विषयवस्तु पन्ध्र: तिनीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, र तिनीहरूले ख्रीष्टको सारलाई इन्कार गर्छन् (भाग दुई) खण्ड चार

ग. ख्रीष्टविरोधीहरू ख्रीष्टको नम्रता र गुप्ततालाई कसरी लिन्छन्

ख्रीष्टविरोधीहरू ख्रीष्टको सामान्यता र व्यावहारिकतालाई कसरी लिन्छन् भन्‍ने कुरा विभिन्‍न तरिकाले प्रकट हुन्छ, र हामीले भर्खरै केही विशिष्ट उदाहरणहरू खुलासा गरेका छौँ। हामी यस पक्षबारे हाम्रो सङ्गति यहीँ टुङ्ग्याउनेछौँ। ख्रीष्टको अर्को पक्ष—उहाँको नम्रता र गुप्तता—का सन्दर्भमा ख्रीष्टविरोधीहरूले अझै पनि आफ्ना अद्वितीय स्वभाव सार देखाउँछन्, साथै तिनीहरूले ख्रीष्टको सामान्यता र व्यावहारिकताप्रतिको व्यवहारमा जस्तै उही सारगत प्रकटीकरण र दृष्टिकोणहरू राख्छन्। तिनीहरूले अझै पनि यी कुराहरू परमेश्‍वरबाट स्विकार्न, वा तिनलाई सकारात्मक कुराका रूपमा स्विकार्न सक्दैनन्, बरु तिनीहरूले तिनलाई तिरस्कार गर्छन्, तिनको उपहास र निन्दासमेत गर्छन्, र त्यसपछि तिनलाई इन्कार गर्छन्। यो तीन भागको शृङ्खला हो: सर्वप्रथम, तिनीहरूले नियाल्छन्, त्यसपछि निन्दा गर्छन्, र अन्त्यमा इन्कार गर्छन्। यी सबै ख्रीष्टविरोधीहरूका बानी परेका कार्यहरू हुन्; यो ख्रीष्टविरोधीहरूको सारद्वारा निर्धारित हुन्छ। नम्रता र गुप्तता भनेको के हो? यसको शाब्दिक अर्थ बुझ्न कठिन नहुनुपर्ने हो—यसको अर्थ देखावट गर्न मन नपराउनु, शान नदेखाउनु, ध्यान आकर्षित नगर्नु, र अज्ञात रहनु हो। यो देहधारी परमेश्‍वरको स्वभाव र परमेश्‍वरको अन्तर्निहित व्यक्तित्वसँग सम्बन्धित छ। देखिने कुराहरूका आधारमा भन्‍नुपर्दा, मानिसहरूलाई यो याद गर्न कठिन नहुनुपर्ने हो: ख्रीष्टसँग कुनै महत्त्वाकाङ्क्षा छैन, उहाँ शक्ति हत्याउने प्रयास गर्नुहुन्‍न, उहाँसित शक्तिको कुनै चाहना छैन, उहाँ मानिसहरूको हृदयलाई बन्दी बनाउनुहुन्‍न, न त उहाँले दिमाग पढ्ने कला नै अध्ययन गर्नुहुन्छ; ख्रीष्टले केवल सरल, सिधा, र प्रस्ट रूपमा बोल्नुहुन्छ, मानिसहरूका वास्तविक विचारहरू खुलाउन जासुसी शब्द वा चालहरू कहिल्यै प्रयोग गर्नुहुन्‍न। यदि मानिसहरूले केही भन्‍ने चाहना गर्छन् भने, तिनीहरूले भन्‍न सक्छन्; यदि चाहना गर्दैनन् भने, उहाँले तिनीहरूलाई जबरजस्ती गर्नुहुन्‍न। ख्रीष्टले मानिसहरूका भ्रष्ट स्वभाव र विभिन्‍न स्थितिहरू खुलासा गर्नुहुँदा, उहाँले सिधा रूपमा बोल्नुहुन्छ र तिनलाई प्रस्ट रूपमा औँल्याउनुहुन्छ; त्यसमाथि, कामकुरा सम्हाल्ने ख्रीष्टको तरिका अत्यन्तै सरल छ। मसँग अन्तरक्रिया गरिसकेकाहरूमा यो छाप परेको हुनुपर्छ, र यसो भन्‍ने गरेको हुनुपर्छ, “तपाईँ अलिक सिधा हुनुहुन्छ, संसारसँग व्यवहार गर्ने कुनै रणनीतिहरू विहीन हुनुहुन्छ। हैसियत हुँदा पनि, तपाईँले कुनै पनि समूहमा श्रेष्ठताको आभास गरेजस्तो देखिनुहुन्‍न।” यो भनाइ वास्तवमै सही हो; म चर्चाको विषय बन्‍नमा वा अरूसामु आफ्नो प्रसिद्धि बढाउनमा आनन्द लिँदिनँ। यदि मसँग साँच्चिकै यो हैसियत नभएको र परमेश्‍वरले मलाई गवाही नदिनुभएको भए, मेरो अन्तर्निहित व्यक्तित्व भनेको भिडहरूको पछाडि बस्नु, आफू देखिन नचाहनु, आफूसँग केही विशेष सीपहरू भए पनि अरूलाई थाहा दिन नचाहनु हो, किनकि यदि मानिसहरूले थाहा पाएमा, तिनीहरू मेरो पछि लागिरहनेछन्, जुन सम्हाल्न समस्या र कठिनाइ हुन्छ। त्यसकारण, म चाहे जहाँ गए नि, मानिसहरूले मेरो पछि लागिरहन थाल्नेबित्तिकै, म तिनीहरूलाई पठाउने उपायहरू खोज्छु, आवश्यक पर्दा मामलाहरूबारे छलफल गर्छु, र आवश्यक नपर्दा, तिनीहरूले जे गर्नुपर्ने हो त्यो गर्न तिनीहरूलाई तुरुन्तै आ-आफ्नो उचित ठाउँमा फिर्ता पठाउँछु। भ्रष्ट तुल्याइएका मानिसहरूलाई यो कुरा अबोध्य हुन्छ, “हामी मानवहरू तपाईँलाई कति धेरै प्रेम गर्छौँ र कति धेरै साथ दिन्छौँ! हामी तपाईँप्रति निकै मोहित छौँ! तपाईँ किन हाम्रो यो स्नेह स्विकार्नुहुन्‍न?” यो कस्तो कुरा हो? मैले जे भन्‍नुपर्ने हो तँलाई भनिसकेको छु, दिनुपर्ने निर्देशन दिइसकेको छु, त्यसकारण गएर आफ्नो काम गर्, मेरो वरपर नझुम्‍मी, म त्यसलाई भाउ दिन्नँ। मानिसहरू आफ्नो दृष्टिकोणमा यसो सोच्छन्, “परमेश्‍वर, यस्तो महान् काम गर्नुभएपछि, के तपाईँ प्रायः आत्मसन्तुष्ट पनि महसुस गर्नुहुन्‍न र? यतिका धेरै अनुयायीहरू भएपछि, के तपाईँलाई सधैँ श्रेष्ठता पनि महसुस हुँदैन र? के तपाईँलाई सधैँ विशेष व्यवहारको आनन्द उठाउने इच्छा हुँदैन र?” म भन्छु मैले कहिल्यै त्यस्तो महसुस गरेको छैन; म कहिल्यै यति धेरै अनुयायीहरू छन् भनेर सचेत हुँदिनँ, म श्रेष्ठता महसुस गर्दिनँ, र मलाई मेरो हैसियत कति उच्च छ भन्‍ने कुनै आभास हुँदैन। ल भन् त, यदि कुनै सामान्य व्यक्ति यस्तो पदमा भएको भए, ऊ दैनिक रूपमा साधारणतया कति उल्लसित हुन्थ्यो होला? के उसलाई के खाने वा के लाउने भनेर थाहै नहुने हुन्थेन र? दिनभरि उसको खुट्टा भुइँमै हुनेथिएन, होइन र? के ऊ सधैँ मानिसहरूले उसको पछि लागिरहून् भन्‍ने आशामा हुन्थेन र? (हुनेथ्यो।) विशेषगरी, केही क्षमता भएकाहरू सधैँ बैठकहरू राख्ने, र भाषणहरू दिँदा ध्यान र वाहवाहीको अनुभूतिमा रमाउने उपायहरू खोज्नेथिए, र यो मासु खानु र रक्सी पिउनुभन्दा बढी रमाइलो हुन्छ भनी सोच्नेथिए। मलाई अचम्म लाग्छ, मलाई किन त्यस्तो अनुभूति हुँदैन? मलाई किन त्यो राम्रो कुरा हो भन्‍ने अनुभूति हुँदैन? म किन त्यसलाई भाउ दिन्नँ? विश्‍वको साङ्गीतिक परिदृश्यमा, अलिकति क्षमता भएकाहरू, विशेषगरी गाउन र नाच्न सक्नेहरू देवी, देवता, सङ्गीतका राजा, सङ्गीतकी रानी, र सङ्गीतका पिता, माता, र हजुरबासमेत कहलिन्छन्। यी राम्रा उपाधिहरू होइनन्। त्यसमाथि, कतिपय मानिसहरू “साओ[क] वाङ” वा “साओ लि” भनेर बोलाइँदा, यसले तिनीहरूको वरिष्ठता घटाउँछ भन्‍ने सोचेर, असन्तुष्ट हुन्छन्, त्यसकारण तिनीहरूले आफ्नो वरिष्ठताको स्तर बदल्ने, भविष्यमा मानिसहरूले तिनीहरूलाई राजा वा रानी भनेर बोलाउन लगाउने उपायहरू खोज्छन्। यो भ्रष्ट तुल्याइएको मानवजाति हो। कतिपय मानिसहरू, परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, विश्‍वासीहरू गैरविश्‍वासी जतिकै धृष्ट हुनु हुँदैन, तिनीहरूलाई परमेश्‍वर, राजा, वा रानी भनेर बोलाइनु हुँदैन, तिनीहरू पृष्ठभूमिमा रहने र नम्र हुनुपर्छ भन्छन्। तिनीहरू आफूलाई सिधै नम्र भन्‍नु अलि तुच्छ हुने, यो पर्याप्त मात्रामा सानो वा निचो नभएको ठान्छन्, त्यसकारण तिनीहरूले आफूलाई अति सानो, सूक्ष्म, धूलो, जाबो भन्छन्, र कतिले त बालुवाको कण र अति सूक्ष्म कणिकासमेत भन्छन्। तिनीहरू सत्यतामा जोड दिँदैनन्, बरु तुच्छताबारे सोच्छन्, र साना झार, टुसा, र माटो, हिलो, गोबर, आदिसमेतका नामहरू राख्छन्। यी प्रत्येक नामहरू अघिल्लाभन्दा झन् अभद्र र तुच्छ हुन्छन्, तर के तिनले केही बदल्न सक्छन् र? म यस्ता नामका मानिसहरू पनि निकै अहङ्कारी, खराब, र कति त दुष्ट मानिसहरू समेत रहेको देख्छु। यस्ता नामले बोलाइनेहरू अझ साना र विनम्र बनेका हुँदैनन्, बरु धृष्ट, दुष्ट र दुर्भावपूर्ण नै रहन्छन्।

परमेश्‍वर पृथ्वीमा काम गर्न पहिलोपटक देहधारी बन्‍नुहुँदा, उहाँको काम सरल र छोटो थियो, तर मानवजातिको मुक्तिका लागि त्यो एक अपरिहार्य र महत्त्वपूर्ण कामको चरण थियो। तथापि, प्रभु येशूलाई क्रूसमा टाँगिएपछि, उहाँ जीवनमा फर्केर स्वर्गमा आरोहण गर्नुभयो, र मानवजातिसामु फेरि देखा पर्नुभएन। उहाँ किन मानवजातिसामु फेरि देखा पर्नुभएन? यो परमेश्‍वरको नम्रता र गुप्तता हो। सामान्य मानव तर्कअनुसार, परमेश्‍वर देह बन्‍नुभयो र साढे तेत्तिस वर्ष कष्ट भोग्नुभयो, मानवजातिको इन्कार, बदनामी, निन्दा, दुर्व्यवहार, आदि इत्यादि सहनुभयो, अनि क्रूसमा टाँगिएर जीवनमा फर्कनुभएपछि उहाँ आफ्नो विजय र महिमाका फलहरूको आनन्द उठाउन मानिसहरूमाझ फर्कनुपर्थ्यो। उहाँले थप साढे तेत्तिस वर्ष वा त्योभन्दा बढी जिउनुपर्थ्यो, र उहाँ मानवजातिबाट प्राप्त हुने आराधना र आदरपूर्ण हेराइ, साथै आफूले पाउनयोग्य हैसियत र व्यवहारमा रमाउनुपर्थ्यो। तर, परमेश्‍वरले त्यसो गर्नुभएन। कामको यस चरणमा, परमेश्‍वर कुनै समारोहबिना चुपचाप र मौन रूपमा आउनुभयो, र मानवले आफूसँग अलिकति क्षमता हुनेबित्तिकै आफ्नो उपस्थिति जमाउन खोज्ने मानिसहरूझैँ परमेश्‍वरले “म आएँ, म परमेश्‍वर स्वयम् हुँ!” भनेर उद्‌घोष गर्न चाहनुहुनेथिएन! परमेश्‍वरले आफ्ना लागि यस्तो एउटा शब्द पनि बोल्नुभएन बरु उहाँ एउटा गोठमा चुपचाप जन्मिनुभयो। परमेश्‍वरको आराधना गर्न आएका तीन बुद्धिमान् मानिसहरूबाहेक, प्रभु येशू ख्रीष्टको बाँकी जीवन कठिनाइ र कष्टले भरिएको थियो, जुन उहाँको क्रूसीकरणपछि मात्र समाप्त भयो। परमेश्‍वरले महिमा प्राप्त गर्नुभयो र मानिसका पापहरू क्षमा गर्नुभयो—त्यसको मतलब उहाँले मानवजातिको लागि एउटा महान् कार्य गर्नुभयो, किनकि उहाँले मानिसहरूलाई पापबाट र दुःखको सागरबाट उम्कन मदत गर्नुभयो, र उहाँ मानवजातिको उद्धारकर्ता हुनुहुन्छ। त्यसकारण, परमेश्‍वरले मानवजातिले गर्ने आराधना, प्रशंसा, र ढोगाइको आनन्द उठाउनुपर्थ्यो भन्‍नु तर्कसङ्गत नै हुन्छ। तर परमेश्‍वर आवाज नै ननिकाली, चुपचाप र मौन रूपमा बिदा हुनुभयो। विगत दुई हजार वर्षमा, परमेश्‍वरको काम सधैँ फैलिँदै आएको छ। यो फैलाइको प्रक्रिया कठिनाइ, रक्तपात, र सम्पूर्ण मानवजातिले गर्ने निन्दा र बदनामीले भरिएको छ। तर, परमेश्‍वरप्रति मानवजातिको मनोवृत्ति चाहे जे भए नि, उहाँले सत्यता व्यक्त गर्न जारी राख्नुभएको छ र मानिसलाई मुक्ति दिने उहाँको काम गर्न कहिल्यै छोड्‍नुभएको छैन। त्यसमाथि, यी दुई हजार वर्षको अवधिमा, परमेश्‍वरले आफ्नो उद्‌घोष गर्न, र प्रभु येशू उहाँको देहधारी देह हुनुहुन्छ र मानवजातिले उहाँलाई आराधना गर्नु र स्विकार्नुपर्छ भनेर बताउन कहिल्यै प्रस्ट वचनहरू प्रयोग गर्नुभएको छैन। परमेश्‍वरले केवल सबैभन्दा सरल विधि प्रयोग गर्नुहुन्छ, र स्वर्गको राज्यको सुसमाचार सबै देश र ठाउँहरूमा प्रचार गर्न आफ्ना सेवकहरूलाई पठाउनुहुन्छ, अझ धेरै मानिसहरूले पश्‍चात्ताप गर्ने, परमेश्‍वरसामु आउने, र उहाँको मुक्ति स्विकार्ने, र यसरी आफ्ना पापहरूका लागि क्षमा प्राप्त गर्ने तुल्याउनुहुन्छ। परमेश्‍वरले उहाँ नै आउँदै गरेको मसीह हुनुहुन्छ भनेर भन्नका लागि कहिल्यै कुनै अनावश्यक वचनहरू प्रयोग गर्नुभएको छैन; बरु, उहाँले तथ्यहरूमार्फत प्रमाणित गर्नुभएको छ कि उहाँले गर्नुभएको सारा काम परमेश्‍वर स्वयम्‌को काम हो, प्रभु येशूको मुक्ति परमेश्‍वर स्वयम्‌को मुक्ति हो, प्रभु येशूले सारा मानवजातिलाई छुटकारा दिनुभएको हो, र उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्छ। हालको देहधारणमा, परमेश्‍वर उस्तै शैली र स्वरूपमा मानिसहरूमाझ आउनुभएको छ। परमेश्‍वर देह बनेर आउनु भनेको मानवजातिका लागि ठूलो आशिष्, अत्यन्तै दुर्लभ अवसर, र त्योभन्दा पनि बढी, मानवजातिको सौभाग्य हो। तर परमेश्‍वर स्वयम्‌का लागि चाहिँ यसको अर्थ के हुन्छ त? यो सबैभन्दा पीडादायी कुरा हो। के तिमीहरूले यो कुरा बुझ्न सक्छौ? परमेश्‍वरको सार भनेको परमेश्‍वर हो। परमेश्‍वरको पहिचान भएका परमेश्‍वरसित अन्तर्निहित रूपमै अहङ्कार हुँदैन, बरु उहाँ विश्‍वासयोग्‍य, पवित्र, र धर्मी हुनुहुन्छ। मानवजातिमाझ आएर, उहाँले मानिसका विभिन्‍न भ्रष्ट स्वभावहरू सामना गर्नुपर्छ, यसको अर्थ उहाँ जसलाई मुक्ति दिने चाहना गर्नुहुन्छ ती सारा मानिसहरू उहाँलाई घृणित र घिनलाग्दा लाग्नेहरू हुन्। परमेश्‍वरसित अहङ्कारी स्वभाव, दुष्टता र छलीपन हुँदैन, उहाँ सकारात्मक कुराहरूलाई प्रेम गर्नुहुन्छ, उहाँ धर्मी र पवित्र हुनुहुन्छ, तर उहाँले जे सामना गर्नुहुन्छ, ठ्याक्कै भन्‍नुपर्दा त्यो उहाँको सारको विपरीत र विरोधी मानिसहरूको एउटा समूह हुन्छ। परमेश्‍वरले सबैभन्दा बढी के दिनुहुन्छ? उहाँको प्रेम, धैर्यता, कृपा, र सहनशीलता। परमेश्‍वरको प्रेम, कृपा, र सहनशीलता उहाँका नम्रता र गुप्तता हुन्। भ्रष्ट मानवजातिले यसो सोच्छ, “परमेश्‍वरले यस्तो महान् काम गर्नुहुन्छ, यस्तो ठूलो महिमा प्राप्त गर्नुहुन्छ, र उहाँ यति धेरै कुराहरूमाथि सार्वभौम हुनुहुन्छ, त्यसोभए उहाँले किन आफ्नो घोषणा वा उद्‌घोष गर्नुहुन्‍न त?” मानिसहरूका लागि, यो चुट्की बजाउनुझैँ सजिलो देखिन्छ; तिनीहरूले कुनै असल कार्य गर्दा तिनीहरूले त्यसको दश गुणा बढाइचढाइ गर्छन्, अलिकति असल काम गर्दा पनि तिनीहरूले त्यसलाई दुईतीन गुणा बढाएर भन्छन्, र त्यसलाई असीमित रूपमा ठूलो बनाउँछन्, र जति विस्तृतताका साथ त्यसो गरियो त्यति राम्रो हो भन्‍ने सोच्छन्। तर यी कुराहरू परमेश्‍वरको सारमा छैनन्। परमेश्‍वरले चाहे जे गर्नुभए पनि, त्यसमा मान्छेका कुनै पनि तथाकथित “लेनदेनहरू” हुँदैन; परमेश्‍वर कुनै पनि कुरा लिन चाहनुहुन्न, उहाँ मानिसहरूले भन्‍ने गरेको “पारिश्रमिक खोज्ने” काम गर्नुहुन्‍न। परमेश्‍वरलाई भ्रष्ट मानवजातिलाई जस्तो हैसियतको चाहना छैन, उहाँ यसो भन्‍नुहुन्‍न, “म परमेश्‍वर हुँ; म जे चाहन्छु त्यही गर्छु, र मैले जे गरे पनि, तिमीहरूले मेरो असलपन सम्झनैपर्छ, मैले गर्ने कामकुरालाई हृदयमा लिएर सधैँ मलाई सम्झनैपर्छ।” परमेश्‍वरसँग ठ्याक्कै यसप्रकारको सारको अभाव हुन्छ; उहाँमा कुनै महत्त्वाकाङ्क्षा हुँदैन, उहाँमा भ्रष्ट मानवजातिको अहङ्कारी स्वभाव हुँदैन, र उहाँ आफ्नो उद्‌घोष गर्नुहुन्‍न। कतिपयले भन्छन्, “यदि तपाईँले आफ्नो उद्‌घोष गर्नुहुन्‍न भने, मानिसहरूले तपाईँ परमेश्‍वर हुनुहुन्छ भनेर कसरी थाहा पाउन सक्छन्? तिनीहरूले तपाईँसँग परमेश्‍वरको हैसियत छ भनेर कसरी देख्न सक्छन्?” यो आवश्यक छैन; परमेश्‍वरको सारले हासिल गर्न सक्ने कुरा नै यही हो। परमेश्‍वरसित परमेश्‍वरको सार हुन्छ; उहाँ जतिसुकै नम्र र गोप्य हुनुभए पनि, उहाँले जति नै गोप्य तरिकाले काम गर्नुभए पनि, मानवजातिलाई उहाँले चाहे जसरी कृपा र सहनशीलता देखाउनुभए पनि, मानिसहरूमाथि उहाँका वचन, काम, कार्य, आदि इत्यादिको अन्तिम प्रभाव भनेको निश्‍चय नै सृजित प्राणीहरूले सृष्टिकर्ताको सार्वभौमिकता स्विकार्नु, सृष्टिकर्तासामु झुक्‍नु र उहाँको आराधना गर्नु, साथै तिनीहरू स्वेच्छाले सृष्टिकर्ताको सार्वभौमिकता र प्रबन्धहरूप्रति समर्पित हुनु हो। यो परमेश्‍वरको सारद्वारा निर्धारित हुन्छ। अनि ख्रीष्टविरोधीहरूले हासिल गर्न नसक्ने कुरा पनि ठ्याक्कै यही हो। तिनीहरूमा महत्त्वाकाङ्क्षा र चाहनाहरू, साथै अहङ्कारी, क्रूर, र दुष्ट स्वभावहरू हुन्छन्, तिनीहरूसँग सत्यता हुँदैन, तैपनि तिनीहरू मानिसहरूलाई कब्जा र नियन्त्रण गर्न, अनि तिनीहरूमा समर्पित हुन र तिनीहरूको आराधना गर्न लगाउन चाहन्छन्। ख्रीष्टविरोधीहरूको सारका आधारमा मूल्याङ्कन गर्दा, के तिनीहरू दुष्ट छैनन् र? ख्रीष्टविरोधीहरू परमेश्‍वरसित उहाँका चुनिएका मानिसहरूका लागि प्रतिस्पर्धा गर्छन्, तर के परमेश्‍वरले तिनीहरूसित प्रतिस्पर्धा गर्नुहुन्छ र? के परमेश्‍वरमा यस्तो सार छ र? के परमेश्‍वरले प्रतिस्पर्धा गरेर सृजित प्राणीहरूको आराधना र समर्पण प्राप्त गर्नुहुन्छ र? (गर्नुहुन्‍न।) उहाँले त्यो कसरी प्राप्त गर्नुहुन्छ त? सृजित प्राणीहरू परमेश्‍वरद्वारा बनाइएका हुन्; मानवजातिलाई के चाहिन्छ, उसमा के हुनुपर्छ, र मानवजाति कसरी जिउनुपर्छ भनेर सृष्टिकर्तालाई मात्र थाहा हुन्छ। उदाहरणका लागि, मानौँ कुनै व्यक्तिले एउटा मेसिन बनाउँछ रे। त्यसका खोट र त्रुटिहरू, अनि त्यसलाई सुल्झाउने तरिका त्यो आविष्कारकलाई मात्र थाहा हुन्छ, त्यो मेसिनको नक्कल बनाउने जोसुकैलाई थाहा हुँदैन। यसैगरी, मानवजातिलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो; मानिसहरूलाई के चाहिन्छ भनेर परमेश्‍वरलाई मात्र थाहा हुन्छ, परमेश्‍वरले मात्र मानवजातिलाई मुक्ति दिन सक्नुहुन्छ, र परमेश्‍वरले मात्र भ्रष्ट तुल्याइएका मानवलाई साँचो मानवमा रूपान्तरित गर्न सक्नुहुन्छ। परमेश्‍वरले यो सबै उहाँको अख्तियारद्वारा गर्नुहुन्न, स्वघोषणाद्वारा, स्वस्पष्टीकरणद्वारा, वा मानिसहरूलाई दमन गरेर, भ्रममा पारेर, वा नियन्त्रणमा राखेर गर्नुहुन्‍न; परमेश्‍वरले यी उपाय र विधिहरू प्रयोग गर्नुहुन्‍न, यी त शैतान र ख्रीष्टविरोधीहरूले मात्र प्रयोग गर्छन्।

यति धेरै सङ्गतिपछि, परमेश्‍वरको नम्रता र गुप्तताबारे तिमीहरूले के बुझेका छौ? परमेश्‍वरको नम्रता र गुप्तता भनेको के हो? के गुप्तता भनेको उहाँको पहिचान जानाजानी लुकाउनु, उहाँको सार जानाजान लुकाउनु र साँचो परिस्थिति जानाजान लुकाउनु हो? (होइन।) के नम्रता कृत्रिम रूपले स्वाङ पारिने कुरा हो? के यो आत्मसंयम हो? के यो ढोँग हो? (होइन।) कति मानिसहरू भन्छन्, “तपाईँ देहधारी परमेश्‍वर हुनुहुन्छ, यस्तो आदर्शवान्‌ हैसियत भएको व्यक्तिले कसरी यति साधारण कपडाहरू लाउन मिल्छ?” म भन्छु, म एक साधारण जीवन जिइरहेको, साधारण व्यक्ति मात्र हुँ; मेरो सबथोक साधारण छ, त्यसकारण मैले किन साधारण कपडाहरू लाउन मिल्दैन? कतिपयले यसो भन्छन्, “तपाईँ ख्रीष्ट, देहधारी परमेश्‍वर हुनुहुन्छ। तपाईँको हैसियत आदर्शवान्‌ छ—आफ्नो अवमूल्यन नगर्नुस्।” म भन्छु, कस्तो अवमूल्यन? म आफूलाई अधिमूल्यन वा अवमूल्यन गर्दिनँ; म जो हुँ त्यही हुँ, मैले जे गर्नुपर्ने हो म त्यही गर्छु, र मैले भन्‍नुपर्ने जे हो त्यही भन्छु—त्यसमा के गलत छ र? न त अधिमूल्यन न अवमूल्यन गर्नु नै सही हो; अधिमूल्यन गर्नु भनेको अहङ्कार हो, अवमूल्यन गर्नु भनेको ढोँग र छल हो। कतिपयले यसो भन्छन्, “देहधारी परमेश्‍वरको हाउभाउ त कुनै सेलिब्रेटीको जस्तो हुनुपर्छ, र तपाईँको बोली र व्यवहार सुरुचिपूर्ण हुनुपर्छ। समाजका शक्तिशाली महिलाहरूका कपाल, पहिरन, र मेकअप हेर्नुस् त, हैसियत भएका मानिसहरू तिनै हुन्, मानिसहरूले उच्च मान्ने तिनीहरूलाई नै हो!” म भन्छु, हैसियत भनेको के हो? मानिसहरूले मलाई उच्च माने पनि या नमाने पनि के फरक पर्छ र? मलाई यसको कुनै मतलब छैन; यदि तैँले मलाई उच्च मान्छस् भने, मलाई घिन र वाकवाकी लाग्छ। तैँले मलाई कदापि उच्च मान्नु हुँदैन। अरूले यसो भन्छन्, “समाजका ती महिला उद्यमीहरूलाई हेर्नुस् त, उनीहरू अत्यन्तै कुलीन र सुशिष्ट पहिरन लगाउँछन्। झट्ट हेर्दै, उनीहरू शक्तिशाली र कुलीन व्यक्तित्वहरू हुन् भन्‍ने देखिन्छ—तपाईँ किन उनीहरूबाट सिक्नुहुन्‍न?” मैले किन मलाई मनै नपर्ने कुरा सिक्ने? म मेरो उमेर सुहाउँदो कपडा लगाउँछु, मैले किन नौटङ्की गर्ने? मैले किन अरूबाट सिक्‍ने? म म नै हुँ, मैले कसको लागि नौटङ्की गर्ने? के त्यो छल होइन र? ल भन् त, देहधारी परमेश्‍वरको पहिचानसँग मिल्नका लागि उहाँको रूप, हुलिया, बोली, र व्यवहार कस्तो हुनुपर्छ? के तिमीहरूसित यसका मानकहरू छन्? तिमीहरूसँग पक्‍कै हुनुपर्छ, नत्र त तिमीहरूले ख्रीष्टलाई यसरी हेर्नेथिएनौ। मसित मेरा मानकहरू छन्—के मेरा मानकहरू सत्यता सिद्धान्तहरूको दायराभन्दा बाहिर जान्छन्? (जाँदैनन्।) किन केही मानिसहरू म के लगाउँछु वा के खान्छु भन्‍नेबारे सधैँ धारणाहरू राख्छन्, मेरो बारे निरन्तर निर्क्योल गर्छन् र फैसला गर्छन्—के त्यो घिनलाग्दो कुरा होइन र? किन तिनीहरू मलाई यस तरिकाले हेर्छन्? तिनीहरूका नजरमा, ख्रीष्टले जे गर्नुहुन्छ त्यो गलत हुन्छ, त्यो सबै नकारात्मक हुन्छ, त्यसमा सधैँ केही न केही गडबड भइरहेको हुन्छ। तिनीहरू कति दुष्ट होलान् त! यी विभिन्‍न पहिचानहरू, र परमेश्‍वरका विभिन्‍न दृष्टिकोणहरूबाट—परमेश्‍वरको आत्मा, परमेश्‍वर स्वयम्‌को सारदेखि, देहधारी परमेश्‍वरको मानवतासम्म—मूल्याङ्कन गर्दा, परमेश्‍वरको सारभित्र कुनै अहङ्कार वा कुनै शैतानी महत्त्वाकाङ्क्षा र चाहना छैन, र त्यसमा मान्छेको तथाकथित हैसियतप्रतिको हुटहुटी त झनै छैन। परमेश्‍वर स्वयम्‌को सारबाहेक, परमेश्‍वरसित जे छ, चाहे यो परमेश्‍वरको आत्मा होस् वा उहाँको देहधारी देह, यसको सबैभन्दा प्रमुख विशेषता भनेको उहाँको नम्रता र गुप्तता हो। यो नम्रता नक्कली होइन, यो गुप्तता जानाजानी तर्किनु होइन; यो परमेश्‍वरको सार हो, यो परमेश्‍वर स्वयम् हो। चाहे परमेश्‍वर आत्मिक क्षेत्रमा हुनुहोस् वा मानव रूपमा देहधारी हुनुहोस्, उहाँको सार बदलिँदैन। यदि कसैले यसको आधारमा देहधारी ख्रीष्टसँग परमेश्‍वरको सार छ भन्ने देख्न सक्दैन भने, ऊ कस्तो प्रकारको व्यक्ति हो? ऊ आत्मिक बुझाइ नभएको, एक अविश्‍वासी हो। मानिसहरूले परमेश्‍वरको नम्रता र गुप्तताको सार हेरेमा, तिनीहरूले सोच्छन्: “परमेश्‍वरसित त्यस्तो ठूलो अख्तियार छजस्तो देखिँदैन। परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ भनेर भन्‍नु त्यति विश्‍वसनीय देखिँदैन, परमेश्‍वर शक्तिमान्‌ हुनुहुन्छ भन्‍नुचाहिँ बढी उचित हुन्छ। उहाँसँग त्यति ठूलो अख्तियार नभएकोले, उहाँले कसरी मानवजातिमाथि सार्वभौमिकता राख्न सक्नुहुन्छ? उहाँले कहिल्यै परमेश्‍वरको हैसियत र पहिचान नदेखाउनुहुने हुनाले, के उहाँले शैतानलाई पराजित गर्न सक्नुहुन्छ? परमेश्‍वरसित बुद्धि छ भनिन्छ—के बुद्धिले नै सबथोक निर्क्योल गर्न सक्छ? कुनचाहिँ ठूलो हो, बुद्धि कि सर्वशक्तिमान्‌ता? के बुद्धिले सर्वशक्तिमान्‌तालाई डगमगाउन सक्छ? के बुद्धिले सर्वशक्तिमान्‌तामाथि प्रभाव पार्न सक्छ?” मानिसहरू यसबारे मनन गर्छन् तर यसलाई छर्लङ्ग देख्न वा यसलाई बुझ्न सक्दैनन्। कतिपय मानिसहरूले हृदयमा केही शङ्काहरू पाल्छन्, तर त्यसपछि तिनलाई बिस्तारै पचाउँछन्, निरन्तर खोजी गरिरहन्छन् र आफ्ना अनुभवहरूमार्फत यो मामला बुझ्ने कोसिस गरिरहन्छन्, अनि तिनीहरूले अनजानमा केही अनुभूतिजनक ज्ञान हासिल गर्छन्। ख्रीष्टविरोधीहरूले मात्र परमेश्‍वरको सारका यी सारा पक्षहरू, यी सारा प्रकटीकरणहरू, र उहाँका सबै कार्यहरूबारे शङ्का गरेपछि, यो परमेश्‍वरको नम्रता र गुप्तता हो, परमेश्‍वरको प्रेमिलो कुरा यही हो, भन्‍ने कुरा नबुझ्ने मात्र नभई, उल्टै परमेश्‍वरबारे थप शङ्का गर्ने र परमेश्‍वरलाई अझ गम्भीर निन्दा गर्ने गर्छन्। तिनीहरूले सबथोकमाथि परमेश्‍वरको सार्वभौमिकता छ, परमेश्‍वरले शैतानलाई पराजित गर्न सक्नुहुन्छ, परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन सक्नुहुन्छ, र परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजना सफलतापूर्वक पूरा हुन सक्छ भन्‍ने कुरामा शङ्का गर्छन्, र त्यो भन्दा पनि बढी, तिनीहरूले परमेश्‍वर उहाँको महिमासाथ असङ्ख्य मानिसहरूसामु प्रकट हुनुहुनेछ भन्‍ने कुरामा शङ्का गर्छन्। यी कुराहरूबारे शङ्का गरेपछि, तिनीहरूले के गर्छन् त? तिनीहरूले यी कुराहरू इन्कार गर्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरू भन्‍ने गर्छन्, “ख्रीष्टको नम्रता र गुप्तताको कुनै अर्थ छैन, ती प्रशंसा वा गुणगान गर्न लायक छैनन्, र ती परमेश्‍वरको सार होइनन्। यस्ता नम्रता र गुप्तता परमेश्‍वरसँग हुने कुराहरू होइनन्; ख्रीष्टका नम्रता र गोप्यता उनको अयोग्यताका प्रकटीकरणहरू हुन्। संसारमा, यदि कोहीसँग अलिकति हैसियत भएसम्म, उसलाई राजा, अमिर, वा सम्राट् घोषित गरिन्छ। ख्रीष्टले उनको राज्य स्थापित गरेका छन् र उनीसँग अत्यन्तै धेरै अनुयायीहरू छन्, र सँगसँगै सुसमाचारको काम तीव्र गतिमा फैलिरहेको छ—के यसको अर्थ ख्रीष्टको शक्ति बढ्दो छ भन्‍ने होइन र? तर उनका कार्यहरूका आधारमा मूल्याङ्कन गर्दा, उनी आफ्नो शक्ति बढाउन, वा यस्तो शक्ति धारण गर्न चाहँदैनन्। यस्तो लाग्छ, मानौँ उनीसँग यो शक्ति धारण गर्ने, ख्रीष्टको राज्य धारण गर्ने क्षमता नै छैन। त्यसैले, के मैले उनलाई पछ्याएर आशिष्‌हरू प्राप्त गर्न सक्छु त? के म अबको युगको मालिक बन्‍न सक्छु त? के म असङ्ख्य देश र मानिसहरूमाथि शासन गर्न सक्छु त? के उनले यो पुरानो संसार, यो भ्रष्ट मानवजातिलाई नष्ट गर्न सक्छन् त? ख्रीष्टको साधारण हुलिया हेर्दा, उनले कसरी महान् काम हासिल गर्न सक्छन् त?” ख्रीष्टविरोधीहरूको हृदयमा यस्ता शङ्काहरू सधैँ उब्जिरहन्छन्। ख्रीष्टको नम्रता र गुप्तता त्यस्ता कुराहरू हुन् जुन सारा भ्रष्ट तुल्याइएका मानिसहरूले, विशेषगरी ख्रीष्टविरोधीहरूले, स्विकार्न, अनुमोदन गर्न, वा देख्न सक्दैनन्; ख्रीष्टविरोधीहरूले परमेश्‍वरको नम्रता र गोप्यतालाई परमेश्‍वरको पहिचान र सारबारे तिनीहरूले गर्ने शङ्काको प्रमाणका रूपमा, परमेश्‍वरको अख्तियार इन्कार्ने प्रमाण र गलचेपका रूपमा लिन्छन्, यसरी तिनीहरूले परमेश्‍वरको पहिचान र सार, अनि ख्रीष्टको सार इन्कार्छन्। ख्रीष्टको सार इन्कारेपछि, ख्रीष्टविरोधीहरूले आफ्नो क्षेत्राधिकारभित्रका परमेश्‍वरका चुनिएका मानिसहरूविरुद्ध कुनै कृपा, उदारता, र डरबिना कार्य गर्न थाल्छन्, तर साथसाथै तिनीहरूले आफ्ना क्षमता, सीप, वा महत्त्वाकाङ्क्षाहरूलाई कति पनि इन्कार वा शङ्का गर्दैनन्। तिनीहरूको प्रभावको दायराभित्र, तिनीहरूले कार्य गर्न सक्ने दायराभित्र, ख्रीष्टविरोधीहरूले आफ्ना पन्जाहरू फिँजाउँछन्, आफूले नियन्त्रण गर्न सक्नेहरूलाई नियन्त्रण गर्छन्, र बहकाउन सकिनेहरूलाई बहकाउँछन्; तिनीहरूले ख्रीष्ट र परमेश्‍वरलाई पूरै बेवास्ता गर्छन्, र परमेश्‍वर, ख्रीष्ट, र परमेश्‍वरको घरसँगको आफ्नो सम्बन्ध पूर्ण रूपमा विच्छेद गर्छन्।

ख्रीष्टविरोधीहरूले ख्रीष्टको नम्रता र गुप्ततालाई कसरी लिन्छन् भन्‍ने यो विषयवस्तु सम्बन्धमा हामी मूलतः केबारे सङ्गति गरिरहेका छौँ? मानिसहरूले बुझ्नुपर्ने—परमेश्‍वरको नम्रता र गुप्तता—ख्रीष्टविरोधीहरूका नजरमा तिनीहरूले गर्न चाहेको मनपरी कामकुरा गर्न र परमेश्‍वरको घरमा स्वतन्त्र राज्य स्थापित गर्नका लागि सबैभन्दा लाभदायक अवस्थाहरू हुन्। परमेश्‍वर देहमा लुक्नुभएको हुन्छ, र आखिरी दिनहरूको कामको यो चरण रूपमा अनुग्रहको युगको भन्दा फरक छ। परमेश्‍वरले यो चरणमा चमत्कार र अचम्मका कामहरू नगर्नुभए पनि, उहाँले योभन्दा अत्यन्तै धेरै वचनहरू, अनगिन्ती धेरै वचनहरू बोल्नुभएको छ। परमेश्‍वरले चाहे जसरी काम गर्नुभए पनि, उहाँ देहधारी रहुन्जेल, उहाँले आफ्नो काम गर्दा त्योसँगै ठूलो अपमान पनि आउँछ। ईश्‍वरीय सार भएको यस्तो परमेश्‍वरले मात्र, साधारण व्यक्ति बनेर आफ्नो काम गर्न, साँच्चिकै आफूलाई नम्र र गुप्त राख्न सक्नुहुन्छ, किनकि उहाँसित नम्रता र गुप्तताको सार हुन्छ। तर यसविपरीत, शैतानले किमार्थ यसो गर्न सक्दैन। शैतानले मानिसहरूमाझ काम गर्न कस्तो देह धारण गर्नेथियो? सर्वप्रथम त, त्यसको हुलिया भव्य हुनेथियो, र त्यो क्रूर, छली, र दुष्ट हुनेथियो; त्यसपछि, मानिसहरूसित खेलबाड र चालबाजी गर्न विभिन्‍न रणनीति र विधिहरू, साथै विभिन्‍न छलपूर्ण चालहरूमा त्यो निपुण हुनुपर्छ, र त्यो पर्याप्त मात्रामा निर्दयी र दुर्भावपूर्ण हुनुपर्छ। त्यो लगातार मानिसहरूमाझ देखिनुपर्छ, र कसैले त्यसलाई नचिन्ला कि भन्‍ने डरले चारैतिर चर्चामा रहनुपर्छ, र त्यसले सधैँ आफ्नो प्रसिद्धि बढाउने र आफूलाई प्रवर्द्धन गर्ने कोसिस गर्नुपर्छ। जब मानिसहरूले अन्ततः त्यसलाई राजा वा सम्राट् भन्छन्, तब त्यो सन्तुष्ट हुनेछ। परमेश्‍वरले शैतानको ठ्याक्कै उल्टो गर्नुहुन्छ। परमेश्‍वर धैर्यता अभ्यास गरिरहनुहुन्छ र लुकिरहनुहुन्छ, र यसो गर्दै गर्दा, उहाँले सृष्टिकर्ताको कृपा र प्रेमिलो दयालुपन प्रयोग गरेर मानिसहरूमा उहाँका वचनहरू र उहाँको जीवन ढाल्नुहुन्छ, ताकि मानिसहरूले सत्यता बुझ्न, मुक्ति पाउन सकून्, र ताकि तिनीहरू सामान्य मानवता र सामान्य मानव जीवनसहितका साँचो सृजित प्राणी बनून्। परमेश्‍वरले जे गर्नुहुन्छ मानवजातिका लागि त्यो अमूल्य भए पनि, परमेश्‍वरले त्यसलाई आफ्नै जिम्मेवारी मान्‍नुहुन्छ। त्यसकारण, उहाँ आफै देह बन्‍नुभयो र उहाँले एक आमा वा बुबाले झैँ अथक रूपमा मानिसहरूलाई आपूर्ति गर्ने, मदत गर्ने, साथ दिने, अन्तर्दृष्टि दिने, र ज्योति दिने गर्नुहुन्छ। अनि अवश्य नै, उहाँले मानिसहरूलाई सजाय दिने, न्याय गर्ने, र ताडना दिने, र अनुशासनमा राख्ने पनि गर्नुहुन्छ, र यसरी तिनीहरू दिनप्रतिदिन परिवर्तन भएको, तिनीहरूले दिनप्रतिदिन सामान्य मण्डली जीवन जिएको, र दिनप्रतिदिन तिनीहरू जीवनमा बढेको हेर्नुहुन्छ। तसर्थ, परमेश्‍वरले जे गर्नुहुन्छ त्यो सबै, सकारात्मक कुराहरूको वास्तविकता हो। मानवजातिमाझ, मानिसहरू परमेश्‍वरले चुकाउनुभएको मूल्य, उहाँको महान् शक्ति, र उहाँको महिमाको प्रशंसा गर्छन्, तर परमेश्‍वरका वचनहरूमा, उहाँले मानिसहरूलाई कहिलेचाहिँ “मैले मानवजातिका लागि यो र त्यो गरेको छु, मैले धेरै त्याग गरेको छु; मानिसहरूले मेरो प्रशंसा र गुणगान गर्नैपर्छ” भनेर भन्‍नुभएको छ र? के परमेश्‍वरले मानवजातिबाट यस्ता मागहरू गर्नुहुन्छ? गर्नुहुन्न। यो परमेश्‍वर स्वयम् हुनुहुन्छ। परमेश्‍वरले मानिसहरूसित लेनदेन गर्न यसो भन्दै, कहिल्यै सर्तहरू प्रयोग गर्नुभएको छैन, “मैले ख्रीष्टलाई तिमीहरूमाझ राखेको छु, तिमीहरूले उहाँलाई राम्रो व्यवहार गर्नुपर्छ, उहाँका वचनहरू सुन्‍नुपर्छ, उहाँमा समर्पित हुनुपर्छ, र उहाँलाई पछ्याउनुपर्छ। तिमीहरूले बाधा वा अवरोधहरू सिर्जना नगर्नू, उहाँले तिमीहरूलाई जे गर्न भन्‍नुहुन्छ त्यही गर्नू, जसरी गर्न भन्‍नुहुन्छ त्यसरी नै गर्नू, अनि जब सबथोक सम्पन्‍न हुन्छ, तब तिमीहरू सबैले श्रेय पाउनेछौ।” के परमेश्‍वरले कहिल्यै यस्तो कुरा भन्‍नुभएको छ र? के परमेश्‍वरको अभिप्राय यही हो र? होइन। बरु यसको उल्टो, मानिसहरूलाई प्रलोभन, बन्धन, र नियन्त्रणमा पार्न र मानिसहरूको सबथोकको मालिक बन्‍न, र मानिसहरूलाई परमेश्‍वर छोडेर आफूसामु आउने तुल्याउन, सधैँ विभिन्न माध्यमहरू उपयोग गर्न खोज्ने त ख्रीष्टविरोधीहरू हुन्। आफूले केही सानो कृत्य गर्नेबित्तिकै चारैतिर उद्‌घोष र घोषणा गर्ने ख्रीष्टविरोधीहरू हुन्। ख्रीष्टविरोधीहरूले परमेश्‍वरको नम्रता र गुप्ततालाई बुझ्न, स्विकार्न, प्रशंसा गर्न, वा त्यसको गुणगान गर्न नसक्ने मात्र होइन, उल्टै तिनीहरूले यी कुराहरूको तिरस्कार र ईशनिन्दासमेत गर्छन्। यो ख्रीष्टविरोधीहरूको स्वभाव सारद्वारा निर्धारित हुन्छ।

आज हामीले ख्रीष्टविरोधीहरूले कसरी ख्रीष्टको सार इन्कार गर्छन् भन्‍ने कुराका तीनवटा प्रकटीकरणहरूबारे सङ्गति गरेका छौँ। यसबारे हाम्रो सङ्गति यहीँ टुङ्ग्याऔँ। के तिमीहरूसँग केही प्रश्नहरू छन्? (छैन।) त्यसोभए ठिक छ, अलबिदा!

नोभेम्बर २१, २०२०

फूटनोटहरू:

क. चिनियाँभाषीहरूले आफूभन्दा सानो व्यक्तिको थरअगाडि “साओ” राख्छन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्