विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग पाँच) खण्ड चार
छैटौँ घटना: खान र लाउनका लागि पद प्राप्त गर्न अथक प्रयास गर्नु
परमेश्वरमा विश्वास गरेपछि, धेरै मानिस सधैँ हैसियत पछ्याउँछन् र अरूले तिनीहरूलाई वरिष्ठ ठानून् भन्ने कुराको पछि लाग्छन्। परमेश्वरको घरमा, तिनीहरू सधैँ भीडभन्दा माथि उठ्न र बगालको अगुवा हुन चाहन्छन्। यी कुराहरूको खातिर, तिनीहरू आफ्नो परिवार त्याग्छन् र आफ्नो करियर छोड्छन्, कठिनाइ भोग्छन् र मूल्य चुकाउँछन्, र त्यसपछि अन्त्यमा तिनीहरू आफ्नो इच्छा प्राप्त गर्छन् र अगुवा बन्छन्। अगुवा बनेपछि, यी मानिसहरूको जीवन साँच्चिकै फरक हुन्छ। तिनीहरू पदमा रहेका मानिसहरू कस्ता हुन्छन् भनेर कल्पना गरेको छवि र शैलीको हरेक पक्ष प्रकट गर्छन्, अर्थात् तिनीहरू कपडा लगाउने र मेकअप गर्ने शैलीदेखि, तिनीहरूले बोल्ने र व्यवहार गर्ने शैलीसम्म सबै प्रकट गर्छन्। तिनीहरूले पदाधिकारीजस्तै गरी कसरी बोल्ने, मानिसहरूलाई कसरी आदेश दिने, र मानिसहरूलाई तिनीहरूको व्यक्तिगत मामलाहरू कसरी सम्हाल्न लगाउने भनेर सिक्छन्। सरल रूपमा भन्नुपर्दा, तिनीहरूले पदाधिकारी कसरी बन्ने भनेर सिक्छन्। जब तिनीहरू अगुवा हुन कुनै ठाउँ जान्छन्, तब यसको अर्थ तिनीहरू त्यहाँ पदाधिकारी बन्न गइरहेका हुन्छन्। पदाधिकारी बन्नु भनेको के हो? तिनीहरू “खान र लाउनका लागि पद प्राप्त गर्न अथक प्रयास गर्छन्।” यो शारीरिक सुखसँग सम्बन्धित कुरा हो। अगुवा बनेपछि, तिनीहरूको जीवनमा पहिलेको भन्दा के कुरा फरक हुन्छ? तिनीहरूले खाने-लाउने कुराहरू र तिनीहरूले प्रयोग गर्ने कुराहरू फरक हुन्छन्। जब तिनीहरू केही खान्छन्, तब यसलाई पोसिलो र स्वादिलो बनाउनेबारे विशेष ध्यान दिन्छन्। तिनीहरू आफूले लगाउने लुगाको ब्रान्ड र शैलीप्रति विशेष ध्यान दिन्छन्। कुनै निश्चित स्थानमा एक वर्ष अगुवा बनेपछि, तिनीहरू फिका बनेका र मोटाएका हुन्छन्; तिनीहरू शिरदेखि पाउसम्म डिजाइनर वस्त्र लगाउँछन्; र तिनीहरूको सेलफोन, कम्प्युटर र तिनीहरूको घरका उपकरणहरू सबै उच्च स्तरीय ब्रान्डका हुन्छन्। के तिनीहरू अगुवा बन्नुभन्दा पहिले तिनीहरूसँग यी अवस्थाहरू थिए त? (थिएनन्।) अगुवा बनेपछि तिनीहरूले पैसा कमाउन मेहनत गरेनन्, र पनि तिनीहरूले यी सबै कुरा किन्ने पैसा कहाँबाट प्राप्त गरे? दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई यी कुराहरू अनुदान दिएका हुन् कि परमेश्वरको घरले तिनीहरूलाई यी कुराहरू विनियोजन गरिदिएको हो? के परमेश्वरको घरले हरेक अगुवा र कामदारलाई यस्ता कुराहरू विनियोजन गरिदिएको छ भनेर तिमीहरूले कहिल्यै सुनेका छौ? (छैनौँ।) त्यसोभए, तिनीहरूले यी कुराहरू कसरी प्राप्त गरे त? चाहे जेसुकै भए पनि, यी तिनीहरूले आफ्नै परिश्रमद्वारा प्राप्त गरेका कुराहरू थिएनन्; बरु, यी त तिनीहरूले हैसियत प्राप्त गरेपछि र “पदाधिकारी” बनेपछि र हैसियतका फाइदाहरूको आनन्द लिन थालेपछि, अरूबाट धुतेर अनि ठगी र हिनामिना गरेर प्राप्त गरेका कुराहरू थिए। जुनसुकै ठाउँका मण्डलीहरू भए पनि, के त्यहाँ तिमीहरू सम्पर्कमा आएका सबै स्तरका अगुवा र कामदारहरूमाझ यस्ता मानिसहरू थिए? तिनीहरू पहिलोपटक अगुवा बन्दा, तिनीहरूसँग केही पनि हुँदैन, तर तीन महिनाभन्दा कम अवधिमा तिनीहरूसँग उच्चस्तरीय ब्रान्डका कम्प्युटर र मोबाइलहरू हुन्छन्। अगुवा बनेपछि, कतिपय मानिस अरूबाट उच्चस्तरीय विशेष व्यवहार पाउनुपर्छ भन्ने सोच्छन्—बाहिर जाँदा तिनीहरूलाई कार चढ्नुपर्छ; तिनीहरूले प्रयोग गर्ने कम्प्युटर र मोबाइलहरू औसत मानिसहरूले प्रयोग गर्नेभन्दा राम्रो, र उच्चस्तरीय ब्रान्डको हुनुपर्छ, र मोडल पुरानो भएपछि तिनीहरूलाई यसको सट्टा नयाँ लिनुपर्छ। के परमेश्वरको घरमा यी नियमहरू छन्? परमेश्वरको घरमा कहिले पनि यी नियमहरू रहेका छैनन्, र यस्तो सोच्ने दाजुभाइ-दिदीबहिनी कोही छैनन्। त्यसोभए यी अगुवाहरूले प्राप्त गर्ने यी कुराहरू कहाँबाट आएका हुन्छन्? एक हिसाबमा, तिनीहरूले परमेश्वरको घरको काम गर्ने बहाना बनाएर दाजुभाइ-दिदीबहिनीहरूलाई धुतेर अनि धनी मानिसहरूलाई यी कुराहरू किन्न लगाएर यी कुराहरू प्राप्त गरेका हुन्छन्। यसबाहेक, तिनीहरूले भेटीहरू दुरुपयोग गरेर अनि चोरेर यी कुराहरू आफै किनेका पनि हुन्छन्। के तिनीहरू ठगेर खाने-पिउने घिचुवाहरू होइनन् र? के यो मैले यसअघि उल्लेख गरेका घटनाका मानिसहरूभन्दा फरक छ? (छैन।) तिनीहरूको के कुरा समान छ? तिनीहरू सबैले भेटीहरू हिनामिना गर्न र भेटीहरू धुतेर लिन आफ्नो पद प्रयोग गरे। कतिपय मानिस भन्छन्, “परमेश्वरको घरमा काम गरेपछि र अगुवा वा कामदार बनेपछि, के तिनीहरू यी कुराहरूको आनन्द लिन योग्य हुँदैनन् र? के तिनीहरू परमेश्वरसँगै उहाँका भेटीहरूमा सहभागी हुन योग्य हुँदैनन् र?” मलाई भन त, हुन्छन् त? (हुँदैनन्।) यदि तिनीहरूले परमेश्वरको घरको काम गर्न केही कुरा किन्नुपर्यो भने, यस्तो अवस्थामा लागू हुने परमेश्वरको घरका नियमहरू छन् जसले तिनीहरूले ती कुरा किन्न सक्छन् भनेर भन्छन्, तर के यी मानिसहरूले ती नियमका सर्तहरूअनुसार यस्ता कुरा किनिरहेका हुन्छन् त? (हुँदैनन्।) तिनीहरूले यसो गरिरहेका हुँदैनन् भन्ने देखाउने के कुरा तिमीहरूले देख्यौ? (यदि तिनीहरूलाई कामका लागि साँच्चै यसको आवश्यकता थियो भने, तिनीहरूले जबसम्म कुनै कुरा प्रयोग गर्न मिल्ने अवस्था हुन्छ, तबसम्म त्यो कुरा ठिकै हुन्छ भनेर सोच्नेथिए, तर ख्रीष्टविरोधीहरू उच्चस्तरीय डिजाइनर कुराहरू पछ्याउँछन्, र तिनीहरू सबैभन्दा उत्कृष्ट कुराहरू मात्रै प्रयोग गर्छन्। यसबाट मूल्याङ्कन गर्दा, तिनीहरूले यी भौतिक कुराहरूको आनन्द लिनलाई आफ्नो हैसियत प्रयोग गरिरहेका छन् भनेर देख्न सकिन्छ।) ठिक भन्यौ। यदि कामका लागि चाहिएको हो भने, कुनै कुरा प्रयोग गर्न मिल्ने अवस्था भए नि भइहाल्थ्यो। तिनीहरूलाई किन त्यस्ता सानदार र महँगा कुराहरू प्रयोग गर्नुपर्यो? साथै, तिनीहरूले यी कुराहरू किन्दा के अरू मानिसले निर्णयमा भाग लिएर यसमा सहमति जनाएका थिए? के यो समस्या होइन र? यदि अरू मानिसले निर्णयमा भाग लिएका भए, के तिनीहरू सबैले यी उच्चस्तरीय सरसामान किन्न सहमति जनाउन सक्थे? अवश्य नै सक्दैनथे। यो कुरा अत्यन्तै स्पष्ट छ, तिनीहरूले भेटीहरू चोरेर यी कुराहरू प्राप्त गरेका हुन्। यो घाम जतिकै छर्लङ्ग छ। यसका साथै, परमेश्वरको घरको एउटा नियम छ—हरेक मण्डलीमा, भेटीको रक्षा गर्नु र काम गर्न सहकार्य गर्नु कहिल्यै एउटै व्यक्तिको मात्र काम हुँदैन। त्यसैले, यी मानिसहरूले व्यक्तिगत रूपमा किन आफूले चाहेअनुसार भेटीहरू प्रयोग र खर्च गर्न सक्छन्? यो सिद्धान्तहरूअनुरूप छैन। के तिनीहरूले गर्ने यी कुराहरू भेटी चोर्ने प्रकृतिको कार्य होइन र? तिनीहरूले अरू अगुवा र कामदारहरूको सहमति र अनुमोदन नलिई, अरूलाई जानकारी नदिई, र तिनीहरूले के गरिरहेका छन् भनेर अरू कसैलाई थाहा नभई यी कुराहरू किने र प्राप्त गरे। के यसको प्रकृति केही हदसम्म चोरी गर्नुको प्रकृतिजस्तै छैन र? भेटी चोर्नु भनेको यही हो। चोर्नु भनेको छल्नु हो। यसलाई किन छल्नु भनिन्छ? किनभने तिनीहरूले परमेश्वरको घरको काम गर्ने बहानामा यी विलासिताका कुराहरू किने र प्राप्त गरे। यस्तो व्यवहारलाई ठगी भनिन्छ, र यसलाई छल भनिन्छ। के मैले यसलाई यसरी चित्रण गरेर म हदभन्दा पर गएको छु? के मैले तीललाई पहाड बनाइरहेको छु? (छैन।) यति मात्र होइन, यी तथाकथित अगुवाहरूले त केही समय एउटै ठाउँमा बसेपछि, त्यहाँका दाजुभाइ-दिदीबहिनीहरू बाह्य संसारमा के काम गर्छन्, तिनीहरूसँग के-कस्ता सामाजिक सम्पर्कहरू छन्, र यी मानिसहरूबाट तिनीहरूले के-कस्ता फाइदाहरू धुत्न र प्राप्त गर्न सक्छन्, र तिनीहरूले के-कस्ता सम्पर्कहरू प्रयोग गर्न सक्छन् भन्ने कुराहरू स्पष्टसँग पत्ता लगाउँछन्। उदाहरणका लागि, कसले अस्पताल, सरकारी विभाग, वा बैङ्कमा काम गर्छ, वा को उद्यमी हो, कुन परिवारको पसल, कार, वा ठूलो घर छ, आदि इत्यादि कुराहरू तिनीहरू स्पष्टसँग पत्ता लगाउँछन्। के यी कुराहरू यी अगुवाहरूको कामको दायराभित्र पर्छन् त? तिनीहरूले यी कुराहरू पत्ता लगाएर के गरिरहेका हुन्छन्? तिनीहरू यी सम्पर्कहरू प्रयोग गर्न चाहन्छन्, र आफ्ना लागि सेवा प्रदान गर्न लगाउन, आफ्नो सेवामा लगाउन, र आफूलाई सुविधाहरू प्रदान गर्न लगाउन बाह्य संसारमा विशेष पद भएका यी दाजुभाइ-दिदीबहिनीहरूलाई प्रयोग गर्न चाहन्छन्। के तिनीहरूले मण्डलीको काम गर्न, र परमेश्वरका चुनिएका मानिसहरूका कठिनाइहरू समाधान गर्नका लागि सत्यतामा सङ्गति गर्न यसो गरिरहेका छन् भन्ने तँलाई लाग्छ? के तिनीहरूले त्यही गरिरहेका हुन्छन् त? तिनीहरूले गर्ने यी सबै कुरापछाडि एउटा अभिप्राय र उद्देश्य लुकेको हुन्छ। जब साँचो अगुवा र कामदारहरू काम गर्छन्, तब तिनीहरू समस्याहरू समाधान गर्ने, र मण्डलीको काम राम्ररी गर्ने कार्यमा ध्यान दिन्छन्। तिनीहरू मण्डलीको कामसँग कुनै सम्बन्ध नभएका कुराहरूमा ध्यान दिँदैनन्। तिनीहरू मण्डलीमा कसले इमानदारीसाथ आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ, आफ्नो कर्तव्यमा को प्रभावकारी छ, कसले सत्यता स्वीकार र अभ्यास गर्न सक्छ, र आफ्नो कर्तव्य निभाउनमा को बफादार छ भनेर सोधखोज गर्नमा मात्रै ध्यान दिन्छन्। त्यसपछि, तिनीहरू ती मानिसहरूलाई बढुवा गर्छन्, अनि अवरोध र बाधाहरू ल्याउने मानिसहरूबारे अनुसन्धान गर्छन् र सिद्धान्तअनुसार तिनीहरूलाई निराकरण गर्छन्। यसरी अभ्यास गर्ने मानिसहरू मात्र साँचो अगुवा र कामदार हुन्। के ख्रीष्टविरोधीहरू यी कुराहरू गर्छन्? (गर्दैनन्।) तिनीहरू के गर्छन्? तिनीहरू आफूले इच्छा गरेका कुराहरू प्राप्त गर्न, र आफ्नै हितहरूका लागि कामकाज र तयारी गर्छन्, तर आफूलाई मण्डलीको काममा समर्पित गर्दैनन्, र यसलाई महत्त्वपूर्ण ठान्दैनन्। त्यसकारण, तिनीहरूले कुनै निश्चित स्थानमा आफ्नो दह्रिलो पकड प्राप्त गरेपछि, कुन-कुन दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई के-कस्ता सेवाहरू प्रदान गर्न सक्छन् भन्ने कुरा लगभग थाहा पाइसकेका हुन्छन्। उदाहरणका लागि, औषधि कारखानामा काम गर्ने व्यक्तिले तिनीहरू बिरामी हुँदा निःशुल्क औषधि दिन सक्छ, र तिनीहरूलाई उच्च गुणस्तरको आयातित औषधि दिन सक्छ; जसले बैङ्कमा काम गर्छ उसले तिनीहरूलाई पैसा जम्मा गर्न वा निकाल्न सहज बनाइदिन सक्छ; र यस्तै आदि इत्यादि। तिनीहरू यी सबै कुरा स्पष्ट रूपमा पत्ता लगाउँछन्। यी मानिसहरूको मानवता असल छ कि छैन भन्ने कुराबारे कुनै विचार नगरी तिनीहरू यी मानिसहरूलाई आफ्नो अघि भेला गर्छन्। जबसम्म यी मानिसहरू तिनीहरूलाई पछ्याउन र तिनीहरूको सहयोगी र दाहिने हात बन्न तयार हुन्छन्, तबसम्म ख्रीष्टविरोधीहरूले यी मानिसहरूलाई इच्छित कुराहरू दिनेछन्, र तिनीहरूलाई नजिक राख्नेछन् अनि पोषण र सुरक्षा प्रदान गर्नेछन्, र यस क्रममा यी मानिसहरूले मण्डलीमा यी ख्रीष्टविरोधीहरूको स्थान दह्रिलो बनाउन, र यी ख्रीष्टविरोधीहरूको शक्ति कायम राख्न काम गर्नेछन्। त्यसैले, जब तँ मण्डली अगुवाले वास्तविक काम गरिरहेको छ कि छैन भनेर हेर्न चाहन्छस्, तब तिनीहरूलाई त्यो मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूको वास्तविक अवस्था कस्तो छ, र मण्डलीको काम कसरी अघि बढिरहेको छ भनेर सोध्, अनि तैँले तिनीहरू वास्तवमा वास्तविक काम गर्ने मानिस हुन् कि होइनन् भन्ने कुरा स्पष्ट देख्न सक्नेछस्। कतिपय मानिसले मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूको पारिवारिक मामला र जिउने परिस्थिति स्पष्टसित पत्ता लगाउँछन्। यदि तैँले तिनीहरूलाई औषधी कारखानामा कसले काम गर्छ, कुन परिवारको पसल छ, कुन परिवारको कार छ, कुन परिवारले ठूलो व्यापार गर्छ, वा कसले स्थानीय विभागमा काम गर्छ र दाजुभाइ-दिदीबहिनीहरूको काम गरिदिन सक्छ भनेर सोधिस् भने, तिनीहरूले तँलाई स्पष्टसित बताउन सक्छन्। यदि तैँले तिनीहरूलाई कसले सत्यता पछ्याउँछ, को कर्तव्यमा झाराटारुवा छ, को ख्रीष्टविरोधी हो, कसले मानिसहरूलाई आफ्नो पक्षमा पार्ने प्रयास गर्छ, सुसमाचार प्रचार गर्नमा को प्रभावकारी छ, वा स्थानीय स्तरमा सुसमाचार स्विकार्ने सम्भावना भएका मानिसहरू कति छन् भनेर सोधिस् भने, तिनीहरूलाई यी कुराहरू थाहै हुँदैन। तिनीहरू कस्तो प्रकारका मानिस हुन्? तिनीहरू आफू रहेको स्थानका सबै सामाजिक सम्पर्कहरू प्रयोग गर्न, र तिनीहरूलाई एकजुट गरेर एउटा सानो सामाजिक समूह बनाउन चाहन्छन्। त्यसैले, यी अगुवाहरू रहेको स्थानलाई मण्डली भन्न सकिँदैन। तिनीहरूले यो काम पूरा गरेपछि, यो एउटा सामाजिक समूह बनेको हुन्छ। जब यी मानिसहरू भेला हुन्छन्, तब तिनीहरू आफ्नो हृदय खोल्दैनन् र एकअर्काका अनुभवात्मक बुझाइ सङ्गति गर्दैनन्; बरु, तिनीहरू कसको चिनजान राम्रो छ, समाजमा कसको स्थान राम्रो र को धेरै सफल छ, समाजमा को चर्चित छ, समाजमा कसको प्रभाव छ, र कसले अगुवालाई विशेष रूपमा सहज सेवा र इच्छित कुराहरू प्रदान गर्न सक्छ भनेर हेर्छन्। यी मानिसहरू जोसुकै भए पनि, तिनीहरूले अगुवाको हृदयमा स्थान पाउँछन्। के ख्रीष्टविरोधीहरू यही गर्दैनन् र? (गर्छन्।) ख्रीष्टविरोधीहरूले गरिरहेको यो कुरा के हो? के तिनीहरूले मण्डली निर्माण गरिरहेको हो? तिनीहरूले मण्डली भत्काइरहेका र नष्ट गरिरहेका हुन्छन्, र परमेश्वरको घरको काममा बाधा र अवरोध ल्याइरहेका हुन्छन्। तिनीहरूले आफ्नै स्वतन्त्र राज्य, आफ्नै निजी समूह, र गुट निर्माण गरिरहेका हुन्छन्। ख्रीष्टविरोधीहरूले गर्ने भनेकै यही हो।
म तिमीहरूको सम्पर्कमा रहेको धेरै वर्ष भएको छ, तर के म तिमीहरूका परिवारले के गर्छ, तिमीहरूको परिवार कति सम्पन्न छ र तिमीहरूको पृष्ठभूमि कस्तो छ भनेर सोध्छु? (सोध्नुहुन्न।) म किन यी कुराहरू सोध्दिनँ? यी कुराहरू सोध्नुको कुनै अर्थ छैन। परमेश्वरको घर समाज होइन। अरूलाई चिप्लो घस्नु वा अरूसँग सम्बन्धहरू गाँस्नु आवश्यक छैन। यी कुराहरू सोध्नुको परमेश्वरमा विश्वास गर्नुसँग कुनै सम्बन्ध छैन। परमेश्वरको घरलाई समाजमा परिवर्तन नगर। तेरो पारिवारिक पृष्ठभूमि जेसुकै भए नि, यो गरिब भए नि वा धनी भए नि, तँ कुन वातावरणमा बस्छस्, यो सहर भए नि गाउँ भए नि, त्यसले केही फरक पार्दैन। यदि तँ सत्यता पछ्याउँदैनस् भने, समाजमा तैँले जति नै उच्च पद पाए नि, त्यसले केही फरक पार्दैन। म त्यो कुरा हेर्नेछैनँ। जब म मानिसहरूसँग कुरा गर्छु, तब मैले कहिले पनि तिनीहरूको पारिवारिक स्थितिबारे सोधेको हुँदिनँ। यदि तिनीहरू यसबारे कुरा गर्न चाहन्छन् भने, म सुन्छु, तर मैले यी कुराहरूलाई कहिल्यै पनि सोध्नुपर्ने महत्त्वपूर्ण जानकारीका रूपमा लिएको छैनँ, झन् मानिसहरूलाई प्रयोग गर्नका लागि कुनै जानकारी सङ्कलन गर्ने प्रयास गर्नु त परको कुरा हो। तैपनि, जब ख्रीष्टविरोधीहरू यी कुराहरूबारे सोध्छन्, तब तिनीहरूले कुरा गर्नकै लागि मात्र सोधिरहेका हुँदैनन्; बरु, तिनीहरूले केही इच्छित कुराहरू खोज्दै यसो गरिरहेका हुन्छन्। उदाहरणका लागि, जसको परिवारसँग स्वास्थ्य सेवाका उत्पादनहरू बेच्ने पसल छ र जसले तिनीहरूलाई थोक मूल्यमा स्वास्थ्य सेवाका उत्पादनहरू बेच्न सक्छन्, त्यस्तो परिवारसित तिनीहरू नजिकिन्छन्; वा, जसको साथीले तिनीहरूलाई राम्रा कुराहरू किन्न सहयोग गर्न सक्छ, तिनीहरू त्यस्तो व्यक्तिलाई याद गर्छन्। तिनीहरू यी “चिनजानका सम्पर्कहरू” र विशेष प्रतिभा भएका मानिसहरूको सूची बनाएर राख्छन्, र महत्त्वपूर्ण समयमा तिनीहरूलाई प्रयोग गर्छन्। तिनीहरू यी सबै मानिस प्रतिभाशाली छन् र तिनीहरूका लागि धेरै उपयोगी छन् भन्ने सोच्छन्। के यो दृष्टिकोण सही छ? (छैन।) सत्यता नपछ्याउने, अनि संसार र शैतानका मानिसहरू यी कुराहरूलाई जीवन र सत्यताभन्दा महत्त्वपूर्ण ठान्छन्। यदि कुनै व्यक्ति समाजको नियमित कामदार थियो, तर अगुवाले त्यो कुरा सुन्नेबित्तिकै त्यो व्यक्ति आफ्नो विश्वासमा जति नै गम्भीरतापूर्वक पछ्याउने व्यक्ति भए पनि ऊ त्यस व्यक्तिलाई कुनै ध्यान दिन चाहँदैन, जबकि त्यस अगुवाले कुनै व्यक्ति पहिले पार्टी कार्यकर्ता थियो र उसको परिवार धनी छ, उसको जीवन शैली उत्कृष्ट छ र उसले उत्कृष्ट जीवन जिउँछ भन्ने देख्नेबित्तिकै, ऊ त्यस व्यक्तिसित खुसामद गर्छ भने, के यो असल अगुवा हो त? (होइन।) के तिमीहरूलाई कहिल्यै यस्तो व्यवहार गरिएको छ? यस्तो व्यवहारमा परेपछि तिमीहरूले मनमा के सोच्यौ? के तिमीहरूलाई परमेश्वरको घरमा कुनै प्रेम वा न्यानोपन छैन भन्ने लाग्यो? के ख्रीष्टविरोधीहरू परमेश्वरको घरलाई प्रतिनिधित्व गर्छन्? तिनीहरू परमेश्वरको घरलाई प्रतिनिधित्व गर्दैनन्। तिनीहरू शैतानलाई प्रतिनिधित्व गर्छन्। तिनीहरूको व्यवहार गर्ने तरिका, र तिनीहरूको सार सबै शैतानका हुन् र सत्यताको त्यससँग कुनै सम्बन्ध हुँदैन। तिनीहरू आफूलाई मात्र प्रतिनिधित्व गर्छन्। कति ख्रीष्टविरोधीहरू त यस्ता पनि छन्, जसले यी “चिनजानका सम्पर्कहरू” हातमा परेपछि र तिनीहरूको सम्पर्कमा आएपछि, यी चिनजानका सम्पर्कहरूलाई आफ्नो व्यक्तिगत मामलाहरू सम्हाल्न, वा आफ्नो परिवारका सदस्यहरूका लागि काम मिलाइदिनसमेत प्रयोग गर्छन्। मलाई भन त, के यस्ता कुराहरू हुन्छन्? (हुन्छन्।) ख्रीष्टविरोधीहरू सबै नै यी कुराहरू गर्न अत्यन्तै सक्षम हुन्छन्। विवेक नभएको, लाज नभएको, र अत्यन्तै स्वार्थी र नीच व्यक्तिले जे पनि गर्न सक्छ—तिनीहरूले सत्यताअनुरूप नरहेको, अनि नैतिकता र विवेकविरुद्ध ठाडै जाने कुनै पनि कुरा गर्न सक्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूको नजरमा, आफ्नो व्यक्तिगत मामलाहरू सम्हाल्न, फाइदाहरू प्राप्त गर्न र त्यस्तै खालका कुराहरू गर्न आफ्नो पद प्रयोग गर्नु संसारको सबैभन्दा सामान्य कुरा हो, र यस कुरालाई उठाउनु र छुट्याउनु वा बुझ्नु हुँदैन। यो त गैरविश्वासीहरूले “खान र लाउनका लागि पद प्राप्त गर्न अथक प्रयास गर्नुपर्छ” भनेजस्तै हो। ख्रीष्टविरोधीहरूले अगुवा बनेर पछ्याउने उद्देश्य पनि यही हो। तिनीहरूको पछ्याइजस्तै, तिनीहरूले अलिकति पनि आत्मनिन्दा अनुभव नगरी यही दिशामा परिश्रम गरिरहेका हुन्छन्, र आफ्नो हातको शक्ति र आफ्नो पद प्रयोग गरेर दाजुभाइ-दिदीबहिनीहरूलाई काम गर्न लगाउन धम्की दिइरहेका हुन्छन्, मानौँ यसो गर्नु उचित कुरा हो, र यसरी तिनीहरूले सिद्धान्तहरूअनुरूप नरहेका हरकिसिमका अभ्यास र मागहरू दाजुभाइ-दिदीबहिनीहरूमा लादिरहेका हुन्छन्। यी अगुवाहरूले समझशक्ति नभएका कतिपय अलमल्ल परेका मानिसहरूलाई तिनीहरूका इच्छाविपरीत प्रयोग र अह्राउखटाउ गर्छन्, र कतिपय मानिस त तिनीहरूका लागि काम गर्न आफ्नै पैसासमेत प्रयोग गर्छन् र पनि केही भन्न सक्दैनन्, र यसो गरेर तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरिरहेका र असल कर्महरू तयार पारिरहेका छन् भन्नेसमेत सोच्छन्। म तँलाई भन्दै छु: तँ वास्तवमा गलत छस्। यसो गरेर, तैँले असल कर्महरू तयार पारिरहेको हुँदैनस्; बरु, तैँले खराब व्यक्तिलाई खराब कुराहरू गर्न मदत गरिरहेको हुन्छस्, र दुष्ट व्यक्तिको शक्ति बढाइरहेको हुन्छस्। मैले किन यसो भनेँ? जब तँ यी कुराहरू गर्छस्, तब यो कार्य सिद्धान्तहरूअनुरूप हुँदैन। तैँले आफ्नो कर्तव्य निर्वाह गरिरहेको हुँदैनस्। तैँले ख्रीष्टविरोधीलाई व्यक्तिगत फाइदाका लागि षडयन्त्र गर्न मदत गरिरहेको हुन्छस्, र तिनीहरूका व्यक्तिगत मामलाहरू सम्हालिरहेको हुन्छस्। यो तेरो कर्तव्य होइन; यो तेरो जिम्मेवारी होइन। यो परमेश्वरले तँलाई दिनुभएको आज्ञा होइन, न त यो परमेश्वरको घरको काम नै हो। यसो गरेर, तैँले शैतानको सेवा गरिरहेको हुन्छस् र शैतानका लागि काम गरिरहेको हुन्छस्। के शैतानका लागि काम गरेकोमा परमेश्वरले तँलाई सम्झनुहुनेछ? (सम्झनुहुनेछैन।) त्यसोभए परमेश्वरले के कुरा सम्झनुहुनेछ? बाइबलमा एउटा वाक्यांश छ। प्रभु येशूले भन्नुभयो: “साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानोलाई जे-जति गरेका हुन्छौ, त्यो तिमीहरूले मलाई नै गरेका हुन्छौ” (मत्ती २५:४०)। परमेश्वरले तोकेको कुरा यही हो। यी वचनहरूको अर्थ के हो? यदि तैँले सानोभन्दा सानो दाजुभाइ-दिदीबहिनीहरूका लागि केही गर्न सक्छस् भने, त्यो कुरा अवश्य नै सिद्धान्तहरू र परमेश्वरका मागहरूअनुसार गरिएको हुन्छ। तँ व्यक्तिको हैसियत कति उच्च छ भन्ने कुरालाई हेर्दैनस्, बरु सिद्धान्तअनुसार काम गर्छस्। कति मानिसहरू त हैसियत भएका मानिसहरूका लागि मात्रै विभिन्न कुरा गर्ने, मेहनत गर्ने र काम गर्ने गर्छन्, र तिनीहरूलाई उत्साहसाथ समर्थन गर्ने गर्छन्, तर कुनै हैसियत नभएको व्यक्तिले तिनीहरूलाई कुनै काम गर्न लगायो भने, त्यो तिनीहरूले निर्वाह गर्नुपर्ने कर्तव्य वा जिम्मेवारी नै भए पनि, तिनीहरू कुनै ध्यान दिँदैनन्। त्यसैले, तिनीहरूले गर्ने कामकुरालाई कसरी चित्रण गरिन्छ? परमेश्वरको दृष्टिकोणबाट, यी कुराहरूलाई शैतानका लागि काम गर्नुका रूपमा चित्रण गरिन्छ, र उहाँले यी कुराहरूलाई पटक्कै सम्झनुहुनेछैन। यो छैटौँ मामला हो। के तिमीहरू कसैले यस्ता घटनाहरू देखेका छौ? (मैले एउटा देखेको छु, परमेश्वर। पहिले, हामी जहाँ थियौँ त्यहाँ एउटी ख्रीष्टविरोधी अगुवा हुँदा, ऊ दाजुभाइ-दिदीबहिनीहरूले दान दिएका मिठा खानेकुरा, उपयोगी सामग्रीहरू, मेकअप र अरू कुराहरू आफ्नै लागि राख्नका लागि आफ्नो पदको प्रयोग गर्थी। कति कुराहरूको म्याद सकिसकेको हुन्थ्यो तर ऊ ती कुरा अझै पनि दाजुभाइ-दिदीबहिनीहरूलाई दिँदिनथी; उसले यी सबै कुरा हिनामिना गरी। यसका साथै, उसले एउटा डाउन ज्याकेट किनी, तर पछि एक सिस्टरले कम मूल्यको र राम्रो गुणस्तरको डाउन ज्याकेट किनेको देख्दा, त्यस सिस्टरबाट त्यो ज्याकेट ठगेर लिनलाई अनेक किसिमका कुराहरू सोचविचार गरी, र पछि त्यस सिस्टरलाई उसको आफ्नो ज्याकेट महँगो दाममा किन्न लगाई।) के भन्न सकिन्छ भने हरेक ख्रीष्टविरोधी दुष्ट व्यक्ति हो, र उसमा कुनै मानवता, कुनै विवेक हुँदैन, र उसको चरित्र अत्यन्तै नीच हुन्छ। यी मानिसहरूलाई अन्ततः प्रकाश गरेर हटाइनुपर्छ।
विगतमा, तीन जनाको एउटा परिवार कर्तव्य निर्वाह गर्न विदेश आएको थियो। विदेश आइपुगेपछि, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई सरसामान किन्न लगाउन हरेक दिन बाहिर लैजान लगाउँथे—तिनीहरूमध्ये एउटालाई डाउन ज्याकेट, अर्कोलाई पाइन्ट, र अर्कोलाई जुत्ता किन्न मन लाग्थ्यो। तिनीहरू त्यति धेरै पैसा ल्याइएको छैन भनेर बहाना बनाउँथे। यदि तिनीहरूले त्यति धेरै पैसा ल्याएका थिएनन् भने, ती सरसामान नकिन्नुपर्थ्यो, तर तिनीहरू किन्न चाहन्थे, र तिनीहरू साधारण सरसामान होइन, भव्य सरसामान चाहन्थे, र ती सरसामानका लागि दाजुभाइ-दिदीबहिनीहरूले आफ्नै पैसा तिर्नुपर्थ्यो। त्यस परिवारले केही समयसम्म आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, मानिसहरूले तिनीहरूको व्यवहारप्रति असन्तुष्टि जनाए—तिनीहरूले खाने खाना, तिनीहरूको बस्ने ठाउँ, र तिनीहरूले प्रयोग गर्ने कुराहरू अत्यन्तै विलासी किसिमका थिए! त्यस परिवारको बाउ चाहिँले दाजुभाइ-दिदीबहिनीहरूलाई दूध किन्नसमेत लगाउँथ्यो, र तिर्खा लाग्दा, ऊ पानीजस्तै दूध पिउँथ्यो। यस संसारमा कति मानिसहरू होलान् जसले पानीजस्तै दूध पिउन सक्छन्? तिनीहरू कस्तो स्तरका मानिसहरू हुनुपर्छ? पछि, उसले दाजुभाइ-दिदीबहिनीहरूलाई जुनार र सुन्तला किन्न लगायो, र तिनीहरूले एउटा ठूलो झोला किनेर दिए, तर त्यस परिवारले दुई दिनमै त्यो सब सकायो। त्यसपछि, त्यस मान्छेले फेरि केही पूरक भिटामिनहरू चाहियो भनेर भन्यो, र उसले दाजुभाइ-दिदीबहिनीहरूलाई केही चेरी किन्न लगायो, र यसो भन्दै मेरो नामसमेत प्रयोग गर्यो, “तपाईँले परमेश्वरका लागि चेरी किन्नुपर्छ!” मैले भनेँ, “अहिले जाडो याम हो। यो चेरी खाने मौसम होइन। म खान्नँ; मेरो लागि नकिन्।” उसले भन्यो, “तैपनि हामीले ती किन्नुपर्छ!” जब दाजुभाइ-दिदीबहिनीहरूले एक बाकस चेरी किने, तब उसको परिवारले तुरुन्तै त्यो सफाचट पारिदियो। मैले त्यसरी खान सक्ने मानिसहरू पहिले कहिल्यै देखेको थिइनँ—तिनीहरू फलफूल भातजस्तै खान्थे र दूध पानीजस्तै पिउँथे। त्यसपछि, खाना खाने समय आएपछि, तिनीहरूले माछा देख्थे र हतार-हतार खाइहाल्थे। तिनीहरूको खाने तरिका देख्दा तिमीहरूलाई पनि घिन लाग्नेथियो—तिनीहरू पहिले कहिल्यै मिठो खान नपाएका भोका भूतजस्तै थिए। तिनीहरू असल कुराहरू पाउने यस मौकाको फाइदा लिनुपर्छ भन्ने सोच्थे, त्यसैले उत्कटतासाथ बेस्सरी हसुर्थे। अन्ततः त्यस बच्चाले यति धेरै खायो कि उसलाई समस्या भयो। त्यसपछि, त्यस बच्चाले तर्क बङ्ग्याउने कुरा बोल्यो: “मैले परमेश्वरको ठाउँमा त्यो माछा नखाएको भए, म बिरामी हुनेथिइनँ!” त्यसले खाँदा म त त्यहाँ थिइनँ, र मलाई त्यसबारे केही थाहा थिएन। त्यसले आफै खाएको थियो—त्यसले कसरी त्यसको दोष मलाई दिन सक्यो? तर त्यसले मलाई नै दोष दियो। त्यस्ता मानिसहरूलाई कसरी सम्हाल्नुपर्छ? (तिनीहरूलाई निकाल्नुपर्छ।) तिनीहरू के हुन्? (दियाबलस र शैतानहरू।) तिनीहरू दियाबलस हुन्। त्यो बेला, मैले स्थानीय मण्डली अगुवाहरूलाई भनेँ, “तिनीहरूलाई यहाँबाट निकालेर सकेसम्म टाढा पठाओ। म फेरि कहिले पनि तिनीहरूको अनुहार हेर्न चाहन्नँ!”
म केही मण्डलीमा गएको छु र मैले निकै दाजुभाइ-दिदीबहिनीसँग अन्तरक्रिया गरेको छु। मैले सबै किसिमका खराब र दुष्ट मानिसहरू देखेको छु, तर मैले सामान्य रूपमा उठबस गर्न सक्ने मानिसहरूको सङ्ख्या निकै थोरै छ। अधिकांश मानिसहरूसँग अन्तरक्रिया गर्ने कुनै उपाय हुँदैन, र धेरै मानिसलाई तर्कले छुँदैन। तिनीहरूले भन्ने सबै कुराको तर्क विकृत र गलत हुन्छ, र तिनीहरू झूटहरूलाई सत्यताझैँ प्रस्तुत गर्छन्—तिनीहरू पशु, दियाबलस, र शैतान मात्रै हुन्, र तिनीहरूमा अलिकति पनि मानवता वा समझ हुँदैन। हरेक मण्डलीमा यस्ता मानिसहरू कम्तीमा पनि एक तिहाइ जति हुन्छन्। तिनीहरूमध्ये कोही पनि कुनै मूल्यका हुँदैनन्, र तिनीहरूमध्ये कसैलाई पनि मुक्ति दिन सकिँदैन; तिनीहरू सबैलाई जति सक्दो चाँडो हटाउनुपर्छ। मलाई अन्तरक्रिया गर्न मन लाग्ने मानिसहरू सत्यता स्वीकार गर्न सक्ने, तुलनात्मक रूपमा इमानदार, र हृदयबाट बोल्न सक्ने मानिस हुन्। तिनीहरूले जुनसुकै भ्रष्टता प्रकट गरे पनि वा तिनीहरूसँग जुनसुकै विचलन भए पनि, तिनीहरू सत्यतामा सङ्गति गर्न र सत्यता स्वीकार गर्न इच्छुक छन् भने, म तिनीहरूसँग मिलेर बस्न सक्छु। छली मानिसहरू र अरूबाट फाइदा लिन मन पराउनेहरूलाई, म कुनै ध्यान दिँदिनँ। कतिपय मानिस मेरो उपस्थितिमा हुँदा सधैँ धाक देखाउन चाहन्छन् र मलाई तिनीहरूबारे उच्च विचार गर्न लगाउन चाहन्छन्। तिनीहरू मलाई छल गर्न मेरो अगाडि एक तरिकाले र मेरो पिठ्यूँपछाडि अर्को तरिकाले व्यवहार गर्छन्। यस्ता मानिसहरू दियाबलस हुन्, र तिनीहरूलाई सकेसम्म टाढा पठाउनुपर्छ; म तिनीहरूलाई फेरि कहिल्यै हेर्न चाहन्नँ। जब मानिसहरूमा कमजोरी र अपर्याप्तताहरू हुन्छन् तब म तिनीहरूलाई सहयोग र भरणपोषण गर्न सक्छु, र जब तिनीहरूसँग भ्रष्ट स्वभाव हुन्छ तब म तिनीहरूसँग सत्यतामा सङ्गति गर्न सक्छु, तर म दियाबलसहरूसँग संलग्न हुँदिनँ वा दियाबलसहरूले भनेको कुरा सुन्दिनँ। कतिपय मानिस नयाँ विश्वासी हुन्छन् र तिनीहरूले नबुझेका केही सत्यता हुन्छन्, त्यसकारण तिनीहरू अज्ञानी रूपमा बोल्न र व्यवहार गर्न सक्छन्। हामी सत्यतामा सङ्गति गर्न सक्छौँ, तर यदि तैँले केही सत्यता बुझेको छस् र जानाजानी होहल्ला गर्छस्, मसँग अनुचित व्यवहार गर्छस् र मेरो गल्ती खोतल्छस् भने, म तँलाई त्यतिकै छोड्नेछैनँ। म किन तँलाई सहनेछैनँ? तँ मुक्ति पाउन सक्ने व्यक्ति होइनस्, त्यसकारण मैले किन तँलाई सहने? कसैलाई सहनुको अर्थ म ऊप्रति सहनशील र धैर्यवान् हुन सक्छु भन्ने लाग्छ। म अज्ञानी मानिसहरू र साधारण भ्रष्ट व्यक्तिसँग धैर्यवान् हुन्छु, तर शत्रु वा दियाबलसहरूसँग होइन। यदि दियाबलसहरू र शत्रुहरू तँलाई मनमोहक कुराहरू भन्ने नाटक गर्छन् र तँलाई घुस दिन्छन्, छल गर्छन्, वा क्षणिक खुसी दिन्छन् भने, के तँ तिनीहरूले भनेको कुरा विश्वास गर्न सक्छस्? (अहँ, सक्दैनौँ।) किन? तिनीहरूले सत्यता स्वीकार गर्न नसक्ने हुनाले, तैँले यो कुरा पहिले नै स्पष्ट रूपमा देखेको हुन्छस्, र यी मानिसहरू पहिले नै प्रकाश गरिएका हुन्छन्। तिनीहरू आफूले बोल्ने कुरामा इमानदार हुँदैनन्, तिनीहरूले सत्यतामा सङ्गति गर्दा यो सबै ढोँग हुन्छ, र तिनीहरूले भनेको कुरा साँचो हो कि झूटो हो भनेर पत्ता लगाउन गाह्रो हुन्छ। यदि तैँले यी कुराहरू सही रूपमा देख्न सक्छस् भने, तँ तिनीहरू दियाबलस र शैतानहरू हुन् भन्ने कुरामा निश्चित हुन सक्छस्। तिनीहरूलाई निकालेर वा निष्कासित गरेर मात्रै समस्यालाई पूर्ण रूपमा समाधान गर्न सकिन्छ। कतिपय मानिस भन्छन्, “तिनीहरूलाई किन थोरै छुट नदिने?” यी मानिसहरूलाई पश्चात्ताप गर्ने कुनै मौका हुँदैन; तिनीहरूले पश्चात्ताप गर्नु असम्भव हुन्छ। तिनीहरू शैतानजस्तै हुन्—परमेश्वर जति नै सर्वशक्तिमान् र बुद्धिमान् भए पनि, यसको दृष्टिकोणमा यो परमेश्वरमा हुनुपर्ने सार होइन। यसले परमेश्वरलाई परमेश्वरका रूपमा लिँदैन, र यसका धूर्त युक्तिहरू बुद्धि हुन्, यसको प्रकृति सार सत्यता हो, र परमेश्वर सत्यता हुनुहुन्न भन्ने सोच्छ। यो विशुद्ध शैतान हो, र यो परमेश्वरप्रति अन्त्यसम्मै शत्रुवत् हुने निश्चित छ। त्यसकारण, दुष्ट मानिसहरूले सत्यतालाई प्रेम गर्न र सत्यता पछ्याउन सक्दैनन् भन्ने कुरा निश्चित हुन्छ, त्यसकारण, परमेश्वर तिनीहरूलाई मुक्ति दिनुहुन्न। तिनीहरूलाई मण्डलीबाट निकाल्नु र परमेश्वरको घरबाट निष्कासित गर्नु नै सबैभन्दा सही निर्णय हो र यो अलिकति पनि गलत हुँदैन।
आज मैले जुन ख्रीष्टविरोधीहरूबारे सङ्गति र चिरफार गरेँ, तिनीहरूले आफूले पछ्याउने दिशा र उद्देश्यहरू कहिल्यै परिवर्तन गर्नेछैनन्। तिनीहरू आफूले पछ्याउने सबै कुरामा स्वार्थलाई प्राथमिकता दिन्छन्, र परमेश्वरको घरमा ठगेर खान र पिउन आफ्नो भएभरको शक्ति र दिमाग लगाउँछन्। तिनीहरूले कहिल्यै परमेश्वरका लागि इमानदारीसाथ आफूलाई समर्पित गरेका हुँदैनन्; तिनीहरू छलसाथ खानपान गर्न, हितहरू पूरा गर्न, र अरूबाट विशेष व्यवहार प्राप्त गर्न मात्रै चाहन्छन्। तिनीहरू सोच्छन्, परमेश्वर यो देख्नुहुन्न, यो कुरा थाहा पाउनुहुन्न, र यसबारे छानबीन गर्न सक्नुहुन्न, त्यसकारण तिनीहरू एकोहोरो रूपमा यी कुराहरू पछ्याउँछन्। अवश्य नै, तिनीहरूको प्रकृति सार यस्तै हुन्छ—तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्, न त सत्यता पछ्याउने मार्गमा हिँड्न नै सक्छन्, त्यसैले तिनीहरू ख्रीष्टविरोधीका रूपमा चित्रित हुनु निश्चित छ। परमेश्वरले हटाउने मानिसहरू यी नै हुन्, र परमेश्वरको घरले पत्ता लाउनेबित्तिकै निष्कासित गरिहाल्नुपर्ने मानिसहरू यी नै हुन्। कुनै व्यक्ति ख्रीष्टविरोधी बाटोमा छ भन्ने पत्ता लागेदेखि, उसले सत्यताअनुरूप नभएका कुराहरू श्रृङ्खलाबद्ध रूपमा गर्ने अवस्थासम्म, र उसलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गरिएको दिनसम्म, यी सबै कुराले ख्रीष्टविरोधीहरू परिवर्तन हुँदैनन् भन्ने देखाउँछन्। तिनीहरूको अन्तिम परिणाम भनेकै परमेश्वरको घरबाट निष्कासित गर्नु र परमेश्वरद्वारा हटाइनु हो—तिनीहरू परिवर्तन हुन सक्दैनन्। त्यसोभए, यी कुराहरू जानेर तिमीहरूलाई के फाइदा हुन्छ? कति मानिसहरू भन्छन्, “हामी ठगेर खाने र पिउने कुरा प्राप्त गर्दैनौँ। हामी सत्यता पछ्याउँछौँ र सृजित प्राणीका रूपमा कर्तव्य निर्वाह गर्न चाहन्छौँ। हामी परमेश्वरलाई पछ्याउँछौँ र उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन्छौँ। हामी ख्रीष्टविरोधीहरूले जस्तो व्यवहार गर्दैनौँ, न त हामी ख्रीष्टविरोधीहरूको बाटो हिँड्ने योजना नै गर्छौँ। यी घटनाहरूबारे जानेर के फाइदा हुन्छ?” साधारण दाजुभाइ-दिदीबहिनीहरूको हकमा भन्दा, ख्रीष्टविरोधीहरूका यी प्रकटीकरण र खुलासाहरूले हरेक व्यक्तिका लागि चेतावनीका रूपमा काम गर्न सक्छन्, र तिनीहरूलाई कुन मार्ग सही छ अनि कुन व्यवहार र काम गर्ने कुन तरिका परमेश्वरका अभिप्रायहरूअनुरूप छन् भनेर बताउन सक्छन्। सबै स्तरका मण्डली अगुवा र कामदारहरूको हकमा भन्दा, यो ख्रीष्टविरोधीहरू चिन्ने वास्तविक जीवनको प्रमाण हो। ख्रीष्टविरोधीहरू चिनेर मण्डलीको कामका लागि के फाइदा हुन्छ? यसले तिमीहरूलाई सही समयमा र सही रूपमा ख्रीष्टविरोधीहरू पहिचान गर्न र मण्डलीबाट निष्कासित गर्न मदत गर्छ, जसले गर्दा मण्डली अझै शुद्ध हुन्छ र यी ख्रीष्टविरोधीहरूको बाधा, अवरोध र क्षतिबाट मुक्त हुन्छ, ताकि सत्यता पछ्याउने र परमेश्वरप्रति इमानदारीपूर्वक आफूलाई समर्पित गर्न सक्ने मानिसहरूले सफा र शान्त, अनि दियाबलस र शैतानहरूका बाधाबाट मुक्त वातावरण प्राप्त गर्न सकून्। त्यसकारण, जब ख्रीष्टविरोधीहरूलाई चिन्ने सत्यताको कुरा आउँछ, तब तैँले तिनीहरूलाई तथ्य र प्रकटीकरणहरूको दृष्टिकोणबाट चिने पनि, वा सत्यता सिद्धान्तहरूका आधारमा चिने पनि, यी दुवै पक्ष बुझ्नुपर्छ। यो तेरो जीवन प्रवेश र मण्डलीको कामका लागि फाइदाजनक हुन्छ—यो तिमीहरूले बुझ्नुपर्ने कुरा हो।
आज मैले केही मामलाबारे कुरा गरेँ। यी सबै कुरा ख्रीष्टविरोधीहरूको क्रूरता, लज्जाहीनता, र हरेक नैतिक आधारको पूर्ण कमी हुनुका केही व्यवहार, कार्यशैली र प्रकटीकरण हुन्। ती सबै तिमीहरूको वरिपरि घटेका घटनाहरू नै हुनुपर्छ, र के भन्न सकिन्छ भने ख्रीष्टविरोधीहरूको कार्यशैली र तिनीहरूका प्रकटीकरणहरू सबै केही हदसम्म तिमीहरूभित्रै अस्तित्वमा हुन्छन्। अर्को शब्दमा भन्नुपर्दा, तिमीहरू सबैमा ख्रीष्टविरोधीहरूका केही स्वभाव र ख्रीष्टविरोधीहरूका केही अभ्यास हुन्छन्। त्यसकारण, तिमीहरूले ख्रीष्टविरोधीहरूलाई चिन्ने क्रममा, आफ्नो व्यवहारबारे पनि परीक्षण, जाँच र चिन्तन गर्नुपर्छ। कति मानिसहरूले यसो भन्न सक्छन्, “तपाईँ सधैँ त्यस्ता घटनाहरूबारे, त्यस्ता गफहरूबारे कुरा गर्नुहुन्छ, र त्यस्ता विवरणहरू बिस्तारमा बताउनुहुन्छ। यसले हामीलाई सत्यतामा प्रवेश गर्न कसरी फाइदा गर्छ? अहिले, हामी आफ्नो कर्तव्यमा निकै व्यस्त छौँ, र हामी यी कुराहरूबारे नोट बनाउन वा तीबारे सुन्न चाहँदैनौँ। सत्यतामा प्रवेश गर्दा, दुइटा कुरामा लागिरहनु नै पर्याप्त हुन्छ—एउटा परमेश्वरमा समर्पित हुनु हो, र अर्को चाहिँ आफ्नो कर्तव्य उचित रूपमा निर्वाह गर्नु हो। यो अत्यन्तै सरल छ!” सिद्धान्तको हिसाबमा त यो यति सरल हुन सक्छ, तर सटीक र निश्चित रूपमा भन्नुपर्दा, यो त्यति सरल छैन। यदि तैँले थोरै सत्यता बुझेको छस् भने, तेरो प्रवेश भद्दा र सतही हुनेछ, र यदि तैँले बुझेका सत्यताहरू सामान्य खाले हुन् भने, तैँले अनुभव गर्ने विवरण पनि थोरै नै हुनेछन्, र तँ परमेश्वरको उपस्थितिमा कहिल्यै शुद्ध पारिनेछैनस्। परमेश्वर मानिसहरूलाई सत्यता पछ्याउन र सत्यता वास्तविकताहरूमा प्रवेश गर्न लगाउनुहुन्छ, त्यसकारण मानिसहरूले यी विवरणहरू बुझ्नैपर्छ। यसबाट तिमीहरू के देख्न सक्छौ? परमेश्वरले तिमीहरूलाई मुक्ति दिने मन बनाउनुभएको छ, त्यसकारण उहाँ तिमीहरूसँग इमानदार हुनुपर्छ अनि लापरवाह र भ्रमित बनेर, वा लगभग नजिक पुगेर वा झन्डै झन्डै सही बनेर सन्तुष्ट हुनु हुँदैन। परमेश्वरको हकमा भन्दा, “लगभग नजिक पुग्नु,” “पाँचमा चार हुनु,” “सायद” र “हुनसक्छ” भन्ने शब्दहरू अस्तित्वमा हुँदैनन्। यदि तँ मुक्ति पाउन र मुक्तिको मार्गमा हिँड्न चाहन्छस् भने, तैँले सत्यताका यी सबै विवरणहरू बुझ्नुपर्छ। यदि तँ अहिले काम गर्न सक्ने अवस्थामा छैनस् भने, ठिकै छ—अहिले सत्यताका विवरणहरूमा प्रवेश गर्न थाल्न ढिला भइसकेको छैन। यदि तँ गल्ती नगरी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने मनोवृत्ति भएकैमा सन्तुष्ट छस् भने, र आफ्नो जीवनमा परिस्थितिहरू आइपर्दा समर्पित हुन सक्ने मनोवृत्ति भएकैमा सन्तुष्ट छस् भने, तँ कहिल्यै सत्यता वास्तविकताहरूमा प्रवेश गर्नेछैनस्। परमेश्वरले मानिसहरूलाई प्रदान गर्ने हरेक सत्यतामा धेरै विशिष्ट विवरणहरू हुन्छन्, र यदि मानिसहरूले यी विवरणहरू बुझेनन् भने, तिनीहरूले कहिल्यै सत्यता वा परमेश्वरका अभिप्रायहरू बुझ्नेछैनन्। के परमेश्वरले मानिसहरूलाई गम्भीर रूपमा लिनु राम्रो कुरा होइन र? (हो।) चाहे यो तिनीहरूको कर्तव्य निर्वाह, तिनीहरूको समर्पण, र तिनीहरूको आपसी सम्बन्धबारे होस्, वा चाहे तिनीहरू आफ्नो सम्भाव्यता र नियतिको मामलालाई कसरी लिन्छन् भन्ने कुराबारे होस्, वा चाहे मैले अहिले बताइरहेका कुरा, अर्थात् ख्रीष्टविरोधीहरूलाई कसरी चिन्ने, ख्रीष्टविरोधीको बाटो कसरी नहिँड्ने, र ख्रीष्टविरोधीको स्वभाव कसरी फाल्ने भन्नेबारे होस्, तिनीहरूले यी सबै कुरा एकएक गरी बुझ्नुपर्छ। जब तिमीहरू थोरै सरल र खोक्रा धर्मसिद्धान्तहरू कसरी प्रचार गर्ने भनेर जान्ने मात्र नभई, यी विवरणहरू साँचो रूपमा पत्ता लगाउनसमेत सक्षम बन्छौ, तब तिमीहरू पहिल्यै सत्यता वास्तविकताहरूमा प्रवेश गरिसकेका हुनेछौ। सत्यता वास्तविकताहरूमा प्रवेश गर्ने मानिसहरूसँग मात्रै मुक्ति पाउने मौका र आशा हुन्छ; शब्द र धर्मसिद्धान्तहरू मात्र प्रचार गर्नु भनेको केवल श्रम गर्नु हो। यदि मानिसहरू सत्यता वास्तविकताहरूमा प्रवेश गर्न चाहन्छन् भने, तिनीहरूले यी विवरणहरूबाट सुरु गर्नुपर्छ। नत्रभने, तिनीहरूले कहिले पनि स्वभाव परिवर्तन हासिल गर्नेछैनन्।
अप्रिल ४, २०२०
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।