विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्‍नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्‍ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्‍वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्‍वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग नौ) खण्ड दुई

(२) ख्रीष्टविरोधीहरूले “सेवाकर्ता” पदनामलाई लिने तरिकाहरू

आजको सङ्गतिको विषय “सेवाकर्ता” पदनामप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्तिको चिरफार हो। अहिले हामीले “सेवाकर्ता” पदनामको परिभाषाबारे सङ्गति गरिसकेका हुनाले, के धेरैजसो मानिसहरूमा यो पदनामबारे सकारात्मक बुझाइ हुँदैन र? के तँलाई अझै पनि यो पदनामप्रति प्रतिरोध वा अनिच्छा महसुस हुन्छ? (हुँदैन।) त्यसोभए, अब ख्रीष्टविरोधीहरूले “सेवाकर्ता” पदनामलाई कसरी लिन्छन्, र यसप्रति तिनीहरूले कस्तो मनोवृत्ति राख्छन् भन्‍ने बारेमा हेरौँ। ख्रीष्टविरोधीहरूले सबैभन्दा बहुमूल्य ठान्‍ने कुराहरू भनेका उच्च पद, उच्च प्रतिष्ठा, र पूर्ण शक्ति हुन्। जब अत्यन्तै सामान्य, आधारभूत, र निम्‍न स्तरका पदहरू, र मानिसहरूलाई निकै अपमानजनक लाग्‍ने पदनामहरूको कुरा आउँछ, तब ख्रीष्टविरोधीहरूले हृदयमा तीव्र प्रतिरोध र भेदभाव महसुस गर्छन्, र खासगरी तिनीहरूले “सेवाकर्ता” भन्‍ने यो पदनामको हकमा त्यस्तो महसुस गर्छन्। सेवाकर्ता भनेर चिनिने यो समूहका मानिसहरूप्रति परमेश्‍वर जति नै सहनशील र धैर्य हुनुभए पनि, र “सेवाकर्ता” पदनामबारे परमेश्‍वरको व्याख्या र अर्थ जे भए पनि, ख्रीष्टविरोधीहरूले हृदयबाट यो पदनामलाई हेयको दृष्टिले हेर्छन्। तिनीहरूले यो पदनाम अत्यन्तै नीचो छ, र यदि तिनीहरू आफै सेवाकर्ताहरू हुन् भने, तिनीहरूलाई आफ्नो अनुहार देखाउन अत्यन्तै सरम हुन्छ भन्‍ने सोच्छन्। तिनीहरूलाई यो पदनाम दिइनेबित्तिकै, तिनीहरू आफ्नो चरित्र, अभिमान र प्रतिष्ठालाई चुनौती दिइएको र हेला गरिएको छ, आफ्नो मूल्य ह्वात्तै गिरेको छ, र अब जीवनको कुनै अर्थ छैन भन्‍ने सोच्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूले चाहे जेसुकै होस्, तर यो “सेवाकर्ता” पदनाम स्वीकार गर्नेछैनन्। यदि तैँले तिनीहरूलाई परमेश्‍वरको घर गएर परमेश्‍वरको कामको लागि सेवा गर्न लगाइस् भने, तिनीहरूले यसो भन्‍नेछन्: “यो ‘सेवाकर्ता’ भन्‍ने पदनाम अत्यन्तै अपमानजनक छ, र म कुनै पनि हालतमा सेवाकर्ता बन्‍न चाहन्‍नँ। मलाई सेवाकर्ता बन्‍न लगाएर, तैँले मलाई अपमान गरिरहेको छस्। तेरो अपमान सहन म परमेश्‍वरमा विश्‍वास गर्न आएको होइन—म आशिष्‌हरू प्राप्त गर्न आएको हुँ। अन्यथा, मैले केको लागि परिवार त्याग्‍ने, जागिर छोड्ने, र सांसारिक सम्भावनाहरू त्याग्‍ने काम गर्थेँ र? म सेवाकर्ता बन्‍न आएको होइनँ; म तेरो लागि काम गर्न र तेरो सेवा गर्न आएको होइनँ। यदि तँ मलाई सेवाकर्ता बन्‍नू भन्छस् भने, बरु म विश्‍वास नै गर्न चाहन्‍नँ!” के ख्रीष्टविरोधीहरूको मनोवृत्ति यही होइन र? ख्रीष्टविरोधीहरू यस्ता पनि छन् जो भन्छन्: “यदि तैँले मलाई परमेश्‍वरको घरमा सेवाकर्ता बन्‍न लगाइस् भने, मैले परमेश्‍वरमा विश्‍वास गर्नुको के अर्थ हुन्छ? यसको के अर्थ बाँकी रहन्छ?” त्यसकारण, जब तिनीहरूले परमेश्‍वरको घरमा काम लिन्छन् र कुनै आज्ञा वा काम स्वीकार गर्छन्, तब तिनीहरूले सुरुमा यो कुरा पत्ता लगाउन चाहन्छन्: “मैले यो काम लिएपछि, म मण्डली अगुवा वा टोली अगुवा बन्‍नेछु, कि म अरूको लागि सेवा दिने र काम गर्ने सेवक मात्र बन्‍नेछु?” यो कुरा पत्ता लगाउनुभन्दा पहिले, तिनीहरूले केही समयको लागि मात्रै भनेर काम गर्न थाल्छन्। यो अवधिमा, तिनीहरूले मानिसहरूका बोली र अभिव्यक्तिहरू अवलोकन गर्छन्, आँखा चनाखो र कान ठाडो पार्छन्, र विभिन्‍न स्रोतहरूबाट जानकारी सोधपुछ गर्छन्। तिनीहरू आफूले यहाँ अस्थायी रूपमा सेवा दिइरहेको छु कि दीर्घकालीन रूपमा यो काम गर्न सक्छु, र आफू संवर्धन पाउन सक्‍ने व्यक्ति हुँ कि खाली ठाउँ भर्न अस्थायी रूपमा प्रयोग गरिएको व्यक्ति हुँ भनेर जान्‍न चाहन्छन्। यदि तिनीहरूलाई खाली ठाउँ भर्न मात्रै प्रयोग गरिएको हो भने, र तिनीहरूलाई अरूको श्रेय र अरूको ओहदा र शक्तिको लागि सेवा गर्न लगाइएको हो भने, तिनीहरूले यो काम पटक्‍कै गर्दैनन्। परमेश्‍वरको घरलाई तिनीहरूले कर्तव्य निर्वाह गर्नु आवश्यक पर्छ कि पर्दैन, वा तिनीहरूले निर्वाह गर्ने कर्तव्य परमेश्‍वरको घरको कामको लागि कति महत्त्वपूर्ण छ भन्‍ने कुरा तिनीहरूले वास्ता गर्दैनन्—तिनीहरूलाई यी कुराहरूबारे कुनै वास्ता हुँदैन। तिनीहरूले हुकुम दिने र निर्णय गर्ने शक्तिविनै आफूले यहाँ सेवा दिइरहेको छु भन्‍ने महसुस गरेपछि, तिनीहरू आफ्नो व्यवहारमा झाराटारुवा बन्छन्, आफ्नो कर्तव्यलाई बेवास्ता गर्छन्, स्वेच्छाचारी रूपमा व्यवहार गर्छन्, र तिनीहरू निरङ्कुश पनि बन्छन्, र तिनीहरू कुनै पनि बेला कर्तव्यप्रति पिठ्यूँ फर्काएर छोडिजान सक्छन्; तिनीहरूले परमेश्‍वरको घरको काम र आफ्नो कर्तव्यलाई केटाकेटीको खेलझैँ ठान्छन्। तिनीहरूको जीवन आदर्श यस्तो हुन्छ: “अरूले लोकप्रियता पाइरहेको बेला म पर्दापछाडि बसेर काम गर्न चाहन्‍नँ।” तिनीहरूले सोच्छन्, “म अगुवा बन्‍न जन्मेको हुँ। म हुकुम दिने र निर्णय गर्ने शक्ति लिएर जन्मेको हुँ। यदि मैले यी दुई कुरा गुमाएँ भने, अबदेखि जिउनुको अर्थ के हुन्छ र? अबदेखि परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ के हुन्छ र? मैले किन परमेश्‍वरमा विश्‍वास गरिरहेको छु? के मैले ठूला आशिष्‌हरू प्राप्त गर्न साना लाभहरू त्यागेको थिइनँ र? यदि यो इच्छा पूरा गर्न सकिँदैन भने, बरु म अवश्य नै सांसारिक प्रचलनहरू पछ्याउनेछु र नरक जानेछु!” ख्रीष्टविरोधीहरूको नीति के हुन्छ? “कसैलाई पनि माथि चढ्ने क्रममा म कुनै पनि हालतमा मेरो शोषण गर्न दिनेछैनँ; अरूलाई शोषण गर्ने त म पो हुँ त। यदि मानिसहरूलाई योगदानको आधारमा इनाम दिइन्छ भने, त्यो सूचीको शीर्षमा म नै हुनुपर्छ। त्यसपछि मात्रै म उत्साहसाथ काम गर्नेछु र यसमा मेरो सबै थोक दिनेछु, नत्रभने तैँले मलाई त्यसो गर्न लाउनेबारे बिर्सिदिए हुन्छ। यदि तिमीहरू मलाई जोडतोडले लागिपर्न, तिमीहरूलाई सल्‍लाह दिन, र सारा हृदय र प्राणले काम गर्न लगाउँछौ, तर अन्त्यमा जब मानिसहरूलाई योगदानको आधारमा इनाम दिने समय आउँछ, तब मैले केही पनि प्राप्त गर्दिनँ भने, तिमीहरूले मलाई तिमीहरूको लागि काम गर्न, तिमीहरूको लागि मेहनत गर्न, र तिमीहरूको सेवा गर्न लगाउनेबारे बिर्सिदिए हुन्छ!” के ख्रीष्टविरोधीहरूको स्वभावका साँचो खुलासा र प्रकटीकरणहरू यिनै होइनन् र? तिनीहरूले यो “सेवाकर्ता” पदनामलाई जानीजानी मिल्काउने प्रयास नगरे पनि, तिनीहरूको स्वभाव सारको हिसाबमा, तिनीहरूले यसलाई निरन्तर फाल्न खोजिरहेका हुन्छन् र यो पदबाट आफूलाई मुक्त गर्न निरन्तर लडाइँ, परिश्रम, र सङ्घर्ष गरिरहेका हुन्छन्। यदि ख्रीष्टविरोधीले कुनै काम लिँदा, उसले अरूभन्दा माथि उठ्ने र केन्द्रीय स्थान लिने मौका पाउँछ भने, वा यदि उसले आफ्नै कुरालाई अन्तिम निष्कर्ष बनाउन र निर्णय गर्न पाउँछ, र ऊ अगुवा बन्छ, र उसले पद, प्रभाव, र प्रतिष्ठा पाउँछ, र कतिपय मानिसहरूलाई आफ्नो अधीनमा राख्छ भने, उसलाई अत्यन्तै खुशी लाग्छ। यदि कुनै दिन कसैले उसको समस्या खुलासा गरेर उसलाई काटछाँट गर्‍यो, र “तपाईंले धेरै कुरा सिद्धान्तहरू अनुसार सम्‍हाल्‍नुभएन, बरु आफूले चाहेअनुसार सम्हाल्‍नुभयो। यो त पूर्ण रूपमा सेवा दिने व्यक्तिकै व्यवहार हो; तपाईंले आफ्नो कर्तव्य निर्वाह गरिरहनुभएको छैन” भनेर भन्यो भने, के ख्रीष्टविरोधीले यो कुरा स्विकार्न सक्छ? (सक्दैन।) पहिलो कुरा त, तिनीहरूले आफ्नो निर्दोषता दाबी गर्नेछन्, यसलाई व्याख्या गर्नेछन्, र आफ्नो पक्षमा वकालत गर्नेछन्, र दोस्रो कुरा, तिनीहरूले तुरुन्तै “सेवा दिने” भन्‍ने शब्दप्रति वितृष्णा र प्रतिरोध महसुस गर्नेछन्, र तिनलाई पटक्‍कै स्विकार्नेछैनन्। तिनीहरूले भन्‍नेछन्, “मैले यति धेरै मूल्य चुकाएँ र यति धेरै कष्ट भोगेँ। म बिहानै काम गर्न थाल्छु र राती अबेरसम्म काम गर्छु, र म सुत्दिनँ र खान बिर्सन्छु, तैपनि तिमी अझै मैले सेवा दिने काम गरिरहेको छु भन्छौ? के यस्तो सेवा दिने मानिसहरू साँच्‍चै छन् त? मैले यति धेरै मूल्य चुकाएँ, तर यसको लागि मलाई यो ‘सेवाकर्ता’ पदनाम, यो परिभाषा मात्रै दिइन्छ। त्यसैले, मैले केचाहिँ आशा गर्ने त? परमेश्‍वरमा विश्‍वास गर्नुको के अर्थ भो? यसमा उत्प्रेरणा के छ? यस्तो परमेश्‍वरमा त विश्‍वास नगर्नु नै बेस हुन्छ!” तिनीहरूले आफ्नो जोश गुमाउँछन्। काटछाँटमा परेपछि, ख्रीष्टविरोधीहरूले यसलाई स्वीकार गर्न नमान्ने मात्र होइन, बरु तिनीहरूले त प्रतिरोधको अनुभूति पनि गर्छन् र तिनीहरू वितृष्ण बन्छन्, र अझै बढी रूपमा तिनीहरूले गलतफहमीहरू पैदा गर्छन्। त्यसपछि जब तिनीहरूले काम गर्छन् र आफ्नो कर्तव्य पूरा गर्छन्, तब तिनीहरूको मनोवृत्ति परिवर्तन हुन्छ, र तिनीहरूले सोच्छन्, “मैले अहिले जे गरे पनि म सेवाकर्ता नै हुँ, त्यसकारण जब म यो काम गर्छु, तब मैले आफूलाई रोक्‍नु नै बेस हुन्छ, आफ्‍नो लागि वैकल्पिक योजना तयार राख्‍नु, र आफ्नो सबै कुरा नदिनु नै बेस हुन्छ। सबैले परमेश्‍वर धर्मी छन् भनेर भन्छन्, तर कसरी म यो देख्‍न सक्दिनँ? परमेश्‍वर कसरी धर्मी छन्? मैले जे गरे पनि म सेवाकर्ता नै हुने हुनाले, अबदेखि म परमेश्‍वरमाथि विश्‍वास गर्ने मेरो तरिका परिवर्तन गर्नेछु; म सेवा मात्रै गर्नेछु, अनि कसले कसको डर मान्दो रैछ हेरौँला। मैले गरेको कुनै पनि कामको लागि मलाई प्रशंसा वा अनुमोदन गरिनेछैन, त्यसकारण, यस्तै होस्, म मेरो जीवन जिउने तरिका र काम गर्ने शैली परिवर्तन गर्नेछु। तैँले मलाई जे भन्छस् म त्यो गर्नेछु, र मसँग कुनै विचार छ भने पनि म बोल्नेछैनँ—जसलाई बोल्‍न मन लाग्छ, उसले बोल्न सक्छ। यदि कसैले मलाई काटछाँट गर्‍यो भने, म बाहिरी रूपमा सहमति जनाएजस्तो गर्नेछु, र यदि कसैले आफ्नो काममा गल्ती गर्‍यो भने, मैले त्यो देखे पनि केही भन्‍नेछैनँ। यदि कसैले सिद्धान्तहरू नबुझी काम गर्छ भने, मैले ती सिद्धान्तहरू बुझे पनि म तिनीहरूलाई भन्‍नेछैनँ। म तिनीहरूले मूर्खझैँ व्यवहार गरेको हेर्नेछु, र तिनीहरूलाई गल्तीहरू गर्न दिनेछु ताकि मजस्तै तिनीहरू पनि काटछाँटमा परून्, र यसरी तिनीहरूले सेवाकर्ताको रूपमा चित्रण हुनुको स्वाद लिन सक्छन् कि सक्दैनन् हेर्नेछु। तिमीहरूले मलाई दुःख दिएको हुनाले, म पनि तिमीहरूको लागि परिस्थिति कठिन नै बनाइदिनेछु र तिमीहरूलाई पनि सहजतासाथ अघि बढ्न दिनेछैनँ!” काटछाँट र अनुशासनमा पर्दा मात्रै पनि तिनीहरूले यस्तो शक्तिशाली संवेग र प्रतिरोधको भावना महसुस गर्छन्—के यो सत्यता स्वीकार गर्ने मनोवृत्ति हो? (होइन।) सेवा गर्नुमा के गलत छ र? के परमेश्‍वरको लागि सेवा गर्नु खराब कुरा हो? के परमेश्‍वरको लागि सेवा गर्दा यसले तेरो मर्यादामा हानि गर्छ? के परमेश्‍वर तेरो सेवा पाउन लायक हुनुहुन्न र? त्यसोभए तँ परमेश्‍वरलाई तेरो लागि के गराउन लायक छस्? तँ किन यी शब्दहरूप्रति यति संवेदनशील र प्रतिरोधी हुन्छस्? सृष्टिकर्ताले त मानवमाझ जिउने र हरेक भ्रष्ट मानव, उहाँलाई विरोध गर्ने र इन्कार्ने हरेक मानवको सेवा गर्ने व्यक्ति बन्‍नको लागि आफूलाई नम्र तुल्याउनुभयो। तब परमेश्‍वरको व्यवस्थापन योजनाको खातिर मानिसहरूले किन थोरै सेवा दिन सक्दैनन्? यसो गर्नुमा के गलत छ? के यसमा कुनै बेइज्‍जत हुने कुरा छ? के यसबारे कुनै भन्‍न नसकिने कुरा छ? परमेश्‍वरको नम्रता र गुप्ततासँग तुलना गर्दा त, मानवजाति सधैँ घृणित र कुरूप नै रहनेछन्। होइन र?

सत्यता पछ्याउने भ्रष्ट मानिसहरू अहिले सेवाकर्ता भन्‍ने पदनाम सुन्दा क्षणिक रूपमा मात्रै व्याकुल हुन सक्छन्, तर यो कुरा तिनीहरूको लागि परमेश्‍वरमा समर्पित हुने अवस्थामा पुग्‍नहेतु सत्यता पछ्याउन प्रेरित गर्ने प्रेरणादायी तत्त्‍व बन्‍न सक्छ; परमेश्‍वरले मानिसहरूलाई दिनुहुने यो पदनामबारे तिनीहरू त्यति संवेदनशील हुँदैनन्। तर ख्रीष्टविरोधीहरूको हकमा यस्तो हुँदैन। परमेश्‍वरले मानिसहरूलाई दिनुहुने पदनामहरूबारे तिनीहरू सधैँ नाटीकुटी गर्छन् र यो कुरालाई हृदयमा लिन्छन्। तिनीहरूका हितहरूमा हस्तक्षेप हुन र तिनीहरूलाई चोट पुग्‍नको लागि परमेश्‍वरले त्यति धेरै वाक्य बोल्‍नैपर्दैन, र जब परमेश्‍वरले भन्‍नुभएका कुराहरू आशिष्‌हरू प्राप्त गर्ने तिनीहरूको अभिप्राय र इच्छाविरुद्ध जान्छन्, तब यसले तिनीहरूको आत्मसम्मानमा चोट पुर्‍याउँछ। तिनीहरूको आत्मसम्मान र मर्यादामा चोट पुग्‍नेबित्तिकै, तिनीहरूले परमेश्‍वरलाई आलोचना गर्छन्, इन्कार्छन्, र धोका दिन्छन्; तिनीहरूले परमेश्‍वरलाई छोड्न चाहन्छन्, र कर्तव्य निर्वाह गरिरहन अनिच्छुक हुन्छन्, र सँगसँगै तिनीहरूले परमेश्‍वरलाई अधर्मी भएकोमा र मानिसहरूप्रति सहानुभूति नराखेकोमा सराप्छन्। कति मानिसहरूले त परमेश्‍वरलाई खुशी पार्न अत्यन्तै गाह्रो छ, र तिनीहरूले गर्ने कुनै पनि कुरा सही हुँदैन भनेर समेत भन्छन्। यी सबै शब्द, भावना, र स्वभावहरू ख्रीष्टविरोधीहरूबाट आएका हुन्छन्। परमेश्‍वरप्रति आज्ञाकारिताको मनोवृत्ति एकदमै नहुने बाहेक, तिनीहरूले परमेश्‍वरले भन्‍नुभएका विभिन्‍न कुराहरूको हकमा पनि स-साना कुरा कोट्याउँछन्, र परमेश्‍वरका विभिन्‍न मापदण्डहरूलाई बेवास्ता गर्छन् र तीप्रति उदासीनता देखाउँछन्। तिनीहरूले यो “सेवाकर्ता” पदनामको निरन्तर प्रतिरोध गरिरहेका हुन्छन् र तिनीहरूसँग यसलाई स्विकार्ने वा यसमा समर्पित हुने कुनै अभिप्राय हुँदैन, झन् परमेश्‍वरको अभिप्राय बुझ्ने अभिप्राय हुनु त परै जाओस्। तिनीहरूले यो “सेवाकर्ता” पद र पहिचान, यो हैसियत र स्थान टक्टक्याएर फाल्ने निरन्तर प्रयास मात्रै गर्छन्, र तिनीहरूले परमेश्‍वरको अभिप्राय पूरा गर्न कसरी परमेश्‍वरसँग सहकार्य गर्ने, वा कसरी स्वभाव परिवर्तन हासिल गर्ने, सत्यता वास्तविकतामा प्रवेश गर्ने र परमेश्‍वरमा समर्पित हुने भनेर अलिकति पनि खोजी गर्दैनन्। तिनीहरूले यी सकारात्मक कुराहरू पटक्‍कै पछ्याउँदैनन्, र सेवाकर्ताको रूपमा खुलासा हुँदा पनि, तिनीहरूले अनुभव गर्ने आक्रोश र उग्रता एकै पटक विस्फोट भएर निस्‍कन्छन्। यो कति गम्भीर हुन सक्छ? कति ख्रीष्टविरोधीहरूले सार्वजनिक स्थानहरूमा परमेश्‍वरलाई चुपचाप सराप्छन्, तर बन्द कोठामा भने उहाँलाई यसो भन्दै ठूलो स्वरमा सराप्छन्, “परमेश्‍वर धर्मी छैनन्। मैले यस्तो परमेश्‍वरमा विश्‍वास नगरेकै बेस हुन्छ!” तिनीहरू खुलेआम परमेश्‍वरलाई चुनौती दिन्छन्, र उहाँविरुद्ध जान्छन्। “सेवाकर्ता” भन्‍ने यो शब्दले परमेश्‍वरको विरोध गर्ने र सत्यताप्रति वितृष्णा राख्‍ने ख्रीष्टविरोधीहरूको सार प्रकट गर्छ। “सेवाकर्ता” भन्‍ने यो शब्दसामु तिनीहरूको दुष्ट रूप पूर्ण रूपमा पर्दाफास हुन्छ, र तिनीहरू पूरै उदाङ्गो हुन्छन्। वास्तवमा के कुरा उदाङ्गो हुन्छ? यो कि, तिनीहरूले परमेश्‍वरको मुक्ति स्विकार्न वा सत्यता स्विकार्न उहाँमा विश्‍वास गरेका हुँदैनन्, न त तिनीहरूले परमेश्‍वर सत्यता हुनुहुन्छ वा परमेश्‍वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भनेर नै परमेश्‍वरमा विश्‍वास गर्छन्। बरु, तिनीहरूले परमेश्‍वरबाट केही कुरा चाहने हुनाले उहाँमा विश्‍वास गर्छन्। तिनीहरूले आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरूको खातिर आफूलाई परमेश्‍वरको घर ल्याउँछन्। तिनीहरूले व्यर्थमा भीडबाट माथि उठ्ने प्रयास गर्छन् र आफ्नै माध्यम, प्रयास, मेहनत, र सङ्घर्षद्वारा आशिष्‌हरू प्राप्त गर्ने, वा अझै राम्रो, सायद अर्को जुनीमा अझै ठूलो इनाम प्राप्त गर्ने प्रयास गर्छन्। त्यसकारण, तिनीहरूको नजरमा, “सेवाकर्ता” भन्‍ने शब्द सधैँ नीचो र अपमानजनक शब्द हुन्छ, जुन तिनीहरूले कहिल्यै स्विकार्न नसक्‍ने शब्द हो। कतिपय दाजुभाइ-दिदीबहिनीहरूले सोच्छन्, “परमेश्‍वरका लागि सेवा गर्नु हाम्रो लागि आशिष् हो। यो राम्रो कुरा हो, र यो सम्‍मानजनक कुरा हो।” तर ख्रीष्टविरोधीहरूले यो तथ्य कहिल्यै स्विकार्दैनन्, र यसो भन्छन्, “परमेश्‍वरका लागि सेवा गर्नु हाम्रो लागि आशिष् हो? त्यसो भन्‍नु कस्तो कुरा हो? कस्तो व्यर्थको कुरा! त्यसो गर्दाको आशिष् कहाँ छ? त्यसको आनन्द कहाँ छ? परमेश्‍वरको लागि सेवा प्रदान गरेर के प्राप्त गर्न सकिन्छ? के सेवा प्रदान गरेर तिमीले पैसा, सुन, वा सम्पत्ति प्राप्त गर्न सक्छौ? कि घर र कार पाउन सक्छौ? सेवा गर्नेहरू सबैलाई हटाइनेछ; के त्यस्ता कुनै सेवाकर्ता छन्, जो असल मानिसहरू हुन्? सेवा गर्नेहरू कसैले पनि कहिल्यै केही प्राप्त गर्नेछैन।” तिनीहरूले “परमेश्‍वरका लागि सेवा गर्नु मानवजातिलाई दिइएको आशिष् हो” भनी दाजुभाइ-दिदीबहिनीहरूले दिने सङ्गति स्वीकार गर्दैनन्, र तिनीहरूलाई यसप्रति प्रतिरोध हुन्छ र तिनीहरूले छिछिदुरदुर गर्छन्; तिनीहरूलाई यो कुरा अलिकति पनि सुन्‍न मन पर्दैन।

ख्रीष्टविरोधीहरूले संसारको कुनै पनि अधिकारी वा पद र प्रतिष्ठा भएको कुनै पनि व्यक्तिको लागि मेहनत गर्न, काम गर्न, र रक्सी खन्याउन सक्छन्, र यी मानिसहरूको लागि सेवा गर्न समेत स्वीकार गर्नेछन् र त्यसो गर्न बढी इच्छुक हुनेछन्। तिनीहरू परमेश्‍वरका लागि सेवा गर्न आउँदा मात्रै अनिच्छा र हिचकिचाहट, गुनासो, प्रतिरोध, र भावनाहरूले भरिन्छन्। यी मानिसहरू कस्ता प्राणीहरू हुन्? के परमेश्‍वरका अनुयायीहरूमा हुनुपर्ने प्रकटीकरणहरू यिनै हुन् त? यी त स्पष्ट रूपमै ख्रीष्टविरोधीहरूको सारका प्रकटीकरणहरू हुन्। यदि कुनै मेयर, प्रान्तीय गभर्नर, वा कुनै प्रतिष्ठित राजनीतिज्ञको सेवा गर्न ख्रीष्टविरोधीहरू बाह्य संसार जान्थे भने, यो कुराले तिनीहरूका पुर्खाहरूलाई महिमा दिन्छ र तिनीहरूको परिवारलाई गौरवान्वित तुल्याउँछ भन्‍ने तिनीहरूले सोच्नेथिए। तिनीहरू अत्यन्तै खुशी हुनेथिए; तिनीहरू खुसीले नाच्‍नेथिए। यदि कसैले तिनीहरूलाई तिनीहरूको काम के हो भनेर सोध्थे भने, तिनीहरूले भन्‍नेथिए, “म मेयरको सेवा गर्छु। म मेयरको नजिकको सेवक, र उहाँको व्यक्तिगत सुरक्षाकर्मी हुँ!” अथवा तिनीहरूले यसो भन्‍नेथिए, “म राष्ट्रपतिका दैनिक आवश्यकताहरू पूरा गर्छु!” तिनीहरूले यो कुरा गर्वसाथ भन्‍नेथिए। तिनीहरूले यो राम्रो काम हो, र तिनीहरूको सम्पूर्ण परिवार यसको महिमामा सहभागी हुनेछन् भनेर सोच्‍नेथिए। तिनीहरूले राती सपना देख्‍नेथिए र खुशीसाथ बिउँझिनेथिए, र जहाँ गए पनि तिनीहरूले आफूले गरेको कुरा नलुकाउनेथिए। किन? तिनीहरूले आफ्नो कामलाई लाजमर्दो ठान्‍नेथिएनन्; तिनीहरूलाई यो सम्‍मानजनक, तिनीहरूलाई अरूभन्दा माथि उठाउने, तिनीहरूको शिरमा महिमाको ज्योति दिने काम हो भन्‍ने लाग्‍नेथियो। तर यस्तो व्यक्तिले परमेश्‍वरमा विश्‍वास गरेपछि, यदि उसलाई उहाँका लागि सेवा गर्न लगाइयो भने, उसले त्यसो गर्न चाहँदैन, उसलाई प्रतिरोध महसुस हुन्छ र उसले परमेश्‍वरबारे गुनासो गर्ने र उहाँलाई सराप्‍ने समेत गर्छ, र उसले परमेश्‍वरलाई धोका दिन र इन्कार्न पनि सक्छ। यी दुई कुरालाई तुलना गर्दा, हामीले ख्रीष्टविरोधीहरू भनेका ख्रीष्टविरोधी नै हुन्, र तिनीहरू शैतानको गिरोहका हिस्‍सा हुन् भनेर देख्‍न सक्छौँ। तिनीहरूले शैतानको सेवा जसरी गरे पनि, र त्यो काम जति नै फोहोरी, थकाइलाग्दो, वा अपमानजनक भए पनि, तिनीहरूले त्यसलाई सम्मानको रूपमा लिन्छन्। तर परमेश्‍वरको लागि उहाँको घरमा काम गर्दा, तिनीहरूले गर्ने कुराहरू जति नै अर्थपूर्ण, बहुमूल्य, वा आदर्शमय भए पनि, वा ती काम गर्दा तिनले तिनीहरूलाई जति नै माथि उचाले पनि, तिनीहरूले सधैँ ती कुराहरूलाई उल्लेख गर्न लायक नरहेका कुराहरू भन्ठान्छन्। परमेश्‍वर र परमेश्‍वरको कामको लागि सेवा गर्नु मानवजातिको लागि जति नै ठूलो आशिष् भए पनि र जति नै सम्‍मानजनक कुरा भए पनि, र यो जति नै बहुमूल्य अवसर भए पनि, तिनीहरू यसप्रति खुशी हुन सक्दैनन्। किन यस्तो हुन्छ? यसको एउटै कारण छ: ख्रीष्टविरोधीहरू शैतानको गिरोहका सदस्यहरू हुन्—तिनीहरू शैतानका हुन् र तिनीहरू जीवित शैतानहरू हुन्, र तिनीहरू अन्तर्निहित रूपमै परमेश्‍वरविरोधी हुन्छन्। यदि तिनीहरूलाई परमेश्‍वरको सेवा गर्न र परमेश्‍वरलाई सेवा दिन लगाइयो भने, तिनीहरू यसप्रति खुशी हुनै सक्दैनन्। परमेश्‍वरको घरले मानिसहरूसँग जे-जसरी सत्यता सङ्गति गरे पनि वा “सेवाकर्ता” पदनाम सम्बन्धमा परमेश्‍वरको अभिप्राय मानिसहरूलाई जे-जसरी बुझाउने प्रयास गरे पनि, ख्रीष्टविरोधीहरूले यसलाई परमेश्‍वरबाट आएको भनेर स्विकार्न वा यससँग सम्बन्धित कुनै पनि सत्यता स्विकार्न सक्दैनन्, झन् तिनीहरूले सृजित प्राणीले सृष्टिकर्तालाई सेवा गर्नु एउटा सम्‍मानजनक, बहुमूल्य, र अर्थपूर्ण कुरा हो भन्‍ने तथ्य वा सत्यता स्विकार्नु त धेरै परको कुरा हो—“सेवाकर्ता” पदनामप्रति ख्रीष्टविरोधीहरूले राख्‍ने मनोवृत्ति यही हो। यो पदनाम सामना गर्दा, र मानिसहरूले परमेश्‍वरका लागि सेवा गर्ने तथ्य सामना गर्दा, ख्रीष्टविरोधीहरूले तथ्यहरूलाई स्वीकार गर्ने, यो “सेवाकर्ता” पदनाम परमेश्‍वरबाट आएको हो भनी स्विकार्ने, र त्यसपछि सत्यता पछ्याउने र परमेश्‍वरका वचनहरू सुन्‍ने, र परमेश्‍वरमा समर्पित हुने र उहाँको डर मान्‍ने बन्‍नुको सट्टा, यो पदनामबाट आफूलाई मुक्त गर्ने र यो तथ्यबाट उम्कने प्रयास मात्रै गरेका हुन्छन्। यो “सेवाकर्ता” पदनामप्रति ख्रीष्टविरोधीहरूले देखाउने प्रकटीकरणहरूको आधारबाट हेर्दा, यो भन्‍नैपर्ने हुन्छ कि ख्रीष्टविरोधीहरू शैतानकै प्रकारका हुन्, तिनीहरू शैतानका शत्रुवत्‌ शक्तिहरूकै भाग हुन्, र तिनीहरू परमेश्‍वर, सत्यता, र सबै सकारात्मक कुराहरूप्रति विरोधी हुन्छन्।

“सेवाकर्ता” पदनामबारे ख्रीष्टविरोधीहरूले राख्‍ने मनोवृत्ति भनेको अस्वीकार, प्रतिरोध, तिरस्कार, र घृणाको मनोवृत्ति हो। यो पदनाम जोसुकैबाट आएको भए पनि, तिनीहरूले निरन्तर यसप्रति प्रतिरोध अनुभूत गर्छन् र यसलाई स्विकार्दैनन्, किनभने तिनीहरूले सेवाकर्ता बन्‍नु नीच कुरा हो, र तिनीहरूले जसलाई सेवा दिए पनि यो सधैँ नीच नै हुन्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूले सोच्छन्, यो “सेवाकर्ता” भनेको परमेश्‍वरले मान्छेको सारको आधारमा मान्छेलाई दिनुहुने परिभाषा होइन, बरु यो त मान्छेको पहिचान र मूल्यप्रतिको चुनौती र हेलाको अभिव्यक्ति हो—यो “सेवाकर्ता” पदनामप्रति ख्रीष्टविरोधीहरूको मुख्य दृष्टिकोण यही हो। परमेश्‍वरका वचनहरूप्रतिको ख्रीष्टविरोधीहरूको मनोवृत्तिबाट, हामीले देख्‍न सक्छौँ कि तिनीहरूले परमेश्‍वरका वचनहरूलाई मापदण्ड वा सत्यताको रूपमा लिँदैनन्, बरु सूक्ष्मजाँच र विश्‍लेषण गर्नुपर्ने कुराहरूको रूपमा लिन्छन्। भन्‍नुको अर्थ, तिनीहरूले सत्यता बुझ्ने वा परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ भनेर स्विकार्ने आधारमा परमेश्‍वरका वचनहरूलाई स्वीकार गर्दैनन्, बरु सूक्ष्मजाँच गर्ने, प्रतिरोध महसुस गर्ने, र विरोधमा उभिने आधारमा परमेश्‍वरका वचनहरूलाई लिन्छन्। तिनीहरूको लागि, परमेश्‍वरले बोल्‍नुहुने हरेक वचन र उहाँले भन्‍नुहुने हरेक भनाइ सूक्ष्मजाँच गर्नुपर्ने कुरा हो, र “सेवाकर्ता” भन्‍ने पदनाम पनि यसको अपवाद होइन। तिनीहरूले यो “सेवाकर्ता” शब्दबारे सूक्ष्मजाँच र मनन गर्न मेहनत गर्छन्, र परमेश्‍वरका वचनहरूमा परमेश्‍वरले सेवाकर्ताहरूलाई असल होइन, बरु तल्‍लो स्तरको, नीच, मूल्यहीन, परमेश्‍वरले प्रेम नगर्नुहुने, र परमेश्‍वरले घृणा गर्नुहुने मानिसहरूको रूपमा लिनुहुन्छ भन्‍ने देख्छन्। यो “सेवाकर्ता” पदनामप्रति परमेश्‍वरको मनोवृत्ति यही भए पनि, उहाँमा यस्तो मनोवृत्ति हुनुको प्रसङ्ग र कारण छ—यो मान्छेको सारमा आधारित छ। तिनीहरूले नदेखेको अर्को पनि तथ्य छ: परमेश्‍वरले भ्रष्ट मानवजातिलाई जति नै तिरस्कार र घृणा गर्नुभए पनि, परमेश्‍वरले मानवजातिलाई मुक्ति दिने काम कहिल्यै त्याग्‍नुभएको छैन, न त उहाँले मानवजातिलाई मुक्ति दिने आफ्नो व्यवस्थापन योजनाको काम नै रोक्नुभएको छ। ख्रीष्टविरोधीहरूले यो तथ्यमा विश्‍वास गर्दैनन्, न त तिनीहरूले यसलाई स्विकार्छन् न त देख्‍न नै सक्छन्। तिनीहरूले विभिन्‍न प्रकारका मानिसहरूका परिणामहरूबारे परमेश्‍वरले भन्‍नुभएको कुरामा मात्रै ध्यान दिन्छन्, र विशेषगरी यो “सेवाकर्ता” भन्‍ने पदनामको हकमा, तिनीहरूमा अत्यन्तै संवेदनशील मनोवृत्ति हुन्छ। तिनीहरू सेवाकर्ता बन्‍न चाहँदैनन्, र तिनीहरू परमेश्‍वरद्वारा सेवाकर्ताको रूपमा परिभाषित हुन चाहँदैनन्, झन् तिनीहरूले “सेवाकर्ता” पदनाम ग्रहण गरेर परमेश्‍वरको सेवा गर्न चाहनु त धेरै परको कुरा हो। त्यसकारण, जब ख्रीष्टविरोधीहरू परमेश्‍वरको घर आउँछन्, तब तिनीहरूले फरक-फरक समूहमा सोधपुछ गर्छन्, तिनीहरू सेवाकर्ता हुन् कि होइनन् भनेर सोध्छन्, र परमेश्‍वरका वचनहरू र मानिसहरूले तिनीहरूबारे के भन्छन्, त्यसबाट तिनीहरूले इमानदारिताका शब्दहरू सुन्न र यो मामलाको सत्यता थाहा पाउन चाहन्छन्—तिनीहरू सेवाकर्ता हुन् कि होइनन्? यदि हुन् भने, तिनीहरू तुरुन्तै र तत्कालै गइहाल्छन्; तिनीहरूले परमेश्‍वर वा परमेश्‍वरको घरको लागि सेवा गर्दैनन्। तिनीहरूले यो “सेवाकर्ता” पदनामविरुद्ध यस्तो कडा प्रतिक्रिया दिन्छन्, र ख्रीष्टविरोधीहरूको हकमा, पहिचान, पद, सम्भावना, नियति र गन्तव्य भनेका स्थायी रूपमा पछ्याउनुपर्ने कुराहरू र कहिल्यै त्याग्‍न नहुने हितहरू हुन् भन्‍ने स्पष्ट हुन्छ। ख्रीष्टविरोधीहरूको नजरमा, परमेश्‍वरले परिभाषित गर्नुभएअनुसार सेवाकर्ताहरू मानवजातिमाझ सबैभन्दा न्यून स्थानमा पर्छन्। तैँले जे भने पनि वा जति जना मानिसहरूले यो तथ्य र यो पदनाम स्विकारे पनि, ख्रीष्टविरोधीहरूले यसलाई पटक्‍कै स्विकार्दैनन्। तिनीहरूले काम गर्दा अरूलाई तिनीहरूको सेवा गर्न, तिनीहरूको कुरा सुन्न, तिनीहरूको आज्ञापालन गर्न, र तिनीहरूको वरिपरि घुम्न मात्रै लगाउँछन्, तर आफैलाई चाहिँ कहिल्यै पनि अरूसँग सहकार्य गर्न वा विभिन्‍न कुराहरू छलफल गर्न, वा अरूका विचारहरू सोध्न, परमेश्‍वरका अभिप्रायहरूबारे परामर्श लिन, वा सत्यता सिद्धान्तहरू खोजी गर्न लगाउँदैनन्। तिनीहरूले सोच्छन्, “यदि मैले काम गर्दा अरूसँग सहकार्य गरेर छलफल गरेँ र सत्यता सिद्धान्तहरू खोजेँ भने, मैले आफूलाई होच्याइरहेको हुन्छ र मैले आफ्‍नो स्वायत्तता गुमाउनेछु, र के त्यो सेवा प्रदान गर्नु होइन र? के अरूले लोकप्रियता पाउँदा मचाहिँ पर्दापछाडि मेहनत गरिरहेको हुँदिनँ र? के मैले अरूको हेरचाह र सेवा गरिरहेको हुँदिनँ र?” यो त तिनीहरूले गर्न नचाहेको कुरा हो। तिनीहरू त बस अरूलाई तिनीहरूको ख्याल गर्न, तिनीहरूमा समर्पित हुन, तिनीहरूको कुरा सुन्न, तिनीहरूलाई कदर गर्न, तिनीहरूलाई उच्च प्रशंसा दिन, सबै कुरामा तिनीहरूलाई राम्रो देखिने बनाउन, तिनीहरूको लागि ठाउँ छोडिदिन, तिनीहरूको सेवा गर्न, र तिनीहरूको लागि काम गर्न लगाउन मात्रै चाहन्छन्, र तिनीहरू आफूले गरेको कामअनुसार आफूलाई परमेश्‍वरले उचित इनाम र उचित मुकुट दिनुपर्छ भनेर समेत माग गर्छन्। जब कसैले परमेश्‍वरले मानवजातिको मुक्तिको लागि कति ठूलो मूल्य चुकाउनुभएको छ र उहाँले कति धेरै कष्ट भोग्‍नुभएको छ, उहाँले कसरी आफूलाई नम्र तुल्याउनुभएको छ, र उहाँले मानवजातिको लागि कति धेरै भरणपोषण गर्नुभएको छ भनेर उल्लेख गर्छ, जब ख्रीष्टविरोधीहरूले यी वचनहरू सुन्छन् र यी तथ्यहरू देख्छन्, तब तिनीहरू उदासीन हुन्छन् र यसलाई सामान्य मान्छन्। ख्रीष्टविरोधीहरू यस्ता कुराहरूलाई कसरी अर्थ्याउँछन्? तिनीहरू भन्छन्: “परमेश्‍वरले मान्छेको लागि सबै कुरा गर्नुपर्छ र उहाँले मान्छेलाई सबैभन्दा राम्रो कुरा दिनुपर्छ, आशिष् र अनुग्रह दिनुपर्छ, र मान्छेलाई शान्ति र आनन्द दिनुपर्छ। उहाँले यो सबै कुरा मान्छेमा समर्पित गर्नुपर्छ; यो उहाँको दायित्व हो। अनि जब मानिसहरूले परमेश्‍वरको लागि विभिन्‍न कुराहरू त्याग्छन्, आफूलाई समर्पित गर्छन्, र मूल्य चुकाउँछन्, जब तिनीहरूले परमेश्‍वरको लागि सबै अर्पित गर्छन्, तब तिनीहरूले परमेश्‍वरबाट इनाम प्राप्त गर्नुपर्छ र अझै राम्रो कुरा प्राप्त गर्नुपर्छ। के त्यो निष्पक्ष लेनदेन होइन र? त्यो समान व्यापार होइन र? यसबारेमा कुरा गर्नुको अर्थ के हुन्छ र? परमेश्‍वरसँग के योग्यता छ? मैले किन परमेश्‍वरको कुनै पनि योग्यता देखेको छैनँ? परमेश्‍वरले मान्छेलाई विभिन्‍न कुरा दिनुहुन्छ, त्यसकारण के मान्छे ती कुराहरू प्राप्त गर्न लायक हुनु स्वाभाविक होइन र? मानिसहरूले त मूल्य चुकाउँदै आइरहेका छन्!” परमेश्‍वरले मान्छेको लागि गर्नुहुने यी सबै कुराहरू मान्छेलाई दिनुहुने सबैभन्दा ठूला अनुग्रह हुन् भनेर तिनीहरू विश्‍वास गर्दैनन्; तिनीहरू कृतज्ञ हुँदैनन् र तिनीहरू परमेश्‍वरको ऋण तिर्नेबारेमा सोच्दैनन्। बरु, तिनीहरू परमेश्‍वरले मानवजातिलाई प्रतिज्ञा गर्नुभएको सुन्दर गन्तव्यसित आफूले चुकाएको मूल्य साट्न चाहन्छन्, र प्राकृतिक हिसाबले नै तिनीहरू आफूले आशिष्‌हरू चाहनु र यी सबै अभिप्रायहरू राख्‍नु उचित नै हुन्छ, त्यसकारण यसलाई जसरी हेरे पनि, परमेश्‍वरले मानिसहरूलाई आफ्‍नो सेवाकर्ता बनाउनु हुँदैन भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूलाई के विश्‍वास हुन्छ भने, मानिसहरूमा इज्जत र निष्ठा हुन्छ, र यदि यस्तो ठूलो प्रेम भएका र परोपकारमा मद्दत गर्न सक्‍ने, आफूलाई समर्पित गर्न, र विभिन्‍न कुराहरू त्याग्‍न सक्‍ने मानिसहरूलाई परमेश्‍वरका लागि सेवा गर्न लगाइयो भने, तिनीहरूलाई गम्भीर रूपमा अपमानित गरिएको र अत्यन्तै अनुचित व्यवहार गरिएको हुन्छ। ख्रीष्टविरोधीहरूको नजरमा, परमेश्‍वरले गर्नुहुने यी सबै कुरा उल्लेख गर्न लायक हुँदैनन्। बरु यसको साटो, तिनीहरूले आफूले गर्ने कुराहरू अत्यन्तै साना भए पनि, तिनलाई असीमित रूपमा ठूला बनाउँछन्, र ती कुराहरूलाई आशिष्‌हरू प्राप्त गर्ने पुँजी मानेर व्यवहार गर्छन्।

कतिपय मानिसहरूले मण्डलीमा कर्तव्य निर्वाह गर्दा कहिल्यै राम्रोसित काम गर्दैनन्। यदि तिनीहरूले गर्ने कामकुराहरू, तिनीहरूले प्रदान गर्ने सीप र प्रतिभाहरू, वा तिनीहरूले प्रस्ताव गर्ने विचार र सुझावहरू दाजुभाइ-दिदीबहिनीहरूले स्विकारेनन् भने, तिनीहरू काम गरिरहन इन्कार गर्छन् र आफ्नो कर्तव्य त्यागेर निस्केर जान चाहन्छन्—तिनीहरू परमेश्‍वरलाई त्याग्‍न चाहन्छन्। यदि तैँले तिनीहरूलाई कसैसँग सहकार्य गर्न लगाइस् भने, तिनीहरूले सहकार्य गर्दैनन्, र यदि तैँले तिनीहरूलाई कर्तव्य पूरा गर्नमा सक्दो गर्न लगाइस् भने, तिनीहरूले त्यो पनि गर्दैनन्। तिनीहरूले बस दायाँबायाँ आदेश दिन्छन्, र अरूलाई तिनीहरूको कुरा सुन्न लगाउँछन्, र परमेश्‍वरको घरमा आफ्नो कर्तव्य पूरा गर्नुको सट्टा मानिसहरूलाई तिनीहरूको ख्याल गर्न, तिनीहरूको सेवाकर्ता बन्‍न, र तिनीहरूको सेवा गर्न लगाउँछन्। अनि यदि तिनीहरूले अरूबाट यस्तो विशेष व्यवहार प्राप्त गरेनन् भने, वा यदि तिनीहरूले यस्तो विशेष व्यवहार गुमाए भने, अरूले तिनीहरूको सेवा गर्नुपर्ने, तिनीहरूको लागि काम गर्नुपर्ने र तिनीहरूको आदेश पालना गर्नुपर्ने यो विशेष व्यवहार गुमाए भने, तिनीहरू काम छोडेर जान चाहन्छन्; तिनीहरू परमेश्‍वर धर्मी हुनुहुन्न भन्‍ने विश्‍वास गर्छन्, तिनीहरूको हृदय परमेश्‍वरप्रति गुनासो र रिसले भरिएको हुन्छ र तिनीहरूमा दाजुभाइ-दिदीबहिनीहरूप्रति घृणा उत्पन्न हुन्छ, र कसैले पनि तिनीहरूलाई मद्दत गर्न सक्दैन। तिनीहरूले कसैसँग सौहार्दपूर्ण सहकार्य गर्न सक्दैनन् र कसैसँग पनि समान स्तरमा रही सङ्गत गर्न सक्दैनन्। अरूसँग सङ्गत गर्ने तिनीहरूको नियम के हुन्छ भने, बोल्दा र व्यवहार गर्दा तिनीहरू मात्रै अरूभन्दा माथि खडा हुनुपर्छ, र तिनीहरूले अरूले तिनीहरूको लागि सबै कुरा गरेको र तिनीहरूले दिने हरेक आदेश र नारा पछ्याएको हेर्न पाउनुपर्छ; तिनीहरूसँग सहकार्य गर्न लायक कोही हुँदैन, र तिनीहरूसँग समान स्तरमा रही सङ्गत गर्न योग्य पनि कोही हुँदैन। यदि कसैले तिनीहरूलाई साथी वा साधारण दाजुभाइ-दिदीबहिनीको रूपमा व्यवहार गर्‍यो, र तिनीहरूसँग कुरा गर्‍यो, तिनीहरूसँग कामबारे छलफल गर्‍यो, र तिनीहरूलाई आफूसमान ठानेर आफ्‍नो बुझाइबारे तिनीहरूसँग सङ्गति गर्‍यो भने, तिनीहरूले यसलाई भयानक अपमान र तिनीहरूको निष्ठाको लागि ठूलो चुनौतीको रूपमा लिन्छन्। तिनीहरूले हृदयमा त्यस्ता मानिसहरूप्रति घृणा र शत्रुता बोक्छन्, र तिनीहरूलाई आफूसमान ठान्‍ने वा गम्भीर रूपमा नलिने जोकोहीलाई बदला लिने अवसरहरू खोज्छन्। के ख्रीष्टविरोधीहरूले यही गर्दैनन् र? अरू मानिसहरूसँग सङ्गत गर्ने क्रममा ख्रीष्टविरोधीहरूले प्रकट गर्ने पदानुक्रमिक दृष्टिकोण यही हो। अवश्य नै, यो कुरा “सेवाकर्ता” पदनामबारे ख्रीष्टविरोधीहरूले राख्‍ने साँचो विचार र मनोवृत्तिसँग सम्बन्धित छ। तिनीहरूले परमेश्‍वरले मानवजातिलाई दिनुभएको पदनामसमेत स्विकार्न सक्दैनन्, त्यसकारण के तिनीहरूले अरूले गर्ने दोषारोपण, खुलासा, र मूल्याङ्कन स्विकार्न सक्छन् त? तिनीहरूले यी कुराहरू स्विकार्न त झनै सक्दैनन्। एक हिसाबमा, तिनीहरूलाई “सेवाकर्ता” को पदनाम र सारप्रति शत्रुता र प्रतिरोध महसुस हुन्छ, तर अर्को हिसाबमा, तिनीहरूले आफूलाई सेवा दिन, आफ्नो सेवा गर्न, आफ्नो ख्याल गर्न, र आफ्नो आज्ञापालन गर्न लगाउन अथक रूपमा अझै धेरै मानिसहरूलाई आफूतिर ल्याउने र आफ्‍नो समूहमा आबद्ध गर्ने गर्छन्। के यो घृणित कुरा होइन र? त्यस्ता मानिसहरूको सार दुष्ट हुन्छ, र त्यो पूर्णतया साँचो हो। तिनीहरूले अरूलाई नियन्त्रण गर्ने इच्छा गर्छन्। तिनीहरू आफै प्रस्टैसित व्यर्थका हुन्छन् र तिनीहरूले केही गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरको घरका कसिङ्गर मात्रै हुन्, तिनीहरूसँग कुनै सामान्य मानवता हुँदैन, र तिनीहरूले अरूसँग सामान्य रूपमा सङ्गत गर्न सक्दैनन्, झन् तिनीहरूमा सामान्य समझ हुनु त धेरै परको कुरा हो। तिनीहरूले सत्यता पटक्‍कै बुझ्दैनन्, तिनीहरूसित सत्यताबारे कुनै अन्तर्दृष्टि हुँदैन, तिनीहरूमा थोरै व्यावसायिक ज्ञान र केही सीप मात्रै हुन्छ, र तिनीहरूले कुनै पनि कर्तव्य राम्ररी निर्वाह गर्न सक्दैनन्। तैपनि, तिनीहरूले राम्रो व्यवहार गर्दैनन् र शक्ति लिन चाहन्छन्, र जब तिनीहरूले शक्ति लिन सक्दैनन्, तब तिनीहरूलाई आफू सक्‍किएँ भन्‍ने लाग्छ, र तिनीहरूले सोच्छन्, “मैले पहिले यी कुराहरू गर्दा पक्‍कै पनि सेवा नै दिइरहेको थिएँ होला। म सेवा दिन इच्छुक छैनँ। मैले अब धेरै मेहनत गर्नु वा धेरै गुमाउनुभन्दा पहिले नै छिटो गरेर गइहाल्‍नु राम्रो हुन्छ।” तिनीहरूलाई आउने सोच यही हो। तिनीहरूले सधैँ यस्तो सङ्कल्प गर्छन् र यस्तो निर्णय गर्छन्; तिनीहरूले कुनै पनि बेला विश्‍वास गर्न छोडेर जान सक्छन्, कुनै पनि बेला कर्तव्य छोडेर भाग्‍न सक्छन्, र यसरी शैतानको अङ्गालोमा फर्केर दुष्ट काममा त्यसको साझेदार बन्‍न सक्छन्। के यस्ता मानिसहरू छन्? (छन्।) जब व्यावसायिक कामको कुनै पक्षको कुरा आउँछ, तब तिनीहरूले थोरथोरै कुरा त बुझ्छन्, तर व्यावसायिक कामको त्यो पक्षको लागि तिनीहरूले बुझ्नैपर्ने सत्यता सिद्धान्तहरूको हकमा, तिनीहरू पूर्ण अनभिज्ञ हुन्छन्; जब ज्ञान वा वरदानको कुनै पक्षको कुरा आउँछ, तिनीहरूसँग यीमध्ये केही कुरा हुन पनि सक्छ, तर कर्तव्य निर्वाह गर्नको लागि तिनीहरूले बुझ्नैपर्ने सत्यता सिद्धान्तहरूको हकमा, तिनीहरू फेरि पनि पूर्ण अनभिज्ञ हुन्छन्, र तिनीहरूको बुझाइ विकृत हुन्छ। तिनीहरूले अरूसँग सद्‌भावपूर्ण सहकार्य गर्न सक्दैनन्, र सँगै सङ्गति गर्दा तिनीहरूले अरूले जस्तै उही भाषा बोल्दैनन्। त्यस्ता मानिसहरू केको लागि उपयुक्त हुन्छन्? यदि तिनीहरूसँग साँच्‍चै विवेक र समझ छ भने, तिनीहरूले अरूप्रति सही व्यवहार गर्न सक्‍नेछन्, र जब मानिसहरूले सही र सत्यता अनुरूपका कुराहरू बोल्छन्, तब तिनीहरूले ती कुराहरू स्विकार्न, स्वेच्छाले तिनमा समर्पित हुन, र आफ्नो देहको विरुद्धमा विद्रोह गर्न सक्छन्। तिनीहरूले सधैँ भीडभन्दा माथि उठ्न, अरूलाई डोर्‍याउन, र अरूलाई नियन्त्रण गर्न चाहनु हुँदैन; बरु, तिनीहरूले अरूभन्दा माथि उठ्ने आफ्नो महत्त्वाकाङ्क्षा र चाहना त्याग्‍नुपर्छ र सेवा नै गर्नु परे पनि सबैभन्दा सानो व्यक्ति बन्‍न तयार हुनुपर्छ—तिनीहरूले आफूले गर्न सक्‍ने जेसुकै गर्नुपर्छ। तिनीहरू आफै साधारण मानिसहरू हुन्, त्यसकारण तिनीहरू साधारण मानिसहरूको स्थानमा फर्केर आउनुपर्छ, कर्तव्य निर्वाह गर्न सक्दो प्रयास गर्नुपर्छ, र तिनीहरूले व्यावहारिक तरिकाले आफूलाई आचरणमा ढाल्नुपर्छ। यस्ता मानिसहरू अन्त्यमा दह्रिलो गरी खडा हुन सक्छन्। यदि तिनीहरूले यो मार्ग छनौट गर्दैनन् बरु आफूलाई महान् र उच्च ठान्छन् भने, यदि कसैले पनि तिनीहरूलाई छुन वा चलाउन सक्दैनन् भने, र यदि तिनीहरू स्थानीय दादा, र अत्याचारी बन्‍न, र ख्रीष्टविरोधीहरूको मार्ग पछ्याउन चाहन्छन् भने, तिनीहरू दुष्ट मानिसहरू बन्‍ने पक्‍का हुन्छ। यदि तिनीहरू सबैभन्दा तुच्छ व्यक्ति बन्‍न, पूर्ण रूपमा अज्ञात हुन वा चर्चापरिचर्चाको दुनियाँबाट टाढा रहन, वा आफ्नो सबै कुरा समर्पित गर्न तयार छैनन् भने, तिनीहरू अवश्य नै ख्रीष्टविरोधीहरू हुन् र तिनीहरूले मुक्ति पाउन सक्दैनन्—तिनीहरूको लागि यो कुरा खतरनाक हुन्छ। यदि यस्तो व्यक्तिले आफ्नो बारे चिन्तन गर्न सक्छ, ऊसँग आत्म-सचेतना छ, परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरू स्विकार्न सक्छ, आफ्नो उचित स्थान लिन सक्छ, साधारण व्यक्ति बन्‍न सक्छ, र उप्रान्त कुनै पनि बहाना नगर्न सक्छ भने, उसले मुक्ति पाउने मौका पाउनेछ। यदि तँ सधैँ रोबदार र अनुचित हुँदै आफूलाई शक्तिशाली व्यक्तिको रूपमा देखाउन चाहन्छस् भने, त्यो व्यर्थ हुन्छ। परमेश्‍वरको घर परमेश्‍वरका चुनिएका मानिसहरूले भरिएको हुन्छ, र तँ जति नै भयानक, आक्रामक, वा दुष्ट भए पनि, यसको कुनै काम हुँदैन। परमेश्‍वरको घर रणभूमि होइन, त्यसैले यदि तँ लड्न चाहन्छस् भने, संसारको रणभूमिमा गएर लड्। परमेश्‍वरको घरमा कोही पनि तँसँग लड्‍न चाहँदैन; कसैसँग पनि यसमा चासो वा यसो गर्ने फुर्सद हुँदैन। परमेश्‍वरको घर सत्यता प्रचार गर्ने, र मानिसहरूलाई सत्यता बुझ्न र सत्यता अभ्यास गर्न मद्दत गर्ने ठाउँ हो। यदि तैँले सत्यता अभ्यास गर्न सक्दैनस् भने, त्यो सम्हाल्न गाह्रो हुन्छ, र यसले तँ यहाँ हुनुपर्ने होइन भन्‍ने मात्रै देखाउँछ। यदि तँ सधैँ लड्न चाहन्छस्, सधैँ आक्रामक हुन चाहन्छस्, सधैँ निर्दयी हुन चाहन्छस्, र सधैँ रोबदार र अनुचित हुन चाहन्छस् भने, मण्डली तेरो लागि सही ठाउँ होइन। परमेश्‍वरको घरका धेरैजसो मानिसहरूले सत्यतालाई प्रेम गर्छन्; तिनीहरू परमेश्‍वर पछ्याउन र जीवन प्राप्त गर्न चाहन्छन्, र तिनीहरूलाई षड्यन्त्रमा संलग्‍न हुन र दियाबलसहरूसँग लड्न मन पर्दैन। ख्रीष्टविरोधीहरूले मात्रै दायाँबायाँ लड्न र शक्ति र नाफाको लागि प्रतिस्पर्धा गर्न मन पराउँछन्, त्यसकारण ख्रीष्टविरोधीहरू परमेश्‍वरको घरमा दह्रिलो गरी खडा हुन सक्दैनन्।

पहिचान, पद र हैसियतजस्ता कुराहरूप्रति अत्यन्तै संवेदनशील हुने, र “सेवाकर्ता” पदनामप्रति विशेष रूपमा ठूलो प्रतिरोध र घृणा गर्ने, र यसलाई स्विकार्न सक्दै नसक्‍ने किसिमका व्यक्तिहरू पनि हुन्छन्—यस्ता मानिसहरू ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूले सत्यता नपछ्याउने र सत्यताप्रति वितृष्णा मान्‍ने मात्र होइन, तिनीहरूले त “सेवाकर्ता” भनेर गरिने सम्बोधनप्रति पनि वितृष्णा मान्छन्। “सेवाकर्ता” पदनामप्रति वितृष्णा मान्‍नेहरूले वास्तवमा सत्यता पछ्याउनुपर्छ—यदि तिनीहरूले सत्यता पछ्याउन सकेका भए, के तिनीहरूले “सेवाकर्ता” पदनाम फालिसकेका हुँदैनथे र? तर समस्या नै यही हो। तिनीहरूले सत्यताप्रति अत्यन्तै वितृष्णा मान्‍ने हुनाले, तिनीहरू सत्यता पछ्याउने र अभ्यास गर्ने मार्गमा कहिल्यै हिँड्नेछैनन्। त्यसकारण, परमेश्‍वरको व्यवस्थापन योजनाको काममा, तिनीहरूले सधैँ सेवाकर्ताको भूमिका खेल्नेछन्। तर अवश्य नै, ख्रीष्टविरोधीहरूले परमेश्‍वरको व्यवस्थापन योजनामा सेवाकर्ताको रूपमा काम गर्न पाउनु पनि आशिष् नै हो; तिनीहरूको लागि यो सृष्टिकर्ताका कार्यहरू हेर्ने, सृष्टिकर्ताले सत्यता व्यक्त गर्नुभएको र मानवजातिसँग आफ्नो मनभित्रका विचारहरू बताउनुभएको सुन्‍ने, र सृष्टिकर्ताको बुद्धि र सर्वशक्तिमान् कार्यहरू बुझ्‍ने मौका हो। तिनीहरू सृष्टिकर्ताको सेवाकर्ता बन्‍नु नराम्रो कुरा होइन, र तिनीहरूले बुझ्‍न सके पनि नसके पनि, र परमेश्‍वरको काम पछि गएर समाप्त हुने भए पनि, परमेश्‍वरको सेवाकर्ता बन्‍नु र परमेश्‍वरको घरमा सेवा गर्नु भनेको यी ख्रीष्टविरोधीहरू र शैतानका मतियारहरूले सधैँ सम्झिरहने कुरा नै हुनुपर्छ। भ्रष्ट मानवजातिले परमेश्‍वरको विरुद्धमा शत्रुता गर्ने सम्पूर्ण प्रक्रियामा, ख्रीष्टविरोधीहरूले अनजानमै परमेश्‍वरको व्यवस्थापन योजनामा सेवा पुर्‍याउँछन्, र हरेक ख्रीष्टविरोधीको अस्तित्वको अत्यन्तै सानो मूल्य यही हो—यो एक तथ्य हो। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई नकारात्मक पक्षबाट ख्रीष्टविरोधीहरू खुट्याउन र पहिचान गर्न सहयोग गरेर आफ्नो योगदान दिन्छन्। तिनीहरूले यो तथ्य स्वीकार गर्न चाहे पनि नचाहे पनि, र तिनीहरू सेवाकर्ता बन्‍नमा इच्छुक, प्रसन्‍न र खुशी भए पनि नभए पनि, चाहे जेसुकै भए पनि, सेवाकर्ताको रूपमा परमेश्‍वरको कामको लागि सेवा प्रदान गर्नु र यो भूमिका लिनु सार्थक कुरा हो—परमेश्‍वरले तिनीहरूलाई उचाल्नु भनेकै यही हो। कति मानिसहरू सोध्छन्, “के परमेश्‍वरले ख्रीष्टविरोधीहरूलाई पनि उचाल्नुहुन्छ?” यसमा के गलत छ? तिनीहरू सृजित प्राणीहरू हुन्; के परमेश्‍वरले तिनीहरूलाई उचाल्न सक्नुहुन्न र? म जे भन्छु त्यो साँचो हो। अब, ख्रीष्टविरोधीहरूले यी वचनहरू सुन्दा कस्तो महसुस गर्छन्? तिनीहरूले गल्तीहरू खोज्ने प्रयास गर्नु हुँदैन, बरु केही सान्त्वना प्राप्त गर्नुपर्छ। कम्तीमा पनि, तिनीहरूले परमेश्‍वरको व्यवस्थापन योजनाको ठूलो मामलामा केही मेहनत योगदान गरेका हुन्छन्। तिनीहरूले स्वेच्छाले यसो गरे पनि नगरे पनि, वा सक्रिय वा निष्क्रिय रूपमा यसो गरे पनि, चाहे जेसुकै भए पनि, यो परमेश्‍वरले तिनीहरूलाई उचाल्‍नुभएको हो, र तिनीहरूले यो कुरालाई खुशीसाथ स्वीकार गर्नुपर्छ र यसलाई प्रतिरोध गर्नु हुँदैन। यदि ख्रीष्टविरोधीहरूले आफ्ना पुर्खाहरूविरुद्ध विद्रोह गर्न सक्छन्, शैतान विरुद्ध विद्रोह गर्न सक्छन्, र सत्यता पछ्याउन र सृष्टिकर्ताप्रतिको समर्पण पछ्याउन सक्छन् भने, मलाई भन त, के परमेश्‍वरलाई खुसी लाग्‍नेछ? (हो, लाग्‍नेछ।) यो परमेश्‍वरका चुनिएका मानिसहरूका लागि भाग्यको कुरा पनि हो, र तिनीहरू पनि खुशी हुनुपर्छ—यो असल कुरा हो। यो तथ्य पुष्टि गर्न सकिने भए पनि नभए पनि, यदि ख्रीष्टविरोधीहरू आफ्नो मार्ग परिवर्तन गरेर पश्‍चात्तापको मार्ग हिँड्न सक्छन् भने, त्यो अवश्य नै असल कुरा हो। त्यसोभए, यो परमेश्‍वरका चुनिएका मानिसहरूका लागि भाग्यको कुरा हो भनेर म किन भन्छु त? यदि कुनै ख्रीष्टविरोधीले स्वेच्छाले सेवा प्रदान गर्‍यो भने, के परमेश्‍वरको घरमा एउटा सङ्कष्ट कम हुँदैन र? यदि तिमीहरूको बीचमा एक दियाबलस, एक बाधा र समस्या पैदा गर्ने व्यक्ति कम भयो भने, के तिमीहरूका दिनहरू अझै धेरै शान्त हुनेछैनन् र? यो दृष्टिकोणबाट हेर्दा, यदि ख्रीष्टविरोधीहरू साँच्‍चै नै सेवा दिन तयार छन् भने, यो पनि उत्सव मनाउन लायक कुरा हुनेछ। तिमीहरूले तिनीहरूलाई प्रोत्साहन र मद्दत गर्नुपर्छ, तिनीहरूलाई पूर्ण रूपमा खारेज गर्नु हुँदैन। यदि तँसँग असल अभिप्रायहरू छन् र तैँले तिनीहरूलाई बस्‍न दिन्छस्, तर तिनीहरूले प्रदान गर्ने सेवाको मूल्यभन्दा समस्या बढी छ र यसले विपत्ति ल्याउँछ भने, तिनीहरूलाई सिद्धान्तहरू अनुसार सम्हाल्नुपर्छ। के यो काम गर्ने राम्रो तरिका होइन र? (हजुर, हो।)

उल्‍लेख गर्न लायक अर्को प्रकारका व्यक्तिहरू पनि छन्। केही मानिसहरू कर्तव्य निर्वाह गर्ने क्रममा कष्ट भोग्‍न र मूल्य चुकाउन सक्छन्, र कहिलेकहीँ सिद्धान्तहरू अनुसार आज्ञापालन गर्न र समर्पित हुन वा मामलाहरू सम्हाल्न पनि सक्छन्। तिनीहरूको व्यक्तिपरक इच्छा भनेको सत्यता पछ्याउने मार्ग हिँड्नु हो, र माथि वा मण्डलीद्वारा तय भएको कुनै पनि कुरामा तिनीहरू समर्पित हुन सक्छन्, र सधैँ समयमै काम पूरा गर्न सक्छन्। तिनीहरूले परमेश्‍वरको घरमा अवरोधहरू र बाधाहरू ल्याउँदैनन्, र तिनीहरूले गर्ने काम र तिनीहरूले लिने कर्तव्यले दाजुभाइ-दिदीबहिनीहरूलाई धेरै लाभ र फाइदाहरू दिलाउँछ। बाहिरबाट हेर्दा त, तिनीहरूले कुनै दुष्कर्म नगरेका भए पनि, तिनीहरूले अवरोध नगरे पनि वा बाधा नदिए पनि, र तिनीहरू दुष्ट मानिसहरूजस्ता नदेखिए पनि, तिनीहरूले साधारण मानिसहरूले गर्न नसक्‍ने र नगर्ने केही कुरा गर्छन्, र त्यो के हो भने तिनीहरू आफ्नो प्रभाव विकास गर्न र आफ्नै स्वतन्त्र राज्य स्थापना गर्दै आनन्द मनाउँछन्। जब तिनीहरूलाई कुनै काम दिइन्छ, तब तिनीहरू त्यो कामको सुपरिवेक्षक बन्‍नेबित्तिकै, तिनीहरूले आफ्नै स्वतन्त्र राज्य स्थापना गर्न र आफ्नो प्रभावको दायराभित्र रहेको आफ्नो शक्ति र सम्पर्कहरूलाई अवचेतन रूपमा विकास गर्न थालिहाल्न सक्छन्। यो दायराभित्र, सबै जना तिनीहरूबाट पूर्ण रूपमा र पूरै कायल हुन्छन्, र तिनीहरूले गर्ने सबै कुरा, तिनीहरूले भन्‍ने सबै कुरा, र तिनीहरूले चुकाएको मूल्यबारे मानिसहरूले मुख खोलेर प्रशंसा र आदर गर्छन्। तिनीहरूले आफ्नो व्यवस्थापनको दायरालाई परमेश्‍वरको परिवारभित्रको आफ्नो सानो परिवारको रूपमा लिन्छन्। बाहिरबाट हेर्दा, तिनीहरूले मूल्य चुकाउन, कष्ट भोग्‍न, र जिम्मेवारी लिन सक्छन् जस्तो देखिन्छ—र कुनै समस्या छैन जस्तो देखिन्छ। तैपनि, महत्त्वपूर्ण क्षणहरूमा, तिनीहरूले परमेश्‍वरको घरका हितहरूलाई विश्‍वासघात गर्न सक्छन्। आफ्नो प्रतिष्ठा र आफ्नो उच्‍च स्थान रक्षा गर्नको लागि, र मण्डलीमा आफ्नो ठोस स्थान, मर्यादा, र शक्ति रक्षा गर्नको लागि, तिनीहरूले कसैलाई पनि चिढ्याउने वा चोट पुर्‍याउने काम गर्दैनन्। कसैले परमेश्‍वरको घरका हितहरूलाई हानि गरे पनि वा विश्‍वासघात गर्‍यो भने, र कसैले परमेश्‍वरको घरको काममा बाधा वा विनाश गरे पनि, तिनीहरूले यो विषयमा जाँच गर्दैनन्, यसप्रति ध्यान दिँदैनन्, बरु उल्टै यसलाई आँखा चिम्लन सक्छन्। त्यो व्यक्तिले तिनीहरूको पदलाई खतरामा नपारुन्जेलसम्‍म र उसले तिनीहरूको प्रभाव क्षेत्रमा रही तिनीहरूको सेवामा काम गरुन्जेलसम्‍म, त्यो ठीकै हुन्छ—यही नै तिनीहरूको सबैभन्दा उच्च मापदण्ड हो। त्यो व्यक्तिले जस्तोसुकै बाधाहरू ल्याए पनि, तिनीहरूले त्यो देख्दैनन्, र त्यसमा कुनै ध्यान दिँदैनन्, र तिनीहरूले त्यो व्यक्तिलाई काटछाँट वा भर्त्सना गर्दैनन्, झन् उसलाई तह लगाउनु त धेरै परको कुरा हो। त्यस्ता मानिसहरू खतरनाक तत्त्वहरू हुन्। सामान्य व्यक्तिलाई तिनीहरूको वास्तविकता खुट्याउन गाह्रो हुन्छ, र तिनीहरूको कुनै पद नभएको बेला सायद तैँले तिनीहरूमा कुनै पनि समस्या देख्‍न सक्‍नेछैनस्। तैपनि, तिनीहरूले पद प्राप्त गर्नेबित्तिकै, तिनीहरूको प्रकृति सार पूर्ण रूपमा खुलासा भइहाल्छ। अनि ठ्याक्‍कै के कुरा खुलासा हुन्छ त? यो कि, तिनीहरूले चुकाउने मूल्य र तिनीहरूले गर्ने सबै कुरामा एउटा उद्देश्य हुन्छ; तिनीहरूले यी कुराहरू परमेश्‍वरको घरका हितहरू रक्षा गर्नको लागि गर्दैनन्, तिनीहरूले साँचो रूपमा आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुँदैनन्, र तिनीहरूले यी सबै कुराहरू परमेश्‍वरलाई देखाउनको लागि नभई, मानिसहरूलाई देखाउनको लागि गरिरहेका हुन्छन्। तिनीहरू अरूको नजर, आँखा, र ध्यान आकर्षित गर्न चाहन्छन्, र यसभन्दा पनि बढी तिनीहरू मानिसहरूको हृदय बहकाउन चाहन्छन्, ताकि मानिसहरूले तिनीहरूलाई सम्‍मान, आदर, र प्रशंसा गरून्। त्यसकारण तिनीहरू परमेश्‍वरले तिनीहरूलाई कसरी हेर्नुहुन्छ वा व्यवहार गर्नुहुन्छ भन्‍नेबारे कुनै वास्ता गर्दैनन्; यदि परमेश्‍वरले तिनीहरू सेवा दिनको लागि मात्रै आएका हुन् भनेर भन्‍नुभयो भने, तिनीहरू उदासीन रहन्छन्। तिनीहरूलाई मानिसहरूले खुट्टा ढोग्‍न र तिनीहरूअघि झुक्‍न सकुन्जेलसम्‍म, त्यो नै पर्याप्त हुन्छ। यी मानिसहरू खतरनाक तत्त्वहरू हुन् र तिनीहरू परमेश्‍वर र परमेश्‍वरको घरसँग एउटै मनका हुँदैनन्, र तिनीहरूको हृदय सत्यता साँच्‍चै पछ्याउने परमेश्‍वरका चुनिएका मानिसहरूको जस्तो हुँदैन। तिनीहरूले आफ्नै लागि प्रभाव विकास गरिरहेका हुन्छन्, र तिनीहरूले शैतानको लागि पनि प्रभाव विकास गरिरहेका हुन्छन्। तिनीहरूका विभिन्‍न प्रकटीकरणहरूको आधारमा हेर्दा, तिनीहरूले निर्वाह गर्ने कर्तव्य र तिनीहरूले गर्ने सबै कुरा आफूलाई प्रदर्शन गर्ने र अरूलाई सक्दो धेरै चापलुसी गर्ने तरिका मात्रै हुन्।

ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरमा र परमेश्‍वरको व्यवस्थापन योजनाको काममा केही सेवा दिन सक्छन्, र कुनै बेला तिनीहरू असल सेवाकर्ता समेत हुन सक्छन्। तैपनि, तिनीहरूले हिँड्ने मार्गको कारण, र तिनीहरूले छनौट गर्ने उद्देश्य र दिशाको कारण, साथै तिनीहरूभित्र रहेको पद र शक्तिप्रतिको तिनीहरूको इच्छा र ख्याति र प्राप्तिप्रतिको तिनीहरूको तृष्णाको कारण, तिनीहरूले कहिल्यै पनि “सेवाकर्ता” पदनाम झट्कारेर फाल्न सक्दैनन्, र तिनीहरूले सत्यता बुझ्न सक्दैनन्, सत्यता वास्तविकता के हो भनेर बुझ्न वा यसमा प्रवेश गर्न सक्दैनन्, र तिनीहरूले सत्यता अभ्यास गर्न सक्दैनन्, साँचो समर्पण प्राप्त गर्न सक्दैनन्, र तिनीहरूले परमेश्‍वरको डर मान्‍ने स्थिति प्राप्त गर्न सक्दैनन्। त्यस्ता मानिसहरू खतरनाक तत्त्वहरू हुन्। तिनीहरूसँग संसारसँग व्यवहार गर्ने गहन दर्शनहरू हुन्छन्, आफूलाई आचरणमा ढाल्ने र संसारसँग व्यवहार गर्ने निकै चलाख तरिकाहरू हुन्छन्, अरूसँग कुरा गर्दा तिनीहरूले बोल्ने शैली र शब्दहरूमा विशेष ध्यान दिन्छन्, र मानिसहरूसँग सङ्गत गर्दा तिनीहरूले प्रयोग गर्ने विधिहरूमा पनि एकदमै राम्रो ध्यान दिन्छन्। बाहिरबाट हेर्दा, तिनीहरू षडयन्त्रकारी र दुष्ट किसिमका नदेखिए पनि, तिनीहरूको हृदय दुष्ट विचार, सोचाइ, र दृष्टिकोणहरूले अनि सत्यताबारेका धारणा र गलतफहमीहरू र परमेश्‍वरप्रति अबुझपनले भरिएको हुन्छ। यी मानिसहरूको कुन कुराचाहिँ दुष्ट छ भनेर वा तिनीहरू दुष्ट मानिसहरू हुन् भनेर मानिसहरूले देख्‍न नसके पनि, तिनीहरूको सार यति दुष्ट भएकोले, र तिनीहरूले सत्यता सिद्धान्तहरू अनुसार आफ्नो कर्तव्य निर्वाह गर्न वा सत्यता खोजी गर्ने र परमेश्‍वरमा साँचो समर्पण हासिल गर्ने मार्ग हिँड्न कहिल्यै नसक्‍ने हुनाले, अन्त्यमा तिनीहरूले यो “सेवाकर्ता” पदनाम त्याग्‍न कहिल्यै कदापि सक्दैनन्। यी मानिसहरू स्पष्ट ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूभन्दा पनि धूर्त हुन्छन् र अरूलाई बहकाउन झन् सक्षम हुन्छन्। बाहिरी रूपमा हेर्दा, तिनीहरूसँग यो “सेवाकर्ता” पदनामबारे कुनै राय र कुनै मनोवृत्ति छैन जस्तो देखिन्छ, र तिनीहरूलाई यसबारे कुनै प्रतिरोध अनुभूत भएजस्तो त झनै देखिँदैन। तैपनि, तथ्य के हुन्छ भने, तिनीहरूको सारको आधारमा मूल्याङ्कन गर्दा, तिनीहरूले परमेश्‍वरलाई सेवा दिए पनि, तिनीहरूमा अझै पनि अभिप्राय र उद्देश्यहरू हुन्छन्; तिनीहरूले विनासर्त सेवा दिँदैनन्, र तिनीहरूले सत्यता प्राप्त गर्नको लागि त्यसो गर्दैनन्। यी मानिसहरू भित्री रूपमा दुष्ट र धूर्त हुने हुनाले, अरूले तिनीहरूलाई चिन्‍न सजिलो हुँदैन। महत्त्वपूर्ण मामला र महत्त्वपूर्ण समयमा मात्रै तिनीहरूको प्रकृति सार, विचार, दृष्टिकोण, र तिनीहरूले हिँड्ने मार्ग प्रकट हुन्छन्। यो कुरा जारी रहँदा, यदि यी मानिसहरूले यस्तो पछ्याइको मार्ग छनौट गरे र यस्तो मार्ग हिँड्ने निर्णय गरे भने, यस्ता मानिसहरूले मुक्ति प्राप्त गर्न सक्दैनन् भनेर कल्पना गर्न सकिन्छ। तिनीहरूले परमेश्‍वरको घरले तिनीहरूमा गरेको भरोसा र परमेश्‍वरको कामको अवसरलाई आफ्नै फाइदाको लागि षड्यन्त्र गर्न, मानिसहरूलाई नियन्त्रण गर्न र कष्ट दिन, र आफ्नै महत्त्वाकाङ्क्षा र इच्छाहरू सन्तुष्ट पार्नको लागि प्रयोग गर्छन्। अन्त्यमा, तिनीहरूले सत्यता प्राप्त गर्दैनन्, बरु हरकिसिमको दुष्कर्म गरेको कारण तिनीहरू प्रकट हुन्छन्। जब तिनीहरू प्रकट हुन्छन्, तब यो स्पष्ट हुन्छ कि यी मानिसहरूले सत्यता पछ्याउँदैनन्, र तिनीहरूले सत्यता पछ्याउन र मुक्ति प्राप्त गर्न परमेश्‍वरमा विश्‍वास गर्दैनन्। परमेश्‍वरका वचनहरू सुनेपछि र हरप्रकारका मानिसहरूबारे उहाँले गर्नुभएको खुलासा सुनेपछि पनि, यदि यी मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्न संसारसँग व्यवहार गर्ने सिद्धान्त, माध्यम, र विधिहरू निरन्तर प्रयोग गरिरहन्छन् भने, अन्तिम परिणाम एउटै मात्र हुन सक्छ: तिनीहरूले परमेश्‍वरको व्यवस्थापनको काममा सेवाकर्ताको भूमिका लिनैपर्छ र अन्त्यमा प्रकट हुनैपर्छ र हटाइनैपर्छ—तथ्य यही हो। के तिमीहरूसँग कहिल्यै त्यस्ता मानिसहरूसँग सङ्गत गरेको अनुभव छ? जब ख्रीष्टविरोधीहरू प्रकट गरिन्छन् र निष्कासित गरिन्छन्, तब कतिपय ख्रीष्टविरोधीहरू सेनाविनाका कमान्डर बन्छन्। तिनीहरूले गरेको दुष्टता अत्यन्तै धेरै र अत्यन्तै ठूलो हुन्छ, र दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई घिनाउँछन् र त्याग्छन्। अर्को प्रकारका व्यक्तिहरू पनि हुन्छन्, जसलाई जब मण्डलीले प्रकट अनि निन्दा र इन्कार गर्छ, तब तिनीहरूका धेरै मतियार र सहयोगीहरू हुन्छन्, जो तिनीहरूको पक्षमा बोल्छन्, तिनीहरूको लागि लड्छन्, र परमेश्‍वरविरुद्ध होहल्ला गर्छन्। के यस्ता मानिसहरू अरूलाई बहकाउन अझै बढी सक्षम हुँदैनन् र? त्यस्ता मानिसहरू अझै खतरनाक हुन्छन्। जहाँसम्‍म ख्रीष्टविरोधीहरूले “सेवाकर्ता” भन्‍ने पदनामलाई कसरी लिन्छन्, र तिनीहरूले प्रदर्शन गर्ने निहित अभ्यास, विचार, र प्रकटीकरणहरू के-के हुन् भन्‍ने सवाल छ, हामी अहिलेलाई हाम्रो सङ्गति यहीँ समाप्त गर्नेछौं।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्