विषयवस्तु तीन: तिनीहरूले सत्यता पछ्याउनेहरूलाई बहिष्कार र आक्रमण गर्छन् (खण्ड दुई)
परमेश्वरका चुनिएका जनहरूले ख्रीष्टविरोधीहरूसित कसरी व्यवहार गर्नुपर्छ? तिनीहरूले उनीहरूलाई खुट्ट्याउनुपर्छ, तिनीहरूलाई खुलासा गर्नुपर्छ, तिनीहरूलाई रिपोर्ट गर्नुपर्छ, र तिनीहरूलाई तिरस्कार गर्नुपर्छ। तब मात्र परमेश्वरलाई अन्तसम्म पछ्याउनु र परमेश्वरमा विश्वासको सही मार्गमा प्रवेश गर्नु सुनिश्चित हुन सक्छ। ख्रीष्टविरोधीहरूले आफूलाई अगुवाका रूपमा छान्नका लागि अरूलाई जसरी बहकाए पनि तिनीहरू तेरा अगुवा होइनन्। तिनीहरूलाई स्वीकार नगर् र तिनीहरूको नेतृत्व स्वीकार नगर्—तैँले तिनीहरूलाई खुट्ट्याउनैपर्छ र तिनीहरूलाई तिरस्कार गर्नैपर्छ, किनभने तिनीहरूले तँलाई सत्यता बुझ्न मद्दत गर्न सक्दैनन्, न त तिनीहरूले तँलाई टेवा दिन सक्छन् वा तेरो लागि प्रबन्ध नै गर्न सक्छन्। यी तथ्यहरू हुन्। यदि तिनीहरूले तँलाई सत्यता वास्तविकतामा डोर्याउन सक्दैनन् भने, तिनीहरू अगुवा वा कामदार हुन योग्य छैनन्। यदि तिनीहरूले तँलाई सत्यता बुझ्न र परमेश्वरको कामको अनुभव गर्नतिर डोर्याउन सक्दैनन् भने, तिनीहरू परमेश्वरको विरोध गर्नेहरू हुन्, र तैँले तिनीहरूलाई खुट्ट्याउनुपर्छ, तिनीहरूलाई खुलासा गर्नुपर्छ र तिनीहरूलाई तिरस्कार गर्नुपर्छ। तिनीहरूले गर्ने जुनै काम पनि तँलाई बहकाएर तिनीहरूको पछि लगाउन, र तिनीहरूको गिरोहमा सामेल गराएर मण्डलीको कामलाई कमजोर पार्न र बाधा पुर्याउन, तँलाई फकाएर तिनीहरू जस्तै ख्रीष्ट विरोधीहरूको मार्ग लिन लगाउनका लागि हो। तिनीहरू तँलाई तानेर नरकमा पुर्याउन चाहन्छन्! यदि तँ तिनीहरूलाई तिनीहरू के हुन् भनेर बताउन सक्दैनस् र तिनीहरू तेरा अगुवा भएकाले तैँले तिनीहरूको आज्ञापालन गर्नुपर्छ र तिनीहरूलाई छुट दिनुपर्छ भनेर विश्वास गर्छस् भने, तँ सत्यता र परमेश्वर दुवैलाई धोका दिने व्यक्ति होस्—र यस्ता मानिसहरूलाई मुक्ति दिन सकिँदैन। यदि तँ मुक्ति पाउन चाहन्छस् भने, तैँले ठूलो रातो अजिङ्गरको अवरोधलाई मात्र पार गर्नुपर्ने होइन, र तैँले ठूलो रातो अजिङ्गरलाई छर्लङ्ग देख्न, यसको घिनलाग्दो अनुहारलाई देखेर यसविरुद्ध पूर्ण रूपमा विद्रोह गर्न सक्षम मात्र हुनुपर्ने होइन—तैँले ख्रीष्टविरोधीहरूको अवरोधलाई पनि पार गर्नुपर्ने हुन्छ। मण्डलीमा, ख्रीष्टविरोधी परमेश्वरको मात्रै शत्रु हुँदैन, परमेश्वरका चुनिएका मानिसहरूको पनि शत्रु हुन्छ। यदि तिमीहरूले ख्रीष्टविरोधीलाई खुट्ट्याउन सक्दैनौ भने, तिमीहरू बहकाउमा पर्ने र जितिने, ख्रीष्टविरोधीको मार्गमा हिँड्ने, र परमेश्वरद्वारा श्रापित र दण्डित हुने सम्भावना हुन्छ। यदि त्यस्तो भयो भने, परमेश्वरमाथिको तिमीहरूको विश्वास पूर्ण रूपमा असफल हुनेछ। मुक्ति पाउनको लागि मानिसहरूमा के हुनुपर्छ? पहिलो, तिनीहरूले धेरै सत्यता बुझेको हुनुपर्छ, र ख्रीष्टविरोधीको सार, स्वभाव, र मार्गलाई खुट्ट्याउन सक्नुपर्छ। परमेश्वरमा विश्वास गर्दा मानिसहरूलाई पुज्ने वा पछ्याउने अवस्थाबाट निश्चित रूपमा बच्ने, र परमेश्वरलाई अन्त्यसम्मै पछ्याउने एक मात्र उपाय यही हो। ख्रीष्टविरोधीलाई खुट्ट्याउन सक्ने मानिसहरूले मात्रै साँचो रूपमा परमेश्वरमा विश्वास गर्न, उहाँलाई पछ्याउन, र उहाँको लागि गवाही दिन सक्छन्। त्यसपछि कसै-कसैले भन्लान्, “यदि अहिले मसँग यसका लागि सत्यता छैन भने, म के गरूँ?” तैँले अविलम्ब आफूलाई सत्यताले सुसज्जित गर्नैपर्छ; तैँले मानिसहरू र चीजहरूलाई सूक्ष्म रूपमा चिन्न सिक्नैपर्छ। ख्रीष्टविरोधीलाई खुट्ट्याउनु चानचुने कुरा होइन, र यसका लागि तिनीहरूको सारलाई स्पष्ट रूपमा देख्ने, र तिनीहरूको हरेक कार्यपछाडि लुकेका षड्यन्त्र, चलाकी, र मनसाय र उद्देश्यहरूलाई बुझ्ने क्षमता चाहिन्छ। त्यसरी तँ तिनीहरूको बहकाउ वा नियन्त्रणमा पर्दैनस्, र तँ दह्रिलो गरी खडा हुन, सत्यतालाई सुरक्षित र बलियो रूपमा पछ्याउन, र सत्यता पछ्याउने र मुक्ति पाउने मार्गमा दृढ भएर लागिपर्न सक्छस्। यदि तैँले ख्रीष्टविरोधीका तगारोहरू पार गर्न सक्दैनस् भने तँ ठूलो खतरामा छस् भनेर भन्न सकिन्छ, र तैँले ख्रीष्टविरोधीको बहकाउ र पकडमा परी शैतानको प्रभावमा जिउने सम्भावना हुन्छ। यो सम्भव छ कि तिमीहरूको बीचमा केही यस्ता मानिसहरू छन् जसले सत्यता पछ्याउने मानिसहरूलाई बाधा दिन्छन् र ठेस लगाउँछन्, अनि तिनीहरू यी मानिसहरूका शत्रुहरू हुन्। के तँ यो कुरा स्वीकार गर्छस्? केही मानिस छन्, जसले यस तथ्यको सामना गर्ने हिम्मत गर्दैनन्, न त तिनीहरू यसलाई तथ्यका रूपमा स्वीकार गर्ने हिम्मत नै गर्छन्। तर ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बहकाउने काम साँच्चै नै मण्डलीमा हुने गर्छ, त्यो पनि प्राय: जसो; यति मात्र हो कि, मानिसहरूले त्यसलाई खुट्ट्याउन सक्दैनन्। यदि तँ यो जाँचमा, अर्थात् ख्रीष्टविरोधीहरूसम्बन्धी जाँचमा सफल भइनस् भने—तँ कि त ख्रीष्टविरोधीको बहकाउमा र नियन्त्रणमा पर्छस्, कि त तिनीहरूले तँलाई दुःख, यातना, धक्का दिन्छन्, तँलाई थिचोमिचो र दुर्व्यवहार गर्छन्। आखिरमा, तेरो तुच्छ सानो जीवन लामो समयसम्म टिक्दैन, र सुकेर जान्छ; तँमा उप्रान्त परमेश्वरमाथिको विश्वास हुँदैन, र तैँले यसो भन्नेछस्, “परमेश्वर त धर्मी समेत हुनुहुन्न! परमेश्वर कहाँ हुनुहुन्छ? यो संसारमा कुनै इन्साफ वा ज्योति छैन, र परमेश्वरले मानवजातिलाई मुक्ति दिनुहुन्छ भन्ने कुनै कुरा छैन। हामीले पनि आफ्ना दिनहरू काम गर्नु र पैसा कमाउनुमा नै बिताउनु राम्रो हुन्छ!” तैँले परमेश्वरलाई इन्कार गर्छस् र परमेश्वरबाट तर्किन्छस्, उहाँ हुनुहुन्छ भनेर विश्वास गर्न छोड्छस्; तैँले मुक्ति पाउने कुनै पनि आशा पूर्ण रूपमा समाप्त हुन्छ। यसकारण, यदि तँ मुक्ति पाउने स्थानमा पुग्न चाहन्छस् भने तैँले पार गर्नुपर्ने पहिलो जाँच भनेको शैतानलाई बुझ्नु र छर्लङ्ग देख्न सक्ने हुनु हो, साथै तँमा खडा भएर शैतानलाई खुलासा गर्ने र त्याग्ने साहस पनि हुनैपर्छ। त्यसोभए शैतान कहाँ छ? शैतान तेरो छेउमा छ र तेरो वरिपरि छ; त्यसले तेरो हृदयभित्र पनि बास गरिरहेको हुन सक्छ। यदि तँ शैतानको स्वभावभित्र जिइरहेको छस् भने, तँ शैतानको होस् भनेर भन्न सकिन्छ। तैँले आत्मिक क्षेत्रको शैतान वा दुष्टात्माहरूलाई देख्न वा छुन सक्दैनस्, तर वास्तविक जीवनमा अस्तित्वमा रहने शैतानहरू र जीवित दियाबलसहरू सबैतिर छन्। सत्यताप्रति वितृष्ण हुने कुनै पनि व्यक्ति दुष्ट हो, र सत्यतालाई स्वीकार नगर्ने कुनै पनि अगुवा वा कामदार ख्रीष्टविरोधी वा झूटो अगुवा हो। के त्यस्ता व्यक्तिहरू शैतान र जिउँदा दियाबलसहरू होइनन् र? तैँले पूजा गर्ने र भर पर्ने मानिसहरू तिनै हुन सक्छन्; तिनीहरू तँलाई डोऱ्याउने मानिसहरू वा तैँले लामो समयदेखि आफ्नो हृदयमा आदर गरेका, विश्वास गरेका वा आशा लिएका मानिसहरू हुन सक्छन्। तापनि, वास्तवमा, तिनीहरू तेरो बाटो छेक्ने र तँलाई सत्यता खोजी गर्न र मुक्ति प्राप्त गर्नबाट रोक्ने बाधाहरू हुन्; तिनीहरू झूटा अगुवा र ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूले तेरो जीवनलाई र तँ हिँड्ने मार्गलाई नियन्त्रण गर्न सक्छन्, र तिनीहरूले मुक्ति पाउने तेरो मौकालाई नाश पार्न सक्छन्। यदि तँ तिनीहरूलाई खुट्ट्याउन र तिनीहरूलाई छर्लङ्ग देख्न असफल भइस् भने, कुनै पनि क्षण अचानक तँ तिनीहरूको बहकाउमा पर्न र पकडमा आउन सक्छस्। यसैले, तँ ठूलो खतरामा छस्। यदि तैँले आफूलाई यो खतराबाट मुक्त गर्न सक्दैनस् भने, तँ शैतानको बलि हुन्छस्। जेहोस्, ख्रीष्टविरोधीको बहकाउ र नियन्त्रणमा परेका, र ख्रीष्टविरोधीको अनुयायी बनेका मानिसहरूले कहिल्यै पनि मुक्ति पाउन सक्दैनन्। तिनीहरूले सत्यतालाई प्रेम वा खोजी नगर्ने हुनाले, परिणामस्वरूप, तिनीहरू ख्रीष्टविरोधीको बहकाउमा पर्नु र तिनीहरूले तिनलाई पछ्याउनु अवश्यम्भावी हुन्छ।
कतिपय मानिसले आफू सत्यता पछ्याउने व्यक्ति हुँ र ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन सक्षम छु भनी सोच्छन्। तिनीहरूले आफूलाई बढी मूल्याङ्कन गरिरहेका छन्, होइन र? यदि तैँले आफ्नो दाह्रा देखाउने, खराब मानवता भएको र केही दुष्ट कार्य गरेको कुनै स्पष्ट ख्रीष्टविरोधीलाई भेट्छस् भने, त्यस्तालाई तँ स्वभाविकतः पहिचान गर्न सक्षम हुन्छस्। तर यदि तैँले धर्मनिष्ठ देखिने, धेरै नरम बोली बोल्ने, र असल व्यक्ति जस्तो देखिने कुनै ख्रीष्टविरोधीलाई भेट्छस् भने—एक ख्रीष्टविरोधी जो मानिसहरूको धारणाअनुरूप छ—के तँ अझै पनि तिनीहरू वास्तवमा को हुन् भनेर दाबी गर्न पर्याप्त साहसी छस्? के तँ तिनीहरूलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्ने हिम्मत गर्छस्? यदि तँ तिनीहरूलाई खुट्ट्याउन असक्षम हुन्छस् भने, तँ तिनीहरूको प्रशंसा गर्न र तिनीहरूलाई प्यारो ठान्न बाध्य हुन्छस्, यस्तो अवस्थामा तिनीहरूको व्यवहार, तिनीहरूको विचार र दृष्टिकोण, तिनीहरूका कार्यहरू—तिनीहरूको सत्यताको बुझाइले पनि—तँलाई पक्का प्रभाव पार्नेछ। यी कुराहरूले तँमा कुन हदसम्म प्रभाव पार्नेछ? तैँले ख्रीष्टविरोधीको ईर्ष्या गर्नेछस्, तिनीहरूको नक्कल गर्नेछस्, तिनीहरूको अनुकरण गर्नेछस्, तिनीहरूलाई पछ्याउनेछस्, जसले तेरो जीवन प्रवेशलाई असर गर्नेछ; यसले तेरो सत्यताको खोजी र वास्तविकतामा प्रवेशलाई असर गर्नेछ, यसले परमेश्वरप्रतिको तेरो मनोवृत्तिलाई असर गर्नेछ, र यसले तँ वास्तवमा परमेश्वरप्रति समर्पित छस् कि छैनस् र तैँले परमेश्वरलाई अन्तसम्म पछ्याउँछस् कि पछ्याउँदैनस् भन्ने कुरालाई असर गर्छ। अन्ततः ख्रीष्टविरोधी तेरो मूर्ति बन्नेछ, तिनीहरूले तेरो हृदयमा स्थान पाउनेछन्, र तँ तिनीहरूबाट उम्कन सक्नेछैनस्। जब तँ यस हदसम्म बहकिएको हुन्छस्, त्यतिबेला तेरो मुक्ति पाउने आशा निकै झिनो हुन्छ, किनभने परमेश्वरसँगको तेरो सम्बन्ध चकनाचूर भएको छ, तैँले परमेश्वरसँगको सामान्य सम्बन्ध गुमाएको छस्, र खतराको सँघारमा छस्। अनि यो तेरा लागि विपत्ति हो कि आशिष्? निस्सन्देह यो एक विपत्ति हो; यो आशिष् त बिलकुलै होइन। सानातिना कुराहरूमा केही ख्रीष्टविरोधीहरू तँलाई मद्दत गर्न सक्षम हुन्छन्, र तेरा लागि लाभकारी हुन सक्छन्, वा तँलाई अन्तर्दृष्टि दिन शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्न सक्षम हुन्छन्, तर एकपल्ट तँ तिनीहरूको बहकाउमा परेपछि, तँ तिनीहरूको आराधना गर्छस्, र तिनीहरूलाई पछ्याउँछस् भने तँ समस्यामा फस्छस्। तैँले आफ्नो लागि विनाश निम्त्याइस्, र आफ्नो मुक्तिको मौका गुमाइस्। केही मानिसहरू भन्छन्, “तिनीहरू शैतान वा दुष्ट व्यक्ति होइनन्, तिनीहरू आत्मिक, सत्यता पछ्याउने व्यक्ति जस्तो देखिन्छन्।” के यी शब्दहरू सत्य हुन्? (होइनन्।) किन होइनन्? सच्चा रूपमा सत्यता पछ्याउने कुनै पनि व्यक्तिले तँलाई दिने मार्गनिर्देशन, सहायता, र प्रबन्धको प्रभाव वा फाइदाले तँलाई परमेश्वरको सामु ल्याउने काम गर्छ, यसरी तैँले उहाँको वचन र सत्यको खोजी गर्न सक्छस्, अनि तँ परमेश्वरको सामु आउँछस् र उहाँमाथि भर पर्न र उहाँलाई खोज्न सिक्छस्, र उहाँसितको तेरो सम्बन्ध झन्-झन् घनिष्ठ हुँदैजान्छ। त्यसको विपरीत, ख्रीष्टविरोधीसित तेरो सम्बन्ध झनझनै घनिष्ठ हुँदै जान्छ र तँ तिनीहरूको औँलामा नाच्न थाल्छस् भने, के हुन्छ? तँ गलत बाटोमा तर्किनेछस् र आफैमाथि विनाश ल्याउनेछस्। जब तँ एक ख्रीष्टविरोधीसँग घनिष्ठ सम्बन्ध राख्छस्, परमेश्वरसँगको तेरो सम्बन्ध टाढिन्छ। अनि यसको परिणाम के हुन्छ? तिनीहरूले तँलाई डोऱ्याउनेछन् र तिनीहरूका अघि ल्याउनेछन्, र तँ परमेश्वरबाट टाढिँदै जानेछस्। यदि तेरो हृदयमा कोही मूर्ति छन् भने, एकपल्ट परमेश्वरका वचनहरू र कामका बारेमा तैँले आफ्नै धारणा बनाइस् भने, परमेश्वरका वचनहरूले तेरो मूर्तिलाई खुलासा गर्दा तँ तुरुन्तै परमेश्वरविरुद्ध विद्रोह गर्नेछस्, र तैँले परमेश्वरको विरोध गर्न र उहाँलाई धोका दिन समेत सक्नेछस्; तैँले आफ्नै मूर्तिको पक्ष लिनेछस् र परमेश्वरको विरोध गर्नेछस्। अक्सर यस्तै हुने गर्छ। जब कोही झूटा अगुवा र ख्रीष्टविरोधीलाई बर्खास्त वा निष्कासन गरिन्छ, तब तिनीहरूका सहयोगी र चम्चेहरू तिनीहरूको पक्षमा खडा हुन र गुनासो गर्न थाल्छन्; कतिपय त नकारात्मक बन्छन् र परमेश्वरमा विश्वास गर्नै छोड्छन्। यो आम कुरा हो, हैन र? अनि किन तिनीहरूले विश्वास गर्न छोड्छन्? तिनीहरू भन्छन्, “हाम्रो नेतालाई बर्खास्त र निष्कासित गरिएको छ, त्यसैले म एक साधारण विश्वासीको के नै आशा छ र?” यो बकवास होइन र? तिनीहरूका शब्दहरूले तिनीहरू ख्रीष्टविरोधीलाई पछ्याउँछन् र तिनीहरू ख्रीष्टविरोधीद्वारा पूर्ण रूपमा बहकाइएका छन् भनी सङ्केत गर्दछ। अनि उनीहरू बहकाइनुको परिणाम के हुन्छ? ख्रीष्टविरोधी तिनीहरूले आराधना गर्ने मूर्ति बनेको छ; ख्रीष्टविरोधी तिनीहरूको पुर्खाजस्तै भएको छ: तिनीहरूका पुर्खालाई निष्कासित गरिएपछि तिनीहरू कसरी छोडेर जान सक्दैनन् र? तिनीहरू केवल ख्रीष्टविरोधीको कुरा सुन्छन्, र तिनीहरू पूर्णतः ख्रीष्टविरोधीको नियन्त्रणमा छन्। तिनीहरू ख्रीष्टविरोधीले भन्ने र गर्ने सबै कुरा सही छ र त्यसलाई सत्यताका रूपमा स्वीकार गर्नुपर्छ र त्यसमा समर्पित हुनुपर्छ भनी सोच्छन्, र त्यसैले तिनीहरूले परमेश्वरको घरमा कसैले पनि ख्रीष्टविरोधीको खुलासा र निन्दा गरेको सहँदैनन्। एक पटक ख्रीष्टविरोधीलाई परमेश्वरको घरबाट निष्कासन गरिसकेपछि, “रुख ढल्छ र बाँदरहरू तितरबितर हुन्छन्,” भनेजस्तै ख्रीष्टविरोधीलाई पछ्याउनेहरू पनि आफै मण्डली छाडेर जान्छन्। यस्ता कुराहरूले ख्रीष्टविरोधी र तिनीहरूका अनुयायीहरू परमेश्वरको काममा बाधा र अवरोध पुर्याउन आएका शैतानका नोकरहरू हुन् भन्ने देखाउँछन्। एकचोटि परमेश्वरका चुनिएका मानिसहरूबाट तिनीहरूको पत्ता लागेपछि, खुलासा गरिएपछि, र तिरस्कार गरिएपछि, परमेश्वरमाथिको तिनीहरूको विश्वास समाप्त हुन्छ। ख्रीष्टविरोधीका अनुयायीहरू सबैसँग एउटा छर्लङ्गै खुट्ट्याउन सकिने विशेषता छ: कसैको कुराले तिनीहरूलाई असर गर्दैन; तिनीहरू केवल ख्रीष्टविरोधीहरूको कुरा सुन्छन्। अनि एकचोटि तिनीहरू ख्रीष्टविरोधीहरूद्वारा बहकाइएपछि तिनीहरू परमेश्वरका वचनहरू सुन्न छोड्छन्, र तिनीहरूले ख्रीष्टविरोधीलाई मात्र आफ्नो मालिकका रूपमा मान्यता दिन्छन्। यसो गर्दा, के तिनीहरूलाई बहकाइएको, अनि तिनीहरूलाई नियन्त्रण गरिएको होइन र? ख्रीष्टविरोधीका अनुयायीहरू मात्र ख्रीष्टविरोधीको पक्षमा उभिने प्रयास गर्छन्। जब ख्रीष्टविरोधीहरूको खुलासा र प्रकाश हुन्छ, तिनीहरूलाई पछ्याउने मानिसहरू तिनीहरूका लागि चिन्तित हुन्छन्, तिनीहरूका लागि आँसु बगाउँछन्, तिनीहरूको तर्फबाट गुनासो गर्छन् र तिनीहरूको बचाव गर्ने प्रयास गर्छन्। यस्तो समयमा तिनीहरूले परमेश्वरलाई बिर्सेका हुन्छन्, र परमेश्वरलाई प्रार्थना गर्न वा सत्यताको खोजी गर्न छोड्छन्; तिनीहरू केवल ख्रीष्टविरोधीहरूको बचाव गर्छन् र तिनीहरूका निम्ति दिमाग खियाउँछन्; तिनीहरूले अब परमेश्वरलाई समेत चिन्दैनन्। के तिनीहरू साँच्चै परमेश्वरमा विश्वास गर्छन्? तिनीहरू वास्तवमा कसमा विश्वास गर्छन्? यो पहिले नै छर्लङ्ग छ। तिनीहरूले जे भने पनि वा गरे पनि, ख्रीष्टविरोधीहरूको एउटा मात्र उद्देश्य हुन्छ: त्यो हो, मानिसहरूलाई अगुवाइ गर्नु, तिनीहरूको मालिक बन्नु हो, र तिनीहरू सबैले तिनीहरूलाई दासतापूर्वक पछ्याऊन् र आज्ञापालन गरून्, र अन्ततः तिनीहरूलाई परमेश्वरलाई जस्तै व्यवहार गरून् भन्ने चाहना राख्छन्। पावल हिँडेको बाटोभन्दा यो कसरी फरक छ? जब पावलको काम अन्तिम अवस्थामा पुग्यो, उनले आफ्नो हृदयका शब्दहरू भने; पावलले उनका निम्ति बाँच्नु भनेको ख्रीष्ट हो भने, र यसो भन्नुको उनको उद्देश्य प्रभुमा विश्वास गर्ने सबैलाई उनको अनुकरण गर्न, उनलाई पछ्याउन र उनलाई परमेश्वर जस्तै व्यवहार गर्न लगाउनु थियो। पावलले यी शब्दहरू भन्नुको पछाडि यही उद्देश्य थियो, होइन र? र यदि ख्रीष्टविरोधीहरूको काम साँच्चै मानिसहरूले तिनीहरूको आराधना र आज्ञापालन गरेको हदसम्म पुग्छ भने, यी मानिसहरूको हृदयमा परमेश्वरका लागि कुनै स्थान हुनेछैन; तिनीहरूका हृदयहरू पहिले नै ख्रीष्टविरोधीहरूले कब्जा गरिसकेका हुनेछन्। परिणाम यही हो। तँ भन्छस्, तँलाई ख्रीष्टविरोधीले बहकाउला भनेर चिन्ता छैन, ख्रीष्टविरोधीलाई पछ्याउँदा कुनै डर छैन, तर यस्तो दाबी गरेर कुनै फाइदा छैन। यो एक सम्भ्रमित टिप्पणी हो। यो किन हो भने, यदि तँ सत्यताको पछि लाग्दैनस् र सधैं मानिसहरूको आराधना गर्छस् र पछ्याउँछस् भने, तैँले अनजानमै ख्रीष्टविरोधीहरूको बाटो अपनाउनेछस्। धेरै वर्षसम्म परमेश्वरमा विश्वास गर्नु तर अनुभवात्मक गवाही नहुनु, अनि सत्यता र जीवन प्राप्त नगर्नु मात्रै होइन तर परमेश्वरको विरोध गर्ने व्यक्ति बन्नु: ख्रीष्टविरोधीहरूको पछि लाग्ने व्यक्तिहरूको अन्तिम परिणाम यही हुन्छ, र यसबाट तँ उम्किन सक्दैनस्, यो एक अपरिवर्तनीय तथ्य हो। यो कसैले बिजुलीको करेन्टलाई छुँदा जस्तै हो: त्यसलाई झट्का त पक्कै लाग्छ। कसै-कसैले भन्लान्, “म यो विश्वास गर्दिनँ; म डराउँदिनँ”—तर के यो तैँले विश्वास गर्नु वा नगर्नु या तँ डराउनु वा नडराउनुसँग सम्बन्धित कुरा हो? एकपल्ट बिजुली छोएपछि, झ्याप्पै! तँलाई करेन्ट लाग्नेछ। तैँले यसलाई विश्वास नगरे पनि केही फरक पर्दैन। त्यसलाई विश्वास नगर्नु अज्ञानता हो; यो भन्नु गैरजिम्मेवार कुरा हो। त्यसकारण, तँ ख्रीष्टविरोधीलाई पछ्याउन इच्छुक भए पनि वा नभए पनि, यदि तँ सत्यताको पछि लाग्दैनस्, र तेरो प्रयासहरू सधैँ ख्याती, प्राप्ति, र हैसियतमै केन्द्रित हुन्छन् भने, तँ ख्रीष्टविरोधीको मार्गमा हिँडिसकेको छस्। पानीमा तैरिएका वस्तुहरू सतहमा आएजस्तै यो नतिजा बिस्तारै बिस्तारै देखिनेछ। यो अपरिहार्य छ। ख्रीष्टविरोधीहरूको कामको उद्देश्य भनेको परमेश्वरका योजनाबद्ध कार्य र प्रबन्धहरू स्वीकार गर्नु वा परमेश्वरको सार्वभौमिकतामा समर्पित हुनुको सट्टा आफूसामु मानिसहरूलाई डोर्याउनु, मानिसहरूलाई आफ्नो नियन्त्रण र चालबाजी स्विकार्न लगाउनु हो। ख्रीष्टविरोधीहरू मानिसहरूको मन जित्न चाहन्छन्, तिनीहरूलाई प्राप्त गर्न चाहन्छन्, तिनीहरूको उद्देश्य परमेश्वरका सबै चुनिएका मानिसहरूलाई नियन्त्रण गर्नु, परमेश्वरका चुनिएका मानिसहरूलाई हातमा नियन्त्रण गर्नु हो; तिनीहरू तस्करहरू हुन्। अनि ख्रीष्टविरोधीहरूले मानिसहरूलाई नियन्त्रण गर्ने आफ्नो उद्देश्य हासिल गर्न के प्रयोग गर्छन्? तिनीहरू मानिसहरूले आराधना गर्ने आत्मिक धर्मसिद्धान्त प्रयोग गर्छन्, देखावटी सिद्धान्तहरू प्रयोग गर्छन्, मानिसहरूलाई बकवास सुनाउन र चढाइबढाइ गर्न, तिनीहरूलाई बहकाउन सिद्धान्तको आराधना गर्ने मानिसहरूको भ्रष्ट मानसिकताको फाइदा उठाउँछन्। सारांशमा भन्नुपर्दा, तिनीहरूले भनेका सबै कुरा शब्द र धर्मसिद्धान्तहरू, खोक्रा सिद्धान्तहरू, भ्रामक कुराहरू र सत्यताका विपरीत हुने कुराहरू हुन्। यदि मानिसहरूले सत्यता बुझ्दैनन् भने, तिनीहरू पक्कै पनि बहकिनेछन्; कम्तीमा, तिनीहरू आफ्नो होशमा आउनुअघि केही समयका लागि बहकिनेछन्। ख्रीष्टविरोधीहरूको भण्डाफोर हुँदा तिनीहरू होशमा आउँछन्, त्यतिबेला तिनीहरूले अत्यन्तै पछुतो मान्छन्। ख्रीष्टविरोधीहरूलाई पछ्याउने मानिसहरूले लामो समयदेखि पवित्र आत्माको काम गुमाइसकेका छन्; किनभने तिनीहरूले हृदयमा आफ्नो मूर्तिको उपासना गर्छन्, मानिसहरूलाई पछ्याउँछन्, र तिनीहरू परमेश्वरद्वारा तिरस्कृत भएका छन्, र उहाँले तिनीहरूलाई प्रकाश गर्न एकातिर छुट्याएर राख्नुभएको छ। त्यसैकारण ख्रीष्टविरोधीहरूलाई पछ्याउनु अत्यन्तै खतरनाक छ; ख्रीष्टविरोधीहरूजस्तै, ख्रीष्टविरोधीहरूलाई पछ्याउने मानिसहरूलाई पनि परमेश्वरले सबैभन्दा धेरै घृणा गर्नुहुन्छ। अनि यी मानिसहरूलाई एकातिर छुट्याउनुमा परमेश्वरको उद्देश्य के हो? यसको उद्देश्य परमेश्वरका चुनिएका मानिसहरूलाई तिनीहरूको होशमा फर्किन, ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन र खुलासा गर्न सक्षम हुनका लागि पर्खनु हो, र यी ख्रीष्टविरोधीहरूलाई पूर्ण रूपमा अस्वीकार गर्नका लागि हो, जुन समयमा ख्रीष्टविरोधीहरूको अन्तिम दिन आइपुगिसकेको हुनेछ। के ख्रीष्टविरोधीहरूले गर्ने सबै कुरा मानिसहरूका निम्ति हानिकारक छैनन् र? तिनीहरू सत्यताको पछि लाग्दैनन् र परमेश्वरका चुनिएका मानिसहरूलाई बहकाउने र नियन्त्रण गर्ने प्रयास गर्छन्, तिनीहरू मानिसहरूलाई सत्यताको पछि लाग्न दिँदैनन्, तिनीहरू परमेश्वरको काममा समर्पित हुँदैनन्, र परमेश्वरका चुनिएका मानिसहरूलाई बहकाएर तिनीहरूको पछि लाग्न लगाउने प्रयास गर्छन्—यी सबैले देखाउँछ, ख्रीष्टविरोधीहरूसँग परमेश्वरको डर मान्ने र उहाँमा समर्पित हुने हृदय फिटिक्कै छैन, न त सत्यताप्रति नै कुनै प्रेम छ। यसको सट्टा, तिनीहरूले आफ्ना लागि हैसियत र शक्ति हडप्नका लागि परमेश्वरको विरोध गर्ने र उहाँका चुनिएका मानिसहरूलाई होड गर्ने जुनसुकै तरिकाबारे सोच्छन्, अन्ततः परमेश्वरको विरोधमा आफ्नै राज्य सिर्जना गर्छन्—यी सबले ख्रीष्टविरोधीहरू देहधारी परमेश्वरका नश्वर शत्रुहरू र परमेश्वरको विनाशका पात्रहरू हुन् भनेर देखाउँछ। परमेश्वरमा मानिसहरूको विश्वासमा ख्रीष्टविरोधीहरूद्वारा बहकाइनु र नियन्त्रित हुनुभन्दा खतरनाक कुरा अरू केही छैन। यदि मानिसहरूले ख्रीष्टविरोधीहरूलाई पछ्याउन थालिसकेका छन्, तिनीहरू पूर्ण रूपमा ख्रीष्ट विरोधीहरूको पक्षमा लागिसकेका छन् भने, तिनीहरू परमेश्वरलाई धोका दिएका मानिसहरू हुन् र तिनीहरू परमेश्वरको विरुद्धमा छन्, यस्तो अवस्थामा तिनीहरूको परिणाम बताइरहनु आवश्यक छैन।
ख्रीष्टविरोधीहरूले सत्यता पछ्याउने मानिसहरूलाई कसरी बहिष्कार र आक्रमण गर्छन् भन्नेबारे सङ्गतिको धेर थोर कुरा यत्ति नै हो। सत्यता पछ्याउने मानिसहरूलाई बहिष्कार र आक्रमण गर्ने तिनीहरूको उद्देश्य र मनसाय, र तिनीहरूले सत्यता पछ्याउने मानिसहरूसित व्यवहार गर्दा अपनाउने मनोवृत्ति, विधि र तरिकाहरू, साथसाथै सत्यता पछ्याउने मानिसहरूमा ख्रीष्टविरोधीहरूप्रति हुनुपर्ने कार्यवाही—हामीले यी प्रत्येक विषयमा पूर्ण रूपमा नभए पनि थोरै संङ्गति गरेका छौँ। भविष्यको सङ्गतिले खास परिस्थिति र खास मामिलाहरूमा अझै पनि सत्यतालाई छुन सक्ला। यस्तो खास विषयवस्तुमा सङ्गति गर्दा, प्रवचन सुन्नेहरूले कस्तो मनोवृत्ति राख्नुपर्छ? तिनीहरूले ध्यान केन्द्रित गर्नुपर्छ, आफूलाई परमेश्वरको अगाडि शान्त बनाउनु पर्छ, र विचलित हुनुहुँदैन, किनभने सत्यताको प्रत्येक पक्षमा खास कथन र परिभाषाहरू छन्, र प्रत्येकसँग खास सामग्री र अभ्यासका सिद्धान्तहरू छन्। थप कुरा के हो भने, प्रत्येक विषय क्षेत्रभित्र रहेका, सत्यतासँग सम्बन्धित अवधारणागत कुराहरूमा, साथै मानिसहरूले बुझ्नुपर्ने सत्यता र तिनीहरूले अभ्यास गर्नुपर्ने बाटोका विषयमा हामी विभिन्न कोण र तरिकाबाट कुरा गर्नेछौँ। यसले ठोस परिणाम ल्याउनुअघि छर्लङ्ग नभएसम्म यी सबैका बारेमा सङ्गति र विचार गर्नु आवश्यक छ। हामी अब हाम्रो विस्तृत सङ्गतिबाट कसैले कर्तव्य निर्वाह गर्दा त्यसमा संलग्न सत्यता सिद्धान्तहरू मानिसहरूले सोचेजस्तो सरल छैनन् भन्ने कुरा बुझ्छौँ। बुझ्ने क्षमता नभएकाहरूका निम्ति सत्यता बुझ्नु भनेको साँच्चै नै कठिन कार्य हो। सत्यता बुझ्नु विश्वविद्यालयमा जानु जत्तिक्कै केही हदसम्म कठिन हुन्छ, तर यदि बुझ्ने क्षमता छ भने यो गाह्रो महसुस हुँदैन। सत्यता सुनेपछि कसैले यसलाई बुझ्न सक्छ भने, तिनीहरूसँग स्वाभाविक रूपमा यो अभ्यास गर्ने मार्ग हुनेछ, र तिनीहरूले सत्यताको अभ्यास गर्न जति धेरै तालिम लिन्छन्, तिनीहरूको अभ्यासमा मार्ग त्यति नै फराकिलो हुनेछ, र तिनीहरूले अझै सटीक रूपमा सिद्धान्तहरू ग्रहण गर्नेछन्। अर्कोतर्फ, यदि तैँले त्यस्ता विस्तृत सङ्गति सुन्दैनस् र सामान्य र अवधारणात्मक कुराहरू मात्र बुझ्छस् भने, अभ्यास गर्नुपर्दा तेरा हातहरू बाँधिनेछन्। जब तैँले सत्यता सिद्धान्तहरू खोज्छस्, तब तँलाई आफू मोडिने जुनै बाटो पनि गलत लाग्नेछ, र तैँले जेसुकै गरे पनि तैँले त्यसलाई सही ढङ्गले बुझ्न असक्षम महसुस गर्नेछस्। तर अब, त्यस्ता ठोस परिभाषा र विशिष्टताहरूको साथ, जब दायरा संकुचित गरिएको छ र सत्यतालाई खास बनाइएको छ, तब सत्यताको अभ्यास पुनः सुरु गर्दा तँ झन् धेरै स्वतन्त्र हुनेछस्, किनकि यो विस्तृत छ। उदाहरणका लागि, मानौँ मैले तँलाई एउटा नोटबुक किन्न भनेँ। यदि मैले तँलाई यसको आकार, मोटाई, र मूल्यजस्ता आधारभूत आवश्यकताहरू मात्र बताएँ भने, यी सिद्धान्तहरू बुझ्न र अभ्यास गर्न तँलाई केही प्रयास गर्नुपर्ने आवश्यकता पर्न सक्छ। तर यदि मैले नोटबुकको विशिष्ट रङ्ग, आकार, पृष्ठहरूको सङ्ख्या, विशिष्ट ढाँचा, र कागजको गुणस्तर जस्ता कुराहरू भनेँ भने—त्यस्ता विवरणहरू भनिएपछि तैँले बुझ्ने सिद्धान्तहरू थप ठोस हुनेछैनन् र? अझै तोकेर भन्नुपर्दा, मैले तँलाई कागजको पाना दिएँ र त्यस्तै खालको एउटा नोटबुक किनेर ल्याउन भनें जसको कागजको गुणस्तर उस्तै, मोटाइ, रङ्ग, र ग्रिड साइज र सङ्ख्या पनि उस्तै होस्, वा मैले तैँलाई हरेक विशेषताको सहनशीलताका लागि खास निर्देशन दिएँ भने, तैँले किन्न जाँदा छनौटका दायराहरू कम हुनेछन् र? (हुनेछन्।) तैँले अभ्यास गर्न जाँदा सान्दर्भिक सिद्धान्तहरू थप ठोस र सरल बन्नेछैनन् र? अभ्यास गर्ने सन्दर्भमा यसले तँलाई मद्दत गर्दछ वा बाधा पुर्याउँछ? (यो मद्दतकारी हुन्छ।) यो वास्तवमा, मद्दतकारी हुनुपर्ने हो किनकि सत्यताका विभिन्न पक्षहरू अझ ठोस र विस्तृत तवरमा बताइनुका साथसाथै खास मामिलाहरू, खास प्रकटीकरणहरू, अनि अभ्यास गर्ने खास तरिकाबारे—यी सबै तँलाई विस्तारमा बुझाइएको छ। अझै पनि तँ यो अभ्यास गर्न सक्दैनस् भने, तँसँग सत्यता बुझ्ने क्षमता नै छैन।
तिमीहरू सत्यता प्राप्त गर्न र सिद्ध पारिन सक्छौ कि सक्दैनौ भन्ने कुराका लागि तिमीहरूसित सत्यता बुझ्ने क्षमता छ कि छैन भन्ने कुरा एकदमै महत्त्वपूर्ण छ। यस बिन्दुमा आएर मैले कर्तव्यको उचित निर्वाह गर्ने कार्यसँग सम्बन्धित सत्यताहरू कर्तव्य निर्वाह गर्ने व्यक्तिहरूका आधारमा छ प्रकारमा विभाजन गरेको छु; ती प्रत्येक प्रकारलाई थप विशेष कोटीहरूमा विभाजन गरिएको छ, र प्रत्येक कोटीभित्र विस्तृत सङ्गतिका उपखण्डहरू छन्। तिमीहरूको सन्दर्भमा कुरा गर्नुपर्दा, के यस प्रकारको प्रचार र यस्ता सत्यताहरूमाथिको सङ्गतिले तिमीहरूलाई सत्यता अझ राम्ररी बुझ्न मद्दत गर्छ र तिमीहरूलाई अभ्यास गर्ने थप सिद्धान्तहरू दिन्छ, वा यसले सिद्धान्तहरू भेट्टाउन गाह्रो बनाउँछ? (यसले गर्दा हामीसँग धेरै सिद्धान्तहरू छन्।) यसले तिमीहरूलाई अझ ठूलो समझमा लैजानुपर्ने हो, र त्यसो भएमा, मेरो विस्तृत प्रवचन तिमीहरूका लागि उपयोगी हुनुपर्ने हो। यसले तिमीहरूलाई झनै अलमलमा पार्ने होइन, अझ बढी स्पष्टता प्रदान गर्नुपर्ने हो। यो कसैसित सत्यता बुझ्ने क्षमता छ कि छैन भन्ने कुरामा निर्भर हुन्छ। यदि कोही आत्मिक बुझाइ भएको साँच्चै राम्रो क्षमताको व्यक्ति हो भने, ऊ झन्-झन् छर्लङ्ग हुनेछ; यदि कोही कमजोर क्षमताको छ र ऊमा आत्मिक बुझाइको कमी छ भने, तिनीहरू यसलाई कम बुझ्न सक्षम हुनेछन्, र तिनीहरू केवल झन्झनै अलमलिनेछन्। कसै-कसैले भन्लान्, “पहिला मलाई अलिकति बुझेको छु जस्तो लाग्थ्यो, तर अहिले जति सुन्छु, त्यति नै अलमलमा पर्छु, यस्तो लाग्छ, अब मभित्र केही छैन। यस्तो के भइरहेको हो?” यदि जीवन प्रवेशका बारेमा धेरै विस्तारले कुरा गरियो भने, यदि मानिसहरूमा अनुभवको कमी छ र तिनीहरू कमजोर क्षमताका छन् भने, तिनीहरूलाई यो बुझ्न गाह्रो हुन्छ। कुराकानी जति विस्तृत हुन्छ, कमजोर क्षमताका व्यक्तिहरू त्यति नै फस्ने सम्भावना हुन्छ। तिनीहरू किन फस्ने सम्भावना हुन्छ? यसमा धेरै अवस्थाहरू छन्। एउटा हो, यस्ता मानिसहरूमा आत्मिक बुझाइको कमी हुन्छ। तिनीहरूले सत्यता बुझ्दैनन्—अर्थात्, तिनीहरूले सत्यता के हो वा एक विशेष स्थिति के हो भनेर बुझ्दैनन्। तिनीहरू यी कुरा बुझ्दैनन्। यो अवस्था सत्यता बुझ्ने क्षमताको अभाव हो। त्यस्ता व्यक्तिहरूका हकमा, एउटै मात्र, अन्तिम उपाय अपनाउनुपर्छ: आवश्यकताअनुसार आदेशहरू कार्यान्वयन गर्न रोबोटलाई प्रोग्रामिङ गरेजस्तै तिनीहरूलाई केही कुरा आइपर्दा तोकेरै के गर्नुपर्छ भनेर बताउनुपर्छ। तिनीहरूले प्रावधानहरू पालना गर्नु मात्र पनि पर्याप्त छ। यस विधिले त्यस्ता मानिसहरूमा नतिजा ल्याउन सक्छ; तिनीहरूका हकमा अरू कुनै उपाय छैन। म अहिले यो अन्तिम उपाय प्रयोग गर्दैछु, अति नै विस्तारमा, ठोस कुराहरूसम्मै बोल्दैछु—क्रमशः ठोस चीजहरूबारे बताउँदैछु। कोही मानिसहरू भन्छन्, तिनीहरूले अझै पनि बुझेका छैनन्, त्यसैले म तिनीहरूलाई तिनीहरूको मार्गमा आइपर्ने जुनसुकै कुरालाई पनि कसरी लिने र कसरी सम्हाल्ने भनेर तोकेरै बताउनेछु। म तिनीहरूलाई प्रावधानहरू पालना गराउँदै छु; मैले गर्न सक्ने यत्ति नै हो, किनभने तिनीहरूसँग सत्यता बुझ्ने क्षमता छैन। सबैको स्थिति ठ्याक्कै उस्तै हुँदैन, तर भिन्नताहरू कमै हुन्छन्। यदि तिमीहरूले मलाई प्रत्येकका बारेमा तोकेरै र स्पष्टसित बोल्न लगाउँछौ भने, ती सबै विषय छुन मलाई मुश्किल हुनेछ, किनकि तिमीहरूमध्ये धेरैको क्षमता कमजोर छ। आत्मिक बुझाइ र सत्यता बोध गर्ने क्षमता भएका तिमीहरूमध्येकाहरूले कामको त्यो भाग गर्नुपर्छ। मैले आफ्नो काम राम्रोसँग गरिसकेको छु। गर्न सकिने काम त्यति नै हो; मैले सक्दो गरेको छु। सम्पन्न गरिएका सबै कामहरू र परमेश्वरले देहमा बोल्नुभएका सबै वचनहरू सामान्य व्यक्तिका लागि बुझ्न योग्य र पहुँचयोग्य छन्। सामान्य मानवताको सोच र प्रतिक्रिया भएका मानिसहरूसँग गर्न सकिने यति हदसम्म नै हो। कसै-कसैले सोध्छन्, “के परमेश्वरले चमत्कार गर्नुहुन्न?” परमेश्वरले चमत्कार गर्नुहुन्न; यी सबै कुराहरू वास्तविक, व्यावहारिक रूपमा गर्न आवश्यक छ। यो तीन चरणहरूमा परमेश्वरको काम जस्तै हो: मानवजातिलाई तिनीहरूको जीवनमा अगुवाइ गर्नका लागि उहाँको व्यवस्थाको घोषणा, त्यसपछि क्रूसमा टाँगिनु र छुटकाराको काम गर्नु, र त्यहाँबाट आखिरी दिनहरू, जसमा परमेश्वरको देहधारणले मानवजातिलाई मुक्ति दिने सम्पूर्ण सत्यता व्यक्त गर्नुहुन्छ—प्रत्येक चरण वास्तविक, व्यावहारिक तरिकामा, मानिसको आमनेसामने भई बोलेर अनि काम गरेर पूरा गरिन्छ। यसमा कुनै चमत्कार छैन। सबैभन्दा ठूलो चमत्कार भनेको परमेश्वर स्वम् आफै बोल्नुहुन्छ र काम गर्नुहुन्छ, र उहाँले जुनसुकै तरिकाहरू प्रयोग गर्नुभए पनि, अन्ततः मानिसहरूको एक समूहलाई पूर्ण बनाउनुहुनेछ र तिनीहरूलाई प्राप्त गर्नुहुनेछ। यो निश्चित रूपमा पूरा हुनेछ; यो केवल समयको कुरा हो। यो सबैभन्दा ठूलो चिन्ह र आश्चर्यकर्म हो, र परमेश्वरले मानिसको हृदयमा सत्यता छिराउन कुनै अन्य अलौकिक विधि प्रयोग गर्नुहुनेछैन। अब जब यी सत्यताहरूमा यसरी विस्तृत रूपमा सङ्गति गरिएको छ, यदि तँमा बुझ्ने क्षमता छ र तँ वास्तवमै सत्यता पछ्याउने व्यक्ति होस् भने, यदि तैँले साँच्चै ध्यान दिइस् र अलिकति प्रयास गरिस् भने, तेरा निम्ति सत्यता र अभ्यासका सिद्धान्त बुझ्न असम्भव हुनेछैन। सत्यतालाई माया गर्छु भन्ने पनि कोही छन्, तर यतिका वर्षसम्म प्रवचन सुनेर पनि तिनीहरू अझै किन बुझ्दैनन्? यसका दुईवटा सम्भावनाहरू छन्। एउटा यो हो कि तिनीहरूमा अलिकति पनि आत्मिक बुझाइ छैन, र तिनीहरूसँग सत्यता बुझ्ने क्षमता छैन; अर्को यो हो कि तिनीहरूले वास्तवमा सत्यतालाई माया गर्दैनन्, र यसलाई पछ्याउन कहिल्यै प्रयास गरेका छैनन्। यी दुई सम्भावित कारण हुन्। कतिपय मानिसहरू तिनीहरूले सत्यता बुझ्दैनन् भनेर भन्छन्, किनभने तिनीहरूले लामो समयदेखि परमेश्वरमा विश्वास गरेका छैनन्, र धेरै प्रवचनहरू सुनेका छैनन्, र तिनीहरूसँग धेरै अनुभव छैन। यो पनि अर्को कारण हो। यद्यपि, यदि तँ सत्यतालाई साँच्चै माया गर्ने व्यक्ति होस् भने, तैँले परमेश्वरमा विश्वास गरेका वर्षहरू जति जति बढ्दै जान्छ, सत्यताका बारेमा तेरो बुझाइ पनि बढ्दै जानेछ, र तेरो आत्मिक कद बढ्दै जानेछ।
सत्यताको कुनै पनि पक्षमा सङ्गति गर्दा, यसलाई समस्या समाधान गर्ने गरी पूर्ण रूपमा प्रस्तुत गर्न केवल केही शब्दहरू मात्र पर्याप्त छैनन्। आजका मानिसहरूका लागि, सामान्यीकरण केवल धर्मसिद्धान्त, मात्र सिद्धान्त हुन्। त्यसोभए, म मानिसहरूलाई कसरी बुझाउन र एक पटक कुनै कुरा स्वीकार गरेपछि त्यसलाई तिनीहरूको अभ्यासको सिद्धान्तमा परिणत गर्ने तुल्याउन सक्छु? मैले अझ तोकेरै अनि विस्तारमा बोल्नुपर्छ। मैले कथा सुनाउँदै गरूँ वा सत्यतामा सङ्गति गर्दै गरूँ, वा अभ्यासको कुरा गरूँ, ती समग्रमा थप विस्तृत र खास हुनुपर्छ। खास भाषण तिमीहरूका लागि लाभदायक छ। त्यसैले तिमीहरूका निम्ति कथाहरू र उदाहरणहरू बताउन मैले सधैँ मेरो दिमाग खियाउनैपर्छ, ताकि तिमीहरूले अलि बढी बुझ। म यी सबै सत्यताहरूलाई घटनापिच्छे मूर्त रूप दिन्छु, र म आफूले सङ्गति गर्ने प्रत्येक घटनासँग सत्यताहरूलाई जोड्ने गर्छु, ताकि तिमीहरूको दिमागमा तुलना गर्नका लागि एउटा छवि बनोस्, जससँग तिमीहरूले आफूले कहिल्यै यसरी काम गरेका छौ कि छैनौ वा त्यस्ता मानिसहरूले जस्तो काम गर्नेछौ कि छैनौ, वा त्यसरी कहिल्यै सोचेका छौ कि छैनौ, वा त्यस्तो स्थितिमा कहिल्यै फसेका छौ कि छैनौ भनेर तुलना गर्न सक। जब तिमीहरू यी सत्यताहरू सुन्छौ, म यसलाई यस्तो बनाउँछु जसले गर्दा तिमीहरू निरन्तर त्यसको छवि भाव राख्न सक्छौ, मानौँ तिमीहरू त्यसैमा डुबेका छौ। यही कारण म कथाहरू सुनाउँछु र उदाहरणहरू दिन्छु। कतिपय यस्ता व्यक्तिहरू छन्, जो कथा सुरु हुनेबित्तिकै अधीर हुन्छन्। “अर्को कथा? के म तीन वर्षे बालक हुँ?” तेरो उमेर कलिलो नहोला, तर परमेश्वरमा विश्वास गर्ने र सत्यता पछ्याउने मार्गका सन्दर्भमा भने तँ तीन वर्षभन्दा कम उमेरको पनि हुन सक्छस्—कुराको चुरो यही हो। त्यसोभए, तिमीहरूलाई तीन वर्षभन्दा सानो बालकका रूपमा व्यवहार गर्नु तिमीहरूको अपमान होइन, र यो अति नै पनि होइन; मैले देखेअनुसार यो तिमीहरूलाई अधिमूल्याङ्कन गर्नु हो। तीन वर्षको बच्चाले कैँची तिखो हुन्छ र यसलाई छुनु हुँदैन भनेर कुनै वयस्कले एकपल्ट भनेको सुन्छ भने, त्यसले यो सिद्धान्तका रूपमा सम्झनेछ। उसले त्यसलाई छुने छैन र त्यससँग मिल्दोजुल्दो उपकरण वा पत्ती पनि छुने छैन। उसले जान्दछ कि ती सबै तीखा छन्; उसले यो सिद्धान्तमा कसरी पोख्त हुनुपर्ने हो, सो जान्दछ। त्यसोभए, के मानिसहरूले आफ्नो अभ्यासमा धेरै पटक अनुभव गरेको कुरामा सिद्धान्तहरू भेट्टाउन सक्छन्? भन्नुको मतबल, के तैँले परमेश्वरका कार्यहरू पछाडिको अभिप्राय, तँबाट उहाँले गर्नुभएका मागहरू, र एउटा मामलामा उहाँले माग गरेका मानकहरू के हुन् भनेर बुझ्न सक्छस्? सामान्य व्यक्तिको बुद्धिमत्तालाई हेर्दा तँ यी कुराहरू बुझ्न सक्षम हुनुपर्ने हो। त्यसोभए मैले जे भने पनि, मानिसहरूले कस्ता परिस्थितिहरूमा ती बुझ्दैनन् त? यसो हुनुको प्रमुख कारण पहिलो त मानिसहरू जिइरहेको कोलाहलमय वातावरणसँग सम्बन्धित छ, जहाँ यति धेरै झिनामसिना र बोझिला कामहरू सम्हाल्नुपर्ने हुन्छ कि मानिसहरू परमेश्वरको वचन होसियारीसाथ प्रार्थना-पढाइ गर्न पनि इच्छुक हुँदैनन्; तिनीहरू सत्यताका लागि कुनै प्रयासै गर्दैनन्। यो कारणको एउटा पक्ष हो; अर्को पक्ष यो हो कि, सत्यताप्रतिको मानिसहरूको तिर्खा र प्रेम कति थोरै छ भने, यदि दश अङ्कलाई पूर्णाङ्क मान्ने हो भने, तिमीहरूको सत्यताप्रतिको प्रेमको वर्तमान हद बढीमा तीन वा पाँच हुनेछ। अतः मानिसहरूले सत्यतालाई नबुझ्नुको र अन्ततः यसलाई प्राप्त नगर्नुको अधिकांश कारण यो हो कि, तिनीहरू आफैले प्रयास लगाएका छैनन्, र साथै तिनीहरूले आफ्नो हृदय त्यसमा लगाउँदैनन्, र तिनीहरूको हृदयमा तिनीहरूले सत्यतालाई कत्ति पनि माया गर्दैनन्। सत्यताप्रतिको मानिसहरूको प्रेम त्यसको स्तरमा पर्याप्त छैन। यो त केवल चासोको कुरो हो; यसमा प्रेमको कुरा आउँदैन। मानिसहरूले संसारमा यति धेरै अप्ठ्याराहरू र कष्टहरू भोगेकै कारण तिनीहरू जीवनयापन गर्न सकिरहेका छैनन्, अनि तिनीहरूले परमेश्वरलाई मानिसहरूलाई मुक्ति दिने काम गरेको र प्रत्येक दिन सत्यतामा सङ्गति गरेको देखेकाले र उहाँले मानिसलाई प्रदान गर्नुभएको सबै कुराको प्रशस्तता देखेको कारणले तिनीहरू परमेश्वर असल हुनुहुन्छ भनी महसुस गर्छन्, र उहाँका वचनहरू पढ्न र सत्यतातिर अघि बढ्न प्रयास गर्न इच्छुक हुन्छन्। यो तिनीहरूमा भएको चासोको सानो अंश हो। मानिसहरूको हृदयले आफ्नो बढी समय केमा खर्च गर्छ? तिनीहरू सबै भावनात्मक सम्बन्ध, पारस्परिक सम्बन्ध, हैसियत र अभिमान अनि समाजका सबै प्रचलन जस्ता झिनामसिना मुद्दाहरूले जेलिएका छन्। खाना, पहिरन, सिँगारपटार र दैहिक सुखमा नै आफ्नो समय र शक्ति बढी खर्च गर्ने मानिसहरू पनि छन्। तिनीहरू यी चीजहरूमा आफ्ना साँच्चै नै बहुमूल्य दिनहरू बर्बाद गर्छन्, र तिनीहरू तिनको महिमा गाउँछन्: “म परमेश्वरप्रति आफूलाई समर्पित गर्दै छु!” अन्ततः, अन्तमा, तिनीहरूले फर्केर हेर्छन् र के देख्छन् भने, परमेश्वरले यति धेरै वचनहरू भन्नुभएको छ र यति लामो समयसम्म काम गर्नुभएको छ, तैपनि तिनीहरूले सत्यता प्राप्त गरेका छैनन्। परमेश्वरले तिनीहरूलाई यो प्रदान नगर्नुभएकाले यस्तो भएको होइन, बरु तिनीहरूले परमेश्वरले धेरै कुरा व्यक्त गर्नुभएको देखे पनि सत्यतालाई आफ्नो हृदयले स्वीकार नगरेकाले वा आफूलाई सत्यतामा लागू नगरेकाले भएको हो। यही कारणले गर्दा तिनीहरूले परमेश्वरमा धेरै वर्षदेखि विश्वास गरेको भए तापनि सत्यता र जीवन प्राप्त गर्न सकेनन्, र अन्तमा हटाइए।
जनवरी २२, २०१९
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।