राज्यको युगमा परमेश्‍वरका प्रशासनिक आदेशहरूको सम्बन्धमा

सर्वप्रथम, प्रशासनिक आदेशहरू के हुन् र तिनका परिभाषाबारे कुरा गरौँ। यो बुझ्नैपर्ने कुरा हो। केही मानिसहरू “प्रशासनिक आदेशहरू” बारे सुन्दा, “प्रशासनिक आदेशहरूको अर्थ के हो? के ती कानुनी विधान हुन्? नियम हुन्? कुनै प्रणाली हुन्? केही वंशीय प्रतिबन्ध हुन्? आज्ञाहरू हुन्? आखिरमा ती के हुन्?” भनी सोच्छन्। मानिसमा बुझाइको कमी हुन्छ। प्रशासनिक आदेशहरू के हुन, वा तिनले कसरी काम गर्छन् भन्नेबारे कसैले ठ्याक्कै बुझेको हुँदैन। मानिसहरू प्राय: भन्छन्, “परमेश्‍वरका प्रशासनिक आदेशहरू छन्। यदि तँ अनाज्ञाकारी भइस् भने, परमेश्‍वरले ती आज्ञाहरू तँलाई नियन्त्रण गर्न र दण्ड दिन प्रयोग गर्नुहुनेछ।” तिनीहरू “प्रशासनिक आदेशहरू” भन्ने शब्दहरूको वास्तविक अर्थ नबुझी ती फलाक्छन्। त्यसोभए, वास्तवमा प्रशासनिक आदेशहरू के हुन् त? ती परमेश्‍वरद्वारा तय गरिएका वचनहरूको एउटा वर्ग हुन् जसले मानिसहरूलाई नियन्त्रण गर्न उनीहरूको प्रकृति र भ्रष्ट स्वभावलाई सम्बोधन गर्दछन्। प्रशासनिक आदेशहरू कानुन वा कानुनी विधान होइनन्, झन् मानव संसारको संविधानहरूको तुलनामा ती आउनु त परको कुरा हो। ती मानिसहरूको व्यवहारलाई नियन्त्रण गर्न परमेश्‍वरद्वारा निर्धारित मापदण्ड हुन्। प्रशासनिक आदेशहरूमा परमेश्‍वरको भय कसरी मान्ने, परमेश्‍वरको उपासना कसरी गर्ने, कसरी परमेश्‍वरप्रति समर्पित हुने, सृष्टि गरिएको व्यक्तिको रूपमा कसरी व्यवहार गर्ने, व्यक्तिको रूपमा कसरी व्यवहार गर्ने, कसरी परमेश्‍वरको गवाही दिने, र कसरी परमेश्‍वरको नाउँलाई सरममा नपार्ने इत्यादि कुरा समावेश छन्। परमेश्‍वरका प्रशासनिक आदेशका विवरणहरूमा कैयौँ कुराहरू समावेश हुन्छन्। कतिपय मानिसहरू भन्छन्, “परमेश्‍वरका आत्माले कामकुरा गर्न सक्नुहुन्छ। उहाँ मानिसहरूलाई दण्ड दिन सक्नुहुन्छ अनि हरेक व्यक्तिलाई उसले पाउनुपर्ने फल दिनुहुन्छ। परमेश्‍वर सबै मानिसहरूलाई सिकाउन सत्यता पनि व्यक्त गर्नुहुन्छ। प्रशासनिक आदेशहरू किन हुनैपर्छ?” सत्यता मानिसहरूको जीवन प्रवेश र भ्रष्ट स्वभावको बुझाइसित सम्बन्धित छ। प्रशासनिक आदेशहरू स्पष्ट रूपले परिभाषित अनुबन्ध हुन्। तेरो अवस्था जस्तोसुकै भए पनि, तँ जस्तोसुकै प्रकारको मानिस भए पनि, यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने तैँले परमेश्‍वरको घरमा प्रशासनिक आदेशहरूद्वारा अनुबन्धित सबै कुरा पालना गर्नुपर्छ। यदि तैँले सक्दैनस् भने, तेरो नाउँ हटाइनेछ अनि परमेश्‍वरको नजरमा तँ तिरस्कृत हुनेछस्। वास्तवमा, प्रशासनिक आदेशहरू परमेश्‍वरका विश्‍वासीहरूबाट माग गरिएको न्यूनतम कुरा हुन्, जसरी इस्राएलीहरूले यहोवालाई बलिदान दिएर र विश्राम दिन पालन गरेर उपासना गर्थे। व्यवस्थाको युगमा यहोवाले निश्चित काम गर्नुभयो, धेरै वचन बोल्नुभयो अनि थुप्रै व्यवस्था दिनुभयो। ती व्यवस्थाहरूमा स्वभाविकतः मानिसले गर्नुपर्ने धेरै कुरा समावेश थिए: उदाहरणका लागि, तिनीहरूले कसरी यहोवाको उपासना गर्नुपर्छ, वा कसरी यहोवालाई बलिदानहरू चढाउने, कसरी दशांश दिने, भेटी चढाउने इत्यादि। त्यस समयमा, यिनलाई व्यवस्था भनिन्थ्यो, र अनुग्रहको युगमा त्यस समान अनुबन्धलाई आज्ञा भनियो, जुन सबै मानिसले पालना गर्नुपर्थ्यो। अहिले, राज्यको युगमा, आखिरी दिनहरूका कामको यस चरणमा, नयाँ युगका आज्ञाहरू व्यक्त गरिएको छ, र अहिले तिनलाई प्रशासनिक आदेशहरू भनिन्छ। राज्यको युगमा, यी आज्ञाहरू प्रशासनिक आदेशहरूको पाटो हुन्। तथापि, अनुग्रहको युगका आज्ञाहरूले आज प्रशासनिक आदेशहरूको रूपमा काम गर्न सक्दैनन्, किनकि हरेक युगमा परमेश्‍वरले मानिसबाट माग गर्ने कुरा फरक हुन्छ।

हरेक युगमा आज्ञाहरू हुन्छन्, अनि हरेक युगमा परमेश्‍वरका मापदण्ड र मानदण्डहरू हुन्छन्, जुन युग तथा परमेश्‍वरको कामको मापदण्डहरूमा आएका परिवर्तनअनुसार परिवर्तन हुन्छन्। व्यवस्थाको युगका केही व्यवस्थाहरू आज प्रयोग गर्नु अनुचित हुनेथियो, तर निश्चय पनि, केही अझै उपयुक्त छन्। येशूले अनुग्रहको युगमा बोल्नुभएका आज्ञाहरूमध्ये अधिकांश वर्तमानका लागि उपयुक्त छन्, र केही उपयुक्त छैनन्। कसैकसैले भन्छन्, “आफ्ना बुबा र आमाको आदर गर, पाप नगर, व्यभिचार नगर, मूर्तिको आराधना नगर—यी कसरी उपयुक्त भएनन्?” म तीमध्ये थोरैबारे मात्र कुरा गर्दै छु। “आफ्ना बुबा र आमाको आदर गर” जस्ता कुराहरूबारे भन्नुपर्दा, ती परिस्थितिमा भर पर्छन्, त्यसैले गलत नबुझ्नू। केही मूर्ख मानिसहरू भन्छन्, “परमेश्‍वरले भन्नुभएको छ, पहिले आएका व्यवस्था र आज्ञाहरू सबै समाप्त पारिएका छन्, एकदमै कमलाई मात्र अहिले प्रयोग गर्न सकिन्छ।” तैँले यस्तो बुझाइ फैलाउनु हुँदैन। यस्तो सन्देश फैलाउनु गलत हो र यसले अवरोध सिर्जना गर्छ। यो परमेश्‍वरको वचनको अपव्याख्या हो। परमेश्‍वरका वचनको अपव्याख्या गर्नेहरू उहाँको स्वभावलाई चिढ्याउँछन्, र उहाँको स्वभावलाई चिढ्याउनेहरू पिशाच हुन्। समय जस्तोसुकै भए पनि, सन्तमा हुनुपर्ने शिष्टताको न्यूनतम मापदण्ड कायम राख्नैपर्छ। मानवको रूप धारण गर्न कम्तीमा यति त हुनैपर्छ। ती सबै व्यवस्था र आज्ञाहरू तिनका समकालीन युग र सन्दर्भअनुसार, अनि समकालीन कार्य र मानिसका आवश्यकताअनुसार बनाइएका थिए। यस वर्तमान युगमा, परमेश्‍वरले थप केही वचन बोल्नुभएको छ, र मानिसहरूलाई नियन्त्रणमा राख्न थप केही नियम दिनुभएको छ। भन्नुको मतलब, उहाँले तिनीहरूलाई परमेश्‍वरमा कसरी विश्‍वास गर्नुपर्छ, परमेश्‍वरमा विश्‍वास गर्दा के गर्नु हुन्छ र के गर्नु हुँदैन आदिजस्ता मापदण्ड दिनुभएको छ। अनुग्रहको युगमा येशूले भन्नुभएको थियो, “म व्यवस्था समाप्त पार्न होइन, यो पूरा गर्न आएको हुँ।” तर पछि, उहाँले धेरै व्यवस्थाहरू समाप्त पार्नुभयो। यी व्यवस्थाहरू त्यस युगका लागि उपयुक्त थिएनन्, त्यस समयको कामका लागि उचित थिएनन्, र त्यस समयको वातावरण सुहाउँदा थिएनन्, त्यसैले उहाँले ती समाप्त पार्नुभयो। आज, निश्चय पनि ती समाप्त पार्न झनै आवश्यक छ। त्यसै गरी, नयाँ युगमा नयाँ नियमका केही आज्ञाहरू समाप्त पारिनु आवश्यक छ, र केहीलाई निरन्तरता दिनैपर्छ, किनभने आजका कामको वातावरण फरक छ र मानिसका आवश्यकता फरक छ। कामको प्रत्येक चरण पछिल्लोभन्दा उच्चकोटिको छ। केही मूर्ख मानिसहरू भन्छन्, “प्रभु येशूले आफू व्यवस्था पूरा गर्न आएको भन्नुभएको थियो, त्यसोभए उहाँले त्यति धेरै व्यवस्था किन समाप्त पार्नुभयो र हटाउनुभयो? उहाँका कार्यले किन व्यवस्थाको उल्लङ्घन गऱ्यो?” उहाँले गर्नुभएको समाप्ति खासमा पूर्ति थियो। किनभने उहाँले गर्नुभएको कामले यस प्रकारको परिणाम प्राप्त गऱ्यो, त्यसैले उप्रान्त ती व्यवस्था पालन गर्नुपर्ने आवश्यकता नै रहेन। जसरी येशूले पापबलिका रूपमा सेवा गर्नुभएपछि, उप्रान्त त्यस व्यवस्थाअनुसार पापबलि दिन आवश्यक रहेन, किनभने परमेश्‍वरका कामले नियमनहरू पालना गर्दैन। केही निश्चित व्यवस्था र आज्ञाहरू समाप्त पारेर यिनका स्थानमा नयाँ काम प्रयोग गर्न सकिन्छ। यदि तिमीहरूले “पहिलेका सबै आज्ञाहरू समाप्त पारिएका छन्। ती अहिले उपयोगी छैनन्” भन्ने सन्देश सुनाउनुपरेको भए, यो हास्यास्पद हुनेथियो। आज परमेश्‍वरले मानवजातिका अवस्था र खाँचोहरूसित मिल्ने प्रशासनिक आदेशहरू जारी गर्नुभएको छ। कतिपय मानिस सोध्छन्, “किन परमेश्‍वर प्रत्येक युगमा प्रशासनिक आदेशहरू जारी गर्नुहुन्छ? यो त एकचोटि गरिसकिएको छ, मानिसहरूलाई त्यसबारे थाहा छ, अनि हामी जे गर्न भनिएको छ, सो गर्छौँ। त्यो नै अन्तिम हुनुपर्छ। किन नयाँ-नयाँ जारी गरिराख्ने?” मलाई बता, अहिले मानसिहरूको भ्रष्टतालाई हेर्दा, प्रशासनिक आदेशहरू जारी गर्नु के सम्भव हुनेथियो? सबै मानिसमा भ्रष्ट स्वभाव छ। के मानिसहरू आफू आफ्नै भ्रष्ट प्रकृतिद्वारा नियन्त्रित भएको बेला परमेश्‍वरप्रति समर्पित हुन सक्छन्? मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेपछि अनि आज्ञाहरू पालन गर्न सकेपछि तिनीहरू पवित्र र धर्मी बन्छन् भनेर तँ दाबी गर्न सक्दैनस्। यसले त्यसरी काम गर्दैन। मानिसहरूमा भ्रष्ट स्वभाव छ, अनि सधैँ ती भ्रष्ट स्वभावहरूमाझ जिउँछन्, त्यसैले तिनीहरूको व्यवहारलाई नियन्त्रण गर्न सधैँ सान्दर्भिक प्रशासनिक आदेशहरूको आवश्यकता हुन्छ। यदि मानिसहरूले साँच्चै यी प्रशासनिक आदेशहरू उल्लङ्घन गरेमा तिनीहरूलाई अनुशासनमा राख्न सकिन्छ तिनीहरूमाथि बन्देज लगाउन सकिन्छ वा तिनीहरूलाई हटाउन र निष्कासन गर्न सकिन्छ। व्यवस्थाको युग र अनुग्रहको युगमा व्यवस्था र आज्ञाहरू थिए। अहिले, राज्यको युगमा आज्ञाहरूबाहेक प्रशासनिक आदेशहरू पनि हुनैपर्छ। त्यसोभए, राज्यको युगका प्रमुख प्रशासनिक आदेशहरू के-के हुन्? अहिले, दसवटा जारी गर्नु छ।

१. मानिसले आफैलाई ठूलो बनाउनु हुँदैन, न त आफैलाई उच्च पार्नु हुन्छ। उसले परमेश्‍वरको आराधना गर्नुपर्छ र उहाँलाई नै उच्च पार्नुपर्छ।

“मानिसले आफैलाई ठूलो बनाउनु हुँदैन, न त आफैलाई उच्च पार्नु हुन्छ। उसले परमेश्‍वरको आराधना गर्नुपर्छ र उहाँलाई नै उच्च पार्नुपर्छ।” यी चारवटा कुराले वास्तवमा एउटै विषयबारे बताउँछन्: मानिसहरूले मानवको स्थानमा रहेर बोल्नुपर्छ, र घमण्ड गर्नु हुँदैन। फलानो मण्डली मैले कति राम्ररी चलाएको छु, त्यो मेरो आफ्नै हो, र परमेश्‍वरले मलाई प्रयोग गर्नुहुन्छ र मलाई विशेष गरी राम्रो गर्नुहुन्छ भनी घमण्ड नगर्। “परमेश्‍वरले हामीसँगै बसेर खानुभयो र बात मार्नुभयो” भन्ने जस्ता कुरा नगर्। तैँले भन्ने यी कुराहरू वास्तविकतासँग मेल खाँदैनन्। परमेश्‍वर आफ्ना चुनिएका मानिसहरू सबैलाई समान व्यवहार गर्नुहुन्छ। कुनै व्यक्तिलाई खुलासा गरिएको वा हटाइएको छैन भने, परमेश्‍वर सबैप्रति एउटै मनोवृति राख्नुहुन्छ। परमेश्‍वरले तँसँग सत्यतामा सङ्गति गर्नुभएको छ भने, यसले तँ अरूभन्दा राम्रो छस् भनेर प्रमाणित गर्दैन, बरु तँलाई यो अवसर जुर्न पुगेको हो। त्यसोभए, मानिसहरूले कस्तो समझदारी कुरा भन्न सक्छन् त? तँ सत्यतामा सङ्गति गर्न सक्दैनस्, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई जीवन दिन असक्षम छस् भने, तैँले आत्मचिन्तन गरी आफूलाई चिन्नैपर्छ, विश्लेषण गर्नैपर्छ, मनका कुरा भन्न सक्नैपर्छ, खुलस्त भई सबैसामु आफूलाई उदाङ्गो पार्नैपर्छ। यो अभ्यास गर्नाले नतिजा प्राप्त हुनेछ। खुलस्त हुनु भनेको आफ्नो सफाइ दिनु होइन। यसको मतलब तँ आफैभित्र भएका गलत उत्प्रेरणा र सोचलाई विश्लेषणका लागि प्रस्तुत गर्नु हो, यसो गर्दा सबैले एकसाथ थाहा पाउँछन् र अरूलाई पनि फाइदा पुग्छ। तैँले यसो गरेर आफूलाई सम्मान गरिरहेको हुँदैनस्। तैँले आफूलाई सही व्यवहार गरिस् र तँ आफ्नो उचित ठाउँमा बसिस् भने, मतलब तैँले आफ्नो उत्प्रेरणालाई पन्छाउन र विश्लेषण गर्न सकिस्, तँभित्रका फोहोरी कुराहरू उदाङ्गो पार्न सकिस्, र यसो गर्दा आफ्नो खुलासा गर्न सकिस् भने, यसले तँ सही स्थानमा छस् भन्ने देखाउँछ। मैले के पाएको छु भने, धेरै अगुवाहरू उच्च ओहोदामा रहेर मानिसहरूलाई भाषण दिन र प्रचार गर्न मात्र सक्षम हुन्‍छन् र तिनीहरूसित समान स्तरमा रहेर कुराकानी गर्न सक्दैनन्। उनीहरू मानिसहरूसित सामान्य तवरमा अन्तरक्रिया गर्न सक्षम हुँदैनन्। केही मानिसहरू बोल्दा, त्यो सधैँ भाषण दिइरहेको वा रिपोर्ट गरिरहेको जस्तो हुन्छ। उनीहरूका शब्दहरू सधैँ अरूका अवस्थाहरूतर्फ मात्र निर्देशित हुन्छन्, तर उनीहरू आफूबारे कहिल्यै खुलेर बताउँदैनन्। उनीहरू आफ्ना भष्ट स्वभावहरू कहिल्यै केलाउँदैनन्, बरु अन्य मानिसका मामिलाहरू मात्र केलाउँछन्, सबैलाई थाहा दिन ती उदाहरणका रूपमा प्रयोग गर्छन्। उनीहरूले यो किन गर्छन् त? किन उनीहरू यस्ता प्रवचनहरू प्रचार गर्छन् र यस्ता कुराहरू भन्छन्? यो कुरा उनीहरूसित आफूबारे ज्ञान छैन, उनीहरूमा समझ छदैँ छैन, अनि उनीहरू अति अहङ्कारी र आत्म-धर्मी छन् भन्‍ने कुराको प्रमाण हो। उनीहरू अरू मानिसहरूका भ्रष्ट स्वभावहरू चिन्‍न सक्ने आफ्नो क्षमताले गर्दा आफू अरूभन्दा उच्‍च, अरूभन्दा राम्रो, र अरूभन्दा कम भ्रष्ट छन् भन्ने प्रमाणित हुन्छ भनेर सोच्छन्। तिनीहरू अरूलाई विश्‍लेषण गर्न र भाषण दिन सक्छन्, तर आफूलाई उदाङ्गो पार्न, आफ्ना भ्रष्ट स्वभावहरूलाई खुलासा गर्न वा केलाउन, आफ्नो साँचो रूप देखाउन, वा आफ्ना अभिप्रेरणाहरूबारे केही भन्न सक्दैनन्। तिनीहरू अरू मानिसहरूलाई अनुचित व्यवहार गरेकोमा भाषण मात्र दिन्छन्। यो आफ्नै बढाइचढाइ र आत्म-प्रशंसा गर्नु हो। तँ अगुवा भएर पनि कसरी यति अनुचित तरिकाले समस्या खडा गर्न सक्छस्? मण्डलीको अगुवा बनेपछि, तँ किन अरूलाई त्यतिकै गाली गर्ने, मनमानी व्यवहार गर्ने, र जे मन लाग्यो त्यही गर्ने गर्छस्? तँ आफ्नो बोलीको नतिजा र आफ्नो चिनारीबारे किन कहिल्यै सोच्दैनस्? तँ यस्तो काम किन गर्छस्? किनकि तँ अगुवा भए पनि, तँलाई आफ्नो हैसियत र चिनारी थाहा छैन। तँलाई अगुवा बन्ने प्रबन्ध मिलाउनु भनेको तँलाई माथि उठाउनु र अभ्यासको मौका दिनु मात्र हो। यो तँसँग अरूमा भन्दा बढी वास्तविकता छ वा तँ अरूभन्दा राम्रो छस् भनेर होइन। खासमा, तँ अरू सबैजस्तै होस्। तिमीहरू कसैमा वास्तविकता छैन, र केही तरिकामा त, तँ अरूभन्दा बढी भ्रष्टसमेत छस् होला। त्यसैले, तँ किन अनुचितरूपले समस्या खडा गर्ने, र मनमानी भाषण दिने, अरूलाई झपार्ने र बाधा पुऱ्याउने गर्छस्? तँ गलत हुँदासमेत अरूलाई किन तेरो कुरा जबरजस्ती सुन्न लगाउँछस्? यसले के प्रमाणित गर्छ? यसले तँ गलत स्थानमा छस् भनेर प्रमाणित गर्छ। तँ मानव स्थानमा बसेर काम गरिरहेको छैनस्, तँ अरूभन्दा माथिल्लो स्थान, परमेश्‍वरको स्थानबाट काम गर्दै छस्। तैँले बोलेको कुरा सही र सत्यताअनुरूप छ भने, अरूले तेरो कुरा सुन्न सक्छन्। यस अवस्थामा त्यो स्वीकार्य हुन्छ। तर तँ आफू गलत हुँदा, अरूलाई किन जबरजस्ती तेरो कुरा सुन्न लगाउँछस्? तँसँग त्यो अधिकार छ? तँ सर्वोच्च होस्? के तँ सत्यता होस्? जब केही मानिस कुनै स्थलमा सुसमाचार सुनाउन जान्छन् अनि त्यहाँका मानिस र उनीहरूको जिउने स्थिति आफूलाई मन नपर्दो पाउँछन्, तब तिनीहरू त्यो ठाउँ रुचाउँदैनन् र त्यहाँबाट अरू कतै जान चाहन्छन्। अर्को व्यक्तिले तिनीहरूलाई यसो भन्लान्, “सुसमाचार प्रचार गर्न यहाँ कोही चाहिएको छ। तपाईं जानुभयो भने काममा ढिलाइ हुनेछ।” तर तिनीहरू मान्नेछैनन्, र जान जिद्दी गर्दै भन्नेछन्, “त्यसोभए तपाईं किन बस्नुहुन्न? म त जानुपर्छ! तपाईंहरूले मेरो कुरा सुन्नुपर्छ, र आज्ञापालन गर्न सिक्नुपर्छ।” तिनीहरू आफ्नै मार्ग हिँड्न र आफूले मन परेकै ठाउँ रोज्न बरु मण्डलीको काममा ढिलाइ गर्छन्। तिनीहरू आफूलाई जे मन लाग्छ त्यही गर्छन् र आफूले जे भन्यो अरूले त्यसै गरेको चाहन्छन्। के तिनीहरूले आफूलाई ठूलो बनाइरहेका छैनन् र? आफूलाई उच्च पारिरहेका छैनन् र? तिनीहरू अहङ्कारी र अभिमानी मानिस होइनन् र? तिनीहरू आफ्नो कर्तव्यमा अलिकति पनि सत्यता अभ्यास नगरी सम्भव भएसम्म आफ्नै रुचिअनुसार चल्छन्। त्यसैले, तिनीहरूले मानिसहरूलाई नेतृत्व गर्दा, आफूले नेतृत्व गरिरहेकाहरूलाई सत्यता अभ्यास गर्नू भन्दैनन्। बरु तिनीहरू आफूले भनेको कुरा अरूले सुनेको र तिनीहरूको तरिका पछ्याएको माग गर्छन्—के यसो गर्नु मानिसहरूले तिनीहरूलाई परमेश्‍वरलाई जस्तै व्यवहार गरून् र परमेश्‍वरको रूपमा लिएर आज्ञापालन गरून् भन्‍ने चाहनु होइन र? के तिनीहरूमा सत्यता छ? तिनीहरूमा सत्यता छैन र तिनीहरू शैतानको स्वभावले भरिएका छन्, तिनीहरू पैशाचिक प्रवृत्तिका छन्। त्यसोभए, तिनीहरू किन मानिसहरूलाई तिनीहरूको आज्ञापालन गर्नू भन्छन्? के यस्ता व्यक्तिले आफ्नै बढाइ गरिरहेको होइन र? के उसले आफूलाई उच्‍च पारिरहेको होइन र? के यस्ता व्यक्तिले मानिसहरूलाई परमेश्‍वरसामु ल्याउन सक्छन्? के तिनीहरूले मानिसहरूलाई परमेश्‍वरको भक्ति गराउन सक्छन्? तिनीहरू मानिसहरूलाई तिनीहरूको आज्ञापालन गर्न लगाउने व्यक्ति हुन्। के तिनीहरूले यस्तो काम गर्दा, साँच्‍चै मानिसहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न डोऱ्याइरहेका हुन्छन्? के तिनीहरूले आफूलाई परमेश्‍वरले सुम्पनुभएको काम गरिरहेका हुन्छन्? हुँदैनन्, तिनीहरू त आफ्नै राज्य स्थापित गर्ने प्रयास गरिरहेका हुन्छन्। तिनीहरू परमेश्‍वर बन्‍न चाहन्छन्, अनि तिनीहरू आफूलाई मानिसहरूले परमेश्‍वरलाई जस्तै व्यवहार गरून् र परमेश्‍वरलाई जस्तै आज्ञापालन गरून् भन्‍ने चाहन्छन्। के तिनीहरू ख्रीष्टविरोधी होइनन् र? ख्रीष्टविरोधीहरूको तौरतरिका सधैँ यस्तो भएको छ; मण्डलीको काममा ढिलाइ भए पनि, वा परमेश्‍वरका चुनिएकाहरूको जीवन प्रवेशमा जुनै हदसम्म बाधा वा हानि पुगे पनि, सबैले तिनीहरूको आज्ञापालन गर्नैपर्छ र तिनीहरूको कुरा सुन्‍नैपर्छ। के यो पिशाचको प्रकृति होइन र? के यो शैतानको स्वभाव होइन र? यस्ता मानिसहरू मानव स्वरूपमा जीवित पिशाच हुन्। तिनीहरूको अनुहार त मानिसको होला, तर भित्री सबै कुरा पैशाचिक प्रवृत्तिका हुन्छन्। तिनीहरूले भन्‍ने र गर्ने हरेक कुरा पैशाचिक प्रवृत्तिको हुन्छ। तिनीहरूले गर्ने कुनै पनि कुरा सत्यताअनुरूप हुँदैन, तीमध्ये कुनै पनि कुरा समझदार मानिसहरूले गर्दैनन्, त्यसैले यी कुरा पिशाच, शैतान र ख्रीष्टविरोधीहरूका कार्य हुन् भन्‍नेमा कुनै शङ्का हुन सक्दैन। तिमीहरूले यो स्पष्टसित चिन्न सक्नुपर्छ। त्यसैले तिमीहरूले काम गर्दा, बोल्दा र अरूसँग अन्तरक्रिया गर्दा—जीवनमा गर्ने सबै कुरामा—यो आदेश हृदयमा राख्नुपर्छ। “मानिसले आफैलाई ठूलो बनाउनु हुँदैन, न त आफैलाई उच्च पार्नु हुन्छ। उसले परमेश्‍वरको आराधना गर्नुपर्छ र उहाँलाई नै उच्च पार्नुपर्छ।” यसरी मानिसहरू सीमामा बाँधिन्छन्, र तिनीहरू परमेश्‍वरको स्वभाव चिढ्याउने हदसम्म जानेछैनन्। यो प्रशासनिक आदेश महत्त्वपूर्ण छ, र तिमीहरू सबैले यो प्रशासनिक आदेशको अर्थ के हो, परमेश्‍वर मानवजातिबाट किन यो माग गर्नुहुन्छ, र उहाँ के प्राप्त गर्न चाहनुहुन्छ भनी राम्ररी सोच्नुपर्छ। यसबारे होसियारीसाथ विचार गर्। एउटा कानले सुनेर अर्कोले उडाउने नगर्। यो तिमीहरूका लागि वास्तवमै फाइदाजनक हुनेछ।

२. परमेश्‍वरको कामका निम्ति फाइदाजनक सबै कुरा गर्नू र परमेश्‍वरको कामको हितका निम्ति हानिकारक केही नगर्नू। परमेश्‍वरको नाउँ, उहाँको गवाही र उहाँको कामको प्रतिरक्षा गर्नू।

तैँले परमेश्‍वरको घरको हितसित सम्बन्धित वा परमेश्‍वरको घरको कामसित वा परमेश्‍वरको नाउँसित सरोकार राख्ने कुनै पनि कुरालाई सम्‍हाल्नुपर्छ र त्यसको जिम्मेवारी लिनुपर्छ। तिमीहरूमध्ये हरेकसित यो जिम्मेवारी, यो दायित्व छ अनि तिमीहरूले गर्नैपर्ने कुरा यही नै हो।

३. पैसा, भौतिक वस्तु, र परमेश्‍वरको घरमा भएका सबै सम्पत्ति मानिसले दिनुपर्ने भेटीहरू हुन्। यी भेटीहरू पूजाहारी र परमेश्‍वरबाहेक अरू कसैले पनि उपभोग गर्न सक्दैन, किनकि मानिसले चढाउने भेटीहरू परमेश्‍वरको उपभोगका निम्ति हुन्। परमेश्‍वरले यी भेटीहरू पूजाहारीसँग मात्र बाँड्नुहुन्छ; अरू कोही पनि त्यसको कुनै भाग उपभोग गर्ने योग्यको र हकदार हुँदैन। मानिसका सबै भेटीहरू (उपभोग गर्न सकिने पैसा र भौतिक थोक) परमेश्‍वरलाई दिइन्छ, मानिसलाई होइन, र त्यसैले यी थोकहरू मानिसले उपभोग गर्नु हुँदैन; यदि मानिसले यी थोकहरू उपभोग गर्छ भने, उसले भेटीहरू चोरिरहेको हुन्छ। जसले त्यसो गर्छ ऊ यहूदा हो, किनकि यहूदा विश्‍वासघाती हुनाका साथै, उसले पैसाको थैलीमा राखिने गरिएको पैसा आफ्‍नै निम्ति प्रयोग गऱ्यो।

मैले यी शब्दहरू व्याख्या गर्नुपर्छ। गरिनँ भने, केही मानिस यति लाज पचेका र असंवेदनशील हुन्छन् कि तिनीहरूले भेटी चोर्ने छन्। हाल, मण्डलीका सबै तहका अगुवा र सेवकहरू अस्थायी परीक्षणकालमा छन्। उपयुक्त व्यक्तिहरू प्रयोग भइराख्छन्, तर अनुपयुक्तहरू बर्खास्त हुने छन् वा हटाइने छन्। यी पदहरू स्थायी होइनन्। अगुवा वा कामदार हुनु भनेको तेरो पद स्थायी हुनु अनि तँलाई कहिल्यै बर्खास्त गरिने र हटाइने छैन भनेर नसोच्। यो भ्रममा नडुब्। यो अनावश्यक चाहना हो। पूजाहारी भनेको कुनै साधारण अगुवा होइन। ऊसँग सिधै परमेश्‍वरको सेवा गर्ने अधिकार र योग्यता हुन्छ। स्वभाविकतः यो अधिकार र योग्यता उसलाई परमेश्‍वरले दिनुभएको हो। यो व्यवस्थाको युगका पूजाहारीजस्तै हो। तिनीहरू मन्दिरमा पस्न सक्थे, तर अरू कोही सक्दैनथे, र तिनीहरू बलिका भेटी खान सक्थे, तर अरू कसैले सक्दैनथे। आज, राज्यको युगमा, कस्तो खालको व्यक्ति पूजाहारी हो? विगतमा जो पूजाहारी भनेर चिनिन्थे अहिले उसलाई पवित्र आत्माद्वारा प्रयोग गरिने व्यक्ति भनिन्छ। त्यसोभए, यसले तिमीहरूलाई जनाउँछ? तिमीहरू पूजाहारी हुँदै होइनौ! पूजाहारी भनेको त्यो व्यक्ति हो जसलाई पवित्र आत्माले प्रयोग गर्नुहुन्छ, र त्यस्ता व्यक्तिबाहेक अरू कसैले पनि भेटीको उपभोग गर्न पाउँदैन। अरू कोही पनि त्यसको लायक हुँदैन। यदि तँ आफू लायक छु भनी दाबी गर्छस् भने, तँ आफ्नै इच्छाले त्यो दाबी गर्दै छस्। तँलाई ती भेटी उपभोग गर्न अनुमति दिइने छैन। ती तेरो लागि होइनन्।

म तिमीहरूको परिस्थितिबारे थप बोल्ने छु। मण्डलीमा निश्चित काम गर्ने तिमीहरूजस्ता अगुवा र कामदारका लागि, मण्डलीले भ्रमण खर्च प्रदान गर्लान्, तर तिमीहरूको दैनिक आवश्यकताको जिम्मेवारी लिँदैन। तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, र परमेश्‍वरका लागि समर्पित हुनु स्वेच्छिक कुरा हो। यदि तँ “म यो स्वेच्छिकरूपले गर्दिनँ, त्यो परमेश्‍वरको घरले प्रबन्ध गरेको हो” भन्छस् भने, तँ निस्केर जान सक्छस्। कतिपय मानिसहरू भन्छन्, “परमेश्‍वरले मलाई बोलाउनुभयो, उहाँले मलाई प्रयोग गर्न चाहनुभयो, त्यसैले म आएँ। म स्वेच्छाले आएको होइन।” त्यसोभए, मलाई अहिले तेरो खाँचो छैन। तँ जान सक्छस्। म मानिसलाई जबरजस्ती कहिल्यै गर्दिनँ। तँ स्वेच्छाले नै यहाँ आएको भए पनि, तँलाई राख्ने वा नराख्ने तेरो योग्यतामा भर पर्छ। तँ अयोग्य छस् भने, तँलाई प्रयोग गरिने छैन। तेरो स्थान लिने अरू कोही भेट्टाउन सकिन्छ। यही सिद्धान्तअनुसार परमेश्‍वरको घरले मानिसलाई प्रयोग गर्दछ। कुनै विशेष छुट दिइँदैन। परमेश्‍वरको घरको पैसा यसैको काममा खर्चिन्छ, यो मानिसको व्यक्तिगत जीवनलाई सहयोग गर्नका लागि होइन, न त मानिसको व्यक्तिगत उपभोगका लागि नै हो।

४. मानिसमा भ्रष्ट स्वभाव हुन्छ र त्यसबाहेक ऊसँग भावनाहरू छन्। जस्तै कि, परमेश्‍वरको सेवा गर्दा विपरीत लिङ्गका दुई सदस्यहरू मात्र एकलै रहेर काम गर्न पूर्ण रूपमा निषेध गरिएको छ। जो कसैले पनि त्यसो गरेको थाहा पाइएको खण्डमा, कुनै अपवादविना हटाइनेछ।

केही दाजुभाइहरू दिदीबहिनीहरूसित मात्र सङ्गति गर्ने कुरामा जोड दिन्छन्, र एक्लाएक्लै बसेर त्यसो गर्नसमेत जोड दिन्छन्। तिनीहरू दिदीबहिनीहरूसित सङ्गति गर्दा, खुल्छन् तर अरू कसैसित त्यसो गर्न इन्कार गर्छन्। यी राम्रा मानिसहरू होइनन्! केही दिदीबहिनीहरू अरू दिदीबहिनीहरूसित सङ्गति गर्दैनन् र तिनीहरूसित कहिल्यै खुल्दैनन् तर सङ्गति गर्न केवल दाजुभाइहरूलाई खोजी हिँड्छन्। यी कस्ता मानिसहरू हुन्? के तँलाई साथ दिने एउटै दिदीबहिनी छैन? के तँसित सङ्गति गर्ने एउटै दिदीबहिनी पनि छैन? के तिनीहरू सबैले तँलाई घृणा गर्छन्? के तेरो लागि कोही सुहाउँदो छैन? के तँ दाजुभाइसित मात्रै मिल्न सक्छस्? मलाई लाग्छ, तेरा अरू अभिप्रायहरू पनि छन्। त्यस्ता मानिसहरू पनि छन् जो विपरीत लिङ्गहरूसित सधैँ जिस्किन्छन्। यो खतरनाक कुरा हो। तिमीहरूले आफूलाई रोक्ने, केही अन्तर्दृष्टि विकास गर्ने, र अलिकति विवेक चलाउने गर्नैपर्छ। मानिसमा भ्रष्ट स्वभाव हुन्छ, त्यसैले तिमीहरू त्यसमा अनियन्त्रित तवरमा लिप्त नबन। तिमीहरूले केही संयमता अपनाउनै पर्छ, र यसरी तिमीहरूको व्यवहारमा सुधार आउने छ। संयमविना, र परमेश्‍वरको डर मान्ने हृदय विना, मानिस अत्यधिक दुराचारी बन्दछ। तिनीहरूले प्रशासनिक आदेशहरू उल्लङ्घन गरेपछि, परिणाम गम्भीर हुन्छ, त्यसकारण तिनीहरूले जहिले पनि यो प्रशासनिक आदेश याद गर्नैपर्छ।

५. परमेश्‍वरलाई दोष लगाउने काम गर्नु हुँदैन न त परमेश्‍वरसित सम्बन्धित विषयहरूमा लापरवाही किसिमले छलफल नै गर्नु हुन्छ। मानिसले जे गर्नुपर्दछ त्यही गर्, अनि मानिसले जे बोल्नुपर्छ त्यही बोल्, सीमितताहरू ननाघ् र परिधिहरू ननाघ्। परमेश्‍वरको स्वभावलाई चिढ्याउने काम गर्नबाट बच्‍नको लागि आफ्नो जिब्रोको रक्षा गर्, र कहाँ पाइला टेक्छस् त्यसमा होसियार बन्।

६. मानिसले जे गर्नुपर्छ त्यही गर्, र तेरा दायित्वहरू फत्ते गर्, र तेरा जिम्मेवारीहरू पूरा गर्, अनि तेरो कर्तव्य थामिराख्। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, परमेश्‍वरको काममा आफ्नो योगदान दिनुपर्छ, यदि तैँले योगदान दिँदैनस् भने, तँ परमेश्‍वरको वचन खान र पिउन अयोग्य छस्, र परमेश्‍वरको परिवारमा बस्न अयोग्य छस्।

छैटौँ आदेश मानव कर्तव्यसँग सम्बन्धित छ। तेरो पहिलेको जीवन प्रवेश वा तेरो व्यक्तिगत पछ्याइ जस्तो भए पनि, अनि तेरो क्षमता र मानवता जस्तो भए पनि, मण्डलीको काममा तेरो केही गर्नु आवश्यकता छ भने, जतिसुकै ठूलो कष्ट र कठिनाइ भए पनि, तैँले त्यो गर्नुपर्छ। गरिनस् भने, तँ परमेश्‍वरको घरमा रहन अयोग्य हुन्छस्। परमेश्‍वरको घरले निःशुल्क खान-बस्न दिँदैन, र बेकम्मालाई पनाह दिँदैन! कुनै व्यक्तिले सत्यता पछ्याउँदैन भने ऊ कम्तीमा श्रमिक बन्न सक्नैपर्छ। यदि ऊ अलिकति पनि श्रम गर्न चाहँदैन, वा एक छाक टार्नका लागि थोरै मात्र प्रयत्न गर्छ भने, त्यस्तालाई तुरुन्तै हटाउनैपर्छ, तिनीहरूसँग भएका परमेश्‍वरको वचनका पुस्तकहरू फिर्ता लिनैपर्छ, र तिनीहरूलाई गैरविश्‍वासीका रूपमा सम्हाल्नैपर्छ। कम्तीमा पनि, मानिसहरूले इमानदारीपूर्वक परमेश्‍वरमा विश्‍वास गर्नैपर्छ, तिनीहरूमा केही हदसम्म परमेश्वरको डर मान्ने हृदय हुनैपर्छ, र परमेश्‍वरको घरमा रहन लायक बन्न परमेश्‍वरको आराधना गरेको केही प्रकटीकरणहरू देखाउनैपर्छ। परमेश्‍वरको घरले मानिसबाट धेरै माग गर्दैन। व्यक्तिमा विवेक र समझ छ, उसले सत्यता बुझ्न र स्विकार्न सक्छ, र ऊ आफ्नो कर्तव्यमा जिम्मेवार बन्न सक्छ भने, त्यो पर्याप्त हुन्छ। कम्तीमा पनि, तेरो व्यवहार र कार्यशैली स्वीकार्य हुनैपर्छ। तँमा केही हदसम्म परमेश्वरको डर मान्ने हृदय हुनैपर्छ, र तैँले उहाँप्रति केही समर्पण देखाउनैपर्छ। त्यो पनि गर्न सक्दैनस् भने, तँ परमेश्‍वरको घरमा अलमलिन छाडेर सकेसम्म चाँडो घर फर्कनुपर्छ। यदि तँ सानोभन्दा सानो कर्तव्य पनि अस्वीकार गर्छस्, र परमेश्‍वरको घरको फाइदा मात्र लुट्न खोज्छस् भने, के तँ परमेश्‍वरमा सच्चा विश्‍वास गर्ने व्यक्ति होस्? मेरो नजरमा, त्यस्तो व्यक्ति गैरविश्‍वासी हो, जो अविश्‍वासीभन्दा कुनै फरक हुँदैन। हेर्नै मन नपर्ने! परमेश्‍वरमा विश्‍वास गर्न चाहन्छस् भने, राम्ररी विश्‍वास गर्, कि त गर्दै नगर्। परमेश्‍वरमा विश्‍वास राख्नु स्वेच्छिक कुरा हो। तँलाई कसैले जबरजस्ती गरेको छैन। यति सानो कुरा त बुझ्न सक्दैनस् भने, परमेश्‍वरमा विश्‍वास गर्नेबारे बाँकी के नै भन्नु छ र? परमेश्‍वरको घरलाई काम नलाग्ने फोहोर चाहिँदैन। मण्डली थोत्रोमोत्रो कुरा थुपार्ने ठाउँ होइन। सत्यता अलिकति पनि नस्विकार्नेहरू हटाइनेछन् र निकालिनेछन्! परमेश्‍वरको घरमा सत्यताले शासन गर्छ। कसैले कुनै वाहियात काम गर्न खोज्छ, वा कुनै अवरोध वा बाधा सिर्जना गर्छ भने, तिनीहरूलाई निकालिनैपर्छ र पूर्णरूपमा हटाइनैपर्छ।

७. मण्डलीको काम र मामिलाहरूमा, परमेश्‍वरप्रति समर्पित हुनुबाहेक, सबै कुरामा पवित्र आत्माले प्रयोग गर्नुभएको व्यक्तिका निर्देशनहरू पालना गर्। सानोभन्दा सानो उल्‍लङ्घन पनि स्वीकार्य छैन। पूर्ण रूपले आज्ञापालन गर्, र सही वा गलतको विश्लेषण नगर्; सही वा गलतको तँसँग कुनै सम्बन्ध छैन। तैँले पूर्ण आज्ञापालन गर्ने कुरामा मात्र ध्यान दिनैपर्छ।

तैँले पवित्र आत्माले प्रयोग गरेको मान्छेले जे भन्यो वा गऱ्यो पनि, उसको कुरा सुन्नैपर्छ र मान्नैपर्छ। तँलाई जे काम गर्नू भनिएको छ त्यही गर्, जसरी गर्नू भनिएको छ त्यसरी नै गर्। “परमेश्‍वरलाई थाहा छ? मैले परमेश्‍वरलाई सोध्नैपर्छ” नभन्। सोध्न आवश्यक छैन, पवित्र आत्माद्वारा प्रयोग भएको मान्छेले तँलाई जे गर्नू भनेको छ त्यही मात्र गर्। बुझिस्? यसबारे थप बताउनु आवश्यकता छैन। यो कुरा तिमीहरूले पहिल्यै स्पष्ट बुझ्नुपर्ने हो।

८. परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले उहाँमा समर्पण र उहाँको आराधना गर्नुपर्छ। कुनै व्यक्तिलाई ठूलो बनाउने वा उच्‍च ठान्‍ने नगर्; परमेश्‍वरलाई पहिलो स्थानमा, तैँले उच्‍च ठान्‍ने मानिसहरूलाई दोस्रोमा र तँ आफैलाई तेस्रो स्थानमा नराख्। कुनै व्यक्तिले तेरो हृदयमा स्थान पाउनु हुँदैन, र तैँले मानिसहरूलाई—विशेष गरी तैँले श्रद्धा गर्ने मानिसहरूलाई परमेश्‍वर समान वा उहाँको बराबर ठान्नु हुँदैन। यो परमेश्‍वरको निम्ति असहनीय हुन्छ।

केही मानिसहरू विशेष गरेर भीडको पछि दौडिन र अरूको चापलुसी गर्न सक्षम हुन्छन्। तिनीहरू मैले जसलाई प्रशंसा गरेको, राम्रो व्यवहार गरेको, वा जोसँग प्रायः सङ्गति गरेर समय बिताएको देख्छन्, उसको चापलुसी गरेरै छाड्छन्। तिनीहरूका मनमा एउटा धारणा पलाएको छः अब परमेश्‍वरपछि फलाना ब्रदर आउँछ, र ऊपछि फलाना सिस्टर आउँछिन्। आफ्नो मनमा स्तरीकरणको विचार नपाल्: परमेश्‍वर पहिलो, फलाना दोस्रो, तेस्रो, वा चौथो…। यस्ता दर्जाको कुनै तुक छ? यो त कुनै सम्राटको राजपरिषद्जस्तै भएन र, जहाँ सम्राट पहिलो, प्रधानमन्त्री दोस्रो, र अर्का अधिकारी तेस्रो हुन्छन्? परमेश्‍वरको घरमा त्यस्तो कुनै दर्जा हुँदैन, त्यहाँ परमेश्‍वर र परमेश्‍वरका चुनिएका मानिसहरू मात्र हुन्छन्, अनि परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरमा मात्र समर्पण र उहाँको मात्र आराधना गर्नुपर्छ! वास्तवमा, तिमीहरू सबै समान छौ। तिमीहरूले परमेश्‍वरलाई पहिला वा पछि जहिले स्विकारे पनि, र तिमीहरूको लिङ्ग, उमेर, वा क्षमता जे भए पनि, परमेश्‍वरसामु तिमीहरू सबै समान छौ। मानिसको आराधना नगर्, अनि आफूबारे बढ्तै नसोच्। दर्जा वा स्तरीकरण नबना। त्यसो गरिस् भने, के प्रमाणित हुन्छ भने तेरो हृदयको कुरा अनेकौँ मानवीय धारणा र कल्पनाहरूद्वारा दूषित भएको छ, त्यसकारण सम्भवतः तैँले प्रशासनिक आदेशहरू उल्लङ्घन गर्नेछस्।

९. मण्डलीको काममा नै तेरा विचारहरूलाई केन्द्रित गर्। तेरा आफ्नै देहका सम्भावनाहरूलाई एकातिर पन्छ्याउनू, पारिवारिक विषयहरूबारे निर्णायक बन्, आफूलाई सम्पूर्ण हृदयले परमेश्‍वरको काममा समर्पित गर्, र परमेश्‍वरको कामलाई पहिलो स्थानमा अनि तेरो आफ्नै जीवनलाई दोस्रो स्थानमा राख्। सन्तको शिष्टता यही हो।

१०. ती आफन्तहरू (तेरा छोराछोरी, तेरा पति वा तेरी पत्नी, तेरा दिदी-बहिनी, वा तेरा बाबुआमा इत्यादि) जो विश्‍वासी होइनन्, उनीहरूलाई मण्डलीमा आउन जबरजस्ती गर्नु हुँदैन। परमेश्‍वरको घरमा सदस्यहरूको कमी छैन, र काम नलाग्ने मानिसहरूलाई ल्याएर त्यसको सङ्ख्या बढाउनु आवश्यक छैन। जसले खुसीसाथ विश्‍वास गर्दैनन्, उनीहरूलाई मण्डलीमा ल्याउनै हुँदैन। यो आदेश सबै मानिसहरूप्रति निर्देशित छ। तिमीहरूले यो विषयमा जाँच्नुपर्छ, अनुगमन गर्नुपर्छ, र एकअर्कालाई स्मरण गराउनुपर्छ; कसैले यसलाई उल्लङ्घन गर्न सक्दैन। विश्‍वासदेखि बाहिरका आफन्तहरू मन नलागी-नलागी मण्डलीभित्र पस्छन् भने पनि उनीहरूलाई पुस्तकहरू दिनै हुँदैन वा नयाँ नाउँ दिनै हुँदैन; त्यस्ता मानिसहरू परमेश्‍वरको घरका होइनन्, र आवश्यक कुनै पनि तरिकाले उनीहरूलाई मण्डलीभित्र प्रवेश गर्नबाट रोक्नैपर्छ। यदि भूतात्माहरूको आक्रमणको कारण मण्डलीमा समस्या ल्याइएको छ भने, तँ आफैलाई बाहिर निकालिनेछ वा तँमाथि प्रतिबन्धहरू लगाइनेछ। सङ्क्षेपमा, यस मामिलामा सबैको जिम्मेवारी छ, यद्यपि तँ लापरवाही हुनु हुँदैन, न त व्यक्तिगत बदलाको निम्ति यसको प्रयोग गर्नु हुन्छ।

यी राज्यको युगमा परमेश्‍वरका चुनिएकाहरूले पालना गर्नैपर्ने परमेश्‍वरका दस प्रशासनिक आदेशहरू हुन्। ती सबै याद गर्नू।

१९९५ को अन्त्यमा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्