इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ (भाग तीन)

परमेश्‍वरमा विश्‍वास गर्न र जीवनको सही मार्गमा हिँड्नका लागि, तैँले कम्तीमा पनि मर्यादा र मानव रूपसाथ जिउनुपर्छ, तँ मानिसहरूको भरोसालायक र मानिसहरूले मूल्यवान्‌ ठान्‍ने हुनुपर्छ, र मानिसहरूलाई तेरो चरित्र र निष्ठामा सारतत्व छ, र तैँले आफूले बोलेको हरेक कुरालाई व्यवहारमा लागु गर्छस् र आफ्नो हरेक वचनमा अटल रहन्छस् भन्‍ने अनुभूति हुनुपर्छ। मानिसहरूले तँलाई यसरी मूल्याङ्कन् गर्नुपर्छ: तिनीहरूले तँलाई तैँले निश्‍चय नै आफ्नो बोलीको मान राख्‍छस्, आफूले वाचा गरेको कुरा निश्‍चय नै पूरा गर्छस्, र आफूलाई जिम्‍मा दिइएको कुरा निश्‍चय नै कर्तव्यनिष्ठ भई र सारा हृदयले, अनि आफूलाई काम जिम्‍मा लगाउने व्यक्ति पूर्ण रूपले सन्तुष्ट हुने गरी पूरा गर्छस् भनेर भन्‍नुपर्छ। के यस्तो व्यक्ति वचनको पक्‍का होइन र? के यस्ता मानिसहरू मर्यादासाथ जिउँदैनन् र? (जिउँछन्।) कतिपय व्यक्तिहरू यस्ता हुन्छन्, जसलाई कसैले पनि कुनै काम जिम्‍मा दिने आँट गर्दैन। जब अरूले तिनीहरूलाई काम जिम्‍मा लगाउँछ, त्यो पनि काम जिम्‍मा दिन लायक अर्को उचित व्यक्ति नपाएर, र तिनीहरू एउटै मात्र विकल्प भएर गरिएको हुन्छ, र त्यसपछि पनि तिनीहरूलाई रेखदेख गर्नका लागि कोही न कोही खटाइनैपर्छ। यो कस्तो खालको व्यक्ति हो? के यो मर्यादा भएको व्यक्ति हो? (होइन।) तिनीहरूले बोल्ने हरेक कुराको तैँले विश्‍लेषण र जाँच गर्नुपर्छ, तैँले ती कुराहरूको अनुमान लगाउनुपर्छ, र तैँले तिनीहरूको स्वरशैलीमा ध्यान दिनुपर्छ, र आफू वरपरका मानिसहरूबाट पुष्टि र प्रमाणीकरण खोज्नुपर्छ। जब तिनीहरूले कुनै अभिव्यक्ति दिन्छन् वा कुनै कुराबारे बोल्छन्, तब तिनीहरूको भरोसायोग्यताको तह लगभग शून्य नै हुन्छ। तिनीहरूले बोलिरहेको कुरा अस्तित्वमा हुन सक्छ, तर तिनीहरूले त्यो कुराबारे बढाइचढाइ वा घटाइलुकाइ गरेका हुन सक्छन्, या त त्यो कुरा बिलकुलै अस्तित्वमै नरहेको र तिनीहरूले केवल कुरा बनाइरहेको मात्र हुन सक्छ। अनि, तिनीहरूले किन कुरा बनाउँछन्? किनभने तिनीहरू मानिसहरूलाई छल्न, र मानिसहरूले तिनीहरूलाई मेधावी र सक्षम ठानून् भन्‍ने चाहन्छन्; तिनीहरूको लक्ष्य यही हुन्छ। के अरू मानिसहरूले यस्ता व्यक्तिलाई मन पराउँछन्? (पराउँदैनन्।) यस्तालाई तिनीहरू कति मन नपराउने गर्छन्? मानिसहरू यस्ता व्यक्तिहरूलाई घृणा गर्छन् र हेयको दृष्टिले हेर्छन्—र तिनीहरूलाई यस्तासँग भेट नभएको भए बेस हुन्थ्यो भन्‍ने समेत लाग्‍न सक्छ। यस्ता व्यक्तिहरूसित हुँदा, मानिसहरूले यिनीहरूले बोलेको कुनै पनि कुरा पत्याउने वा गम्भीरतासाथ लिने गर्दैनन्; यिनीहरूले सानोतिनो गफ मात्र गर्छन्, र कुनै बाह्य मामलाहरूबारे यत्तिकै बोल्दै झारा टार्ने काम मात्र गर्छन्। यस्ता व्यक्तिहरूले सत्य बोल्दासमेत, अरू मानिसहरूलाई पत्यार लाग्दैन। यसप्रकारका व्यक्तिहरू पूरै व्यर्थ र तुच्छ हुन्छन्; कसैले पनि यिनीहरूलाई मूल्यवान्‌ ठान्दैनन्। जब कुनै व्यक्तिको व्यवहार यो हदमा पुग्छ, तब के उसमा कुनै मर्यादा हुन्छ र? (हुँदैन।) कसैले पनि उसलाई कुनै कुराको जिम्‍मा दिँदैन, कसैले पनि उसलाई भरोसा गर्दैन, कसैले पनि ऊसामु आफ्नो हृदय उदाङ्गो पार्दैन, र कसैले पनि उसले बोलेको कुरा पत्याउँदैन; अरू मानिसहरूले सुनिदिन्छन् मात्र, तर त्योभन्दा बढी केही गर्दैनन्। जब यस्ता व्यक्तिहरूले “मैले योचोटि चाहिँ सत्य बोल्दै छु” भनेर भन्छन्, तब यिनीहरूले भनेको कुरा सत्य नै हो भने पनि, त्यो कसैले पनि पत्याउँदैन, र त्यसप्रति कसैले पनि ध्यान दिँदैन। जब यिनीहरूले “मैले बोलेका सबै कुराहरू झूटा होइनन्, होइन र?” भनेर भन्छन्, तब मानिसहरूले यस्तो जबाफ दिन्छन्, “म तपाईँले बोलेका कुरा सत्य हुन् कि झूटा भनेर विश्‍लेषण गर्न चासो राख्दिनँ। तपाईँले बोलेको कुरा सुन्‍न थकाइलाग्दो हुन्छ; मैले तपाईँका मनसाय र अभिप्रायहरूको विश्‍लेषण र जाँच गर्नुपर्छ, र यसमा निकै झमेला हुन्छ। त्यस्तो काम गर्दा लाग्ने समय मैले परमेश्‍वरका वचनको कुनै खण्डबारे मनन गर्न वा कुनै भजन गाउन सिक्‍नमा लगाउन सक्छु, र ती कुराहरू गरेर मैले वास्तवमै केही फाइदाहरू प्राप्त गर्न सक्छु। मैले तपाईँसित कुरा गरेर केही पनि प्राप्त गर्न सक्दिनँ। तपाईँले बोलेको एक शब्दमा पनि सत्यता हुँदैन, र म तपाईँसँग कुनै सरोकार राख्न चाहन्‍नँ।” तिनीहरूले यस्तालाई यसरी नै छोडिदिन्छन्। आजभोलि तैँले बारम्बार गैरविश्‍वासीहरूले यसो भनेको सुन्‍नेछस्, “तपाईँ सत्य सुन्‍न चाहनुहुन्छ कि बरु झूट सुन्‍न चाहनुहुन्छ?” कसैले पनि झूट सुन्‍न चाहँदैन। त्यसकारण, सधैँ झूटो बोल्ने र छलकपट गर्नेहरू सबैभन्दा निकृष्ट मानिसहरू हुन्; तिनीहरू व्यर्थका हुन्। कसैले पनि तिनीहरूलाई ध्यान दिन चाहँदैन, कसैले पनि तिनीहरूसित उठबस गर्न मन गर्दैन, झन् तिनीहरूसामु हृदय उदाङ्गो पार्ने वा मित्रता गाँस्ने त कुरै नगरौँ। के त्यस्ता मानिसहरूसित कुनै चरित्र वा मर्यादा हुन्छ र? (हुँदैन।) त्यस्ता मानिसहरूलाई भेट्ने हरेक व्यक्तिले तिनीहरूलाई घृणा गर्नेछ; तिनीहरू आफ्नो बोलीवचन, कार्यव्यवहार, चरित्र र मर्यादामा कहीँकतै भरोसालायक हुँदैनन्—त्यस्ता व्यक्तिहरूमा कुनै सारतत्व नै हुँदैन। यदि तिनीहरू मेधावी र प्रतिभावान्‌ हुन्थे भने, के तिनीहरूलाई मानिसहरूले मन पराउँथे र आदर गर्थे? (गर्दैनथे।) त्यसकारण, एकअर्कासित घुलमिल हुनका लागि मानिसहरूमा के हुनुपर्छ? तिनीहरूमा चरित्र, निष्ठा, र मर्यादा हुनुपर्छ, र तिनीहरू अरूले आफूसामु आफ्नो हृदय उदाङ्गो पार्न सक्ने व्यक्ति हुनुपर्छ। मर्यादा भएका सबै मानिसहरूमा अलिअलि व्यक्तित्व हुन्छ, तिनीहरू कहिलेकाहीँ अरूहरूसित राम्ररी घुलमिल हुन सक्दैनन्, तर तिनीहरू इमान्दार हुन्छन्, र तिनीहरूमा कुनै झूटोपन वा छलकपट हुँदैन। अरूहरूले अन्त्यमा तिनीहरूलाई उच्‍च सम्‍मान दिन्छन्, किनकि तिनीहरू सत्यता अभ्यास गर्न सक्छन्, तिनीहरू इमान्दार हुन्छन्, तिनीहरूमा मर्यादा, निष्ठा र चरित्र हुन्छ, तिनीहरूले कहिल्यै पनि अरूबाट फाइदा उठाउँदैनन्, तिनीहरूले समस्यामा परेका मानिसहरूलाई मद्दत गर्छन्, तिनीहरू मानिसहरूसित विवेक र समझसाथ व्यवहार गर्छन्, र तिनीहरूले कहिल्यै पनि अरूबारे हतारमा निर्णय लिँदैनन्। अरू मानिसहरूबारे मूल्याङ्कन्‌ र छलफल गर्दा, तिनीहरूले बोल्ने हरेक कुरा सही हुन्छ, तिनीहरूले आफूलाई थाहा भएको कुरा मात्र बताउँछन् र आफूलाई थाहा नभएको कुराबारे मुख चलाउँदैनन्, तिनीहरूले मिठास थपेर कुरा गर्दैनन् र तिनीहरूका बोलीवचनहरूले प्रमाण वा सन्दर्भको काम गर्न सक्छन्। बोल्दा र काम गर्दा, निष्ठा भएका मानिसहरू तुलनात्मक रूपमा व्यावहारिक र भरोसालायक हुन्छन्। निष्ठा नभएकाहरूलाई कसैले पनि मूल्यवान्‌ ठान्दैन, त्यस्ताले बोल्ने वा गर्ने कुरामा कसैले पनि ध्यान दिँदैन, तिनीहरूका बोली र कार्यहरूलाई कसैले महत्त्वपूर्ण मान्दैन, र कसैले पनि तिनीहरूलाई भरोसा गर्दैन। यस्तो किन हुन्छ भने, तिनीहरूले अत्यन्तै धेरै झूट र अत्यन्तै थोरै इमान्दार शब्दहरू बोल्छन्, र अरूहरूसित अन्तरक्रिया गर्दा वा अरूका लागि काम गर्दा तिनीहरूमा निष्कपटता हुँदैन, तिनीहरूले सबैलाई छल्‍ने र मूर्ख बनाउने प्रयास मात्र गर्छन्, र कसैले पनि तिनीहरूलाई मन पराउँदैन। के तिमीहरूले आफ्नो नजरमा भरोसायोग्य कोही भेट्टाएका छौ? के तिमीहरू आफूलाई अरू मानिसहरूको भरोसालायक ठान्छौ? के अरू मानिसहरूले तिमीहरूलाई भरोसा गर्न सक्छन्? यदि कसैले तँलाई कुनै अर्को व्यक्तिको अवस्थाबारे सोध्छ भने, तैँले तेरो आफ्नै इच्‍छाअनुसार त्यो व्यक्तिको लेखाजोखा र मूल्याङ्कन गर्नु हुँदैन, तेरा शब्दहरू वस्तुपरक, सही र तथ्यहरूअनुरूप हुनुपर्छ। तैँले आफूले बुझेका कुराहरूबारे बोल्‍नुपर्छ, र आफूले भित्री तथ्य नबुझेका कुराहरूबारे बोल्नु हुँदैन। तँ त्यो व्यक्तिप्रति न्यायसङ्गत र निष्पक्ष हुनुपर्छ। त्यो जिम्‍मेवार ढङ्गले व्यवहार गर्नु हो। यदि तैँले सतही तहको घटना मात्र अवलोकन गरेको छस् भने, र तैँले भन्‍न चाहेको कुरा त्यस व्यक्तिबारेको तेरो आफ्नै मूल्याङ्कन्‌ मात्र हो भने, तैँले अन्धाधुन्ध रूपमा त्यो व्यक्तिबारे आफ्नो फैसला सुनाउने काम गर्नु हुँदैन, र तैँले त्यो व्यक्तिको आलोचना त गर्नै हुँदैन। तैँले जे भन्छस् त्योभन्दा पहिले “यो बस मेरो आफ्नै मूल्याङ्कन हो” वा “मलाई चाहिँ यस्तो लाग्छ है” भनेर भन्‍नुपर्छ। यसरी, तेरा शब्दहरू तुलनात्मक रूपमा अलि वस्तुगत हुनेछन्, अनि तैँले भनेको कुरा सुनेपछि, त्यो सुन्‍ने व्यक्तिले तेरा शब्दहरूमा रहेको इमान्दारिता र तेरो निष्पक्ष मनोवृत्ति अनुभूत गर्नेछ, र उसले तँलाई भरोसा गर्न सक्‍नेछ। के तिमीहरू यस्तो कुरा हासिल गर्न सक्‍नेमा पक्‍का छौ? (छैनौँ।) यसले तिमीहरू अरूहरूप्रति पर्याप्त रूपमा इमान्दार छैनौ, र तिमीहरूको आफ्नो आचरण अँगाल्ने र कामकाज सम्हाल्‍ने तौरतरिकामा सच्‍चाइ र इमान्दार मनोवृत्ति छैन भन्‍ने प्रमाणित गर्छ। मानौँ, कसैले तँलाई “म तपाईँलाई भरोसा गर्छु: तपाईँ त्यो व्यक्तिबारे के सोच्‍नुहुन्छ?” भनेर सोध्छ रे। अनि तैँले “त्यो मान्छे ठिकै छ” भनेर भन्छस्। उसले फेरि सोध्छ, “के तपाईँ अझै विस्तृतमा बताउन सक्‍नुहुन्छ?” अनि तैँले भन्छस्, “त्यो व्यक्ति शिष्ट छ, ऊ आफ्नो कर्तव्य निभाउँदा मूल्य चुकाउन इच्छुक हुन्छ, र ऊ मानिसहरूसित राम्ररी घुलमिल हुन्छ।” के यी कुराहरूको कुनै व्यावहारिक प्रमाण छ? के यी भनाइहरू त्यो व्यक्तिको चरित्रको प्रमाण हुन काफी छन्? छैनन्। त्यसोभए, के तँ भरोसायोग्य छस् त? (छैनँ।) यी तिनै भनाइहरूमा कुनै विषयविशेष विवरण समावेश छैन, यी त केवल सबैलाई भनिने, खोक्रा र झाराटारूवा शब्दहरू मात्र हुन्। यदि तैँले भर्खरै त्यो व्यक्तिलाई भेटेर उसको रूपरङ्गको आधारमा ऊ ठिकै छ भनेर भनेको थिइस् भने, त्यो सामान्य कुरा हुन्थ्यो होला। तर तँ त्यो व्यक्तिसँग केही समयदेखि नै सम्पर्कमा थिइस्, त्यसैले तैँले त्यो व्यक्तिबारे केही सारगत समस्याहरू पत्ता लगाउन सक्नुपर्थ्यो। मानिसहरूले त्यो व्यक्तिबारे तेरो हृदयमा कस्तो लेखाजोखा र दृष्टिकोण छ भनेर सुन्‍न चाहन्छन्, तर तैँले वास्तविक, वा गहन, वा मूलभूत कुरा केही पनि भन्दैनस्, त्यसकारण मानिसहरूले तँलाई भरोसा गर्नेछैनन्, र तँसँग अबउप्रान्त कुनै अन्तरक्रिया गर्न चाहनेछैनन्।

दाजुभाइ-दिदीबहिनीहरूसँग अन्तरक्रिया गर्दा, यसबाट तैँले फाइदा पाउनका लागि तैँले तिनीहरूसामु आफ्नो हृदय उदाङ्गो पार्नुपर्छ, र तिनीहरूलाई आफ्नो भित्री मनका कुराहरू बताउनुपर्छ। आफ्नो कर्तव्य निभाउने क्रममा त झन् आफ्नो हृदय उदाङ्गो पार्नु र आफ्नो भित्री मनका कुराहरू बताउनु अझै महत्त्वपूर्ण हुन्छ; तब मात्र तैँले सँगसँगै मिलेर काम गर्नेछस्। तर यदि कसैले तँसामु आफ्नो हृदय उदाङ्गो पार्दैन भने, यदि ऊ सत्यता स्विकार्ने व्यक्ति होइन भने, र यसको साटो यदि ऊ अत्यन्तै छली व्यक्ति हो भने, त्यस्तो व्यक्तिसामु आफ्नो हृदय उदाङ्गो पार्नु मूर्खता हुन्छ, र त्यसो गरेमा त्यसबाट सजिलै झमेला पर्न सक्छ। विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसित कसरी अन्तरक्रिया गर्ने भन्‍ने बारे तँसित सिद्धान्तहरू हुनुपर्छ; तैँले परमेश्‍वरमा साँचो विश्‍वास गर्ने अनि सत्यता स्विकार्न सक्‍नेहरूसामु मात्र आफ्नो हृदय उदाङ्गो पार्ने र खुलेर कुरा गर्ने गर्नुपर्छ। यदि तैँले दुष्ट मानिस र अविश्‍वासीहरूसामु आफ्नो हृदय उदाङ्गो पार्छस् भने, तँ मूर्ख र अज्ञानी अनि बुद्धिहीन होस्। तैँले परमेश्‍वरमा साँचो विश्‍वास गर्ने अनि सत्यता स्विकार्न सक्‍ने विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसामु मात्र आफ्नो हृदय उदाङ्गो पार्नुपर्छ। छली मानिसहरू, अन्योलमा परेका मानिसहरू, दुष्ट मानिसहरू, र अविश्‍वासीहरू—सत्यता कति पनि स्वीकार नगरेका मानिसहरू—तिनीहरू कोही पनि विश्‍वासी दाजुभाइ-दिदीबहिनी होइनन्; तैँले जेसुकै गरे पनि तिनीहरूसामु आफ्नो हृदय उदाङ्गो पार्नु हुँदैन, तिनीहरूसामु हृदय उदाङ्गो पार्नु भनेको दियाबलसहरूसामु आफ्नो हृदय उदाङ्गो पार्नु हो, र यसले अन्त्यमा तँलाई तिनीहरूका षडयन्त्र र जालहरूमा पार्ने सम्भावना अधिक हुन्छ। अगुवा र सेवकहरूमाझ पनि झूटा अगुवा र झूटा सेवकहरू हुन्छन्, र विश्‍वासीहरूमाझ पनि झूटा विश्‍वासी र अविश्‍वासीहरू हुन्छन्। तिनीहरूमध्ये कोही पनि विश्‍वासी दाजुभाइ-दिदीबहिनी होइनन्, त्यसकारण तैँले जेसुकै गरे पनि, तिनीहरूलाई विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूजस्तो व्यवहार नगर्। दयालु हृदय भएका र सत्यतालाई प्रेम गर्नेहरू अनि सत्यता स्विकार्न र अभ्यास गर्न सक्‍नेहरू मात्रै विश्‍वासी दाजुभाइ-दिदीबहिनी हुन्, र जब तैँले यी सच्‍चा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसित अन्तरक्रिया गर्छस्, तब तिनीहरूसामु आफ्नो हृदय उदाङ्गो पार्नुपर्छ, तिनीहरूसित तैँले पूरै मन खोलेर कुरा गर्नुपर्छ, अनि त्यसपछि मात्र तिमीहरूले एकअर्कालाई प्रेम गर्न र आफ्ना कर्तव्यहरू निभाउने क्रममा राम्रोसित सद्‌भावपूर्ण सहकार्य गर्न सम्भव हुनेछ। कहिलेकाहीँ, जब दुई जना मानिसहरूले अन्तरक्रिया गर्छन्, तिनीहरूको व्यक्तित्वबीच टकराव हुन्छ, वा तिनीहरूको पारिवारिक वातावरण, पृष्ठभूमि वा आर्थिक अवस्था मिल्दैन। तर यदि यी दुई जना मानिसहरूले एकअर्कासामु आफ्नो हृदय उदाङ्गो पार्न र आफ्‍ना समस्याहरूबारे पूर्ण रूपमा खुलस्त हुन सक्छन्, र कुनै पनि झूट वा छलविना कुराकानी गर्न सक्छन्, र एक-अर्कालाई आफ्‍नो हृदय देखाउन सक्छन् भने, यसरी तिनीहरू सच्‍चा मित्र बन्‍न सक्छन्, जसको अर्थ घनिष्ठ मित्र बन्‍नु भन्‍ने हुन्छ। सायद, जब उक्त व्यक्तिलाई कठिनाइ हुन्छ, उसले अरू कसैलाई होइन, बरु तँलाई नै खोज्‍नेछ, र उसले उसलाई मद्दत गर्न तँ मात्र सक्षम छस् भनेर तँलाई नै भरोसा गर्नेछ। यदि तैँले उससँग रिसाएर कुरा गरिस् भने पनि, उसले तँसँग तर्कवितर्क गर्नेछैन, किनभने उसलाई तँ निष्कपट हृदय भएको इमानदार व्यक्ति होस् भन्‍ने थाहा छ। उसले तँलाई भरोसा गर्छ, त्यसकारण तैँले उसलाई जेसुकै भने पनि वा ऊप्रति जस्तोसुकै व्यवहार गरे पनि, उसले सबै कुरा बुझ्‍न सक्‍नेछ। के तिमीहरू त्यस्तो मान्छे बन्‍न सक्छौ? के तिमीहरू त्यस्तो मान्छे हौ? होइनौ भने, तिमीहरू इमानदार मानिस होइनौ। जब तैँले अरूसँग अन्तरक्रिया गर्छस्, तैँले पहिले उनीहरूलाई तेरो साँचो हृदय र निष्कपटता बुझ्न दिनुपर्छ। यदि, अरूसँग बोल्दा र सँगसँगै मिलेर काम गर्दा, र अरूलाई सम्पर्क गर्ने प्रयास गर्दा, कसैको बोलीवचन लापरवाहीपूर्ण, आडम्बरी, ठट्यौलीपूर्ण, चापलुसीले भरिएको, गैरजिम्मेवार, र काल्पनिक छन् भने, वा यदि उनीहरू केवल अरूको कृपा पाउनका निम्ति मात्रै बोल्छन् भने, उनीहरूका कुराहरूमा पूर्ण विश्‍वसनीयताको कमी हुन्छ, र उनीहरू अलिकति पनि निष्कपट हुँदैनन्; अरू मानिसहरू जोसुकै भए पनि तिनीहरूसँग अन्तरक्रिया गर्ने उनीहरूको तरिका यही हो। त्यस्तो व्यक्तिमा इमानदार हृदय हुँदैन। यो इमानदार व्यक्ति होइन। मानौँ, कुनै व्यक्ति नकारात्मक स्थितिमा छ, र उसले निष्कपट रूपमा तँलाई भन्छ: “मलाई ठ्याक्कै बताउनुहोस्, म किन यति धेरै नकारात्मक छु। मैले यो पत्ता लगाउनै सकेको छैन!” अनि मानौँ, वास्तवमा तँलाई आफ्नो हृदयमा उसको समस्याबारे थाहा छ, तर तँ त्यो कुरा उसलाई भन्दैनस्, बरु त्यसको साटो यसो भन्छस्: “यो केही पनि होइन। तपाईँ नकारात्मक भइरहनुभएको हुनुहुन्‍न; मलाई पनि त्यस्तै हुने गर्छ।” त्यो व्यक्तिका लागि यी शब्दहरू ठूलो सान्त्वना बन्छन्, तर तेरो मनोवृत्ति निष्कपट हुँदैन। तँ उसलाई सहज महसुस गराउन र सान्त्वना दिनका निम्ति ऊसँग लापरवाह भइरहेको हुन्छस्; तँ ऊसँग इमानदारीपूर्वक बोल्‍नबाट जोगिएको हुन्छस्। उसले आफ्नो नकारात्मकता त्यागोस् भनेर तैँले उसलाई इमानदारीसाथ सहायता गरिरहेको र उनीहरूका समस्याहरू प्रष्टताका साथ राखिरहेको हुँदैनस्। तैँले एक इमानदार व्यक्तिले गर्नुपर्ने काम गरिरहेको छैनस्। उसलाई सान्त्वना दिन र तिमीहरूको बीचमा कुनै प्रकारको दुश्‍मनी वा झगडा नहोस् भनेर मात्र तैँले ऊसँग झारा टार्ने काम मात्र गरेको छस्—र यसो गर्नु एक इमानदार व्यक्ति बन्‍नु होइन। यसैले, एक इमानदार व्यक्ति बन्‍नका लागि, यस प्रकारको परिस्थिति सामना गर्नुपर्दा, तैँले के गर्नुपर्छ? तैँले देखेका र पहिचान गरेका कुराहरू उसलाई बताउनुपर्छ: “मैले जे देखेको र अनुभव गरेको छु, त्यो म तपाईँलाई बताउँछु। मैले भनेको कुरा सही छ कि गलत छ, तपाईँ नै निर्णय गर्नुहोस्। यदि यो गलत छ भने, तपाईँले यसलाई स्वीकार गर्नु पर्दैन। यदि यो सही छ भने, म आशा गर्दछु तपाईँले यसलाई स्वीकार गर्नुहुनेछ। यदि मैले भनेको कुनै कुरा तपाईंलाई सुन्न गाह्रो लाग्यो र त्यसले तपाईँलाई चोट पुर्‍यायो भने, म आशा गर्दछु तपाईँले यस कुरालाई परमेश्‍वरबाट आएको भनी स्वीकार गर्न सक्नुहुनेछ। मेरो अभिप्राय र उद्देश्य भनेको तपाईँलाई सहायता गर्नु हो। म यो समस्यालाई स्पष्ट रूपमा देख्छु: तपाईँ आफूलाई अपमान गरिएको र आफ्नो अहम्‌मा कसैले साथ नदिएको महसुस गर्नुहुन्छ, र तपाईँलाई सबैले तुच्छ ठान्छन्, तपाईँलाई आक्रमण गरिँदैछ र तपाईँमाथि त्यस्तो अन्याय त कहिल्यै भएको थिएन भन्‍ने सोच्नुहुन्छ, त्यसैले तपाईँ त्यो स्विकार्न सक्नुहुन्‍न र नकारात्मक बन्नुहुन्छ। तपाईँलाई के लाग्छ—के साँच्चै यस्तो भइरहेको छ?” अनि यो सुनेर उसले कुरा यही नै हो भन्‍ने महसुस गर्छ। वास्तवमा तेरो हृदयमा यही कुरा हुन्छ, तर यदि तँ इमानदार व्यक्ति होइनस् भने, तैँले त्यो कुरा भन्‍ने छैनस्। तैँले यसो भन्‍ने छस्, “म पनि प्रायः नकारात्मक नै बन्ने गर्छु,” र जब अर्को व्यक्तिले सबै जना नकारात्मक हुँदा रहेछन् भन्‍ने सुन्छ, तब उसलाई नकारात्मक हुनु सामान्य नै रहेछ भन्‍ने लाग्छ, र अन्त्यमा, उसले आफ्नो नकारात्मकतालाई छोड्दैन। यदि तँ एक इमानदार व्यक्ति होस् र तैँले इमानदार मनोवृत्ति र इमानदार हृदयले उसलाई सहायता गर्छस् भने, तैँले उसलाई सत्यता बुझ्न र उसको नकारात्मकता छोड्न सहायता गर्न सक्छस्।

इमानदारीता अभ्यास गर्दा यसले धेरै पक्ष समेट्छ। अर्को शब्‍दमा भन्दा, इमानदार बन्‍नुको मानक एक पक्षबाट मात्रै पूरा गर्न सकिँदैन; इमानदार बन्‍नुभन्दा पहिले तँ धेरै हिसाबमा मानकको स्तरमा पुग्‍नुपर्छ। कतिपय मानिसहरू सधैँ सोच्छन् कि इमानदार बन्‍नका लागि झूट मात्रै नबोले पुग्छ। के यो दृष्टिकोण सही छ? के इमानदार बन्‍ने कार्यमा झूट नबोल्‍ने कुरा मात्रै संलग्‍न हुन्छ? होइन—यसमा अरू धेरै पक्षहरू पनि सम्बन्धित हुन्छन्। पहिलो कुरा, तैँले जेसुकै सामना गरे पनि, चाहे त्यो कुरा तैँले आफैले देखेको होस् वा अरू कसैले तँलाई बताएको होस्, चाहे यो मानिसहरूसँग अन्तरक्रिया गर्ने विषय होस् वा समस्या समाधान गर्ने कुरा होस्, चाहे यो तैँले पूरा गर्नुपर्ने कर्तव्य होस् वा परमेश्‍वरले तँलाई सुम्पनुभएको कुरा नै किन नहोस्, तैँले यसलाई सधैँ इमानदार हृदयका साथ लिनुपर्छ। व्यक्तिले काम-कुराहरूलाई एक इमानदार हृदयका साथ लिने अभ्यास कसरी गर्नुपर्छ? तँ जे सोच्छस् त्यही भन् र इमानदारीसाथ बोल्; खोक्रा, आडम्बरी, वा मिठो सुनिने कुराहरू नबोल्, चापलुसीपूर्ण वा पाखण्डी झूटा कुराहरू नबोल्, बरु तेरो हृदयमा भएका कुराहरू बोल्। इमान्दार बन्‍नु भनेको यही हो। आफ्नो हृदयमा भएका वास्तविक विचार र दृष्टिकोणहरू व्यक्त गर्—इमानदार मानिसहरूले गर्नुपर्ने कुरा यही हो। यदि तँ आफूले सोचेका कुराहरू कहिल्यै भन्दैनस्, र शब्दहरू तेरो हृदयभित्र घाउझैँ पाक्छन्, र तैँले बोलेका कुराहरू तैँले सोचेका कुराहरूसँग कहिल्यै मिल्दैनन् भने, त्यो इमान्दार व्यक्तिले गर्ने कुरा हुँदै होइन। उदाहरणका लागि, मानौँ तँ आफ्नो कर्तव्य राम्रोसित निभाउँदैनस्, र जब मानिसहरूले यो के भइरहेको हो भनेर सोध्छन्, तँ यस्तो जबाफ दिन्छस्, “म आफ्नो कर्तव्य राम्रोसित निभाउन चाहन्छु, तर विविध कारणहरूले गर्दा, मैले त्यो राम्ररी गर्न सकेको छैनँ।” वास्तवमा, तँलाई आफ्नो हृदयमा आफू मेहनती नभएको कुरा थाहा हुन्छ, तर तैँले सत्य बोल्दैनस्। यसको साटो, तैँले सत्य-तथ्य ढाकछोप गर्न र जिम्‍मेवारीबाट पन्छन हरप्रकारका कारण, औचित्य, र बहानाहरू झिक्छस्। के इमान्दार व्यक्तिले यस्तै गर्छ? (गर्दैन।) तैँले यी कुराहरू बोलेर मानिसहरूलाई मूर्ख बनाउँछस् र जसोतसो कुरा टार्छस्। तर तँभित्र जे छ, तँभित्र जे-जस्तो अभिप्राय, त्यसको सार भ्रष्ट स्वभाव नै हो। यदि तँ आफूभित्र भएका कुराहरू र आफ्ना अभिप्रायहरू खुला रूपमा बाहिर ल्याउन र चिरफार गर्न सक्दैनस् भने, ती कुराहरूलाई शुद्ध पार्न सकिँदैन—र यो कुरा सानोतिनो मामिला होइन! तैँले साँचो रूपमा बोल्नुपर्छ, “मैले कर्तव्य निभाउने कुरालाई अलि पछि सारेको सार्‍यै गर्दै आइरहेको छु। म झाराटारूवा र असावधान हुँदै आइरहेको छु। जब म राम्रो मुडमा हुन्छु, म अलिअलि प्रयत्‍न लगाउन सक्छु। तर जब म खराब मुडमा हुन्छु, म सुस्‍त भइहाल्छु, र मलाई प्रयत्‍न लगाउनै मन लाग्दैन, र म दैहिक आरामको लालच गर्न थाल्छु। त्यसैले, कर्तव्य निभाउने मेरा प्रयासहरू अप्रभावकारी छन्। विगतका केही दिनहरूदेखि परिस्थिति उल्टो हुँदै गइरहेको छ, र म तनमन लगाउँदै मेरो कार्यकुशलता सुधार्ने र राम्रोसित कर्तव्य निभाउने प्रयास गरिरहेको छु।” हृदयबाट बोल्‍नु भनेको यही हो। त्यो अर्को तरिकाले बोलेको चाहिँ हृदयबाट बोलेको होइन। आफूलाई काटछाँट गरिएला, आफ्नो समस्या मानिसहरूले थाहा पाउलान्, र आफूलाई जबाफदेही ठहराइएला भन्‍ने डरले, तैँले सत्यतथ्य ढाकछोप गर्न हरप्रकारका कारण, औचित्य, र बहानाहरू झिकिस्, र सुरुमा अरू मानिसहरूलाई त्यो परिस्थितिबारे बोल्न बन्द गर्ने तुल्याइस्, र त्यसपछि काटछाँटमा पर्नबाट जोगिन जिम्‍मेवारी अन्यत्र मोडिदिइस्। तेरा झूटहरूको स्रोत यही हो। झूटाहरूले जतिसुकै बोले पनि, तिनीहरूले बोलेको केही न केही कुरा निश्‍चय नै सत्य र वास्तविक नै हुने गर्छ। तर तिनीहरूले बोलेका मुख्य कुराहरूमा केही न केही झूट र तिनीहरूको केही न केही अभिप्राय रहेकै हुन्छ। त्यसकारण, के कुराचाहिँ सत्य हो र केचाहिँ असत्य हो भनेर खुट्ट्याउनु र छुट्याउनु एकदमै महत्त्वपूर्ण हुन्छ। तर यस्तो गर्न सजिलो छैन। तिनीहरूले बोलेका केही कुराहरू दूषित र सिँगारपटार गरिएका हुन्छन्, तिनीहरूले बोलेका कतिपय कुराहरू तथ्यसँग मेल खान्छन्, र तिनीहरूले बोलेका कति कुराचाहिँ तथ्यसँग बाझिन्छन्; यसरी तथ्य र कल्पना मिसिएपछि, सत्य र असत्य छुट्याउन गाह्रो हुन्छ। यस्तो व्यक्ति सबैभन्दा छली, र पहिचान गर्न सबैभन्दा गाह्रो व्यक्ति हुन्छ। यदि यस्ताले सत्यता स्विकार्न र इमानदारिता अभ्यास गर्न सक्दैनन् भने, तिनीहरू निश्‍चय नै हटाइनेछन्। त्यसोभए, मानिसहरूले कुन मार्ग चुन्‍नुपर्छ? इमान्दारीता अभ्यास गर्ने मार्ग कुन हो? तिमीहरूले सत्य बोल्न सिक्‍नुपर्छ, र आफ्ना वास्तविक स्थिति र समस्याहरूबारे खुलस्त सङ्गति गर्न सक्षम बन्‍नुपर्छ। इमान्दार मानिसहरूले अभ्यास गर्ने यसरी नै हो, र यस्तो अभ्यास सही हुन्छ। जोसँग विवेक र समझ हुन्छ, तिनीहरू सबै नै इमान्दार बन्‍ने कार्यमा लागिपर्न इच्छुक हुन्छन्। इमान्दार मानिसहरूले मात्र साँचो रूपमा खुसी र सहज महसुस गर्छन्, र परमेश्‍वरप्रतिको समर्पण हासिल गर्न सत्यता अभ्यास गरेर मात्रै मान्छेले वास्तविक खुसी उपभोग गर्न सक्छ।

मानिसहरूले इमानदार बन्‍ने अभ्यास गर्दा धेरै व्यावहारिक समस्याहरू देखा पर्छन्। कहिलेकाहीँ तिनीहरू सोच्दै नसोची बोल्छन्, केही क्षण चिप्लन्छन् र गलत अभिप्राय वा उद्देश्य, वा अभिमान र घमण्डद्वारा वशीभूत भएर तिनीहरूले झूट बोल्छन्, र त्यसको परिणामस्वरूप त्यसलाई लुकाउन तिनीहरूले झन्झन् धेरै झूट बोल्‍नुपर्छ। अनि अन्त्यमा, तिनीहरूलाई हृदयभित्र सहज महसुस हुँदैन तर तिनीहरूले ती झूटलाई फिर्ता लिन सक्दैनन्, तिनीहरूसँग आफ्‍नो गल्ती सुधार गर्ने, आफूले झूट बोलेँ भनेर स्विकार्ने साहस हुँदैन, र यसरी तिनीहरूको गल्तीले निरन्तरता पाइरहन्छ। यसपछि, तिनीहरूको अवस्था सधैँ नै हृदयलाई ढुङ्गाले थिचिरहेको जस्तै हुन्छ; तिनीहरू सधैँ दोषरहित हुने, गल्ती स्वीकार गरी पश्‍चात्ताप गर्ने मौका पाउन चाहन्छन्, तर तिनीहरूले कहिल्यै पनि यसलाई व्यवहारमा लागु गर्दैनन्। अन्ततः, तिनीहरूले यसबारेमा विचार गरेर आफैलाई भन्छन्, “म भविष्यमा आफ्‍नो कर्तव्य पूरा गर्दा यसको पूर्ति गर्नेछु।” तिनीहरूले सधैँ पूर्ति गर्नेछु भनी भन्छन्, तर कहिल्यै त्यसो गर्दैनन्। यो कुरा झूट बोलेपछि क्षमा मात्र माग्‍नुजत्तिको सरल छैन—के तैँले झूट बोल्नु र छली कार्यमा संलग्‍न हुनुका हानि र परिणामहरू पूर्ति गर्न सक्छस्? यदि, ठूलो आत्मघृणाले गर्दा, तैँले पश्‍चात्ताप अभ्यास गर्न सक्छस्, र त्यस्तो कुरा फेरि कहिल्यै गर्दैनस् भने, तैँले परमेश्‍वरको सहनशीलता र कृपा प्राप्त गर्न सक्छस्। यदि तैँले मिठा कुरा गरेर आफ्ना झूटहरूको पूर्ति भविष्यमा गर्नेछु भनी भन्छस्, तर साँचो रूपमा पश्‍चात्ताप गर्दैनस्, र त्यसपछि झूट बोल्‍ने र छल्‍ने कार्य जारी राख्छस् भने, तैँले अत्यन्तै जिद्दी भई पश्‍चात्ताप गर्न इन्कार गर्दैछस्, र तँलाई अवश्य नै हटाइनेछ। विवेक र समझ भएका मानिसहरूले यो कुरालाई पहिचान गर्नुपर्छ। झूट बोलेपछि र छली कार्यमा संलग्‍न भएपछि, सुधार गर्नेबारेमा मात्रै विचार गर्नु पर्याप्त हुँदैन; तैँले साँचो रूपमा पश्‍चात्ताप गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि तँ इमानदार बन्‍न चाहन्छस् भने, तैँले झूट बोल्‍ने र छल्‍ने समस्या समाधान गर्नैपर्छ। तैँले सत्य बोल्नैपर्छ, र व्यावहारिक काम गर्नैपर्छ। सत्य बोल्दा, कहिलेकाहीँ त्यसको परिणामस्वरूप तैँले इज्‍जत गुमाउन सक्छस्, र तँलाई काटछाँट गरिन सक्छ, तर त्यसो गरेर तैँले सत्यता अभ्यास गरेको हुनेछस्, र त्यसरी त्यो एउटै घटनामा परमेश्‍वरमा समर्पित हुनु र उहाँलाई सन्तुष्ट पार्नु पनि सार्थक नै हुनेछ, र त्यो तँलाई सान्त्वना दिलाउने कुरा नै हुनेछ। जे भए पनि, तँ आखिरमा इमानदार बन्ने अभ्यास गर्न सक्षम भएको हुनेछस्, आफ्नो बचाउ गर्ने वा आफूलाई निर्दोष साबित गर्ने प्रयास नगरी तैँले आखिरमा आफ्नो हृदयको कुरा बताउन सक्षम भएको हुनेछस्, र यही नै साँचो वृद्धि हो। तँलाई काटछाँट गरिए पनि वा प्रतिस्थापन गरिए पनि, तैँले आफ्नो हृदयमा स्थिर महसुस गर्नेछस्, किनभने तैँले झूट बोलिनस्; अनि, तैँले आफ्नो कर्तव्य राम्ररी पूरा नगरेको हुनाले, तँलाई काटछाँट गरिनु, र तैँले त्यसको जिम्‍मेवारी लिनुपर्ने हुनु सही कुरा थियो भन्‍ने महसुस गर्नेछस्। यो सकारात्मक मानसिक स्थिति हो। तर तँ छली कार्यमा संलग्‍न भइस् भने, यसबाट के-कस्ता परिणामहरू आउनेछन्? तँ छली कार्यमा संलग्‍न भएपछि, तँलाई हृदयमा कस्तो महसुस हुनेछ? असहज; तैँले सधैँ आफ्‍नो हृदयमा ग्‍लानि र भ्रष्टता रहेको अनुभव गर्नेछस्, तँलाई सधैँ दोषी महसुस हुनेछ: “म कसरी झूट बोल्‍न सकेँ? म फेरि पनि कसरी छली कार्यमा संलग्‍न हुन सकेँ? म किन यस्तो छु?” तँलाई आफ्‍नो शिर ठाडो पारेर हिँड्न नसकिएला जस्तो र परमेश्‍वरको सामना गर्दा अत्यन्तै लज्जित भएको महसुस हुनेछ। खास गरी, जब मानिसहरूले परमेश्‍वरको आशिष्‌ पाउँछन्, जब तिनीहरूले परमेश्‍वरको अनुग्रह, कृपा र सहनशीलता प्राप्त गर्छन्, तब तिनीहरू परमेश्‍वरलाई धोका दिनु लाजमर्दो कुरा भएको अझ बढी महसुस गर्छन्, र तिनीहरूलाई हृदयभित्र निकै धिक्‍कार लाग्छ, तर शान्ति वा आनन्द भने एकदमै कम मात्र महसुस हुन्छ। यसले के-कस्तो समस्या प्रदर्शित गर्छ? यो कि, मानिसहरूलाई छल्नु भनेको भ्रष्ट स्वभाव प्रकट हुनु हो, यो परमेश्‍वरविरुद्ध विद्रोह र उहाँको विरोध गर्नु हो, र त्यसैले यसले तँलाई पीडा दिनेछ। जब तैँले झूट बोल्छस् र छल्छस्, तँलाई आफूले एकदमै बठ्याइँपूर्वक र चलाखीसाथ बोलेँ, र आफ्नो छलको एउटा सानो सुराक पनि छोडिनँ भन्‍ने लाग्‍न सक्छ—तर पछि गएर तँलाई धिक्‍कार लाग्नेछ र दोषी महसुस हुनेछ, र त्यसले तँलाई जिन्दगीभर पछ्याउनसमेत सक्‍नेछ। यदि तँ अभिप्राय राखेर र जानीबुझी नै झूट बोल्छस् र छल्छस्, अनि एउटा यस्तो दिन आउँछ, जुन दिन तँलाई यसको गम्भीरता महसुस हुन्छ भने, यसले तेरो हृदय छुरीले घोपेजस्तो गरी घोप्‍नेछ, र तँ सधैँ यसलाई सुधार्न पाए पनि हुन्थ्यो भनेर मौका खोजिरहेको हुनेछस्। अनि तैँले गर्नुपर्ने पनि त्यही हो, होइन भने तँसँग कुनै विवेक नै छैन, र तैँले कहिल्यै पनि आफ्नो विवेकअनुसार जिएको छैनस्, र तँमा कुनै मानवता छैन, र तँसित कुनै चरित्र वा मर्यादा पनि छैन। यदि तँसित अलिकति चरित्र वा मर्यादा, अनि विवेकको केही सचेतना छ भने, जब तँलाई आफू झूट बोलिरहेको र छली कार्यमा संलग्‍न भइरहेको छु भन्‍ने महसुस हुन्छ, तब तँलाई आफ्नो यो व्यवहार लाजमर्दो, अपमानजनक र तुच्छ लाग्‍नेछ; अनि तैँले आफूले आफैलाई घृणा र तिरस्‍कार गर्नेछस्, र झूट र छलको मार्ग छोड्‍नेछस्। तर शैतानका कोटिकाहरूसित सामान्य मानवताको विवेक र समझ हुँदैन; तिनीहरू आफूले बोलेका जुनसुकै झूटहरूप्रति पनि विस्मृति र निस्फिक्री अवस्थामा रहन्छन्, र तिनीहरूसित आफूले झूट बोल्नुका सैद्धान्तिक आधारहरूसमेत हुन्छन्, र त्यो आधार यस्तो हुन्छ: झूट नबोली कुनै पनि महान्‌ काम सम्पन्‍न गर्न सकिँदैन, र त्यसैले तिनीहरू जिद्दी भई पश्‍चात्ताप गर्न अस्वीकार गर्छन्। तर विवेक र समझ भएका मानिसहरू भने फरक हुन्छन्। यस्ता मानिसहरू शैतानद्वारा भ्रष्ट पारिएका मात्र हुन्छन्, र तिनीहरूले भ्रष्ट स्वभाव प्रकट गरे पनि, तिनीहरू दुष्ट मानिस होइनन्, तिनीहरूमा विवेकको सचेतना हुन्छ, तिनीहरूमा सामान्य मानवताको खाँचो हुन्छ, र तिनीहरूमा असल, न्यायसङ्गत, र सकारात्मक कुराहरूप्रतिको प्रेमको पनि नैसर्गिक प्रवृत्ति र खाँचो हुन्छ। त्यसकारण, जब तिनीहरूले आफ्नो विवेकमार्फत दोषी महसुस गर्छन्, तिनीहरू आफैबारे मनन गर्न र साँचो रूपमा पश्‍चात्ताप गर्न सक्षम हुन्छन्। शैतान भनेको चरम दुष्टताले भरिपूर्ण कुरा हो। यसले सकारात्मक कुराहरू मन पराउँदैन, यसले असल कुराहरू मन पराउँदैन, र यसको प्रकृतिभित्र अँध्यारा र दुष्ट कुराहरू मात्र हुन्छन्, त्यहाँ भ्रष्ट र दुर्भावनापूर्ण कुराहरूबाहेक अरू केही हुँदैनन्; शैतानसित कुनै मानवता हुँदैन, यसलाई सामान्य मानवताको कुनै खाँचो हुँदैन, र यसमा विवेकको कुनै सचेतना पनि हुँदैन। तर मानिसहरू फरक हुन्छन्। तिनीहरू परमेश्‍वरद्वारा सृष्टि गरिएका हुन्, तिनीहरूसित विवेक र समझ हुन्छ; विवेक भएका मानिसहरूसित आफ्नो हृदयमा सचेतना हुन्छ, तिनीहरूले परमेश्‍वर वा अरू मानिसहरूलाई छल्ने प्रयास गर्दा विवेकको दोषारोपण र धिक्‍कार महसुस गर्न सक्छन्, र त्यही धिक्‍कार र दोषारोपणले तिनीहरूलाई पीडा दिन्छ। जब व्यक्तिले यस्तो पीडा महसुस गर्छ, जब उसले यो दोषारोपण र धिक्‍कार महसुस गर्छ, उसको विवेकभित्र सचेतना आउन थाल्छ: तिनीहरूलाई मानिसहरू इमान्दार हुनुपर्छ, र तिनीहरू सत्यता पछ्याउने मार्गमा हिँड्नुपर्छ भन्‍ने कुरा महसुस हुन थाल्छ। जब तिनीहरूलाई यस्तो खाँचो परिआउँछ, तब यो असल कुरा हो। अहिले, के तिमीहरूले झूट बोल्दा र छल्दा कुनै धिक्‍कार महसुस गर्छौ? (गर्छौँ।) तिमीहरूले धिक्‍कार महसुस गर्छौ भन्‍ने तथ्यले तिमीहरूमा विवेकको केही सचेतना छ र तिमीहरूका लागि अझै पनि केही आशा बाँकी छ भन्‍ने प्रमाणित गर्छ; यो भनेको मुक्ति प्राप्त गर्नका लागि तिमीहरूमा न्यूनतम रूपमा हुनुपर्ने सचेतनाको स्तर र व्यवहारको प्रकार हो। यदि तिमीहरूको विवेकले अलिकति पनि धिक्‍कार महसुस गर्दैन भने, त्यो समस्याजनक कुरा हो, र यसको अर्थ तिमीहरूमा मानवता छैन भन्‍ने हुन्छ। के अब तिमीहरू अरूलाई ढाँटेपछि र छलेपछि कसरी पश्‍चात्ताप गर्ने भनेर जान्दछौ? यदि तिमीहरू जिद्दीपूर्वक पश्‍चात्ताप गर्न अस्वीकार गर्छौ भने, त्यसको परिणाम के हुनेछ? तिमीहरू उद्धार गर्न नसकिने हुनेछौ। अब तिमीहरू सबैले परमेश्‍वरले विवेक, समझ, सामान्य मानवताको खाँचो, दुष्टबाट असल खुट्याउने क्षमता, र सकारात्मक र असल कुराहरूप्रतिको प्रेम, दुष्टताप्रतिको घृणा, र सत्यता स्विकार्ने क्षमता भएकाहरूलाई मुक्ति दिनुहुन्छ भनेर देख्‍न सक्छौ। त्यस्ता मानिसहरूलाई नै मुक्ति दिन सकिनेछ।

नोभेम्बर ३०, २०१७

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्