विषयवस्तु चार: तिनीहरू आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन् (खण्ड एक)

पूरक: मुसाको सिकार

भर्खरै, मैले एउटा नयाँ मामलाका बारेमा सुनेँ। यो मानिसहरूको व्यवहार र स्वभावसँग कसरी सम्बन्धित छ, यो कथा केका बारेमा हो, र यसले कस्तो प्रकारको समस्यालाई चित्रण गर्दछ भन्‍ने कुरा सुन्‍नुहोस् र सोच्‍नुहोस्। जब केही चिनियाँ मानिसहरू अमेरिका आए, तिनीहरूले यहाँको सामाजिक वातावरण र परिवेश चीनको भन्दा धेरै फरक भएको देखे, योबाहेक तिनीहरूलाई एउटा अर्को कुरा पनि निकै चाखलाग्दो लाग्यो। त्यो के थियो भने, यो देशमा मानिसहरू स्वतन्त्र मात्र थिएनन्, तर सबै प्रकारका जीवित प्राणी र जनावरहरू पनि धेरै स्वतन्त्र थिए, अनि कसैले पनि तिनीहरूलाई हानि गरिरहेको थिएन। मानव स्वतन्त्रता निस्सन्देह सामाजिक प्रणालीहरूको उपज हो, त्यसैले सबै प्रकारका जीवित प्राणी र जनावरहरूका लागि के कुराले स्वतन्त्रता ल्याउँछ? के यो सामाजिक प्रणालीहरूसँग सम्बन्धित छ? (छ।) यो सामाजिक प्रणाली र सरकारी नीतिहरूले कसरी सम्पूर्ण प्राकृतिक वातावरणको सुरक्षा र व्यवस्थापन गर्छ भन्‍ने कुरासँग सम्बन्धित छ। यहाँ, जङ्गली जनावरहरू जताततै हुन्छन् र तिनलाई सबैतिर देख्‍न सकिन्छ। उदाहरणका लागि, राजमार्गको छेउको घाँसे मैदानमा घाँस खाँदै गरेका जङ्गली राजहाँस देख्‍न सकिन्छ, र केही पार्क, घाँसे मैदान र जङ्गलहरूमा कसैले केही हरिण, भालु, वा ब्वाँसाका साथै टर्की, मुनाल, र विभिन्न प्रकारका चरा र अन्य जङ्गली जनावरहरू देख्‍न सक्छ। जब मानिसहरूले यस्तो दृश्य देख्छन्, तिनीहरूमा पर्ने पहिलो प्रभाव के हुन्छ? (तिनीहरूलाई लाग्छ कि तिनीहरूले प्रकृति देखेका छन्।) अनि प्रकृति देख्दा तिनीहरूलाई कस्तो अनुभूति हुन्छ? के तिनीहरूले यसो भन्‍नेछैनन्: “हेर त तिनीहरूको यो देश। मान्छे मात्र होइन, यहाँका जनावरहरू पनि स्वतन्त्र छन्। यस ठाउँमा जनावरका रूपमा पुनर्जन्म लिनु चीनमा मानिस भएर बाँच्‍नुभन्दा राम्रो हुन्‍छ, किनभने यहाँ जनावरहरू पनि स्वतन्त्र छन्, र कसैले पनि तिनीहरूलाई दुर्व्यवहार गर्दैन”? के तिनीहरूमा त्यस्ता भावनाहरू हुँदैनन्? (हुन्छन्।) यहाँ लामो समयदेखि बसेकाहरूका लागि यी कुराहरू सामान्य हुन्छन्, र बिल्कुलै असामान्य हुँदैनन्; तिनीहरूलाई यी कुराहरू धेरै सामान्य छन् भन्ने लाग्छ। तर यस प्रकारको वातावरणसँग परिचित भएपछि कतिपय मानिसहरूमा केही सक्रिय विचारहरू देखा पर्न थाल्छन्: “यी सबै जनावरहरू धेरै स्वतन्त्र छन्, र कसैले पनि तिनीहरूको सुपरिवेक्षण वा निगरानी गर्दैन, त्यसोभए के म तिनलाई समात्‍न र खान सक्छु? यदि मैले तिनलाई खान सके धेरै राम्रो हुन्थ्यो, तर यदि तिनीहरू कानुनद्वारा संरक्षित छन् भने त म अन्धाधुन्ध यसो गर्न सक्दिनँ। मैले यसबारे बुझ्नुपर्छ।” जानकारीको जाँच गरेपछि, तिनीहरूले जङ्गली जनावरहरू राष्ट्रिय कानुनद्वारा समान रूपमा संरक्षित छन् भन्‍ने कुरा कानुनले स्पष्ट पारेको, र मानिसहरूले आफ्नो इच्छाअनुसार तिनलाई सिकार गर्न र मार्न सक्दैनन् भन्‍ने कुरा देख्छन्। यदि मानिसहरू जनावरहरूको सिकार गर्न चाहन्छन् भने, तिनीहरूले राज्यद्वारा निर्धारित सिकार क्षेत्रभित्र त्यसो गर्नुपर्छ; तिनीहरूलाई इजाजतपत्र पनि चाहिन्छ, र तिनीहरूले समात्ने जनावरहरूका लागि शुल्क तिर्नुपर्ने हुन सक्छ। संक्षेपमा, कानुनले यी वन्यजन्तुहरूको संरक्षण गर्दछ र तिनका बारेमा स्पष्ट नियमहरू तय गरेको छ। केही मानिसहरूले वन्यजन्तुहरूको संरक्षणको कानुन बुझ्न सक्दैनन्, र तिनीहरू सोच्छन्: “यहाँ धेरै स्वादिष्ट जङ्गली व्यञ्जनहरू छन्, तैपनि सरकारले हामीलाई हाम्रो इच्छाअनुसार तिनलाई समात्ने र खाने अनुमति दिँदैन। यो दुःखद कुरा हो! चीनमा कसैले पनि यसको वास्ता गर्दैन: ‘यदि कसैले रिपोर्ट गरेन भने, अधिकारीहरूले यसको अनुसन्धान गर्नेछैनन्।’ यो कुरा कसैले पनि थाहा नपाएसम्म, तपाईँले जनावरलाई समात्न र खान सक्नुहुन्छ। तर तपाईँले लोकतान्त्रिक देशमा यसो गर्न सक्नुहुन्‍न। यहाँ कानुनी प्रावधानहरू छन्, र मैले अरूको भूमिमा आफूलाई जे मन लाग्यो त्यही गर्न मिल्दैन। तर यी सबै जनावरहरू जङ्गली सिकार हुन्; दुःखको कुरा, हामी तिनलाई हेर्न मात्र सक्छौँ तर खान भने सक्दैनौँ! मैले कुनै समाधानका बारेमा सोच्‍नुपर्छ। कसैलाई थाहा नदिई र कानुन उल्लङ्‌घन नगरी मैले यो सिकार कसरी खान सक्छु?” केही मानिसहरूले एउटा युक्ति सोच्छन्, र भन्छन्: “यदि मैले जनावरहरूलाई आकर्षित गर्न खोर बनाएर त्यसमा केही स्वादिष्ट खानेकुरा राखेँ, जङ्गली खरायोजस्ता केही स-सानाहरूलाई पक्रेँ, र तिनलाई मारेर खानका लागि एकान्त ठाउँ भेट्टाएँ भने, मैले कानून उल्लङ्घन गरेको हुनेछैन, होइन र? ती साना जनावरहरू राज्यद्वारा संरक्षित छैनन्, र कानुनमा तिनीहरूका बारेमा कुनै निश्‍चित नियमहरू छैनन्। यदि मैले यो गरेँ भने, म जङ्गली सिकार खान सक्छु र मैले कानून उल्लङ्घन गरिरहेको छैनँ भन्ने कुरा पनि सुनिश्चित गर्न सक्छु। यो त दुवै हातमा लड्डु हुनुसरह हो।” तिनीहरूमा यो विचार आएपछि, तिनीहरूले एउटा खोर बनाई सिकार गर्न सुरु गर्छन्। दुई दिन नबित्दै, खोरमा एउटा मुसा आउँछ, र तिनीहरूले हतार-हतार त्यसलाई मार्छन् र खान्छन्, अनि यो साँच्चै जङ्गली सिकार हो भन्ने महसुस गर्छन्! यसलाई खाएर तिनीहरू के निष्कर्षमा पुग्छन्? “जङ्गली जनावरहरू धेरै स्वादिष्ट हुन्छन्। अबदेखि म अन्य प्रकारका सिकारहरू खाने अझ धेरै तरिकाहरूका बारेमा सोच्‍नेछु। जबसम्म मैले कानुन तोड्दिनँ, तबसम्म म तिनलाई खान डराउँदिनँ।” कथा यहाँ समाप्त हुन्छ।

कतिपय मानिसहरू सोध्छन्, “यो कथा साँचो हो कि यो मनगढन्ते हो?” अहिलेका लागि, यो साँचो हो कि मनगढन्ते हो, र यो वास्तवमै भएको थियो कि थिएन भनेर चिन्ता नगर। यस कथाका आधारमा, यस्तो काम गर्ने मानिसहरूमा के समस्या छ भनेर सोच। के यस प्रकारको कुरा गर्नु गम्भीर गल्ती हो? के यसलाई कानुनको उल्लङ्घन मानिन्छ? के यसलाई नैतिक न्यायविरुद्ध गएको मानिन्छ? (मानिन्छ।) के यो नैतिक न्याय, वा मानवता, वा अरू केही कुराविरुद्ध जान्छ? पहिले, मलाई भन: यस प्रकारको व्यवहार प्रशंसाको योग्य छ कि निन्दाको? तिमीहरू कुन पक्ष लिन्छौ? (निन्दा।) चाहे यो नैतिक न्यायविरुद्ध जाओस्, कानुनविरुद्ध होस्, वा मानवताविरुद्ध होस्, जे भए पनि, यस प्रकारको व्यवहार खराब हो, र यो मानवता भएका मानिसहरूको व्यवहार होइन। त्यसो भए यो के हो? के यस प्रकारको स्वभाव वा व्यवहार गम्भीर समस्या हो? तिमीहरू आफ्नो मानकअनुसार यस मामिलाको मूल्याङ्कन कसरी गर्छौ? दैनिक जीवनमा र मानिसहरूका सबै समूहका बिचमा, के यस्तो व्यवहार सामान्य हो? (हो।) यो अत्यन्तै धूर्त वा दुष्ट कार्य होइन, तर यो अनुचित छ, र यो सामान्य मानवता भएका मानिसहरूसँग हुनुपर्ने प्रकटीकरण होइन। ठ्याक्कै भन्नुपर्दा, यो कस्तो प्रकारको प्रकटीकरण हो? अगाडि बढ र यसलाई वर्गीकृत गर। यो कस्तो प्रकारको व्यवहार हो? के यसलाई प्रोत्साहन गरिनुपर्छ? (पर्दैन।) यो प्रोत्साहन योग्य छैन र मानिसहरूले यसको प्रशंसा गर्दैनन्, त्यसैले यसलाई निन्दा र तिरस्कार गरिनुपर्छ। यस प्रकारको व्यवहार सामान्य हो, यो प्रायः मानिसहरूका सबै समूहमाझ र दैनिक जीवनमा देखा पर्दछ, यो बारम्बार देखिने गर्छ, र यस प्रकारका कुराहरू बारम्बार गर्ने धेरै मानिसहरू छन्। त्यसोभए, के यस विषय अलग्गै छलफल गरिनु लायक छैन, जसबाट प्रत्येक व्यक्तिले यस मामलाको सही परिभाषा थाहा पाउन सकोस्, र सम्भव भएसम्म यस प्रकारको व्यवहारबाट आफूलाई टाढा राख्‍न सकोस्? के त्यो राम्रो हुनेथिएन र? (हुनेथियो।) त्यसोभए यसलाई परिभाषित गरौँ—यो कस्तो प्रकारको व्यवहार हो? के यो अहङ्कारी व्यवहार हो? के यो हठी व्यवहार हो? के यो छली व्यवहार हो? (होइन।) के यो दुष्ट व्यवहार हो? (थोरै हो।) यो त्यससँग केही हदसम्म नजिक छ। तिमीहरूले सिकेका र बुझेका शब्दहरूमध्ये, के यस्ता कुनै शब्द छन्, जसले यस प्रकारको व्यवहारलाई परिभाषित गर्न सक्छ? (नीच।) नीच, यसमा यो गुण अलिकति त छ। यस शब्दमा यस प्रकारको व्यवहार र सार समाहित छ, तर यसलाई सम्पूर्ण अनि पूर्ण रूपमा सारांशित गर्दैन। यो व्यवहारलाई दुर्भावनापूर्ण मान्‍न सकिँदैन, किनकि यदि मुसा मार्नु दुर्भावनापूर्ण हुन्थ्यो भने, मुसा उन्मूलन गर्ने कार्य नकारात्मक हुनेथियो। मुसा उन्मूलन गर्नु सकारात्मक कुरा हो; मुसाले मानिसहरूलाई हानि पुर्‍याउँछ, त्यसैले तिनलाई नष्ट गर्नु सही हो। तर तिनलाई नष्ट गर्नु र तिनलाई खानुको बिचमा कुनै भिन्‍नता छैन र? (छ।) त्यसोभए यस व्यवहारलाई कसरी सङ्क्षेपित गर्न सकिन्छ? यस प्रकारको व्यवहारसँग सम्बन्धित कुन शब्दहरू तिमीहरू सोच्‍न सक्छौ? (पतित।) (नीच चरित्र।) नीच चरित्र, नीच र पतित। दैनिक जीवनमा नीच व्यवहार र आफ्‍नो उचित काममा नलाग्नुलाई सङ्क्षेपित गर्न कुन शब्द प्रयोग गरिन्छ? (घिनलाग्दो।) “घिनलाग्दो” शब्दले ठ्याक्कै र स्पष्ट रूपमा यस प्रकारको व्यवहारलाई सङ्‌क्षेपमा वर्णन गर्छ। यसलाई किन “घिनलाग्दो” भनेर परिभाषित गरिएको छ? यदि यसलाई तल्लो, स्वार्थी वा पतित भनिन्छ भने, त्यो घिनलाग्दो मानिसहरूद्वारा अभिव्यक्त गरिने एक प्रकारको प्रकटीकरण मात्र हो। “घिनलाग्दो” मा धेरै अर्थहरू समावेश हुन्छन्—नीच हुनु, भाँड हुनु, पतित हुनु, स्वार्थी हुनु, अनैतिक हुनु, अनुशासित नहुनु, आफ्ना कार्यहरूमा खुला वा इमानदार नहुनु, र यसको सट्टा चलाखीपूर्ण तरिकाले कार्य गर्नु, र अनुचित कार्यहरू मात्र गर्नु। घिनलाग्दा मानिसहरूका विभिन्‍न व्यवहार र प्रकटीकरणहरू यिनै हुन्। उदाहरणका लागि, यदि एक सामान्य व्यक्तिले केही गर्न चाहन्छ भने, जबसम्म त्यो उचित छ, तिनीहरू यसलाई खुला तरिकाले गर्छन्, र यदि यसले कानुन उल्लङ्‌घन गर्छ भने, तिनीहरूले छोड्छन् र त्यसो गर्दैनन्। घिनलाग्दा मानिसहरू उस्तै हुँदैनन्; तिनीहरूले आफ्नो लक्ष्य हासिल गर्न जुन-सुकै उपाय अपनाउँछन् र कानुनका सीमितताहरूको प्रतिवाद गर्नका निम्ति रणनीतिहरू बनाउँछन्। तिनीहरूले कानुनलाई छलेर आफ्नो लक्ष्य पूरा गर्ने तरिकाहरूको खोजी गर्छन्, चाहे यसो गर्नु नैतिकता, सदाचार वा मानवताको अनुरूप किन नहोस्, अनि परिणाम जेसुकै होस्। तिनीहरू यी कुनै पनि कुराको वास्ता गर्दैनन्, र हरसम्भव तरिकाले आफ्नो लक्ष्यहरू प्राप्त गर्न मात्र खोज्छन्। यो नै “घिनलाग्दो” हुनु हो। के घिनलाग्दा मानिसहरूमा कुनै निष्ठा वा मर्यादा हुन्छ? (हुँदैन।) तिनीहरू कुलीन हुन् कि नीच मानिस हुन्? (नीच।) तिनीहरू कसरी नीच हुन्? (तिनीहरूको आत्म-आचरणको कुनै पनि नैतिक निम्नतम स्तर हुँदैन।) त्यो सही हो, यस प्रकारको व्यक्तिको आत्म-आचरणमा कुनै निम्नतम स्तर वा सिद्धान्तहरू हुँदैनन्; तिनीहरूले परिणामहरूबारे विचार गर्दैनन्, र आफूले चाहेको कुरा मात्र गर्छन्। तिनीहरूलाई कानुन, नैतिकता, तिनीहरूको विवेकले तिनीहरूका कार्यहरू स्वीकार गर्न सक्छ कि सक्दैन, वा तिनीहरूलाई कसैले भर्त्सना, मूल्याङ्कन वा निन्दा गर्छ भन्‍ने कुराको वास्ता हुँदैन। तिनीहरू यी सबैप्रति उदासीन हुन्छन्, र जबसम्म तिनीहरूले लाभ उठाइरहेका र आनन्द लिइरहेका हुन्छन्, तबसम्म तिनीहरूलाई कुनै मतलब हुँदैन। तिनीहरूको काम गर्ने तरिका पतित छ, तिनीहरूको विचार घृणित छ, र यी दुवै लज्जास्पद कुरा हुन्। घिनलाग्दो हुनुको अर्थ यही हो। के हामीले अगाडि कुरा गरेका कैयौँ स्वभावहरूको प्रकटीकरणद्वारा “घिनलाग्दो” शब्दलाई प्रतिस्थापन गर्न सकिन्छ? त्यसले वास्तवमै काम गर्नेछैन। “घिनलाग्दो” शब्द एकदम विशेष छ, त्यसोभए के घिनलाग्दा मानिसहरू विशेष प्रकारका मानिसहरू हुन्? तिनीहरू होइनन्। के तिमीहरूमा कुनै घिनलाग्दो कुरा छ? (छ।) यसका विशिष्ट प्रकटीकरणहरू के हुन्? (कहिलेकाहीँ मानिसहरूले आफ्नो अनुहार धोएपछि, बेसिनभरि पानी छोडिदिन्छन् र त्यसलाई पुछ्दैनन्। अनि जब मानिसहरूले खाना खाइसक्छन्, तिनीहरूले टेबलबाट भातका सिता र तरकारीको झोललाई सफा गर्दैनन्। जब तिनीहरूका लुगा फोहोर हुन्छन्, तिनीहरूले तिनलाई नपट्याई छेउतिर फ्याँक्छन्। मलाई लाग्छ कि यी पनि घिनलाग्दो हुनुका प्रकटीकरणहरू हुन्।) वास्तवमा, यी सबै कुराहरू दैनिक जीवनका स-साना विवरणहरू हुन्, र फोहोरी हुनु भनेको वास्तवमा घिनलाग्दो हुनु होइन, यो मानवतामा जिउनुसँग सम्बन्धित छ। यदि कसैले समूहमा रहँदा अरूका लागि फाइदाजनक कुराहरू गर्दैन, र यदि कसैलाई उचित वा शिष्ट तरिकाले हुर्काइएको छैन, र मानिसहरूलाई रिस उठाउँछ अनि आफूलाई अरूले घृणा गर्ने तुल्याउँछ, र जुनसुकै ठाउँमा जाँदा त्यहाँका नियम वा प्रणालीहरूको पालना गर्न जान्दैन, र उसमा यो चेतनाको अभाव छ भने, के उसको मानवतामा कुनै कमी छैन? (छ।) केको कमी छ? यसमा समझको कमी छ। के यस्ता मानिसहरूमा मर्यादाको कमी छैन? (छ।) तिनीहरूमा कुनै मर्यादा छैन, कुनै निष्ठा छैन, र तिनीहरूलाई खराब तरिकाले लालनपालन गरियो। यो आत्म-आचरणको आधाररेखा, र सामान्य मानवता जिउनुसँग सम्बन्धित छ। यदि कसैले यी मापदण्डहरू समेत पूरा गर्न सक्दैन भने, उसले कसरी सत्यता अभ्यास गर्न सक्ला? उसले कसरी परमेश्‍वरको महिमा गर्न सक्ला? उसले कसरी सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न सक्ला? ऊ यी कुनै पनि कार्य गर्नबाट धेरै टाढा छ। यस प्रकारको व्यक्तिसँग विवेक वा समझ हुँदैन—के उसलाई व्यवस्थापन गर्न सजिलो हुन्छ? के उसका लागि परिवर्तन हुन सजिलो हुन्छ? पक्कै पनि सजिलो हुँदैन। त्यसोभए ऊ कसरी परिवर्तन हुन सक्छ? यो कुरा सबैले तिनीहरूलाई सुपरिवेक्षण गर्ने, तिनीहरूलाई रोक्‍ने र सचेत गराउने कार्यमा निर्भर हुनेछ। गम्भीर अवस्थामा, सबैजना तिनीहरूको आलोचना गर्न खडा हुनुपर्छ। यो आलोचनाको लक्ष्य के हो? यो उसलाई सहयोग गर्न, उसलाई आचरणमा ढाल्न मद्दत गर्न, र उसलाई अपमानजनक र नराम्रा कार्यहरू गर्नबाट रोक्नका लागि हो। त्यसोभए, घिनलाग्दो हुनुले वास्तवमा केलाई जनाउँछ? यसका प्राथमिक लक्षण र प्रकटीकरणहरू के हुन्? मेरो सारांश सही छ कि छैन, हेर। घिनलाग्दा मानिसहरू के बराबर छन्? तिनीहरू अनियन्त्रित, खराब तरिकाले हुर्काइएका, जङ्गली जनावरहरू जस्तै छन्, र यसका प्राथमिक प्रकटीकरणहरू अहङ्कार, पाशविकता, संयमको कमी, जथाभाबी कार्य गर्नु, सत्यतालाई थोरै मात्र पनि स्वीकार नगर्नु, साथै आफूलाई जे मन लाग्यो त्यही गर्नु, कसैलाई पनि नसुन्‍नु, वा जोकोहीलाई आफ्नो व्यवस्थापन गर्न अनुमति दिनु, जोसुकैको विरुद्धमा पनि जाने साहस गर्नु, र अरू कसैको ख्याल नगर्नु हो। मलाई भन, के घिनलाग्दो हुनुका विभिन्‍न प्रकटीकरणहरू गम्भीर छन्? (छन्।) कम्तीमा पनि, अहङ्कार, समझविहीनता र जथाभाबी कार्य गर्ने स्वभाव निकै गम्भीर छ। यदि यस्तो व्यक्तिले परमेश्‍वरको मूल्याङ्कन वा विरोध गर्ने कुराहरू नगरेको देखिए तापनि, आफ्नो अहङ्कारी स्वभावको कारणले उसले दुष्टता गर्ने र उहाँको प्रतिरोध गर्ने ठूलो सम्भावना हुन्छ। उसका सबै कार्यहरू उसको भ्रष्ट स्वभावका प्रकटीकरण हुन्। जब एक व्यक्ति एक निश्चित बिन्दुसम्म घिनलाग्दो बन्छ, ऊ एक डाँकु र दियाबलस बन्छ, र डाँकु र दियाबलसहरूले सत्यतालाई कहिल्यै स्वीकार गर्दैनन्—तिनीहरूलाई केवल नष्ट गर्न मात्र सकिन्छ।

के यस कथाका बारेमा कुरा गर्नुको कुनै मूल्य छ? (छ।) यस कथाले मानिसको प्रकृति सार वा स्वभावलाई नछोए पनि, यो मानिसको व्यवहारसँग सम्बन्धित छ, जुन मानिसको सारभन्दा धेरै फरक वा त्यससँग असम्बन्धित छैन। यस कथालाई के नाम दिनुपर्छ? यसलाई रूपक गुण भएको नाम दिऔँ, र यसलाई धेरै सिधा नबनाऔँ। (मुसाको सिकार।) “मुसाको सिकार” एकदम राम्रो छ। कसैले “पूर्ण रूपमा वैध” तरिकाले मुसा पक्रियो र भन्यो: “म के गर्न सक्छु? यो दौडेर यहाँ भित्र पस्यो र म यसका निम्ति दुःखी छु। यसअलावा, यसलाई चोट लागेको छ। यदि यो फेरि बाहिर गयो भने, यो मर्नेछ, र त्यसपछि अन्य जनावरहरूले यसलाई यसै पनि खाने नै छन्, त्यसोभए मैले यसलाई किन नखाने? के त्यो पूर्ण रूपमा वैध हुँदैन?” त्यो मुसालाई खानका लागि तिनीहरूले ती सबै बहाना र कारणहरू बनाए, र त्यसपछि यसलाई शुद्ध विवेकका साथ खाए। यो नै “घिनलाग्दो” हुनु हो। यस्तो होइन कि अमेरिकामा मानिसहरूले मासु खान मिल्दैन, त्यसैले त्यस्तो काम गर्नका लागि यति धेरै झन्झट बेहोर्नु र यो सबै प्रयास लगाउनु उपयुक्त छैन। यो घिनलाग्दो मानिसहरूले गर्ने कुरा हो। के सामान्य मानिसहरूले यस प्रकारको काम गर्छन्? के मानवता र निष्ठा भएका मानिसहरूले यस प्रकारको काम गर्छन्? (गर्दैनन्।) तिनीहरूले किन त्यसो गर्दैनन्? यो निष्ठासँग सम्बन्धित छ। स्वभावले सुधार्न नसकिने चोरहरूले सधैँ साना-ठूला चोरी-चकारी र लाजमर्दा कामहरू गर्ने गर्छन्। के तिनीहरूको घरमा कुनै कुराको कमी छ? छ नै भन्ने हुँदैन। तिनीहरू घिनलाग्दा भएकाले, तिनीहरूले आफ्ना रुचिहरू र आफ्नो अतृप्त लोभी स्वभावलाई सन्तुष्ट पार्न चोरीमा निर्भर रहँदै चोरी गर्नैपर्छ। यी कुराहरूले तिनीहरूको हृदयलाई सान्त्वना दिन्छ। यदि तिनीहरूले यस प्रकारको काम गरेनन् भने, तिनीहरूले उदास महसुस गर्नेछन्। यो नै “घिनलाग्दो” हुनु हो। अब, म कथालाई अन्त्य गर्छु र मुख्य विषयतिर जान्छु।

मैले मुख्य विषयका बारेमा कुरा गर्नुअघि, पहिले हाम्रो अघिल्लो सङ्गतिको विषयवस्तुबारे मनन गरौँ। परमेश्‍वरका चुनिएका मानिसहरूले निर्वाह गर्ने कर्तव्यहरूलाई छ मुख्य श्रेणीहरूमा विभाजन गर्न सकिन्छ। हामीले पहिलो श्रेणीबारे छलफल सक्काइसकेका छौँ, जुन सुसमाचार प्रचार गर्ने कर्तव्य निर्वाह गर्ने मानिसहरू हुन्। दोस्रो श्रेणीमा ती पर्छन्, जसले विभिन्‍न तहमा रहेर मण्डलीमा अगुवा र कामदारहरूको कर्तव्य निर्वाह गर्छन्। यस श्रेणीका सदस्यहरूलाई मूलतः दुई मुख्य प्रकारहरूमा विभाजन गर्न सकिन्छ, र अघिल्लो पटक हामीले यी प्रकारहरूमध्ये एउटा, अर्थात् ख्रीष्टविरोधीहरूका बारेमा कुरा गरेका थियौँ। ख्रीष्टविरोधीहरूले कसरी काम गर्छन्, तिनीहरूमा कुन प्रकटीकरणहरू छन् र तिनीहरूले गर्ने कुन कामकुराले तिनीहरूलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्न सक्छ—हामीले ख्रीष्टविरोधीका यी प्रकटीकरण र स्वभावहरूलाई वर्गीकृत गर्‍यौँ। त्यहाँ कुन विशिष्ट विषयवस्तुहरू थिए? (विषयवस्तु एक: तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्छन्; विषयवस्तु दुई: तिनीहरूले मतविरोधीहरूलाई आक्रमण गर्छन् र बहिष्कार गर्छन्; विषयवस्तु तीन: तिनीहरूले सत्यता पछ्याउनेहरूलाई बहिष्कार र आक्रमण गर्छन्; विषयवस्तु चार: तिनीहरू आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन्; विषयवस्तु पाँच: तिनीहरूले मानिसहरूलाई भ्रममा पार्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रण गर्छन्।) अघिल्लो पटक, पाँच विषयवस्तुहरूलाई सारांशित गरिएको थियो, र तिमीहरूले ती सबैलाई टिपोट गर्यौ। अब अन्यलाई टिपोट गर। विषयवस्तु छ: तिनीहरू कुटिल शैलीमा व्यवहार गर्छन्, तिनीहरू स्वेच्‍छाचारी र तानाशाही हुन्छन्, तिनीहरू अरूसँग कहिल्यै सङ्गति गर्दैनन्, र अरूलाई जबरजस्ती आज्ञापालन गर्न लगाउँछन्; विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन्; विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए; विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्‍नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्‍ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्‍वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्‍वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन्; विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन्; विषयवस्तु एघार: तिनीहरू कुनै गलत काम गर्दा, काटछाँट स्विकार्दैनन्, न त तिनीहरूमा पश्‍चात्तापको मनोवृत्ति नै हुन्छ, बरु तिनीहरूले धारणाहरू फैलाउँछन् र सार्वजनिक रूपमा परमेश्‍वरको आलोचना गर्छन्; विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष्‌ प्राप्त गर्ने आशा नहुँदा पछि हट्न चाहन्छन्; विषयवस्तु तेह्र: तिनीहरूले मानिसहरूको हृदयका साथै मण्डलीको आर्थिक पक्ष नियन्त्रण गर्छन्; विषयवस्तु चौध: तिनीहरू परमेश्‍वरको घरलाई आफ्नै व्यक्तिगत अधिकारक्षेत्रका रूपमा लिन्छन्; विषयवस्तु पन्ध्र: तिनीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, र तिनीहरूले ख्रीष्टको सारलाई इन्कार गर्छन्। यसमा जम्मा १५ विषयवस्तु छन्, र ती सबैले ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणको चिरफार र खुलासा गर्छन्। यी १५ विषयवस्तुले ख्रीष्टविरोधीहरूका विभिन्न प्रकारका व्यवहार, प्रकटीकरण र स्वभावलाई मूलतः सङ्‍क्षेपमा प्रस्तुत गर्छन्। बाहिरी रूपमा, तीमध्ये केही व्यवहारजस्ता देखिन्छन्, तर यी व्यवहारका पछाडि ख्रीष्टविरोधीहरूको अन्तर्निहित स्वभाव सार लुकेको हुन्छ। शाब्दिक अर्थको हिसाबले, के यी १५ विषयवस्तु बुझ्‍न सजिला छैनन् र? ती सबै सरल भाषामा व्यक्त गरिएका छन्, र एक हिसाबमा, ती बुझ्न सजिला छन्, साथै, ती हरेकले सङ्‍क्षेपमा बताएका कुरा मानिसका प्रकटीकरण, प्रकाश, र सारसँग सम्बन्धित छन्। प्रत्येक विषयवस्तु स्वभावको एक प्रकार हो; यो क्षणिक व्यवहार वा विचार होइन। स्वभाव के हो? कसैले स्वभाव के हो भनेर कसरी व्याख्या गर्न सक्छ? कुनै व्यक्ति जहाँ गए पनि, उसका सोच, विचार, कामकुराहरू गर्ने सिद्धान्त, सञ्‍चालनका विधिहरू, र उसले पछ्याइरहेको लक्ष्य समय र भौगोलिक अवस्थितिमा आएका परिवर्तनसँगै परिवर्तन नहुनु नै स्वभाव हो। यदि कुनै व्यक्तिको काम गर्ने तरिका उसको वातावरण परिवर्तन हुनेबित्तिकै हराउँछ भने, यो भ्रष्ट स्वभावको प्रकाश होइन, बरु एउटा क्षणिक व्यवहार हो। वास्तविक स्वभावले केलाई जनाउँछ? (यसले कुनै पनि समयमा र कुनै पनि ठाउँमा व्यक्तिमाथि प्रभुत्व जमाउन सक्छ।) त्यो सही हो, यसले कुनै पनि समय र स्थानको परवाह नगरी, ससर्त रोकाइ वा प्रभावहरूबिना व्यक्तिका भनाइ र कार्यहरूमाथि प्रभुत्व जमाउन सक्छ; यो नै एउटा सार हो। कोही व्यक्ति बाँच्‍नका लागि निर्भर रहने कुरा नै सार हो; यो समय, स्थान, वा अन्य बाह्य कारकहरूमा आएको परिवर्तनका आधारमा परिवर्तन हुँदैन। यो नै एक व्यक्तिको सार हो। कतिपय मानिस भन्छन्: “तपाईँले सङ्‍क्षेपमा प्रस्तुत गरेका ख्रीष्टविरोधीका यी १५ वटा प्रकटीकरणमध्ये लगभग सबै ममा छन्, तर म हैसियतलाई पछ्याउँदिन र म कुनै महत्त्वाकाङ्क्षाका साथ जन्मेको थिइनँ। त्यसबाहेक, अहिले मैले कुनै जिम्मेवारी वहन गरेको छैनँ। म अगुवा वा कामदार होइन, र म चर्चामा रहन मन पराउँदिनँ, त्यसैले के ख्रीष्टविरोधीहरूको प्रकृति सार मेरा लागि अप्रासङ्‍गिक छैन? यदि यो अप्रासङ्‍गिक छ भने, के मैले यी सङ्‍गति सुन्‍नुपर्ने वा आफूलाई तीसँग दाँज्नुपर्ने आवश्यकता छैन भन्ने कुरा सत्य होइन र?” के चिजहरू यस्तै नै हुन्? (होइन।) त्यसोभए ख्रीष्टविरोधीहरूका यी प्रकटीकरणलाई कसरी लिनुपर्छ? यी प्रकटीकरणका बारेमा सङ्‍गति गरिएका सत्यताहरूलाई कसरी लिनुपर्छ? व्यक्तिले सत्यता बुझ्नुपर्छ र यी सङ्‍गतिभित्र आफूलाई चिन्‍नुपर्छ, त्यसपछि सही बाटो भेट्टाउनुपर्छ, र आफ्नो कर्तव्य निर्वाह र परमेश्‍वरको सेवामा सिद्धान्तहरू प्राप्त गर्नुपर्छ। यस तरिकाले मात्र ऊ ख्रीष्टविरोधीहरूको बाटोबाट अलग हुन र सिद्ध पारिने बाटोमा लाग्‍न सक्छ। यदि तिमीहरूले ख्रीष्टविरोधीहरूका यी प्रकटीकरणसँग आफूलाई जोड्न सक्यौ भने, यो तिमीहरूका निम्ति एउटा चेतावनी, स्मारक, खुलासा, र न्याय हुनेछ। यदि तिमीहरूले तिनलाई आफूसँग जोड्न सक्दैनौ, तर तिमीहरूसँग पनि यस्तै स्थितिहरू छन् भन्‍ने कुरा महसुस गर्न सक्छौ भने, तिमीहरूले आफ्नो बारेमा थप चिन्तन गर्ने र जान्ने प्रयास गर्नुपर्छ, र ती स्थिति समाधान गर्नका निम्ति सत्यताको खोजी गर्नुपर्छ। यसरी, तिमीहरूले पनि आफ्नो भ्रष्ट स्वभाव बिस्तारै फाल्न र ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नबाट जोगिन सक्छौ।

ख्रीष्टविरोधीहरूले कसरी आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन् भन्‍ने कुराको चिरफार

आजको सङ्गति ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणहरूको चौथो विषयवस्तु: आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने भन्‍ने बारेमा छ। आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने, आफ्नो सान देखाउने, मानिसहरूले आफूलाई उच्‍च ठानून् र आराधना गरून् भन्‍ने प्रयास गर्ने—भ्रष्ट मानवजाति यी कुराहरू गर्न सक्षम छ। जब मानिसहरू आफ्नो शैतानी प्रकृतिले शासित हुन्छन् तिनीहरूले यसरी स्वतः प्रतिक्रिया दिन्छन्, र यो सबै भ्रष्ट मानवजातिको निम्ति सामान्य हो। मानिसहरूले सामान्यतया कसरी आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन्? तिनीहरूले मानिसलाई आफूलाई उच्च ठान्‍न र आफ्नो आराधना गर्न लगाउने उद्देश्य कसरी प्राप्त गर्छन्? तिनीहरूले कति धेरै काम गरेका छन्, तिनीहरूले कति कष्ट भोगेका छन्, तिनीहरूले आफैँलाई कति समर्पित गरेका छन्, र तिनीहरूले कति मूल्य चुकाएका छन् भनेर तिनीहरूले गवाही दिन्छन्। तिनीहरू मानिसहरूका हृदयमा अझ उच्च, बलियो र अधिक सुरक्षित स्थान प्राप्त गर्न, र त्यसरी अझ धेरै मानिसहरूलाई तिनीहरूको कदर गर्ने, उच्च ठान्ने, ईर्ष्या गर्ने, र आराधना गर्ने, आदर्श मान्ने र पछि लाग्ने तुल्याउनका लागि आफ्ना पुँजीबारे कुरा गरेर आफूलाई उच्च पार्छन्। यो लक्ष्य प्राप्त गर्न मानिसहरूले हेर्दाखेरि परमेश्‍वरको गवाही दिएजस्तो देखिने, तर आधारभूत रूपमा आफैँलाई उच्‍च पार्ने र आफैबारे गवाही दिने धेरै कुराहरू गर्छन्। के यसरी व्यवहार गर्दा तिनीहरूसँग समझ हुन्छ त? तिनीहरू चेतनाको दायराबाहिर छन् र तिनीहरूमा शरम छैन। तिनीहरू तिनीहरूले परमेश्‍वरका निम्ति के गरेका छन् र उहाँको निम्ति कति कष्ट भोगेका छन् भन्‍ने कुराको कुनै शरमविना गवाही दिन्छन्। तिनीहरूले आफूमा भएका वरदान, प्रतिभाहरू, अनुभव, विशेष सीपहरू, संसारसँग व्यवहार गर्ने तिनीहरूका चतुर तौरतरिकाहरू, मानिसहरूसँग खेल्नको निम्ति तिनीहरूले प्रयोग गर्ने माध्यमहरू, आदि इत्यादिको तडकभडक पनि देखाउँछन्। आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने तिनीहरूको तरिकाहरूमध्ये एक भनेको तडकभडक देखाउनु र अरूलाई होच्याउनु हो। तिनीहरूले मानिसहरूबाट आफ्ना कमजोरी, कमीहरू र अपर्याप्तताहरू लुकाउँदै भेष पनि बदल्छन् र नाटकीय स्वरूप देखाउँछन्, र मानिसहरूलाई आफ्नो चमक मात्र देखाउँछन्। तिनीहरूले नकारात्मक अनुभव गरेको कुरा अरू मानिसहरूलाई बताउने हिम्मत पनि गर्दैनन्, र तिनीहरूसँग खुल्‍ने र सङ्गति गर्ने हिम्मतको अभाव हुन्छ। तिनीहरूले गल्ती गर्दा त्यसलाई लुकाउने र छोप्‍ने अधिकतम प्रयास गर्छन्। तिनीहरूले आफ्नो कर्तव्य निभाउने दौरानमा मण्डलीको काममा पुर्‍याएको हानिलाई कहिले पनि उल्लेख गर्दैनन्। तर तिनीहरूले गरेको सानो योगदान वा प्राप्त गरेको केही साना सफलताहरू देखाउन छिटा हुन्छन्। तिनीहरू कति सक्षम छन्, तिनीहरूको क्षमता कति उच्च छ, तिनीहरू कति असाधारण छन् र तिनीहरू सामान्य मानिसहरूभन्दा कति वरिष्ठ छन् भन्‍ने कुरा सारा संसारलाई थाहा दिन व्याकुल हुन्छन्। के यी तिनीहरूले आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने तरिकाहरू होइनन् र? के आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने कार्य विवेक र समझ भएको व्यक्तिले गर्ने कार्य हो? होइन। त्यसो भए, मानिसहरूले यसो गर्दा प्रायः कस्तो स्वभाव प्रकट हुन्छ त? अहङ्कार। यो यसरी प्रकट हुने एक मुख्य स्वभाव हो, त्यसपछि छलीपन आउँछ जसमा अरू मानिसहरूलाई आफूलाई उच्‍च सम्मान गर्ने तुल्याउनको निम्ति सम्भव भएसम्मका सबै कुरा गर्ने कुरा सामेल हुन्छ। तिनीहरूका शब्दहरू पूर्ण रूपमा निर्विवाद हुन्छन् र तिनमा अभिप्रेरणा र कपट-योजनाहरू प्रस्ट रूपले समावेश हुन्छन्, तिनीहरू आफूलाई प्रदर्शन गरिरहेका हुन्छन्, तैपनि तिनीहरू यो तथ्य लुकाउन चाहन्छन्। तिनीहरूले जे भन्छन् त्यसको परिणाम भनेको मानिसहरूलाई तिनीहरू अरूभन्दा असल छन्, तिनीहरूको बराबर कोही पनि छैन र सबै जना तिनीहरूभन्दा निकृष्ट छन् भन्‍ने अनुभव गराउनु हो। अनि के यो परिणाम गोप्य तरिकाबाट प्राप्त गरिँदैन र? यस्तो तरिकाको पछाडि कस्तो स्वभाव हुन्छ? अनि के त्यहाँ दुष्टताका कुनै तत्त्वहरू हुन्छन्? (छन्।) यो एक प्रकारको दुष्ट स्वभाव हो। तिनीहरूले प्रयोग गर्ने तरिकाहरू छलपूर्ण स्वभावद्वारा निर्देशित भएको देख्‍न सकिन्छ—त्यसो भए, यो दुष्ट छ भनेर म किन भन्छु त? दुष्टतासँग यसको के सम्बन्ध छ? तिमीहरूलाई के लाग्छ: आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने आफ्ना उद्देश्यहरूबारे तिनीहरू खुलस्त हुन सक्छन्? तिनीहरू खुलस्त हुन सक्दैनन्। तर तिनीहरूका हृदयको गहिराइमा सधैँ एउटा चाहना हुन्छ, अनि तिनीहरूले भन्‍ने र गर्ने कुरा त्यही चाहनाको सघाउका निम्ति हो, र तिनीहरूले बोल्‍ने र गर्ने कुराहरूपछाडिको उद्देश्य र अभिप्रेरणाहरू गोप्य राखिन्छन्। उदाहरणको लागि, यी लक्ष्यहरू हासिल गर्नको निम्ति तिनीहरूले गलत निर्देशन वा केही अनुचित युक्तिहरूको प्रयोग गर्नेछन्। के यस्तो गोपनीयता धूर्त प्रकृतिको छैन र? अनि यस्तो धूर्तपनलाई दुष्ट भन्‍न सकिन्‍न र? (सकिन्छ।) यसलाई वास्तवमा दुष्ट भन्‍न सकिन्छ र यो छलभन्दा गहिरो हुन्छ। तिनीहरूले आफ्ना उद्देश्यहरू पूरा गर्न निश्‍चित तरिका वा विधि प्रयोग गर्छन्। यो स्वभाव छलीपन हो। तर तिनीहरूको हृदयको गहिराइमा भएको मानिसहरूले सधैँ आफूलाई पछ्याऊन्, आफूलाई आदर र आराधना गरून् भन्‍ने महत्त्वाकाङ्क्षा र चाहनाले तिनीहरूलाई आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिनेतर्फ, अनि अनैतिक र निर्लज्ज रूपमा यी कुराहरू गर्नेतर्फ डोर्‍याउँछ। यो कुन स्वभाव हो? यो दुष्टताको स्तरसम्म पुग्छ। दुष्टता भनेको साधारण सङ्कीर्ण मानसिकता वा छली हुनु र झूट बोल्नु मात्र होइन। यदि कुनै व्यक्ति साधारण भ्रष्टतादेखि दुष्टताको स्तरसम्म पुग्न सक्छ भने, के यसको अर्थ ऊ झनै गहन रूपमा भ्रष्ट छ भन्‍ने हुँदैन र? (हुन्छ।) त्यसोभए यो दुष्टताको स्तर वर्णन गर त—यसलाई उपयुक्त रूपमा कसरी राख्न सकिन्छ? व्यक्ति किन साधारण भ्रष्टतादेखि दुष्टताको स्तरसम्म पुग्छ? के तिमीहरू यो कुरा स्पष्ट रूपमा देख्न सक्छौ? छलीपन र दुष्टताबीचको भिन्‍नता के हो? दुष्टता र छलीपनबीच प्रकट हुने तरिकामा नजिकको सम्बन्ध छ, तर दुष्टता अझै गम्भीर हुन्छ—त्यो छलीपनको चरम रूप हो। यदि कसैमा दुष्ट स्वभाव छ भनेर भनिन्छ भने, त्यो व्यक्ति साधारण रूपको छली होइन, किनकि साधारण छलीपनको अर्थ ऊ आफ्नो बानीले ठग हो वा ऊ आफ्नो कार्यमा इमानदार छैन भन्‍ने मात्र पनि हुन सक्छ, जबकि दुष्टता त्योभन्दा बढी गम्भीर हुन्छ छलीपनभन्दा बढी गहन स्तरको हुन्छ। दुष्ट स्वभाव भएको कुनै व्यक्तिको छलीपन औसत व्यक्तिको भन्दा ठूलो र बढी गम्भीर हुन्छ, उसका कामकुराहरू गर्ने साधन र विधिहरू, र उसका कार्यपछाडिका कुचक्रहरू सबै बढी धूर्त र गोप्य हुन्छन्, र अधिकांश मानिसहरूले यो कुरा छर्लङ्ग देख्न सक्दैनन्। दुष्टता भनेको यही नै हो।

ख्रीष्टविरोधीले आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनु एक औसत व्यक्तिले त्यस्तै गर्नुभन्दा कसरी फरक छ? औसत व्यक्तिले मानिसहरूलाई आफूलाई सम्मान गर्ने तुल्याउन प्रायः धाक देखाउने र आफूलाई प्रदर्शन गर्ने गर्छ, र उसमा यी स्वभाव र स्थितिहरूका प्रकटीकरणहरू पनि हुन्छन्, त्यसोभए ख्रीष्टविरोधीले आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनु साधारण व्यक्तिहरूले त्यही गर्नुभन्दा कसरी फरक छ त? फरक कहाँ छ? तँ यसबारे प्रष्ट हुनुपर्छ—आफूलाई कहिलेकाहीँ उच्च पार्नु वा आफूबारे धाक देखाउनुका सबै प्रकटीकरणहरूलाई ख्रीष्टविरोधीहरूको श्रेणीमा एकसाथ नराख्‌। के यो अवधारणात्मक त्रुटि होइन र? (हो।) त्यसोभए यो मामिलालाई कसरी स्पष्ट रूपमा छुट्ट्याउन सकिन्छ? फरक कहाँ छ? यदि तैँले यो कुरा स्पष्ट रूपमा बताउन सक्छस् भने, तैँले ख्रीष्टविरोधीको सार के हो भनेर राम्ररी बुझ्न सक्छस्। एकपटक प्रयास गर् त। (ख्रीष्टविरोधीहरूको काम गर्ने तरिका बढी गोप्य हुन्छ; तिनीहरूले मानिसहरूलाई बहकाउन निकै उचित देखिने माध्यम प्रयोग गर्छन्। तिनीहरूले कुनै उचित मामिलाबारे बोलिरहेजस्तो देखिन्छ, तर तैँले थाहा पाउनुभन्दा अगाडि नै तिनीहरूले आफूलाई उच्च पार्न र आफूबारे गवाही दिन थाल्छन्, र यो कुरा कसैलाई महसुसै हुँदैन। तिनीहरूका माध्यमहरू तुलनात्मक रूपमा गोप्य हुन्छन्।) तुलनात्मक रूपमा गोप्य भन्‍नुको अर्थ हो—यो तिनीहरूले आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने तरिकामार्फत तिनीहरूलाई अलग गर्नु हो। अरू केही छ? मलाई भन त, सचेतन रूपमा आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनु र अचेतन रूपमा सोही कुरा गर्नुको प्रकृतिबीच के भिन्‍नता छ? (अभिप्रायहरू भिन्‍न हुन्छन्।) के भिन्‍नता यहीँ छैन र? (छ।) जब भ्रष्ट स्वभावहरू भएको कुनै औसत व्यक्तिले आफूलाई उच्च पार्छ र तडकभडक देखाउँछ, त्यो आफूलाई प्रदर्शन गर्नको लागि मात्र हुन्छ। आफूलाई प्रदर्शन गरिसकेपछि, त्यो कुरा त्यहीँ सकिन्छ, र तिनीहरूले अरू मानिसहरूले तिनीहरूलाई राम्रो सोच्छन् कि नराम्रो भन्‍नेबारे वास्ता गर्दैनन्। तिनीहरूको मनसाय त्यति स्पष्ट हुँदैन, यो तिनीहरूमाथि एउटा स्वभाव हाबी भएको, एउटा स्वभाव प्रकट भएको कुरा हो। कुरा त्यति नै हो। के यस्तो स्वभाव बदल्न सजिलो हुन्छ? यदि यो व्यक्तिले सत्यता पछ्याउँछ भने, जब उसले काटछाँट, न्याय र सजाय अनुभव गर्छ, तब ऊ बिस्तारै बदलिन सक्नेछ। उसले बिस्तारै लज्जा र चेतना बोध प्राप्त गर्नेछ, र उसले यस्तो व्यवहार झन्झन् कम देखाउनेछ। उसले यस्तो व्यवहारको निन्दा गर्नेछ, र उसले संयम अपनाउनेछ र आफूमाथि लगाम लगाउनेछ। यो अचेतन रूपमा आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनु हो। सचेतन रूपमा आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनु र अचेतन रूपमा सोही गर्नुभित्र उही स्वभावहरू रहने भए पनि, ती दुईका प्रकृति फरक हुन्छन्। ती कसरी प्रकृतिमा फरक हुन्छन्? सचेतन रूपमा आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने काम कुनै मनसाय राखेर गरिन्छ। यस्तो गर्ने मानिसहरूले यत्तिकै बोलिरहेका हुँदैनन्—तिनीहरूले हरेकपटक आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने गरिरहँदा निश्‍चित अभिप्रायहरू र गुप्त उद्देश्यहरू बोकिरहेका हुन्छन्, र तिनीहरूले यस्तो कार्य शैतानी महत्त्वाकाङ्क्षा र चाहनाहरूसाथ गर्ने गर्छन्। सतही रूपमा उस्तै खालका प्रकटीकरणहरू देखिन्छन्। दुवै अवस्थामा मानिसहरूले आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने गरिरहेका हुन्छन्, तर परमेश्‍वरले अचेतन रूपमा आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनुलाई कसरी परिभाषित गर्नुहुन्छ? भ्रष्ट स्वभावको प्रकटीकरणको रूपमा। अनि परमेश्‍वरले सचेतन रूपमा आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनुलाई कसरी परिभाषित गर्नुहुन्छ? कुनै व्यक्तिले मानिसहरूलाई ऊबारे राम्रो सोच्ने, र उसलाई आराधना र आदर गर्ने, र त्यसपछि उसलाई पछ्याउने तुल्याउने उद्देश्यसाथ मानिसहरूलाई बहकाउन चाहनुको रूपमा। उसका कार्यहरू प्रकृतिले नै बहकाउने किसिमका हुन्छन्। त्यसैले, उसमा मानिसहरूलाई बहकाउने, र मानिसहरूले उसलाई पछ्याऊन् र आराधना गरून् भनेर तिनीहरूलाई स्वामित्वमा पार्ने मनसाय हुनेबित्तिकै, उसले बोल्दा र व्यवहार गर्दा सत्यता नबुझ्ने र गहिरो जग नभएकाहरूलाई सजिलै बहकाउन र बराल्न सक्ने केही माध्यम र विधिहरू प्रयोग गर्नेछ। त्यस्ता मानिसहरूमा सुझबुझ नहुने मात्र नभई बरु उल्टै तिनीहरूले यो व्यक्तिले भन्‍ने कुरा सही हुन् भन्‍ने सोच्छन्, र तिनीहरूले उसलाई सम्मानको नजरले हेर्न र ऊबारे राम्रो सोच्न सक्छन्, र समय बित्दै जाँदा तिनीहरूले उसलाई आराधना गर्ने र पछ्याउनेसमेत गर्छन्। दैनिक जीवनमा घट्ने सबैभन्दा आम घटना के हो भने, कुनै व्यक्तिले प्रवचन सुनेपछि उसले त्यसलाई निकै राम्रोसँग बुझेजस्तो देखिन्छ, तर पछि उसमाथि केही आइपर्दा, उसले त्यसलाई सुल्झाउन जान्दै जान्दैन। ऊ खोजी गर्न परमेश्‍वरसामु जान्छ, तर यसबाट कुनै नतिजा निस्कँदैन, र अन्त्यमा ऊ यो मामिलाबारे सोधखोज गर्न अगुवाकहाँ जानैपर्छ र ऊसँग समाधान माग्नैपर्छ। हरेकपटक उसमाथि केही आइपर्दा, उसले आफ्नो अगुवालाई नै त्यो समाधान गरिमाग्‍न चाहन्छ। यो त केही मानिसहरूको लागि अफिम सेवन एउटा लत र दोहोरिने व्यवहार बन्‍नु, र समयसँगै तिनीहरू त्यो सेवन नगरी बस्नै नसक्नुजस्तै हो। त्यसैले, ख्रीष्टविरोधीहरूले आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनु सानो कद भएका, समझ नभएका, मूर्ख र अज्ञानीहरूको लागि थाहै नपाई एकप्रकारको लागुपदार्थ बन्छ। तिनीहरूमाथि केही आइपर्दा, तिनीहरू त्यसबारे सोध्न ख्रीष्टविरोधीकहाँ जान्छन्, र त्यो ख्रीष्टविरोधीले कुनै आदेश दिएन भने, सबै जना त्यो मामिलाबारे छलफल गरेर सहमतिमा पुगिसकेका भए पनि, तिनीहरूले केही गर्ने आँट गर्दैनन्। तिनीहरूमा ख्रीष्टविरोधीको इच्छाविरुद्ध गएर दमनमा पर्ने डर हुन्छ, त्यसैले तिनीहरूले हरेक मामिलामा ख्रीष्टविरोधीले बोलिसकेपछि मात्रै कुनै कदम चाल्ने आँट गर्छन्। सत्यता सिद्धान्तहरू स्पष्ट रूपमा बुझिसकेपछि पनि, तिनीहरूले कुनै निर्णय लिने वा मामिला सम्हाल्ने आँट गर्दैनन्, बरु अन्तिम फैसला र निर्णयको लागि तिनीहरूले आदरसाथ हेर्ने “मालिक” लाई नै पर्खन्छन्। यदि मालिकले केही भनेन भने, त्यो मामिला सम्हाल्ने जुनसुकै व्यक्तिले पनि आफूले गर्नुपर्ने के हो भन्‍नेबारे अनिश्‍चित महसुस गर्छ। के यी मानिसहरूलाई विष लागेको छैन र? (छ।) विष लाग्‍नुको अर्थ यही हो। तिनीहरूलाई यति गहिरो गरी विष लाग्‍नको लागि ख्रीष्टविरोधीले कति काम गर्नुपर्छ, र तिनीहरूलाई कति विष दिनुपर्छ? यदि ख्रीष्टविरोधीले आफूलाई बारम्बार चिरफार गर्‍यो र आफूलाई चिन्यो, अनि मानिसहरूले देखून् भनी आफ्ना कमीकमजोरी, गल्ती, र अपराधहरू खुला रूपमा पेश गर्‍यो भने, के उसलाई सबैले अझै पनि यसैगरी आराधना गर्नेथिए त? बिलकुलै गर्नेथिएनन्। यस्तो देखिन्छ कि ख्रीष्टविरोधीले आफूलाई उच्च पार्न र आफूबारे गवाही दिनमा धेरै नै मेहनत लगाउँछ, त्यसैकारण उसले यस्तो “सफलता” प्राप्त गरेको हो। उसले चाहने परिणाम नै यही हो। ऊबिना त कसैले पनि कसरी उचित तरिकाले कर्तव्य निर्वाह गर्ने भनेर जान्‍नेछैन, र हरेक व्यक्ति अन्योलमा पर्नेछ। यो स्पष्ट छ कि ख्रीष्टविरोधीले यी मानिसहरूलाई नियन्त्रण गर्दा सुटुक्क धेरै विष खुवाउँछ र धेरै मेहनत लगाउँछ! यदि उसले थोरै शब्दहरू मात्र बोलेको भए, के यी मानिसहरू अझै पनि ऊद्वारा यसरी बाँधिनेथिए त? बिलकुलै बाँधिनेथिएनन्। जब ख्रीष्टविरोधीले मानिसहरूलाई उसलाई आराधना गर्ने, र सम्मानको नजरले हेर्ने र हरेक मामिलामा उसको कुरा सुन्‍ने तुल्याउने लक्ष्य हासिल गर्न सफलता पाएको हुन्छ, तब के उसले आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने धेरै कुरा गरेको र धेरै वचन बोलेको हुँदैन र? यसो गरेर उसले के-कस्तो परिणाम हासिल गर्छ? यो कस्तो हुन्छ भने, मानिसहरूसँग मार्ग हुँदैन र तिनीहरू ऊबिना जिइरहन सक्दै सक्दैनन्—ऊबिना आकासै खस्ला र पृथ्वी घुम्न छोड्ला, र परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै मूल्य वा अर्थ नहोला, र प्रवचनहरू सुन्‍नु व्यर्थ होला भनेजस्तै हुन्छ। यो कस्तो पनि हुन्छ भने, ख्रीष्टविरोधी वरपर हुँदा मानिसहरूले आफ्नो जीवनमा केही आशा छ भन्‍ने महसुस गर्छन्, तर यदि ख्रीष्टविरोधी मर्‍यो भने तिनीहरूले आफ्नो सबै आशा गुमेजस्तो महसुस गर्नेछन्। के यी मानिसहरूलाई शैतानले बन्दी बनाएको छैन र? (छ।) अनि के यस्ता मानिसहरू त्यसैको योग्य हुँदैनन् र? (हुन्छन्।) हामी किन तिनीहरू त्यसैको योग्य हुन्छन् भनेर भन्दै छौँ? परमेश्‍वर तैँले विश्‍वास गर्नुपर्ने एउटै उहाँ हुनुहुन्छ, त्यसैले तँ किन ख्रीष्टविरोधीहरूलाई आराधना गर्छस् र पछ्याउँछस्, र त्यसलाई किन हरमोडमा तँलाई बाँध्न र नियन्त्रण गर्न दिन्छस्? यसबाहेक, व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि, परमेश्‍वरको घरले मानिसहरूलाई स्पष्ट सिद्धान्त र नियमहरू उपलब्ध गराएको छ। यदि कुनै व्यक्तिले आफैँ हल गर्न नसक्ने कुनै कठिनाइ आइपर्‍यो भने, उसले सत्यता बुझ्ने कुनै मानिसबाट खोजी गर्नुपर्छ, र अझ गम्भीर मामिलाहरूमा माथिबाट खोजी गर्नुपर्छ। तर तैँले सत्यता खोजी नगर्ने मात्र नभई, उल्टै मानिसहरूलाई आराधना र आदर गर्छस्, यी ख्रीष्टविरोधीहरूले भनेको कुरा पत्याउँछस्। त्यसकारण तँ शैतानको नोकर बनेको छस्, र यसको दोषी तँ आफै होइनस् र? के तँ यसकै योग्य छैनस् र? आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनु ख्रीष्टविरोधीहरूमाझको साझा व्यवहार र प्रकटीकरण हो, र यो सबैभन्दा आम प्रकटीकरणहरूमध्येको एक हो। ख्रीष्टविरोधीहरूले कसरी आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन् भन्‍ने कुराको मुख्य विशेषता के हो? औसत व्यक्तिले कसरी आफूलाई उच्च पार्छ र आफूबारे गवाही दिन्छ भन्‍ने कुराभन्दा यो कसरी फरक छ? यसरी कि, यो कदमपछाडि ख्रीष्टविरोधीहरूका आफ्नै उद्देश्यहरू हुन्छन्, र तिनीहरूले यो अचेतन रूपमा बिलकुलै गरिरहेका हुँदैनन्। बरु, तिनीहरूले उद्देश्य, चाहना र महत्त्वाकाङ्क्षा पालिरहेका हुन्छन्, र तिनीहरूले यसरी आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनुका परिणामहरू यति भयानक छन् कि तीबारे मनन गर्न पनि गाह्रो छ—तिनीहरूले मानिसहरूलाई बहकाउन र नियन्त्रण गर्न सक्छन्।

म एउटा उदाहरण दिन्छु। तिमीहरू यस्तो खालको प्रकटीकरण र स्वभाव आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनुसँग सम्बन्धित छन् कि छैनन् भनेर सोच्न सक्छौ। एकपटक एउटा अगुवा थियो, जसले कुनै निश्‍चित ठाउँमा दुई वा तीन वर्ष मण्डलीको काम गरेको थियो। ऊ एकपछि अर्को मण्डलीमा भौँतारिएको थियो र अन्ततः उसले त्यहाँ आफ्नो जरा गाडेको थियो। उसले आफ्नो जरा गाडेको थियो भन्‍नुको अर्थ के हो? यसको अर्थ के हो भने, अधिकांश मानिसहरूले उसलाई चिन्थे र उसलाई उच्‍च सोच्थे, र ऊ त्यो ठाउँमा तुलनात्मक रूपले निकै प्रख्यात थियो। मानिसहरूले उसलाई देख्नेबित्तिकै उसलाई स्वागत गर्थे, उसको लागि आफ्नो सिट छाड्थे, र मीठो खानेकुरा दिन्थे। त्यहाँ विमति राख्‍ने कुनै आवाज थिएन, उसलाई विरोध गर्ने एक जना पनि थिएन; सबै जना त्यो अगुवासँग राम्ररी नै परिचित थिए, र तिनीहरूले भित्रैदेखि उसको काम गर्ने तरिकालाई अलिक अनुमोदन गर्थे र उसको नेतृत्व स्विकार्थे। उक्त अगुवाले त्यहाँ कति काम गर्‍यो, कति बोल्यो, वा केबारे बोल्यो भन्‍ने कुरा त ठ्याक्‍कै थाहा छैन; यी विवरणहरू अज्ञात छन्, तर छोटकरीमा भन्‍नुपर्दा, अधिकांश मानिसहरूले उसको नेतृत्व राम्रैसित स्विकार्थे। केही समय बितेपछि त्यो अगुवाले भन्यो: “यहाँका ब्रदर-सिस्टरहरू सबै आज्ञाकारी र समर्पणकारी छन्, र मण्डलीमा कामकुरा हरहिसाबमा राम्ररी चलिरहेका छन्। दुर्भाग्यवश, एउटा कुरा भने पूर्ण रूपमा सन्तोषजनक छैन, र त्यो के हो भने, यहाँको वातावरण नराम्रो छ। यदि वातावरण उपयुक्त भएको भए, हामीले कुनै राम्रो र घमाइलो दिन पारेर हजारौँ मानिसहरूको साथमा ठूलो भेला आयोजना गर्न एउटा विशाल पार्क जान पाउनेथ्यौँ, र माइक्रोफोन र एक जोडी ठूलो स्पिकरबाट हामीले सत्यता जारी गर्नेथ्यौँ, र अझ धेरै मानिसलाई परमेश्‍वरमाथिको विश्‍वासमा लिएर आउनेथ्यौँ। के त्यसपछि हाम्रो कामले फल फलाउनेथिएन र?” यो सुनेपछि सबैले “आमेन” भने र त्यसलाई स्विकारे। मलाई भन त, “हामीले सत्यता जारी गर्नेथ्यौँ” भन्‍ने वाक्यांशमा कुनै समस्या छ? (छ।) त्यो समस्या के हो? (त्यो अगुवाले आफूलाई परमेश्‍वरको रूपमा व्यवहार गर्दै थियो।) तिमीहरू सबैले यसमा समस्या छ भनेर चिन्यौ, तर त्यहाँका रनभुल्ल परेका मानिसहरूले चिनेनन्। तिनीहरूले यो वाक्यको उत्तर पनि “आमेन” भनेर दिए! के सत्यता यो अगुवाद्वारा जारी हुन्छ? ऊ को हो? ऊ एउटा साधारण अगुवा हो; उसले केही वर्ष काम गर्‍यो र त्यसपछि आफूलाई अरू हरेकभन्दा वरिष्ठ सोच्यो र आफू को हो भन्‍ने कुरा बिर्स्यो, र सत्यता व्यक्त गर्नसमेत चाह्यो—यो त उसको लागि धेरै ठूलो कार्य हुनेथ्यो। यसले के प्रमाणित गर्छ? यसले प्रमाणित गर्छ कि उसलाई आफू को हुँ भन्‍ने थाहै थिएन, र आफूले के कर्तव्य निर्वाह गरिरहेको छु भन्‍ने पनि थाहै थिएन। उसमा यस्तो स्वभाव भएकोले, के उसको सधैँजसोको काम र बोली सत्यतासँग मिल्ला त? उसको सधैँजसोको काम र बोली निश्‍चय नै भ्रामक र दुष्ट शब्दहरूले भरिएका हुन्छन्, र तिनले मण्डलीलाई भरणपोषण र मलजल गर्ने परिणाम बिलकुलै हासिल गर्न सक्दैनन्। ऊ सत्यता के हो भनेरसमेत जान्दैन, झन् सत्यता व्यक्त गर्नुको अर्थ के हो भनी जान्‍नु त टाढाको कुरा हो। केवल दुई वा तीन वर्ष कतै काम गरेपछि उसलाई आफूसँग केही प्रतिष्ठा र पूँजी छ भन्‍ने लाग्यो, र त्यसपछि उसले आफू को हुँ भन्‍ने बिर्सियो, आफूबारे निकै राम्रो महसुस गर्‍यो, र आफै सत्यता व्यक्त गर्न चाह्यो। के यस्तो गलत धारणा हुनु घिनलाग्दो कुरा होइन र? यो गलत धारणा कहाँबाट आउँछ? के उसमा कुनै मानसिक गडबडी थियो, कि त्यो एउटा क्षणिक आवेग थियो? उसले अलिकति काम गर्‍यो, स्थानीय मण्डलीमा कसैले पनि उसको विरोध गरेन, उसको लागि सबथोक सहज रूपमा चलिरहेजस्तो देखिन्थ्यो, त्यसैले उसले सबथोक आफूले गरेको कामको परिणाम हो भनेर विश्‍वास गर्‍यो, र एक्कासि त्यसको श्रेय आफूले लिन सक्छु भन्‍ने महसुस गर्‍यो। उसले सोच्यो, “यदि म यस्तो महत्त्वपूर्ण काम गर्न सक्छु भने, के म परमेश्‍वर होइन र? अनि यदि म परमेश्‍वर हुँ भने, मलाई अहिले निकै उकुसमुकुस भइरहेको छ—बाहिरी वातावरण योभन्दा राम्रो भएको भए, मैले सत्यता व्यक्त गर्न सक्थेँ!” उसको दिमागमा एक्कासि यो सोच आयो। के उसको दिमाग खराब छैन र? (छ।) उसको दिमाग खराब छ। के उसमा समझको कमी छैन र? के शैतानहरू र ख्रीष्टविरोधीहरूका कार्य र वचनहरूमा सामान्य मानवताको समझ हुन सक्छ र? बिलकुलै हुन सक्दैन। त्यो अगुवाले अलिकति काम गर्‍यो र केही नतिजा निकाल्यो, र त्यसपछि एक्कासि आफू मानव हुँ भन्‍ने बिर्सियो। के उसले त्यस्ता अनुचित वचनहरू ओकल्न सक्नु उसका स्वभावहरूसँग सम्बन्धित छैन र? (छ।) कसरी सम्बन्धित छ? उसका स्वभावहरूभित्र के ऊ अनुयायी बन्‍न इच्छुक छ? के उसलाई आफू परमेश्‍वरको एक साधारण अनुयायी मात्र हुँ भन्‍ने थाहा छ? उसलाई बिलकुलै थाहा छैन। उसले आफ्नो हैसियत र पहिचान अरूको भन्दा अत्यन्तै सम्मानजनक र श्रेष्ठ छ भन्‍ने विश्‍वास गर्छ। के तिमीहरू यसप्रकारको व्यवहार र त्यसको प्रकृतिसँग परिचित छैनौ र? शैतानलाई किन मध्य-हावामा फ्याँकियो? (ऊ परमेश्‍वरकै बराबरीमा रहन चाहन्थ्यो।) त्यसको कारण उसले परमेश्‍वरको बराबरीमा रहन चाहेको थियो। शैतानलाई ब्रह्माण्डमा आफ्नो स्थान थाहा नभएकोले, आफू को हुँ भन्‍ने थाहा नभएकोले, र आफ्नो हैसियत थाहा नभएकोले, परमेश्‍वरले त्यसलाई आफू हिँडिरहेको स्थानमै हिँड्न दिनुहुँदा, शैतानले आफूलाई नै परमेश्‍वर सोच्न थाल्यो। उसले परमेश्‍वरले गर्नुभएका काम नै गर्न, उसले उहाँको प्रतिनिधित्व गर्न, उहाँलाई प्रतिस्थापित गर्न, र उहाँको अस्तित्व इन्कार्न चाह्यो, र फलस्वरूप त्यसलाई मध्य-हावामा फ्याँकियो। ख्रीष्टविरोधीहरूले पनि यस्तै प्रकारका कार्य गर्छन्, तिनीहरूका कार्यको प्रकृति उही हुन्छ, अनि तिनीहरू र शैतानको स्रोत एउटै हुन्छ। ख्रीष्टविरोधीको हकमा, त्यस्तो प्रकटीकरण कहिलेकाहीँ हुने प्रकटीकरण वा लहडको परिणाम होइन—यो त पूर्णतया तिनीहरूको शैतानी प्रकृतिको प्रभुत्व र तिनीहरूको शैतानी स्वभावको प्राकृतिक प्रकटीकरण हो। मैले भर्खरै कुरा गरेको अगुवाको प्रकटीकरणको प्रकृति के हो? (यो ख्रीष्टविरोधीको प्रकृति हो।) हामी किन आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने विषयवस्तुको लागि यो प्रकटीकरण छलफल गरिरहेका छौँ? यो प्रकटीकरणको प्रकृति कसरी आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनुसँग सम्बन्धित छ? उसले बोलेको “सत्यता जारी गर्नु” भन्‍ने कुराको प्रकृति के थियो? म किन यो कुरा आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनुसँग सम्बन्धित छ भनेर भन्छु? (त्यो अगुवाले विश्‍वास गर्‍यो कि उसले मानिसहरूलाई सत्यता उपलब्ध गराउन सक्छ।) उसले भनेको कुराको मतलब यही थियो। उसले त्यस्ता कुराहरू भन्दा त्यो कुरा सुन्‍ने मानिसहरूले सोचे, “तपाईंको चालढाल निकै प्रभावशाली छ, र तपाईं यस्तो भावले बोल्न सक्नुहुन्छ—यो त परमेश्‍वरले बोल्नुपर्ने खालको भाव होइन र? के यो परमेश्‍वरमा हुनुपर्ने प्रभावशाली चालढाल र सोच होइन र?” के त्यस अगुवाले आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने उद्देश्य हासिल गरेको थिएन र? उसले अचेतन रूपमै मानिसहरूलाई आफूप्रति सम्मान, आराधना, र प्रशंसाको भाव विकास गर्ने तुल्याएको थियो। के त्यही भएको थिएन र? (थियो।) ख्रीष्टविरोधीको घिनलाग्दो रूप यही हो; यो ख्रीष्टविरोधीले गोप्य रूपमा आफूलाई उच्च पारेको र आफूबारे गवाही दिएको हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्