विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई) खण्ड चार
ख्रीष्टविरोधीहरूले कसरी अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउँछन् भन्ने कुराको विश्लेषण
इ. ख्रीष्टविरोधीहरूले आफ्नो काममा अरूलाई हस्तक्षेप गर्न, सोधपुछ गर्न, वा सुपरिवेक्षण गर्न नदिनुको चिरफार
हाम्रो पछिल्लो सङ्गतिको विषयलाई जारी राख्दा, ख्रीष्टविरोधीहरू प्रकट हुने विभिन्न तरिकामध्ये आठौँ बुँदा हो: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए। हामीले यस बुँदालाई चार उपखण्डमा विभाजन गरेका छौँ। दुईवटा हामीले हाम्रो पछिल्लो भेलामा छलफल गर्यौँ: पहिलो, तिनीहरू कसैसँग सहकार्य गर्न सक्दैनन् भन्ने थियो; दोस्रो, तिनीहरूसँग मानिसहरूलाई नियन्त्रण गर्ने र विजय गर्ने चाहना र महत्त्वाकाङ्क्षा हुन्छ। तेस्रो के हो? आफूले लिएको कुनै पनि काममा अरूलाई हस्तक्षेप गर्न, सोधपुछ गर्न, वा सुपरिवेक्षण गर्न नदिनु। तिनीहरूले लिएको कुनै पनि काममा के समावेश हुन सक्छ? यसमा अगुवा वा कामदार जिम्मेवार हुन सक्ने कुनै पनि कार्यक्रम, साथै समूह सुपरिवेक्षक वा टोली अगुवा जिम्मेवार हुन सक्ने काम समावेश हुन्छ; यो कुनै क्षेत्रको व्यावसायिक काम, वा कुनै एक व्यक्तिको काम पनि हुन सक्छ। यो कुनै काम लिने व्यक्ति अगुवा वा कामदार पनि हुन सक्छ, वा ऊ कुनै साधारण दाजुभाइ वा दिदीबहिनी पनि हुन सक्छ। यदि तिनीहरू अरूलाई हस्तक्षेप गर्न, सोधपुछ गर्न, वा सुपरिवेक्षण गर्न दिँदैनन् भने, तिनीहरू कुन स्थितिमा हुन्छन्? यस निषेधसँग केकस्ता व्यवहारहरू सम्बन्धित छन्? यो ख्रीष्टविरोधीहरूको आठौँ प्रकटीकरणमा पर्ने अर्को व्यवहार हो, र तिनीहरूको सारको अर्को प्रकाश हो। हरेक प्रकारको कर्तव्यमा, केही काम व्यावसायिक हुन्छन्, र कतिपय काम प्रत्यक्ष रूपमा जीवन प्रवेशसँग सम्बन्धित हुन्छन्। व्यावसायिक काममा प्रविधि, ज्ञान, सिकाइ, र कर्मचारी नियुक्तिजस्ता सबै पक्ष समावेश हुन्छन्। यसमा यी सबै समावेश हुन्छन्। कतिपय मानिसले काम लिएपछि, आफै यसमा काम गर्न थाल्छन्। तिनीहरू यसबारे अरूसँग छलफल गर्दैनन्, र जब तिनीहरूलाई कठिनाइ हुन्छ, तब तिनीहरू अरूको विचार लिन चाहँदैनन्; तिनीहरू एक्लो निर्णायक हुन र हैकम चलाउने व्यक्ति बन्न चाहन्छन्। अरूले तिनीहरूलाई अलिकति भए पनि सहयोग गर्ने आशा गर्दै आफ्नो विचार र प्रतिक्रिया दिन सक्छन्—तर के तिनीहरू त्यो स्वीकार गर्छन् त? (गर्दैनन्।) अहँ, गर्दैनन्। त्यो कस्तो स्वभाव हो? कुन स्वभावले तिनीहरूलाई नियन्त्रण गरिरहेको हुन्छ, जसले गर्दा तिनीहरू आफ्नो कर्तव्य निर्वाहमा अरूलाई हस्तक्षेप गर्न, सोधपुछ गर्न, वा सुपरिवेक्षण गर्न दिँदैनन्? तिनीहरू यस्तो विश्वास गर्छन्, “मलाई यस क्षेत्रको कामबारे थाहा छ, र मलाई सिद्धान्त थाहा छ। मण्डलीले मलाई यो काम दिएको छ। त्यसकारण, यो काम म आफै गर्नेछु।” तिनीहरू अरूलाई कामसँग सम्बन्धित कुनै जानकारी दिन वा कार्य प्रगतिबारे बताउन अस्वीकार गर्नुको स्पष्टीकरण दिनका लागि प्रायजसो मैले यो पेसा बुझेको छु र म आन्तरिक व्यक्ति हुँ भनेर दाबी गर्छन्। तिनीहरू काममा देखा पर्ने भुल, गल्ती, वा दुर्घटनाहरूबारे पनि अरूलाई बताउन चाहँदैनन्। अरू कसैले यस्तो कुराबारे थाहा पाएपछि र यसबारे सोधपुछ गर्न, संलग्न हुन, वा थप कुरा पत्ता लगाउन चाहनेबित्तिकै, तिनीहरू जवाफ दिन मान्दैनन्, बरु यसो भन्छन्, “मेरो कार्य क्षेत्रभित्रका कुराहरू मेरा कुरा हुन्। तपाईंसँग सोधपुछ गर्ने अधिकार छैन। मण्डलीले तपाईंलाई यो काम दिएको होइन—मण्डलीले यो काम मलाई दिएको हो, र मैले यो कुरा गुप्त राख्नुपर्छ।” के त्यो उचित स्पष्टीकरण हो? के तिनीहरूले “गुप्त राख्नु” सही हुन्छ? (हुँदैन।) किन हुँदैन? के कामको स्थिति, यसमा देखा परेका गल्ती र समस्याहरू, र यसको योजना र दिशाबारे अरूसँग सङ्गति गर्नु भनेको जानकारी खुस्काउनु हो र? (होइन।) जानकारी बाहिर जाँदा मण्डलीको सुरक्षामा खतरा ल्याउने केही निश्चित वृत्तान्तहरू अरूलाई बताउनु अनुचित हुन्छ, तर यो त्यस्तो कार्य होइन। त्यस्ता परिस्थितिहरूमा, ती कुरा नबताउनु ठिक हो। तर यदि तिनीहरूले गोपनीयतालाई स्पष्टीकरणका रूपमा प्रयोग गरिरहेका छन्, र आफ्नो कामको दायराभित्र पर्ने कुनै पनि कुरा अरूलाई बताउँदैनन्, र साधारण दाजुभाइ-दिदीबहिनीहरू अनि अगुवा र कामदारहरूले गरेका सोधपुछ, प्रश्न, वा अनुरोधहरूलाई प्रतिरोध र इन्कार गर्छन् भने, यहाँ समस्या के हो त? उदाहरणका लागि, तिनीहरूले निश्चित तरिकाले कुनै काम गर्न चाहेलान्। अनि, अरू कसैले तिनीहरूलाई भन्छ, “यदि तपाईंले त्यसो गर्नुभयो भने, यसले परमेश्वरको घरका हितमा घाटा ल्याउनेछ, र तपाईं कुबाटो लाग्नुहुनेछ। यसको सट्टा हामीले यसो गर्दा हुँदैन र?” तिनीहरू मनमनै सोच्छन्, “यदि मैले तैँले भनेअनुसार गरेँ भने, त्यसले अरूलाई मेरो तरिका राम्रो छैन भन्ने देखाउनेछ, होइन र? त्यसपछि कामको श्रेय तँलाई नै जानेछ, होइन त? त्यसरी हुँदैन; म तैँले भनेको कुरा गर्नुभन्दा बरु गलत तरिकाले नै गर्छु। म आफ्नो मार्गमै लागिरहनुपर्छ। यसले परमेश्वरको घरका हितहरूमा घाटा गरे पनि मलाई मतलब छैन; मेरो प्रतिष्ठा र हैसियत नै महत्त्वपूर्ण छ—मेरो इज्जत नै महत्त्वपूर्ण छ!” तिनीहरूले गर्ने काम गलत भए पनि, तिनीहरूले आफ्नो गल्ती बढाइरहनेछन्, र कसैलाई पनि हस्तक्षेप गर्न दिनेछैनन्। के त्यो ख्रीष्टविरोधी स्वभाव होइन र? (हो।) अरूलाई हस्तक्षेप गर्न नदिनुको सार के हो? यो आफ्नै उद्यममा संलग्न हुनु हो। तिनीहरूका लागि परमेश्वरको घरका हितहरू महत्त्वपूर्ण हुँदैनन्, र यसको काममा तिनीहरूको ध्यान हुँदैन। तिनीहरू त्यो सिद्धान्तअनुसार काम गर्दैनन्। बरु यसको साटो, तिनीहरू आफ्नो व्यक्तिगत हित अनि आफ्नो हैसियत र प्रतिष्ठामा ध्यान दिएर काम गर्छन्; परमेश्वरको घरका काम र हितहरूले तिनीहरूको आफ्नै हैसियत र हितहरूमा फाइदा पुर्याउनुपर्छ। त्यसकारण त तिनीहरू अरूलाई तिनीहरूको काममा हस्तक्षेप वा सोधपुछ गर्न दिँदैनन्। तिनीहरू के विश्वास गर्छन् भने, कसैले तिनीहरूको काममा हस्तक्षेप गर्नेबित्तिकै, तिनीहरूका हैसियत र हितहरू खतरामा पर्नेछन्, तिनीहरूका कमी र कमजोरीहरू, साथै तिनीहरूको कामका समस्या र विचलनहरू खुलासा हुने सम्भावना हुनेछ। त्यसकारण, तिनीहरूले आफ्नो काममा हस्तक्षेप गर्नबाट अरूलाई रोक्न कम्मर कसेका हुन्छन्, र तिनीहरू अरू कसैको सहकार्य वा सुपरिवेक्षण स्वीकार गर्दैनन्।
ख्रीष्टविरोधी जुनसुकै काममा संलग्न भए पनि, ऊ माथिले यसबारे थप कुरा थाहा पाउनेछ र सोधपुछ गर्नेछ भनेर डराउँछ। यदि माथिले कामको स्थिति वा कर्मचारी नियुक्तिबारे सोधपुछ गर्यो भने, तिनीहरूले केही सानातिना कुराहरूको झाराटारुवा विवरण दिनेछन्, अर्थात् माथिले थाहा पाउँदा केही नहुने र थाहा पाउँदा पनि कुनै दुष्परिणाम आउँदैन भन्ने तिनीहरूलाई लागेका कुराहरूको विवरण दिनेछन्। यदि माथिले अरू बाँकी कुराबारे सोधपुछ गर्यो भने, उसले तिनीहरू उसको कर्तव्य र उसको “आन्तरिक मामला” मा हस्तक्षेप गर्दै छन् भन्ने ठान्छ। उसले तिनीहरूलाई थप कुरा भन्नेछैन, बरु गुँगोको नाटक गर्दै धोका दिनेछ र कुराहरू ढाकछोप गर्नेछ। के उसले परमेश्वरको घरको सुपरिवेक्षण इन्कार गरिरहेको हुँदैन र? (हुन्छ।) अनि कसैले उसको समस्या पत्ता लगाएको छ र त्यसबारे खुलासा गर्न र माथि रिपोर्ट गर्न लागेको छ भने उसले के गर्नेछ? उसले यसलाई रोक्नेछ, हस्तक्षेप गर्नेछ—उसले यस्तो धम्कीसमेत दिनेछ: “यदि तैँले यो कुरा भनिस् र यसले गर्दा हामीलाई माथिले काटछाँट गर्यो भने, यसको दोषी तँ नै हुनेछस्। यदि कसैलाई काटछाँट गरिनु छ भने, त्यो तँ नै हुनेछस्!” के यस्ताहरूले स्वतन्त्र राज्य स्थापना गर्ने प्रयास गरिरहेका हुँदैनन् र? (हुन्छन्।) तिनीहरूले माथिलाई सोधपुछ गर्नसमेत दिँदैनन्, र तिनीहरूको कामको क्षेत्रभित्र पर्ने कुराहरूबारे जान्ने वा ती कुराबारे प्रश्न गर्ने अधिकार कसैलाई हुँदैन, झन् सिफारिसहरू गर्ने अधिकार हुनु त परको कुरा हो। यदि तिनीहरूले कुनै कामको कार्यक्रम हात पारेका छन् भने, त्यो कामको क्षेत्रभित्र पर्ने मामलाहरूबारे तिनीहरूले मात्रै हैकम चलाउन सक्छन्; तिनीहरूले मात्रै फैसला गर्न सक्छन्; तिनीहरूले मात्रै आफूले चाहेअनुसार काम गर्न र बोल्न सक्छन्, र तिनीहरूले जसरी काम गरे पनि, तिनीहरूसँग यसको स्पष्टीकरण हुन्छ। कसैले सोधपुछ गर्यो भने, तिनीहरूले अपनाउने कार्यशैली कस्तो हुन्छ? झाराटराइ र ढाकछोप। अनि अरू केके छन्? (छल।) ठिक भनिस्: छल—तिनीहरूले तँलाई देखावटी रूपसमेत देखाउनेछन्। उदाहरणका लागि, कतिपय मण्डलीमा, अगुवा वा सुसमाचार डिकनले एक महिनाको अवधिमा आफूले जिम्मेवारी पाएको मण्डलीमा तीन जना मानिसलाई मात्रै विश्वासमा ल्याएको हुन सक्छ, जुन अरू मण्डलीको भन्दा निकै नै कम हो। उसलाई यसबारे माथिसमक्ष कुनै हिसाब दिन सकिँदैन भन्ने लाग्छ—त्यसैले, ऊ के गर्छ? जब उसले आफ्नो कामको रिपोर्ट दिन्छ, तब ऊ तीन अङ्कपछि शून्य थप्छ र तीस जना मानिसलाई विश्वासमा ल्याइएको छ भनेर भन्छ। अरू कसैले यसबारे थाहा पाउँछ र उसलाई प्रश्न गर्छ: “के त्यो छल होइन र?” ऊ भन्छ, “छल? किन, हामीले अर्को महिना यसको पूर्ति गर्न तीस जना मानिस विश्वासमा ल्याएपछि यो ठिक हुनेछ, होइन र?” यसका लागि, ऊसँग स्पष्टीकरण हुन्छ। यदि अरू कसैले यो कुरालाई गम्भीरतापूर्वक लियो र माथिलाई तथ्यहरू रिपोर्ट गर्न चाह्यो भने, ऊ त्यस व्यक्तिले उसका लागि समस्या ल्याउँदै छ, र यो कुरा बाहिर फैलाउँदै छ भन्ने ठान्छ। त्यसकारण, उसले त्यसलाई दमन गर्नेछ र तह लगाउनेछ—त्यसलाई समस्यामा पार्नेछ। यसो गर्दा, के उसले मानिसहरूलाई सास्ती दिइरहेको हुँदैन र? के उसले दुष्कर्म गरिरहेको हुँदैन र? ऊ आफ्नो काममा कहिल्यै सत्यता सिद्धान्तहरू खोज्दैन, त्यसकारण काम गर्ने क्रममा उसको उद्देश्य के हुन्छ? आफ्नो हैसियत र रोजीरोटी जोगाउने उद्देश्य हुन्छ। उसले जेजस्ता खराब कुराहरू गरे पनि, आफूले गर्ने कामको अभिप्राय र मनसाय मानिसहरूलाई बताउँदैन। उसलाई त ती कुराहरू कडाइका साथ गोप्य राख्नुपर्छ; उसका लागि ती कुराहरू गुप्त जानकारी हुन्। यस्ता मानिसहरूका लागि सबैभन्दा संवेदनशील विषय के हो? के हो भने, जब तैँले तिनीहरूलाई यस्तो प्रश्न गर्छस्, “तपाईं आजभोलि के गर्दै हुनुहुन्छ? के तपाईंले आफ्नो कर्तव्य निर्वाह गर्दा कुनै परिणामहरू प्राप्त गर्नुभएको छ? के तपाईंको कामको क्षेत्रमा कुनै बाधा वा अवरोधहरू आएका छन्? तपाईंले तिनलाई कसरी सम्हाल्नुभयो? के तपाईं आफ्नो काममा जहाँ हुनुपर्ने हो त्यहाँ हुनुहुन्छ? के तपाईंले आफ्नो कर्तव्य बफादारीसाथ पूरा गरिरहनुभएको छ? के तपाईंको कामका निर्णयहरूले परमेश्वरको घरका हितहरूमा घाटा ल्याएका छन्? के मानकअनुरूप नभएका अगुवाहरूलाई बर्खास्त गरिएको छ? के तुलनात्मक रूपमा सत्यता पछ्याउने राम्रा क्षमताका मानिसहरूलाई बढुवा र संवर्धन गरिएको छ? के तपाईंले तपाईंप्रति अटेरी मानिसहरूलाई दबाउनुभएको छ? तपाईंलाई आफ्नो भ्रष्ट स्वभावबारे के थाहा छ? तपाईं कस्तो व्यक्ति हुनुहुन्छ?” यी विषयहरू तिनीहरूका लागि सबैभन्दा संवेदनशील विषय हुन्। यी प्रश्नहरू सोधिनु नै तिनीहरूका लागि सबैभन्दा डरलाग्दो कुरा हो, त्यसकारण, तैँले प्रश्न सोधुन्जेल पर्खनुको सट्टा, तिनीहरू हतारहतार आफूलाई ढाकछोप गर्ने अर्को विषय खोज्छन्। तिनीहरू तँलाई सबै माध्यमद्वारा बहकाउँदै अहिले वास्तवमा परिस्थिति कस्तो छ भनेर जान्नबाट रोक्न चाहन्छन्। तिनीहरूले तँलाई सधैँ अन्धकारमा राखिरहेका हुन्छन्, र तँलाई तिनीहरू आफ्नो काममा कति अघि बढेका छन् भन्ने कुरा जान्नबाट सधैँ रोक्ने गर्छन्। तिनीहरूमा अलिकति पनि पारदर्शिता हुँदैन। के त्यस्ता मानिसहरूमा परमेश्वरप्रति साँचो विश्वास हुन्छ? के तिनीहरूमा परमेश्वरको डर हुन्छ? हुँदैन। तिनीहरू कहिल्यै सक्रिय रूपमा कामको रिपोर्ट गर्दैनन्, न त आफ्नो कामका दुर्घटनाहरूबारे नै सक्रिय रूपमा रिपोर्ट गर्छन्; तिनीहरू आफ्नो काममा आइपरेका चुनौती र अन्योलबारे कहिल्यै सोध्ने, खोज्ने, वा खुलस्त कुरा गर्ने गर्दैनन्, बरु ती कुराहरू ढाकछोप गर्ने, अरूको आँखामा छारो हाल्ने र छल गर्ने हदसम्म जान्छन्। तिनीहरूको काममा कुनै पारदर्शिता हुँदैन, र माथिबाट तिनीहरूलाई तथ्यगत रिपोर्ट र विवरण दिन दबाब दिइएपछि मात्रै तिनीहरूले मन नलागी-नलागी अलिअलि बताउनेछन्। तिनीहरू आफ्नो प्रतिष्ठा र हैसियतसँग सम्बन्धित कुनै पनि समस्याहरूबारे कुरा गर्नुभन्दा बरु मर्न चाहन्छन्—तिनीहरू यसबारे एक शब्द नबोली मर्नेछन्। बरु, तिनीहरू नबुझेको बहाना गर्छन्। के त्यो ख्रीष्टविरोधी स्वभाव होइन र? यो कस्तो व्यक्ति हो? के यस्तो समस्या सहजै समाधान हुन्छ? यदि माथिले तिनीहरूको काममा निर्देशन दिने हो भने, त्यसप्रति तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? झाराटारुवा हुने। तिनीहरू सहमति जनाएजस्तो गर्छन्, र नोटबुक वा कम्प्युटर निकालेर लगनशीलताका साथ टिपोटसमेत लिन्छन्—तर ती टिपोट लिएपछि, के तिनीहरूले मार्गदर्शन बुझेका हुनेछन् र के तिनीहरूले काम गर्न थाल्नेछन्? (अहँ।) तिनीहरूले तँलाई देखाउन नाटक गरिरहेका हुन्छन्, तँलाई बहकाउन देखावटी गरिरहेका हुन्छन्। तिनीहरूले वास्तवमा के सोचिरहेका हुन्छन्? “यो काम गर्न मलाई दिइएको हुनाले, म जे भन्छु त्यही हुन्छ। म जे गर्न चाहन्छु त्यसमा कसैले पनि हस्तक्षेप गर्न सक्दैन। ‘राज्यका अधिकारीहरू भन्दा स्थानीय अधिकारीहरूसँग नियन्त्रण गर्ने क्षमता बढी हुन्छ’ त्यसकारण मसँग यो अधिकार छ। होइन भने, मलाई यो काम सम्हाल्न नदिए हुन्छ। मलाई बर्खास्त गरे हुन्छ।” तिनीहरू यस्तै सोच्छन्, र यसरी नै व्यवहार गर्छन्। यो कस्तो स्वभाव हो? के यो ख्रीष्टविरोधी स्वभाव होइन र? (हो।) यसको अर्थ समस्या हो। तँलाई हस्तक्षेप वा सोधपुछ गर्ने अनुमति छैन, न त सोधखोज र प्रश्नहरू गर्ने नै अनुमति छ। तिनीहरू यसप्रति निकै संवेदनशील हुन्छन्। तिनीहरू सोच्छन्, “के यो माथिले मेरो समस्या र काम जाँच गर्ने प्रयास गरेको हो? कसले पोल खोल्यो?” आत्तिएर, तिनीहरू कसले आफ्नो पोल खोलिदियो भनेर पत्ता लगाउन संयुक्त प्रयास गर्छन्। अन्ततः तिनीहरूको शङ्का दुई जना मानिसमा सीमित हुन्छ, र तिनीहरूले उनीहरूलाई झोलीतुम्बी बोकाएर घर पठाउँछन्। यो कस्तो समस्या हो? यो ख्रीष्टविरोधीको स्वभाव हो।
ख्रीष्टविरोधीको स्वभावको मुख्य विशेषता के हो? हैसियतमै झुन्डिरहनु र अरूलाई नियन्त्रण गर्नु। तिनीहरू अरूलाई नियन्त्रण गर्नकै लागि हैसियत प्राप्त गर्छन्। तिनीहरूले आफूसँग हैसियत छ भने, वैध रूपमै मानिसहरूलाई आफ्नो नियन्त्रणमा राख्नेछन्। तिनीहरूले वैध रूपमै त्यसो गर्नेछन् भनेर म किन भन्दै छु? किनभने तिनीहरूको काम तिनीहरूलाई परमेश्वरको घरले दिएको हो; तिनीहरूलाई यो काम गर्न दाजुभाइ-दिदीबहिनीहरूले नै छनौट गरेका हुन्। त्यसैले के तिनीहरूलाई आफूले त्यसो गर्नु वैध हुन्छ भन्ने लाग्दैन र? (लाग्छ।) तसर्थ, यो तिनीहरूलाई फाइदा उठाउने अवसर बन्छ, र तिनीहरू मनमा यस्तो सोच्छन्: “तिमीहरूले नै मलाई छनौट गरेका हौ, होइन र? यदि तिमीहरूले मलाई छनौट गरेका हौ भने, मलाई भरोसा गर्नुपर्छ। गैरविश्वासीहरूको भनाइ नै छ: ‘न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने।’” यहाँ, तिनीहरू शैतानी उक्तिसमेत लागू गर्छन्। के यो भनाइ सत्यता हो? (होइन।) यो शैतानी विधर्म र भ्रम हो। यदि तैँले तिनीहरूको कामबारे सोधपुछ गरिस् भने, तिनीहरू यस्तो सिद्धान्त लिएर आउँछन्: “‘न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने।’ यदि तिमी मलाई प्रयोग गर्छौ भने, तिमीले मलाई शङ्का गर्नु हुँदैन। यदि तिमीलाई म कस्तो व्यक्ति हुँ भन्ने थाहा छैन भने, यदि तिमीले मेरो वास्तविकता देखेको छैनौ भने, मलाई प्रयोग नगर। तर तिमीले मलाई प्रयोग गरिरहेको छौ, त्यसकारण म यस पदमा दह्रिलो गरी खडा हुनुपर्छ। मैले भनेकै कुरा हुनुपर्छ।” तिनीहरू जे भन्छन् त्यो सबै कामकाजमा लागू हुनुपर्छ; तिनीहरूलाई यसो गर्न नदिँदा, वा तिनीहरूका लागि सहकर्मी खोज्दा, वा अरूलाई तिनीहरूको सुपरिवेक्षण र मार्गदर्शन गर्न लगाउँदा, काम बन्दैन। यदि कुनै व्यक्ति तिनीहरूको कामबारे जाँच गर्न आयो भने, तिनीहरू हुँदैन भनेर भन्छन्—तिनीहरूलाई आफूले केही गल्ती गरेको छैनँ र जाँच गरिनु पर्दैन भन्ने लाग्छ। अधिकारको हिसाबले, तिनीहरू अरू मानिस, कार्यस्थल, र मण्डलीको काम नियन्त्रण गर्न आफ्नो हैसियत र अख्तियार प्रयोग गर्छन्। के तिनीहरूले स्वतन्त्र राज्य स्थापित गरिरहेका हुँदैनन् र? के तिनीहरू ख्रीष्टविरोधी होइनन् र? परमेश्वरको घरले तिनीहरूलाई यो काम र यो कर्तव्य गर्न लगाउन सक्छ, तर यसले तिनीहरूलाई तानाशाहीका रूपमा शक्ति प्रयोग गर्न दिँदैन। के त्यस्ता व्यक्तिले परमेश्वरको अभिप्राय र उहाँको घरका बन्दोबस्तहरू गलत रूपमा बुझेका हुँदैनन् र? तिनीहरूले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुको सट्टा किन सधैँ हैसियत र शक्ति पाउन खोजिरहेका हुन्छन्? (तिनीहरू ख्रीष्टविरोधी स्वभावद्वारा सञ्चालित हुन्छन्।) ठिक भन्यौ—ख्रीष्टविरोधीको स्वभाव यस्तै हुन्छ। मण्डलीले तिनीहरूका लागि काम मिलाउँदा तिनीहरू किन यसलाई गलत रूपमा बुझ्छन्? किनभने तिनीहरूलाई अन्तर्निहित रूपमै मानिसहरूलाई नियन्त्रण गर्न मन पर्छ। तिनीहरूको प्रकृति सार यही हो—तिनीहरू यस्तै हुन्छन्। तिनीहरूका लागि काम मिला, अनि तिनीहरूले अब आफूसँग शक्ति र हैसियत छ, र आफ्नो क्षेत्रमा आफ्नो नियन्त्रण छ भन्ने सोचिहाल्छन्। यदि तँ तिनीहरूको क्षेत्रमा गइस् भने, तैँले तिनीहरूले भनेको मान्नुपर्छ। उदाहरणका लागि, परमेश्वरको घरले एकपटक एक अगुवालाई ख्रीष्टविरोधीको काम जाँच्न लगाएको थियो। त्यो अगुवा र त्यो ख्रीष्टविरोधी दुवै मण्डली अगुवा थिए; तिनीहरू एउटै पदका थिए। त्यस ख्रीष्टविरोधीले भन्यो, “तपाईं मण्डली अगुवा हुनुहुन्छ, र म पनि मण्डली अगुवा हुँ। हामी एउटै स्तरका हौँ। तपाईं मेरो काममा हस्तक्षेप नगर्नुहोस्, र म पनि तपाईंको काममा हस्तक्षेप गर्नेछैनँ। मसँग सङ्गति नगर्नुहोस्—तपाईं त्यसो गर्ने पदमा हुनुहुन्न! अनि तपाईं हाम्रो मण्डलीमा काम कसरी भइरहेको छ भनेर सोध्न चाहनुहुन्छ—के माथिले तपाईंलाई यसो गर्न निर्देशन दिएको छ? मलाई प्रमाण देखाउनुहोस् त।” त्यस अगुवाले भन्यो, “माथिले मलाई एउटा सन्देश दिन लगाएको हो। मेरो कुरामा विश्वास लागेन भने गएर सोध्नुहोस्।” त्यस ख्रीष्टविरोधीले भन्यो, “त्यसोभए मसँग सङ्गति गर्न र मेरो विरुद्धमा आरोप लगाउन तपाईंलाई केले अधिकार दिन्छ? मेरो कामअन्तर्गतका कुराहरूबारे सोधपुछ गर्ने अधिकार तपाईंलाई केले दिन्छ? तपाईं त्यसो गर्ने स्थानमा हुनुहुन्न!” के यी शब्दहरू सत्यताअनुरूप छन्? (छैनन्।) यो कस्तो कार्य हो? ख्रीष्टविरोधीले मात्रै गर्ने कार्य हो। गैरविश्वासीहरूमाझ एउटा भनाइ छ: “जसको शक्ति उसकै भक्ति।” तिनीहरू कसको पद उच्च छ, कसको शक्ति धेरै छ, र को बढी सक्षम छ भनेर हेर्न प्रतिस्पर्धा गर्छन्। तिनीहरूले को बढी मानिसहरूको इन्चार्ज हो भनेर हेर्न प्रतिस्पर्धा गर्छन्। अनि परमेश्वरको घरमा, ख्रीष्टविरोधीहरूले यिनै कुराहरू हेर्न अरूसँग प्रतिस्पर्धा गर्छन्। के तिनीहरू गलत ठाउँमा आएका छैनन् र? के भ्रष्ट स्वभाव भएको, तर ख्रीष्टविरोधी नरहेको व्यक्तिले सामान्यतया आफू बराबर स्तरको मण्डली अगुवालाई भेट्दा यस्तो सोच्नेछ? तिनीहरूले केही कुराहरू प्रकट त गर्नेछन्, तर तिनीहरूले सामान्य रूपमै त्यो मण्डली अगुवासँग सङ्गति गर्न सक्नेछन्। तिनीहरूले अवश्य नै यसो भन्नेछैनन्, “के तपाईं मेरो कामबारे सोधपुछ गर्न सक्ने स्थानमा हुनुहुन्छ?” तिनीहरूले त्यसो भन्नेछैनन्, किनभने तिनीहरूमा सामान्य समझ हुन्छ, र तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय हुन्छ। सामान्य समझ भएको व्यक्तिले कसरी व्यवहार गर्नेछ? उसले यस्तो सोच्नेछ, “हामीलाई मण्डलीको नेतृत्व गर्न लगाउनु—त्यो परमेश्वरले हामीलाई उत्थान गर्नुभएको हो; यो उहाँको आज्ञा हो, र यो हाम्रो कर्तव्य हो। यदि परमेश्वरले हामीलाई यसो गर्ने आज्ञा नदिनुभएको भए, हामी केही कामका हुनेथिएनौँ। यो कुनै आधिकारिक पद होइन। म तपाईंसँग मण्डलीको कामबारे, र दाजुभाइ-दिदीबहिनीहरूको काम कसरी भइरहेको छ भन्नेबारे, र मेरो कामको अनुभवबारे सङ्गति दिन सक्छु।” के ख्रीष्टविरोधीहरूले यी कुराहरूबारे अरूसँग सङ्गति गर्नेछन्? गर्नेछैनन्—तिनीहरूले अवश्य नै यी कुराहरू खुलासा गर्नेछैनन्। त्यसैले, ख्रीष्टविरोधीहरूको एउटा विशेषता भनेको हैसियत र शक्तिको कामना हो जुन साधारण मानिसहरूको भन्दा धेरै हुन्छ, त्यसका साथै तिनीहरू साधारण मानिसहरूभन्दा धूर्त र अन्तर्घाती हुन्छन्। तिनीहरूको धूर्तता र अन्तर्घातीपन कहाँ प्रकट हुन्छ? (तिनीहरू अरूलाई केही पनि भन्दैनन्। तिनीहरू अरूलाई सिधै केही भन्दैनन्।) तिनीहरूलाई हरेक मामला गुप्त, र अरूलाई बताउन नहुने कुरा हो भन्ने लाग्छ। हरेक मामलामा, तिनीहरू अरूप्रति सतर्क हुन्छन्; तिनीहरू सबै कुरा लुकाएर, ढाकछोप गरेर र छोपेर राख्छन्। के तिनीहरू अरूसँगको व्यवहारमा सामान्य अन्तरक्रिया र कुराकानी गर्न सक्छन्? के तिनीहरू हृदयबाट केही भन्न सक्छन्? सक्दैनन्। तिनीहरू तँलाई अन्तर्निहित परिस्थिति मूल्याङ्कन गर्नबाट रोक्न केही सतही उत्साहका कुरा र मनमोहक शब्दहरू मात्रै प्रदान गर्छन्। तिनीहरूसँग केही समय सम्पर्कमा आएपछि, तैँले यस्तो महसुस गर्नेछस्, “हेर, यो व्यक्ति दुष्टजस्तो देखिँदैन, तर पनि किन मलाई सधैँ उसको हृदय अरू मानिसहरूबाट अति टाढो छ जस्तो लाग्छ? उसको सम्पर्कमा हुँदा किन मलाई सधैँ अनौठो लाग्छ? मलाई सधैँ ऊ बुझ्न नसकिने खालको व्यक्ति हो भन्ने महसुस हुन्छ।” के तँलाई त्यस्तो महसुस हुन्छ? (हुन्छ।) त्यो ख्रीष्टविरोधी स्वभाव हो: तिनीहरू सबैप्रति सतर्क हुन्छन्। अनि किन तिनीहरू सतर्क हुन्छन्? किनभने तिनीहरूको नजरमा, जोकोहीले तिनीहरूको हैसियत खतरामा पार्न सक्छ। यदि तिनीहरू सतर्क भएनन् भने, यदि तिनीहरूले आफ्नो सतर्कता छोडे भने, तिनीहरूले अरूलाई तिनीहरूको वास्तविकता, तिनीहरूको वास्तविक पहिचान के हो भनेर थाहा दिन सक्नेछन्—अनि तिनीहरूको हैसियत कायम रहनेछैन। त्यसकारण, जब तिनीहरूले आफ्नो कामको स्थिति र कर्तव्यबारे सोधपुछ गर्ने, वा आफ्नो व्यक्तिगत स्थितिबारे सोधपुछ गर्ने व्यक्ति भेट्छन्, तब तिनीहरू आफूले ढाकछोप गर्न सक्ने कुरा ढाकछोप गर्छन् र लुकाउन सक्ने कुरा लुकाउँछन्। तिनीहरू आफूले लुकाउन नसक्ने कुराहरूलाई सामान्य बनाउने उपाय खोज्छन्, वा तिनीहरू आफै तँबाट लुकेर बस्छन्। कति ख्रीष्टविरोधीहरूमा विचित्र स्वभाव हुन्छ: तिनीहरू अरूको माझमै बस्ने भए पनि, तैँले तिनीहरूले कसैसँग पनि सामान्य अन्तरक्रिया गरेको देख्नेछैनस्, र अरूसँग तिनीहरूको कुनै सामान्य कुराकानी हुँदैन। हरदिन, तिनीहरू एक्लै बस्छन्, खाने बेला देखा पर्छन् र पछि फेरि हराउँछन्। तिनीहरू सधैँ हराउने गर्छन्। तिनीहरू किन अरूसँग अन्तरक्रिया गर्दैनन्? तिनीहरूले आफ्नो परिवारलाई जे पनि भन्नेछन्, तर किन तिनीहरू दाजुभाइ-दिदीबहिनीलाई केही भन्दैनन्? गैरविश्वासीहरूको एउटा भनाइ छ: “धेरै मुख चलाउनेले गल्ती पनि धेरै नै गर्छ।” त्यस्ता मानिसहरू यस सिद्धान्तप्रति प्रतिबद्ध हुन्छन्; तिनीहरू लापरवाही रूपमा बोल्दैनन्, किनभने तिनीहरूले भनेको कुराले तिनीहरूको खेल उदाङ्गो पार्न सक्छ, र तिनीहरूको कमजोरी पर्दाफास गर्न सक्छ। कुन शब्दले तिनीहरूलाई अरूको नजरमा तुच्छ देखाउँछ र तिनीहरूको वास्तविकता के हो भनेर खुलाइदिन्छ भन्ने कुरा थाहा हुँदैन, त्यसैले तिनीहरू अरूबाट तर्कने सक्दो प्रयास गर्छन्। के तिनीहरूको यो तर्काइ अनजानमा हुने कुरा हो, कि यसभित्र यसलाई नियन्त्रण गर्ने केही कुरा हुन्छ? यसलाई नियन्त्रण गर्ने केही न केही हुन्छ। यो कुरा न्यायोचित र आदरणीय हो, कि यो खराब कुरा हो? (खराब कुरा।) अवश्य नै यो खराब कुरा हो। ख्रीष्टविरोधीहरूले व्यवहार गर्ने तरिका यो मात्र होइन—धेरैजसो समय तिनीहरू अरूसँग सामान्य रूपमा कुराकानी वा अन्तरक्रिया नै गर्दैनन्; कहिलेकाहीँ, तिनीहरूले अत्यन्तै स्पष्ट कुरा गर्न र बोल्न पनि सक्छन्—तर तिनीहरू केकस्ता कुराहरूबारे कुरा गर्छन्? तिनीहरूको विषयवस्तु के हुन्छ? तिनीहरूले आफ्नो शान देखाउँदै शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्छन्। तिनीहरू वास्तविक काम गर्न र वास्तविक समस्याहरू समाधान गर्न सक्छु भनेर भन्छन्, जबकि वास्तवमा तिनीहरूसँग कुनै वास्तविक सिप हुँदैन। तिनीहरूलाई तिनीहरूसँग केकस्ता कमीकमजोरी छन्, तिनीहरूमा अहङ्कारी स्वभाव छ कि छैन भनेर सोध्, अनि तिनीहरूले भन्नेछन्, “भ्रष्ट मानवजातिमाझ को अहङ्कारी छैन र?” हेर त—तिनीहरूको अहङ्कारको पनि आधार हुन्छ। यसले सबैलाई समावेश गर्छ, मानौँ तिनीहरूको अहङ्कार उचित कुरा हो। तिनीहरूले कहिल्यै सत्यता खोजी गर्नेछैनन्, र यस्तो लाग्छ तिनीहरू काममा कुनै समस्या वा कठिनाइहरू छन् भन्ने कुरा महसुसै गर्दैनन्। अनि तैँले तिनीहरूलाई सोधेर वास्तविक परिस्थिति पत्ता लगाउनेछैनस्। जब तिनीहरूको कुनै काम हुँदैन, तब तिनीहरू चुपचाप बस्छन्, र जब तिनीहरू बोल्छन्, तब आफ्नो योग्यताबारे कुरा गरिरहेका हुन्छन्। तिनीहरू कहिल्यै खुलेर कुरा गर्दैनन्; तिनीहरू आफूभित्र केकस्ता विद्रोहीपन वा लालची इच्छाहरू छन्, वा तिनीहरू परमेश्वरसँग कसरी सौदा गर्ने प्रयास गर्छन्, वा तिनीहरूले कोसित झूट बोलेका छन्, वा काम गर्ने क्रममा तिनीहरूको महत्त्वाकाङ्क्षा के हुन्छ भनेर कहिल्यै बताउँदैनन्। तिनीहरू यी समस्याहरूबारे कहिल्यै कुरा उठाउँदैनन्, र अरूले कुरा उठाउँदा, तिनीहरू कुनै चासो लिँदैनन्। तिनीहरूको कामको क्षेत्रभित्रका कुराहरू छुने प्रश्नहरूबारे पनि, तिनीहरू थोरै सतही कुरा मात्रै बोल्छन्। छोटकरीमा भन्दा, तिनीहरूको सम्पर्कमा जति लामो समय रहे पनि, तिनीहरूको कर्तव्यको क्षेत्रभित्र रहेको कुनै पनि कुराबारे थप जान्न चाहेमा, त्यो जान्न हरकसैलाई निकै गाह्रो हुनेछ, चाहे त्यो कुरा कर्मचारीबारे, वा चाहे व्यावसायिक अभ्यासबारे, वा कामको प्रगतिबारे किन नहोस्। तैँले जुनसुकै शैली अपनाए पनि—तैँले आफ्नो प्रश्न अप्रत्यक्ष रूपमा प्रस्तुत गर्ने प्रयास गरे नि, वा सिधै सोधे नि, वा तिनीहरूको नजिकको कसैलाई सोधे नि—तैँले सजिलै परिणामहरू प्राप्त गर्नेछैनस्। त्यो अत्यन्तै कठिन हुन्छ। के त्यो धूर्त कुरा होइन र? (हो।) तिनीहरूबाट विभिन्न कुराबारे वास्तविक जानकारी लिन किन यति कठिन हुन्छ? किन तिनीहरू ती कुराहरू यसरी छोपेर राख्छन्? तिनीहरूको उद्देश्य के हो? तिनीहरू आफ्नो हैसियत र रोजीरोटी जोगाउन चाहन्छन्। तिनीहरू यस्तो विश्वास गर्छन्, “यो हैसियत पाउन, आज म जहाँ छु त्यहाँ आइपुग्न सजिलो थिएन—एकैछिनको लापरवाहीले, मैले मूर्ख भएर गल्ती गरेँ भने, के म समस्यामा पर्दिनँ र? यसका साथै, यदि परमेश्वरको घरलाई मैले गरेका खराब कुराहरू थाहा भयो भने, तिनीहरूले मलाई ठेगान लाउनेछन् कि छैनन्, त्यो कसलाई थाहा?” तैँले खुलस्त हुनेबारे, र इमानदार व्यक्ति बन्नेबारे, र बफादारी रूपमा कर्तव्य निर्वाह गर्नेबारे जति नै कुरा गरे पनि, के यो कुरा तिनीहरूको दिमागमा छिर्छ र? अहँ, छिर्दैन। तिनीहरूका लागि त एउटै आदर्श छ: कुरा फुत्क्यो कि पद खुस्क्यो। यदि तँ अरूलाई सबै कुरा बताउँछस् भने, तँ अयोग्य होस्—काम न काजको व्यक्ति होस्! तिनीहरूको आदर्श त्यही हो। ख्रीष्टविरोधीहरूको स्वभाव यस्तै हुन्छ।
ख्रीष्टविरोधीले जुनसुकै काम गरिरहेको भए पनि, उसले अरूलाई हस्तक्षेप गर्न वा सोधपुछ गर्नबाट निषेध गर्छ, र अझै बढी रूपमा परमेश्वरको घरलाई सुपरिवेक्षण गर्नबाट निषेध गर्छ। तिनीहरूले यसो गर्नुको उद्देश्य के हुन्छ? तिनीहरूले मुख्यतः परमेश्वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्न, र आफ्नो हैसियत र शक्ति जोगाउन चाहन्छन्, र यसको अर्थ तिनीहरूले आफ्नो रोजीरोटी जोगाउनु हो। तिनीहरूको मुख्य उद्देश्य त्यही हो। यदि तिमीहरू अगुवा वा कामदार हौ भने, के तिमीहरूलाई परमेश्वरको घरले तिमीहरूको कामबारे सोधपुछ र सुपरिवेक्षण गर्छ भन्ने डर लाग्छ? के तिमीहरूलाई परमेश्वरको घरले तिमीहरूको कामका त्रुटि र विचलनहरू पत्ता लगाएर तिमीहरूलाई काटछाँट गर्नेछ भन्ने डर लाग्छ? के तिमीहरूलाई तिमीहरूको वास्तविक क्षमता र कदबारे माथिलाई थाहा भएपछि, उसले तिमीहरूलाई फरक नजरले हेर्नेछ र तिमीहरूलाई बढुवा गर्नेबारे विचार गर्नेछैन भन्ने डर लाग्छ? यदि तँसित यी डर छन् भने, यसले तँ मण्डलीको कामका निम्ति होइन, ख्याति र हैसियतका लागि काम गर्न प्रेरित भइरहेको छस् भन्ने साबित गर्छ, जसबाट तँमा ख्रीष्टविरोधीको स्वभाव छ भन्ने प्रमाणित हुन्छ। यदि तँमा ख्रीष्टविरोधीको स्वभाव छ भने, तँ ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्ने, र तैँले ख्रीष्टविरोधीहरूले गरेको सबै दुष्टता गर्ने सम्भावना हुन्छ। यदि तेरो हृदयमा परमेश्वरको घरले तेरो कामको सुपरिवेक्षण गर्छ भन्ने डर छैन, र तँ माथिले सोधेका प्रश्न र सोधपुछको साँचो जवाफ केही नलुकाई, र आफूलाई थाहा भएजति दिन सक्छस् भने, तेरो कुरा सही वा गलत जे भए पनि, तैँले जस्तो भ्रष्टता प्रकट गरे पनि—तैँले ख्रीष्टविरोधीको स्वभाव प्रकट गरे पनि—तँलाई कदापि ख्रीष्टविरोधीका रूपमा चित्रण गरिनेछैन। मुख्य कुरा भनेको तैँले आफ्नो ख्रीष्टविरोधी स्वभाव चिन्न सक्छस् कि सक्दैनस्, र यो समस्या हल गर्न सत्यता खोज्न सक्छस् कि सक्दैनस् भन्ने हो। यदि तँ सत्यता स्विकार्ने व्यक्ति होस् भने, तेरो ख्रीष्टविरोधी स्वभाव सच्याउन सकिन्छ। यदि तँलाई आफूमा ख्रीष्टविरोधीको स्वभाव छ भन्ने कुरा राम्ररी थाहा भएर पनि त्यो हटाउन सत्यता खोज्दैनस्, यदि तँ आइपर्ने समस्याहरू लुकाउने वा समस्याबारे झूट बोल्ने र जिम्मेवारी पन्छाउने कोसिससमेत गर्छस्, अनि काटछाँटमा पर्दा सत्यता स्विकार्दैनस् भने, यो गम्भीर समस्या हो, र तँ ख्रीष्टविरोधीभन्दा फरक होइनस्। तँ आफूमा ख्रीष्टविरोधीको स्वभाव छ भन्ने जानेर पनि किन यसलाई सामना गर्ने आँट गर्दैनस्? किन तँ यसलाई खुलस्त रूपमा लिएर यसो भन्न सक्दैनस्, “यदि माथिबाट मेरो कामबारे सोधपुछ गरिन्छ भने, म आफूलाई थाहा भएको सबै कुरा भन्नेछु, र यदि मैले गरेका खराब कुराहरू खुलासा भए पनि, र माथिलाई थाहा भएपछि उसले मलाई प्रयोग गर्न छोडे पनि, र मैले आफ्नो हैसियत गुमाए पनि, म आफूले भन्नुपर्ने कुरा स्पष्ट रूपमा भन्नेछु”? परमेश्वरको घरले तेरो कामको सुपरिवेक्षण र सोधपुछ गर्नेछ भन्ने डरले तँ सत्यताभन्दा बढी हैसियतलाई बहुमूल्य ठान्छस् भन्ने प्रमाणित गर्छ। के यो ख्रीष्टविरोधीको स्वभाव होइन र? हैसियतलाई सबैभन्दा माथि राख्नु ख्रीष्टविरोधीको स्वभाव हो। तँ किन हैसियतलाई यति बहुमूल्य ठान्छस्? तैँले हैसियतबाट कस्ता-कस्ता फाइदाहरू प्राप्त गर्न सक्छस्? यदि हैसियतले तँमाथि विपत्ति, कठिनाइ, बेइज्जती, र पीडा ल्याउँछ भने, के तँ अझै पनि यसलाई बहुमूल्य ठान्थिस्? (ठान्नेथिइनँ।) हैसियत हुँदा प्राप्त हुने कैयौँ लाभहरू छन्, जस्तै अरू मानिसको डाहा, सम्मान, आदर, र चापलुसी, साथै तिनीहरूको आदर र श्रद्धा। तेरो हैसियतले तँलाई श्रेष्ठता र सौभाग्यको पनि अनुभूति गराउँछ जसले तँलाई गर्व र आत्मसम्मानको अनुभव गराउँछ। यसका साथै, तैँले अरूले उपभोग गर्न नपाउने कुराहरू पनि उपभोग गर्न सक्छस्, जस्तै हैसियतका लाभहरू र विशेष व्यवहार। यी कुराहरूबारे तँ सोच्नसमेत आँट गर्दैनस्, र यी तैँले सपना देखेका र तृष्णा गरेका कुराहरू हुन्। के तँ यी कुराहरूलाई बहुमूल्य ठान्छस्? यदि हैसियत कुनै वास्तविक महत्त्वविनाको खोक्रो कुरा हो भने, र यसको प्रतिरक्षा गरेर कुनै वास्तविक उद्देश्य पूरा हुँदैन भने, के यसलाई बहुमूल्य ठान्नु मूर्खता होइन र? यदि तँ देहका हित र आनन्दजस्ता कुराहरू त्याग्न सक्छस् भने ख्याति, प्राप्ति, र हैसियतले अबउप्रान्त तँलाई बन्धनमा पार्नेछैन। त्यसकारण, हैसियतलाई बहुमूल्य ठान्ने र पछ्याउने समस्या समाधान गर्नुभन्दा पहिले कुन कुरा समाधान गर्नुपर्छ? सबभन्दा पहिले, हैसियतका लाभहरूमा रमाउनका लागि दुष्कर्म र चलाकी गर्ने, कुरा लुकाउने, र ढाकछोप गर्ने, साथै परमेश्वरको घरको सुपरिवेक्षण, सोधपुछ, र अनुसन्धान इन्कार गर्ने समस्याको प्रकृतिलाई छर्लङ्ग देख्न सक्नुपर्छ। के यो परमेश्वरविरुद्धको ठाडो प्रतिरोध र विरोध होइन र? यदि तँ हैसियतका लाभहरू लोभ गर्नुका प्रकृति र परिणामहरू छर्लङ्ग देख्न सक्छस् भने, हैसियतको पछि लाग्ने समस्या समाधान हुनेछ। यदि तँ हैसियतका लाभहरू लालसा गर्नुको सार छर्लङ्गै चिन्न सक्दैनस् भने, यो समस्या कहिल्यै समाधान हुनेछैन।
के तिमीहरू काम गर्न र आफ्नो कर्तव्य निर्वाह गर्न अरूसँग सहकार्य गर्छौ? के तिमीहरू सुपरिवेक्षण स्वीकार गर्छौ? के तिमीहरूले अरूलाई हस्तक्षेप वा सोधपुछ गर्नबाट रोक्न केही गरेका छौ? यदि कसैले सोधपुछ गर्यो भने, के तँ उसलाई प्रतिरोध गर्छस् र यसो भन्छस्, “मेरो काममा हस्तक्षेप गरेर तपाईंले आफूलाई के सोच्नुभएको छ? म हैसियतमा तपाईंभन्दा माथि छु, र मेरो काममा मैले भनेको कुरा हुन्छ। माथिले त सोधपुछ गरेको छैन, तपाईंलाई केले यस्तो अधिकार दियो?” के त्यस्तो कुनै भएको छ? ख्रीष्टविरोधीहरूको मुख्य स्वभाव के हो? हैसियत ओगट्नु र शक्ति हातमा लिनु; परमेश्वरको घरको काममा फाइदा पुर्याउने कुनै पनि कुरा नगर्नु, यसका हितहरूबारे विचार नगर्नु, बरु झाराटारुवा र छली व्यवहार गर्नु, र मन नलगाई काम गर्नु। बाहिरबाट हेर्दा, तिनीहरू आफ्नो काममा निकै ऊर्जासाथ व्यस्त भएका देखिन्छन्, तर तिनीहरूले गर्ने कुराहरू हेर, पहिलो कुरा त, तिनीहरू कुनै प्रगति नै गर्दैनन्; दोस्रो कुरा, तिनीहरू अदक्ष हुन्छन्; अनि तेस्रो कुरा, तिनीहरूले गर्ने कामको प्रभाव खासै केही हुँदैन—त्यो सब पूरै भद्रगोल पारिएको हुन्छ। तिनीहरू एउटा कुरा मात्रै त्याग्दैनन्, र त्यो तिनीहरूले आफ्नो कामले दिने अवसर प्रयोग गरेर शक्ति हत्याउनु र त्यसलाई नछोड्नु हो। अनि जबसम्म तिनीहरूसँग शक्ति हुन्छ, तबसम्म तिनीहरू ठिकठाककै हुन्छन्। तिनीहरूले जुनसुकै काम गरिरहेका भए पनि, चाहे त्यो पेसासँग सम्बन्धित, बाहिरी मामलाहरूसँग सम्बन्धित, प्राविधिक सिपसँग सम्बन्धित होस्, वा अरू पक्षसँग सम्बन्धित होस्, समग्रमा त्यसमा कुनै पारदर्शिता हुँदैन। के यो पारदर्शिता अनजानमा नभएको हो? होइन—अनजानमा हुने कुरा त स्वभावले गर्दा हुँदैन, बरु यो क्षमताको कमी हुनुसँग र काम गर्ने तरिका नबुझ्नुसँग सम्बन्धित हुन्छ। त्यसोभए, मैले किन यो स्वभाव ख्रीष्टविरोधी स्वभाव हो भनेर भनेँ त? तिनीहरूले जानीजानी नाटक गरिरहेका हुन्छन्। तिनीहरूभित्र एउटा अभिप्राय हुन्छ: तिनीहरू जानाजानी तँलाई यी कुराहरू थाहा पाउनबाट रोक्छन्, र जानाजानी नै तँबाट यी कुराहरू लुकाउँछन् र तँलाई देखाउँदैनन्। तिनीहरू तँसँग कम बोल्छन् र कुराकानी कम गर्छन्; तिनीहरू तँसँग गफगाफ कम गर्छन्। तिनीहरूले यी कुराहरू कम गर्छन्, ताकि तैँले सधैँ तिनीहरूलाई दोष दिनेछैनस् र तिनीहरूबारे सोधपुछ गर्नेछैनस्, ताकि तँलाई वास्तवमा के भइरहेको छ भनेर धेरै थाहा हुनेछैन, ताकि तैँले तिनीहरूको साँचो रूप चिन्नेछैनस्। के त्यो जानीजानी गरिने काम होइन र? के यसमा अभिप्राय लुकेको हुँदैन र? तिनीहरूको अभिप्राय र उद्देश्य के हुन्छ? तिनीहरू तँलाई चालबाजी गर्न र छक्काएर अगाडि बढ्न चाहन्छन्; तिनीहरूले तँलाई झूटो छाप पार्छन् र परिस्थितिहरू वास्तवमा कस्ता छन् भनेर जान्न रोक्छन्। तिनीहरूले यो तरिकामार्फत आफ्नो हैसियत जोगाएका हुन्छन्, जसमा तिनीहरू खुसी हुन्छन्। के यसको प्रकृति त्यही होइन र? (हो।) यो ख्रीष्टविरोधीहरूको स्वभाव हो, र त्यो जानाजानी धोका दिनु, झुक्क्याउनु र कुरा ढाकछोप गर्नु हो। यो सबै जानाजानी नै गरिएको हुन्छ। मलाई भन त, अरूसँग भेट्ने समय नै नहुने गरी मानिसहरूलाई यति व्यस्त राख्ने कुन कामको कार्यक्रम हुन्छ? कुनै पनि हुँदैन, होइन र? कुनै पनि कामको कार्यक्रमले व्यक्तिलाई खाना खाने वा सुत्ने समय नहुने गरी वा अरूसँग भेट्ने समय नहुने गरी व्यस्त बनाउँदैन। परिस्थिति अझै त्यति व्यस्त भएको छैन। ती कुराहरूका लागि समय निकाल्न सकिन्छ। त्यसोभए, किन यी मानिसहरूसँग समय हुँदैन त? तिनीहरू तँलाई भेट्न चाहँदैनन्; तिनीहरू तैँले तिनीहरूको कामबारे सोधपुछ गरेको चाहँदैनन्। के त्यो ख्रीष्टविरोधी स्वभाव होइन र? (हो।) तिनीहरू कस्ता प्रकारका मानिस हुन्? के तिनीहरू अविश्वासी होइनन् र? हुन्—हरेक ख्रीष्टविरोधी अविश्वासी हो। यदि तिनीहरू अविश्वासी नभएका भए, तिनीहरूले परमेश्वरको घरको कामलाई आफ्नै हातमा लिने, वा परमेश्वरलाई पछ्याउनेहरूलाई आफ्नो शक्तिमा नियन्त्रित गर्ने काम गर्नेथिएनन्। तिनीहरूले त्यस्ता कुराहरू गर्नेथिएनन्। अविश्वासीहरूको पहिलो व्यवहार के हो भने, तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय हुँदै हुँदैन। तिनीहरू परमेश्वरमा विश्वास गर्ने बहानामा आफ्नै हितका लागि षड्यन्त्र गर्छन्; तिनीहरू दुस्साहसी र लापरवाह बन्छन्, र पटक्कै डर मान्दैनन्। परमेश्वरमाथिको तिनीहरूको विश्वास साँचो हुँदैन, केवल नारा हुन्छ। परमेश्वरप्रति तिनीहरूको हृदयमा पटक्कै डर हुँदैन।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।