इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ (भाग दुई)

इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्नलाई, तैँले सबैभन्दा पहिले हरदिन प्रार्थनामा परमेश्‍वरसामु आफ्नो हृदय खोल्‍न र आफ्नो हृदयका गहनतम कुराहरू उहाँलाई भन्‍न सिक्‍नुपर्छ। उदाहरणको लागि, यदि तैँले आज झूट बोलिस् र त्यो अरू मानिसहरूले चाल पाएनन्, तर त्यसबारे सबैसामु खुलेर कुरा गर्न तँलाई साहस भएन भने, कम्तीमा तैँले आफूले जाँच गरेर पत्ता लगाएका गल्तीहरू र तैँले बोलेका झूटहरू मनन गर्नहेतु परमेश्‍वरसामु ल्याउनुपर्छ, र यसो भन्‍नुपर्छ: “हे परमेश्‍वर, मैले मेरा आफ्नै स्वार्थहरू रक्षा गर्न फेरि पनि झूट बोलेको छु, र म गलत थिएँ। यदि मैले फेरि पनि झूट बोलेँ भने, कृपया मलाई अनुशासित गर्नुहोस्।” परमेश्‍वर यस्तो मनोवृत्तिदेखि प्रसन्‍न हुनुहुनेछ, र उहाँले यसलाई स्मरण गर्नुहुनेछ। तँलाई यो झूट बोल्ने भ्रष्ट स्वभाव सुल्झाउनको लागि कठिन प्रयास आवश्यक पर्न सक्छ, तर चिन्ता नगर्, परमेश्‍वर तेरै छेउमा हुनुहुन्छ। उहाँले तँलाई मार्गदर्शन गर्नुहुनेछ, र तँलाई यो दोहोरिइरहने कठिनाइ पार गर्न मदत गर्नुहुनेछ, र तँलाई आफ्ना झूटहरू कहिल्यै नस्विकार्ने अवस्थाबाट ती झूटहरू स्विकार्ने अनि आफूले आफैलाई निर्धक्कसित प्रकाश गर्न सक्षम हुने अवस्थासम्म पुग्‍ने साहस प्रदान गर्नुहुनेछ। अनि तैँले आफ्ना झूटहरू स्विकार्न मात्र होइन, तँ किन झूट बोल्छस्, र ती झूटहरूपछाडि तेरा अभिप्राय र मनसायहरू के थिए भनेर निर्धक्‍कसित प्रकाश गर्नसमेत सक्षम हुनेछस्। जब तँसित यस्तो अवरोध पार गर्ने, र शैतानको पिञ्जरा र नियन्त्रणबाट उम्किने साहस हुन्छ, र तँ प्रगतिशील रूपमा अबउप्रान्त झूट नबोल्ने अवस्थामा पुग्दै जान्छस्, तब तँ बिस्तारै ज्योतिमा, र परमेश्‍वरको मार्गदर्शन र आशिष्‌मुनि जिउँदै जानेछस्। जब तँ आफ्नो दैहिक बन्धनहरूको अवरोध पार गरेर सत्यताप्रति समर्पित हुन, र खुला रूपमा आफैले आफ्नो खुलासा गर्न, र आफ्नो अडान सबैमाझ घोषणा गर्न, र कुनै आशङ्का नपाल्न सक्षम हुन्छस्, तब तँ आजाद र स्वतन्त्र हुनेछस्। जब तँ यसरी जिउँछस्, अरू मानिसहरूले तँलाई मन पराउने मात्र नभई परमेश्‍वरसमेत तँसित प्रसन्‍न हुनुहुनेछ। कहिलेकाहीँ, तैँले अझै पनि गल्ती गर्ने र झूट बोल्ने गरे पनि, र कहिलेकाहीँ तँसित अझै पनि व्यक्तिगत अभिप्राय, गुप्त मनसाय वा स्वार्थी र तुच्छ व्यवहार र सोचविचारहरू हुने भए पनि, तँ परमेश्‍वरको छानबिन स्विकार्न सक्षम हुनेछस्, र तैँले आफ्नो अभिप्राय, आफ्नो वास्तविक स्थिति, र आफ्ना भ्रष्ट स्वभावहरू उहाँसामु प्रकाश गर्न र उहाँबाट सत्यता खोजी गर्न सक्‍नेछस्। जब तैँले सत्यता बुझेको हुन्छस्, तब तँसित अभ्यासको मार्ग हुनेछ। जब तेरो अभ्यासको मार्ग सही हुन्छ, र तँ सही दिशातर्फ चल्छस्, तब तेरो भविष्य सुन्दर र उज्यालो हुनेछ। यसरी, तँ आफ्नो हृदय शान्त भएको स्थितिमा जिउनेछस्, र तेरो आत्माले भरणपोषण पाएको हुनेछ, र तैँले तृप्त र सन्तुष्ट भएको महसुस गर्नेछस्। तर यदि तँ आफ्नो देहको बन्धनबाट उम्किन सक्दैनस् भने, यदि तँ निरन्तर आफ्ना भावना, व्यक्तिगत स्वार्थ, र शैतानी दर्शनहरूद्वारा बाधित हुन्छस्, लुकीछिपी बोल्ने र व्यवहार गर्ने गर्छस्, र सधैँ छायाँमा लुक्ने गर्छस् भने, तँ शैतानको सत्ताअन्तर्गत जिइरहेको छस्। तर यदि तँ सत्यता बुझ्छस्, देहका बन्धनहरूबाट मुक्त हुन्छस् र सत्यता अभ्यास गर्छस् भने, तैँले बिस्तारै मानव स्वरूप धारण गर्दै जानेछस्। अनि, तँ आफ्ना बोलीवचन र कार्यहरूमा खुलस्त र सीधा हुनेछस्, र तँ आफ्ना राय, विचार र आफूले गरेका गल्तीहरू खुलासा गर्न सक्षम हुनेछस्, र यसरी सबैलाई ती कुराहरू स्पष्टसित देख्‍न दिनेछस्। अन्त्यमा, मानिसहरूले तँलाई पारदर्शी व्यक्तिको रूपमा पहिचान गर्नेछन्। यो पारदर्शी व्यक्ति भनेको के हो? यो भनेको असाधारण इमानदारीसाथ कुरा गर्ने व्यक्ति हो जसको बोलीवचन साँचो हुन्छ भनेर सबैले विश्‍वास गर्छन्। यदि उसले अनजानमै कुनै झूट वा कुनै गलत कुरा बोल्यो भने पनि, मानिसहरूले त्यो अनजानमा बोलिएको हो भन्‍ने जानेर उसलाई क्षमा दिन सक्‍नेछन्। यदि उसले आफूले ढाँटेको वा कुनै गलत कुरा बोलेको महसुस गर्‍यो भने, उसले माफी माग्‍नेछ, र आफूलाई सच्याउनेछ। यस्तो व्यक्ति नै पारदर्शी व्यक्ति हो। यस्तो व्यक्तिलाई सबैले मन पराउँछन्, र सबैले विश्‍वास गर्छन्। परमेश्‍वरको र अरूहरूको भरोसा जित्‍नका लागि तैँले यो स्तरमा पुग्नुपर्छ। यो सजिलो कार्य होइन—यो त व्यक्तिमा हुन सक्ने सबैभन्दा उच्‍चस्तरीय मर्यादा हो। यसप्रकारको व्यक्तिसँग आत्मसम्‍मान हुन्छ। यदि तँ अरूहरूको भरोसा नै जित्‍न सक्दैनस् भने, तैँले कसरी परमेश्‍वरको भरोसा प्राप्त गर्ने अपेक्षा गर्न सक्छस्? इज्‍जतहीन जीवन जिउने कति व्यक्तिहरू छन्, तिनीहरू निरन्तर झूट रचिरहन्छन्, र कामकुराहरूलाई लापरवाह रूपले नै लिइरहन्छन्। तिनीहरूमा जिम्‍मेवारीको अलिकति पनि बोध हुँदैन, तिनीहरू काटछाँट भोग्न अस्वीकार गर्छन्, तिनीहरू सधैँ भ्रामक तर्कहरूको सहारा लिन्छन्, र तिनीहरूलाई भेट्ने जति सबैले तिनीहरूलाई मन पराउँदैनन्। तिनीहरू लाजसरमको कुनै बोधबिनै जिउँछन्। के तिनीहरूलाई साँच्चै मानव मान्‍न सकिन्छ? अरूहरूबाट झिँजोलाग्दो र भर पर्न नसकिने मानिएका मानिसहरूले पूर्ण रूपमा आफ्नो मानवता गुमाइसकेका हुन्छन्। यदि अरूहरूले तिनीहरूमा भरोसा गर्न सक्दैनन् भने, के परमेश्‍वरले तिनीहरूमाथि भरोसा गर्न सक्‍नुहुन्छ र? यदि अरूहरूले तिनीहरूलाई मन पराउँदैनन् भने, के परमेश्‍वरले तिनीहरूलाई मन पराउन सक्‍नुहुन्छ र? परमेश्‍वरले त्यस्ता मानिसहरूलाई मन पराउनुहुन्‍न, घृणा गर्नुहुन्छ, र तिनीहरू निश्चित रूपमा हटाइनेछन्। मानिसको रूपमा व्यक्ति इमानदार हुनुपर्छ, र उसले आफ्ना प्रतिबद्धताहरूको सम्‍मान गर्नुपर्छ। चाहे अरूहरूको लागि कार्य गर्दा होस् वा परमेश्‍वरको लागि होस्, उसले आफ्ना वचनहरू पूरा गर्नुपर्छ। जब व्यक्तिले मानिसहरूको भरोसा जितिसकेको हुन्छ, र जब उसले परमेश्‍वरलाई सन्तुष्ट र आश्‍वस्त पार्न सक्छ, तब ऊ तुलनात्मक रूपमा अलि इमानदार हुन्छ। यदि तँ आफ्ना कार्य-व्यवहारहरूमा भरोसायोग्य छस् भने, अरूहरूले मात्र होइन, परमेश्‍वरले पनि तँलाई पक्कै मन पराउनुहुनेछ। इमानदार व्यक्ति भएर, तैँले परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन र तँ इज्‍जतसाथ जिउन सक्‍नेछस्। त्यसकारण, इमानदारी नै व्यक्तिको आचरणको जग हुनुपर्छ।

इमानदार व्यक्ति हुनका लागि सबैभन्दा महत्त्वपूर्ण अभ्यास के हो? तैँले परमेश्‍वरसँग आफ्नो हृदय खोल्नैपर्छ। तर हृदय खोल्नुको अर्थ के हो त? त्यसको अर्थ के हो भने तैँले परमेश्वरलाई आफूले सोचिरहेको कुरा, आफूमा भएको अभिप्राय, र तँलाई नियन्त्रित गर्ने कुरा बताउनुपर्छ, र त्यसपछि उहाँबाट सत्यता खोज्नुपर्छ। तैँले जे भने पनि, वास्तवमा परमेश्‍वर सबथोक अत्यन्तै स्पष्टसँग देख्‍नुहुन्छ। यदि तँ हृदयबाट परमेश्वरसँग बोल्न, आफूले अरूबाट लुकाएका कुराहरूबारे समेत उहाँसँग खुलस्त हुन, र केही नलुकाई ती कुराहरू स्पष्टसँग बताउन, अनि कुनै अभिप्रायविना आफ्ना सोचहरू जस्ताको त्यस्तै व्यक्त गर्न सक्छस् भने, त्यो खुलस्त हुनु हो। यदि तँ कहिलेकाहीँ अरूलाई चोट पुऱ्याउँछस् वा चिढ्याउँछस् भने, के कसैले “तपाईँ एकदमै इमानदारीसाथ बोल्नुहुन्छ, यो एकदमै चोट पुग्‍ने कुरा हो—म तपाईँको इमानदारी स्विकार्न सक्दिनँ” भनेर भन्ला र? अहँ, तिनीहरूले त्यसो भन्‍ने छैनन्। तैँले कहिलेकाहीँ अरूलाई चोट पुग्‍ने गरी केही कुरा भन्ने भए पनि, यदि तँ खुलस्त भएर तिनीहरूलाई माफी माग्छस्, आफ्ना शब्दहरूमा बुद्धीको कमी थियो र तिनीहरूको कमजोरीप्रति आफू सहानुभूतिहीन भएँ भनेर स्विकार्छस् भने, अनि तिनीहरूले तेरो खराब नियत छैन, तँ केवल चातुर्यविना र सोझै कुरा गर्ने इमानदार व्यक्ति होस् भनेर देख्छन् भने, तिनीहरूले त्यसलाई तँविरुद्ध प्रयोग गर्नेछैनन्, र आफ्नो हृदयमा तँलाई मन पराउनेछन्। के त्यसोभए तिमीहरूबीच कुनै अवरोध हुनेछैन र? यदि कुनै अवरोध हुँदैन भने, द्वन्द्व उत्पन्न हुनेछैन, र समस्या शीघ्रै हल गर्न सकिन्छ, र यसरी जिउँदा एकदमै ढुक्‍क र स्वतन्त्र होइन्छ। “खुसी हुने एकमात्र तरिका इमानदार व्यक्ति हुनु हो” भन्‍ने भनाइको अर्थ यही हो। इमानदार व्यक्ति बन्‍नुको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको तैँले पहिले परमेश्‍वरलाई आफ्नो हृदय खोल्नैपर्छ, र त्यसपछि अरूसित खुलस्त हुन सिक्नैपर्छ। इमानदारीपूर्वक, सच्चा रूपमा र हृदयदेखि बोल्। मर्यादा, निष्ठा र चरित्र भएको व्यक्ति बन्; खोक्रा अलङ्कारिक वा झूटो रूपमा नबोल्, अनि गोप्य वा छली तरिकामा नबोल्। त्यसबाहेक, इमानदार व्यक्ति बन्नका लागि अभ्यास गर्ने अर्को पक्ष छ, जुन के हो भने तँसँग आफ्नो कर्तव्य निर्वाह गर्दा इमानदार मनोवृत्ति हुनैपर्छ, र त्यो इमानदार हृदयले निर्वाह गर्नैपर्छ। कम्तीमा पनि, तैँले आफ्नो विवेकका आधारमा कार्य गर्नैपर्छ; तैँले सत्यता सिद्धान्तहरूप्रति प्रयास लगाउनैपर्छ, र परमेश्‍वरका मागहरूप्रति प्रयास लगाउनैपर्छ। त्यो तैँले केवल केही कुरा भन्न सकिस् र त्यो भइहाल्यो भन्ने होइन, र केवल कुनै निश्‍चित मनोवृत्ति अपनाउनुले तँ सत्यता अभ्यास गर्दै छस् भनेर अर्थ्याउँदैन। त्यसमा इमानदार व्यक्ति बन्‍नुको वास्तविकता कहाँ छ? वास्तविकता नहुनु र केवल नाराहरू फलाक्‍नु पर्याप्त हुँदैन। परमेश्‍वर मानिसहरूलाई छानबीन गर्नुहुन्छ; उहाँ तिनीहरूको हृदय मात्र होइन, तर तिनीहरूको व्यवहार, प्रकटीकरणहरू र अभ्यास पनि नियाल्नुहुन्छ। यदि तँ आफू इमानदार व्यक्ति बन्दै छु भनेर दाबी गर्छस् तर कुनै कुरा आइपर्दा अझै पनि ढाँट्न र धोका दिन सक्छस् भने, के यो इमानदार व्यक्तिको प्रकटीकरण हो र? होइन; यो त एउटा कुरा भन्नु र अर्कै कुरा सोच्नु हो। तँ एउटा कुरा भन्छस् तर वास्तवमा अर्कै कुरा गर्छस्, अरूलाई मूर्ख बनाउन सधैँ बकबास कुरा गर्छस् अनि झूटो ईश्वरभक्तिमा संलग्न हुन्छस्। तँ ठ्याक्कै फरिसीहरूजस्तै छस्, जसले मानिसहरूलाई धर्मशास्‍त्र व्याख्या गर्दा आद्योपान्त कण्ठस्थ पाठ गर्न सक्थे तर कुनै कुरा आइपर्दा धर्मशास्‍त्रअनुसार अभ्यास गर्दैनथे—तिनीहरू सधैँ हैसियतका लाभहरूमा लिप्त हुन्थे, र तिनीहरू आफ्नो प्रसिद्धि, लाभ र हैसियत त्याग्‍न अनिच्छुक थिए। यसरी फरिसीहरू पाखण्डी थिए। तिनीहरू हिँड्ने मार्ग ठिक थिएन, त्यो सही थिएन, र तिनीहरू जस्तालाई परमेश्‍वर घृणा गर्नुहुन्छ। के त्यस्ता व्यक्तिहरूलाई अरूले भरोसा गर्न सक्छन्? (सक्दैनन्।) के तिमीहरूलाई थाहा छ, अहिले परमेश्‍वरले तिमीहरूलाई कति भरोसा गर्नुहुन्छ? के तिमीहरूले परमेश्‍वरको भरोसा प्राप्त गरेका छौ? (छैनौँ।) के तिमीहरूले अरूहरूको भरोसा जितेका छौ? (छैनौँ।) यदि तिमीहरूले परमेश्‍वरको अनि अरू मानिसहरूको भरोसा प्राप्त गरेका छैनौ भने, के तिमीहरू इज्जतसाथ जिइरहेका छौ त? (छैनौँ।) जीवन जिउने कस्तो दयनीय तरिका! मान्छेको सबैभन्दा गहिरो व्यथा भनेको इज्जतविना जिउनु अनि अरू मानिसहरू र परमेश्‍वरको भरोसा जित्‍न नसक्‍नु हो। यदि कसैले तँलाई “अरूले तपाईँको बारेमा के सोच्छन्? के तिनीहरूले तपाईंलाई भरोसा गर्छन्? यदि तिनीहरूले तपाईँलाई कुनै काम सुम्पे भने, के तिनीहरू, तपाईँले त्यो राम्रोसित गर्नुहुनेछ भनेर विश्‍वास गर्छन् त?” भनेर सोध्यो भने, तँलाई आफूमाथि कसैले पनि त्यो स्तरको भरोसा राख्दैन भन्‍ने लाग्छ होला। यदि तँ आफूसित निष्कपट हृदय भएको विश्‍वास गर्छस् तर मानिसहरूले अझै पनि तँमाथि भरोसा गर्दैनन् भने, यसले तेरो इमानदारीतामा अझै पनि कमी र अशुद्धता छ भन्‍ने इङ्गित गर्छ। यदि अरूले तेरो निष्कपटता देख्‍न सक्दैनन् भने, के भरोसा निर्मित हुन्छ त? आफ्नो निष्कपटतामा विश्‍वास गर्नु मात्र काफी हुँदैन; तैँले अरूले देख्‍ने गरी आफ्नो इमानदारीता अभ्यास र प्रदर्शन गर्नैपर्छ। यदि कसैले पनि तँलाई भरोसा गर्दैन भने, तँ पक्कै पनि इमानदार व्यक्ति होइनस्। अरूहरूले तँमा इमानदारीता नभएको छर्लङ्गै देख्‍न सक्छन् भन्‍ने कुरा विचार गर्दा, र परमेश्‍वरले कुनै पनि मान्छेले भन्दा सय वा हजार गुणा बढी स्पष्ट रूपले मानिसहरूको हृदयको गहनतम भागको छानबिन गर्नुहुन्छ भन्‍ने कुरा विचार गर्दा—के तँ परमेश्‍वरले तँलाई भरोसा गर्नुहुनेछ भनेर साँच्‍चै विश्‍वास गर्छस्? यदि तँमाथि परमेश्‍वरको भरोसा नभएको कारण उहाँले तँलाई अन्याय गर्नुभयो भन्‍ने अनुभूति गर्ने अवस्थामा पुगिस् भने, तैँले आत्मचिन्तन गर्नुपर्छ, अनि आफ्नो निष्कपटता हद र गहिराइ मूल्याङ्कन गर्नुपर्छ। तैँले यसरी चिन्तन गर्नुपर्छ: “परमेश्‍वरले मानिसहरूको हृदयको गहिराइ छानबिन गर्नुहुन्छ, र उहाँलाई मैले के सोच्छु भनेर थाहा हुनुपर्छ। यदि मैले आफ्नो व्यवहारको आधारमा आफ्नो मूल्याङ्कन गर्ने हो भने, म आफै पनि आफूलाई उच्‍च मूल्याङ्कन गर्दिनथेँ। त्यसैले, परमेश्‍वरले मलाई भरोसा नगर्नु सामान्य कुरा हो।” यदि तैँले परमेश्‍वर वा अरू मानिसहरूको भरोसा जितेको छैनस् भने, तेरो कार्यदिशा के हुनुपर्छ? तैँले जस्तोसुकै चुनौतीहरू आइपरे पनि इमानदार व्यक्ति बन्‍ने सत्यतामा प्रवेश गर्नुपर्छ। यदि तैँले यसो गर्न सक्दैनस् भने, तँ मुक्ति प्राप्त गर्न असक्षम हुनेछस्।

परमेश्‍वरले इमानदार हुनुपर्छ भनेर तोक्‍नुभएको माग अत्यन्तै महत्त्वपूर्ण छ। यदि तैँले इमानदारीता अभ्यास गर्ने सिलसिलामा कैयौँ असफलताहरू भोगिस्, र यसो गर्नु तँलाई अत्यन्तै कठिन लाग्यो भने, तैँले के गर्नुपर्छ? के तैँले नकारात्मक बनेर लुरुक्‍क पर्दै पछाडि फर्कनुपर्छ र सत्यता अभ्यास त्याग्नुपर्छ? यो कुरा व्यक्तिले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भन्‍ने कुराको सबैभन्दा स्पष्ट सङ्केत हो। केही निश्‍चित अवधिसम्म इमानदारीता अभ्यास गरेपछि, केही व्यक्तिहरू यस्तो सोच्छन्, “इमानदार बन्‍न एकदमै गाह्रो छ—यसबाट मेरो अभिमान, गर्व र प्रतिष्ठामा पर्ने हानि म सहनै सक्दिनँ!” फलस्वरूप, तिनीहरू उप्रान्त इमानदार बन्‍न चाहँदैनन्। वास्तवमा, इमानदार व्यक्ति बन्‍नुको चुनौती नै यहीँनेर छ, र धेरैजसो व्यक्तिहरूले आफूलाई यही बिन्दुमा अल्झिएको र यसलाई अनुभव गर्न असक्षम रहेको पाउँछन्। त्यसोभए, इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्नको लागि के कुरा चाहिन्छ त? कस्तो व्यक्तिचाहिँ सत्यता अभ्यास गर्न सक्षम हुन्छ? सबैभन्दा पहिला, व्यक्तिले सत्यतालाई प्रेम गर्नुपर्छ। ऊ सत्यतालाई प्रेम गर्ने व्यक्ति बन्‍नुपर्छ—यो कुरो निश्‍चित छ। कतिपय मानिसहरूले वर्षौँसम्म इमानदारीता अभ्यास गर्ने अनुभव गरेर साँच्चिकै केही नतिजाहरू हासिल गर्छन्। तिनीहरूले बिस्तारै आफ्ना झूट र छलहरू कम गर्दै लान्छन्, र तिनीहरू वास्तवमै आधारभूत रूपमा इमानदार मानिसहरू बन्छन्। के तिनीहरूको इमानदारीता अभ्यास गर्ने अनुभव दौरान तिनीहरूले बाटोमा कुनै कठिनाइ वा कष्ट नभोगेका हुन सक्छन्? तिनीहरूले पक्कै पनि निकै कष्ट भोगेका छन्। तर तिनीहरू सत्यतालाई प्रेम गर्ने भएकाले, तिनीहरूले इमानदारीता अभ्यास गर्नहेतु कष्ट भोग्‍न, सत्य बोल्नमा र व्यावहारिक कार्यहरू गर्नमा अडिग रहन, इमानदार मान्छे बन्‍न, अनि अन्ततः परमेश्‍वरका आशिष्‌हरू प्राप्त गर्न सकेका हुन्। इमानदार मान्छे बन्‍नको लागि, व्यक्तिले सत्यतालाई प्रेम गर्नुपर्छ र ऊसित परमेश्‍वरमा समर्पित हृदय हुनुपर्छ। यी दुई तत्त्वहरू सबैभन्दा महत्त्वपूर्ण हुन्छन्। सत्यतालाई प्रेम गर्ने सबैमा परमेश्‍वरलाई प्रेम गर्ने हृदय हुन्छ। परमेश्‍वरलाई प्रेम गर्नेहरूलाई सत्यता अभ्यास गर्न निकै सजिलो हुन्छ, र तिनीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न जुनसुकै प्रकारको कष्ट पनि सहन सक्छन्। यदि कुनै व्यक्तिसित परमेश्‍वरलाई प्रेम गर्ने हृदय छ भने, जब उसको सत्यता अभ्यासमा अपमान वा अड्चन र असफलताहरू आइलाग्छन्, तब उसले परमेश्‍वरलाई सन्तुष्ट पार्न, र परमेश्‍वर खुसी हुनुहुञ्जेल, त्यो अपमान र कष्ट सहन सक्‍नेछ। तसर्थ, ऊ सत्यता अभ्यास गर्न सक्षम हुन्छ। सत्यताको कुनै पनि पक्ष अभ्यास गर्ने कार्यमा अवश्यै केही निश्चित हदको कठिनाइ आउँछ, अनि इमानदार व्यक्ति बन्‍ने कार्य त त्योभन्दा पनि मुस्किल छ। सबैभन्दा ठूलो कठिनाइ भनेको व्यक्तिका भ्रष्ट स्वभावहरूले ल्याउने अड्चन हो। सबै मानिसहरूमा भ्रष्ट स्वभावहरू हुन्छन् र तिनीहरू शैतानी दर्शनहरूअनुसार जिउँछन्। उदाहरणको लागि “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” वा “झूट नबोली कुनै पनि महान्‌ काम सम्पन्‍न गर्न सकिँदैन” भन्‍ने भनाइहरूलाई लिऔँ। यी भनाइहरू शैतानी दर्शन र भ्रष्ट स्वभावका उदाहरणहरू हुन्। मानिसहरूले काम पूरा गर्न, व्यक्तिगत फाइदाहरू प्राप्त गर्न, र आफ्ना लक्ष्यहरू हासिल गर्न झूटको सहारा लिन्छन्। जब व्यक्तिमा यसप्रकारको भ्रष्ट स्वभाव हुन्छ, तब उसलाई इमानदार व्यक्ति बन्‍न त्यति सजिलो हुँदैन। उसले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र उहाँमाथि भर पर्नुपर्छ, अनि बिस्तारै देहविरुद्ध विद्रोह गर्दै जान, आफ्ना व्यक्तिगत स्वार्थहरू त्याग्न, र आफ्नो आडम्बर र घमण्ड फाल्‍न सक्षम हुनको लागि उसले बारम्बार आत्मचिन्तन गर्नु र आफूलाई चिन्‍नुपर्छ। यसको साथै, व्यक्तिले सत्य बोल्न सक्‍ने र झूट बोल्‍नबाट आफूलाई रोक्‍न सक्‍ने इमानदार व्यक्ति बन्नुअघि विभिन्न प्रकारका गालीबेइज्‍जती र आलोचनाहरू सहनुपर्छ। व्यक्तिले इमानदार बन्‍ने अभ्यास गर्दाको अवधिमा, कैयौँ असफलताहरू र आफ्नो भ्रष्ट स्वभाव प्रकट हुने क्षणहरू सामना गर्नु अपरिहार्य कुरा हो। व्यक्तिका शब्द र सोचहरू मेल नखाने कति समयहरू आउन सक्छन् वा ढोँग र छल गर्ने क्षणहरू देखिन सक्छन्। तथापि, तँमाथि जे-जस्ता कुराहरू आइपरे पनि, यदि तँ सत्य बोल्‍न र इमानदार व्यक्ति बन्‍न चाहन्छस् भने, तँ आफ्नो घमण्ड र आडम्बर त्याग्न सक्षम हुनुपर्छ। जब तैँले कुनै कुरा बुझ्दैनस्, त्यो बुझिनँ भन्; जब तँ कुनै कुराबारे स्पष्ट हुँदैनस्, त्यो स्पष्ट भएन भन्। अरूले तँलाई नीच नजरले हेर्लान् वा कम सोच्लान् भनेर नडरा। यसरी निरन्तर हृदयबाटै कुरा गर्दा सत्य बोल्दा, तैँले हृदयमा आनन्द, शान्ति अनि स्वतन्त्रता र आजाद भएको अनुभूत गर्नेछस्, अनि आडम्बर र घमण्डले उप्रान्त तँलाई बन्धनमा पार्नेछैन। तैँले जोसुकैसित अन्तर्क्रिया गरे पनि, यदि तँ आफूले साँचो रूपमा जे सोच्छस् त्यो व्यक्त गर्न सक्छस् भने, र अरूहरूको सामुन्‍ने आफ्नो हृदय खोल्न र आफूले नजानेको कुरा जानेको ढोँग नगर्न सक्छस् भने, त्यो इमानदार मनोवृत्ति हो। कहिलेकाहीँ, मानिसहरूले तँलाई नीच मान्‍न सक्छन् र तैँले सधैँ सत्य बोल्नेभएकोले तँलाई मूर्ख भन्‍न सक्छन्। त्यस्तो अवस्थामा तैँले के गर्नुपर्छ? तैँले यसो भन्‍नुपर्छ, “मलाई सबैले मूर्ख भने पनि, म इमानदार व्यक्ति बन्‍ने, तर छली व्यक्ति नबन्‍ने सङ्कल्प गर्छु। म साँचो साँचो र तथ्यअनुसार बोल्नेछु। म घिनलाग्दो, भ्रष्ट र परमेश्‍वरसामु बेकार भए पनि, अझै पनि ढोँग नगरी वा कुनै भेष नबदली सत्य नै बोल्नेछु।” यदि तँ यसरी बोल्छस् भने, तेरो हृदय स्थिर र शान्त हुनेछ। इमानदार व्यक्ति बन्‍न, तैँले आफ्नो आडम्बर र घमण्ड त्याग्‍नुपर्छ, अनि सत्य बोल्न र आफ्ना सच्‍चा भावनाहरू व्यक्त गर्न, तैँले अरूले तेरो उपहास र अवहेलना गर्लान् कि भनेर डर मान्‍नु हुँदैन। यदि अरूले तँलाई मूर्ख झैँ व्यवहार गरे नै भने पनि, तैँले बहस गर्ने वा आफ्नो प्रतिरक्षा गर्ने गर्नु हुँदैन। यदि तँ यसरी सत्यता अभ्यास गर्न सक्छस् भने, इमानदार व्यक्ति बन्‍न सक्छस्। यदि तँ आफ्ना दैहिक प्राथमिकताहरू र आफ्नो आडम्बर र घमण्ड त्याग्न सक्दैनस् भने, र यदि तँ आफूले नजानेको कुरा पनि जानेको नाटक गर्दै र आफ्नो आडम्बर र घमण्डको खातिर जिउँदै, सधैँ अरूको अनुमोदन प्राप्त गर्न खोज्छस् भने, तँ इमानदार व्यक्ति बन्‍न सक्दैनस्—यो एक व्यावहारिक कठिनाइ हो। यदि तेरो हृदय सधैँ आडम्बर र घमण्डले बन्धित हुन्छ भने, तैँले झूट बोल्‍ने र देखावटी रूप धारण गर्ने सम्भावना धेरै हुन्छ। यसको साथै, अरूले तँलाई तुच्छ भनेर भन्दा वा तेरो साँचो रूप खुलासा गर्दा, त्यो स्विकार्न तँलाई मुस्किल हुनेछ, र त्यो बेला तँलाई आफूले एकदमै ठूलो बेइज्‍जती भोगेको अनुभूति हुनेछ—तेरो अनुहार रातोपिरो हुनेछ, तेरो हृदयको धड्कन बढ्नेछ, अनि तँ बेचैन र अशान्त महसुस गर्नेछस्। यो समस्या समाधान गर्न, तैँले केही थप पीडा सहनुपर्ने र केही थप शोधनहरू भोग्‍नुपर्ने हुन्छ। तैँले यो समस्याको जड कहाँनेर छ भनेर बुझ्नुपर्ने हुन्छ, र एकपटक यी मामिलाहरूको भित्री वास्तविकता बुझिसकेपछि, तँ आफ्ना केही पीडा घटाउन सक्षम हुनेछस्। जब तैँले यी भ्रष्ट स्वभावहरू पूर्ण रूपमा बुझेको हुन्छस् र जब तँ आफ्नो आडम्बर र घमण्ड त्याग्न सक्षम हुन्छस्, तब तँलाई इमानदार व्यक्ति बन्‍न झन् सजिलो हुनेछ। आफूले सत्य बोल्दा र आफ्नो मनको कुरा खोल्दा, अरूले खिल्ली उडाए भने पनि, तैँले नराम्रो मान्‍नेछैनस्, र अरूले तँलाई जे-जसरी मूल्याङ्कन र व्यवहार गरे पनि, तँ त्यो सहन र त्यसप्रति सही प्रतिक्रिया जनाउन सक्षम हुनेछस्। त्यसपछि तँ कष्टबाट आजाद हुनेछस्, र तेरो हृदय पनि सधैँ शान्त र हर्षित हुनेछ, अनि तैँले स्वतन्त्रता र स्वाधीनता हासिल गर्नेछस्। यसरी, तैँले भ्रष्टतालाई फ्याल्नेछस्, अनि मानव स्वरूपमा जिउनेछस्।

मानिसहरूले आफ्नो दैनिक जीवनमा प्राय सधैँ व्यर्थका कुराहरू, झूटहरू अनि अज्ञानी, मूर्ख र प्रतिरक्षात्मक कुराहरू बोलिरहन्छन्। यीमध्ये धेरैजसो कुराहरू आफ्नै आडम्बर र घमण्डको खातिर र आफ्नै अहम्‌ सन्तुष्ट पार्न गरिन्छ। यस्ता गलत कुराहरू बोल्दा तिनीहरूका भ्रष्ट स्वभावहरू प्रकाश हुन्छन्। यदि तैँले यी भ्रष्ट तत्त्वहरू सुल्झाइस् भने, तेरो हृदय शुद्ध हुनेथ्यो, अनि तँ बिस्तारै झन् शुद्ध र झन् इमानदार हुँदै जानेथिस्। वास्तवमा, मानिसहरू सबैलाई आफूले किन झूट बोल्छु भनेर थाहा हुन्छ। तिनीहरूले व्यक्तिगत लाभ र घमण्डको खातिर वा आडम्बर र हैसियतको लागि अरूसित प्रतिस्पर्धा गर्न खोज्छन्, र आफूलाई अर्कै व्यक्तित्‍वको रूपमा प्रस्तुत गर्छन्। तर तिनीहरूका झूटहरूलाई अन्त्यमा अरूले प्रकट र खुलासा गरिदिन्छन्, अनि तिनीहरूले आफ्नो इज्‍जतका साथै आफ्नो सम्मान र चरित्र पनि गुमाउँछन्। यो सबै झूटको अत्यधिक मात्राले गराएको हो। तेरा झूटहरू अनगिन्ती भइसकेका छन्। तैँले बोल्ने हरेक शब्द अशुद्ध र बेइमानीपूर्ण छ, तेरो एउटै शब्दलाई पनि साँचो वा इमानदार मान्‍न सकिँदैन। यदि तैँले झूट बोल्दा इज्‍जत गुमाएजस्तो अनुभूति गर्दैनस् नै भने पनि, भित्र तेरो गहिराइमा तँ आफू कलङ्कित भएको महसुस गर्छस्। तेरो विवेकले तँलाई दोष दिन्छ, र तैँले आफ्नो बारेमा राम्रो विचार राख्दैनस्, र यस्तो सोच्छस्, “म किन यस्तो दयनीय जीवन जिइरहेको छु? के सत्य बोल्‍नु यति गाह्रो हुन्छ? के मैले आफ्नो घमण्डको खातिर झूटको सहारा लिनैपर्ने हो? किन मेरो जीवन यति थकाइलाग्दो छ?” तैँले थकाइलाग्दो जीवन जिउनै पर्दैन। यदि तैँले इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्न सक्छस् भने, तँ तनावरहित, स्वतन्त्र, र आजाद जीवन जिउन सक्षम हुनेछस्। तर, तैँले झूट बोलेर आफ्नो घमण्ड र आडम्बर कायम गरिरहने विकल्प रोजेको छस्। फलस्वरूप, तँ थकाइलाग्दो र दयनीय जीवन जिउँछस्, र त्यो तेरो स्व-सिर्जित अवस्था हो। व्यक्तिले झूट बोलेर घमण्ड महसुस गर्न सक्छ, तर त्यो घमण्डको अनुभूति भनेको के हो? त्यो बस एक खोक्रो कुरा हो, र त्यो पूर्णतया व्यर्थ कुरा हो। झूट बोल्नु भनेको आफ्नो चरित्र र इज्जत बेच्‍नु हो। यसले व्यक्तिको इज्जत र चरित्र लैजान्छ, र यसले परमेश्‍वरलाई तँप्रति अप्रसन्‍न बनाउनेछ र उहाँले यसलाई घृणा गर्नुहुनेछ। के यो सार्थक छ त? छैन। के यो सही मार्ग हो त? अहँ, यो सही मार्ग होइन। बारम्बार झूट बोल्नेहरू आफ्नो शैतानी स्वभावअनुसार जिउँछन्; तिनीहरू शैतानको सत्ताअन्तर्गत जिउँछन्। तिनीहरू ज्योतिमा जिउँदैनन्, न त तिनीहरू परमेश्‍वरको उपस्थितिमै जिउँछन्। तँ निरन्तर कसरी झूट बोल्ने भनेर सोच्छस्, र झूट बोलिसकेपछि, तैँले त्यो झूट कसरी ढाकछोप गर्ने भनेर सोच्‍नुपर्छ। अनि जब तैँले त्यो झूट राम्रोसित ढाकछोप गर्दैनस् र त्यो खुलासा भइदिन्छ, तब तैँले आफ्नो दिमाग खियाएर विरोधाभासहरू हटाउन र आफ्नो कुरा पत्यारिलो बनाउन जोर लगाउनुपर्ने हुन्छ। के यसरी जिउनु थकाइलाग्दो हुँदैन र? अति थकाइलाग्दो हुन्छ। के यसो गर्नु सार्थक छ? अहँ, यो सार्थक छैन। झूट बोल्नु र त्यसपछि ढाकछोप गर्न दिमाग खियाउनु, र त्यो सब घमण्ड, आडम्बर, र हैसियतको खातिर गर्नु, यसमा के नै अर्थ छ र? अन्त्यमा, तैँले मनन गर्छस् र मनमनै सोच्छस्, “यसको के अर्थ छ? झूट बोल्‍नु र त्यसपछि ढाकछोप गर्नुपर्दा एकदमै थकाइलाग्दो हुन्छ। मैले यसरी व्यवहार गरेर काम चल्दैन; मलाई योभन्दा सजिलो त इमानदार व्यक्ति बन्नु हुन्थ्यो।” तँ इमानदार व्यक्ति बन्‍ने इच्छा गर्छस्, तर तँ आफ्नो घमण्ड, आडम्बर र व्यक्तिगत स्वार्थ त्याग्न सक्दैनस्। त्यसकारण, तैँले यी कुराहरू कायमै राखिराख्‍न झूटको सहारा लिन मात्र सक्छस्। यदि तँ सत्यता प्रेम गर्ने व्यक्ति होस् भने, तैँले सत्यता अभ्यास गर्नको निम्ति विभिन्‍न कठिनाइहरू सहनेछस्। तैँले यदि यसको लागि आफ्नो प्रतिष्ठा र हैसियत त्याग्‍नुपर्‍यो भने पनि र अरूको गिल्ला र अपमान सहनुपर्‍यो भने पनि, तैँले नराम्रो मान्‍नेछैनस्—जबसम्म तँ सत्यता अभ्यास गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्षम हुन्छस्, तबसम्म त्यो काफी नै हुनेछ। सत्यता प्रेम गर्ने मानिसहरूले सत्यता अभ्यास गर्न र इमानदार हुन रोज्छन्। यो सही मार्ग हो र यो परमेश्‍वरद्वारा आशिषित हुन्छ। यदि व्यक्तिले सत्यता प्रेम गर्दैन भने, उसले के रोज्छ? उसले आफ्नो प्रतिष्ठा, हैसियत, इज्जत र चरित्र कायम राखिराख्‍नको लागि झूट प्रयोग गर्न रोज्छ। यसको लागि बरु तिनीहरू छली हुन र परमेश्‍वरद्वारा तिरस्कार र इन्कार गरिन रुचाउँछन्। त्यस्ता मानिसहरूले सत्यता र परमेश्‍वरलाई अस्वीकार गर्छन्। तिनीहरू आफ्नै प्रतिष्ठा र हैसियत रोज्छन्; तिनीहरू छली बन्‍न चाहन्छन्। तिनीहरू परमेश्‍वर खुसी बन्‍नुहुन्छ कि हुन्‍न वा उहाँले तिनीहरूलाई मुक्ति दिनुहुन्छ कि हुन्‍न भनेर वास्ता गर्दैनन्। के त्यस्ता मानिसहरूले परमेश्‍वरबाट अझै पनि मुक्ति पाउन सक्छन् त? निश्‍चय नै सक्दैनन्, किनकि तिनीहरूले गलत मार्ग रोजेका छन्। तिनीहरू ढाँटेर अनि ठगेर मात्र जिउन सक्छन्; तिनीहरू हरदिन झूट बोल्ने र त्यसलाई ढाकछोप गर्ने, अनि आफ्नो प्रतिरक्षा गर्न दिमाग खियाउने पीडापूर्ण जीवन जिउन मात्र सक्छन्। यदि तँ झूटहरूले तैँले चाहने प्रतिष्ठा, हैसियत, आडम्बर र घमण्ड कायम राखिराख्‍न मदत गर्न सक्छन् भनेर सोच्छस् भने, तँ पूरै गलत छस्। वास्तवमा, झूटहरू बोलेर, तैँले आफ्नो आडम्बर र घमण्ड अनि आफ्नो इज्जत र चरित्र कायम राखिराख्‍न नसक्‍ने मात्र होइन, त्योभन्‍दा पनि गम्भीर कुरा त, तैँले सत्यता अभ्यास गर्ने र इमानदार व्यक्ति बन्‍ने मौका पनि गुमाउनेछस्। यदि तँ त्यो बेला आफ्नो प्रतिष्ठा, हैसियत, आडम्बर, र घमण्ड कायम राखिराख्‍न सक्षम भइस् भने पनि, तैँले सत्यता त्याग गरेको र परमेश्‍वरलाई धोका दिएको हुनेछस्। यसको मतलब, तैँले उहाँबाट मुक्ति पाउने र सिद्ध पारिने तेरो मौका पूर्णतया गुमाएको हुनेछस्, र त्यो सबैभन्दा ठूलो क्षति र जीवनभरको अफसोस हो। यो कुरा छली मानिसहरूले कहिल्यै बुझ्नेछैनन्।

अहिले, के तिमीहरूसित इमान्दार बन्ने कुनै मार्ग छ? तिमीहरूले अझ धेरै झूट र छलहरू पत्ता लगाउन र आफ्नो छली स्वभाव पहिचान गर्नको लागि आफ्नो जीवनका हरेक बोली र कार्य जाँच्‍नुपर्छ। त्यसपछि, तिमीहरूले इमान्दार मानिसहरूले कसरी अभ्यास र अनुभव गर्छन् र कसरी पाठहरू सिक्छन् भन्‍ने कुरा हेर्नुपर्छ। तिमीहरूले सबै कुरामा परमेश्‍वरको छानबिन स्विकार्ने अभ्यास पनि गर्नुपर्छ, अनि प्रार्थना र उहाँसित सङ्गति गर्न परमेश्‍वरसामु आउनुपर्छ। मानौँ, तैँले भर्खरै झूट बोलिस् रे: र तँलाई तुरुन्तै यस्तो महसुस भयो रे, “मैले भर्खरै बोलेका केही कुराहरू सही थिएनन्—मैले यो कुरा तुरुन्तै स्विकार्नुपर्छ र सच्याउनुपर्छ, र सबैलाई मैले भर्खरै झूट बोलेँ भनेर थाहा दिनुपर्छ।” तैँले त्यहीँनेर र त्यति नै बेला आफूलाई सच्याइस् रे। यदि तैँले यसरी नै सधैँ आफूलाई सच्याउँछस् भने, र यदि यसरी अभ्यास गर्नु तेरो बानी नै बन्छ भने, तैँले जब जब झूट बोलेर त्यसलाई सच्याउँदैनस्, तब तब तँलाई अप्ठ्यारो महसुस हुनेछ र परमेश्‍वरले तँलाई आफ्नो ख्याल राख्‍न मद्दत गर्नुहुनेछ। केही समयसम्‍म यसरी अभ्यास र अनुभव गरेपछि, तैँले कम झूट बोल्‍न थाल्नेछस्, र तेरो बोलीवचनमा अशुद्धताहरू कमभन्दा कम हुँदै जानेछन्, र तेरा कार्यहरू पनि कमभन्दा कम दूषित र बढीभन्दा बढी शुद्ध हुँदै जानेछन्—र यो कुरामा तेरो शुद्धीकरण भएको हुनेछ। इमान्दार बन्‍ने मार्ग यही हो। तैँले अलिअलि गर्दै क्रमिक रूपमा बदलिँदै जानुपर्छ। तँ जतिजति बदलिँदै जान्छस्, त्यतित्यति नै राम्रो हुँदै जानेछस्; र तँ जतिजति बदलिँदै जान्छस्, तेरा बोलीवचनहरू त्यतित्यति नै इमान्दार हुँदै जानेछन् र तँ त्यतित्यति नै झूट बोल्न छोड्नेछस्—जुन सही स्थिति हो। सबै भ्रष्ट मानिसहरूमा त्यस्तै किसिमको समस्या हुन्छ: तिनीहरू सबै नै झूट बोल्ने क्षमता लिएर जन्मेका हुन्छन्, र तिनीहरूलाई आफ्नो अन्तस्करणमा भएका सोचहरू बताउन वा सत्य बोल्‍न एकदमै गाह्रो लाग्छ। यदि तिनीहरूलाई सत्य बोल्न मन लागेछ नै भने पनि, तिनीहरू त्यसो गर्न सक्दै सक्दैनन्। मानिसहरू सबैले इमान्दार हुनु बेवकुफी र मूर्खता हो भन्‍ने विश्‍वास गर्छन्—तिनीहरूलाई लाग्छ, केवल उल्लुहरूले मात्र खुलेर कुरा गर्छन्, र यदि कुनै व्यक्तिले अरू मानिसहरूसित पूर्णतः पारदर्शी भएर सधैँ आफ्नो मनभित्र जे छ त्यही बोल्ने हो भने, उसले हानि मात्र बेहोर्ने सम्भावना अधिक हुन्छ, र अरूहरूले त्यस्तो मान्छेसित अन्तरक्रिया गर्न चाहनेछैनन्, बरु तिनीहरूले उसलाई घृणा गर्नेछन्। के तिमीहरू पनि त्यस्तो खालको व्यक्तिलाई घृणा गर्नेछौ? के तिमीहरूसित पनि यस्तै दृष्टिकोण छ? (परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा पहिले, म त्यस्ता व्यक्तिहरूलाई घृणा गर्थे, तर अब म तिनीहरूको सराहना गर्छु, र मलाई सरल तथा इमान्दार जीवन जिउनु उत्तम लाग्छ। यसरी जीवन जिउँदा, व्यक्तिले आफ्नो हृदयमा कम मात्र बोझ राख्छ। अन्यथा, मैले कसैसित झूट बोल्ने हो भने, त्यसलाई ढाकछोप गर्नुपर्छ, तर जतिजति त्यो झूट ढाक्यो, झन्झन् ठूलो प्वाल पर्दै जान्छ र अन्त्यमा त्यो झूट पर्दाफास भइहाल्छ।) झूट बोल्नु र छल गर्नु दुवै नै मूर्ख व्यवहारहरू हुन्, र सत्य बोल्नु र हृदयदेखि बोल्‍नु कैयौँ गुणा बढी बुद्धिमानी हुनु हो। यो कुराको बुझाइ अहिले सबै मानिसहरूमा छ—यदि कसैले अझै पनि मानिसहरूलाई झूट बोल्नु र छल गर्नु भनेको क्षमता हुनु र चतुर बन्‍नुको सङ्केत हो भन्‍ने सोच्छ भने, त्यस्ता व्यक्तिहरू अत्यन्तै मूर्ख, र जिद्दी अज्ञानी हुन्, र तिनीहरूमा अलिकति पनि सत्यता हुँदैन। उमेरमा पाका हुँदै गएर पनि अझै छली मानिसहरू नै सबैभन्दा बाठा हुन् र सबै इमान्दार मानिसहरू मूर्ख हुन् भनेर सोच्‍ने व्यक्तिहरू कुनै पनि कुराको सार स्पष्ट देख्‍न नसक्ने बेतुक मानिसहरू हुन्। हरेक व्यक्तिले आफ्नै जीवन जिउँछ—हर दिन इमान्दार हुन प्रयास गर्ने केही मानिसहरू खुसी र तनावरहित हुन्छन्, र तिनीहरूले आफ्नो हृदयमा स्वतन्त्रता र मुक्तपन अनुभूत गर्छन्। तिनीहरूमा केही कुराको पनि कमी हुँदैन, र तिनीहरूले आरामदायी जीवन बिताउँछन्। यस्ता खालका मानिसहरूसित हर कोही अन्तरक्रिया गर्न चाहन्छ, र तिनीहरू वास्तवमै हरकसैको ईर्ष्याको विषय बन्छन्—यस्ता मानिसहरूले जीवनको अर्थ बुझेका हुन्छन्। कतिपय मूर्ख मानिसहरू यस्तो सोच्छन्: “त्यो मान्छे सधैँ सत्य बोल्छ, तर ऊ काटछाँटमा पर्‍यो, होइन र? त्यो त उसले वास्तवमै पाउनु नै थियो। मलाई हेर्नुस् न—म त आफ्ना अभिप्रायहरू छातीमै लुकाउँछु, र म ती कुराबारे बोल्ने वा प्रकट गर्ने गर्दिनँ, त्यसैले त मैले काटछाँट भोगेको, वा कुनै क्षति बेहोरेको, वा आफैलाई सबैसामु लज्जित पारेको छैनँ। मेरो त गज्जब नै चलिरहेको छ! आफ्ना अभिप्रायहरू लुकाउने, कसैसित पनि इमान्दारीसाथ कुरा नगर्ने, र आफूले के सोच्दै छु भन्‍ने बारे अरूलाई केही थाहा पाउन नदिने मानिसहरू एकदमै उच्‍चकोटिका र अत्यन्तै बुद्धिमान्‌ हुन्।” तर हरेक व्यक्तिले यी मानिसहरू सबैभन्दा छली र कपटी हुन् भनेर देख्‍न सक्छन्; तिनीहरूदेखि अरू मानिसहरू सधैँ सतर्क रहने र दुरी कायम राख्‍ने गर्छन्। छली मानिसहरूसित कसैले पनि मित्रता गाँस्न चाहँदैन। के यी कुराहरू तथ्य होइनन् र? यदि कुनै व्यक्ति निष्कपट छ र ऊ सधैँ सत्य बोल्छ भने, र यदि उसले आफ्नो हृदय अरूसामु उदाङ्गो पार्न सक्छ र आफूभित्र अरू मानिसहरूलाई हानि गर्ने कुनै अभिप्राय राख्‍दैन भने, कहिलेकाहीँ उसले अज्ञानी देखिँदै मूर्ख व्यवहार गरे पनि, उसलाई सामान्यतया असल व्यक्ति नै भनेर स्विकारिनेछ, र सबैजना ऊसित अन्तरक्रिया गर्न एकदमै इच्छुक नै हुनेछन्। इमान्दार र असल मानिसहरूसित अन्तरक्रिया गर्दा मानिसहरूले फाइदा र सुरक्षाको अनुभूति गर्छन् भन्‍ने कुरा आम तवरमै स्विकारिने तथ्य हो। इमान्दार र सत्यता पछ्याउने परमेश्‍वरका विश्‍वासीहरूलाई मण्डलीका अरू मानिसहरूले मात्र होइन, परमेश्‍वर स्वयम्‌ले पनि मन पराउनुहुन्छ। तिनीहरूले सत्यता प्राप्त गर्नेबित्तिकै, तिनीहरूसित वास्तविक गवाही हुन्छ र तिनीहरू परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्षम हुन्छन्—के यसले तिनीहरूलाई सबैभन्दा आशिषित मानिस बनाउँदैन र? अलिअलि सत्यता बुझ्नेहरूले यो कुरा स्पष्टै देख्‍नेछन्। आफूलाई व्यवहारमा ढाल्ने प्रयासमा, तैँले सत्यता धारण गरेको असल र इमान्दार व्यक्ति बन्‍ने प्रयास गर्नुपर्छ; यसरी, तँलाई अरूहरूले मन पराउने मात्र होइन, तैँले परमेश्‍वरको आशिष्‌ पनि प्राप्त गर्नेछस्। सांसारिक प्रचलनहरू पछ्याउने व्यक्तिहरूको व्यवहार जति नै राम्रो भए पनि, तिनीहरू अझै पनि असल व्यक्ति हुँदैनन्। यो कुरा नबुझ्‍नेहरू अझै पनि सत्यता बोध गर्न नसक्ने मूर्खहरू हुन्। तर पूर्ण रूपमा सत्यता बोध गर्नेहरूले चाहिँ जीवनमा सही मार्गमा हिँड्न, इमान्दार मानिस बन्‍न, र परमेश्‍वरलाई पछ्याउन रोज्छन्। यी कुराहरू गरेपछि मात्र व्यक्तिले मुक्ति प्राप्त गर्न सक्छ। यस्ता मानिसहरू नै सबैभन्दा बाठा मानिसहरू हुन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्