इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ (भाग एक)

परमेश्‍वरको मानिसहरू इमान्दार हुनुपर्छ भन्‍ने माग सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तर अफसोस, धेरैले यो कुरा बुझ्दैनन्, र इमान्दार हुने यो मामिला बेवास्ता गर्छन्। यदि मानिसहरूले साँच्‍चिकै परमेश्‍वरको काम बुझ्थे भने, तिनीहरूलाई आखिरी दिनहरूमा उहाँले न्यायको काम पूरा गर्नुभएपछि, आफ्ना भ्रष्ट स्वभावबाट शुद्ध पारिएका अनि आफ्ना छल र झूटहरू फालेका इमान्दार व्यक्तिहरूले मात्रै उहाँको मुक्ति प्राप्त गर्नेछन् र उहाँको राज्यमा प्रवेश गर्न योग्य हुनेछन् भन्‍ने कुरा थाहा हुन्थ्यो। यदि परमेश्‍वरमा विश्‍वास गरेको वर्षौँपछि पनि मानिसहरू अझै झूट र छलले भरिभराउ हुन्छन् भने; यदि तिनीहरू निष्कपट रूपमा परमेश्वरप्रति आफूलाई समर्पित गर्दैनन् र सधैँ झारातिरुवा शैलीमा कर्तव्य निभाउँछन् भने, तिनीहरू पक्कै उहाँद्वारा तिरस्कृत हुनेछन्। अनि तिनीहरूको परिणाम के हुनेछ? तिनीहरू पक्कै मण्डलीबाट निकालिनेछन् र हटाइनेछन्। आज, परमेश्‍वरको काम यो चरणमा आइपुगेको देख्दा, यसले व्यक्तिलाई उहाँले कसरी मान्छेलाई इमान्दार बन्‍न निरन्तर आह्वान गर्दै आउनुभएको छ भन्‍ने कुरा स्मरण गराउँछ। यसमा ठूलो महत्त्व रहेको छ। यो केवल त्यतिकै बोल्ने अनि त्यतिमै सक्किने कुरा होइन—यो त व्यक्तिले मुक्ति प्राप्त गर्न र ऊ बाँचिरहन सक्छ सक्दैन भन्‍ने कुराका साथै हरेक व्यक्तिको परिणाम र गन्तव्यसित प्रत्यक्ष रूपमा सम्बन्धित छ। त्यसकारण, निश्‍चित रूपमा भन्‍न सकिन्छ, आफ्नो छली स्वभाव फालेर अनि इमानदार बनेर मात्र व्यक्तिले सामान्य मानवतामा जिउन र मुक्ति प्राप्त गर्न सक्छ। परमेश्‍वरमा वर्षौँसम्म विश्‍वास गरेका तर अझै पनि छली नै रहिरहेकाहरू पक्कै हटाइनेछन्।

परमेश्‍वरका चुनिएका सबै मानिसहरूले अहिले आफ्‍नो कर्तव्य पूरा गर्ने अभ्यास गरिरहेका छन्, र परमेश्‍वरले मानिसहरूको कर्तव्य निर्वाहलाई मानिसहरूको एउटा समूहलाई सिद्ध पार्न र अर्को समूहलाई हटाउन प्रयोग गर्नुहुन्छ। त्यसकारण, कर्तव्य पूरा गर्दा नै हरेक प्रकारको व्यक्ति प्रकट हुन्छ, र तिनीहरूको कर्तव्य निर्वाहमा नै हरप्रकारको छली व्यक्ति, अविश्‍वासी, र दुष्ट व्यक्ति प्रकट भएर हटाइन्छ। बफादार रूपमा आफ्‍नो कर्तव्य पूरा गर्नेहरू इमानदार मानिस हुन्; निरन्तर झारा टार्नेहरू छली, छट्टु मानिस हुन्, र तिनीहरू अविश्‍वासी हुन्; अनि आफ्‍नो कर्तव्यमा बाधा र व्यवधानहरू पैदा गर्नेहरू दुष्ट मानिसहरू हुन्, र तिनीहरू ख्रीष्टविरोधीहरू हुन्। अहिले र अझै पनि, कर्तव्य निभाउने मानिसहरूमध्ये धेरैमा व्यापक समस्याहरू रहेका छन्। कतिपय मानिसहरू सधैँ आफ्‍नो कर्तव्यमा अत्यन्तै निष्क्रिय बन्छन्, सधैँ बसिरहन्छन् र अरूमा भर पर्दै प्रतीक्षा गरिरहन्छन्। यो कस्तो मनोवृत्ति हो? यो गैरजिम्‍मेवारपूर्ण मनोवृत्ति हो। परमेश्‍वरको घरले तँलाई कर्तव्य निभाउने जिम्‍मा दिएको छ, तैपनि कुनै ठोस काम नगरी तँ यस विषयमा कैयौँ दिन विचार गरेर बस्छस्। काम गर्ने ठाउँमा तँ देखा पर्दैनस्, अनि समस्याहरू खेप्दा र तिनलाई समाधान गर्नुपर्दा मानिसहरूले तँलाई भेट्टाउन सक्दैनन्। तैँले यो काम काँध लिएको छैनस्। यदि अगुवाले कामबारे सोध्यो भने, तैँले के भन्‍ने छस्? अहिले तैँले कुनै काम गरिरहेको छैनस्। त्यो काम तेरो जिम्‍मेवारी हो भन्‍ने तँलाई राम्ररी थाहा छ, तैपनि तँ त्यो काम गर्दैनस्। आखिर तैँले के सोचिरहेको छस्? के तँ असक्षम भएकोले तैँले कुनै काम नगरेको हो? कि तँलाई सहजताको लोभ मात्रै लागेको हो? आफ्‍नो कर्तव्यप्रति तेरो मनोवृत्ति कस्तो छ? तँ शब्द र धर्मसिद्धान्तहरूको मात्रै कुरा गर्छस् र राम्रो सुनिने कुराहरू मात्रै बोल्छस्, तर कुनै वास्तविक काम गर्दैनस्। यदि तँ आफ्‍नो कर्तव्य निभाउन चाहँदैनस् भने, तैँले राजीनामा दिनुपर्छ। पद लिएर केही नगरी बस्‍ने नगर्। के त्यसो गर्नु परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्नु र मण्डलीको काम खस्काउनु होइन र? तेरो बोलीवचनअनुसार त, तैँले हरकिसिमका धर्मसिद्धान्त बुझेको जस्तो देखिन्छ, तर तँलाई कर्तव्य निभाउन लगाइयो भने, तँ झाराटारुवा बन्छस्, तर अलिकति पनि विवेक देखाउँदैनस्। के त्यो आफूलाई निष्कपट रूपमा परमेश्‍वरप्रति आफूलाई समर्पित गर्नु हो त? परमेश्‍वरको सन्दर्भमा तँ निष्कपट छैनस्, तैपनि तँ निष्कपट भएको नाटक गर्छस्। के तैँले उहाँलाई छल गर्न सक्छस्? तेरो सामान्य कुरा गराइबाट हेर्दा, तँमा ठूलो विश्‍वास भएजस्तो देखिन्छ; तँ मण्डलीको खम्‍बा र मूल स्तम्भ बन्‍न चाहन्छस्। तर जब तँ कर्तव्य निभाउँछस्, तँ सलाईको काँटीजत्तिको पनि उपयोगी छैनस्। के यो त तैँले खुलेआम परमेश्‍वरलाई धोका दिनु होइन र? परमेश्‍वरलाई धोका दिन खोज्दा के हुनेछ, के तँलाई थाहा छ? उहाँले तँलाई तिरस्कार गर्नुहुनेछ र हटाउनुहुनेछ! आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा सबै मानिसहरू खुलासा हुन्छन्—व्यक्तिलाई कर्तव्यमा लगाउनु मात्रै पर्छ, त्यसपछि ऊ इमानदार हो कि छली व्यक्ति हो र ऊ सत्यतालाई प्रेम गर्ने व्यक्ति हो कि होइन भनेर चाँडै प्रकट भइहाल्छ। सत्यतालाई प्रेम गर्नेहरूले निष्कपट रूपमा आफ्‍नो कर्तव्य पूरा गर्न र परमेश्‍वरको घरको काममा साथ दिन सक्छन्; सत्यतालाई प्रेम नगर्नेहरूले परमेश्‍वरको घरको काम अलिकति पनि कायम राख्दैनन्, र तिनीहरू आफ्‍नो कर्तव्य निर्वाहमा गैरजिम्‍मेवार हुन्छन्। दृष्टि तीक्ष्ण भएका जोकोहीलाई यो कुरा तुरुन्तै स्पष्ट हुन्छ। आफ्‍नो कर्तव्य राम्ररी पूरा नगर्ने कोही पनि सत्यतालाई प्रेम गर्ने वा इमानदार व्यक्ति होइन; त्यस्ता सबै मानिसहरू प्रकाश भएर हटाइनेछन्। आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न, मानिसहरूमा जिम्‍मेवारी र बोझको बोध हुनैपर्छ। यस तरिकाले, काम निश्‍चय नै उचित रूपमा हुनेछ। यदि व्यक्तिमा बोझ वा जिम्‍मेवारीबोध हुँदैन भने, उसलाई सबै कुरामा प्रेरित गर्नुपर्छ भने, र यदि ऊ सधैँ झाराटारुवा हुन्छ अनि समस्याहरू आउँदा उसले अरूमाथि दोष थोपर्ने प्रयास गरेर ती समस्याहरू हल हुन ढिलाइ हुन्छ भने, यो केवल चिन्ता मात्र ल्याउने कुरा हो। के त्यसपछि काम अझै पनि राम्ररी गर्न सकिनेछ र? अनि के त्यस्ता व्यक्तिहरूको कर्तव्य निर्वाहले कुनै नतिजा निकाल्न सक्छ र? तिनीहरू आफ्नो निम्ति बन्दोबस्त गरिएको कुनै पनि काम गर्न चाहँदैनन्, र अरूलाई काममा सहयोग चाहिएको देख्दा तिनीहरूले बेवास्ता गर्छन्। तिनीहरूलाई आदेश दिइँदा, तिनीहरूले गर्नैपर्ने हुँदा अनि तिनीहरूसँग कुनै विकल्‍प नहुँदा मात्रै तिनीहरूले अलिअलि काम गर्छन्। यो कर्तव्य निर्वाह गर्नु होइन—यो त ज्यालादारी काम हो! ज्यालादारले रोजगारदाताको लागि काम गर्छ, दैनिक ज्यालाको लागि दिनभरि काम गर्छ, एक घण्टाको ज्यालाको लागि एक घण्टा काम गर्छ; तिनीहरू ज्याला पर्खिरहेका हुन्छन्। तिनीहरूलाई आफ्नो मालिकले नदेख्‍ने कुनै काम गर्छु कि, आफूले गरेको कामको इनाम पाउँदिनँ कि भन्‍ने डर हुन्छ, र तिनीहरू देखाउनका लागि मात्रै काम गर्छन्—जसको अर्थ तिनीहरूमा बफादारिता हुँदैन। धेरैजसो समय, कामका समस्याबारे सोध्दा तिमीहरू जवाफ दिन सक्दैनौँ। तिमीहरूमध्ये केही त काममा संलग्‍न भएका छौ, तर तिमीहरूले काममा के-कसो भइरहेको छ भनेर कहिल्यै सोध्‍ने वा यसबारे सावधानीपूर्वक सोच्‍ने गर्दैनौ। तिमीहरूको क्षमता र ज्ञानलाई विचार गर्दा, तिमीहरूलाई कम्तीमा पनि केही त हुनुपर्ने हो, किनभने तिमीहरू सबै यस काममा सहभागी भएका छौ। त्यसो भए, किन अधिकांश मानिसले केही पनि भन्दैनन्? सम्भवतः के भन्‍ने भनेर तिमीहरूलाई साँच्‍चै थाहा नभएको हुन सक्छ—कामकुराहरू राम्रोसित भइरहेका छन् कि छैनन् भनेर तिमीहरूलाई थाहा नभएको हुन सक्छ। यसका दुईवटा कारण छन्: एउटा कारण हो—तिमीहरू पूर्णतया उदासीन छौ, अनि तिमीहरूले यी कुराहरूको कहिल्यै वास्ता गरेनौ र तिनलाई पूरा गर्नुपर्ने कामको रूपमा मात्र लियौ। अर्को कारण हो—तिमीहरू गैरजिम्मेवार छौ र यी कुराहरूको ख्याल गर्न तिमीहरू इच्छुक छैनौ। यदि तैँले साँच्‍चै वास्ता गरेको भए र यदि तँ साँच्‍चै संलग्‍न भएको भए, तँसित सबै कुराबारे राय र दृष्टिकोण हुनेथ्यो। भावशुन्य र उदासीन हुँदा र कुनै जिम्मेवारी नलिँदा अक्सर दृष्टिकोण वा राय नहुने गर्छ। तिमीहरू आफूले निर्वाह गर्ने कर्तव्यप्रति लगनशील छैनौ, तिमीहरू कुनै जिम्मेवारी लिँदैनौ, तिमीहरू मूल्य चुकाउन वा संलग्‍न हुन चाहँदैनौ। तिमीहरू न त कुनै कष्ट भोग्छौ, न त अझ धेरै शक्ति खर्चन नै इच्छुक छौ; तिमीहरू केवल अनुचर हुन चाहन्छौ, यो त एक गैरविश्‍वासीले आफ्नो हाकिमको लागि काम गरेजस्तोभन्दा कुनै फरक छैन। यसप्रकारको कर्तव्य निर्वाहलाई परमेश्‍वर मन पराउनुहुन्‍न र यसले उहाँलाई प्रसन्‍न तुल्याउँदैन। यसले उहाँको अनुमोदन पाउन सक्दैन।

प्रभु येशूले एकपटक भन्‍नुभयो, “किनभने जोसँग छ, उसलाई दिइनेछ, र ऊसँग अझै प्रशस्त हुनेछ: तर जोसँग छैन, ऊसँग भएको पनि ऊबाट खोसिनेछ” (मत्ती १३:१२)। यी वचनहरूको अर्थ के हो? यिनीहरूको अर्थ हो—यदि तैँले आफ्नो कर्तव्य वा कार्य गरिनस् वा त्यसमा आफूलाई समर्पित गरिनस् भने, परमेश्‍वरले तँसित भएका कुरा “खोस्‍नुहुनेछ”। “खोस्‍नुहुनेछ” भन्‍नुको अर्थ के हो? यसले मानिसहरूलाई कस्तो अनुभूति गराउँछ? हुन सक्छ, तैँले आफ्नो क्षमता र वरदानद्वारा प्राप्त गर्न सक्‍ने कुरा प्राप्त गर्न सक्दैनस्, र तँलाई केही महसुस हुँदैन अनि तँ ठ्याक्कै गैरविश्‍वासीजस्तै छस्। परमेश्‍वरले सबै कुरा खोस्‍नु भनेको त्यही हो। यदि तँ आफ्नो कर्तव्यमा लापरवाह छस्, मूल्य चुकाउँदैनस्, र तँ निष्कपट छैनस् भने, परमेश्‍वरले तँसित भएका कुरा खोस्‍नुहुनेछ, उहाँले तेरो कर्तव्य निर्वाह गर्ने अधिकार फिर्ता लिनुहुनेछ, उहाँले तँलाई यो अधिकार दिनुहुनेछैन। परमेश्‍वरले तँलाई वरदान र क्षमता दिनुभयो, तर तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गरिनस्, परमेश्‍वरप्रति आफूलाई समर्पित गरिनस्, वा मूल्य चुकाइनस् र तैँले त्यसमा मन लगाइनस्, त्यसकारण परमेश्‍वरले तँलाई आशिष् नदिनुहुने मात्र होइन, तँसित भएका कुरा पनि खोस्‍नुहुनेछ। परमेश्‍वरले मानिसहरूलाई विशेष सीपका साथै ज्ञान र बुद्धि दिएर वरदान प्रदान गर्नुहुन्छ। मानिसहरूले यी कुरा कसरी प्रयोग गर्नुपर्छ? तैँले आफ्नो विशेष सीप, वरदान, ज्ञान र बुद्धिलाई आफ्नो कर्तव्यमा समर्पित गर्नैपर्छ। तैँले आफ्नो हृदय प्रयोग गर्नुपर्छ अनि आफूलाई थाहा भएका, आफूले बुझेका, र आफूले प्राप्त गर्न सक्‍ने सबै कुरा आफ्नो कर्तव्यमा लगाउनैपर्छ। यसो गर्दा तँ आशिषित हुनेछस्। परमेश्‍वरद्वारा आशिषित् हुनुको अर्थ के हो? यसले मानिसहरूलाई कस्तो महसुस गराउँछ? तिनीहरूले परमेश्‍वरबाट अन्तर्दृष्टि र मार्गदर्शन पाएका छन्, र तिनीहरूले आफ्‍नो कर्तव्य निर्वाह गर्दा तिनीहरूसित मार्ग हुन्छ। अरू मानिसहरूलाई तेरो क्षमता र तैँले सिकेका कुराहरूले तँलाई काम पूरा गर्न सक्षम पार्न नसकेकोजस्तो लाग्न सक्छ—तर यदि परमेश्‍वरले काम गर्नुहुन्छ र तँलाई अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ भने, तँ ती कुरा बुझ्न र ती काम गर्न मात्र होइन, ती काम राम्रैसित गर्नसमेत सक्षम हुनेछस्। अनि अन्त्यमा, तैँले अलमल्ल हुँदै मनमनै यस्तो सोच्नेछस्, “म त यति दक्ष थिइनँ, तर अहिले मभित्र कति धेरै असल कुराहरू छन्—र यी सबै सकारात्मक छन्। मैले यी कुराहरू कहिल्यै अध्ययन गरिनँ, तर म अहिले अचानक यी सबै कुराहरू बुझ्ने भएको छु। म अचानक कसरी यति तीक्ष्ण भएँ? अहिले म कसरी यति धेरै कुराहरू गर्न सक्‍ने भएँ?” तैँले यो कुरा व्याख्या गर्न सक्नेछैनस्। यी त परमेश्‍वरबाटको अन्तर्दृष्टि र आशिष् हुन्; यसरी नै परमेश्‍वरले मानिसहरूलाई आशिष् दिनुहुन्छ। तिमीहरूले आफ्नो कर्तव्य निभाउँदा वा काम गर्दा यदि यस्तो महसुस गर्दैनौ भने, तिमीहरू परमेश्‍वरद्वारा आशिषित् भएका छैनौ। यदि तँलाई आफ्नो कर्तव्य निभाउनु सधैँ निरर्थक लाग्छ भने, यदि तँलाई गर्नुपर्ने कुनै कुरा नै छैन जस्तो लाग्छ र तैँले आफूलाई योगदान दिन सक्‍ने अवस्थामा पुर्‍याउन सक्दैनस् भने, यदि तैँले कहिल्यै अन्तर्दृष्टि पाउँदैनस् र आफूसित प्रयोग गर्न सकिने कुनै चातुर्य वा बुद्धि आफूमा नभएको महसुस गर्छस् भने, यो समस्या हो। यसले तँसँग आफ्‍नो कर्तव्य पूरा गर्ने सही अभिप्राय वा सही मार्ग छैन, र परमेश्‍वरले अनुमोदन गर्नुहुन्‍न, र तेरो स्थिति अस्वाभाविक छ भन्‍ने देखाउँछ। तैँले आफूलाई जाँच्‍नैपर्छ: “कर्तव्यका अवधिमा किन मसित मार्ग अभाव हुन्छ? मैले यो क्षेत्रको अध्ययन गरेको छु, र यो मेरो विशेषज्ञताको दायरामा पर्छ—म यसमा सिपालु पनि छु। मैले आफ्‍नो ज्ञान लागू गर्ने प्रयास गर्दा किन सक्दिनँ? म किन यसको उपयोग गर्न सक्दिनँ? के भइरहेको छ?” के यो संयोग हो? यहाँ एउटा समस्या छ। जब परमेश्‍वरले कसैलाई आशिष् दिनुहुन्छ, तब ऊ बुद्धिमान् र ज्ञानी, सबै कुरा स्पष्ट बुझ्‍ने, होशियार, चनाखो र विशेष गरी सिपालु हुन्छ; ऊसँग कौशलता हुनेछ, आफूले गर्ने हरेक कुरामा ऊ उत्प्रेरित हुनेछ, र आफूले गर्ने हरेक कुरा सहज हुनेछ र आफूलाई कुनै कठिनाइले रोक्न सक्दैन भन्‍ने उसले सोच्नेछ—उसले परमेश्‍वरबाट आशिष् पाउँछ। यदि कसैलाई सबै कुरा असाध्यै कठिन लाग्छ, र उसले जुनसुकै काम गरिरहेको भए पनि, ऊ अडभङ्गे, विकृत हुन सक्ने, र जे गरिरहेको भए पनि अनभिज्ञ हुन्छ, उसले उसलाई भनिएको कुनै पनि कुरा बुझ्दैन भने, यसको अर्थ के हो? यसको अर्थ ऊसँग परमेश्‍वरको मार्गदर्शन छैन र ऊसँग परमेश्‍वरको आशिष् छैन। कतिपय मानिसहरू यसो भन्छन्, “मैले आफूलाई अर्पेको छु, र पनि किन होला म परमेश्‍वरको आशिष्‌ देख्दै देख्दिनँ?” यदि तँ केवल आफूलाई अर्पण गर्छस् र प्रयास गर्छस्, तर सत्यता सिद्धान्तहरूअनुसार काम गर्न खोज्दैनस् भने, तैँले आफ्‍नो कर्तव्यमा झारा टारिरहेको छस्। तैँले कसरी पो परमेश्‍वरका आशिष्हरू देख्‍न सक्छस् र? यदि तँ आफ्‍नो कर्तव्य पूरा गर्दा सधैँ लापरवाह हुन्छस् र कहिल्यै गम्भीर हुँदैनस् भने, पवित्र आत्‍माले तँलाई अन्तर्दृष्टि वा प्रकाश दिनुहुनेछैन, र तैँले परमेश्‍वरको मार्गदर्शन वा उहाँको काम प्राप्त गर्नेछैनस्, र तेरा कामहरूले कुनै फल फलाउनेछैनन्। मानव सामर्थ्य र ज्ञानमा भरोसा गरेर कर्तव्य राम्ररी पूरा गर्नु वा मामिला सम्हाल्नु अत्यन्त गाह्रो हुन्छ। हरेकले मैले केही न केही जानेको छु, ममा केही सीप छ भन्‍ने सोच्छ, तर तिनीहरूले काम राम्ररी गर्दैनन्, र सधैँ काम बिगार्छन्, जुन टीकाटिप्पणी र हाँसोको विषय बन्छ। यो एउटा समस्या हो। कुनै व्यक्ति स्पष्ट रूपमा उल्लेखनीय नहुन सक्छ तर उसले आफूलाई जान्‍ने ठान्छ र ऊ कसैको सामु झुक्दैन। यो मानिसको प्रकृतिसँग सम्बन्धित समस्या हो। आफूलाई नचिन्ने सबै मानिसहरू यस्तै हुन्छन्। के त्यस्ता मानिसहरूले आफ्नो कर्तव्य राम्रोसित निभाउन सक्छन् त? तिनीहरूले आफ्नो कर्तव्य राम्रोसित निभाउन नसक्ने मात्र होइन, तिनीहरू त नराम्ररी असफल हुन पनि सक्छन्। कतिपय मानिसहरू कुनै पनि कर्तव्य राम्रोसित निभाउनसमेत सक्दैनन्, तैपनि सधैँ उच्च ओहोदा लिने र मानिसहरूमाथि हैकम जमाउने कोसिस गर्छन्। त्यस्ता मानिसहरूले केही पनि हासिल गर्दैनन्—तिनीहरू त सुसमाचार फैलाउन वा अरूसमक्ष गवाही दिनसमेत सक्षम हुँदैनन्, अनि तिनीहरूसित सत्यताबारे सङ्गति गर्न एक शब्द पनि हुँदैन। त्यस्ता मानिसहरू पूरै निर्वस्‍त्र, दरिद्र र दयनीय हुन्छन्! सत्यताको पछि नलाग्ने सबैले जिम्‍मेवारी नलिने मनस्थितिले आफ्‍नो कर्तव्य पूरा गर्छन्। “कसैले अगुवाइ गऱ्यो भने, म पछ्याउँछु; उसले जहाँ डोऱ्याउँछ, म त्यहीँ जान्छु। उसले मलाई जे गर्न लगाउँछ म त्यही गर्नेछु। जहाँसम्‍म जिम्‍मेवारी र चासो लिने, वा कुनै कुरा गर्न अझै धेरै समस्या झेल्ने, आफ्‍नो सारा हृदय र शक्तिले केही गर्ने कुरा छ—म त्यो गर्न चाहन्नँ।” यी मानिसहरू मूल्य चुकाउन अनिच्‍छुक हुन्छन्। तिनीहरू खटिन मात्रै इच्छुक हुन्छन्, जिम्‍मेवारी लिन इच्छुक हुँदैनन्। व्यक्तिले साँचो रूपमा आफ्‍नो कर्तव्य पूरा गर्ने मनोवृत्ति यो होइन। व्यक्तिले आफ्‍नो कर्तव्य निर्वाहमा आफ्‍नो हृदय लगाउन सिक्नैपर्छ, र विवेक भएको व्यक्तिले यो कुरा गर्न सक्छ। यदि व्यक्तिले आफ्नो कर्तव्य निर्वाह गर्नमा कहिल्यै हृदय लगाउँदैन भने, त्यसको अर्थ उसमा विवेक छैन, र विवेकविनाका मानिसहरूले सत्यता प्राप्त गर्न सक्दैनन्। तिनीहरूले सत्यता प्राप्त गर्न सक्दैनन् भनेर म किन भन्छु? तिनीहरू परमेश्‍वरलाई कसरी प्रार्थना गर्ने र पवित्र आत्माको अन्तर्दृष्टि खोजी गर्ने त्यो जान्दैनन्, न त परमेश्‍वरका अभिप्रायहरूलाई कसरी ख्याल गर्ने, परमेश्‍वरका वचनहरू मनन गर्नमा आफ्‍नो हृदय कसरी लगाउने भन्‍ने नै जान्दछन्, साथै सत्यता कसरी खोजी गर्ने, परमेश्‍वरका मागहरू र उहाँको चाहनाहरू बुझ्‍न कसरी खोजी गर्ने भन्‍ने नै जान्दछन्। सत्यता खोजी गर्न नसक्‍नु भनेको यही हो। के तिमीहरू त्यस्ता स्थितिहरू अनुभूत गर्छौ, जसमा चाहे जे आइपरे पनि, वा तिमीहरूले जे-जस्तो कर्तव्य पूरा गरे पनि, तिमीहरू प्रायः परमेश्‍वरसामु आफूलाई शान्त पार्न, र उहाँका वचनहरू मनन गर्नमा, र सत्यता खोजी गर्नमा, साथै परमेश्‍वरका अभिप्रायहरू अनुसार आफ्‍नो कर्तव्य कसरी पूरा गर्नैपर्ने हो र त्यो कर्तव्य सन्तोषजनक ढङ्गले पूरा गर्न तिमीहरूमा कुन सत्यताहरू हुनुपर्छ भनेर विचार गर्नमा हृदय लगाउन सक्छौ? के तिमीहरू धेरै पटक यसरी नै सत्यता खोजी गर्छौ? (गर्दैनौ।) आफ्नो हृदयलाई आफ्नो कर्तव्यमा लगाउन र जिम्मेवारी लिन सक्‍ने बन्न तैँले कष्ट भोग्‍नु र मूल्य चुकाउनु आवश्यक हुन्छ—यी कुराहरूबारे कुरा गर्नु मात्र पर्याप्त हुँदैन। यदि तैँले आफ्नो हृदय कर्तव्यमा लगाउँदैनस्, बरु त्यसको साटो सधैँ परिश्रम मात्र गर्न चाहन्छस् भने, तेरो कर्तव्य निश्चित रूपले राम्रोसँग गरिएको हुँदैन। तैँले केवल झारा टारिरहेको हुन्छस्, त्योभन्दा बढी केही होइन, र तैँले आफ्नो कर्तव्य राम्ररी गरिस् कि गरिनस् त्यो जान्‍नेछैनस्। यदि तैँले आफ्नो हृदय त्यसमा लगाइस् भने तैँले बिस्तारै सत्य बुझ्न थाल्नेछस्; यदि तैँले आफ्नो हृदय त्यसमा लगाइनस् भने तैँले सत्य बुझ्नेछैनस्। जब तँ आफ्नो हृदयलाई कर्तव्य निर्वाह गर्नमा र सत्यता पछ्याउनमा लगाउँछस्, तब तँ बिस्तारै परमेश्‍वरका अभिप्रायहरू बुझ्न सक्‍ने, आफ्नो भ्रष्टता र कमीकमजोरीहरू थाहा पाउने, र आफ्ना सबै विविध स्थितिहरूबारे निपुणता हासिल गर्न सक्‍ने हुनेछस्। जब तैँले खटिनमा मात्रै ध्यान दिन्छस्, र आत्मचिन्तन गर्नमा हृदय लगाउँदैनस्, तब तैँले आफ्‍नो हृदयको साँचो स्थिति अनि फरक फरक स्थितिमा तँमा हुने अनगिन्ती प्रतिक्रिया र भ्रष्टताका प्रकटीकरणहरू पत्ता लगाउन सक्‍नेछैनस्। यदि समस्याहरू हल नभई थाँती नै रहँदा परिणाम के हुन्छ भन्‍ने कुरा तँलाई थाहा छैन भने, तँ ठूलो समस्यामा छस्। त्यसैले परमेश्‍वरलाई अन्योलतापूर्वक विश्‍वास गर्नु राम्रो हुँदैन। तँ हरेक समय, हरेक स्थानमा परमेश्‍वरअघि जिउनुपर्छ; तेरो जीवनमा जेसुकै आइपरे पनि, तैँले सधैँ सत्यता खोजी गर्नैपर्छ, र यसो गर्दा तैँले आत्मचिन्तन पनि गर्नैपर्छ, र तेरो स्थितिमा के-कस्ता समस्याहरू छन् भनेर पनि जान्नैपर्छ, अनि ती समाधान गर्न तुरुन्तै सत्यता खोजी गर्नैपर्छ। त्यसरी मात्रै तैँले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्छस् र तँ काममा ढिलाइ गराउनबाट बच्‍न सक्छस्। अनि तैँले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न मात्र सक्‍नेछैनस्, तर त्योभन्दा महत्त्वपूर्ण कुरा, तैँले आफ्नो जीवन प्रवेश पनि प्राप्त गर्नेछस् र आफ्‍नो भ्रष्ट स्वभाव पनि हल गर्नेछस्। यसरी मात्रै तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्‍नेछस्। यदि तैँले हृदयमा प्रायः मनन गर्ने कुरा तेरो कर्तव्यसित जोडिएको मामिला वा सत्यतासँग सम्बन्ध रहेको मामिला होइन, र तँ बाहिरी कुराहरूमा अल्झिएको छस्, तेरा विचारहरू देहका मामिलाहरूमा केन्द्रित छन् भने, के तैँले सत्यता बुझ्‍न सक्छस् र? के तँ आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न र परमेश्‍वरसामु जिउन सक्छस् र? अवश्यै सक्दैनस्। त्यस्तो खालको व्यक्तिलाई मुक्ति दिन सकिँदैन।

परमेश्‍वरमा विश्‍वास गर्नु भनेको जीवनको सही मार्गमा हिँड्नु हो, र व्यक्ति सत्यताको पछि लाग्नैपर्छ। यो आत्मा र जीवनको कुरा हो, र यो गैरविश्‍वासीहरूको सम्पत्ति र वैभवको खोजी, आफ्‍नो लागि अमेट नाम कमाउने प्रयासभन्दा फरक कुरा हो। यी फरक फरक मार्गहरू हुन्। गैरविश्‍वासीहरूले आफ्‍नो काममा, कसरी थोरै काम गरेर धेरै पैसा कमाउने, अझै धेरै कमाउन कसरी शङ्कास्पद चालहरू चल्न सकिन्छ भनेर सोच्छन्। तिनीहरू कसरी धनी बन्‍ने र आफ्‍नो परिवारको लागि सम्पत्ति कमाउने भनेर दिनभरि सोच्छन्, र आफ्‍नो उद्देश्य हासिल गर्न तिनीहरू बेइमान उपायहरूसमेत निकाल्छन्। यो दुष्टको मार्ग, शैतानको मार्ग हो, र यो गैरविश्‍वासीहरू हिँड्ने मार्ग हो। परमेश्‍वरमा विश्‍वास गर्नेहरू हिँड्ने मार्ग भनेको सत्यताको पछि लाग्नु र जीवन प्राप्त गर्नु हो; यो परमेश्‍वरलाई पछ्याउने र सत्यता प्राप्त गर्ने मार्ग हो। सत्यता प्राप्त गर्न कसरी अभ्यास गर्नुपर्छ? तैँले लगनसाथ परमेश्‍वरका वचनहरू पढ्ने, र तिनलाई अभ्यास र अनुभव गर्ने गर्नुपर्छ—तैँले त्यसो गरेपछि मात्र सत्यता बुझ्नेछस्। अनि, जब तैँले सत्यता बुझ्नेछस्, तब सबै कुराहरू सिद्धान्तअनुसार गर्न आफ्नो कर्तव्य कसरी राम्रोसित निभाउने, अनि कसरी परमेश्‍वरमा समर्पित हुने भन्‍ने बारेमा विचार पुर्‍याउनुपर्छ। यसको लागि सत्यता अभ्यास गर्न आवश्यक हुन्छ। तर सत्यता अभ्यास गर्नु सजिलो कुरा होइन: यसको लागि तैँले सत्यता खोज्ने मात्र होइन, आफूभित्र गलत विचार र धारणाहरू छन् कि भनेर चिन्तन-मनन र पहिचान गर्ने काम पनि गर्नुपर्छ, र यदि समस्याहरू छन् भने, तैँले ती हल गर्न सत्यताबारे सङ्गति गर्नुपर्छ। जब तैँले सत्यता अभ्यास गर्ने सिद्धान्तहरू बुझ्छस्, तब सत्यता अभ्यास गर्न सक्‍नेछस्। अनि, सत्यता अभ्यास गरेर मात्रै तँ सत्यता वास्तविकतामा प्रवेश गर्न र परमेश्‍वरमा समर्पित हुने व्यक्ति बन्‍न सक्‍नेछस्। यसरी अभ्यास र अनुभव गरेर, तैँले थाहै नपाई आफ्नो स्वभाव बदल्नेछस् र सत्यता प्राप्त गर्नेछस्। गैरविश्‍वासीहरू सधैँ प्रसिद्धि, लाभ र हैसियतप्रति मरिहत्ते गरिरहेका हुन्छन्। फलस्वरूप, तिनीहरू दुष्ट्याइँको बाटो हिँड्छन्, अनि झन्झन् पतित, झन्झन् चतुर र छली, झन्झन् कपटी र षडयन्त्रकारी बन्दै जान्छन्; तिनीहरूको हृदय झन्झन् दुष्ट बन्दै जान्छ, र तिनीहरू झन्झन् बुझ्न नसकिने र झन्झन् रहस्यमयी बन्दै जान्छन्—यो गैरविश्‍वासीहरूको मार्ग हो। तर परमेश्‍वरमा विश्‍वास गर्नेहरूको मार्ग यसको ठीक विपरीत हुन्छ। परमेश्‍वरका विश्‍वासीहरू यस्तो दुष्ट संसार र दुष्ट मानवजातिबाट आफैलाई अलग्याउन चाहन्छन्; तिनीहरू सत्यता पछ्याउन र आफ्नो भ्रष्टता शुद्ध पार्न चाहन्छन्। तिनीहरू मानव स्वरूपमा जिउँदा मात्र तिनीहरूको हृदय स्थिर र शान्त हुन्छ; तिनीहरू परमेश्‍वरलाई चिन्‍न, परमेश्‍वरको डर मान्‍न, दुष्टताबाट अलग बस्‍न अनि उहाँको अनुमोदन र आशिष्‌ प्राप्त गर्न चाहन्छन्। परमेश्‍वरमा विश्‍वास गर्नेहरूले खोज्ने कुरा यही हो। यदि तैँले वर्षौँसम्म परमेश्‍वरमा विश्‍वास गरेको छस्, साँच्चै सत्यता बुझ्छस्, र तँ परिवर्तित भएको छस् भने, अरूले तँसित जति धेरै अन्तर्क्रिया गर्छन्, तिनीहरूले तँ त्यति नै धेरै इमानदार छस्—तँ बोलीमा र कर्तव्य निर्वाहमा इमानदार छस्—तँ पूर्ण रूपमा खुला मनको व्यक्ति होस्, तँ कुनै कुरा लुकाउँदैनस्, र तँ पारदर्शी रूपले बोल्ने र व्यवहार गर्ने गर्छस्—भन्‍ने अनुभूति गर्नेछन्। तैँले बोल्ने कुराहरू, तैँले व्यक्त गर्ने दृष्टिकोणहरू, तैँले गर्ने कामहरू, र तैँले निर्वाह गर्ने कर्तव्यमार्फत, अनि तैँले अरूसित कुराकानी गर्दा अपनाउने तेरो इमानदार मनोवृत्तिमार्फत, मानिसहरूले तेरो हृदय छर्लङ्गै देख्न सक्नेछन्, अनि तँ कसरी व्यवहार गर्छस्, तेरा प्राथमिकताहरू के हुन्, र तैँले कुन लक्ष्य पछ्याउँछस् भनेर पनि देख्न सक्नेछन्। तिनीहरूले तँ असल र इमानदार व्यक्ति होस्, र तँ सही मार्गमा हिँडिरहेको छस् भनेर स्पष्टै देख्न सक्नेछन्। यसले तँ परिवर्तित भएको छस् भन्‍ने देखाउँछ। यदि तैँले लामो समयसम्म परमेश्‍वरमा विश्‍वास गरेको र आफ्नो कर्तव्य निभाएको छस् तर तैँले मानिसहरूसित अन्तर्क्रिया गर्दा तिनीहरूले सधैँ तेरो बोलीमा पारदर्शिता नभएको र तेरा दृष्टिकोणहरू अस्पष्ट रहेको महसुस गर्छन् र तेरा कार्यहरूमा तेरो हृदय छर्लङ्ग देख्‍न सक्दैनन् भने, र यदि तिनीहरूले निरन्तर तैँले आफ्नो हृदयमा कुराहरू लुकाएको महसुस गर्छन् भने, यसले तँ आफूलाई लुकाउन, भेष बदल्न र आफूलाई असल देखाउनमा माहिर, घुसघुसे व्यक्ति होस भन्‍ने देखाउँछ। यदि तँसँग कैयौँ वर्षको अन्तर्क्रिया गरेपछि पनि अरूले तेरो हृदय पूर्ण रूपमा बोध गर्न सक्दैनन् भने, र तेरो स्वभाव र तेरो सार नभई तेरो मिजास र चरित्र मात्र देख्छन् भने, यसले तँ अझै पनि तेरो शैतानी स्वभावअनुसार नै जिइरहेको छस् भन्‍ने देखाउँछ। तँ जति धेरै धूर्त हुन्छस्, त्यसले तँ त्यति नै असल व्यक्ति होइनस्, तँभित्र मानवताको कमी छ, र तँ दियाबलसहरू र शैतानको होस् भन्‍ने देखाउँछ। यदि तँ कुनै सत्यता प्राप्त गर्दैनस्, र तैँले जति नै धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरे पनि तेरा भ्रष्ट स्वभावहरू शुद्ध हुँदैनन् भने, तँजस्तो व्यक्तिलाई मुक्ति प्राप्त गर्न एकदमै गाह्रो हुनेछ। अनि तेरो कुरा घुमाउन सक्‍ने क्षमता, वाक्पटुता, चातुर्य, द्रुत प्रतिक्रिया, र कामकुराहरू सम्हाल्ने तेरो सिपको बाबजुद पनि, यदि तँसित अन्तर्क्रिया गर्नेहरूले सधैँ अस्थिर महसुस गर्छन् र तँ भर नपर्दो, भरोसा गर्न अयोग्य, र बुझ्न नसकिने छस् भनेर महसुस गर्न सक्छन् भने, तँ समस्यामा छस्। यसले तँ परमेश्‍वरमा विश्‍वास गरेर पनि बदलिएकै छैनस् र तैँले उहाँमा साँचो विश्‍वास गर्दैनस् भन्‍ने इङ्गित गर्छ। के अहिलेसम्म तिमीहरूले परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासमा कुनै वास्तविक परिवर्तन अनुभव गरेका छौ? के तिमीहरू अरूसित इमानदार मनोवृत्तिसाथ अन्तर्क्रिया गर्छौ? के अरूले तँ इमानदार छस् भन्‍ने अनुभूति गर्छन्? (मलाई तुरुन्तै फाइदा हुने कुराहरूमा, म झूट बोल्न र धोका दिन सक्छु; तर जब ती कुराहरू मलाई तुरुन्तै फाइदा हुने कुराहरू हुँदैनन्, तब म सत्य बोल्न र अलिअलि हृदय खोल्न सक्छु।) (म आफूले बोल्ने कुरामा चयनात्मक छु—म केही कुराहरू खुलेर बोल्छु, तर मेरो हृदयको गहिराइमा लुकेका कुराहरू म लुकाएरै राख्छु। अरूसित अन्तर्क्रिया गर्दा, म अझै पनि आफूलाई ढाकछोप गर्ने र भेष बदल्ने गर्छु।) यो आफ्ना भ्रष्ट स्वभावहरूमा व्यक्ति जिइरहेको एउटा उदाहरण हो। यदि व्यक्तिले सत्यता पछ्याउँदैन र आफ्ना भ्रष्ट स्वभावहरू सुल्झाउँदैन भने, ऊ कसरी परिवर्तन हुन सक्छ? तिमीहरू सबैजना कर्तव्य निभाउने मानिसहरू हौ। तिमीहरूमा कम्तीमा पनि, इमानदार हृदय हुनुपर्छ, र तिमीहरूले परमेश्‍वरलाई तँ निष्कपट छस् भनेर देखाउनुपर्छ—तब मात्रै तैँले परमेश्‍वरको अन्तर्दृष्टि, ज्योति र मार्गदर्शन प्राप्त गर्न सक्नेछस्। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, तैँले परमेश्‍वरको छानबिन स्विकार्नुपर्छ। तँ र अरू मानिसहरूबीच जे-जस्ता बाधाहरू भए पनि, तैँले आफ्नै आडम्बर र प्रतिष्ठालाई जति नै महत्त्व दिए पनि, र तैँले सहजै खुलेर कुरा गर्न नसक्‍ने जे-जस्ता अभिप्रायहरू पाले पनि, यी सबै कुराहरू बिस्तारै परिवर्तन हुँदै जानुपर्छ। हरेक व्यक्तिले चरणबद्ध रूपमा यी भ्रष्ट स्वभावहरू र कठिनाइहरूबाट आफूलाई स्वतन्त्र गर्नुपर्छ, र तिनीहरूका भ्रष्ट स्वभावहरूले खडा गर्ने वाधाहरू छिचोल्‍नुपर्छ। तर तैँले यी वाधाहरू पार गर्नुभन्दा पहिले, के तेरो हृदय परमेश्‍वरसित साँच्‍चिकै इमानदार छ त? के तँ उहाँबाट कुराहरू लुकाउने वा ढाकछोप गर्ने वा उहाँलाई झूटो रूप देखाउने र धोका दिने गर्छस्? तँ आफ्नो हृदयमा यसबारे स्पष्ट हुनुपर्छ। यदि तेरो हृदयमा यी कुराहरू छन् भने, तैँले परमेश्‍वरको छानबिन स्विकार्नुपर्छ। यस्ता कुराहरूलाई संयोगको भरमा नछोड् र यस्तो नभन्, “म मेरो सम्पूर्ण जीवन परमेश्‍वरप्रति समर्पित गर्न चाहन्नँ। म परिवार सुरु गर्न र आफ्नै जीवन जिउन चाहन्छु। आशा छ, परमेश्‍वरले मेरो छानबिन र निन्दा गर्नुहुनेछैन।” यदि तैँले यी सबै कुराहरू अर्थात् तैँले आफ्नो हृदयभित्र पालेर राखेका अभिप्राय, उद्देश्य, योजना र जीवन लक्ष्यहरू परमेश्‍वरबाट लुकाउँछस् भने, र यदि तैँले विभिन्‍न कुराहरूबारेका आफ्ना दृष्टिकोणहरू र परमेश्‍वरप्रतिको आस्थाबारेका तेरा विश्‍वासहरू लुकाउँछस् भने, तँ समस्यामा पर्नेछस्। यदि तैँले यी व्यर्थका कुराहरू लुकाउँछस् र यी कुराहरू हल गर्न सत्यता खोजी गर्दैनस् भने, यसले देखाउँछ कि तँ सत्यतालाई प्रेम गर्दैनस्, र तँलाई सत्यता स्विकार्न र प्राप्त गर्न कठिन हुन्छ। तैँले अरू मानिसहरूबाट त यस्ता विभिन्‍न कुराहरू लुकाउन सक्लास्, तर परमेश्‍वरबाट ती कुराहरू लुकाउन सक्दैनस्। यदि तँ परमेश्‍वरमा भरोसा गर्दैनस् भने, उहाँमा विश्‍वास किन गर्छस्? यदि तँसित गोप्य कुराहरू छन्, र ती कुराहरूबारे आफूले खुलेर कुरा गर्दा मानिसहरूले तँलाई अवहेलना गर्लान् भनेर चिन्तित छस् भने र तँसँग सबैसामु खुलेर बोल्ने आँट छैन भने, तैँले बस परमेश्‍वरसित खुलेर कुरा गर्न सक्‍नेछस्। तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, र उहाँप्रतिको विश्‍वासमा आफूले पालेका दुष्ट अभिप्रायहरू, आफ्नो भविष्य र नियतिको खातिर आफूले गरेका कामकुराहरू, र तैँले कसरी प्रसिद्धि र लाभको निम्ति मरिहत्ते गरिस् भनेर स्वीकारोक्ति गर्नुपर्छ। यी सबै कुराहरू परमेश्‍वरको अगाडि राख् र उहाँसामु यी सबै खुलासा गर्; यी कुराहरू उहाँबाट नलुका। तेरो हृदय जति नै धेरै मानिसहरूको लागि बन्द गरिएको भए पनि, परमेश्‍वरको लागि तेरो हृदय बन्द नगर्—तैँले उहाँसामु हृदय खोल्नुपर्छ। उहाँमा विश्‍वास गर्नेहरूले कम्तीमा यति निष्कपटता देखाउनैपर्छ। यदि तँसित परमेश्‍वरसामु खुल्ने र उहाँको लागि बन्द नहुने हृदय छ र तँ उहाँको छानबिन स्विकार्न सक्छस् भने, उहाँले तँलाई कसरी हेर्नुहुनेछ? यदि तँ अरूसामु खुल्दैनस् भने पनि, यदि तँ उहाँसामु खुल्न सक्छस् भने, परमेश्‍वरले तँलाई इमानदार हृदय भएको इमानदार व्यक्तिको रूपमा हेर्नुहुनेछ। यदि तेरो इमानदार हृदयले उहाँको छानबिन स्विकार्न सक्छ भने, यो कुरा उहाँको नजरमा मूल्यवान् हुन्छ, र उहाँले तँभित्र गर्नुपर्ने काम निश्‍चय नै हुनेछ। उदाहरणको लागि, यदि तैँले परमेश्‍वरलाई कुनै कुरामा धोका दिएको छस् भने, उहाँले तँलाई ताडना दिनुहुनेछ। त्यसपछि तैँले उहाँको त्यो ताडना स्विकार्नैपर्छ, र तुरुन्तै उहाँसामु पश्‍चात्ताप र पापस्वीकार गर्नुपर्छ, र आफ्ना गल्तीहरू स्विकार्नुपर्छ; तैँले आफ्नो विद्रोहीपन र भ्रष्टता स्विकार्नुपर्छ, अनि परमेश्‍वरको सजाय र न्याय स्विकार्नुपर्छ, आफ्नो भ्रष्ट स्वभावहरू चिन्‍नुपर्छ, उहाँका वचनहरूअनुसार अभ्यास गर्नुपर्छ, र साँचो रूपमा पश्‍चात्ताप गर्नुपर्छ। परमेश्‍वरमाथिको तेरो निष्कपट विश्‍वास अनि उहाँमाथिको तेरो सच्‍चा आस्थाको प्रमाण यही हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्