विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक) खण्ड छ
मानिसहरूलाई नियन्त्रण गर्ने चाहना र महत्त्वाकाङ्क्षा बाहेक ख्रीष्टविरोधीहरूलाई अरू के कुरामा रुचि हुन्छ? मूलतः केहीमा पनि हुँदैन। तिनीहरूलाई अरू कुनै कुरामा त्यति धेरै चासो हुँदैन। हरव्यक्तिले उचित कर्तव्य निर्वाह गरिरहेको छ छैन, कर्मचारीहरूको उचित बन्दोबस्त गरिएको छ छैन, कसैले मण्डलीको काममा बाधा र व्यवधान ल्याइरहेको छ छैन, मण्डलीको कामको हरेक पक्ष सहज रूपमा अघि बढिरहेको छ छैन, कामको कुन भागमा समस्या छ, कुन भाग अझै कमजोर छ, कुन भागको बारेमा अझै विचार गरिएको छैन, कहाँ काम राम्ररी गरिएको छैन—ख्रीष्टविरोधीहरूले यस्ता कुनै पनि कुराहरूमा आफूलाई संलग्न गराउँदैनन्, न त तिनीहरूले तिनका बारेमा सोध्ने नै गर्छन्। तिनीहरूले तिनका बारेमा कहिल्यै वास्ता गर्दैनन्; तिनीहरूले यो ठोस काम कहिल्यै गर्दैनन्। उदाहरणका लागि, अनुवादको काम, भिडियो सम्पादनको काम, चलचित्र निर्माणको काम, लेखन-पठनको काममा आधारित काम, सुसमाचार प्रचार गर्ने काम, इत्यादि—तिनीहरूले कामको कुनै पनि पक्षलाई लगनका साथ अनुगमन गर्दैनन्। केही कुरा तिनीहरूको ख्याति, प्राप्ति, वा हैसियतसँग सम्बन्धित नभएसम्म, त्यसको तिनीहरूसँग कुनै सरोकार छैन जस्तो हुन्छ। त्यसोभए, तिनीहरूले गर्ने एउटै मात्र कुरा के हो? तिनीहरूले केही साधारण मामलाहरू—अर्थात् मानिसहरूले ध्यान दिने र देख्ने सतही काम मात्र सम्हाल्छन्। तिनीहरूले आफ्नो काम त्यतिमा नै समाप्त गर्छन्, र त्यसलाई आफ्नो योग्यताको रूपमा प्रस्तुत गर्छन्, त्यसपछि आफ्नो हैसियतका फाइदाहरूमा रमाउन थाल्छन्। के ख्रीष्टविरोधीहरूले परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशको वास्ता गर्छन्? गर्दैनन्; तिनीहरूले आफ्नो ख्याति र हैसियतको, साथै जुन मामलामा पृथक देखिन र मानिसहरूलाई आफूप्रति सम्मान र आराधना गराउन सकिन्छ तिनको मात्र वास्ता गर्छन्। त्यसकारण, मण्डलीको काममा जे-जस्ता समस्याहरू उत्पन्न भए पनि, तिनीहरूले न त ती समस्याहरूलाई ध्यान दिन्छन् न तिनका बारेमा सोध्छन्; कुनै समस्या जति नै गम्भीर भए पनि, त्यसले परमेश्वरको घरका हितहरूमा जति नै ठूलो घाटा ल्याए पनि, तिनीहरूलाई त्यो समस्या हो भन्ने लाग्दैन। ल भन् त, के तिनीहरूमा हृदय त हुन्छ? के तिनीहरू बफादार मानिस हुन्? के तिनीहरू सत्यतालाई प्रेम गर्ने र स्विकार्ने मानिस हुन्? यी कुराहरूका पछाडि प्रश्न चिन्हहरू राखिनुपर्छ। अँ, मण्डलीको काम अस्तव्यस्त पार्ने गरी तिनीहरूले दिनभरि के गरिरहेका हुन्छन्? तिनीहरूले परमेश्वरका अभिप्रायहरूलाई अलिकति पनि ख्याल गर्दैनन् भन्ने कुरा देखाउन यो नै पर्याप्त छ। तिनीहरू परमेश्वरले सुम्पनुभएको अत्यावश्यक काम गर्दैनन्, तर आफूलाई सतही, र सामान्य मामलाहरूमा मात्रै व्यस्त राख्छन्, ताकि अरू मानिसहरूका नजरमा तिनीहरूले काम गरिरहेका छन् जस्तो देखियोस्; बाहिरी रूपमा, तिनीहरू मानिसहरूलाई आफूसँग जोश र आस्था छ भन्ने देखाउनका लागि कर्तव्य निर्वाह गर्नमा व्यस्त हुन्छन्। यसले कतिपय मानिसहरूको आँखामा छारो हालिदिन्छ। तर तिनीहरूले मण्डलीको अत्यावश्यक कामको एउटा पक्ष पनि पूरा गर्दैनन्—तिनीहरूले मलजल गर्ने र सत्यता प्रदान गर्ने कुनै काम गर्दैनन्। तिनीहरूले समस्याहरू समाधान गर्न कहिल्यै सत्यताको प्रयोग गर्दैनन्; तिनीहरूले केही साधारण मामलाहरू मात्र सम्हाल्छन्, र आफूलाई राम्रो देखाउने थोरै काम गर्छन्। मण्डलीको अत्यावश्यक कामको हकमा, तिनीहरू झाराटारुवा र गैरजिम्मेवार हुन्छन्—तिनीहरूमा अलिकति पनि जिम्मेवारी बोध हुँदैन। तिनीहरूले जति नै धेरै समस्याहरू उत्पन्न भए पनि तिनलाई समाधान गर्न कहिल्यै सत्यताको खोजी गर्दैनन्, र तिनीहरूले आफ्नो कर्तव्यमा झारा टार्छन्। अनि केही सतही र सामान्य मामलाहरू सम्हालेपछि, तिनीहरू आफूले वास्तविक काम गरेको छु भन्ने सोच्छन्। ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा, तिनीहरू अनियन्त्रित रूपमा खराब कामकुरा गर्छन् र स्वेच्छाचारी र तानासाही तरिकाले काम गर्छन्। तिनीहरूले मण्डलीको काम बरबाद र अस्तव्यस्त पार्छन्। कामको एउटा पनि पक्ष मानकअनुरूप र बिना त्रुटि पूरा गरिएको हुँदैन; माथिको हस्तक्षेप, सोधपुछ, र सुपरिवेक्षणबिना कामको कुनै पनि पक्ष राम्ररी पूरा गरिएको हुँदैन। तैपनि, कतिपय मानिसहरू बर्खास्त भएपछि गुनासो र अवज्ञाले भरिएका हुन्छन्; तिनीहरूले आफ्नै पक्षमा भ्रामक तर्कहरू गर्छन्, र माथिल्लो स्तरका अगुवा र कामदारहरूको काँधमा जिम्मेवारी थोपरिदिन्छन्। के त्यो पूर्ण रूपमा अनुचित कुरा होइन र? केही नभएको अवस्थामा सत्यताप्रति व्यक्तिको साँचो मनोवृत्ति देख्न सकिँदैन, तर जब तिनीहरूलाई काटछाँट र बर्खास्त गरिन्छ, तब सत्यताप्रति तिनीहरूको साँचो मनोवृत्ति प्रकट हुन्छ। सत्यतालाई स्विकार्ने मानिसहरूले कुनै पनि परिस्थितिमा स्विकार्न सक्छन्। यदि तिनीहरू गलत छन् भने, तिनीहरूले आफ्नो गल्ती स्विकार्न सक्छन्; तिनीहरूले तथ्यहरूको सामना गरेर सत्यतालाई स्विकार्न सक्छन्। सत्यतालाई प्रेम नगर्ने मानिसहरूले आफ्नो गल्ती खुलासा भए पनि आफू गलत भएको कुरा स्विकार्दैनन्; परमेश्वरको घरले तिनीहरूलाई सम्हालेको कुरालाई स्विकार्नु त झन् परको कुरा हो—अनि तिनीहरूमध्ये कतिले स्पष्टीकरणको रूपमा के कुरा समेत प्रयोग गर्छन्? “मैले राम्रै गर्न चाहेको थिएँ—नगरेको मात्र हो। मैले नराम्रो गरेकोमा मलाई दोष दिन मिल्दैन। मेरो मनसाय राम्रो थियो, मैले कष्ट भोगेँ र मूल्य चुकाएँ, र मैले आफूलाई समर्पित गरेँ—कुनै कुरा राम्ररी नगर्नु भनेको दुष्टता गर्नु होइन!” यो स्पष्टीकरण, यो बहाना प्रयोग गर्नु, परमेश्वरको घरद्वारा सम्हालिन नमान्नु—के त्यो उचित कुरा हो? कुनै व्यक्तिले जे-जस्ता स्पष्टीकरण र बहानाहरू दिए पनि, उसले सत्यताप्रति र परमेश्वरप्रतिको आफ्नो मनोवृत्तिलाई लुकाउन सक्दैन। यो उसको प्रकृति सारसँग सम्बन्धित हुन्छ, र यो सबैभन्दा सूचक कुरा हो। केही भएको होस् कि नहोस्, सत्यताप्रतिको तेरो मनोवृत्तिले तेरो प्रकृति सारको प्रतिनिधित्व गर्छ। यो परमेश्वरप्रतिको तेरो मनोवृत्ति हो। तैँले सत्यतालाई कसरी व्यवहार गर्छस् भन्ने कुरालाई हेरेरै तैँले परमेश्वरलाई कसरी व्यवहार गर्छस् भन्ने कुरा देख्न सकिन्छ।
मानिसहरूलाई नियन्त्रण गर्ने ख्रीष्टविरोधीहरूको व्यवहारको बारेमा हामीले भर्खरै हाम्रो छलफलमा के कुरालाई समेट्यौँ? (ख्रीष्टविरोधीहरूले मानिसहरूलाई नियन्त्रण गर्नमा मात्र रुचि राख्ने कुरा।) ठीक भनिस्। अत्यन्तै अहङ्कारी र हैसियतप्रति निकै प्रेम भएका मानिसहरूले मानिसहरूलाई नियन्त्रण गर्नमा प्रचुर “रुचि” राख्छन्। यो “रुचि” सकारात्मक हुँदैन—यो एउटा चाहना र महत्त्वाकाङ्क्षा हो, यो नकारात्मक र अपमानजनक हुन्छ। तिनीहरू किन मानिसहरूलाई नियन्त्रण गर्नमा रुचि राख्छन्? वस्तुगत दृष्टिकोणबाट हेर्दा, यो तिनीहरूको प्रकृति नै हो, तर अर्को कारण पनि छ: अरूलाई नियन्त्रण गर्ने मानिसहरूमा हैसियत, ख्याति, प्राप्ति, खोक्रो घमण्ड, र शक्तिप्रति विशेष मोह र स्नेह हुन्छ। के मैले यसलाई यसरी भन्न सक्छु? (सक्नुहुन्छ।) अनि के त्यो विशेष मोह र स्नेह शैतानको जस्तै हुँदैन र? के त्यो शैतानको सार होइन र? शैतानले मानिसहरूलाई कसरी बहकाउने र नियन्त्रण गर्ने भनेर दिनभरि मनन गर्छ; हरेक दिन, यसले मानिसहरूमा भ्रमपूर्ण विचार र दृष्टिकोणहरू हालिदिन्छ, चाहे त्यो विचार हालिदिएर अनि सिकाएर होस्, वा चाहे परम्परागत संस्कृतिमार्फत होस्, वा विज्ञान, उच्च ज्ञान, र शिक्षाहरूमार्फत होस्—र यसले मानिसहरूमा यी कुराहरू जति हालिदिन्छ, तिनीहरूले त्यति नै यसको आराधना गर्छन्। शैतानले मानिसहरूमा यी कुराहरू हालिदिनुको उद्देश्य के हुन्छ? यसले यसो गरेपछि, मानिसहरूले यसका विचारहरू धारण गर्छन्; तिनीहरूले यसका दर्शनहरू र अस्तित्वको शैली धारण गर्छन्। यो शैतानले मानिसहरूको हृदयमा जरा गाड्नु बराबर हो। तिनीहरू शैतानको तरिकाले जिउँछन्, र तिनीहरूको जियाइ शैतानको जियाइ हो—यो दियाबलसहरूको जियाइ हो। कुरा त्यस्तै होइन र? के ख्रीष्टविरोधीहरूले मानिसहरूलाई नियन्त्रण गर्नुको प्रकृति पनि यही होइन र? तिनीहरू अरू सबैलाई तिनीहरू जस्तै मानिस बनाउन चाहन्छन्; तिनीहरू चाहन्छन् कि सबै जना तिनीहरूका लागि बाँचून्, तिनीहरूको अधीनमा रहून्, र सबैले तिनीहरूका लागि काम गरून्। अनि सबै कुरा तिनीहरूको नियन्त्रणमा हुनुपर्छ: मानिसहरूका विचार र बोलीवचन, तिनीहरूका बोल्ने शैली, विचार, र दृष्टिकोण, तिनीहरूले काम गर्ने दृष्टिकोण र मनोवृत्ति, साथै परमेश्वरप्रतिको तिनीहरूको मनोवृत्ति, तिनीहरूको आस्था, र आफ्नो कर्तव्य पूरा गर्ने तिनीहरूको सङ्कल्प र आकाङ्क्षा समेत—यी सबै कुरा तिनीहरूको नियन्त्रणमा हुनुपर्छ। त्यो नियन्त्रण कति गहन हुन्छ? तिनीहरूले सुरुमा मानिसहरूको मगज परिवर्तन गर्छन् र उनीहरूलाई थोपाउँछन्, त्यसपछि सबै मानिसहरूलाई आफूले गर्ने जस्तै कामकुरा गर्न लगाउँछन्। तिनीहरू “धर्मपिता” बन्छन्। मानिसहरूलाई यस्तो बनाउनका लागि, ख्रीष्टविरोधीहरूले धेरै विधिहरू प्रयोग गर्छन्: बहकाउने, विचार हालिदिने, डर देखाउने कार्य हुन्छ, र अरू के हुन्छ? (मनोवैज्ञानिक आक्रमणहरू।) त्यो बहकाउनुकै पाटो हो। अरू के हुन्छ? (जबरजस्ती गर्ने र मानिसहरूलाई किन्ने काम।) तिनीहरूले मानिसहरूलाई कसरी किन्छन्? कतिपय मानिसहरूले परमेश्वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा अनियन्त्रित रूपमा खराब कामकुरा गर्छन्। के ख्रीष्टविरोधीहरूले यो कुरा स्पष्ट रूपमा देख्न सक्छन्? यो सबै कुरा तिनीहरूका लागि अत्यन्तै स्पष्ट हुन्छ। त्यसोभए के तिनीहरूले यसलाई सम्हाल्छन्? सम्हाल्दैनन्। अनि किन सम्हाल्दैनन्? तिनीहरूले यस मामलालाई ती मानिसहरू किन्नका लागि प्रयोग गर्न चाहन्छन्; तिनीहरूले उनीहरूलाई भन्छन्, “तपाईंलाई नसम्हालेर मैले तपाईंलाई निगाह गरेको छु। तपाईंले मलाई धन्यवाद दिनुपर्छ। तपाईंले नराम्रो काम गरेको मैले देखेँ, तर मैले तपाईंको बारेमा रिपोर्ट गरिनँ, र मैले तपाईँलाई सम्हालिनँ। मैले दया देखाएँ। के अब तपाईँले मप्रति कृतज्ञताको ऋण तिर्नुपर्दैन र?” त्यसपछि ती मानिसहरू तिनीहरूप्रति कृतज्ञ हुन्छन् र तिनीहरूलाई आफ्ना हितकारी ठान्छन्। त्यसपछि, ख्रीष्टविरोधीहरू र ती मानिसहरू एउटै खोरमा लडीबुडी गर्ने सुँगुर जस्तै हुन्छन्। ख्रीष्टविरोधीहरू शक्तिमा हुँदा, तिनीहरूले त्यस्ता मानिसहरू किन्न सक्छन्: त्यस्ता मानिसहरू जो दुष्टता गर्छन्, जो परमेश्वरको घरका हितहरूलाई हानि गर्छन्, जो गोप्य रूपमा परमेश्वरको आलोचना गर्छन्, र गोप्य रूपमा परमेश्वरको घरको कामलाई कमजोर पार्छन्। ख्रीष्टविरोधीहरूले यस्तै प्रकारका दुष्ट मानिसहरूको समूहको रक्षा गर्छन्। के यो एक प्रकारको नियन्त्रण होइन र? (हो।) वास्तवमा ख्रीष्टविरोधीहरूलाई यी मानिसहरू परमेश्वरको घरका हितहरूको रक्षा गर्ने मानिसहरू होइनन् भन्ने कुरा हृदय भित्रैबाट थाहा हुन्छ। तिनीहरू सबैलाई यो कुरा थाहा हुन्छ—त्यो कुरालाई मौन रूपमा बुझिएको हुन्छ—त्यसकारण, तिनीहरू खुफिया साँठगाँठमा काम गरिरहेका हुन्छन्। “हामी त उस्तै हौँ। तिमी परमेश्वरको घरका हितहरूबारे विचार गर्दैनौ। तिमी परमेश्वरलाई मूर्ख बनाउँछौ, र म पनि त्यसै गर्छु; तिमी सत्यता पछ्याउँदैनौ, र म पनि पछ्याउँदिनँ।” ख्रीष्टविरोधीहरूले त्यस्ता मानिसहरू किन्छन्। के यो तिनीहरूलाई किन्नु होइन र? (हो।) तिनीहरू परमेश्वरको घरका हितहरूमा हानि हुन दिन कुनै सङ्कोच मान्दैनन्। तिनीहरूले परमेश्वरको घरका हितहरूलाई लत्याएर यी मानिसहरूलाई अनियन्त्रित रूपमा खराब कामकुरा गर्न, र परमेश्वरको घरको खर्चमा बाँच्न दिन्छन्। मानौँ तिनीहरूले यी मानिसहरूको भरणपोषण गरिरहेका छन्, र यी मानिसहरू अवचेतन रूपमा तिनीहरूप्रति कृतज्ञ छन्। जब परमेश्वरको घरले यी दुष्ट मानिसहरूलाई तह लगाउने समय आउँछ, तब तिनीहरूले ख्रीष्टविरोधीहरूलाई कसरी हेर्छन्? तिनीहरूले मनमनै भन्छन्, “अहो, हुँदैन। तिनीहरू पहिले नै बर्खास्त भइसकेका छन्। यदि तिनीहरूलाई बर्खास्त नगरिएको भए, हामीले अझै केही समय रमाइलो गर्न सक्थ्यौँ—तिनीहरूले सुरक्षा दिँदा, कसैले पनि मलाई तह लगाउन सकेको थिएन।” तिनीहरू अझै पनि ख्रीष्टविरोधीहरूसँग यति धेरै लगाव महसुस गर्छन्! ख्रीष्टविरोधीहरूले गर्ने यी सबै कुराहरू बाधा र अवरोध हुन्, मानिसहरूलाई बहकाउने कुराहरू हुन्, र परमेश्वरको विरोध गर्ने दुष्ट कार्यहरू हुन् भन्ने कुरा स्पष्टै छ। अनि सत्यतालाई प्रेम नगर्ने कुनै पनि व्यक्तिले यी दुष्ट कार्यहरूलाई घृणा गर्नेछैन, र तिनलाई ढाकछोप समेत गरिदिनेछ। उदाहरणका लागि, कुनै अगुवा थियो जसले ख्रीष्टविरोधीहरूको ढाकछोप गर्थ्यो। माथिले उसलाई मण्डलीमा कसैले बाधा र अवरोध ल्याइरहेको छ कि, वा अनियन्त्रित रूपमा खराब कामकुरा गरिरहेको छ कि, वा कुनै ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बहकाइरहेका छन् कि भनेर सोधेको थियो। उक्त अगुवाले भन्यो, “ठीकै छ, म सोध्छु। म बुझेर भनुँला।” के त्यो उसको कामको पाटो थिएन र? “बुझेर भनुँला” भन्ने भावमा उसले माथिको सामना गर्यो, र तिनीहरूले पछि यसको बारेमा थप केही सुनेनन्। उसले जाँचबुझ गरेन—उसले ती मानिसहरूलाई चिढ्याउन चाहेन! अनि माथिले फेरि उसलाई “जाँच गरिस त?” भनेर सोध्दा उसले भन्यो, “गरेँ—त्यस्तो कोही पनि रहेनछ।” के त्यो कुरा साँचो थियो? ऊ नै सबैभन्दा ठूलो ख्रीष्टविरोधी, अनि मण्डलीको काममा बाधा दिने, र परमेश्वरको घरका हितहरूलाई हानि गर्ने मुख्य दोषी थियो। ऊ आफै ख्रीष्टविरोधी थियो—उसले जाँच्नुपर्ने कुरा के थियो र? ऊ त्यहाँ हुँदा, ऊभन्दा मुनिका मानिसहरूले जे-जस्ता खराब कामहरू गरे पनि, तिनीहरूले जे-जस्ता बाधा र अवरोधहरू ल्याए पनि, कसैले पनि यी कुराहरू जाँच्न सक्दैनथ्यो। उसले तिनीहरूलाई त्यसो गर्नबाट रोक्थ्यो। यसको आशय हेर्दा, यस्तो परिस्थितिमा, के उसले आफ्नो अधीनमा रहेका मानिसहरूलाई परमेश्वरबाट अलग गरेको थिएन र? थियो। अनि उसले परमेश्वरबाट अलग गरेपछि ती मानिसहरूले कसको कुरा सुन्थे? के तिनीहरूले उसको कुरा सुन्दैनथिए र? त्यसकारण, ऊ सहरको गुन्डा, डाँकु अगुवा, स्थानीय अत्याचारी बनेको थियो—उसले ती मानिसहरूलाई आफ्नो नियन्त्रणमा लिएको थियो। उसले कुन विधि प्रयोग गर्यो? उसले माथिलाई झुक्यायो र आफूभन्दा मुनिकालाई छल गर्यो। उसले आफ्नो मातहतका मानिसहरूलाई किनेको थियो र तिनीहरूसँग मिठा कुरा गर्थ्यो, अनि माथिलाई झुक्याएको थियो—उसले तल के भइरहेको छ भनेर माथिलाई थाहा दिएन। उसले माथिलाई यसको बारेमा केही पनि भनेन, र उसले एउटा देखावटी रूप पनि बनायो। उसले कस्तो देखावटी रूप बनायो? उसले माथिलाई भन्यो, “हाम्रो मण्डलीमा एक जना व्यक्ति छ जसलाई सबै दाजुभाइ-दिदीबहिनीहरूले खराब मानवता भएको, अत्यन्तै दुर्भावपूर्ण, र कुनै पनि कर्तव्य निर्वाह गर्न असक्षम भएको भनेर रिपोर्ट गर्छन्। तपाईं के भन्नुहुन्छ—के म उनलाई तह लगाउन सक्छु?” उसले यसो भनेको सुन्दा, त्यस व्यक्तिका प्रकटीकरणहरूबाट ऊ दुष्ट व्यक्ति हो जसलाई तह लगाइनुपर्छ भन्ने प्रस्ट थियो। त्यसकारण, माथिले भन्यो, “त्यसोभए, तिमीहरूले उनलाई तह लगाउन सक्छौ। के तिमीहरूले उनलाई तह लगाएका छौ?” उसले भन्यो, “हामीले उनलाई गत महिना तह लगाएर निकाल्यौँ।” के तथ्यहरू साँच्चिकै उसले भनेको जस्तै थिए त? अझै विस्तृत रूपमा सोधेपछि वास्तवमा के भएको रहेछ? त्यो व्यक्ति ऊसँग नमिल्ने रहेछ। अनि तिनीहरू नमिल्नुको एउटा कारण थियो: यस अगुवाले वास्तविक काम गर्दैनथ्यो, र उसले सधैँ दाजुभाइ-दिदीबहिनीहरूका बीचमा समूह र गुटहरू बनाउँदै आएको थियो—उसले ख्रीष्टविरोधीका प्रकटीकरणहरू प्रदर्शन गर्थ्यो, र त्यो व्यक्तिले उसलाई खुट्ट्याएको थियो र उनले ती समस्याहरूका बारेमा रिपोर्ट र खुलासा गरिन्। उनले त्यो रिपोर्ट गर्ने बित्तिकै, अगुवाका अधीनस्थहरूले उनलाई फेला पारे, र अन्ततः उसले उनलाई सास्ती दिएर निकाल्यो। यस ख्रीष्टविरोधीले आफ्नो मातहतका सबैलाई राम्रोसँग त्यो व्यक्तिको विरुद्धमा उठ्न र उसलाई इन्कार गर्न लगायो, र अन्तमा, उसले त्यो व्यक्तिलाई तह लगाएर निकाल्यो, त्यसपछि उसले माथिलाई यो “खुसीको खबर” रिपोर्ट गर्यो। वास्तवमा, साँच्चिकै त्यस्तो भइरहेको थिएन। के मण्डलीमा यस्ता कुराहरू हुन्छन्? हुन्छन्। यी ख्रीष्टविरोधीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई दमन गर्छन्; तिनीहरू ती मानिसहरूलाई दमन गर्छन् जसले तिनीहरूलाई खुट्ट्याउन र तिनीहरूका समस्याहरूका बारेमा रिपोर्ट गर्न सक्छन्, साथै जसले तिनीहरूको प्रकृति सार छर्लङ्गै देख्न सक्छन्। तिनीहरूले पहिले आफ्ना पीडितहरूका विरुद्धमा गुनासो समेत पेश गर्छन्, र बाधा दिने मानिसहरू तिनीहरू नै हुन् भनेर माथिलाई रिपोर्ट गर्छन्। वास्तवमा कसले बाधा दिइरहेको हुन्छ? मण्डलीलाई बाधा दिने र नियन्त्रण गर्नेहरू ख्रीष्टविरोधीहरू नै हुन्।
मानिसहरूलाई आफूप्रति समर्पित हुन लगाउने ख्रीष्टविरोधीहरूका उपायहरू के-के हुन्? त्यस्तो एउटा उपाय भनेको तँलाई नियन्त्रण गर्न—तेरा सोचहरू, तेरा विधिहरू, र तैँले हिँड्ने मार्गलाई नियन्त्रण गर्न, साथै तिनीहरूको शक्तिद्वारा समेत तैँले निर्वाह गर्ने कर्तव्यलाई नियन्त्रण गर्न विभिन्न माध्यमहरू प्रयोग गर्नु हो। यदि तँ तिनीहरूको नजिक भइस् भने, तिनीहरूले तँलाई कुनै सजिलो कर्तव्य दिनेछन् जसले तँलाई पृथक हुन मदत गर्छ; यदि तैँले सधैँ तिनीहरूको अवज्ञा गर्छस्, र सधैँ तिनीहरूका गल्तीहरू औँल्याउँछस्, साथै तिनीहरूको भ्रष्टताको समस्या खुलासा गर्छस् भने, तिनीहरूले तँलाई मानिसहरूले मन नपराउने काम गर्न लगाउनेछन्—उदाहरणका लागि, एउटी जवान बहिनीलाई कुनै फोहोरी र थकाइलाग्दो काम गर्न लगाउनु। तिनीहरूले आफूसँग नजिक हुने, आफूलाई चापलुसी गर्ने, र सधैँ आफूले सुन्न चाहेको कुरा भन्ने मानिसहरूलाई सजिलो र सफा कामको बन्दोबस्त गरिदिन्छन्। ख्रीष्टविरोधीहरूले मानिसहरूलाई यसरी नै व्यवहार गर्छन् र नियन्त्रण गर्छन्। अर्थात्, जब कर्मचारी नियुक्ति र स्थानान्तरण गर्ने शक्तिको कुरा आउँछ, तब कसले के काम गर्छ भन्ने कुरा तिनीहरूकै हातमा हुन्छ, र तिनीहरूकै पूर्ण नियन्त्रण हुन्छ। के यो एक प्रकारको महत्त्वाकाङ्क्षा र चाहना मात्र हो? अहँ, होइन। के यो “तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए” भन्ने ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरूको आठौँ बुँदासँग ठ्याक्कै मिल्दैन र? “तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए” ले के जनाउँछ? यो प्रकटीकरणमा के गलत छ? यो कुन हिसाबमा गलत छ? तिनीहरूले मानिसहरूलाई जुन कुरामा समर्पित गर्न लगाउँछन् त्यो कुरा पूर्ण रूपमा सत्यताको विरुद्धमा जान्छ। यो सत्यता सिद्धान्तहरूसँग मेल खाँदैन। यो पूर्ण रूपमा परमेश्वरको घरका हितहरू र परमेश्वरका अभिप्रायहरूका विरुद्धमा जान्छ; यसले परमेश्वरको घरका हितहरूको बिलकुलै रक्षा गर्दैन, र यो सत्यतासँग बिलकुलै मेल खाँदैन। तिनीहरूले मानिसहरूलाई पूर्ण रूपमा आफ्नै महत्त्वाकाङ्क्षा, चाहना, प्राथमिकता, रुचि, र धारणाहरूप्रति समर्पित गराउँछन्। के समस्याको सार यही होइन र? ख्रीष्टविरोधीहरूको सार प्रकट हुने एउटा तरिका यही हो। के यसले मामलाको जडलाई छुँदैन र? ख्रीष्टविरोधीहरूले गर्ने यो व्यवहारलाई सजिलै खुट्ट्याउन सकिन्छ। कतिपय अगुवा र कामदारहरू यस्ता हुन्छन् जसले सही र ठीक दृष्टिकोणहरू अघि सार्छन्, र कतिपय मानिसहरू विश्वस्त नभए पनि र उनीहरूले ती कुरालाई स्विकार्न नसक्ने भए पनि, यी अगुवाहरू ती सही दृष्टिकोणहरूलाई लागु गर्न र तिनलाई अभ्यास गर्नमा लागिपर्न सक्छन्। यो व्यवहार र ख्रीष्टविरोधीहरूको व्यवहारको बीचमा के भिन्नता छ? बाहिरबाट हेर्दा दुइटै उस्तै देखिन्छन्, तर तिनको सारमा भिन्नता हुन्छ। ख्रीष्टविरोधीहरूले गर्ने भनेको जानाजानी सत्यता र परमेश्वरको घरको कामका सिद्धान्तहरू विपरीत जानु, र परमेश्वरको घरका लागि कर्तव्य निर्वाह गर्ने र सत्यतामा समर्पित हुने बहानामा मानिसहरूलाई आफूले भनेको कुरा गर्न लगाउनु हो। यो गलत हो—घोर रूपमा, हास्यास्पद रूपमा गलत हो। कतिपय अगुवा र कामदारहरूले सही दृष्टिकोणहरूलाई समर्थन गर्छन्। सत्यता सिद्धान्तहरूसँग मेल खाने कुरालाई समर्थन गर्नुपर्छ; यो अहङ्कार र आत्मधार्मिकता होइन, न त यो मानिसहरूलाई बन्धनमा पार्नु हो—यो त सत्यतालाई समर्थन गर्नु हो। बाहिरी रूपमा यी दुई व्यवहारहरू उस्तै देखिन्छन्, तर तिनका सारहरू फरक छन्: एउटाले सत्यता सिद्धान्तहरूलाई समर्थन गर्छ, र अर्कोले गलत दृष्टिकोणहरूलाई समर्थन गर्छ। ख्रीष्टविरोधीहरू आफूले गर्ने सबै कुरामा सत्यता उल्लङ्घन गर्छन्, त्यसप्रति शत्रुता राख्छन्, र पूर्ण रूपमा आफ्ना व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहनाहरूद्वारा प्रेरित हुन्छन्—त्यसैले ख्रीष्टविरोधीहरूले मानिसहरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित गराउँछन्। यो बुँदाको चुरो यही हो। हामीले भर्खरै छलफल गरेको कुरा एउटा स्थापित तथ्य हो। यहाँ चाहना र महत्त्वाकाङ्क्षाहरूले केलाई जनाउँछन्? तिनले कतिपय त्यस्ता मानिसहरूलाई जनाउँछन् जसले स्पष्ट रूपमै ख्रीष्टविरोधीले गर्ने कुराहरू गर्दैनन्, तैपनि तिनीहरूमा यी प्रवृत्तिहरू हुन्छन्। तिनीहरूमा यी प्रवृत्ति र प्रकटीकरणहरू हुन्छन्, जसको अर्थ तिनीहरूमा यी चाहना र महत्त्वाकाङ्क्षाहरू हुन्छन्। तिनीहरू जुनसुकै समूहमा भए पनि, सधैँ अधिकारीलेझैँ मानिसहरूलाई हुकुम चलाउन चाहन्छन्: “तिमी गएर खाना बनाऊ!” “तिमी गएर फलानोलाई खबर गर!” “आफ्नो कर्तव्यमा परिश्रम गर, र अझै बढी बफादार होऊ—परमेश्वरले हेरिरहनुभएको छ!” के तिनीहरूले त्यो कुरा भनिरहनु आवश्यक छ? त्यो कस्तो भाव हो? सधैँ प्रभु र मालिकझैँ व्यवहार गर्नलाई तिनीहरू को हुन्? तिनीहरू केही पनि होइनन्, तैपनि तिनीहरूले यस्ता कुराहरू भन्ने आँट गर्छन्—के त्यो समझको कमी हुनु होइन र? कतिपयले “तिनीहरू लट्ठक हुन्” भन्न सक्छन्। तर तिनीहरू कुनै साधारण लट्ठक होइनन्—तिनीहरू विशेष हुन्छन्। कसरी विशेष? तिनीहरूले कसैसँग कुनै विषयमा तर्क वा विचारविमर्श गर्दा, तिनीहरू सही भए पनि नभए पनि, तिनीहरूले अन्तिममा जित्नैपर्छ; तिनीहरू सही भए पनि नभए पनि, अन्त्यमा तिनीहरूले भनेजस्तै हुनुपर्छ, तिनीहरूले नै हुकुम गर्नुपर्छ, र निर्णयहरू लिनुपर्छ। तिनीहरूको हैसियत जेसुकै भए पनि, तिनीहरूले निर्णयहरू लिन चाहन्छन्। यदि अर्को व्यक्तिले सही विचार व्यक्त गरेर जित्यो भने, तिनीहरू रिसाउँछन्; तिनीहरूले आफ्नो काम त्याग्छन् र उप्रान्त गर्न इन्कार गर्छन्—तिनीहरूले यसो भन्दै छोड्छन्: “तिमीहरू आफूलाई जे मन लाग्छ त्यही भन्न सक्छौ—आखिर तिमीहरूले मेरो कुरा मान्ने त होइनौ!” के तिनीहरूमा त्यो महत्त्वाकाङ्क्षा र चाहना हुँदैन र? त्यस्ता मानिसहरू प्रभु र मालिक बन्दा, तिनीहरू सुपरिवेक्षक बन्दा, तिनीहरू अगुवा बन्दा के-कस्ता परिणामहरू आउँछन्? तिनीहरू नमुना ख्रीष्टविरोधी बन्छन्। के तिमीहरूमा यस्ता प्रकटीकरणहरू छन्? त्यो राम्रो कुरा होइन! यदि परमेश्वरका विश्वासीले सत्यता प्राप्त गरेन, बरु ऊ ख्रीष्टविरोधी बन्यो भने के यो ठूलो विपत्ति हुँदैन र?
गैरविश्वासीहरूले मानिसहरूलाई कसरी हेर्छन्? तिनीहरूले कुनै व्यक्तिलाई भेट्दा, तिनीहरूले सुरुमा उसको रूप र पहिरन हेर्छन्; अरूले बोलेको सुन्दा, तिनीहरू सधैँ उनीहरूसँग ज्ञान छ कि छैन भनेर हेर्न चाहन्छन्। यदि तिनीहरूले तेरो रूप र पहिरन त्यति हेर्न लायक छैन, र तँ त्यति शिक्षित वा ज्ञानी छैनस् भनेर थाहा पाए भने, तिनीहरूले तँलाई खिसी गर्छन्, र तँसँग कुरा गर्दा नियन्त्रण जमाउन चाहन्छन्। म भन्छु, “यदि तँ तर्क गर्न चाहन्छस् भने गर्, तँ बोल्।” म चुप बस्छु; म झुक्छु। म जहाँ गए पनि परमेश्वरको घरका धेरैजसो मानिसहरूले मेरो कुरा सुन्छन्। त्यसकारण, म अरूले बोलेको सुन्ने र अरूलाई अझै बढी बोल्न दिने मौकाहरू खोज्छु—म सबैलाई हृदयबाट बोल्न लगाउने, र आफ्ना भित्री कठिनाइहरू, र आफ्नो ज्ञानको बारेमा कुरा गर्न लगाउने प्रयास गरिरहेको हुन्छु। मैले सुन्दै गर्दा, म केही विचलनहरू सुन्छु। म तिनीहरूका केही समस्या र कमीकमजोरीहरू सुन्छु, जस्तै तिनीहरू हिँड्ने मार्गमा के-कस्ता समस्याहरू आएका छन्, र मण्डलीको कुन क्षेत्रमा राम्रोसँग काम गरिएको छैन, त्यसमा के-कस्ता समस्याहरू बाँकी छन्, र तिनलाई समाधान गर्न आवश्यक छ कि छैन। म यी कुराहरू सुन्नमा ध्यान केन्द्रित गर्छु। यदि हामी कुनै विषयमा छलफल गरिरहेका छौँ भने—उदाहरणका लागि, यदि मैले कप कागज हो भनेर भनेँ, र तैँले यो प्लास्टिक हो भनेर जिद्दी गरिस् भने, म यसो भन्नेछु, “ठीक छ। तँ सही छस्।” म तँसित विवाद गर्दिनँ। कतिपय मानिसहरूले सोच्छन्, “यदि तपाईं सही हुनुहुन्छ भने, तपाईं किन तर्क गर्नुहुन्न?” यो विषयमा निर्भर हुन्छ। यदि यो सत्यतासँग सम्बन्धित कुरा हो भने, तिमीहरूले मेरो कुरा सुन्नु नै सही हुन्छ; यदि त्यो कुनै बाहिरी मामला हो भने, तिमीहरूले जे भने पनि, म त्यसमा संलग्न हुनेछैनँ—त्यस्ता कुराहरूसँग मेरो कुनै सम्बन्ध छैन। त्यस्ता कुराहरूका बारेमा तर्क गर्नुको कुनै अर्थ हुँदैन। कतिपय मानिसहरू हुन्छन् जो राज्यका निश्चित मामलाहरूका बारेमा छलफल गर्छन्। म तिनीहरूलाई यसो भन्छु, “मैले बुझे अनुसार, कुरा यस्तो हो।” म सुरुमा “मैले बुझे अनुसार” भन्ने वाक्यांश थप्छु; यसमा अलिकति आत्म-सचेतना हुन्छ। म मामलालाई चित्रण गर्नका लागि आफूलाई थाहा भएको एउटा तथ्य प्रस्तुत गर्छु, र भन्छु, “अहिलेको परिस्थिति यस्तो छ, तर यदि कुनै विशेष परिस्थितिहरू छन् भने, तिनका बारेमा मलाई थाहा छैन।” त्यस्तो तथ्यको आधारमा यस मामलालाई मूल्याङ्कन गर्न मैले गर्न सक्ने यति नै हो, तर मैले कति जानेको छु भनेर देखाउन खोजेको होइन। म त तिनीहरूलाई सन्दर्भको रूपमा थोरै जानकारी मात्र दिइरहेको हुन्छु—मैले तिनीहरूको भन्दा उच्च स्थान लिन र तिनीहरूलाई दमन गर्न खोजेको होइन, र म कति प्रतिभाशाली छु, म सबै कुरा जान्दछु, तिनीहरूलाई केही पनि थाहा छैन भन्ने कुरा देखाउन खोजेको होइन। त्यो मेरो दृष्टिकोण होइन। कतिपय मानिसहरूले मसँग कुराकानी गरिरहँदा, म तिनीहरूलाई थाहा नभएको केही जानकारी उल्लेख गर्छु, र तिनीहरूले भन्छन्, “तपाईं घर भित्रै दिन कटाउनुहुन्छ—तपाईंलाई के थाहा छ?” तिनीहरूलाई त्यो जानकारी थाहा हुँदैन, तैपनि तिनीहरू यसको बारेमा मसँग बहस र लडाइँ गर्न चाहन्छन्। म भन्छु, “ठीक भनिस्। म बाहिर जाँदिनँ, तर मलाई यो कुराचाहिँ थाहा छ। मैले तँलाई यसको बारेमा भनेको मात्रै हुँ, त्यति हो—विश्वास गर् कि नगर्।” त्यसमा बहस गर्नुपर्ने कुरा के छ र? यस्तो कुराको बारेमा बहस गर्नु एउटा स्वभाव हो। कतिपय मानिसहरू त कुनै बाहिरी मामलामा यसो भन्दै श्रेष्ठताका लागि प्रतिस्पर्धा समेत गर्न चाहन्छन्: “तपाईंलाई यसको बारेमा कसरी थाहा भयो? मलाई यसको बारेमा किन थाहा भएन? किन तपाईंले यसको हरेक पक्षबारे कुरा गर्न सक्नुहुन्छ, तर मैले सक्दिनँ?” उदाहरणका लागि, म यसो भन्छु, “यहाँ बसेका वर्षहरूमा, मैले मौसमको बारेमा एउटा विशेष कुरा पत्ता लगाएको छु: यो ठाउँ धेरै आर्द्र छ।” यो मैले लामो समयसम्म यो ठाउँमा बसेपछि बुझेको कुरा हो—यो एउटा तथ्य हो। तैपनि कतिपय मानिसहरूले यो कुरा सुनेपछि यसो भन्छन्, “के परिस्थिति साँच्चै यस्तै छ? त्यसोभए मैले किन आर्द्रता महसुस गरेको छैनँ त?” तैँले आर्द्रता महसुस गरेको छैनस् भन्दैमा, आर्द्रता छैन भन्ने हुँदैन। तैँले आफ्नो अनुभूतिको भरमा मात्र कुरा गर्न मिल्दैन—तैँले तथ्याङ्क अनुसार कुरा गर्नुपर्छ। दैनिक मौसम पूर्वानुमानहरूले विस्तृत रूपमा बताउँछन्, र ती कुरा पर्याप्त मात्रामा हेरेपछि, तैँले यहाँ वास्तवमा आर्द्रता छ भनेर थाहा पाउनेछस्। यो मैले कल्पना गरेको कुरा होइन, र मैले अनुभूतिको आधारमा कुरा गरिरहेको छैन। किन? छायाँ पर्ने पर्खालका कुनाहरूमा वर्षैभरि सधैँ लेउ लागेको हुन्छ; वसन्त याममा, कतिपय ठाउँमा कसैले हिँड्ने आँट नै गर्दैन, ती ठाउँ अति चिप्ला हुन्छन्। यो बुझाइ आफैले अनुभव गरेर, आफ्नै आँखाले देखेर, र व्यक्तिगत रूपमा महसुस गरेर आएको हो। यसरी कुरा गर्नु तथ्यहरूको विरुद्धमा जानु होइन, हो त? तर कतिपय मानिसहरूले मसँग बोल्दा मलाई यी कुराहरूका बारेमा चुनौती दिन्छन्—म यहाँ आर्द्रता छ भनेर भन्छु, र तिनीहरूले छैन मात्र भन्छन्। के यिनीहरू अलमल्ल मानिस होइनन् र? (हुन् नि।) कतिपय अभिव्यक्तिहरू वास्तविकताको आधारमा बोलिएका हुन्छन्, किनभने ती अनुभवबाट आएका हुन्छन्, यतिकै कल्पना गरेर भनिएका हुँदैनन्। म किन ती कल्पना होइनन् भनेर भन्छु? किनभने उसले प्रस्ट रूपमा, राम्ररी, र व्यवस्थित रूपमा विवरणहरू प्रस्तुत गर्छ, र जब व्यक्तिले ती अभिव्यक्तिहरूमा चर्चा गरिएको कुरा देख्छ र अनुभव गर्छ, तब त्यो भनिएको कुरासँग ठ्याक्कै मिल्छ। के त्यो अवस्थामा ती अभिव्यक्तिहरू सही हुँदैनन् र? (हुन्छन्।) तैपनि यी सही अभिव्यक्तिहरू भए पनि, कतिपय मानिसहरू हुन्छन् जो सधैँ विवाद गर्छन् र मसँग यसरी तर्क गर्छन्। तिनीहरूले केका लागि तर्क गरिरहेका हुन्छन्? के यो घातक लडाइँ हो? के तिनीहरू आफ्नो ज्यानका लागि लडाइँ गरिरहेका हुन्छन्? तिनीहरू त्यसका लागि तर्क गरिरहेका हुँदैनन्, कसले बढी जानेको छ भनेर प्रतिस्पर्धा गर्न मात्र चाहन्छन्। तिनीहरूलाई तर्क गर्न मात्र मनपर्छ—यो एउटा स्वभाव हो। तिमीहरूको विचारमा त्यस्ता मानिसहरूलाई कस्तो व्यवहार गर्नुपर्छ? के तैँले रिसले आगो भइञ्जेल तिनीहरूको खुलासा गर्नु, र तिनीहरूसँग तर्क गर्नु आवश्यक छ? (छैन।) त्यस्ता अज्ञानी मानिसहरूसँग तर्क गर्नुको कुनै अर्थ हुँदैन। यो बदनाम हुने काम हो। तिनीहरूलाई छोडिदेओ। के त्यो नै पर्याप्त हुँदैन र? त्यस्ता मूर्ख र अविवेकी मानिसहरूसँग तर्क गरेर के फाइदा हुन्छ? यदि कसैले सत्यतासँग सम्बन्धित कुनै विषय नबुझेकोले तर्क वा बहस भयो भने, ठिक छ—तर के यी बाहिरी मामलाहरूका बारेमा तर्क गर्नु अबुझ कार्य होइन र? ख्रीष्टविरोधीहरूको स्वभाव मुख्य रूपमा सत्यतालाई नस्विकार्ने, अहङ्कारी र आत्मधर्मी हुने, सत्यताप्रति वितृष्ण हुने हो। ख्रीष्टविरोधीहरूले कुनै पनि सही शब्दहरू, वा तथ्यहरूसँग मेल खाने टिप्पणी र भनाइहरूलाई समेत स्विकार्दैनन्, अनि तिनीहरूले ती कुराहरू अनुसन्धान गर्नेछन्, र तिनका बारेमा तँसँग विवाद र तर्क गर्नेछन्—अनि सत्यताको कुरा त परै जाओस्। के त्यो स्वभाव होइन र? (हो।) यो कस्तो स्वभाव हो? अहङ्कार। तिनीहरूको तात्पर्य के हो भने, “तिमीले थोरै मात्र सत्यता बुझेका छौ, होइन र? तिमी बाहिरी मामलाहरू बुझ्दैनौ, त्यसकारण तिमीले तिनका बारेमा मेरो कुरा सुन्नु सही हुनेछ! मुख नबजाऊ—मलाई साँच्चै लाटो रिस उठ्छ। यी बाहिरी मामलाहरू सम्हाल्ने काम तिम्रो होइन। तिमीले सत्यता बोलेर आफ्ना जिम्मेवारीहरू पूरा गर्दा, म तिम्रो कुरा सुनुँला—तर यी बाहिरी मामलाहरूका बारेमा कुरा गर्न छोड। चुप लाग, किन चुप लाग्दैनौ! तिमीले यी मामलाहरू कहिल्यै सामना गरेका छैनौ भने तिमीलाई के थाहा छ? तिमीले मेरो कुरा सुन्नुपर्छ!” हरेक कुरामा, तिनीहरूले मानिसहरूलाई आफ्नो कुरा सुन्न लगाउँछन्। तिनीहरूले को हो भनेर समेत नहेरी सबैलाई विजय गर्न चाहन्छन्। त्यो कस्तो स्वभाव हो? के त्यसमा कुनै समझ हुन्छ? (हुँदैन।)
ल भन्, मसँग मिलेर बस्नु सजिलो छ कि गाह्रो छ? (सजिलो।) तँलाई कसरी थाहा भयो? तँ किन यो सजिलो छ भनेर भन्छस्? म तिमीहरूलाई भन्नेछु, र आफ्नो बारेमा मैले दिएको व्याख्या सही र सटीक छ कि छैन भन्ने कुरा तिमीहरूले देख्न सक्छौ। पहिलो, मेरो चेतना सामान्य छ। यो सामान्यतालाई कसरी व्याख्या गर्न सकिन्छ? यसको अर्थ मसँग सबै मामलाहरूका सम्बन्धमा सही मापदण्ड र सही दृष्टिकोण छ। त्यसरी, के हरप्रकारको कुराका सम्बन्धमा मेरा दृष्टिकोण र अभिव्यक्तिहरू, र हरप्रकारको कुराप्रतिको मेरो मनोवृत्ति सबै सामान्य छैनन् र? (छन्।) ती सामान्य छन्—कम्तीमा पनि, ती सामान्य मानवताको मापदण्ड अनुरूप छन्। दोस्रो, सत्यताले मलाई ठीक ठाउँमा राख्छ। सामान्य चेतनामा कम्तीमा पनि यी दुई वटा कुराहरू हुन्छन्। अनि यसको अर्को पक्ष पनि छ: तिमीहरूले मसँग मिलेर बस्न सजिलो देख्नुको कारण के हो भने मसँग सही मापन छ र मलाई हरप्रकारका मानिसहरूको स्तर थाहा छ। मसँग अगुवा र साधारण दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी व्यवहार गर्ने, वृद्ध र सानालाई कसरी व्यवहार गर्ने, शान देखाउन खोज्ने अहङ्कारी मानिसहरूलाई कसरी व्यवहार गर्ने, र आत्मिक बुझाइ भएका र नभएका मानिसहरूलाई कसरी व्यवहार गर्ने, आदि कुराहरूका बारेमा हरप्रकारको व्यक्तिका लागि सही मापन, तरिका र माध्यमहरू छन्। मुख्य रूपमा यो सही मापन, साथै यी तरिका र माध्यमहरू के-के हुन्? ती सत्यता सिद्धान्तहरू अनुसार चल्नु र जथाभाबी रूपमा काम नगर्नु हो। उदाहरणका लागि, मानौँ, मैले तँलाई विश्वविद्यालयको विद्यार्थी भएकोमा सम्मान गर्नुपर्यो, वा तँलाई किसान भएकोमा हेप्नुपर्यो रे—ती सिद्धान्तहरू होइनन्। त्यसोभए, मैले यी सिद्धान्तहरूलाई कसरी बोध गर्ने? व्यक्तिको क्षमता र मानवता, उसले पूरा गर्ने कर्तव्य, परमेश्वरमाथिको उसको आस्था, र सत्यताप्रतिको उसको मनोवृत्तिलाई हेरेर। म मानिसहरूलाई यी विभिन्न पक्षहरूको संयोजनका आधारमा मूल्याङ्कन गर्छु। तिमीहरूले मसँग मिलेर बस्न सजिलो देख्नुको अर्को कारण पनि छ, जुन कुराको बारेमा सायद धेरै मानिसहरूले धारणाहरू बोकेका हुन्छन् र त्यसलाई स्विकार्न सक्दैनन्। तिनीहरूले सोच्छन्, “तपाईँसँग हैसियत छ, तर तपाईँ किन हैसियत भएको व्यक्ति जस्तो देखिनुहुन्न? तपाईँ आफ्नो हैसियत प्रदर्शन गर्नुहुन्न; तपाईँ आफूलाई उच्च र शक्तिशाली देखाउनुहुन्न। मानिसहरूले मनमा तपाईँलाई आदरभावले हेर्नुपर्छ भन्ने सोच्छन्—तर किन हो कि मानिसहरूले तपाईँलाई देख्दा, उनीहरूले तपाईँलाई समान स्तरबाट हेर्न वा हेयको दृष्टिले हेर्न उचित मान्छन्?” त्यसकारण, तिनीहरूले मसँग मिलेर बस्न सजिलो छ भन्ने सोच्छन्, र तिनीहरू ढुक्क हुन्छन्। कुरा त्यही होइन र? त्यही हो। परिणामस्वरूप तिनीहरूले मलाई डर मान्नुपर्ने व्यक्ति होइन, र मसँग यसरी मिलेर बस्नु राम्रो कुरा हो भन्ने सोच्छन्। ल भन, यदि मैले तिमीहरूलाई हरेक मोडमा दमन गर्ने, र कुनै ठीक कारणविना काटछाँट गर्ने, र कठोर अनुहार लाएर दिनभरि तिमीहरूलाई हप्काउने र भाषण दिने हो भने, के परिस्थितिहरू फरक हुनेथिएनन् र? तिमीहरूले यस्तो सोच्नेथियौ, “तपाईँको अनौठो व्यक्तित्व र छिनछिनमा परिवर्तन हुने मुडका कारण तपाईँसँग मिलेर बस्न अत्यन्तै गाह्रो छ!” त्यसपछि मसँग मिलेर बस्न सजिलो हुनेथिएन। ठ्याक्कै भन्नुपर्दा, मेरा सबै पक्षहरूमा, मेरो व्यक्तित्वमा, मेरो आनन्द र रिसमा, मेरो दुःख र खुसीमा म तिमीहरूका लागि सामान्य देखिने हुनाले, साथै कल्पनामा तिमीहरूले प्रतिष्ठा र उच्च हैसियत भएका मानिसहरू उच्च र प्रभावशाली हुनुपर्छ भन्ठान्ने, तर अहिले तिमीहरूले देख्ने म अत्यन्तै साधारण भएको हुनाले नै तिमीहरू सावधान हुन छाड्छौ र मसँग मिलेर बस्न सजिलो भएको अनुभूति गर्छौ। यसको साथै, के तिमीहरूलाई मैले बोल्दा शासकवर्गको भाषा प्रयोग गर्छु भन्ने लाग्छ? (लाग्दैन।) म त्यस्तो भाषा प्रयोग गर्दिनँ—तिमीहरूले नबुझेका कुराहरूमा म तिमीहरूलाई सकेसम्म मदत गर्छु, र म बिरलै तिमीहरूको मजाक उडाउँछु। म किन बिरलै त्यसो गर्छु? कहिलेकहीँ मलाई निकै रिस उठ्छ र म केही शब्दहरू बोलेर तिमीहरूको मजाक नउडाई बस्न सक्दिनँ, तर मैले तिमीहरू कमजोर बन्न सक्छौ भन्ने कुरालाई पनि विचार गर्नुपर्छ, त्यसकारण म तिमीहरूसँग त्यसरी सकेसम्म कम बोल्छु। बरु, म सहनशील, क्षमाशील, र धैर्यवान् छु। म तिमीहरूलाई सकेसम्म र जहाँ सकिन्छ मदत गर्छु, र म तिमीहरूलाई जे-जति सिकाउन सकिन्छ त्यो सिकाउँछु—धेरैजसो परिस्थितिहरूमा म यही गर्छु। किन? किनभने अधिकांश मानिसहरूमा परमेश्वरको गवाही दिने र सत्यता बुझ्ने मामलाहरूमा सबैभन्दा धेरै कमी हुन्छ—तर खाने, पिउने, र रमाउने, वा लुगा लगाउने र मेकअप गर्ने, वा खेल खेल्ने, वा यस्ता जुनसुकै सांसारिक मामलाहरूका बारेमा मानिसहरूलाई सबै थाहा हुन्छ। अर्कोतर्फ, परमेश्वरमाथिको विश्वासका मामलाहरू, र सत्यतासँग सम्बन्धित मामलाहरूका सम्बन्धमा, मानिसहरू अज्ञानी हुन्छन्; जब परमेश्वरको गवाही दिने, साथै आफ्नो व्यावसायिक सीप, सामर्थ्य, र वरदान प्रयोग गरेर परमेश्वरको गवाही दिने गरी केही काम गर्ने, र परमेश्वरको गवाही दिने केही काम सिर्जना गर्ने कुरामा, भन्नका लागि तिनीहरूसँग केही हुँदैन। त्यस्तो परिस्थिति देख्दा मैले के गर्ने? मैले तिमीहरूलाई सिकाउनुपर्छ, अलिअलि गरेर मार्गदर्शन गर्नुपर्छ, र सके जति राम्रो सिकाउनुपर्छ। म आफूले बुझेका, जानेका, र गर्न सक्ने कुराहरू छनौट गर्छु, र काम नसकिएसम्म म तिमीहरूलाई सिकाउँदै रहन्छु। म तिमीहरूलाई आफूले सक्ने जति सबै सिकाउँछु। जसको क्षमता कमजोर छ र जसलाई सिकाउन सकिँदैन, तिमीहरूले जेजति सक्छौ त्यति बुझ र परिस्थितिलाई आफ्नै लयमा चल्न देऊ—म तँलाई जबरजस्ती गर्दिनँ। अन्तिममा, कतिपय मानिसहरूले यसो भन्छन्, “कुनै पेसालाई बुझेका हामीहरूमाथि भुइँमान्छेले विजय हासिल गरेको छ। यो क्षेत्रमा ज्ञान भएका हामीहरूले केही पनि पूरा गर्न सकेका छैनौँ, अनि कुनै पनि कामकुरा पूरा गर्नका लागि हामीलाई अझै पनि यो भुइँमान्छेको सिकाइ र मदत आवश्यक पर्छ—यो अत्यन्तै अपमानजनक कुरा हो!” वास्तवमा, यो अपमानजनक कुरा होइन, किनभने आफ्नो विश्वासमा परमेश्वरको गवाही दिनु सत्यतासँग सम्बन्धित कुरा हो, र सत्यता भनेको मानवजातिका लागि अपरिचित भूगोल हो। कुनै पनि भ्रष्ट मानवले जन्मिँदै सत्यता बुझेको हुँदैन; मानिसहरूलाई सिद्ध पार्ने परमेश्वरको व्यक्तिगत काममार्फत मात्र तिनीहरूले सत्यता बुझ्न सक्छन्। यदि मानिसहरू जन्मिँदै परमेश्वरको गवाही दिन सक्षम हुन्थे भने, कसैले पनि उहाँको विरोध गर्ने थिएन! मानिसहरू शैतानको कुलका हुने र तिनीहरूसँग परमेश्वरप्रति शत्रुवत् प्रकृति सार हुने भएकाले तिनीहरू सत्यता र परमेश्वरको गवाहीसँग सम्बन्धित कुराहरू गर्न सक्दैनन्। त्यसोभए, मानिसहरूले के गर्नुपर्छ? तिनीहरूले आफूले गर्न सक्ने कुरा गर्नका लागि सबैभन्दा बढी मेहनत लगाए पुग्छ। यदि मसँग सहयोग र मार्गदर्शन प्रदान गर्ने ऊर्जा छ भने, म सहयोग गर्छु। यदि मसँग ऊर्जा छैन, वा म अरू कामकुरामा व्यस्त भएँ र मैले समय मिलाउन सकिनँ भने, तिमीहरूले जे सक्छौ त्यही गर। त्यो सिद्धान्तहरू अनुरूप हुन्छ, होइन र? एउटै मात्र तरिका यही हो। म जबरजस्ती तँलाई आफ्नो क्षमताभन्दा बाहिरको काम गराउँदिनँ। यसो गर्नु बेकार छ—त्यसो गर्नै मिल्दैन। अन्त्यमा, मानिसहरूले सोच्छन्: “तपाईंसँग मिलेर बस्न निकै सजिलो छ, र तपाईंका मापदण्डहरू हासिल गर्न सजिला छन्। तपाईंले हामीलाई के गर्नुपर्ने हो भन्नुहोस्, हामी तपाईंले भनेजस्तै गर्नेछौँ।” कतिपय मानिसहरू कहिलेकहीँ काटछाँटमा पर्न सक्छन्। तिनीहरूमध्ये धेरैजसो त्यसबाट सही बुझाइ लिएर निस्कन्छन्। एक-दुई जना मानिसहरूले आफ्नो काम छोड्छन्, र एक-दुई जनाले गोप्य रूपमा बाधाहरू निम्त्याउँछन्, आफ्नो कर्तव्य पूरा गर्न मेहनत गर्दैनन्, र वास्तविक काम गर्दैनन्। त्यसपछि त्यस्ता मानिसहरूलाई बर्खास्त गरिन्छ। यदि तँ काम गर्न इच्छुक छैनस् भने, छोड्। यसका लागि प्रयोग गरिने व्यक्ति तँ नै किन हुनुपर्छ र? हामी तँलाई प्रतिस्थापन गर्नेछौँ—गर्नुपर्ने त्यति मात्र हो। कुरा सजिलो छ, होइन र? यदि भविष्यमा, ती मानिसहरूले पश्चात्ताप गरे, तिनीहरू परिवर्तन भए, र तिनीहरूले आफ्नो काम राम्ररी गरे भने, तिनीहरूलाई अर्को मौका दिइनेछ—र यदि तिनीहरूले अझै पनि त्यसरी नै बाधा र अवरोधहरू ल्याए भने, तिनीहरूलाई फेरि कहिल्यै प्रयोग गरिनेछैन। मैले आज्ञाकारी व्यक्तिलाई प्रयोग गर्नु नै राम्रो हुन्छ। सधैँ त्यस्ता मानिसहरूको झमेलामा पर्नुको के फाइदा? होइन र? त्यो तिनीहरूका लागि गाह्रो र मेरो लागि थकाइलाग्दो हुनेछ। मसँग यी कुराहरूलाई सम्हाल्न अरूसँग कसरी मिलेर बस्ने भन्ने बारेमा पनि सिद्धान्तहरू छन्। मसँग मिलेर बस्न सजिलो हुनुको अर्को कारण के हो भने, मानिसहरूसँग मिलेर बस्दा, म कहिल्यै तिनीहरूलाई धेरै कठिन मागहरू पूरा गर्न बाध्य पार्दिनँ। तैँले जे गर्न सक्छस् त्यो गर्; तैँले जुन कामहरू गर्न सक्दैनस्, म तँलाई एक-एक गरी बुझाउनेछु। तैँले आफ्नो सारा हृदयले जे गर्न सक्छस्, त्यो गर्; यदि तैँले मन लगाएर त्यो काम गर्दैनस् भने, म तँलाई जबरजस्ती गर्नेछैन। बाँकी कुरा, अर्थात्, तैँले परमेश्वरमा कसरी विश्वास गर्छस् भन्ने कुरा तेरो आफ्नै मामला हो। यदि तैँले अन्तमा केही हासिल गरिनस् भने, तैँले कसैलाई दोष दिन पाउनेछैनस्। मानिसहरूलाई कसरी व्यवहार गर्ने भन्ने सम्बन्धी मेरा सिद्धान्तहरूबारे तँलाई के लाग्छ? के तँलाई ती अत्यधिक उदार छन् जस्तो लाग्छ? त्यस्तो पटक्कै होइन—मैले यसलाई सम्हाल्ने तरिका पूर्ण रूपमा सिद्धान्तहरू अनुरूप छ। ती कस्ता सिद्धान्तहरू हुन्? मेरो कुरा सुन्यौ भने तिमीहरूले बुझ्नेछौ।
म, देहधारी परमेश्वर, मानवताभित्रै रहेर काम गर्छु—के मैले काम गर्दा पवित्र आत्मा वा परमेश्वरको आत्मालाई पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्छु? अहँ, सक्दिनँ। त्यसकारण, म स्वर्गमा परमेश्वरलाई प्रतिस्थापन गरेर उहाँको सबै काम गर्न चाहन्छु भनेर आफ्नो सीमाभन्दा बाहिर जाने कोसिस गर्दिनँ। त्यो त म आफैलाई ठूलो बनाउनु हो—म त्यसो गर्न सक्दिनँ। म त एउटा साधारण व्यक्ति हुँ। म जे गर्न सक्छु, त्यही गर्छु। मैले सक्ने जति काम राम्ररी गर्छु; म त्यो पूरा गर्छु, र उचित रूपमा गर्छु। म आफ्नो हृदय र सारा शक्ति यही गर्नमा लगाउँछु। त्यति भए पुग्छ। मेरो हातमा पर्ने काम त्यही हो। तर यदि मैले यो कुरा बुझ्न सकिनँ, यो तथ्यलाई अवज्ञा गरेँ, र यसलाई स्विकारिनँ, बरु सधैँ महान् भएको बहाना गर्न खोजेँ, सधैँ चम्कने प्रयास गरेँ, सधैँ केही अविश्वसनीय सीप देखाउने प्रयास गरेँ भने, के त्यो सिद्धान्तहरू अनुरूप हुनेछ? हुनेछैन। के तिमीहरूलाई मैले यो कुरा बुझेको छु भन्ने लाग्छ? बुझेको छु, एकदम राम्ररी बुझेको छु! परमेश्वरको देहले के भन्न सक्नुहुन्छ र देहले के काम गर्न सक्नुहुन्छ भन्ने कुराको दायरा उहाँले देहमा गर्नुहुने कामको दायरा हो। यस दायराभन्दा बाहिर, मानिसहरूले व्यक्तिगत रूपमा परमेश्वरको ताडना र काटछाँट, र पवित्र आत्माको अन्तर्दृष्टि र मार्गदर्शन अनुभव गर्नु, साथै परमेश्वरले दर्शनहरू दिनु, र परमेश्वरले कसलाई सिद्ध पार्नुहुन्छ र कसलाई हटाउनुहुन्छ, र सबै मानिसहरूका सम्बन्धमा परमेश्वरको दृष्टिकोण र मनोवृत्ति कस्तो छ—यी सबै कुराहरू परमेश्वरका मामला हुन्। यदि तिमीहरू मेरो निकट सम्पर्कमा छौ भने, म पनि यी कुराहरू देख्न सक्छु—तर मैले जसरी हेरे पनि, तीमध्ये कति देख्न सक्छु र? मैले देख्न सक्ने मानिसहरूको सङ्ख्या, र मेरो सम्पर्कमा आउने मानिसहरूको सङ्ख्याको सीमा हुन्छ—यसले हरेक व्यक्तिलाई कसरी समेट्न सक्ला? त्यो असम्भव हुनेछ। के तँ यस मामलामा स्पष्ट हुनु पर्दैन र? ल भन् त, के म यस मामलामा स्पष्ट छु? स्पष्ट छु। एउटा सामान्य व्यक्तिले गर्नुपर्ने नै यही हो। म आफूले गर्नु नपर्ने कामकुराका बारेमा सोच्दिनँ। के मानिसहरूले यसो गर्न सक्छन्? सक्दैनन्—तिनीहरूमा त्यो चेतनाको कमी हुन्छ। कतिपय मानिसहरूले मलाई सोध्छन्, “के तपाईंले सधैँ गोप्य रूपमा कुराहरू जाँच गरिरहनुभएको हुँदैन र? के तपाईंले सधैँ कसले के गरिरहेको छ र तिनीहरूले तपाईंको बारेमा गोप्य रूपमा के-कस्ता खराब कुराहरू गरिरहेका छन्, वा कसले लुकेर तपाईंको आलोचना गरिरहेको छ र तपाईंको बारेमा अनुसन्धान गरिरहेको छ भन्ने बारेमा सोधपुछ गरिरहनुभएको हुँदैन र?” म तँलाई साँचो कुरा भन्छु: मैले ती कुराहरूका बारेमा कहिल्यै सोधपुछ गरेको छैन। ती कुराहरूको प्रभारी को हो? परमेश्वरको आत्मा हुनुहुन्छ—परमेश्वरले सबै कुरा छानबिन गर्नुहुन्छ; उहाँले सारा पृथ्वी छानबिन गर्नुहुन्छ र मानिसहरूको हृदय छानबिन गर्नुहुन्छ। यदि तँ परमेश्वरको छानबिनमा विश्वास गर्दैनस् भने, के तेरो समझ असामान्य छैन र? (हो, छ।) त्यसोभए तँ परमेश्वरमा साँचो रूपमा विश्वास गर्ने व्यक्ति होइनस्, तैँले गलत अडान लिइरहेको छस्, र एउटा ठूलो समस्या देखा परेको छ। म तिमीहरूलाई परमेश्वरमा विश्वास गर्न लगाउँछु, र म यसमा पूर्ण रूपमा विश्वास गर्छु। त्यसकारण, मेरा वचन र कार्यहरू यही जगमा निर्माण भएका हुन्छन्। म मेरो सीमाभन्दा बाहिरका कामकुरा गर्दिनँ; म मेरा क्षमताहरूको दायराभन्दा बाहिरका कामकुरा गर्दिनँ। के त्यो स्वभाव होइन र? (हो।) कतिपय मानिसहरूले यसलाई त्यसरी हेर्दैनन्। तिनीहरूले मसँग यो पहिचान, यो हैसियत, र यो शक्ति छ भन्ठान्छन्, त्यसकारण तिनीहरू मैले किन त्यस्तो व्यवहार नगरेको भनेर जान्न चाहन्छन्। तिनीहरूले सोच्छन् कि मैले अझै धेरै कुरा बुझ्नुपर्छ, र अझै धेरै कुरा बोध गर्नुपर्छ, ताकि मसँग अझै धेरै प्रतिष्ठा, अझै ठूलो हैसियत, अझै बढी शक्ति, र अझै बढी अख्तियार छ जस्तो देखियोस्। परमेश्वरले मलाई जति धेरै अख्तियार र शक्ति दिनुहुन्छ, मसँग त्यति नै हुने हो। यी कुराहरू मैले सङ्घर्ष गरेर वा खोसेर पाउने होइन। परमेश्वरको अख्तियार, उहाँको शक्ति, र उहाँको सर्वशक्तिमान्ता कुनै मामुली देहले प्रतिनिधित्व गर्न सक्ने कुराहरू होइनन्। यदि तँ त्यसबारे स्पष्ट छैनस् भने, तेरो समझमा केही गडबड छ। यदि तैँले परमेश्वरमा विश्वास गरेको धेरै वर्षपछि पनि यस कुरालाई खुट्ट्याउन सक्दैनस् भने, तँ अत्यन्तै मूर्ख र अज्ञानी छस्। त्यस्ता धेरै कुराहरू छन् जसका बारेमा म सोध्दिनँ—तर के मलाई हृदयमा तिनका बारेमा थाहा हुन्छ? (हुन्छ।) मलाई के थाहा हुन्छ? के मलाई सबैको नाम थाहा हुन्छ? के मलाई हरेक व्यक्तिले परमेश्वरमा विश्वास गरेको कति वर्ष भयो भनेर थाहा हुन्छ? मैले ती कुराहरू जान्नु आवश्यक छैन। मैले हरेकको स्थिति कस्तो छ, हरव्यक्तिमा के कुराको कमी छ, तिनीहरूले कुन हदसम्म जीवन प्रवेश प्राप्त गरेका छन्, साथै सबैले के-कस्ता सत्यताहरू सुन्नुपर्छ, र तिनीहरूलाई के-कस्ता सत्यताहरूद्वारा मलजल गर्नुपर्छ, र के-कस्ता सत्यताहरू प्रदान गर्नुपर्छ भन्ने कुरा जाने पुग्छ। यी कुराहरू जान्नु नै पर्याप्त छ। मेरो भागमा पर्ने कुरा यही होइन र? मेरो भागमा के पर्छ—मैले के भन्नुपर्छ र मैले के काम गर्नुपर्छ भनेर जान्नु—के त्यो चेतना होइन र? (हो।) त्यस्तो चेतना कसरी आउँछ? यदि देहधारी परमेश्वरमा यो चेतना समेत थिएन, यदि उहाँसँग यावत् थोक र यावत् घटनाहरू मापन गर्ने मापदण्ड समेत थिएन भने, त्यसपछि बोल्नलाई उहाँसँग कुन सत्यता हुन्थ्यो र? यदि देहधारी परमेश्वरले परमेश्वरका आत्मासँग लडाइँ गर्नुभयो र हैसियतका लागि उहाँसँग प्रतिस्पर्धा गर्नुभयो भने, केही गडबड भएको हुनेथिएन र? के त्यो गलत हुनेथिएन र? के परिस्थिति त्यस्तो हुन सक्थ्यो? हुन्थेन—त्यो कहिल्यै हुन नसक्ने कुरा हो।
कतिपय मानिसहरू सधैँ चिन्ता लिएर यसो भन्छन्, “के तपाईंले सधैँ हाम्रो बारेमा सोधपुछ गरिरहनुभएको र सधैँ गोप्य रूपमा हाम्रो बारेमा अनुसन्धान गरिरहनुभएको हुन्छ? के परमेश्वरले सधैँ हामीले उहाँको बारेमा के सोच्छौँ र हामीले हृदयमा उहाँलाई कसरी हेर्छौँ भनेर बुझ्ने प्रयास गरिरहनुभएको हुन्छ?” म त्यस्ता कुराहरूका बारेमा सोच्दिनँ। ती वाहियात कुरा हुन्! ती कुराहरूका बारेमा सोचेर के फाइदा हुन्छ र? यो सबै परमेश्वरको छानबिनभित्र पर्छ। परमेश्वरका आत्माका कार्यहरूको दायरा हुन्छ, र देहधारी परमेश्वरका कार्यहरूको त अझ बढी हुन्छ। देहधारी परमेश्वर नै परमेश्वर हुनुहुन्छ, उहाँ सत्यताको निकास र अभिव्यक्ति हुनुहुन्छ, र उहाँले यस चरणमा गर्नुहुने कामले यो चरणको प्रतिनिधित्व गर्छ, अघिल्लो चरणको होइन। देहधारी परमेश्वरले यो अवधि र यो क्षेत्रभित्रको काम मात्र गर्न सक्नुहुन्छ। त्यसोभए के यो कामले अर्को चरणको प्रतिनिधित्व गर्न सक्छ? भविष्यमा के होला, त्यो त हामीलाई थाहा हुँदैन। त्यो परमेश्वरको आफ्नै मामिला हो। म हदभन्दा बाहिर जाँदिनँ। म आफूले जे गर्नुपर्ने हो त्यही गर्छु; म आफूले गर्नुपर्ने र गर्न सक्ने कामकुरा गर्छु। म कहिल्यै पनि आफूलाई आफ्नो सीमाभन्दा बाहिर धकेलेर यसो भन्दिनँ, “म सर्वशक्तिमान् छु! म महान् छु!” त्यो परमेश्वरका आत्मा हो; देहधारी परमेश्वरले यो अवधिमा परमेश्वरले गरिरहनुभएको कामको अभिव्यक्ति र माध्यमलाई मात्रै प्रतिनिधित्व गर्नुहुन्छ। उहाँको कार्यक्षेत्र र उहाँले के काम गर्नुपर्छ भन्ने कुरा परमेश्वरले पहिले नै निर्धारित गर्नुभएको छ। यदि तैँले “देहधारी ख्रीष्ट सर्वशक्तिमान् हुनुहुन्छ” भनेर भनिस् भने, तँ सही हुनेथिइस् कि गलत? आधा सही, आधा गलत। परमेश्वरका आत्मा सर्वशक्तिमान् हुनुहुन्छ; ख्रीष्ट सर्वशक्तिमान् हुनुहुन्छ भनेर भन्न सकिँदैन। तैँले परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ भनेर भन्नुपर्छ। त्यो यसलाई व्यक्त गर्ने कुरालाई ठ्याक्कै छुने र सही तरिका हो, र त्यो तथ्यहरूसँग मेल खान्छ। ममा कस्तो चेतना हुनुपर्छ? सबैले मलाई परमेश्वर, परमेश्वर स्वयम्, देहधारी परमेश्वर भनेर भन्छन्, त्यसकारण के मैले परमेश्वर स्वयम् अर्थात् उहाँको आत्माको प्रतिनिधित्व गर्न सक्छु भन्ने विश्वास गर्छु त? म त्यो प्रतिनिधित्व गर्न सक्दिनँ। परमेश्वरले मलाई त्यो शक्ति र क्षमता दिनुभए पनि, म त्यो हासिल गर्न सक्दिनँ। यदि मैले यसरी परमेश्वरको प्रतिनिधित्व गर्न सक्ने भए, के त्यो वस्तुतः उहाँको स्वभाव र सार विरुद्धको एक प्रकारको ईश्वरनिन्दा हुनेथिएन र? देह अत्यन्तै सीमित हुन्छ! यसलाई त्यसरी बुझ्ने होइन; यो विषयलाई त्यो दृष्टिकोणबाट हेर्ने होइन। कुरा त्यही होइन र? (हो।) त्यसकारण, मसँग यी विचारहरू, काम गर्ने यी सिद्धान्तहरू, र हरेक काम गर्ने बारेमा गरिएका विचारहरू भएका हुनाले, धेरै मानिसहरूका नजरमा म परमेश्वर जस्तो देख्दिनँ, र कतिपय मानिसहरू हुन्छन् जसले मेरो सम्पर्कमा आउनुभन्दा पहिले नै केही स्वैरकल्पना, कल्पना, र धारणाहरू बोकेका हुन्छन्, जो आफ्नो व्यवहारमा होसियार र सतर्क हुन्छन्, त्यसपछि मलाई भेट्ने बित्तिकै, तिनीहरूले यस्तो सोच्छन्, “उहाँ त एउटा व्यक्ति मात्र हुनुहुन्छ, होइन र? उहाँमा डरलाग्दो कुरा केही छैन।” यसपछि, तिनीहरूले धक मान्दैनन्—तिनीहरू साहसी बन्छन्, र अनियन्त्रित रूपमा खराब कुराहरू गर्ने दुस्साहस गर्छन्। तिनीहरूलाई के भनिन्छ? अविश्वासी। यदि तैँले परमेश्वरका आत्मामा नभई देहधारी परमेश्वरमा मात्र विश्वास गर्छस् भने, तँ एक अविश्वासी होस्; अनि यदि तैँले देहधारी परमेश्वरमा नभई परमेश्वरका आत्मामा मात्र विश्वास गर्छस् भने पनि, तँ एक अविश्वासी नै होस्। देहधारी परमेश्वर र परमेश्वरका आत्मा एउटै हुनुहुन्छ—उहाँहरू एकै हुनुहुन्छ। उहाँहरू एक-अर्कासँग लडाइँ गर्नुहुन्न, उहाँहरू एक-अर्काबाट अलग हुनु त परको कुरा हो, र उहाँहरूको आ-आफ्नो अलग अस्तित्व हुनु त झन् परको कुरा हो। उहाँहरू एउटै हुनुहुन्छ—मात्र यति हो कि देहधारी परमेश्वरले आफ्नो काम र परमेश्वरलाई देहको दृष्टिकोणबाट हेर्नुपर्छ। त्यो देहको काम हो, र तिमीहरूसँग यसको कुनै सम्बन्ध छैन—यो ख्रीष्टको काम हो, र मानवजातिसँग यसको कुनै सम्बन्ध छैन। तैँले यसो भन्न मिल्दैन, “त्यसोभए तपाईंलाई पनि आफू साधारण व्यक्ति हुँ भन्ने लाग्छ। ठीक छ, त्यसोभए हामी एउटै प्रकारका मानिसहरू हौँ—हामी सबै उस्तै हौँ।” के यसो भन्नु ठीक हुन्छ? यो गल्ती हो। कतिपय मानिसहरूले भन्छन्, “तपाईंसँग मिलेर बस्न निकै सजिलो हुन्छ जस्तो देखिन्छ, त्यसकारण औपचारिकताहरू छोडौँ। एक-अर्कालाई साथी अर्थात् मित्रहरूजस्तै व्यवहार गरौँ; एक-अर्काको विश्वासपात्र बनौँ—हामी एक-अर्काको मित्र बनौँ।” के त्यसो भन्नु ठीक हो? ती मानिसहरूमा आत्मिक बुझाइ हुँदैन; तिनीहरू अविश्वासी हुन्। जति बढी तैँले तिनीहरूसँग आफ्ना भावनाहरू बाँड्छस्, र सत्यता, तथ्यहरू, र सत्यता वास्तविकताका बारेमा कुरा गर्छस्, त्यति नै तिनीहरूले तँलाई हेप्छन्—यी मानिसहरू अविश्वासी हुन्। जति बढी तैँले गहन रहस्यहरूबारे बोल्छस्, र सुत्रवाक्य, धर्मसिद्धान्त, र अमूर्त वाक्यहरू बोल्छस्, साथै जति बढी तैँले आफ्नो हैसियतको दाबी गर्छस्, सान देखाउँछस्, र आफ्नो प्रदर्शन गर्छस्, त्यति नै तिनीहरूले तँलाई सम्मान गर्छन्—यी मानिसहरू अविश्वासी हुन्। जब तिनीहरूले आफ्ना व्यवहारमा सिद्धान्त अनुरूपका र विवेकशील व्यक्तिलाई भेट्छन्, जसले सत्यतासँग मेल खाने कार्यहरू गर्छ, जसले सकारात्मक र नकारात्मक कुराहरूलाई स्पष्ट सीमा र विवेकका साथ हेर्न सक्छ—जति बढी त्यो व्यक्ति यस्तो हुन्छ, तिनीहरूले उसलाई त्यति नै हेला गर्छन्, र उसलाई ध्यान दिनु पनि आवश्यक छैन भन्ने सोच्छन्—यिनीहरू अविश्वासी हुन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।