विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई) खण्ड दुई
ख. आफ्ना परिवेशहरूप्रति मानिसहरूको व्यवस्थापन
दोस्रो बुँदा: आफ्ना दैनिक जीवनका परिवेशहरूप्रति मानिसहरूको व्यवस्थापन। यस बुँदाले सामान्य मानवताको कुन क्षेत्रलाई समेट्छ? (आफ्नो जियाइ परिवेशलाई।) अनि त्यसमा केके समावेश हुन्छन्? यसमा मुख्य गरी दुईवटा व्यापक क्षेत्र समावेश हुन्छन्: व्यक्तिको व्यक्तिगत जीवनमा मात्र सीमित रहने उसको जिउने परिवेश, र उसले बारम्बार सामना गर्ने सार्वजनिक परिवेश। अनि यी दुईवटा व्यापक क्षेत्रमा खास गरी केके पर्छन्? व्यक्तिको जीवनशैली, साथै उसले गर्ने स्वच्छता व्यवस्थापन र उसको परिवेश। यसलाई अझै टुक्र्याएर हेर्दा, व्यक्तिको जीवनशैलीमा केके पर्छन्? काम र आराम, आहार र दैनिक रूपमा आफ्नो स्वास्थ्यको रक्षाजस्ता कुराहरू, साथै दैनिक जीवनबारे सामान्य ज्ञान। हामी पहिलो अर्थात्, काम र आरामबाट सुरु गर्नेछौँ। ती कुरा नियमित र निर्धारित तरिकाले गरे पुग्छ। कामको कारण राती अबेरसम्म वा तोकिएको समयभन्दा बढी समयसम्म काम गर्नुपर्नेजस्ता विशेष परिस्थितिहरूमा बाहेक काम र आराम प्रायजसो नियमित र निर्धारित नै हुनुपर्छ। त्यो नै सही तरिका हो। कतिपय मानिस राति जागा बस्न मन पराउँछन्। तिनीहरू साँझमा सुत्दैनन्, बरु यावत् किसिमका कामकुरामा व्यस्त हुन्छन्। अरूले बिहानै उठेर काम सुरु नगरेसम्म तिनीहरू सुत्दैनन्, र राति अरू सुत्ने बेलामा, तिनीहरू उठेर काम गर्न थाल्छन्। के त्यस्ता मानिसहरू हुँदैनन् र? सधैँ अरूसँग नमिल्ने, सधैँ विशेष हुने—त्यस्ता मानिसहरू त्यति समझदार हुँदैनन्। विशेष अवस्थामा बाहेक, सामान्य परिस्थितिहरूमा सबैको कार्यको तालमेल आधारभूत रूपमा मिल्नुपर्छ। अर्को के हो? (आहार।) सामान्य मानवताका खानपानका आवश्यकताहरू पूरा गर्न सजिलो हुन्छ, होइन र? (हो।) यो सजिलो छ। तर, के मानिसहरूमा आहारबारे केही भ्रमपूर्ण दृष्टिकोणहरू हुँदैनन् र? कतिपयले भन्छन्, “हामी परमेश्वरमा विश्वास गर्छौँ, र सबै कुरा उहाँको हातमा छ। जुन तरिकाले खाए पनि पेटमा असर गर्दैन। हामी स्वतन्त्र रूपमा आफ्नो इच्छाले आफूलाई मन परेको कुरा खान्छौँ। परमेश्वरले हाम्रो रक्षा गर्नुहुने हुनाले यो कुनै समस्याको विषय नै होइन।” के त्यस्तो बुझाइ भएका मानिसहरू छैनन् र? के यसमा अलिक विकृत कुरा छैन र? त्यस्तो बुझाइ असामान्य हो; त्यस्तो बुझाइ भएकाहरूको सोचाइ सामान्य हुँदैन। अरू त्यस्ता पनि हुन्छन् जो जियाइसम्बन्धी सामान्य, अर्थात् आम ज्ञान र देहको ख्याल गर्नुबीच झुक्किन्छन्। तिनीहरू जियाइसम्बन्धी सामान्य ज्ञानमा ध्यान दिनु भनेको देहको ख्याल गर्नु हो भन्ने विश्वास गर्छन्। के त्यस्तो विश्वास गर्ने मानिसहरू छैनन् र? (छन्।) उदाहरणका लागि, कतिपय मानिसमा पेट पोल्ने समस्या हुन्छ र तिनीहरू मसालेदार, उत्तेजक खानेकुरा खाँदैनन्। कतिपयले तिनीहरूलाई यसो भन्छन्, “त्यो त तिम्रो खानपानसम्बन्धी रुचि हो; तिमी देहको ख्याल गरिरहेका छौ। तिमीले यसविरुद्ध विद्रोह गर्नुपर्छ। तिमी त्यस्ता ठाउँहरूमा जानेछौ जहाँ खानेकुरा त्यही नै हुन्छ, अनि तिमीले त्यो खानु नै पर्ने हुन्छ। तिमी कसरी नखाइ बस्न सक्छौ?” के त्यस्तो बुझाइ भएका मानिसहरू छैनन् र? (छन्।) कतिपय मानिस कुनै निश्चित कुरा खान सक्दैनन् तर पनि देहविरुद्ध विद्रोह गर्नका लागि, असुविधा सहँदै त्यो खान अड्डी कस्छन्। म भन्छु, “तँलाई खान मन छैन भने, नखा। खाइनस् भनेर कसैले पनि तँलाई निन्दा गर्नेछैन।” तिनीहरू भन्छन्, “हुँदैन, मैले खानुपर्छ!” त्यस्तो अवस्थामा, तिनीहरू असहजता भोग्न लायक हुन्छन्। तिनीहरू आफैले यो कुरा निम्त्याएका हुन्छन्। तिनीहरूले नै आफ्ना लागि प्रावधानहरू बनाउँछन्, त्यसकारण तिनलाई तिनीहरूले नै पालन गर्नुपर्छ। त्यसोभए के त्यो कुरा नखानु गलत हुन्छ? (हुँदैन।) हुँदैन। निश्चित स्वास्थ्य समस्या भएका अरू मानिसलाई कतिपय खानाको एलर्जी हुन्छ। तिनीहरू ती कुराहरूबाट जोगिनुपर्छ र तिनीहरूले ती खानु हुँदैन। कतिपयलाई खुर्सानीको एलर्जी हुन्छ, त्यसकारण तिनीहरूले ती खान हुँदैन, तैपनि तिनीहरू खान जिद्दी गर्छन्। तिनीहरू त्यो नै देहविरुद्ध विद्रोह गर्नु हो भन्ने विश्वास गर्दै ती खाइरहन्छन्। के त्यो विकृत बुझाइ होइन र? हो त। यदि तिनीहरूले कुनै कुरा खानु हुँदैन भने, ती कुरा खानु हुँदैन। तिनीहरूले आफ्नो शरीरविरुद्ध केका लागि लडाइँ गरिरहेका हुन्छन्? के त्यो तिनीहरू लापरवाही हुनु होइन र? (हो।) त्यो प्रावधान पालना गर्नु पर्दैन, न त त्यसरी आफ्नो देहविरुद्ध विद्रोह नै गर्नु पर्छ। हरेकको आफ्नै शारीरिक अवस्था हुन्छ: कतिको पेट खराब हुन्छ; कतिको मुटु कमजोर हुन्छ; कतिको आँखा कमजोर हुन्छ; कतिलाई धेरै पसिना आउँछ; कतिलाई कहिल्यै पसिना आउँदैन। हरेक व्यक्तिको अवस्था फरक हुन्छ; तैँले आफ्नै अवस्थाअनुसार समायोजन गर्नुपर्छ। यी अवस्थाहरूलाई एउटै वाक्यले स्पष्ट पार्छ: जीवनमा अलिक आम सुझबुझ सिक्ने गर। यहाँ “आम सुझबुझ” को अर्थ के हो? यसको अर्थ तैँले के खाँदा आफ्ना लागि हानिकारक हुन्छ र के खाँदा फाइदाजनक हुन्छ भनेर जान्नुपर्छ भन्ने हो। यदि कुनै चिजको स्वाद मिठो छैन तर त्यो तेरो स्वास्थ्यका लागि राम्रो हुन्छ भने, तैँले आफ्नो स्वास्थ्यको खातिर त्यो खानैपर्छ; यदि कुनै चिज स्वादिलो छ, तर खाएपछि तँ बिरामी हुन्छस् भने, त्यो चिज नखा। त्यो आम सुझबुझ हो। त्यसबाहेक, मानिसहरूले स्वस्थ रहन केही सामान्य सुझबुझका तरिकाहरू पनि थाहा पाउनुपर्छ। वर्षको चारवटै याममा समय, जलवायु, र ऋतुले नै तेरो खानपानलाई निर्धारित गर्नुपर्छ—यो एउटा मुख्य सिद्धान्त हो। आफ्नो शरीरसँग लडाइँ नगर्—यो सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने विचार र बुझाइ हो। कतिपय मानिसमा पेटसम्बन्धी रोग हुन्छ र उत्तेजक खानेकुरा खाँदा तिनीहरूलाई पखाला लाग्छ। त्यसकारण, त्यस्ता कुरा नखाओ। तैपनि कतिपयले “मलाई डर लाग्दैन। परमेश्वरले मलाई सुरक्षा गरिरहनुभएको छ” भन्छन्, अनि फलस्वरूप खाना खाएपछि तिनीहरू पखालाले ग्रस्त हुन्छन्। तिनीहरू त परमेश्वरले नै तिनीहरूलाई परीक्षामा पारिरहनुभएको र शोधन गरिरहनुभएको छ भनेरसमेत भन्छन्। के तिनीहरू हास्यास्पद मानिस होइनन् र? यदि तिनीहरू हास्यास्पद होइनन् भने, परिणामहरूबारे ध्यान नदिई खाने भयानक घिचुवा हुन्। त्यस्ता मानिसहरूमा धेरै समस्या हुन्छन्। तिनीहरू आफ्नो भोक नियन्त्रण गर्न सक्दैनन्, बरु यसो भन्छन्, “मलाई डर लाग्दैन। परमेश्वरले मलाई सुरक्षा गरिरहनुभएको छ!” समस्याबारे तिनीहरूको बुझाइ कस्तो छ? यो विकृत छ; तिनीहरू सत्यता बुझ्दैनन्, तैपनि यसलाई अन्धाधुन्ध लागु गर्ने प्रयास गर्छन्। तिनीहरूलाई पेट पोल्ने समस्या छ, र पनि तिनीहरू जे पायो त्यही खान्छन्, अनि परिणामस्वरूप तिनीहरूलाई पखाला लाग्दा, तिनीहरू यो त परमेश्वरले परीक्षा लिइरहनुभएको र शोधन गरिरहनुभएको हो भनेर भन्छन्—के त्यो प्रावधानहरूलाई अन्धाधुन्ध लागु गर्नु होइन र? त्यस्तो बेतुका व्यक्तिले यस्तो बकवास कुरा गर्नु भनेको—के त्यो परमेश्वरविरुद्धको निन्दा होइन र? के पवित्र आत्माले त्यस्तो बेतुका व्यक्तिमा काम गर्नुहुन्छ? (गर्नुहुन्न।) यदि तैँले सत्यता बुझेको छैनस् भने, कामकुरामा प्रावधानहरू अन्धाधुन्ध रूपमा लागु गर्नु हुँदैन। के परमेश्वर कुनै पनि व्यक्तिलाई अन्धाधुन्ध परीक्षा लिनुहुन्छ? निश्चय नै लिनुहुन्न। तँ त त्यसका लागि योग्यसमेत हुँदैनस्; तेरो कद त्यहाँ पुगेको हुँदैन—त्यसकारण, परमेश्वर तेरो परीक्षा लिनुहुन्न। कस्ता-कस्ता खानेकुरा खाँदा बिरामी भइन्छ भन्ने थाहा नभएको व्यक्ति कमजोर बौद्धिकता भएको मूर्ख व्यक्ति हो। के चेतना र बौद्धिकतामा कमजोर भएका मानिसहरूले परमेश्वरका अभिप्रायहरू बुझ्न सक्छन्? के तिनीहरू सत्यता बुझ्न सक्छन्? (सक्दैनन्।) त्यसोभए के परमेश्वर त्यस्तो व्यक्तिको परीक्षा लिनुहुन्छ? अहँ, लिनुहुन्न। समझको कमी हुनु र बकवास कुरा गर्नु भनेको यही हो। परमेश्वरले मानिसहरूलाई जाँच्नुका सिद्धान्तहरू छन्; ती सत्यतालाई प्रेम गर्ने र पछ्याउने मानिसहरूप्रति, परमेश्वरले प्रयोग गर्ने र उहाँको गवाही दिन सक्ने मानिसहरूप्रति लक्षित हुन्छन्। उहाँ उहाँलाई पछ्याउन र गवाही दिन सक्ने साँचो विश्वास भएका मानिसहरूको परीक्षा लिनुहुन्छ। सहजता र आनन्द मात्रै खोज्ने र सत्यता पटक्कै नपछ्याउने, र निश्चय नै कुराहरूबारे विकृत बुझाइ भएको कुनै पनि व्यक्तिमा पवित्र आत्माको काम हुँदैन। त्यसोभए, के परमेश्वर तिनीहरूलाई परीक्षामा पार्नुहुन्छ? यो पूर्णतया असम्भव कुरा हो।
कतिपय मानिससँग चिनियाँ जडिबुटी औषधीहरू वा स्वास्थ्य खाद्य पदार्थहरूमा पहुँच हुन्छ, र तिनीहरू अनावश्यक रूपमा ती सेवन गर्छन्। कतिपय महिला प्रायजसो छालाको रक्षा गर्ने, त्यसलाई गोरो र कसिलो बनाउने कुराहरू अनुहारमा दल्छन्। तिनीहरू हरेक दिन दुई घण्टा मेकअप लगाउँछन् र त्यसलाई तीन घण्टा लगाएर हटाउँछन्, र अन्तिममा चिन्नै नसकिने गरी आफ्नो छाला बिगार्छन्। तिनीहरू यसोसमेत भन्छन्, “बढ्दो उमेरसँगै सुन्दरता हराउँदै जाने प्राकृतिक नियमलाई कसैले पनि जित्न सक्दैन—मेरो यो बूढो हुँदै गएको छालालाई नै हेर न!” तथ्य के हो भने तिनीहरूले आफ्नो अनुहारमा जथाभाबी चिजहरू नदलेका भए, तिनीहरू यति वृद्ध देखिनेथिएनन्—ती उत्पादनहरू घसेकाले नै तिनीहरू वृद्ध देखिएका हुन्। तिमीहरू त्यसलाई कसरी अर्थ्याउँछौ? (तिनीहरू आफैले यो कुरा निम्त्याएका हुन्।) तिनीहरूले पाउनुपर्ने त्यही हो। सामान्य मानवतामा जिउनका लागि केही सामान्य ज्ञान हुन्छ, र व्यक्तिले यसलाई बोध गर्नुपर्छ, जस्तै आफ्नो स्वास्थ्यको रक्षा गर्ने र रोगहरूबाट बच्नेबारे सामान्य ज्ञान: उदाहरणका लागि, खुट्टाहरू चिसिए भने ढाड दुख्ने समस्या हुन सक्छ, वा प्रारम्भिक रूपमा देखा पर्ने दूरदृष्टिको समस्यालाई कसरी समाधान गर्नुपर्छ, वा लामो समयसम्म कम्प्युटरअगाडि बस्दा त्यसले ल्याउने हानिहरू केके हुन्। आफ्नो स्वास्थ्यको यस्तो सामान्य हेरचाहबारे व्यक्तिले थोरै भए पनि बुझ्नुपर्छ। कतिपयले यसो भन्न सक्छन्, “परमेश्वरमा विश्वास गर्नका लागि, उहाँका वचनहरू मात्रै पढ्नुपर्छ। स्वास्थ्यको सामान्य हेरचाहसम्बन्धी यी सब कुरा सिकेर के फाइदा हुन्छ? मानिसको आयु परमेश्वरले निर्धारित गर्नुहुन्छ; स्वास्थ्यको हेरचाहबारे जति नै धेरै ज्ञान भए पनि कुनै फाइदा हुँदैन। जब तिम्रो मर्ने समय आउँछ, तब कसैले पनि तिमीलाई बचाउन सक्दैन।” झट्ट हेर्दा यो सही देखिन्छ, तर वास्तवमा यो अलिक हास्यास्पद छ। यो त आत्मिक बुझाइ नभएको व्यक्तिले भन्ने कुरा हो। तिनीहरूले थोत्रा शब्द र धर्मसिद्धान्तहरू भट्याउन सिक्छन् र तिनीहरू आत्मिक देखिन्छन्, तर वास्तवमा, तिनीहरूसँग कुनै शुद्ध बुझाइ बिलकुलै हुँदैन। तिनीहरू आफूलाई कुराहरू आइपर्दा कुनै सत्यताको अभ्यास नगरी सके जति राम्रो बोल्दै अन्धाधुन्ध प्रावधानहरू लागु गर्ने प्रयास गर्छन्। उदाहरणका लागि, कतिपय मानिसले तिनीहरूलाई मकैको जाउलो पौष्टिक हुन्छ, र स्वास्थ्यका लागि राम्रो हुन्छ भनेर भन्न सक्छन्। त्यो कुरा तिनीहरू बुझ्दैनन्। तैपनि कसैले सुँगुरको भुटेको मासु स्वस्थकर हुन्छ भनेर भनेको सुनेपछि, तिनीहरू अर्कोपटक देख्नासाथ पेटभरि खान्छन्, र चपाउँदै गर्दा पनि यसो भन्छन्, “म के गर्नु त? मैले यो खानुपर्छ; यो मेरो स्वास्थ्यका लागि हो!” के त्यसो भन्नु छली कुरा होइन र? (हो।) यो छल हो। सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने कुराहरू आफूसँग हुनु, मानिसहरूले जान्नुपर्ने कुरा जान्नु, तेरो उमेरअनुरूपको जीवनको चरणमा तैँले जान्नुपर्ने कुरा जान्नु—सामान्य मानवता हुनु भनेको त्यही नै हो। बिसको दशकमा पुगेका कतिपय मानिस जे पायो त्यही खान्छन्। तिनीहरू कठ्याङ्ग्रिने दिनमा आइस क्युब खान्छन्। त्यो देख्दा ठूलाहरू डराउँछन्, र तिनीहरूलाई पेट दुख्छ, नखाओ भनेर भन्छन्। “पेट दुख्छ? केही हुँदैन,” तिनीहरू भन्छन्, “हेर्नुहोस् त: म हट्टाकट्टा छु!” तिनीहरूलाई त्यस उमेरमा त्यस्ता कुराहरूबारे थाहा हुँदैन। तिनीहरू चालीस वर्ष पुगेपछि हेर्; त्यसपछि तिनीहरूलाई आइस क्युब खान दे। के तिनीहरूले खान्छन्? (खाँदैनन्।) अनि जब तिनीहरू साठी वर्षका हुन्छन्, तब तिनीहरूले बरफ खाने कुरा त बिर्सिदे—तिनीहरूलाई यसको नजिक जान पनि डर लाग्छ। यसको चिसो तिनीहरूको शरीरले सहनै सक्दैन। त्यसलाई अनुभव—अर्थात् जीवनका पाठहरू सिकेको भनिन्छ। यदि साठी वर्ष पुगेको व्यक्तिलाई अझै पनि उसको पेटले धेरै आइस क्यूब सहन सक्दैन, उसको शरीरले त्यो लिन सक्दैन, त्यसले उसलाई बिरामी पार्छ भन्ने थाहा छैन भने, त्यसलाई के भनिन्छ? के उसमा सामान्य मानवताको कमी हुन्छ? उसमा जियाइ अनुभवको कमी हुन्छ। यदि साठी वर्षको हाराहारीमा रहेको कुनै व्यक्तिलाई अझै पनि ढाडका लागि चिसो राम्रो होइन, र खुट्टा चिसो हुँदा ढाड दुख्ने समस्या हुन्छ भन्ने थाहा छैन भने, उसले ती साठी वर्षको अवधि कसरी जिएको होला? उसले पक्कै पनि अल्याङटल्याङ गरेर जिएको हुनुपर्छ। कतिपय मानिसले चालिसको दशकमा पुग्दासम्म जीवन बारे धेरै सामान्य ज्ञानका कुराहरू बुझेका हुन्छन्: उदाहरणका लागि स्वास्थ्यसम्बन्धी सामान्य ज्ञान; अनि भौतिक वस्तुहरू, पैसा, काम, आफन्तहरू, संसारका मामलाहरू, र जीवन इत्यादि कुराहरूका सम्बन्धमा तिनीहरूमा केही सही दृष्टिकोण हुन्छन्। तिनीहरूसँग यी कुराबारे शुद्ध बुझाइ हुन्छ, र तिनीहरूले परमेश्वरमा विश्वास नगरे पनि, यी कुराहरूलाई आफूभन्दा साना उमेरका मानिसहरूले भन्दा अलिक राम्ररी बुझेका हुन्छन्। यिनीहरू सही र गलतबारे बोध भएका, र सामान्य सोचाइ भएका मानिस हुन्। बिसको दशकपछि बाँचेका दुई दशकको अवधिमा, तिनीहरूले धेरै कुरा बुझेका हुन्छन्, जसमध्ये केही त सत्यताको नजिक पुग्छन्। यसले तिनीहरू बुझाइ क्षमता र राम्रो क्षमता भएका मानिस हुन् भन्ने देखाउँछ। अनि यदि तिनीहरू सत्यता पछ्याउने व्यक्ति हुन् भने, सत्यता वास्तविकतामा तिनीहरूको प्रवेश निकै छिटो हुनेछ, किनभने तिनीहरूले ती बिस वर्षमा धेरै कुरा अनुभव गरेका हुनेछन्, र केही सकारात्मक कुरा प्राप्त गरेका हुनेछन्। तिनीहरूका अनुभवहरू परमेश्वरले चर्चा गरेको सत्यता वास्तविकतासँग मिल्नेछन्। तर, यदि त्यस व्यक्तिको मानवतामा धेरै कुराको कमी छ, र ऊसँग सही दृष्टिकोणहरू, वा सामान्य मानवताको सोचाइ छैन, जीवनका सम्बन्धमा, र ती बिस वर्षमा मानिस, घटना, र कामकुराका सम्बन्धमा आउने सामान्य मानवताको बौद्धिकता त झनै छैन भने, तिनीहरूले ती वर्ष व्यर्थमा जिएका हुनेछन्। म पुगेका धेरै ठाउँमा, मैले कतिपय वृद्धा दिदीबहिनीहरूलाई खानेकुरा पकाउन आउँदैन रहेछ भनेर पत्ता लगाएको छु। तिनीहरूले सन्तुलित भोजन मिलाउनसमेत सक्दैनन्। तिनीहरू भुट्नुपर्ने चिजलाई सुप बनाउँछन्, र सुप बनाउनुपर्ने चिजलाई भुट्छन्। मौसमअनुसार खाद्यवस्तु परिवर्तन हुन्छ, तैपनि तिनीहरूको टेबलमा सधैँ एउटै किसिमका खानेकुरा हुन्छन्। त्यो के भएको हो? त्यो त साँच्चिकै बुद्धिको कमी हो, होइन र? तिनीहरूमा सामान्य मानवताको क्षमता हुँदैन। तिनीहरू दैनिक जीवनमा भेटिने विभिन्न खाद्यपदार्थ जस्तै बन्दागोभी र आलुसमेत पकाउन सक्दैनन्। तिनीहरू सबैभन्दा सरल कामहरूसमेत पूरा गर्न र सम्पन्न गर्न सक्दैनन्। तिनीहरूले पछिल्ला पचास-साठी वर्ष कसरी टारे होलान्? के साँच्चै तिनीहरूको हृदयले जीवनसँग कुनै मागहरू नगरेको हुन सक्छ? यदि कसैले आफूले गर्ने कुनै पनि कुराबाट अनुभव लिन सक्दैन भने, त्यस्तो व्यक्तिले कस्तो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छ? तथ्य कुरा के हो भने मानिसहरूले आफूलाई समर्पित गरेर केही समय तालिम मात्र लिए भने पनि कामकुरा गर्न सिक्न सक्छन्। यदि कसैले केही वर्षको अध्ययनपछि पनि कुनै काम गर्न सक्दैन भने, उसको बुद्धि र क्षमता निकै कमजोर हुनुपर्छ!
अब हामी स्वच्छता व्यवस्थापनबारे थोरै कुरा गरौँ। म भर्खरै दुई ठाउँमा गएको थिएँ जहाँ घर वरिपरि पूरै लथालिङ्ग थियो। सुरुमा त्यहाँ सबै कुरा निकै व्यवस्थित थिए, त्यसोभए ती ठाउँहरू कसरी यस्तो “सुँगुरको खोर” जस्तो बन्न पुगे? यसको कारण के हो भने त्यहाँका मानिसहरू व्यवस्थापन गर्न जान्दैनन्। तिनीहरूसँग सरसफाइसम्बन्धी सामान्य मानवताका चेतना र मागहरू छैनन्। तिनीहरू अल्छी भएको मात्र होइन; त्यसबाहेक, तिनीहरूलाई त्यस्ता अवस्थाहरूमा बस्ने बानी परेको हुन्छ। तिनीहरू कुनै नियम वा बन्देजविना भुइँमा फोहोर छर्छन् र सामानहरू जतासुकै राख्छन्। तिनीहरूले ठाउँ सफा गरेपछि त्यसलाई एकदुई दिन मात्र सफा राख्न सक्छन्; केही दिनपछि, त्यो यति अस्तव्यस्त र फोहोर हुन्छ कि त्यसलाई हेर्न पनि गाह्रो हुन्छ। ल भन्, त्यस्तो परिवेशलाई के भनिन्छ? अनि त्यहाँका मानिसहरू त्यस्तो अवस्थामा आनन्दले खान र सुत्न सक्छन्—तिनीहरू कस्ता मानिस हुन्? तिनीहरू सुँगुरजस्तै छन्, छैनन् र? सरसफाइ, आफ्नो परिवेश, संरचना र व्यवस्थापनबारे तिनीहरूमा कुनै चेतना हुँदैन र तिनीहरू केही बुझ्दैनन्। ठाउँ जति नै फोहोर वा अस्तव्यस्त भए पनि तिनीहरूलाई त्यो कुरा अत्तोपत्तो हुँदैन। त्यसले तिनीहरूलाई असर गर्दैन; तिनीहरू त्यसबारे चिन्तित र विचलित हुँदैनन्। तिनीहरू यो-त्यो नभनी र कुनै मागहरूविना पहिले जसरी नै जिइरहन्छन्। कतिपय ठाउँमा स्वच्छता र परिवेशको राम्रो हेरचाह गरिएको हुन्छ, र तँलाई त्यहाँका मानिसहरूले सफाइलाई ध्यान दिन्छन्, आफ्नो परिवेशलाई व्यवस्थापन गर्न जानेका छन् भन्ने लाग्छ—तर जाँच हुनुभन्दा पहिले तिनीहरूले ठाउँ सफा गर्न मानिसहरू पठाएका हुन्छन् भन्ने कुरा छड्के जाँच नगरेसम्म कसैलाई थाहा हुँदैन। यदि तैँले तिनीहरूलाई पहिले नै आउँदै छु भनेर भनिस् भने, त्यो ठाउँ अवश्यै सफा हुनेछ; यदि तँ तिनीहरूलाई पूर्वसूचना नदिई गइस् भने, तैँले फरक परिवेश भेट्टाउनेछस्, जुन पक्कै पनि फोहोर र अस्तव्यस्त हुनेछ। कतिपय केटीहरूको कोठामा लुगा र जुत्ताहरू छरिएका हुन्छन्, र बाहिर, कोदालो र गैँतीजस्ता औजारहरू लुगासँगै थुप्रिएका हुन्छन्। त्यहाँका कतिपयले आफू अत्यन्तै व्यस्त भएको कारण सफा गर्ने फुर्सद नमिलेको भन्न सक्छन्। के तिनीहरू त्यति व्यस्त थिए? के तिनीहरूले सास फेर्ने फुर्सदसमेत पाएका छैनन् र? यदि पाएका छैनन् भने, त्यो व्यस्तता हो, ठिक छ—तर तिनीहरू पक्कै पनि त्यति धेरै व्यस्त त नहुनु पर्ने हो? आफू बसेको ठाउँ व्यवस्थापन गर्नमा त्यति गाह्रो के छ? सफा र सुव्यवस्थित परिवेश कायम राख्नुमा यति थकाइलाग्दो के छ? के मानवतासँग यसको कुनै सम्बन्ध छ? मानिसहरूलाई किन “सुँगुरको खोर” मा बस्न यति धेरै मन पर्छ? तिनीहरू यस्तो परिवेशमा किन यति सहज मान्छन्? तिनीहरू कसरी यस्तो परिवेशप्रति पूर्ण रूपमा उदासीन हुन सक्छन्? त्यो के भएको हो? परिवेशको राम्रोसँग व्यवस्थापन नहुनुको कारण के हो? यदि म कहिलेकाहीँ कुनै ठाउँमा गएँ र तिनीहरूलाई अग्रिम रूपमा जानकारी गराएँ भने, तिनीहरू त्यस ठाउँलाई सफा र चिटिक्क बनाउँछन्, तर यदि म त्यहाँ बारम्बार गएँ भने तिनीहरूले सफा गर्न छोड्छन्। तिनीहरू भन्छन्, “तपाईं यहाँ प्रायः आइरहनुहुन्छ, त्यसकारण हामी औपचारिकताहरूलाई त्याग्नेछौँ। हामी यस्तै छौँ। सधैँ सफा गरिरहनु थकाइलाग्दो कुरा हो! कोसँग ऊर्जा हुन्छ र? हामी दिनभरि काममा यति व्यस्त हुन्छौँ कि हामीसँग कपाल कोर्ने फुर्सदसमेत हुँदैन!” तिनीहरू यस्ता स्पष्टीकरणहरू दिन्छन्। अनि तिनीहरू अरू कस्ता स्पष्टीकरण दिन्छन्? “यो सब अस्थायी कुरा हो। हामीले यसलाई सिद्ध रूपमा मिलाउनु पर्दैन। जस्तो छ त्यसैले काम चल्छ।” वास्तवमा, सबै कुरा अस्थायी नै हुन्—तर तँ पालमा नै बसे पनि, तैँले यसको हेरचाह गर्नु नै पर्ने हुन्छ, होइन र? त्यो सामान्य मानवता हो। यदि तँमा त्यति पनि सामान्य मानवता छैन भने, तँ पशुहरूभन्दा कति नै फरक हुन्छस् र?
परमेश्वरको घरको एउटा मण्डली छ, जुन पहाड र पानीको नजिक निकै राम्रो स्थानमा अवस्थित छ। त्यहाँ सडक निर्माण गरिएको छ, र नजिकै नदी किनारमा रूखहरू लहरै छन्। यहाँ एउटा सानो पौवा पनि छ, जसको छेउमा सजावटी ढुङ्गाहरू छन्। साँच्चै, यो निकै सुन्दर छ। एक दिन, मैले निकै टाढाबाट त्यो सफा सडकमा एउटा सानो, पहेँलो चिज देखेँ। नजिक आएपछि, मैले त्यो सुन्तलाको बोक्रा रहेछ भन्ने देखेँ। कसले त्यहाँ सजिलै फोहोर फालिदिन्छ, कसलाई थाहा। अनि त्यो सफा पौवामा, कसैले सूर्यमुखीको बियाँ खाएर सबै खोस्टा भुइँभरि फालेको रहेछ। ल भन्, के त्यो व्यक्ति नियमहरू जानेको व्यक्ति थियो? सामान्य मानवतामा, व्यक्तिको स्वच्छता र परिवेशसम्बन्धी माग गरिएका मानकहरू हुन्छन् कि हुँदैनन्? कतिपयले यसो भन्न सक्छन्, “मैले कसरी मापदण्डहरू पूरा गरिनँ र? म हरेक साँझ खुट्टा धुन्छु। कतिपय मानिसले त धुँदैनन्। कतिपय मानिसले त बिहान उठेपछि मुखसमेत धुँदैनन्।” तेरो खुट्टा सफा होला, ठिक छ, तर तेरो काम गर्ने परिवेश चाहिँ किन सुँगुरको खोरजस्तो भएको? तेरो त्यो सफाइले के अर्थ दिन्छ? बढीमा, यसले तँ अत्यन्तै स्वार्थी छस् भन्ने देखाउँछ। तँ सबै कुरालाई व्यवस्थापन गर्न चाहन्छस्—यदि तँ आफ्नो घर-आँगनसमेत व्यवस्थापन गर्न सक्दैनस् भने, तँ कसरी सबै थोकका मालिक बन्न सक्छस्? त्यो साँच्चै लाजमर्दो कुरा हो! यी मानिसहरूले व्यवस्थापन गर्न नसक्ने आफ्नो परिवेश मात्र होइन—तिनीहरू आफ्नो स्वच्छतासमेत व्यवस्थापन गर्न सक्दैनन्, र भुइँमा फोहोर फ्याँक्छन्। तिनीहरूले कसरी यस्तो बानी विकास गरे? तिनीहरूले फलफूलको बोक्रा भुइँमा फ्याँकेर त्यो मल बन्छ भनेर आफूलाई सही साबित गर्न सक्छन्। त्यसोभए त्यसलाई किन मलको थुप्रो वा फोहोर हाल्ने टोकरीमा नराख्ने त? त्यसलाई किन सडकमा वा पौवामा फाल्नु? के पौवा कुहिने फोहोर राख्ने ठाउँ हो? के त्यो नियमहरू बेवास्ता गर्नु होइन र? (हो।) यो त मानवता, समझ, र नैतिकताको अत्यन्तै कमी हुनु हो—तिनीहरू नीच मानिस हुन्! ल भन्, के यस समस्यालाई समाधान गर्ने कुनै उपाय छ? यसलाई कसरी रोक्न सकिन्छ? के रेखदेखले काम गर्नेछ? यस्ता कुराहरूलाई कसले हेरिरहन सक्छ? के गर्नुपर्छ? (तिनीहरूलाई जरिबाना तिराउनुपर्छ।) हो, अन्तिम उपाय त्यही हो। एउटा उचित प्रणाली लागु गर्नैपर्छ। दण्डहीनताको अन्त्य हुनुपर्छ। यी मानिसहरू अत्यन्तै बदमाश छन्—तिनीहरूलाई सच्याउनै सकिँदैन! कतिपय ठाउँमा, कुहिएका काटुन, कुहिएका बोर्ड, र कागजका टुक्राहरू सबैतिर छरिएका हुन्छन्, र त्यहाँका मानिसहरू पछि प्रयोग गर्नका लागि राखेका हौँ भनेर भन्छन्। ती उपयोगी चिजहरू हुन् भने, तिनलाई किन प्रकारअनुसार सफा गरी थुपारेर नराख्ने? त्यसो गर्दा राम्रो देखिने र थोरै ठाउँ ओगट्ने हुँदैन र? धेरैजसो मानिसलाई व्यवस्थापनबारे थाहा हुँदैन। सामानहरू उनीहरूको ठाउँमा यसरी जथाभाबी रूपमा थुप्रिएका र छरपष्ट भएका हुन्छन् कि कुनै खाली ठाउँ नै हुँदैन। त्यो थुप्रो बढ्दै जाँदा झन्-झन् अस्तव्यस्त बन्छ, र अस्तव्यस्त हुँदै गएपछि धुलो आउँछ, र त्यो ठाउँ फोहोर फ्याँक्ने ठाउँ बन्छ, र हेर्दा सबैलाई घिन लाग्छ। के त्यस्ता परिवेशमा जिउने मानिसहरूमा सामान्य मानवता हुन्छ? यदि तिनीहरू आफू बस्ने परिवेशको व्यवस्थापन गर्न सक्दैनन् भने के तिनीहरू क्षमता भएका मानिस हुन्? त्यस्ता मानिसहरू र पशुहरूबीच के भिन्नता हुन्छ? धेरैजसो मानिसले आफू बस्ने ठाउँलाई व्यवस्थापन गर्न नजान्नुको एउटा कारण के हो भने कसैमा पनि स्वच्छताबारे चेतना हुँदैन, न त कसैले आफ्नो परिवेशलाई व्यवस्थापन गर्न नै जान्दछ। तिनीहरूको मनमा यी कुराहरू उठ्दैनन्, र तिनीहरूलाई मानिसहरूको जिउने परिवेश कस्तो हुनुपर्छ भनेर थाहा हुँदैन। तिनीहरू आफू कस्तो परिवेशमा जिउनुपर्छ भन्नेबारे सचेत नभएका पशुजस्तै हुन्। अर्को पक्ष व्यवस्थापकहरूले यी कुराहरूलाई व्यवस्थापन गर्न नजान्नुसँग सम्बन्धित छ। व्यवस्थापकहरू यी कुराको व्यवस्थापन गर्न जान्दैनन्, र व्यवस्थापन गरिएका मानिसहरू यी कुराबारे सक्रिय वा सचेत हुँदैनन्। अन्तमा, सबैको “सहकार्यमा,” त्यो ठाउँ “सुँगुरको खोर” बन्छ। जब यी मानिसहरू कुनै स्थानमा केही समयदेखि बसेका हुन्छन्, तब म एउटा निश्चित अनुभूति लिएर त्यस ठाउँबाट बाहिर निस्किन्छु: “यो ठाउँ किन कहिल्यै सफा हुँदैन? यो किन कहिल्यै पनि घरजस्तो देखिँदैन?” ल भन्, के त्यस्तो ठाउँ देख्दा व्यक्तिको मुड राम्रो हुन सक्छ? (सक्दैन।) के त्यहाँ जाँदा त्यसले तिमीहरूको मुड राम्रो बनाउँछ? (हामीलाई त्यसबारे त्यति धेरै अनुभूति हुँदैन।) तिमीहरूको साँचो प्रतिक्रिया त्यही नै हुनेछ—त्यति धेरै अनुभूति नहुनु। मैले तीमध्ये केही ठाउँका लागि योजनाहरू बनाएको थिएँ, अनि जब काम सकियो र कामकुरालाई नयाँ तरिकाले मिलाइयो, तब सबैले त्यहाँको दृश्यको आनन्द लिए। तर केही दिनपछि, परिस्थितिहरू फेरि पनि अस्तव्यस्त बने। यदि स्वच्छता कायम राख्ने हो भने, मैले कामको व्यवस्थापन गर्नका लागि उपयुक्त व्यक्ति खोज्नुपर्थ्यो। किनभने धेरैजसो मानिस अत्यन्तै फोहोरी हुन्छन्, तिनीहरूले जे काम गरिरहेका छन् त्यसलाई अस्तव्यस्त पार्छन्। कतिपय मानिसले तरकारी टिप्छन् तर तिनीहरूलाई धुने सही ठाउँ थाहा हुँदैन। तिनीहरू यसलाई धुनका लागि सफा ठाउँ खोज्न अड्डी कस्छन्, जसले गर्दा त्यो ठाउँ फोहोर बन्छ। त्यो देख्दा तँलाई कस्तो लाग्नेथियो? के यी मानिसहरू पशुहरूको बगाल होइनन् र? तिनीहरूमा कुनै मानवता हुँदैन! स्वच्छताप्रति कुनै वास्ता नगर्ने र आफ्नो परिवेश व्यवस्थापन कसरी गर्ने भनेर थाहा नभएका यी मानिसहरूलाई हेर्दा, तँ रिसले चूर हुनेथिइस्! यी मानिसहरूलाई बस्नका लागि राम्रो परिवेश दिइएको छ, जहाँ सबथोक राम्ररी मिलेको छ। वसन्तमा यावत् किसिमका फूल र घाँसहरू देखा पर्छन्; त्यहाँ पहाड, पानी र पौवा छ; तिनीहरूले काम गर्ने ठाउँ, बस्ने ठाउँ, र सबै किसिमका सुविधा पाएका छन्। कति राम्रो! तर अन्त्यमा यो कस्तो बन्न पुग्यो? तिनीहरूले यसलाई सामान्य रूपमा लिए; तिनीहरूले दयाको कदर गरेनन्। तिनीहरूले सोचे, “बस्नका लागि यो ठाउँ धेरैजसो ठाउँभन्दा राम्रो छ, तर यो अलि गाउँजस्तै छ। भुइँमा घाँस र हिलोबाहेक केही पनि छैन।” त्यो मानसिकता लिएर, तिनीहरूले त्यस ठाउँलाई बर्बाद पारे। तिनीहरूले आफ्नो परिवेश व्यवस्थापन गर्नेबारे सोचेनन्। त्यस्तो मानवतामा कति धेरै कुराको कमी हुन्छ! त्यसमा मानवतामा हुनुपर्ने कुराहरू हुँदैनन्; ती मानिसहरू आफ्नो जिउने परिवेशका विभिन्न पक्षको सबैभन्दा आधारभूत तरिकाले व्यवस्थापन गर्न पनि सक्दैनन्। ल भन्, मानिसहरूले कसरी आफू बस्ने यस्तो सुन्दर परिवेशलाई बहुमूल्य नठान्न सक्छन्? तिनीहरू कसरी यसको हेरचाह गर्नेबारे नसोची बस्न सक्छन्? किन? के तिनीहरू आफ्नो कर्तव्यमा अत्यन्तै व्यस्त भएको कारण तिनीहरूसँग समयको कमी भएकाले हो? कि तिनीहरूलाई अरू के भइरहेको हुन्छ? के कुनै व्यक्ति आफ्नो कर्तव्यमा व्यस्त हुँदैन र? तिमीहरूभन्दा खराब परिवेशमा बस्ने मानिसहरू पनि छन्, तैपनि तिनीहरू आफ्नो ठाउँको निकै राम्रो हेरचाह गर्छन्। मानिसहरूले यो देखेपछि आदर र सम्मानका साथ तिनीहरूलाई स्याबासी दिन्छन्। अनि त्यसपछि, तिमीहरूको जिउने परिवेशको कुरा आउँछ—अरू भित्रसमेत जानु पर्दैन; बाहिरी भाग हेरेरै तिनीहरूले तँलाई हेला गर्नेछन्। के यो तैँले नै गर्दा भएको होइन र? तेरा क्रियाकलाप र व्यवहारहरूले तँ बस्ने यो अत्यन्तै जर्जर परिवेश सिर्जना गरेका हुन्। जब मानिसहरूले तेरो जिउने परिवेश देख्छन्, त्यो तिनीहरूले तेरो सारलाई देख्नुजस्तै हो। त्यसोभए, के तिनीहरूले तँलाई हेला गरेकामा तैँले तिनीहरूलाई दोष दिन मिल्छ? कुनै व्यक्ति उच्चस्तरीय छ कि निम्नस्तरीय छ, कुलीन छ कि नीच छ भन्ने कुरा अरूको मूल्याङ्कनले निर्धारित गर्दैन, तर ऊ जिउने कुराले निर्धारित गर्छ। यदि तँमा सामान्य मानवताका कुराहरू छन् भने, तँ साँचो मानव स्वरूपमा जिउन सक्छस्। तैँले आफ्नो कुलीन गुण प्रदर्शन गर्न सक्नेछस्, र अरूले स्वतः तँलाई महत्त्व दिनेछन् र सम्मान गर्नेछन्। यदि तँसँग ती कुरा छैनन्, तँसँग स्वच्छतासम्बन्धी सामान्य ज्ञान छैन, तँलाई आफ्नो परिवेशको हेरचाह कसरी गर्ने भन्ने थाहा छैन, र तँ सबै दिन “सुँगुरको खोर” मा बस्छस् र त्यसमा निकै खुसी हुन्छस् भने, यसले तेरो पाशविक गुण प्रकट गर्छ। यसको अर्थ तँ नीच र निम्नस्तरीय होस्। यस्तो नीच र निम्नस्तरीय मानवता भएको, सामान्य मानवतामा हुनुपर्ने सोचाइ, दृष्टिकोण, माग र पछ्याइ पटक्कै नभएको नीच र निम्नस्तरीय व्यक्ति—तीमध्ये कुनै पनि कुरा छैन भने, के त्यस्तो व्यक्तिले सत्यता बुझ्न सक्छ? के ऊ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छ? (सक्दैन।) के तिमीहरूलाई पनि उसले सक्दैन भन्ने लाग्छ? किन सक्दैन? कतिपयले भन्नेछन्, “हामीले परमेश्वरमा विश्वास गरेका वर्षहरूमा ती सबै सांसारिक कुराबाट आफूलाई मुक्त गरेको धेरै भएको छ। हामीलाई त्यस्ता कुराहरूको वास्ता हुँदैन! ‘गुणस्तरीय जीवन जिउनु’—त्यो एउटा सांसारिक कुरा हो!” के यसो भन्नेहरू छैनन् र? त्यसोभए के तैँले सास फेर्ने हावा सांसारिक कुरा हो? तैँले लगाउने लुगा, तैँले प्रयोग गर्ने सबै भौतिक सामान—के ती सांसारिक कुराहरू हुन्? तैँले भेला हुनलाई किन बाहिर कुनै खुला ठाउँ खोज्दैनस्? किन कोठामा भेला हुने? के यसो भन्ने मानिसहरू हास्यास्पद होइनन् र? म तँलाई एउटा तथ्य बताउँछु: यदि त्यस्तो व्यक्ति सत्यता वास्तविकतामा प्रवेश गर्न चाहन्छ भने, त्यो कठिन हुनेछ। यदि कुनै व्यक्तिले सत्यता वास्तविकतामा प्रवेश गर्ने इच्छा गर्छ भने, उसमा पहिले सामान्य मानवता हुनैपर्छ; त्यसबाहेक, उसले जीवनमा गुणस्तर, शिष्टाचार, र नैतिकता भएको शैली र उद्देश्यलाई पछ्याउन आफ्नो जीवनका ती खराब बानीबेहोरालाई त्याग्नुपर्छ। के यसलाई यसरी व्यक्त गर्नु उपयुक्त हो? त्यसोभए, के यी समस्याहरू सच्याउन सजिला छन्? आफ्नो जीवनशैली परिवर्तन गर्न र आफ्नो जीवनको कुनै खराब बानीलाई हटाउन कति समय लाग्छ? यसमा जतिसक्दो चाँडो प्रवेश गर्नका लागि कुन विधि प्रयोग गर्न जरुरी छ? दण्डबाहेक अरू केकस्ता विधिहरू छन्? (आपसी सुपरिवेक्षण।) आपसी सुपरिवेक्षण एउटा विधि हो; यो कुरा मानिसहरूले यसलाई स्वीकार गर्छन् कि गर्दैनन् भन्ने कुरामा निर्भर हुन्छ। मेरो दृष्टिकोणमा, जरिबाना तिराउनु एउटा शक्तिशाली कदम हो, र यो साँच्चै नै प्रभावकारी कदम हो। तैँले नगद जरिबानामा हात हाल्नेबित्तिकै, मानिसहरूका हितमा हात हालिरहेको हुन्छस्। तिनीहरूको हितमा असर पर्न सक्छ भन्ने डरले तिनीहरूसँग त्यो पालना गर्नेबाहेक अरू कुनै विकल्प हुँदैन। जरिबाना तिराएर हासिल हुने कुरा त्यही हो। तर किन ती मानिसहरूसँग सत्यतामा सङ्गति गरेर केही हासिल हुँदैन? किनभने तिनीहरूमा सामान्य मानवता वा सत्यता स्विकार्नका लागि आवश्यक सर्तहरू हुँदैनन्। त्यसकारण तिनीहरूसँग सत्यतामा सङ्गति गर्नु अप्रभावकारी विधि हो। कुनै पनि कार्य परिवेशमा, सुरुमा वस्तुहरूलाई प्रकारअनुसार वर्गीकरण गर्न, दोस्रोमा सुव्यवस्थित अवस्था कायम राख्न, तेस्रोमा स्वच्छता र सरसफाइ राख्न, त्यसपछि, फोहोरलाई बढार्ने बानीलाई संवर्धन गर्न सिक्। सामान्य मानवतामा हुनुपर्ने कुरा त्यही हो।
कतिपय महिला कपाल कोर्छन् र झरेको कपाल नसोहोरी बाहिर जान्छन्। तिनीहरू हरदिन यसै गर्छन्। के त्यस्तो बानी परिवर्तन गर्न सकिन्छ? तैँले आफ्नो कपाल कोरिसकेपछि, तुरुन्तै सफा गरेर चिटिक्क पार्नुपर्छ। अरूलाई सफा गर्न नलगा—आफ्नो परिवेश आफै राम्ररी व्यवस्थापन गर्। यदि तँ आफ्नो परिवेश राम्ररी व्यवस्थापन गर्न चाहन्छस् भने, तैँले आफैबाट सुरु गर्नुपर्छ। पहिले आफ्नो ठाउँ सफा गर्। त्यसबाहेक, व्यक्ति आफू बसोबास गर्ने सार्वजनिक परिवेशप्रति विचारशील र जिम्मेवार हुनुपर्छ। उदाहरणका लागि, मानिसहरू बस्ने र आराम गर्ने ठाउँहरू व्यवस्थापन गर्ने जिम्मेवारी सबैको हुनुपर्छ। यदि तैँले भुइँमा सुन्तलाको एकदुई वटा बोक्रा देखिस् भने, टिपेर फोहोर राख्ने भाँडोमा हाल्। कतिपय कार्यस्थलमा, काम सकिएपछि जताततै काठका टुक्राटाक्री, काठको भुस, फलामका टुक्राहरू, र काँटीहरू छरिएका हुन्छन्। त्यहाँ गएर तँ होसियार भइनस् भने सजिलै तेरो खुट्टामा काँटीले घोच्न सक्छ। त्यो अत्यन्तै असुरक्षित हुन्छ। तिनीहरू आफ्नो काम गरिसकेपछि किन सफा गरेर स्वच्छता कायम राख्दैनन्? त्यो कस्तो घिनलाग्दो बानी हो? यसो गरेर के तिनीहरू आफ्ना बारेमा स्पष्टीकरण दिन सक्छन्? यस्तो लथालिङ्ग र फोहोरी कार्यस्थल देख्दा मानिसहरूले के सोच्लान्? के पशुहरूले आफ्नो काम यसरी नै गर्दैनन् र? मानवता भएका मानिसहरूले काम सकेपछि सबै कुरा राम्रो तरिकाले सफा गर्नुपर्छ, ताकि अरूले झलक्क हेर्दा नै त्यो काम मानिसले गरेको हो भनेर थाहा पाऊन्। पशुहरूले काम गरिसकेपछि सफा गर्दैनन्, मानौँ सफा गर्ने काम तिनीहरूको होइन र यो तिनीहरूसँग सम्बन्धित छैन। त्यो कस्तो तर्क हो? मैले धेरै मानिस देखेको छु जो काम गरेपछि सफा गर्दैनन्। तिनीहरू सबैमा यस्तो खराब बानी हुन्छ। मैले तिनीहरूलाई हरेक दिन, जब तिनीहरूको काम समाप्त हुन्छ, तब तिनीहरूले कसैलाई फोहोर सफा गर्न लगाउनुपर्छ भनेर भनेँ। हरेक दिन सफा गर्। त्यसो गरेमा, ठाउँ सफा हुनेछ। तिनीहरूले त्यस्तो बानी विकास गर्नैपर्छ। जीवनको बानी विकास गर्नका लागि, व्यक्तिले सुरुमा राम्रो परिवेश कायम गरेर बिस्तारै त्यसको अभ्यस्त हुनुपर्छ। त्यसपछि कुनै दिन, जब त्यो परिवेश परिवर्तन हुन्छ, तब कुनै कुरा फोहोर छ भन्ने देख्दा तिनीहरू आफैलाई नरमाइलो लाग्नेछ। यो त चार-पाँच वर्ष विदेशमा बसेका कतिपय मानिसले सबथोक त्यहाँकै राम्रो छ भनेर सोचेजस्तै हो। एक दिन तिनीहरू आफ्नो गाउँघर फर्केर आउँछन्, र तिनीहरूलाई आफू अचानक विशिष्ट बनेको छु भन्ने लाग्छ। तिनीहरू स्वच्छतामा ध्यान नदिने, र घर सफा नराख्ने अरू मानिसहरूलाई हेला गर्छन्। तिनीहरू एकदुई दिन ननुहाइ बस्न पनि सक्दैनन्। के त्यो तिनीहरूको परिवेशले निर्धारण गरेको होइन र? त्यस्तो चाहिँ भएको हो। त्यसकारण, तैँले सुरुमा आफ्नो व्यक्तिगत स्वच्छता र आफ्नो परिवेश व्यवस्थापन गर्नुपर्छ। आफ्नो कर्तव्य निर्वाह गर्दा सहज महसुस गर्ने तरिका त्यही हो; सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने कुरा पनि यही हो। म पुगेका धेरै ठाउँमा, मैले केटीहरूका कोठाहरू पूर्ण रूपमा लथालिङ्ग र अव्यवस्थित देखेको छु। कतिपयले यसो भन्न सक्छन्, “तपाईं हामी सफासुग्घर भएको चाहनुहुन्छ; के यो तालिम शिविरमा जस्तै हुनुपर्छ?” त्यो सबै गर्नु पर्दैन। हरेक दिन आफ्नो ओछ्यान मिला अनि कोठा सफा गर्। सरसफाइ कायम राख्। यसो गर्ने बानी बसाल्। यदि तैँले हरेक दिन यी कामकुरा गरिस्, र ती कुरा एउटा बानी, नियम बने, र खाना खाएजस्तै स्वाभाविक भए भने, तैँले यस्तो दैनिक जीवनको बानी बसालेको हुनेछस्, र आफ्नो वातावरणप्रतिको तेरो मापदण्ड निकै माथि पुगेको हुनेछ। अनि जब ती माथि पुगेका हुन्छन्, तब तेरो समग्र चालढाल, तेरो मानसिक दृष्टिकोण, तेरो स्वाद, तेरो मानवता, र तेरो इज्जत सबै माथि पुग्नेछन्। तर यदि तँ “सुँगुरको खोर” मा, अर्थात् मानव बस्ने ठाउँमा नभई पशुको गुफा जस्तो ठाउँमा बस्छस् भने, तँमा मानव स्वरूप छैन। उदाहरणका लागि, कतिपय मानिस कुनै कोठामा प्रवेश गर्दा, कोठा र यसको भुइँ सफा छ भन्ने देखेपछि, तिनीहरूले बाहिर केहीबेर आफ्नो जुत्ता पुछेर फोहोर निकाल्नेछन्। तिनीहरूलाई अझै पनि मैलो महसुस हुनेछ, त्यसकारण तिनीहरू कोठामा प्रवेश गर्नुअघि आफ्नो जुत्ता खोल्नेछन्। जब कोठाका मालिकले तिनीहरू कति सफा र आदरणीय छन् भन्ने देख्छन्, तब उसले पनि तिनीहरूलाई आदर गर्नेछ। अरू मानिसहरू हिलोसरीका जुत्ता लाएर भित्र पस्छन्, र भुइँमा हिलो लाग्छ भनेर बिलकुलै सोच्दैनन्। तिनीहरू यसप्रति पूर्ण रूपमा असंवेदनशील हुन्छन्। कोठाका मालिकले तिनीहरू नियमलाई ध्यान नदिने स्वभावको देख्छ। उसले तिनीहरूलाई नराम्रो दृष्टिले हेर्छ, हेला गर्छ, र भविष्यमा कोठामा प्रवेश गर्न दिँदैन। उसले तिनीहरूलाई बाहिर पर्खन लगाउनेछ, र त्यसको अर्थ यस्तो हुनेछ: “तिमी भित्र आउनलायक छैनौ—भित्र आयौ भने तिमीले ठाउँ बरबाद गर्नेछौ, अनि मैले यसलाई सफा गर्न कति लामो समय बिताउनुपर्छ!” उसले तिनीहरूलाई आदर गर्नेछैन। जब उसले तिनीहरूसँग मानव स्वरूप छैन भन्ने देख्छ, तब उसले तिनीहरूलाई आदरसमेत गर्दैन। यदि कुनै व्यक्ति जीवनको यस मोडमा पुग्यो भने, के ऊ अझै पनि मानव नै हुन्छ? ऊभन्दा त कुनै घरपालुवा जनावर नै राम्रो हुन्छ। त्यसकारण, मानिसहरू मानव कहलिनका लागि मानव स्वरूपमा जिउनुपर्छ, र मानव स्वरूपमा जिउनका लागि तिनीहरूसँग सामान्य मानवता हुनैपर्छ। कुनै व्यक्ति जहाँ बस्ने भए पनि, उसले जुनसुकै कर्तव्य पूरा गर्ने भए पनि, नियमहरू पालना गर्नैपर्छ। उसले आफ्नो ठाउँ र स्वच्छतालाई ध्यान दिनैपर्छ, उसमा जिम्मेवारीको बोध र जीवनका असल बानीहरू हुनैपर्छ। उसले आफूले गर्ने सबै कुरामा ध्यान दिनैपर्छ र ऊ गम्भीर हुनैपर्छ, र उसले त्यस कुरालाई राम्ररी गरेर मानक पूरा नगरेसम्म त्यसलाई जारी राख्नैपर्छ। यसरी, मानिसहरूले तँ आफ्नो कर्तव्य निर्वाहमा, साथै आफूलाई आचरणमा ढाल्ने र कामकुरालाई सम्हाल्ने तरिकामा सिधा र शिष्ट छस्, असल व्यक्ति होस् भन्ने देख्नेछन्। तिनीहरूलाई तेरो प्रशंसा गर्न मन लाग्नेछ, र स्वाभाविक रूपमै तिनीहरूले तँलाई आदर गर्नेछन्। तिनीहरूले तँलाई सम्मान पनि गर्नेछन् र महत्त्व दिनेछन्, त्यसकारण तिनीहरूले तँलाई मूर्ख बनाउनेछैनन् वा हेप्नेछैनन्। तिनीहरूले कुनै गिल्ला वा अवहेलना नगरी तँसँग गम्भीर रूपमा कुरा गर्नेछन्। मलाई मानिसहरू मेरो रूपलाई कसरी लिन्छन् भन्ने थाहा छैन, तर मलाई यस्तो महसुस हुन्छ: जब म धेरैजसो मानिसलाई भेट्छु, तब तिनीहरू मजाक गर्ने वा हलुका कुरा गर्ने गर्दैनन्। त्यस्तो किन हुन्छ, त्यो मलाई थाहा छैन। सायद मानिसहरू यस्तो अनुभूति गर्छन्: “तपाईं यति गम्भीर व्यक्ति हुनुहुन्छ, र तपाईं आफ्नो बोलीवचन र व्यवहारमा पनि गम्भीर हुनुहुन्छ। तपाईं एक सिधा व्यक्ति हुनुहुन्छ; तपाईंसँग अन्तरक्रिया गर्दा म मजाक गर्ने आँट गर्दिनथेँ। तपाईं त्यस्तो व्यक्ति हुनुहुन्न भन्ने कुरा पहिलो नजरमा नै स्पष्ट हुन्छ।” कुनै ठाउँमा गएर तैँले मानिसहरूसँग कुराकानी गर्दा, मानिसहरूसँग गफ गर्दा, मानिसहरूसँग अन्तरक्रिया गर्दा, यदि तिनीहरूले तेरो मानवता र नैतिकतामा केही कुरा छ भन्ने महसुस गर्छन् भने—तिनीहरूले यो के हो भनेर स्पष्ट रूपमा भन्न सक्दैनन् होला, तर तैँले हरेक दिन केका बारेमा सोच्छस् भनेर तँलाई थाहा हुनेछ, र कुराहरूलाई कसरी हेर्ने र मानिसहरूसँग कसरी व्यवहार गर्ने भन्नेबारे तँसित सधैँ सिद्धान्त र मापदण्डहरू हुनेछन्—यदि तैँले अरूसँग यसरी नै व्यवहार र अन्तरक्रिया गर्छस् भने, तिनीहरूले तँ अत्यन्तै विवेकशील छस्, आफूले गर्ने सबै कुरामा तँ अत्यन्तै गम्भीर र विवेकशील छस्, अर्थात् तँ सिद्धान्तअनुरूप छस् भनेर भन्नेछन्। यसले अन्तमा तिनीहरूमा कस्तो भावना पैदा गराउनेछ? त्यसबारे बिस्तारै घोरिएर सोच्। यदि तँसँग आफ्नो आत्म-आचरणमा सामान्य मानवता भएकाहरूमा हुनुपर्ने कुराहरू छन् भने, मानिसहरूले तेरो पिठ्युँपछाडि तँलाई कसरी मूल्याङ्कन गर्छन् भन्ने कुराले फरक पार्दैन। यदि तिनीहरूले आफ्नो अन्तस्करणमा तँ सिधा, विवेकशील व्यक्ति होस्, सबै कुराप्रति गम्भीर, जिम्मेवार मनोवृत्ति भएको, सद्गुणी व्यक्ति होस् भन्ने महसुस गर्छन् भने, केही समयसम्म तँसँग व्यवहार र अन्तरक्रिया गरेपछि, तिनीहरूले तँलाई अनुमोदन र सम्मान गर्नेछन्। त्यसपछि, व्यक्तिका रूपमा तेरो केही मूल्य हुनेछ। यदि, केही समयसम्म तेरो सङ्गत गरिसकेपछि, तिनीहरूले तँ केही पनि राम्ररी गर्दैनस्, तँ अल्छी र लोभी छस्, केही पनि सिक्न चाहँदैनस्, तेरा मापदण्डहरू तेरो क्षमताभन्दा माथि छन्, तँ निकै लोभी र स्वार्थी छस्—अनि अझ बढी, तँलाई स्वच्छताप्रति केही मतलब छैन, र तैँले आफ्नो परिवेशको हेरचाह गर्नेबारे विचार गर्दैनस् भन्ने देखे भने; यदि तिनीहरूले तँ आफूले गर्ने कुनै पनि कामको भेउ पाउँदैनस्, तँ निकै कमजोर क्षमताको छस्, र तँ भरोसाको लायक छैनस्, आफूलाई दिइएको कुनै पनि काम राम्ररी गर्न सक्दैनस् भन्ने देखे भने, मानिसहरूका लागि तेरो बिलकुलै महत्त्व हुनेछैन, र तँ व्यक्तिका रूपमा अमान्य ठहरिनेछस्। समग्रमा अरूका लागि बिलकुलै महत्त्व नराख्नु ठूलो कुरा होइन—के चाहिँ महत्त्वपूर्ण हो भने यदि तँ त्यसरी नै परमेश्वरको हृदयमा पनि हृदय वा आत्माविनाको पशुजस्तै नीच, तल्लो स्तरको, र व्यर्थको छस् भने, तँ समस्यामा छस्। तँ अझै पनि मुक्ति पाउने अवस्थाबाट धेरै टाढा छस्! चरित्र मानकअनुरूप नहुने, बोलीवचन र कार्यहरू पूर्ण रूपमा अनियन्त्रित हुने, पशुजस्तो कुनै व्यक्तिले मुक्ति पाउने कुनै आशा हुन्छ? मैले देखेअनुसार ऊ खतरामा हुन्छ। ढिलो-चाँडो, उसलाई हटाइनेछ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।