विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग छ) खण्ड दुई
परमेश्वरका वचनहरूप्रतिको ख्रीष्टविरोधीहरूको मनोवृत्ति अध्ययन गर्ने मनोवृत्ति हो। तिनीहरूले कहिल्यै पनि परमेश्वरको वचनलाई परमेश्वरको वचनका रूपमा लिँदैनन्; तिनीहरूले यसलाई केको रूपमा लिन्छन्? रहस्यहरूको सङ्ग्रह? काल्पनिक कथा? अस्पष्ट र बुझ्न नसकिने पाठ? जब तिनीहरूले परमेश्वरका वचनहरू पढ्छन्, तब तिनीहरूले उहाँका अभिप्रायहरू खोजी गरिरहेका हुँदैनन्, न त तिनीहरूले उहाँका अभिप्राय वा स्वभाव बुझ्ने प्रयास नै गरिरहेका हुन्छन्। तिनीहरू परमेश्वरलाई चिन्नसमेत चाहँदैनन्, झन् तिनीहरूले उहाँका अभिप्रायहरूको ख्याल गर्नु त धेरै परको कुरा हो। जब तिनीहरूले “मेरो हालको अत्यावश्यक चाहना भनेको मेरा अभिप्रायहरूको पूर्ण रूपले ख्याल गर्न सक्ने मानिसहरूको समूहको खोजी गर्नु हो” भन्ने परमेश्वरका वचनहरू पढ्छन्, तब के तिनीहरू भावुक हुन्छन् त? तिनीहरू भन्छन्: “परमेश्वरका अभिप्रायहरूको ख्याल गर्ने मानिसहरू खोज्नु भनेको आखिर के हो? तिम्रा अभिप्रायहरूको ख्याल गर्नुको फाइदा के छ? के यसो गर्दा मैले खाना खान वा पैसा कमाउन सक्छु? के परमेश्वरका अभिप्रायहरूको ख्याल गर्दा यसमार्फत असल गन्तव्य प्राप्त हुन्छ? के यसले मलाई ठूलो आशिष् दिन सक्छ? यसले यी कुराहरू गर्न सक्दैन भने, भो बिर्सिदेऊ; मैले त्यस्तो ख्याल गरिरहनुपर्दैन। म त नरकमा फ्याँकिनबाट जोगिने र असल गन्तव्य प्राप्त गर्ने मार्ग खोजिरहेको छु। यदि तिम्रा अभिप्रायहरूको ख्याल गर्दा यसले मलाई आशिष्हरू दिन सक्छ भने, म ख्याल गर्नेछु। कसरी यसो गर्ने त्यति मात्र भनिदेऊ।” के तिमीहरूलाई तिनीहरूले परमेश्वरले तय गर्नुभएका मापदण्डहरू पूरा गर्न सक्छन् भन्ने लाग्छ? (लाग्दैन।) परमेश्वरले एउटा मात्र प्रस्ताव गर्नुभएको छ: परमेश्वरको इच्छा पछ्याउनु, परमेश्वरको डर मान्नु र दुष्टताबाट अलग बस्नु। यसो गर्दा, तैँले उहाँका अभिप्रायहरूको ख्याल गरिरहेको हुन्छस्, अनि तैँले महान् आशिष्हरू प्राप्त गर्न सक्छस्। जब ख्रीष्टविरोधीहरूले यो सुन्छन्, तब तिनीहरूले सोच्छन्, “मैले हतार गरेछु, र मलाई गम्भीरतापूर्वक लिइनु हुँदैनथ्यो। म परमेश्वरका अभिप्रायहरूको ख्याल गर्न सक्दिनँ, छोडिदेऊ। यो तरिकाले काम गर्दैन; म अर्कै तरिका खोज्छु।” त्यसपछि तिनीहरूले परमेश्वरका वचनहरूका अरू पक्षहरूमा मेहनत गर्न थाल्छन्। तिनीहरूले अरू पक्षहरूबारे अनुसन्धान र विश्लेषण गर्न मेहनत गर्छन्, तर सबै कुराको विश्लेषण गरेपछि, तिनीहरूले यसबाट केही शब्द र धर्मसिद्धान्तहरू मात्रै प्राप्त गर्छन्। तिनीहरूले सत्यतालाई प्रेम नगर्ने हुनाले, र तिनीहरूले आफ्नो हित, सम्भावना, र नियतिलाई जीवनभर पछ्याउने उद्देश्यहरूका रूपमा लिने हुनाले, परमेश्वरका वचनहरू तिनीहरूका लागि सूत्रवाक्य मात्रै बनेका हुन्छन्। तिनीहरूले कहिल्यै पनि परमेश्वरको काम वा पवित्र आत्माको अगुवाइबाट आउने आनन्द अनुभव गरेका हुँदैनन्। जब तिनीहरूले परमेश्वरका वचनहरू पढ्छन्, तब तिनीहरूले कुनै ज्योति देख्दैनन् र कुनै अन्तर्दृष्टि वा भरणपोषण प्राप्त गर्दैनन्। तिनीहरूले केही शब्द र धर्मसिद्धान्तहरू, अनि रहस्य र गन्तव्यहरूबारे केही खुलासा र भनाइहरू मात्रै प्राप्त गर्छन्। जब तिनीहरूले यी भनाइ र धर्मसिद्धान्तहरूलाई पूँजीको रूपमा लिन्छन्, तब तिनीहरूलाई आफूले आफ्नो गन्तव्य नियन्त्रण गरेको छु, आफ्नो गन्तव्य सुरक्षित गरेको छु भन्ने लाग्छ। तर परमेश्वरका वचनहरूको निरन्तर खुलासा, न्याय, र सजाय भइरहँदा, वा परमेश्वरले मानिसका लागि विभिन्न चरणमा दिनुभएका मापदण्डहरूको सामना गरिरहँदा, तिनीहरूलाई आफ्नो गन्तव्य गुमाएको छु र मुक्ति पाउन सक्दिनँ भन्ने लाग्छ। यस अवधिमा, तिनीहरूलाई सधैँ भित्री रूपमा असहजता महसुस भइरहेको हुन्छ; तिनीहरू असल गन्तव्य प्राप्त गर्नको लागि निरन्तर भित्री मनको गहिराइमा मानसिक सङ्घर्ष गरिरहेका हुन्छन्। तिनीहरू परमेश्वरको एउटा वाक्यको कारण सङ्घर्ष गर्नेछन्, र परमेश्वरको अर्को वाक्यको कारण नकारात्मक हुनेछन्, र फेरि अर्को वाक्यको कारण खुशी हुनेछन्। तर यस्ता मानिसहरू खुशी भए नि वा सानो आशामै भए पनि बाँच्न खोजे पनि, तिनीहरूका लागि यो कुरा क्षणिक मात्र हुन्छ। त्यसैले, अन्त्यमा कतिपय ख्रीष्टविरोधीहरूलाई आफूजस्ता मानिसहरूलाई मुक्ति दिन सकिँदैन भन्ने लाग्छ; परमेश्वरका वचनहरूबाट तिनीहरूले उहाँ त्यस्ता मानिसहरूलाई मन पराउनुहुन्न भन्ने देख्छन्—के तिनीहरूले आशिष् प्राप्त गर्न सक्छन्, कि सक्दैनन्? तिनीहरूको सम्भावना र नियति ठ्याक्कै के हो? तिनीहरूलाई यी अज्ञात कुराहरू हुन् भन्ने लाग्छ, र तिनीहरू यी कुराहरूबारे अनिश्चित हुन्छन्। यस विन्दुमा, तिनीहरूले के गर्छन्? के तिनीहरूले पश्चात्ताप गर्न सक्छन्? के तिनीहरूले पनि निनवेका मानिसहरूले जस्तै आफ्ना हातको दुष्टता त्याग्न, फर्केर परमेश्वरसामु पाप स्वीकार गर्न र पश्चात्ताप गर्न, परमेश्वरका वचनहरूलाई आफ्नो जीवनको रूपमा स्विकार्न, र परमेश्वरका वचनहरूलाई आफ्नो अस्तित्वको जगको रूपमा स्विकार्न सक्छन्? सक्दैनन्। त्यसकारण, धेरै वर्षको पछ्याइ, धेरै वर्षको आशा, र धेरै वर्ष परमेश्वरका वचनहरूको अध्ययनपछि, यदि तिनीहरूले तिनीहरूजस्ता मानिसहरूले आशिष् पाउन सक्दैनन्, तिनीहरूसँग कुनै आशा हुँदैन, तिनीहरू परमेश्वरले मुक्ति दिनुहुने मानिसहरू हुँदै होइनन्, र तिनीहरूले चाहेको कुरा प्राप्त गर्न सक्दैनन् भन्ने निष्कर्ष निकाले भने, तिनीहरूले के गर्नेछन्? (तिनीहरूले परमेश्वरलाई त्याग्नेछन्।)
एउटा आत्मिक भनाइ छ, “म परमेश्वरलाई प्रेम गर्ने मेरो शपथ नवीकरण गर्छु: म मेरो शरीर र हृदय उहाँलाई समर्पित गर्छु।” यो भनाइ अत्यन्तै “महान्” छ। जब मैले यी शब्दहरू पहिलो पटक सुनेँ, तब मैले हृदयमा मानव भाषाको “महानता” गहन रूपमा अनुभव गरेँ। मानिसहरूले आफ्नो शपथलाई अत्यन्तै बहुमूल्य, अत्यन्तै शुद्ध र त्रुटिरहित ठान्छन्; तिनीहरूले प्रेमप्रतिको आफ्नो समर्पणलाई अत्यन्तै शुद्ध र पवित्र ठान्छन्। के ख्रीष्टविरोधीहरूले परमेश्वरलाई प्रेम गर्ने र आफ्नो शरीर र हृदय उहाँलाई समर्पित गर्ने आफ्नो शपथ नवीकरण गर्न सक्छन्? (सक्दैनन्।) किन सक्दैनन्? कतिपय मानिसहरू यसो भन्छन्: “परमेश्वरका धेरै वचन पढिसकेपछि, जब मलाई मेरो सोचाइले काम गरिरहेको छैन वा परिणामहरू प्राप्त गरिरहेको छैन भन्ने लाग्छ, तब बस् म परमेश्वरलाई प्रेम गर्ने मेरो शपथ नवीकरण गर्छु, र मैले सुरुमा उहाँसँग गरेको शपथ दोहोर्याउँछु। के यो फर्किआउनु होइन र? यो गाह्रो छैन।” के ख्रीष्टविरोधीहरूले यस्तो कुरा गर्न सक्छन्? (सक्दैनन्।) किन सक्दैनन्? के “म परमेश्वरलाई प्रेम गर्ने मेरो शपथ नवीकरण गर्छु” भन्ने भनाइ मान्छेको सबैभन्दा बुद्धिमानीपूर्ण अभिव्यक्ति होइन र? के यो मानिसको सबैभन्दा ठूलो र शुद्ध प्रेम होइन र? त्यसोभए ख्रीष्टविरोधीहरूले किन यो काम गर्न सक्दैनन्? (ख्रीष्टविरोधीहरूसँग परमेश्वरबारे कुनै बुझाइ हुँदैन, साँचो प्रेम हुनु त परको कुरा हो। तिनीहरूको सबै प्रेम झूटो हुन्छ, त्यो तिनीहरूका हितहरूमा आधारित हुन्छ। तिनीहरूले प्राप्त गर्ने कुनै फाइदाहरू नहुनेबित्तिकै, तिनीहरू पिठ्युँ फर्काउँछन् र छोडिजान्छन्।) जब ख्रीष्टविरोधीहरू यो विन्दुमा पुग्छन्, तब तिनीहरूलाई केही कुरा गलत भएको छ र तिनीहरूले गलत बाजी लगाएका छन् भन्ने लाग्छ। अनि आफ्नो हौसला बढाउन, तिनीहरूले आफ्नो आत्मिक संसार समर्थन गर्ने नारा वा सिद्धान्त प्रयोग गर्नुपर्छ—कस्तो नारा? “म परमेश्वरलाई प्रेम गर्ने मेरो शपथ नवीकरण गर्छु: म मेरो शरीर र हृदय उहाँलाई समर्पित गर्छु।” यसको अर्थ तिनीहरूले नवीन सुरुवात गर्नेछन् भन्ने हुन्छ। नत्रभने, तिनीहरू जिइरहन सक्नेछैनन्, र परमेश्वरमाथिको तिनीहरूको विश्वास समाप्त हुनेछ। परमेश्वर आफ्नो कामको अवधिमा हरेक दिन बोल्नुहुन्छ, र हरेक पटक उहाँ बोल्नुहुँदा, उहाँका सबै वचनहरू सत्यतासँग सम्बन्धित हुन्छन्—ती सबै मान्छेको भ्रष्ट स्वभाव खुलासा गर्ने, मानिसहरू सत्यता वास्तविकताहरूमा कसरी प्रवेश गर्नुपर्छ र तिनीहरूले सत्यता सिद्धान्तहरू कसरी बुझ्नुपर्छ भनेर माग गर्ने वचनहरू हुन्छन्—ती सबै यस्तै वचनहरू हुन्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूले सोच्छन्: “यीमध्ये किन कुनै पनि वचनले गन्तव्यहरूबारे कुरा गर्ने वा आशिष्हरू प्राप्त गर्नुसँग सम्बन्धित कुराहरू उल्लेख गर्ने गर्दैन? के यसको अर्थ परमेश्वरको हातमा हाम्रा सम्भावना र नियति व्यर्थ भएका छन् भन्ने हुँदैन र? के परमेश्वरको प्रतिज्ञा अब हाम्रा लागि नभएको हो? यदि परमेश्वरले यी कुराहरूबारे कहिल्यै उल्लेख गर्दैनन् भने, सायद हाम्रा आशाहरू टुट्नेछन्। यदि हाम्रा आशाहरू टुटे भने, हामीले के गर्ने? त्यो सजिलो छ। यदि परमेश्वरका वचनहरूले यी कुराहरूबारे केही भन्दैनन् भने, हामी मानव विधि प्रयोग गरौँ: हामी परमेश्वरलाई प्रेम गर्ने हाम्रो शपथ नवीकरण गरौँ!” मानिसहरूले सुरुमा परमेश्वरमा विश्वास गर्दा, कसरी यस्तो ठूलो जोश, प्रेम र विश्वास प्राप्त गरेका हुन्छन्? यी कुराहरू चरम अवस्थामा पुगेपछि, मानिसहरूले परमेश्वरका अघि यसो भन्दै सङ्कल्प गरेका र शपथ खाएका हुन्छन्: “म यो जीवनमा जहिले भए नि र जहाँ भए नि, कुनै गुनासो वा पछुतो नगरी परमेश्वरमा समर्पित हुनेछु र आफूलाई समर्पित गर्नेछु। चाहे झरी होस् वा घाम, चाहे उकाली होस् वा ओराली, र चाहे बिरामी होऊँ वा चाहे सङ्कष्टहरू आऊन्, जबसम्म समुद्र सुक्दैन र जबसम्म ढुङ्गा धूलो हुँदैन, तबसम्म म उहाँलाई अन्त्यसम्मै पछ्याइरहनेछु। यदि मैले यो शपथ भङ्ग गरेँ भने, स्वर्गबाट आएको चट्याङले मलाई प्रहार गरोस् र मेरो गन्तव्य असल नहोस्।” तिनीहरूको शपथ अहिले किन हराएको छ? धेरै समय बितेकाले, र यसले तिनीहरूको विश्वास र प्रेम कमजोर बनाइदिएकाले यस्तो भएको हो भन्ने तिनीहरूलाई लाग्छ। तिनीहरूले हृदयमा यस्तो सोच्छन्: “अहँ, मैले आफूलाई उत्साहित पार्नुपर्छ। म जतिसक्दो ताजा र जीवन्त हुनुपर्छ, र मसँग त्यो बेलाको जस्तै धेरै विश्वास र उत्साह हुनुपर्छ। मैले आफ्ना आकाङ्क्षाहरू, आफ्नो गन्तव्य, र आशिष्हरू प्राप्त गर्ने मेरो इच्छालाई पुनर्प्राप्त गर्नुपर्छ। त्यसरी, के परमेश्वरप्रतिको मेरो विश्वास र उहाँप्रतिको मेरो प्रेम पहिलेको जस्तै महान् हुनेछैन र? तब उहाँप्रतिको मेरो साँचो समर्पण पहिलेको जस्तै हुनेछैन र?” तैपनि, सत्यता पटक्कै नपछ्याउने व्यक्तिले आफ्नो हृदयको गहिराइमा जति नै सङ्घर्ष गरे पनि वा परमेश्वरप्रतिको आफ्नो सुरुको विश्वास र जोश जति नै स्मरण गरे पनि, यसले उसको वर्तमान परिस्थिति परिवर्तन गर्न सक्दैन। यो परिस्थिति के हो? जब तिनीहरूका सम्भावना र नियति व्यर्थ भएका हुन्छन्, जब तिनीहरूका सम्भावना र नियति तिनीहरूबाट झन्झन् टाढा जान्छन्, जब आशिष्हरू प्राप्त गर्ने तिनीहरूको इच्छा लगभग टुटिसकेको हुन्छ, र जब तिनीहरूका सबै आशावादी विचार र इच्छाहरू पूरा हुन सक्दैनन्, तब तिनीहरूलाई निरन्तर लागिपर्न निकै गाह्रो हुन्छ—यसरी निरन्तर लागिपर्दा यसले तिनीहरूको हृदयमा एकदमै धेरै पीडा दिन्छ। तिनीहरूले प्रायजसो अब सहनै नसकिएला जस्तो देखिने परिस्थिति वा मनस्थिति अनुभव गर्छन्। तिनीहरूले प्रायजसो परमेश्वरको काम कहिले पूरा हुनेछ भनेर उत्सुकताका साथ पर्खन्छन् ताकि तिनीहरूले स्वर्गको राज्यका आशिष्हरूमा आनन्द लिन सकून्। कति मानिसहरूले त यस्तो आशा पनि गर्छन्, “परमेश्वरको काम तुरुन्तै समाप्त होस्, महाविपत्तिहरू तुरुन्तै आऊन्—आकाश खस्यो भने सबै मर्नेछन्, कसैले पनि असल परिणामहरू अपेक्षा गर्नुपर्दैन। यदि आशिष् मैले पाउन सकिनँ भने, अरू कसैले पनि नपाओस्!” हृदयको गहिराइमा, तिनीहरू परमेश्वरको राज्य आओस् भन्ने आशा गर्दैनन्, तिनीहरू परमेश्वरको महान् अभियान पूरा होस् भन्ने आशा गर्दैनन्, र तिनीहरू परमेश्वरको छ हजार वर्षे व्यवस्थापन योजना अन्ततः महिमित होस्, वा परमेश्वरले मानवजाति माझबाट विजेताहरू प्राप्त गरेर मानवजातिलाई सुन्दर गन्तव्यमा लैजानुहोस् भन्ने आशा गर्दैनन्—तिनीहरू यी कुराहरूको आशा गर्दैनन्। बरु यसविपरीत, जब आशिष्हरू पाउने तिनीहरूका सबै इच्छाले विनाश सामना गरिरहेका हुन्छन्, तब तिनीहरूले हृदयको गहिराइभित्र परमेश्वरको कामलाई धिक्कार्छन्, तिनीहरूले परमेश्वरको कामप्रति वितृष्णा गर्छन्, र योभन्दा पनि बढी, तिनीहरूले उहाँका वचनहरूप्रति वितृष्णा गर्छन्।
अहिले कतिपय मानिसहरूले यति धेरै वर्ष प्रवचन सुनिसकेपछि, तिनीहरूले जति धेरै सुन्छन्, त्यति नै धेरै बुझ्छन्, तिनीहरूको हृदय त्यति नै धेरै स्पष्ट हुन्छ, र तिनीहरूले त्यति नै धेरै सुन्न चाहन्छन्। तर यसको उल्टो रूपमा, अरू मानिसहरूले भने प्रवचन जति धेरै सुन्छन् तिनीहरूले त्यति नै धेरै छिछिदुरदुर गर्छन्। तिनीहरूले परमेश्वरका वचनहरू सुन्ने बित्तिकै, तिनीहरूको पैशाचिक पक्ष प्रकट हुन्छ। तिनीहरूले परमेश्वरले सत्यता सङ्गति गर्नुभएको सुन्नेबित्तिकै र यसले मान्छेको भ्रष्ट स्वभाव छुनेबित्तिकै, तिनीहरूको विद्रोही मानसिकता देखा पर्न थाल्छ, र तिनीहरूको छिछिदुरदुर पूरै बाहिर निस्किहाल्छ—तिनीहरूले यो कुरालाई कति हदसम्म लैजान्छन्? कतिपयले हृदयमा धिक्कार्छन्: तिनीहरूले परमेश्वरलाई धिक्कार्छन्, सत्यतालाई धिक्कार्छन्, मण्डली अगुवा र कामदारहरूलाई धिक्कार्छन्, र अझै धेरै सत्यता पछ्याउनेहरूलाई धिक्कार्छन्। जब तिनीहरूले त्यस्ता मानिसहरू देख्छन्, तब तिनीहरूलाई मन पराउँदैनन् र आक्रमण गर्न चाहन्छन्। जब तिनीहरूले त्यस्ता मानिसहरूले परमेश्वरका वचनहरू प्रचार गरेको, परमेश्वरका वचनहरूमा मनन गरेको, र परमेश्वरका वचनहरू सङ्गति गरेको देख्छन्, तब तिनीहरूले नथाकुन्जेल र निद्रा नलागुन्जेल हृदयमा सराप्छन्। त्यसकारण, कतिपय मानिसहरूले परमेश्वरका वचनहरूबारे गरिएको सङ्गति सुन्दा नै तिनीहरूको आँखा उज्यालो हुन्छ, जबकि कति अरूले चाहिँ परमेश्वरका वचनहरूको सङ्गति सुन्दा वा कसैले परमेश्वरका वचनहरूबाट कुनै प्रकारको ज्योति प्राप्त गरेको छु भनेर भन्दा, तिनीहरूको मन अन्योलमा पर्छ, तिनीहरूको विचार अस्पष्ट हुन्छ, र तिनीहरूको आत्मा लुत्रुक्क पर्छ। तिनीहरूको हृदय यति उकुसमुकुस बन्छ कि तिनीहरूलाई सास फेर्नसमेत गाह्रो हुन्छ, र तिनीहरूले सधैँ ताजा हावा लिन बाहिर जाने तृष्णा गर्छन्। तर जब तैँले सम्भावना र नियति, परमेश्वरका आशिष्हरू, परमेश्वरको काम कहिले समाप्त हुनेछ भन्ने कुरा, र रहस्यहरूबारे सङ्गति गर्छस्, तब कोठा जति नै सानो भए पनि वा हावा जति नै खराब भए पनि, तिनीहरू ताजा हावा लिन बाहिर जाने वा झुल्ने गर्दैनन्, बरु कान ठाडो पारेर सुनिरहन्छन्। तैँले जति नै लामो समय कुरा गरे पनि, तिनीहरूले सुत्न वा खान नपाए पनि, त्यसले फरक पार्दैन। जब केही नयाँ विश्वासीहरू मेरो सम्पर्कमा आए, तब मैले तिनीहरूसँग मानिसहरूको स्थिति र मानिसहरूले कसरी सत्यता पछ्याउनुपर्छ भन्नेबारे सङ्गति गरेँ, तर तिनीहरूले यो कुरा बुझेनन् र केही रहस्यहरूबारे कुरा गर्नुहुन्छ कि भनेर सोधे। मैले भनेँ: “तँ रहस्यहरूबारे सुन्न चाहन्छस्? त्यसोभए म तँलाई सुरुमा एउटा तथ्य बताउँछु। निरन्तर रहस्यहरूबारे सोधपुछ गर्ने र परमेश्वरका वचनहरूमा यी कुराहरू अनुसन्धान गर्न सधैँ ध्यान दिने मानिसहरू असल हुँदैनन्। तिनीहरू सबै अविश्वासी र फरिसीहरू हुन्छन्।” मेरो जवाफ सुनेपछि ती नयाँ विश्वासीहरू छक्क परे र लाजले थप सोधपुछ गर्न चाहेनन्, तर पछि तिनीहरूले फेरि सोधपुछ गर्ने मौका पाए, र मैले पनि तिनीहरूलाई त्यस्तै जवाफ दिएँ। मैले तिनीहरूलाई जे-जसरी जवाफ दिएँ, त्यो तिमीहरूलाई कस्तो लाग्यो? (राम्रो लाग्यो। यसले तिनीहरूलाई आफ्नो बारे चिन्तन गर्न मद्दत गर्न सक्थ्यो।) के तिनीहरूले चिन्तन गर्थे त? गर्थेनन्। त्यसोभए तैँले तिनीहरूलाई कसरी मद्दत गर्न सक्छस्? तिनीहरूलाई यसो मात्रै भन्: “रहस्यहरू जीवन वा सत्यता होइनन्। तैँले जति धेरै रहस्य बुझे पनि, त्यो तैँले सत्यता बुझेजस्तो हुँदैन। तैँले हरेक रहस्य पत्ता लगाए पनि, तँ स्वर्ग जान पाउँछस् वा तैँले राम्रो गन्तव्य प्राप्त गर्छस् भन्ने हुँदैन।” यी वचनहरूद्वारा तिनीहरूलाई मद्दत गर्नेबारे तिमीहरूलाई के लाग्छ? के यो मामिला यसले स्पष्ट पार्दैन र? जब आत्मिक बुझाइ भएका, सत्यतालाई प्रेम गर्ने, र सत्यता पछ्याउने मानिसहरूले यी वचनहरू सुन्छन्, तब तिनीहरूले यसो भन्छन्, “मलाई त रहस्यहरू जीवन हुन् भन्ने लागेको थियो, तर अहिले ती जीवन होइनन् भन्ने थाहा भएको छ, त्यसैले म अबदेखि तीबारे अनुसन्धान गर्नेछैनँ। तर जीवनचाहिँ के हो त?” यसले तिनीहरूले अलिअलि कुरा बुझेका छन् भन्ने देखाउँछ। त्यसोभए, के यी वचनहरू सुनेपछि ख्रीष्टविरोधीहरूलाई मद्दत मिल्छ त? के तिनीहरू रूपान्तरण हुन्छन् त? तिनीहरू रूपान्तरण हुन सक्दैनन्। तिनीहरूले यी वचनहरूमा कुनै फाइदा भेट्टाउँदैनन्, तिनीहरूले यी वचनहरूमा कुनै आशिष्हरू छैनन्, यी वचनहरूमा तिनीहरूको सम्भावना र नियति संलग्न छैनन्, यी तिनीहरूका सम्भावना र नियतिसँग असम्बद्ध र असम्बन्धित छन्, र यी व्यर्थ छन्, त्यसकारण तिनीहरूले यी वचनहरू स्विकार्न सक्दैनन् भन्ने विश्वास गर्छन्। त्यसोभए, तिनीहरूका सम्भावना र नियतिसँग के-कस्ता सङ्गतिहरूचाहिँ सम्बन्धित हुन्छन् त? उदाहरणका लागि तैँले यसो भन्न सक्छस्: “आजभोलि, संसारमा धेरै अनौठा घटनाहरू देखा परिरहेका छन्। कतिपय ठाउँमा, चार चन्द्रमा देखा परेका छन्, र धेरै पटक रक्त चन्द्रमा पनि देखिएको छ। आकाशका अनौठा घटनाहरू प्रायजसो देखा पर्दै छन्। मानव संसारमा विभिन्न महामारी र विपत्तिहरू पनि देखा परेका छन्, र कतिपय ठाउँमा, मानिसहरू नरभक्षणमा संलग्न भएका छन्। यी परिस्थितिहरू हेर्दा, यस्तो लाग्छ हामी प्रकाशको पुस्तकमा अगमवाणी गरिएको कचौरा र महामारीहरूका समयमा आइपुगिसकेका छौँ।” जब ख्रीष्टविरोधीहरूले यी वचनहरू सुन्छन्, तब तिनीहरूको आँखा उज्यालो हुन्छ, र कान ठाडो हुन्छ। तिनीहरू आनन्दित हुन्छन्, “म यो युगमा जन्मेर राम्रो भयो। मैले महान् आशिष्हरू प्राप्त गर्न सक्छु। म साँच्चै नै चलाख छु! मैले सांसारिक कुराहरू पछ्याउने निर्णय गरिनँ। मैले परमेश्वरको यो चरणको काम पछ्याउनलाई मेरा सांसारिक सम्भावनाहरू र मेरो परिवार त्यागेँ—मैले अहिलेसम्म पछ्याउन सकेकोमा म अत्यन्तै खुशी छु। परमेश्वरको दिन नजिकै छ। यो परिस्थितिको आधारमा हेर्दा, मैले आफू मर्नुभन्दा पहिले परमेश्वरको काम पूरा हुने दिन देख्न पाउँछु जस्तो देखिन्छ। त्यो दिन, म पक्कै पनि उहाँले मुक्ति दिनुभएकाहरू मध्येको एक हुनेछु। कस्तो गज्जब भयो!” तिनीहरूले हृदयमा आफूले सही मार्ग छनौट गरेको छु, सही द्वार भेट्टाएको छु, र केही मूल्य चुकाएको छु भनेर गुप्त रूपमा आनन्द मान्छन्। तिनीहरू आफूले यो विन्दुसम्म हरेस नखाई पछ्याएको छु, आफू अझै पनि परमेश्वरको घरमा छु, र आफूले कुनै समस्या पैदा गरेको छैन, वा आफूलाई निकालिएको वा निष्कासित गरिएको छैन भनेर पनि खुशी हुन्छन्। त्यसकारण, त्यहाँदेखि तिनीहरूले सत्यता अभ्यास गर्नेछन्, कि तिनै आशाहरू पक्रिराख्नेछन्? तिनीहरूको भित्री मनोवृत्ति परिवर्तन हुनेछैन। त्यसकारण, जब तिनीहरूले आफूले विश्वास गरेको परमेश्वरका वचनहरूको एउटा भाग पूरा भएको छ भन्ने पत्ता लगाउँछन्, तब तिनीहरूलाई यस्तो लाग्छ मानौँ तिनीहरूले खजाना नै भेट्टाएका छन्। तिनीहरूलाई तुरुन्तै आफू भाग्यमानी छु, सही मार्ग छनौट गरेको छु, सही द्वार प्रवेश गरेको छु, र सही परमेश्वर छनौट गरेको छु, र आफू बुद्धिमान् मानिस र बुद्धिमत्ती कन्या हुँ भन्ने लाग्छ। “धन्न, मैले त्यो बेला आफ्नो जागिर छोडेँ। मैले सही निर्णय गरेँ। म कसरी यति चलाख भएँ? यदि म त्यो बेला यति होशियार नभएको भए, मैले अहिले आशिष्हरू गुमाउँथे होला। मैले भविष्यमा पनि सतर्क भएर आफ्नो जीवनलाई आफ्नो सम्भावना र नियतिका लागि सङ्घर्ष गर्ने कार्यमा समर्पित गर्न जारी राख्नुपर्छ।” यो मामिलामा तिमीहरूले ख्रीष्टविरोधीहरूको कुन सार देख्न सक्छौ? के यी मानिसहरू अवसरवादी होइनन् र? परमेश्वर, उहाँका वचनहरू, वा उहाँको कामप्रति तिनीहरूमा कुनै वास्तविक विश्वास हुँदैन। तिनीहरू परमेश्वरको घरमा घुसपैठ भएका अवसरवादी मानिसहरू हुन्। त्यसकारण, परमेश्वरको घरमा, यी मानिसहरू सधैँ ठाउँ ओगट्ने, र अल्याङटल्याङ गर्दै दिन बिताउने मानिसहरू मात्र हुन्। तिनीहरू आफूले परमेश्वरलाई पछ्याएका वर्षहरू, आफूले चुकाएका मूल्यहरू, आफूले गरेका महान् कुराहरू, आफूले व्यक्तिगत रूपमा अनुभव गरेका परमेश्वरका कामहरू, र आफूले बुझेका परमेश्वरका कामका चरणहरू आफ्नो औँलामा गन्ती गर्दै बस्छन्। तिनीहरूले दिनभरि नै बारम्बार यी कुराहरू हृदयमा गन्ती गरिरहन्छन्, र सबैभन्दा महत्त्वपूर्ण कुरा, अर्थात् सत्यता र जीवनलाई भने पछाडि नै छोडिदिन्छन्। तिनीहरूले आशिष्हरू प्राप्त गर्न मात्रै परमेश्वरमा विश्वास गर्छन्—यो त अवसरवाद हो। न त परमेश्वरका कुनै पनि वचनहरूले, न त कसैको अनुभवात्मक ज्ञानले नै तिनीहरूको अवसरवादी मनोवृत्ति परिवर्तन गर्न सक्छ। ख्रीष्टविरोधीहरू यस्तै हुन्छन्। तिनीहरूका आफ्ना हितहरूको कुरो आउँदा, तिनीहरूले कहिल्यै कुनै सम्झौता गर्दैनन्; तिनीहरूले आफ्नो दृष्टिकोण, आफूले हिँडिरहेको मार्गको दिशा र उद्देश्य कहिल्यै परिवर्तन गर्दैनन्, वा आफ्नो सम्भावना र नियतिका खातिर आफ्नो आत्म-आचरणका सिद्धान्तहरू कहिल्यै परिवर्तन गर्दैनन्। तिनीहरूले आफ्नो सम्भावना र नियतिका लागि परमेश्वरका कुनै पनि वचनहरू अभ्यास गर्दैनन्, तिनीहरूले एउटा पनि वचन लागू गर्दैनन्। कतिले भन्छन्: “तिनीहरूले कहिलेकहीँ केही वचनहरू अभ्यास गर्छन्, जस्तै विभिन्न कुराहरू त्याग्नु वा आफूलाई समर्पित गर्नु।” तिनीहरूले जुनसुकै कुरा अभ्यास गरे पनि, तिनीहरूले आफूसित आफ्ना सम्भावना र नियति हुन्छन् र आफूले आशिष्हरू प्राप्त गर्न सक्छु भन्ने आधारमा मात्रै त्यसो गर्छन्। तिनीहरूले जुनसुकै सत्यता अभ्यास गरे पनि, त्यो कलङ्कित हुन्छ र त्यो अभिप्राय र उद्देश्यसाथ गरिन्छ। त्यो परमेश्वरले तोक्नुभएको अभ्यासभन्दा पूर्ण रूपमा फरक हुन्छ।
जब ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरू पढ्छन्, तब तिनीहरूले मुख्य रूपमा आफ्नो गन्तव्य र रहस्यहरूबारे खोजी गर्न, साथै परमेश्वरको काम र व्यवस्थापन योजना कहिले समाप्त हुनेछ, र विपत्तिहरू कहिले आउनेछन् भन्नेजस्ता कुराहरूसित सम्बन्धित विषयवस्तु खोजी गर्न उहाँका वचनहरू प्रयोग गर्छन्। आफ्नो गन्तव्यका खातिर, तिनीहरूले धेरै प्रयास गर्न र धेरै काम गर्न सक्छन्। त्यसकारण, जब परमेश्वरको काम समाप्त हुन्छ र जब महाविपत्तिहरू आउँछन्, तब तिनीहरूले गरेका कुराहरू, चुकाएका मूल्यहरू, र त्यागेका कुराहरू आफूले चाहेका आशिष्हरूसँग साट्न सकिन्छ कि सकिँदैन, र तिनीहरू विपत्तिहरूको कष्टबाट जोगिन सक्छन् कि सक्दैनन्—यही नै तिनीहरूले जान्न चाहेको र तिनीहरूलाई वास्ता लाग्ने कुरा हो। तिनीहरूले परमेश्वरका वचनहरू अध्ययन गर्ने सम्पूर्ण प्रक्रियामा, जति धेरै वर्ष लागे पनि, तिनीहरूले आफ्नो सम्भावना र नियतिबारे मात्रै वास्ता गर्छन्। त्यसकारण, परमेश्वरका वचनहरू पढ्ने क्रममा तिनीहरूले दिने ध्यान र परमेश्वरका वचनहरूमा तिनीहरूले खोज्ने विषयवस्तु सबैमा केही विशेष चिन्ह र विशेषताहरू हुन्छन्। सामान्यतया, पहिलो छ महिना वा एक वर्षमा, नयाँ विश्वासीहरूले परमेश्वरका वचनहरूमा त्यस्ता विषयहरूबारे खोजी गर्छन्। तर छ महिना वा एक वर्ष बितेपछि, कतिपय मानिसहरूले यी सबै भागहरू पहिले नै पढिसकेका छन् भन्ने देख्छन्, र थप अनुसन्धान गर्नुको कुनै अर्थ छैन, तिनले मानिसहरूलाई सत्यतामा प्रवेश गर्न मद्दत गर्न सक्दैनन्, बरु उल्टै तिनीहरूलाई प्रभावित पार्न र सत्यतामा प्रवेश गर्नबाट बाधा दिनसमेत सक्छन् भन्ने महसुस गर्छन्, त्यसकारण तिनीहरूले यी भागहरू पढ्न छोड्छन्। तिनीहरूका लागि, कहिलेकहीँ तिनलाई झलक्क हेरेर बुझ्नु नै पर्याप्त हुन्छ। बाँकी समय, तिनीहरूले मनन गर्छन्, “म कसरी सत्यतामा प्रवेश गर्न सक्छु? मानवजातिलाई खुलासा गर्ने परमेश्वरका धेरै वचनहरू छन्। तिनले मानिसहरूको छलीपन, विद्रोहीपन, र अहङ्कारी स्वभावहरू खुलासा गर्छन्; तिनले परमेश्वरप्रतिको मानिसहरूका विभिन्न धार्मिक धारणा र मनोवृत्तिहरू खुलासा गर्छन्। अझै बढी रूपमा, तिनले मानिसहरूको असामान्य मानवताका विभिन्न प्रकटीकरणहरू खुलासा गर्छन्। त्यसैले, मानिसहरूले के अभ्यास गर्नुपर्छ भनेर मैले परमेश्वरका वचनहरूबाट कसरी पत्ता लगाउन सक्छु?” सत्यतालाई प्रेम गर्ने र पछ्याउने मानिसहरूले यी कुराहरूमा आफ्नो मेहनत समर्पित गर्छन्। तिनीहरूले प्रायजसो आफ्नो वास्तविक जीवनमा आफूले बुझ्नुपर्ने र प्रवेश गर्नुपर्ने वास्तविक समस्याहरूबारे प्रश्न सोध्छन्, जस्तै, “यसपछि हामीले के गर्नुपर्छ, र कसरी अभ्यास गर्नुपर्छ? परमेश्वरमा विश्वास गरेपछि, हामी अवश्य नै गैरविश्वासी र धार्मिक आस्था भएका मानिसहरूभन्दा फरक हुनेछौँ, त्यसकारण हाम्रो जीवनमा के-कस्ता गुणात्मक परिवर्तनहरू आउनुपर्छ? आफूलाई आचरणमा ढाल्ने र संसारसँग व्यवहार गर्ने विषयमा, हामीले कसरी बोल्नु र व्यवहार गर्नुपर्छ, कसरी अरूसँग अन्तरक्रिया गर्नुपर्छ, र कसरी सत्यता अभ्यास गर्नुपर्छ?” तर ख्रीष्टविरोधीहरूले चाहिँ १०, २०, वा ३० वर्ष विश्वास गरे पनि, तिनीहरूले कहिल्यै पनि यी प्रश्नहरू सोध्दैनन्। तिनीहरूले परमेश्वरका वचनहरू अध्ययन गर्छन्, र परमेश्वरका वचनहरूमा आशिष्हरू प्राप्त गर्ने आशा र आफ्नो गन्तव्यबारे खोजी गर्छन्, र तिनीहरूले २०-३० वर्ष खोजी गरे पनि यही काम गरिरहन तिनीहरूलाई दिक्क लाग्दैन। समस्याको थोरै सङ्केत देख्नेबित्तिकै, तिनीहरूले तुरुन्तै परमेश्वरका वचनहरूमा आफ्नो गन्तव्यसँग सम्बन्धित विषयवस्तुहरू खोज्छन्, र त्यसपछि तिनीहरूको वर्तमान विश्वासका आधारमा तिनीहरूप्रति परमेश्वरको मनोवृत्ति कस्तो हुन सक्छ भनेर मूल्याङ्कन गर्छन्। तिनीहरूले चक्र र अवधिअनुसार आफ्नो गन्तव्य मूल्याङ्कन गरेजस्तो प्रतीत हुन्छ। परमेश्वरको काम गर्ने तरिकामा आएको परिवर्तन वा मानवजातिप्रतिको उहाँको तत्कालको अभिप्रायको अभिव्यक्तिकै कारण तिनीहरूले कहिल्यै पनि आफ्ना विचार र मनोवृत्तिहरू बदलेर सत्यता पछ्याउँदैनन्। तिनीहरूले कहिल्यै पनि त्यस्तो गर्दैनन्। त्यसकारण, २०-३० वर्ष विश्वास गरेका कतिपय मानिसहरूले अझै पनि मानवजातिको नियति र गन्तव्य सम्बन्धमा परमेश्वरले उल्लेख गर्नुभएका रहस्य र विषयहरूमा आफ्नो प्रयास लगाइरहेका हुन्छन्। कतिपय मानिसहरूले कति हदसम्म प्रयास लगाइरहेका हुन्छन्? तिनीहरूले भन्छन्: “जब मैले परमेश्वरका वचनहरूको हरेक भाग तुलना गरेँ, तब मैले सबैभन्दा ठूलो रहस्य पत्ता लगाएँ। जब ख्रीष्ट पृथ्वी छोडेर जानुहुन्छ, तब यो घटना वसन्तमा हुनेछ।” यो सुनेपछि मलाई कस्तो लाग्छ जस्तो तिमीहरूलाई लाग्छ? मलाई खुशी लाग्छ कि दुःख लाग्छ? मलाई न त खुशी नै लाग्छ न त दुःख नै लाग्छ। मेरो विचारमा यो हास्यास्पद छ। वास्तवमै यसमा आफ्नो प्रयास समर्पित गर्ने मानिसहरू पनि छन्, यहाँसम्म कि तिनीहरूलाई निश्चित मौसमसमेत थाहा हुन्छ। यदि तिनीहरू अझै अगाडि गएर निश्चित समय पत्ता लगाउन सके भने, तिनीहरूले मिनेट र सेकेन्डसमेत ठ्याक्कै बताउन सके भने, तिनीहरू साँच्चै नै “प्रतिभाशाली” हुनेछन्! त्यस्ता “प्रतिभाशाली” मानिसहरूले म आफैलाई समेत थाहा नभएको कुरा पत्ता लगाउन सक्नु हास्यास्पद पनि छ र झर्कोलाग्दो पनि छ। यो किन हास्यास्पद छ? परमेश्वर देहधारी बन्ने ठ्याक्कै समय कुनै पनि व्यक्तिलाई थाहा हुँदैन, शैतानलाई समेत थाहा हुँदैन। के परमेश्वरले शैतानलाई समेत थाहा नभएको कुरा कुनै पनि व्यक्तिलाई बताउनुहुन्छ त? अवश्य नै बताउनुहुन्न। त्यसैगरी, कहिले परमेश्वरले आफ्नो महान् काम पूरा गर्ने, र उहाँको देहले पृथ्वीमा काम पूरा गरेर जाने दिन आउँछ—के यो परमेश्वरले कसैलाई भन्नुहुने कुरा हो र? के सबैले यो कुरा थाहा पाउनुपर्छ भन्ने कुनै कारण छ र? (छैन।) के परमेश्वरले मानिसहरूलाई थाहा दिन नचाहनुभएको कुरा आफूले बोल्दा फुत्काउनुहुन्छ? अवश्य नै फुत्काउनुहुन्न। तैपनि कतिपय मानिसहरूले परमेश्वरका वचनहरूमा वास्तवमै उहाँ पृथ्वी छोडेर जानुहुने समय भेट्टाएको छु भनेर भन्छन्। तिनीहरूले यो घटना वसन्तमा हुनेछ भनेर समेत भन्छन्। के यो अनौठो कुरा होइन र? के यो हास्यास्पद छैन र? यी मानिसहरूले यो अभिव्यक्तिलाई परमेश्वरका कुन वचनहरूमा आधारित गरेका हुन्छन्? जब परमेश्वरले वसन्तमा कुनै काम गर्नेबारे कुरा गर्नुहुन्छ, तब उहाँले कुनै अर्को कुराबारे उल्लेख गरिरहनुभएको हुन सक्छ। के उहाँले यसबारे नै कुरा गरिरहनुभएको हुन सक्छ त? तिनीहरूले कसरी त्यसमा यो कुरा जबर्जस्ती थोपर्न सक्छन्? परमेश्वरले मानिसहरूलाई तिनीहरूले के जानेको चाहनुहुन्छ भन्ने कुरा स्पष्ट रूपमै र तोकेरै भन्नुहुनेछ। मानिसहरूले जति नै धेरै अनुसन्धान गरे पनि उहाँले तिनीहरूलाई थाहा दिन नचाहनुभएको कुरा तिनीहरूले बुझ्न सक्दैनन्; यस्ता कुराहरू मानवजातिले जान्नु असम्भव हुन्छ। यी मानिसहरूले तिनीहरूलाई यो कुरा थाहा छ, र तिनीहरूको अनुसन्धानले परिणामहरू प्राप्त गरेको छ भनेर भन्छन्। तिनीहरूले तोकेरै निश्चित समयसमेत दिन्छन्। के यो निरर्थक कुरा बोल्नु होइन र? यो मानिसहरूलाई बहकाउनु, तिनीहरूको दिमागमा बाधा दिनु, र तिनीहरूको दृष्टि भङ्ग गर्नु हो। यो शैतानबाट आएको हुन्छ र यो परमेश्वरबाट आएको अन्तर्दृष्टि हुँदै होइन। उहाँले मानिसहरूलाई यो विषयमा अन्तर्दृष्टि दिनुहुन्न। तिनीहरूले यो कुरा थाहा पाउनु व्यर्थ हुन्छ। मानिसहरूलाई जुन कुरा थाहा नहोस् भनेर परमेश्वरले चाहनुहुन्छ, त्यो कुरा उहाँले गल्तीले पनि कहिल्यै फुत्काउनुहुन्न। त्यसैले म यसलाई हास्यास्पद भन्छु। त्यसोभए किन यो झर्कोलाग्दो छ त? (परमेश्वरले यी वचनहरूद्वारा मानिसहरूले आफ्नो भ्रष्ट स्वभाव परिवर्तन गर्न सकून् भन्ने उद्देश्यले, र मानिसहरूलाई सत्यता पछ्याउन र प्राप्त गर्न सक्षम तुल्याउन भनेर सत्यता व्यक्त गर्नुहुन्छ, तर ख्रीष्टविरोधीहरूले गन्तव्य र रहस्यहरू अनुसन्धान गर्नका लागि उहाँका वचनहरू प्रयोग गर्छन्।) यो पनि अलिअलि झर्कोलाग्दो कुरा हो, तर मेरो झर्कोको वास्तविक कारण के हो? उदाहरणका लागि, यदि धनी आमाबुबाले छोराछोरीका लागि धेरै पैसा कमाउँछन्, र तिनीहरूका छोराछोरी अझै सानै छन् र हुर्कनको लागि तिनीहरूलाई आमाबुबामा भर पर्नुपर्छ, र तिनीहरूको जीविकोपार्जन पूर्ण रूपमा ती आमाबुबामा निर्भर हुन्छ भने, के ती छोराछोरीले आफ्ना आमाबुबा चाँडै मरून् भन्ने आशा गर्छन्? के तिनीहरूले आमाबुबाको मृत्यु कहिले हुन्छ भनेर तुरुन्तै हिसाब गर्न भाग्य हेर्ने व्यक्ति खोजिहिँड्छन्? के कसैले यस्तो व्यवहार गर्छ? (गर्दैन।) यदि तिनीहरूले त्यसो गरे भने, के त्यो झर्कोलाग्दो कुरा हुँदैन र? यो झर्कोलाग्दो कुरा हुन्छ! त्यस्ता मानिसहरू घृणास्पद हुन्छन्! अहिले परमेश्वर पृथ्वीमा आउनुभएको छ, तर उहाँको देहले सय वर्षभन्दा बढी बाँच्न र सय वर्षसम्म काम गर्न सक्ने भए पनि, मानिसहरूले बुझ्न सक्ने सत्यताहरू सीमित छन्। यसबारे विचार गर, प्रभु येशूको देहधारणदेखि परमेश्वरको कामको वर्तमान चरणसम्म, मानवजातिले यी दुई हजार वर्षमा कति सत्यता प्राप्त गरेका छन्? मानवजातिले लगभग सत्यता बुझ्दै बुझ्दैनन्। यो चरणमा, परमेश्वरले काम गर्नुभएको ३० वर्ष भइसकेको छ, र उहाँले लगभग ३० वर्षदेखि बोल्दै आउनुभएको छ। परमेश्वरका वचनहरू सबैभन्दा बढी पढेकाहरूले तीस वर्षदेखि पढ्दै आएका छन्। कति वटा सत्यताचाहिँ मानिसहरूले बुझेका छन् र? तिनीहरूको बुझाइ अत्यन्तै सीमित छ। मानवजाति सत्यतामा प्रवेश गर्ने गति ढिलो हुन्छ। अर्थात्, सत्यतालाई मानिसहरूमा समाहित गर्नु र यसलाई तिनीहरूको जीवन बनाउनु निकै गाह्रो र निकै ढिलो कार्य हो। तर यो जति नै ढिलो भए पनि, कतिपय मानिसहरूले अझै पनि यस्तो आशा गर्छन्, “परमेश्वर पृथ्वी छोडेर कहिले जानेछन्? परमेश्वरको काम कहिले समाप्त हुनेछ?” के परमेश्वर पृथ्वी छोडेर जानुहुँदा र उहाँको काम समाप्त हुँदा यसले तिनीहरूलाई फाइदा दिनेछ? परमेश्वर पृथ्वी छोडेर जाने दिन तिनीहरू मर्नेछन्। तिनीहरूले मृत्युदण्ड पाउनेछन्। तिनीहरूसित खुशी हुनुपर्ने कुरा के छ? यो कस्तो व्यक्ति हो? के तिनीहरूमा नैतिकताको कमी छैन र? सांसारिक मानिसहरूमाझ तिनीहरूजस्ता मानिसहरूलाई बैगुनी छोराहरू भनिन्छ। हामी तिनीहरूलाई अविश्वासी र ख्रीष्टविरोधीहरू भन्छौँ, र तिनीहरू केही कामका हुँदैनन्।
जब “वचन देहमा देखा पर्नुहुन्छ” को विषयवस्तु व्यक्त गरिँदै थियो, तब धेरै मानिसहरूले के विश्वास गरे भने, “देहधारी परमेश्वरले काम मात्रै गरिरहेका छन्। उनले कामका केही चरण कार्यान्वयन गरिरहेका छन्, र उनीसँग काम गर्ने र बोल्ने विभिन्न तरिकाहरू छन्, र कुरा त्यति नै हो, र त्यसपछि उनको काम पूरा हुनेछ। उनको काम पूरा भएपछि, देहको कुनै काम हुनेछैन, र उनले बोल्नुपर्ने कुनै आवश्यकता हुनेछैन। हामीले केही कुरा प्राप्त गरेका हुनेछौँ, र हामीले बस परमेश्वरको काम पूरा हुने दिनको प्रतीक्षा मात्रै गर्नुपर्छ। हामीले परमेश्वरका यी वचनहरूबारे बोल्न र प्रचार गर्न सक्ने अवस्था भएपछि, हामीसँग गन्तव्य हुनेछ र हामीले ठूला आशिष्हरू प्राप्त गर्नेछौँ।” कतिपय मानिसहरूमा यही मनोवृत्ति थियो। त्यसपछि, मैले अरू धेरै वचनहरू सङ्गति गरेँ, ठ्याक्कै भन्दा, परमेश्वरलाई चिन्ने विषयमा वचनहरू, साथै यो अवधिमा मैले सङ्गति गरिरहेका वचनहरू सङ्गति गरेँ। कतिपय मानिसहरूले यो देखेपछि यस्तो सोचे, “के परमेश्वरका वचनहरू सबै वचन देहमा देखा पर्नुहुन्छमा समावेश छैनन् र? उनले अहिले किन परमेश्वरलाई चिन्ने विषयमा भन्ने पुस्तक व्यक्त गरेका हुन्? परमेश्वर किन झन्झन् धेरै वचनहरू व्यक्त गरिरहन्छन्? अबदेखि, उनले केही रहस्य, स्वर्गका केही मामिला, र भविष्यमा मानिसहरू कसरी स्वर्गमा परमेश्वरसँग हिँड्नेछन् भन्नेबारे कुरा गर्नुपर्छ। यी मामिलाहरूबारे कुरा गर्दा हामीलाई साँच्चै नै उत्साह हुन्छ!” कस्ता मानिसहरूमा यस्ता विचारहरू थिए? (ख्रीष्टविरोधीहरूमा।) तिनीहरूले किन यी विचारहरू विकास गरे? किनभने तिनीहरूलाई सत्यताप्रति पटक्कै चासो हुँदैन। तिनीहरूले सोचे, “हामीले परमेश्वरलाई पछ्याएको धेरै वर्ष भयो। परमेश्वरले सुरुमा कसरी काम गरे भन्ने हामीलाई थाहा छ। हामीले व्यक्तिगत रूपमा परमेश्वरको कामका केही चरणहरू अनुभव गरेका छौँ। हामीले परमेश्वरले बोल्ने तरिकाहरू व्यक्तिगत रूपमा अनुभव गरेका छौँ र यसलाई आफ्नै आँखाले देखेका छौँ। हामी परमेश्वरका गवाहीहरू हौँ र आशिष्हरू प्राप्त गर्न सबैभन्दा योग्य पुस्ता हौँ।” परमेश्वरले सत्यता बोल्नु र व्यक्त गर्नुभएको कारणले नभई परमेश्वरको पूर्वनिर्धारित योजनाको कारण तिनीहरूले उहाँलाई पछ्याएका हुन्। परमेश्वरले तिनीहरूलाई कामका केही चरणहरू अनुभव गर्न अगुवाइ गर्नुभयो, र तिनीहरूले परमेश्वरलाई निष्क्रिय रूपमा पछ्याए। पछि, जब परमेश्वरको काम निरन्तर अघि बढिरह्यो, तब उहाँले कामको वर्तमान चरण पछ्याउन सक्ने अझै धेरै मानिसहरूलाई छनौट गर्नुभयो। परमेश्वरको कामका मुख्य प्रापकहरू निरन्तर विस्तार र परिवर्तन हुँदै गए। सुरुमा परमेश्वरलाई पछ्याउने कतिपय मानिसहरूलाई सत्यता नपछ्याएको कारण, परमेश्वरबारे विभिन्न धारणा र गलत बुझाइहरू राखेको कारण, र परमेश्वरबारे तिनीहरूमा विभिन्न प्रकारका अनाज्ञाकारिता र असन्तुष्टि पैदा भएको कारण बिस्तारै हटाइयो। यी मानिसहरूलाई हटाइनुका व्यक्तिपरक र वस्तुगत दुवै कारणहरू थिए। व्यक्तिपरक हिसाबमा भन्दा, तिनीहरूले सत्यता नपछ्याएका हुनाले, र तिनीहरूले फरिसीहरूले जस्तै परमेश्वरका वचनहरूलाई धर्मसिद्धान्तहरूका रूपमा लिएका र तिनलाई व्यापक रूपमा प्रचार गरेका हुनाले तिनीहरूलाई हटाइयो। अहिलेसम्म पनि कतिपय मानिसहरूले अझै सत्यता वास्तविकताहरू के हुन् भन्ने कुरा बुझेका छैनन्—तिनीहरू मृत मानिसहरूजस्तै हुन्। वस्तुगत रूपमा भन्दा, ती हटाइएका मानिसहरू परमेश्वरको नयाँ कामको सुरुवातलाई व्यक्तिगत रूपमा अनुभव गरेका मानिसहरू थिए, तर तिनीहरूको चरित्र, पछ्याइ, र क्षमताको कारण, तिनीहरू परमेश्वरको पछिल्लो र अझ नयाँ कामको लागि योग्य भएनन्। त्यसकारण, ती मानिसहरूलाई परमेश्वरको कामका चरणहरूले तुरुन्तै हटाइदिए, तुरुन्तै फ्याँकिदिए। यो भन्न सकिन्छ कि, परमेश्वरलाई चिन्ने विषयमा भन्ने पुस्तकका वचनहरू व्यक्त गरिनुभन्दा केही समय पहिले, धेरै मानिसहरूले गुप्त रूपमा यसो भन्दै हृदयदेखि आनन्द लिएका थिए: “मैले विरोध गरेको र दोष दिएको व्यक्तिसँग बल्ल भन्ने कुरा केही छैन। उनको कामका चरणहरू बल्ल पूरा भए। विगतमा, मसँग उनीबारे धारणाहरू थिए। मैले उनको अवज्ञा गरेँ र उनीप्रति असन्तुष्ट भएँ, र मैले उनलाई निन्दा र विरोध पनि गरेँ। अवश्य नै, म सही थिएँ। उनी परमेश्वर होइनन्; उनी ख्रीष्ट होइनन्। मैले उनलाई जसरी व्यवहार गरे नि त्यसले फरक पार्दैन, किनभने उनी परमेश्वर होइनन्। उनी परमेश्वरको माध्यम, परमेश्वरको प्रवक्ता मात्रै हुन्।” यति मात्र होइन, कतिपयले त यसोसमेत भने: “यो देह हामीभन्दा फरक छैन। बोल्ने र काम गर्ने त उनीभित्रको आत्मा हो; देहसँग यसको कुनै सम्बन्ध छैन।” कतिपय मानिसहरूले गुप्त रूपमा ख्रीष्टलाई यसरी दुस्साहस गर्दै दोष दिए र निन्दा गरे। जब वचन देहमा देखा पर्नुहुन्छ भाग २: परमेश्वरलाई चिन्ने विषयमा भन्ने पुस्तकका सत्यताहरू व्यक्त गरियो, ख्रीष्टलाई दोष दिने र निन्दा गर्ने यी मानिसहरूलाई हृदयमा असहज महसुस भयो। यो असहजताको कारण के थियो? एक हिसाबमा, तिनीहरूको हृदयमा लामो समयदेखि बसेका धारणाहरू थिए, र तिनीहरूले आफूलाई सत्यता व्यक्त गर्ने व्यक्तिविरुद्ध उभ्याएका थिए। तिनीहरू यो व्यक्तिप्रति अवज्ञाकारी र असन्तुष्ट भएका थिए, र उहाँलाई दोष दिने र निन्दा गर्ने समेत गरेका थिए। अर्को हिसाबमा, परमेश्वरले २०१३ भन्दा पछि व्यक्त गर्नुभएका वचनहरूले मानवजातिलाई अहिलेसम्म थाहा नभएका धेरै रहस्यहरू खुलासा गरेका थिए। यी रहस्यहरूले अझै ठोस जग बसाली नसकेका नयाँ विश्वासीहरूको आस्थालाई दह्रिलो बनाए, र तिनीहरूको शङ्कास्पद हृदयमा तुरुन्तै निश्चितता प्रदान गरे। परमेश्वरमा धेरै वर्ष विश्वास गरेका तर यसभन्दा पहिले ख्रीष्टको विरोध गरेका, उहाँलाई दोष दिएका, र उहाँको निन्दा गरेका मानिसहरूको हकमा भने, यी रहस्यहरूले तिनीहरूलाई सीधै टाउकोमै प्रहार गरे, जसले गर्दा तिनीहरूलाई अझै अप्ठ्यारो भयो। तिनीहरूले सोचे, “अब हामी पूरै खत्तम भयौँ। हामीलाई परमेश्वरले हटाएका छन्। उनी हामीलाई चाहन्नन्। परमेश्वरले पहिले पनि धेरै वचनहरू व्यक्त गरेका थिए, तर हामीले उनलाई सधैँ मानवको रूपमा लियौँ। हामीले सोच्यौँ, उनको कामका चरणहरू पूरा भएपछि, बाँकी कुराहरू उनीसँग सम्बन्धित हुँदैनन्, र यो व्यक्तिले आफ्नो सेवा समाप्त गरेको हुनेछ, र त्यसपछि, हामीले स्वर्गको परमेश्वरसँग अन्तरक्रिया गर्नेछौँ र स्वर्गकै परमेश्वरमा विश्वास गर्नेछौँ। हामीले पृथ्वीको परमेश्वरबारे धारणाहरू राख्यौँ। हामीले उनको अवज्ञा गर्यौँ र उनलाई तिरस्कार गर्यौँ।” सन् २०१३ को अवधिमा व्यक्त गरिएका वचनहरूमार्फत, ती मानिसहरूमध्ये धेरैको दुस्साहस विलीन भयो। यसभन्दा पहिले, कतिपय मानिसहरूले परमेश्वरको कामबारे शङ्काहरू विकास गरेका थिए। तिनीहरूले परमेश्वरको देहधारी देहलाई प्रतिरोध र ईश्वरनिन्दा गरेका थिए, र कतिले त आफ्नो विश्वाससमेत त्यागेका थिए। किन यस्तो भयो? किनभने तिनीहरूले धारणाहरू विकास गरेका थिए। तिनीहरूले देहधारी परमेश्वर र परमेश्वरको कामलाई मात्र इन्कार गरेनन्, परमेश्वरको अस्तित्वलाई समेत इन्कार गरे। परमेश्वरप्रति ती मानिसहरूले राखेको मनोवृत्तिका आधारमा हेर्दा, तिनीहरूले कस्तो परिणाम प्राप्त गर्नुपर्छ? परमेश्वरप्रतिको तिनीहरूको मनोवृत्ति र दृष्टिकोणका आधारमा, तिनीहरूको सार के हो? (अविश्वासीको सार।) अविश्वासीहरूको पहिलो मुख्य विशेषता अवसरवाद हो। तिनीहरूले परमेश्वरको वचनमा आफ्ना हितहरू भेट्टाएपछि, तिनलाई पक्रिरहन्छन्, त्याग्न मान्दैनन्, र यसरी उहाँका वचनहरूबाट फाइदा लिने प्रयास गर्छन्। दोस्रो विशेषता के हो भने, तिनीहरूले कुनै पनि बेला र कुनै पनि ठाउँमा परमेश्वरको निन्दा गर्न सक्छन्, तिनीहरूले कुनै पनि बेला र कुनै पनि ठाउँमा परमेश्वरबारे धारणाहरू विकास गर्न सक्छन्, र एउटा सानो कुरा मात्र तिनीहरूको धारणा अनुरूप नहुँदा पनि, तिनीहरूले परमेश्वरप्रति आलोचना, दोषारोपण, र विरोध गर्न सक्छन्। तिनीहरूले कति पनि परमेश्वरको डर मान्दैनन्। ती सबै मानिसहरूमा ख्रीष्टविरोधीहरूको सार हुन्छ; तिनीहरू सबै ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूको अर्को विशेषता के हो? ती मानिसहरूमा सत्यताप्रति कहीँकतै कुनै प्रेम हुँदैन। परमेश्वरका वचनहरू प्राप्त गर्नेहरूमा तिनीहरू नै पहिलो थिए, परमेश्वरका वचनहरू सुन्नेहरूमा तिनीहरू नै पहिलो थिए, र परमेश्वरको कामका चरण र विधिहरूलाई व्यक्तिगत रूपमै अनुभव गर्नेहरू पनि तिनीहरू नै थिए। ती मानिसहरूले विश्वास गरेको अहिले ३० वर्ष भइसकेको छ, तर तिनीहरूमध्ये धेरैजसोले परमेश्वरको घरमा कुनै कर्तव्य निर्वाह गर्न सक्दैनन्, र तिनीहरूसँग बताउनका लागि कुनै अनुभव नै छैन। तिनीहरू जहाँ गए पनि, तिनीहरूले ती मृत शब्द र धर्मसिद्धान्तहरूबारे मात्रै कुरा गर्छन्। तिनीहरूको सबैभन्दा स्पष्ट विशेषता के हो? तिनीहरूले परमेश्वरमा विश्वास गरेको ३० वर्ष भइसकेको छ, तर तिनीहरूको स्वभाव पटक्कै परिवर्तन भएको छैन, र तिनीहरूसँग परमेश्वरबारे कुनै डर वा बुझाइ छैन। तिनीहरूले गुप्त रूपमा परमेश्वरको देहधारी देहलाई त्यतिकै आलोचना गर्न सक्छन्, र अलिकति पनि भयभीत नभई वा डर नमानी परमेश्वरसँग निहुँ खोज्न र उहाँलाई दोष दिनसमेत सक्छन्। तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्, तिनीहरूलाई सत्यताप्रति वितृष्णा लाग्छ, र तिनीहरू सत्यताको विरोध गर्छन्। जब देहधारी परमेश्वरको कुरा आउँछ, तब तिनीहरूले जेसुकै बोल्ने दुस्साहस गर्छन्; तिनीहरूले सबै कुरा मूल्याङ्कन र आलोचना गर्ने आँट गर्छन्, र जबजब तिनीहरूले धारणाहरूको विकास गर्छन्, तबतब तिनीहरूले ती कुराहरू फैलाउने आँट गर्छन्। के यी मानिसहरू घृणित छैनन् र? (छन्।) के तिनीहरू परमेश्वरद्वारा चुनिएका मानिसहरू हुन्? तिनीहरूले परमेश्वरमा विश्वास गरेको ३० वर्ष भइसकेको छ, तर तिनीहरूसँग कुनै वास्तविकता छैन, र तिनीहरूको स्वभाव पटक्कै परिवर्तन भएको छैन—के तिनीहरू मृत मानिसहरू होइनन् र? के साँच्चै सत्यता पछ्याउने र साँचो रूपमा सामान्य मानवता भएका मानिसहरू परमेश्वरमा विश्वास गरेको तीन वर्षमै केही सत्यताहरू बुझेर तिनमा प्रवेश गर्न सक्दैनन् र? (सक्छन्।) तर कतिपय मानिसहरूले परमेश्वरमा विश्वास गरेको ३० वर्ष भइसकेको भए पनि, तिनीहरूसँग कुनै अनुभव हुँदैन। यदि तैँले तिनीहरूलाई आफ्ना अनुभवबारे बताउन लगाइस् भने, तिनीहरूले धर्मसिद्धान्त, नारा, र भाषणका शब्दहरूबारे मात्रै कुरा गर्नेछन्। त्यसकारण, तिनीहरूले विगत ३० वर्षमा परमेश्वरका वचनहरूमा के प्रयास गरेका छन्? तिनीहरूले के प्राप्त गरेका छन्? तिनीहरूले परमेश्वरका वचनहरू स्वीकार गर्दैनन् भन्ने कुरा स्पष्ट छ। तिनीहरूले मानवजातिलाई आशिष् र प्रतिज्ञाहरू दिने सम्बन्धी परमेश्वरका वचनहरू, उहाँका राम्रा सुनिने वचनहरू, उहाँका सान्त्वना र अर्तीका वचनहरू, र कर्णप्रिय वचनहरू स्वीकार गर्छन्, तर तिनीहरूले परमेश्वरले व्यक्त गर्नुहुने कुनै पनि सत्यता वा मानवजातिप्रतिका उहाँका कुनै पनि मागहरू स्वीकार गर्दैनन्। तिनीहरूले एउटा पनि स्वीकार गर्दैनन्। के यी मानिसहरूलाई हटाइनुपर्दैन र? (पर्छ।) के यस्ता मानिसहरूलाई हटाउनु अन्याय हो? (होइन।) किन होइन भने, तिनीहरूले स्पष्ट रूपमा सत्यता जानेर पनि जानीजानी पाप गर्छन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।