विषयवस्तु पन्ध्र: तिनीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, र तिनीहरूले ख्रीष्टको सारलाई इन्कार गर्छन् (भाग दुई) खण्ड तीन

ख. ख्रीष्टविरोधीहरू ख्रीष्टको सामान्यता र व्यावहारिकतालाई कसरी लिन्छन्

हामीले भर्खरै, ख्रीष्टविरोधीहरूले ख्रीष्टको सार इन्कार गर्नुको पहिलो प्रकटीकरण, जुन ख्रीष्टविरोधीहरूले ख्रीष्टको उत्पत्तिलाई कसरी लिन्छन्, तिनीहरूले कस्ता विचार र बुझाइहरू पाल्छन्, र तिनीहरूले कस्ता कार्यहरू गर्छन् भन्‍नेबारे सङ्गति र चिरफार गर्‍यौँ। हामीले ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणहरू चिरफार गर्‍यौँ, ताकि यस्ता मानिसहरूको सार पहिचान गर्न सकियोस्। ख्रीष्टको अर्को पक्ष—उहाँको सामान्यता र व्यावहारिकता सम्बन्धमा, ख्रीष्टविरोधीहरूले कस्ता विचारहरू बोक्छन्, कस्ता कार्यहरू गर्छन्, र कस्ता स्वभाव र सारहरू देखाउँछन्? अब, हामी ख्रीष्टविरोधीहरूले ख्रीष्टको सार इन्कार गर्नुको दोस्रो प्रकटीकरण चिरफार गर्नेछौँ, त्यो हो: ख्रीष्टविरोधीहरू ख्रीष्टको सामान्यता र व्यावहारिकतालाई कसरी लिन्छन्। सामान्यता र व्यावहारिकताको कुरा आउँदा, धेरैजसो मानिसहरूसित निश्‍चित विचार र बुझाइहरू हुनुपर्छ। उदाहरणका लागि, तीन दिनसम्म पानी नपिउँदा वा खाना नखाँदा पनि भोक वा तिर्खा नलाग्नु, बरु वास्तवमै शारीरिक रूपमा पहिलेभन्दा झन् बलियो र ऊर्जाशील महसुस हुनु—के यो सामान्यता र व्यावहारिकतामा पर्छ? सामान्य मानिसहरू चार-पाँच किलोमिटर हिँडेपछि थकित महसुस गर्छन्; यदि ख्रीष्टले ४० किलोमिटर हिँडेर पनि थकित महसुस गर्नुहुन्‍न, र उहाँका खुट्टा दुख्दैनन्, र उहाँ वायुभन्दा हलुङ्गो हुनुहुन्छ, र अझ बढी ऊर्जाशील महसुस गर्नुहुन्छ भने, के यसलाई सामान्य र व्यावहारिक मान्‍न सकिन्छ? यदि ख्रीष्ट चिसोमा बस्नुभए पनि उहाँलाई चिसो लाग्दैन, र उहाँ जस्तोसुकै परिस्थितिहरूमा पनि कहिल्यै बिरामी पर्नुहुन्‍न भने, यदि उहाँका आँखाहरूले आफूले सामना गर्ने प्रकाशभन्दा दर्जनौँ गुणा बलिष्ठ प्रकाश झल्काउन सक्छन्, र उहाँले चाहे जति लामो समय कम्प्युटर हेर्नुभए पनि उहाँका आँखाहरू थकित हुँदैनन् वा देख्ने शक्ति घट्दैन भने, यदि उहाँले सूर्यको प्रकाशलाई चाहे जति लामो समयसम्म हेरे पनि उहाँलाई त्यो तेज लाग्दैन, र रातमा हिँड्दा उहाँलाई अरूलाई जस्तो बत्ती आवश्यक पर्दैन, र दिन बित्दै जाँदा उहाँका आँखाहरू झन् चम्किला बन्छन् भने—के यी कुरा सामान्यता र व्यावहारिकता मानिन्छन्? यी कुनै पनि कुरा त्यस्ता मानिँदैनन्, यो त सामान्य ज्ञानको कुरा हो जुन मानिसहरूसित प्राय: ठोक्किरहन्छ। सामान्यता र व्यावहारिकता भन्‍नुको अर्थ लामो समय पानी नपिएपछि तिर्खा लाग्नु, धेरै बोलेपछि थकित महसुस हुनु, धेरै हिँडेपछि खुट्टा दुख्नु, साथै दुःखद र हृदयविदारक खबर सुन्दा दुःखी महसुस हुनु र आँसु झार्नु हो—सामान्यता र व्यावहारिकता यही हो। त्यसोभए, सामान्यता र व्यावहारिकताको ठ्याक्कै सही परिभाषा के हो त? जुन कुरा देहका सामान्य खाँचो र नैसर्गिक प्रवृत्तिहरूसँग मिल्छ, र यो दायराभन्दा बाहिर जाँदैन त्यो नै सामान्यता र व्यावहारिकताको परिभाषा हो। जुन कुरा सामान्य मानवताका सामर्थ्यहरू र दायरासँग, सामान्य मानवताका चेतनासँग, र सामान्य मानवताका खुसी, रिस, दुःख, र आनन्दजस्ता संवेगहरूसँग मिल्छ, त्यो नै सामान्यता र व्यावहारिकताको दायराभित्र पर्छ। ख्रीष्ट भनेको पृथ्वीमा परमेश्‍वरले पहिरनुभएको देह हो; उहाँसँग, कुनै पनि सामान्य व्यक्तिको जस्तै, सामान्य बोली र व्यवहार, सामान्य जीवनचर्या र समयतालिका हुन्छ। यदि उहाँ तीन दिन र तीन रात सुत्नुभएन भने, उहाँलाई निन्द्रा लाग्नेछ, र उभिँदाखेरि पनि सुत्न मन लाग्नेछ; यदि उहाँले दिनभरि खानुभएन भने, उहाँलाई भोक लाग्नेछ; र यदि उहाँ लामो समयसम्म हिँड्नुभयो भने, उहाँ थकित हुनुहुनेछ, र उहाँले चाँडै विश्राम लिनेभन्दा बढी अरू केही चाहनुहुनेछैन। उदाहरणका लागि, तिमीहरूसित तीन-चार घण्टा भेला र सङ्गति गरेपछि मलाई पनि थकान महसुस हुन्छ, र मैले पनि विश्राम लिनुपर्छ। यो नै देहको सामान्यता र व्यावहारिकता हो, यो देहका विशेषताहरूसँग र सामान्य मानवताका विभिन्‍न प्रकटीकरणहरू र नैसर्गिक प्रवृत्तिहरूसँग पूर्णतया मिल्दो हुन्छ, यो बिलकुलै अलौकिक होइन। त्यसकारण, यस्तो देहमा मानवताका थुप्रै प्रकटीकरण र प्रकाशहरू हुन्छन्, साथै यो देहको मानवताका बाह्य जीवनशैली र जीवनचर्या हरेक साधारण, सामान्य व्यक्तिले प्रदर्शन र प्रकट गर्ने कुराभन्दा फरक हुँदैनन्, ती ठ्याक्कै उही हुन्छन्। परमेश्‍वरले मानवजाति सृष्टि गर्नुभयो, र परमेश्‍वरको देहधारी देहका विशेषताहरू र सामान्य व्यावहारिक जीवन नैसर्गिक प्रवृत्तिहरू मानवजातिकै सरह हुन्छन्, उहाँ पटक्कै अलौकिक हुनुहुन्‍न। मानवहरू पर्खालबाट वा बन्द ढोकाबाट छिर्न सक्दैनन्, देहधारी परमेश्‍वर पनि सक्नुहुन्‍न। कति मानिसहरू भन्छन्, “के तिमी देहधारी परमेश्‍वर होइनौ र? के तिमी ख्रीष्ट होइनौ र? के तिमीसँग परमेश्‍वरको सार छैन र? के तिमी बन्द ढोकाले साँच्चिकै सीमित हुन सक्छौ? तिमी त बन्द ढोकाबाट छिर्न सक्नुपर्ने हो। मानिसहरू पाँच किलोमिटर हिँडेपछि थकित महसुस गर्छन्, तर तिमीलाई त ४० किलोमिटर हिँडेपछि पनि थकित महसुस हुनु हुँदैन; मानिसहरू दिनमा तीन छाक खाना खान्छन्, तर तिमी ३० दिनसम्म नखाइबस्‍न सक्नुपर्छ, खाऊँ-खाऊँ लाग्दा मात्र खाएर, खाऊँ-खाऊँ नलाग्दा नखाएर पनि, भेलाहरूमा प्रचार गर्न, र अरूभन्दा बढी जोसले जिउन सक्षम हुनुपर्छ। बिरामी पर्नु मानव जीवनको एउटा पाटो हो, तर तिमी बिरामी पर्नु हुँदैन। तिमी ख्रीष्ट भएकोले, तिमीमा एउटा पाटो हुनुपर्छ जुन साधारण मानिसहरूको भन्दा फरक होस्, त्यसपछि मात्र तिमी ख्रीष्ट भनिन लायक हुनेछौ, यसले मात्र तिमीसँग परमेश्‍वरको सार भएको प्रमाणित गर्नेछ।” के यो सही हो त? (होइन।) यो कसरी गलत हो? यी मानव धारणा र कल्पनाहरू हुन्, सत्यता होइनन्।

परमेश्‍वरको देहधारी देह सामान्य र व्यावहारिक हुन्छ—उहाँको सामान्य मानवताले गर्ने सारा गतिविधिहरू, साथै उहाँको दैनिक जीवन, बोली, र व्यवहार, सबै सकारात्मक कुराका वास्तविकताहरू हुन्। परमेश्‍वरले मानवजातिको सृष्टि गर्नुभएदेखि, उहाँले तिनीहरूलाई यी सामान्य, व्यावहारिक नैसर्गिक प्रवृत्तिहरू प्रदान गर्नुभयो; त्यसकारण, परमेश्‍वरको देहधारी देहले पनि यी व्यवस्थाहरू कहिल्यै उल्लङ्घन गर्नेछैन। ख्रीष्टका सामान्यता र व्यावहारिकता सकारात्मक कुराहरू हुनुको कारण र आधार यही हो। परमेश्‍वरले मानवजाति सृष्टि गर्नुभयो, र तिनीहरूका सारा प्रकटीकरण र नैसर्गिक प्रवृत्तिहरू ठ्याक्कै उहाँकै चाहनाहरूअनुसार बनाउनुभयो। परमेश्‍वरले मानिसलाई यी नैसर्गिक प्रवृत्तिहरू दिनुभयो, र मानिसका दैनिक जीवनका नियमहरू यिनै हुन्—के परमेश्‍वरले उहाँको देहधारी देहलाई सामान्यता र व्यावहारिकताका यी नियमहरू उल्लङ्घन गर्न लगाउनुहुनेथियो र? प्रस्ट रूपले नै, परमेश्‍वरले मान्नुहुनेथिएन। परमेश्‍वरले मानवजाति सृष्टि गर्नुभयो, र देहधारी देहको सार पनि परमेश्‍वर हो—ती एउटै स्रोतबाट आउँछन्, त्यसकारण तिनीहरूका कार्यहरूका सिद्धान्त र उद्देश्यहरू पनि एउटै हुन्छन्। ख्रीष्टको सामान्यता र व्यावहारिकताको प्रकटीकरणका कारण, उहाँ सर्वसाधारणका नजरमा अत्यन्तै साधारण व्यक्ति झैँ, स्वतः देखिनुहुन्छ। धेरै कुराहरूमा, उहाँसँग मानिसहरूले कल्पना गरेझैँ पूर्वज्ञान र दूरदृष्टिका शक्तिहरू हुँदैनन्, र उहाँले मानिसहरूले कल्पना गरेझैँ, वस्तुहरू गायब पार्न वा प्रकट गराउन सक्नुहुन्‍न, उहाँ मानिसहरूले कल्पना गरेझैँ, साधारण मानिसहरूभन्दा माथि उठ्न, देहका क्षमता र नैसर्गिक प्रवृत्तिहरूपार जान, वा मानवको सामान्य सोचाइपार गएर कुनै पनि व्यक्तिले गर्न नसक्ने कामकुराहरू गर्न त झनै सक्नुहुन्‍न। यी कल्पनाहरूको विपरीत, मानिसको नाङ्गो आँखाले, यो साधारण व्यक्तिले उहाँको कामको सुरुवातदेखि हालसम्म परमेश्‍वरको एउटा सङ्केत पनि प्रकाश वा प्रकट गर्नुभएको देखेको छैन। उहाँको बोली र कामबाहेक, मान्छेको नाङ्गो आँखाले, उहाँको कुनै पनि सामान्य मानव गतिविधिहरूमा परमेश्‍वरको कुनै सङ्केत वा परमेश्‍वरको पहिचान र सारका प्रकटीकरणहरू देख्न सक्दैन। मानिसहरूले उहाँलाई चाहे जसरी हेरे पनि, तिनीहरूका लागि उहाँ सधैँ एक साधारण व्यक्तिझैँ देखिनुहुन्छ। किन त? यसको एउटै कारण छ: मानिसले जे देख्छ त्यो सही हो; परमेश्‍वरको देहधारी देह साँच्चिकै एक सामान्य, व्यावहारिक व्यक्ति, एक सामान्य र व्यावहारिक देह हुनुहुन्छ। बाहिरी रूपमा यतिको सामान्य र व्यावहारिक देहले अरू मानिसहरूलेझैँ ठूलो रातो अजिङ्गरको सतावट र खेदो अनुभव गर्नुहुन्छ, र आफ्नो टाउको राख्ने वा बिसाउने ठाउँ कतै पाउनुहुन्‍न। यो कुरामा, उहाँ अरू कुनै मानवभन्दा फरक हुनुहुन्‍न, र उहाँ अपवाद हुनुहुन्‍न। यस्तो सतावट अनुभव गरिरहँदा, उहाँ जहाँ सकिन्छ आफूलाई त्यहीँ लुकाउनु पनि हुन्छ; उहाँ आफूलाई अदृश्य बनाउन वा भागेर भूमिगत हुन सक्नुहुन्‍न, उहाँसँग यी खतराहरूबाट पन्छिने अलौकिक शक्ति छैन। उहाँले गर्न सक्ने भनेकै ती कुराहरूबारे पहिल्यै जानकारी प्राप्त गर्ने, र चाँडो गरेर उम्कने मात्र हो। खतरनाक अवस्थाहरू सामना गर्नुपर्दा, मानिसहरू आत्तिन्छन् र डराउँछन्, के तिमीहरूलाई ख्रीष्ट पनि डराउनुहुन्छ जस्तो लाग्छ? के तिमीहरूलाई उहाँ पनि आत्तिनुहुन्छ जस्तो लाग्छ? (लाग्छ।) ठिक भन्यौ; तिमीहरूलाई कसरी थाहा भयो? (त्यो अवस्थामा जुनसुकै सामान्य व्यक्ति पनि आत्तिनेथियो।) ठिक भन्यौ। तिमीहरूले यो कुरा निकै राम्रोसँग बताएका छौ। तिमीहरू सामान्यता र व्यावहारिकतालाई साँच्चिकै बुझ्छौ, तिमीहरूले यसलाई पूर्ण रूपमा बुझेका छौ। ख्रीष्ट पनि यी परिस्थितिहरूमा आत्तिनु र डराउनुहुनेछ, तर के उहाँले कायरता देखाउनुहुनेछ? के उहाँ सत्ताधारी पार्टीदेखि आतङ्कित हुनुहुनेछ? के उहाँले त्योसँग सम्झौता गर्नुहुनेछ? गर्नुहुनेछैन। उहाँले घबराहट र डर मात्र महसुस गर्नुहुनेछ, र पिशाचहरूको यो गुफाबाट चाँडो उम्कने इच्छा गर्नुहुनेछ। यी सबै ख्रीष्टको सामान्यता र व्यावहारिकताका प्रकटीकरणहरू हुन्। अवश्य नै, ख्रीष्टको सामान्यता र व्यावहारिकताका केही अझै धेरै प्रकटीकरणहरू छन्, जस्तै कहिलेकाहीँ बिर्सने हुनु, लामो समय नदेखेपछि मानिसहरूको नाम बिर्सनु, आदि इत्यादि। सामान्यता र व्यावहारिकता भनेका एक सामान्य, साधारण व्यक्तिका विशेषता, नैसर्गिक प्रवृत्ति, चिन्ह र सङ्केतहरू मात्र हुन्। ठ्याक्कै भन्‍नुपर्दा, ख्रीष्टसँग सामान्य र व्यावहारिक मानवता, जीवन बचाउने नैसर्गिक प्रवृत्ति, र देहका सारा विशेषताहरू भएकै कारण उहाँ सामान्य रूपमा बोल्न र काम गर्न, मानिसहरूसित सामान्य तवरले अन्तरक्रिया गर्न, र मानिसहरूलाई सामान्य र व्यावहारिक तरिकाले अगुवाइ गर्न, साथै मानिसहरूलाई आफ्नो कर्तव्यभित्र पर्ने काम सामान्य र व्यावहारिक तरिकाले गर्न मार्गदर्शन र मदत गर्न पनि सक्नुहुन्छ। ख्रीष्टको सामान्यता र व्यावहारिकताकै कारण सम्पूर्ण सृजित मानवहरूले परमेश्‍वरको कामको व्यावहारिकता अझ बढी महसुस गर्छन्, यो कामबाट लाभ प्राप्त गर्छन्, र यसबाट अझ ठोस र फाइदाजनक लाभहरू हासिल गर्छन्। ख्रीष्टको सामान्यता र व्यावहारिकता सामान्य मानवताका सङ्केतहरू हुन्, उहाँको देहधारी देहलाई सारा सामान्य काम, गतिविधिहरू, र मानव जीवनमा संलग्न हुनका लागि ती जरुरी हुन्छन्, र ती परमेश्‍वरलाई पछ्याउने सबैलाई अझ बढी आवश्यक पर्ने कुरा हुन्। तर, ख्रीष्टविरोधीहरूले ख्रीष्टको सामान्यता र व्यावहारिकतालाई यसरी बुझ्दैनन्। ख्रीष्टविरोधीहरू ख्रीष्ट सामान्य र व्यावहारिक अनि मानिसहरूसँग अति मिल्दो हुनुभएकाले उहाँ एक साधारण व्यक्ति मात्र हुनुहुन्छ भन्‍ने ठान्छन्—जसको मतलब उहाँ परमेश्‍वरको पुत्र, मानिसहरूमाझ परमेश्‍वरको मूर्तरूप, वा ख्रीष्ट भनिन लायक हुनुहुन्‍न, किनभने उहाँ अत्यन्तै सामान्य र व्यावहारिक हुनुहुन्छ, यतिसम्म व्यावहारिक कि मानिसहरूले उहाँमा परमेश्‍वरको कुनै सङ्केत वा सार नै देख्न सक्दैनन्। ख्रीष्टविरोधीहरू भन्छन्, “के यस्तो परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिन सक्छन् र? के यस्तो परमेश्‍वर ख्रीष्ट भनिन लायक हुन्छन् र? यी परमेश्‍वर परमेश्‍वरजस्तो पटक्कै छैनन्! उनीसँग परमेश्‍वरबारे मानिसका धारणाहरूका धेरै तत्त्वहरू छैनन्: पहिलो, अलौकिक, असाधारण, र रहस्यमय हुनु; दोस्रो, महाशक्ति, र भयङ्कर शक्तिहरू देखाउने क्षमता हुनु; तेस्रो, परमेश्‍वरको जस्तो रूप, परमेश्‍वरको पहिचान, मर्यादा, सार, आदि इत्यादि हुनु। यदि उनमा यी कुनै पनि तत्त्वहरू देख्न सकिन्‍न भने, उनी कसरी परमेश्‍वर हुन सक्छन्? के उनले ती केही वचनहरू बोल्नु र त्यति काम गर्नुको अर्थ उनी परमेश्‍वर हुन् भन्‍ने हुन्छ त? त्यसो हो भने त, परमेश्‍वर बन्‍न अति सजिलो छ, होइन र? कुनै साधारण र सामान्य देह कसरी परमेश्‍वर हुन सक्छ र?” यो ख्रीष्टविरोधीहरूले कहिल्यै स्विकार्न नसक्ने कुरा हो।

मूलभूमि चीनमा ठूलो रातो अजिङ्गरको सतावट अनुभव गर्दै गर्दा, म र मेरा केही दाजुभाइ-दिदीबहिनीहरू, जहाँ गए पनि प्राय: लुक्नुपर्थ्यो, हामीसँग कुनै व्यक्तिगत स्वतन्त्रता थिएन। कहिलेकाहीँ, खतराको समाचार सुनेपछि, हामी तुरुन्तै भाग्नुपर्ने हुन्थ्यो। यी परिस्थितिहरूमा, मसँग भएका कोही पनि मानिसहरू कमजोर बनेनन्। त्यसको कारण के थियो? के तिनीहरू मूर्ख थिए? के तिनीहरू सिधा-साधा थिए? होइन, त्यसको कारण के थियो भने, तिनीहरूले देहधारी परमेश्‍वरको सार दह्रिलो गरी चिनेका थिए। तिनीहरूले ख्रीष्टको सामान्यता र व्यावहारिकताबारे कुनै धारणा वा निन्दाहरू नबोकेका मात्र होइनन्, तर तिनीहरूले यी गुणहरूप्रति विचारशीलता र बुझ पनि देखाए, साथै तिनलाई सही तरिकाले बोध पनि गरे। ख्रीष्टले जस्तोसुकै कष्ट सहनुभए पनि, तिनीहरूले पनि उहाँसँगै कष्ट सहे, अनि ख्रीष्टले जस्तोसुकै सतावट र खेदो भोग्नुभए पनि, तिनीहरूले अझै पनि उहाँलाई पछ्याए, कुनै गुनासो गरेनन्, यी परिस्थितिहरूका कारण कहिल्यै कमजोर बनेनन्। म केही निश्‍चित ठाउँहरू गएपछि मात्र, म खतरनाक वातावरणहरूबाट बच्न हतारमा भागेको, र म बस्न सक्ने अरू कुनै ठाउँ नहुन सक्छ, मैले आराम गर्ने ठाउँ अरू कतै नभेटाउन सक्छु भन्‍ने थाहा पाएर, मनमनै यस्तो सोच्‍ने व्यक्तिहरू भेटिए: “उफ्! तिमी ख्रीष्ट, देहधारी परमेश्‍वर भएको दाबी गर्छौ, तैपनि हेर त, तिमी कति दयनीय स्थितिमा छौ। तिमी कसरी ख्रीष्ट हुन योग्य छौ? तिमी कुनचाहिँ रूपमा परमेश्‍वरजस्तो देखिन्छौ? के तिमी अरूलाई मुक्ति दिन सक्छु भन्ठान्छौ? तिमीले त चाँडो गरेर पहिले आफूलाई मुक्ति दिनुपर्छ! के तिमीलाई पछ्याउँदा आशिष्‌हरू पाइन सक्छ त? त्यो असम्भव देखिन्छ! यदि तिम्रा वचनहरूले अरूलाई मुक्ति दिन सक्छन् भने, तिनले तिमीलाई किन मुक्ति दिन सक्दैनन्? अहिले हेर त, तिमीसँग त टाउको राख्ने ठाउँसमेत छैन, र तिमीले हामी मानवहरूबाट, शक्तिशाली मानिसहरूबाट मद्दत खोज्नुपर्छ। यदि तिमी परमेश्‍वर हौ भने, तिमी यति दयनीय हुनु हुँदैन। यदि तिमी परमेश्‍वरको देहधारी देह हौ भने, तिमी घर भन्‍ने ठाउँविहीन हुनु हुँदैन!” त्यसकारण, यस्ता मानिसहरूले यो मामला कहिल्यै बुझ्न सक्दैनन्। यदि कुनै दिन तिनीहरूले राज्यको सुसमाचार विदेशमा फैलाइँदै गरेको, विभिन्‍न देशका धेरै मानिसहरूले त्यसलाई स्विकारेको देखेमा, र तिनीहरूले ठूलो रातो अजिङ्गरको पतन भएको, परमेश्‍वरका अनुयायीहरूले आफ्ना शिर उच्च राखेको, उनीहरू उप्रान्त सतावटमा पर्न छाडेको, साथै तिनीहरूले शासन र शक्ति चलाइरहेको र कसैले पनि उनीहरूलाई हेप्ने आँट नगरेको देखेमा, तिनीहरूले निश्‍चय नै आफ्नो ठेट मनोवृत्ति पूर्ण रूपमा बदल्नेथिए, र परमेश्‍वरले देहमा शासन गर्नुभएको कुराबारे उप्रान्त धारणाहरू पाल्न छाड्नेथिए। यस्तो आकस्मिक परिवर्तन किन हुनेथ्यो? यी व्यक्तिहरू आफ्ना आँखाले जे देख्छन् त्यसैमा मात्र भर पर्छन्; तिनीहरू परमेश्‍वरका वचनहरू सत्यता हुन्, उहाँ सर्वशक्तिमान् हुनुहुन्छ, वा उहाँले भन्‍नुभएको सबथोक पूरा हुनेछ भनेर विश्‍वास गर्दैनन्। के त्यस्ता मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् त? तिनीहरूले केमा विश्‍वास गर्छन्? (शक्तिमा।) के ख्रीष्टसँग शक्ति छ? भ्रष्ट तुल्याइएका मानवजातिमाझ ख्रीष्टको कुनै शक्ति छैन। कतिपय मानिसहरू यसो भन्छन्, “के परमेश्‍वरसित अख्तियार हुँदैन र? यदि ख्रीष्टको सार परमेश्‍वर हो भने, उनीसँग किन परमेश्‍वरको अख्तियार छैन? अख्तियार भनेको शक्तिभन्दा धेरै ठूलो हुन्छ, त्यसकारण के उनीसँग शक्ति पनि हुनुपर्दैन र?” देहधारी परमेश्‍वरको कामको उद्देश्य के हो? देहधारी परमेश्‍वरको जिम्मेवारी के हो? के त्यो शक्ति प्रदर्शन गर्नु भन्‍ने हो त? (होइन।) त्यसकारण, कुनै पनि सामान्य व्यक्तिझैँ उहाँले यो संसारबाट इन्कार, बेइज्जत, बदनामी, र शत्रुता भोग्नुहुन्छ—ख्रीष्टले यी सबै कुराहरू सहनैपर्छ, उहाँले ती कुराहरूबाट छुट पाउनुहुन्‍न।

जो सच्चा रूपले सत्यता पछ्याउँछन्, तिनीहरूमा ख्रीष्टको सामान्यता र व्यावहारिकताबारे कुनै धारणाहरू नहुने मात्र होइन—बरु यसको ठीक विपरीत, तिनीहरूले यी गुणहरूमा परमेश्‍वरको प्रेमिलोपन अझ बढी पनि देख्छन्, र तीमार्फत परमेश्‍वरको साँचो सार र सृष्टिकर्ताको साँचो सारबारे अझ राम्रो बुझाइ प्राप्त गर्छन्। अनि परमेश्‍वरबारे तिनीहरूको बुझाइ अझै गहन, अझै व्यावहारिक, अझै साँचो, र अझै सही बन्छ। यसको विपरीत, ख्रीष्टविरोधीहरू भने उहाँको सारा सामान्यता र व्यावहारिकताका कारण यस्तो ख्रीष्टलाई पछ्याउन प्राय: अनिच्छुक महसुस गर्छन्, किनभने तिनीहरूले सोच्छन् कि उहाँमा अलौकिक क्षमताहरू नै छैनन् र उहाँ साधारण मानिसहरूभन्दा वरिष्ठ हुनुहुन्‍न, र त्यसमाथि उहाँले मानवजातिका जस्तै जियाइ वातावरणहरूसमेत अनुभव गर्नुहुन्छ। ख्रीष्टविरोधीहरू खुसीसाथ यो सबै कुरा स्विकार्न, र यसबाट परमेश्‍वरको स्वभाव बुझ्न असक्षम मात्र हुँदैनन्, तिनीहरू त यसलाई निन्दा गर्ने र यसबाट सावधान रहने, र यसबारे झनै बढी आरोपहरू लगाउनेसमेत गर्छन्। उदाहरणका लागि, जब कसैले सिद्धान्तविपरीत केही काम गर्छ, तब यदि मैले त्यसबारे सोधिनँ र कसैले मलाई त्यसबारे बताएन भने, मैले त्यसबारे थाहा पाउनेछैनँ—के यो सामान्यता र व्यावहारिकताको दायराभित्रै पर्ने एउटा प्रकटीकरण होइन र? (हो।) जो-जोसँग सही बुझाइ र सामान्य मानवता हुन्छ, तिनीहरूले त्यो मामलाबारे मलाई प्रस्ट रूपमा र पूर्ण रूपमा बुझाउनेछन्, र त्यसपछि मलाई जसरी उचित लाग्छ त्यसरी त्यो कुरा सम्हाल्न दिनेछन्। ख्रीष्टविरोधीहरूले भने ठ्याक्कै उल्टो गर्छन्; तिनीहरू आफ्नो आँखाले मलाई नियाल्छन्, र मबाट कुराहरू धुत्ने उपाय लाउँदै मलाई जाँच्छन्। त्यसपछि तिनीहरूले मनमनै सोच्छन्, “तिमीलाई यो मामलाबारे थाहा नभएकोले, यसलाई सम्हाल्न सजिलो भयो—तिमीलाई यो कुरा थाहा भएको भए, मसित तिमीलाई सम्हाल्ने एउटा योजना थियो, र तिमीलाई थाहा नभएको भए, तिमीलाई सम्हाल्ने मसित अर्को योजना छँदै थियो; कुनै ठूलो मामलालाई म सानो बनाइदिनेथिएँ, र त्यसलाई घटाएर शून्यतामा झार्नेथिएँ, तिमीलाई बिलकुलै थाहा दिन्‍नथिएँ, र यो मामला यतिकै बिलाउन दिनेथिएँ—तिमीलाई यो मामलाबारे थाहा नभएकोले, भविष्यमा तिमीले यसबारे जान्‍नुपर्ने वा थाहा पाउनुपर्नेछैन। म यसको जिम्‍मा सम्हाल्छु। जब तिमीले कुनै दिन यसबारे थाहा पाउँछौ, त्यो मैले चाहेझैँ घटित भइसकेको हुनेछ, अनि त्यसबेला तिमीले मलाई के नै गर्न सक्नेछौ र?” कुन मानिसहरूले ख्रीष्टलाई यसरी व्यवहार गर्छन्? के तिनीहरू असल मानिसहरू हुन्? के तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन्? के तिनीहरूसँग मानवता र निष्ठा हुन्छ? (हुँदैन।) केही अगुवाहरू थिए, जसले केही निश्‍चित कामकुराहरू गरे; तिनीहरूले मण्डलीमा जथाभाबी ढङ्गले व्यक्तिहरूलाई प्रवर्द्धन गरे, भेटीहरू फजुलमा उडाए, र अति धेरै जथाभाबी खरिदहरू गरे, अनि जतिसुकै पैसा खर्च भए पनि, वा जस्तोसुकै उल्लेखनीय समस्याहरू देखा परे पनि, तिनीहरूले त्यसबारे एक शब्द बोलेनन्। म त्यहाँ धेरैपटक गएँ, तर तिनीहरूले मसँग ती कुराहरूबारे कहिल्यै परामर्श लिने वा सोध्ने गरेनन्, तिनीहरूले केवल आफैले निर्णयहरू गरे; तिनीहरूले मलाई कुनै जाँचपडताल समेत गर्न दिएनन्, र मैले तिनीहरूबाट जानकारी कोट्याइरहनुपरेको थियो। तिनीहरूले मलाई कुनै बाह्य व्यक्ति झैँ व्यवहार गरे: “तिमी यहाँ आएकोले, हामी तिमीलाई रिपोर्ट मात्र गर्नेछौँ र तिमीले देख्न मिल्ने कुराहरूबारे मात्र बताउनेछौँ। जहाँसम्म हामीले तिम्रो पिठ्यूँपछाडि गरेका कामकुराहरू छन्, तिमीले ती कुनै पनि कुराबारे पत्ता लगाउनेबारे नसोचेकै राम्रो हुनेछ। हामी तिमीलाई हस्तक्षेप वा सोधपुछ गर्न दिनेछैनौँ।” म जतिपटक त्यहाँ गए पनि, तिनीहरूले मलाई कहिल्यै सोधपुछ गर्न दिएनन्। मैले प्रश्‍नहरू सोध्न थाल्छु भन्‍ने डरले, तिनीहरूले छलकपट गर्दै, जानाजान झूटा र कर्णप्रिय शब्दहरू प्रयोग गरेर सत्यता लुकाए। तिनीहरूले मिलेमतो गरे, सहमतिमा पुगे, र एकअर्कासँग अर्थपूर्ण रूपमा हेराहेर गरे; तिनीहरूले एकताबद्ध मोर्चा कायम राखे, र एकअर्काका समस्याहरू रिपोर्ट गरेनन्, र एकअर्कालाई ढाकछोप गरे। जब मैले तिनीहरूले मेरो पिठ्यूँपछाडि गरिरहेका कामकुराबारे थाहा पाएँ र तिनीहरूलाई जिम्मेवार बनाउन चाहेँ, तब तिनीहरूले एकअर्कालाई ढाकछोप गर्न जारी राखे, को जिम्मेवार छ भनेर भनेनन्, लाटोझैँ व्यवहार गरे, र मसित शब्दखेल खेले। तिनीहरूले के त्रुटि गरे? तिनीहरूले सोचे, “यो साधारण व्यक्ति—ख्रीष्टसँग सामान्य, सरल सोचाइ, अनि साधारण र सामान्य मानवताबाहेक, गर्व गर्नलायक केही छैन, र कुनै अलौकिक शक्ति छैन। त्यस्तो भएकोले, हामी पिठ्यूँपछाडि केही सानातिना चलखेल गर्न सक्छौँ, र सहज रूपमा आफ्नै उद्यममा लाग्न सक्छौँ। मण्डलीको पैसा हाम्रो नियन्त्रणमा छ, त्यसकारण हामी जे चाहन्छौँ त्यही किन्छौँ। हामीलाई कुनै हस्ताक्षर आवश्यक पर्दा हामीले त्यो माग्नु पर्दै पर्दैन, हामीले खरिद गरिएका सामानहरूको समीक्षा नगरी, स्वेच्छाचारी रूपमा हस्ताक्षर गर्न, र त्यत्तिकै पैसा खर्च गर्न सक्छौँ। के ख्रीष्ट भनेको परमेश्‍वर होइन र? के तिमीले यी कुराहरू तह लाउन सक्छौ? हामी आफूलाई जे मन लाग्छ त्यही गर्नेछौँ; तिमी वरपर हुँदाबाहेक, बाँकी समय त सबै हाम्रै अधिकारक्षेत्र हो!” तिनीहरूले ख्रीष्टको सामान्यता र व्यावहारिकतालाई कसरी लिए? के तिनीहरूले उहाँलाई सजिलै हेप्न सकिने व्यक्तिका रूपमा लिएनन् र? तिनीहरूले यसो सोचे, “तिमीसँग सामान्य मानवता हुन्जेल, हामी तिमीलाई हेप्न डराउँदैनौँ। यदि तिमीसित अलौकिक मानवता छैन भने, हामी तिमीसँग डराउँदैनौँ।” तिनीहरू कस्ता प्रकारका मानिसहरू थिए? यदि तिनीहरूको मानवताका आधारमा मूल्याङ्कन गर्ने हो भने, के तिनीहरू असल मानिस मानिनेथिए? के तिनीहरू नैतिकता र मानवता भएका मानिस मानिनेथिए? के तिनीहरू आदर्शमयी निष्ठा भएका मानिस मानिनेथिए? तिनीहरू साँच्चिकै के थिए? के तिनीहरू बदमासहरूको हूल थिएनन् र? ती मानिसहरूले परमेश्‍वरको घरमा काम गर्दा कसको प्रतिनिधित्व गर्थे? तिनीहरूले त मानिसको प्रतिनिधित्व समेत गर्थेनन्, तिनीहरू शैतानको प्रतिनिधित्व गर्थे। तिनीहरूले शैतानका निम्ति कामकुरा गरे, तिनीहरू त्यसका नोकर र मतियार थिए; तिनीहरू त्यहाँ परमेश्‍वरको घरको कामलाई बाधा दिन र नष्ट गर्न आएका थिए, तिनीहरूले कर्तव्य निर्वाह गरिरहेका थिएनन्, बरु दुष्ट्याइँ गरिरहेका थिए। शैतानका ती मतियारहरूको समूह कसरी परमेश्‍वरका चुनिएका मानिसहरूलाई पक्रने, सताउने, र दुर्व्यवहार गर्ने ठूलो रातो अजिङ्गरभन्दा फरक थिए र? ठूलो रातो अजिङ्गरले परमेश्‍वरको देहधारी देह एक साधारण व्यक्ति मात्र हुनुहुन्छ, उहाँ बिलकुलै डरलाग्दो हुनुहुन्‍न भन्‍ने देख्छ, त्यसैले त्यसले स्वेच्छाचारी रूपमा उहाँलाई पक्रने कोसिस गर्छ, र उहाँलाई पक्रेपछि, त्यसले उहाँलाई मार्ने कोसिस गर्नेछ। के शैतानका यी मतियारहरू, यी ख्रीष्टविरोधीहरूले ख्रीष्टलाई त्यस्तै व्यवहार गरेनन् र? के तिनीहरूको सार उस्तै छैन र? (छ।) तिनीहरूले आफ्नो विश्‍वासमा ख्रीष्टलाई के माने? के तिनीहरूले उहाँलाई परमेश्‍वर मानेर विश्‍वास गरे कि मानव मानेर? यदि तिनीहरूले ख्रीष्टलाई परमेश्‍वर मानेका भए, के तिनीहरूले उहाँलाई यसरी व्यवहार गर्नेथिए त? (गर्ने थिएनन्।) यसको एउटै मात्र व्याख्या छ: तिनीहरूले ख्रीष्टलाई मानव मानेर हेर्थे, तिनीहरूले यतिकै आलोचना गर्न, झुक्याउन, खेलबाड गर्न, उपहास गर्न, र जस्तो मन लाग्यो त्यस्तो व्यवहार गर्न सक्ने व्यक्तिका रूपमा हेर्थे; यसको मतलब तिनीहरू निकै दुस्‍साहसी थिए। यदि हामीले त्यस्ता दुस्साहसी मानिसहरूलाई वर्गीकृत गर्ने हो भने, के तिनीहरूलाई सृजित प्राणी, परमेश्‍वरका चुनिएका मानिस, उहाँका अनुयायी, उहाँद्वारा सिद्ध पार्न सकिने मानिस, र उहाँद्वारा मुक्ति दिन सकिने मानिसहरूको वर्ग र समूहमा राख्न मिल्छ? (मिल्दैन।) त्यस्ता रद्दीहरूलाई कता राखिनुपर्छ? शैतानको गुटमा। यस समूहका मानिसहरूलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गरिन्छ। तिनीहरूले “मामला जे भए पनि, मैले तिमीबाट खोजी नगरुन्जेल वा यसबारे तिमीलाई जानकारी नगराउन्जेल, तिमीलाई हस्तक्षेप गर्ने कुनै अधिकार छैन, र तिमीले यसबारे कहिल्यै थाहा पाउनेछैनौ” भन्‍ने सोच्दै, ख्रीष्टलाई एक साधारण व्यक्तिझैँ व्यवहार गरे, मनोमानी र जथाभाबी रूपमा कार्य गरे अनि आफ्नो प्रभावको दायराभित्रको पूर्ण शक्ति चलाए। मलाई भन् त, के ख्रीष्टसँग तिनीहरूलाई तह लगाउने अधिकार छ? (छ।) त्यसो गर्ने उचित तरिका के हुनेथियो? (तिनीहरूलाई मण्डलीबाट निष्कासित गर्ने।) ख्रीष्टविरोधी र शैतानहरूलाई यसरी नै तह लगाउनुपर्छ; तिनीहरूप्रति उदारता देखाउनै हुँदैन। जब त्यस्ता मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्, तब परमेश्‍वरले चाहे जे गर्नुभए पनि, उहाँले मानिसहरूलाई चाहे जसरी सत्यता आपूर्ति गर्नुभए पनि, वा उहाँले जे काम गर्नुभए पनि, तिनीहरूले त्यसप्रति ध्यानै दिँदैनन्। यदि तिनीहरूमा शक्तिको कमी छ भने, तिनीहरू त्यो प्राप्त गर्ने उपायहरू सोच्छन्, र शक्तिमा पुगिसकेपछि, ख्रीष्टसँग समान स्तरमा उभिन, उहाँसँग संसार विभाजित गर्न, को श्रेष्ठ छ भनी प्रतिस्पर्धा गर्न र उहाँसित हैसियतका लागि लड्न खोज्छन्। तिनीहरूको प्रभाव क्षेत्रभित्र, तिनीहरू यसो भन्दै ख्रीष्टलाई चुनौती दिन चाहन्छन्, “तिम्रो र मेरोबीच, कसको कुरामा बढी दम छ, म हेर्न चाहन्छु। यो मण्डली मेरो अधिकारक्षेत्र हो; म मण्डलीको पैसा जसरी मन लाग्छ त्यसरी खर्च गर्नेछु, मलाई जे चाहना छ त्यही किन्‍नेछु, र मलाई जसरी मन लाग्छ त्यसरी मामलाहरू सम्हाल्नेछु। म जसलाई निकम्मा ठान्छु, ऊ निकम्मा नै हो। म जसलाई चाहन्छु, उसैलाई प्रयोग गर्नेछु, र मैले प्रयोग गर्न रोजेका मानिसहरूलाई छुने अनुमति कसैलाई छैन। यदि कसैले छोयो भने, म त्यो मामला कहिल्यै छोड्नेछैनँ—परमेश्‍वरले उनको चाहना हो भने पनि, म स्विकार्नेछैनँ!” के यो काल निम्त्याउनु होइन र?

यदि मानिसहरूले परमेश्‍वरको प्रेमिलोपनलाई अझ धेरै बुझ्छन् र देहधारी परमेश्‍वरको सामान्य र व्यावहारिक मानवतामार्फत परमेश्‍वरको व्यावहारिकता र सारबारे अझ प्रस्ट र सही बुझाइ हासिल गर्छन् भने, तिनीहरू सत्यता पछ्याउने र मानवता बोकेका मानिसहरू हुन्। तर कतिपय मानिसहरू ख्रीष्टको सामान्य, व्यावहारिक पाटोका कारण उहाँलाई परमेश्‍वर मान्दैनन्। तिनीहरू उहाँसामु बढी ढिठो र दुस्‍साहसी भएर प्रस्तुत हुन्छन्, तिनीहरू स्वतन्त्र रूपमा कार्य गर्न थप हिम्मतिलो हुन्छन्, र ख्रीष्टलाई नाघ्ने र परमेश्‍वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्ने सोचहरूले अझ धेरै ग्रसित हुन्छन्। तिनीहरू ख्रीष्टलाई तिरस्कार गर्न र उहाँसँग प्रतिस्पर्धा गर्न आफूसँग पुँजी भएको, र ख्रीष्टलाई मानव मान्‍ने प्रमाण भएको महसुस गर्छन्। तिनीहरूले यो प्रमाण प्राप्त गरेपछि, ख्रीष्टसँग डराउनु नपर्ने, र स्वतन्त्र रूपमा उहाँको आलोचना गर्न, अनौपचारिक रूपमा उहाँसित कुराकानी र हाँस-खेल गर्न र आफूलाई उहाँसँग समान स्तरमा राख्न, साथै उहाँसित आफ्ना घरायसी मामला र व्यक्तिगत चिन्ताका कुराहरू छलफल गर्न सकिने सोच्छन्। कतिले त यस्तोसमेत भन्छन्, “मैले मेरा भित्री सोच, कमजोरी, र भ्रष्ट स्वभावहरू तिमीलाई भनेको छु, त्यसकारण मलाई तिम्रो स्थितिबारे भन। मैले तिमीलाई परमेश्‍वरमा विश्‍वास गर्नुअघि र पछिका मेरा अनुभवहरूबारे बताएको छु, र मैले कसरी परमेश्‍वरको काम स्विकारेँ भन्‍नेबारे बताएको छु, त्यसैले मलाई तिम्रा अनुभवहरू सुनाऊ।” तिनीहरू के गर्ने प्रयास गरिरहेका छन्? के तिनीहरूले देहधारी परमेश्‍वरलाई अत्यन्तै साधारण र सामान्य देख्ने, र उहाँलाई परिवारको सदस्य, मित्र, साथी, वा छिमेकीका रूपमा हेर्न चाहने गर्दैनन् र? ख्रीष्ट जतिसुकै सामान्य र व्यावहारिक हुनुभए पनि, उहाँको सार कहिल्यै परिवर्तन हुनेछैन। उहाँको उमेर चाहे जति भए पनि, उहाँ जहाँ जन्मिनुभएको भए पनि, वा उहाँका योग्यता र अनुभव तँसँगको तुलनामा जस्तो भए पनि, उहाँ उच्च वा नगण्य जस्तोसुकै देखिनुभए नि, कहिल्यै नबिर्सी कि उहाँ सधैँ तँभन्दा फरक नै हुनुहुनेछ। यस्तो किन हुन्छ? उहाँ बाहिरी रूपमा सामान्य र व्यावहारिक देहमा जिउने परमेश्‍वर हुनुहुन्छ; उहाँको सार सदैव तेरोभन्दा फरक हुन्छ; उहाँको सार सर्वोच्च परमेश्‍वरको सार हो, जो सदा र सदैव सारा मानवजातिभन्दा माथि हुनुहुन्छ। यो कुरा नबिर्सी। सतहमा, उहाँ एक साधारण र सामान्य व्यक्तिझैँ देखिनुहुन्छ, उहाँलाई ख्रीष्ट भनिन्छ, र उहाँसित ख्रीष्टको पहिचान छ, तर यदि तैँले आफ्नो विश्‍वासमा उहाँलाई एक मानव मान्छस्, र उहाँलाई एक साधारण व्यक्ति, भ्रष्ट मानवजातिको एउटा सदस्यका रूपमा हेर्छस् भने, तँ खतरामा छस्। ख्रीष्टको पहिचान र सार कहिल्यै बदलिँदैनन्, उहाँको सार भनेको परमेश्‍वरको सार हो, र उहाँसित सधैँ परमेश्‍वरको पहिचान हुन्छ। उहाँ एक सामान्य, व्यावहारिक देहको आवरणमा जिउनुको अर्थ उहाँ भ्रष्ट मानवजातिको एउटा सदस्य हुनुहुन्छ भन्‍ने होइन, न त त्यसको अर्थ मानवले उहाँलाई आफूअनुकूल चालबाजी गर्न र नियन्त्रणमा राख्न सक्छन्, वा तिनीहरू उहाँसित बराबर हुन र शक्तिका लागि उहाँसित होड गर्न सक्छन् भन्‍ने नै हो। मानिसहरूले उहाँलाई मानवको रूपमा हेरुन्जेल, र मानव उपाय र दृष्टिकोणहरू प्रयोग गरेर उहाँको मापन गरुन्जेल, र उहाँलाई एक साथी, दौँतरी, सहकर्मी, वा उच्च अधिकारीमा परिणत गर्ने कोसिस गरुन्जेल, तिनीहरूले आफूलाई खतरनाक स्थानमा राखिरहेका हुन्छन्। यो किन खतरनाक छ? यदि तैँले ख्रीष्टलाई एक साधारण, सामान्य मानवका रूपमा हेरिस् भने, तेरा भ्रष्ट स्वभावहरू देखिन थाल्नेछन्। तैँले ख्रीष्टलाई मानव ठान्‍न थालेको क्षणदेखि, तेरा दुष्ट कार्यहरू खुलासा हुन थाल्नेछन्। के यो खतरनाक पाटो होइन र? मानिसहरूले ख्रीष्टलाई मानवको रूपमा हेरुन्जेल, र उहाँ सामान्य र व्यावहारिक हुनुहुन्छ, उहाँलाई झुक्याउन सजिलो छ, र उहाँ मानवजातिजस्तै हुनुहुन्छ भन्‍ने ठानुन्जेल, तिनीहरू परमेश्‍वरसँग डराउनेछैनन्, र यो बेला तिनीहरूको परमेश्‍वरसँगको सम्बन्ध बदलिन्छ। यो सम्बन्ध केमा परिणत हुन्छ? तिनीहरूको सम्बन्ध उप्रान्त कुनै सृजित प्राणी र सृष्टिकर्ताको हुँदैन, कुनै अनुयायी र ख्रीष्टको हुँदैन, साथै यो मुक्तिको पात्र र परमेश्‍वरको पनि हुँदैन, बरु यो त शैतान र यावत्‌ थोकमाथिको सार्वभौमको सम्बन्ध बन्छ। मानिसहरू परमेश्‍वरको विरोधमा उभिन्छन्, र उहाँका शत्रु बन्छन्। जब तैँले ख्रीष्टलाई मानवका रूपमा हेर्छस्, तब तैँले परमेश्‍वरसामु तेरो पहिचान, र परमेश्‍वरका नजरमा तेरो मूल्यसमेत बदल्छस्; तैँले तेरो आत्मरति, विद्रोहीपन, दुष्टता, र अहङ्कारले आफ्ना सम्भाव्यताहरू र नियति पूर्ण रूपमा नष्ट गर्छस्। परमेश्‍वरले तँ एक सृजित प्राणी, ख्रीष्टको अनुयायी, र परमेश्‍वरको मुक्ति स्विकारेको व्यक्ति भएको आधारमा मात्र तँलाई अनुमोदन, मार्गदर्शन र जीवन प्रदान गर्नुहुनेछ र मुक्ति प्राप्त गर्ने मौका दिनुहुनेछ। अन्यथा, परमेश्‍वरसँगको तेरो सम्बन्ध परिवर्तन हुनेछ। जब मानिसहरूले परमेश्‍वर, ख्रीष्टलाई एक व्यक्ति ठान्छन्, तब के तिनीहरूले ठट्टा गरिरहेका हुँदैनन् र? मानिसहरूले प्रायजसो यसलाई समस्याका रूपमा हेर्दैनन्, तिनीहरूले सोच्छन्, “ख्रीष्टले उनी एक साधारण र सामान्य व्यक्ति हुन् भनेका छन्, त्यसोभए उनलाई एक व्यक्तिका रूपमा लिँदा के बिग्रिन्छ र?” वास्तवमा, यसमा केही पनि गलत छैन, तर यसका गम्भीर परिणामहरू हुन्छन्। ख्रीष्टलाई एक व्यक्तिलाई झैँ व्यवहार गर्दा, तेरा लागि धेरै फाइदाहरू हुन्छन्। एकातिर, यसले तेरो हैसियत माथि उठाउँछ, अर्कोतिर, यसले तँ र परमेश्‍वरबीचको दूरी घटाउँछ, र त्यसबाहेक, तँ परमेश्‍वरको उपस्थितिमा अति अल्पभाषी हुनेछैनस्, तँलाई आराम र स्वतन्त्र महसुस हुनेछ। तँसित तेरो मानव अधिकार, स्वतन्त्रता, र तेरो अस्तित्वको मूल्यबोध हुनेछ, र तैँले तेरो आफ्नै उपस्थितिको आभास महसुस गर्नेछस्—के त्यो राम्रो होइन र? कुनै वास्तविक व्यक्तिलाई यसरी व्यवहार गर्दा केही गलत हुँदैन, यसले तँसित मर्यादा र निष्ठा छ भन्‍ने देखाउँछ। मानिस सजिलै झुक्‍नु हुँदैन; मानिसहरूले हल्का रूपमा कुनै पनि व्यक्तिसामु घुँडा टेक्ने, आत्मसमर्पण गर्ने, वा आफ्नो निकृष्टता स्विकार्ने गर्नु हुँदैन—के मानव अस्तित्वका नियमहरू र मानिसका व्यवहारका नियमहरू यिनै होइनन् र? धेरैले ख्रीष्टसँगका अन्तरक्रियाहरूमा यी व्यवस्था र व्यवहारका नियमहरू लागु गर्छन्। यसले समस्या निम्त्याउँछ, र यसले परमेश्‍वरको स्वभाव चिढ्याउने सम्भावना धेरै हुन्छ। यस्तो किन हुन्छ भने, सारा मानवजातिको वर्ण जे भए पनि, तिनीहरूको प्रकृति सार एउटै हुन्छ। ख्रीष्ट मात्र मानवजातिभन्दा फरक हुनुहुन्छ। ख्रीष्टमा सामान्यता र व्यावहारिकताको प्रकटीकरण भए पनि, र उहाँसँग सामान्य र व्यावहारिक मानवका जीवनशैली र जीवनचर्या भए पनि, उहाँको सार कुनै पनि भ्रष्ट तुल्याइएको मानवको जस्तो हुँदैन। ठ्याक्कै यही कारणले, उहाँ आफ्ना अनुयायीहरूबाट आफूले चाहेको तरिकामा व्यवहार गर्ने माग गर्न योग्य हुनुहुन्छ। ख्रीष्टबाहेक, अरू कुनै पनि व्यक्ति मानिसहरूसँग यी विधि र मानकहरू प्रयोग गरेर मागहरू गर्न योग्य हुँदैन। किन? किनकि ख्रीष्टको सार भनेको परमेश्‍वर स्वयम् हो, र किनकि ख्रीष्ट, यो साधारण, सामान्य व्यक्ति, परमेश्‍वरले पहिरनुभएको सामान्य देह र मानवहरूमाझ परमेश्‍वरको देहधारण हुनुहुन्छ। यसैलाई मात्र आधार बनाएर, ख्रीष्टलाई एक व्यक्तिका रूपमा हेर्नु गलत हो, उहाँलाई व्यक्तिझैँ व्यवहार गर्नु झनै गलत हो, र उहाँलाई झुक्याउनु, उहाँसित खेलबाड गर्नु, र उहाँविरुद्ध लड्नु झनै नराम्रो कुरा हो। ख्रीष्टविरोधीहरू, सत्यतालाई घृणा गर्ने दुष्ट व्यक्तिहरूको यो गिरोह, सदासर्वदा यो उल्लेखनीय समस्या र स्पष्ट गल्तीबारे बेखबर रहन्छन्। यस्तो किन हुन्छ? किनकि तिनीहरूको प्रकृति सार भनेको ख्रीष्टविरोधीको सार हो। तिनीहरू आत्मिक क्षेत्रमा परमेश्‍वरसित लड्छन्, उहाँसित हैसियतका निम्ति होड गर्छन्, उहाँलाई कहिल्यै पनि परमेश्‍वर भनेर सम्बोधन गर्ने वा त्यही रूपमा व्यवहार गर्ने गर्दैनन्। परमेश्‍वरका घरमा, तिनीहरूले यही व्यवहार दोहोर्‍याउँछन्, र ख्रीष्टलाई उही शैलीमा व्यवहार गर्छन्। तिनीहरूको पुर्खाले परमेश्‍वरलाई यसरी व्यवहार गर्‍यो, त्यसकारण तिनीहरूले यसरी व्यवहार गर्नबाट आफूलाई रोक्न नसक्नु कुनै आश्‍चर्य होइन। तिनीहरूले यसरी नै व्यवहार गर्नबाट आफूलाई रोक्न नसकेकाले र तिनीहरूको स्वभाव सार निर्धारित भएकोले, के यस्ता मानिसहरूले अझै पनि परमेश्‍वरको मुक्ति पाउन सक्छन् त? के तिनीहरू परमेश्‍वरको घरबाट निकालिने र निष्कासित हुनेछैनन् र? के तिनीहरू परमेश्‍वरका चुनिएका सारा मानिसहरूद्वारा अस्वीकृत हुनेछैनन् र? (हुनेछन्।) के परमेश्‍वरको घरले यस्ता व्यक्तिहरूलाई निन्दा गर्ने, निकाल्ने र हटाउने कार्यबारे तिमीहरूसँग अझै पनि धारणाहरू छन्? (छैनन्।) के तिनीहरू दयालायक छन्? (छैनन्।) तिनीहरू किन दयालायक छैनन्? तिनीहरू घृणा र तिरस्कार गरिनलायक छन्, त्यसकारण तिनीहरू दयालायक छैनन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्