विषयवस्तु एक: तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्छन् (खण्ड एक)
पूरक: सुसमाचार प्रचार गर्ने कार्यका थप सत्यताहरू
अघिल्ला केही भेलाहरूमा छलफल गरिएको विषयवस्तु मानकअनुरूप आफ्ना कर्तव्य निर्वाह गर्नेबारे थियो, र हामीले मानिसहरूले पूरा गर्नुपर्ने कर्तव्यहरू साथै व्यक्तिहरूलाई वर्गीकरण गर्यौँ। ती निश्चित वर्गहरू के-के हुन्? (पहिलो वर्ग भनेको सुसमाचारसम्बन्धी कामदारहरू हुन्, दोस्रो वर्गमा मण्डलीका विभिन्न तहका अगुवा र कामदारहरू समावेश हुन्छन्, तेस्रो वर्गले विभिन्न किसिमका विशेष कर्तव्य पूरा गर्ने मानिसहरूलाई समेट्छ, चौथो वर्गमा साधारण कर्तव्य पूरा गर्ने मानिसहरू समावेश हुन्छन्, पाँचौँ वर्गमा खाली समयमा कर्तव्य पूरा गर्नेहरू समावेश हुन्छन्, र छैटौँ वर्गले कर्तव्य पूरा नगर्नेहरूलाई जनाउँछ।) समग्रमा, छ वटा वर्गहरू छन्। अघिल्लो पटक, हामीले पहिलो वर्गका बारेमा छलफल गर्यौँ, जुन सुसमाचार प्रचार गर्ने कर्तव्यसँग सम्बन्धित सिद्धान्त र सत्यताहरूसँग सम्बन्धित छ, सुसमाचार प्रचारका सबै पक्षहरूका विषयवस्तुहरूसँग सम्बन्धित छ, जसमा ध्यान दिनुपर्ने बुँदाहरू, सान्दर्भिक सिद्धान्त र सत्यताहरू, र मानिसहरू सावधान हुनुपर्ने क्षेत्रहरू, साथै यो कर्तव्य पूरा गर्ने प्रक्रियामा देखा पर्ने आम गल्ती र विकृतिहरू समावेश छन्। कुनै निश्चित विषयवस्तुमा प्रवचन सुनेपछि, के तिमीहरूले त्यसभित्रका मुख्य बुँदाहरूलाई सारांश गर्न सक्छौ? यदि तिमीहरूले कुनै विषयको मुख्य विषयवस्तुलाई बुझ्न सक्छौ, सम्बन्धित सत्यताहरूलाई हृदयमा लिन सक्छौ, त्यसपछि क्रमिक रूपमा, आफ्नो कर्तव्य पूरा गर्ने क्रममा, तिनलाई आफ्नै वास्तविकता, आफ्नो जीवन, र आफ्नो अभ्यासको मार्गमा रूपान्तरण गर्न सक्छौ भने, तिमीहरूले साँच्चै नै मैले सङ्गति गरेका विषयवस्तुलाई पूर्ण रूपमा लिएका हुन्छौ। यदि, कुनै प्रवचनका बारेमा सङ्गति गरेपछि, तिमीहरूमा यसबारे एउटा साधारण विचार मात्रै हुन्छ वा तिमीहरूलाई निश्चित घटना र कथाहरू मात्रै याद हुन्छ तर अन्तर्निहित सत्यता र सिद्धान्तहरू के हुन सक्छन्, र यी कुराहरू किन छलफल गरिएका हुन् भन्ने कुरा थाहा हुँदैन भने, के त्यसलाई बुझाइ हुनु भन्ने मानिन्छ? के त्यो सत्यता बुझ्नु मानिन्छ? (मानिँदैन।) त्यसलाई सत्यता बुझ्नु मानिँदैन; अर्थात्, तिमीहरूले के-कस्ता सत्यताहरू व्यक्त गरिएका छन् भन्ने कुरा बुझेनौ, तिमीहरूले ती कुरा बुझेनौ, र ती कुरालाई स्वीकार गरेनौ। त्यसोभए के तिमीहरूले सारांश दिन सक्छौ? के कसैले मलाई हाम्रो अघिल्लो सङ्गतिका मुख्य बुँदाहरू बताउन सक्छ? (हामीले सात बुँदाहरूलाई सारांश गर्यौँ: पहिलो, सुसमाचारसम्बन्धी कामदारहरूलाई कसरी परिभाषित गर्ने; दोस्रो, सुसमाचार प्रचार गर्ने कर्तव्यको सार; तेस्रो, यो कर्तव्यप्रति मानिसहरूको मनोवृत्ति साथै तिनीहरूको भित्री दृष्टिकोण; चौथो, सुसमाचार प्रचार गर्ने कार्यका अभ्यासका निश्चित सिद्धान्तहरू, जस्तै सुसमाचार प्रचार ग्रहण गर्ने सिद्धान्तहरू अनुरूप को छ र को छैन; पाँचौँ, सुसमाचार प्रचार ग्रहण गर्ने सिद्धान्तहरू अनुरूप रहेका मानिसहरूलाई कसरी व्यवहार गर्ने; छैटौँ, सुसमाचारसम्बन्धी कामदारहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने प्रक्रियामा आफ्ना पद त्यागेर भाग्दा आउने परिणामहरू; सातौँ, सुसमाचार प्रचार गर्ने कार्यमा इतिहासभरि सन्तहरूले गरेको बलिदान, र हामीले हाम्रा कर्तव्यहरू पूरा गर्ने वर्तमान अवसरहरूलाई कसरी कदर गर्नुपर्छ र आफूलाई तुरुन्तै सत्यताले सुसज्जित कसरी गर्नुपर्छ भन्ने कुरा।) तिमीहरूको सारांशले हाम्रो अघिल्लो सङ्गतिका मुख्य पक्षहरूलाई आधारभूत रूपमा समेटेको छ—धेरै राम्रो। के कुनै कुरा छुट्यो? (थप एउटा कुरा पनि छ: मानिसहरूको दृष्टिकोण परिवर्तन गर्नु ताकि तिनीहरूले सुसमाचार प्रचार गर्ने कार्य सुसमाचारसम्बन्धी कामदारहरूको मात्र कर्तव्य नभई परमेश्वरमा विश्वास गर्ने र उहाँलाई पछ्याउने सबै मानिसहरूले त्याग्न नसक्ने जिम्मेवारी हो भन्ने कुरा बुझून्। यो, परमेश्वरका चुनिएका मानिसहरूले बुझ्नैपर्ने एउटा सत्यता हो।) सुसमाचार प्रचार गर्नु हरेक व्यक्तिको जिम्मेवारी र दायित्व हो—यो पनि त्यसको एउटा पक्ष हो। के तिमीहरूलाई यो सत्यताका बारेमा सङ्गति गर्नुको उद्देश्य थाहा छ? यो मानिसहरूको बुझाइमा रहेका विचलनहरूलाई समाधान गर्नका लागि हो। कुन-कुन पक्षहरूमा विचलनहरू हुन्छन्, के तिमीहरूलाई थाहा छ? (थाहा छैन।) थाहा नहुनुले तिमीहरूले सत्यताको यो पक्षलाई बुझेका छैनौ भन्ने कुरालाई प्रमाणित गर्छ। त्यसोभए, मैले किन यो सत्यताका बारेमा सङ्गति गर्नुपर्यो? सकारात्मक पक्षमा, यो मानिसहरूले बुझ्नुपर्ने सत्यताको एउटा पक्ष हो। नकारात्मक पक्षमा, यो सबै मानिसहरूमा सुसमाचार प्रचार गर्ने बारेमा रहेको बुझाइमा भएका विचलनहरूलाई सम्बोधन गर्न हो।
सुसमाचार प्रचार गर्ने यस विषय सम्बन्धी धेरै मानिसहरूको बुझाइमा विचलन हुन्छ। कतिपय मानिसहरूले सोच्छन्, “मैले अहिले विशेष कर्तव्य पूरा गरिरहेको छु, त्यसकारण सुसमाचार प्रचार गर्नुसँग मेरो कुनै सरोकार छैन। यो मेरो चिन्ताको विषय होइन। त्यसकारण, सुसमाचार प्रचार गर्नका लागि बुझ्नुपर्ने सत्यता, सिद्धान्तहरू, र परमेश्वरका मागहरू मेरा लागि अप्रासङ्गिक छन्। मैले यी कुराहरू बुझ्नु पर्दैन।” त्यसकारण, जब सुसमाचार प्रचार गर्ने सत्यताको यो पक्षका बारेमा सङ्गति गरिन्छ, तब तिनीहरू लापरवाह हुन्छन्, तिनीहरूले सावधानीपूर्वक विचार नै गर्दैनन्, र तिनीहरूले ध्यान दिँदैनन्। तिनीहरूले सुने पनि, छलफल गरिएको कुरा तिनीहरूलाई थाहा हुँदैन। यसो भन्नेहरू पनि छन्, “परमेश्वरमा विश्वास गरेपछि, म सधैँ अगुवा रहिआएको छु। मसँग क्षमता र कार्य सामर्थ्य छ। म अगुवा बन्न जन्मेको थिएँ। परमेश्वरले मलाई दिनुभएको कर्तव्य र मेरो जीवनको मिसन अगुवा बन्नु नै हो जस्तो देखिन्छ।” अप्रत्यक्ष रूपमा, तिनीहरूले सुसमाचार प्रचार गर्नुसँग तिनीहरूको कुनै सरोकार छैन भन्ने अर्थ लगाउँछन्। त्यसकारण, जब सुसमाचार प्रचार गर्नेबारे सत्यता सङ्गति गरिन्छ, तब तिनीहरूले त्यसलाई गम्भीरतापूर्वक लिँदैनन्। गएको भेलामा के-कस्ता कुराहरूमा सङ्गति गरिएको थियो भनेर सारांश गर्न लगाउँदा, कतिपय मानिसहरूले लामो समयसम्म आफ्ना नोटहरू पल्टाउँछन् र पनि तिनीहरूलाई थाहा हुँदैन। यस्तो किन हुन्छ? के यो तिनीहरूको स्मरण शक्ति कमजोर भएकोले हो? (होइन।) के तिनीहरूको काम धेरै भएकोले, र तिनीहरूको मन भरिभराउ भएकोले हो? (होइन।) होइन। यसले के देखाउँछ भने सत्यताप्रतिको मानिसहरूको मनोवृत्ति यसप्रति वितृष्ण हुने र सत्यतालाई प्रेम नगर्ने मनोवृत्ति हो। त्यसकारण, सुसमाचार प्रचार गर्नु निश्चित प्रकारको व्यक्ति वा मानिसहरूको समूहको विशेष जिम्मेवारी होइन, तर परमेश्वरलाई पछ्याउने हरेक व्यक्तिको जिम्मेवारी हो भनेर म सबैलाई चेतावनी दिन्छु र जानकारी गराउँछु। मानिसहरूले किन सुसमाचार प्रचारको सत्यता बुझ्नुपर्छ? मानिसहरूले किन यी सत्यताहरू जान्नुपर्छ? सृजित प्राणीका रूपमा, उमेर, लिङ्ग जे भए पनि, वा व्यक्ति जति नै जवान भए पनि वा वृद्ध भए पनि, सुसमाचार प्रचार गर्नु भनेको परमेश्वरलाई पछ्याउने व्यक्तिका रूपमा, हरेकले स्वीकार गर्नुपर्ने मिसन र जिम्मेवारी हो। यदि यो मिसन तँमा आइपर्छ र यसले तँबाट समर्पित गर्ने, मूल्य चुकाउने, वा आफ्नो जीवन समेत बलिदान दिने माग गर्छ भने, तैँले के गर्नुपर्छ? तैँले यसलाई स्वीकार गर्न कर्तव्यनिष्ठ हुनुपर्छ। सत्यता यही हो, र तैँले बुझ्नुपर्ने कुरा यही हो। यो सरल धर्मसिद्धान्त होइन—यो सत्यता हो। मैले किन यो सत्यता हो भनेर भनेँ? किनभने समय जसरी परिवर्तन भए पनि, दशकहरू जसरी बितेर गए पनि, वा ठाउँ र स्थानहरू जसरी परिवर्तन भए पनि, सुसमाचार प्रचार गर्ने र परमेश्वरको गवाही दिने कार्य सधैँ सकारात्मक कुरा नै हुनेछ। यसको अर्थ र मूल्य कहिल्यै परिवर्तन हुनेछैन: यसलाई समय वा भौगोलिक स्थानमा आउने परिवर्तनले पटक्कै असर गर्नेछैन। सुसमाचार प्रचार गर्नु र परमेश्वरको गवाही दिनु अनन्त कुरा हो, र सृजित प्राणीका रूपमा, तैँले यसलाई स्वीकार र अभ्यास गर्नुपर्छ। अनन्त सत्यता यही हो। कतिपय मानिसहरूले भन्छन्, “मैले पूरा गर्ने कर्तव्य सुसमाचार प्रचार गर्नु होइन।” तैपनि, सुसमाचार प्रचारसँग सम्बन्धित यो सत्यता मानिसहरूले बुझ्नुपर्ने कुरा हो, किनभने यो दर्शनहरूसँग सम्बन्धित सत्यता हो, र परमेश्वरमा विश्वास गर्ने सबैले यो बुझ्नुपर्छ; यो परमेश्वरमाथिको आस्थाको आधारभूत कुरा हो र जीवन प्रवेशका लागि फाइदाजनक कुरा हो। यसको साथै, तैँले मण्डलीमा जुनसुकै कर्तव्य पूरा गरे पनि, तँसँग गैर-विश्वासीहरूको सम्पर्कमा आउने अवसरहरू हुनेछन्, त्यसकारण तिनीहरूलाई सुसमाचार प्रचार गर्ने जिम्मेवारी तेरो हुनेछ। तैँले एक पटक सुसमाचार प्रचार गर्ने सत्यता बुझेपछि, हृदयमा यो कुरा जान्नेछस्, “परमेश्वरको नयाँ काम र मानवजातिलाई मुक्ति दिने परमेश्वरको कामको सुसमाचार प्रसार गर्नु मेरो जिम्मेवारी हो। जहिले वा जहाँ भए पनि, र मेरो पद वा भूमिका जस्तोसुकै भए पनि, यदि मैले अभिनेताका रूपमा सेवा गरिरहेको छु भने, सुसमाचार प्रचार गर्ने मेरो दायित्व हो; र यदि म अहिले मण्डली अगुवा हुँ भने, मेरो दायित्व सुसमाचार प्रचार गर्ने पनि हो। मैले अहिले जुनसुकै कर्तव्य पूरा गरिरहेको भए पनि, मेरो दायित्व राज्यको सुसमाचार प्रसार गर्नु हो। अवसर पाउँदा वा खाली समय हुँदा, मैले गएर सुसमाचार प्रचार गर्नुपर्छ। यो जिम्मेवारीबाट म पछि हट्न सक्दिनँ।” के अहिले धेरैजसो मानिसहरूले यस्तै सोच्छन्? (सोच्दैनन्।) त्यसोभए धेरैजसो मानिसहरूले के सोच्छन्? “मसँग अहिले एउटा निर्धारित कर्तव्य छ। म एउटा निश्चित पेसा, अर्थात् सिकाइको एउटा शाखामा अध्ययन गर्दैछु र डुब्दैछु, त्यसकारण सुसमाचार प्रचार गर्नुसँग मेरो कुनै सम्बन्ध छैन।” यो कस्तो मनोवृत्ति हो? यो आफ्नो जिम्मेवारी र मिसनबाट पछि हट्ने मनोवृत्ति, नकारात्मक मनोवृत्ति हो। यी मानिसहरूले परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्दैनन्, तिनीहरू परमेश्वरविरुद्ध विद्रोही हुन्छन्। तँ जोसुकै भए पनि, यदि तँसँग सुसमाचार प्रचार गर्ने कुनै बोझ छैन भने, के यो तँमा विवेक र समझको कमी छ भन्ने कुराको सङ्केत होइन र? यदि तैँले सक्रिय रूपमा सहकार्य गरिरहेको छैनस्, कामहरू लिइरहेको र समर्पित भइरहेको छैनस् भने, तैँले निष्क्रिय र नकारात्मक रूपमा झारा टारिरहेको छस्—यो मनोवृत्ति स्वीकार्य छैन। तैँले जुनसुकै कर्तव्य पूरा गरे पनि, त्यसले सिकाइको जुनसुकै पेसा वा शाखा समेटे पनि, तैँले हासिल गर्नुपर्ने मुख्य परिणामहरूमध्ये एउटा भनेको मानवजातिलाई मुक्ति दिने परमेश्वरको कामको सुसमाचारको गवाही दिने र त्यसको प्रसार गर्ने तेरो क्षमता नै हुनुपर्छ। सृजित प्राणीले पूरा गर्नुपर्ने न्यूनतम मापदण्ड यही हो। यदि तैँले यो न्यूनतम मापदण्ड समेत पूरा गर्न सक्दैनस् भने, परमेश्वरमा विश्वास गरेको यी वर्षहरूमा तैँले आफ्नो कर्तव्य पूरा गरेर के प्राप्त गरेको छस्? तैँले के प्राप्त गरेको छस्? के तैँले परमेश्वरका अभिप्रायहरू बुझेको छस्? तैँले आफ्नो कर्तव्य पूरा गरेको धेरै वर्ष भएको भए पनि र तँ आफ्नो पेसामा पोख्त बनेको भए पनि, यदि परमेश्वरको गवाही दिन लगाइयो भने तैँले केही पनि भन्न वा सत्यताको कुनै पक्षबारे सङ्गति गर्न सक्दैनस् भने, समस्या के हो? समस्या के हो भने तैँले सत्यता बुझेको छैनस्। कतिपय मानिसहरूलाई आफूले सत्यता बुझेको छैनँ भनेर भन्दा यो अनुचित हुन्छ भन्ने लाग्न सक्छ। तिनीहरूले आफू कर्तव्य पूरा गर्नमा प्रभावकारी रहेको सोच्न सक्छन्, तर तिनीहरूले परमेश्वरको कामका दर्शनहरू र मानवजातिलाई मुक्ति दिने उहाँको अभिप्रायलाई बुझ्दैनन्। के यो सत्यतालाई बुझ्नु सरह हो? कम्तीमा पनि, तैँले परमेश्वरमाथिको तेरो विश्वासका लागि साँचो मार्गमा जग बसालेको छैनस्। तैँले परमेश्वरको काम र मानवजातिका लागि उहाँको मुक्तिको सुसमाचार प्रसारका लागि कुनै बोझ वहन गर्दैनस्, र तँमा कुनै अन्तर्ज्ञान, समझ, वा बुझाइ छैन। के तँलाई साँच्चै नै परमेश्वरलाई पछ्याउने व्यक्ति मान्न सकिन्छ र? के तैँले परमेश्वरसँग सामान्य सम्बन्ध स्थापित गरेको छस्? यदि तैँले यीमध्ये कुनै कुरा हासिल गरेको छैनस् भने, तँसँग सत्यता वास्तविकता छैन।
अब, हामी यसभन्दा पहिले हामीले छलफल गरेको विषयमा फर्किऔँ। सुसमाचार प्रचार गर्नु परमेश्वरका चुनिएका सबै मानिसहरूको जिम्मेवारी र दायित्व हो। सत्यताको यो पक्षका बारेमा छलफल गरिसकेपछि, सबैले बुझ्नुपर्ने एउटा बुँदा के हो? व्यक्तिले मूल्य चुकाए पनि, परमेश्वरका लागि आफूलाई समर्पित गर्न आफ्नो परिवार र कामलाई त्यागे पनि, वा आफ्नो जीवन समेत समर्पित गरे पनि, वास्तवमा यी सबै सतही कुराहरू हुन्। परमेश्वरले अन्तत: मानिसहरूबाट के माग गर्नुहुन्छ? तेरो कद बढ्दै जाँदा र तेरो जीवन परिपक्व हुँदै जाँदा, समय बित्दै जाँदा, तैँले परमेश्वरको काम र मानवजातिलाई मुक्ति दिने उहाँको अभिप्रायका बारेमा विभिन्न सत्यताहरू बिस्तारै बुझ्न थाल्छस्। सुसमाचार प्रचार गर्ने र परमेश्वरको गवाही दिने कार्यको तेरो बोझ झन्-झन् स्पष्ट हुँदै जान्छ, र यो कर्तव्य पूरा गर्ने तेरो सङ्कल्प अझै दह्रिलो हुँदै जान्छ। यदि मण्डली अगुवाले धेरै वर्षदेखि काम गरिरहेको छ, तर मण्डलीको नेतृत्व गर्दा उसले बिताएका वर्षहरू बित्दै जाँदा, उसले कम जोस महसुस गर्छ, कम उत्प्रेरित हुन्छ, र सुसमाचार प्रचार गर्ने कुरा आउँदा बोझ कम लिन्छ भने, उसले आफ्नो कर्तव्य कति राम्ररी पूरा गर्छ? (राम्ररी पूरा गर्दैन।) किन नि? पैदा हुने समस्या के हो? यदि तिनीहरूमा यस्तो स्थितिको विकास हुन्छ वा तिनीहरू यस्तो स्थितिमा जिउँछन् भने, कम्तीमा पनि एउटा कुरा निश्चित हुन्छ: यो व्यक्तिले यी वर्षहरूमा सत्यता पछ्याएको हुँदैन र कुनै वास्तविक काम गरेको हुँदैन। तिनीहरू ठूलो रातो अजिङ्गरका अड्डावाल कर्मचारीहरू जस्तै हुन्। परिणाम स्वरूप, परमेश्वरको नाम घोषणा गर्ने र उहाँको कामको गवाही दिने कार्यका लागि तिनीहरूमा कुनै बोझ र अन्तर्ज्ञान हुँदैन। के परिणाम यही होइन र? (हो।) यो अपरिहार्य परिणाम हो। यो व्यक्तिले जति वर्ष काम गरेको भए पनि, उसले आफ्नो कद ठूलो छ, परमेश्वरको बोझलाई ख्याल गर्न सक्छु, र परमेश्वरका अभिप्रायहरू अनुसार सेवा गर्न सक्छु भन्ने सोचे पनि, सुसमाचार प्रचार गर्ने कार्यको कुरा आउँदा, ऊ पछि हट्छ, र यो काम कसरी गर्ने भन्ने उसलाई थाहा हुँदैन। जब उसले परमेश्वरको देखापराइको तृष्णा गर्ने र साँचो मार्गको खोजी र अनुसन्धान गर्न आउने मानिसहरूलाई भेट्छ, तब ऊ चुपचाप बस्छ। उसले एक शब्द पनि बोल्न सक्दैन, र कहाँबाट सुरु गर्ने भन्ने उसलाई थाहा हुँदैन। समस्या के हो? उसले सत्यता बुझेको हुँदैन र सत्यता प्राप्त गरेको हुँदैन, त्यसकारण उसले परमेश्वरको गवाही दिन सक्दैन। सत्यता बुझेकाहरूले मात्रै परमेश्वरको गवाही दिन सक्छन्। सुसमाचार प्रचार गर्ने र परमेश्वरको गवाही दिने कार्य तेरो कर्तव्यको दायराभित्र पर्छ। यदि तैँले सत्यता बुझेको छस्, यदि तैँले सत्यता प्राप्त गरेको छस् भने, साँचो मार्गको अनुसन्धान गर्ने मानिसहरूलाई भेट्दा किन तँसँग भन्ने कुरा केही हुँदैन? के यो समस्या होइन र? के तिमीहरू प्रायजसो यस्ता परिस्थितिहरूमा पर्छौ? (पर्छौँ।) समस्या के हो? तिमीहरूसँग बोझ छैन। के बोझ नहुनु समस्या हो? के तिमीहरूले बोझबिना आफ्नो कर्तव्य पूरा गर्न सक्छौ? तिमीहरूले आफ्नो कर्तव्य पूरा गरे पनि, के तिमीहरूले त्यो बफादारिताको साथ गर्न सक्छौ? के तिमीहरूले त्यो मानक अनुरूप गर्न सक्छौ? बोझ नलिनु घातक समस्या नहुन सक्छ, तर यो अझै पनि गम्भीर समस्या हो, किनभने यसले तिमीहरूले आफ्नो कर्तव्य कति राम्ररी पूरा गर्छौ भन्ने कुरालाई असर गर्छ। के यो समस्यालाई समाधान गरिनु पर्दैन र? (हो, पर्छ।) त्यसोभए, यसलाई कसरी समाधान गर्छौ? तिमीहरूले सुसमाचार प्रचार गर्ने बारेमा रहेका आफ्ना त्रुटिपूर्ण दृष्टिकोणहरूलाई उल्ट्याउनुपर्छ र त्यसको सत्यतालाई बुझ्नुपर्छ। तिमीहरू अहिले संलग्न रहेका सबै कामहरू सुसमाचार प्रचार गर्ने कार्यसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन् र सुसमाचार प्रचार गर्ने कार्यको दायराभित्र पर्छन्। यसको उद्देश्य परमेश्वरको गवाही दिनु, सुसमाचारको काम फैलाउनु, परमेश्वरको नामको गवाही दिनु, र मानवजातिलाई मुक्ति दिने परमेश्वरको कामको यो सुसमाचार प्रसार गर्नु हो, ताकि धेरै मानिसहरू यसबारे सचेत होऊन्, र धेरै मानिसहरू परमेश्वरको अघि आएर परमेश्वरको विजयलाई स्वीकार गरून्, परमेश्वरको मुक्ति प्राप्त गरून्, र अन्तिममा, यदि तिनीहरूले परमेश्वरले तिनीहरूलाई दिनुभएको सिद्धता प्राप्त गर्ने सौभाग्य पाए भने—त्यो अझै राम्रो कुरा हो। अझै धेरै मानिसहरूलाई परमेश्वरको अघि ल्याउनु भनेको के हो, र यसले हासिल गर्नुपर्ने अन्तिम परिणाम के हो? (अधिक मानिसहरूलाई परमेश्वरको मुक्ति प्राप्त गर्ने तुल्याउनु।) यो उद्देश्य किन हासिल गरिनुपर्छ? किनभने यो परमेश्वरको अभिप्राय हो। त्यसकारण हामी अथक रूपमा यी सत्यताहरूलाई व्याख्या गर्छौँ। यदि परमेश्वरको अभिप्रायसँग यसको कुनै सम्बन्ध थिएन भने, यी कुराहरूका बारेमा कुरा गर्नु व्यर्थ र खोक्रो हुनेथियो। यो परमेश्वरको अभिप्राय भएकोले, हामी यसलाई स्पष्ट पार्छौँ र सबैलाई यो कुरा बुझ्न सहयोग गर्छौँ, ताकि तिनीहरूले यो सत्यता हो र हरेकले सुसमाचार प्रचार गर्ने यो सत्यतामा मेहनत लगाउनुपर्छ भन्ने कुरा जानून्, ताकि हरेक व्यक्तिमा यस्तो अन्तर्ज्ञान होस् र यस्तो बोझको विकास होस्।
अर्को प्रश्न के हो भने, हामीले किन अझै धेरै मानिसहरूलाई परमेश्वरको अभिप्राय बुझ्ने तुल्याउनुपर्छ ताकि तिनीहरूले सुसमाचार प्रचार गर्न र आफ्नो कर्तव्य पूरा गर्न सकून्? किन यसो गरिनुपर्छ? कतिपयले यसो भन्न सक्छन्, “परमेश्वरले हरेक व्यक्तिले मुक्ति पाओस् भन्ने चाहनुहुन्छ र कोही पनि अनन्त कष्ट भोग्न परोस् भन्ने चाहनुहुन्न, त्यसकारण हामीले अझै धेरै मानिसहरूलाई परमेश्वरको काम स्वीकार गर्ने तुल्याउनुपर्छ।” यो अभिव्यक्ति सही छ, तर यो प्रश्नको सारगत उत्तर होइन। त्यसोभए, यो प्रश्नको सारगत उत्तर के हो? के तिमीहरूलाई थाहा छ? (परमेश्वरले उहाँसँग एउटै हृदय र मन भएका मानिसहरूको समूह प्राप्त गर्न चाहनुहुन्छ।) परमेश्वरले उहाँसँग एउटै हृदय र मन भएका मानिसहरूको समूह प्राप्त गर्न चाहनुहुन्छ, र यो सुसमाचार फैलाएर हासिल गरिनुपर्छ। अहिले हामीले व्यापक रूपमा सुसमाचार प्रचार गर्नेबारे कुरा गरिरहेका छौँ। के सुसमाचार व्यापक रूपमा प्रचार गर्नु र मानिसहरूको समूहलाई प्राप्त गर्नुको बीचमा भिन्नता छ? (छ।) त्यसोभए, सुसमाचार व्यापक रूपमा प्रचार गर्नुको उद्देश्य के हो? (सम्भव भएसम्म धेरैभन्दा धेरै मानिसहरूलाई मुक्ति दिनु।) सम्भव भएसम्म धेरैभन्दा धेरै मानिसहरूलाई मुक्ति दिनु परमेश्वरको मुक्तिको सिद्धान्त हो तर यो प्रश्नको उत्तर होइन। यो काम सुरु भएको बेलादेखि नै, यस पटक, परमेश्वर कसरी एउटा युगको उद्घाटन गर्न, नयाँ युग ल्याउन र पुरानो युगलाई अन्त्य गर्नका लागि काम गर्न आउनुभएको छ—राज्यको युग ल्याउन र अनुग्रहको युगलाई अन्त्य गर्नका लागि काम गर्न आउनुभएको छ भन्ने बारेमा मैले बारम्बार कुरा गरेको छु। परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्ने सबै यो तथ्यको गवाही रहेका छन्। परमेश्वरले नयाँ काम गरिरहनुभएको छ, मानवजातिलाई न्याय गर्न, शुद्ध पार्न र मुक्ति दिन सत्यता व्यक्त गरिरहनुभएको छ। राज्यको सुसमाचार धेरै देशमा फैलिन थालेको छ। यो मानवजाति व्यवस्थाको युग र अनुग्रहको युगबाट पहिले नै बाहिर आइसकेको छ। तिनीहरूले बाइबल पढ्न छोडेका छन्, तिनीहरू क्रूसको अधीनमा बस्न छोडेका छन्, र तिनीहरूले मुक्तिदाता येशूको नाम पुकार्न छोडेका छन्। बरु, तिनीहरूले सर्वशक्तिमान् परमेश्वरको नाममा प्रार्थना गर्छन्, यसको साथै परमेश्वरका वर्तमान वचनहरूलाई आफ्नो जीवनमा सिद्धान्त, विधि, र बाँच्ने उद्देश्यहरूका रूपमा स्वीकार गर्छन्। यस अर्थमा, के यी मानिसहरू नयाँ युगमा प्रवेश गरिसकेका छैनन् र? (छन्।) तिनीहरू नयाँ युगमा प्रवेश गरेका छन्। त्यसोभए, आखिरी दिनहरूको सुसमाचार र परमेश्वरका नयाँ वचनहरू स्वीकार नगर्ने अझै धेरै मानिसहरू कुन युगमा जिइरहेका छन्? तिनीहरू अझै पनि अनुग्रहको युगमा जिइरहेका छन्। अब, तिमीहरूको जिम्मेवारी के हो? तिनीहरूलाई अनुग्रहको युगबाट बाहिर अनि नयाँ युगभित्र ल्याउनु हो। के तिमीहरूले परमेश्वरलाई प्रार्थना गरेर र उहाँको नाम पुकारेर मात्रै परमेश्वरको आज्ञा पूरा गर्न सक्छौ? के परमेश्वरका केही वचनहरू प्रचार गर्नु मात्रै पर्याप्त हुन्छ? अवश्य नै हुँदैन। यसका लागि तिमीहरूले सबैले सुसमाचार प्रचार गर्ने यो आज्ञा लिने, परमेश्वरका वचनहरू व्यापक रूपमा फैलाउने, विभिन्न तरिकाले परमेश्वरका वचनहरू प्रसार गर्ने, र राज्यको सुसमाचार प्रसार गर्ने र फैलाउने बोझ लिनुपर्छ। फैलाउनु भनेको के हो? यसको अर्थ परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार नगरेका मानिसहरूमा परमेश्वरका वचनहरू पुऱ्याउनु, परमेश्वरले नयाँ काम गरिरहनुभएको छ भनेर अझै धेरै मानिसहरूलाई थाहा दिनु, त्यसपछि तिनीहरूलाई परमेश्वरका वचनहरूको गवाही दिनु, परमेश्वरको कामको गवाही दिनका लागि आफ्ना अनुभवहरू प्रयोग गर्नु, र तिनीहरूलाई नयाँ युगमा पनि ल्याउनु हो—त्यसरी तिनीहरू पनि तिमीहरू जस्तै नयाँ युगमा प्रवेश गर्नेछन्। परमेश्वरको अभिप्राय स्पष्ट छ। उहाँका वचनहरू सुनेका, तिनलाई स्वीकार गरेका, र उहाँलाई पछ्याएका तिमीहरूले मात्रै नयाँ युगमा प्रवेश गर्न पाउनुपर्छ भन्ने होइन, तर उहाँले सारा मानवजातिलाई यो नयाँ युगमा पुऱ्याउनुहुनेछ। यो परमेश्वरको अभिप्राय हो, र अहिले परमेश्वरलाई पछ्याउने हरेक व्यक्तिले बुझ्नुपर्ने एउटा सत्यता यही हो। परमेश्वरले मानिसहरूको एउटा समूह, सानो गुट, वा सानो जातीय समूहलाई नयाँ युगमा डोऱ्याइरहनुभएको छैन; बरु, उहाँले सारा मानवजातिलाई नयाँ युगमा डोऱ्याउने अभिप्राय राख्नुहुन्छ। यो उद्देश्य कसरी हासिल गर्न सकिन्छ? (व्यापक रूपमा सुसमाचार फैलाएर।) वास्तवमा, व्यापक रूपमा सुसमाचार प्रचार गरेर, व्यापक रूपमा सुसमाचार प्रचार गर्न विभिन्न विधि र माध्यमहरू प्रयोग गरेर नै यसलाई हासिल गर्नुपर्छ। सुसमाचार व्यापक रूपमा प्रचार गर्ने बारेमा कुरा गर्नु सजिलो छ, तर यसलाई निश्चित रूपमा कसरी पूरा गर्ने? (यसका लागि मानव सहकार्य चाहिन्छ।) वास्तवमै हो, यसका लागि मानव सहकार्य चाहिन्छ। यदि मानिसहरू सधैँ आफ्नो हृदयमा केही पुराना कुराहरूमा अडिग रहन्छन्, सधैँ निश्चित विकृत तत्वहरू पालेर राख्छन्, पुराना प्रावधान र अभ्यासहरूमा लागिरहन्छन्, तर सुसमाचारको कामलाई गम्भीरतापूर्वक लिँदैनन्, र परमेश्वरको आज्ञालाई स्वीकार गर्दैनन्, सुसमाचारको कामलाई आफूसँग असम्बन्धित मान्छन् भने, के त्यस्ता मानिसहरूलाई परमेश्वरले बढुवा दिन र प्रयोग गर्न सक्नुहुन्छ? के तिनीहरूसँग परमेश्वरको अघि जिउने योग्यताहरू हुन सक्छन्? के तिनीहरूले परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्छन्? बिलकुलै सक्दैनन्। त्यसकारण, मैले तिमीहरूले नबुझेका तत्वहरूलाई ध्यान दिएर, तिमीहरूले ती नबुझेसम्म सान्दर्भिक सत्यताहरूलाई अथक रूपमा व्याख्या गरेर तिमीहरूलाई तिमीहरूका सोच्ने तरिकाहरूबारे परामर्श दिनुपर्छ। तिमीहरू जति नै स्तब्ध र मन्दबुद्धिका भए पनि, मैले तिमीहरूसँग कुरा गरिरहनैपर्छ र यो परमेश्वरको अभिप्राय हो, तिमीहरूले पूरा गर्नुपर्ने कर्तव्य यही हो, र यो जीवनकालमा यो तिमीहरूको मिसन र दायित्व हो भन्ने कुरा तिमीहरूलाई बुझाउनुपर्छ। यदि तैँले मैले भनेको कुरालाई ध्यान दिँदैनस् वा बुझ्दैनस् भने, म बोलिरहनुपर्छ। तँलाई यससँग दिक्क लागे पनि, तैँले सत्यता नबुझ्नेसम्म मैले बोल्ने कामलाई जारी राख्नुपर्छ। सत्यता के हो? सत्यता परमेश्वरले व्यक्त गर्नुहुने कुरा हो; यो परमेश्वरका अभिप्रायहरू, मानवजातिप्रतिको परमेश्वरका मागहरू, र नयाँ युगका मानिसहरूसँग हुनुपर्ने सत्यता वास्तविकता हो। मानिसहरूले परमेश्वरका अभिप्रायहरूलाई कसरी लिनुपर्छ? तिनीहरूले निसर्त र पूर्ण रूपमा यी कुराहरूलाई स्वीकार गर्नुपर्छ, त्यसपछि आफूलाई समर्पित गर्नुपर्छ र सहकार्य गर्नुपर्छ, यसरी परमेश्वरका अभिप्रायहरूलाई पूरा गर्नुपर्छ। यो व्यक्तिको दायित्व हो। मैले यसरी भनेपछि के तिमीहरूले बुझ्यौ? कतिपयले यसो भन्न सक्छन्, “ए हजुर, परमेश्वरले मानिसहरूलाई उहाँको आज्ञा स्वीकार गर्न माग गर्नुहुन्छ, तर हामी महत्त्वहीन व्यक्तिहरूसँग यसको के सम्बन्ध छ र?” के तिमीहरूलाई यो कुरासँग तिनीहरूको कुनै सम्बन्ध छ भन्ने लाग्छ? (हो, लाग्छ।) तिनीहरूसँग यसको के सम्बन्ध हुन्छ? म व्याख्या गर्छु। परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, र मानिसहरू उहाँका सृजित प्राणीहरू हुन्। “सृष्टि गर्ने” र “सृजित” बीचको सम्बन्ध के हो? यो कार्य गर्ने र कार्य गरिने बीचको, सृष्टि गर्ने र सृजित बीचको सम्बन्ध हो। सृष्टिकर्ताका अभिप्रायहरू तँलाई थाहा दिइएको हुनाले, तैँले कस्तो मनोवृत्तिले प्रतिक्रिया दिनुपर्छ? (तिनलाई स्वीकार गरेर आफ्नो सारा शक्तिले सहकार्य गर्नुपर्छ।) ठीक भनिस्, तँ तिनमा समर्पित हुनुपर्छ र तैँले तिनलाई स्वीकार गर्नुपर्छ, र मूल्य जतिसुकै भए पनि आफ्नो सारा शक्तिले सहकार्य गर्नुपर्छ। के यो सहकार्यमा सत्यता खोजी गर्ने कार्य समावेश हुन्छ? के यसमा सत्यता बुझ्ने कार्य समावेश हुन्छ? यसमा दुवै समावेश हुन्छ। तैँले परमेश्वरका मागहरू र आज्ञाहरू बुझेको हुनाले, यी कुराहरू तेरो मिसनसँग सम्बन्धित छन्, ती तेरा कर्तव्य हुन्—तँलाई यो थाहा भएको हुनाले, तैँले यसलाई स्वीकार गर्नुपर्छ। विवेक र समझ भएको व्यक्तिले गर्नुपर्ने कुरा यही हो। यदि तँलाई परमेश्वरका मागहरू र आज्ञाहरू थाहा छ तर तैँले तिनलाई स्वीकार गर्न सक्दैनस् भने, तँमा विवेक र समझ दुवै हुँदैन, र तँ मानव भनिन लायक छैनस्। कतिपय मानिसहरूले अझै पनि बुझ्न सक्दैनन् होला, र यसो सोच्छन्, “परमेश्वरका अभिप्रायहरूसँग हाम्रो के सम्बन्ध छ?” यदि तँसँग परमेश्वरका अभिप्रायहरूको कुनै सम्बन्ध छैन भने, तँ परमेश्वरलाई पछ्याउने व्यक्ति वा परमेश्वरको घरको सदस्य होइनस्। उदाहरणका लागि, तेरा आमाबुबाले तँलाई जन्माएर धेरै वर्षदेखि हुर्काएका छन्; तैँले तिनीहरूको खाना खाएको छस्, तँ तिनीहरूको घरमा बसेको छस्, र तैँले तिनीहरूको पैसा खर्च गरेको छस्। तर जब घरमा समस्या हुन्छ, र तैँले तँसँग यसको कुनै सम्बन्ध छैन भनेर भन्छस्, तँ यसलाई बेवास्ता गर्छस् र केवल भाग्छस् भने, यो कस्तो खत्तम व्यक्ति हो? तँलाई बाहिरको व्यक्ति भनिँदा पनि राम्रो सुनिन्छ; वास्तवमा, तँ विद्रोही खत्तम व्यक्ति होस्, मानव वस्त्र धारण गर्ने जङ्गली होस्, पशुभन्दा पनि नीच होस्। परमेश्वरको अभिप्राय तँलाई स्पष्ट पारिएको छ, र परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले कामको यो चरणलाई स्वीकार गरेका छौ, र मैले तिमीहरूलाई यी वचनहरू सुरुमा नै दिइसकेँ, ताकि सुरुमा तिमीहरूले ती वचनहरू सुन्न सक, र तिमीहरूले ती वचनहरू सुनेका छौ, बुझेका छौ, र जानेका छौ। अब, म तिमीहरूलाई तिमीहरूप्रतिको मेरो अभिप्राय र माग पनि बताउनेछु। सम्पूर्ण मानवजातिलाई मेरो आवाज सुनाउनका लागि तिमीहरूले मेरो काम, मेरा वचनहरू, र मैले हासिल गर्न लागेका कुराहरू प्रसार गर्नुपर्छ; तिमीहरूले सारा मानवजातिलाई परमेश्वरको काम तुरुन्तै स्वीकार गर्न र राज्यको युगमा प्रवेश गर्न लगाउनका लागि मेरो राज्यको सुसमाचार फैलाउनुपर्छ। यो परमेश्वरको अभिप्राय र माग हो।” यो सुनेपछि तैँले कसरी मनन गर्नुपर्छ? तँमा कस्तो मनोवृत्ति हुनुपर्छ? तैँले कसरी छनौट गर्नुपर्छ? सृजित प्राणीले पूरा गर्नुपर्ने कर्तव्यलाई तैँले कसरी पूरा गर्नुपर्छ? कतिपय मानिसहरूलाई यो बोझ भारी छ भन्ने महसुस हुन सक्छ, तर त्यस्तो महसुस हुनु मात्रै आफैमा पर्याप्त हुँदैन; तँमा व्यवहार र साँचो बुझाइ हुनुपर्छ। तैँले परमेश्वरलाई यसरी प्रार्थना गर्नुपर्छ: “हे परमेश्वर, तपाईंले मलाई सुसमाचार प्रचार गर्ने जिम्मेवारी सुम्पनुभएको छ—यो त तपाईंले मलाई गर्नुभएको उत्थान हो। मैले अत्यन्तै थोरै सत्यता बुझेको भए पनि, म यो आज्ञा पूरा गर्नका लागि सक्दो गर्न तयार छु। मैले धेरै प्रवचन सुनेको छु र केही सत्यताहरू बुझेको छु—यो सबै तपाईंको आशिष् हो, र अहिले मैले यो आज्ञा पूरा गर्नका लागि परमेश्वरका वचनहरू र कामको गवाही दिने जिम्मेवारी पाएको छु।” ठीक भनिस्; जब मानिसहरूमा परमेश्वरप्रति समर्पित हृदय हुन्छ, तब उहाँले तिनीहरूलाई मार्गदर्शन गर्नुहुन्छ। परमेश्वरले मानिसहरूलाई पहिले नै स्पष्ट रूपमा बताइसक्नुभएको छ र परमेश्वरको सुसमाचार प्रसार कार्य कुनै पनि व्यक्ति पछि हट्न नसक्ने दायित्व र जिम्मेवारी हो भनेर भन्नुभएको छ। यो जीवनभरिको कर्तव्य हो, हरेक सृजित प्राणीको कर्तव्य हो। के यी वचनहरूमा परमेश्वरबाट आएको आज्ञा समावेश छ? के तिनमा उहाँको अर्ती समावेश छ? (हो, छ।) के तिनमा परमेश्वरको अभिप्राय समावेश छ? (छ।) के तिनमा मानिसहरूले बुझ्नुपर्ने सत्यताहरू समावेश छन्? (छन्।) के तिनमा अभ्यासका सिद्धान्त र मार्गहरू छन् जसलाई पछ्याउन सकिन्छ? (छन्।) मैले जम्मा कति वटा बुँदाहरू उल्लेख गरेँ? (चारवटा बुँदाहरू: पहिलो परमेश्वरको आज्ञा र अर्ती हो। दोस्रो परमेश्वरको अभिप्राय हो। तेस्रो हामीले बुझ्नुपर्ने सत्यताहरू हुन्। चौथो भनेको व्यक्तिले पछ्याउनुपर्ने अभ्यासका सिद्धान्त र मार्गहरू हुन्।) ठीक भन्यौ; मैले जम्मा यी चार बुँदाहरू उल्लेख गरेको छु। यसपछि, हामी हरेकको निश्चित विषयवस्तुका बारेमा सङ्गति गरौँ।
पहिलो बुँदा परमेश्वरको आज्ञा हो। परमेश्वरको आज्ञा भनेको के हो? (राज्यको सुसमाचार प्रसार गर्नु।) यो राज्यको सुसमाचार व्यापक रूपमा प्रचार गर्नु हो। दोस्रो बुँदा परमेश्वरको अभिप्राय हो। परमेश्वरको अभिप्राय के हो? यो परमेश्वर आइसक्नुभएको छ, उहाँले नयाँ काम गरिरहनुभएको छ, परमेश्वरले युग परिवर्तन गर्ने, पुरानो युगलाई अन्त्य गर्ने, र मानवजातिलाई नयाँ युगमा डोऱ्याउने अभिप्राय राख्नुभएको छ भन्ने कुरा अझै धेरै मानिसहरूलाई थाहा दिनु हो। यो परमेश्वरको अभिप्राय हो, होइन र? के परमेश्वरको अभिप्राय भनेको सुसमाचार फैलाउनु नै हो भनेर भन्न सकिन्छ? यो त्यति सरल छैन। सुसमाचार फैलाउनुको अन्तिम उद्देश्य र परिणाम हुन्छ—त्यो के हुनुपर्छ? (परमेश्वर आइसक्नुभएको छ, उहाँले नयाँ काम गरिरहनुभएको छ, र उहाँले पुरानो युगलाई अन्त्य गर्ने, र सम्पूर्ण मानवजातिलाई नयाँ युगमा डोऱ्याउने अभिप्राय राख्नुभएको छ भन्ने कुरा अझै धेरै मानिसहरूलाई थाहा दिनु।) ठीक भन्यौ, सारा मानवजातिलाई नयाँ युगमा डोऱ्याउनु। यसले मानवजातिमा कस्तो असर पार्छ? मानवजाति नयाँ युगमा प्रवेश गर्छ; यो युग रूपान्तरण हुन्छ। त्यसोभए, परमेश्वरको अभिप्राय के हो? फेरि भन। (परमेश्वरले युग परिवर्तन गर्ने, पुरानो युगलाई अन्त्य गर्ने र मानवजातिलाई नयाँ युगमा डोऱ्याउने अभिप्राय राख्नुभएको छ।) तैँले केही पनि छुटाउनु हुँदैन—के तैँले यो सबै कुरा टिपोट गरिस्? (गरेँ।) तेस्रो बुँदा भनेको मानिसहरूले बुझ्नुपर्ने सत्यता हो। यो सत्यता के हुनुपर्छ? (सुसमाचार प्रचार गर्नु हरेक सृजित प्राणीको कर्तव्य र जिम्मेवारी हो।) सत्यता त्यही हो। यस सत्यताभित्र, मानिसहरूले गर्नुपर्ने कुरा भनेको सुसमाचार प्रचार गर्ने कर्तव्यलाई स्वीकार गर्नु हो त्यसपछि यस अभिव्यक्तिभित्र अभ्यासका सिद्धान्त र मार्गहरू खोज्नु हो। यो अभिव्यक्ति मानिसहरूका लागि सत्यता हो। त्यो अभिव्यक्ति के हो? (सुसमाचार प्रचार गर्नु हरेक सृजित प्राणीको कर्तव्य र जिम्मेवारी हो।) यो कर्तव्य र मिसन हुनुपर्छ। तैँले कर्तव्य र मिसनलाई कसरी बुझेको छस्? कर्तव्य भनेको व्यक्तिले पूरा गर्नुपर्ने जिम्मेवारी हो, र उसले पूरा गर्नुपर्ने जिम्मेवारी उसको कर्तव्य पनि हो। तर मिसन फरक छ; मिसन जिम्मेवारीभन्दा महान्, उपयुक्त, गहन अर्थ भएको र ठूलो बोझ सहितको हुन्छ। के तैँले यो कुरा टिपोट गरिस्? (गरेँ।) अहिले, मैले एउटा कुरा याद गरेँ; हामीले छलफल गरिरहेका यी सबै विषयवस्तुहरू लिखित रूपमा राखिनुपर्छ त्यसपछि मात्रै तिमीहरूले तिनका बारेमा बुझ्नेछौ। यदि तिमीहरूले ती टिपोट गरेनौ भने, यसरी सुनेर मात्र, यसले छाप समेत पार्दैन। यसले के कुराको सङ्केत गर्छ? यसले के देखाउँछ भने मानिसहरूले सत्यता बुझ्दैनन्; तिनीहरूले अलिकति धर्मसिद्धान्त मात्रै बुझ्छन् र निश्चित सत्यताहरूको परिभाषा, अवधारणा, र रूपरेखालाई जान्दछन्। यी सत्यताहरूका निश्चित विवरणहरूका कुरा आउँदा, ती कसरी अभ्यास गर्ने र लागू गर्ने भन्ने कुरा आउँदा, तिनीहरू बेखबर हुन्छन्, होइन र? तिमीहरूमध्ये धेरैजसोका लागि, दुई-तीन घण्टा धर्मसिद्धान्तका बारेमा कुरा गर्नु गाह्रो कुरा होइन, तर जब परिस्थितिहरूलाई समाधान गर्न सत्यता लागू गर्ने, तिमीहरूले अनुभव गरेका र बुझेका अभ्यासका सिद्धान्तहरू र मार्गहरू प्रयोग गर्ने कुरा आउँछ—तब त्यो कठिन हुन्छ। समस्या के हो? सत्यता नबुझ्नु, होइन र? अब, हामी चौथो बुँदामा जाऔँ। चौथो बुँदा के हो? (व्यक्तिले पछ्याउनुपर्ने अभ्यासका सिद्धान्त र मार्गहरू।) यी सिद्धान्त र मार्गहरू कसरी निर्धारित हुन्छन्? तिनलाई दुई वटा कुराका आधारमा निर्धारित गरिन्छ: एउटा परमेश्वरको अभिप्राय हो, र अर्को सत्यता हो। यी दुई वटा कुराहरू मानिसहरूले बुझ्नैपर्छ। उदाहरणका लागि, यदि तँलाई सुसमाचार प्रचार गर्न लगाइएको बेला तँ यो काम गर्न अनिच्छुक हुन्छस्, तर परमेश्वरले सुसमाचार प्रचार गर्नु उहाँको अभिप्राय हो भनेर भन्नुहुन्छ भने, तैँले के गर्नुपर्छ? अभ्यासका तेरा सिद्धान्तहरू के-के हुनुपर्छ? तेरो मनोवृत्ति कस्तो हुनुपर्छ? तैँले इन्कार नगरी, कुनै विश्लेषण वा छानबीन नगरी, कारण नसोधी तँ पूर्ण रूपमा यसमा समर्पित हुनुपर्छ र तैँले यसलाई स्वीकार गर्नुपर्छ। साँचो समर्पणता यही हो। सत्यताको अभ्यास गर्दा पालना गर्नुपर्ने एउटा महत्त्वपूर्ण सिद्धान्त यही हो। जब हामी परमेश्वरको अभिप्रायका बारेमा पारिभाषिक तरिकाले कुरा गर्छौँ, तब यसले प्रायजसो केलाई जनाउँछ? परमेश्वरको अभिप्राय भनेको सारगत रूपमा परमेश्वरको चाहना नै, उहाँका कार्यहरूको उद्देश्य, स्रोत, र सुरुवात विन्दु हो। आत्मिक हिसाबमा भन्दा, यसलाई उहाँको “अभिप्राय” वा “दर्शन” भनिन्छ। जब परमेश्वरले तँलाई आफ्नो अभिप्राय प्रकट गर्नुहुन्छ, तब उहाँले तँलाई सामान्य दिशा दिनुहुन्छ, र उहाँले के गर्ने अभिप्राय राख्नुभएको छ भन्ने कुरा तँलाई थाहा दिनुहुन्छ। तर, यदि परमेश्वरले निश्चित कुराहरू वा सिद्धान्तहरू प्रदान गर्नुभएन भने, के तैँले अभ्यास गर्ने सटीक मार्ग र दिशा थाहा पाउँछस्? पाउँदैनस्। त्यसकारण जब म मानिसहरूलाई कुनै काम गर्न लगाउँछु, तब दिमाग भएका, हृदय र आत्मा भएका मानिसहरूले यसलाई स्वीकार गरेपछि तुरुन्तै यसका विस्तृत विवरण अनि यसलाई कसरी निश्चित रूपमा पूरा गर्ने भनेर खोजी गर्छन्। दिमाग नभएका, हृदय र आत्मा नभएका मानिसहरूले यो सजिलो छ भन्ने सोच्न सक्छन् र तिनीहरू थप विवरणहरू नपर्खी हतार-हतार काममा लाग्छन्। दिमाग नहुनु र अन्धाधुन्ध कार्य गर्नु भनेको यही हो। जब तैँले परमेश्वरबाट आज्ञा प्राप्त गर्छस् र आफ्नो कर्तव्य पूरा गर्ने र आफ्नो मिसन पूरा गर्ने उद्देश्य राख्छस्, तब तैँले सुरुमा परमेश्वरको अभिप्रायलाई बुझ्नुपर्छ। तैँले यो आज्ञा परमेश्वरबाट आएको हो, यो उहाँको अभिप्राय हो भन्ने जान्नुपर्छ, र तैँले यसलाई स्वीकार गर्नुपर्छ, यसलाई ख्याल गर्नुपर्छ, र अझै महत्त्वपूर्ण कुरा, यसमा समर्पित हुनुपर्छ भन्ने कुरा जान्नुपर्छ। दोस्रो, तैँले यो कर्तव्य पूरा गर्नका लागि कुन-कुन सत्यताहरू बुझ्नुपर्छ, कुन-कुन सिद्धान्तहरू पालना गर्नुपर्छ, र परमेश्वरका चुनिएका मानिसहरूलाई र परमेश्वरको घरको कामलाई फाइदा हुने तरिकाले कसरी अभ्यास गर्ने भनेर खोजी गर्नुपर्छ। अभ्यासका सिद्धान्तहरू यिनै हुन्। परमेश्वरको अभिप्राय बुझेपछि, तैँले तुरुन्तै यो कर्तव्य पूरा गर्ने कार्यसँग सम्बन्धित सत्यताहरूलाई खोजी गर्नुपर्छ र बुझ्नुपर्छ र सत्यता बुझेपछि, यी सत्यताहरू अभ्यास गर्ने सिद्धान्त र मार्गलाई सुनिश्चित गर्नुपर्छ। “सिद्धान्तहरू” ले केलाई जनाउँछ? निश्चित रूपमा भन्दा, सिद्धान्तले सत्यताको अभ्यास गर्दा लक्ष्य हासिल गर्न वा परिणामहरू प्राप्त गर्नका लागि प्रयोग गरिनु नै पर्ने आधारलाई जनाउँछ। उदाहरणका लागि, यदि तँलाई कुनै वस्तु किन्ने काम दिइएको छ भने, अभ्यासका निश्चित सिद्धान्तहरू के-के हुन्? पहिलो, तैँले किनिने वस्तुको विवरण र मोडेल, यसले पूरा गर्नुपर्ने गुणस्तरका मापदण्डहरू, र मूल्य उपयुक्त छ कि छैन भन्ने कुरा बुझ्नुपर्छ। खोजी गर्ने प्रक्रियामा, तैँले अभ्यासका निश्चित सिद्धान्तहरूका बारेमा स्पष्टता प्राप्त गर्नेछस्। यी सिद्धान्तहरूले तँलाई अनुपात र सीमा प्रदान गर्छन्—तँ यो सीमाभित्र बसेको छस् भने ठीकै हुनेछ। तैँले वस्तुको विवरण, गुणस्तर, र मूल्यसँग सम्बन्धित आधारभूत सिद्धान्तहरू बुझेपछि, यसले यो कामका लागि माग गरिएका मानकहरू तैँले बुझेको छस् भन्ने देखाउँछ। यसको अर्थ आधारभूत रूपमा तैँले अभ्यास कसरी गर्ने भनेर सिकेको छस् भन्ने हुन्छ। सत्यताको अभ्यास गर्नका लागि व्यक्तिले सिद्धान्तहरू बुझ्नुपर्छ: सिद्धान्तहरू नै प्रमुख, र सबैभन्दा आधारभूत तत्व हुन्। तैँले आफ्नो कर्तव्य निर्वाहका आधारभूत सिद्धान्तहरू बुझेपछि, यसले के देखाउँछ भने तैँले त्यो कर्तव्य पूरा गर्नका लागि माग गरिएका मानकहरू बुझेको छस्। यी सिद्धान्तहरूमा निपुणता प्राप्त गर्नु भनेको सत्यता अभ्यास कसरी गर्ने भन्ने जान्नु सरह हो। त्यसोभए, अभ्यास गर्ने यो क्षमता कुन आधारमा स्थापित हुन्छ? यो परमेश्वरको अभिप्राय र सत्यतालाई बुझ्ने कार्यको जगमा आधारित हुन्छ। के परमेश्वरले माग गर्नुभएका कुराहरूको एउटा वाक्य मात्रै थाहा छ भने यसलाई सत्यता बुझ्नु मानिन्छ? अहँ, मानिँदैन। सत्यता बुझेको मानिनका लागि के-कस्ता मापदण्डहरू पूरा गर्नुपर्ने हुन्छ? तैँले आफ्नो कर्तव्य पूरा गर्नुको अर्थ र मूल्यलाई बुझ्नुपर्छ र, यी दुई पक्षहरूका बारेमा स्पष्ट भएपछि, तैँले आफ्नो कर्तव्य पूरा गर्ने सम्बन्धी सत्यतालाई बुझेको हुन्छस्। यसको साथै, सत्यता बुझेपछि, तैँले आफ्नो कर्तव्य पूरा गर्ने सिद्धान्तहरू र अभ्यासका मार्गहरू पनि बुझ्नुपर्छ। तैँले आफ्नो कर्तव्य पूरा गर्ने सम्बन्धी सिद्धान्तहरू बुझेर लागू गर्न, र कहिलेकाहीँ थोरै बुद्धि लगाउन सकेपछि, आफ्नो कर्तव्य पूरा गर्ने कार्यको प्रभावकारितालाई सुनिश्चित गर्न सक्छस्। यी सिद्धान्तहरू बुझेर र ती अनुसार कार्य गरेर, तँ सत्यता अभ्यास गर्न सक्ने अवस्थामा पुग्न सक्छस्। यदि तैँले कुनै पनि मानव अभिप्रायहरू नमिसाइ आफ्नो कर्तव्य पूरा गरिस् भने, यदि यो परमेश्वरका मापदण्डहरूमा पूर्ण रूपमा समर्पित भएर अनि परमेश्वरको घरका कामका बन्दोबस्तहरू अनुसार, पूर्ण रूपमा परमेश्वरका वचनहरू अनुरूप गरिएको छ भने, तैँले आफ्नो कर्तव्य मानकअनुरूप पूर्ण रूपमा पूरा गरेको हुन्छस्, र परमेश्वरका मापदण्डहरूसँग तुलना गर्दा परिणामहरूमा केही भिन्नताहरू भए पनि, यसलाई अझै पनि परमेश्वरका मापदण्डहरू हासिल गरेको रूपमा लिइन्छ। यदि तैँले पूर्ण रूपमा सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य पूरा गर्छस्, यदि तँ बफादार हुन्छस् र आफ्नो क्षमताले भ्याए अनुसार गर्छस् भने, तेरो कर्तव्य पूरा गर्ने कार्य परमेश्वरको अभिप्रायसँग पूर्ण रूपमा मिल्छ। तैँले सृजित प्राणीका रूपमा रहेको आफ्नो कर्तव्यलाई आफ्नो सारा हृदय, मन, र शक्तिले पूरा गरेको छस्, जुन सत्यता अभ्यास गरेर हासिल गरिने परिणाम हो। अब, अभ्यासका सिद्धान्त र मार्गहरू बुझ्नका लागि, यो परिणाम हासिल गर्न तैँले सुरुमा के कुरा बुझ्नुपर्छ? (पहिलो, हामीले परमेश्वरको अभिप्रायलाई बुझ्नुपर्छ, त्यसपछि यसलाई पूर्ण रूपमा र इन्कार नगरी स्वीकार गर्नुपर्छ र यसमा समर्पित हुनुपर्छ।) अभ्यास र मनोवृत्तिका हिसाबमा मानिसहरूमा हुनुपर्ने कुरा यही हो। त्यसपछि के कुरा बुझ्नुपर्छ? तैँले सत्यता बुझ्नुपर्छ, र सत्यताभित्रका विवरणहरूले सिद्धान्त र मार्गहरू निर्माण गर्छन्। तैँले पछ्याउनुपर्ने अभ्यासका सिद्धान्त र मार्गहरू बुझ्नका लागि, तैँले बुझ्नुपर्ने पहिलो कुरा भनेको परमेश्वरको अभिप्राय हो, त्यसपछि सत्यता हो। यी दुई मुख्य बुँदाहरू हुन्, र अरू सबै कुरा यीभित्र समावेश विस्तृत विषयवस्तु हुन्।
सुसमाचार प्रचार गर्ने क्रममा आफ्नो कर्तव्य पूरा गर्ने मानिसहरूसँग सम्बन्धित पहिलो वर्गलाई अहिलेका लागि यहीँ समाप्त गरिनेछ। आज, मैले अघिल्लो पटक छलफल गरिएको मुख्य विषयलाई जोड दिनका लागि थप जानकारी परिपूरकका रूपमा दिएँ। यसको साथै, सबैलाई यो सत्यताको महत्त्व पहिचान गर्न लगाउनका लागि यसले एउटा चेतावनीका रूपमा काम गर्छ, ताकि तँ अहिले संलग्न रहेको हरेक कार्य र तैँले पूरा गर्ने हरेक कर्तव्य यही दिशा र उद्देश्यतर्फ केन्द्रित भएर यो जगमा अघि बढोस्—सबै सुसमाचार प्रचारसँग सम्बन्धित होस्। तँ सुसमाचार स्विकार्ने सम्भावना भएका मानिसहरूसँग अन्तरक्रिया गर्ने अग्रपङ्तीमा नहुने भए पनि, तैँले अहिले पूरा गरिरहेका सबै कर्तव्य सुसमाचारको कामसँग सम्बन्धित छन् भनेर भन्न सकिन्छ। यस आधारमा, के हरेक व्यक्तिमा सुसमाचार प्रचारसँग सम्बन्धित सत्यताका बारेमा अझै स्पष्ट र ज्योतिपूर्ण बुझाइ हुनु पर्दैन र? (पर्छ।) आजको पूरकद्वारा, के तिमीहरूले सुसमाचार प्रचार गर्ने कर्तव्यको भार र महत्त्वका बारेमा स्पष्ट रूपमा दृष्टिकोण प्राप्त गरेका छौ? (छौँ।) त्यसोभए अब, भविष्यमा यो सत्यताप्रति कस्तो मनोवृत्ति राख्नु सबैभन्दा उपयुक्त र उचित हुन्छ? सुसमाचार फैलाउनु परमेश्वरको अभिप्राय हो। परमेश्वरले यो पुरानो युगलाई अन्त्य गर्ने, र अझै धेरै मानिसहरूलाई आफ्नो अघि अगुवाइ गर्ने, पुरानो युगबाट निकालेर नयाँ युगमा ल्याउने अभिप्राय राख्नुहुन्छ। यो परमेश्वरको अभिप्राय हो, र यो सबैले बुझ्नुपर्ने कुरा हो। कतिपयले यसो भन्न सक्छन्, “मैले बुझेँ, तर म सुसमाचार प्रचार गर्न चाहिने जोश जुटाउन सक्दिनँ, र मसँग आफ्नो भूमिका पूरा गर्ने हृदय छैन।” समस्या के हो? (मानवताको कमी।) वास्तवमै हो। तैँले आफूलाई सृजित प्राणी र परमेश्वरलाई पछ्याउने व्यक्तिका रूपमा स्वीकार गर्छस्, तर जब परमेश्वरले बारम्बार सबैलाई अर्ती दिनुहुने उहाँको अभिप्राय, सबै मानिसहरूलाई स्पष्ट रूपमा व्याख्या गर्नुभएको उहाँको आतुरी अभिप्रायको कुरा आउँछ, तब यदि तैँले कुनै ध्यान दिँदैनस् र त्यो कुरा सुन्दैनस् भने, त्यसले तँलाई कस्तो व्यक्ति बनाउँछ? यो मानवताको कमीको प्रकटीकरण हुन्छ। तँ परमेश्वरलाई महान् भनेर सम्मान गर्न र उहाँ तेरो परमेश्वर र तेरो प्रभु हुनुहुन्छ भनेर भन्न चाहन्छस्, तर जब परमेश्वरको अभिप्रायको कुरा आउँछ, तब तैँले अलिकति पनि चासो देखाउँदैनस्, ख्याल नै गर्दैनस्। यो मानवताको कमी हो, र त्यस्तो व्यक्ति निर्दयी हुन्छ। यो विषय यहीँ समाप्त हुन्छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।