शब्द र धर्मसिद्धान्तहरू बोल्नु अनि सत्यता वास्तविकताबीचका भिन्नताहरू (अंश ६९)
“यहोवाको डर मान्नु नै बुद्धिमताको सुरुआत हो,” भन्ने शब्दहरूका सन्दर्भमा भन्नुपर्दा, तिमीहरू सामान्यतया ती शब्दहरू कसरी अभ्यास र अनुभव गर्छौ? (परमेश्वरका सबै वचन र कार्यप्रति समर्पित भएर।) यो व्यापक कथन, एक धर्मसिद्धान्त हो। यो सही लाग्छ, तर यो अलि खोक्रो छ। यदि तैँले आफ्नो धारणाविपरीतको कुरा सामना गर्नु परेमा, र आफू समर्पित हुन नसकेमा के गर्नेछस्? यो यथार्थपरक चुनौती हो। यस्तो हुँदा, यी शब्दहरूले कसरी परिणाम ल्याउन र तँमा प्रभाव पार्न, अनि तेरो व्यवहारलाई रोक्न र तेरा कार्यका सिद्धान्त र दिशा परिवर्तन गर्न सक्छन्? उदाहरणका लागि, मानिलिऊँ तेरो पेट दुख्छ र कसैले “पेनकिलरले दुखाइ हटाउँछ” भनेर भन्छ। तँलाई यो भनाइ सही हो भन्ने थाहा छ, तर तँ यसलाई कसरी स्विकार्छस् र अभ्यास गर्छस्? के तँ पेट दुख्दा पेनकिलर खान्छस्? तँ त्यो कति बेला खान्छस्? खाना खानुअघि कि पछि? दिनमा कति पटक खान्छस्? दुखाइ हटाउन एक पटकमा कति वटा खान्छस्, र निको हुन तैँले कति दिन त्यो खानुपर्छ? के तँलाई यी वृत्तान्त थाहा छ? तँ यी कुरा “पेनकिलरले दुखाइ हटाउँछ” भन्ने भनाइ वास्तविक जीवनमा लागू गरेर मात्र बुझ्न सक्छस्। यदि तैँले यो लागू गरिनस् भने, तैँले यो भनाइलाई जसरी स्विकारिस् वा अनुमोदन गरिस् भने पनि, यो तेरा लागि धर्मसिद्धान्तको एउटा अभिव्यक्ति मात्र हुनेछ। तर यदि तैँले यो भनाइ आफ्नो वास्तविक जीवनमा लागू गरिस्, आफ्नो बिमार निको पारिस्, र यसबाट लाभ उठाइस् भने, उप्रान्त यो केवल खोक्रो भनाइ नभई व्यावहारिक भनाइ हुनेछ। जब अरू कसैले यस्तै परिस्थिति सामना गर्छ, तब तैँले उनीहरूलाई मद्दत गर्न आफ्नो व्यावहारिक अनुभव प्रयोग गर्न सक्नेछस्। हामीले भर्खरै “यहोवाको डर मान्नु नै बुद्धिमताको सुरुआत हो,” भन्ने भनाइ उल्लेख गऱ्यौँ। “यहोवाको डर” भन्ने वाक्यांश मानिसहरूले अभ्यास गर्नैपर्ने कुरा हो, र “बुद्धिमताको सुरुवात” चाहिँ उनीहरूले यहोवाको भय अभ्यास गरेर पाउने परिणाम हो। अर्थात्, जब तैँले “यहोवाको डर” भन्ने वाक्यांश अभ्यास गरेको र आफ्नो वास्तविक जीवनमा लागू गरेको हुन्छस्, अनि यो वाक्यांशले तँलाई मद्दत गरेको हुन्छ र तैँले यसबाट लाभ उठाएको हुन्छस्, तब मात्र तैँले बुद्धिको परिणाम हासिल गर्न सक्नेछस्। पहिला, “यहोवाको डर” भन्ने वाक्यांश कसरी अभ्यास गर्ने भन्नेबारे कुरा गरौँ। यस वाक्यांशले मानिसहरूले आफ्नो वास्तविक जीवनमा सामना गर्ने सबै समस्यालाई समेट्छ, जस्तै उनीहरूको सोच, विचार, स्थिति, उनीहरूलाई आइपर्ने कठिनाइ, उनीहरूका धारणा र कल्पना, परमेश्वरबारे उनीहरूको गलतफहमी, उहाँबारे उनीहरूको सन्देह र अनुमान, साथै मानिसहरूले आफ्नो कर्तव्य निभाउने क्रममा प्रायः देखाउने झाराटारुवापन, चालबाजी, आत्म-धर्मीपन, आफूखुसी मनमानी गर्ने कुरा इत्यादि। त्यसैले, तँ कसरी “परमेश्वरको डर” भन्ने वाक्यांशलाई आफ्नो कार्य र व्यवहारका सिद्धान्तहरू परिवर्तन गर्न सक्ने गरी लागू गर्न सक्छस्? यदि तैँले यस वाक्यांशका सबै कुरा भोगिस्, अनुभव गरिस् र जानिस् भने, यो तेरा लागि सत्यता हुनेछ। यदि तैँले यी कुराहरू कहिल्यै भोगेको छैनस्, अनि यो भयबारे जान्दछस् र सुनेको मात्र छस् भने, त्यो तेरा लागि सधैँ एउटा धर्मसिद्धान्त हुनेछ। यो भय किताबमा छापिएको कथन, केवल शब्द हुनेछ, सत्यता हुनेछैन। किन म त्यसो भन्छु? किनभने यो भनाइले तेरो कुनै पनि अभिप्राय, विचार, वा तेरो सोच र दृष्टिकोण परिवर्तन गरेको छैन। त्यसले तैँले संसारसँग व्यवहार गर्न र आफूलाई व्यवहारमा उतार्न प्रयोग गर्ने सिद्धान्तहरू कहिल्यै परिवर्तन गरेको छैन। त्यसले तैँले कामकुरा गर्दा वा आफ्नो कर्तव्य निभाउँदा तँमा हुने मनोवृत्ति परिवर्तन गरेको हुँदैन, अनि त्यसले तेरो स्थितिलाई उल्ट्याएको छैन। तैँले त्यसबाट कुनै हालतमा लाभ उठाएको छैनस्। तिमीहरूलाई यी सबै प्रसिद्ध भनाइहरू थाहा छ र तिमीहरू ती भन्न सक्छौ, तर ती सतही रूपमा मात्र बुझ्छौ, र तिमीहरूसँग तिनको व्यावहारिक अनुभव छैन। यो कसरी पाखण्डी फरिसीहरूभन्दा फरक छ? धार्मिक संसारका ती पास्टर र एल्डरहरू बाइबलका प्रसिद्ध अध्याय र खण्डहरू कण्ठाग्र बताउन र व्याख्या गर्नमा ध्यान दिन्छन्। जसले सबैभन्दा बढी कण्ठाग्र बताउँछ, उही सबैभन्दा आत्मिक, सबैद्वारा प्रशंसित अनि सबैभन्दा प्रतिष्ठित र सबैभन्दा उच्च हैसियतको ठहरिन्छ। वास्तवमा तिनीहरूले आफ्नो वास्तविक जीवनमा संसार, मानवजाति र सबै प्रकारका मानिसलाई सांसारिक मानिसहरूले जस्तै गरी हेर्छन्, अनि तिनीहरूको दृष्टिकोण पटक्कै परिवर्तन भएको हुँदैन। यसले यो कुरा प्रमाणित गर्छ: तिनीहरूले कण्ठाग्र बताउने बाइबलका ती भागहरू कुनै पनि हालतमा तिनीहरूको जीवन बनेका हुँदैनन्, ती त तिनीहरूका लागि सिद्धान्त र धार्मिक धर्मसिद्धान्त मात्र हुन्छन्, र तिनले तिनीहरूको जीवन परिवर्तन गरेका हुँदैनन्। यदि तिमीहरू पनि धर्मका मानिसहरू हिँड्ने मार्गमै हिँड्छौ भने, तिमीहरू इसाई धर्ममा विश्वास गर्छौ तर परमेश्वरमा विश्वास गर्दैनौ, अनि तिमीहरूले परमेश्वरको कार्य अनुभव गरिरहेका छैनौ। केही समयदेखि मात्र परमेश्वरमा विश्वास गरेका कतिपय मानिस धेरै आत्मिक धर्मसिद्धान्तबारे बताउन सक्ने लामो समयदेखिका विश्वासीहरूको प्रशंसा गर्छन्। तिनीहरूले लामो समयदेखिका विश्वासीहरू दुई-तीन घण्टासम्म कुनै समस्याविना बसेर बोलेको देख्दा, उनीहरूबाट कुरा सिक्न थाल्छन्। तिनीहरूले ती आत्मिक शब्दावली र अभिव्यक्तिहरू सिक्छन्, अनि ती लामो समयदेखिका विश्वासीहरूको बोल्ने र व्यवहार गर्ने तरिका सिक्छन्, त्यसपछि तिनीहरू परमेश्वरका कतिपय आदर्श वचनहरू कण्ठस्थ गर्छन्। अन्त्यमा आफूसँग केही कुरा छ भन्ने नलागेसम्म तिनीहरू त्यसो गरिरहन्छन्। भेलाको समयमा, तिनीहरू उच्च सुनिने विचारहरूबारे झिजोलाग्दो गरी लम्बेतान बोलेको बोलेकै गर्छन्, तर यदि तैँले ध्यान दिएर सुनिस् भने, त्यो सब एकदमै बकवास, खोक्रो कुरा, अनि वचन र धर्मसिद्धान्त मात्र हुन्छ। स्पष्ट छ, तिनीहरू आफैलाई र अरूलाई धोका दिने धार्मिक ठग हुन्। कत्ति दुःखलाग्दो कुरा! त्यो मार्गमा नहिँड्। तिमीहरू यो मार्गमा हिँडे लगत्तै पूरै नष्ट हुनेछौ, र त्यसपछि चाहेर पनि फर्किन गाह्रो हुनेछ! यदि तँ ती शब्द र धर्मसिद्धान्तलाई खजाना र जीवन ठान्छस्, अनि जहाँ जाँदा पनि तिनको तडकभडक देखाउँछस् भने, तँमा तेरो भ्रष्ट, शैतानी स्वभावबाहेक केही आत्मिक सिद्धान्त र केही पाखण्डी कुरा हुन्छन्। यो झूट मात्र होइन, पूर्ण रूपमा घृणित कुरा हो। यो निर्लज्ज कुरा हो, अनि यसलाई हेर्दै वाकवाकी र भयावह लाग्छ। अहिलेचाहिँ हामी प्रभु येशूका अनुयायीहरूले विश्वास गर्ने सम्प्रदायहरूलाई इसाई धर्मका रूपमा उल्लेख गर्छौँ, तिनीहरूलाई एक धर्म र एक धार्मिक समूहका रूपमा वर्गीकरण गर्छौँ। यसो किन गर्छौँ भने, ती मानिसहरू परमेश्वरमा विश्वास त गर्छन्, तर सत्यता स्विकार्दैनन्, अनि परमेश्वरका वचन अभ्यास वा अनुभव गर्दैनन्, बरु आफ्नो जीवन स्वभाव पटक्कै नबदली धार्मिक अनुष्ठान र औपचारिकता मात्र पूरा गर्छन्। तिनीहरू सत्यता पछ्याउने मानिस होइनन्, र तिनीहरू परमेश्वरबाट आउने सत्यता, बाटो र जीवन पछ्याउँदैनन्, बरु बाइबलीय ज्ञान पछ्याउँछन्, फरिसीहरूको अनुकरण गर्छन् र परमेश्वरप्रति शत्रुभाव राख्छन्। परिणामस्वरूप, मानिसहरूको यो समूहलाई इसाई धर्मका रूपमा वर्गीकरण गरिन्छ। प्रभुमा विश्वास गर्ने यी सबै मानिस धर्मका अनुयायी हुन्। तिनीहरू परमेश्वरको मण्डलीसँग सम्बन्धित छैनन्, अनि तिनीहरू उहाँका भेडा होइनन्। “इसाई धर्म” शब्द कहाँबाट आएको हो? यो कुन तथ्यबाट आएको हो भने, यसका अनुयायीहरू ख्रीष्टमा विश्वास गरेको, आफू आत्मिक भएको, र आफूहरूले परमेश्वरलाई पछ्याइरहेको ढोँग गर्छन्, जबकि तिनीहरू ख्रीष्टद्वारा व्यक्त सबै सत्यता इन्कार गर्छन्, पवित्र आत्माको कामलाई इन्कार गर्छन्, र परमेश्वरबाट आउने सबै सकारात्मक कुरालाई इन्कार गर्छन्। तिनीहरू आफूलाई परमेश्वरले विगतमा भनेका कुराहरूले सुसज्जित पार्छन्, ढाक्छन् र आफ्नो भेष बदल्छन्। तिनीहरू यी कुरालाई पुँजीका रूपमा प्रयोग गर्छन्, र हरबखत ती लागू गर्छन् ताकि तिनीहरूले छल गरेर तिनलाई कमाइखाने भाँडो बनाउन सकून्। तिनीहरू परमेश्वरका विश्वासीको खोल ओढेर हरबखत मानिसहरूलाई धोका दिन्छन्, तिनीहरू आफूले कत्तिको राम्ररी बाइबल अर्थ्याउन सक्छु भन्नेबारे र आफ्नो बाइबलीय ज्ञानबारे अरूसँग होड गर्छन्, यी कुरालाई महिमा र पुँजीजस्तै ठान्छन्। तिनीहरू चालबाजी गरेर परमेश्वरका आशिष् र इनाम पाउनसमेत चाहन्छन्। यो देहधारी परमेश्वरलाई इन्कार र निन्दा गर्ने ख्रीष्टविरोधीहरूको मार्ग हो, अनि यो समूहलाई तिनीहरू हिँड्ने मार्गकै कारण अन्त्यमा इसाई धर्म र एक धर्मका रूपमा वर्गीकरण गरिन्छ। अब “इसाई धर्म” शब्दलाई हेरौँ—यो राम्रो शीर्षक हो कि नराम्रो? यो राम्रो शीर्षक होइन भनेर हामी एकदमै पक्कासित भन्न सक्छौँ। यो त लाजको चिन्ह हो र यो गर्व वा महिमाको कुरा होइन।
तैँले जीवन प्रवेश पछ्याउँदा बुझ्नुपर्ने मुख्य कुरा के हो? तैँले मानिसहरूका लागि परमेश्वरका मापदण्डहरू के-के हुन् र मानिसले उहाँको कार्य कसरी अनुभव गर्नुपर्छ भनेर परमेश्वरद्वारा व्यक्त सबै वचनमा—ती जुनै विषयका भए पनि—खोज्नुपर्छ। तैँले आफ्ना आचरण र परिस्थिति सम्हाल्ने तौरतरिका, आफ्ना विचार र दृष्टिकोण अनि जीवनमा परिस्थिति आइपर्दा तँमा हुने विभिन्न अवस्था र तैँले प्रकट गर्ने कुरालाई परमेश्वरको खुलासा र न्यायका वचनसँग तुलना गर्नुपर्छ। अझ महत्त्वपूर्ण कुरा, तैँले आत्मचिन्तन गर्नुपर्छ र आफूलाई बुझ्नुपर्छ अनि अभ्यासका सिद्धान्तहरू पत्ता लगाउन सत्यता खोज्नुपर्छ। तैँले यसद्वारा अभ्यासको मार्ग खोज्नुपर्छ, आफ्नो कर्तव्य निर्वाह गर्दा परमेश्वरका अभिप्राय कसरी पूरा गर्ने भन्ने सिक्नुपर्छ, उहाँका मापदण्डअनुसार आफूलाई व्यवहारमा पूर्ण रूपले ढाल्नुपर्छ, अनि इमानदार र सत्यता अभ्यास गर्ने व्यक्ति बन्नुपर्छ। वचन र धर्मसिद्धान्त र धार्मिक मतहरूबारे बोलेर मानिसहरूलाई छल गर्नेजस्ता काम नगर्। आत्मिक व्यक्तिको खोल नओढ्, र पाखण्डी नबन्। तैँले सत्यता स्विकार्न र अभ्यास गर्न, अनि आफ्नो स्थिति दाँज्न र जाँच्न अनि त्यसपछि तैँले हरेक प्रकारको परिस्थिति सम्हाल्न चलाउने आफ्नो गलत दृष्टिकोण र मनोवृत्तिहरू परिवर्तन गर्न परमेश्वरका वचन प्रयोग गर्न ध्यान लगाउनैपर्छ। आखिरमा, तँसँग हरेक परिस्थितिमा परमेश्वरको भय मान्ने हृदय हुनैपर्छ, र तैँले अबउप्रान्त सोचविचार नगरी काम गर्ने, आफ्नै विचारहरू पछ्याउने, आफ्नो इच्छाअनुसार कामकुरा गर्ने, वा भ्रष्ट स्वभावभित्र जिउने गर्नेछैनस्। बरु, तेरा सबै काम र बोली परमेश्वरका वचन र सत्यतामा आधारित हुनैपर्छ। यसरी, तैँले क्रमिक रूपमा आफूमा परमेश्वरको भय मान्ने हृदयको विकास गर्नेछस्। व्यक्तिले सत्यता पछ्याउँदा परमेश्वरको भय मान्ने हृदय पाउँछ; यो बन्देजबाट आउँदैन। बन्देजले त एक प्रकारको व्यवहार मात्र पैदा गर्छ; यो एक प्रकारको सतही तहको सीमितता हो। परमेश्वरको भय मान्ने साँचो हृदय परमेश्वरका वचनको न्याय र सजाय निरन्तर रूपमा स्विकारेर अनि उहाँको कार्य अनुभव गर्दा काटछाँट स्विकारेर प्राप्त हुन्छ। मानिसहरूले आफ्नो भ्रष्टताको साँचो रूप देख्दा, सत्यताको मूल्य थाहा पाउनेछन्, र तिनीहरू सत्यतातिर लागिपर्न सक्नेछन्। तिनीहरूका भ्रष्ट स्वभावहरू झन् झन् कम प्रकट हुनेछन्, र तिनीहरू परमेश्वरसामु सामान्य तरिकाले जिउन, हरेक दिन उहाँका वचन खान र पिउन, अनि सृष्टि गरिएको प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्नेछन्। परमेश्वरको भय मान्ने, परमेश्वरप्रति समर्पित हृदय यही प्रक्रियाबाट पैदा हुन्छ। आफ्ना कर्तव्य निर्वाह गर्दा समस्याहरू सुल्झाउन निरन्तर सत्यता खोज्नेहरू सबै जना परमेश्वरको भय मान्ने हृदय भएकाहरू हुन्। ताडना पाएका अनि मनग्गे काटछाँट अनुभव गरेकाहरू सबैलाई परमेश्वरको भय मान्नु के हो भनेर थाहा छ। तिनीहरू आफ्नो भ्रष्टता प्रकट हुँदा, हृदयमा घबराहट र भय मात्र नभएर परमेश्वरको क्रोध र प्रताप पनि महसुस गर्न सक्छन्। यो अवस्थामा, तिनीहरूको हृदयमा स्वाभाविक रूपमा डर पैदा हुन्छ। के अब तिमीहरू सबैसित यी कुराहरूबारे कुनै अनुभवात्मक बुझाइ छ त? (थोरै छ।) यो क्रमिक रूपले गहिरिँदै जानुपर्छ। थोरै अनुभवात्मक बुझाइमा सन्तुष्ट नहोऊ। अहिले तिमीहरू उपयुक्त वातावरणमा छौ, तिमीहरूले थुप्रै प्रवचन सुनिरहेका छौ, थुप्रै भेलामा गइरहेका छौ, परमेश्वरका थुप्रै वचन पढिरहेका छौ, र तिमीहरूसित आफ्नो कर्तव्य र अन्य सारा किसिमका सर्तहरू पूरा गर्ने वातावरण छ। तँ आफूमा परमेश्वरको भय छ, त्यसैले आफ्नो विश्वास बढेको छ भन्ने सोच्छस्, तर तँलाई फरक वातावरणमा राखिएको भए, के तँ अहिलेको अवस्थामा भइरहन सक्नेथिस्? के तैँले अहिले बुझेको सत्यताले कामकुरा वा जीवन र मूल्यप्रतिको तेरो दृष्टिकोण बदल्न सक्छ? यदि तैँले बुझ्ने सत्यताले यी कुराहरू पूरा गर्न सक्दैन भने सत्यता साँचो रूपमा बुझेको छैनस्। जब परमेश्वरका वचनहरू तैँले बुझ्ने सत्यता र तेरो जीवन बन्छन्, तब तैँले जीवन प्रवेश प्राप्त गर्नेछस्, र तँ सत्यता वास्तविकतामा प्रवेश गरेको हुनेछस्। यसको अर्थ सत्यता अभ्यास तैँले आफ्नै पहलमा गर्ने कुरा हुनेछ, तँलाई यस्तो कुरा जन्मजातै गर्नुपर्छ भन्ने महसुस हुनेछ। सत्यताअनुसार काम गर्नु तेरा लागि स्वाभाविक हुनेछ; यो प्राकृतिक प्रकटीकरणझैँ नियमित हुनेछ। यसको अर्थ, परमेश्वरको वचन तेरो जीवन भएको हुनेछ। यदि तँ कुनै कुरा सामना गर्दा सधैँ गलत मार्ग लिन्छस्, अनि तैँले सधैँ आत्मचिन्तन गर्नुपर्छ र तँलाई सही मार्गमा हिँड्न कसैको मद्दत र साथ चाहिन्छ भने, यो त मानकको एक छेउ पनि पुग्दैन, र तँसित रत्तिभर पनि कद हुँदैन। यदि तँलाई मद्दत र साथ दिने कोही छैन भने तेरो वरपरको वातावरण आमूल रूपमा परिवर्तन हुनासाथ तँ कतिसम्म गिर्नेछस् त्यो भन्न गाह्रो छ। तैँले एकै रातमा परमेश्वरलाई अस्वीकार गर्लास् र धोका देलास्, रातारात उहाँलाई त्यागेर शैतानको अङ्गालोमा जालास्। अर्को शब्दमा भन्नुपर्दा, तैँले सत्यता प्राप्त गर्नुअघि र सत्यता तेरो जीवन बन्नुअघि तँ अझै खतरामै हुन्छस्! अहिले थोरै विश्वास राख्नु, आफूलाई समर्पित गर्नु, र अलिकति सङ्कल्प वा सकारात्मक आकाङ्क्षा हुनुले तँसित जीवन छ भन्ने प्रमाणित गर्दैन। यी कुराहरू त केवल सतही घटना हुन्; यो त आफ्नो इच्छाबाट उब्जेको सोच मात्र हो। परमेश्वरसँगको तेरो सम्बन्ध सुध्रिनुअघि तैँले आफूलाई सत्यताले सुसज्जित पार्नैपर्छ। तैँले परमेश्वरको काम, केही परीक्षा र शोधन अनुभव गर्न सक्नैपर्छ। तँमा परमेश्वरप्रति साँचो विश्वास पलाउँदा, तैँले उहाँलाई साँचो प्रार्थना गर्नेछस् र उहाँसँग सङ्गति गर्नेछस्। तैँले परमेश्वरलाई आफ्नो मनको कुरा भन्न सक्नेछस् र आफूलाई कुनै कुरा आइपर्दा, केवल उहाँमा भर पर्न सक्छु र अरू कसैमा पर्न सक्दिनँ भन्ने तँलाई महसुस हुनेछ। त्यतिबेला परमेश्वरसँगको तेरो सम्बन्ध सामान्य हुनेछ। तैँले परमेश्वरमा साँचो विश्वास गरिस् भने, उहाँले तँलाई जहाँ राख्नुभए पनि र तँ वर्षौँसम्म भेलाहरूमा सहभागी हुन नसक्ने भए पनि, परमेश्वरप्रतिको तेरो विश्वास अय्यूबको जस्तै फिटिक्कै बद्लिनेछैन। तँ भेलाहरूमा सहभागी नभए पनि र तँलाई प्रवचन सुनाउने कोही नभए पनि, परमेश्वरको तौरतरिका र वचन तेरो हृदयमा हुनेछन्। तैँले परमेश्वरलाई त्याग्नेछैनस्, अनि तँ उहाँले तँलाई हरेक दिन कसरी डोऱ्याउनुहुनेछ भनेर स्पष्ट हुनेछस्। तैँले आफूमा परमेश्वरका परीक्षाहरू आइपर्दा, उहाँलाई इन्कार गर्नेछैनस्, अनि ती कुरामा उहाँका कामहरूसमेत देख्नेछस्। त्यो बेला, तँ स्वतन्त्र हुन सक्नेछस्। तिमीहरू अझै त्यो हदमा पुगेका छैनौ, तँमा अझै थुप्रै धारणा, कल्पना अनि मिसावट छन्। तेरा काम र कर्तव्य निर्वाहमा अझै केही देखावटी कुरा छन्। तेरा अत्यधिक चाहनाहरू छन्। तँ अझै बहानाबाजी गर्ने चरणमा छस्, तँ अझै आत्मिक व्यक्ति बन्न, आत्मिक सिद्धान्तहरू सुनाउन र आफूलाई अझ धेरै आत्मिक वाक्यांश, शब्दावली र मतहरूले सुसज्जित पार्न प्रयासरत छस्। तँ अझै फरिसी र झूटो आत्मिक व्यक्ति बन्न खोजिरहेको छस्। तँ अझै यस प्रकारको मार्गमा हिँड्न खोजिरहेको छस् र अझै यस्तै गलत मार्गमा छस्। यो त परमेश्वरको साँच्चै भय मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्तिभन्दा एकदमै फरक कुरा हो! त्यसैले तिमीहरूले सत्यता पछ्याउन अनि अझै धेरै न्याय, सजाय, परीक्षा र शोधन अनुभव गर्न सकेजति गर्नैपर्छ। त्यसपछि मात्र यी देखावटी, ढोँग र असामान्य मानसिकताहरू पूर्ण रूपले हटाउन सकिन्छ। जब यी भ्रष्टताहरू धोइन्छन्, तब तेरो र परमेश्वरबीचको सम्बन्ध स्वाभाविक रूपमा सामान्य बन्छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।