निभाउँदैनन्। तिनीहरूले अरूसँग सहकार्य गर्न सक्दैनन्—त्यसो भए, के यसको अर्थ तिनीहरूले आफै कर्तव्य राम्ररी निभाउन सक्छन् भन्ने हो? अवश्य होइन। यदि तिनीहरूले आफै कर्तव्य निर्वाह गरे भने, तिनीहरूको लगाम झनै कम हुन्छ, तिनीहरूले अझै धेरै स्वेच्छाचारी, र हतपते काम गर्न सक्छन्। तैँले आफ्नो कर्तव्य राम्ररी निभाउन सक्छस् कि सक्दैनस् भन्ने कुरा तेरो योग्यता, तेरो क्षमताको उचाइ, तेरो मानवता, तेरो सबल पक्ष, तेरा सिपहरूमा आधारित हुँदैन; यो तँ सत्यता स्विकार्ने र सत्यता अभ्यास गर्न सक्ने व्यक्ति होस् कि होइनस् भन्ने कुरामा आधारित हुन्छ। यदि तैँले सत्यता अभ्यास गरेर अरूसँग उचित व्यवहार गर्न सक्छस् भने, तैँले अरूसँग मिलेर सहकार्य गर्न सक्छस्। व्यक्तिले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न र अरूसँग मिलेर सहकार्य गर्न सक्छ कि सक्दैन भन्ने कुरोको चुरो उसले सत्यता स्विकार्न र त्यसप्रति समर्पित हुन सक्छ कि सक्दैन भन्ने नै हो। मानिसहरूको क्षमता, वरदान, योग्यता, उमेर इत्यादि कुरा प्रमुख होइनन्, ती सब गौण कुरा हुन्। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको व्यक्तिले सत्यतालाई प्रेम गर्छ कि गर्दैन, र उसले सत्यता अभ्यास गर्न सक्छ कि सक्दैन भनेर हेर्नु हो। प्रवचन सुनेपछि, सत्यतालाई प्रेम गर्ने र सत्यता अभ्यास गर्न सक्नेहरूले यो सही हो भनेर स्वीकार गर्छन्। वास्तविक जीवनमा, तिनीहरूले मानिस, घटना, र कामकुराको सामना गर्दा, यी सत्यताहरू कार्यान्वयन गर्छन्। तिनीहरूले सत्यता अभ्यास गर्नेछन्, यो तिनीहरूको आफ्नै वास्तविकता, र तिनीहरूको जीवनको भाग बन्नेछ। यो तिनीहरूको चालचलन र काम गर्ने शैलीको मापदण्ड र सिद्धान्त बन्नेछ; यो तिनीहरूले जिउने र खुलासा गर्ने कुरा बन्नेछ। प्रवचन सुन्दा, सत्यतालाई प्रेम नगर्नेहरूले यसलाई सही भनी पनि स्वीकार गर्छन्, र यो सबै बुझेको छु भनी सोच्छन्। तिनीहरूले आफ्नो हृदयमा धर्मसिद्धान्तहरू रेकर्ड गरेका हुन्छन्, तर तिनीहरूले यो गर्दा कुनै कुरा विचार गर्न प्रयोग गर्ने सिद्धान्त र मापदण्डहरू के-के हुन्छन्? तिनीहरू सधैँ आफ्नै हितहरूअनुसार कामकुरालाई विचार गर्छन्; तिनीहरू सत्यता प्रयोग गरेर कामकुरालाई विचार गर्दैनन्। तिनीहरू सत्यता अभ्यास गर्दा आफूलाई घाटा हुन्छ, र अरूले आलोचना गर्छन् र तुच्छ ठान्छन्, अनि आफ्नो इज्जत जान्छ भनेर डराउँछन्। तिनीहरू घरी यो घरी त्यो सोच्छन्, र अन्तिममा यस्तो विचार गर्छन्, “म आफ्नै हैसियत, प्रतिष्ठा, र हितहरूको मात्रै रक्षा गर्नेछु, मुख्य कुरो यही हो। यी कुराहरू पूरा भएपछि, म सन्तुष्ट हुनेछु। यदि यी कुराहरू पूरा भएनन् भने, मलाई सत्यता अभ्यास गर्दा खुसी मिल्नेछैन, न त आनन्द नै हुनेछ।” के यो सत्यतालाई प्रेम गर्ने व्यक्ति हो? अवश्य नै होइन। केही मानिसहरू प्रवचनहरू सुन्दा निकै गम्भीर बन्छन् र टिपोटसमेत गर्छन्। तिनीहरू मुख्य शब्द वा महत्त्वपूर्ण वाक्यांश सुन्दैपिच्छे त्यो नोटबुकमा लेख्छन्, तर पछि त्यसलाई प्रयोग वा लागू गर्दैनन्। समय जति बिते पनि वास्तविक परिवर्तन देखिँदैन। के सत्यतालाई प्रेम गर्ने व्यक्ति यस्तै हुन्छ त? सत्यतालाई प्रेम गर्नेहरूले—तिनीहरूले त्यो बुझे भने—त्यसलाई अभ्यास गर्न सक्छन्, जबकि सत्यतालाई प्रेम नगर्नेहरूले त्यसलाई बुझे पनि अभ्यास गर्न सक्दैनन्। कसैले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भन्ने कुराको सबैभन्दा ठूलो सूचक उसले त्यसलाई व्यवहारमा उतार्न सक्छ या सक्दैन भन्ने हो। के सत्यतालाई प्रेम नगर्ने व्यक्तिले सही र गलत छुट्याउन सक्छ भन्ने तिमीहरूलाई लाग्छ? (उसले छुट्याउन सक्दैन।) वास्तवमा, उसले छुट्याउन सक्छ। उदाहरणका लागि, यदि ऊ विगतमा कसैप्रति दयालु थियो, तर पछि त्यो व्यक्तिले उसको हितमा धक्का पुऱ्याउँछ भने, उसले भन्नेछ, “त्यो व्यक्ति अविवेकी छ। मैले विगतमा उसलाई मद्दत गरेँ, र अहिले ऊ मलाई यस्तो व्यवहार गर्छ!” हेर्, ऊ विवेकबारे कुरा गर्छ, तर उसले कुनै व्यक्तिको विवेक मापन गर्न वा सही र गलत छुट्याउन कुन मापदण्ड प्रयोग गर्छ? आफूलाई उपयोगी हुने जोसुकै र आफूलाई फाइदा पुर्याउने जुनसुकै बोली वा कार्य सकारात्मक हुन्छ, जबकि उसलाई फाइदाजनक नहुने कुरा नकारात्मक हुन्छ। उसको दृष्टिकोण यस्तो स्वार्थी छ। के तिमीहरूलाई यस्तो व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ भन्ने लाग्छ? (अहँ, उसले प्राप्त गर्न सक्दैन।) किन सक्दैन? (उसले सत्यता प्राप्त गर्न सक्दैन किनभने उसका कार्यहरू सिद्धान्तविहीन हुन्छन्, र ऊ सत्यताअनुरूप अभ्यास गर्दैन। बरु, ऊ आफ्नै फाइदाका लागि काम गर्छ, र हर तरहले आफ्नै लागि योजना बनाउँछ।) ठ्याक्कै त्यही हो। उसले सत्यता प्राप्त गर्न सक्दैन। कस्तो प्रकारको व्यक्तिका लागि सत्यता तयार पारिएको हो? यो सत्यतालाई प्रेम गर्ने र यसका लागि सबै कुरा त्याग्न सक्ने मानिसहरूका लागि तयार पारिएको हो। यी भनेका सत्यता प्राप्त गर्न सक्ने मानिसहरू हुन् र अन्ततः सत्यता यिनीहरूकै हुन्छ र यिनीहरूलाई नै दिइन्छ। यसको अर्थ सत्यतालाई व्यवहारमा उतार्न सक्षम हुनु अनि आफ्ना व्यक्तिगत स्वार्थ वा सर्वप्रिय वस्तुहरू त्याग गरेर र ती सबै अर्पण गरेर भए पनि कुनै हालतमा सत्यताअनुसार जिउनु हो र यसरी सत्यता प्राप्त गर्न सकिन्छ।
तिमीहरूलाई मानिसहरूले सबैभन्दा मूल्यवान् केलाई ठान्छन् जस्तो लाग्छ? के मानव जीवनलाई हो? (हो।) वास्तवमा, यो होइन। मानिलिऊँ तँलाई परमेश्वरको खातिर आफ्नो जीवन अर्पण गर्न भनियो। के तँ जीवन त्याग्न सक्छस्? मानिलिऊँ तँ आफैलाई परमेश्वरमा अर्पण गर्न र तुरुन्तै मर्न भनियो, के तँ यो गर्न सक्छस्? यसो गर्न सक्ने कतिपय हुन्छन्। त्यसकारण, जीवन मानिसहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा होइन, किनकि वास्तवमा कोहीकोही आफूलाई कुनै पनि बेला र कुनै पनि ठाउँमा परमेश्वरमा चढाउन वा उहाँका लागि आफ्नो जीवन अर्पण गर्न तयार हुन्छन्। तर जब तिनीहरूको आफ्नो व्यक्तिगत हित वा प्रतिष्ठा र हैसियत खतरामा पर्छ, विशेष गरी जब यसमा तिनीहरूको भविष्य र भाग्य मुछिन्छ, तब के तिनीहरूले सत्यता अभ्यास गर्न र आफ्नो देहविरुद्ध विद्रोह गर्न सक्छन्? यसो गर्नु सबैभन्दा गाह्रो कुरा हो। यस अवस्थामा व्यक्तिका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? (उसको हित, भविष्य र भाग्य।) सही हो। मानिसहरूले जीवनलाई नभएर आफ्ना हित, हैसियत, भविष्य र भाग्यलाई सबैभन्दा मूल्यवान् ठान्छन् र कदर गर्छन्। परमेश्वरका लागि आफ्नो जीवन अर्पण गर्न सक्ने व्यक्ति सत्यतालाई प्रेम गर्ने र सत्यता अभ्यास गर्ने व्यक्ति नै हुन्छ भन्ने छैन। परमेश्वरका लागि आफ्नो जीवन अर्पण गर्न सक्ने बन्नु एक नारा मात्र हुन सक्छ। तँ आफ्नो जीवन परमेश्वरलाई अर्पण गर्न सक्छु भन्छस्, तर के तँ हैसियतका फाइदाहरू छोड्न सक्छस् त? घमण्ड छोड्न सक्छस्? कुनचाहिँ त्याग गर्न सजिलो हुन्छ? (आफ्नो जीवन त्याग गर्न सजिलो हुन्छ।) हो। जब कतिपय मानिसले रोज्नुपर्ने हुन्छ, तब आफ्नो जीवन बलिदान दिन सके पनि, हैसियतका फाइदाहरू त्याग्न वा आफ्ना गलत मार्ग परित्याग गर्न सक्दैनन्। मानिलिऊँ तैँले दुइटा मार्गमध्ये एउटा रोज्नुपर्यो। एउटा इमानदार व्यक्ति बन्ने, सत्य बोल्ने र मनमा जे छ त्यो भन्ने, आफ्नो मनको कुरा अरूसँग बाँड्ने, वा आफ्ना गल्ती स्वीकार गर्ने र यथार्थलाई जस्ताका तस्तै बताउने, अरूलाई आफ्नो भ्रष्ट कुरूपता देखाउने र आफ्नै व्यक्तित्वलाई लज्जित तुल्याउने बाटो हो। अर्को चाहिँ परमेश्वरका लागि शहिद हुन आफ्नो ज्यान दिने र मरेपछि स्वर्गको राज्यमा प्रवेश गर्ने बाटो हो। तँ कुन मार्ग रोज्छस्? कसै-कसैले यसो भन्लान्, “म परमेश्वरका लागि आफ्नो जीवन त्याग गर्ने मार्ग रोज्छु। म उहाँका लागि मर्न इच्छुक छु; मृत्युपछि म मेरो इनाम पाउनेछु, र स्वर्गको राज्यमा प्रवेश गर्नेछु।” सङ्कल्प भएकाहरूले एउटै जोडदार प्रयासमा परमेश्वरका लागि आफ्नो जीवन अर्पण गर्न सक्छन्। तर के यस्तो प्रयासले सत्यता अभ्यास गर्न र इमानदार व्यक्ति बन्न सकिन्छ? सकिँदैन, दुई प्रयासमा पनि सकिँदैन। केही गर्दा यदि तँसँग इच्छा छ भने, तैँले यो एकै प्रयासमा राम्रोसँग गर्न सक्छस्; तर बिनाझूट एकपल्ट सत्य बोल्दैमा तँ सधैँका लागि इमानदार व्यक्ति बन्दैनस्। इमानदार व्यक्ति बन्न तेरो स्वभाव परिवर्तन हुनु आवश्यक छ, र यसका लागि दस वा बीस वर्षको अनुभव चाहिन्छ। तैँले इमानदार व्यक्ति बन्ने आधारभूत मापदण्ड पूरा गर्न सक्नुअघि झूट र छलकपटको आफ्नो छली स्वभाव त्याग्नैपर्छ। के यो सबैका निम्ति गाह्रो छैन त? यो ठूलो चुनौती हो। परमेश्वर अब मानिसहरूको एउटा समूहलाई सिद्ध पार्न र प्राप्त गर्न चाहनुहुन्छ, अनि सत्यता पछ्याउने सबैले न्याय र सजाय, परीक्षा र शोधन स्वीकार गर्नैपर्छ, जसको उद्देश्य तिनीहरूका छली स्वभावहरू हटाउनु र तिनीहरूलाई परमेश्वरमा समर्पित हुने इमानदार मानिस बनाउनु हो। यो एकै प्रयासमा हासिल गर्न सकिने कुरा होइन; यसका लागि साँचो विश्वास चाहिन्छ र व्यक्तिले यो प्राप्त गर्नुअघि कैयौँ परीक्षा र धेरै शोधन भोग्नैपर्छ। यदि अहिले तँलाई परमेश्वरले इमानादार व्यक्ति बन्न, र साँचो बोल्न, तथ्य मुछिएको, तेरो भविष्य र तेरो नियति मुछिएको कुरा बताउन भन्नुभयो, जसका परिणामहरू तेरो हितमा नहोलान् अरूले तँलाई उप्रान्त सम्मान गर्दैनन्, अनि तँलाई तेरो प्रतिष्ठा गुमेको महसुस हुन्छ भने—यस्तो परिस्थितिमा, के तँ खुलस्त हुन र सत्य बोल्न सक्छस्? के तँ अझै पनि इमान्दार बन्न सक्छस्? यो गर्नका निम्ति सबैभन्दा कठिन कुरा हो, तेरो जीवन परित्याग गर्ने कुराभन्दा पनि ज्यादै गाह्रो कुरा। तँ भन्लास्, “मलाई सत्यता बताउन लगाइएमा, म त्यो गर्नेछैनँ। म सत्यता बताउनुभन्दा बरु मर्नेछु। म कदापि इमान्दार व्यक्ति हुन चाहन्न। सबैले मलाई तुच्छ नजरले हेर्नुभन्दा र म साधारण व्यक्ति हो भनी सोच्नुभन्दा बरु म मर्नेछु।” यसले मानिसहरू केलाई सबैभन्दा प्रिय ठान्छन् भनेर देखाउँछ? मानिसहरूले सबैभन्दा प्रिय ठान्ने कुरा भनेको तिनीहरूको हैसियत र प्रतिष्ठा हो—ती कुराहरू तिनीहरूको शैतानी स्वभावद्वारा नियन्त्रित हुन्छन्। जीवन गौण कुरा हो। परिस्थितिले बाध्य पारेमा तिनीहरूले आफ्नो जीवन बलिदान गर्न साहस बटुल्न सक्छन्, तर हैसियत र प्रतिष्ठा त्याग्नु सजिलो हुँदैन। परमेश्वरमा विश्वास गर्ने मानिसहरूको हकमा चाहिँ जीवन दिनु नै सबैभन्दा महत्त्वको कुरा हुँदैन; परमेश्वर मानिसहरूले सत्यता स्विकारेको र उनीहरू आफ्ना हृदयमा जे छ त्यही कुरा भन्ने, खुलस्त भएर सबैलाई आफूलाई उदाङ्गो पार्ने साँच्चै इमानदार व्यक्ति बनेको माग गर्नुहुन्छ। के त्यो गर्न सजिलो छ र? (छैन।) परमेश्वरले वास्तवमा तँलाई तेरो जीवन बलिदान गर्न भन्नुहुन्न। के तेरो जीवन परमेश्वरले दिनुभएको होइन र? तेरो जीवन परमेश्वरका लागि के कामको हुनेछ? परमेश्वरले यो चाहनुहुन्न। उहाँले तैँले इमानदारीपूर्वक बोलेको, तँ को होस् अनि तैँले तेरा हृदयमा के सोच्छस् सो भनेको चाहनुहुन्छ। के तँ यी कुराहरू भन्न सक्छस्? यहाँ, यो काम अझै कठिन हुन्छ अनि तैँले यसो भन्छस् होला, “मलाई कडा परिश्रम गर्न लगाउनुहोस्, अनि त्यो गर्न मसित शक्ति हुनेछ। मलाई आफ्ना सबै सम्पत्ति बलिदान गर्न लगाउनुहोस्, म त्यो गर्न सक्छु। म आफ्ना आमाबुबा छोराछोरी, मेरो विवाह र करियर सबै सजिलै त्याग गर्न सक्छु। यी सबै कुराहरू परित्याग गर्न सजिलो छ। तर मेरो हृदयमा के छ त्यो कुरा भन्नु, इमानदारीपूर्वक बोल्नु—त्यो एउटै कुरा म गर्न सक्दिनँ।” तैँले त्यो गर्न नसक्नुको कारण के हो? कारण हो, तैँले त्यो गरिसकेपछि, तँलाई चिन्ने वा तँसित परिचित हुने सबैले तँलाई भिन्नै प्रकारले हेर्नेछन्। तिनीहरूले तँलाई मान गर्नेछैनन्। तैँले आफ्नो इज्जत गुमाएको हुनेछस् र तँ पूरै अपमानित भएको हुनेछस्, अनि तेरो निष्ठा र मर्यादा अबउसो हुनेछैन। अरूको हृदयमा रहेको तेरो उच्च हैसियत र प्रतिष्ठा पनि रहनेछैनन्। त्यसकारण, त्यस्ता परिस्थितिहरूमा, जेसुकै भए पनि, तैँले सत्य बोल्नेछैनस्। जब मानिसहरूले यो कुराको सामना गर्छन्, तब तिनीहरूको हृदयमा लडाइ चल्छ, अनि जब त्यो लडाइ समाप्त हुन्छ, अन्ततः कतिपय आफ्ना कठिनाइहरूदेखि पार हुन्छन् जबकि अरू पार हुँदैनन्, अनि तिनीहरू अझै आफ्नो भ्रष्ट शैतानी स्वभाव र आफ्नो हैसियत, प्रतिष्ठा र कथित मर्यादाद्वारा नियन्त्रित नै हुन्छन्। यो कठिनाइ हो, होइन र? केवल इमानदारीपूर्वक बोल्नु र सत्य बोल्नु कुनै ठूलो कुरा होइन, तैपनि परमेश्वरका निम्ति आफूलाई समर्पित गर्ने, आफूलाई अर्पित गर्ने र आफ्नो जीवन व्यतित गर्ने कसम खाएका यति धेरै वीरहरू, यति धेरै मानिसहरू, अनि परमेश्वरलाई आडरम्बरी कुराहरू भन्ने यति धेरै मानिसहरूलाई यो गर्न असम्भव लाग्छ। मैले यसो भन्नुको अर्थ के हो? जब परमेश्वर मानिसहरूले आफ्नो कर्तव्य राम्रोसित निर्वाह गरून् भन्ने माग गर्नुहुन्छ, तब उहाँले तिनीहरूलाई निश्चित सङ्ख्यामा कार्यहरू सम्पन्न गर्नू वा कुनै ठूलो काम पूरा गर्नू भनेर भन्नुहुन्न, न त उहाँले तिनीहरूलाई कुनै ठूला कामकुरा पूरा गर्नु भनेर नै भन्नुहुन्छ। परमेश्वरको चाहना यही हो, मानिसहरूले सक्ने सबै कुरा व्यावहारिक तवरमा गर्न र उहाँका वचनअनुसार जिउन सकून्। परमेश्वर तँ महान् वा आदर्श बनेको वा तैँले कुनै चमत्कार गरेको माग गर्नुहुन्न, न त उहाँले तँमा कुनै सुखद आश्चर्यहरू नै हेर्न चाहनुहुन्छ। उहाँलाई यस्ता कुराहरूको आवश्यकता छैन। परमेश्वरको आवश्यकता के हो भने, तैँले उहाँका वचनअनुसार दृढ भई अभ्यास गर्नुपर्छ। जब तैँले परमेश्वरका वचनहरू सुन्छस्, तब आफूले बुझेको कुरा गर्, आफूले बुझेको कुरा अघि बढा, आफूले सुनेको कुरा राम्ररी याद गर्, त्यसपछि, अभ्यास गर्ने समय आएपछि, परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्। तिनलाई तेरो जीवन, तेरो वास्तविकता, र आफू जिउने कुरा बना। यसरी, परमेश्वर सन्तुष्ट हुनुहुनेछ। तँ सधैँ महानता, कुलीनता र हैसियत खोज्छस्; तँ सधैँ उच्चता खोज्छस्। यस्तो देख्दा परमेश्वरले कस्तो महसुस गर्नुहुन्छ? उहाँ यसलाई घृणा गर्नुहुन्छ र उहाँ आफूलाई तँबाट टाढा राख्नुहुन्छ। तैँले जति धेरै महानता, कुलीनता, र अरूभन्दा उच्च, प्रतिष्ठित, उत्कृष्ट र उल्लेखनीय हुने लक्ष्य पछ्याउँछस्, परमेश्वरले तँलाई त्यति नै धेरै घिनलाग्दो पाउनुहुन्छ। तैँले आत्मचिन्तन गरी पश्चात्ताप गर्दैनस् भने, परमेश्वरले तँलाई घृणा गर्नुहुनेछ र त्याग्नुहुनेछ। परमेश्वरलाई घिनलाग्ने व्यक्ति बन्नदेखि जोगी! परमेश्वरले प्रेम गर्ने व्यक्ति बन्। त्यसोभए, परमेश्वरको प्रेम कसरी प्राप्त गर्न सकिन्छ त? आज्ञाकारी भई सत्यता स्वीकार गरेर, सृष्टि गरिएको प्राणीको स्थानमा उभिएर, दृढ भई परमेश्वरका वचनअनुसार कार्य गरेर, आफ्नो कर्तव्य उचितसित निर्वाह गरेर, इमानदार व्यक्ति बनेर, र मानव स्वरूपमा जिएर प्राप्त गर्न सकिन्छ। यति नै काफी छ, परमेश्वर सन्तुष्ट हुनुहुनेछ। मानिसहरूले महत्त्वाकाङ्क्षा नपाल्ने वा अल्छे सपनाहरूमा नभुल्ने, प्रसिद्धि, लाभ, र हैसियतको पछि नलाग्ने वा भीडभन्दा राम्रो देखिन नखोज्ने कुरा सुनिश्चित गर्नुपर्छ। अझ, तिनीहरूले महान् व्यक्ति वा महामानव, मानिसहरूमाझ श्रेष्ठ बन्ने र अरूलाई आफ्नो भक्ति गर्न लगाउने कोसिस गर्नै हुँदैन। त्यो भ्रष्ट मानवजातिको चाहना हो, र त्यो शैतानको बाटो हो; यस्ता मानिसहरूलाई परमेश्वरले मुक्ति प्रदान गर्नुहुन्न। यदि मानिसहरू पश्चात्ताप नगरी निरन्तर प्रसिद्धि, लाभ, र हैसियतको पछि लाग्छन् भने, तिनीहरूका लागि कुनै उपचार छैन, र एउटै मात्र परिणाम हुन्छ: हटाइन्छ। आज, यदि तिमीहरू तुरुन्तै पश्चात्ताप गर्छौ भने, अझै समय छ; तर जब परमेश्वरले आफ्नो काम पूरा गर्ने दिन आउँछ, र विपत्तिहरू झन् बढ्छन्, तब तैँले उप्रान्त मौका पाउनेछैनस्। जब त्यो समय आउँछ, तब प्रसिद्धि, लाभ र हैसियतको पछि लाग्ने, तर पश्चात्ताप गर्न अस्वीकार गर्नेहरूलाई हटाइनेछ। कस्ता प्रकारका मानिसहरूलाई परमेश्वरको कामले मुक्ति दिन्छ अनि उहाँको मुक्तिको अर्थ के हो भनेर तिमीहरू सबै स्पष्ट हुनैपर्छ। परमेश्वर मानिसहरू उहाँसामु आएको, तिनीहरूले उहाँका वचनहरू सुनेको, सत्यता स्विकारेको, आफ्नो भ्रष्ट स्वभाव त्यागेको, र परमेश्वरले भन्नुभए र आज्ञा गर्नुभएअनुसार अभ्यास गरेको माग गर्नुहुन्छ। यसको अर्थ आफ्नो धारणा, कल्पना, शैतानी दर्शनअनुसार जिउनु वा मानव “खुसी” पछ्याउनु नभई उहाँको वचनअनुसार जिउनु हो। जो व्यक्ति परमेश्वरको वचन सुन्दैन वा सत्यता स्विकार्दैन तर अझै पश्चात्ताप नगरी शैतानको दर्शन र शैतानी स्वभावअनुसार जिउँछ, यस्तो व्यक्तिले परमेश्वरको मुक्ति पाउन सक्दैन। तँ परमेश्वरलाई पछ्याउँछस्, तर अवश्य यो पनि परमेश्वरले तँलाई चुन्नुभएकोले नै हो—तर परमेश्वरले तँलाई चुन्नुको अर्थ के हो त? यो त तँलाई परमेश्वरमा भरोसा गर्ने, साँच्चै नै परमेश्वरलाई पछ्याउने, परमेश्वरका निम्ति सबै कुरा परित्याग गर्ने, अनि परमेश्वरको मार्गलाई पछ्याउन सक्ने; आफ्नो शैतानी स्वभाव फालेको, शैतानलाई पछ्याउन वा त्यसका शक्तिमा जिउन छोडेको व्यक्तिमा परिणत गर्नु हो। यदि तैँले परमेश्वरलाई पछ्याउँछस् र उहाँको घरको आफ्नो कर्तव्य निर्वाह गर्छस्, तैपनि हरेक पक्षमा सत्यता उल्लङ्घन गर्छस् र उहाँको वचनअनुसार अभ्यास वा अनुभव गर्दैनस्, उहाँको विरोधसमेत गर्न सक्छस् भने, के तँ परमेश्वरद्वारा स्विकारिन सक्छस्? पक्कै पनि सक्दैनस्। मैले यसो भन्नुको अर्थ के हो? तँलाई आफ्नो कर्तव्य पालन गर्नु वास्तवमा कठिन हुँदैन, न त बफादारीपूर्वक, अनि स्वीकारयोग्य स्तरमा त्यसलाई पूरा गर्नु नै कठिन हुन्छ। तैँले आफ्नो जीवन बलिदान गर्नु वा कुनै विशिष्ट वा कठिन कुरा गर्नु पर्दैन, तैँले आफ्ना विचारहरू नथपी वा आफ्नै कार्यविधि सञ्चालन नगरी, तर सत्यता पछ्याउने मार्गमा हिँडेर परमेश्वरका वचनहरू र निर्देशनहरू इमानदारीसाथ र दृढतापूर्वक पालन मात्र गर्नुपर्छ। यदि मानिसहरूले यसो गर्न सक्छन् भने तिनीहरूमा आधारभूत रूपले मानव स्वरूप हुनेछ। जब तिनीहरूसित परमेश्वरप्रति साँचो समर्पण हुन्छ अनि तिनीहरू इमानदार व्यक्ति बनेका हुन्छन्, तब तिनीहरूमा साँचो मानव स्वरूप हुनेछ।
जून २५, २०१९
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।