विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्‍नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्‍ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्‍वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्‍वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग छ) खण्ड एक

आ. ख्रीष्टविरोधीहरूका हितहरू

पछिल्‍लोपटक हामीले ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणहरूको विषयवस्तु नौबारे सङ्गति गर्‍यौँ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्‍नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्‍ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्‍वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्‍वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन्। त्यसपछि हामीले ख्रीष्टविरोधीहरूका हितहरूलाई धेरै भागमा विभाजित गर्‍यौँ। पहिलो तिनीहरूको आफ्नै सुरक्षा हो, दोस्रो तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो, र तेस्रोचाहिँ फाइदाहरू हुन्। अनि, यी फाइदाहरूमा के-के पर्छन्? (पहिलो परमेश्‍वरको घरका सम्पत्तिहरू हिनामिना गर्नु हो, दोस्रो तिनीहरूलाई सेवा प्रदान गर्न र तिनीहरूका लागि काम गर्न दाजुभाइ-दिदीबहिनीहरूलाई प्रयोग गर्नु हो, र तेस्रो परमेश्‍वरमा विश्‍वास गरेको बहानामा ठगी गर्दै आफ्नो पद प्रयोग गरेर छलकपटद्वारा खानेकुरा, पेयपदार्थ र अन्य मनपर्दा वस्तुहरू प्राप्त गर्नु हो।) यी “अरू कुराहरू” मा विशेष व्यवहार प्राप्त गर्ने, आफ्नो व्यक्तिगत कामकाज सम्हालिदिने, आदि इत्यादि कुराहरू पर्छन्, होइन र? (हो।) यसरी मुख्य विषयहरूलाई सङ्गति गर्नको लागि उप-विषयहरूमा र उपविषयहरूलाई विभिन्‍न पक्षहरूमा विभाजन गर्ने अनि त्यसपछि सङ्गति गर्ने गर्दा, के तिमीहरूलाई अन्योल हुन्छ? (अहँ, हुँदैन।) वास्तवमा, यसरी जति धेरै सङ्गति गरिन्छ, कुराहरू त्यति नै धेरै स्पष्ट बन्छन्। हामीले ख्रीष्टविरोधीहरूका हितहरूका तीन विषयहरूबारे सङ्गति गरेका छौँ, तर अर्को एउटा विषय पनि छ, जुन सबैभन्दा महत्त्वपूर्ण छ, र त्यो हो, ख्रीष्टविरोधीहरूका हितहरूको चौथो विषय—तिनीहरूको सम्भावना र नियति। परमेश्‍वरमाथिको विश्‍वासमा ख्रीष्टविरोधीहरूले बोकिहिँड्ने मुख्य उद्देश्य सम्भवतः सम्भावना र नियति नै हुन्। तिनीहरूले आफ्नो हृदयमा राख्‍ने सबैभन्दा ठूला आकाङ्क्षाहरू, र तिनीहरूले हृदयको गहिराइमा पछ्याउने सबैभन्दा उच्‍च कुराहरू पनि तिनै हुन्। तिमीहरू सम्भावना र नियतिको विषयप्रति सम्भवतः परिचित नै हुनुपर्छ। यो कुरा मानिसहरू अन्ततः कहाँ पुग्छन्, मानिसहरू कहाँ जान्छन्, वा मानिसहरू भविष्य वा अर्को युगमा कहाँ जाँदै छन् भन्‍ने कुरासँग सम्बन्धित छ—छोटकरीमा भन्दा, यो तिनीहरूको भावी गन्तव्यसँग सम्बन्धित छ। के यो परमेश्‍वरको हरेक विश्‍वासीको हृदयमा रहने सबैभन्दा ठूलो र महत्त्वपूर्ण कुरा होइन र? (हो।) परमेश्‍वरमा विश्‍वास गर्ने सबैको लागि सम्भावना र नियति अत्यन्तै महत्त्वपूर्ण हुन्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूको लागि, तिनीहरूका हितहरूको सबैभन्दा मुख्य भाग तिनीहरूको सम्भावना र नियति, अर्थात् तिनीहरूको गन्तव्य नै हुनुपर्छ भन्‍ने कुरा स्वभाविकै हो।

घ. तिनीहरूका सम्भावना र नियति

अब हामी ख्रीष्टविरोधीहरूका हितहरूमा पर्ने सम्भावना र नियतिबारे पनि विभिन्‍न कोण र पक्षहरूबाट सङ्गति गरौँ ताकि यी कुराहरू तुलनात्मक रूपमा स्पष्ट होऊन्। हामीले यसभन्दा पहिले सङ्गति गरेका ख्रीष्टविरोधीहरूका विभिन्‍न हितहरूमा भौतिक र अभौतिक दुवै किसिमका हितहरू छन्। उदाहरणको लागि, व्यक्तिका आफ्नै सुरक्षा, प्रतिष्ठा, र हैसियत सबै अभौतिक हितहरू हुन्; ती तिनीहरूको आत्मिक संसारका अस्पृश्य कुराहरू मात्रै हुन्। जबकि भौतिक हितहरूमा सम्पत्ति, खानपान, साथै विशेष व्यवहार, भौतिक सुख, आदि इत्यादि कुराहरू छन्। त्यसोभए, आजको सङ्गतिका सम्भावना र नियति केसँग सम्बन्धित छन् त? यदि हामीले तिनलाई मानव धारणाहरूको दृष्टिकोणबाट हेर्‍यौँ भने, के यी कुराहरू स्पृश्य हुन् कि अस्पृश्य? (ती अस्पृश्य कुराहरू हुन्।) त्यसकारण, ती कुराहरू मानिसहरूको आत्मिक संसारमा, तिनीहरूका धारणा र कल्पनाहरूमा, र तिनीहरूको मनमस्तिष्कमा रहेका कुराहरू नै हुनुपर्छ। मानिसहरूको लागि, यी कुराहरू एक प्रकारका आशा र भरणपोषण हुन्, र मानिसहरूले आफ्नो सम्पूर्ण जीवनभर पछ्याउने कुराहरू यिनै हुन्। यी कुराहरू मानिसहरूको लागि अदृश्य र अस्पृश्य भए पनि, यी कुराले मानिसहरूको हृदयमा प्रमुख स्थान ओगट्छन्, मानिसहरूको सम्पूर्ण जीवनमा प्रभुत्व जमाउँछन्, र तिनीहरूका विचार र व्यवहार, अभिप्राय, र पछ्याइको दिशा नियन्त्रित गर्छन्। त्यसकारण, सबैको लागि सम्भावना र नियति अत्यन्तै महत्त्वपूर्ण हुन्छन्! तर सम्भावना र नियति महत्त्वपूर्ण भए पनि, ख्रीष्टविरोधीहरूले तिनलाई सामान्य र साधारण मानिसहरूको भन्दा पूर्ण रूपमा फरक तरिकाले पछ्याउँछन्। वास्तवमा त्यो भिन्‍नता के हो? कुन-कुन पक्षले त्यो भिन्‍नता देखाउँछन्, र त्यो भिन्‍नता नै ख्रीष्टविरोधीको पछ्याइको विधि, र ख्रीष्टविरोधीको विशेषता हो भनेर मानिसहरूलाई स्पष्ट रूपमा हेर्न र चिन्‍न सक्षम तुल्याउँछन्? के यो कुरा छलफल र सङ्गति गर्न लायक छैन र? अवश्य नै, धेरै मानिसहरूको प्रकटीकरण धेरै तरिकाले साँचो ख्रीष्टविरोधीहरूको जस्तै र ख्रीष्टविरोधी सार हुनेहरूको जस्तै हुन्छ। तर तिनीहरूको प्रकटीकरण र स्वभाव उस्तै हुँदा पनि, तिनीहरूको सारचाहिँ फरक हुन्छ। अब हामी ख्रीष्टविरोधीहरूका हितहरूको चौथो विषय, अर्थात् तिनीहरूको सम्भावना र नियतिबारे विभिन्‍न पक्षहरूबाट सङ्गति गरौँ।

हामीले सम्भावना र नियतिलाई कसरी चिरफार गर्न सक्छौँ? ख्रीष्टविरोधीहरूका हितहरूभित्र पर्ने सम्भावना र नियति सत्यता अनुरूप हुँदैनन्, र ती ख्रीष्टविरोधीहरूको सारका प्रकटीकरणहरू हुन् भनेर चिरफार गर्न हामीले कस्तो विधि र कुन-कुन उदाहरणहरू प्रयोग गर्न सक्छौँ? तिनलाई कुन-कुन पक्षहरूबाट चिरफार गर्न सकिन्छ? यसको लागि होसियारीसाथ अनुसन्धान गर्नुपर्ने हुन्छ। अब हामी मानिसहरूले ख्रीष्टविरोधीहरूको सारलाई अझै सटीक र स्पष्ट रूपमा बुझ्न सकून् भनेर यसलाई धेरै वटा विस्तृत वर्गहरूमा बाँडौँ। पहिलो, ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई कसरी लिन्छन्; दोस्रो, ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्यलाई कसरी लिन्छन्; तेस्रो, ख्रीष्टविरोधीहरूले काटछाँट हुनुलाई कसरी लिन्छन्; चौथो, ख्रीष्टविरोधीहरूले “सेवाकर्ता” पदनामलाई कसरी लिन्छन्; र पाँचौँ ख्रीष्टविरोधीहरूले मण्डलीमा आफ्नो हैसियतलाई कसरी लिन्छन्। किन यी पाँच वर्ग? पत्ता लाउने प्रयास गर त। के तिमीहरूले यी प्रत्येकबारे अलिअलि बुझाइ प्राप्त गर्न सक्छौ? के तिमीहरूले ख्रीष्टविरोधीहरूसँग सम्बन्धित केही प्रकटीकरण वा स्वभावहरू भेट्टाउन सक्छौ? यी पाँच वर्गको जगमा रहेर ठ्याक्कै के कुरा चिरफार गरिनुपर्छ? यी वर्गहरूको सन्दर्भमा, ख्रीष्टविरोधीहरूका मुख्य विशेषताहरू र तिनीहरूले देखाउने प्राथमिक स्वभावहरू के-के हुन्, र सत्यतालाई सामान्य रूपमा पछ्याउने र साधारण भ्रष्ट मानिसहरूका प्रकटीकरणहरू के-के हुन्? ख्रीष्टविरोधीहरू र साधारण भ्रष्ट मानिसहरूबीचका भिन्‍नताहरू के-के हुन्? यी भिन्‍नताहरू केमा हुन्छन्? तिनीहरूले छनौट गरेका मार्गहरूबीचको भिन्‍नता के हो? तिनीहरूको प्रकटीकरणमा हुने भिन्‍नता के हो? के तिमीहरूले यी वर्गहरूबारे केही बुझेका छौ? (यी पाँच वर्गको कुरा गर्नुपर्दा, ख्रीष्टविरोधीहरूले मुख्य रूपमा परमेश्‍वरका वचनहरूको सत्यताको आधारमा विभिन्‍न कुरालाई हेर्ने गर्दैनन्। तिनीहरूले सधैँ निश्‍चित कुराहरूको सतही रूप वा आफ्नै परिस्थिति प्रयोग गरी आफ्नै धारणा र कल्पनाहरूको आधारमा परमेश्‍वरका अभिप्रायहरूबारे अनुमान लाउँछन्, र आफ्नो लागि कुनै सम्भावना र नियति हुन्छ कि हुँदैन भनेर हेर्छन्। उदाहरणको लागि, जब तिनीहरूको कर्तव्यको कुरा आउँछ, तब यदि तिनीहरू चर्चित स्थानमा पुग्न र आफ्नो इच्छा, अभिमान, र आत्मगौरव सन्तुष्ट पार्न सक्छन् भने, तिनीहरूलाई तिनीहरू परमेश्‍वरको घरका लागि उपयोगी मानिसहरू हुन्, र तिनीहरूसँग सम्भावना र नियति छ भन्‍ने लाग्छ। तर तिनीहरूलाई काटछाँट गरिनेबित्तिकै, तिनीहरूलाई परमेश्‍वर तिनीहरूप्रति अप्रसन्‍न हुनुहुन्छ, परमेश्‍वर तिनीहरूप्रति असन्तुष्ट हुनुहुन्छ भन्‍ने लाग्‍छ, र तिनीहरू परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासबारे निरूत्साहित र हतोत्साहित हुन्छन्, र तिनीहरूमा नकारात्मकता र विरोध पैदा हुन्छ।) यो सारांशले केही प्रकाश प्रदान गर्छ र यो मामलाको सत्यताबारे केही झलक दिन्छ। तिमीहरूले भनेको कुराको समग्र अर्थबाट हेर्दा, तिमीहरूले सम्भवतः यी पाँच वर्गबारे आधारभूत बुझाइ प्राप्त गरेका छौ। यसपछि, हामी यी वर्गहरूबारे एकएक गरी सङ्गति गर्नेछौँ।

१. ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई कसरी लिन्छन्

पहिलो वर्ग ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई कसरी लिन्छन् भन्‍ने हो। ख्रीष्टविरोधीहरू पनि परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने मानिसहरू हुन्; तिनीहरूसँग पनि परमेश्‍वरका वचनहरू हुन्छन्, तिनीहरूले पनि प्रवचनहरू सुन्छन्, भेलाहरूमा सहभागिता जनाउँछन्, र तिनीहरूको पनि आत्मिक जीवन सामान्य हुन्छ। ख्रीष्टविरोधीहरूको लागि, परमेश्‍वरका वचनहरू पढ्नु पनि तिनीहरूको जीवनको एक भाग हो, र तिनीहरूले नियमित रूपमै यो काम गर्छन्। तर दुवैले परमेश्‍वरका वचनहरू पढे पनि, ख्रीष्टविरोधीहरू सत्यता पछ्याउनेहरूभन्दा फरक हुन्छन्; परमेश्‍वरका वचनहरूप्रति तिनीहरूको मनोवृत्ति पूर्ण रूपमा फरक हुन्छ। त्यसोभए, ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई कसरी लिन्छन् त? पहिलो कुरा त, तिनीहरूले परमेश्‍वरका वचनहरूबारे अनुसन्धान र चिरफार गर्छन्, र यसलाई अनौठो परिप्रेक्ष्य र दृष्टिकोणबाट अध्ययन गर्छन्। मैले यसलाई किन “अध्ययन” भनेँ? वस्तुगत परिस्थितिको आधारमा, ख्रीष्टविरोधीहरूले यी परमेश्‍वरका वचनहरू हुन् भनेर स्विकार्नुपर्ने हुन्छ, र तिनीहरूलाई मनमा परमेश्‍वरका वचनहरू यति उच्च छन् कि साधारण मानिसहरूले यी वचनहरू व्यक्त गर्न सक्दैनन् र यी वचनहरू अरू कहीँ पाउन सकिँदैन भन्‍ने पनि लाग्छ। यही आधारमा, यी परमेश्‍वरका वचनहरू हुन् भनेर स्विकार्ने बाहेक तिनीहरूसँग अरू कुनै विकल्प हुँदैन, तर के तिनीहरूले परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा स्विकार्छन् त? स्विकार्दैनन्। त्यसोभए यति हुँदाहुँदै पनि ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरू किन पढ्छन् त? किनभने, परमेश्‍वरका वचनहरूमा, तिनीहरूलाई चाहिने कुराहरू, तिनीहरूले जान्न चाहेका कुराहरू, र तिनीहरूलाई आत्मिक संसारमा साथ दिने कुराहरू हुन्छन्। यी कुराहरू के-के हुन्? अवश्य नै, यी कुराहरू ख्रीष्टविरोधीहरूका सम्भावना र नियतिसँग नजिकबाट सम्बन्धित हुन्छन्। जब ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरू अध्ययन गर्छन्, तब तिनीहरूले निरन्तर गन्तव्य, परिणाम, भविष्यमा मानिसहरू कहाँ पुग्‍नेछन्, आदि इत्यादिसँग सम्बन्धित वचनहरू खोजिरहेका हुन्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूको परमेश्‍वरका वचनहरू पढ्ने कार्यलाई “अध्ययन” भनिन्छ, र तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्ने क्रममा तीबारे अनुसन्धान, विश्‍लेषण, र मूल्याङ्कन गरिरहेका हुन्छन्। तिनीहरूले पढ्ने क्रममा उहाँका वचनहरूबारे अनुसन्धान गर्छन्: “परमेश्‍वरको भाव हेर्दा त, उहाँले यस्ता मानिसहरूलाई मन पराउनुहुन्न जस्तो देखिन्छ। मलाई किन म तिनीहरूमध्ये एक हुँ जस्तो लाग्छ? मैले यी मानिसहरूलाई परमेश्‍वरले कुन गन्तव्य दिनुहुन्छ भनेर पत्ता लगाउनुपर्छ।” जब परमेश्‍वरले त्यस्ता मानिसहरूलाई अतल कुण्‍डमा फ्याँक्‍नेबारे बोल्नुभएको तिनीहरूले देख्छन्, तब मनमनै सोच्छन्, “यो राम्रो होइन। अतल कुण्‍डमा फ्याँकिनु त खतम हुनु हो, होइन र? यस्ता मानिसहरूको कुनै सम्भावना हुँदैन र तिनीहरूको गन्तव्य राम्रो हुँदैन, त्यसकारण मैले के गर्नुपर्छ?” तिनीहरूले हृदयमा खिन्‍न लाग्दो पीडा, अप्ठ्यारो, र असहजता अनुभव गर्छन्। “के परमेश्‍वरले साँच्‍चै यस्ता मानिसहरूलाई यसरी व्यवहार गर्नुहुन्छ? अहँ, मैले हरेस खानु हुँदैन।” यसपछि, तिनीहरूले परमेश्‍वरका वचनहरू खोजी गर्ने कार्यलाई जारी राख्छन्। जब तिनीहरूले “मेरा पुत्रहरू हो, म तिमीहरूका लागि यो र त्यो गर्नेछु, र तिमीहरूलाई यो र त्यो हुनेछ” भन्‍ने परमेश्‍वरका वचनहरू देख्छन्, तब तिनीहरूलाई नराम्रो लाग्‍न छोड्छ। “परमेश्‍वरका वचनहरूले मेरो हृदय न्यानो पार्छन्, र ती सुन्दर छन्। म परमेश्‍वरले भनेका ‘पुत्रहरू’ मध्ये एक हुँ।” त्यसपछि, तिनीहरूले परमेश्‍वरका वचनहरूमा “ज्येष्ठ पुत्रहरू” र “राजाहरूको रूपमा शासन गर्नु” भनेर उल्‍लेख गरिएको देख्दा यस्तो सोच्छन्, “एकदम राम्रो! परमेश्‍वरमा विश्‍वास गर्नुका फाइदाहरू र आशाजनक भविष्य छन्। मैले सही मार्ग रोजेको छु। मैले सही दाउ खेलेको छु। मैले आफ्नो विश्‍वासमा लगनसाथ परमेश्‍वरको वस्‍त्र पक्रिरहनुपर्छ। मैले अन्तिम क्षणमा पनि हरेस खानु हुँदैन!” तिनीहरूले पढ्ने क्रममा परमेश्‍वरका वचनहरूमा “अन्त्यसम्‍मै पछ्याउनेले अवश्य नै मुक्ति पाउनेछ” भनेर उल्‍लेख गरिएको देख्छन्। ख्रीष्टविरोधीहरूको लागि, यो कुरा पढ्नु भनेको जीवन डोरी समात्‍नुजस्तै हो। “म यी वचनहरू अनुसार अभ्यास गर्नेछु। जहिले र जहाँ भए नि, र जेसुकै भए नि, समुद्र सुके नि र चट्टानहरू धूलो बने नि, नीलो समुद्र हरियो भूमि बने नि, यी वचनहरू परिवर्तन हुनेछैनन्। स्वर्ग र पृथ्वी टलेर गए नि, यी वचनहरू मर्नेछैनन्। मैले यी वचनहरू पालन गरेँ भने, के मैले असल परिणाम, र असल गन्तव्य प्राप्त गर्नेछैनँ र? के मेरो सम्भावना र नियति निश्‍चित हुनेछैनन् र? एकदम राम्रो! म अन्त्यसम्‍मै पछ्याउने व्यक्ति बन्‍नुपर्छ!” बारम्बार खोजी गरेर, यसरी अनुसन्धान र यसरी विश्‍लेषण गरेर, तिनीहरूले अन्ततः परमेश्‍वरका वचनहरूमा जीवन डोरी भेट्टाउँछन् र सबैभन्दा ठूलो “रहस्य” पत्ता लगाउँछन्। तिनीहरू आनन्दले भरिन्छन्, “बल्‍ल, मैले हटाइनेबारे चिन्ता गर्नुनपर्ने भो, मैले आगो र गन्धकको कुण्ड जानेबारे चिन्ता गर्नु नपर्ने भो, र मैले नरक जानेबारेमा चिन्ता गर्नुनपर्ने भो। मैले बल्ल मेरो गन्तव्य भेट्टाएको छु, मैले बल्ल स्वर्ग जाने बाटो, मानवजातिको सुन्दर गन्तव्य भेट्टाएको छु—कस्तो गज्‍जब भो!” तर यो कुरा लामो समयसम्म रहँदैन, र जब तिनीहरूले परमेश्‍वरका वचनहरूको “गन्तव्यको सम्‍बन्धमा” भन्‍ने अध्याय पढ्छन्, तब तिनीहरूले सोच्छन्: “यी वचनहरूले गन्तव्यहरूबारे के भन्छन्? परमेश्‍वरले विभिन्‍न प्रकारका मानिसहरूको गन्तव्यबारे विशिष्टीकृत रूपमा बोल्‍नुभएको छैन रहेछ। परमेश्‍वरले वास्तवमा के भनिरहनुभएको छ? मैले के गर्ने? मैले चिन्ता गर्नु हुँदैन, पढिरहनुपर्छ।” त्यसपछि, जब तिनीहरूले परमेश्‍वरले “आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्” भनेर भन्‍नुभएको देख्छन्, तब तिनीहरूले यसबारे अझै बढी सोच्छन्। “यदि म राम्रो गन्तव्य प्राप्त गर्न चाहन्छु भने, मैले पर्याप्त मात्रामा असल कार्यहरू तयार गर्नुपर्छ। अहिले परमेश्‍वरले सर्तहरू तय गर्नुभएको छ, त्यसैले यसले सजिलो बनाउँछ। मैले व्यर्थका प्रयासहरूमा संलग्‍न भएर व्यर्थमा कडा परिश्रम गरिरहनुपर्दैन—अहिले मलाई आफ्नो प्रयास कहाँ लगाउने भन्‍ने थाहा भयो।” सङ्गतिमार्फत, ख्रीष्टविरोधीहरूले असल कार्यहरू के हुन् भनेर जान्दछन्, “मार्ग” भेट्टाउँछन्, र समाधान प्राप्त गर्छन्। “यो त अत्यन्तै सरल कुरा रहेछ। दान र भेटी दिनु नै असल कार्यहरू हुन्। सुसमाचार प्रचार गर्नु र अझै धेरै मानिसहरूलाई प्राप्त गर्नु नै असल कार्यहरू हुन्। विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई सहयोग गर्नु एक असल कार्य हो। आफूले मूल्यवान् ठानेका कुराहरू अरूलाई दिनु एक असल कार्य हो। मेरो गन्तव्यको लागि, म सबै कुरा दाउमा लाउनेछु; म यी सब कुरा त्याग्‍नेछु!” तर त्यसपछि तिनीहरूले सोच्छन्, “अहँ। यदि मैले मेरो सबै पैसा र भौतिक सम्पत्तिहरू त्यागेँ भने, मैले भविष्यमा कसरी बाँच्‍ने? मैले सुरुमा परमेश्‍वरको काम कहिले समाप्त हुनेछ र कहिलेदेखि पृथ्वीमा मानिसहरूलाई आफ्नो जीवनमा यी कुराहरू आवश्यक हुनेछैन भनेर हेर्न परमेश्‍वरका वचनहरू पढ्नुपर्छ। मैले हतार गर्नु हुँदैन। तर यदि मैले यी कुराहरू प्रदान गरिनँ भने, मैले कसरी असल कार्यहरू तयार गर्न सक्छु त? केही दाजुभाइ-दिदीबहिनीहरूको अतिथिसत्कार गर्नु र अझै धेरै मानिसहरू प्राप्त गर्न सुसमाचार प्रचार गर्ने कार्य गर्नु सजिलो छ। म यी कुराहरू गर्न सक्छु।” असल कार्यहरू तयार गर्ने क्रममा, तिनीहरूले हृदयमा आफूले कति वटा असल कार्यहरू तयारी गरेका छन् र तिनीहरूको गन्तव्य कति राम्रो हुने सम्भावना छ भनेर निरन्तर हिसाबकिताब गरिरहेका हुन्छन्। “मैले धेरै असल कार्यहरू तयार गरेको छु, तर पनि परमेश्‍वरले मलाई किन निर्णयको घोषणा दिँदैनन्? परमेश्‍वरको काम अझै समाप्त भएको छैन, त्यसकारण मैले के गर्नुपर्छ? अहँ, मैले परमेश्‍वरका वचनहरूले सम्भावना र नियतिबारे अरू के भन्छन् र तिनमा अरू के-कस्ता विशिष्ट व्याख्याहरू समावेश छन् भनेर हेर्नुपर्छ।” तिनीहरूले परमेश्‍वरका वचनहरूमा बारम्बार खोजी गरिरहन्छन्। यदि तिनीहरूले आफ्नो सम्भावना र नियतिमा फाइदा पुर्‍याउने कुरा भेट्टाए भने, तिनीहरू खुशी हुन्छन्; यदि तिनीहरूले आफ्नो सम्भावना र नियतिसँग बाझिने कुरा भेट्टाए भने, तिनीहरूलाई पीडा हुन्छ। यसरी, तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्दाका वर्षहरूमा, परमेश्‍वरका वचनहरूकै कारण तिनीहरूलाई बारम्बार नकारात्मक र कमजोर महसुस हुन्छ, र उहाँका वचनहरूकै कारण तिनीहरूलाई बारम्बार सकारात्मक, खुशी, र आनन्द अनुभव हुन्छ। तर तिनीहरूमा जुनसुकै स्थिति वा भावनाहरू पैदा भए पनि, तिनीहरू आफ्नो गन्तव्य, सम्भावना, र नियतिप्रति उत्कट चाहनाबाट उम्‍कन सक्दैनन्, र तिनीहरूले परमेश्‍वरका वचनहरूमा विभिन्‍न प्रकारका मानिसहरूको परिणामसम्बन्धी निर्धारण र अभिव्यक्तिहरूबारे खोजी गरिरहन्छन्। छोटकरीमा भन्दा, तिनीहरूले परमेश्‍वरका वचनहरूमा आफूले सकेजति सारा प्रयास लगाउँछन्। तिनीहरूले परमेश्‍वरका वचनहरू जसरी पढे पनि, तिनीहरूलाई परमेश्‍वरका वचनहरूमा सत्यता, बाटो, र जीवन छ भन्‍ने कुरा थाहा हुँदैन। तिनीहरूलाई के मात्र थाहा हुन्छ भने, परमेश्‍वरका वचनहरूमा तिनीहरूले आफ्नो गन्तव्य, मानवजातिको गन्तव्य, र नरक जान तथा गन्तव्य गुमाउनबाट जोगिने उपाय भेट्टाउन सक्छन्। त्यसकारण, धेरै वर्षसम्‍म यसरी परमेश्‍वरका वचनहरू पढेपछि, तिनीहरूले के प्राप्त गरेका हुन्छन्? तिनीहरूले कैयौँ सही धर्मसिद्धान्त र आत्मिक सिद्धान्तहरूबारे कुरा गर्न सक्छन्, तर तिनीहरूले परमेश्‍वरका वचनहरूलाई परमेश्‍वरको विरोध गर्ने, परमेश्‍वरको विरुद्ध विद्रोह गर्ने, सत्यता अभ्यास नगर्ने, र सत्यतालाई पटक्‍कै प्रेम नगर्ने तिनीहरूको सारसँग कहीँकतै जोड्न सक्दैनन्।

ख्रीष्टविरोधीहरूले प्रायजसो परमेश्‍वरका वचनहरूमा रहस्यहरू सम्बन्धमा उहाँले गर्नुभएका खुलासाहरूबारे अनुसन्धान र खोजी गर्छन्। तिनीहरूले नयाँ शब्दहरू, नयाँ कुराहरू, र नयाँ अभिव्यक्तिहरूको लागि पनि उहाँका वचनहरूमा खोजी गर्छन्, यहाँसम्‍म कि हरेक व्यक्तिको लागि अज्ञात रहेका केही आत्मिक वा अन्य रहस्यहरू, जस्तै अन्जीर भनेको के हो, १,४४,००० पुरुष बालकहरूको अर्थ के हो, र विजेता भनेको के हो, साथै मानिसहरूले धेरै वर्षदेखि अनुसन्धान गरेर पनि नबुझेका प्रकाशको पुस्तकका केही अभिव्यक्ति र शब्दहरूबारे समेत खोजी गर्छन्। तिनीहरूले यी कुराहरूमा विशेष मेहनत गर्छन् र यी वचनहरूमा मानिसहरूको गन्तव्यबारे कुनै अभिव्यक्तिहरू छन् कि छैनन्, र मानिसहरूको गन्तव्यबारे कुनै स्पष्ट व्याख्याहरू छन् कि छैनन् भनेर निरन्तर खोजी र अनुसन्धान गरिरहेका हुन्छन्। तर तिनीहरूले जति नै धेरै खोजी गरे पनि, तिनीहरूको प्रयास सधैँ व्यर्थ हुन्छ। त्यसकारण, जब ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरू पढिरहेका हुन्छन्, जब परमेश्‍वरलाई पछ्याइरहेका हुन्छन्, र जब मण्डलीको बहाव अनुसार अघि बढिरहेका हुन्छन्, तब तिनीहरूले सधैँ हृदयको गहिराइमा असहज महसुस गर्छन्। तिनीहरू प्रायजसो आफैलाई सोधिरहन्छन्: “के मैले आशिष्‌हरू प्राप्त गर्न सक्छु? मेरो सम्भावना र नियति के-के हुन्? के परमेश्‍वरको राज्यमा मेरो लागि ठाउँ हुनेछ? मेरो गन्तव्य आइपुग्दा, मैले नीलो आकाशतिर नियालिरहेको हुनेछु कि म आफ्‍नै हात देख्‍न नसक्‍ने अँध्यारो संसारमा हुनेछु? मेरो गन्तव्य आखिर के हो त?” तिनीहरूले आफ्नो हृदयमा यसरी आफैलाई प्रश्‍न गरिरहँदा, तिनीहरूले चुपचाप आफ्नो हृदयको गहिराइमा परमेश्‍वरलाई पनि प्रश्‍न गरिरहेका हुन्छन्: “के म स्वर्गको राज्य प्रवेश गर्न योग्य छु? के म नरक जानबाट जोगिन सक्छु? के म यसरी पछ्याएर स्वर्गको राज्य प्रवेश गर्न सक्छु? के मैले भविष्यका आशिष्‌हरू प्राप्त गर्न सक्छु? के म आउँदो संसार प्रवेश गर्नेछु? परमेश्‍वरको मनोवृत्ति के हो? मैले मनको शान्ति पाउन सकूँ भनेर परमेश्‍वरले मलाई किन यस विषयमा सटीक र निश्‍चित अभिव्यक्ति दिँदैनन्? मेरो परिणाम आखिर के हो?” के ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरू अध्ययन गर्दा, र तिनीहरू बहाव अनुसार अघि बढ्दा र तिनीहरूसँग अघि बढ्ने बाहेक अरू कुनै विकल्‍प नहुँदा, हृदयभित्र यही कुरा सोच्दैनन् र? तिनीहरूले आफ्नो हृदयभित्र आफ्ना सम्भावना र नियतिहरूप्रति राख्‍ने मनोवृत्ति यही हो: तिनीहरूको मस्तिष्क निरन्तर यी कुराहरूले भरिएको हुन्छ, तिनीहरूले यी कुराहरूलाई मरिहत्ते गरेर पक्रिरहन्छन् र छोड्न मान्दैनन्।

जब ख्रीष्टविरोधीहरूले परमेश्‍वरको वचन अध्ययन गर्छन्, तब तिनीहरूलाई आफ्नो गन्तव्य खोज्ने र रहस्यहरू अनुसन्धान गर्ने कार्यभन्दा पनि बढी रुचि लाग्‍ने अर्को कुरा पनि छ; त्यो हो, कहिले देहधारी परमेश्‍वर पृथ्वी छोडेर जानुहुन्छ, कहिले उहाँले आफ्नो सेवकाइ समाप्त गर्नुहुन्छ, कहिले उहाँको महान्‌ अभियान पूरा हुन्छ, कहिले उहाँको काम समाप्त हुन्छ, कहिले उहाँलाई पछ्याउनेहरूले ठूलो आशिष् पाउनेछन्, र उहाँको वास्तविक व्यक्तित्व देख्‍नेछन्। तिनीहरूले परमेश्‍वरलाई पृथ्वीबाट जानुभएको देख्‍न पाउँछन् कि पाउँदैनन् भन्‍ने कुरा पनि तिनीहरूको सबैभन्दा ठूलो चिन्ताको विषय हो। परमेश्‍वरको व्यवस्थापन योजना सफलतापूर्वक पूरा हुने दिन बाहेक, तिनीहरूलाई ख्रीष्ट पृथ्वीबाट कहिले जानुहुन्छ, ख्रीष्ट पृथ्वीबाट जानुहुँदा अवस्था कस्तो हुनेछ, तिनीहरू अहिले कति वर्षका हुन्छन्, १०-२० वर्षमा ख्रीष्ट पृथ्वीबाट जानुहुँदा उहाँलाई देख्‍न तिनीहरू अझै जीवित हुन्छन् कि हुँदैनन्, तिनीहरूले यो घटना देखे भने के हुनेछ, र तिनीहरूले देख्‍न पाएनन् भने के हुनेछ भन्‍नेबारे अझै बढी चिन्ता लाग्छ; तिनीहरूको मनमा यस्ता हिसाबकिताबहरू हुन्छन्। कतिले त मनमनै सोच्छन्, “म ६० वर्षको भइसकेँ। यदि म अझै १० वर्षसम्‍म बाँचेँ भने, मैले ख्रीष्ट पृथ्वीबाट गएको देख्‍न पाउँछु, तर यदि १० वर्षभित्र परमेश्‍वरको काम समाप्त हुँदा म मरिसकेको हुन्छु भने, परमेश्‍वरमाथिको मेरो विश्‍वासको के अर्थ हुन्छ? परमेश्‍वरले मलाई यो युगमा जन्‍मिन पूर्वनिर्धारित गरेको भए पनि, यदि परमेश्‍वरको अनुयायी भएर मैले त्यस्तो महान् र ठूलो घटना देख्‍ने मौका गुमाएँ भने, मलाई आशिषित व्यक्ति मान्‍न सकिँदैन, र मैले कुनै पनि महान् आशिष्‌हरू प्राप्त गरेको हुनेछैनँ!” त्यस्ता विचारहरूले तिनीहरूमा दुःख र असन्तुष्टि पैदा गर्छन्। तिनीहरू कति हदसम्म असन्तुष्ट हुन्छन्? “म पहिले नै यति बूढो भइसकेँ; परमेश्‍वर किन अझै पृथ्वी छोडेर गएका छैनन्? परमेश्‍वरको काम किन अझै समाप्त भएको छैन? हामीले कहिले सुसमाचार प्रचार गरिसक्‍नेछौँ? परमेश्‍वरको काम तुरुन्तै समाप्त होस्, परमेश्‍वरले तुरुन्तै आफ्नो महान् अभियान पूरा गरून्, विपत्तिहरू तुरुन्तै आऊन्, परमेश्‍वरले शैतानलाई छिटो नष्ट गरून् र दुष्ट मानिसहरूलाई दण्ड दिऊन्!” तिनीहरूले के गरिरहेका छन्? के तिनीहरूले परमेश्‍वरलाई आफ्‍नो व्यक्तिगत इच्छाअनुसार काम गराउने आशा गर्दै उहाँसँग आफ्नै इच्छाको आधारमा मागहरू गरिरहेका छैनन् र? के तिनीहरूको यो इच्छाभित्र तिनीहरूका व्यक्तिगत हितहरू समावेश छैनन् र? आफ्नै हितहरूको कारण, तिनीहरू परमेश्‍वरले आफ्नो महान् काम पूरा गर्नुहोओस्, विपत्तिहरू चाँडै आऊन्, परमेश्‍वरले तुरुन्तै दुष्टलाई दण्ड र असललाई इनाम दिनुहोओस्, र परमेश्‍वरले आफ्नो महिमा प्राप्त गर्नुहोओस् भन्ने उत्कट आशा गर्छन्। तिनीहरूले आफ्नो हृदयमा के-कस्ता मनसायहरू बोकेका हुन्छन्? के तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू विचार गरिरहेका हुन्छन्? (हुँदैनन्।) तिनीहरूले के गरिरहेका हुन्छन्? (तिनीहरूले आशिष्‌हरू प्राप्त गर्ने आशा गरिरहेका हुन्छन्।) तिनीहरूले परमेश्‍वरको व्यवस्थापन योजनाको काम तिनीहरूका आफ्‍नै हित र गन्तव्यहरूको खातिर तिनीहरूको गन्तव्यमै केन्द्रित होस् भन्‍ने चाहन्छन्। के यो घृणित र लाजमर्दो कुरा होइन र? सबै मामलाहरूमा, ख्रीष्टविरोधीहरूले देखाउने सार के हो? अरू सबै कुराभन्दा माथि आफ्ना हितहरूलाई राख्‍नु, र आफ्ना हितहरूलाई सर्वोच्च पार्नु। अर्थात्, तिनीहरूले आफ्‍ना हितहरूसँग कुनै पनि कुरालाई बाझिन दिँदैनन्, चाहे त्यो परमेश्‍वरको व्यवस्थापन योजना नै किन नहोस्। जब परमेश्‍वरको काम समाप्त हुनेछ, जब उहाँको महान् अभियान पूरा हुनेछ, जब उहाँले महिमा प्राप्त गर्नुहुनेछ, र जब उहाँले मानवजातिलाई नष्ट गर्नुहुनेछ, तब यी सबै कुराहरू तिनीहरूको हित र गन्तव्यहरूमै केन्द्रित हुनुपर्छ, यी सबै कुराहरू तिनीहरूको गन्तव्यसँगै जोडिनुपर्छ। नत्रभने, तिनीहरूले परमेश्‍वरलाई इन्कार गर्नेछन्, उहाँमाथिको विश्‍वास त्याग्‍नेछन्, र उहाँलाई धिक्‍कार्ने कामसमेत गर्नेछन्।

ख्रीष्टविरोधीहरूले परमेश्‍वरको वचनलाई कसरी लिन्छन् भन्‍ने कुराको एउटा मुख्य प्रकटीकरण यसलाई अध्ययन गर्नु हो। खाट्टी अविश्‍वासीले परमेश्‍वरको वचनलाई लिने मनोवृत्ति यही हो। तिनीहरूले के अध्ययन गर्छन्? तिनीहरूले सत्यता, वा परमेश्‍वरले मानवजातिबाट के अपेक्षा गर्नुहुन्छ, वा मानवजातिलाई खुलासा गर्ने उहाँका वचनहरू, वा मानवजातिको न्याय गर्ने उहाँका वचनहरू अध्ययन गर्दैनन्, र तिनीहरूले अवश्य नै उहाँका अभिप्रायहरू पनि अध्ययन गर्दैनन्, बरु आफ्नै सम्भावना र नियति अध्ययन गर्छन्। तिनीहरूले परमेश्‍वरको वचनको जुनसुकै भाग पढे पनि, यदि यसमा तिनीहरूको सम्भावना र नियतिसँग सम्बन्धित वचनहरू छन् भने—जुन तिनीहरूलाई सबैभन्दा बढी चासो लाग्‍ने कुरा हो—तिनीहरूले त्यस्ता भागहरूलाई ध्यान दिएर अध्ययन गर्नेछन् र तिनलाई महत्त्वपूर्ण भनेर चिन्‍ह लगाउनेछन्। उदाहरणको लागि, जब तिनीहरूले तिनीहरूजस्ता मानिसहरूलाई खुलासा र चिरफार गर्ने परमेश्‍वरका वचनहरू, वा तिनीहरूजस्ता मानिसहरूको चरित्रचित्रण वा अभिव्यक्तिहरू देख्छन्, तब तिनीहरूले त्यस्ता वचनहरूलाई ध्यान दिएर अध्ययन गर्छन् र बारम्बार पढ्छन्। तिनीहरूले के खोजिरहेका हुन्छन्? के तिनीहरूले कसरी परमेश्‍वरका अभिप्रायहरू बुझ्न र अभ्यासका सिद्धान्तहरू पत्ता लगाउन सकिएला भनेर हेर्न खोजिरहेका हुन्छन्? के तिनीहरूले परमेश्‍वरको वचनद्वारा आफूलाई कसरी बुझ्न सकिन्छ भनेर हेर्न खोजिरहेका हुन्छन्? अहँ। तिनीहरूले त ती वचनहरूको भित्री कुरा पत्ता लगाउने प्रयास गरिरहेका हुन्छन्, ताकि परमेश्‍वरले तिनीहरूजस्ता मानिसहरूप्रति राख्‍नुहुने मनोवृत्ति, र परमेश्‍वरले तिनीहरूलाई घृणा र तिरस्कार गर्नुहुन्छ कि हुन्‍न, वा उहाँले तिनीहरूलाई मुक्ति दिनुहुन्छ कि हुन्न भन्‍ने कुरा स्पष्ट देख्‍न सकून्। तिनीहरूले परमेश्‍वरका ती वचनहरूको विषयवस्तु मात्र होइन, उहाँका वचनहरूको भाव र मनोवृत्ति र सोपछाडि रहेका सोचहरूबारे पनि सूक्ष्मजाँच गर्छन्। तिनीहरूले तिनीहरूजस्ता मानिसहरूको गन्तव्यसँग सम्बन्धित परमेश्‍वरको वचनका सबै भागहरू भेला गरेपछि, र तिनीहरूप्रतिको उहाँको मनोवृत्ति तिरस्कार हो, मुक्ति होइन भन्‍ने पत्ता लगाएपछि, उहाँप्रतिको तिनीहरूको विश्‍वासको मनोवृत्ति तुरुन्तै ८०-९० प्रतिशतले सेलाउँछ। तिनीहरूको हृदयमा तुरुन्तै अविश्‍वास बढ्नेछ, र तिनीहरूको मनोवृत्ति १८० डिग्री परिवर्तन हुनेछ। यो परिवर्तनको हद कति हुन्छ? तिनीहरूले आफूले गर्ने योजना बनाएका कर्तव्यहरू निर्वाह गर्न, वा आफूले त्याग्‍ने योजना बनाएका कुराहरू त्याग्‍न चाहँदैनन्। तिनीहरूले सुरुमा आफ्नो परिवारलाई सुसमाचार प्रचार गर्न चाहेका भए पनि, तिनीहरूले अब त्यसो गर्दैनन्—किनभने तिनीहरूले अब विश्‍वास गर्न छोडेका हुन्छन्, र तिनीहरूको परिवारका मानिसहरूले त झन् विश्‍वास गर्ने कुनै कुरै हुँदैन। समग्रमा भन्‍नुपर्दा, तिनीहरूले आफ्नो सबै मूल योजनाहरू नष्ट गर्नेछन् र त्याग्‍नेछन्। के परमेश्‍वरको वचनप्रति ख्रीष्टविरोधीहरूले राख्‍ने आधारभूत मनोवृत्ति यही होइन र? परमेश्‍वरको वचन अध्ययन गर्नुको तिनीहरूको उद्देश्य उहाँका अभिप्रायहरू बुझेर तिनीहरू उहाँप्रति बफादार हुन सकून् भनी सत्यता पछ्याउनु र सत्यता अभ्यास गर्ने सिद्धान्तहरू खोज्नु होइन; तिनीहरूको उद्देश्य त परमेश्‍वरले तिनीहरूजस्ता मानिसहरूका परिणाम र गन्तव्यहरू कसरी निर्धारित गर्नुहुन्छ भन्‍ने बारेमा सटीक अभिव्यक्ति खोज्नु हो। जब तिनीहरूले आशाको सानो किरण भेट्छन्, तब तिनीहरूले त्यसलाई ज्यान जाला छोड्दैनन्; त्यो आशाको सानो किरणको लागि, तिनीहरूले सबै कुरा त्याग्‍न सक्छन्, र तिनीहरूको मनोवृत्ति नाटकीय रूपमा परिवर्तन हुन्छ। तर जब आशिष्‌हरू प्राप्त गर्ने तिनीहरूको सबै आशा तोडिएको हुन्छ, तब तिनीहरूको मनोवृत्ति फेरि पनि नाटकीय रूपमा परिवर्तन हुन्छ, यहाँसम्म कि तिनीहरूले आफ्नो विश्‍वास नै गुमाउँछन् र धोकाको सहारा लिन्छन्, र आफ्नो हृदयमा परमेश्‍वरलाई श्रापसमेत दिन्छन्। ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरू यिनै हुन्।

परमेश्‍वरका वचनहरू अध्ययन गर्ने क्रममा, ख्रीष्टविरोधीहरूले अवश्य नै व्यक्तिगत फाइदा खोजी गर्न पनि ती वचनहरू प्रयोग गर्नेछन्। कस्तो खाले फाइदा? परमेश्‍वरका वचनहरू अध्ययन गर्ने क्रममा, तिनीहरूले परमेश्‍वरको वाणीका नियमहरू के-के हुन्, उहाँले मानिसहरूलाई काटछाँट गर्नुहुँदा उहाँको बोलीको भाव कस्तो हुन्छ, उहाँले मानवजातिलाई खुलासा गर्नुहुँदा उहाँको बोल्ने तरिका कस्तो हुन्छ, उहाँले मानिसहरूलाई कसरी सान्त्वना र अर्ती दिनुहुन्छ, उहाँले के-कस्ता विधिहरू प्रयोग गर्नुहुन्छ, र उहाँमा कस्तो बुद्धि छ भन्‍ने कुराहरू सारांशित गर्छन्। ख्रीष्टविरोधीहरू परमेश्‍वरले कसरी बोल्नुहुन्छ र काम गर्नुहुन्छ भनेर सिक्‍न र अनुकरण गर्नमा विशेषज्ञ हुन्छन्; साथसाथै, तिनीहरूले अरूसँग बोल्न र सङ्गति गर्नको लागि परमेश्‍वरले आम रूपमा बोल्नुहुने शब्दहरू पनि प्रयोग गर्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरू अध्ययन गर्ने क्रममा, निरन्तर आफूलाई तीभित्र रहेका विभिन्‍न सत्यताका वचनहरूले सुसज्जित गरिरहेका हुन्छन्, र तिनलाई आफ्नै कुराहरूमा परिणत गरिरहेका हुन्छन्, र यसरी तिनीहरूले काम गर्न र पूँजी बटुल्‍न परमेश्‍वरका ती वचनहरू प्रयोग गरिरहेका हुन्छन्। यो पूँजीले केलाई जनाउँछ? उदाहरणको लागि, तिनीहरूले के विश्‍वास गर्छन् भने[क], भेलामा जो सही शब्‍द र धर्मसिद्धान्तहरू बोल्न बढी सक्षम छ, जसलाई परमेश्‍वरका धेरै वचनहरू याद छ, जसले परमेश्‍वरका धेरै वचनहरू उद्धृत गर्छ, र जसले परमेश्‍वरका धेरै वचनहरू व्याख्या गर्छ, ऊ मण्डलीमा सबैभन्दा बढी मुक्ति पाउन सक्‍ने व्यक्ति हुन सक्छ। ख्रीष्टविरोधीहरूले जे गरे पनि, यो तिनीहरूको सम्भावना र नियतिसँग सम्बन्धित हुन्छ। तिनीहरूले कहिल्यै पनि परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा अभ्यास गर्नेछैनन्, न त तिनीहरूले परमेश्‍वरका वचनहरू अभ्यास गर्न कष्ट भोग्‍नेछन् न त मूल्य नै चुकाउनेछन्। बरु, तिनीहरूले मानिसहरूलाई बहकाउन, आफ्नो प्रतिष्ठा उचाल्न, र आफ्नो मुक्तिको लागि पर्याप्त अवस्थाहरू तयार पार्न परमेश्‍वरका वचनहरू प्रयोग गर्नेछन्। त्यसकारण, ख्रीष्टविरोधीहरूले परमेश्‍वरको वचनलाई कसरी लिन्छन् भन्‍ने कुराको सार के हो भने, तिनीहरूले चाहे जहिलेसुकै होस् परमेश्‍वरको वचनलाई कहिल्यै पनि सत्यता वा मानिसहरूले पछ्याउनुपर्ने मार्गको रूपमा लिँदैनन्। ख्रीष्टविरोधीहरूले हरेक दिन परमेश्‍वरका वचनहरू माथि उठाएर पढे पनि, र उहाँका वचनहरूको वाचन सुने पनि, एउटा कुरा निश्‍चित छ: तिनीहरूले परमेश्‍वरका वचनहरू अभ्यास गर्दैनन्। जब उहाँका वचनहरू अभ्यास गर्ने समय आउँछ, तब तिनीहरूको इमानदारिता हराउँछ—तिनीहरूले आफ्नै सम्भावना र नियतिको लागि मात्रै षड्यन्त्र गर्छन्। बाहिरी रूपमा, तिनीहरूले आफूलाई परमेश्‍वरका वचनहरूलाई प्रेम गर्ने र तिनको तृष्णा गर्ने व्यक्तिको रूपमा प्रस्तुत गर्छन्। तर वास्तवमा, हरेक दिन परमेश्‍वरका वचनहरू पढ्ने र सङ्कलन गर्ने क्रममा, तिनीहरूको उद्देश्य भनेको आफ्नो मुक्तिका सर्तहरू हासिल गर्नु भन्‍ने हुन्छ; र यसको सट्टामा तिनीहरूले परमेश्‍वरप्रति आफ्‍नो राम्रो छाप परोस् भन्‍ने आशा लिएका हुन्छन्। तिनीहरू परमेश्‍वरले मानिसहरूको हृदय छानबीन गर्नुहुन्छ भनेर विश्‍वास गर्दैनन्—तिनीहरूलाई मानिसहरूले बाहिरी रूप मात्रै हेर्छन्, त्यसकारण परमेश्‍वरले पनि बाहिरी रूप मात्रै हेर्नुपर्छ भन्‍ने थाहा हुन्छ, त्यसकारण यी मामलाहरूमा तिनीहरूले ढाकछोप र छलछाम गर्छन्, र चलाकीको सहारा लिन्छन्। तिनीहरूले सोच्छन्, “मैले बाहिरी रूपमा मात्रै यो काम गर्नुपर्छ। मैले हृदयमा जे सोचे पनि त्यसले फरक पर्दैन—मानिसहरूले यो कुरा देख्‍न सक्दैनन्, न त परमेश्‍वरले नै देख्‍न सक्छन्। वास्तवमा, मैले परमेश्‍वरका वचनहरू जसरी पढे नि, मैले साँचो सृजित प्राणी बन्‍नलाई यसो गरिरहेको छैनँ। यदि मेरा सम्भावना र नियतिहरू संलग्‍न नभएका भए, मैले यो कठिनाइ भोग्‍नेथिइनँ, न त मैले यो पिरमर्का नै सहनेथिएँ!” तिनीहरूको मनमा परमेश्‍वरका वचनहरू जति नै राम्रा सुनिए पनि, ती पूरा हुन सक्दैनन्, र मानिसहरू तिनमा जिउन सक्दैनन्। केही मानिसहरू थोरै मात्रामा परमेश्‍वरका वचनहरू अनुसार जिए पनि, तिनीहरूले अवश्य नै आफ्नो उद्देश्यको लागि पनि त्यसो गरिरहेका हुन्छन्। गैरविश्‍वासीहरूले भन्छन्, “सित्तैमा केही पनि पाइँदैन।” तिनीहरूले मनमनै सोच्छन्, “हामीले परमेश्‍वरमाथिको हाम्रो विश्‍वासको लागि, हरदिन उहाँका वचनहरू पढ्दै र सुन्दै, र उहाँका वचनहरू अनुसार जिउँदै, यस्ता कठिनाइहरू भोग्छौँ—यो सब केको लागि हो? के यो एउटै उद्देश्यको लागि मात्रै होइन र? यो सब आफ्‍ना सम्भावना र नियतिको लागि हो भन्‍ने कुरा सबैलाई हृदयमा राम्ररी थाहा हुन्छ; नत्र, हामी किन यहाँ कष्ट भोग्‍न सांसारिक दुनियाँ पछ्याउने सुन्दर समय त्याग्थ्यौँ र?” यो मामलामा, तिनीहरूले कुन तथ्य इन्कार गरेका छन्? परमेश्‍वरको वचन सत्यता हो, र सत्यताले मानिसहरूलाई मुक्ति दिन, परिवर्तन गर्न, र भ्रष्ट स्वभाव त्याग्‍न सहयोग गर्न सक्छ। के परमेश्‍वरको वचनले ल्याउन सक्‍ने परिणाम यही होइन र? (हो।) के ख्रीष्टविरोधीहरूले यो तथ्य स्वीकार गर्छन्? तिनीहरूले यसो भन्दै यो तथ्य इन्कार गर्छन्: “सबैले परमेश्‍वरको वचनले मानिसहरूलाई मुक्ति दिन सक्छ भनेर दाबी गर्छन्, तर यसले कसलाई मुक्ति दिएको छ? कसले यस्तो भएको देखेको छ? म किन यसमा विश्‍वास गर्दिनँ?” परमेश्‍वरको वचनले मानिसहरूलाई मुक्ति दिन, मानिसहरूलाई परिवर्तन गर्न, र शैतानको भ्रष्ट स्वभावबाट मुक्त हुन सहयोग गर्न सक्छ भनेर किन भनिन्छ? किनभने परमेश्‍वरको वचन सत्यता हो, र यो मानिसहरूको जीवन बन्‍न सक्छ। जब मानिसहरूसित आफ्नो जीवनको रूपमा परमेश्‍वरको वचन हुन्छ, तब तिनीहरूले मुक्ति पाउन सक्छन्; तिनीहरू मुक्ति पाउनेहरू बन्छन्। ख्रीष्टविरोधीहरूले यो तथ्य स्वीकार गर्दैनन्। तिनीहरू के विश्‍वास गर्छन् भने, आशिष्‌हरू प्राप्त गर्न र राम्रो गन्तव्य प्राप्त गर्नलाई मात्र मानिसहरू अहिले जहाँ छन् त्यहाँ पुगेका हुन्, र मानिसहरूले परमेश्‍वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्नुको एउटै मात्र कारण यही हो। तिनीहरूले परमेश्‍वरको वचनका प्रतिफलहरू इन्कार गर्छन्, सत्यताले मानिसहरूमा हासिल गर्ने परिणामहरू इन्कार गर्छन्, र सत्यताले मानिसहरूलाई विजय गर्न, परिवर्तन गर्न, र मुक्ति दिन सक्छ भन्‍ने कुरा इन्कार गर्छन्। तिनीहरूले के विश्‍वास गर्छन् भने, मानिसहरूले आफ्ना सम्भावना र नियतिबारे चिन्ता गरेर अनि तिनलाई पछ्याउनको लागि मात्रै परमेश्‍वरलाई पछ्याउँछन्। तिनीहरूले परमेश्‍वरको वचनले मानिसहरूलाई परिवर्तन गर्न सक्छ, परमेश्‍वरप्रति बफादार बनाउन सक्छ, परमेश्‍वरमा निःसर्त समर्पित हुने तुल्याउन सक्छ, वा परमेश्‍वरको घरमा सृजित प्राणीहरूको रूपमा कर्तव्य निर्वाह गर्ने तुल्याउन सक्छ भन्‍ने कुरामा विश्‍वास गर्दैनन्—तिनीहरूले यीमध्ये कुनै कुरामा पनि विश्‍वास गर्दैनन्। त्यसकारण, आफ्ना हितहरूलाई पहिलो प्राथमिकता दिने ख्रीष्टविरोधीहरू आफैले सत्यता खोजी गर्दैनन्; परमेश्‍वरका वचनहरूलाई एक प्रकारको अलङ्कार, एक प्रकारको अभिव्यक्तिको रूपमा लिन्छन्, र परमेश्‍वरका यी वचनहरूले मानिसहरूलाई मुक्ति दिन सक्छन् भन्‍ने कुरामा विश्‍वास गर्दैनन्। तिनीहरूले के विश्‍वास गर्छन् भने, परमेश्‍वरप्रति इमानदार र बफादार रहेका सबै मानिसहरू नक्कली हुन् र तिनीहरूका आफ्नै हितहरू संलग्‍न भइरहेका हुन्छन्। तिनीहरूले जति धेरै परमेश्‍वरका वचनहरू सुने पनि, तिनीहरूले जति धेरै परमेश्‍वरका प्रवचनहरू सुने पनि, अन्त्यमा तिनीहरूको हृदयमा रहने भनेका ती दुई शब्‍द मात्रै हुन्—सम्भावना र नियति। अर्थात्, परमेश्‍वरका वचनहरू, परमेश्‍वरको काम, र परमेश्‍वरको व्यवस्थापन योजनाले मानिसहरूका लागि असल सम्भावना र नियति ल्याउन सक्छन्, तिनीहरूका लागि राम्रो गन्तव्य ल्याउन सक्छन्। ख्रीष्टविरोधीहरूको लागि, यो नै सबैभन्दा साँचो कुरा हो, यो नै सबैभन्दा सर्वोच्च सत्यता हो। यदि यस्तो नहुँदो हो त, पहिलो कुरा त तिनीहरूले परमेश्‍वरमा विश्‍वास नै गर्नेथिएनन्। दोस्रो कुरा, तिनीहरूले परमेश्‍वरको घरमा रहन यस्ता पिरमर्काहरू सहनेथिएनन्। तेस्रो कुरा, तिनीहरूले परमेश्‍वरको घरमा कुनै कर्तव्य निर्वाह गर्नेथिएनन्। चौथो कुरा, तिनीहरूले परमेश्‍वरको घरमा कुनै कठिनाइ भोग्‍नेथिएनन्। अनि पाँचौँ कुरा, तिनीहरू धन र वैभवमा रमाउन, संसारको पछि लाग्‍न, ख्याति र प्राप्तिको पछि लाग्‍न, पैसाको पछि लाग्‍न, र दुष्ट प्रचलनहरूका पछि लाग्‍न धेरै पहिले नै सांसारिक जीवनमा फर्केर जानेथिए। तिनीहरूको सम्भावना र नियति संलग्‍न भएकोले मात्रै अहिले तिनीहरू अस्थायी रूपमा परमेश्‍वरको घरमा बसेका हुन्छन्। तिनीहरूसँग आफ्नो सम्भावना र नियति सुरक्षित गर्नेबारे दृढ मनोवृत्ति हुन्छ, र सँगसँगै परमेश्‍वरको काम समाप्त भएपछि, स्वर्गको राज्य प्रवेश गर्ने र महान् आशिष्‌हरू प्राप्त गर्नेहरूमध्ये एक हुने आशा गर्दै जोखिम लिने मानसिकता पनि हुन्छ। यो कस्तो मानसिकता हो? तिनीहरू आफ्नो उद्देश्य हासिल गर्न परमेश्‍वरबाट नाफा खोज्न चाहन्छन्, तैपनि उहाँमा समर्पित हुन चाहँदैनन्; यसको साथै, तिनीहरू परमेश्‍वरले बोल्‍नुभएका सबै वचनहरूमा विश्‍वास पनि गर्दैनन्, न त तिनीहरू परमेश्‍वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ भन्‍ने कुरामै विश्‍वास गर्छन्। के यो अलिक दुष्टता होइन र? परमेश्‍वरको वचन अध्ययन गर्ने तिनीहरूको मनोवृत्तिको हकमा, तिनीहरू अविश्‍वासीहरू हुन्। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरू अनुसन्धान गर्न, पढ्न, र तीप्रति व्यवहार गर्न यस्तो मनोवृत्ति प्रयोग गर्न सक्छन् भन्‍ने कुराले तिनीहरू पक्का अविश्‍वासीहरू, शिरदेखि पाउसम्‍मै पूरै अविश्‍वासीहरू हुन् भन्‍ने देखाउँछ। त्यसोभए तिनीहरू किन अझै पनि परमेश्‍वरको घरमा केही सतही काम गर्न र पछि नहटी पछ्याइ जारी राख्‍न सक्छन्? तिनीहरूलाई जेजसरी काटछाँट गरिए पनि, तिनीहरू किन मण्डली जीवनमा रहन र सहभागी हुन सक्छन्, र परमेश्‍वरका वचनहरू सुन्ने र पढ्ने कार्य जारी राख्‍न सक्छन्? किन यस्तो हुन्छ? (तिनीहरूले आशिष् प्राप्त गर्न चाहन्छन्।) किनभने तिनीहरूले आशिष्‌हरू प्राप्त गर्न चाहन्छन्। गैरविश्‍वासीहरूको भनाइ नै छ, “जसले मलाई खुवाउँछ ऊ मेरी आमा हो; जसले मलाई पैसा दिन्छ ऊ मेरो बुबा हो।” यो कस्तो तर्क हो? के यो तर्क संसारसँग व्यवहार गर्ने शैतानको दर्शनले भरिएको छैन र? यो शैतानी दर्शनको प्रभावमा बसेर तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्: “तिमीले जस्तोसुकै असाधारण काम गरेको भए नि—तिम्रो स्वभाव वा सार जस्तोसुकै भए पनि मतलब छैन, तर तिमीले मलाई आशिष्, असल गन्तव्य, र असल भविष्य दिन सक्छौ भने, र मलाई ठूला आशिष्‌हरू प्रदान गर्न सक्छौ भने, अहिलेको लागि म तिमीलाई पछ्याउनेछु र परमेश्‍वरको रूपमा हेर्नेछु।” के यहाँ साँचो विश्‍वासको कुनै तत्त्व छ? (छैन।) त्यसकारण, तिनीहरूले परमेश्‍वरका वचनहरूलाई कसरी लिन्छन् भन्‍ने हिसाबमा, त्यस्ता मानिसहरूलाई ख्रीष्टविरोधी र अविश्‍वासी भनेर चित्रण गर्नु अत्यन्तै सटीक हुन्छ!

फूटनोटहरू:

क. मूल पाठमा “तिनीहरूले के विश्‍वास गर्छन् भने” भन्‍ने वाक्यांश समावेश छैन।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्