शब्द र धर्मसिद्धान्तहरू बोल्नु अनि सत्यता वास्तविकताबीचका भिन्नताहरू (अंश ६८)
के तिमीहरू अब सत्यता प्राप्त गर्नु र सत्यता वास्तविकतामा प्रवेश गर्नु केमा निर्भर हुन्छ भन्ने कुरा बुझ्छौ त? ती कुरा सत्यताको खोजी र सत्यताको अभ्यासमा निर्भर हुन्छन्—मात्रै ती दुई चीजहरूमा, यो त्यति सरल कुरा हो। परमेश्वरद्वारा व्यक्त सत्यता लिखित रूपमा अभिलेख गरिएको भए पनि, सत्यताको वास्तविकता लेखनमा हुँदैन, जुन लिखित शब्दहरूको तुलनामा मानिसले धेरै कम बुझ्न वा बोध गर्न सक्छ। त्यसोभए, सत्यता बुझ्न के गर्नुपर्छ त? सत्यता बुझाइ र प्राप्ति मुख्यतया परमेश्वरका वचनहरूको अभ्यास र अनुभव गराइमार्फत, उहाँको कामको अनुभव गराइमार्फत, र सत्यताको खोजीमार्फत र पवित्र आत्माको अन्तर्दृष्टिमार्फत गरिन्छ। मानिसहरूले सत्यता अभ्यास गरेर र भोगेर सत्यता वास्तविकता प्राप्त गर्छन्; यो अनुभवबाट आउने कुरा हो, मानिसले जिउने कुरा हो। सत्यता कुनै खोक्रो सिद्धान्त होइन, न त सरल, मधुर वाक्यांश नै हो। यो जीवनशक्तिले भरिएको भाषा हो, यो जीवनको शाश्वत नियम हो; यो मानिसलाई जीवनमा, मानिसको सम्पूर्ण जीवनकालभरि साथ दिन सक्ने सबैभन्दा व्यावहारिक र बहुमूल्य चीज हो। सत्यता के हो? सत्यता मानिसको जीवनमा अस्तित्वको आधार हो, आफ्नो आचरण र कामकुराहरू सम्हाल्ने अभ्यासको सिद्धान्त हो। सत्यताले मानिसको जीवन दिशा र उद्देश्य दिन्छ; यसले मानिसलाई साँचो व्यक्तिका रूपमा जिउन र परमेश्वरप्रति समर्पित हुँदै र उहाँको आराधना गर्दै उहाँसामु जिउन सक्ने बनाउँछ। त्यसैले मानिसहरू सत्यताबिना बाँच्न सक्दैनन्। त्यसोभए, तँ अब जिउनका लागि केमा भर पर्छस्? तेरा विचार र दृष्टिकोण के-कस्ता छन्? तैँले कामकुरा गर्नुको दिशा र उद्देश्य के हो? यदि तँसँग सत्यता वास्तविकता छ भने, तेरो जीवनमा सिद्धान्त, दिशा र उद्देश्य हुन्छ। यदि छैन भने, तेरो जीवनमा कुनै सिद्धान्त, दिशा, वा उद्देश्य हुँदैन। तँ निस्सन्देह नै शैतानी दर्शन र परम्परागत संस्कृतिका कुराहरू पालन गर्छस्। गैरविश्वासीहरू यसरी नै जिउँछन्। के तिमीहरू यो मामला स्पष्टसँग बुझ्न सक्छौ? यो समस्या समाधान गर्न, व्यक्तिले सत्यता खोजी र स्वीकार गर्नुपर्छ। के सत्यता प्राप्त गर्न सजिलो छ? (हो सजिलो छ, यदि हामी परमेश्वरमा भर पर्छौँ भने।) परमेश्वरमा भर पर्दा, व्यक्ति आफैमा पनि भर पर्नुपर्छ। तेरो हृदयमा यस्तो आत्मविश्वास, यस्तो इच्छा र यस्तो आवश्यकता हुनुपर्छ, र यसो भन्नुपर्छ, “म भ्रष्ट शैतानी स्वभावहरूबीच जिउन चाहन्न। म तिनको नियन्त्रणमा हुन र छलमा पर्न, र अन्ततः पूर्ण मूर्ख बनाइन, परमेश्वरले मलाई घृणा गर्ने तुल्याउन चाहन्नँ। त्यसरी म परमेश्वरसामु बाँच्न अयोग्य हुनेछु।” तेरो हृदयमा यस्तो भावना हुनैपर्छ। त्यसपछि, तँलाई केही आइपर्दा, यदि तैँले बुझ्न र बोध गर्न सक्ने सत्यताहरूलाई आफ्नो वास्तविक जीवनमा लागू गरिस्, र हरेक मामिलामा व्यवहारमा उतार्न सक्छस् भने, सत्यता तेरो वास्तविकता नबन्ला र? र सत्यता तेरो वास्तविकता बनेपछि, के तैँले अझै पनि आफ्नो जीवन वृद्धि नहोला भनेर चिन्ता गर्नेछस्? कुनै व्यक्तिसँग सत्यता वास्तविकता छ कि छैन भनेर तिमीहरू कसरी निर्धारण गर्न सक्छौ? यो उनीहरूले भन्ने कुराबाट थाहा पाउन सकिन्छ। शब्द र धर्मसिद्धान्त मात्र बोल्ने व्यक्तिसँग सत्यता वास्तविकता हुँदैन, र उसले निश्चित रूपमा सत्यता अभ्यास गर्दैन, त्यसैले उसले जे भन्छ त्यो निरर्थक र अवास्तविक हुन्छ। सत्यता वास्तविकता भएको कसैको वचनले मानिसहरूका समस्याहरू समाधान गर्न सक्छ। तिनीहरूले समस्याको सार स्पष्ट रूपमा देख्न सक्छन्। तँलाई धेरै वर्षदेखि सताउँदै आएको समस्या केवल केही सरल वचनहरूद्वारा समाधान गर्न सकिन्छ; तैँले सत्यता र परमेश्वरका अभिप्राय बुझ्नेछस्, अब काम-कुरा गर्न तँलाई गाह्रो हुनेछैन, तँलाई अब बाध्यता र विवशता महसुस हुनेछैन, र तैँले स्वतन्त्रता र मुक्ति प्राप्त गर्नेछस्। के यस्तो मान्छेले भन्ने कुरा सत्यता वास्तविकता हो? त्यो सत्यता वास्तविकता नै हो। कुनै व्यक्तिले जे भने पनि यदि तँ आफ्नो समस्या बुझ्दैनस् भने, र उसले भनेका कुनै पनि कुराले यसको मूल कारण समाधान गर्दैन भने, उसले भन्ने कुरा शब्द र धर्मसिद्धान्तहरू हुन्। के शब्द र धर्मसिद्धान्तहरूले मानिसहरूका आवश्यकता पूर्ति गर्न र तिनीहरूलाई मद्दत गर्न सक्छन्? शब्द र धर्मसिद्धान्तहरूले मानिसहरूका आवश्यकता पूर्ति गर्न वा तिनीहरूलाई मद्दत गर्न सक्दैनन् र मानिसहरूका वास्तविक कठिनाइहरू सुल्झाउन सक्दैनन्। शब्द र धर्मसिद्धान्तहरू जति धेरै बोलिन्छन्, तिनले श्रोतालाई त्यति नै बढी चिढ्याउँछन्। सत्यता बुझ्ने मानिसहरू फरक तरिकाले बोल्छन्। तिनीहरूले थोरै शब्दहरूद्वारा समस्याको मूल कारण वा रोगको स्रोतलाई औँल्याउन सक्छन्। एउटा वाक्यले पनि मानिसहरूलाई जगाउन र मुख्य समस्याहरू पत्ता लगाउन सक्छ। मानिसहरूका कठिनाइहरू सुल्झाउन र अभ्यासको मार्ग औँल्याउनका लागि सत्यता वास्तविकताहरू भएका शब्दहरूको प्रयोग यही नै हो।
आखिरी दिनहरूमा परमेश्वर देहधारी भएर आउनुभएको छ। मानिसले व्यावहारिक परमेश्वरमा विश्वास गर्ने कुरालाई ध्यानमा राख्दा, उसले सबैभन्दा बढी के प्राप्त गर्नुपर्छ? त्यो भनेको सत्यता, जीवन हो; योबाहेक केही महत्त्वपूर्ण छैन। जब ख्रीष्ट आउनुभयो, उहाँले सत्यता ल्याउनुभयो, जीवन ल्याउनुभयो; उहाँ मानिसहरूलाई जीवन प्रदान गर्न आउनुभयो। त्यसोभए, व्यक्तिले कसरी व्यावहारिक परमेश्वरमा विश्वास गर्न सुरु गर्छ त? सत्यता र जीवन प्राप्त गर्न के गर्नुपर्छ? परमेश्वरले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ। धार्मिकताका भोका र प्यासा सबैले तृप्त हुनेगरी परमेश्वरका वचनहरू खानु र पिउनुपर्छ। परमेश्वरका सबै वचनहरू सत्यता हुन्, र उहाँका वचनहरू समृद्ध र प्रचुर छन्; जताततै बहुमूल्य चीजहरू र सबैतिर खजानाहरू छन्। कनानको सुन्दर भूमिको प्रचुरताको आनन्द लिँदै, सत्यतालाई प्रेम गर्नेहरूका हृदय आनन्दले ढकमक्क फुल्छन्। तिनीहरूले खाने र पिउने परमेश्वरका प्रत्येक वाक्यमा सत्यता र प्रकाश छन्, ती सबै बहुमूल्य छन्। सत्यतालाई प्रेम नगर्ने मानिसहरू शोकले निधार खुम्च्याउँछन्; तिनीहरू भोजमा बस्छन् र पनि अनिकालले ग्रस्त हुन्छन्, यसले तिनीहरूको दयनीयता देखाउँछ। सत्यता खोज्न सक्नेहरूको लाभ बढ्दै जानेछ, र जसले त्यसो गर्न सक्दैनन्, तिनीहरूको अन्त्य हुनेछ। अहिले सबैभन्दा ठूलो चिन्ताको विषय भनेको सबै कुरामा सत्यता खोज्न, सत्यताको बुझाइ प्राप्त गर्न, सत्यता अभ्यास गर्न, र परमेश्वरमा साँच्चिकै समर्पित हुन सक्न सिक्नु हो। परमेश्वरमा विश्वास गर्नु भनेको यही हो। व्यावहारिक परमेश्वरमा विश्वास गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो। सत्यता केका लागि प्रयोग गरिन्छ? के यो मानिसहरूको आत्मिक संसारलाई समृद्ध बनाउन प्रयोग गरिन्छ? के यो मानिसहरूलाई असल शिक्षा दिनका लागि हो? (होइन।) त्यसोभए सत्यताले मानिसको कुन समस्या समाधान गर्छ? सत्यता मानिसको भ्रष्ट स्वभाव र पापी प्रकृति सुल्झाउन, मानिसहरूलाई परमेश्वरसामु बाँच्न र तिनीहरूलाई सामान्य मानवतामा जिउन लगाउनका लागि हो। कतिपयले सत्यता के हो बुझ्दैनन्। उनीहरूलाई सधैँ सत्यता गहन र अमूर्त हुन्छ, र सत्यता रहस्य हो भन्ने लाग्छ। उनीहरू सत्यता भनेको मानिसहरूले अभ्यास गर्ने, लागू गर्ने कुरा हो भन्ने बुझ्दैनन्। कतिपय मानिसहरूले दश-बिस वर्षदेखि परमेश्वरमा विश्वास गरेका हुन्छन्, र पनि वास्तवमा सत्यता के हो भनेर राम्ररी बुझेका हुँदैनन्। के यस प्रकारको व्यक्तिले सत्यता प्राप्त गरेको हुन्छ त? (हुँदैन।) के सत्यता प्राप्त नगरेकाहरू दयनीय छैनन् त? अत्यन्तै दयनीय छन्—त्यो भजनमा गाइएझैँ, तिनीहरू “भोजमा बसिरहेका छन् र पनि अनिकालबाट ग्रस्त छन्।” सत्यता प्राप्त गर्न कठिन छैन, न त सत्यता वास्तविकतामा प्रवेश गर्न नै कठिन छ, तर यदि मानिसहरू सधैँ सत्यताप्रति वितृष्ण हुन्छन् भने, के तिनीहरूले सत्यता प्राप्त गर्न सक्छन् त? सक्दैनन्। त्यसकारण, तँ सधैँ परमेश्वरको अघि आउनुपर्छ, सत्यताप्रति वितृष्ण हुने तेरा भित्री स्थितिहरूलाई जाँच्नुपर्छ, र सत्यताप्रति वितृष्ण हुने के-कस्ता लक्षणहरू तँमा छन्, र काम गर्ने के-कस्ता तरिकाहरू हुनुचाहिँ सत्यताप्रति वितृष्ण भएको अवस्था हो, र तँ के-कस्ता कुराहरूमा सत्यताप्रति वितृष्ण हुने मनोवृत्ति देखाउँछस् भन्ने कुराहरूलाई हेर्नुपर्छ—तैँले यी कुराहरूको बारेमा बारम्बार जाँच्नुपर्छ। मानौँ, कसैले तँलाई “तँ आफ्नो इच्छामा भर परेर मात्रै आफ्नो कर्तव्य पूरा गर्न सक्दैनस्—तैँले आत्मचिन्तन गर्नुपर्छ र आफैलाई चिन्नुपर्छ” भनी हप्काउँछ र तँ रिसाउँदै यस्तो जवाफ दिन्छस्, “मैले मेरो कर्तव्य निभाउने तरिका ठिक छैन, तर तेरो चाहिँ सही छ त? मेरो कर्तव्य निर्वाह गर्ने तरिकामा के गल्ती छ? परमेश्वरले मेरो हृदय बुझ्नुहुन्छ!” यो कस्तो मनोवृत्ति हो? के यो सत्यता स्वीकार गर्ने मनोवृत्ति हो? (होइन।) आफूलाई परिआउँदा व्यक्तिमा पहिले सत्यता स्वीकार गर्ने मनोवृत्ति हुनुपर्छ। यस प्रकारको मनोवृत्ति नहुनु भनेको मोही थाप्ने ढुङ्ग्रो नहुनुजस्तै हो, यसरी तँ सत्यता प्राप्त गर्न नसक्ने बन्नु हो। यदि कुनै व्यक्तिले सत्यता प्राप्त गर्न सक्दैन भने, परमेश्वरमा उसको विश्वास व्यर्थ छ! परमेश्वरमा विश्वास गर्नुको उद्देश्य सत्यता प्राप्त गर्नु हो। यदि कसैले सत्यता प्राप्त गर्न सक्दैन भने, उसको परमेश्वरमाथिको विश्वास असफल भएको छ। सत्यता प्राप्त गर्नु भनेको के हो? यो तब प्राप्त हुन्छ, जब सत्यता तेरो वास्तविकता बन्छ, जब यो तेरो जीवन बन्छ। सत्यता प्राप्त गर्नु भनेको यही हो—परमेश्वरमा विश्वास गर्नुको अर्थ यही हो! परमेश्वरले उहाँका वचनहरू केका लागि भन्नुहुन्छ? परमेश्वरले ती सत्यताहरू केका लागि व्यक्त गर्नुहुन्छ? ताकि मानिसहरूले यसरी सत्यता स्विकारून् कि, त्यसले भ्रष्टतालाई शुद्ध पारोस्; ताकि मानिसहरूले सत्यता यसरी प्राप्त गरून् कि, सत्यता नै उनीहरूको जीवन बनोस्। नत्र परमेश्वरले किन यति धेरै सत्यताहरू व्यक्त गर्नुहुन्थ्यो होला र? बाइबलसँग प्रतिस्पर्धा गर्न? “सत्यताको विश्वविद्यालय” स्थापना गर्न र मानिसहरूको समूहलाई तालिम दिन? दुवैका लागि होइन। बरु त्यो त मानवजातिलाई पूर्ण रूपमा बचाउनका लागि हो, मानवजातिलाई सत्यता बुझाउन र अन्ततः यो प्राप्त गराउनका लागि हो। तिमीहरू अब बुझ्छौ नि, कि कसो? परमेश्वरमा विश्वास गर्नुको सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? (सत्यता प्राप्त गर्नु र सत्यता वास्तविकतामा प्रवेश गर्नु।) यसपश्चात्, यो कुरा तिमीहरू सत्यता वास्तविकतामा कसरी प्रवेश गर्छौ, र तिमीहरू प्रवेश गर्न सक्छौ या सक्दैनौ भन्ने कुरामा निर्भर हुन्छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।