विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग आठ) खण्ड एक
आ. ख्रीष्टविरोधीहरूका हितहरू
घ. तिनीहरूका सम्भावना र नियति
सुरुमा हामी पछिल्लो भेलामा के विषयमा सङ्गति गर्यौँ त्यसको पुनरावलोकन गरौँ। (पछिल्लो पटक परमेश्वरले ख्रीष्टविरोधीहरूले आफ्नो सम्भाव्यता र नियतिलाई कसरी लिन्छन् भन्ने विषयको दोस्रो बुँदा—ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्यलाई कसरी लिन्छन्—भन्ने बारेमा सङ्गति गर्नुभयो। ख्रीष्टविरोधीहरू आफ्नो कर्तव्यप्रति तीन प्रकारका मनोवृत्ति राख्छन्। पहिलो, परमेश्वरले मानवजातिलाई भरणपोषण र अगुवाइ गर्दै आउनुभएको छ, त्यसकारण परमेश्वरको अघि सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नु पूर्ण रूपमा उचित, स्वाभाविक, र न्यायवान् कुरा हो, र यो मानवजाति बीचको सबैभन्दा न्यायसङ्गत र सुन्दर कुरा हो, तर ख्रीष्टविरोधीहरू यसलाई एक प्रकारको लेनदेनको रूपमा लिन्छन् र कर्तव्य निर्वाह गर्ने कार्यलाई राम्रो सम्भाव्यता र असल गन्तव्यसित साट्न चाहन्छन्। दोस्रो, जब परमेश्वरले काम गरिरहनुभएको हुन्छ, तब उहाँले धेरै सत्यताहरू व्यक्त गर्नुहुन्छ; ख्रीष्टविरोधीहरूले परमेश्वरको वचनलाई सत्यताको रूपमा, मानवजातिले मुक्ति पाउनको लागि धारण गर्नुपर्ने, पछ्याउनुपर्ने, स्विकार्नुपर्ने, र प्रवेश गर्नुपर्ने कुराको रूपमा नहेर्ने मात्र होइन, बरु उल्टै, तिनीहरूले सम्भाव्यता, गन्तव्य, प्रतिष्ठा, र हैसियतप्रतिको पछ्याइलाई सत्यता र आफूले पालना र प्राप्त गर्नुपर्ने कुराहरूको रूपमा लिन्छन्। तेस्रो, परमेश्वरले मानवजातिलाई व्यवस्थापन गर्न र मुक्ति दिन काम गर्नुहुन्छ, तर ख्रीष्टविरोधीहरूको दृष्टिकोणमा यो एउटा लेनदेन र खेल मात्रै हो; तिनीहरू मानिसहरूले कठिन परिश्रम र लेनदेनद्वारा मात्रै स्वर्गको राज्यका आशिष्हरू प्राप्त गर्न सक्छन् भन्ने विश्वास गर्छन्। मानिसहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्न लगाउने परमेश्वरको सत्यताप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्तिको आधारमा हेर्दा, तिनीहरूको स्वभाव दुष्ट हुन्छ।) अरू केही थप्नु छ? (ख्रीष्टविरोधीहरूले आशिष्हरू प्राप्त गर्ने एउटै मात्र तरिका भनेको आफ्नो कर्तव्य निर्वाह गर्नु हो भन्ठान्छन्। आशिष्हरू प्राप्त गर्ने तिनीहरूको इच्छा भताभुङ्ग भएपछि, तिनीहरूले तुरुन्तै आफ्नो कर्तव्य त्याग्न वा परमेश्वरलाई समेत त्याग्न सक्छन्। आशिष्हरू प्राप्त गर्ने आफ्नो इच्छा भताभुङ्ग हुँदा ख्रीष्टविरोधीहरूको मनोवृत्ति यस्तो हुन्छ।) (ख्रीष्टविरोधीहरूले साँचो रूपमा पश्चात्ताप गर्दैनन्। जब तिनीहरूले अवरोध र बाधाहरू ल्याएका वा दुष्ट कार्यहरू गरेको कारण तिनीहरूलाई बर्खास्त वा निष्कासित गरिन्छ, र जब परमेश्वरको घरले तिनीहरूलाई कर्तव्य निर्वाह गर्ने अर्को मौका दिन्छ, तब तिनीहरू कृतज्ञ हुँदैनन्। बरु, तिनीहरूले यसो भन्दै गुनासो र आलोचना गर्छन्, “मेरो आवश्यकता पर्दा तपाईँ मलाई फर्काउनुहुन्छ, तर नपर्दा मलाई लत्याउनुहुन्छ।” यसले ख्रीष्टविरोधीहरू कहिल्यै पश्चात्ताप गर्दैनन् भन्ने देखाउँछ।) छोटकरीमा भन्दा, ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्यप्रति गर्ने व्यवहार र परमेश्वरको वचनप्रति गर्ने व्यवहारमा प्रकट हुने सारहरू आधारभूत रूपमा उस्तै हुन्छन्; तिनीहरूले यी फरक-फरक कुराहरूप्रति व्यवहार गर्दा उस्तै स्वभाव र सार प्रकट गरिरहेका हुन्छन्। हामीले ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्यप्रतिको व्यवहारमा प्रकट गर्ने सबै सारहरूबारे पछिल्लो पटक नै लगभग सङ्गति गरिसकेका छौँ। पहिलो, तिनीहरूले परमेश्वरको वचन सत्यता हो भनेर विश्वास गर्दैनन् र मान्न इन्कार गर्छन्; दोस्रो, तैँले तिनीहरूसँग परमेश्वरको वचनमा सङ्गति गरे पनि, र तिनीहरूले सत्यता बुझे पनि, तिनीहरूले यसलाई स्विकार्दैनन्; तेस्रो, तिनीहरू परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुन मान्दैनन्; चौथो, तिनीहरूले कहिल्यै साँचो रूपमा पश्चात्ताप गर्दैनन्। के यी तिनीहरूका प्रकटीकरणका सार होइनन् र? (हुन्।) के तिमीहरूले यी चार बुँदाहरू सारांशित गरेका छौ? (छैनौँ।) तिमीहरूले बताएका धेरैजसो कुराहरू हामीले पछिल्लो पटक सङ्गति गरेका केही प्रकटीकरणहरू थिए, तर तिमीहरूले यी प्रकटीकरणहरूको पछाडि के-कस्ता सारहरू लुकेका हुन्छन् भन्ने कुरा अझै पनि छर्लङ्गसित देखेका छैनौ। सत्यता र परमेश्वरको अघि ख्रीष्टविरोधीहरूले प्रकट गर्ने सार सधैँ मान्न, स्वीकार गर्न, समर्पित हुन, वा पश्चात्ताप गर्न इन्कार गर्नु हो। ख्रीष्टविरोधीहरूले परमेश्वरको वचन र आफ्नो कर्तव्यलाई यसरी नै लिने हुनाले, काटछाँटमा पर्नुलाई तिनीहरूले कसरी लिन्छन्? तिनीहरूमा यसअघि उल्लेख गरिएका सारहरू छन् भनेर देख्न, र तिनीहरू ख्रीष्टविरोधी, परमेश्वरका शत्रु, र सत्यताका शत्रुहरू हुन् भनेर पुष्टि गर्न मानिसहरूलाई सक्षम तुल्याउने अरू के-कस्ता प्रकटीकरणहरू छन्? यो तेस्रो विषयवस्तु हो, जसबारे आज हामी सङ्गति गर्नेछौँ: ख्रीष्टविरोधीहरूले काटछाँट हुनुलाई कसरी लिन्छन्। ख्रीष्टविरोधीहरूले आफ्नो सम्भाव्यता र नियतिलाई कसरी लिन्छन् भन्ने बारेको यो तेस्रो उप-विषय हो। हेर त, हरेक सत्यता सङ्गति गर्नको लागि यस्तो विशिष्ट सङ्गति र विशिष्ट खोजी र मनन आवश्यक पर्छ। यदि मैले व्यापक अर्थमा मात्रै कुरा गरेँ भने, तैँले हरेक सत्यता वास्तविकताहरूलाई थप विशिष्ट रूपमा बुझ्न सक्नेछैनस्। ठीक छ, अब हामी पछिल्लो पटक हामीले सङ्गति गरेको विषयवस्तुलाई थप समीक्षा गर्नेछैनौँ। यस पटक, हामी तेस्रो बुँदाबारे औपचारिक रूपमा सङ्गति गर्नेछौँ।
३. ख्रीष्टविरोधीहरूले काटछाँट हुनुलाई कसरी लिन्छन्
काटछाँट हुनु भनेको परमेश्वरमा विश्वास गर्ने हरेकले अनुभव गर्न सक्ने कुरा हो। विशेषगरी कर्तव्य निर्वाह गर्ने क्रममा, काटछाँटमा परेको अनुभव बढ्दै जाँदा, धेरैजसो मानिसहरूलाई काटछाँटमा पर्नुको अर्थ झन्झन् बढी थाहा हुँदै जान्छ। तिनीहरूलाई काटछाँटमा पर्नुका धेरै फाइदाहरू छन् भन्ने लाग्छ, र तिनीहरूले काटछाँटमा पर्नुलाई झन्झन् सही रूपमा लिन सक्छन्। अवश्य नै, व्यक्तिले कर्तव्य निर्वाह गर्न सक्छ भने, उसले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, उसले काटछाँट हुने मौका पाउनेछ। साधारण मानिसहरूले काटछाँट हुनुलाई सही रूपमा लिन सक्छन्। एक हिसाबमा, तिनीहरूले परमेश्वरप्रति समर्पित हृदयसाथ काटछाँट हुन स्विकार्न सक्छन्, र अर्को हिसाबमा, तिनीहरूले आफूमा के-कस्ता समस्याहरू छन् भनेर चिन्तन गर्न र जान्न पनि सक्छन्। सत्यता पछ्याउने मानिसहरूले काटछाँटमा पर्नुलाई कसरी लिन्छन् भन्ने आम मनोवृत्ति र दृष्टिकोण यही हो। त्यसोभए, के ख्रीष्टविरोधीहरूले पनि काटछाँटमा पर्नुलाई यसरी नै लिन्छन् त? अवश्य नै लिँदैनन्। काटछाँटमा पर्नुलाई कसरी लिने भन्ने सन्दर्भमा, ख्रीष्टविरोधीहरू र सत्यता पछ्याउने मानिसहरूको मनोवृत्ति अवश्य नै फरक हुनेछ। सर्वप्रथम त, काटछाँट हुने कुरा आउँदा, ख्रीष्टविरोधीहरूले त्यो स्वीकार गर्न सक्दैनन्। अनि तिनीहरूले यसलाई स्वीकार गर्न नसक्नुका कारणहरू छन्, जसमध्ये एउटा मुख्य कारण के हो भने, काटछाँट गरिँदा, तिनीहरूलाई आफ्नो इज्जत गुमेको, आफ्नो प्रतिष्ठा, हैसियत र मर्यादा गुमेको, र सबैको अघि आफ्नो शिर उठाउन नसकिने अवस्थामा पुगेको अनुभव हुन्छ। यी कुराहरूले तिनीहरूको हृदयमा असर पर्छ, त्यसकारण तिनीहरूलाई काटछाँटमा पर्न स्विकार्न निकै गाह्रो हुन्छ, र जसले तिनीहरूलाई काटछाँट गर्छ उसले तिनीहरूलाई समस्यामा पार्न त्यसो गरेको हो र ऊ तिनीहरूको शत्रु हो भन्ने सोच्छन्। काटछाँट गरिँदा ख्रीष्टविरोधीहरूले राख्ने मानसिकता यही हो। यसबारेमा, तिमीहरू निश्चित हुन सक्छौ। काटछाँट गरिँदा नै वास्तवमा, कुनै व्यक्तिले सत्यता स्विकार्न सक्छ कि सक्दैन र ऊ साँच्चै समर्पित हुन सक्छ कि सक्दैन भन्ने कुरा सबैभन्दा बढी प्रकाश हुन्छ। ख्रीष्टविरोधीहरू काटछाँटप्रति यति धेरै प्रतिरोधी हुनु नै तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन् र यसलाई अलिकति पनि स्विकार्दैनन् भन्ने कुरा देखाउन पर्याप्त छ। त्यसकारण समस्याको जड यही हो। तिनीहरूको घमण्ड चुरो कुरा होइन; सत्यता स्वीकार नगर्नु नै समस्याको सार हो। जब ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिन्छ, तिनीहरूसँग निराकरण गर्ने व्यक्तिले राम्रो स्वर र मनोवृत्ति प्रयोग गरोस् भनी तिनीहरू चाहन्छन्। यदि यसो गर्ने व्यक्तिको भाव गम्भीर र मनोवृत्ति कठोर छ भने, लाजले गर्दा ख्रीष्टविरोधीले प्रतिरोध गर्छ र ऊ अवज्ञाकारी र क्रोधित हुन्छ। तिनीहरूबारे खुलासा गरिएको कुरा सही हो कि होइन वा यो तथ्य हो कि होइन भन्ने कुरालाई तिनीहरू कुनै ध्यान दिँदैनन्, र तिनीहरूले कहाँ गल्ती गरे वा तिनीहरूले सत्यता स्विकार्नुपर्छ कि पर्दैन भन्ने कुरा पनि चिन्तन गर्दैनन्। तिनीहरूले आफ्नो स्वाभिमान र प्रतिष्ठामा प्रहार भएको छ कि छैन भन्ने मात्रै विचार गर्छन्। ख्रीष्टविरोधीहरूले काटछाँट मानिसहरूको लागि उपयोगी हुन्छ, प्रेमपूर्ण हुन्छ र मुक्ति दिने हुन्छ, त्यो मान्छेको लागि फाइदाजनक हुन्छ भनेर मान्न पटक्कै सक्दैनन्। तिनीहरूले यो कुरा देख्न समेत सक्दैनन्। के यो तिनीहरूको कदर गर्न नसक्ने र अव्यावहारिक कार्य होइन र? त्यसकारण, काटछाँट सामना गर्दा, ख्रीष्टविरोधीले कस्तो स्वभाव प्रकट गर्छ? शङ्कै छैन, त्यो सत्यताप्रति वितृष्णा राख्ने, साथै अहङ्कारी र हठी स्वभाव हो। यसले ख्रीष्टविरोधीहरूको प्रकृति र सार सत्यताप्रति वितृष्णा राख्ने र यसलाई घृणा गर्ने खालको हुन्छ भन्ने तथ्य प्रकट गर्छ। त्यसकारण, ख्रीष्टविरोधीहरूलाई काटछाँटमा पर्न सबैभन्दा बढी डर लाग्छ; तिनीहरूलाई काटछाँट गरिनेबित्तिकै, तिनीहरूको कुरूप स्थिति पूर्ण रूपमा खुलासा हुन्छ। जब ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिन्छ, तब तिनीहरूले के-कस्ता प्रकटीकरणहरू प्रदर्शन गर्छन्, र तिनीहरूले के-कस्ता कुराहरू भन्न वा गर्न सक्छन्, जसले गर्दा अरूले ख्रीष्टविरोधीहरू साँच्चै नै ख्रीष्टविरोधीहरू हुन्, तिनीहरू साधारण भ्रष्ट व्यक्तिभन्दा फरक छन्, र तिनीहरूको प्रकृति सार सत्यता पछ्याउने मानिसहरूको भन्दा फरक हुन्छ भनेर स्पष्ट रूपमा देख्न सक्छन्? म केही उदाहरण दिन्छु, र तिमीहरूले तिनको बारेमा सोच्न र थप्न सक्छौ। जब ख्रीष्टविरोधीहरू काटछाँटमा पर्छन्, तब तिनीहरूले सुरुमा हिसाबकिताब गर्छन् र सोच्छन्: “कस्तो व्यक्तिले मलाई काटछाँट गरिरहेको छ? उसको अभिप्राय के हो? उसलाई यसबारेमा कसरी थाहा भयो? उसले मलाई किन काटछाँट गर्यो? के उसले मलाई तिरस्कार गर्छ? के मैले उसलाई चिढ्याउन केही भनेको छु? के मसँग कुनै असल कुरा भएर पनि उसलाई नदिएकोले उसले मलाई बदला लिइरहेको छ, र उसले मलाई ब्ल्याकमेल गर्न यो अवसर प्रयोग गरिरहेको छ?” तिनीहरूले आफ्ना अपराधहरू, विगतका दुष्कर्महरू, र आफूले प्रकट गरेका भ्रष्ट स्वभावहरू मनन गर्नु र चिन्नुको सट्टा, काटछाँट हुँदाको मामलामा सुरागहरू खोज्न चाहन्छन्। तिनीहरूलाई यसमा केही शङ्कास्पद कुरा छ भन्ने लाग्छ। तिनीहरूले काटछाँट गरिनुलाई यसरी नै लिन्छन्। के यहाँ कुनै साँचो स्वीकार छ त? के कुनै साँचो ज्ञान वा चिन्तन छ त? (छैन।) धेरैजसो मानिसहरूलाई तिनीहरूले भ्रष्ट स्वभाव प्रकट गरेकोमा काटछाँट गरिएको हुन्छ। तिनीहरूले अज्ञानताको कारण कुनै गलत काम गरेको र परमेश्वरको घरका हितहरूमाथि विश्वासघात गरेको कारण पनि यसो गरिएको हुन्छ। तिनीहरू आफ्नो कर्तव्यमा झाराटारुवा भएकाले परमेश्वरको घरको काममा घाटा भएको कारण पनि यसो गरिएको हुन सक्छ। सबैभन्दा घृणित कुरा के हो भने मानिसहरूले जानी-जानी बेलगाम रूपमा आफ्नो खुशी काम गर्छन्, सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्वरको घरको काममा बाधा र व्यवधान ल्याउँछन्। मानिसहरूलाई काटछाँट गरिनुका प्राथमिक कारणहरू यिनै हुन्। कुनै व्यक्तिलाई काटछाँट गर्नुपर्ने परिस्थितिहरू जे-जस्तो भए पनि, यसप्रति हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण मनोवृत्ति के हो? पहिला, तैँले यो कुरा स्विकार्नैपर्छ। तँलाई जसले जुनसुकै कारण काटछाँट गरिरहेको भए पनि, यो कठोर नै भए पनि, वा जुनसुकै भाव र शब्दले यसो गरिए पनि, तैँले यसलाई स्वीकार गर्नुपर्छ। त्यसपछि, तैँले आफूले के गलत काम गरिस्, के-कस्ता भ्रष्ट स्वभावहरू प्रकट गरेको छस्, र तैँले सत्यता सिद्धान्तहरू अनुसार काम गरिस् कि गरिनस्, त्यस कुरालाई पहिचान गर्नुपर्छ। सबैभन्दा पहिलो र मुख्य रूपमा, तँमा हुनुपर्ने मनोवृत्ति यही हो। अनि के ख्रीष्टविरोधीहरूमा त्यस्तो मनोवृत्ति हुन्छ त? हुँदैन; सुरुदेखि अन्त्यसम्मै, तिनीहरूले प्रतिरोध र दिक्कताको मनोवृत्ति देखाउँछन्। त्यस्तो मनोवृत्तिको साथमा, के तिनीहरू परमेश्वरसामु शान्त हुन, र विनम्र रूपमा काटछाँट स्विकार्न सक्छन्? अहँ, सक्दैनन्। त्यसो भए, तिनीहरूले के गर्छन् त? सर्वप्रथम, तिनीहरूले जोडतोडले तर्क गर्छन् र औचित्य प्रस्तुत गर्छन्, र मानिसहरूले बुझ्ने र क्षमा गर्ने आशामा आफूले गरेका गल्तीहरू र आफूले प्रकट गरेको भ्रष्ट स्वभावको प्रतिरक्षा र बचाउ गर्छन्, ताकि तिनीहरूले कुनै जिम्मेवारी लिनु वा तिनीहरूलाई काटछाँट गर्ने वचनहरू स्विकार्नु नपरोस्। तिनीहरूले काटछाँटको सामना गर्दा कस्तो मनोवृत्ति देखाउँछन्? “मैले पाप गरेको छैन। मैले केही गल्ती गरेको छैन। यदि मैले गल्ती गरेको भए, त्यसको कारण छ; यदि मैले गल्ती नै गरेको छु भने पनि मैले जानी-जानी गरेको होइन, मैले यसको जिम्मेवारी नलिनुपर्ने हो। सानोतिनो गल्ती कसले पो गर्दैन र?” तिनीहरूले यस्ता अभिव्यक्ति र वाक्यांशहरूलाई लिन्छन्, तर तिनीहरूले सत्यताको खोजी गर्दैनन्, न त तिनीहरूले आफूले गरेका गल्तीहरू वा प्रकट गरेका भ्रष्ट स्वभावहरू नै स्विकार्छन्—र तिनीहरूले दुष्कर्म गर्नुको पछाडि के मनसाय र लक्ष्य थियो भनेर त झन् किमार्थ स्वीकार गर्दैनन्। तिनीहरूले गरेका गल्तीहरू जति नै स्पष्ट भए पनि वा तिनीहरूले जति नै ठूलो घाटा गराएका भए पनि, तिनीहरूले यी कुराहरूप्रति आँखा चिम्लिदिन्छन्। तिनीहरूलाई अलिकति पनि दुःख वा ग्लानि हुँदैन, र तिनीहरूको विवेकमा कुनै धिक्कारको अनुभूति हुँदैन। बरु, तिनीहरूले आफ्नो सारा शक्ति प्रयोग गरेर आफूलाई सही साबित गर्छन्, र नानाथरी बोलेर यस्तो सोच्छन्, “हरेक व्यक्तिसित उचित दृष्टिकोण हुन्छ। हरेकको आफ्नै कारण हुन्छ; यो कुरा त बोल्नमा को सिपालु छ भन्ने कुरामा निर्भर हुन्छ। यदि मैले मेरो स्पष्टीकरण र व्याख्या बहुमतद्वारा पारित गराउन सकेँ भने, मैले जित्छु, र तिमीले बोल्ने सत्यताहरू सत्यता हुँदैनन्, र तिम्रा तथ्यहरू मान्य हुँदैनन्। के तिमी मलाई दोषी ठहर्याउन चाहन्छौ? त्यो कदापि हुनेछैन!” जब कुनै ख्रीष्टविरोधी काटछाँटमा पर्छ, तब तिनीहरू आफ्नो हृदय र प्राणको गहिराइभित्र, पूर्ण रूपमा र दृढतापूर्वक यसप्रति प्रतिरोधी हुन्छन् र तिनीहरूले यसलाई घृणा र इन्कार गर्छन्। तिनीहरूको मनोवृत्ति यस्तो हुन्छ, “तिमीले जे भने पनि, तिमी जति नै सही भए पनि, म स्वीकार गर्नेछैनँ, र म यसलाई मान्नेछैनँ। म दोषी छँदै छैनँ।” तथ्यहरूले जसरी तिनीहरूको भ्रष्ट स्वभावलाई प्रकाश पारे पनि, तिनीहरूले यसलाई मान्ने वा स्विकार्ने गर्दैनन्, बरु तिनीहरूको विरोध र प्रतिरोधलाई जारी नै राख्छन्। अरूले जे भने पनि, तिनीहरूले यसलाई स्वीकार गर्ने वा मान्ने गर्दैनन्, बरु यस्तो सोच्छन्, “कसले कुरामा जित्ने रहेछ हेरौँ; कसले राम्रो बोल्ने रहेछ हेरौँ।” यो काटछाँट गरिँदा ख्रीष्टविरोधीहरूले राख्ने एक प्रकारको मनोवृत्ति हो।
व्यक्तिले सत्यता स्वीकार गर्न सक्छ कि सक्दैन भन्ने कुरा ऊ काटछाँटमा पर्दा नै प्रकट हुन्छ। शब्द र सिद्धान्तहरू बोल्दा ख्रीष्टविरोधीहरू पूरै स्पष्ट रूपमा बोल्छन्, तर तिनीहरूलाई काटछाँट गरिँदा, तिनीहरूले प्रतिरोध, तर्क र अवज्ञा गरिरहन्छन्, र सत्यता पटक्कै स्वीकार गर्दैनन्। तिनीहरूले प्रायजसो बोल्ने गरेका कुनै पनि शब्द र सिद्धान्तहरू अभ्यास गर्न सक्दैनन्। किन यस्तो हुन्छ? यसको कारण के हो भने ख्रीष्टविरोधीहरू सारगत रूपमा सत्यताप्रति वितृष्ण हुन्छन्। ख्रीष्टविरोधीहरूको स्वभाव चरम रूपमा क्रूर र अहङ्कारी हुन्छ। सत्यता र तथ्यहरूप्रतिको तिनीहरूको मनोवृत्ति सधैँ हठ, प्रतिरोध, र विमुखताको हुन्छ। जब ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिन्छ, तब आफ्नो प्रतिष्ठा कायम राख्न आफूलाई सक्दो धेरै सही साबित गर्ने र स्पष्टीकरण दिनेबाहेक, तिनीहरूमा यस्तो दह्रिलो दृढ निश्चयता पनि हुन्छ: “म कुनै व्यक्तिमा होइन, परमेश्वरमा विश्वास गर्छु। परमेश्वर धर्मी छन्, र त्यो व्यक्तिले मलाई जसरी काटछाँट गरे पनि, उसले मेरो नियति निर्धारण गर्न सक्दैन। म सत्यता स्वीकार गर्दिनँ, तर उसले यसबारे के गर्न सक्छ र?” तिनीहरू हृदयमा यस्तो सोच्दै अवज्ञाकारी हुन्छन्, “पृथ्वीमा भएको त्यो व्यक्तिले जति नै सही वा सत्यता अनुरूपका कुराहरू बोले पनि, ती सत्यता होइनन्, स्वर्गको परमेश्वरका प्रत्यक्ष वाणीहरू मात्रै सत्यता हुन्; पृथ्वीमा भएको त्यो व्यक्तिले मानिसहरूलाई जसरी न्याय र सजाय गरे पनि, र जसरी काटछाँट गरे पनि, ऊ धर्मी होइन, स्वर्गका परमेश्वर मात्रै धर्मी छन्।” तिनीहरूको अव्यक्त तात्पर्य के हो? “पृथ्वीको परमेश्वरले भनेका कुराहरू जति नै सही वा सत्यता अनुरूप भए पनि, ती सत्यता होइनन्। स्वर्गका परमेश्वर मात्रै सत्यता हुन्, स्वर्गका परमेश्वर नै सबैभन्दा महान् छन्। पृथ्वीका परमेश्वरले पनि सत्यता व्यक्त गर्न सक्ने भए पनि, उनलाई स्वर्गका परमेश्वरसँग तुलना गर्न सकिँदैन।” के तिनीहरूको तात्पर्य यही होइन र? (हो।) “म त स्वर्गका परमेश्वरमा विश्वास गर्छु, पृथ्वीका परमेश्वरमा होइन। यस्तो साधारण व्यक्ति तिमीले बोल्ने वचनहरू जति नै सही वा सत्यता अनुरूप भए पनि, तिमी स्वर्गका परमेश्वर होइनौ। स्वर्गका परमेश्वर सबै थोकमाथि सार्वभौम छन्। स्वर्गका परमेश्वरले मेरो नियति निर्धारित गर्छन्। पृथ्वीका परमेश्वरले मेरो नियति निर्धारित गर्न सक्दैनन्। पृथ्वीका परमेश्वरले भनेका कुराहरू जति नै सत्यता अनुरूप भए पनि, म उनलाई स्वीकार गर्नेछैनँ। म स्वर्गका परमेश्वरलाई मात्रै स्वीकार गर्छु र उनीप्रति मात्रै समर्पित हुन्छु। स्वर्गका परमेश्वरले मसँग जे-जस्तो व्यवहार गरे पनि, म त्यसमा समर्पित हुनेछु।” यी सबै शब्दहरू ख्रीष्टविरोधीहरूले काटछाँटमा पर्दा प्रकट गर्ने शब्दहरू हुन्। यी सबै तिनीहरूको हृदयबाट आएका शब्दहरू हुन्। तिनीहरूका यी हार्दिक शब्दहरूले पूर्ण रूपमा तिनीहरूको स्वभाव प्रतिनिधित्व गर्छन् र सत्यताप्रति वितृष्णा राख्ने र सत्यतालाई घृणा गर्ने तिनीहरूको प्रकृति सार प्रकट गर्छन्। जब ख्रीष्टविरोधीहरूले यी शब्दहरू प्रकट गर्छन्, तब तिनीहरूको साँचो अनुहार पूर्ण रूपमा उदाङ्गो हुन्छ। यो भन्न सकिन्छ कि यी शब्दहरू बोल्न सक्ने जोकोही व्यक्ति सच्चा ख्रीष्टविरोधी र पक्का दियाबलस र शैतान हो। कतिपय ख्रीष्टविरोधीहरूले चाहिँ काटछाँटमा पर्दा अटेरी मनोवृत्ति देखाउँछन् जुन न त ज्यू-ज्यू गर्ने खालको न त कज्याउने खालको नै हुन्छ। तिनीहरूले सत्यता स्वीकार गर्दैनन् र काटछाँट हुन मान्दैनन्, न त तिनीहरूले आफूलाई नै साँचो रूपमा चिन्छन्। बरु, तिनीहरू आफ्नो दृढ निश्चयतामै फर्कन्छन् र यसलाई आफ्नो प्रतिष्ठा, हैसियत, र उपस्थिति बोध रक्षा गर्न प्रयोग गर्छन्, र यसरी आफ्नो अविश्वासी सार पूर्ण रूपमा खुलासा गर्छन्। तिनीहरूले सबैलाई खण्डन गर्न र हराउन, र सत्यता र पृथ्वीका परमेश्वरलाई इन्कार गर्न “म कुनै व्यक्तिमा होइन, परमेश्वरमा विश्वास गर्छु, र परमेश्वर धर्मी छन्” भन्ने शब्दहरू प्रयोग गर्छन्। यसको साथै, तिनीहरूले यी शब्दहरू प्रयोग गरेर आफ्नै पापप्रतिको आफ्नो जिम्मेवारी ढाकछोप गर्छन् र त्यसबाट उम्कन्छन्, र आफ्नो भ्रष्ट स्वभाव र आफ्नो प्रकृति सार ढाकछोप गर्छन्। ख्रीष्टविरोधीहरूले आफ्नो दुष्ट कार्यहरू ढाकछोप गर्न आफ्नो दृढ निश्चयता र सिद्धान्तहरू प्रयोग गर्छन्, र तिनीहरूले आफूलाई सान्त्वना दिन र रक्षा गर्न पनि तिनको प्रयोग गर्छन्। तिनीहरूले आफूलाई कसरी सान्त्वना दिन्छन्? तिनीहरूले सोच्छन्, “ठीक छ, पृथ्वीमा भएको यो व्यक्तिले भनेको कुराको कुनै महत्त्व छैन। उनले भन्ने कुराहरू जति नै सही भए पनि, म तिनलाई स्वीकार गर्नेछैनँ। मैले तिनलाई स्वीकार नगरेसम्म, उनले भन्ने कुराहरू तथ्य होइनन् र ती सत्यता अनुरूप हुँदैनन्। त्यसकारण, मैले आफूले गर्ने कुनै पनि गल्ती, दुष्कर्म, वा अपराधहरूको जिम्मेवारी लिनुपर्दैन, मैले पहिलेजस्तै आफूलाई मनलाग्दो गर्न, छाती फुलाउँदै घुमिहिँड्न, र आफ्नै तरिकाले काम गर्न सक्छु।” त्यसकारण, ख्रीष्टविरोधीहरू आशिष्हरू प्राप्त गर्ने आफ्नो इच्छा र अभिप्रायमा अन्त्यसम्मै अडिग रहँदै कुनै शङ्काविना र कुनै लाजविना यसरी नै आफ्नो बाटो हिँडिरहन्छन्। ख्रीष्टविरोधीहरूको साँचो रूप यही हो।
जब ख्रीष्टविरोधीहरू काटछाँटमा पर्छन्, तब तिनीहरू प्रकट हुन्छन्। यही नै तिनीहरूको प्रकृति सार खुलासा हुने सम्भावना बढी भएको समय हो। सबभन्दा पहिलो कुरा: के तिनीहरूले आफ्नो दुष्ट कार्य स्वीकार गर्न सक्छन्? दोस्रो कुरा: के तिनीहरूले आफ्नो बारेमा चिन्तन गर्न र आफूलाई चिन्न सक्छन्? अनि तेस्रो कुरा: के काटछाँटमा पर्दा तिनीहरूले यसलाई परमेश्वरबाट आएको भनी स्विकार्न सक्छन्? यी तीन मापनहरूद्वारा, ख्रीष्टविरोधीको प्रकृति सार देख्न सकिन्छ। यदि कुनै व्यक्ति काटछाँटमा पर्दा समर्पित हुन सक्छ, र आफ्नो बारेमा चिन्तन गर्न सक्छ, र यसरी भ्रष्टता र भ्रष्ट सारका आफ्नै प्रकटीकरणहरू चिन्न सक्छ भने, त्यो व्यक्ति सत्यता स्वीकार गर्न सक्ने व्यक्ति हो। ऊ ख्रीष्टविरोधी होइन। ख्रीष्टविरोधीमा यी तीन वटै कुराको कमी हुन्छ। ख्रीष्टविरोधीले यसको सट्टा अर्कै कुरा गर्छ, कसैले अपेक्षा नगरेको कुरा गर्छ—अर्थात्, जब ऊ काटछाँटमा पर्छ, तब उसले आधारहीन प्रत्यारोप लगाउँछ। यस्ताहरूले आफ्नो गल्ती स्वीकार गर्नु र आफ्नो भ्रष्ट स्वभाव स्वीकार गर्नुको सट्टा, आफूलाई काटछाँट गर्ने व्यक्तिलाई दोष दिन्छन्। तिनीहरूले कसरी त्यसो गर्छन्? तिनीहरूले भन्छन्, “सबै काटछाँट सही हुन्छ भन्ने छैन। काटछाँट त मान्छेको दोषारोपण, मान्छेको न्यायसँग जोडिने कुरा हो; यो कार्य परमेश्वरको तर्फबाट गरिएको हुँदैन। परमेश्वर मात्रै धर्मी हुन्छन्। अरूलाई दोष दिनेहरूलाई दोषी ठहराइनुपर्ने हुन्छ।” के यो आधारहीन प्रत्यारोप होइन र? त्यस्तो आधारहीन प्रत्यारोप लगाउने व्यक्ति कस्तो व्यक्ति हो? मूर्खतापूर्ण रूपमा समस्याजनक व्यक्ति, जो समझप्रति प्रतिरोधी छ, त्यस्तो व्यक्तिले मात्रै त्यसो गर्छ, र दियाबलसहरू र शैतानजस्तो व्यक्तिले मात्रै त्यसो गर्छ। विवेक र समझ भएको व्यक्तिले त्यस्तो कुरा कहिल्यै गर्नेछैन। त्यसकारण, काटछाँटमा पर्दा आधारहीन प्रत्यारोप लगाउनेहरू दुष्ट मानिसहरू नै हुनुपर्छ। तिनीहरू सबै दियाबलसहरू हुन्। जब ख्रीष्टविरोधीहरूले आधारहीन प्रत्यारोपहरू लगाउँछन्, तब तिनीहरूले प्रायजसो के भन्छन्? “म परमेश्वरमा विश्वास गर्छु, र परमेश्वर धर्मी हुनुहुन्छ! म कुनै व्यक्तिमा होइन, परमेश्वरमा समर्पित हुन्छु! सबै काटछाँट सही हुन्छ भन्ने छैन। यदि परमेश्वरले मलाई काटछाँट गरे भने, म यसलाई स्वीकार गर्नेछु, तर यदि मानिसहरूले मलाई काटछाँट गरे भने, म स्वीकार गर्नेछैनँ!” ख्रीष्टविरोधीहरूले भन्ने पहिलो कुरा हो, “परमेश्वर धर्मी हुनुहुन्छ!” तैँले सुन्न सक्छस्, तिनीहरूको स्वर शैलीमा दुर्भावनापूर्ण मानसिकता हुन्छ। तिनीहरूले भन्ने दोस्रो कुरा हो, “म कुनै व्यक्तिमा होइन, परमेश्वरमा समर्पित हुन्छु!” के तिमीहरूले यी दुई अभिव्यक्ति सुनेका छौ? (छौँ।) के तिमीहरूले कहिल्यै त्यस्तो कुरा बोलेका छौ? (छैनौँ।) धेरैजसो मानिसहरूले यी दुई अभिव्यक्ति व्यक्त गर्ने आँट गर्दैनन्। तिनीहरूको जीवनमा तिनीहरूले सकारात्मक ठानेका र तिनीहरूले स्वीकार गर्नुपर्ने भनी ठानेका कुरा आइपर्दा मात्रै तिनीहरूले यसो भन्छन्: “परमेश्वर साँच्चै नै धर्मी हुनुहुन्छ, मलाई काटछाँट गरिनु र अनुशासनमा राखिनु सही हो।” तिनीहरूले यसलाई सकारात्मक तरिकाले स्वीकार गर्छन्, र यी वचनहरू आफ्नो हितहरू रक्षा गर्न वा आफूलाई सही साबित गर्न र व्याख्या गर्न कदापि प्रयोग गरिरहेका हुँदैनन्। तिनीहरूले यी वचनहरू र यो तथ्यलाई साँचो रूपमा हृदयको गहिराइबाट स्वीकार गर्छन् र मान्छन्। तर ख्रीष्टविरोधीहरूको मनोवृत्ति फरक हुन्छ। काटछाँटको प्रसङ्गमा, तिनीहरूले यस्तो स्वर शैली वा यस्तो अभिप्राय प्रयोग गरेर यसो भन्न सक्छन्, “म परमेश्वरमा विश्वास गर्छु, र परमेश्वर धर्मी छन्! म कुनै व्यक्तिमा होइन, परमेश्वरमा समर्पित हुन्छु!” यसको अर्थ के हो? के तिनीहरू सत्यता स्विकार्ने मानिसहरू हुन्? अवश्य नै होइनन्। तिनीहरूले काटछाँट परमेश्वरबाट आउँछ र यसलाई परमेश्वरद्वारा अनुमोदन गरिन्छ भन्ने कुरा इन्कार गर्छन्। तिनीहरूले यसलाई परमेश्वरबाट आएको भनी स्वीकार गर्न नसक्नुले नै तिनीहरूले सबै थोकमाथि रहेको परमेश्वरको सार्वभौमिकता स्वीकार गर्दैनन् र परमेश्वरका वचनहरू सत्यता हुन् भन्ने विश्वास गर्दैनन् भन्ने कुरा पूर्ण रूपमा प्रमाणित गर्छ। तब, तिनीहरूले कसरी परमेश्वर धर्मी हुनुहुन्छ भनेर स्वीकार गर्न सक्छन् र? तिनीहरूले अरूलाई दोष दिन, तिनीहरूसँग प्रतिकूल व्यवहार गर्ने, तिनीहरूलाई काटछाँट गर्ने, र तिनीहरूको भ्रष्ट स्वभाव खुलासा गर्ने मानिसहरूलाई दोष दिन बाहिरी रूपमा सही देखिने यी शब्दहरू प्रयोग गरिरहेका हुन्छन्। के यी दुष्ट मानिसहरूका कार्यहरू होइनन् र? तिनीहरू दुष्ट मानिसहरू हुन्। दुष्ट मानिसहरूले जटिल परिस्थितिमा परमेश्वरको प्रतिरोध गर्न र सत्यताको विरोध गर्न सही शब्दहरू प्रयोग गर्न सक्छन्, र आफ्ना हितहरू, आफ्नो छवि, र आफ्नो इज्जत र प्रतिष्ठा रक्षा गर्न सही शब्दहरू प्रयोग गर्न सक्छन्। के यो लाजमर्दो कुरा होइन र? “दुष्ट मानिसलाई लाजको बोध हुँदैन” (हितोपदेश २१:२९), यो वाक्य दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूमा पुष्टि हुन्छ। ख्रीष्टविरोधीहरू यस्तै मानिसहरू हुन्।
ख्रीष्टविरोधीहरूले भन्ने अर्को कुरा हो: “म परमेश्वरमा विश्वास गर्छु, कुनै व्यक्तिमा होइन!” के यो वाक्य झट्ट हेर्दा गलत सुनिन्छ? (सुनिँदैन।) परमेश्वरमा विश्वास गर्नु अवश्य नै सही कुरा हो—कसैले पनि कुनै व्यक्तिमा विश्वास गर्नु हुँदैन। यी शब्दहरू अत्यन्तै राम्रा र सही छन्, र यिनमा केही पनि गलत छैन। तर दुःखको कुरा, यो वाक्य ख्रीष्टविरोधीको मुखबाट निस्कँदा यसको अर्थ परिवर्तन हुन्छ। यो अर्थ परिवर्तनले के देखाउँछ? यसले देखाउँछ कि, ख्रीष्टविरोधीहरूले आफूलाई समस्याबाट मुक्त गर्न र आफूलाई सही साबित गर्न सही शब्दहरू प्रयोग गर्छन्। यी शब्दहरू बोल्नुको पछाडि तिनीहरूको अभिप्राय के हुन्छ? तिनीहरूले यी शब्दहरू बोल्नुको कारण के हो? यसले तिनीहरूको सारका के-कस्ता पक्षहरू प्रमाणित गर्छ? (सत्यता स्वीकार नगर्ने, सत्यतालाई घृणा गर्ने।) ठीक भन्यौ, तिनीहरूले सत्यता स्वीकार गर्दैनन्। ठीक छ, तिनीहरूले सत्यता स्वीकार गर्दैनन्, तर के तिनीहरूले खुलस्तसित “म यो स्वीकार गर्दिनँ; तिमीले भनेको कुरा सही भए नि, म यो स्वीकार गर्दिनँ” भनेर भन्नेछन् त? यदि तिनीहरूले यसो भन्थे भने, मानिसहरूले तिनीहरूलाई चिन्न सक्नेथिए, र सबैले तिनीहरूलाई इन्कार गर्नेथिए, र तिनीहरूले आफ्नो स्थान कायम राख्न नसक्नेथिए, त्यसकारण तिनीहरूले यसो भन्न सक्दैनन्। तिनीहरूले यी कुराहरू हृदयमा स्पष्ट रूपमा बुझेका हुन्छन्। यहीँनेर ख्रीष्टविरोधीहरूको छल र दुष्टता हुन्छ। तिनीहरूले सोच्छन्, “यदि मैले खुलस्त रूपमा तिम्रो प्रतिरोध गरेँ, खुलस्तसित तिमीविरुद्ध सोर मच्चाएँ र तिम्रो विरोध गरेँ भने, तिमी मलाई सत्यता नस्विकार्ने व्यक्ति भनी भन्नेछौ। त्यसकारण म सत्यता स्वीकार गर्दिनँ भन्ने कुरा तिमीलाई देखाउनेछैनँ। म यो मामला समाधान गर्न र आफूलाई रक्षा गर्न अरू माध्यमहरू प्रयोग गर्नेछु।” त्यसकारण, तिनीहरूले भन्छन्: “म परमेश्वरमा विश्वास गर्छु, कुनै व्यक्तिमा होइन!” तिनीहरूले परमेश्वरमा विश्वास गरे पनि वा कुनै व्यक्तिमा विश्वास गरे पनि, हामीले यहाँ चिरफार गरिरहेको कुरा ख्रीष्टविरोधीहरूले सत्यता स्वीकार गर्छन् कि गर्दैनन् भन्ने हो। के तिनीहरूले यसो भनेर अवधारणाहरू मिसाइरहेका हुँदैनन् र? तिनीहरूले अवधारणाहरू मिसाइरहेका हुन्छन् र मानिसहरूको आँखामा छारो हाल्ने प्रयास गरिरहेका हुन्छन्। तिनीहरूले सत्यता स्वीकार गर्दैनन् भन्ने कुरा देख्नबाट मानिसहरूलाई रोक्न, तिनीहरूले परमेश्वरलाई स्वीकार गर्छु र सत्यतालाई स्वीकार गर्छु, परमेश्वरमा विश्वास गर्छु र परमेश्वर सत्यता हुनुहुन्छ भनेर विश्वास गर्छु, र परमेश्वर सत्यता हुनुभएकोले, परमेश्वर व्यक्ति बन्न सक्नुहुन्न, र उहाँ व्यक्ति बन्नुभयो भने, उहाँसँग सत्यता हुँदैन, र त्यो व्यक्ति परमेश्वर हुँदैन भनेर भन्छन्। यसको आधारमा मूल्याङ्कन गर्दा, के तिनीहरू ख्रीष्टविरोधीहरूको रूपमा पहिले नै प्रकट भइसकेका छैनन् र? तिनीहरूले परमेश्वर ख्रीष्ट बन्न र साधारण व्यक्ति बन्न सक्नुहुन्छ भन्ने कुरा स्वीकार गर्दैनन्। तिनीहरूले सोच्छन् कि स्वर्गको परमेश्वर, अदृश्य र अमूर्त परमेश्वर, र मान्छेद्वारा स्वेच्छाचारी ढङ्गले कल्पना र प्रयोग गर्न सकिने परमेश्वर मात्रै परमेश्वर हुनुहुन्छ। के यो दृष्टिकोण र पावलको दृष्टिकोणको बीचमा कुनै समानताहरू छन्? (छन्।) पृथ्वीको ख्रीष्टप्रति पावलको मनोवृत्ति के थियो? के उसले उहाँलाई मानिलियो? के उसले उहाँलाई स्वीकार गर्यो? (गरेन।) पावलले भन्यो: “ख्रीष्ट जीवित परमेश्वरका पुत्र हुन्, र हामी पनि जीवित परमेश्वरका पुत्रहरू हौँ। यसको अर्थ हामी सबै ख्रीष्टका दाजुभाइ-दिदीबहिनी हौँ, र वरिष्ठताको हिसाबले, हामी सबै समान छौँ। हामीले विश्वास गर्ने परमेश्वर स्वर्गमा छन्। पृथ्वीमा कुनै पनि परमेश्वर छैन। त्यसकारण गलत नबुझ, पृथ्वीमा रहेको यो व्यक्ति ख्रीष्ट हो, उनी परमेश्वरका पुत्र हुन्। उनी परमेश्वरजस्तै होइनन्। उनले स्वर्गको परमेश्वरको प्रतिनिधित्व गर्न सक्दैनन्, मान्छेले उनलाई सत्यताको रूपमा लिन मिल्दैन, र मान्छेले उनलाई पछ्याउनुपर्दैन।” हामीले “म परमेश्वरमा विश्वास गर्छु, कुनै व्यक्तिमा होइन” भनी ख्रीष्टविरोधीहरूले भन्ने शब्दहरूबाट के कुरा चिरफार गर्न सक्छौँ? पावलजस्तै, तिनीहरूले स्वर्गको अस्पष्ट परमेश्वरलाई मात्रै मान्छन्, र ख्रीष्ट परमेश्वर हुनुहुन्छ भनेर मान्दैनन्। अर्को शब्दमा भन्दा, तिनीहरूले परमेश्वर देह बनेर साधारण व्यक्ति बन्नुभएको छ भन्ने तथ्य स्विकार्दैनन्—यो कुरामा ख्रीष्टविरोधीहरू ठ्याक्कै पावलजस्तै हुन्छन्। तिनीहरूको आशय यस्तो हुन्छ: “यदि तिमी परमेश्वरमा विश्वास गर्छौ भने, कुनै व्यक्तिमा होइन, परमेश्वरमा विश्वास गर। कुनै व्यक्तिमा विश्वास गर्नु व्यर्थ हुन्छ, र व्यक्तिमा विश्वास गरेर आशिष्हरू प्राप्त गर्न सकिँदैन। परमेश्वरमा विश्वास गर्नको लागि तिमीले स्वर्गको परमेश्वर, अर्थात् अदृश्य परमेश्वरमा विश्वास गर्नुपर्छ। स्वर्गको परमेश्वर अत्यन्तै महान् र सर्वशक्तिमान् छन्, तर पृथ्वीको परमेश्वरले के गर्न सक्छन् र? उनले केही सत्यता व्यक्त गर्न र केही सही वचन बोल्न मात्र सक्छन्।” यी शब्दहरूको आधारमा तिनीहरूको सार चिरफार र मूल्याङ्कन गर्दा थाहा हुन्छ: तिनीहरूले ख्रीष्टलाई विरोध गरिरहेका छन्, ख्रीष्टलाई स्विकारिरहेका छैनन्, र परमेश्वर देह बन्नुभएको तथ्य इन्कारिरहेका छन्। तिनीहरू पूर्णतया ख्रीष्टविरोधीहरू हुन्।
जब ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिन्छ, जब तिनीहरूले बाधाहरू सामना गर्छन्, र जब कसैले तिनीहरूको खुलासा गर्छ, तब तिनीहरूले आफूलाई रक्षा गर्न, अर्को व्यक्तिले तिनीहरूलाई खुलासा गरेको इन्कार्न, र अर्को व्यक्तिले तिनीहरूलाई काटछाँट गरेको इन्कार्न “परमेश्वर धर्मी छन्” भन्ने वाक्यांश प्रयोग गर्छन्। मामला जेसुकै भए पनि, तिनीहरूलाई काटछाँट गरिँदा, तिनीहरूको प्रमुख मनोवृत्ति अवज्ञा, प्रतिरोध, र अस्वीकार गर्ने हुन्छ, र तिनीहरू आफूलाई सही साबित गर्न र रक्षा गर्न सक्दो प्रयास गर्छन्। कतिले त यसोसमेत भन्छन्: “समयले सबै कुरा प्रकाश गर्नेछ। परमेश्वर धर्मी छन्। परमेश्वरले नै मलाई एकदिन यो कुरा प्रकाश गरून्!” तिनीहरू भ्रष्ट मानिसहरू भएकाले, तिनीहरूले कर्तव्य निर्वाह गर्ने क्रममा परमेश्वरको घरको काममा जति नै ठूलो घाटा ल्याए पनि, तिनीहरूले यसबारे कुनै वास्ता गर्ने वा ध्यान दिने गर्दैनन्। यदि यो तथ्य खुलासा भयो भने पनि, तिनीहरूले अझै यी घाटाहरू तिनीहरूकै कारणले आएका हुन् भनेर स्वीकार गर्दैनन् र तिनीहरू जिम्मेवारी लिन अनिच्छुक हुन्छन्। अन्त्यमा पनि तिनीहरू अझै परमेश्वरले नै तिनीहरूलाई यो कुरा प्रकाश गरेको चाहन्छन्, मानौँ परमेश्वर तिनीहरूको सेवामा हुनुहुन्छ, र तिनीहरूले गल्ती गर्दा उहाँले तिनीहरूको प्रतिरक्षा गर्नुपर्छ, मानौँ उहाँ त्यस्तो परमेश्वर हुनुहुन्छ। तिनीहरूले सत्यता स्विकार्दैनन्, तिनीहरूले काटछाँटमा पर्न स्विकार्न सक्दैनन्, र आफूलाई चिन्न सक्दैनन्, तर त्यति मात्रै होइन—तिनीहरूले त परमेश्वरलाई तिनीहरूको लागि स्पष्टीकरण दिन र पुष्टि गर्न समेत अनुरोध गर्छन्। के यो लाजमर्दो कुरा होइन र? यो त अति लाजमर्दो कुरा हो! ख्रीष्टविरोधीहरू सबै हदैसम्म लाजमर्दा हुन्छन्, र तिनीहरू हदैसम्म दुष्ट पनि हुन्छन्। यो एउटा पक्ष हो। ख्रीष्टविरोधीहरू काटछाँटमा पर्दा तिनीहरूले प्रायजसो कुन-कुन दुई अभिव्यक्ति बोल्छन्? (“म परमेश्वरमा विश्वास गर्छु, कुनै व्यक्तिमा होइन!” “परमेश्वर धर्मी हुनुहुन्छ!”) तिनीहरूले नियमित रूपमा प्रयोग गर्ने भनाइहरू यिनै हुन्। तिनीहरूले अरू कुनै पनि प्रकारको झूटो तर्क बोल्न सक्दैनन्, तिनीहरूले त्यसो गर्ने आँट गर्दैनन्। तिनीहरूले गलत कुरालाई सही कुरामा परिणत गर्ने, दुष्ट कुरालाई न्यायवान् कुरामा परिणत गर्ने, र आफ्नो गल्ती र आफूले निम्त्याएका घाटाहरूलाई उचित कुरामा परिणत गर्ने प्रयास गर्दै मानिसहरूलाई बहकाउन र आफ्नै पक्षमा अनुचित तर्क गर्न यी दुई सही अभिव्यक्तिहरू प्रयोग गर्छन्। तिनीहरूले यी सबै कुराहरूलाई एकै पटकमा रद्द गर्न, पूर्ण रूपमा मेटाउन, र ती अस्तित्वमा छैनन् भन्ने नाटक गर्न यी दुई अभिव्यक्तिहरू प्रयोग गर्न चाहन्छन्, र तिनीहरूले सधैँ विश्वास गर्दै आएजसरी नै विश्वास गरिरहन्छन्। के ख्रीष्टविरोधीहरूको यो प्रकटीकरणमा पश्चात्ताप हुन्छ? (अहँ, हुँदैन।) तिनीहरू पश्चात्तापी नभएको मात्र होइन, तिनीहरूले त ख्रीष्टविरोधीहरूको अर्को पक्ष अर्थात् सत्यताप्रतिको वितृष्णा, अहङ्कार, दुष्टता, र क्रूरता पनि प्रकट गर्छन्। तिनीहरूले आफूलाई काटछाँट गर्ने जोकोहीलाई घृणा गर्ने गरेको, र “तिमी त व्यक्ति मात्रै हौ, मलाई तिमीसँग डर लाग्दैन!” भनेर सोच्ने गरेको तथ्यमा नै तिनीहरूको अहङ्कार प्रकट हुन्छ। के यो अहङ्कारी कुरा होइन र? (हो।) तिनीहरूको दुष्टता कुन तरिकाले प्रकट हुन्छ? (निराधार प्रत्यारोपहरू लगाउने रूपमा।) निराधार प्रत्यारोप लगाउनु एउटा पक्ष हो, र अर्को पक्ष भनेको आफ्नो स्पष्टीकरण दिन, आफूलाई सही साबित गर्न, र आफ्नो रक्षा गर्न सही शब्दहरू प्रयोग गर्नु हो। यसमा अर्को कुन स्वभाव लुकेको हुन्छ? निराधार प्रत्यारोपहरू लगाउनु क्रूरता पनि हो। ख्रीष्टविरोधीहरूले परमेश्वरको वचन सत्यता हो भनेर स्वीकार गर्दैनन्। यदि कसैले तिनीहरूको यो सार खुलासा गर्यो भने पनि, तिनीहरू आफूले सत्यता नस्विकार्ने तथ्यलाई अझै स्वीकार गर्दैनन्। तिनीहरूले आत्मचिन्तन गर्दैनन् र आफूलाई चिन्ने प्रयास गर्दैनन्; बरु, तिनीहरूले निराधार प्रत्यारोपहरू लगाउँछन्, र अरूलाई दोष दिन सही र राम्रा सुनिने शब्दहरू प्रयोग गर्छन्। तिनीहरूले अरूलाई दोष दिन प्रयोग गर्ने विधि र भनाइहरू धूर्त र दुष्ट हुन्छन्। तिनीहरू अरूलाई दोष दिन र चुप लगाउन कुन-कुन शब्दहरू प्रयोग गर्ने भनेर जान्दछन्, ताकि अब के भन्ने भनेर अरू मानिसहरूलाई थाहा नहोस् र अरूले तिनीहरूलाई केही गर्न नसकून्। यो दुष्टता हो। तिनीहरूको यो विधि र अभ्यास स्पष्ट रूपमै क्रूर स्वभाव हो। ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिने मामलाबाट हामीले चिरफार गर्न सक्ने ख्रीष्टविरोधीहरूका विभिन्न स्वभावहरू यिनै हुन्। के ख्रीष्टविरोधीहरूका यी स्वभाव र प्रकटीकरणहरू हामीले यसअघि बताएका चार वटा विषयवस्तुहरूसँग मिल्दैनन् र? (मिल्छन्।) ती चार वटा विषयवस्तुहरू के-के हुन्? (पहिलो विषयवस्तु भनेको परमेश्वरको वचन सत्यता हो भनेर विश्वास नगर्नु र मान्न इन्कार गर्नु हो; दोस्रो विषयवस्तु भनेको तैँले तिनीहरूसँग परमेश्वरको वचनमा सङ्गति गरे पनि, र तिनीहरूले सत्यता बुझे भने पनि, तिनीहरूले यसलाई स्विकार्दैनन् भन्ने हो; तेस्रो विषयवस्तु भनेको परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुन नमान्नु हो; चौथो विषयवस्तु भनेको कहिल्यै साँचो रूपमा पश्चात्ताप नगर्नु हो।) विश्वास नगर्नु, स्वीकार नगर्नु, समर्पित नहुनु, र पश्चात्ताप नगर्नु, यी “चार वटा नगर्नु” ले ख्रीष्टविरोधीहरूको सार प्रतिनिधित्व गर्छन्। ख्रीष्टविरोधीहरूले कहिल्यै पनि सत्यता स्वीकार गर्दैनन्, र तिनीहरूले कहिल्यै पनि तथ्यहरूको अघि शिर झुकाउँदैनन्। यो जिद्दी अपश्चात्तापी मन हो र यो ख्रीष्टविरोधीहरूको प्रकृतिबाट प्रकट हुने कुरा हो। यो ख्रीष्टविरोधीहरूले काटछाँटमा पर्नुलाई कसरी लिन्छन् भन्ने कुराको पहिलो प्रकटीकरण हो। ख्रीष्टविरोधीहरूको स्वभाव सार उस्तै हुने भए पनि, तिनीहरूको मुखबाट आउने प्रसिद्ध भनाइ र महान् आदर्श वाक्यहरू चाहिँ पक्कै पनि उस्तै हुँदैनन्। ख्रीष्टविरोधीहरूले कहिलेकाहीँ एउटा कुरा र कहिलेकाहीँ अर्कै कुरा भन्न सक्छन्, तर तिनीहरूको मुखबाट जस्तोसुकै कुरा निस्के पनि, यसको विशेषता र सार उस्तै हुनेछन्—सत्यता स्वीकार नगर्नु नै तिनीहरूको शब्दहरूको सार हो। यदि तिनीहरूले सत्यता स्वीकार गर्दैनन् भने, तिनीहरूका यी शब्दहरू के हुन् त? के ती सत्यतासँग मेल खाने शब्दहरू हुन् त? के ती मानव शब्दहरू हुन् कि नैतिकतासँग मेल खाने शब्दहरू हुन्? के ती विवेक र समझसँग मेल खाने शब्दहरू हुन्? (ती दुष्ट शब्दहरू हुन्।) ठीक भन्यौ। तिनलाई खोक्रा वा भ्रामक शब्दहरू भनेर भन्दा त्यसले तिनलाई त्यति सटीक रूपमा चित्रण गर्दैन, तर ती दुष्ट शब्दहरू हुन् भनेर भन्दा मामला स्पष्ट हुन्छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।