विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष्‌ प्राप्त गर्ने आशा नहुँदा पछि हट्न चाहन्छन् (खण्ड दुई)

आ. आफ्नो कर्तव्य अह्रावटमा हुने समायोजनप्रति ख्रीष्टविरोधीहरूको व्यवहार

आशिष् प्राप्त गर्ने सन्दर्भमा ख्रीष्टविरोधीहरूमा असाध्यै हठी मनोवृत्ति हुन्छ। तिनीहरू आशिष् पाउने आफ्ना आशयमा कस्‍सिएर चिपिक्कै टाँसिइरहन्छन्, र तिनीहरूलाई काटछाँट गरिँदा, तिनीहरूमा प्रतिरोध जाग्छ, अनि तिनीहरू आफ्नो सारा शक्ति लगाएर यसमा प्रतिवाद गर्ने र आफ्नो बचाउ गर्ने प्रयास गर्छन्। यसबाट, हामी ख्रीष्टविरोधीहरू पटक्कै सत्यता स्विकार्दैनन् भनेर निर्धारित गर्न सक्छौँ। तिनीहरूलाई बर्खास्त गरिँदा वा तिनीहरूको कर्तव्य अह्रावटहरू समायोजित गरिँदा, तिनीहरू आशिष् प्राप्त गर्ने मामिलाबारे असाध्यै संवेदनशील हुन्छन्। तिनीहरू किन त्यसबारे संवेदनशील हुन्छन्? किनभने यस्ता मानिसहरूको हृदय आशिष् प्राप्त गर्ने चाहना र महत्त्वाकाङ्क्षाले भरिएको हुन्छ। तिनीहरू सबै कुरा अरू केहीका निम्ति नभई आशिष् पाउनकै खातिर गर्छन्। जीवनमा तिनीहरूको सबैभन्दा ठूलो इच्छा आशिष् पाउनु नै हुन्छ। त्यसकारण, तिनीहरूलाई बर्खास्त गरिँदा वा तिनीहरूका कर्तव्य अह्रावटहरू समायोजित गरिँदा, तिनीहरूलाई आशिष् पाउने आफ्नो आशा खतम भयो भन्ने लाग्छ, र स्वभावैले तिनीहरू समर्पित हुन मान्दैनन्, अनि आफ्नै पक्षमा तर्क गरिरहन्छन्। तिनीहरू आफ्नै हितको मात्र ख्याल गर्छन्, र परमेश्‍वरको घरको कामको ख्याल गर्दैनन्। उदाहरणका लागि, कतिपय मानिस आफूलाई लेखनमा सिपालु ठान्छन्, त्यसैले तिनीहरू लेखनसँग सम्बन्धित कर्तव्य निर्वाह गर्न जोडतोडले माग गर्छन्। अवश्य नै, परमेश्‍वरको घरले तिनीहरूलाई निराश पार्दैन, परमेश्‍वरको घर प्रतिभावान् व्यक्तिहरूको कदर गर्छ, र मानिसहरूमा जेजस्तो प्रतिभा वा सामर्थ्य भए पनि, परमेश्‍वरको घरले ती सदुपयोग गर्ने ठाउँ दिन्छ, त्यसैले मण्डलीले तिनीहरूका लागि लेखन-पठनको काम गर्ने बन्दोबस्त मिलाउँछ। तर केही समय बितेपछि, तिनीहरूमा यो सिप नभएको र तिनीहरू यो कर्तव्य उचित रूपमा निभाउन असक्षम रहेको वास्तविकता पत्ता लाग्छ; तिनीहरू पूर्ण रूपले अप्रभावकारी हुन्छन्। प्रतिभा र क्षमताअनुसार, तिनीहरू यस काममा पूर्णतया अयोग्य बन्छन्। त्यसैले, यस्ता परिस्थितिमा के गर्नुपर्छ? के तिनीहरूलाई केवल सहेर “तिमीमा लगाव छ र तिमीसँग त्यति प्रतिभा नभए पनि, र औसत क्षमता भए पनि, यदि तिमी इच्छुक छौ र कडा परिश्रम गर्न अरुचि राख्दैनौ भने, परमेश्‍वरको घरले तिमीलाई सहनेछ र यो कर्तव्य जारी राख्न दिनेछ। तिमीले त्यो राम्ररी गरेनौ भने पनि, त्यसले केही फरक पार्दैन। परमेश्‍वरको घरले नदेखेझैँ गर्नेछ, र तिमीलाई प्रतिस्थापित गर्नु आवश्यक पर्दैन” भनेर भन्नु सम्भव छ? के परमेश्‍वरको घरले मामिलाहरू सम्हाल्ने सिद्धान्त यही हो? अवश्यै होइन। यस्ता परिस्थितिमा, सामान्यतया तिनीहरूका लागि तिनीहरूको क्षमता र सामर्थ्यका आधारमा उपयुक्त कर्तव्यहरू बन्दोबस्त गरिन्छ; त्यो यसको एउटा पक्ष हो। तर यसमा मात्र भर पर्नु पर्याप्त हुँदैन, किनभने धेरै मामिलामा मानिसहरू आफैलाई आफू के गर्न योग्य छु भन्ने थाहा हुँदैन, र यदि तिनीहरूलाई आफू त्यसमा राम्रो छु भन्ने लागे पनि, त्यो सही हुन्छ नै भन्ने छैन, त्यसैले तिनीहरूले त्यसमा काम गरेर हेर्नुपर्छ र केही समय तालिम लिनुपर्छ; तिनीहरू प्रभावकारी छन् कि छैनन् भन्ने आधारमा निर्णय गर्नु नै सही कुरा हो। यदि तिनीहरूले केही समय तालिम लिए, तर तिनीहरूले कुनै परिणाम हासिल गरेनन् वा कुनै प्रगति गरेनन्, र तिनीहरूलाई संवर्धन गर्नु बेकार हो भन्ने पुष्टि भयो भने, तिनीहरूको कर्तव्य अह्रावट समायोजित गर्नुपर्छ, र तिनीहरूका लागि उपयुक्त कर्तव्य फेरि बन्दोबस्त गर्नुपर्छ। मानिसहरूको कर्तव्य अह्रावटहरू यसरी पुनः बन्दोबस्त र समायोजित गर्नु उचित हुन्छ, र यो सिद्धान्तअनुरूप कुरा पनि हो। तर कति मानिसहरू परमेश्‍वरको घरका बन्दोबस्तहरू पालना गर्न सक्दैनन्, बरु तिनीहरू सधैँ कर्तव्य निर्वाहमा आफ्ना दैहिक अभिरुचिहरू पछ्याउँछन्। उदाहरणका लागि, मानिलिऊँ कसैले यसो भन्छ, “मेरो सबैभन्दा ठूलो सपना एक साहित्यानुरागी वा पत्रकार बन्नु थियो, तर मेरो पारिवारिक परिस्थिति र अन्य कारणले गर्दा, मैले त्यो सपना पूरा गर्न सकिनँ। तर अहिले म परमेश्‍वरको घरमा लेखन-पठनको काम गर्छु। अन्त्यमा मैले आफूले चाहेको कुरा पाएको छु!” तर उसले सत्यता त्यति राम्ररी बुझेको हुँदैन, ऊसँग त्यति आत्मिक बुझाइ हुँदैन, र ऊ लेखन-पठनको काम गर्न सक्षम हुँदैन, त्यसैले उसले आफ्नो कर्तव्य केही समय निर्वाह गरेपछि उसलाई अर्को कर्तव्यमा खटाइन्छ। ऊ गुनासो गर्छ: “म किन आफूले चाहेको काम गर्नै पाउँदिनँ? मलाई अरू कुनै प्रकारको काम मन पर्दैन!” यहाँ समस्या के हो? परमेश्‍वरको घरले सिद्धान्तअनुसार उसको कर्तव्य अह्रावट समायोजित गर्‍यो, तर ऊ किन त्यो परिवर्तन स्विकार्न सक्दैन? के यो उसको मानवताको समस्या होइन र? ऊ सत्यता स्विकार्न सक्दैन र परमेश्‍वरप्रति समर्पित हुँदैन—यो त बस समझको कमी हुनु हो। ऊ सधैँ आफ्नो व्यक्तिगत अभिरुचिअनुसार कर्तव्य निर्वाह गर्छ र सधैँ आफ्नै निर्णयहरू गर्न चाहन्छ। के यो भ्रष्ट स्वभाव होइन र? तँलाई कुनै कुरा गर्न मन पर्छ भन्दैमा, के तैँले त्यो राम्ररी गर्न सक्छस् भन्ने सुनिश्‍चित हुन्छ? तँलाई निश्‍चित कर्तव्य निभाउन मन पर्छ भन्दैमा, के त्यसको अर्थ तैँले त्यो मानकअनुरूप हुनेगरी गर्न सक्छस् भन्ने हुन्छ? तँलाई कुनै कुरा गर्न मन पर्छ भन्दैमा, त्यसको अर्थ तँ त्यसको योग्य छस् भन्ने होइन, र तैँले आफू केको योग्य छु भनेर छर्लङ्ग नदेख्न पनि सक्छस्। त्यसकारण, तँमा समझ हुनुपर्छ र तैँले आज्ञापालन गर्न सिक्नुपर्छ। त्यसैले, जब तेरो कर्तव्य अह्रावट समायोजित गरिन्छ, तब तैँले कसरी आज्ञापालन अभ्यास गर्नुपर्छ? एकातिर, तैँले परमेश्‍वरको घरले तेरो कर्तव्य अह्रावट तेरो अभिरुचि वा कुनै अगुवा वा कामदारको पूर्वाग्रहका आधारमा नभई सत्यता सिद्धान्तहरूका आधारमा समायोजित गरेको हो भनेर विश्‍वास गर्नैपर्छ। तैँले तेरो कर्तव्य अह्रावटको समायोजन तेरो प्रतिभा, सामर्थ्य र अन्य वास्तविक परिस्थितिका आधारमा निर्धारण गरिएको हो, अनि त्यो एक व्यक्तिको विचारबाट उत्पन्न भएको होइन भनेर भरोसा गर्नैपर्छ। तैँले आफ्नो कर्तव्य अह्रावट समायोजित गरिँदा आज्ञापालन गर्न सिक्नुपर्छ। तैँले आफ्नो नयाँ कर्तव्यमा केही समय प्रशिक्षण लिइसकेपछि र त्यो निर्वाह गरेर परिणामहरू हासिल गरिसकेपछि, आफू यो कर्तव्य निर्वाह गर्न अझ योग्य रहेछु भन्ने थाहा पाउनेछस्, र तँलाई आफ्नो अभिरुचिका आधारमा कर्तव्य छनौट गर्नु गलत रहेछ भन्ने महसुस हुनेछ। के यसले त्यो समस्या समाधान गर्दैन र? सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्‍वरको घरले मानिसहरूका लागि तिनीहरूको अभिरुचिका आधारमा नभई कामका आवश्यकता र कसैले त्यो कर्तव्य निर्वाह गरेर नतिजाहरू हासिल गर्न सक्छ कि सक्दैन भन्ने कुराका आधारमा निश्‍चित कर्तव्यहरू निर्वाह गर्ने बन्दोबस्त मिलाउँछ। के तिमीहरू परमेश्‍वरको घरले व्यक्तिको अभिरुचिका आधारमा कर्तव्य बन्दोबस्त गर्नुपर्छ भनेर भन्छौ? के यसले मानिसहरूलाई तिनीहरूको व्यक्तिगत अभिरुचि पूरा गर्ने सर्तमा प्रयोग गर्नुपर्छ? (होइन।) मानिसहरूलाई प्रयोग गर्ने परमेश्‍वरको घरका सिद्धान्तहरूसँग यीमध्ये कुन चाहिँ मेल खान्छ? सत्यता सिद्धान्तहरूसँग कुन चाहिँ मेल खान्छ? यो मानिसहरूलाई परमेश्‍वरको घरको कामका आवश्यकता र मानिसहरूले कर्तव्य निर्वाह गरेर प्राप्त गर्ने परिणामअनुसार छनौट गर्नु हो। तँमा केही अनुराग र रुचि, आफ्नो कर्तव्य निर्वाह गर्ने अलिअलि इच्छा हुन सक्छ, तर के तेरो इच्छा, रुचि र अनुरागले परमेश्‍वरको घरको कामले भन्दा बढी प्राथमिकता पाउनुपर्छ? यदि तँ दृढतासाथ जिद्दी गर्दै “मैले यो काम गर्नैपर्छ; यदि मलाई यो गर्न दिइएन भने, म जिउन चाहन्नँ, म आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्नँ। यदि मलाई यो काम गर्न दिइएन भने, ममा अरू कुनै कुरा गर्ने हृदय हुनेछैन, न त म त्यसमा पूरा प्रयास नै लगाउनेछु” भनेर भन्छस् भने, के यसले कर्तव्य निर्वाहप्रति तेरो मनोवृत्तिमा समस्या छ भन्ने देखाउँदैन र? के त्यो पूर्ण रूपमा विवेक र समझ नहुनु होइन र? तँ आफ्नो व्यक्तिगत इच्छा, रुचि र अनुराग पूरा गर्नका लागि, मण्डलीका काममा असर र ढिलाइ समेत गर्छस्। के यो सत्यताअनुसार छ? सत्यताअनुसार नभएका कुरालाई कसरी लिनुपर्छ? कतिपय मानिस भन्छन्: “सामूहिक स्वार्थका खातिर व्यक्तिगत स्वार्थ त्याग्नुपर्छ।” के यो सही हो? के यो सत्यता हो? (होइन।) यो कस्तो प्रकारको भनाइ हो? (यो शैतानी भ्रम हो।) यो भ्रामक, बहकाउने र छद्मवेशी भनाइ हो। यदि तैँले “सामूहिक स्वार्थका खातिर व्यक्तिगत स्वार्थ त्याग्नुपर्छ” भन्ने भनाइलाई आफ्नो कर्तव्य निर्वाहका सन्दर्भमा लागू गरिस् भने, तैँले परमेश्‍वरको विरोध र निन्दा गरिरहेको हुन्छस्। यो किन परमेश्‍वरको निन्दा गर्नु हुन्छ? किनभने तैँले आफ्नो इच्छा परमेश्‍वरमा लादिरहेको हुन्छस्, र त्यो ईश्‍वरनिन्दा हो! तैँले आफ्नो व्यक्तिगत स्वार्थ त्याग्नुलाई परमेश्‍वरको सिद्ध पार्ने काम र आशिष्‌सँग साट्ने प्रयास गरिरहेको हुन्छस्; तेरो अभिप्राय परमेश्‍वरसँग सौदा गर्नु हुन्छ। परमेश्‍वरलाई तैँले आफ्नो कुनै कुरा त्याग गर्नुपर्ने आवश्यकता पर्दैन; परमेश्‍वर त मानिसहरूले सत्यता अभ्यास गरून् र देहविरुद्ध विद्रोह गरून् भन्‍ने माग मात्र गर्नुहुन्छ। यदि तैँले सत्यता अभ्यास गर्न सकिनस् भने, परमेश्‍वरविरुद्ध विद्रोह र उहाँको विरोध गरिरहेको हुन्छस्। तैँले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गरिनस्, किनभने तेरो अभिप्राय गलत थियो, कामकुराबारे तेरो दृष्टिकोण सही थिएन, र तेरा भनाइहरू सत्यतासँग पूर्ण रूपले बाझिन्थे। तर परमेश्‍वरको घरले तेरो कर्तव्य निर्वाह गर्ने अधिकार खोसेको छैन; यति मात्र हो कि तेरो कर्तव्य अह्रावट समायोजित गरियो, किनभने तँ पछिल्लो कर्तव्यको योग्य थिइनस्, र तँलाई तेरो लागि उपयुक्त हुने कर्तव्यमा खटाइयो। यो एकदमै सामान्य र बुझ्न सजिलो कुरा हो। तैँले यस मामिलालाई सही तरिकाले लिनुपर्छ। यस मामिलालाई लिने सही तरिका के हो? जब यस्तो हुन्छ, तब तैँले पहिला परमेश्‍वरको घरले गर्ने तेरो मूल्याङ्कन स्विकार्नैपर्छ। तँलाई व्यक्तिगत तवरमा आफ्नो कर्तव्य मन परे पनि, वास्तवमा तँ त्यसमा सक्षम वा दक्ष छैनस्, त्यसैले तैँले त्यो काम गर्न सक्दैनस्। यसको अर्थ, तेरो कर्तव्य अरूलाई सुम्पनुपर्छ। तैँले आज्ञा मानेर आफ्नो नयाँ कर्तव्य स्विकार्नुपर्छ। पहिला, केही समय त्यसमा प्रशिक्षण लि—यदि तँलाई अझै पनि आफू त्यति राम्रो छैन, र त्यसका लागि तेरो क्षमताले भ्याउँदैन भन्ने लाग्छ भने, तैँले मण्डलीलाई बताउनुपर्छ: “म यस कर्तव्यमा सक्षम छैनँ। यदि यो जारी रह्यो भने, काममा रोकावट आउनेछ।” त्यो काम गर्ने एकदमै उचित तरिका हो! तैँले जे गरे पनि, त्यस कर्तव्यमा टाँसिइरहने प्रयास नगर्। यसो गर्दा काममा रोकावट आउनेछ। यदि तैँले त्यो मुद्दा चाँडै उठाइस् भने, मण्डलीले तेरो परिस्थितिका आधारमा तेरा लागि उपयुक्त कर्तव्य बन्दोबस्त गर्नेछ। परमेश्‍वरको घरले मानिसहरूलाई जबर्जस्ती कर्तव्य निर्वाह गर्न लगाउँदैन। के तैँले कर्तव्य अह्रावट समायोजित गरिएको अनुभव गर्नु तेरा लागि राम्रो कुरा होइन र? सर्वप्रथम, त्यसले तँलाई आफ्ना अभिरुचि र इच्छाहरूलाई तर्कसङ्गत रूपमा लिन सक्षम तुल्याउन सक्छ। सायद विगतमा त्यसप्रति तेरो अनुराग थियो होला, अनि तँ साहित्य र लेखन रुचाउँथिस् होला, तर लेखन-पठनका काममा आत्मिक बुझाइ पनि चाहिन्छ। कम्तीमा पनि, तैँले आत्मिक शब्दावली बुझ्नुपर्छ। यदि तँमा अलिकति पनि सत्यताको बुझाइ छैन भने, थोरै लेखन सिप भएर मात्र पुग्नेछैन। तैँले केही समयको अनुभवमार्फत आत्मिक बुझाइ प्राप्त गर्नुपर्नेछ, आत्मिक शब्दभण्डार बुझ्नुपर्नेछ, र आत्मिक जीवनको भाषा प्राप्त गर्नुपर्नेछ। त्यसपछि मात्र तैँले परमेश्‍वरका घरमा लेखन-पठनको काम गर्न सक्नेछस्। तैँले केही समयको अनुभव र भोगाइमार्फत आफूमा जीवन अनुभवको भाषाको कमी रहेछ भन्ने थाहा पाउनेछस्, तैँले आफूमा एकदमै ठूलो अपर्याप्तता देख्नेछस्, तैँले आफ्नो साँचो कद चिन्नेछस्, अनि तैँले परमेश्‍वरको घर र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई तेरो क्षमता र कद स्पष्टसित देख्न सक्षम तुल्याउनेछस्। यो तेरा लागि राम्रो कुरा हो। कम्तीमा पनि, यसले तँलाई तेरो क्षमता कति उँचो वा निचो छ भनेर देखाउनेछ, र आफूलाई सही तरिकाले लिन सक्षम तुल्याउनेछ। तँमा अबदेखि आफ्नो क्षमता र अनुरागबारे कल्पनाहरू हुनेछैनन्। तैँले आफ्नो साँचो कद चिन्नेछस्, तैँले आफू केमा सक्षम छु र केमा छैनँ भनेर अझ सही रूपमा र स्पष्टसित देख्नेछस्, अनि तँ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा अझ दृढ र व्यावहारिक हुनेछस्। यो यसको एउटा पक्ष हो। अर्को पक्ष, जुन सबैभन्दा महत्त्वपूर्ण छ, त्यो के हो भने, तैँले जुनै हदसम्म बुझाइ प्राप्त गरे पनि वा तैँले यी कुराहरू बुझ्न सके पनि नसके पनि, जब परमेश्‍वरको घरले तेरा लागि बन्दोबस्तहरू मिलाउँछ, तब तैँले कम्तीमा पनि रोजीछानी गर्नु, वा आफ्नै योजना र छनौटहरू गर्नुभन्दा बरु पहिले आज्ञापालनको मनोवृत्ति अपनाउनैपर्छ। तँमा सबैभन्दा बढी हुनुपर्ने समझ नै यही हो। यदि तैँले आफ्नो कर्तव्य निर्वाहमा कस्ता दूषित कुराहरू छन् भनेर चिन्तन गर्न सकिनस् भने, ठिकै छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त तेरो हृदयमा समर्पण हुनु, र तैँले सत्यता स्विकार्न, आफ्नो कर्तव्यलाई गम्भीरतापूर्वक लिन र बफादारी देखाउन सक्‍नु हो, अनि समस्याहरू खडा हुँदा वा आफूले भ्रष्टता प्रकट गर्दा, तैँले आत्मचिन्तन गर्न, आफ्ना कमी र कमजोरीहरू बुझ्न अनि आफ्ना समस्या वा भ्रष्टताका प्रकटीकरणहरू समाधान गर्नहेतु सत्यता खोजी गर्न सक्‍नु हो। यस तरिकाले तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, तँलाई थाहै नभई, तेरो जीवन र कद क्रमिक रूपमा बढ्नेछ, अनि तैँले मानकअनुरूप हुनेगरी आफ्नो कर्तव्य निर्वाह गर्न थाल्‍नेछस्। यदि तँ उहाँप्रति सच्चा रूपले समर्पित भइस् र तैँले परमेश्‍वरको कार्य अनुभव गर्दा, आफ्ना समस्याहरू हल गर्नहेतु सत्यता खोज्न कहिल्यै छोडिनस् भने, तैँले उहाँका आशिषहरू प्राप्त गर्नेछस्, अनि उहाँले तँलाई गलत व्यवहार गर्नुहुनेछैन।

कर्तव्यका कार्यभारहरू समायोजित गरिँदा, यदि त्यो निर्णय मण्डलीले गरेको हो भने, मानिसहरूले त्यो स्विकार्नुपर्छ र पालना गर्नुपर्छ, तिनीहरूले आत्मचिन्तन गर्नैपर्छ, अनि समस्याको सार र आफ्ना कमीकमजोरीहरू बुझ्नैपर्छ। यो मानिसहरूका लागि एकदमै लाभदायी हुन्छ, र त्यो अभ्यास गर्नुपर्ने कुरा हो। यस्तो सरल कुरालाई साधारण मानिसहरूले अति धेरै कठिनाइ वा पार गर्न नसकिने बाधाहरू सामना नगरी सही तरिकाले बुझ्न र सम्हाल्न सक्छन्। जब मानिसहरूका कर्तव्य अह्रावटहरू समायोजित गरिन्छन्, तब कम्तीमा पनि तिनीहरू समर्पित हुनुपर्छ, तिनीहरूले आत्मचिन्तन गरी फाइदा लिनुपर्छ, साथै आफ्नो कर्तव्य निर्वाह मानकअनुरूप छ कि छैन भनी सही मूल्याङ्कन गर्नुपर्छ। तर ख्रीष्टविरोधीहरूका हकमा भने यस्तो हुँदैन। तिनीहरूलाई जेसुकै हुँदा पनि तिनीहरूले प्रकट गर्ने कुरा सामान्य मानिसहरूको भन्दा फरक हुन्छ। यो भिन्‍नता कहाँनेर हुन्छ त? तिनीहरू आज्ञापालन गर्दैनन्, सक्रियतापूर्वक आफूले गर्नुपर्ने काम गर्दैनन्; न त तिनीहरू अलिकति मात्र पनि सत्यता नै खोजी गर्छन्। त्यसको साटो, तिनीहरूलाई समायोजनप्रति वितृष्णा लाग्छ र तिनीहरू त्यसको विरोध गर्छन्, विश्‍लेषण गर्छन्, चिन्तन गर्छन् र अनुमान लगाउँदै आफ्नो दिमाग खियाउँछन्: “मलाई किन यो कर्तव्य निभाउन दिइँदैन? मलाई किन महत्त्वहीन कर्तव्यमा खटाइयो? के यो मलाई खुलासा गर्न र हटाउनका लागि हो?” तिनीहरूले जे भएको छ सो कुरालाई मनमा खेलाइरहन्छन्, त्यसैका बारेमा अनन्त रूपमा विश्‍लेषण र चिन्तन गरिरहन्छन्। केही पनि नहुँदा तिनीहरू ठिकठाक हुन्छन्, तर जब केही आइपर्छ, तब भुमरीको पानीजस्तै तिनीहरूको हृदय बटारिन थाल्छ, र तिनीहरूको मष्तिष्क प्रश्‍नैप्रश्‍नले भरिन्छ। बाहिरबाट हेर्दा तिनीहरू समस्याहरूबारे मनन गर्न अरूभन्दा उत्तम देखिन्छन्, तर वास्तवमा ख्रीष्टविरोधीहरू सामान्य मानिसहरूभन्दा बढी दुष्ट मात्रै हुन्छन्। यो दुष्टता कसरी प्रकट हुन्छ? तिनीहरूका सोचविचार अत्यन्तै चरम, जटिल र गुप्त हुन्छन्। विवेक र समझ भएको सामान्य व्यक्तिका दिमागमा नआउने कुराहरू ख्रीष्टविरोधीका लागि दैनिकी हुन्छ। आफ्‍नो कर्तव्यको कार्यभारमा सानोतिनो हेरफेर गरिँदा, मानिसहरूमा आज्ञापालनको मनोवृत्ति हुनुपर्छ, परमेश्‍वरको घरले भनेबमोजिम गर्नुपर्छ, र आफ्‍नो क्षमताले भ्याउञ्‍जेल गर्नुपर्छ, अनि तिनीहरूले जेसुकै गरे पनि, तिनीहरूको शक्तिले भ्याउञ्‍जेलसम्‍म आफ्‍नो सारा हृदय र सामर्थ्यले त्यो काम गर्नुपर्छ। परमेश्‍वरले जे गर्नुभएको छ त्यो गलत छैन। यस्तो सरल सत्यता थोरै विवेक र समझ भएका मानिसहरूले अभ्यास गर्न सक्छन्, तर यो ख्रीष्टविरोधीहरूको क्षमताभन्दा बाहिरको कुरा हो। जब कर्तव्यका कार्यभारहरूमा हेरफेरको कुरा आउँछ, तब ख्रीष्टविरोधीहरूले तुरुन्तै तर्कवितर्क, वाक्छल, र अवज्ञा प्रस्तुत गर्छन्, र हृदयका गहिराइमा तिनीहरू यसलाई स्विकार्न मान्दैनन्। तिनीहरूका हृदयमा वास्तवमा के हुन्छ? सन्देह र शङ्‍का, अनि तिनीहरू अनेक तरिका अपनाएर अरूलाई जाँच गर्छन्। तिनीहरू आफ्‍नो बोलीवचन र व्यवहारद्वारा अरूका परिस्थितिहरू जाँच्छन्, र नैतिकहीन रूपमा मानिसहरूलाई सत्यता खोल्‍न र इमानदारीपूर्वक बोल्न बाध्य र प्रलोभनमा पार्नेसमेत गर्छन्। तिनीहरू यो कुरा बुझ्ने प्रयास गर्छन्: तिनीहरूको कर्तव्य अह्रावट ठ्याक्कै किन समायोजित गरियो? तिनीहरूलाई किन आफ्नो कर्तव्य निर्वाह गर्न दिइएन? वास्तवमा कसको इसारा चलिरहेको थियो? कसले तिनीहरूका लागि परिस्थिति बिगार्ने प्रयास गरिरहेको थियो? तिनीहरू हृदयमा किन भनेर प्रश्‍न गरिरहन्छन्, वास्तवमा के भइरहेको छ भनेर बुझ्‍न खोजिरहन्छन्, ताकि तिनीहरूले कोसँग बहस गर्ने वा बदला लिने भनेर थाहा पाउन सकून्। तिनीहरू आत्मचिन्तन गर्नहेतु परमेश्‍वरसामु आउन र आफूभित्र के समस्या छ भनेर हेर्न जान्दैनन्, तिनीहरू आफूमा कारण खोज्दैनन्, र परमेश्‍वरलाई प्रार्थना गर्दैनन्, आत्मचिन्तन गर्दैनन्, र यसो भन्दैनन्: “मैले कर्तव्य निर्वाह गरेका तरिकामा के समस्या थियो? के त्यो म झाराटारुवा हुनु, र ममा सिद्धान्त नहुनु थियो? के कुनै प्रभाव परेको थियो?” तिनीहरू आफूलाई कहिल्यै यी प्रश्‍नहरू सोध्दैनन्, त्यसको सट्टा हृदयमा परमेश्‍वरलाई निरन्तर यस्तो प्रश्‍न सोधिरहन्छन्: “मेरो कर्तव्य अह्रावट किन समायोजित गरियो? मलाई किन यस्तो व्यवहार गरिँदै छ? तिनीहरू किन एकदमै अविचारशील हुन्छन्? तिनीहरू किन मलाई अन्याय गर्दै छन्? तिनीहरू मेरो गौरवबारे किन सोच्दैनन्? तिनीहरू किन मलाई आक्रमण र बहिष्कार गर्छन्?” यी सबै “किन” ख्रीष्टविरोधीहरूको भ्रष्ट स्वभाव र चरित्रका छर्लङ्ग प्रकाश हुन्। ख्रीष्टविरोधीहरूले कर्तव्य अह्रावटमा हुने समायोजन जस्तो मामुली कुरामा समेत यस्तो खलबली गर्नेछन्, यस्तो रडाको मच्‍चाउनेछन्, र यत्ति ठूलो तरङ्ग सिर्जना गर्न भरमग्दुर प्रयास गर्छन् भनेर कसैले कल्पना गर्न सक्दैन। तिनीहरू सामान्य कुरालाई किन यति जटिल बनाउँछन्? त्यसको एउटै कारण छ: ख्रीष्टविरोधीहरू परमेश्‍वरको घरका बन्दोबस्तहरू कहिल्यै पालन गर्दैनन्, र तिनीहरू आफ्नो कर्तव्य, ख्याति, प्राप्ति र हैसियतलाई सधैँ आशिष्‌हरू प्राप्त गर्ने आफ्नो आशा र आफ्नो भावी गन्तव्यसित घनिष्ठ रूपले यसरी जोड्छन् कि मानौँ तिनीहरूको प्रतिष्ठा र हैसियत गुम्‍नेबित्तिकै तिनीहरूले आशिष्‌ र इनामहरू पाउने आशा नै रहनेछैन, र तिनीहरूका लागि त्यो जीवन गुमाउनुजस्तै हुनेछ। तिनीहरू सोच्छन्, “म सजग हुनुपर्छ, मैले लापर्बाही गर्नै हुँदैन! परमेश्‍वरको घर, दाजुभाइ-दिदीबहिनीहरू, अगुवा र कामदारहरू, र परमेश्‍वरको समेत भर पर्नु हुँदैन। म ती कसैलाई भरोसा गर्न सक्दिनँ। तँ सबभन्दा बढी भर पर्न सक्ने र तेरो भरोसाको सबभन्दा लायक व्यक्ति तँ नै होस्। यदि तँ आफ्ना लागि योजनाहरू बनाइरहेको छैनस् भने, तँलाई कसले वास्ता गर्नेछ? तेरो भविष्यबारे कसले सोच्नेछ? तैँले आशिष् पाउँछस् कि पाउँदैनस् भनेर कसले सोच्नेछ? त्यसकारण, मैले आफ्ना लागि होसियारीसाथ योजना र हिसाबकिताब गर्नुपर्छ। मैले गल्ती गर्न वा अलिकति लापर्बाही गर्न समेत मिल्दैन, नत्र, कसैले मेरो फाइदा लिन खोज्यो भने मैले के गर्ने?” तसर्थ, कसैले तिनीहरूलाई खुट्ट्याउनेछ वा छर्लङ्गै चिन्नेछ र तिनीहरूलाई बर्खास्त गरिनेछ र आशिष् पाउने तिनीहरूको सपना तुहिनेछ भन्ने डरले तिनीहरू परमेश्‍वरका घरका अगुवा र कामदारहरूबाट सावधान रहन्छन्। तिनीहरू आफूले आशिष्‌हरू प्राप्त गर्ने आशा राख्नका निम्ति आफ्नो ख्याति र हैसियतलाई जोगाइराख्नुपर्छ भन्ने सोच्छन्। ख्रीष्टविरोधीले आशिष्‌ पाउने कुरालाई स्वर्गहरूभन्दा ठूलो, जीवनभन्दा ठूलो, सत्यताको खोजी, स्वभावजन्य परिवर्तन, वा व्यक्तिगत मुक्तिभन्दा महत्त्वपूर्ण, अनि राम्रोसित कर्तव्य निर्वाह गर्नु र मानकअनुरूपको सृजित प्राणी बन्‍नुभन्दा महत्त्वपूर्ण कुराका रूपमा हेर्छ। तिनीहरू मानकअनुरूपको सृजित प्राणी बन्‍ने, आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने र मुक्ति पाउनेजस्ता सबै कुरालाई क्षुद्र र उल्लेख गर्न वा टिप्पणी गर्नलायक पनि नभएका कुरा ठान्छन् जबकि आशिष्‌हरू पाउनु चाहिँ तिनीहरूका जीवनमा कहिल्यै बिर्सन नसकिने एउटै मात्र कुरा हुन्छ। तिनीहरूले सामना गर्ने हरेक कुरामा, चाहे त्यो ठूलो होस् वा सानो, तिनीहरू यसलाई आशिषित् हुने कुरासित जोड्छन् र अत्यन्तै सजग र सचेत रहन्छन्, अनि तिनीहरू सधैँ आफ्ना निम्ति उम्कने बाटो छोडिराख्छन्। त्यसैले, आफ्ना कर्तव्य अह्रावटमा हेरफेर हुँदा, यदि यो बढुवा हो भने, ख्रीष्टविरोधीले ऊसँग आशिष पाउने आशा छ भन्‍ने ठान्छ। यदि यो टोली अगुवाबाट सहायक टोली अगुवामा, वा सहायक टोली अगुवाबाट सामान्य समूह सदस्यमा घटुवा गरिएको हो भने, तिनीहरू यो ठूलै समस्या हो भन्‍ने अनुमान गर्छन् र आशिष्‌हरू पाउने आशा थोरै छ भन्‍ने सोच्छन्। यो कस्तो दृष्टिकोण हो? के यो उचित दृष्टिकोण हो? अवश्य होइन। यो दृष्टिकोण बेतुकको छ! कसैले परमेश्‍वरको अनुमोदन प्राप्त गर्छ कि गर्दैन भन्‍ने कुरा उसले कुन कर्तव्य निर्वाह गर्छ भन्‍नेमा आधारित हुँदैन, बरु उसमा सत्यता छ कि छैन, ऊ साँचो रूपमा परमेश्‍वरप्रति समर्पित हुन्छ कि हुँदैन, र ऊ बफादार छ कि छैन भन्‍ने कुरामा आधारित हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुराहरू यिनै हुन्। परमेश्‍वरद्वारा मानिसहरूलाई मुक्ति दिइने अवधिमा, तिनीहरूले धेरै परीक्षा भोग्नैपर्छ। विशेष गरी, आफ्‍नो कर्तव्य पूरा गर्दा, तिनीहरूले धेरै असफलता अनि घुम्ती र जटिल परिस्थितिहरू सामना गर्नैपर्छ, तर अन्त्यमा, यदि तिनीहरूले सत्यता बुझे र तिनीहरूमा परमेश्‍वरप्रति साँचो समर्पण भए, तिनीहरू परमेश्‍वरको अनुमोदन पाउने मानिस बन्‍नेछन्। आफ्नो कर्तव्य अह्रावट समायोजित हुने विषयमा ख्रीष्टविरोधीहरूले सत्यता बुझ्दैनन्, र तिनीहरूमा बुझ्ने क्षमता पटक्कै हुँदैन भन्‍ने कुरा देख्‍न सकिन्छ।

कर्तव्य निर्वाह गर्ने सबै जनामध्ये कुनै पनि काम राम्ररी नगर्ने केही मानिसहरू सधैँ नै हुन्छन्। तिनीहरू लेख लेख्नमा सिपालु हुँदैनन्, किनभने तिनीहरू सत्यता बुझ्दैनन्, र यहाँसम्म कि तिनीहरू आत्मिक शब्दावली, र इसाईहरूले प्रायः प्रयोग गर्ने भाषा पनि राम्ररी प्रयोग गर्न सक्दैनन्। तिनीहरूमा लेखन सिप वा केही शिक्षा होला, तर तिनीहरू त्यस कामका लागि योग्य हुँदैनन्। यदि तैँले तिनीहरूलाई कागजातको शुद्धाशुद्धि जाँच गर्न लगाइस् भने, तिनीहरू त्यसमा पनि राम्रा छैनन् भन्ने कुरा केही समयपछि स्पष्ट भइहाल्छ। तिनीहरूमा क्षमताको कमी हुन्छ, र तिनीहरू सधैँ केही न केही कुराहरू छुटाउँछन्, त्यसैले तैँले फेरि तिनीहरूको कर्तव्य अह्रावटलाई समायोजित गर्छस्। तिनीहरूले आफूसँग कम्प्युटर सिप छ भनेर भन्छन्, तर त्यस क्षेत्रमा केही समय कर्तव्य निर्वाह गरेपछि, तिनीहरू त्यसमा पनि राम्रा हुँदैनन्। तिनीहरू राम्रो भान्सेजस्ता देखिन्छन्, त्यसैले तैँले तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूका लागि खाना बनाउन लगाउँछस्। तर, तिनीहरूले बनाएको खाना कि चाहिँ एकदमै नुनिलो कि एकदमै खल्लो हुन्छ, र तिनीहरू अति धेरै वा अति थोरै खाना बनाउँछन् भनेर सबैले रिपोर्ट गर्छन्। तिनीहरू खाना पकाउन सक्षम नभएको देखेपछि, तैँले तिनीहरूलाई सुसमाचार प्रचार गर्न खटाउँछस्, तर तिनीहरू आफू सुसमाचार टोलीमा आबद्ध हुन लागेको कुरा सुन्नेबित्तिकै निरुत्साहित हुन्छन्, र सोच्छन्, “यही रहेछ। मलाई दर्जा घटाएर पन्साइँदै छ, र मैले आशिष् पाउने कुनै आशा छैन। रुनुबाहेक केही गर्न सकिन्न।” त्यसपछि, तिनीहरू नकारात्मक र हतोत्साहित मनस्थितिमा डुब्छन् र पतित हुन्छन्, अनि सुसमाचार प्रचार गर्नमा र परमेश्‍वरको नयाँ कामबारे गवाही दिनमा मन लगाउन सक्दैनन्। त्यसको साटो, तिनीहरू निरन्तर यस्तो सोचिरहेका हुन्छन्, “म कहिले लेखन-पठनको कर्तव्यमा फर्कन सक्छु? मैले कहिले फेरि आफ्नो शिर उच्च पार्न सक्नेछु? म कहिले फेरि माथिसँग बोल्न वा उच्चस्तरीय निर्णय गर्नमा सहभागी हुन सक्नेछु? म फेरि अगुवा बनेको कुरा सबैले कहिले थाहा पाउनेछन्?” तिनीहरू केही वर्ष कुर्छन् तर पुनर्बहाली हुँदैनन्, र त्यसपछि सोच्न थाल्छन्: “परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ छैन। म त ठ्याक्कै बाहिरी संसारमा अधिकारी बन्ने मार्गमा अनेकौँ रोकावट भोग्ने मानिसहरूजस्तै हुँ, होइन र?” तिनीहरू ती धेरै रोकावटबारे सोचेर झनै हतोत्साहित बन्छन्, र पूरै निरुत्साहित हुन्छन्। तिनीहरू भन्छन्, “म विश्‍वासी बनेको यति वर्षपछि पनि एकपटक प्रमुख अगुवा बन्‍न पाएको छैनँ। बल्ल टोली अगुवाका रूपमा सेवा गर्न पाएको थिएँ, तर बरखास्त भइहालेँ, र मैले अरू कर्तव्यमा पनि राम्रो काम गरेको छैनँ। मेरो भाग्य नै साह्रै खोटो छ—मैले चाहेजस्तो कहिल्यै हुँदैन। यो त ठ्याक्कै कुनै अधिकारी बन्ने मार्गमा अनेकौँ रोकावट झेलेर सङ्घर्ष गर्नुजस्तै हो। परमेश्‍वरको घरले मलाई किन बढुवा गर्दैन? मेरो हैसियत र ख्याति माटोमा मिलेको छ। म को हुँ भनेर कसैले यादसमेत गर्दैन, र माथिले कहिल्यै मेरो उल्लेख गर्दैन। मेरा गौरवका दिनहरू सकिए। मैले आफ्नो विफलताबारे के गर्ने? म परमेश्‍वरलाई असाध्यै प्रेम गर्छु, र वास्तवमै मण्डली र परमेश्‍वरको घरलाई प्रेम गर्छु, तर मैले किन सफलता पाएको छैन? परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ छैन। म यहाँ परमेश्‍वरका घरमा आफ्नो ठूलो योजना पूरा गर्न, आफ्नो ऊर्जा र सामर्थ्य प्रयोग गर्न साँच्चै चाहन्थेँ, तर परमेश्‍वरले मलाई महत्त्वपूर्ण पदमा राख्नुहुन्न वा मलाई हेर्नुहुन्न। त्यसको कुनै अर्थ छैन।” तिनीहरूले कुनै अर्थ छैन भनेर निरन्तर सोर मच्चाउनुको अर्थ के हो? त्यसको अर्थ कर्तव्य निर्वाह गर्नु, स्वभाव परिवर्तनको पछि लाग्नु, सत्यता र प्रवचनहरू सुन्नु, परमेश्‍वरका वचनहरू पढ्नु, र सत्यता सिद्धान्तहरू खोजी गर्नुको कुनै अर्थ छैन भन्ने हो। त्यसोभए, तिनीहरूका लागि के कुरा गर्नुको चाहिँ अर्थ हुन्छ त? आधिकारिक पद पाउनु, आशिष् प्राप्त गर्नु, आशिष् पाउने आफ्नो चाहना र महत्त्वाकाङ्क्षा पूरा हुनु, हरेक मोडमा देखावा गर्नु, र प्रशंसा र प्रतिष्ठा पाउनुको अर्थ हुन्छ। तिनीहरूका लागि अरू कुनै कुराको अर्थ हुँदैन। जब तिनीहरूलाई कुनै अर्थ छैन भन्ने लाग्छ, जब तिनीहरू निरुत्साहित हुन्छन्, तब तिनीहरू आफ्नो पाइला आफै अर्को मार्गतिर बढिरहेको पाउँछन्। तिनीहरू परमेश्‍वरको घर छोड्न, पछि हट्न चाहन्छन्। यसको अर्थ तिनीहरू खतरामा छन्। कति मानिसहरू यस्ता छन्, जो विशेष गरी गैरविश्‍वासीहरूसँग बारम्बार सम्पर्कमा आउनुपर्ने अति साधारण कर्तव्य निर्वाह गर्छन्, अनि यस समूहका केही सदस्य चाहिँ एउटा खुट्टा भित्र र अर्को खुट्टा बाहिर राख्छन्। त्यसको अर्थ के हो? त्यसको अर्थ यी मानिसहरू कुनै पनि बेला पछि हट्न सक्छन् भन्ने हो, र यदि तिनीहरूको अन्तिम सुरक्षा पर्खाल ढल्यो भने, तिनीहरूको अर्को खुट्टाले बाहिरतर्फ निर्णायक पाइला चाल्नेछ, र तिनीहरूले परमेश्‍वरको घरबाट पूरै नाता तोड्नेछन् र पूर्ण रूपले मण्डली छोड्नेछन्। तिनीहरूको कर्तव्य अह्रावट समायोजित हुने सन्दर्भमा, तिनीहरूलाई कहाँ सरुवा गरिन्छ, तिनीहरू केकस्ता कर्तव्य निभाउँछन्, त्यस कर्तव्यले तिनीहरूको व्यक्तिगत चाहना पूरा गर्छ कि गर्दैन, त्यसले तिनीहरूलाई इज्जत दिन सक्छ कि सक्दैन र तिनीहरूको नयाँ कर्तव्यको पद र दर्जा के हुन्छ भन्‍नेजस्ता सबै कुरालाई यी मानिसहरू आशिष् पाउने आफ्नो आशय र चाहनासँग जोड्छन्। आफ्नो कर्तव्य अह्रावटको समायोजनप्रति ख्रीष्टविरोधीहरूले राख्ने मनोवृत्ति र दृष्टिकोणका आधारमा, तिनीहरूको समस्या कहाँ हुन्छ? यो ठूलो समस्या हो कि होइन? (यो ठूलो समस्या हो।) त्यो समस्या के हो? (तिनीहरू आफ्नो कर्तव्य अह्रावटको सामान्य समायोजनलाई मण्डलीमा हुने आफ्नो हैसियतसित र आफूले आशिष् पाउन सकिन्छ कि सकिँदैन भन्ने कुरासित जोड्छन्। जब तिनीहरूको कर्तव्य अह्रावट समायोजित गरिन्छ, तब तिनीहरूले परमेश्‍वरको घरका बन्दोबस्तहरू स्विकार्नु र पालन गर्नुभन्दा पनि आफूले आफ्नो हैसियत गुमाउँदै छु र अबउप्रान्त आशिष् प्राप्त गर्न सक्दिनँ भन्ने सोच्छन्, र त्यसपछि तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ छैन भन्ने लाग्छ र तिनीहरू परमेश्‍वरको घर छोड्न चाहन्छन्।) यहाँ तिनीहरूको सबैभन्दा ठूलो गल्ती नै आफ्नो कर्तव्य अह्रावटको समायोजनलाई आशिष् प्राप्त गर्नुसित जोड्नु हो। यो त तिनीहरूले सबैभन्दा गर्नै नहुने कुरा थियो। वास्तवमा, यी दुई कुराबीच कुनै सम्बन्ध छैन, तर ख्रीष्टविरोधीहरूको हृदय आशिष् प्राप्त गर्ने चाहनाले भरिएको हुने हुनाले, तिनीहरूले जुनै कर्तव्य निर्वाह गरे पनि, त्यसलाई आफूले आशिष् प्राप्त गर्न सक्‍ने वा नसक्‍नेसित जोड्नेछन्, जसको अर्थ तिनीहरूले कर्तव्य राम्ररी निर्वाह गर्नु असम्भव छ, र तिनीहरू प्रकट भएर हटाइन मात्र सक्छन्। यो त तिनीहरूले आफ्ना लागि आफै समस्या खडा गर्नु र आफूलाई विनाशका मार्गमा लैजानु मात्र हो।

तैँले आफ्नो कर्तव्य निर्वाहको मामिलालाई कसरी लिनुपर्छ? तँमा सही मनोवृत्ति हुनैपर्छ, र त्यो आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुको पूर्वसर्त हो। तँलाई कुन कर्तव्य उचित हुन्छ भन्‍ने कुरा तेरा आफ्‍नै सबलताहरूमा आधारित हुनुपर्छ। यदि कहिलेकाहीँ मण्डलीले तेरा लागि मिलाएको कर्तव्य तैँले राम्रोसित गर्न सक्‍ने काम होइन वा तँलाई गर्न मनपर्ने काम होइन भने, तैँले कुराकानीमार्फत यो कुरा उठाउन र समाधान गर्न सक्छस्। तर यदि तँ त्यो कर्तव्य पूरा गर्न सक्छस्, र यो तैँले पूरा गर्नुपर्ने कर्तव्य हो, अनि कष्ट भोग्‍नुपर्छ भन्‍ने डरले मात्रै तँ यो कर्तव्य निर्वाह गर्न चाहँदैनस् भने, तँमा समस्या छ। यदि तँ आज्ञापालन गर्न र आफ्‍नो देहविरुद्ध विद्रोह गर्न तयार छस् भने, तँलाई तुलनात्मक रूपमा समझदार भनेर भन्‍न सकिन्छ। तर यदि तँ सधैँ यो वा त्यो कर्तव्य बढी प्रतिष्‍ठित छ भनेर हिसाबकिताब गर्छस्, र कुनै निश्‍चित कर्तव्य निर्वाह गर्दा तँलाई अरूले हेप्छन् भन्‍ने ठान्छस् भने, यसले तँमा भ्रष्ट स्वभाव छ भन्‍ने प्रमाणित गर्छ। कर्तव्यसम्‍बन्धी बुझाइमा तँ किन यति पूर्वाग्रही हुन्छस्? के आफ्‍नो विचारअनुसार कर्तव्य छनौट गरियो भने त्यो राम्ररी पूरा गर्न सकिन्छ त? यस्तै हुन्छ भन्‍ने छैन। यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफ्नो भ्रष्ट स्वभावलाई समाधान गर्नु हो, र यदि तैँले आफ्नो भ्रष्ट स्वभाव समाधान गरिनस् भने, आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्दैनस्, चाहे त्यो कर्तव्य तँलाई मनपर्ने नै किन नहोस्। कतिपय मानिसले सिद्धान्तहरू पालना नगरी आफ्‍नो कर्तव्य निर्वाह गर्छन्, र तिनीहरूको कर्तव्य निर्वाह सधैँ तिनीहरूकै रुचिमा आधारित हुन्छ, त्यसकारण तिनीहरूले कहिल्यै पनि कठिनाइहरू समाधान गर्न सक्दैनन्, तिनीहरू आफूले निभाउने कर्तव्यमा सधैँ अल्याङटल्याङ गर्छन्, र अन्त्यमा तिनीहरू हटाइन्छन्। के यस्ता मानिसहरूले मुक्ति पाउन सक्छन्? तैँले आफूलाई उपयुक्त हुने कर्तव्य नै छनौट गर्नुपर्छ, त्यो राम्ररी निर्वाह गर्नुपर्छ, अनि आफ्नो भ्रष्ट स्वभाव हटाउन सत्यता खोजी गर्न सक्नुपर्छ। त्यसपछि मात्र तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्नेछस्। यदि तँ सधैँ दैहिक आरामको पछि मात्र लाग्छस् र आफ्ना कर्तव्यमा राम्रो छवि बनाउन खोज्छस् भने, तैँले राम्ररी कर्तव्य निर्वाह गर्न सक्नेछैनस्। यदि तैँले कुनै पनि कर्तव्य राम्ररी निर्वाह गर्न सकिनस् भने, तँलाई हटाउनुपर्ने हुन्छ। कति मानिसहरू आफूले जुनै कर्तव्य निर्वाह गरिरहेको भए पनि असन्तुष्ट हुन्छन्, तिनीहरू आफ्नो कर्तव्यलाई सधैँ अस्थायी ठान्छन्, तिनीहरू झाराटारुवा हुन्छन्, अनि तिनीहरू आफूले प्रकट गर्ने भ्रष्ट स्वभाव हटाउन सत्यता खोजी गर्दैनन्। परिणामस्वरूप, तिनीहरू कुनै जीवन प्रवेश प्राप्त नगरी धेरै वर्षसम्म आफ्नो कर्तव्य निर्वाह गरिरहन्छन्। तिनीहरू श्रमिक बन्छन् र हटाइन्छन्। के यो तिनीहरू आफैले आफूमाथि निम्त्याएको कुरो होइन र? दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूसँग आफ्ना कर्तव्यमा कहिल्यै सही मनोवृत्ति हुँदैन। तिनीहरूका कर्तव्य अह्रावटहरू समायोजित गरिँदा तिनीहरू के सोच्छन्? “के तपाईंलाई म सेवाकर्ता मात्र हुँ भन्ने लाग्छ? जब तपाईं मलाई प्रयोग गर्नुहुन्छ, तब मलाई तपाईंका लागि सेवा गर्न लगाउनुहुन्छ, अनि जब मसँग तपाईंको काम सकिन्छ, तब तपाईं मलाई खेदाउनुहुन्छ। तर, म त्यस्तो सेवा गर्नेछैनँ! म अगुवा वा कामदार बन्‍न चाहन्छु, किनभने यहाँ आदर पाउने एउटै मात्र काम त्यही हो। यदि तपाईं मलाई अगुवा वा कामदार बन्‍न दिनुहुन्‍न र अझै पनि मैले परिश्रम गरेको चाहनुहुन्छ भने, त्यो कुरा बिर्सिदिनुभए हुन्छ!” यो कस्तो प्रकारको मनोवृत्ति हो? के तिनीहरू समर्पित छन्? आफ्नो कर्तव्य अह्रावट समायोजित हुनुलाई तिनीहरूले कसरी लिन्छन्? उग्रता, तिनीहरूको आफ्‍नै विचार, र तिनीहरूको भ्रष्ट स्वभावको आधारले हेर्छन्, होइन त? अनि, यसलाई यसरी लिनुका परिणामहरू के-के हुन्? सर्वप्रथम, के तिनीहरू नयाँ कर्तव्यमा बफादार र सच्चा हुन सक्छन्? अहँ, सक्दैनन्। के तिनीहरूमा सकारात्मक मनोवृत्ति हुनेछ? तिनीहरू कस्ता स्थितिमा हुनेछन्? (दिक्दार स्थितिमा।) दिक्दारीको सार के हो? यो वैरभाव हो। अनि वैरी र दिक्दार मनस्थितिको अन्तिम परिणाम के हुन्छ? के त्यस्तो महसुस गर्ने व्यक्तिले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्छ? (सक्दैन।) यदि कुनै व्यक्ति सधैँ नकारात्मक र वैरी हुन्छ भने, के ऊ कर्तव्य निर्वाह गर्न योग्य हुन्छ? उसले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, त्यो राम्ररी पूरा गर्न सक्दैन। यो एक दुष्चक्र हो, र यसको परिणाम राम्रो हुँदैन। किन त्यसो हुन्छ? त्यस्ता मानिसहरू असल मार्गमा हुँदैनन्; तिनीहरू सत्यताको खोजी गर्दैनन्, तिनीहरू समर्पणकारी हुँदैनन्, र परमेश्‍वरको घरले तिनीहरूप्रति राख्‍ने मनोवृत्ति र व्यवहार गर्ने शैलीलाई तिनीहरूले राम्रोसँग बुझ्न सक्दैनन्। यो समस्या हो, होइन र? यो कर्तव्य अह्रावटमा गरिएको पूर्ण रूपमा उचित समायोजन हो, तर ख्रीष्टविरोधीहरू के भन्छन् भने यो तिनीहरूलाई सताउनका लागि गरिएको हो, तिनीहरूलाई मानवजस्तो व्यवहार गरिएको छैन, परमेश्‍वरका घरमा प्रेमको कमी छ, तिनीहरूलाई मेसिनजस्तो व्यवहार गरिएको छ, र तिनीहरूलाई चाहेको बेला बोलाउने, नचाहेको बेला खेदाउने गरिएको छ। के त्यो बङ्ग्याइएको तर्क होइन र? के यस्तो कुरा भन्‍ने व्यक्तिमा विवेक वा समझ हुन्छ? तिनीहरूमा कुनै मानवता हुँदैन! तिनीहरू पूर्ण रूपमा उचित विषयलाई विकृत पार्छन्; तिनीहरू पूर्ण रूपले उचित अभ्यासलाई बङ्ग्याएर नकारात्मक बनाउँछन्—के यो ख्रीष्टविरोधीको दुष्टता होइन र? के यस्तो दुष्ट व्यक्तिले सत्यता बुझ्‍न सक्छ? अवश्य सक्दैन। यो ख्रीष्टविरोधीको समस्या हो; तिनीहरूले आफूलाई जेसुकै आइपरे पनि त्यसबारे बाङ्गो पाराले सोच्नेछन्। तिनीहरू किन बाङ्गो पारामा सोच्छन्? किनभने तिनीहरूको प्रकृति सार अत्यन्तै दुष्ट हुन्छ। ख्रीष्टविरोधीको प्रकृति सार मूलतः दुष्ट हुन्छ, त्यसपछि क्रूर हुन्छ, र तिनीहरूका मुख्य चरित्र यिनै हुन्। ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृतिले तिनीहरूलाई कुनै पनि कुरा सही रूपमा बुझ्‍न दिँदैन, बरु त्यसको साटो, तिनीहरू सबै कुरा विकृत पार्छन्, तिनीहरू चरम हदसम्‍म पुग्छन्, नाटीकुटी गर्छन्, र तिनीहरूले परिस्थितिलाई उचित रूपमा सम्‍हाल्‍न वा सत्यता खोजी गर्न सक्दैनन्। त्यसपछि, तिनीहरू सक्रिय रूपमा प्रत्याक्रमण गर्छन् र बदला लिन खोज्छन्, मण्डलीका काममा बाधा दिन अरूलाई उक्साउँदै र आफ्ना पक्षमा ल्याउँदै धारणा फैलाउँछन् र नकारात्मकता व्यक्त गर्छन्। तिनीहरू गुप्त रूपमा केही गुनासा फैलाउँछन्, परमेश्‍वरको घरले मानिसहरूलाई व्यवहार गर्ने तरिका, यसका कतिपय प्रशासनिक नियम, केही निश्‍चित अगुवाहरूको काम गर्ने तरिकाहरूबारे टीकाटिप्पणी गर्छन्, र ती अगुवाहरूको निन्दा गर्छन्। यो कस्तो प्रकारको स्वभाव हो? यो क्रूर स्वभाव हो। ख्रीष्टविरोधीहरू प्रतिरोध र अवज्ञा मात्र गर्दैनन्, अझ धेरै मानिसलाई मनाएर आफूसँगै अवज्ञाकारी हुन, आफ्नो पक्ष लिन र आफूलाई हौसला दिनसमेत लगाउँछन्। ख्रीष्टविरोधीको प्रकृति सार यस्तै हुन्छ। तिनीहरू आफ्नो कर्तव्य अह्रावटको सरल समायोजनलाई सही तरिकाले लिनसमेत सक्दैनन्, वा तर्कसङ्गत रूपमा त्यसलाई स्विकार्न र त्यसप्रति समर्पित हुन सक्दैनन्। बरु, तिनीहरू समस्या खडा गर्छन् र विभिन्न बहाना बनाउँछन्, जसमध्ये कति त अशोभनिय हुन्छन् र अरूमा तिरस्कार र घृणा उब्जाउँछन्। केही भ्रम र झूटो शिक्षा फैलाएपछि, ख्रीष्टविरोधीहरूले आफ्ना लागि परिस्थिति बचाइराख्ने प्रयास गर्छन् र अरूलाई तिनीहरूमा विश्‍वास गर्न लगाउँछन्। यदि यी प्रयासहरू सफल भएनन् भने, के ख्रीष्टविरोधीहरू पहिलेकै मार्गमा फर्कन सक्नेछन्? यदि तिनीहरू यस मार्गमा जान सकेनन् भने, के तिनीहरूले सत्यता खोजी गर्न सक्नेछन्? के तिनीहरूमा पश्‍चात्ताप गर्ने कुनै इच्छा हुनेछ? पटक्कै हुनेछैन। तिनीहरूले भन्नेछन्: “यदि तिमीले मलाई आशिष् प्राप्त गर्नबाट रोक्यौ भने, म तिमीहरू सबैलाई आशिष् प्राप्त गर्नबाट रोक्नेछु! यदि मैले आशिष् पाउन सकिनँ भने, म विश्‍वास गर्न छोड्नेछु!” विगतमा मैले कसरी ख्रीष्टविरोधीहरू पूर्णतया अनुचित हुन्छन् भन्नेबारे बोलेको छु; यो अनुचिततापछाडिको प्रकृति सार के हो भने यी मानिसहरू अत्यन्तै दुष्ट र क्रूर हुन्छन्। अहिले हामीले सङ्गति गरिरहेको विषय यो प्रकृति सार पूर्ण रूपमा प्रदर्शित गर्ने प्रकटीकरण र प्रकाश हो, र यही नै यो प्रकृति सारको सबैभन्दा प्रामाणिक प्रमाण हो। यी मानिसहरूमध्ये कतिपय त आफ्नो कर्तव्य अह्रावट एकपटक समायोजित गरिँदासमेत रिसाउँछन्, अनि कतिपय चाहिँ धेरैपटक सरुवा भएपछि, र एक कर्तव्यदेखि अर्को कर्तव्यमा सरेपछि, कुनै पनि कर्तव्य राम्ररी गर्न सक्दैनन्, र अन्त्यमा आफूसँग आशिष् पाउने कुनै आशा छैन भन्‍ने सोच्छन् र पछि हट्न चाहन्छन्। सङ्क्षेपमा भन्दा, तिनीहरूको कर्तव्य अह्रावट जसरी समायोजित गरिए पनि, यदि कुनै समायोजन भयो भने, यी मानिसहरू हृदयमा त्यसको विश्‍लेषण, मूल्याङ्कन र मनन गर्छन्, र त्यो समायोजन आफूले आशिष् पाउनुसँग सम्बन्धित नभएको पाएमा मात्र ढुक्क हुनेछन्। तिनीहरूले त्यो समायोजन आशिष् पाउनुसँग अलिकति मात्र पनि सम्बन्धित छ वा त्यसले आफ्नो आशिष् पाउने आशामा प्रभाव पार्छ भन्ने थाहा पाउनेबित्तिकै तिनीहरू अवज्ञा गर्न तुरुन्तै खडा हुनेछन्, र यसरी आफ्नो प्रकृति सार खुलासा गर्नेछन्। यदि तिनीहरू त्यस अवज्ञामा असफल भएर खुलासा हुँदै अस्वीकृत भए भने, तिनीहरूले आफ्ना लागि आकस्मिक योजना तयार गर्नेछन्, अनि दृढ्तापूर्वक र नहिचकिचाई परमेश्‍वरको घर छोड्नेछन्, तबउसो परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नेछैनन्, र आफूले परमेश्‍वरमा विश्‍वास गर्छु भनेर पनि स्विकार्नेछैनन्। तिनीहरूको दैनिक जीवन तुरुन्तै बद्लिनेछ, र तिनीहरूबाट परमेश्‍वरको विश्‍वासीका सबै स्वरूप गायब हुनेछ। तिनीहरूले तुरुन्तै रक्सी पिउन, चुरोट तान्न, असामान्य कपडा लगाउन, बाक्लो मेकअप गर्न र उत्कृष्ट वस्‍त्र पहिरिन थाल्नेछन्। तिनीहरूले परमेश्‍वरको विश्‍वासीका रूपमा यी कुराहरूको आनन्द लिन नसकेका हुनाले, तिनीहरू यो गुमेको समय पूर्ति गर्न हतार गर्नेछन्। जब तिनीहरू पछि हट्नेबारे सोच्छन्, तब उनीहरूले तुरुन्तै आफ्नो अर्को कदमबारे, संसारमा कसरी कडा परिश्रम गरेर अघि बढ्ने, आफ्ना लागि स्थान खोज्ने, राम्रो जीवन जिउने, साथै आफ्नो निकास कहाँ छ भन्नेबारे सोच्नेछन्। तिनीहरूले यी दुष्ट प्रवृत्ति र यो दुष्ट संसारमा चाँडै नै आफ्ना लागि निकास भेट्टाउनेछन्, आफ्ना लागि ठाउँ पत्ता लगाउनेछन्, अनि आफूले के गर्ने हो, चाहे त्यो व्यापार होस्, राजनीति होस् वा अर्कै प्रकारको कामधन्धा होस्, त्यो निर्धारित गर्नेछन्, जसले तिनीहरूलाई अरूले भन्दा राम्रो जीवन जिउन, आफ्नो बाँकी जीवनभर खुसी र आनन्द पाउन, अझ धेरै देहसुख पाउन, पूर्ण रूपले जीवनको आनन्द उठाउन अनि मनोरञ्जन र ऐसआराममा सहभागी हुन मदत गर्नेछ।

कुनै ख्रीष्टविरोधीलाई काटछाँट गरिँदा, र उसको कर्तव्य अह्रावट समायोजित गरिँदा, उसले त ऊसँग नजिकबाट सम्बन्धित आशिषहरू प्राप्त गर्ने बारेमा सोच्छ। जब उसलाई आफूसँग त्यसको कुनै आशा छैन भन्ने लाग्छ, तब उसले पछि हट्न, परमेश्‍वरको घरबाट निस्केर जान, र फर्केर गैरविश्‍वासी जीवन जिउन चाहनेछ। यस आधारमा हेर्दा, व्यक्तिको प्रकृति सार अत्यन्तै महत्त्वपूर्ण रहेको प्रस्ट हुन्छ, त्यसैले के उसको पछ्याइ र छनौट पनि एकदमै महत्त्वपूर्ण हुँदैनन् र? यसमा एउटै सोचको मात्र फरक हुन्छ: एउटा सही निर्णय गरे, तैँले परमेश्‍वरको मुक्ति निरन्तर स्वीकार गरिरहनेछस्, जबकि एउटा गलत निर्णयले तँलाई आँखा झिमिक्क गर्दा नै गैरविश्‍वासीमा परिणत गर्नेछ, परमेश्‍वरको घर, परमेश्‍वरको कार्य वा आफ्नो कर्तव्यसँग कुनै सरोकार नराख्ने व्यक्ति बनाउन सक्छ। एउटै सोचले, एकै क्षणले वा एउटै सानो कुराले व्यक्तिको भाग्य पूरै बदल्न सक्छ। यतिकै गरिएको एउटै छनौट, एउटै सानो सोच वा एउटै सरल दृष्टिकोणले व्यक्तिको नियति बदल्न सक्छ, र अर्को क्षण ऊ कहाँ पुग्छ भन्‍ने कुरा निर्धारित गरिदिन सक्छ। जब मानिसहरूलाई कुनै पनि प्रकारको समस्या आएको हुँदैन, जब तिनीहरूले कुनै पनि निर्णय सामना गरेको हुँदैनन्, तब तिनीहरूलाई आफूले धेरै सत्यता बुझ्छु, आफूसँग कद छ, र आफू दृढ रहन सक्छु भन्ने लाग्छ। तर, जब तैँले कुनै निर्णय, मुख्य सिद्धान्त वा ठूलो मामिला सामना गर्छस्, तब तैँले वास्तवमा के छनौट गर्छस्, परमेश्‍वरप्रतिको तेरो मनोवृत्ति के हो, र त्यो मामिलाप्रति तेरो दृष्टिकोण र मनोवृत्ति कस्तो छ भन्ने कुराले तेरो नियति अनि तँ बस्छस् कि जान्छस् भन्ने कुरा निर्धारित गर्नेछ। ख्रीष्टविरोधीहरूले प्रायः गर्ने निर्णयहरू र तिनीहरूको हृदयभित्रका गहनतम व्यक्तिगत चाहनाहरू सबै सत्यताविपरीत हुन्छन्; यी कुराहरूमा कुनै समर्पण हुँदैन, वैरभाव मात्र हुन्छ, यिनमा सत्यता वा मानवता हुँदैन, केवल मानव भ्रष्ट स्वभाव अनि मानव भ्रम र झूटा शिक्षाहरू हुन्छन्। यी कुराहरूले प्रायः परमेश्‍वरको घर छोडेर जाने र दुष्ट प्रवृत्तिहरूमा आफूलाई डुबाउनेजस्ता सोचहरू उत्पन्न गराउनेछन्, र कुनै पनि क्षण तिनीहरूलाई यस्तो सोच्न लगाउन सक्‍नेछन्: “यदि मैले आशिष् पाउने कुनै आशा छैन भने, किन परमेश्‍वरको घर नछोड्ने र? यदि कुरा त्यस्तो हो भने, म विश्‍वास गर्न वा आफ्नो कर्तव्य निभाउन जारी राख्नेछैनँ। यदि परमेश्‍वरको घरले मलाई यस्तै व्यवहार गर्छ भने, म अबदेखि परमेश्‍वर छन् भनेर स्विकार्नेछैनँ।” यस प्रकारका अत्यन्तै विद्रोही सोचहरू, यी झूटा शिक्षा र भ्रमहरू, यी दुष्ट विचारहरू प्रायः ख्रीष्टविरोधीका हृदयमा आइरहन्छन् र रहिरहन्छन्। यसकारण, यदि तिनीहरू परमेश्‍वरलाई पछ्याउने क्रमको बीचैबाट पछि हटेनन् भने पनि, तिनीहरूलाई अन्त्यसम्‍मै त्यो मार्गमा हिँड्न एकदमै कठिन हुन्छ, तिनीहरूमध्ये धेरैजसो एकदमै धेरै दुष्टता गरेका अनि अवरोध र बाधा पुऱ्याएका कारण मण्डलीबाट निकालिनेछन् र निष्कासित हुनेछन्। तिनीहरूले आफूलाई जबर्जस्ती अन्त्यसम्म अल्झाइराख्‍न सके पनि, वास्तवमा हामी ख्रीष्टविरोधीहरूको प्रकृति सारबाट के देख्न सक्छौँ भने, तिनीहरू मण्डलीबाट पछि हट्नु अवश्यम्भावी छ। तिनीहरूले भित्रभित्रै यस्तोसमेत सोच्‍न सक्छन्, “म कदापि परमेश्‍वरको घर छोडेर जान सक्दिनँ। ममा त्यस्तो सोच भए पनि, म छोडेर जान सक्दिनँ। म यहाँ मृत्युसम्मै बस्नेछु। म परमेश्‍वरको घरमै रहिरहनेछु; म अन्त्यसम्‍मै परमेश्‍वरलाई पछ्याइरहनेछु।” तिनीहरूलाई आफ्नो व्यक्तिगत इच्छाले परमेश्‍वरको घर नछोड्न जसरी बाध्य पारे पनि, र तिनीहरूले आफ्नो त्यो व्यक्तिगत इच्छामा रहने नै जोर गरे पनि, तिनीहरू अन्ततः परमेश्‍वरद्वारा तिरस्कृत हुने र आफ्नै इच्छाले परमेश्‍वरको घर छोड्ने तय छ, किनभने तिनीहरू सत्यताप्रति वितृष्णा राख्छन् र हदै दुष्ट हुन्छन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्