विषयवस्तु चौध: तिनीहरू परमेश्वरको घरलाई आफ्नै व्यक्तिगत अधिकारक्षेत्रका रूपमा लिन्छन् (खण्ड तीन)
आ. ख्रीष्टविरोधीहरू परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्छन्
यसअघि, हामीले ख्रीष्टविरोधीहरूले परमेश्वरको घरलाई आफ्नै व्यक्तिगत अधिकारक्षेत्रका रूपमा लिने: शक्तिमा एकाधिकार जमाउने पहिलो प्रकटीकरणबारे सङ्गति गऱ्यौँ। शक्तिमा एकाधिकार जमाउने सम्बन्धमा, हामीले मुख्यतः ख्रीष्टविरोधीहरू कसरी शक्ति प्राप्त गर्छन्, त्यो प्राप्त गरेपछि कसरी आफ्नो हैसियत स्थिर बनाउँछन् र त्यो शक्तिलाई थप बलियो बनाउँछन्, अनि अन्ततः, त्यो शक्ति कसरी प्रयोग गर्छन् भन्नेसम्बन्धी निर्दिष्ट विषयवस्तुमा सङ्गति गऱ्यौँ। ख्रीष्टविरोधीहरूले शक्तिमा एकाधिकार जमाउनेबाहेक, परमेश्वरको घरलाई आफ्नै व्यक्तिगत अधिकारक्षेत्रका रूपमा लिनुको दोस्रो ठोस अभ्यास परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्नु हो। परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्नुको शाब्दिक अर्थ बुझ्न सजिलो हुनुपर्छ, त्यसोभए “परिस्थिति” ले केलाई जनाउँछ? कुनै ख्रीष्टविरोधीले शक्तिमा एकाधिकार जमाउने, आफ्नै अधिकारक्षेत्र स्थापित गर्ने, अनि आफ्ना कट्टर अनुयायी, आसेपासे, र प्रभावक्षेत्र जम्मा गर्ने गरिसकेपछि, के उसले आफ्नो काममा अरूलाई हस्तक्षेप गर्न दिन सक्छ? के उसले अरूलाई आफूले रेखदेख गर्ने मामलाहरू र प्रभावक्षेत्रमा संलग्न हुन वा हस्तक्षेप गर्न अनुमति दिन सक्छ? (ऊ यसको अनुमति दिँदैन।) ख्रीष्टविरोधीका लागि, शक्ति नै उसको जीवन हो। उसको प्रभावक्षेत्रभित्र, सबथोक उसकै हुकुममा चल्नुपर्छ। उसको प्रभावक्षेत्रभित्र चाहे जे भए पनि, त्यसमा संलग्न मानिस र मामलाहरू, साथै ती मामलाहरूको अन्तिम परिणाम, सबै ऊद्वारा नै निर्मित र नियन्त्रित हुनैपर्छ। यो उसका चाहनासँग मिल्ने र उसका खाँचोहरू पूरा गर्ने हुनैपर्छ, यसले उसलाई कुनै क्षति पुऱ्याउनु हुँदैन। उदाहरणका लागि, यदि उसले कुनै निश्चित मामलामा हस्तक्षेप गर्दैन, हात हाल्दैन, वा त्यसलाई आफूअनुकूल बनाउँदैन, बरु त्यसलाई आफै सामान्य तरिकाले विकसित हुन दिन्छ भने, उसको छवि बिग्रन सक्छ वा कसैले रिपोर्ट गरेर ऊ बरखास्त हुन सक्छ, यस्तोमा उसको हैसियत धरापमा पर्न सक्छ र ऊसँग भएको शक्ति हराउन सक्छ। त्यसकारण, मण्डलीभित्र हुने ठूला-साना सबै प्रकारका मामलाको हकमा भन्नुपर्दा, ख्रीष्टविरोधी आफैले ती सम्हाल्नैपर्छ। यी मामलाहरूमा उसको प्रतिष्ठा र हैसियत, साथै उसको शक्ति समावेश हुन्छन्। उसको शक्तिसँग असम्बन्धित मामलाहरूका सम्बन्धमा भन्नुपर्दा, उसले ती जाँचबुझ नगर्ने वा नदेखेझैँ गर्ने छनौट गर्ला। विशेष गरी परमेश्वरको घरको काम, दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेश, मण्डली जीवन, र यस्ता विभिन्न मामलाहरूका सम्बन्धमा, यिनले उसको हैसियत र शक्तिलाई नछोएसम्म र तिनमा माथिसँगको उसका अन्तरक्रियाहरू समावेश नभएसम्म, उसले तीबारे पर्बाह गर्दैन, जाँचबुझ गर्दैन, वा चासो लिँदैन। उदाहरणका लागि, सुसमाचार समूहले प्राप्त गर्ने मानिसहरूको मासिक सङ्ख्या उसका लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छ किनभने यसले उसको हैसियतलाई प्रभाव पार्छ। यदि प्रत्येक महिना रिपोर्ट गरिएको सङ्ख्याले उसको हैसियत सुनिश्चित गर्न सक्छ भने, उसले आफ्नो हैसियतको सुरक्षा गर्नका निम्ति त्यो सङ्ख्या हासिल गर्न निकै हदसम्म प्रयास गर्नेछ जबकि उसका लागि अरू मामला अप्रासङ्गिक हुन्छन्। उदाहरणका लागि, मानौँ उसले रेखदेख गर्ने क्षेत्रले सामान्य परिस्थितिमा एक महिनामा सय मानिस प्राप्त गर्नुपर्छ। तर, यदि वातावरणले साथ नदिएकोले, त्यस महिना विशेष परिस्थिति आइपरेकोले, वा कतिपय मानिस अझै पनि आफ्नो अनुसन्धान अवधिमै भएकाले प्राप्त मानिसहरूको सङ्ख्या एक सय पुगेन भने, ख्रीष्टविरोधी यस मामलामा मेहनत लगाउँछ र बेचैन हुन्छ। ऊ केबारे बेचैन हुन्छ? के उसलाई परमेश्वरको सुसमाचार फैलाउने काम सहज रूपमा अघि नबढेको देखेर भार महसुस हुन्छ र बेचैनी हुन्छ? के यो सुसमाचार प्रचार गर्नेहरूमा बोझको बोध नभएको र तिनीहरू झाराटारुवा भएको, अनि आफूले कसरी तिनीहरूलाई मलजल गर्ने र त्यो समाधान गर्ने भन्ने बेचैनी हो? कि यो सुसमाचार प्रचार गर्नलाई पर्याप्त जनशक्ति नभएको, र आफूले त्यो कसरी मिलाउनु र बढाउनुपर्छ भन्ने चिन्ता हो? होइन, ऊ यी कुराहरूबारे बेचैन हुँदैन। ऊ त कसरी माथिले उसका गुप्त शैलीहरू थाहा नपाउनेगरी त्यो सङ्ख्या बढाएर एक सयमा पुऱ्याउने भनेर बेचैन हुन्छ। यदि खास सङ्ख्या सय नभएर असी मात्र छ र उसले साँचो रूपमा त्यो रिपोर्ट दिन्छ भने, माथिले त्यो परिस्थितिबारे अनुसन्धान गर्न र थप जान्न कुनै व्यक्ति पठाउन सक्छन्, त्यसोभए उसले कसरी रिपोर्ट गर्न सक्छ ताकि माथिले शङ्का नगरून्? उसले अन्ठानब्बे जना मानिस भनेर रिपोर्ट गर्छ। कसैले यसो भन्छ, “तिमीले यस्तो झूट बोल्न मिल्दैन; यो ठगी हो, यो अस्वीकार्य छ।” उसले जबाफ दिन्छ, “ठिकै छ। मैले निर्णय गर्ने हो; यदि केही भइहाल्यो भने, म त्यसको जिम्मेवारी लिनेछु।” किन उसले यही सङ्ख्या रिपोर्ट गऱ्यो? के यसको कुनै गहिरो अर्थ छ? के उसले यो ध्यानपूर्वक विचार गरेको हो? गरेको हो। खास सङ्ख्या असी हुँदा सय जना भनेर रिपोर्ट गर्दा धेरै ठूलो अन्तर हुन्छ, जसले गर्दा पछि यो झूट छोप्न कठिन हुन्छ। तर, यदि उसले अन्ठानब्बे भनेर रिपोर्ट गऱ्यो भने, माथिले त्यो सयभन्दा मुनि छ भन्ने देखे पनि, त्यो मान्य सङ्ख्या जस्तो देखिन्छ र त्यसले माथिबाट निगरानी निम्त्याउनेछैन, जसले उसको हैसियत सुरक्षित हुने सुनिश्चित गर्छ। कहिलेकाहीँ, यदि उसले एक सय मानिस प्राप्त गऱ्यो भने, दुई सय भनेर रिपोर्ट गर्ने आँट गर्छ, अनि यदि माथिले कसैलाई अनुसन्धान गर्न पठाए भने, ऊसँग त्यो सम्हाल्ने उपायहरू हुन्छन्। उसले अतिरिक्त सय जनाले अहिले अनुसन्धान गरिरहेका छन् र तिनीहरू अर्को महिना प्राप्त हुनेछन् भनी दाबी गर्छ। यदि माथिले यो निरीक्षण गर्न कोही पनि पठाएनन् भने, उसले आफ्ना योगदानहरूको धाक देखाउने उपाय भेट्टाउँछ। कहिलेकाहीँ, यदि उसले एक महिनामा एक जना व्यक्ति पनि प्राप्त गरेको छैन भने, तीस वा पचास जना प्राप्त गरेको भनेर झूटो रिपोर्टसमेत गर्छ, त्यसपछि अर्को महिना त्यसको पूर्ति गर्ने उपाय लगाउँछ। छोटकरीमा भन्नुपर्दा, सुसमाचार प्रचार गरेर प्राप्त गरिएका मानिसहरूको सङ्ख्या रिपोर्ट गर्ने सम्बन्धमा, ख्रीष्टविरोधीले त्यो तोडमोड गर्न, त्यसबारे झूट बोल्न, ठग्न, र गुप्त शैलीहरू प्रयोग गर्न सक्छ। कुनै आँकडा कसरी रिपोर्ट गर्ने, र कुन आँकडा रिपोर्ट गर्ने भन्ने कुराहरू सिधै ख्रीष्टविरोधीद्वारा निर्देशित हुन्छन्। के यो परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्नु होइन र?
ख्रीष्टविरोधीले आफ्नो हैसियत र शक्ति परमेश्वरका चुनिएका मानिसहरूको कर्तव्य निर्वाहमा निरन्तर रूपमा हस्तक्षेप गर्न र बाधा दिनका लागि प्रयोग गर्छ। ऊ सिद्धान्तका आधारमा चल्ने र प्रभावकारी तरिकाले आफ्नो कर्तव्य पूरा गर्ने जोकोहीलाई दबाउने र बहिष्कार गर्ने गर्छ। उसले यसरी कार्य गर्नुको उद्देश्य के हो? परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्नु हो; उसले आफूभन्दा मुनिकालाई वशमा राखेर र माथिलाई छलेर पूर्ण नियन्त्रण जमाउँछ। उसले परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्नुको उद्देश्य के हो? सत्यता प्रकाश हुन रोक्नु, मानिसहरूलाई सत्यता थाहा पाउन नदिनु, माथिलाई ठग्नु, तल उसको कामको वास्तविक अवस्था लुकाउनु, अनि उसले कुनै वास्तविक काम गऱ्यो कि गरेन र आफ्नो काम कसरी गऱ्यो भन्ने कुरा लुकाउनु हो। अन्य कुराहरूमध्ये, उसले परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्नुको उद्देश्य तथ्यहरू ढाकछोप गर्नु, सत्यता छोप्नु, र आफ्ना दुष्ट अभिप्रायहरू लुकाउनु, र साथै आफ्ना दुष्ट कार्य, अत्यन्तै अवज्ञाकारी कार्य, र आफूले कुनै वास्तविक काम कसरी गर्दैन र गर्न सक्दैन भन्ने सत्यतालाई लुकाउनु हो। उदाहरणका लागि, जब परमेश्वरको घरलाई निश्चित रकम चाहिन्छ र त्यसले उसको मण्डलीमा भेटीहरू कति छन् भनेर सोध्छ, तब त्यो ख्रीष्टविरोधीले पहिला परमेश्वरको घरलाई कति चाहिन्छ भनेर सोध्छ। यदि तैँले एक-दुई हजार चाहिएको छ भनिस् भने, उसले एक-दुई सय मात्र छ भन्ने दाबी गर्छ; यदि तैँले दसौँ हजार चाहिएको छ भनिस् भने, उसले एक-दुई हजार मात्र छ भन्छ। वास्तवमा, ऊसँग मण्डलीको भेटीमा दसौँ हजार युआन हुन्छ र ऊ त्यो छोड्न इच्छुक हुँदैन। के उसले दुष्ट अभिप्रायहरू पालिरहेको छैन र? ऊ के गर्न चाहन्छ? ऊ यी भेटीहरू आफ्नै प्रयोगका लागि हत्याउन चाहन्छ। के यसलाई परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्नु भन्न मिल्छ? (मिल्छ।) ख्रीष्टविरोधीले भेटी नत्याग्ने हदसम्म परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्छ। यदि तैँले उसको मण्डलीमा लेखन, सङ्गीत, वा भिडियो निर्माणको सिप भएको कोही छ कि भनी सोधिस् भने, उसले भन्ला, “हामीकहाँ लेखनमा सिपालु एक जना अठहत्तर वर्षको व्यक्ति छ, ऊ भूतपूर्व पत्रकार हो र उसलाई पेटको गम्भीर समस्या छ।” वास्तवमा, यो व्यक्ति तीस-पैँतीसको, जीवनको शिखरमा हुन्छ, र ऊ पेटको कुनै गम्भीर रोगबाट पीडित हुँदैन। किन ख्रीष्टविरोधी आफ्नो पकड खुकुलो पार्दैन? किन ऊ झूटो जानकारी दिन्छ? ऊ परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्न चाहन्छ। ऊ यस्तो प्रतिभालाई जान दिएमा आफ्नो शासनमा असर पर्छ भन्ने विश्वास गर्छ; ऊ यी प्रतिभाशाली व्यक्तिहरूलाई राखिराख्न पनि चाहन्छ। के यी प्रतिभाशाली मानिसहरू साँच्चै उसैका हुन्? (होइनन्।) त्यसोभए किन ऊ तिनीहरूलाई जान दिँदैन? परमेश्वरको घरको कामलाई यी सिपालु मानिसहरू चाहिँदा, किन ऊ यिनीहरू उपलब्ध गराउँदैन र गलत जानकारीसमेत दिने हदसम्म पुग्छ? ऊ आफ्नो हैसियत सुरक्षित राख्न मानिसहरूलाई भ्रममा पार्न चाहन्छ—उसले परिस्थितिलाई वास्तवमै आफूअनुकूल प्रयोग गरिरहेको हुन्छ। ऊ यसमा संलग्न पक्षहरू यी कर्तव्यहरू पूरा गर्न इच्छुक छन् कि छैनन् भनेर सोध्दैन, न त यी मानिसहरूका परिस्थितिलाई परमेश्वरको घरसामु साँचो रूपमा प्रस्तुत नै गर्छ। बरु, ऊ तिनीहरूलाई आफ्नै प्रयोगका लागि राख्छ, वा यदि आफूले प्रयोग गर्दैन भने पनि, तिनीहरूलाई परमेश्वरको घरलाई दिन मान्दैन। उदाहरणका लागि, यदि परमेश्वरको घरलाई मण्डलीबाट एक जना भिडियो निर्माता चाहिएमा, ख्रीष्टविरोधीले यो कुरा देख्छ र सोच्छ, “भिडियो निर्माणमा सिपालु व्यक्ति उपलब्ध गराउनु—के मैले यस्तो राम्रो अवसर छोड्न मिल्छ? हरेक व्यक्तिले आफ्नै दूनो सोझ्याउँछ: मेरी छोरी, छोरा, र केही आफन्तहरूले भिडियो निर्माणबारे केही कुरा बुझेका छन्, त्यसैले तिनीहरूले परमेश्वरको घरका मागहरू पूरा गरे वा नगरे पनि म तिनीहरू नै उपलब्ध गराउनेछु।” मानिसहरू उपलब्ध गराउनेजस्तो राम्रो अवसर सामना गर्दा, उसले आफ्ना आफन्त र साथीसँगीहरूलाई प्राथमिकता दिन्छ, र बाहिरी मानिसहरूलाई कुनै मौका दिँदैन। के यो परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्नु होइन?
माथि उल्लिखित उदाहरणहरूका आधारमा, ख्रीष्टविरोधीले परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्नुले ठ्याक्कै के जनाउँछ? के यसको अर्थ ख्रीष्टविरोधीले हरव्यक्ति र हरकुरालाई नियन्त्रण र आफूअनुकूल प्रयोग गर्दै पूर्ण प्रभुत्व जमाउँछ भन्ने होइन? सबथोक उसकै हातमा हुन्छ, अनि सबै कुरामा उसकै अन्तिम निर्णय हुन्छ; बोर्डलाई नियन्त्रण गर्ने, पर्दा पछाडिबाट निर्देशन दिने र चालबाजी गर्ने ऊ नै हुन्छ। यो परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्नु हो। जब माथिले परिस्थिति बुझ्न उसको मण्डलीमा कोही पठाउँछन्, र यस व्यक्तिले केही मानिससँग कुरा गर्न अनि दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो जीवन प्रवेश र कर्तव्य निर्वाहमा कस्तो गरिरहेका छन् भनी हेर्न, अनि परमेश्वरका वचनका पुस्तक र प्रवचनका रेकर्डिङ परमेश्वरका चुनिएका हरेक व्यक्तिलाई वितरण गरिएका छन् कि छैनन् भनी जाँच्न चाहन्छ, तब ख्रीष्टविरोधीले भन्छ, “ठिक छ, म तपाईंलाई दुई जना दाजुभाइ-दिदीबहिनीहरूको घरमा लानेछु।” यी दुई मानिस को हुन्? के ती दुवै ख्रीष्टविरोधीको अधिकारक्षेत्रका मानिस होइनन् र? (हुन्।) यी दुई मानिस उसकी बहिनी र उसको सालो हुन्। माथिले पठाएको व्यक्तिलाई यी दुई घरमा लगेपछि, यी दुई मानिसले भन्छन्, “हाम्रो मण्डली जीवन एकदमै राम्रो छ, र हामीले सबै प्रकारका प्रवचन, सङ्गति र गवाही भिडियोहरू पाएका छौँ। हाम्रो मण्डली अगुवा मण्डलीको कामका लागि बाहिर जानुभएको निकै दिन भयो र घर फर्कनुभएको छैन।” उसको मण्डलीमा जो गए पनि, तिनीहरूले वास्तविक परिस्थिति अलिकति पनि बुझ्न सक्दैनन्। ख्रीष्टविरोधीले मण्डलीको साँचो अवस्थाबारे सबथोक, देखा परेका समस्याहरू, बाधा र अवरोध पुऱ्याइरहेका दुष्ट मानिसहरू, झारा टार्दै आफ्नो कर्तव्य पूरा गर्नेहरू, गलत भएका कार्यहरू आदि इत्यादि ढाकछोप गर्छ। त्यहाँ जाँदा तैँले देख्ने दृश्यहरू देखिँदा मात्र राम्रा हुन्छन्—त्यो सब झूटो देखावा हो। एउटा मात्र अपवाद छ: यदि माथिद्वारा पठाइएको व्यक्तिले मण्डलीका भेटीहरू राख्ने उपयुक्त ठाउँ छ कि छैन र केही भेटी लगिनुपर्ने छ कि छैन भनी सोधेमा, ख्रीष्टविरोधीले हतारपतार मण्डलीको भेटी धेरै छैन भन्छ। अन्य सारा कामका सम्बन्धमा, ऊ सकारात्मक कुरा गर्छ, तर भेटीहरू संलग्न अवस्थाको सम्बन्धमा गर्दैन—उक्त व्यक्तिले बोल्नुअघि नै ऊ त्यो कुराकानी टुङ्ग्याउँछ। ख्रीष्टविरोधीले सबै प्रकारका कर्तव्यहरू पूरा गर्न उपयुक्त मण्डलीका कर्मचारीहरूलाई नियन्त्रणमा राख्छ, जबकि उसलाई मनपर्ने र परमेश्वरको घरका सर्तहरू पूरा नगर्ने कतिपय मानिस, विशेष गरी खराब मानवता हुने र दुष्टात्माले काम गरिरहेकाहरू, वा मूलतः आत्मिक बुझाइ नहुने, घृणित मानवता हुने, आफ्नो कर्तव्य झारा टार्दै गर्ने, परमेश्वरमाथिको आस्थामा जग नहुने, र ठ्याक्कै गैरविश्वासीहरूजस्तै अरू मानिस परमेश्वरको घरलाई दिन्छ। यी मानिसहरूले आफ्नो कर्तव्य झारा टार्दै गर्नेबाहेक, बाधा र अवरोध खडा गर्ने अनि यिनीहरू जथाभाबी व्यवहारमा संलग्न हुने पनि गर्छन्, अनि कतिपयले त कष्ट सहन सक्दैनन् र परमेश्वरको घर छोड्न चाहन्छन्। कतिपयले त आधारहीन अफवाह र धारणा फैलाउने समेत गर्छन्, अनि कतिपयचाहिँ आफ्ना कर्तव्य राम्ररी पूरा गर्दैनन्, टिभी नाटक वा अनेकौँ बकवास भिडियोहरू हेरेर दिन बिताउँछन्। अनि अन्त्यमा के हुन्छ? यीमध्ये कतिपय मानिसलाई त्यहाँबाट पठाइन्छ। पठाइनेमध्ये, पन्चानब्बे प्रतिशतभन्दा बढीमा खराब मानवता हुन्छ। तिनीहरूको मानवता कति खराब हुन्छ? ज्यादै खराब हुन्छ—तिनीहरूमा मानवता हुँदैन, र कतिपयले त परमेश्वरमा बिलकुलै विश्वास गर्दैनन्। यी मानिसहरू कहाँबाट आए? के ती सबै मण्डलीले उपलब्ध गराएका होइनन् र? तिनीहरू मण्डलीद्वारा उपलब्ध गराइएका हुनाले, उपलब्ध गराउने मानिसहरूमा अवश्यै समस्या हुनुपर्छ। यी मानिसहरूमध्ये कतिपय ख्रीष्टविरोधी हुन सक्ने, र उपलब्ध गराइएका व्यक्तिहरू ख्रीष्टविरोधीका आफन्त, आसेपासे, वा कट्टर अनुयायी हुन सक्ने कुरालाई नकार्न सकिन्न। कुरा यही होइन र? के साँच्चै मानवता भएको र अलि विवेक हुने व्यक्तिले प्रतिभाशाली व्यक्तिहरू प्रदान गर्ने महत्त्वपूर्ण मामलालाई गम्भीर रूपमा लिन सक्छ? के ऊ अलि जिम्मेवार हुन सक्छ? के उसले आफ्ना केही स्वार्थी मनसाय हटाउन सक्छ? मानवता र विवेक भएको व्यक्तिले यो कुरा एकदम हासिल गर्न सक्छ, अनि एक प्रकारको व्यक्तिले मात्र हासिल गर्न सक्दैन, त्यो ख्रीष्टविरोधीहरू हो। तिनीहरू सबै राम्रा कुरा आफै राख्न चाहन्छन्, र आफूलाई फाइदा नहुने कुनै पनि कुरालाई स्पष्टसित नकार्छन् र त्यसमा सहकार्य गर्न मान्दैनन्—ख्रीष्टविरोधी यस्ता हुन्छन्।
ख्रीष्टविरोधीहरूले सधैँ पूर्ण नियन्त्रण जमाउन र मण्डलीका मामलाहरूमा हैकम चलाउन चाहनुबाहेक परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्ने तिनीहरूको अझ बढी घिनलाग्दो पक्ष पनि छ। के आफ्ना कट्टर अनुयायीहरूसँगै मिलेमतो गर्ने ख्रीष्टविरोधीहरू परमेश्वरको घरका प्रबन्धहरूप्रति समर्पित हुन, आफ्ना कर्तव्य राम्ररी पूरा गर्न, परमेश्वरको घरको काम कायम राख्न, र आफ्ना जिम्मेवारी र दायित्वहरू पूरा गर्न सक्छन्? (अहँ, सक्दैनन्।) त्यसैले मैले तिनीहरू मिलेमतो गरिरहेका हुन्छन् भनेको हुँ। तिनीहरू मिलेमतो गर्छन् भनिसकेपछि, तिनीहरूले एकसाथ भन्ने र गर्ने कुरामा गोप्य लेनदेन समावेश हुन्छ भन्ने कुरा पुष्टि हुन्छ। सतहमा, यी मानिसहरू मिलनसार, वरिष्ठताको सम्मान गर्ने झैँ देखिन्छन्, अनि अत्यन्तै प्रेमिलो, शिष्ट, र एकअर्काप्रति सम्मान देखाउने, साथै शालीन र असल चरित्रका देखिन्छन्। वास्तवमा, यो सबै सतही, नक्कली, र पाखण्डी हुन्छ। तिनीहरूले यति शिष्ट भएर एकअर्काप्रति उच्च सम्मान र शालीनता देखाउन सक्नुको कारण के हो? यसको एउटा कारण छ। तिनीहरूले एकसाथ मिलेमतो गर्नुको उद्देश्य परमेश्वरको इच्छा पालना गर्न र मण्डलीको काम राम्ररी गर्नका लागि एकअर्काबाट आफ्ना कमजोरीहरू परिपूर्ति गर्न सिक्नु वा एकअर्कालाई सत्यता वास्तविकतामा प्रवेश गर्न मदत गर्नु होइन। बरु, यो त आपसी शोषण, निर्भरता, र सहयोगका निम्ति हो। जति धेरै मानिस त्यति नै धेरै शक्ति हुने, र धेरै शक्तिले कामकुरा सम्हाल्न झन् सजिलो हुने, र निजी मामलाहरू सम्हाल्न त्यति नै सहज हुने भएकाले तिनीहरू मिलेमतो गर्छन्। त्यसैले, तिनीहरू सँगै हुँदा, अत्यन्तै मिलनसार देखिन्छन्, मानौँ तिनीहरू अत्यन्तै घनिष्ठ परिवार नै हुन्। तिनीहरू आफूभन्दा ठूलालाई शिष्ट रूपले सम्बोधन गर्छन्, आफ्नै उमेरकालाई “सिस्टर” वा “ब्रदर” भनेर बोलाउँछन्, जुन कुरा एकदमै स्नेहपूर्ण सुनिन्छ तर सरासर सांसारिकताले भरिएको हुन्छ। यदि कुनै व्यक्तिलाई त्यो परिस्थितिको तथ्यहरू थाहा छैन भने, उसले तिनीहरूलाई तिनीहरूको प्रेम, आपसी सहयोग र एकअर्काप्रतिको निर्भरताका लागि प्रशंसासमेत गर्ला; तिनीहरू कठिन घडीमा सहयोगको हात बढाउन इच्छुक देखिन्छन्, अनि निकै खुसी र सन्तुष्ट हुन्छन्, र यसो भन्छन्, “हामी सबै परिवार हौँ; हामी एउटै परमेश्वरमा विश्वास गर्छौँ।” तिनीहरू बोल्दाखेरी अर्थपूर्ण नजरद्वारा प्रेम बाँड्छन्, तिनीहरू वास्तवमै परिवार र बलियो बन्धनमा बाँधिएको समूह हौँ भनी थप पुष्टि गर्छन्। त्यसोभए, तिनीहरूले मिलेमतो गर्दा ठ्याक्कै के गर्छन्? उदाहरणका लागि, एउटी दिदी एउटा कम्पनीकी महाप्रबन्धक छे र उसको सामाजिक सम्बन्ध र सम्पर्कहरू विस्तृत छन्। उसले ख्रीष्टविरोधीको अधिकारक्षेत्रमा मानिसहरूका निम्ति धेरै कामकुरा गरेकी छे, र अधिकांश मानिसले ऊबाट निगाह पाएका छन्, त्यसैले तिनीहरू उसलाई “ठुलदिदी” भन्छन्। जब पनि कसैको घरमा केही भइरहेको हुन्छ, जस्तै छोरा विश्वविद्यालय गइरहेको हुन्छ वा छोरीले जागिर खोजिरहेकी हुन्छे, तब तिनीहरू निश्चित रूपमा उसको परामर्श लिन्छन् र मामलाहरू समाधान गर्न उसको मद्दत माग्छन्। यदि कोही अस्पताल भर्ना भएको छ, अनि त्यो अस्पतालमा काम गर्ने मण्डलीको कुनै व्यक्ति छ र उसले तिनीहरूलाई आयातित औषधीहरू दिलाउन मद्दत गर्न सक्छ भने, ख्रीष्टविरोधीले तुरुन्तै यस व्यक्तिलाई घनिष्ठ विश्वासपात्र र परिवारको अंश मान्छ। तिनीहरू मिलेमतो गरेर यस्ता कार्यहरू सम्हाल्छन्, एकअर्कालाई आपसी लाभ पुऱ्याउँछन्, र दुवै पक्षलाई फाइदा हुने अवस्था सिर्जना गर्छन्। त्यसकारण, तिनीहरू सँगै हुँदा आपसमा अत्यन्तै राम्रो सम्बन्ध भएको र एकअर्कासँग सामञ्जस्यपूर्ण भएको, सक्दो खुसी र कहिल्यै झगडा नगर्ने देखिन्छन्। तर, यो सामञ्जस्यतापछाडि, हरव्यक्तिले गोप्य मनसायहरू पालेको हुन्छ, कसरी अर्कोलाई शोषण गर्ने र अरूलाई प्रयोग गर्ने, साथै अरूलाई मद्दत गर्दै गर्दा कसरी आपसी लाभ उठाउन र अरू मानिसको निगाह फिर्ता गर्न सकिन्छ भनेर सोचिरहेको हुन्छ। ख्रीष्टविरोधीले आफ्नो अधिकारक्षेत्र स्थापित गरिसकेपछि र कट्टर अनुयायीहरू प्राप्त गरेपछि, दैनिक जीवनका सारा स-साना मामलाहरूमा सहयोग गर्न ऊसित आफ्नो समूह र “परिवार” हुन्छ। उदाहरणका लागि, जागिर खोज्ने, कलेज जाने, बढुवा पाउने, गम्भीर रोग सम्हाल्ने, अर्को ठाउँमा सर्ने, वा पक्राउ परेपछि जेलबाट छुट्न मध्यस्थकर्ताका रूपमा पैसा तिर्ने व्यक्ति भेट्टाउने मामलाका सन्दर्भमा—यी सबै मामलाहरू सम्हाल्ने एक व्यक्ति हुन्छ। ख्रीष्टविरोधीको दृष्टिकोणबाट हेर्दा, के यी “परिवारका सदस्यहरू” उपयोगी छैनन् र? के तिनीहरूमा भर पर्न सकिँदैन र? के तिनीहरू एकअर्कामा भर पर्न र एकअर्कालाई सहयोग गर्न सक्दैनन् र? (सक्छन्।) त्यसकारण, यस्तो अधिकारक्षेत्रभित्र, व्यक्तिले मानिसहरूले परमेश्वरका वचनहरूलाई आफ्ना सिद्धान्त ठानेर सँगै अन्तरक्रिया गरिरहेको, वा मानिसहरूले आफ्नो विवेकअनुसार कार्य गरेको, परमेश्वरका वचनहरूअनुसार जिएको, परमेश्वरलाई आराधना गरेको, एकअर्कासित सामान्य तरिकाले अन्तरक्रिया गरेको, हृदयदेखि नै सङ्गति गरेको, आफ्नो हृदय खोलेको र आफूलाई उदाङ्गो पारेको, आफ्नो भ्रष्ट स्वभावबारे सङ्गति गरेको र त्यसलाई चिनेको, वा एकअर्काबाट आफ्ना कमीकमजोरीहरू परिपूर्ति गर्न सिकेको देख्दैन—त्यस्तो केही पनि हुँदैन। यो टोली, यो अधिकारक्षेत्र ख्रीष्टविरोधीको गिरोहको अधिकारक्षेत्र हो, जहाँ सत्यताको कुनै प्रभुत्व हुँदैन, जहाँ पवित्र आत्मा काम गरिरहनुभएको हुँदैन, र जहाँ मानिसहरूको हृदयमा परमेश्वरका वचनहरू हुँदैनन्। बरु, यहाँ ख्रीष्टविरोधीको गिरोह सन्तुष्ट भएर, आरामसित, आनन्दमा जिउँछन्, र त्यसलाई आफ्नै घरका रूपमा लिन्छन्। वास्तवमा, यो न त परमेश्वरको घर हो न त मण्डली नै हो; यो त समाज हो, ख्रीष्टविरोधीको गिरोह हो।
ख्रीष्टविरोधीहरू मण्डलीलाई आफ्नो अधिकारक्षेत्रमा परिणत गर्छन्, त्यसलाई कुनै सामाजिक समूह र तिनीहरूको गिरोहमा रूपान्तरण गर्छन्। तिनीहरू विनाशकारी र घृणास्पद कार्यहरूमा संलग्न हुन्छन्, अनि पूर्णतया गैरविश्वासीहरूका चाल र विधिअनुसार बोल्ने र कार्य गर्ने गर्छन्। हरव्यक्ति चिप्लो बोली भएको, बोलक्कड, बदमासपनले भरिएको, अन्तर्घाती र दुष्ट हुन्छ, र सत्यता स्विकार्न मान्दैन। बाहिरी रूपमा, तिनीहरू शोधित, सभ्य, शिष्ट, अनुशासित, अनि क्षमता र चरित्र भएको सुबानी समेत भएको व्यक्तिको खोल ओढ्छन्। तर, वास्तवमा तिनीहरू सबै अन्तर्घाती, धूर्त, नीच, र दुष्ट पात्र हुन्छन्। तिनीहरू एकअर्कासित मिलेमतो गर्छन्, सम्बन्ध स्थापित गर्छन्, प्रभाव जमाउन प्रतिस्पर्धा गर्छन्, फजुल खर्चमा ध्यान दिन्छन्, अनि समाजमा सामुदायिक र व्यावसायिक सम्बन्धहरूमा जोड दिन्छन्। तिनीहरू समाजमा कसको बढी प्रभाव, उच्च हैसियत, र बढी प्रतिष्ठा छ, साथै रणनीति बनाउनमा को उत्कृष्ट छ भन्नेतिर ध्यान दिन्छन्। तैँले तिनीहरूको बोली र व्यवहारबाट, कुनै सच्चा विश्वास खुट्ट्याउन सक्दैनस्; तैँले तिनीहरूको हृदयमा परमेश्वरका वचन र सत्यताका लागि सानोभन्दा सानो ठाउँ त झनै देख्न सक्दैनस्। तिनीहरूको विश्वास खेल र छलकपटभन्दा बढी केही हुँदैन। यी दुष्ट पात्रहरूले मण्डलीलाई सामाजिक समूह, दुष्ट पात्रहरूले मिलेमतो गर्ने अधिकारक्षेत्रमा परिणत गरेका हुन्छन्, जतिबेला तिनीहरू यसो भन्दै उच्च सुनिने शब्दहरू निरन्तर व्यक्त गरिरहेका हुन्छन्: “हामी परमेश्वरमा विश्वास गर्छौँ, उहाँको घरमा आफ्ना कर्तव्यहरू पूरा गर्छौँ, यसरी परमेश्वरलाई पछ्याउँछौँ, त्यस तरिकाले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूको कल्याणमा योगदान पुऱ्याउँछौँ, यसरी उनीहरूलाई सहयोग र साथ दिन्छौँ, र यस्तो-यस्तो तरिकाले एकअर्कालाई प्रेम गर्छौँ।” तिनीहरू मानिसहरूलाई भ्रम र जालमा पार्ने दुष्ट माध्यमका साथसाथै विभिन्न नीच विधिहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई हानि पुऱ्याउँछन्, तैपनि आफूले कर्तव्य पूरा गरिरहेको, दाजुभाइ-दिदीबहिनीहरूलाई मद्दत गरिरहेको, परमेश्वरलाई महिमित तुल्याइरहेको, र उहाँको साक्षी दिइरहेको विश्वास गर्छन्। तिनीहरूलाई यी कार्य र व्यवहारपछाडि परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्ने ख्रीष्टविरोधीहरूको सार हुन्छ भनेर थाहा हुँदैन। ख्रीष्टविरोधीहरू परमेश्वरलाई पछ्याउनेहरूलाई आफ्नो शक्तिको जालमा पार्छन्, मण्डलीलाई आफ्नो अधिकारक्षेत्र, एउटा सामाजिक समूह, शैतानको शक्तिअन्तर्गत रहने मानिसहरूको सङ्गठनमा परिणत गर्छन्। के यस्तो सङ्गठनलाई अझै पनि मण्डली मान्न सकिन्छ? प्रस्ट रूपले सकिन्न। के ख्रीष्टविरोधीहरूको व्यवहार असाध्यै वाकवाकलाग्दो हुँदैन र? के तिमीहरूले कहिल्यै ख्रीष्टविरोधीको यस्तो गिरोह देखेका छौ? तँलाई तिनीहरूमाझ हुँदा कस्तो महसुस हुन्छ? बाहिरी रूपमा, तिनीहरू नम्र र मिलनसार देखिन्छन्—तर जब तैँले तिनीहरूसित सत्यता र परमेश्वरका अभिप्रायहरूबारे सङ्गति गर्छस्, तब तिनीहरू अत्यन्तै विकर्षण र अरुचिको मनोवृत्ति देखाउँछन्, जुन तिनीहरूको बाहिरी नम्रता र मिलनसारीविपरीत हुन्छ। तैँले तिनीहरूसित सत्यतामा सङ्गति गर्दा, तिनीहरूलाई तँ बाहिरी व्यक्ति होस् भन्ने लाग्छ, र तैँले मण्डलीको कामबारे सङ्गति गर्दा, तिनीहरूलाई झनै त्यस्तो लाग्छ; जब तँ कर्तव्य पूरा गर्दा अभ्यास गर्नुपर्ने सत्यता सिद्धान्तहरूबारे सङ्गति गर्छस्, तब तिनीहरू हताश हुन्छन् र रुचि देखाउँदैनन्, र त्यति बेला तिनीहरू आफ्नो पैशाचिक स्वरूप प्रकाश गर्छन्, टाउको कन्याउँछन्, हाइ काढ्छन्, र तिनीहरूको आँखाबाट पानी बग्छ। के यो असामान्य होइन र? तैँले सत्यतामा सङ्गति गर्नेबित्तिकै तिनीहरूको पैशाचिक स्वरूप किन देखा पर्छ? के तिनीहरू प्रत्येकको हृदयमा धेरै प्रेम हुँदैन र? तैँले सत्यताबारे सङ्गति गर्न सुरु गर्दा कसरी तिनीहरू रुचि गुमाउन सक्छन्? के त्यसरी तिनीहरूको खुलासा हुँदैन र? के तिनीहरूमा बाहिरी कार्यहरू गर्ने ठूलो उत्साह र बफादारी हुँदैन र? अनि यदि तिनीहरू बफादार छन् भने, के तिनीहरूसँग वास्तविकता हुँदैन र? यदि तिनीहरूसँग वास्तविकता छ भने, मानिसहरूले सत्यता सङ्गति गरेको सुन्दा तिनीहरू खुसी हुनुपर्ने हो, तिनीहरूले त्यसको तृष्णा गर्नुपर्ने हो। किन तिनीहरूको स्थिति सधैँ असामान्य हुन्छ, दुष्टात्माको वशमा परेको समेत हुन्छ? यसले तिनीहरूका सामान्य सामञ्जस्यतापूर्ण अन्तरक्रियाहरू, अनि तिनीहरूको नम्रता र मिलनसारी पूर्णतया झूट हुन् भन्ने देखाउँछ। तिनीहरूलाई पूर्ण रूपले प्रकट त परमेश्वरको न्यायका वचनहरू र उहाँले व्यक्त गर्ने सत्यताहरूले गर्छन्। त्यसपछि तिनीहरू रिसले चूर हुन्छन्, र तिनीहरूको अवस्था सामान्यजस्तो नै हुँदैन, अनि तिनीहरू दुष्टता गर्न र बाधा पुऱ्याउन थाल्छन्। त्यसपछि, परमेश्वर तिनीहरूलाई शैतानकहाँ सुम्पनुहुन्छ र त्यसउप्रान्त तिनीहरूको चासो राख्नुहुन्न। तिनीहरूका यावत् दुष्कर्महरूमा तिनीहरूले आफ्नो साँचो रूप देखाएका हुन्छन्।
ख्रीष्टविरोधीहरूले परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्ने कुरा साँच्चै वास्तविकता हो। अलि कम गम्भीर अवस्थामा, एक व्यक्तिले निश्चित सङ्ख्याका मानिसहरूलाई आफूअनुकूल प्रयोग गर्छ; गम्भीर अवस्थामा, एक गिरोहले निश्चित मात्रामा मानिसहरू र त्यसबाहेकका हरेक मामलालाई आफूअनुकूल प्रयोग गर्छ। एक व्यक्तिले आफूअनुकूल प्रयोग गर्न सक्ने कामकुरा र परिस्थितिहरूको सङ्ख्या सीमित हुन्छ; त्यसैले, ख्रीष्टविरोधीहरूले आफ्नो दलबललाई विस्तार गर्न र आफ्नो हैसियत जोगाउन मानिसहरूको एउटा समूहलाई प्रशिक्षित गराउनै पर्ने हुन्छ। तिनीहरूले आफूलाई सहयोग गर्ने, आफ्नो हैसियत र शक्ति जोगाउने, अनि परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्नका लागि मद्दत गर्ने मानिसहरूको एक समूहलाई लोभ्याउनु र नियन्त्रण गर्नुपर्ने हुन्छ। ख्रीष्टविरोधीहरूले आफ्नो गिरोह बनाएपछि, तिनीहरूको प्रभावक्षेत्र बढ्दै जान्छ, जसले गर्दा तिनीहरूले थप कामकुरालाई आफूअनुकूल प्रयोग गर्न सक्छन्, अनि तिनीहरूको संलग्नता फराकिलो बन्छ। परिणामस्वरूप, पीडितहरूको सङ्ख्या बढ्छ। तिमीहरूले परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्न सक्ने ख्रीष्टविरोधीको गिरोह सामना गऱ्यौ भने के गर्नुपर्छ? के तिमीहरूले कहिल्यै त्यस्तो गिरोह देखेका छौ? यस समूहका मुख्य सदस्य सामान्यता चारपाँच जना, वा दश जनाभन्दा बढी हुन्छन्। हरव्यक्ति विभिन्न कार्यका लागि जिम्मेवार हुन्छ। उदाहरणका लागि, कर्मचारी समायोजन गर्नमा खप्पिस, आर्थिक गतिविधि सम्हाल्ने, माथिलाई सामना गर्ने, र जे आइपरे पनि ख्रीष्टविरोधीका लागि कामकुरा तुरुन्तै ढाकछोप गरिदिने; साथै पर्दापछाडिबाट सल्लाह दिने, मानिसहरूलाई हानि पुऱ्याउन खराब कामकुराहरूको षडयन्त्र रच्ने; अफवाह फैलाउनमा माहिर, फूट पैदा गराउने, दुष्कर्मीहरूलाई दुष्टता गर्न सहयोग गर्ने, जानकारी सङ्कलन गर्ने, अनि लाभ उपलब्ध गराइदिने र तिनीहरूलाई चिकित्सा उपचार दिलाउने व्यक्तिहरू समेत हुन्छन्। छोटकरीमा भन्नुपर्दा, यो झुन्डमा हरप्रकारको भूमिका खेल्ने कुनै व्यक्ति हुन्छ। ख्रीष्टविरोधीहरू प्रभाव नजमाएका, सोझा र सरल, अनि समाजमा मामलाहरू सम्हाल्ने क्षमता नभएका व्यक्तिहरूलाई बेवास्ता गर्छन्। त्यसको साटो, तिनीहरू हैसियत, प्रतिष्ठा, प्रभाव भएका, अनि एक अधिकारीका रूपमा वा समाजमा ठूलो व्यवसाय गर्नमा अनुभव भएका विश्वासीहरू—संसार देखेका, कामकुरा फत्ते गर्न सक्ने, र तिनीहरूका लागि राम्रा कुराहरू प्राप्त गर्न सक्ने मानिसहरू—लाई विशिष्ट रूपमा लक्षित गर्छन्। उदाहरणका लागि, यदि एउटा कारको मूल्य ४ लाख युआन पर्छ भने, बजार बुझ्न सक्ने व्यक्तिले प्रयोग भइसकेको कार आधा मूल्यमा ख्रीष्टविरोधीलाई उपलब्ध गराउन सक्छ, जुन नयाँ कार सरह नै हुन्छ। के त्यो ख्रीष्टविरोधीले, त्यस्तो व्यक्तिसँग निकट हुन पुगेमा उसलाई भित्र्याउनेछ? (भित्र्याउनेछ।) ख्रीष्टविरोधीहरू यस्तै मानिसहरूलाई भित्र्याउँछन्। तिनीहरूको उद्देश्य के हो? तिनीहरू परमेश्वरको घर, परमेश्वरले काम गर्ने ठाउँलाई सामाजिक समूहमा परिणत गर्ने, र मानिसहरूमाझ परमेश्वरको काम र सत्यता कार्यान्वयन गर्न नसकिने अवस्था सिर्जना गर्ने उद्देश्य राख्छन्—तिनीहरू आफ्नै लक्ष्यहरू हासिल गर्न चाहन्छन्। यदि कुनै साधारण विश्वासी हृदय र सत्त्वदेखि नै परमेश्वरलाई विश्वास गर्छे, आफ्नो परिवार र करियर त्याग्न सक्छे, सोझी र सरल छे अनि कामकुरा सम्हाल्ने क्षमता राख्दिन भने, के ख्रीष्टविरोधीले उसलाई चाहनेथियो? (चाहनेथिएन।) यदि उसका श्रीमान् र छोरा दुवैले व्यापारमा पैसा कमाउन सक्छन्, समाजमा तिनीहरूको प्रभाव छ, र तिनीहरूलाई कसैले पनि हेप्ने आँट गर्दैन भने, के ख्रीष्टविरोधीका लागि यस्ती पाको उमेरकी महिलाको कुनै मूल्य हुन्छ? ख्रीष्टविरोधीका नजरमा उसको अन्तर्निहित उपयोगिता नभए पनि, उसको परिवारको सन्दर्भमा ऊ अत्यन्तै मूल्यवान् हुन्छे। ऊसँग पैसाको कमी छैन, उसले घरमा दाजुभाइ-दिदीबहिनीहरूलाई आतिथ्य प्रदान गर्न सक्छे, र यदि केही आइपऱ्यो भने, त्यो समाधान गर्न उसले आफ्नो परिवारको मद्दत पाउन सक्छे। यस्तो व्यक्ति ख्रीष्टविरोधीका लागि मूल्यवान् हुन्छ। ख्रीष्टविरोधी यस्तो व्यक्तिलाई लोभ्याउन र भ्रममा पार्न सम्भव भएजति सबथोक गर्छ, उसलाई आफ्नो पक्षमा उभिने र ऊद्वारा प्रयोग हुने तुल्याउँछ। ख्रीष्टविरोधी आफूलाई काम लाग्ने मानिसहरूलाई सही रूपमा मूल्याङ्कन गर्छ। ऊ साँचो आस्था हुने, निष्कपट रूपमा परमेश्वरमा विश्वास गर्ने, वा असल चरित्र भएका, र कर्तव्य निर्वाहमा बफादार, अनि हेरचाह र मलजल पाएपछि प्रगति गर्न र साँच्चै मूल्य चुकाउन सक्नेहरूलाई वास्ता गर्दैन वा महत्त्व दिँदैन। तँ जति बढी सोझो हुन्छस्, र तँमा जति बढी विवेक र समझ हुन्छ, ऊ तँबाट त्यति नै विकर्षित हुन्छ। यदि तैँले साँचो रूपमा र सीधा बोलिस् भने, उसलाई तँप्रति विकर्षण जाग्छ र घृणा लाग्छ। तँलाई देख्दा ऊ तँबाट टाढै बस्छ। यदि तैँले ऊसँग कुराकानी गरिस् भने, उसले सतही कुराकानी गर्छ तर तँ उसका लागि मूल्यवान् नभइन्जेल उसले हृदयदेखि बोल्दैन। ऊ आफ्ना लागि मूल्यवान्, र आफ्नो शक्ति र हैसियतलाई फाइदा पुग्ने मानिसहरूलाई प्राथमिकता दिन्छ। यदि ऊद्वारा प्रयोग हुन सक्ने, र कामकुरा गर्न, साँचो तथ्यहरू ढाकछोप गर्न, उसका लागि उचित बहानाहरू खोजेर खराब कामकुरा गर्न, अनि कसैले नदेख्नेगरी, कसैले त्यो खुलासा गर्न वा छर्लङ्ग देख्न नसक्नेगरी दाजुभाइ-दिदीबहिनीहरूलाई भ्रममा पार्न उसलाई मद्दत गर्न सक्ने व्यक्ति उसको शोषण र नियुक्तिको पात्र बन्छ। यदि कुनै व्यक्ति जोसँग कुरा गर्दा पनि सधैँ चिप्लो घसेर बोल्छ, अख्तियार भएकाहरूको गुणगान गाउँछ, हैसियत हुनेलाई पछ्याउँछ, र कसैप्रति सुझबुझ देखाउँदैन भने, के ख्रीष्टविरोधीले उसलाई प्रयोग गर्छ? ख्रीष्टविरोधीका लागि यस्तो व्यक्ति मूल्यवान् हुन्छ, तर ऊ त्यस्तो व्यक्तिप्रति सावधानी पनि अपनाउँछ। ऊ आफूलाई चिप्लो घस्नेहरूलाई पूर्ण रूपमा भरोसा गर्दैन, र उसले तिनीहरूलाई निश्चित कुराहरू थाहा दिनेछैन। यदि बैठकहरू पदक्रमअनुसार श्रेणीकरण गरिएका छन् भने, उसले यस्ता व्यक्तिहरूलाई बढी महत्त्वपूर्ण भेलाहरूमा राख्दैन। यस्ता दोधारे व्यक्तिहरू कम महत्त्वका वा साधारण भेलाहरूमा सहभागी हुन सक्छन्। किनभने यदि अर्को अगुवा पैदा भएमा, यी दोधारे व्यक्तिहरूले कुनै पनि बेला त्यो ख्रीष्टविरोधीलाई विश्वासघात र खुलासा गर्न सक्छन्। ख्रीष्टविरोधी यस्ता मानिसहरूसँग व्यवहार गर्नमा धूर्त हुन्छ, तिनीहरूलाई अवस्थाअनुसार प्रयोग गर्छ। त्यसकारण, परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्ने सन्दर्भमा भन्नुपर्दा, ख्रीष्टविरोधी एकदमै सावधान हुन्छ। ऊ यस्ता मामलाहरूलाई व्यवस्थित तरिकाले र लेखाजोखा गरेर सम्हाल्छ, कसरी कार्य गर्ने र कुन मानिसहरूलाई गलचेपका रूपमा प्रयोग गर्ने भनेर होसियारीसाथ विचार गर्छ। ऊ मनमा घनिष्ठ आसेपासे र साधारण आसेपासेहरूबीचको फरक छुट्ट्याउँछ।
जब ख्रीष्टविरोधीले कुनै नौलो व्यक्ति, जस्तै माथिल्लो तहको अगुवा वा आफूले राम्ररी नचिनेको व्यक्तिलाई भेट्छ, तब ऊ पहिला उक्त व्यक्तिको चरित्र, उसमा कुनै पछ्याइ वा सोखहरू छन् कि छैनन्, उसमा साँचो आस्था छ कि छैन, उसले परमेश्वरमा विश्वास गरेको वर्ष अवधि, ऊसँग सत्यता वास्तविकता र उसलाई खुट्ट्याउने शक्ति छ कि छैन, अनि उसले जीवन प्रवेशको बोझ बोक्छ कि बोक्दैन भनेर जाँच-पडताल गर्छ। ऊ हरेक पक्षको मूल्याङ्कन र अवलोकन गर्छ, त्यसपछि उसलाई कुराहरू ओकल्न लगाउन र उसको परीक्षा लिन विभिन्न विधि प्रयोग गर्छ। यदि उसले कुनै व्यक्ति अलमल्ल भएको देखेमा, सावधानी अपनाउनुपर्ने ठान्दैन र उसलाई बेवास्ता गर्छ। तर, यदि कुनै व्यक्ति चतुर र बुझ्न गाह्रो रहेछ भन्ने देखिएमा, उसलाई आफू सावधान हुनुपर्ने महसुस हुन्छ। ख्रीष्टविरोधीले परिस्थितिलाई नियन्त्रणमा राख्नुको उद्देश्य सबथोक नियन्त्रण गर्नु, सबै प्रकारका मानिसलाई नियन्त्रणमा राख्नु लगायत सबथोकमा अन्तिम निर्णय गर्न चाहनु हो। परमेश्वरको घरका प्रावधानहरू उसका लागि कागजको टुक्राजस्तै अर्थहीन बन्छन्, साथै परमेश्वरका प्रशासनिक आदेश र स्वभावको कुनै अस्तित्व हुँदैन, मानौँ ती हावा हुन्। उसको महत्त्वाकाङ्क्षा र कामना मानिसहरूलाई नियन्त्रणमा राख्ने र उसको कुरा सुन्न लगाउनेमा सीमित हुँदैन; ऊ हरव्यक्तिले अनुभव गर्ने हरघटना, साथै उसकै अगाडि उसको प्रभावक्षेत्रभित्र र बाहिर दुवै ठाउँमा हुने मामलाहरूलाई नियन्त्रणमा राख्ने हदसम्म जान्छ। यो नियन्त्रणको उद्देश्य के हो? उसको शक्ति र हैसियत, साथै उसको प्रतिष्ठा जोगाउनु हो। एउटा वाक्यांशले ख्रीष्टविरोधीले परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्ने कुरालाई समेट्छ: सबथोक उसको नियन्त्रणमा हुन्छ। यसर्थ, ख्रीष्टविरोधीले ठूला वा साना, कुनै पनि मामलालाई अनदेखा गर्ने आँट गर्दैन। उसले कुनै पनि कुरालाई अनदेखा गर्ने आँट गर्दैन, ऊ आफ्नो हैसियत वा प्रभाव क्षेत्रसँग सम्बन्धित कुनै पनि कुरामा सहभागी हुन र हस्तक्षेप गर्न चाहन्छ, कुनै पनि फाइदा छुटाउन चाहँदैन। ऊ मण्डलीभित्र धेरै मामलामा सक्रिय रूपले संलग्न हुन, र कामकुरा कसरी अघि बढिरहेका छन् भनी अवस्था बुझ्न चाहन्छ। उदाहरणका लागि, यदि कतिपय मानिस साँच्चै उसको कुरा सुन्दैनन् वा ऊप्रति समर्पित हुँदैनन् र सधैँ ऊबारे रायहरू राख्छन् भने, उसले तिनीहरूलाई सास्ती दिने उपायहरू खोज्छ। तर यदि उसले तिनीहरूलाई काटछाँट गर्ने कुनै बहाना भेट्टाउन सकेन भने के गर्छ? उसले परमेश्वरको घरबाट पठाइएका पुस्तक र प्रवचनका रेकर्डिङहरू नियन्त्रण गर्ने उपाय खोज्छ। उसले आफूप्रति को आज्ञाकारी छ भन्ने आधारमा यी सामग्रीहरू कसले तुरुन्तै पाउँछ भनेर निर्धारण गर्छ। यदि तैँले उसको कुरा सुनिनस् वा त्यस अवधिमा प्रतिकुल व्यवहार देखाइस् भने, उसले स्रोतसाधन सीमित छन् भनेर दाबी गर्नेछ र तँलाई ती सामग्री पठाउनेछैन। ख्रीष्टविरोधीले तेरो व्यवहार हेर्छ। यदि तैँले त्यसबारे प्रस्ट रूपले सोचिस्, त्यसलाई छर्लङ्गै देखिस्, र ख्रीष्टविरोधीको मनोविज्ञान बुझिस् भने; यदि तैँले स्वेच्छाले आफ्ना भूलहरू स्विकारिस्, र ख्रीष्टविरोधीसित नजिकिइस् भने, उसले बहाना बनाएर यसो भन्नेछ, “यसपटक, परमेश्वरको घरले सबैका लागि पर्याप्त सर सामग्री पठाएको छ, र तिमीले पनि पाउँछौ।” तर, यदि उसले तँ केही समयपछि फेरि टाढिएको देख्यो भने, उसले तँलाई अझै सास्ती दिनेछ। नयाँ सामग्रीहरू आइपुग्दा उसले तँलाई जानकारीसमेत दिनेछैन, उसले तँलाई केही पनि दिँदै दिनेछैन, अनि उसले कुनै बहाना खोजेर तँसित भएको चिजसमेत जफत गर्न सक्छ। विशेष गरी जब ख्रीष्टविरोधीले आफूले पर्दापछाडि गरेका गलत कार्यहरू कसैलाई थाहा हुन सक्छ र त्यसले ती कार्य रिपोर्ट गर्न सक्छ भन्ने थाहा पाउँछ, तब ऊ पहिल्यै कदम चालिहाल्छ, सक्रिय रूपमा आफ्ना गल्तीहरू मान्छ अनि आफूबारेको ज्ञान बताउँछ, र सुरुमा नरम शैली प्रयोग गर्छ। एक पटक ख्रीष्टविरोधीले नरम शैली काम नलाग्ने देखेपछि, र यस व्यक्तिले अझै पनि उसको रिपोर्ट गर्न सक्ने सोचेर उसलाई हृदयमा अलि असुरक्षित महसुस भएपछि, उसले ठूलो प्रयास गर्दै अझ धेरै मानिसहरू एकत्रित गरेर यस व्यक्तिलाई घेरा हाल्नेछ र बलजफती धम्की दिनेछ। त्यस व्यक्तिले सम्झौता नगरुन्जेल, उसको रिपोर्ट गर्दिनँ भन्ने आफ्नो अडान नजनाउन्जेल यो क्रम जारी रहन्छ, र त्यसपछि मात्र ख्रीष्टविरोधी रोकिन्छ। कतिपय अवस्थामा, ख्रीष्टविरोधीले पहिला अरूको खुलासा गर्न पनि सक्छ; अरूले उसको खुलासा र रिपोर्ट गर्लान् भन्ने डरले, उसले पहिल्यै कदम चाल्छ, अर्को व्यक्तिलाई झूटा आरोपहरू लगाउन र उसका लागि पासो थाप्न जानाजानी अर्को व्यक्तिविरुद्ध गलचेप समात्छ। पछि, उसले त्यस व्यक्तिलाई एक्ल्याउने र निष्कासन गर्ने बहाना भेट्टाउँछ, माथि र मण्डलीसँग उसको सम्पर्क टुटाइदिन्छ। अब, ख्रीष्टविरोधी सुरक्षित महसुस गर्छ र उसले उप्रान्त चिन्ता लिँदैन। के यो परिस्थितिहरूलाई आफूअनुकूल प्रयोग गर्नु होइन र? (हो।) यस्ता मामलाहरूमा ख्रीष्टविरोधीका कार्यहरू एकदुईवटा एकाध घटना वा एकदुई वटा विधि प्रयोग गर्ने मात्र होइनन् भन्न सकिन्छ। ख्रीष्टविरोधीले परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्न, आफ्नो हैसियत सुरक्षित गर्न, र आफ्नो अधिकारक्षेत्र डगमगिन नदिनका निम्ति, धेरै दुष्कर्म गर्छ। उदाहरणका लागि, उसले मण्डलीभित्र कर्मचारी प्रणाली र प्रबन्धहरू फेरबदल गर्छ। उसले अझ धेरै मानिसहरूलाई नियन्त्रण गर्न दाजुभाइ-दिदीबहिनीहरूमाझ फूट पैदा गराउँछ, दाजुभाइ-दिदीबहिनीहरूलाई आपसमा आक्रमण र आलोचना गर्न लगाउँछ। उसले इन्साफको बोध बढी भएका कतिपय दाजुभाइ-दिदीबहिनीहरूलाई घेराउ गर्न आफ्ना अनुयायीहरूलाई उक्साउने समेत गर्छ; उसले दाजुभाइ-दिदीबहिनीहरूसामु माथिले आफूलाई निकै उच्च मान्ने दाबीसमेत गर्छ। यति मात्र नभएर, उसले आफ्नो उत्कृष्ट कामबारे सेखी देखाउँदै र आफूले आत्मज्ञान प्राप्त गरेको, स्वेच्छाले आफ्ना समस्याहरू उदाङ्गो पार्न सक्ने इत्यादि दाबी गर्दै माथिलाई पत्रहरू लेख्छ। उसले माथिबाट निगाह पाउने उद्देश्यले पत्रहरू लेख्छ र आफ्ना समस्याहरूबारे जानकारी दिन्छ। उसले परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्न, आफ्ना कट्टर अनुयायीहरूलाई नियन्त्रणमा राख्न, दाजुभाइ-दिदीबहिनीहरूलाई झुक्क्याउन, र सँगसँगै परमेश्वरको घरलाई झुक्क्याउन विभिन्न माध्यम र विधिहरू प्रयोग गर्छ। यी नै ख्रीष्टविरोधीहरूले मण्डलीभित्र परिस्थितिहरू नियन्त्रण गर्न उपयोग गर्ने विभिन्न अभ्यास हुन्। अवश्य नै, अझ धेरै निर्दिष्ट अभ्यासहरू छन्, तर तिनलाई यहाँ सूचिकृत गरिनेछैन। सारांशमा भन्नुपर्दा, ख्रीष्टविरोधीहरूले कसरी मण्डलीलाई नियन्त्रण गर्छन् भन्ने मामलाहरू आम हुन्, अनि तिनीहरूले प्रकाश गर्ने विभिन्न अभ्यासहरू पनि आम हुन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।