विषयवस्तु चार: तिनीहरू आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन् (खण्ड पाँच)
आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनु ख्रीष्टविरोधीहरूको प्रमुख प्रकटीकरण हो, र तिनीहरूको सारलाई यो प्रकटीकरणअनुसार चित्रण गर्नु अत्यन्तै उचित र ठोस कुरा हो—यो खोक्रो चित्रण होइन। तिनीहरूका एजेन्डा, महत्त्वाकाङ्क्षा, तिनीहरूका सारका प्रकटीकरण, र तिनीहरूका कार्यका लगातारका उद्देश्य हेरेर के देख्न सकिन्छ भने आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनु भनेको ख्रीष्टविरोधीहरूको एउटा विशेषतामूलक प्रकटीकरण नै हो। के कहिल्यै आफूलाई उच्च नपार्ने र आफूबारे गवाही नदिने त्यस्ता कुनै ख्रीष्टविरोधी हुन्छन् र? (हुँदैनन्।) किन हुँदैनन्? किनकि तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू अत्यन्तै विशाल हुन्छन्, र तिनीहरूले तिनलाई नियन्त्रण गर्न सक्दैनन्। तिनीहरू जुन समूहका मानिसहरूमाझ जिए पनि, यदि तिनीहरूलाई कसैले उच्च पारेन र आराधना गरेन भने, तिनीहरूलाई जीवनको कुनै मूल्य वा अर्थ छैन भन्ने लाग्छ, र त्यसकारण तिनीहरू आफ्नो उद्देश्य पूरा गर्नहेतु आफूलाई उच्च पार्न र आफूबारे गवाही दिन निकै तत्पर हुन्छन्। तिनीहरू अरूभन्दा श्रेष्ठ हुन जिउँछन्, र तिनीहरूलाई मानिसहरूको आराधना र पछ्याइको आवश्यकता हुन्छ, र ती मानिसहरू झर्कोलाग्ने, घिनलाग्ने झिँगा वा भिकारीहरूको झुन्डजस्तो भए पनि, तिनीहरूले त्यसको मतलब गर्दैनन्। तिनीहरूलाई आराधना गर्ने र पछ्याउने मानिसहरू हुन्जेल तिनीहरूले सहज नै महसुस गर्नेछन्। तिनीहरूले प्रख्यात गायकहरूले झैँ प्रशंसकहरूबाट जोडदार ताली पाउन सके, तिनीहरूको खुसीको कुनै सीमा हुनेछैन, तिनीहरू त्यसको आनन्द उठाउन मन पराउँछन्—यो ख्रीष्टविरोधीहरूको प्रकृति हो। ख्रीष्टविरोधीहरूलाई जे-जस्ता मानिसहरूले पछ्याए वा आराधना गरे पनि, तिनीहरूले उनीहरू सबैलाई मन पराउँछन्। ख्रीष्टविरोधीहरूलाई पछ्याउने मानिसहरू सबैभन्दा दयनीय र घिनलाग्दा भए पनि, उनीहरू पशू नै भए पनि, उनीहरूले तिनीहरूलाई उच्च पार्न र तिनीहरूको हैसियतका महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्न सकुन्जेल तिनीहरूले मतलब गर्दैनन्। त्यसोभए के ख्रीष्टविरोधीहरूले आफूलाई उच्च पार्न र आफूबारे गवाही दिन, र जहाँ गए नि आफ्नो प्रदर्शन गर्नबाट आफूलाई रोक्न सक्छन् त? (सक्दैनन्।) यो तिनीहरूको सार हो। मलाई भन त, परमेश्वरलाई साँच्चै पछ्याउनेहरू कस्ता मानिसहरू हुन्? मानवजातिमाझ परमेश्वरले चुन्न र मुक्ति दिन चाहनुहुने एकप्रकारका व्यक्ति हुन्छन्, र ती मानिसहरूमा न्यूनतम विवेक, समझ, र लाज हुन्छ। तीभन्दा अलि राम्राहरू सत्यता, सकारात्मक कुरा, र परमेश्वरको निष्पक्षता र धार्मिकतालाई प्रेम गर्न सक्षम हुन्छन्; तिनीहरू दुष्टतालाई घृणा गर्न सक्षम हुन्छन्, तिनीहरू अन्यायपूर्ण वा दुष्ट कुरा देख्दा क्रुद्ध हुन्छन्, र तिनीहरूले यी कुराबारे केही गर्न नसके पनि तिनलाई घृणा गर्छन्—कम्तीमा पनि ती परमेश्वरले चाहनुहुने मानिसहरू हुन्। यस्तो मानवता र सार नहुनेहरूलाई भने परमेश्वरले चाहनुहुन्न, चाहे तिनीहरूले परमेश्वरको असलताबारे वा परमेश्वर कति महान् हुनुहुन्छ भनेर जति नै कुरा किन नगरून्। उदाहरणको लागि, धार्मिक संसारका फरिसीहरूले तिनै पुराना खोक्रा सिद्धान्त र सतही शब्दहरू प्रयोग गरेर परमेश्वरलाई उच्च पार्छन् र परमेश्वरको गवाही दिन्छन्, र तिनीहरू दुई हजार वर्षपछि पनि त्यही कुरा दोहोर्याउन वाक्क मान्दैनन्। अहिले परमेश्वरले यति धेरै सत्यता व्यक्त गरिरहनुभएको छ, तर तिनीहरूले तिनलाई देख्न सक्दैनन्, र तिनलाई बेवास्ता गर्छन्, र कतिले त तिनलाई निन्दा र तीविरुद्ध ईशनिन्दासमेत गर्छन्। यसले तिनीहरूलाई पूर्ण रूपले प्रकाश गर्छ, र परमेश्वरले धेरै पहिले नै तिनीहरूलाई ढोँगी फरिसीका रूपमा चित्रण गर्नुभएको छ, र ती सबै शैतानको गिरोहका हिस्सा हुन्; परमेश्वरले तिनीहरूलाई पिशाच र शैतान, सुँगुर र कुकुर भनेर चित्रण गर्नुभएको छ। जब ख्रीष्टविरोधीहरू मानिसहरूको त्यस्तो समूहमा पुग्छन् र जब तिनीहरूले तीमध्ये धेरै कमले मात्र सत्यता बुझ्न सक्छन्, तीमध्ये कसैसँग पनि समझ वा प्रतिभा छैन भन्ने देख्छन्, तब तिनीहरू आफ्नो प्रदर्शन गर्ने यो मौकाको फाइदा उठाउन हतारिन्छन्। कतिले त तिनीहरू एकसाथ दुई विश्वस्तरीय विश्वविद्यालयमा भर्ना भएको, तर परमेश्वरमा विश्वास गर्न आएर उहाँको आज्ञा स्विकार्न पुगेपछि अन्ततः पढ्न नगएको भनेर धाक देखाउँछन्। तिनीहरूले यसो भनेको सुनेपछि कतिले तिनीहरूलाई निकै उच्च सम्मानसाथ हेर्न थाल्छन्। यदि तँ सत्यता बुझ्दैनस्, र यदि तैँले मन पराउने कुरा र तेरो विश्वदृष्टि ती सांसारिक मानिसहरूका जस्तै छन् भने, तैँले यस्ता मानिसहरूलाई आराधना गर्नेछस्, र त्यसैले ख्रीष्टविरोधीहरूले त्यस्ता कुरा गर्दा तँ तिनीहरूको बहकाउ र छलमा पर्नेछस्। ख्रीष्टविरोधीहरूले यसरी नै गोप्य रूपमा आफूलाई उच्च पार्छन्, र समझ नभएका ती मूर्ख मानिसहरू तिनीहरूको बहकाउमा पर्छन्। ख्रीष्टविरोधीहरू निकै खुसी हुन पुग्छन्, र आफूमुनिका कोही पनि सामान्य छैनन् भन्ने सोच्छन्, जबकि वास्तवमा ती मानिसहरू अलमल्ल परेका र कुनै काम नलाग्ने मानिसहरूका झुन्ड मात्र हुन्छन्। सत्यता बोध गर्ने क्षमता नभएकाहरू सबै शैतान र ख्रीष्टविरोधीहरूको बहकाउमा पर्न सक्छन्। शैतान र ख्रीष्टविरोधीहरूले बोलेको सुन्दा तिनीहरूले ती कुरा आफ्नै सोच र स्वादसँग मिलेको महसुस गर्छन्, र त्यसैले तिनीहरूलाई ती कुरा सुन्दा आनन्द आउँछ। तिनीहरू आफूले सुनेको कुरा मूल्याङ्कन गर्न सामान्य सोचाइ प्रयोग गर्न असक्षम हुन्छन्, न त तिनीहरूले आफूलाई ती कुरा खुट्ट्याउन मद्दत गर्न सत्यता बुझ्ने कुनै व्यक्ति नै भेट्टाउँछन्; आफूले सुनिरहेको कुरा उचित लागुन्जेल, तिनीहरू त्यो स्विकार्न इच्छुक हुन्छन्, र तिनीहरू थाहै नपाई बहकाउमा पर्छन्। सत्यता बोध गर्ने क्षमता र समझ भएकाहरूले ख्रीष्टविरोधीहरू बोलेको सुन्दा, तिनीहरूले ती मानिसहरूले अरूलाई बहकाउन खोजिरहेका छन् भनेर थाहा पाउँछन् र तिनीहरूलाई इन्कार गर्छन्। समझ नभएका ती अलमलिएका मानिसहरूले चाहिँ ख्रीष्टविरोधीहरूसँग ज्ञान, राम्रो क्षमता, र भावी सम्भाव्यता भएको विश्वास गर्छन्। तिनीहरूले विविध कुराहरूलाई यसरी नै हेर्छन्, र कुनै सतही घटनाले नै तिनीहरू बहकिन्छन्; तिनीहरूले सत्यता सिद्धान्त के हुन् भनेर जान्दैनन्, र तिनीहरू शैतानलाई पछ्याउनतिर लाग्छन्। के त्यस्ता मानिसहरूले आफ्नै मूर्खता र अज्ञानताको कारण आफ्नो विनाश निम्त्याउँदैनन् र? यो कुरा यस्तै हुन्छ। यदि तँसँग ख्रीष्टविरोधीहरूले आफूलाई बारम्बार उच्च पार्ने र आफूबारे गवाही दिने प्रकटीकरणहरूबारे, वा त्यसो गर्ने तिनीहरूका विभिन्न तरिकाहरूबारे समझ छ, र तैँले तिनीहरूका बोलीपछाडिका उद्देश्य र एजेन्डा ठम्याउन सक्छस् भने, तँलाई ख्रीष्टविरोधीहरूको सार छर्लङ्गै देख्न सजिलो हुनेछ, र त्यसपछि तैँले तत्कालै तिनीहरूलाई इन्कार्न र सराप्न, अनि तिनीहरूलाई फेरि कहिल्यै नभेट्न सक्नेछस्। तैँले किन यसो गर्नेछस्? किनकि ख्रीष्टविरोधीहरूले बोलेको र कार्य गरेको देख्दा, तैँले तिनीहरूलाई तिरस्कार र घृणा गर्नेछस्, र तँलाई झिँगाहरू देखेझैँ गरी तिनीहरूप्रति घिन लाग्नेछ र तिनीहरूलाई सक्दो चाँडो धपाउनुपर्ने हुन्छ। त्यसकारण, ख्रीष्टविरोधीहरूका कार्य र व्यवहारबारे समझ भएपछि, तैँले तत्कालै तिनीहरूको खुलासा गर्नुपर्छ, ताकि अरूले तिनीहरूलाई खुट्ट्याउन, र सिद्धान्तअनुसार मण्डलीबाट निष्कासित गर्न सकून्। के तिमीहरू यसो गर्ने आँट गर्छौ? यदि परमेश्वरका चुनिएका मानिसहरूले यसो गर्न सक्छन् भने, यसले तिनीहरूको कद बढेको छ, र तिनीहरू परमेश्वरका अभिप्राय ख्याल गर्न र परमेश्वरको घरको काम रक्षा गर्न सक्छन् भन्ने देखाउँछ। जब परमेश्वरका चुनिएका मानिसहरूले सत्यता बुझ्छन् र तिनीहरूसँग समझ हुन्छ, त्यसउप्रान्त ख्रीष्टविरोधीहरूले मण्डली वा परमेश्वरको घरमा खुट्टा टेक्ने ठाउँ पाउनेछैनन्।
ख्रीष्टविरोधीहरूले जुनसुकै अवसरमा पनि मौका मिले आफ्नो प्रदर्शन गर्छन् र आफूबारे गवाही दिन्छन्, र तिनीहरू आफूलाई पुज्ने र आफूलाई प्रशंसा, ईर्ष्या, र श्रद्धाको नजरले हेर्ने मानिसहरू भएसम्म खुसी नै रहन्छन्—तिनीहरू ती मानिसहरू को हुन् भन्नेबारे कुनै वास्ता गर्दैनन्। के तिनीहरूसित आफूलाई पछ्याउने, आराधना गर्ने, र आदरभावले हेर्ने मानिसहरूको लागि कुनै माग गरिएको मानक हुन्छ? (हुँदैन।) ती मानिसहरू मूर्ख, मानसिक रूपमा असक्षम, र दुष्ट मानिसहरू भए नि, वा अविश्वासीहरू भए नि, तिनीहरू जे-जस्ता खालका मानिसहरू भए नि, तिनीहरू निकालिनु र हटाइनुसमेत पर्ने मानिसहरू भए नि, जबसम्म ती मानिसहरूले ख्रीष्टविरोधीहरूलाई पछ्याउन, आराधना गर्न र उच्च पार्न सक्छन्, तबसम्म ती ख्रीष्टविरोधीहरूले तिनीहरूलाई स्विकार्छन्, तिनीहरूलाई निकै मन पराउँछन्, र तिनीहरूलाई आफ्नो पक्षमा ल्याउँछन् र तिनीहरूको सुरक्षा गर्छन्। ख्रीष्टविरोधीहरूले ती मानिसहरूलाई आफ्नो भेडा, आफ्नो व्यक्तिगत सम्पत्तिको रूपमा लिन्छन्, र अरू कसैलाई पनि तिनीहरूलाई सरुवा गर्न, खुलासा गर्न वा तह लाउन दिँदैनन्। ती मानिसहरूले ख्रीष्टविरोधीहरूको जे-जसरी चापलुसी गरेर कृपापात्र बने नि, तिनीहरूले जस्तोसुकै वाक्कलाग्दो र घिनलाग्दो कुरा गरे नि, ख्रीष्टविरोधीहरूले ती सबको आनन्द उठाउँछन्; ती मानिसहरूले ख्रीष्टविरोधीहरूको खुसामद गरुन्जेल तिनीहरूलाई त्यो सब ठीकै लाग्छ। ख्रीष्टविरोधीहरूले बोल्ने र गर्ने सबथोक आफूलाई मानिसहरूले उच्च सम्मान दिऊन्, मन पराऊन्, र पछ्याऊन् भनेर हुन्छ, अनि आफूलाई पछ्याउने मानिसहरूले जतिसुकै नराम्रा काम गरे नि, तिनीहरूले उनीहरूलाई अनुसन्धान गर्दैनन्, र उनीहरूको मानवता जति नै कपटी र दुर्भावपूर्ण भए नि त्यसको मतलब गर्दैनन्। जबसम्म आफूलाई ती मानिसहरूले पछ्याउँछन् र आराधना गर्छन्, तबसम्म ख्रीष्टविरोधीहरूले उनीहरूलाई मन पराउँछन्, र जबसम्म ती मानिसहरूले ख्रीष्टविरोधीहरूको शक्ति र हैसियत कायम राखिदिन सक्छन्, र तिनीहरूविरुद्ध जाने वा तिनीहरूको विरोध गर्ने गर्दैनन्, तबसम्म ख्रीष्टविरोधीहरूले औधी सन्तुष्ट महसुस गर्छन्—ख्रीष्टविरोधीहरू यस्तै हुन्छन्। तर त्यसको ठीक उल्टो रूपमा, सधैँ ख्रीष्टविरोधीहरूको खुलासा गर्ने र तिनीहरूलाई आफूलाई उच्च पार्न र आफूबारे गवाही दिनबाट रोक्ने, र त्यसो गरेकोमा तिनीहरूलाई तिरस्कार गर्ने, साथै तिनीहरूसँग सत्यता सङ्गति गर्ने, तिनीहरूको समस्याको सार छर्लङ्ग देख्ने र तिनीहरूबारे साँचो समझ भएका मानिसहरूलाई ख्रीष्टविरोधीहरूले कस्तो व्यवहार गर्छन्? तिनीहरू सरमले तुरुन्तै रिसाउँछन्, र ती मानिसहरूविरुद्ध सतर्क रहन्छन्, तिनीहरूलाई बहिष्कार र आक्रमण गर्छन्, अन्ततः तिनीहरूलाई खुट्ट्याउन र विरोध गर्न सक्नेहरूलाई एकल्याउने हरसम्भव माध्यमहरू प्रयोग गर्छन्। तिनीहरूले यसो गर्नुको कारण के हो? त्यो के हो भने, जब तिनीहरूले आफूलाई उच्च पारिरहेका र आफूबारे गवाही दिइरहेका हुन्छन्, तब तिनीहरूले ती मानिसहरू आँखाको कसिङ्गर र काँडा हुन्, र ती मानिसहरूले तिनीहरूलाई खुट्ट्याउनेछन् र इन्कार्नेछन्, र खुलासा गर्नेछन्, र तिनीहरूको राम्रो चलिरहेको कामकुरा बरबाद पार्नेछन् भनेर सोच्छन्। ती मानिसहरूमाथि आँखा पर्नेबित्तिकै ख्रीष्टविरोधीहरूको हृदयमा असहज महसुस हुन्छ र त्यसैले ख्रीष्टविरोधीहरू ती मानिसहरूलाई तह लाउने हो भने, तिनीहरूले फेरि आफूलाई उच्च पार्दा र आफूबारे गवाही दिँदा, तिनीहरूलाई खुलासा वा रोकटोक गर्ने कोही हुनेछैनन्, र तिनीहरूले अनियन्त्रित रूपले दुष्टता गर्न सक्नेछन् भन्ने सोच्दै, सधैँ ती मानिसहरूलाई तह लाउन चाहन्छन्। ख्रीष्टविरोधीहरूले कार्य गर्ने सिद्धान्त यही हो। आफूलाई जे-जस्ता मानिसहरूले खुसामद, प्रशंसा वा उच्च पार्ने गरे नि, र ती मानिसहरूले बोल्ने कुरा तथ्यअनुरूप भए नि नभए नि, र उनीहरूले झूट बोलिरहेका भए नि, ख्रीष्टविरोधीहरू उनीहरूलाई स्विकार्न इच्छुक हुन्छन्, उनीहरूलाई सुनेर आनन्द मान्छन्, र उनीहरूलाई हृदयको गहिराइदेखि नै मन पराउँछन्। तिनीहरूले ती मानिसहरूमा जे-जस्तो समस्या भए नि त्यसको ख्याल गर्दैनन्, र ती मानिसहरूमा समस्या रहेको पत्तो पाए नि तिनलाई ढाकछोप गर्छन्, लुकाउँछन्, र तीबारे एक शब्द बोल्दैनन्। जबसम्म आफ्नो आसपास ती मानिसहरू रहन्छन् र जबसम्म उनीहरूले आफूलाई पछ्याउँछन् र खुसामद गर्छन्, तबसम्म ख्रीष्टविरोधीहरूले त्यसको आनन्द उठाउँछन्। ख्रीष्टविरोधीहरूले यसरी नै काम गर्छन्। के तिमीहरू ख्रीष्टविरोधीहरूले गर्ने ती कुरा गर्न सक्छौ? उदाहरणको लागि, मानौँ रे, तिमीहरू मण्डलीका अगुवा र कामदारहरू हौ, परमेश्वरका चुनिएका जनमाझ हैसियत र प्रतिष्ठा भएका मानिसहरू हौ। यदि ब्रदर-सिस्टरहरूले तँलाई उच्च सम्मान गरे, खुसामद गरे, चापलुसी गरे, र तँलाई तैँले राम्रो प्रवचन दिन्छस्, तँ सुन्दर छस् र तिनीहरूको लागि तँ सबैभन्दा राम्रो अगुवा होस् भन्दै निरन्तर प्रशंसा गरे भने, तैँले कस्तो महसुस गर्नेछस्? के तैँले तिनीहरूका शब्दपछाडिका मनसाय खुट्ट्याउन सक्नेछस्? के तैँले त्यस्ता मानिसहरूलाई इन्कार्न र तिनीहरूबाट टाढा रहन सक्नेछस्? यदि सक्नेछैनस् भने, तँ खतरामा छस्। तँलाई तँ त्यति सुन्दर छैनस्, तँ सत्यता वास्तविकताबारे सङ्गति गर्न सक्दैनस् भनेर स्पष्टसँग थाहा छ, तैपनि मानिसहरूले तँलाई यसरी खुसामद गर्दा तँ खुसी हुन्छस्, र सधैँ त्यस्ता मानिसहरूको नजिक जान र तिनीहरूको बढुवा गर्न चाहन्छस् भने, के त्यसको अर्थ तँ खतरामा छस् भन्ने हुँदैन र? यसको अर्थ तँ खतरामा छस् भन्ने नै हो।
जब अगुवा र कामदारहरूले काम गरिरहेका हुन्छन्, तिनीहरूले कहिलेकाहीँ पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति पाउँछन्, तिनीहरूले केही साँचो अनुभवहरूबारे कुरा गर्न सक्छन्, र स्वाभाविक रूपमै तिनीहरूले मानिसहरूलाई तिनीहरूको उच्च सम्मान र आराधना गर्ने तुल्याउँछन्, र स्वाभाविक रूपमै तिनीहरूले मानिसहरूलाई छायाँजसरी तिनीहरूलाई पछ्याउने तुल्याउँछन्—यस्ता समयमा तिनीहरूले यी कुरालाई कसरी लिनुपर्छ? सबैका आ-आफ्नै झुकावहरू हुन्छन्, सबैजना घमन्डी हुन्छन्; यदि तिनीहरूले कसैले तिनीहरूबारे अनुमोदन र खुसामदले भरिएका कुरा गरेको सुने भने, तिनीहरूले त्यसको निकै आनन्द उठाउँछन्। यस्तो महसुस गर्नु सामान्य कुरा हो र यो ठूलो कुरा होइन। तर यदि तिनीहरूले तिनीहरूमाथि प्रशंसाको वर्षा गर्न, र तिनीहरूको खुसामद गर्न सक्ने कुनै मान्छेलाई बढुवा गरे, र कुनै महत्त्वपूर्ण काममा खटाए भने, त्योचाहिँ खतरनाक हुन्छ। किनभने अरूको खुसामद गर्ने र प्रशंसाको वर्षा गर्ने मानिसहरू अत्यन्तै धूर्त र छली हुन्छन्, र तिनीहरू इमानदार वा सत्यनिष्ठ हुँदैनन्। त्यस्ता मानिसहरूले हैसियत पाउनेबित्तिकै तिनीहरू परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेश वा मण्डलीको कामको लागि लाभदायी हुँदैनन्। ती मानिसहरू धूर्त हुन्छन् र काम बिगार्नमा सबैभन्दा सक्षम हुन्छन्। तुलनात्मक रूपमा सीधा मानिसहरूले कहिल्यै अरूमाथि प्रशंसाको वर्षा गर्दैनन्। यदि तिनीहरूले तँलाई हृदयमा अनुमोदन गरे भने पनि त्यो कुरा ठूलो स्वरले भन्दैनन्, बरु तिनीहरूले तँमा कमीकमजोरी रहेको वा तैँले केही गलत गरेको पत्ता लगाए भने, तँलाई त्यो कुरा औँल्याइदिन्छन्। तर कतिपय मानिसहरूले सीधा मानिसहरूलाई मन पराउँदैनन्, र त्यसैले जब कसैले तिनीहरूका कमीकमजोरी औँल्याउँछन् वा तिनीहरूलाई गाली गर्छन्, तब तिनीहरूले त्यो व्यक्तिलाई दमन र बहिष्कार गर्छन्, र उसका त्रुटि र कमीकमजोरीहरूको फाइदा उठाउँदै, उसलाई निरन्तर मूल्याङ्कन र निन्दा गर्छन्। यसो गरेर, के तिनीहरूले असल मानिसहरूलाई दमन र हानि गरिरहेका हुँदैनन् र? परमेश्वरले यस्ता कुरा गर्नुलाई र यस्ता असल मानिसहरूलाई सताउनुलाई सबैभन्दा धेरै घृणा गर्नुहुन्छ। असल मानिसहरूलाई सताउनु भनेको खलनायकी काम हो! अनि यदि कसैले धेरै असल मानिसहरूलाई सताउँछ भने, ऊ दियाबलस हो। अगुवा र कामदारहरूले सबैलाई न्यायोचित रूपमा र प्रेमपूर्वक व्यवहार गर्नुपर्छ, र तिनीहरूले सिद्धान्तअनुसार मामिलाहरू सम्हाल्नुपर्छ। विशेषगरी जब मानिसहरूले तेरो खुसामद र चापलुसी गर्छन्, र तेरो वरिपरि घुम्छन्, तब तैँले तिनीहरूलाई सही ढङ्गले व्यवहार गर्नुपर्छ, प्रेमपूर्वक सहयोग गर्नुपर्छ, र तिनीहरूलाई गैरविश्वासीहरूले गर्नेजस्तो मानिसहरूको खुसामद गर्नमा नभई आफ्नो उचित काम गर्नमा लगाउनुपर्छ; आफ्नो अडान र दृष्टिकोण स्पष्टसँग राख्, तिनीहरूलाई अपमानित र लज्जित महसुस गरा ताकि तिनीहरूले फेरि कहिल्यै त्यस्तो नगरून्। यदि तँ सिद्धान्तहरू पालना गर्न र मानिसहरूलाई उचित व्यवहार गर्न सक्छस् भने, के यी शैतानको प्रकारका घृणित जोकरहरूले लज्जित महसुस गर्नेछैनन्? यसले शैतानलाई लज्जित महसुस गराउनेछ, र परमेश्वरलाई सन्तुष्ट तुल्याउनेछ। अरूको खुसामद गर्न मन पराउने मानिसहरूले अगुवा र कामदारहरू सबैले आफ्नो खुसामद गर्ने मानिसहरूलाई प्रेम गर्छन्, र जब कसैले तिनीहरूको खुसामद वा चापलुसी गर्ने कुनै कुरा बोल्छ, तब तिनीहरूको अभिमान र हैसियतको चाहना तृप्त हुन्छ भन्ठान्छन्। सत्यतालाई प्रेम गर्ने मानिसहरूले यसलाई कत्ति पनि मन पराउँदैनन्, र तिनीहरूले यसलाई अत्यन्तै घृणा गर्छन् र घिनाउँछन्। झूटा अगुवाहरूले मात्र आफ्नो खुसामद गरेको मन पराउँछन्। परमेश्वरको घरले तिनीहरूलाई सराहना र प्रशंसा नगर्न सक्छ, तर यदि परमेश्वरका चुनिएका जनले तिनीहरूलाई सराहना र प्रशंसा गरे भने, तिनीहरू सन्तुष्ट हुन्छन् र त्यसको निकै आनन्द उठाउँछन्, र अन्ततः त्यसबाट केही सान्त्वना प्राप्त गर्छन्। ख्रीष्टविरोधीहरूले त आफ्नो खुसामद गरेकोबाट झनै धेरै आनन्द लिन्छन्, र तिनीहरूलाई सबैभन्दा धेरै आनन्द आउने कुरा भनेकै त्यस्ता मानिसहरू तिनीहरूको नजिक आउनु र तिनीहरूको वरिपरि घुम्नु हो। के यो समस्याजनक कुरा होइन र? ख्रीष्टविरोधीहरू यस्तै हुन्छन्; तिनीहरू मानिसहरूले आफ्नो प्रशंसा र सराहना गरेको, आराधना गरेको र पछ्याएको मन पराउँछन्, जबकि सत्यतालाई पछ्याउने तुलनात्मक रूपमा सीधा मानिसहरूले यी कुनै कुरा पनि मन पराउँदैनन्। तँ आफूसँग सत्य बोल्न सक्ने मानिसहरूको नजिक हुनुपर्छ; आफ्नो आसपास यस्ता मानिस हुनु तेरो लागि निकै फाइदाजनक हुन्छ। विशेषगरी, तँमा कुनै समस्या पत्ता लगाएपछि तँलाई गाली र खुलासा गर्ने आँट भएका असल मानिसहरू तेरो वरिपरि हुँदाखेरि, त्यसले तँलाई बाटो बिराउनबाट रोक्न सक्छ। तिनीहरूले तेरो हैसियत के हो भनेर वास्ता गर्दैनन्, र तिनीहरूले तैँले सत्यता सिद्धान्तविरुद्ध केही गरेको पत्ता लगाउनेबित्तिकै, आवश्यक परे तँलाई गाली र खुलासा गर्नेछन्। त्यस्ता मानिसहरू मात्र सीधा, र इन्साफको बोध भएका मानिसहरू हुन्, र तिनीहरूले तँलाई जसरी खुलासा वा गाली गरे नि यो सबले तेरो मद्दत गर्छ, र यो सब तेरो सुपरिवेक्षण गर्न र तँलाई अघि ठेल्नको लागि हो। तैँले त्यस्ता मानिसहरूको छेउ जानुपर्छ; तेरो छेउ त्यस्ता मानिसहरू हुनु, र तिनीहरूले तँलाई मद्दत गर्नुले तँलाई तुलनात्मक रूपमा सुरक्षित बनाउँछ—परमेश्वरको सुरक्षा हुनु भनेको यही हो। सत्यता बुझ्ने र सिद्धान्तहरू पालना गर्ने मानिसहरूले तेरो साथ रही तँलाई सुपरिवेक्षण गर्नु तैँले तेरो कर्तव्य राम्ररी निर्वाह गर्न र काम गर्नको लागि निकै फाइदाजनक हुन्छ। तैँले तेरो खुसामद र चापलुसी गर्ने ती धूर्त, छली मानिसहरूलाई आफ्नो सहायक कदापि बनाउनु हुँदैन; त्यस्ता मानिसहरू तँसँग टाँस्सिनु भनेको तँमाथि गन्हाउने झिँगा भन्किनुजस्तै हो, तँ धेरै ब्याक्टेरिया र भाइरसको सम्पर्कमा आउनेछस्! त्यस्ता मानिसहरूले तँलाई अवरोध गर्ने र तेरो काममा असर पार्ने सम्भावना हुन्छ, तिनीहरूले तँलाई परीक्षामा फसाउने र बाटो बिराउने तुल्याउन सक्छन्, र तिनीहरूले तँमाथि विपत्ति र प्रकोप निम्त्याउन सक्छन्। तँ तिनीहरूदेखि टाढै रहनुपर्छ, र जति टाढा भयो त्यति नै राम्रो, र यदि तैँले तिनीहरूमा अविश्वासीहरूको सार छ भनेर खुट्ट्याउन सकिस् र तिनीहरूलाई मण्डलीबाट निकाल्न सकिस् भने त झनै राम्रो। जब सत्यता पछ्याउने सीधा व्यक्तिले तँमा कुनै समस्या देख्छ, तब तेरो हैसियत जे भए नि, तैँले ऊसँग जस्तो व्यवहार गरे नि, र उसलाई बर्खास्त नै गरे नि, उसले तँलाई सत्य बताउनेछ। उसले कहिल्यै त्यसलाई ढाकछोप वा टालटुल गर्नेछैन। तेरो वरिपरि यस्ता अझ धेरै मानिसहरू हुनु निकै फाइदाजनक कुरा हो! जब तैँले सिद्धान्तविपरीत हुने कुनै काम गर्छस्, तब तिनीहरूले तेरो खुलासा गर्नेछन्, तेरा समस्याबारे रायहरू व्यक्त गर्नेछन्, र स्पष्ट र इमानदार रूपमा तेरा समस्या र त्रुटिहरू औँल्याउनेछन्; तिनीहरूले तँलाई आफ्नो इज्जत जोगाउन मद्दत गर्नेछैनन्, र तँलाई धेरै मानिसहरूसामु लाजबाट बच्ने मौकासमेत दिनेछैनन्। तैँले यस्ता मानिसहरूसँग कस्तो व्यवहार गर्नुपर्छ? तैँले तिनीहरूलाई सास्ती दिनुपर्छ कि तिनीहरूको नजिक जानुपर्छ? (तिनीहरूको नजिक जानुपर्छ।) सही हो। तैँले आफ्नो हृदय खोल्नुपर्छ र तिनीहरूसँग यसो भन्दै सङ्गति गर्नुपर्छ, “तिमीले ममा रहेको समस्या औँल्याएको सही थियो। त्यतिबेला म आडम्बर र हैसियतका सोचहरूले भरिएको थिएँ। मलाई लाग्यो, म यत्तिका वर्षदेखि अगुवा रहिआएको छु, तैपनि तिमीले मलाई आफ्नो इज्जत जोगाउन मद्दत नगरेको मात्र होइन, बरु उल्टै धेरै मानिसहरूसामु मेरा समस्याहरू औँल्याई पनि दियौ, त्यसैले मैले त्यो कुरा स्विकार्न सकिनँ। तर अहिले मलाई थाहा भएको छ, मैले गरेको कुरा सिद्धान्तहरू र सत्यतासँग साँच्चै मेल खाँदैनथियो, र मैले त्यसो गर्नु हुन्नथ्यो। अगुवा पद पाउनुको मतलब के हो? के यो बस मेरो कर्तव्य होइन र? हामी सबैले आफ्नो कर्तव्य निर्वाह गरिरहेका छौँ र हैसियतमा हामी सबै बराबर छौँ। फरक के मात्र हो भने, मैले अलि धेरै जिम्मेवारी वहन गरेको छु, कुरा त्यति त हो। यदि तिमीले भविष्यमा कुनै समस्या पत्ता लगायौ भने, तिमीले जे भन्नुपर्ने हो त्यो भने हुन्छ, र हामीहरूबीच कुनै व्यक्तिगत द्वेष हुनेछैन। सत्यताप्रतिको हाम्रो बोधमा हामीहरूबीच कुनै भिन्नता भयो भने, हामीले सँगसँगै सङ्गति गर्न सक्छौँ। परमेश्वरको घरमा, अनि परमेश्वर र सत्यतासामु हामी अलग होइन एकजुट हुनेछौँ।” यो सत्यता अभ्यास गर्ने र त्यसलाई प्रेम गर्ने मनोवृत्ति हो। यदि तैँले ख्रीष्टविरोधी मार्गबाट टाढा रहने इच्छा गर्छस् भने, तैँले के गर्नुपर्छ? तैँले सत्यतालाई प्रेम गर्ने, सीधा मानिसहरूको नजिक जान अग्रसरता लिनुपर्छ, र तेरा समस्याहरू औँल्याउन सक्ने, सत्य बोल्न सक्ने र तेरा समस्याहरू पत्ता लगाउँदा तँलाई गाली गर्न सक्ने, र विशेषगरी तेरा समस्याहरू पत्ता लगाउँदा तँलाई काटछाँट गर्न सक्ने मानिसहरूको नजिक जानुपर्छ—तेरो लागि सबैभन्दा फाइदाजनक व्यक्ति तिनै हुन्, र तैँले तिनीहरूको कदर गर्नुपर्छ। यदि तैँले त्यस्ता असल मानिसहरूलाई बहिष्कार गर्छस् र निकाल्छस् भने, तैँले परमेश्वरको सुरक्षा गुमाउनेछस्, र तँमाथि बिस्तारै विपत्ति आइपर्नेछ। असल र सत्यता बुझ्ने मानिसहरूको नजिक आउँदा, तैँले शान्ति र खुसी पाउनेछस्, र विपत्तिलाई आफूभन्दा टाढा राख्न सक्नेछस्; नीच, निर्लज्ज, र तेरो खुसामद गर्ने मानिसहरूको नजिक गइस् भने, तँ खतरामा पर्नेछस्। तँ सजिलै धोका र छलमा पर्ने मात्र होइन, तँमाथि कुनै पनि समय विपत्ति आइपर्नसमेत सक्नेछ। तँलाई कस्तो खालको व्यक्तिले फाइदा पुर्याउँछ भनेर तैँले जान्नैपर्छ—तैँले केही गलत गर्दा, वा आफूलाई उच्च पार्दा र आफूबारे गवाही दिँदा र अरूलाई बहकाउँदा, तँलाई खबरदारी गर्ने मानिसहरूले नै तँलाई सबैभन्दा बढी फाइदा पुर्याउन सक्छन्। त्यस्ता मानिसहरूको नजिक जानु नै लिनुपर्ने सही मार्ग हो। के तिमीहरू यसो गर्न सक्षम छौ? यदि कसैले तेरो प्रतिष्ठामा आँच पुर्याउने कुनै कुरा बोल्छ र तँ आफ्नो बाँकी जीवन ऊदेखि रिसाउँदै “तैँले किन मेरो खुलासा गरिस्? मैले तँलाई कहिल्यै नराम्रो व्यवहार गरेको छैन। तैँले किन सधैँ मेरो लागि कामकुरा कठिन बनाउँछस्?” भनेर भन्छस् र आफ्नो हृदयमा द्वेष पाल्छस्, र एउटा दरार उत्पन्न हुन्छ, र तँ सधैँ “म अगुवा हुँ, मसँग यो पहिचान र हैसियत छ, र म तँलाई त्यसरी बोल्ने अनुमति दिनेछैन” भनेर सोचिबस्छस् भने, यो कस्तो प्रकटीकरण हो? यो सत्यता नस्विकार्नु र आफूलाई अरूविरुद्ध खडा गर्नु हो; यो समझप्रतिको बहिरोपन हो। के तेरो यो हैसियतको सोचले समस्या खडा गरिरहेको छैन र? यसले तेरा भ्रष्ट स्वभावहरू अत्यन्तै गम्भीर छन् भनेर देखाउँछ। सधैँ हैसियतका सोच पाल्नेहरू गम्भीर ख्रीष्टविरोधी स्वभाव भएका मानिसहरू हुन्। यदि तिनीहरूले पनि दुष्टता गरे भने, तिनीहरूलाई एकदमै तुरुन्तै प्रकाश गरिनेछ र हटाइनेछ। मानिसहरूले सत्यता इन्कार्नु र नस्विकार्नु अत्यन्तै खतरनाक कुरा हो! सधैँ हैसियतका लागि होड गर्ने चाहना राख्नु र हैसियतका फाइदाहरूमा लिप्त हुन चाहनु खतराका सङ्केतहरू हुन्। जब व्यक्तिको हृदय सधैँ हैसियतद्वारा बाँधिएको हुन्छ, तब के उसले अझै पनि सत्यता अभ्यास गर्न र सिद्धान्तअनुसार कामकुरा सम्हाल्न सक्छ र? यदि व्यक्तिले सत्यता अभ्यास गर्न सक्दैन र सधैँ ख्याति, लाभ, र हैसियतको खातिर कार्य गर्छ, र काम गर्नको लागि सधैँ आफ्नो शक्ति प्रयोग गर्छ भने, के ऊ आफ्नो साँचो रङ्ग देखाइरहेको प्रस्ट ख्रीष्टविरोधी होइन र?
आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिनेजस्ता प्रकटीकरणहरू ख्रीष्टविरोधीहरूका सबैभन्दा आम प्रकटीकरणहरू हुन्। चाहे दैनिक जीवनमा होस् वा तिनीहरूले अरूसँग अन्तरक्रिया गर्ने र कामकुरा सम्हाल्ने तरिकामा होस्, वा मण्डली जीवनमा नै किन नहोस्, यी प्रकटीकरणहरू सधैँ देख्न सकिन्छ, किनभने यी प्रकटीकरणहरू भ्रष्ट स्वभावहरूका प्रकटीकरणहरू हुन्। उदाहारणको लागि, व्यक्तिले आफ्नो कर्तव्यलाई कसरी लिन्छ, अरूलाई कस्तो व्यवहार गर्छ, र अरूलाई कसरी खुट्ट्याउँछ भन्ने कुराहरूसँग सम्बन्धित सत्यताहरूमाथि हामीले सङ्गति गरिसकेका छौँ। के तिमीहरूले आफ्नो सामान्य जीवनमा यी कुराहरूका ठोस प्रकटीकरणहरू चिनेका छौ, तर तिनलाई समस्याको रूपमा अनुभूत गर्नचाहिँ नसकेका हौ? कि तिमीहरू यी खास समस्याहरूमा आधारित भएर प्रवेश गर्न लागिपरेकै छैनौ? यदि तिमीहरू स्वभावहरूबाट सुरु गर्दैनौ, वा कहिलेकाहीँ यी प्रकटीकरणहरू प्रदर्शन गर्छौ तैपनि ती स्वभावगत समस्या हुन् कि होइनन् भनेर जान्दैनौ, र त्यसैले तिनलाई बेवास्ता गर्छौ भने, तिमीहरू स्वभावगत परिवर्तन हासिल गर्नदेखि धेरै टाढा छौ। यदि तैँले यी प्रकटीकरणहरू आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनु हो भनेर बुझ्न सक्दैनस् भने, यदि तैँले यी प्रकटीकरणहरू तेरो भ्रष्ट स्वभावद्वारा सञ्चालित छन् भनेर जान्दैनस्, र तिनलाई एकप्रकारको व्यक्तित्व विशेषता वा काम गर्ने जन्मजात तरिका वा संज्ञानका रूपमा लिन्छस्, र तिनलाई कम आँक्छस्, र तिनलाई आफ्नो भ्रष्ट स्वभाव र भ्रष्ट सारका प्रकटीकरणहरूको रूपमा लिँदैनस् भने, तँलाई सम्बन्धित भ्रष्ट स्वभाव बदल्न गाह्रो हुनेछ। त्यो कुरा, जसलाई मानिसहरूले स्वभावहरूसँग सम्बन्धित छ भनेर जान्न सक्छन्, चाहे त्यो काम गर्ने तरिका होस् वा तिनीहरूको स्थिति होस्, चाहे त्यो बाहिरी व्यवहार होस् वा तिनीहरूको बोली र वचन होस्, चाहे त्यो तिनीहरूको सोच वा दृष्टिकोण होस् वा निश्चित मामिलाबारे तिनीहरूको बुझाइ होस्, जबसम्म त्यो स्वभाव सारसँग सम्बन्धित हुन्छ, तिनीहरूले त्यसलाई सधैँ मान्छेको प्रकृति सारको मूर्तरूप वा प्रकटीकरणको रूपमा लिनुपर्छ, र यसरी के तिनीहरूको बुझाइ फराकिलो हुनेछैन र? तिनीहरूले ठूला कुराहरू, जस्तै व्यक्तिले परमेश्वरको प्रतिरोध गर्छ, सत्यतालाई प्रेम गर्दैन, ऊ हैसियतको भोको हुन्छ, वा व्यक्तिले आफूले बोल्ने कुराद्वारा मानिसहरूलाई बहकाउँछ भन्नेजस्ता कुराहरू मात्र नभई, कुनै खास विचार र मनसायजस्ता साना कुरादेखि तर्क वा अभिव्यक्तिजस्ता ठूला कुराहरूसम्मका सबथोक बुझ्नुपर्छ। मैले भर्खरै कुल छ वटा कुराहरू उल्लेख गरेँ, जसमा कुनै निश्चित मामिलासम्बन्धी व्यक्तिका सोच र विचारहरू, साथै बुझाइ पनि थिए। सोच र विचारहरू भनेका व्यक्तिका चेतना र विचारमा रहने कुरा हुन्; बुझाइचाहिँ पहिचान गरिसकिएको कुरा हो, जसबारे ठोस शब्द र अभिव्यक्तिहरू निर्माण गर्न सकिन्छ; र त्यसपछि व्यवहार र बोली छन्। कुल चार कुराहरू छन्। अनि अभिव्यक्ति र तर्कहरू पनि छन्। अभिव्यक्ति र तर्कहरू केका विपरीत हुन्छन्? (मनसाय र विचारहरूका।) विचारहरू दिमागमा अचेतन रूपमै उत्पन्न हुने अस्पष्ट कुराहरू हुन्। तिनलाई सही वा गलत भनेर परिभाषित गरिसकिएको हुँदैन, तैँले तिनलाई केवल सोच्छस्, र तिनले तँभित्र मूर्तरूप लिइसकेका हुँदैनन्, जबकि बोलिएका तर्कहरू निर्मित भइसकेका हुन्छन्। कुल तीन वटा समूह र छ वटा कुराहरू छन्। यी छ कुराहरूलाई आफ्ना भ्रष्ट स्वभावहरूको सार चिरफार गर्ने र स्वभावगत परिवर्तन हासिल गर्ने मार्गका रूपमा लेओ, अबदेखि यी छ कुरामार्फत आफ्ना भ्रष्ट स्वभाव र भ्रष्ट सार जान्न लागिपर, अनि यसरी अन्ततः तिमीहरूले आफूलाई साँचो रूपमा जान्न पुग्नेछौ।
के तिमीहरूलाई आजको सङ्गति सुनेपछि आफूले सुनेका कुराहरू पचाउन केही समय आवश्यक पर्छ? के तिमीहरू भेला भएको बेला यो जगको आधारमा केही ज्योति सङ्गति गर्न वा आफ्नो तुलना गर्न सक्छौ? यो सबैभन्दा महत्त्वपूर्ण, र तिमीहरूको लागि सबैभन्दा फाइदाजनक कुरा हो। जब तिमीहरू सँगसँगै भेला हुन्छौ, तब तिमीहरूले सङ्गति गर्नुपर्छ, विचारहरू आदानप्रदान गर्नुपर्छ, र आफ्ना अनुभव र अनुभूतिहरूबारे छलफल गर्नुपर्छ—यो नै सबैभन्दा प्रभावकारी हुन्छ। हामीले पहिले जहिल्यै “चिन्तन” भन्ने शब्द प्रयोग गर्यौँ; बोलीचालीको भाषामा हामी “उगेरो चपाउनु” भन्छौँ। यसको अर्थ अझ बढी पढ्नु, अझ बढी प्रार्थनार्थ पढ्नु, अझ बढी सोच्नु, र अझ बढी खोजी गर्नु, र आफूले त्यसबेला बुझेका, साथै नबुझेका र धर्मसिद्धान्त ठानेका कुरा, महत्त्वपूर्ण कुरा, सबैले गलत बुझेका कुरा, र आफूले बोध नगरेका कुराहरूलाई लिनु, अनि सङ्गतिमा ती सबै कुराहरूमा केन्द्रित हुनु—“उगेरो चपाउनु” भनेको यही हो। यो तरिकामार्फत, यी सत्यताहरूका विवरण, सत्यताहरूबीचका विभिन्न भिन्नता, र हरेक सत्यताका परिभाषाहरूसम्बन्धी तिमीहरूको बुझाइ झन्झन् स्पष्ट र सटिक बन्दै जान्छ। तिमीहरूले हालैका वर्षहरूमा बुझेका र अभ्यास गरेका विभिन्न सत्यताहरू पहिलेभन्दा अझ अस्पष्ट भएजस्तो लाग्छ कि स्पष्ट? (अझ स्पष्ट।) अनि यी वर्षहरूमा के परमेश्वरमाथिको विश्वासको तिमीहरूको मार्ग, आफूलाई आचरणमा ढाल्ने तिमीहरूको दिशा, र तिमीहरूले आफ्नो कर्तव्य निर्वाह गर्नुपछाडिका मनसाय, उत्प्रेरणा, र प्रेरक-शक्तिमा कुनै ठूलो परिवर्तन आएको छ? (परमेश्वरको केही ताडना र अनुशासन भोगेपछि, अनि परमेश्वरका वचनहरू खानपिन गरेपछि, मलाई केही परिवर्तन आएजस्तो लाग्छ।) परिवर्तन आएको कुरा सही हो, र हुनुपर्ने कुरा पनि त्यही नै हो। कति मानिसहरू त सुरुदेखि नै उदासीन रहिआएका छन् र त्यति धेरै प्रवचनहरू सुनेर पनि तिनीहरू अलिकति पनि परिवर्तन भएका छैनन्। तिनीहरू हृदयको अन्तस्करणमा उत्प्रेरित भएका छैनन्, अर्थात् तिनीहरू हिँडिरहेको दिशा कुनै पनि भेला वा सङ्गतिले परिवर्तन गर्न सक्दैन—तिनीहरू अति चेतनाशून्य र मन्दबुद्धिका छन्! मुक्ति पाउने मार्ग अब झन्झन् स्पष्ट हुँदै गएको हुनुपर्छ, र अनुभव बटुलेकाहरूले परमेश्वरले मान्छेलाई मुक्ति दिने तरिका र उहाँले त्यसो गर्नुको उद्देश्य स्पष्ट र प्रस्ट रूपमा देख्न सक्छन्। यदि यतिका वर्षसम्म परमेश्वरमा विश्वास गरेर पनि, तैँले परमेश्वरले कसरी मानिसहरूलाई मुक्ति दिनुहुन्छ र कसरी तिनीहरूबाट भ्रष्टता पखाल्नुहुन्छ भनेर जान्दैनस् भने, त्यसले तँमा अलिकति पनि सत्यताको बुझाइ र परमेश्वरको कामको बोध छैन भन्ने देखाउँछ। के त्यस्ता सबै मानिसहरू आफ्नो आस्थामा दिग्भ्रमित छैनन् र?
मार्च २०, २०१९
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।