शब्द र धर्मसिद्धान्तहरू बोल्नु अनि सत्यता वास्तविकताबीचका भिन्‍नताहरू (अंश ६६)

केही मानिसमा विवेक नै हुँदैन। तिनीहरू अगुवाइ गर्ने जो कोहीलाई पनि पछ्याउँछन्। तिनीहरू असल मानिसहरूले अगुवाइ गर्दा असल, खराब मानिसहरूले अगुवाइ गर्दा खराब व्यवहार सिक्छन्। तिनीहरू जसलाई पछ्याइरहेका हुन्छन् उहीबाट सिक्छन्। तिनीहरू गैरविश्‍वासीहरूलाई पछ्याउँदा राक्षसहरूको सिको गर्छन्; परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई पछ्याउँदा अलिकति मानवताको झल्को राख्न सिक्छन्। तिनीहरू सत्यता बुझ्न र अभ्यास गर्नतर्फ ध्यान दिँदैनन्, केवल अरूलाई पछ्याउँछन् अनि आँखै नहेरी तिनीहरूको सिको गर्छन्। तिनीहरू आफूलाई जो मन पर्छ उसैको कुरा सुन्छन्। के यस्तो व्यक्तिले सत्यता बुझ्न सक्छ? बिलकुलै सक्दैन। सत्यता नबुझ्ने मानिसमा कहिल्यै पनि वास्तविक परिवर्तन आउनेछैन। ज्ञान र धर्मसिद्धान्त, मानव व्यवहार, बोल्ने ढङ्ग—यी सब बाहिरी कुरा मानिसहरूबाट सिक्न सकिन्छ। तर सत्यता र जीवन, परमेश्‍वरका वचनहरू र उहाँको कामबाट मात्र पाउन सकिन्छ, प्रसिद्ध वा विशिष्ट मानिसहरूबाट कहिल्यै सकिन्‍न। विश्‍वासीहरूले परमेश्‍वरका वचनहरू कसरी खानु र पिउनुपर्छ? यो प्रश्न कोही व्यक्तिले सत्यता बुझ्न र पाउन सक्छ कि सक्दैन भन्‍ने महत्त्वपूर्ण प्रश्नसँग सिधै जोडिएको छ। परमेश्‍वरका वचनहरू खाने र पिउने सही मार्ग हुनैपर्छ; विश्‍वासीहरूले आफ्नो मण्डली जीवन अनि आफ्नो कर्तव्य निर्वाह गर्दा वास्तविक जीवनका समस्याहरूतर्फ लक्षित हुने र तिनलाई समाधान गर्ने परमेश्‍वरका वचनहरू खाने र पिउने गर्नैपर्छ। सत्यता बुझ्ने यो एक मात्र तरिका हो। यद्यपि, तिनीहरू सत्यता बुझ्छन् तर अभ्यास गर्दैनन् भने, तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्नेछैनन्। कतिपय मानिसहरू राम्रो क्षमता भएका हुन्छन् तर तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्; तिनीहरूले थोरै सत्यतालाई बुझ्‍न सके पनि, तिनीहरूले यसलाई अभ्यास गर्दैनन्। के त्यस्ता मानिसहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्? सत्यतालाई बुझ्‍नु धर्मसिद्धान्तहरूलाई बुझ्‍नु जस्तो सरल छैन। सत्यतालाई बुझ्‍नको लागि, तँलाई सुरुमा परमेश्‍वरका वचनहरू कसरी खाने र पिउने सो थाहा हुनुपर्छ। उदाहरणको लागि, परमेश्‍वरप्रतिको प्रेम सम्‍बन्धी सत्यताको खण्डलाई खाने-पिउने कार्यलाई लिऊँ। परमेश्‍वरको वचनले भन्छ: “‘प्रेम’, यसलाई जसरी बोलाइन्छ, एक स्नेह हो, जुन शुद्ध र दोषरहित हुन्छ जहाँ तँ प्रेम गर्न, अनुभव गर्न र विचारशील हुन आफ्नो हृदय प्रयोग गर्छस्। प्रेममा कुनै सर्तहरू हुँदैनन्, कुनै अवरोधहरू हुँदैनन् र कुनै दूरी पनि हुँदैन। प्रेममा कुनै शङ्का हुँदैन, कुनै छलकपट हुँदैन र कुनै धूर्तता पनि हुँदैन। प्रेममा कुनै लेनदेन र अपवित्र मिसावट हुँदैन” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ)। परमेश्‍वरले यसरी नै प्रेमलाई परिभाषित गर्नुहुन्छ, र सत्यता यही नै हो। तर तिमीहरूले कसलाई प्रेम गर्नुपर्छ? के तिमीहरूले आफ्‍नो श्रीमानलाई प्रेम गर्नुपर्छ? आफ्‍नी श्रीमतीलाई? मण्डलीमा भएका तिमीहरूका दाजुभाइ-दिदीबहिनीहरूलाई? होइन। जब परमेश्‍वरले प्रेमको बारेमा भन्‍नुहुन्छ, उहाँले सङ्गी मानवप्रतिको तेरो प्रेमको बारेमा होइन, तर परमेश्‍वरप्रतिको मानिसको प्रेमको बारेमा कुरा गरिरहनुभएको हुन्छ। यदि कोही व्यक्तिले परमेश्‍वरलाई साँच्चै चिन्‍न सकेको छ, उहाँको स्वभाव धर्मी र पवित्र छ, अनि मानिसप्रति परमेश्‍वरको प्रेम सबैभन्दा साँचो र निष्कपट छ भनेर साँच्चै देख्छ भने त्यस व्यक्तिले परमेश्‍वरलाई गर्ने प्रेम पनि साँचो छ। एक व्यक्तिले परमेश्‍वरलाई प्रेम गर्ने अभ्यास कसरी गर्न सक्छ? सर्वप्रथम, उसले आफ्नो हृदय परमेश्‍वरलाई अर्पण गर्नुपर्छ; त्यसपछि उसको हृदयले परमेश्‍वरलाई प्रेम गर्न सक्छ। यदि कोही व्यक्तिको हृदयले परमेश्‍वर कति धेरै प्रेमिलो हुनुहुन्छ भनी साँच्चै देख्छ भने उसले उहाँलाई शङ्का गर्नेछैन, ऊ र परमेश्‍वरबीच कुनै दूरी हुनेछैन, अनि परमेश्‍वरलाई प्रेम गर्ने उसको हृदय शुद्ध र दोषरहित हुनेछ। “दोषरहित” को अर्थ कुनै लालची इच्‍छाहरू नहुनु र परमेश्‍वरलाई कुनै पनि लालची मागहरू नगर्नु, उहाँमा सर्तहरू नलाद्‍नु, र कुनै पनि बहाना नगर्नु भन्‍ने हुन्छ। यसको अर्थ तेरो हृदयमा पहिलो स्थान उहाँकै छ भन्‍ने हुन्छ; यसको अर्थ तेरो हृदयमा उहाँका वचनहरूले मात्रै स्थान ओगटेका छन् भन्‍ने हुन्छ। यो शुद्ध र दोषरहित लगाव हो। यो “स्नेह” को अर्थ तेरो हृदयको निश्‍चित स्थान परमेश्‍वरले ओगट्नुहुन्छ; अनि तैँले सधैँ उहाँको बारेमा विचार गरिरहेको हुन्छस् र उहाँको याद गरिरहेको हुन्छस्, अनि तैँले हरेक क्षणमा उहाँलाई मनमा राख्छस्। प्रेम गर्नु भनेको प्रेम गर्न आफ्नो हृदय प्रयोग गर्नु हो। “प्रेम गर्न आफ्नो हृदय प्रयोग गर्नु” मा वास्ता गर्ने, फिक्री गर्ने र चाहना गर्ने कार्य समावेश हुन्छन्। आफ्नो हृदयले परमेश्‍वरलाई प्रेम गर्न सफल हुन, तैँले पहिला परमेश्‍वर, उहाँको स्वभाव र उहाँको प्रेमिलोपनलाई जान्‍न खोज्नैपर्छ। यदि तँ परमेश्‍वरलाई जान्दै जान्दैनस् भने, तैँले चाहे पनि उहाँलाई प्रेम गर्न सक्नेछैनस्। वर्तमान समयमा, तिमीहरू सबै सत्यताका लागि प्रयास गर्न इच्छुक छौ अनि सत्यता पाउन खोज्छौ। तँसँग परमेश्‍वरबारे केही साँचो ज्ञान नभए पनि तैँले आफ्नो हृदय प्रयोग गरेर उहाँको लागि तृष्णा गर्नुपर्छ, उहाँसँग नजिकिनुपर्छ, उहाँप्रति समर्पित हुनुपर्छ, उहाँप्रति विचारशील हुनुपर्छ, आफ्नो मनमा भएको कुरा उहाँलाई बताउनुपर्छ, अनि आफ्नो हृदयमा भएका कठिनाइहरू उहाँसँग पोख्नुपर्छ। यदि तँ सत्यता बुझ्दैनस् भने परमेश्‍वरलाई खोज्; जब तैँले कुनै कुरा आफैँले सम्हाल्न सक्दैनस्, तब परमेश्‍वरको भर पर् अनि उहाँमाथि आश्रित बन्। जब तैँले परमेश्‍वरलाई यसरी प्रार्थना गर्छस्, पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ र डोऱ्याउनुहुनेछ। “मैले परमेश्‍वरका लागि के गर्नुपर्छ? मैले कस्ता महान् कुराहरू गर्नुपर्छ?”, जस्ता कुराहरू सधैँ सोचेर बस्ने नगर्। यी केवल खोक्रा शब्द हुन् र कत्ति पनि व्यावहारिक छैनन्। तैँले आफ्नो हृदय परमेश्‍वरलाई प्रेम गर्नमा लगाइस्, अनि तैँले निर्वाह गर्न सक्ने साना मामिला र कर्तव्यहरूमा उहाँलाई सन्तुष्ट पारिस् भने मात्र यो व्यावहारिक हुन्छ। तैँले परमेश्‍वरलाई कसरी र कुन हदसम्म प्रेम गर्नैपर्छ भनी मुखले नभने पनि तेरो हृदयमा परमेश्‍वर हुनुहुन्छ, र तेरो हृदय उहाँलाई सन्तुष्ट पार्न इच्छुक छ। तँलाई जेसुकै कठिनाइहरू भए पनि, तेरो हृदय परमेश्‍वरलाई सन्तुष्ट पार्न इच्छुक छ, र तैँले उहाँलाई सन्तुष्ट पार्न एकाध कुराहरू गर्न अनि एकाध कष्ट सहन सक्छस् भने, तँ उहाँलाई साँचो रूपमा प्रेम गर्छस्। यदि तँ केही सत्यता बुझ्छस् अनि सबै मामिलाहरू सम्हाल्दा सैद्धान्तिक छस् भने, तैँले परमेश्‍वरको प्रेम महसुस गर्न सक्नेछस्, उहाँले भन्‍ने सबै कुरा सत्यता, वास्तविकता हो र यसले मानिसलाई हरक्षण मद्दत गर्छ, मानिसहरू परमेश्‍वरका वचनहरूबाट टाढा जान सक्दैनन् र तिनीहरूको हृदय परमेश्‍वरविना रहनै सक्दैन, परमेश्‍वरविना जीवन छैन, र यदि तैँले साँच्चै परमेश्‍वरलाई छोडिस् भने तँ जिउनै सक्दैनथिस् जुन अति कष्टदायक हुने थियो भन्‍ने महसुस गर्न सक्नेछस्। जब तैँले यो सबै महसुस गर्छस्, तब तँसँग प्रेम हुन्छ, तेरो हृदयमा परमेश्‍वर हुनुहुन्छ। “तँ प्रेम गर्न, अनुभव गर्न र विचारशील हुन आफ्नो हृदय प्रयोग गर्छस्।” यसभित्र धेरै कुरा आउँछन्। यो परमेश्‍वरले मानिसबाट माग गर्ने साँचो प्रेम हो; अर्को शब्दमा भन्‍नुपर्दा, तैँले आफ्नो हृदयले उहाँलाई प्रेम गर्नैपर्छ र उहाँबारे विचारशील हुनैपर्छ, अनि उहाँलाई सधैँ याद गर्नैपर्छ। यसको अर्थ यी शब्दहरू उच्चारण मात्र गर्नु होइन, न जानीबुझी अरूका अगाडि केही अभिव्यक्त गर्नु हो; यसको अर्थ त मुख्यतः हृदयले कामकुरा गर्नु, अनि आफ्नो हृदयमा कुनै अभिप्रेरणा, मिसावट वा शंका नराखी त्यसलाई आफ्नो जीवन र आफ्नो सम्पूर्ण कार्यहरू सञ्चालन गर्न दिनु हो; यस्तो खालको हृदय झनै निकै शुद्ध हुन्छ। यदि तँ सत्यता बुझ्न सक्छस् भने परमेश्‍वरप्रति समर्पित हुन सजिलो हुन्छ। परमेश्‍वरलाई सधैँ शंका गर्ने व्यक्तिले के सोच्छ? “के परमेश्‍वरले यसो गर्नु उचित छ त? परमेश्‍वरले किन यसो भन्‍नुहुन्छ? यदि परमेश्‍वरले यसो भन्‍नुको पछाडि कुनै कारण छैन भने, म यसप्रति समर्पित हुनेछैन। यदि परमेश्‍वरले यसो गर्नु धर्मी छैन भने, म समर्पित हुनेछैन। अहिलेको लागि म यसलाई छोडिदिन्छु।” शङ्का बोकेर नराख्‍नु भनेको परमेश्‍वरले जे भन्‍नुहुन्छ र गर्नुहुन्छ त्यो सही छ, र परमेश्‍वरको लागि कुनै सही वा गलत भन्‍ने हुँदैन भनेर पहिचान गर्नु हो, र त्यो मानिसले परमेश्‍वरप्रति समर्पित हुनैपर्छ, परमेश्‍वरप्रति विचारशील हुनैपर्छ, परमेश्‍वरलाई सन्तुष्ट पार्नैपर्छ, र उहाँका विचार र चासोहरूमा सहभागी हुनैपर्छ। परमेश्‍वरले गर्नुहुने सबै कुरा तेरो लागि अर्थपूर्ण देखिए पनि नदेखिए पनि, यो मानिसका धारणा र कल्‍पनाहरूसँग मिल्दो भए पनि नभए पनि, र यो मानिसका धर्मसिद्धान्तअनुरूप भए पनि नभए पनि, तँ सधैँ समर्पित हुनुपर्छ अनि यी कुराहरूलाई परमेश्‍वरको डर मान्‍ने र उहाँप्रति समर्पित हुने हृदयले लिनुपर्छ। यस्तो अभ्यास सत्यता अनुरूप हुन्छ। यो प्रेमको प्रकटीकरण र अभ्यास हो। त्यसकारण, यदि तँ सत्यताको बुझाइ हासिल गर्न चाहन्छस् भने, तँलाई परमेश्‍वरका वचनहरू कसरी खाने-पिउने भन्‍ने कुरा थाहा हुनु निकै महत्त्वपूर्ण छ। यदि तैँले परमेश्‍वरका वचनहरू अत्यन्तै थोरै पढ्छस्, तिनलाई गम्भीरता साथ पढ्दैनस्, र तैँले तिनको बारेमा हृदयदेखि मनन गर्दैनस् भने, तैँले सत्यता बुझ्‍न सक्‍नेछैनस्। तैँले थोरै धर्मसिद्धान्त मात्रै बुझ्‍न सक्‍नेछस्, त्यसकारण परमेश्‍वरका वचनहरूमा उहाँका अभिप्राय र उद्देश्यलाई बुझ्‍न तँलाई अत्यन्तै कठिन हुनेछ। यदि तँ परमेश्‍वरका वचनहरूले प्राप्त गर्न खोजेको उद्देश्य र परिणामहरूलाई बुझ्दैनस् भने, यदि तँ उहाँका वचनहरूले मानिसमा के हासिल गर्न र सिद्ध बनाउन खोजेको हो भनी बुझ्दैनस् भने, यसले तैँले सत्यतालाई बुझेको छैनस् भन्‍ने प्रमाणित गर्छ। परमेश्‍वरले जे भन्‍नुहुन्छ त्यो किन भन्‍नुहुन्छ? उहाँ किन त्यस्तो लबजमा बोल्नुहुन्छ? उहाँ आफूले बोल्ने हरेक शब्दमा किन त्यत्ति गम्भीर र इमानदार हुनुहुन्छ? किन उहाँले निश्‍चित शब्दहरूको प्रयोग गर्ने निर्णय गर्नुहुन्छ? के तँलाई थाहा छ? यदि तँ निश्चित रूपमा भन्‍न सक्दैनस् भने, त्यसको अर्थ तैँले परमेश्‍वरका अभिप्राय वा उहाँका उद्देश्यलाई बुझेको छैनस्; यदि तैँले उहाँका वचनहरूपछाडिको प्रसङ्गलाई बुझ्दैनस् भने, कसरी सत्यता बुझ्‍न वा अभ्यास गर्न सक्छस्? सत्यता प्राप्त गर्नको लागि, तैँले सुरुमा परमेश्‍वरले बोल्‍नुहुने हरेक वचनमा उहाँले के भन्‍न खोज्‍नुभएको हो त्यो बुझ्‍नुपर्छ र ती वचनहरू बुझेपछि तिनलाई अभ्यासमा लागु गर्नुपर्छ, यसरी तँ परमेश्‍वरका वचनहरूमा जिउनुपर्छ, र तिनलाई तेरो वास्तविकता बनाउनुपर्छ। त्यसो गरेर तँ सत्यता वास्तविकतामा प्रवेश गर्नेछस्। जब तँमा परमेश्‍वरको वचनको पूर्ण ज्ञान हुन्छ तब मात्र तैँले सत्यतालाई बुझ्न सक्छस्। केही शब्दहरू र धर्म-सिद्धान्तहरू मात्रै बुझेपछि, तैँले सत्यलाई बुझेको छस् र तँमा वास्तविकता छ भन्‍ने तँलाई लाग्छ। यो आफैलाई धोका दिनु हो। परमेश्‍वरले किन मानिसहरूलाई सत्यता अभ्यास गर्न लगाउनुहुन्छ भन्‍नेसमेत तैँले बुझ्दैनस्। यसले के प्रमाणित गर्छ भने तैँले परमेश्‍वरको अभिप्राय बुझ्दैनस्, र तैँले अझै पनि सत्यता बुझेको छैनस्। वास्तवमा, परमेश्‍वरले मानिसहरूलाई शुद्ध पार्न र मुक्ति दिन यो माग गर्नुहुन्छ, ताकि तिनीहरूले आफ्‍ना भ्रष्ट स्वभावहरूलाई फाल्न सकून्, र तिनीहरू परमेश्‍वरप्रति समर्पित हुने र उहाँलाई चिन्‍ने मानिसहरू बनून्। परमेश्‍वरले मानिसहरूलाई सत्यता अभ्यास गर्न लगाएर हासिल गर्न चाहनुभएको उद्देश्य यही हो।

सत्यलाई प्रेम गर्ने, सत्यको तिर्सना गर्ने, र सत्यको खोजी गर्ने मानिसहरूका निम्ति परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुन्छ। आफैलाई शब्दहरू र धर्मसिद्धान्तहरूसित सम्बन्धित तुल्याउने र लामो, आडम्बरी भाषणहरू दिन मन पराउनेहरूका विषयमा भन्दा, तिनीहरूले कहिल्यै पनि सत्यता प्राप्त गर्न सक्दैनन्; तिनीहरूले आफैलाई मूर्ख बनाइरहेका हुन्छन्। सत्य र परमेश्‍वरका वचनहरूप्रतिको तिनीहरूको दृष्टिकोण गलत हुन्छ; सीधा कुरा पढ्नलाई पनि तिनीहरू आफ्नो घाँटी बटार्छन्—तिनीहरूको सबै दृष्टिकोण गलत हुन्छ। कतिपय मानिसहरूले परमेश्‍वरका वचनहरू अध्ययन गर्न रुचाउँछन्। तिनीहरूले परमेश्‍वरका वचनहरूले गन्तव्यको बारेमा वा कसरी आशिष्‌ पाउने भन्‍नेबारेमा के बताउँछन् भनेर सधैँ अध्ययन गर्छन्। यस्ता वचनहरूप्रति तिनीहरूलाई सबभन्दा धेरै चासो हुन्छ। यदि परमेश्‍वरका वचनहरू तिनीहरूका धारणाहरूअनुरूप छैनन् र तिनले आशिष्‌हरू पाउने तिनीहरूको इच्‍छा पूरा गर्दैनन् भने, तिनीहरू नकारात्मक बन्छन्, सत्यता खोजी गर्न छोड्छन्, र परमेश्‍वरको लागि समर्पित हुन चाहँदैनन्। यसले तिनीहरूले सत्यताप्रति कुनै चासो राख्दैनन् भन्‍ने देखाउँदछ। फलस्वरूप, तिनीहरू सत्यताप्रति इमानदार हुँदैनन्; तिनीहरू आफ्नै धारणा र कल्पनासित मेल खाने सत्यता मात्र स्वीकार गर्न सक्छन्। यस्ता मानिसहरू परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा उत्साही भए पनि र तिनीहरूले हर प्रकारले आफूले सक्दो केही असल कामहरू गर्ने र आफूलाई राम्रोसँग प्रस्तुत गर्ने प्रयास गरे पनि तिनीहरूले भविष्यमा राम्रो गन्तव्य पाउनका लागि मात्र त्यसो गरिरहेका हुन्छन्। तिनीहरू पनि मण्डली जीवनमा सामेल हुन्छन्, र परमेश्‍वरका वचनहरू खाइरहेका र पिइरहेका हुन्छन्, तैपनि तिनीहरूले सत्यता अभ्यास वा हासिल गर्ने गर्दैनन्। कतिपय मानिसहरू यस्ता हुन्छन्, जो परमेश्‍वरका वचनहरू खान्छन् र पिउँछन्, तर तिनीहरू केवल झारा टार्ने काम मात्र गरिरहेका हुन्छन्; आफूले केही शब्दहरू र धर्मसिद्धान्तहरू बुझेर नै तिनीहरूले सत्य प्राप्त गरेका छौ भनी सोच्छन्। तिनीहरू कति मूर्ख छन्! परमेश्‍वरको वचन नै सत्यता हो। तापनि, परमेश्‍वरको वचन पढेपछि व्यक्तिले सत्यता बुझ्छ र प्राप्त गर्छ भन्‍ने हुँदैन। यदि परमेश्‍वरका वचनहरू खाएर अनि पिएर तैँले सत्यता प्राप्त गर्न सकिनस् भने, तैँले प्राप्त गर्ने कुरा भनेको शब्दहरू र धर्मसिद्धान्तहरू मात्र हुनेछ। यदि तँलाई सत्यता अभ्यास गर्न वा सिद्धान्तहरूअनुसार काम गर्न आउँदैन भने, तँ सत्यता वास्तविकताविहीन रहन्छस्। तैँले परमेश्‍वरका वचनहरूलाई प्रायः पढिराख्‍न सक्छस्, तर पछि गएर तैँले परमेश्‍वरका अभिप्राय बुझ्न सक्दैनस्, र तैँले केही शब्द र धर्मसिद्धान्तहरू मात्र प्राप्त गर्छस्। सत्यता बुझ्‍नको लागि परमेश्‍वरका वचनहरू कसरी खाने र पिउने? सबैभन्दा पहिले, परमेश्‍वरको वचन त्यति सीधा छैन भन्‍ने तैँले बुझ्‍नुपर्छ; परमेश्‍वरको वचन पूर्ण रूपमा गहन छ। परमेश्‍वरका वचनहरूको एउटा वाक्यलाई अनुभव गर्न पनि जीवनभरको अवधि लाग्छ। धेरै वर्षको अनुभवविना, तैँले परमेश्‍वरको वचन बुझ्न कसरी सम्‍भव हुन्छ र? परमेश्‍वरका वचनहरू पढ्ने क्रममा, यदि तैँले परमेश्‍वरका अभिप्राय बुझ्दैनस्, र तैँले उहाँका वचनहरूका उद्देश्यहरू, तिनको उत्पत्ति, तिनले हासिल गर्न खोजेका प्रभाव, वा तिनले के काम पूरा गर्न चाहन्छन् भन्‍ने पनि बुझ्दैनस् भने, के यसको अर्थ तैँले सत्यता बुझ्छस् भन्‍ने हुन्छ? तैँले परमेश्‍वरका वचनहरू धेरै पटक पढेको हुन सक्छस्, र सायद तैँले धेरै वटा खण्ड कण्ठस्थ सुनाउन सक्छस् होला, तैपनि तँ सत्यता अभ्यास गर्न सक्दैनस्, तँ परिवर्तन भएकै छैनस्, र परमेश्‍वरसँगको तेरो सम्बन्ध सधैँको जस्तै टाढिएको र बिरानो छ। तेरा धारणाहरूसँग नमिल्‍ने कुरा सामना गर्दा, तँ उहाँप्रति शङ्कालु रहिरहन्छस्, र तैँले उहाँलाई बुझ्दैनस्, तर उहाँसँग तर्क गर्छस् र उहाँको बारेमा धारणाहरू पाल्छस् र उहाँलाई गलत बुझेर उहाँको विरोध र निन्दा गर्छस्। यो कस्तो प्रकारको स्वभाव हो? यो स्वभाव अहङ्कार, र सत्यतादेखि वितृष्ण हुने स्वभाव हो। यति अहङ्कारी र सत्यताप्रति यति वितृष्ण हुने मानिसहरूले कसरी सत्यता स्वीकार वा अभ्यास गर्न सक्छन्? अवश्य नै त्यस्ता मानिसहरूले सत्यता वा परमेश्‍वरलाई कहिल्यै प्राप्त गर्न सक्‍नेछैनन्। सबै जनासँग “वचन देहमा देखा पर्नुहुन्छ” किताब भए पनि, र तिनीहरूले परमेश्‍वरका वचनहरू हरेक दिन पढे पनि, र सत्यताको सङ्गति सुन्दा नोटहरू टिपे पनि, यसले सबैमा फरक फरक असर पार्छ। कोही आफूलाई ज्ञान र धर्मसिद्धान्तले सुसज्जित बनाउनमा ध्यान केन्द्रित गर्छन्; कोही सधैँ मानिसले कुन असल व्यवहार देखाउनुपर्छ भन्‍ने खोज्छन् र त्यसबारे चासो राख्छन्; कोही रहस्यहरू उजागर गर्ने गहन शब्दहरू पढ्न इच्छुक हुन्छन्; कोही सबैभन्दा बढी भविष्यको गन्तव्यबारेका वचनबारे चासो राख्छन्; कोही राज्यको युगका प्रशासनिक आदेशहरू पढ्न अनि परमेश्‍वरको स्वभावको अध्ययन गर्न मन पराउँछन्; कोही परमेश्‍वरले मानिसलाई दिने सान्त्वना र उपदेशका वचन पढ्न इच्छुक हुन्छन्; कोही भविष्यवाणीहरू, परमेश्‍वरको वाचा र आशीर्वादका वचन पढ्न इच्छुक हुन्छन्; कोही पवित्र आत्माले सबै मण्डलीलाई भन्‍नुहुने वचन पढ्न अनि “उहाँका पुत्र” बन्‍न इच्छुक हुन्छन्। के तिनीहरूले यसरी परमेश्‍वरका वचनहरू पढेर सत्यता पाउन सक्छन्? के तिनीहरू सत्यता पछ्याउने मानिस हुन्? के तिनीहरूले यसरी परमेश्‍वरमा विश्‍वास गरेर मुक्ति पाउन सक्छन्? तिमीहरूले यी कुरा प्रस्ट देख्नैपर्छ। अहिले केही नयाँ विश्‍वासीहरू भन्छन्, “परमेश्‍वरले मानिसलाई दिने सान्त्वनाका वचन अद्भुत छन्; उहाँ भन्‍नुहुन्छ, ‘मेरो पुत्र, मेरो पुत्र।’ यस संसारमा कसले तँलाई यसरी सान्त्वना देला र?” तिनीहरू आफू परमेश्‍वरका पुत्र हुन् भनी सोच्छन्, र परमेश्‍वरले यी वचन कसलाई भनिरहनुभएको छ भनी बुझ्दैनन्। परमेश्‍वरमा विश्‍वास गरेको एक-दुई वर्ष भइसक्दा पनि यो अझै नबुझ्नेहरू पनि छन्; तिनीहरू यस्तो कुरा लाज नै नमानी भन्छन् अनि तिनीहरू यसबारे न धक मान्छन्, न सरम मान्छन्। के तिनीहरू सत्यता बुझ्छन्? तिनीहरू परमेश्‍वरका अभिप्राय बुझ्दैनन्, तैपनि उहाँको “पुत्र” को ओहदामा आफूलाई राख्ने दुस्साहस गर्छन्! तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्दा के बुझ्छन्? तिनीहरूले ती वचनको पूरै गलत अर्थ लगाएका छन्! सत्यतालाई प्रेम नगर्ने मानिसहरूले परमेश्‍वरका वचनहरू पढ्दा बुझ्नेछैनन्। जब तँ तिनीहरूसँग सत्यतामा सङ्गति गर्छस्, तिनीहरू त्यसलाई स्विकार्न महत्त्वपूर्ण ठान्दैनन्। यसको तुलनामा, सत्यतालाई प्रेम गर्नेहरू परमेश्‍वरका वचनहरू पढेपछि प्रभावित हुन्छन्। तिनीहरू परमेश्‍वरका वचनहरूमा अख्तियार र शक्ति महसुस गर्छन्। तिनीहरू साँचो मार्ग जाँच्न अनि सत्यता स्विकार्न सक्छन्। यस्ता खालका मानिसहरूमा परमेश्‍वरतिर फर्कने र सत्यता पाउने आशा हुन्छ। परमेश्‍वरका वचनहरू अध्ययन गर्न मन पराउनेहरू सधैँ परमेश्‍वरले आफ्नो रूप बदल्नुहुने तरिकाबारे, उहाँले यस संसार कहिले छोड्नुहुन्छ भनेर, अनि परमेश्‍वरको दिनबारे चासो राख्छन्। तिनीहरूलाई आफ्नो जीवनको चासो हुँदैन। मानिसहरू परमेश्‍वरको व्यक्तिगत मामिलाहरूबारे चासो राखिरहेका छन्। यदि तँ सधैँ यस्ता प्रश्नहरू गर्छस् भने, तैँले परमेश्‍वरको प्रशासनिक आदेशहरू र उहाँको व्यवस्थापन योजनामा बाधा पुऱ्याइरहेको छस्। त्यसो गर्नु समझहीन हुन्छ र यसले परमेश्‍वरको स्वभावलाई चिढ्याउँछ। यदि तँलाई सोध्ने र बुझ्ने विशेष दिलचस्पी छ अनि आफूलाई रोक्न सक्दैनस् भने, परमेश्‍वरलाई प्रार्थना गर् अनि भन्, “परमेश्‍वर, यी मामिलाहरू तपाईँको व्यवस्थापन योजनासँग सम्बन्धित छन् र ती तपाईँको व्यक्तिगत मामिलाहरू हुन्। म मेरो पहुँचभन्दा पर भएका वा मैले जान्‍न नपर्ने मामिलाहरूमा ताकझाँक गर्नेछैन। कृपया मलाई समझहीन कुराहरू गर्नबाट रोक्नुहोस्।” मानिसले परमेश्‍वरका मामिलाहरू कसरी बुझ्न सक्छ? यदि परमेश्‍वरले आफ्नो काम र व्यवस्थापन योजनासँग सम्बन्धित निश्चित मामिलाहरूबारे बताउनु वा घोषणा गर्नुभएको छैन भने, यसबाट उहाँ ती कुरा मानिसलाई देखाउन चाहनुहुन्‍न भन्‍ने पुष्टि हुन्छ। परमेश्‍वरले मानिसले जानून् भनेर चाहने सबै कुरा उहाँका वचनमा छन्, अनि तैँले बुझ्नुपर्ने सबै सत्यता उहाँका वचनमा छन्। तैँले बुझ्नुपर्ने कति धेरै सत्यता छन्। तैँले परमेश्‍वरका वचनहरूभित्र मात्र खोजे पुग्छ; यदि केही कुरा त्यहाँ भेटिन्‍न भने, त्यसको उत्तरका लागि जोड नदे। यदि परमेश्‍वरले तँलाई बताउनुभएको छैन भने, सोधिरहनु वा अनुसन्धान गरिरहनु व्यर्थ हो। तैँले जान्‍नुपर्ने सबै कुरा उहाँले तँलाई बताउनुभएको छ, र तैँले जान्‍नु नपर्ने कुराहरू तँलाई बताउनु वा खुलासा गर्नुहुनेछैन। वर्तमान समयमा, अधिकांश विश्‍वासीहरूले अहिलेसम्म सही मार्गमा प्रवेश गरेका छैनन्; तिनीहरू परमेश्‍वरका वचनहरू पढ्दा ती वचनमा कसरी चिन्तन गर्ने भनी समेत जान्दैनन्, तिनको अभ्यास वा अनुभव गर्नु त परै जाओस्। केही यस्ता समेत छन् जो आफ्नो कर्तव्य पूरा गर्दैनन्, वा उचित कार्यमा संलग्न हुँदैनन्। यस्ता विश्‍वासीहरूलाई सत्यता बुझ्न झन् कठिन हुन्छ। सत्यता बुझ्न लामो समयको अनुभव चाहिन्छ। यदि तँ होसियारीपूर्वक परमेश्‍वरका वचनहरू पढ्दैनस् वा उहाँका वचनको अभ्यास वा अनुभव गर्दैनस् भने कसरी सत्यता बुझ्नेछस् वा वास्तविकतामा प्रवेश गर्नेछस्? यदि तँ परमेश्‍वरको काममा समर्पित भइनस् भने कसरी विश्‍वासको सही मार्गमा प्रवेश गर्नेछस्? अनि यदि तँ विश्‍वासको सही मार्गमा प्रवेश गरिनस् भने तैँले कसरी मुक्ति पाउनेछस्? साँचो विश्‍वासीहरू यी मामिलामा स्पष्ट हुनैपर्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्