शब्द र धर्मसिद्धान्तहरू बोल्नु अनि सत्यता वास्तविकताबीचका भिन्‍नताहरू (अंश ६७)

सत्यता वास्तविकता के हो? यसले केलाई जनाउँछ? यसले सत्यताको अभ्यासलाई जनाउँछ। जब मानिसहरूले सत्यता बुझ्छन् अनि त्यसलाई अभ्यासमा लागु गर्न सक्छन्, सत्यता तिनीहरूको वास्तविकता अनि जीवन बन्‍नेछ। जब मानिसहरू सत्यताअनुसार जिउँछन्, तिनीहरूसँग सत्यता वास्तविकता हुन्छ। यदि मानिसहरू शब्द र धर्मसिद्धान्तहरू मात्र बोल्छन् तर सत्यतालाई अभ्यासमा लागु गर्न सक्दैनन् भने तिनीहरूसँग सत्यता वास्तविकता हुँदैन। तिनीहरूले शब्द र धर्मसिद्धान्तहरू बोल्दा सत्यता बुझेजस्तो देखिन सक्छ, तर तिनीहरू त्यो अभ्यास गर्नै सक्दैनन्, जसले तिनीहरूसँग सत्यता वास्तविकता नभएको पुष्टि गर्छ। त्यसोभए, मानिसहरू सत्यता वास्तविकतामा कसरी प्रवेश गर्नुपर्छ? तिनीहरूले परमेश्‍वरका वचनहरू आफ्नो वास्तविक जीवनमा लागु गर्नैपर्छ, अनि तिनीहरूले परमेश्‍वरका वचनहरू अनुभव र अभ्यास गर्ने प्रक्रियाबाट सत्यताको ज्ञान—अवधाराणात्मक नभई साँचो अनुभव र वास्तविक ज्ञान—प्राप्त गर्नेछन् अनि सिद्धान्तहरूअनुसार कार्य गर्न सक्नेछन्। यसको अर्थ तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गरेका छन्। त्यसोभए, तिमीहरूले कुन-कुन सत्यता अनुभव गरेका र तिनको वास्तविक ज्ञान पाएका छौ? के तिमीहरूलाई सत्यता आफ्नो जीवन बनेको अनुभूति भएको छ? परमेश्‍वरका वचनहरूको एक खण्ड लिँदा, तिनले सत्यताको जुनसुकै पक्षलाई सम्बोधन गरे पनि, तिमीहरूले आफूलाई तीसँग दाँज्न सक्छौ अनि ती तिमीहरूको अवस्थासँग ठ्याक्कै मिल्छ, अनि तिमीहरू एकदमै उत्प्रेरित महसुस गर्छौ, तिमीहरूलाई परमेश्‍वरका वचनहरूले आफ्नो हृदयको गहिराइमा छोएजस्तै लाग्छ, तिमीहरूलाई उहाँका वचनहरू पूर्णतः सही लाग्छ, अनि तिनलाई पूर्ण रूपमा स्विकार्छौ, र तिमीहरूले आफ्नै अवस्थाबारे ज्ञान पाउने मात्र नभई उहाँका अभिप्रायअनुरूप कसरी अभ्यास गर्ने भनी पनि जान्दछौ। परमेश्‍वरका वचनहरू यसरी खाएर-पिएर तिमीहरूले लाभहरू पाउँछौ, तिमीहरूले अन्तर्दृष्टि र ज्योति पाउँछौ, तिमीहरूले भरणपोषण पाउँछौ, अनि तिमीहरूको स्थिति उल्टिन्छ। तिमीहरू परमेश्‍वरका वचनहरू महान् छन् भनी सोच्छौ, एकदम खुसी र सन्तुष्ट हुन्छौ, परमेश्‍वरका वचनहरूको ज्ञान पाएको, परमेश्‍वरका वचनहरूको यो खण्डको अर्थ बुझेको, अनि तिमीहरूले ती अनुभव गर्न र अभ्यासमा लागु गर्न जानेको महसुस गर्छौ। के तिमीहरूलाई प्रायः यस्तो महसुस हुन्छ? (हुन्छ।) त्यसोभए, यस्तो अनुभूति भएपछि, के तिमीहरूले परमेश्‍वरका वचनहरूको यस खण्डबाट सत्यता प्राप्त गरेको महसुस गऱ्यौ? (अहँ, गरेनौँ।) तिमीहरूले सो महसुस नगरेका हुनाले, यसको अर्थ यो अनुभूति अवधाराणात्मक प्रतिक्रिया, हृदयको क्षणिक उत्तेजना मात्र थियो। केही इनाम अनि थोरै प्रवेश पाउँदैमा सत्यता बुझेको वा सत्यता वास्तविकतामा प्रवेश गरेको हुँदैन। यो केवल प्रारम्भिक अनुभव, सत्यताको शाब्दिक अर्थको बुझाइ मात्र हो। सत्यता बुझ्नेदेखि सत्यता वास्तविकतामा प्रवेश गर्ने अवस्थासम्म पुग्नु एक जटिल प्रक्रिया हो, जसलाई एकदम धेरै समय लाग्छ। शब्द र धर्मसिद्धान्तहरू बुझ्नेदेखि साँच्चै सत्यता बुझ्ने अवस्थासम्म पुग्ने क्रममा, नतिजा हासिल गर्न एक, दुई वा अझ त्योभन्दा बढी अनुभवहरू पनि पर्याप्त हुँदैन। तिमीहरूले एउटा सिङ्गो अनुभवबाट अलिकति इनाम पाउन सक्छौ, तर साँचो इनाम पाउन अनि सत्यता बुझ्ने नतिजा हासिल गर्न धेरै अनुभवहरू चाहिन्छ। यो कुनै समस्याबारे चिन्तन गरेजस्तै हो; एक पटक चिन्तन गर्दा त्यसले ज्योतिको एक किरण लिएर आउँछ, तर धेरै पटक चिन्तन गर्दा अझ ठूला इनामहरू पाउन सकिन्छ, त्यसपछि तिमीहरूले यस मामिलालाई स्पष्टसँग देख्न सक्नेछौ। यदि तिमीहरूले त्यही समस्याबारे चिन्तन गरेर केही वर्ष बितायौ भने त्यसलाई पूर्ण रूपमा बुझ्नेछौ। त्यसैले, तिमीहरू परमेश्‍वरका वचनहरूको ज्ञान पाउन र सत्यता बुझ्न चाहन्छौ भने, यो केही अनुभवहरू पाउनुजस्तो सरलचाहिँ हुँदैन। के तिमीहरू आफै पनि यस्ता खालका अनुभवहरूबाट गुज्रेका छौ? सायद सबैजना केही पटक यस्ता अनुभवहरूबाट गुज्रेका छौ होला। मानिसहरूले परमेश्‍वरका वचनहरू अनुभव गर्न सुरु गर्दा ज्योतिको एक किरण देखिन्छ, तर तिनीहरूको ज्ञान अझै पनि सतही हुन्छ। यो धर्मसिद्धान्त बुझेजस्तै हो, तर के मात्र हो भने तिनीहरूको ज्ञान अलि बढी व्यावहारिक लाग्छ, अनि यसबारे एक दुई वाक्यमै स्पष्टसँग बताउन सकिन्‍न। तिनीहरूको सङ्गतिले अरूलाई तिनीहरूको ज्ञान शब्द र धर्मसिद्धान्तहरूभन्दा अलि बढी व्यावहारिक छ भन्‍ने महसुस गराउँछ। यदि तिनीहरूका अनुभवहरू गहन हुँदै गए अनि तिनीहरूले केही वृत्तान्तबारे बताउन सके भने तिनीहरूको ज्ञान अझै बढी व्यावहारिक लाग्नेछ। यदि त्यसपछि पनि मानिसहरूले केही समयसम्म अनुभवहरू गरिरहे अनि परमेश्‍वरका वचनहरूको साँचो ज्ञानका साथ बोल्न सके भने तिनीहरूको ज्ञान अवधारणात्मकबाट तर्कसङ्गतमा उक्लिनेछ। यो सत्यताको साँचो बुझाइ हो। मानिसहरूले परमेश्‍वरका वचनहरू अझै बढी अनुभव गरेर तिनलाई अभ्यासमा लागु गरेपछि सत्यताका सिद्धान्त बुझ्न अनि सत्यता कसरी अभ्यास गर्ने भनी जान्‍न सक्नेछन्। सत्यता वास्तविकतामा प्रवेश गर्नु भनेको यही हो। यसबेला, तिनीहरूले अनुभवात्मक गवाही दिँदा सुनिरहेकाहरूलाई त्यो व्यावहारिक लाग्नेछ अनि तिनीहरूले त्यसको असाध्यै प्रशंसा गर्नेछन्। जब कोही यस स्तरमा पुग्छ, परमेश्‍वरका वचनहरू उसको जीवन वास्तविकता बन्‍नेछ, अनि यस्तो खालको मानिसले मात्र सत्यता प्राप्त गरेको भन्‍न सकिन्छ। यो परमेश्‍वरका वचनहरू अनुभव गर्ने अनि सत्यता प्राप्त गर्ने सरलीकृत प्रक्रिया हो, जुन कमसेकम केही वर्ष वा १० वर्षभन्दा पनि बढी समयको प्रयासविना हासिल गर्न सकिँदैन। जब कुनै व्यक्तिले परमेश्‍वरका वचनहरू अनुभव र अभ्यास गर्न थाल्छ, उसले यो निकै सरल हुनेछ भन्‍ने कल्पना गर्छ, तर जब उसलाई केही आइपर्छ, उसलाई त्यसको सामना कसरी गर्ने वा त्यसलाई कसरी सम्हाल्ने भन्‍ने थाहा हुँदैन, अनि हरप्रकारका कठिनाइहरू उत्पन्‍न हुन थाल्छन्। उसका धारणा र कल्पनाहरूले बाधाहरू पैदा गर्नेछ, उसको भ्रष्ट स्वभावले अवरोधहरू सृजना गर्नेछ, र उसले ठक्कर खाँदा र असफलताहरूको सामना गर्दा अनुभव कसरी गर्ने भन्‍ने नै बिर्सनेछ। भ्रष्ट स्वभाव भएका मानिसहरू विशेष गरी नाजुक हुन्छन् अनि सजिलै नकारात्मक बन्छन्, अनि जब तिनीहरूलाई आक्रमण गरिन्छ र तिनीहरूको निन्दा र आलोचना हुन्छ, तब तिनीहरू सजिलै लड्छन् अनि उठ्नै सक्दैनन्। यदि कसैले सत्यता खोजेर यी समस्याहरू समाधान गर्न सक्यो, दृढ रहनका निम्ति परमेश्‍वरमा भर पर्न सक्यो भने उसले सत्यता पछ्याउने मार्गको यात्रा सुरु गर्न सक्छ। यदि ऊ सत्यतामा रुचि राख्दैन अनि सत्यतालाई अनुभव र प्राप्त गर्नुपर्ने बहुमूल्य कुरा जसरी लिँदैन भने उसको सत्यताको अभ्यासमा शक्ति हुँदैन, अनि ऊ कठिनाइ आइपर्नेबित्तिकै लड्छ अनि त्यहीँ अड्किन्छ। यस्तो खालको व्यक्ति कायर हो, अनि उसलाई सत्यता पाउन सजिलो हुँदैन। परमेश्‍वरको वचन सत्यता हो, उहाँले मानिसलाई प्रदान गर्नुभएको नयाँ जीवन हो, अनि सत्यता स्विकार्नुको उद्देश्य के हो त? यसको उद्देश्य सत्यता र जीवन पाउनु, अनि सत्यतालाई आफ्नै जीवन मानी अनुभव गर्नु हो। सत्यता व्यक्तिको जीवन बन्‍नुअघि, सत्यता स्विकार्नुको उद्देश्य मुख्यतः भ्रष्ट स्वभावहरू हटाउनु हो। यसले के-कस्ता भ्रष्ट स्वभावहरू हटाउन सक्छ? यसले मुख्यतः विद्रोहीपन, धारणा र कल्पनाहरू, अहङ्कार, दम्भ, स्वार्थीपन, तुच्छता, कुटिलता, छलीपन, अनि झाराटारूवा, र गैरजिम्मेवार हुने, विवेक र समझ नहुनेजस्ता स्वभाव हटाउँछ। अनि यसको अन्तिम नतिजा के हो त? यसको नतिजा भनेको व्यक्ति परमेश्‍वरप्रति समर्पित हुने, उहाँलाई महान् भनेर सम्मान गर्ने, उहाँको आराधना गर्ने, उहाँप्रति निष्ठावान् हुने र उहाँलाई साँचो प्रेम गर्ने अनि मृत्युसम्म उहाँप्रति समर्पित हुने इमानदार व्यक्ति बन्‍न सक्छ। यस्तो खालको व्यक्तिले पूर्ण रूपमा वास्तविक मानव रूपमा जीवन जिइरहेको छ, ऊ सत्यता र मानवता भएको व्यक्ति बनेको छ। कसैले सत्यता पछ्याउँदा पुग्न सकिने सबैभन्दा उच्च ठाउँ यही हो।

त्यसोभए, मानिसहरूले आफ्नो भ्रष्ट स्वभाव हटाउन परमेश्‍वरका वचनहरू कसरी खान, पिउन र अनुभव गर्न सक्छन्? यो सरल मामिला होइन। भ्रष्ट स्वभावको समस्या साँच्चै अस्तित्वमा छ, अनि यो मानिसहरूको वास्तविक जीवनमा प्रायजसो स्वतः प्रकट हुन्छ। मानिसहरूलाई जेसुकै आइपरे पनि, अनि तिनीहरूले जेसुकै गरे पनि, तिनीहरूको भ्रष्ट स्वभाव सधैँ प्रकट हुनेछन्। उदाहरणका लागि, मानिसहरूले जेसुकै भने वा गरे पनि, प्राय तिनीहरूका निश्चित अभिप्राय र लक्ष्यहरू हुन्छन्। खुट्याउने आँखा भएकाहरूले मानिसहरूले बोल्ने र कार्य गर्ने तरिका साँचो हो कि झुटो हो भनी पहिचान गर्न सक्छन्, त्यसका साथै तिनीहरूका शब्द र कार्यहरूमा लुकेका कुरा र तीभित्र रहेका जालहरू पनि पहिचान गर्न सक्छन्। त्यसोभए के यी कुरा स्वतः प्रकट हुन्छन् त? के मानिसहरूले तिनलाई लुकाएर राख्न सक्छन्? मानिसहरूले केही नभने वा नगरे पनि, तिनीहरूलाई केही आइपर्दा तिनीहरूले प्रतिक्रिया चाहिँ दिन्छन्। यी कुराहरू सुरुमा तिनीहरूको हाउभाउबाट, अनि त्यसपछि तिनीहरूका शब्द र कार्यहरूबाट अझ बढी प्रकट हुन्छन्। खुट्याउने आँखा भएकाहरूले सधैँ छर्लङ्ग देख्नेछन्; मूर्ख र उल्लूहरूले मात्र यो पहिचान गर्न सक्दैनन्। मानिसहरूले आफ्नो भ्रष्टता प्रकट गर्नु भनेको सामान्य कुरा हो, र यो सबैमा हुने वास्तविक समस्या हो भनेर भन्‍न सकिन्छ। परमेश्‍वरले आखिरी दिनहरूमा उहाँको काममा यति धेरै सत्यता व्यक्त गर्नुको उद्देश्य के हो त? उहाँले मानिसहरूको भ्रष्ट स्वभाव र तिनीहरूको पापको मूल जडलाई हटाउन, तिनीहरूलाई शैतानको भ्रष्टताबाट मुक्ति दिन, तिनीहरूलाई मुक्ति प्राप्त गर्न अनि शैतानको प्रभावबाट अलग्गिन सहयोग गर्न, अनि विशेष गरी तिनीहरूलाई जीवन, सत्यता र मार्ग प्रदान गर्न यी सत्यताहरू व्यक्त गर्नुहुन्छ। यदि मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्छन् तर सत्यता स्विकार्दैनन् भने तिनीहरूको भ्रष्ट स्वभाव पखाल्न सकिँदैन, र तसर्थ तिनीहरूले मुक्ति प्राप्त गर्न सक्दैनन्। त्यसैले, परमेश्‍वरमा साँच्चै विश्‍वास गर्नेहरूले उहाँका वचनहरू अभ्यास र अनुभव गर्न मिहिनेत गर्नेछन्, आफ्नो भ्रष्ट स्वभाव प्रकट हुँदा आत्म-चिन्तन र आफूलाई जान्‍ने कोसिस गर्नेछन्, अनि यस भ्रष्ट स्वभाव हटाउन परमेश्‍वरका वचनहरूको सत्यता खोज्नेछन्। सत्यतालाई प्रेम गर्नेहरू परमेश्‍वरका वचनहरू पढ्दा आत्म-चिन्तन अनि आफूलाई जान्‍ने प्रयास गर्नमा ध्यान दिन्छन्, अनि तिनीहरूलाई उहाँका वचनहरू तिनीहरूको भ्रष्टता र कुरूपता खुलासा गर्ने ऐनाजस्तै लाग्छ। यसरी, तिनीहरू परमेश्‍वरका वचनहरूमार्फत उहाँको न्याय र सजाय स्विकार्न थाल्छन्, अनि बिस्तारै आफ्नो भ्रष्ट स्वभाव हटाउँछन्। जब तिनीहरू आफ्नो भ्रष्ट स्वभाव कम प्रकट भएको देख्छन्, जब तिनीहरू परमेश्‍वरमा साँच्चै समर्पित हुन्छन्, तिनीहरूलाई सत्यता अभ्यास गर्न धेरै सहज भएको र कुनै कठिनाइहरू बाँकी नभएको महसुस हुनेछ। यसबेला, तिनीहरूले आफूमा साँचो परिवर्तन देख्नेछन्, अनि तिनीहरूको हृदयमा परमेश्‍वरका लागि साँचो प्रशंसा विकसित हुनेछ: “सर्वशक्तिमान् परमेश्‍वरले मलाई मेरो भ्रष्ट स्वभावको बन्धन र बाधा अनि शैतानको प्रभावबाट मुक्ति दिनुभएको छ।” परमेश्‍वरका वचनहरूको न्याय र सजायको अनुभवबाट प्राप्त हुने नतिजा यही हो। यदि मानिसहरू परमेश्‍वरका वचनहरूमा न्याय र सजाय अनुभव गर्न सक्दैनन् भने तिनीहरूको भ्रष्ट स्वभाव पखाल्न वा तिनीहरूलाई शैतानको प्रभावबाट अलग्याउन सकिँदैन। सत्यतालाई प्रेम नगर्ने मानिसहरू धेरै छन्, र तिनीहरूले परमेश्‍वरका वचनहरू पढे पनि वा प्रवचनहरू सुने पनि, पछि तिनीहरू शब्द र धर्मसिद्धान्त मात्र बोल्छन्, र फलस्वरूप तिनीहरूले वर्षौँ परमेश्‍वरमा विश्‍वास गरे पनि आफ्नो कुनै पनि भ्रष्ट स्वभाव हटाउँदैनन्। यी मानिसहरू पहिले पनि शैतानहरू र दियाबलसहरू थिए र अझै पनि त्यही नै छन्। तिनीहरूले सोचे कि परमेश्‍वरका वचनहरू फैलाउञ्जेल, आफ्ना भ्रष्ट स्वभाव समाधान गर्नेछन्; तिनीहरूले उहाँका केही वचनहरू पढेर सुनाउञ्जेल र अरूसँग उहाँका वचनहरूबारे सङ्गति गरूञ्जेल, आफ्ना भ्रष्ट स्वभाव समाधान गर्नेछन्; तिनीहरूले धेरै शब्द र धर्मसिद्धान्तहरू बोल्न सकुञ्जेल, आफ्ना भ्रष्ट स्वभाव समाधान गर्नेछन्; अनि धर्मसिद्धान्त बुझ्न र आत्म-संयम सिक्न सकुञ्जेल आफ्ना भ्रष्ट स्वभाव समाधान गर्नेछन्। फलस्वरूप, धेरै वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेपछि पनि तिनीहरूको जीवन स्वभावमा कुनै परिवर्तन आउँदैन, तिनीहरू अनुभवात्मक गवाहीबारे बताउन सक्दैनन् अनि त्यसैले हक्क न बक्क हुन्छन्। परमेश्‍वरमा विश्‍वास गरेको यतिका धेरै वर्षपछि तिनीहरूका हात रित्तो छन् अनि तिनीहरूले कुनै सत्यता पाएका छैनन्, र यतिका वर्ष तिनीहरूले व्यर्थमा जिएका र समय बरबाद गरेका छन्। अहिले परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्न प्रयास गर्नुको साटो केवल काम गर्न अनि प्रवचन दिनमा मात्र ध्यान दिने यस्ता धेरै झुटा अगुवा र कामदारहरू छन्। अनि के तिनीहरू सत्यता पछ्याउने मार्गमा छन् त? बिलकुलै छैनन्।

परमेश्‍वरमा विश्‍वास गर्नेहरूका लागि सबैभन्दा महत्त्वपूर्ण वास्तविकता के हो? सत्यता अभ्यास गर्नु हो। सत्यता अभ्यास गर्नुको सबैभन्दा महत्त्वपूर्ण भाग के हो? के यसको सबैभन्दा महत्त्वपूर्ण भाग व्यक्तिले सुरुमा सिद्धान्तहरू बुझेको हुनैपर्ने होइन र? त्यसोभए सिद्धान्तहरू के-के हुन् त? ती सत्यताका व्यावहारिक पाटा हुन्, नतिजाको प्रत्याभूति गर्ने मानक हुन्। सिद्धान्तहरू यतिका सरल छन्। शाब्दिक अर्थमा हेर्दा, तँ परमेश्‍वरका वचनहरूका हरेक वाक्य सत्यता हुन् भनी सोच्छस् तर तँलाई सत्यता कसरी अभ्यास गर्ने भनी थाहा छैन; किनकि तँ सत्यताका सिद्धान्तहरू बुझ्दैनस्। तँ परमेश्‍वरका वचनहरू पूर्ण रूपमा सही छन्, ती सत्यता हुन् भन्‍ने सोच्छस् तर तँलाई सत्यताको व्यावहारिक पाटो के हो, वा यो कुन-कुन अवस्थाहरूप्रति लक्षित छ, यहाँ भएका सिद्धान्त के हुन्, अनि अभ्यास गर्ने मार्ग के हो भन्‍ने थाहा छैन—तँ यो बोध गर्न वा बुझ्न सक्दैनस्। यसले तँ सत्यता होइन धर्मसिद्धान्त मात्र बुझ्छस् भन्‍ने पुष्टि गर्छ। यदि तँलाई साँच्चै धर्मसिद्धान्त मात्र बुझ्छु भन्‍ने आभास भयो भने तैँले के गर्नुपर्छ? तैँले सत्यता खोज्नैपर्छ। सर्वप्रथम, सत्यताको व्यावहारिक पाटोसँग राम्रोसँग परिचित बन्, वास्तविकताका कुन-कुन पक्षहरू सबैभन्दा पृथक् देखिन्छन् अनि यो वास्तविकतामा प्रवेश गर्न कसरी अभ्यास गर्नुपर्छ भनी हेर्। यसरी खोजेर र जाँचबुझ गरेर तैँले मार्ग भेट्नेछस्। अनि जब तैँले सिद्धान्तहरू मजाले बुझ्छस् र यो वास्तविकता जिइरहेको हुन्छस्, तैँले सत्यता पाएको हुनेछस्, जुन सत्यता पछ्याएर हासिल हुने उपलब्धि हो। यदि तँ धेरै सत्यताका सिद्धान्तहरू बुझ्न अनि तीमध्ये केहीलाई अभ्यासमा लागु गर्न सक्छस् भने तँसँग सत्यता वास्तविकता हुन्छ अनि तैँले जीवन प्राप्त गरेको हुन्छस्। तैँले सत्यताको जुनसुकै पक्ष खोजे पनि, तैँले परमेश्‍वरका वचनहरूमा सत्यताको वास्तविकता कहाँ छ अनि उहाँका मागहरू के हुन् भन्‍ने बुझेपछि, तैँले साँच्चै बुझेपछि, अनि मूल्य चुकाउन र त्यो अभ्यास गर्न सक्ने भएपछि, तैँले सत्यता पाएको हुन्छस्। तैँले यो सत्यता पाउने क्रममा, तेरो भ्रष्ट स्वभाव अलिअलि गर्दै हट्नेछ, अनि यो सत्यता तँभित्र बिस्तारै छिर्नेछ। यदि तँ सत्यताको वास्तविकतालाई अभ्यासमा लागु गर्न, अनि यस सत्यताको अभ्यासको सिद्धान्तअनुसार आफ्नो कर्तव्य र हरेक कार्य निर्वाह गर्न र आफूलाई आचरणमा ढाल्न सक्छस् भने के यसको अर्थ तँ बदलिएको छैनस् र? तँ कस्तो खालको व्यक्ति बनेको छस्? तँ सत्यता वास्तविकता भएको व्यक्ति बनेको छस्। के सत्यता वास्तविकता भएको व्यक्ति त्यस्तो व्यक्ति हो, जसका कार्यहरू सिद्धान्तनिष्ठ हुन्छन्? के कार्य सिद्धान्तनिष्ठ हुने व्यक्तिले सत्यता प्राप्त गरेको छ? के सत्यता पाएको व्यक्ति सामान्य मानवत्व जिइरहेको हुन्छ? के सामान्य मानवत्व जिइरहेको व्यक्तिमा सत्यता र मानवता हुन्छ? सत्यता र मानवता भएका मानिसहरू परमेश्‍वरका अभिप्रायअनुरूप हुन्छन्, र परमेश्‍वरका अभिप्रायअनुरूप भएका मानिसहरूलाई उहाँ पाउन चाहनुहुन्छ। यो परमेश्‍वरमा विश्‍वास गर्नु र उहाँद्वारा प्राप्त गरिनुको अनुभव हो, र यो उहाँका वचनहरू खाने र पिउनेदेखि सुरु हुने सत्यता पाउने प्रक्रिया हो, साथसाथै मुक्ति पाउने प्रक्रिया पनि हो। यो सत्यता पछ्याउने, अनि परमेश्‍वरद्वारा सिद्ध पारिने मार्ग हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्