विषयवस्तु पन्ध्र: तिनीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, र तिनीहरूले ख्रीष्टको सारलाई इन्कार गर्छन् (भाग एक) खण्ड एक

अ. ख्रीष्टविरोधीहरू परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्

आज हामी ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणहरूको पन्ध्रौँ विषयवस्तु—तिनीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, र तिनीहरूले ख्रीष्टको सारलाई इन्कार गर्छन्—भन्‍नेमाथि सङ्गति गर्नेछौँ। यस विषयवस्तुले ख्रीष्टविरोधीहरूले परमेश्‍वर र ख्रीष्टलाई कस्तो व्यवहार गर्छन् भन्‍ने कुराका दुइटा प्रकटीकरणहरू खुलासा गर्छ, जसले ख्रीष्टविरोधीहरूको सार जनाउँछन्। यी दुवै प्रकटीकरणहरू परमेश्‍वर स्वयम्सँग, एकातिर परमेश्‍वरको आत्मा र अर्कोतिर परमेश्‍वरको देहधारी देहसँग सम्बन्धित छन्। ख्रीष्टविरोधीहरू परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, न त तिनीहरू उहाँको देहधारी देहलाई नै स्विकार्छन्। ख्रीष्टविरोधीहरूले परमेश्‍वरप्रति राख्ने दृष्टिकोणहरू यिनै हुन्, र ख्रीष्टविरोधीहरूले परमेश्‍वरलाई कसरी व्यवहार गर्छन् भन्‍ने कुराका मूल प्रकटीकरणहरू तिनै हुन्। अहिलेका लागि, हामी यी दुई मूल प्रकटीकरणहरूको सारमाथि सङ्गति गर्नेछैनौँ, बरु पहिला परमेश्‍वरको अस्तित्वबारे ख्रीष्टविरोधीहरूको अविश्‍वास कसरी प्रकट हुन्छ, अर्थात्, ख्रीष्टविरोधीहरूमा परमेश्‍वरप्रति कस्ता सोच, दृष्टिकोण, मनोवृत्ति, अनि विशिष्ट व्यवहार, प्रकटीकरण र शैलीहरू हुन्छन्, जसले तिनीहरू उहाँको अस्तित्वमा विश्‍वास गर्दैनन् भनेर प्रमाणित गर्छ भन्‍नेबारे छलफल गरौँ। के यस अविश्‍वासका ठोस प्रकटीकरणहरू हुन्छन्? कतिपयले भन्लान्, “परमेश्‍वरको अस्तित्वमाथिको ख्रीष्टविरोधीहरूको अविश्‍वासले तिनीहरूले यस तथ्यलाई मान्दैनन् र परमेश्‍वरको अस्तित्वलाई इन्कार्छन् भन्ने मात्र जनाउँछ। हृदयमा, तिनीहरू कुनै परमेश्‍वर छैन, र परमेश्‍वरका आत्मा, परमेश्‍वर स्वयम्, र सृष्टिकर्ता अदृश्य र अस्तित्वहीन हुनुहुन्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूका लागि, ‘परमेश्‍वर’ पदवी खोक्रो र मानव कल्पनाको सिर्जना मात्र हो। के यो व्याख्या र सङ्गति गर्न सरल कुरा होइन र? यो कसरी ख्रीष्टविरोधीहरूको सारसँग सम्बन्धित हुन्छ? कसरी यसका विशिष्ट प्रकटीकरणहरू छन्? के यो तिललाई पहाड बनाउनु होइन र? के यो साँच्चिकै त्यस्तो जटिल छ?” के यो सोच्ने तरिका सही हो? यदि तिमीहरूलाई ख्रीष्टविरोधीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास नगर्ने विषयबारे सङ्गति गर्न आग्रह गरियो भने, तिमीहरूले कसरी त्यसमाथि सङ्गति गर्नेथियौ र त्यसलाई चिरफार गर्नेथियौ? उदाहरणका लागि, एक जना अत्यन्तै छली व्यक्तिबारे सोच्। के तैँले उसको छलीपनका विशिष्ट प्रकटीकरणहरूबारे कुरा गर्न सक्छस्? यदि तैँले “यो व्यक्ति निकै छली छ, र ऊ सधैँ झूट बोल्छ र एउटा पनि साँचो कुरा बोल्दैन” मात्र भनिस् भने, के तब तैँले सङ्गति गरेर सक्काएको हुनेछस्? छलीपनका विशिष्ट स्थिति र प्रकटीकरणहरू के-के हुन्? तैँले त्यस व्यक्तिको छलीपनलाई कसरी चिरफार गर्न सक्छस्? तिनीहरूले दैनिक जीवनमा आफूलाई आचरणमा ढाल्न र मामलाहरू सम्हाल्न कस्ता तरिकाहरू प्रयोग गर्छन्? तिनीहरूले संसारसँग व्यवहार गर्न कस्ता विधिहरू प्रयोग गर्छन्? तिनीहरूको चरित्र कस्तो हुन्छ? मानिस, घटना, र कामकुराहरूबारे तिनीहरूको दृष्टिकोण के हुन्छ? यो व्यक्ति निकै छली छ भनेर कसरी प्रमाणित गर्न सकिन्छ? के यसका विशिष्ट विवरणहरू छैनन् र? विशिष्ट विवरणहरू पक्कै छन्। यो छलीपन भनेको के हो वा कस्ता कार्यहरू छली हुन् भन्‍ने कुरा मात्र होइन, र यो यस शब्दको व्याख्या गर्ने कुरा मात्र होइन, त्यसको साटो तैँले उसका विशिष्ट प्रकटीकरणहरू, व्यवहार, सोच, दृष्टिकोणहरू, र मामलाहरूलाई सम्हाल्ने विधिहरू, उसको चरित्र, आदि कुरालाई चिरफार गर्नुपर्छ। छली व्यक्तिको मुख्य विशेषता के हो भने, उसले कसैसित सङ्गति गर्न कहिल्यै आफ्‍नो हृदय खोल्दैन, र आफ्‍नो सबैभन्दा नजिकको मित्रलाई समेत उसले आफ्‍नो हृदयको कुरा सुनाउँदैन। यस्ता व्यक्तिहरू असाधारण रूपमा कुटिल र रहस्यमयी हुन्छन्। वास्तवमा, यस्तो व्यक्ति वृद्ध नै हुन्छ, वा उसले धेरै संसार देखेको हुन्छ भन्‍ने हुँदैन, र ऊसँग अनुभवसमेत थोरै मात्रै हुन सक्छ, तैपनि ऊ अत्यन्तै कुटिल र रहस्यमयी हुन्छ। ऊ उमेरको हिसाबले निकै धूर्त हुन्छ। के यस्तो व्यक्ति प्रकृतिले नै छली हुँदैन र? उसले आफूलाई यति गहन रूपमा लुकाएको हुन्छ कि कसैले उसको वास्तविकता देख्‍न सक्दैन। उसले जति नै धेरै शब्‍दहरू बोले पनि, कुन साँचो र कुन झूटो हो भन्न गाह्रो हुन्छ, र उसले कुन बेला साँचो र कुन बेला झूट बोलिरहेको हुन्छ भनी कसैलाई थाहा हुँदैन। यसको साथै, ऊ वास्तविक रूप लुकाउन र कुतर्क गर्न निकै सिपालु हुन्छ। ऊ प्रायः मानिसहरूमा गलत छाप छोड्ने र सत्यता लुकाउने गर्छ, जसले गर्दा मानिसहरूले उसको झूटो रूप मात्र देख्छन्। उसले आफू उच्‍च, असल, चरित्रवान्, र निष्कपट व्यक्ति भएको, र सबैले मन पराउने र अनुमोदन गर्ने व्यक्ति भएको भेष ओड्छ, र अन्त्यमा, सबैले उसलाई आराधना र सम्‍मान गर्छन्। त्यस्तो व्यक्तिसँग तैँले जति लामो समय बिताए पनि, उसले के विचार गरिरहेको छ भन्‍ने कुरा तँलाई कहिल्यै थाहा हुँदैन। सबै प्रकारका मानिस, घटना, र कामकुराहरूप्रतिको उसको दृष्टिकोण र मनोवृत्तिहरू उसको हृदयभित्र लुकेका हुन्छन्। उसले कसैलाई यी कुराहरू कहिल्यै बताउँदैन। उसले आफ्‍नो सबैभन्दा निकटको विश्‍वासपात्रसँग समेत यी कुराहरूबारे कहिल्यै सङ्गति गर्दैन। परमेश्‍वरलाई प्रार्थना गर्दासमेत, उसले आफ्‍नो हृदयको कुरा वा आफूबारेको सत्यता व्यक्त नगर्न सक्छ। यति मात्र होइन, उसले आफूलाई असल मानवता भएको व्यक्ति, अत्यन्तै आत्मिक र सत्यताको पछ्याइमा समर्पित व्यक्तिका रूपमा प्रस्तुत गर्छ। उसमा कस्तो स्वभाव छ र ऊ कस्तो व्यक्ति हो भनेर कसैले पनि बुझ्न सक्दैन। छलीपनका प्रकटीकरणहरू यिनै हुन्। उदाहरणका लागि, कुनै अल्छी व्यक्तिबारे विचार गर्। अल्छीपनाका विशिष्ट प्रकटीकरणहरू के-के हुन्? कतिपयले भन्लान्, “अल्छीपना भनेको बिलकुलै कुनै काम नगर्नु, दिनभर यतिकै बसिरहनु, चलमल गर्न वा केही कुराका बारेमा चिन्ता लिन नचाहनु, र कुराकानी गर्न नचाहनु हो।” के अल्छीपनाका ठोस र मूलभूत प्रकटीकरणहरू यिनै हुन्? (होइनन्, यी त केही सतही प्रतिभास मात्र हुन्।) त्यसोभए अल्छीपनाका मूलभूत प्रकटीकरणहरू के-के हुन्? मुख्यगरी, दुई ठूला प्रकटीकरणहरू छन्: पहिलो, कुनै कठिनाइ सहने अनिच्छा, आफूले चाहे जे गरे पनि त्यसमा बोझ वा जिम्मेवारी वहन नगर्नु, आफ्नो शरीरले अलिकति असहजता भोग्नेबित्तिकै, कठिनाइ वा थकान सामना गर्नेबित्तिकै गुनासो गर्नु; दोस्रो, कुनै कामप्रति वितृष्ण हुनु, सुखसयलको जीवन चाहनु, फुर्सद रोज्नु र श्रम मन नपराउनु, यतिकै समय खेर फाल्नु, दिनभर भौँतारिएर हिँड्नु, साथै कचकच गरिरहनु र काम गर्नुपर्नेबित्तिकै कसैले भेट्न नसक्नेगरी लुक्नु। अल्छीपनाका दुई प्रमुख प्रकटीकरणहरू यिनै हुन्; हामी यहाँ विशिष्ट प्रकटीकरणहरूबारे छलफल गर्नेछैनौँ। उदाहरणका लागि, कुनै खन्चुवा व्यक्तिकै कुरा गरौँ। खन्चुवापनका विशिष्ट प्रकटीकरणहरू के-के हुन्? यो मानवताभित्रै पर्ने कुरा हो, जसलाई चिरफार गर्न र खुट्ट्याउन सजिलो हुनुपर्ने हो, होइन त? (निरन्तर रूपमा देहसुख पछ्याउनु, सधैँ स्वादिष्ठ खाना खान चाहनु, मिठो खाने चाहनाहरू पूरा गर्नु।) (स्वादिष्ठ खानाप्रति अतृप्त भोक लाग्नु।) खन्चुवापनका प्रकटीकरणहरू यिनै हुन्। के कुनै ठाउँमा स्वादिष्ठ खाना पाइन्छ भन्‍ने सुनेपछि, त्यो ठाउँ भेट्टाउन ठूलो प्रयत्न गर्ने मानिसहरू हुँदैनन् र? उदाहरणका लागि, मानौँ कुनै ठाउँमा एउटा नयाँ भोजनालय खुल्छ, र त्यहाँ विविध प्रकारका स्वादिष्ठ खानाहरू पाइन्छन्, तर त्यो अलि महँगो र धेरै टाढा छ, र त्यहाँ पुग्न गाडीमा एक घण्टा लाग्छ। धेरैजसो मानिसहरूले खानाकै लागि त्यति टाढा जानु उचित होइन भन्ठान्नेथिए। तर खानामा रुचि हुने मानिसहरूले भोजनालयबारे सुनेपछि यसो सोच्छन्, “एक घण्टा गाडीको यात्रा टाढा होइन। जीवन भनेकै खाने, पिउने र रमाइलो गर्ने होइन र? गएर खाऔँ न!” तर, यदि त्यही व्यक्तिलाई एक घण्टा गाडीको यात्रा गरेर आफूले गर्नुपर्ने काममा जान भनियो भने, उसले विचार गर्न थाल्नेछ, “के म त्यहाँ जाँदा थाक्नेछैनँ र? के मैले त्यत्रो समय खर्चेर त्यहाँ काम गर्न जानु फलदायी हुनेछ? मैले खराब मानिसहरू भेटेँ भने के गर्नु? कारमा पेट्रोल सकियो भने के गर्नु? मैले त्यहाँ के खानु? के त्यहाँ तयार खाना पाइनेछ? म त्यहाँको स्थानीय वातावरणसँग घुलमिल हुन सकिनँ भने के गर्नु? म राति निदाउन सकिनँ भने के गर्नु?” तिनीहरू आफूले गर्नुपर्ने कामबारे बढी नै सोच्छन्, र जताततै कठिनाइहरू देख्छन्। तर कुनै स्वादिष्ठ चिज खाने कुरामा, तिनीहरू सारा अवरोधहरू पार गर्न इच्छुक हुन्छन्; कुनै पनि अवरोध समस्या नै बन्दैन, र तिनीहरू धेरै सोच्न छोड्छन्। यी खन्चुवापनका विशिष्ट प्रकटीकरणहरू हुन्। म यसलाई यहाँ सङ्क्षिप्तमा मात्र उल्लेख गरिरहेको छु; म त्यसलाई थप व्याख्या गर्नेछैनँ।

आजको सङ्गतिको विषयमै फर्कौँ। परमेश्‍वरको अस्तित्वमा ख्रीष्टविरोधीहरूको अविश्‍वासका प्रकटीकरणहरू के-के हुन्? तिनीहरूले कस्ता विशिष्ट सोच, दृष्टिकोण, र स्थितिहरू प्रकाश गर्छन्? तिनीहरूलाई केही आइपर्दा, तिनीहरूसँग के-कस्ता मनोवृत्ति, दृष्टिकोण, र विचारहरू हुन्छन्, जसले तिनीहरू परमेश्‍वरको अस्तित्वमा साँच्चिकै विश्‍वास गर्दैनन् भन्‍ने प्रमाणित गर्छ? के यो सङ्गति गर्नलायक छैन र? ख्रीष्टविरोधीहरू परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्; यस अविश्‍वासका विस्तृत विवरण र विशिष्ट प्रकटीकरणहरू के-के हुन्? (चाहे जे भए पनि, तिनीहरू त्यो परमेश्‍वरद्वारा योजनाबद्ध र प्रबन्ध गरिएको हो भनेर विश्‍वास गर्दैनन्, र तिनीहरू त्यो परमेश्‍वरबाट स्विकार्न सक्दैनन्।) (तिनीहरू परमेश्‍वरले असललाई इनाम र दुष्टलाई दण्ड दिनुहुन्छ भनेर विश्‍वास गर्दैनन्, त्यसकारण तिनीहरू निर्लज्जतापूर्वक दुष्कर्म गर्छन्।) यी केही विशिष्ट प्रकटीकरणहरू हुन्। ख्रीष्टविरोधीहरू परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्। परमेश्‍वरको अस्तित्वमाथिको यो अविश्‍वास एउटा इन्कार हो। तिनीहरूले के कुरालाई इन्कार गर्छन्, जसले तिनीहरू परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्छन् भन्‍ने प्रमाणित गर्छ? (तिनीहरू सृष्टिकर्ताका रूपमा परमेश्‍वरको पहिचानलाई इन्कार गर्छन्।) (तिनीहरू परमेश्‍वरले सबथोक नियन्त्रण गर्नुहुन्छ र यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने कुरालाई इन्कार गर्छन्।) (तिनीहरू परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्‍ने कुरालाई इन्कार गर्छन्, र तिनीहरू परमेश्‍वरको न्याय र सजायको कामले मानिसहरूको भ्रष्टता पखाल्न र तिनीहरूलाई शैतानबाट मुक्ति दिन सक्छ भन्‍ने कुरालाई इन्कार गर्छन्।) यीमध्ये कुन भनाइ प्रतिनिधिमूलक र बढी मूलभूत छ? परमेश्‍वरको पहिचानलाई र यावत् थोकमाथिको उहाँको सार्वभौमिकतालाई इन्कार गर्न—के यी प्रतिनिधिमूलक छैनन् र? के ती मूलभूत मामलाहरू होइनन् र? (हुन्।) परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्नु भनेको, एकातिर, परमेश्‍वरको पहिचान र सारलाई मान्‍नु हो। यसका साथै, यो परमेश्‍वरको पहिचान र सारमा विश्‍वास गर्ने जगमा परमेश्‍वरले यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने तथ्यलाई स्विकार्नु र मान्‍नु हो। के यो पूर्ण रूपमा परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्नु होइन र? के यी दुइटा कुराहरू अत्यन्तै महत्त्वपूर्ण छैनन् र? (छन् नि।) यी दुई सबैभन्दा मूलभूत मामलाहरू हुन्। त्यसकारण, परमेश्‍वरको अस्तित्वमाथिको ख्रीष्टविरोधीहरूको अविश्‍वासलाई चिरफार गर्न, हामीले पहिला दुइटा कुराहरू चिरफार गर्न आवश्यक छ: पहिलो, ख्रीष्टविरोधीहरूले परमेश्‍वरको पहिचान र सार स्विकार्न नमान्‍नु; दोस्रो, ख्रीष्टविरोधीहरूले यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकता स्विकार्न नमान्‍नु। अन्य पक्षहरू यी दुइटा कुराहरूमै निहित हुन्छन्। यसअघि, हामीले परमेश्‍वर सत्यता हुनुहुन्छ, परमेश्‍वरका वचनहरू सत्यता हुन्, वा परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिन सक्नुहुन्छ भन्‍ने कुरालाई ख्रीष्टविरोधीहरूले कसरी स्विकार्दैनन् भन्ने बारेमा सङ्गति गर्‍यौँ। यो पनि एउटा तथ्य हो। तर, म यहाँ ख्रीष्टविरोधीहरू मूलतः परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्दैनन्, र मूलतः परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन् भनेर भनिरहेको छु। यसलाई ख्रीष्टविरोधीहरूले परमेश्‍वरको पहिचान र सारलाई स्विकार्न नमान्ने र यावत् थोकमाथिको परमेश्‍वरको सार्वभौमिकतालाई स्विकार्न नमान्ने दृष्टिकोणबाट चिरफार गर्नु, झनै शक्तिशाली र प्रतिनिधिमूलक हुनेछ।

क. परमेश्‍वरको पहिचान र सार स्विकार्न नमान्‍नु

हामी पहिलो बुँदा: ख्रीष्टविरोधीहरूले परमेश्‍वरको पहिचान र सार स्विकार्न नमान्‍नुबारे सङ्गति गर्दै सुरु गरौँ। परमेश्‍वरको पहिचान के हो? सारा सृजित प्राणीहरूका लागि, परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, त्यसोभए यावत् थोकका लागि उहाँको पहिचान के हो? (यावत् थोकका सार्वभौम।) यो पदवी पनि सही छ, तैपनि परमेश्‍वरको साँचो पहिचान चाहिँ के हो? परमेश्‍वरलाई सम्बोधन गर्दा, के तैँले सिधै उहाँलाई “यावत् थोकका सार्वभौम” भन्‍न मिल्छ? यो तेरा लागि तेरी आमाको पहिचान तँलाई जन्म दिने र हुर्काउने व्यक्ति भएजस्तै हो, तर के तैँले आफ्नी आमालाई “मलाई जन्म दिने र हुर्काउने व्यक्ति” भनेर बोलाउन मिल्छ? (मिल्दैन।) तँ उनलाई के भनेर बोलाउँछस्? (आमा।) तैँले आमाका लागि प्रयोग गर्ने शब्द त्यही हो। त्यसकारण, सृष्टिकर्ता, यावत् थोकका सार्वभौमको पदवी परमेश्‍वर हो, र परमेश्‍वर स्वयम्लाई मात्र परमेश्‍वर भन्‍न मिल्छ। सारा सृजित र गैर-सृजित कुराहरूका लागि, परमेश्‍वर परमेश्‍वर नै हुनुहुन्छ; उहाँको पहिचान यावत् थोकका सार्वभौम हो, र उहाँको पदवी परमेश्‍वर हो। यो पदवी बोक्ने एउटै जन परमेश्‍वर स्वयम् हुनुहुन्छ, उहाँ परमेश्‍वर हुनुहुन्छ। जो परमेश्‍वर पदवीको योग्य हुनुहुन्छ, उहाँसँग मात्र परमेश्‍वरको पहिचान र सार छ। अहिलेका लागि “सार” शब्दबारे नबोलौँ, बरु पहिचानबारे कुरा गरौँ। परमेश्‍वरको पहिचान भएका परमेश्‍वर स्वयम्ले परमेश्‍वरका कामकुरा गर्नुहुन्छ, परमेश्‍वरको स्वभाव व्यक्त गर्नुहुन्छ, अनि सारा मानवजातिलाई अगुवाइ गर्नुहुन्छ र परमेश्‍वरका विधिहरू प्रयोग गरेर सारा मानवजाति र यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ। परमेश्‍वरले गर्ने सारा कामकुरामाथि परमेश्‍वरमा विश्‍वास गर्ने र परमेश्‍वरको पहिचानलाई स्विकार्नेहरूको दृष्टिकोण ख्रीष्टविरोधीहरूकोभन्दा पूर्ण रूपमा फरक हुन्छ। यावत् थोकमाझ परमेश्‍वरले गर्नुहुने सबथोकलाई सही रूपमा बुझ्न सक्नेहरूले यसमार्फत उहाँका कार्यहरूका विधिहरू देख्नेछन्, र यावत् थोकमाझ उहाँको अस्तित्वबारे आफूलाई अझ बढी विश्‍वस्त पार्नेछन्। यसको विपरीत, ख्रीष्टविरोधीहरूले यी यावत् थोकलाई हेर्ने दृष्टिकोण, शैली, र कोण परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्नेहरूकोभन्दा पूर्ण रूपमा उल्टो हुन्छन्। यसैकारण ख्रीष्टविरोधीहरू परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्नु, वा यी यावत् थोक गर्न सक्षम एउटै जन परमेश्‍वरको पहिचान भएकै जन हुनुहुन्छ, र उहाँ मात्र परमेश्‍वर भनिन योग्य हुनुहुन्छ र मानिसहरूद्वारा परमेश्‍वर भनेर सम्बोधन गरिन योग्य हुनुहुन्छ भनेर विश्‍वास गर्नुभन्दा बरु मर्न तयार हुन्छन्।

यावत् थोकमाझ र सारा मानवजातिमाझ अस्तित्वमा रहेका धेरै मामलाहरू, चाहे ती नाङ्गो आँखाले देखिने होऊन् वा नहोऊन्, यदि मानिसहरूले परमेश्‍वरका वचनहरू र सामान्य मानवताको चेतनामार्फत तिनलाई हेर्छन् र बुझ्छन् भने, तिनीहरूले पत्ता लगाउनेछन् कि परमेश्‍वरले नै मानवजातिलाई यावत् थोकमाझ अगुवाइ गरिरहनुभएको छ, र उहाँ वास्तवमै अस्तित्वमा हुनुहुन्छ। यावत् थोकका व्यवस्थाहरू र यावत् थोकको विकास कुनै अदृश्य र अवर्णनीय नियमहरूअन्तर्गत योजनाबद्ध र प्रबन्धित भइरहेका छन् भने, यो सबै योजनाबद्ध र प्रबन्ध गर्न कसले सक्छ त? न त कुनै महान् व्यक्ति, न कुनै नायकले नै सक्छ, र यो निश्चय नै प्राकृतिक रूपमा निर्मित हुँदैन। बरु, त्यसो गर्ने त अदृश्य र अमूर्त, तर मानिसले बोध गर्न सक्ने, साथै यो सबैमाथि सार्वभौम जन हुनुहुन्छ। यो को हो? यो परमेश्‍वर हुनुहुन्छ। के परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्नु मानिसहरूमा हुनुपर्ने न्यूनतम चेतना होइन र? के यो मानिसहरूले कामकुरालाई हेर्दा प्रयोग गर्नुपर्ने सबैभन्दा न्यूनतम, आधारभूत दृष्टिकोण र कोण होइन र? तर, ख्रीष्टविरोधीहरूमा यो चेतना नहुने हुनाले, तिनीहरू कामकुरालाई यस्तो दृष्टिकोण र कोणबाट हेर्दैनन्। त्यसकारण, परमेश्‍वरले योजनाबद्ध गर्नुभएका, मानिसहरूले बोध गर्न मात्र सक्ने, र परमेश्‍वरले खुलस्त रूपमा मानवजातिलाई प्रस्ट भाषामा नभन्‍नुभएका कामकुरालाई ख्रीष्टविरोधीहरू संयोगात्मक, मानव-निर्मित, प्राकृतिक रूपमा निर्मित, वा मानिसहरूले कल्पना र चालबाजी गरेको समेत ठान्छन्। तैँले परमेश्‍वरको अस्तित्वको गवाही चाहे जसरी दिए पनि, तैँले परमेश्‍वर यावत् थोकमाझ हुनुहुन्छ, परमेश्‍वरसित परमेश्‍वरको पहिचान छ, र परमेश्‍वरको पहिचान हुने जनले मात्र यी कामकुरा गर्न र यावत् थोकलाई व्यवस्थित रूपमा मिलाउन सक्नुहुन्छ, र यस्तो सार्वभौम नै परमेश्‍वरको पहिचान बोक्नुहुने जन हुनुहुन्छ भनेर प्रमाणित गर्न जतिसुकै तथ्यहरू प्रयोग गरे पनि, के ख्रीष्टविरोधीहरूले यसलाई यस तरिकाले हेर्नेछन्? के ख्रीष्टविरोधीहरूले यसलाई यसरी बुझ्नेछन्? (बुझ्नेछैनन्।) तैँले यसलाई प्रमाणित गर्न जतिसुकै तथ्यहरू प्रस्तुत गरे पनि, ख्रीष्टविरोधीहरूले न त यसलाई विश्‍वास गर्नेछन् न त स्विकार्नेछन् नै। तिनीहरूले बाहिरी रूपमा केही नभने पनि, अनि तिनीहरूले त्यसलाई खण्डन गर्न कुनै प्रमाण प्रस्तुत गर्न नसके पनि, भित्रभित्रै, तिनीहरू यसमा सयौँ पटक असहमत भइरहेका र यसलाई स्विकार्न नमानिरहेका हुन्छन्, र यसमाथि अनेकौँ प्रश्न चिन्हहरू खडा गरिरहेका हुन्छन्। तिनीहरू परमेश्‍वरको पहिचानमा विश्‍वास गर्ने मानिसहरू मूर्ख हुन्, तिनीहरू बहकाइएका छन्, र यो परिपक्व सोच नभएकाहरूले मात्र गर्ने र सोच्ने कुरा हो भन्ठान्छन्। तिनीहरूका विचारमा, मानिसको स्वतन्त्र इच्छा मानिस आफैद्वारा नियन्त्रित हुनुपर्छ र स्वतन्त्र रूपमा व्यक्त गरिनुपर्छ। तिनीहरू मानिसहरूले यावत् थोकमाझ घट्ने घटनाहरूबारे आफूले नै छनौट गर्ने तवरले राय बनाउनुपर्छ, र यी घटनाहरूलाई वैज्ञानिक विधिहरू र वैज्ञानिक दृष्टिकोणमार्फत हेरिनुपर्छ, मानिसहरू यति अन्धविश्‍वासी हुनु हुँदैन, वा तिनीहरूले सबथोक व्याख्या गर्न परमेश्‍वरको सार्वभौमिकता प्रयोग गर्नु हुँदैन, वा परमेश्‍वरको सार्वभौमिकता प्रयोग गरेर सबथोक सम्हाल्नु हुँदैन भन्ठान्छन्। उदाहरणका लागि, मण्डलीमा, धेरै दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरको मुक्ति प्राप्त गरेदेखि उहाँले गर्नुभएका अनेकौँ चिन्ह र चमत्कारहरू अनुभव गरेका छन्। तिनीहरू त्यसबखत परमेश्‍वरले तिनीहरूलाई कसरी अगुवाइ गर्नुभयो, परमेश्‍वरले कसरी तिनीहरूलाई यी घटनाहरूमार्फत उहाँ साँच्चिकै अस्तित्वमा हुनुहुन्छ, र ती साँच्चिकै उहाँले नै गर्नुभएको हो भनेर देखाउनुभयो भन्‍नेबारे, साथै तिनीहरूले यी घटनाहरूमार्फत प्राप्त गरेका असीम आशिष्‌हरू र अनुग्रहबारे गवाही दिन्छन्। गवाहीहरू र भौतिक प्रमाण दुवैमा सबुत छ। परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्नेहरूको आस्थालाई यी गवाहीहरू र भौतिक प्रमाणले बलियो बनाउँछन्, तर के ती सुनेपछि, परमेश्‍वरको अस्तित्वमा विश्‍वास नगर्ने ख्रीष्टविरोधीहरूको दृष्टिकोण परिवर्तन हुन्छ? (हुँदैन।) तँ कसरी भन्‍न सक्छस्? किनकि, तैँले जतिसुकै साँचो रूपमा बोले पनि वा तेरो गवाहीलाई व्यक्तिगत रूपमा पुष्टि गर्ने मानिसहरू जतिसुकै भए पनि, ख्रीष्टविरोधीहरूले त्यसलाई विश्‍वास गर्नेछैनन्। तिनीहरूले भन्‍नेछन्, “म आफैले त्यो अनुभव नगरेसम्म, यदि मैले त्यो देखेको छैन भने, त्यो अस्तित्वमा छैन। तिमीहरूले जे अनुभव गर्‍यौ, त्यो एउटा संयोग, एउटा आकस्मिक कुरा मात्र थियो। के हरव्यक्तिले आफ्नो जीवनमा खतरनाक वा संयोगात्मक घटनाहरू अनुभव गर्दैन र? के यी संयोगवश र आकस्मिक रूपमा घट्ने घटनाहरू घट्नुले ती परमेश्‍वरले गरेका काम हुन् भन्‍ने प्रमाणित गर्छ? के यसले यी कामकुरा गर्ने परमेश्‍वर नै हुन् भनी प्रमाणित गर्छ? सायद यो तिम्रो कल्पना मात्र हो, सायद तिमीलाई सहयोग गर्नका लागि कोही हितकारी भएको भएर तिमी सौभाग्यशाली भएका मात्र हौ, वा सायद त्यो तिम्रो मर्ने समय छँदै थिएन र तिमी भाग्यले उम्कियौ।” हेर् त, के तिनीहरू यी मानिसहरूमाथि परमेश्‍वरले गर्नुभएका कामकुरालाई स्विकार्छन्? (स्विकार्दैनन्।) तिनीहरू परमेश्‍वरले दाजुभाइ-दिदीबहिनीहरूमाथि गर्नुभएका कामकुरालाई स्विकार्दैनन् वा तिनमा विश्‍वास गर्दैनन्, न त तिनीहरू परमेश्‍वरले यस्ता कार्यहरू गर्न सक्नुहुन्छ, वा दाजुभाइ-दिदीबहिनीहरूले अनुभव गरेका कुराहरू साँच्चिकै भएका हुन् भनेर विश्‍वास नै गर्छन्। तिनीहरू सोच्छन्, “संसारमा यस्ता चिजहरू कसरी अस्तित्वमा हुन सक्छन्? यदि ती हुन्छन् भने, ती केवल मानव कल्पनाका उपजहरू मात्र हुन्। एउटा भनाइ नै छ, ‘दिनमा जे सोचिन्छ, रातमा त्यसकै सपना देखिन्छ।’ यी कुराहरू सबै भ्रान्ति मात्र हुन्।” जब ख्रीष्टविरोधीहरूले दाजुभाइ-दिदीबहिनीहरूले कसरी केही चिन्ह र आश्चर्यकर्महरू, परमेश्‍वरको कुनै विशेष अनुग्रह र आशिष्‌हरू, साथै साधारण मानिसहरूको पहुँचबाहिरका केही कुराहरू अनुभव गरे भन्नेबारे सुन्छन्, तब तिनीहरू त्यो कुरा विश्‍वास गर्दैनन्। त्यसोभए, के दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरका वचनहरू अनुभव गर्ने क्रममा प्राप्त गर्ने अन्तर्दृष्टि र मार्गदर्शनमा ख्रीष्टविरोधीहरूले विश्‍वास गर्न सक्छन् त? तिनीहरू त्यसमा पनि विश्‍वास गर्दैनन्। तिनीहरू परमेश्‍वरले मानिसहरूलाई अन्तर्दृष्टि, ज्योति र मार्गदर्शन दिनुहुन्छ भनेर विश्‍वास गर्दैनन्। तिनीहरू यो सबै मानव मस्तिष्कबाट, मानिसको ज्ञानमा आधारित विश्लेषण र बुझाइबाट आउँछ, र त्यसले यी अनुभवात्मक गवाहीहरू उत्पन्न गर्छ भन्‍ने सोच्छन्। तिनीहरू यस्तो विश्‍वास गर्छन्, “यदि मानिसहरूले राम्रोसँग सोचेमा र यस दिशामा जोडले लागिपरेमा, के तिनीहरूले केही ज्ञान प्राप्त गर्नेछैनन् र? यदि मैले पनि यस सम्बन्धमा मेहनत गरेँ, राम्रोसँग सोचेँ र चिन्तन गरेँ भने, कुनै लेख लेखेजस्तै, ममा पनि केही अनुभवात्मक गवाही फुर्न सक्छ।” त्यसकारण, दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरले तिनीहरूलाई कसरी अगुवाइ गर्नुभयो, कसरी अन्तर्दृष्टि र ज्योति दिनुभयो, न्याय गर्नुभयो, सजाय दिनुभयो, काटछाँट गर्नुभयो, र ताडना दिनुभयो, परमेश्‍वरले तिनीहरूलाई जाँच्न र शोधन गर्नहेतु कसरी परिस्थितिहरू खडा गर्नुभयो, साथै यसबाट तिनीहरूले कसरी परमेश्‍वरका अभिप्रायहरू बुझ्न पुगे, आदि कुराहरूको अनुभवात्मक गवाही दिँदा, ख्रीष्टविरोधीहरूले परमेश्‍वरका यीमध्ये कुनै पनि कार्यहरूलाई स्विकार्दैनन् वा तिनमा विश्‍वास गर्दैनन्। तिनीहरू यी सबै कुराहरू असम्भव भएको भन्ठान्छन्। ख्रीष्टविरोधीहरू दाजुभाइ-दिदीबहिनीहरूमाझ घट्ने यी घटनाहरूलाई स्विकार्दैनन् वा तिनमा विश्‍वास गर्दैनन्। के यसले परमेश्‍वरको पहिचान स्विकार्न पूर्ण रूपमा नमान्‍ने ख्रीष्टविरोधीहरूको सारलाई पुष्टि गर्छ? वास्तवमा, यो परमेश्‍वरको पहिचान स्विकार्न नमान्‍ने ख्रीष्टविरोधीहरूको सार प्रमाणित गर्ने सबैभन्दा शक्तिशाली प्रमाण चाहिँ होइन।

हामी अस्थायी रूपमा मण्डली र दाजुभाइ-दिदीबहिनीहरूको दायराभन्दा बाहिर जाऔँ, र मानिसका समूहहरूका र वास्तविक जीवनका विभिन्‍न मामलाहरूप्रति ख्रीष्टविरोधीहरूका दृष्टिकोणहरू जाँचौँ। यी मामलाहरू के-के हुन्? (मानिसहरूको जन्म, बुढ्यौली, बिमारी, र मृत्यु, साथै सामाजिक परिवर्तन, राजनीतिक बदलाव, र विपत्तिका घटनाहरू। ख्रीष्टविरोधीहरूले यी कुनै पनि कुरामा परमेश्‍वरको सार्वभौमिकता चिन्‍न सक्दैनन्।) (ख्रीष्टविरोधीहरू मानिसहरूका नियति परमेश्‍वरको हातमा हुन्छ भनेर विश्‍वास गर्दैनन्, बरु, तिनीहरू आफ्नै दुइटा हातले एउटा सुन्दर मातृभूमि सिर्जना गर्न चाहन्छन्।) यी विशिष्ट प्रकटीकरणहरू हुन्, जो यस मामलाको सारसँग सम्बन्धित छन्। के ख्रीष्टविरोधीहरूले मानव नियति, जीवन र मृत्यु, र हरव्यक्तिले जीवनमा भोग्ने सारा अनुभवहरू परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत छन् भनेर देख्न सक्छन्? तिनीहरूले यो देख्न सक्दैनन्। उदाहरणका लागि, समाजमा एउटा चर्चित भनाइ छ: “पुलहरू निर्माण गर्ने र बाटाहरू मर्मत गर्नेहरू अन्त्यमा अन्धा हुन्छन्, जबकि हत्यारा र आगजनीकर्ताहरूका सन्तानको सङ्ख्या वृद्धि हुन्छ।” के यो भनाइ कुनै चिजको मूलभूत नियम हो? के यो सत्यता हो? के यो कुनै दार्शनिक सिद्धान्त हो? (होइन।) त्यसोभए, यो भनाइ कहाँबाट आउँछ? परमेश्‍वरमा विश्‍वास गर्नेहरूबाट त निश्चय नै आउँदैन; यो मानव विकास अवधिभरि विभिन्‍न मानिसहरूका जिउने अवस्थाहरूमा देखिने एउटा सतही घटना हो। मानिसहरू संसारमा निष्पक्षता छैन, कुनै व्यक्तिले जति धेरै असल कुराहरू गर्छ, ऊ त्यति नै धेरै अन्धो बन्‍ने सम्भावना हुन्छ, र उसले त्यति नै धेरै प्रतिशोध सामना गर्छ, जबकि कुनै व्यक्तिले जति धेरै दुष्कर्म गर्छ, ऊ त्यति नै धेरै फस्टाउँछ र उसले संसारमा सफलता पाउँछ भनी विश्‍वास गर्छन्। के मानवजातिका विभिन्‍न कामकुराका विकासका नियमहरू कुनै पनि रूपमा यस भनाइ अनुरूप छन्? यस्तो भनाइ पनि छ, “असल मान्छे जवानीमै मर्छ तर दुष्ट मान्छे धेरै वर्ष बाँच्छ।” कस्ता प्रकारका मानिसहरूले यो भनाइ सिर्जना गरेका हुन्? यस प्रकारका भनाइहरूलाई मानिसहरूले लोकोक्ति भनेर चिन्छन्; कस्ता मानिसहरूले यी उक्तिहरू बोल्न सक्छन्? के तिनीहरू परमेश्‍वरका विश्‍वासी हुन्? के तिनीहरू परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्ने मानिसहरू हुन्? (होइनन्।) निश्चित प्रकारका निन्दकहरू हुन्छन्, जो समाजमा र मानिसहरूमाझ असफल हुन्छन्, जसले जतासुकै अवरोध र दुर्भाग्यहरू सामना गर्छन्, अनि जसका आकाङ्क्षाहरू अपूरा हुन्छन्, र तिनीहरू जहाँ गए पनि उन्नती गर्दैनन्। तिनीहरू आफू अलि योग्य र सक्षम भएको ठान्छन्, र तैपनि तिनीहरू नाम कमाउन, फस्टाउन, अरूलाई उछिन्‍न, वा आफ्ना पुर्खाहरूलाई सम्मान गर्न असक्षम भएका हुन्छन्। तिनीहरू चाहे जहाँ गए पनि बहिष्करण, हेपाइ, र दमनमा पर्छन्, र तिनीहरूमा यी सबै कुराबाट उम्कने क्षमता हुँदैन। अन्ततः, तिनीहरू यस्तो निष्कर्षमा पुग्छन्: “समाज वा मानवजातिमा कुनै निष्पक्षता छैन, असललाई इनाम र दुष्टलाई दण्ड दिने कुरा, वा प्रतिशोध हुँदैन। खराब मानिसहरू दण्डित नभई खराब कामकुरा गर्छन्, जबकि दानहरू दिने र गरिबलाई मदत गर्ने जस्ता थुप्रै असल कामहरू गरेका असल मानिसहरूले अन्त्यमा इनाम प्राप्त गर्दैनन्। त्यसकारण, असल नहुनू; त्यो बेकार हो। असल मानिसहरू अन्त्यमा अन्धा बन्न पुग्छन्—त्यसको साटो दुष्ट व्यक्ति नै बन्‍नुपर्छ।” तिनीहरू संसारमा र मानिसहरूका समूहमाझ असफल भएकाले संसारमा निष्पक्षता र इन्साफ नभएको, र संसारमा मुक्तिदाता नभएकोबारे गुनासो गर्छन्। तिनीहरू आफ्ना सबल पक्षहरू र दक्षता कसैले नदेखेका, र तिनीहरूलाई कसैले महत्त्वपूर्ण पदहरूमा नराखेकाले सबैले आफूलाई अन्याय गरेका छन् भन्ठान्छन्। त्यसकारण, तिनीहरू मानवजाति र संसारबारे गुनासो गर्न यस प्रकारको विकृत सिद्धान्त पैदा गर्छन्। वास्तवमा, के यी विभिन्‍न कामकुराहरू घट्नुको पछाडि कारणहरू छन्? के तिनका कुनै कारक सम्बन्धहरू छन्? बिलकुल छन्! ख्रीष्टविरोधीहरूको दृष्टिकोण यी मानिसहरूको जस्तै हुन्छ; तिनीहरू परमेश्‍वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भनेर विश्‍वास गर्दैनन्, न त तिनीहरू परमेश्‍वरको पहिचान बोकेका परमेश्‍वरले सार्वभौमिकता राख्ने सब थोक धर्मी हुन्छ भनेर नै विश्‍वास गर्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरू परमेश्‍वरले गर्ने सब थोकले उहाँको पहिचान प्रतिनिधित्व गर्छ भनेर स्वीकार गर्न असफल हुने मात्र नभई, तिनीहरू समाजमा संचार हुने विकृत सिद्धान्त र विधर्ममा पनि विश्‍वास गर्छन्। तिनीहरू ती विकृत सिद्धान्त र विधर्म साँचो हुन्, र यस संसारमा मौलाउन सक्ने, आराधना र अनुसरण गरिनेहरूलाई मात्र तिनीहरूका हृदयका ईश्‍वर, र तिनीहरूको हृदयमा ईश्‍वरको पहिचान बोकेका ईश्‍वरहरू भन्‍न सकिने ठान्छन्। उदाहरणका लागि, चिनियाँ किंवदन्तीहरूमा, पश्चिमकी रानी आमा, जेड सम्राट्, आठ अमरहरू, गुआनयिन, र बुद्धजस्ता व्यक्तित्वहरू छन्—यी ख्रीष्टविरोधीहरूले हृदयमा साँच्चिकै आराधना गर्ने यिनीहरूकै हो। यी किंवदन्तीहरूमा, जेड सम्राट सबैभन्दा महान् हुन्छ; ऊसँग स्वर्गलोकका पापीहरूलाई मृत्युलोकमा फालेर दण्डित गर्ने शक्ति हुन्छ। जब ख्रीष्टविरोधीहरूले यो कुरा सुन्छन्, तिनीहरूमा ऊप्रति ठूलो प्रशंसा जाग्छ, र तिनीहरूले सोच्छन्, “जेड सम्राट साँच्चिकै ईश्‍वर हुन्! उनीसँग ईश्‍वरका आचरण, चालढाल, र क्षमताहरू छन्!” यी किंवदन्तीहरू, साथै सर्वसाधारणले भेटीहरू चढाउने तथाकथित अमरहरूले मानिसहरूमाथि ठूलो छाप छाडेका छन्। तिनीहरू यस्तो विश्‍वास गर्छन्, “यी तथाकथित अमरहरूसँग ठूलठूला सीप र शक्तिहरू छन्। उनीहरू ईश्‍वर पदवीका लायक छन्। उनीहरूले संसारमा हुने सारा अन्यायपूर्ण र असन्तोषजनक कामकुराबारे स्वर्गलोकबाट समाधानका अभिव्यक्तिहरू प्रदान गर्न सक्छन्, र यदि कसैले इन्साफ खोजिरहेको छ भने, उसले उनीहरूबाट जवाफ खोज्न सक्छ। उदाहरणका लागि, बाओ गोंग र गुआन गोंगजस्ता ऐतिहासिक व्यक्तित्वहरूले आत्मिक क्षेत्रमा मानवजातिका लागि इन्साफ कायम राख्छन्। कुनै व्यक्ति अन्यायमा पर्दा, र अदालतहरू अन्यायपूर्ण हुँदा उसले आफ्नो मुद्दा बाओ गोंग वा गुआन गोंगसामु ल्याएमा, उसले इन्साफ पाउने प्रत्याभूति हुन्छ।” मानिसहरू दन्त्यकथाका यी पात्रहरूले मानवजातिलाई इन्साफ दिन, दुष्ट मानिसहरूलाई दण्डित गर्न, र संसारका सारा अन्यायलाई सच्याउन सक्छन्, जसले गर्दा कष्ट भोग्ने र सङ्घर्ष गर्नेहरू आँसु झार्न छाड्छन् भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू समाजको सबैभन्दा तल्लो तहका गरिब मानिसहरू, असक्षम र हेपाइमा परेकाहरूले, आफ्नो सारा कष्टबाट उम्किन र आफूले सामना गर्ने सारा दुर्व्यवहार र दमनलाई सुल्झाउनका निम्ति बस यी व्यक्तित्वहरूलाई भेटीहरू चढाउनुपर्ने, तिनीहरूमा विश्‍वास गर्नुपर्ने र तिनीहरूलाई अनुसरण गर्नुपर्ने भन्ठान्छन्। यसैगरी, तिनीहरूका हृदय र मनमा, ख्रीष्टविरोधीहरूले ईश्‍वरहरू सारा मानव कष्टहरू समाधान गर्ने र मानिसहरूलाई दुःखको सागरबाट उद्धार गर्ने तथाकथित बोधिसत्त्व र बुद्धजस्तै हुनुपर्छ भन्ठान्छन्। उदाहरणका लागि, एक जना मानिसकी आमा असाध्यै बिरामी र चिकित्सा उपचार हुनै नसक्ने अवस्थामा थिई, ऊ कर्तव्यनिष्ठ थियो र ऊ आमाको मृत्यु होस् भन्ने चाहँदैनथ्यो, त्यसकारण उसले हरदिन तीन सिन्का धूप बाल्थ्यो र गुआनयिन बोधिसत्त्वको मूर्तिलाई प्रत्येक दिन मिष्ठान्‍न खानपिन चढाउँथ्यो। त्यसपछि उसले एउटा प्रतिज्ञा गर्‍यो: यदि उसकी आमाको रोग निको हुन सक्यो र ऊ अर्को तीस वर्ष बाँच्न सकी भने, त्यसको बदलामा उसले स्वेच्छाले आफ्नो जीवनको ३० वर्ष त्याग्नेछ, ऊ बाँकी जीवनभर शाकाहारी बन्‍नेछ, र ऊ त्यसउप्रान्त सधैँ कुनै प्राणीको हत्या गर्नबाट टाढा रहनेछ। धूप बाल्ने, ढोग्ने र यो प्रतिज्ञा गरेपछि, अनि आफ्नो इमानदार हृदय चढाएपछि, उसकी आमाको रोग निको भयो। के यसको अर्थ उसको प्रतिज्ञा बोधिसत्त्वले सुने भन्ने हुन्छ? के यसको अर्थ उसकी आमा थप ३० वर्ष जिउनेछे र ऊ ३० वर्ष कम जिउनेछ भन्‍ने हो? होइन। तर उसले त्यही विश्‍वास गरेका कारण, ऊ त्यो साँचो हो भनेर विश्‍वस्त भयो। त्यसपछि उसले शाकाहारी बनेर आफ्नो प्रतिज्ञा पूरा गर्न थाल्यो। एक दिन, उसले यसो सोच्यो: “मेरी आमा निको भएकी छिन्, र उनको दीर्घायुमा अब कुनै समस्या छैन, त्यसैले के मैले भविष्यमा आफ्नो प्रतिज्ञा तोड्न मिल्छ? के मैले कुखुराको खुट्टा खान मिल्छ? यदि मैले खान चाहेँ भने, खान मिल्छ।” कुखुराको खुट्टा खानेबित्तिकै उसलाई आनन्द आयो, र उसको हृदय शान्त भयो, तर भोलिपल्ट, उसलाई बान्ता भयो र पखाला लाग्यो, र ऊ धेरै दिनसम्म बिरामी भयो र उसमा कुनै सुधार आएन। चौथो दिन, उसले सोच्यो: “के यो बोधिसत्त्वले दिएको दण्ड हो? के उनले मलाई मासु खाने अनुमति दिइरहेकी छैनन्? मैले यसअघि बोलेका शब्दहरूले साँच्चिकै काम गरेजस्तो देखिन्छ—मैले मासु खान मिल्दैन!” जब उसले यो सोच्यो, उसले तुरुन्तै थप तीन सिन्का धूप बाल्यो, धेरै मिष्ठान्‍न भोजन चढायो, र आफ्नो पाप स्विकार्‍यो। उसको रोग भोलिपल्टै निको भयो। जब उसले बोधिसत्त्व अत्यन्तै प्रभावकारी भएको देख्यो, उसले झनै दृढताका साथ विश्‍वास गर्‍यो कि: “मानिसहरूले कार्य गर्दा बोधिसत्त्वले हेरिरहेकी हुन्छिन्। मैले उनलाई झुक्याउने कोसिस गर्नै हुँदैन, मैले आफ्नो प्रतिज्ञा कायम राख्नैपर्छ, नत्र उनको दण्ड भोग्नुपर्छ!” त्यसपश्चात्, उसलाई “बोधिसत्त्व” पदवी पवित्र र अनुल्लङ्घनीय छ भन्‍ने झनै बढी महसुस भयो। उसले दिनदिनै तीन सिन्का धूप बाल्थ्यो र चाडबाड र छुट्टीका बेलामा भेटीहरू चढाउँथ्यो। समय बित्दै जाँदा, जेड सम्राट, गुआनयिन बोधिसत्त्व, गुआन गोंग, आदि जस्ता मानिसहरूले भेटीहरू चढाउने मूर्तिहरू ईश्‍वरहरू हुन् भन्‍ने विश्‍वास यस्तो व्यक्तिमा प्रबल बन्यो। उसको हृदयमा उनीहरूको हैसियत कुनै सन्देह वा शङ्का नरहने गरी झनै अटल बन्यो। ख्रीष्टविरोधीहरूले यी कुराहरू अनुभव नगरेका वा घरमा यस्ता मूर्ति वा माटोका प्रतिमाहरूलाई भेटीहरू नचढाएका भए पनि, तिनीहरूले अझै पनि बेलाबेलामा आफ्ना सामाजिक वृत्तमा यस्ता कुराहरू सुन्‍ने वा सामना गर्ने गर्छन्। उदाहरणका लागि, तिनीहरूले बुद्धले कसैको रोग निको पारेको वा दुष्ट मानिसहरूमाथि प्रतिशोध बर्साएर इन्साफ दिलाएकोबारे, कसैको घरमा कुनै फेंग शुई गुरुले केही वस्तु मिलाइदिएपछि त्यो व्यक्ति समृद्ध बनेको, वा कसैले फेंग शुई गुरु वा यिन यांग गुरुलाई चिहानबारे र समाधिस्थल रोज्नेबारे परामर्श लिँदा उसका सन्ततिहरू उच्च अधिकारी बनेका वा तिनीहरूले आफ्ना करियरमा ठूलो सफलताको आनन्द उठाएका, आदिबारे सुन्छन्। यी कुराहरूले ख्रीष्टविरोधीहरूका मनमा ईश्‍वरहरूसँग, मानिसहरूले दैनिक जीवनमा भेट्ने र देख्ने यी तथाकथित बुद्ध र सम्राटहरूसँग भएजस्तै सामर्थ्य र शक्ति हुनुपर्छ भन्‍ने छाप छोड्छन्। तिनीहरूले यो समेत सोच्छन् कि ईश्‍वरहरू मानिसहरूले भेटी चढाउने मूर्तिहरूजस्तै हुनुपर्छ, उनीहरूले त्रास र आश्चर्य जगाउन मानिसहरूमाझ केही चिन्ह र आश्चर्यकर्महरू देखाउनुपर्छ। अनि यदि कुनै ईश्‍वरले यसो गरेनन् भने, तिनीहरू त्यसलाई ईश्‍वर मान्‍नु हुँदैन भन्‍ने सोच्छन्। ईश्‍वरहरूबारे यस्ता विचार र बुझाइहरू बोकेर, ख्रीष्टविरोधीहरूले ईश्‍वरबारे कस्तो अवधारणा बनाउँछन् त? तिनीहरूका मनमा, स्वर्गका व्यवस्थाहरू उल्लङ्घन गर्नेहरूलाई स्वर्गका सिपाहीहरू खटाएर जुनसुकै समय र स्थानमा मृत्युलोकमा फाल्न सक्ने जेड सम्राट जस्तो प्राणी साँच्चिकै ईश्‍वर नै हुन्छ, र उसमै ईश्‍वरको पहिचान हुन्छ। अथवा, मानिसहरूले भेटीहरू चढाउने कुनै मूर्ति, जसले तिनीहरूलाई धनी हुन र उच्च अधिकारी बन्‍न मदत गर्न सक्छ—ख्रीष्टविरोधीहरूका लागि यस्ता प्राणीहरू पनि ईश्‍वरहरूको पहिचान बोक्न लायक मानिन्छन्। यो ईश्‍वरहरूको पहिचानबारे ख्रीष्टविरोधीहरूको भित्री बोध र बुझाइ हो। त्यसोभए, जब परमेश्‍वरले ठूलो रातो अजिङ्गर रहेको भूमिमा काम गर्नुहुन्छ, र केही दाजुभाइ-दिदीबहिनीहरू पक्राउ पर्छन्, मण्डलीमा क्षति पुग्छ, र परमेश्‍वरको काममा अवरोध र बाधा पुग्छ, तब ख्रीष्टविरोधीहरूले के सोच्छन्? “यदि यी ईश्‍वर हुन् भने, मण्डलीमा किन यस्ता कुराहरू आइपर्छन्? दाजुभाइ-दिदीबहिनीहरू पक्राउ परिरहँदा, ईश्‍वरले आकाशमा दर्शनहरू देखाउनुपर्ने हो, र गर्जन र क्रोध बर्साउनुपर्ने हो, जसले गर्दा दाजुभाइ-दिदीबहिनीहरूलाई गिरफ्तार गर्ने दुष्ट प्रहरी तर्सेका मुसाझैँ त्रासले भागून्। मैले यस्ता घटनाहरू घटेकोबारे किन कहिल्यै सुनेको छैनँ? यी मानिसहरूले ईश्‍वरलाई पछ्याउने र यिनीहरू ईश्‍वरका चुनिएका मानिसहरू भएपछि, ईश्‍वरले किन तिनीहरूको उद्धार र सुरक्षा गर्दैनन्? ठूलो रातो अजिङ्गरले ईश्‍वरलाई पछ्याउनेहरूलाई पागल र क्रूर तरिकाले सताउँछ। ईश्‍वर किन मानवजातिलाई इन्साफ दिन पृथ्वीमा आउँदैनन्? ईश्‍वरले किन ठूलो रातो अजिङ्गरलाई अवरोध गर्दैनन्? किन उनले ठूलो रातो अजिङ्गरलाई दण्ड दिँदैनन्? ईश्‍वरको पहिचान भएको परमेश्‍वरले बोल्न र सत्यता आपूर्ति गर्न मात्र सक्ने त अवश्यै हुन सक्दैन, होइन र? जेड सम्राट्, गुआनयिन बोधिसत्त्व, र बुद्धका तुलनामा, ईश्‍वरसित ठूला सामर्थ्य र सीपहरू छन् जस्तो देखिँदैन। ईश्‍वरसित शक्ति र अख्तियार हुन्छ भनिन्छ, तर यो शक्ति र अख्तियार खै कहाँ छ? के सत्यता आपूर्ति गर्न मात्र सक्ने र ईश्‍वरको शक्ति र अख्तियार नहुने ईश्‍वर साँच्चै परमेश्‍वर हुन् र? जब दाजुभाइ-दिदीबहिनीहरू गिरफ्तार हुनै लागेका हुन्छन्, तब ईश्‍वरले दुष्ट प्रहरीसामुन्‍ने पर्खाल खडा गर्नुपर्ने हो, वा तिनीहरूलाई अन्धो र लङ्गडो बनाउनुपर्ने हो, र तिनीहरूलाई पागल वा मूर्ख बनाउनुपर्ने हो। खतरा आउनुपहिले नै, ईश्‍वरले आसन्‍न जोखिमबारे सबैलाई प्रस्ट रूपमा थाहा दिनुपर्छ, तिनीहरूले एउटा आवाज सुन्‍नुपर्छ, एउटा जोरदार सनसनी महसुस गर्नुपर्छ, र तिनीहरूसित प्रस्ट सोच हुनुपर्छ। ईश्‍वरले किन यस्ता कामकुरा गर्दैनन्? उनले किन यस्ता परिस्थितिहरू नजिकिँदा कुनै सङ्केतहरू दिँदैनन्? मानिसहरूले गिरफ्तारी, यातना, र सतावट भोग्दा, ईश्‍वरले किन यी दियाबलस र दुष्ट प्रहरीलाई रोक्ने वा दण्ड दिने गर्दैनन्? तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई हतकडी लगाउँदा, उनीहरूलाई डन्डाले हिर्काउँदा, ईश्‍वरले किन केही गर्दैनन्? यदि जेड सम्राट् वा गुआनयिन बोधिसत्त्व भएको भए, उनीहरूले आफ्ना अनुयायीहरूलाई कहिल्यै यसरी कष्ट भोग्न दिनेथिएनन्। उनीहरूले अवश्य नै हस्तक्षेप र मदत गर्नेथिए, दुष्ट प्रहरीलाई अन्धा बनाइदिनेथिए, तिनीहरूका अनुहार बिगार्दिनेथिए, तिनीहरूलाई पागल बनाइदिनेथिए, तिनीहरूका हातखुट्टा कुहाइदिनेथिए, तिनीहरूलाई निको नहुने रोग लगाइदिनेथिए, र तिनीहरूलाई एकअर्काबीच मारामार गराउनेथिए। ईश्‍वरले किन यसो गर्दैनन्? ईश्‍वर ठ्याक्कै कहाँ छन्? के उनी अस्तित्वमा त छन्? समस्याहरू आइपर्दा, मानिसहरूले ईश्वरलाई प्रार्थना गरे पनि उनले उनीहरूलाई उद्धार गर्दैनन्, न त उनले उनीहरूलाई खतराबाट उम्किने परिस्थितिहरू नै खडा गरिदिन्छन्। जब दुष्ट प्रहरीले यी लाचार मानिसहरूलाई यातना दिन्छन्, आम सुझबुझअनुसार ईश्‍वरले हस्तक्षेप र मदत गर्नुपर्ने हो, यतिकै बस्न नहुने हो, किनकि ईश्‍वरहरूले संसारमा अन्याय भएको हेर्न मन पराउँदैनन्, र ईश्‍वरहरूले मानिसहरूलाई दुःखबाट मुक्ति दिनुपर्ने र सारा प्राणीहरूलाई कष्टबाट छुटकारा दिनुपर्ने हो। अहिले मैले विश्‍वास गरिरहेको यस ईश्‍वरले किन यस्ता कामकुरा बिलकुलै गर्दैनन्? के मैले विश्‍वास गर्ने ईश्‍वर साँच्चिकै अस्तित्वमा छन्?” धेरै कुराहरू अनुभव गरेपछि, ख्रीष्टविरोधीहरू निरन्तर दुबिधामा र शङ्कालु हुन्छन्। तिनीहरू परमेश्‍वरमाथि विश्‍वास गर्ने अवधिमा तिनीहरूको भविष्य कस्तो छ भनी हेर्न, तिनीहरू कैदमा पर्नेछन् कि पर्नेछैनन्, तिनीहरूको काम सहज रूपमा अघि बढ्नेछ कि बढ्नेछैन, कुनै खलनायकले तिनीहरूमाथि बदला लिने कोसिस गर्नेछ कि गर्नेछैन, वा तिनीहरूको नियतिमा कैद छ भने त्यसबाट जोगिने कुनै उपाय छ कि छैन भनी जाँच्न ज्योतिषी र यिन यांग गुरुहरूकहाँ पनि जान्छन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्