विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक् तुल्याउन अनि तिनीहरूका आफ्नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्न आफ्ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग चार) खण्ड तीन
२. तिनीहरूलाई सेवा प्रदान गर्न र तिनीहरूका लागि काम गर्न दाजुभाइ-दिदीबहिनीहरूलाई प्रयोग गर्नु
कर्तव्य निर्वाह गर्दा, ख्रीष्टविरोधीहरू जुन फाइदाहरू प्राप्त गर्न लागिपर्छन्, ती फाइदाहरू हामीले पहिले नै छलफल गरिसकेका कुराहरूमा मात्र सीमित हुँदैनन्—पैसा, भौतिक वस्तु, भोजन र प्रयोगका सामानहरू—यी फाइदाहरूको दायरा निकै ठूलो हुन्छ। उदाहरणका लागि, ख्रीष्टविरोधीहरू कर्तव्य निर्वाह गर्दा, त्यो कर्तव्य निर्वाह गर्ने नाममा दाजुभाइ-दिदीबहिनीहरूलाई शोषण गर्छन्, उनीहरूलाई तिनीहरूका लागि सेवा प्रदान गर्न र काम गर्न लगाउँछन्, र तिनीहरूलाई आदेश दिन्छन्—के यो ख्रीष्टविरोधीहरूले प्राप्त गर्न प्रयास गर्ने फाइदा होइन र? (हो।) कतिपय मानिस मण्डली अगुवा बन्नुभन्दा पहिले घरमा सबै कुरा सधैँ एक्लै गर्छन्, र तिनीहरूमा कुनै महत्त्वाकाङ्क्षा वा खराब अभिप्रायहरू नभएजस्तो देखिन्छ। तैपनि, तिनीहरूले मण्डली अगुवाका रूपमा निर्वाचित भएर हैसियत प्राप्त गरेपछि, के अझै पनि सबै कुरा आफै गर्छन् त? तिनीहरूले हैसियत प्राप्त गरेपछि आफू फरक भएको छु, परमेश्वरको घरमा आफूलाई विशेष व्यवहार गरिनुपर्छ, र आफ्नो “कर्तव्य” संयुक्त रूपमा पूरा गर्न “भीडको शक्ति” कसरी परिचालित गर्ने भनेर सिक्नुपर्छ भन्ने सोच्छन्; अनि तिनीहरूको घरको हरेक काम मण्डलीको दायित्वभित्र पर्ने काम बन्छ, र तिनीहरू आफ्नो घरायसी कामकाज र दैनिक कार्यहरूलाई विश्वासी दाजुभाइ-दिदीबहिनीहरूमाझ बाँडिदिन्छन्। उदाहरणका लागि, जब तिनीहरूको घरमा गरिनुपर्ने कुनै काम हुन्छ, तब तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई भन्छन्, “म विगत केही दिनदेखि मण्डलीको काममा व्यस्त छु। के तपाईँहरूमध्ये कसैसँग मलाई एउटा काममा मदत गर्ने समय छ?” अनि, तीन वा पाँच जना मानिसले स्वेच्छाले काम गरिदिन्छन् र केही समयपछि काम पूरा हुन्छ। यी अगुवाहरू सोच्छन्, “धेरै हातले काम हल्का बन्छ। अगुवा हुनु राम्रो कुरा हो, मैले केही भन्नुपर्छ, अनि काम पूरा भइहाल्छ। भविष्यमा, जब घरमा गर्नुपर्ने कुनै काम हुन्छ, तब म दाजुभाइ-दिदीबहिनीहरूलाई नै मदत गर्न लाउनेछु।” यसरी अघि बढ्दै जाँदा, तिनीहरू मण्डली अगुवाको काम त्यति धेरै पूरा गर्दैनन्, तर तिनीहरू मानिसहरूलाई आफ्नो घरमा काम गर्न लाउन धेरै कुरा मिलाउँछन्, र यस कुरालाई तालिकामा समेत राख्छन्—तिनीहरू कति “व्यस्त” मण्डली अगुवा हुन्! तिनीहरू अगुवा बन्नुभन्दा पहिले तिनीहरूको घरमा कहिल्यै त्यति धेरै काम हुँदैन, तैपनि तिनीहरू अगुवा बनेपछि, घरमा गरिनुपर्ने काम धेरै हुन्छ। कति दाजुभाइ-दिदीबहिनीहरू तिनीहरूको बाली रोप्छन्, कतिले तिनीहरूको जमिनमा सिँचाइ गर्छन्, कतिले तिनीहरूको सागसब्जी रोप्छन्, कतिले घाँस काट्छन्, कतिले मल हाल्छन्, र कतिले त तिनीहरूको सागसब्जी बेचेरसमेत तिनीहरूलाई मदत गर्छन्, तर त्यसबाट प्राप्त सबै पैसा तिनीहरूलाई नै दिन्छन्, आफ्ना लागि एक पैसा राख्दैनन्। तिनीहरू मण्डली अगुवा बनेपछि, तिनीहरूको घरको जीवन फस्टाउँछ; तिनीहरूले जे गरे पनि, मानिसहरू सधैँ तिनीहरूलाई साथ र सहयोग दिन्छन्, र तिनीहरूको हरेक शब्द अत्यन्तै प्रभावकारी हुन्छ। तिनीहरूलाई अत्यन्तै खुसी लाग्छ र सन्तुष्टि हुन्छ, र तिनीहरू झन्-झन् यस्तो सोच्न थाल्छन्, “मण्डली अगुवाको यो पद अत्यन्तै राम्रो हो, र हैसियत हुनु निकै राम्रो कुरा हो। यदि घरमा कहिल्यै खानेकुराको कमी भयो भने, मैले एक शब्द मात्रै बोल्नुपर्छ र मानिसहरूले मलाई खानेकुरा दिइहाल्छन्, र तिनीहरू यसका लागि पैसासमेत लिन चाहँदैनन्। यो जीवन कस्तो सहज छ! मेरो विश्वासको कारण मलाई साँच्चै नै परमेश्वरले आशिष् दिइरहनुभएको छ। यो ठूलो आशिष् हो, र यो साँच्चै नै परमेश्वरको अनुग्रह हो! परमेश्वर एकदमै महान् हुनुहुन्छ; परमेश्वरलाई धन्यवाद होस्!” जब कसैले तिनीहरूलाई सेवा गरिसक्छ वा तिनीहरूले आदेश दिएको काम पूरा हुन्छ, तब तिनीहरू सधैँ “परमेश्वरलाई धन्यवाद दिन्छन्” र “परमेश्वरबाट आएको भनी स्वीकार गर्छन्।” यी मामुली मण्डली अगुवाहरूले त आफ्नो पदलाई यति हदसम्म प्रयोग गर्न सक्छन्—के तिमीहरू यसो गर्न सक्छौ? के तिमीहरू यस्तो काम गर्न सक्षम हुनेछौ? मानिसहरू किन अगुवा बन्न प्रतिस्पर्धा गर्छन्? तिनीहरू किन हैसियतका लागि प्रतिस्पर्धा गर्छन्? यदि कुनै फाइदा प्राप्त नगर्ने हो भने, के जोकसैले हैसियतका लागि प्रतिस्पर्धा गर्नेथियो त? यदि तिनीहरूले पदका लागि प्रतिस्पर्धा गर्दा गोरुजस्तो जोतिँदै काम गर्नुपरेको भए, के कसैले यसको झमेला लिनेथियो त? हैसियत पाएपछि यसबाट यति धेरै फाइदाहरू हुने भएकाले नै मानिसहरू हैसियत हात पार्न र हैसियतका लागि प्रतिस्पर्धा गर्न मरिहत्ते गर्छन्। मामुली मण्डली अगुवा बन्दा नै तिनीहरूलाई यति धेरै फाइदा हुन्छ, र तिनीहरूको जीवनमा यति धेरै सुविधा र फाइदा हुन्छ—कस्तो व्यक्तिले यस्तो व्यवहार गर्छ? के तिनीहरू सत्यता पछ्याउने मानिस हुन्? के तिनीहरू मानवता र विवेक भएका मानिस हुन्? के तिनीहरू परमेश्वरको डर मान्ने हृदय भएका मानिस हुन्? (होइनन्।) तिनीहरूलाई आफूले सबै जनाका लागि र परमेश्वरको घरका लागि मण्डली अगुवाको काम गर्छु भन्ने विश्वास हुन्छ, र तिनीहरू यसलाई कर्तव्यका रूपमा लिँदैनन्। तिनीहरूलाई के पनि विश्वास हुन्छ भने, तिनीहरूले मण्डली अगुवाका रूपमा गर्ने कुनै पनि काम आफ्नो घरको जीवन त्याग गरेका आधारमा गरेका हुन्छन्, त्यसकारण दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूले चुकाएको मूल्यको परिपूर्ति गरिदिनुपर्छ। यदि तिनीहरूसँग घरको काम गर्ने समय छैन भने, दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई मदत गरिदिनुपर्छ; यदि तिनीहरूसँग खेतमा काम गर्ने समय छैन भने, दाजुभाइ-दिदीबहिनीहरूले आफ्नै कर्तव्य जस्तै गरी, तिनीहरूको खेतमा हाजिर हुनुपर्छ र तिनीहरूका लागि काम गरिदिनुपर्छ। मण्डली अगुवाका रूपमा काम गर्नका लागि तिनीहरूले जे कुरा त्यागेका भए पनि, दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई त्यसको दोब्बर परिपूर्ति गरिदिनुपर्छ। यी केही यस्ता कुराहरू हुन् जसमा ख्रीष्टविरोधीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो सेवामा लगाउँछन् र आफ्नो व्यक्तिगत जीवनका काम गराउँछन्। ख्रीष्टविरोधीहरू अगुवा बनेपछि, यस्तो अवसरलाई पटक्कै खेर जान दिँदैनन् र हात बाँधेर यी फाइदाहरू फुत्केर गएको हेरिबस्दैनन्। बरु, तिनीहरूले यसको ठिक विपरीत काम गर्छन्: तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्ना लागि काम गराउन प्रयोग गर्न, र तिनीहरूलाई गोरुजस्तै काममा लगाउनका लागि हरेक क्षण र हरेक अवसर प्रयोग गर्छन्। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूको मूर्खता र इमानदारीको फाइदा उठाउँछन्, र दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो सेवामा लगाउन तिनीहरूको स्वेच्छाले कर्तव्य निर्वाह गर्ने र परमेश्वरका लागि मूल्य चुकाउने मानसिकताको समेत फाइदा उठाउँछन्। यस क्रममा, तिनीहरू केही वचन सत्यता हुन् भनेर नाटक पनि गर्छन् र तिनलाई दाजुभाइ-दिदीबहिनीहरूलाई शिक्षा दिन प्रयोग गर्छन्, ताकि तिनीहरूले यस्तो विचार सिकून्: अगुवाहरू पनि मानव नै हुन्, अगुवाहरूका पनि परिवार हुन्छन्, र अगुवाहरूले पनि आफ्नो जीवन जिउनुपर्छ, र यदि अगुवाले आफ्नो घरका मामलाहरू सम्हाल्ने समय पाउँदैन भने, दाजुभाइ-दिदीबहिनीहरूले यसलाई आफ्ना कर्तव्यहरूका रूपमा लिनुपर्छ; अगुवाले तिनीहरूलाई यी कुराहरू गर्न लगाइरहनु आवश्यक हुँदैन, तर अगुवाले गर्न नसक्ने यी कुराहरू तिनीहरूले सक्रिय रूपमा र स्वेच्छाले गर्नुपर्छ। यस्तो लहैलहै र उक्साहटमा फसेर धेरै दाजुभाइ-दिदीबहिनी यी अगुवाहरूलाई स्वेच्छाले सेवा गर्छन्। ख्रीष्टविरोधीहरूले शक्ति र हैसियत हातमा लिएर हासिल गर्न चाहने उद्देश्य यही हो, र यही नै तिनीहरूले शक्ति र हैसियत हातमा लिएर पूरा गर्न चाहने काम र पाउन चाहने फाइदा हो। के यस्ता मानिसहरू धेरै छन्? (छन्।) यी मानिसहरू शैतान हुन्। सत्यता नभएका र सही मार्ग नपछ्याउने मानिसहरूको हैसियत थोरै नै भए पनि तिनीहरूले यस्ता कुराहरू गर्न सक्छन्—के यी मानिसहरू दयनीय होइनन् र? तिनीहरूको चरित्र तिमीहरूलाई कस्तो लाग्छ? के तिनीहरूमा कुनै विवेक वा समझ हुन्छ?
कतिपय मण्डलीमा, त्यस्ता दाजुभाइ-दिदीबहिनीहरू पनि हुन्छन्, जो सामान्यतया आफ्नो घरमा बस्दैनन्, बरु लामो समयसम्म आफ्नो मण्डली अगुवाको घरमा बस्छन्। तिनीहरू किन प्रायजसो आफ्नो अगुवाको घरमा बस्छन्? किनभने अगुवाले “अगुवा” को पद लिएदेखि, उसको घरमा एक जना घरायसी कामदार आवश्यक परेको हुन्छ। उसले एक बहिनीलाई छनौट गर्छ, र त्यो बहिनी त्यस अगुवाको घरको समर्पित घरायसी कामदार बन्छे। त्यो बहिनी घरायसी कामदार बन्छे, अनि उसको कर्तव्य के बन्छ? उसले आफ्नो भागमा पर्ने काम वा मण्डलीसँग सम्बन्धित काम गरिरहेकी हुँदिन, बरु अगुवाको परिवारका सबै पुस्ताका दैनिक जीवनका काम गर्न टहल गरिरहेकी हुन्छे, र उसलाई अगुवाको घरका कामहरू पूरा गर्नु पूर्ण रूपमा उचित छ भन्ने लाग्छ, र यसबारे ऊसँग कुनै गुनासो वा धारणा पनि हुँदैन। यहाँ समस्या को हो? मण्डली अगुवाले जति धेरै काम गर्नुपरे पनि वा तिनीहरूले जति धेरै मानिसलाई अगुवाइ गरे पनि, के तिनीहरू साँच्चै यति धेरै व्यस्त हुन्छन् त? के तिनीहरू साँच्चै आफ्नो दैनिक जीवन चलाउन सक्दैनन् र? तिनीहरू दैनिक जीवन चलाउन सक्दैनन् नै भने पनि, त्यो तिनीहरूको आफ्नै मामला हो। अरू कसैसँग यसको के सम्बन्ध हुन्छ र? यदि दाजुभाइ-दिदीबहिनीहरू ध्यान नदिने वा निष्क्रिय रहेछन् भने, त्यस्ता अगुवाहरू तिनीहरूलाई आलोचनात्मक मनोवृत्ति देखाउँछन् र तिनीहरूसँग “सत्यतामा सङ्गति गर्न” यसको फाइदा उठाउँछन्, र यही मामिलाको कारण दाजुभाइ-दिदीबहिनीहरूलाई काटछाँट गरिन्छ—यहाँ के भइरहेको हुन्छ? जब तिनीहरूको घरमा ओछ्यान फोहोर हुन्छ, त्यो दाजुभाइ-दिदीबहिनीहरूले धुनुपर्छ, जब तिनीहरूको घर फोहोर हुन्छ, त्यो दाजुभाइ-दिदीबहिनीहरूले सफा गर्नुपर्छ, र खाने समयमा दाजुभाइ-दिदीबहिनीहरूले नै खाना पकाउनुपर्छ; यी अगुवाहरू अरूको भरमा बाँच्छन्, र तिनीहरू अगुवाका रूपमा यसरी नै काम गर्छन्। जब यस्ता मानिसहरूमा यी प्रकटीकरणहरू र यस्तो मानवता हुन्छ, तब के तिनीहरूले सत्यता पछ्याउन सक्छन्? (सक्दैनन्।) किन सक्दैनन्? (यस्ता मानिसहरूमा मानवताको धेरै कमी हुन्छ र तिनीहरू अत्यन्तै घृणित हुन्छन्। तिनीहरूलाई सत्यताप्रति कुनै चासो हुँदैन।) यदि तिनीहरूलाई सत्यताप्रति कुनै चासो छैन भने, तिनीहरू किन अगुवा बन्छन्? (तिनीहरू प्रतिष्ठा र हैसियत पछ्याउन, र आफ्नो प्रदर्शन गर्न त्यसो गर्छन्।) तँ यसलाई स्पष्ट रूपमा व्याख्या गर्न सक्दैनस्, होइन र? कस्ता प्रकारका मानिसहरूले आफ्ना लागि काम गर्न र सेवा प्रदान गर्न लगाउन दाजुभाइ-दिदीबहिनीहरूको शोषण गर्न सक्छन्? के यो ख्रीष्टविरोधीहरूको एउटा स्पष्ट विशेषता होइन र? सबै कुरामा आफ्नै फाइदाहरू मात्रै खोज्ने, आफ्नो फाइदा र घाटाबारे मात्रै चिन्ता गर्ने, र यसरी व्यवहार गर्दा सत्यतासित मेल खान्छ कि खाँदैन, यसमा मानवता हुन्छ कि हुँदैन, यसले परमेश्वरलाई खुसी पार्छ कि पार्दैन, र यसबाट दाजुभाइ-दिदीबहिनीहरूले कुनै फाइदा वा सुधार प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्नेबारे सोच्दै नसोच्ने तिनीहरू यी कुराहरूबारे विचार गर्दै गर्दैनन्, केवल आफ्नो फाइदा र घाटाबारे, र आफूले ठोस फाइदाहरू प्राप्त गर्न सक्छु कि सक्दिनँ भन्नेबारे मात्रै विचार गर्छन्। ख्रीष्टविरोधीहरूले पछ्याउने मार्ग यही हो, र यही नै ख्रीष्टविरोधीहरूको चरित्र हो। यो हैसियत हुने प्रकारको व्यक्ति हो। कति मानिसहरूको चाहिँ कुनै हैसियत हुँदैन र तिनीहरू साधारण कर्तव्य निर्वाह गर्छन्, तर जब तिनीहरूले केही योग्यता प्राप्त गर्छन्, तब तिनीहरू पनि अरूलाई आफ्नो सेवामा लगाउन चाहन्छन्। कति मानिसहरूले भने केही जोखिमपूर्ण कर्तव्यहरू निर्वाह गर्छन् र अरूलाई आफ्नो सेवामा लगाउन आदेश दिन चाहन्छन्। अनि, कतिले चाहिँ विशेष कर्तव्यहरू निर्वाह गर्छन् र त्यो आफ्नो कर्तव्यलाई दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो सेवामा लगाउने आधारभूत सर्त, मोलतोलको आधार र पूँजीका रूपमा लिन्छन्। उदाहरणका लागि, कति मानिसहरूसँग अरूले नसिकेका वा नबुझेका विशेष व्यावसायिक सीपहरू हुन्छन्। जब तिनीहरूले परमेश्वरको घरमा यी व्यावसायिक सीपहरूसँग सम्बन्धित कर्तव्य निर्वाह गर्न थाल्छन्, तब तिनीहरू अरू मानिसहरूभन्दा आफू फरक छु, आफूलाई परमेश्वरको घरमा महत्त्वपूर्ण पदमा राखिएको छ, र आफू अहिले माथिल्लो तहमा छु भन्ने सोच्छन्, र विशेषगरी तिनीहरूलाई आफ्नो मूल्य दोब्बर भएको छ, र आफू आदरणीय छु भन्ने लाग्छ। परिणामस्वरूप, तिनीहरूलाई केही निश्चित कामहरू तिनीहरू आफैले गर्नु आवश्यक छैन भन्ने लाग्छ, र तिनीहरू आफूलाई खाना ल्याइदिने वा आफ्नो लुगा धोइदिनेजस्ता दैनिक कामहरूमा कुनै पारिश्रमिक नदिई अरूलाई सेवा गर्न लगाउनु स्वाभाविक कुरा हो भन्ने सोच्छन्। कतिले त आफ्नो कर्तव्यमा व्यस्त छु भनेर बहाना गरी दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूका लागि नानाथरी काम गर्न लगाउँछन्। तिनीहरू आफैले नगरी नहुने कुराहरूबाहेक बाँकी सबथोक, अरूलाई सेवामा लगाउन वा अरूलाई गर्न लगाउन सकिने अरू सबै कुरा, अरूलाई नै गर्न लगाउँछन्। किन? तिनीहरू यस्तो सोच्छन्, “मसँग पूँजी छ, म आदरणीय छु, म परमेश्वरको घरको एक दुर्लभ प्रतिभा हुँ, म विशेष कर्तव्य निर्वाह गर्छु, र म परमेश्वरको घरको संवर्धनको मुख्य प्रापक हुँ। तिमीहरू कोही पनि मजत्ति उत्तम छैनौ, तिमीहरू सबै मभन्दा तल्लो स्तरका छौ। म परमेश्वरको घरमा विशेष योगदान दिन सक्छु, तर तिमीहरूले सक्दैनौ। त्यसकारण, तिमीहरूले मेरो सेवा गर्नुपर्छ।” के यी कुराहरू हदभन्दा बढी र लाजमर्दा मागहरू होइनन् र? हरेकले आफ्नो हृदयमा यी मागहरू राखेका हुन्छन्, तर ख्रीष्टविरोधीहरू निर्दयी र लाजमर्दो रूपमा यी कुराहरूलाई अवश्य नै अझै बढी माग गर्छन्, र तैँले तिनीहरूसँग जसरी सत्यतामा सङ्गति गरे पनि, तिनीहरू यी कुराहरू त्याग्दैनन्। साधारण मानिसहरूमा पनि ख्रीष्टविरोधीहरूका यी प्रकटीकरणहरू हुन्छन्, र यदि तिनीहरूसँग थोरै प्रतिभा छ वा तिनीहरूले थोरै योगदान दिए भने, तिनीहरू केही विशेष व्यवहार पाउने अधिकार पाउँछु भन्ने सोच्छन्। तिनीहरू आफ्नै लुगा र मोजाहरू पनि धुँदैनन् र अरूलाई नै यो काम गर्न लगाउँछन्, र मानवताविरुद्ध जाने केही अनुचित मागहरू गर्छन्—तिनीहरूमा समझको एकदमै कमी हुन्छ! मानिसहरूमा रहेका यी विचार र मागहरू तर्कसङ्गतताको क्षेत्रभित्र पर्दैनन्; सुरुमा यी कुरालाई तल्लो स्तरबाट हेर्दा समेत, यी मानवता र विवेकका मापदण्डहरूअनुरूप हुँदैनन्, र माथिल्लो स्तरबाट हेर्दा, यी सत्यताअनुरूप हुँदैनन्। यी सबै प्रकटीकरणलाई ख्रीष्टविरोधीहरू आफ्ना फाइदाहरूमा लागिपर्ने कार्यको वर्गमा राख्न सकिन्छ। भ्रष्ट स्वभाव भएका हरेक व्यक्ति यी कुराहरू गर्न सक्षम हुन्छन्, र तिनीहरू पनि यी कुराहरू गर्ने आँट गर्छन्। यदि कसैसँग थोरै प्रतिभा र पूँजी छ र उसले केही योगदान दिन्छ भने, उसले अरूबाट नाजायज फाइदा लिन चाहन्छ, उसले कर्तव्य निर्वाह गर्ने अवसरलाई आफ्नै फाइदाका लागि मेहनत गर्न प्रयोग गर्न चाहन्छ, ऊ आफ्ना लागि विभिन्न कुराहरू पूर्वतयार राख्न चाहन्छ र अरूलाई आफ्नो सेवा गर्न लगाएर त्यसबाट आउने खुसी र अनुकूल व्यवहारको आनन्द लिन चाहन्छ। कति मानिसहरू त कर्तव्य निर्वाह गर्नका लागि आफ्नो परिवार र जागिरसमेत त्याग्छन्, र त्यस अवधिमा तिनीहरूलाई केही सानातिना रोग लाग्छन् र परिणामस्वरूप तिनीहरू भावुक बन्छन्, र कसैले पनि तिनीहरूबारे चिन्ता वा तिनीहरूको हेरचाह गर्दैनन् भनेर गुनासोसमेत गर्छन्। तैँले आफ्नो कर्तव्य आफ्नै लागि निर्वाह गरिरहेको छस्, तैँले आफ्नै कर्तव्य निर्वाह गरिरहेको छस् र आफ्नै जिम्मेवारी पूरा गरिरहेको छस्—अरू मानिसहरूसँग यसको के सम्बन्ध छ? व्यक्तिले जेजस्ता कर्तव्यहरू निर्वाह गरे पनि, ती कहिल्यै अरू कसैका लागि वा कसैको सेवा गर्नका लागि गरिँदैन, त्यसकारण कुनै व्यक्तिलाई पनि कुनै पारिश्रमिक नपाई अरूको सेवा गर्ने वा अरूको खटनमा बस्ने दायित्व हुँदैन। के यो सत्यता होइन र? (हो।) परमेश्वरले मानिसहरूलाई प्रेमिलो बन्न, र अरूप्रति धैर्यशील र सहनशील हुन माग गर्नुहुने भए पनि, व्यक्तिले अरूलाई यस्तो बन्न व्यक्तिगत रूपमा माग गर्नु हुँदैन र त्यसो गर्नु अतार्किक हो। यदि तैँले कुनै माग नगरी कसैले तँसँग सहनशील र धैर्यशील व्यवहार गर्न र तँलाई प्रेम देखाउन सक्छ भने, त्यो तिनीहरूको हातको कुरा हो। तैपनि, यदि दाजुभाइ-दिदीबहिनीहरूलाई तैँले माग गरेको कारण उनीहरूले तेरो सेवा गर्छन् भने, यदि तँ तिनीहरूलाई जबरजस्ती आदेश दिन्छस् र शोषण गर्छस्, वा तैँले तिनीहरूको आँखामा छारो हालेका आधारमा तिनीहरूले तेरो सेवा गर्छन् भने, तँमा समस्या छ। कतिले त आफ्नो कर्तव्य निर्वाह गर्ने अवसरको फाइदासमेत उठाउँदै, त्यसलाई प्रायजसो निश्चित धनी दाजुभाइ-दिदीबहिनीहरूबाट विभिन्न कुरा लिन, तिनीहरूलाई यो वा त्यो कुरा किन्न लगाउन र तिनीहरूलाई आफ्नो सेवामा लगाउने बहानाका रूपमा प्रयोग गर्छन्। उदाहरणका लागि, यदि तिनीहरूलाई थप लुगा चाहिएको छ भने, तिनीहरू कुनै भाइ वा बहिनीलाई भन्छन्, “तिमीले लुगा सिलाउन सक्छौ, होइन र? मेरो लागि गएर लगाउने लुगा बनाइदेऊ न।” त्यो भाइ वा बहिनीले भन्छ, “त्यसोभए पैसा निकाल्नुहोस्। कपडा किन्नुहोस् अनि म तपाईँका लागि सिलाइदिन्छु।” तिनीहरू पैसा निकाल्दैनन् तर दाजुभाइ वा दिदीबहिनीलाई जबरजस्ती तिनीहरूका लागि कपडा किन्न लगाउँछन्—के यो कार्यको प्रकृति छली छैन र? दाजुभाइ-दिदीबहिनीहरूसँगको सम्बन्धबाट फाइदा उठाउनु, आफ्नै पूँजीबाट फाइदा उठाउनु, अनि आफ्नो कर्तव्य निर्वाह गर्ने अवसरबाट दाजुभाइ-दिदीबहिनीहरूसित हरप्रकारका सेवा र अनुकूल व्यवहार माग गर्नु, र तिनीहरूलाई आफ्ना लागि काम गर्न आदेश दिन फाइदा उठाउनु—यी सबै ख्रीष्टविरोधीहरूको नीच चरित्रका प्रकटीकरण हुन्। के त्यस्ता मानिसहरूले सत्यता पछ्याउन सक्छन्? के तिनीहरू अलिकति पनि परिवर्तन हुन सक्छन्? (सक्दैनन्।) मैले यसरी सङ्गति गरेको सुन्दा, सायद कति मानिसहरूले यी कुराहरू गर्नु खराब कुरा हो भन्ने महसुस गर्लान् र आफूलाई अलिक नियन्त्रण गर्न पनि सक्लान्, तर के आफूलाई नियन्त्रण गर्नु भनेको सत्यता पछ्याउनु र सत्यता अभ्यास गर्नुसरह हो र? आफूलाई नियन्त्रण गर्नु भनेको आफ्नो गल्ती महसुस गर्नु, र आफ्नो छवि र अभिमानप्रति ध्यान दिनु मात्र हो। मैले यस्तो चिरफार गरेको सुनेपछि, यी मानिसहरूले समस्याको गम्भीरता देख्छन् र फेरि गल्ती गर्नु हुँदैन, र यदि तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो वास्तविकता चिन्ने मौका दिए भने, तिनीहरूलाई खुलासा र इन्कार गरिनेछ भन्ने महसुस गर्छन्। तिनीहरूले महसुस गर्ने कुरा यस विन्दुसम्म मात्रै सीमित हुन्छ, र तिनीहरूको हृदयबाट इच्छा र लोभ हटाउन सकिँदैन।
कति मानिसहरू सोच्छन्, “म परमेश्वरको घरका लागि मेहनत गर्छु, परमेश्वरको घरमा धेरै योगदान दिएको छु, म यस्तो कर्तव्य निर्वाह गर्छु, जसमा कसैले पनि मेरो स्थान लिन सक्दैन। जब मलाई खाँचो पर्छ, तब मेरा आवश्यकताहरू पूरा गर्न मलाई मदत गर्नु दाजुभाइ-दिदीबहिनीहरू र परमेश्वरको घरको कर्तव्य हुन्छ। सधैँ तिनीहरूले कुनै सर्त र पारिश्रमिकविना मेरो सेवा गर्नुपर्छ।” के यो लाजमर्दो सोचाइ होइन र? के यो नीच चरित्रको प्रकटीकरण होइन र? उदाहरणका लागि, हरेक व्यक्ति कहिलेकहीँ बिरामी पर्छ, तर जब कतिपय मानिस बिरामी हुन्छन्, तब तिनीहरू अरूलाई यसबारे बताउँदै हिँड्दैनन्, बरु तिनीहरू आफ्नो कर्तव्य जसरी निर्वाह गर्नुपर्ने हो त्यसरी नै निर्वाह गरिरहन्छन्। कसैलाई थाहा हुँदैन र कसैले वास्ता गर्दैन, तर तिनीहरू व्यक्तिगत रूपमा गुनासो गर्ने वा कर्तव्यमा ढिलाइ गर्ने गर्दैनन्। तर कतिपय मानिस भने बिरामी नभए पनि बिरामी भएको बहाना गर्छन्, तिनीहरू महारानी वा कुलीन व्यक्तिले जस्तो व्यवहार गर्छन्, र मानिसहरूलाई तिनीहरूको टहल गर्न लगाउन सकेजति सबै माध्यम प्रयोग गर्छन्, र विशेष व्यवहार पाउनका लागि सम्भव भएका सबै कुरा गर्छन्। तिनीहरू बिरामी नहुँदा पनि बिरामी भएको बहाना गर्छन्, र यदि तिनीहरू साँच्चै बिरामी भए भने, त्यो अझै समस्याजनक कुरा बन्छ, किनभने तिनीहरूको हातबाट कति मानिसहरूले कष्ट भोग्छन् र कतिले तिनीहरूको खटनमा चल्नुपर्छ कसलाई थाहा। यो त्यस्तो व्यक्ति बिरामी हुँदा सबैको जीवनमा आइपर्ने दुर्भाग्य हो; कतिले तिनीहरूलाई कुखुराको मासुको सुरुवा बनाइदिन्छन्, कतिले तिनीहरूलाई मालिस गरिदिन्छन्, कतिले तिनीहरूलाई खुवाइदिन्छन्, र कतिले तिनीहरूलाई हिँड्न सहयोग गर्छन्—के धेरै मानिसले दुःख पाउँदैनन् र? (पाउँछन्।) सुरुमा त यो साधारण र सानोतिनो रोग मात्रै हुन्छ, तर तिनीहरूलाई त यो गम्भीर र घातक रोग हो भनेर नाटक गर्नुपर्छ—तिनीहरूले किन नाटक गर्नुपरेको? तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई छल गरेर सेवा गराउन, तिनीहरूलाई रुङ्न र आफ्नो सेवामा लगाउन यसो गर्छन्। के यी मानिसहरू लाजपचेका हुँदैनन् र? (हुन्छन्।) के यस्ता मानिसहरू धेरै हुन्छन्? के तिमीहरू सबै पनि यस्तै छैनौ र? (मैले अझै पनि यो कुरा पहिचान गरेको छैनँ।) यदि तिमीहरूले यो कुरा पहिचान गरेका छैनौ भने, यसले तिमीहरू सामान्यतया आफ्नो दैनिक जीवनमा आफ्नो व्यवहार जाँच गर्दैनौ, तिमीहरू आफ्नो विचार र प्रकृति सार जाँच गर्दैनौ, र परमेश्वरको छानबिन स्वीकार गर्दैनौ भनेर प्रमाणित गर्छ। कति मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्दा अलिक थकित हुन्छन् र तिनीहरूलाई राती त्यति निद्रा लाग्दैन, र तिनीहरूले यसलाई भयानक अवस्था हो जस्तो बनाउँछन्। भोलि बिहान उठेपछि, तिनीहरू यसो भन्दै गुनासो गर्छन्, “हिजो राती एक झिमिक्क पनि सुतिनँ। विगत केही दिनदेखि म आफ्नो कर्तव्यमा यति व्यस्त भएको छु कि म सुत्न पनि नसक्ने गरी थकित छु। छिटो गरेर मलाई मालिस गरिदिने कसैलाई बोलाइदेऊ न!” वास्तवमा, तिनीहरू छ घण्टा सुतेका हुन्छन्। तिनीहरूसँग जेसुकै समस्या भए पनि, तिनीहरू सधैँ त्यसको दोष आफ्नो कर्तव्यलाई दिन्छन्; तिनीहरू थकित भए नि, तिनीहरूले कष्ट भोगे नि, वा तिनीहरू बिरामी भए नि र तिनीहरूलाई असहज भए नि, सधैँ यी कुराहरूको दोष तिनीहरू आफ्नो कर्तव्यलाई दिन्छन्। तिनीहरू किन आफ्नो कर्तव्यलाई दोष दिन्छन्? यो त बस केही फाइदा प्राप्त गर्ने, र सबैलाई तिनीहरूप्रति सहानुभूति महसुस गराउनु हो, अनि त्यसपछि तिनीहरूले मानिसहरूलाई सेवा गर्न र टहल्न लगाउँदा पनि त्यो उचित नै देखिन्छ। सधैँ सम्राट र साम्राज्ञी जस्तो व्यवहार गर्ने र अरूलाई टहल्न लगाउने यी मानिसहरू के कुरा हुन्? यी मानिसहरू नीच चरित्रका हुन् र तिनीहरू घिनलाग्दा हुन्छन्। जब कतिपय मानिसलाई अलिक अस्वस्थ महसुस हुन्छ, र कहिलेकहीँ खाना पच्दैन, तब तिनीहरू यसलाई अत्यन्तै गम्भीर देखाउँछन्, यसलाई ठूलो बनाउँछन्, र तुरुन्तै मालिस गर्ने व्यक्ति खोज्छन्। मालिस गर्दा अलिकति दुख्यो भने, चिच्याउँछन् र कराउँछन्, अनि त्यसको भित्री आशय हो: “मालिस गर्दा पनि मैले कष्ट भोग्नुपर्छ। यदि परमेश्वरले मलाई इनाम दिनुभएन र सिद्ध तुल्याउनुभएन भने, मलाई साँच्चै घाटा हुनेछ!” जब तिनीहरू अलिअलि कष्ट भोग्छन् र अलिअलि मूल्य चुकाउँछन्, तब यो कुरा पृथ्वीका हरेक व्यक्तिले थाहा पाऊन् भनेर सारा संसारको अघि घोषणा गर्न चाहन्छन्। के तैँले आफ्नै लागि कर्तव्य निर्वाह गर्दैनस् र? के तैँले परमेश्वरको अघि कर्तव्य निर्वाह गर्दैनस् र? तैँले केका लागि आफ्नो कष्ट मानिसहरूसामु घोषणा गरिरहेको छस्? के त्यो सतही कुरा होइन र? त्यस्ता मानिसहरू नीच चरित्रका हुन् र तिनीहरू अति घिनलाग्दा हुन्छन्! अरू कुन-कुन तरिकाले ती मानिसहरू नीच हुन्छन्? तिनीहरू विशेष बानीबेहोरा र विशिष्टताहरू पनि देखाउँछन्, ताकि मानिसहरूलाई तिनीहरू अरूभन्दा फरक छन्, र तिनीहरू अत्यन्तै बहुमूल्य छन् र तिनीहरूलाई ठूलो हेरचाह र सुरक्षाको खाँचो छ भन्ने कुरा थाहा होस्। उदाहरणका लागि, जब कुनै व्यक्तिले खाना रुच्दैन र केही खान सक्दिनँ भनेर भन्छ, तब यस्तो व्यक्तिले पेट समाउँदै उसको पेट पनि खराब छ भनेर भन्छ, तर ऊ कर्तव्य निर्वाह गर्न पनि लागिपरिरहन्छ, र कसैलाई तुरुन्तै गएर पेटको औषधि ल्याउन आदेश दिन्छ। एक यस्तो व्यक्ति पनि थियो जसलाई मैले भनेको थिएँ, “हेर्, म थोरै मात्र खान सक्छु, र चिसो खानेकुरा र पेय पदार्थ मेरो पेटले सहन सक्दैन।” मैले यसो भनेको सुनेपछि, त्यस व्यक्तिले भन्यो, “तपाईँको पेटले चिसो सहन सक्दैन? मेरो पनि त्यस्तै छ।” मैले भनेँ, “तेरो पेटले कसरी चिसो कुरा सहँदैन?” उसले भन्यो, “मलाई चिसो लाग्नेबित्तिकै, मेरो पेट दुख्छ; यसले चिसो कुरा सहँदैन।” तर उसले त्यसो भन्दै गर्दा, एउटा केरा हातमा लिएर एक-दुई गाँसमै सुलुक्क निलिहाल्यो। मैले भनेँ, “तैँले एक-दुई गाँसमै केरा निल्ने रहेछस्, तेरो पेटले साँच्चै चिसो पटक्कै सहँदैन होला। के तेरो पेटले साँच्चै चिसो सहन सक्दैन त?” के त्यस्ता मानिसहरू लाज पचेका र चेतनाहीन हुँदैनन् र? यदि कुनै व्यक्तिको सामान्य मानवतामा चेतना र लज्जाबोध छैन भने, ऊ मानव नै होइन, ऊ त पशु हो। पशुहरूले सत्यता बुझ्न सक्दैनन्, र तिनीहरूमा सामान्य मानवताको निष्ठा, मर्यादा, विवेक, र समझ हुँदैन। यी मानिसहरूमा कुनै लाज वा मर्यादा नभएको हुनाले, जब तिनीहरू अलिअलि कर्तव्य निर्वाह गर्छन् र अलिअलि कठिनाइ भोग्छन्, तब तिनीहरू यसबारे सम्पूर्ण संसारको अगाडि घोषणा गर्न चाहन्छन्, ताकि सबैले तिनीहरूको प्रयासलाई स्वीकार गरून्, तिनीहरूलाई अझ आदरभावले मान गरून्, र ताकि परमेश्वरले तिनीहरूलाई विशेष व्यवहार दिनुहोओस्, दयालु व्यवहार गर्नुहोओस् र आशिष् प्रदान गर्नुहोओस्। योसँगै, तिनीहरूलाई कसै न कसैले तुरुन्तै सेवा प्रदान गर्नुपर्छ, तिनीहरूको मागको जबाफ दिनुपर्छ, र तिनीहरूको सेवामा हरपल हाजिर भइरहनुपर्छ। तिनीहरू तिर्खाउँदा, कसै न कसैले तिनीहरूलाई चिया दिनुपर्छ; तिनीहरूलाई भोक लाग्दा, कसै न कसैले तिनीहरूलाई खाना पस्किदिनुपर्छ। तिनीहरूसँग सधैँ तिनीहरूको सेवा गर्ने, तिनीहरूले भनेको कुरा गर्ने, र तिनीहरूको आवश्यकताहरू पूरा गर्ने कोही न कोही हुनैपर्छ। यस्तो लाग्छ मानौँ तिनीहरूको देह अरू कसैका लागि जन्मेको हो, र तिनीहरूलाई जन्मजातै टहल गरेर बस्ने कसै न कसैको आवश्यकता हुन्छ; मानौँ कसैले टहल गरेन भने तिनीहरूसँग आफ्नो हेरचाह गर्ने क्षमता नै हुँदैन, र तिनीहरू अशक्त हुन्छन्। जब तिनीहरूसँग अह्राउनका लागि, वा तिनीहरूका लागि काम गर्न र तिनीहरूलाई सेवा प्रदान गर्न आदेश दिन मिल्ने कुनै व्यक्ति हुँदैन, तब तिनीहरूलाई एक्लो र खोक्रो, अनि जीवनको कुनै अर्थ वा आशा नभएजस्तो महसुस हुन्छ। जब तिनीहरूले अरूलाई सेवा गर्न र रुङ्न लगाउने मौका र बहाना भेट्टाउँछन्, तब तिनीहरूलाई सन्तुष्टि र खुसी लाग्छ, मानौँ तिनीहरू अहिले उल्लासमय जीवन जिइरहेका छन्। तिनीहरू जीवन यति सुन्दर छ, परमेश्वरमाथिको विश्वास यति सुन्दर छ, र यही नै परमेश्वरमाथिको विश्वासको अर्थ हो, र यसरी नै विश्वासीले परमेश्वरमा विश्वास गर्नुपर्छ भन्ने सोच्छन्। कर्तव्यबारेको तिनीहरूको बुझाइ यस्तो हुन्छ: कर्तव्य भनेको अरूलाई सेवा गर्न लगाउने र स्वतन्त्र रूपमा अरूलाई खटनमा राख्न सक्षम भइने आधारमा प्रयत्न लगाउनु र आफ्नो जिम्मेवारी पूरा गर्नु हो—तिनीहरूको कर्तव्य यही हो। तिनीहरूलाई आफूले सधैँ आफ्नो कर्तव्यका लागि इनाम प्राप्त गर्नैपर्छ, सधैँ केही न केही प्राप्त गर्नैपर्छ र केही न केही प्राप्त गर्ने प्रयास गर्नैपर्छ भन्ने लाग्छ। यदि तिनीहरूले पैसा वा भौतिक कुराहरू प्राप्त गर्ने प्रयास गरिरहेका छैनन् भने, देहगत सुख र आनन्दहरू प्राप्त गर्ने प्रयास गरिरहेका हुन्छन्, र कम्तीमा पनि तिनीहरूको देह आनन्द र सहजताको स्थितिमा हुनुपर्छ, अनि तिनीहरूलाई खुसी लाग्नेछ, र त्यसपछि तिनीहरूसँग आफ्नो कर्तव्य निर्वाह गर्ने ऊर्जा हुनेछ र तिनीहरूले केही बफादारीसाथ यो काम गर्न सक्नेछन्। के त्यस्ता मानिसहरूमा सत्यताबारे विकृत बुझाइ हुन्छ कि तिनीहरू आफ्नो नीच चरित्रको कारण सत्यता स्वीकार गर्दैनन्? (तिनीहरूको चरित्र नीच हुन्छ, त्यसकारण तिनीहरू सत्यता स्वीकार गर्दैनन्।) यी मानिसहरू पूराका पूरा अविश्वासी हुन्, ख्रीष्टविरोधीहरूका भक्त सन्तान र ख्रीष्टविरोधीहरूको मूर्तरूप हुन्।
परमेश्वरको घरमा केही यस्ता अभिनेताहरू छन्, जो बाहिरी संसारमा हुँदा अभिनय गरेर आनन्दित हुन्थे र अभिनय पेसा मन पराउँथे, तर त्यहाँ आफ्नो महत्त्वाकाङ्क्षा हासिल गर्न सक्षम भएका थिएनन्। अहिले तिनीहरू परमेश्वरको घर आएका छन् र अन्ततः तिनीहरूका इच्छाहरू पूरा भएका छन्: तिनीहरूले आफूलाई मनपर्ने पेसामा काम गर्न सक्छन्, तिनीहरूको हृदय चरम आनन्दले भरिएको हुन्छ, र सँगसँगै तिनीहरू यो अवसर दिएकामा परमेश्वरलाई धन्यवाद दिन्छन्। यिनीहरूमध्ये एक व्यक्तिले मुख्य भूमिका लिने सौभाग्य पायो, र त्यसपछि उसलाई आफू नाम र दाम भएको व्यक्ति हुँ, अनि त्यो नाम र दामको खातिर आफूले केही गर्नुपर्छ भन्ने लाग्यो। अनि, उसले संसारका सेलिब्रेटी र स्टारहरूले के गर्छन्, तिनीहरू कसरी व्यवहार गर्छन्, तिनीहरूको स्टायल के हो, र तिनीहरूको जीवनशैली कस्तो छ भनेर हेर्यो, अनि गुणस्तरीय र आदर्श जीवन जिउनु भनेको यही हो भन्ने विश्वास गर्दै तिनीहरूको नक्कल र अनुकरण गर्यो। त्यसैले, उसले मुख्य भूमिका पाएर “स्टार” बनेको क्षणदेखि नै फुइँ लगाउन थाल्यो। उसले कुन हदसम्म फुइँ लगायो त? एकपटक एउटा सानो घटना घटेको थियो, जसले यस समस्यालाई व्याख्या गर्न सक्छ। जब टोलीका सबै जना छायाङ्कन सुरु गर्न तयार भए, तब यो विशेष “स्टार” को एकपट्टिको आँखीभौँ राम्ररी बनाइएको थिएन, र सबैले उसलाई पर्खनुपर्यो, उसको अघिपछि हिँड्नुपर्यो, र सेवा गर्नुपर्यो। दश मिनेट बित्यो, त्यसपछि बीस मिनेट बित्यो, तर यस स्टारलाई उसको आँखीभौँ राम्ररी कोरिएको छैन भन्ने नै लाग्यो, र त्यसैले उसले मेकअप गर्नेलाई त्यो पूरै हटाएर फेरि नयाँ ढङ्गले बनाउन लगायो। एक घण्टा बित्यो, तर अझै सबै कलाकार र टोली यो “स्टार” को आँखीभौँ राम्रो बनेपछि मात्र छायाङ्कन सुरु गर्न पर्खिरहेका थिए—हरेकले यस व्यक्तिको सेवा गर्नुपर्थ्यो र उसकै अघिपछि लाग्नुपर्थ्यो। यो कस्तो व्यक्ति हो? के ऊ सामान्य व्यक्ति हो? के ऊ मानवता भएको व्यक्ति हो? होइन। ऊ शैतानको गुटको व्यक्ति हो, ऊ शैतानको हो, र ऊ परमेश्वरको घरको होइन। के परमेश्वरको घरमा स्टारहरू हुन्छन्? परमेश्वरको घरमा स्टारहरू हुँदैनन्, दाजुभाइ-दिदीबहिनीहरू मात्रै हुन्छन्; फरक-फरक कर्तव्यहरू मात्रै हुन्छन्, उचो र नीचो पदहरूबीच कुनै भिन्नता हुँदैन। त्यसोभए, कुन आधारमा यो एक जना व्यक्तिले दाजुभाइ-दिदीबहिनीहरूलाई यसरी कुरेको कुर्यै गर्न लगायो? एउटा कुरा निश्चित छ, उसले आफू अरू मानिसभन्दा महत्त्वपूर्ण छु, आफ्नो कर्तव्य अरू मानिसको भन्दा वजनदार छ, आफूविना प्रस्तुतिको छायाङ्कन गर्न सकिँदैन, र आफूविना अरूले व्यर्थमा कर्तव्य निर्वाह गरिरहेका हुन्छन् भन्ने सोचेको थियो। त्यसैले, अरू सबैले उसको सेवा गर्नुपर्थ्यो, उसलाई कुर्दै मूल्य चुकाउनु र धैर्य गर्नुपर्थ्यो, र कसैले पनि गुनासो गर्नु हुँदैनथ्यो। मानवताको कमी हुनुबाहेक, यस्ता मानिसहरूले यसरी व्यवहार गर्ने सिद्धान्तहरू कहाँबाट प्राप्त गरेका हुन्छन्? तिनीहरूका सिद्धान्तहरू सत्यता र परमेश्वरका वचनहरूबाट आएका हुन्छन् कि मानव भ्रष्ट स्वभावहरूबाट आएका हुन्छन्? (मानव भ्रष्ट स्वभावहरूबाट।) शैतानको गुटबाट आएका मानिसहरूमा शैतानका भ्रष्ट स्वभावहरू मात्रै हुँदैनन्, तिनीहरूले मानिसहरूको समूहभित्र देखाउने कार्य, व्यवहार, र प्रकटीकरणहरू पनि घृणित हुन्छन्। ती किन घृणित हुन्छन्? तिनीहरू सधैँ परिस्थिति नियन्त्रण गर्न, अरूलाई चालवाजी गर्न, र अरूलाई आफ्नो वरिपरि घुमाएर आफूलाई केन्द्रीय व्यक्ति बनाउन चाहन्छन्। यसो गर्दा, तिनीहरूले स्पष्ट रूपमै आफूलाई अरू सबैभन्दा माथिको स्थानमा राखिरहेका हुन्छन्; तिनीहरू अरू सबैभन्दा माथि उठेर सबैलाई नियन्त्रण गर्न चाहन्छन्। के यो मानिसहरूले गर्नुपर्ने कुरा हो? (होइन।) कसले यसो गर्छ? (शैतानले।) यो त शैतानले गर्ने कुरा हो। परमेश्वर जुन सत्यताहरूमा मानिसहरूलाई कर्तव्य निर्वाह गर्ने माग गर्नुहुन्छ ती सत्यताहरूमा, के मानिसहरूले कर्तव्य निर्वाह गर्ने क्रममा परिस्थिति आफ्नो हातमा लिएर सबैको विचार र व्यवहार नियन्त्रण गर्नुपर्छ भन्ने कुनै माग छ? (छैन।) त्यसोभए यो कुरा कहाँबाट आउँछ? यो त मानिसहरूले जन्मजातै लिएर आउने शैतानी प्रकृति हो। मानिसहरू शैतान हुन् र जन्मेदेखि नै तिनीहरूमा यो प्रकृति हुन्छ। तिनीहरूले यो कुरा सिक्नु पर्दैन, कसैले पनि तिनीहरूलाई यस्तो कुरा सिकाउनु पर्दैन, र तैँले तिनीहरूसँग जेजसरी सत्यतामा सङ्गति गरे पनि, तिनीहरूले यो कुरा त्याग्नेछैनन्। एउटा यस्तो व्यक्ति पनि थियो जसको केही कपाल राम्ररी मिल्दैनथ्यो र उसले मञ्चमा आफ्नो प्रस्तुति दिनुभन्दा पहिले त्यो कपाल मिलाइएको थिएन। रूपको हिसाबमा, ऊ राम्रै देखिन्थ्यो, तैपनि ऊ समयमै प्रस्तुति दिन मञ्चमा चढ्दैनथ्यो; दाजुभाइ-दिदीबहिनीहरूले उसलाई जति नै अनुरोध गरे पनि, यो सबै व्यर्थ हुन्थ्यो। उसले आफूलाई एक स्टारका रूपमा, मुख्य चमक ठान्थ्यो; ऊ नमिलेका यी थोरै कपालको खातिर सबैलाई मूल्य चुकाउन र आफ्नो समय खर्च गर्न लगाउँथ्यो, र सबैले उसको मात्रै सेवा गर्नुपर्थ्यो। के यो सामान्य मानवता भएको व्यक्तिमा हुनुपर्ने प्रकटीकरण हो? यस व्यवहारको प्रकृति के हो? के उसले फाइँफुट्टी लगाइरहेको थिएन र? ऊ जिम्मेवार बनिरहेको थिएन र ऊ सबै समझप्रति पूरै बहिरो थियो। जहाँसम्म उसको कुरा थियो, उसका लागि त कसैको कर्तव्य पनि उसको जत्ति महत्त्वपूर्ण थिएन, र हरेकले उसैको सेवा गर्नुपर्थ्यो। ऊ सोच्थ्यो, “यदि यी दुइटा कपाल सुकाएर ठिक ठाउँमा ल्याउन पूरै दिन लाग्यो भने पनि, तिमीहरूले मलाई यो पूरै दिन पर्खनुपर्छ; यदि दुई दिन लाग्यो भने पनि, तिमीहरूले दुई दिन नै पर्खनुपर्छ; अनि यदि जीवनभर लाग्यो भने पनि, तिमीहरूले जीवनभर नै पर्खनुपर्छ। परमेश्वरको घरका काम र हितहरू के हुन् र—मेरा हितहरू नै पहिलो स्थानमा आउँछन्! यदि मैले मेरो कपाल हावाले सुकाएर मिलाउन सकिनँ भने, के म क्यामेराअगाडि जाँदा मेरो छविमा चोट पुग्नेछैन र? मेरो छवि अत्यन्तै महत्त्वपूर्ण छ। परमेश्वरको घरका हितहरूको कुनै अर्थ छैन!” यो कस्तो चिज हो? यस्तो व्यक्तिले यसो पनि भन्नेछ, “म परमेश्वरलाई प्रेम गर्छु, परमेश्वरको गवाही दिन्छु, परमेश्वरका लागि आफ्नो कर्तव्य निर्वाह गर्छु, र सबै कुरा त्याग्छु।” के यो सबै झूट होइन र? उसले एक-दुईवटा कपाल सुकाउने जस्तो कुरासमेत त्याग्न सक्दैन भने, के चाहिँ त्याग्न सक्छ र? उसले के कुरा चाहिँ त्याग गर्न सक्छ? उसले परित्याग गर्ने सबै कुरा नक्कली हुन्! यस्ता मानिसहरू पूर्ण रूपमा समझहीन हुन्छन्, तिनीहरूमा विवेक हुँदैन, र तिनीहरूको चरित्र कमसल हुन्छ, र सत्यतालाई प्रेम गर्नबाट तिनीहरू झनै धेरै चुकेका हुन्छन्। तिनीहरूको मानवता मापदण्डअनुरूप नहुने हुनाले, कसैले पनि तिनीहरूसँग सत्यताबारे कुरा गर्नेछैनन्, तिनीहरू यसको योग्य हुँदैनन्, र तिनीहरूको चरित्र मापदण्डअनुरूप हुँदैन। अनि त्यस्तो नीच मानवता बोकेका तिनीहरूसँग सत्यताबारे कुरा गर्नु के सुँगुर वा कुकुरसँग सत्यताबारे कुरा गर्नुजस्तै हुनेछैन र? जब तिनीहरूमा केही मानव रूप हुन्छ र तिनीहरूले मानवजस्तो बोल्न सक्छन्, तब मानिसहरूले तिनीहरूसँग सत्यताबारे कुरा गर्नेछन्, तर अहिले तिनीहरू यसको योग्य हुँदैनन्। यस्ता मानिसहरू धेरै छन्, निकै धेरै छन्। त्यसोभए, किन कतिपय मानिस यी कुराहरू प्रकट गर्दैनन् त? किनभने तिनीहरूले अझै कुनै अवसरको फाइदा उठाएका हुँदैनन्; यो तिनीहरूको क्षमता र प्रतिभा अत्यन्तै साधारण भएकाले, र तिनीहरूले केन्द्रबिन्दु हुने मौका नपाएकाले र केही पूँजी प्राप्त नगरेकाले हो, तर तिनीहरूले हृदयमा भने षड्यन्त्र गरिरहेका हुन्छन्, तिनीहरूका योजनाहरू अझै पनि गर्भावस्थामै हुन्छन्। त्यसकारण तिनीहरूले यस्तो प्रकटीकरण देखाएका हुँदैनन्। तैपनि, यो प्रकटीकरण नहुनुको अर्थ तिनीहरूमा यो प्रकृति छैन भन्ने होइन। यदि तँ सत्यता पछ्याउँदैनस्, बरु ख्रीष्टविरोधीहरूको मार्ग पछ्याउँछस् भने, ढिलोचाँडो एकदिन तैँले यो प्रकटीकरण अचानक देखाइहाल्नेछस्। तँ भनेको तँ नै होस्, र मानवतारहित हुनु भनेको मानवतारहित हुनु नै हो; नाटक गरेर वा तँसँग प्रतिभा नभएकाले र कमजोर क्षमता भएकाले तँ मानवता भएको व्यक्ति बन्न सक्दैनस्। त्यसकारण एउटै मात्र बाटो छ: जब व्यक्तिले सत्यता स्विकार्न र काटछाँट हुन स्विकार्न सक्छ, तब उसको चरित्रमा केही सुधार आउन सक्छ। जब तिनीहरूले यी तथ्यहरू सामना गर्न सक्छन्, जब यी तथ्यहरूलाई सही रूपमा लिन सक्छन्, र त्यसपछि जब आफ्नो व्यवहार र अन्तस्करणलाई बारम्बार परीक्षण र जाँच गर्न सक्छन्, तब तिनीहरू अझै राम्रो बन्न सक्छन् र तिनीहरूले आफूलाई अलिक नियन्त्रण गर्न सक्छन्। आफूलाई अलिक नियन्त्रण गरेर के उद्देश्य हासिल गर्न सकिन्छ? तैँले आफूलाई त्यति लाजमा पार्नेछैनस्, तेरो प्रतिष्ठा अलिक राम्रो हुनेछ, मानिसहरूले तँलाई घिनाउनेछैनन्, परमेश्वरले तँलाई तिरस्कार गर्नुहुनेछैन, र यसरी तँसँग अझै पनि परमेश्वरबाट मुक्ति पाउने मौका हुन सक्छ। के यो मानवजातिमा हुनुपर्ने न्यूनतम समझ होइन र? के अलिकति भए पनि विवेक र समझ भएको व्यक्तिलाई यसरी अभ्यास र प्रवेश गर्न सजिलो हुँदैन र?
जब तिमीहरू मैले त्यस्ता मानिसहरूबारे तिमीहरूलाई बताएको सुन्छौ, तब तिमीहरूलाई निकै ढुक्क लाग्छ, तर यदि मैले तिमीहरूमाझ रहेका निश्चित मानिसहरूबारे कुरा गरेँ भने, तिमीहरूलाई कस्तो लाग्नेथियो? के तिमीहरूले सामान्य रूपमा प्रतिक्रिया दिनेथियौ? म तँलाई भन्छु, यदि तँ स्वभाव परिवर्तन हासिल गर्न र सत्यता वास्तविकतामा प्रवेश गर्न चाहन्छस् भने, तैँले एकपछि अर्को परीक्षा पार गर्नुपर्छ। यी कुराहरूलाई सानोतिनो नठान्; यदि तेरो मानवता मापदण्डअनुरूप छैन भने, दाजुभाइ-दिदीबहिनीहरूले तँलाई घिनाउने मात्र होइनन्, तँलाई परमेश्वरले समेत सिद्ध पार्नुहुने वा मुक्ति दिनुहुनेछैन। परमेश्वरको कसैलाई मुक्ति दिने सबैभन्दा आधारभूत सर्त भनेको त्यस व्यक्तिमा मानवता, समझ, र विवेक हुनु हो, र उसलाई लाज भनेको के हो त्यो थाहा हुनैपर्छ। जब यस्तो व्यक्ति परमेश्वरसामु आउँछ र उहाँका वचनहरू सुन्छ, तब परमेश्वरले उसलाई ज्योति, डोर्याइ, र मार्गदर्शन प्रदान गर्नुहुनेछ। मानवता, विवेक, समझ, वा लज्जाबोध नभएका मानिसहरू परमेश्वरसामु आउन सदासर्वदा अयोग्य हुनेछन्। तैँले प्रवचनहरू सुने पनि र केही धर्मसिद्धान्त जाने पनि, अन्तर्दृष्टि पाउनेछैनस्, त्यसकारण तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सदैव असमर्थ हुनेछस्। यदि तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्दैनस् भने, मुक्ति प्राप्त गर्ने तेरा आशाहरू शून्य हुन्छन् भन्ने कुरा महसुस गर्न त्यति धेरै समय लाग्दैन। यदि तँमा ख्रीष्टविरोधीहरूका यी प्रकटीकरणहरू र ख्रीष्टविरोधीहरूको स्वभाव र सार मात्रै छन्, र तँसँग परमेश्वरले तँमा हुनुपर्छ भनी मापदण्ड दिएको सामान्य मानवताका कुनै पनि प्रकटीकरण छैन भने, तँ ठूलो खतरामा हुन्छस्। यदि तैँले मैले खुलासा गरिरहेका ख्रीष्टविरोधीहरूका यी हरेक प्रकटीकरण र सार, साथै तिनीहरूको व्यवहार र खुलासाहरूसँग आफूलाई तुलना गर्न सक्छस् भने, यदि तँमा थोरै वा धेरै हदसम्म ती सबै कुरा छन् भने, यो तेरो लागि अत्यन्तै खतरनाक हुन्छ। यदि तँ अझै पनि सत्यता पछ्याउँदैनस् र तँलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गरिन्जेल पर्खेर बस्छस् भने, तँ पूर्ण रूपमा समाप्त हुनेछस्। यीमध्ये कुन चाहिँ घातक रोग हो: ख्रीष्टविरोधीको सार हुनु कि ख्रीष्टविरोधीको स्वभाव हुनु? (ख्रीष्टविरोधीको सार हुनु।) हो र? (हो।) यसबारे ध्यान दिएर विचार गर, त्यसपछि फेरि उत्तर देओ। (ख्रीष्टविरोधीको सार हुनु र ख्रीष्टविरोधीको स्वभाव हुनु दुवै घातक रोग हुन्।) किन? (किनभने ख्रीष्टविरोधीको सार भएका मानिसहरू सत्यता पछ्याउँदैनन्, र ख्रीष्टविरोधीको स्वभाव भएका मानिसहरूको हकमा पनि यस्तै हुन्छ। ख्रीष्टविरोधीको स्वभाव भएका मानिसहरू जुनसुकै समस्या सामना गरे पनि, कहिल्यै सत्यता पछ्याउनमा ध्यान दिँदैनन्, र तिनीहरूमा न्यूनतम मानवता र समझसमेत हुँदैन; यस्ता मानिसहरू सत्यता प्राप्त गर्न असमर्थ हुन्छन्, र तिनीहरूले मुक्ति पनि प्राप्त गर्न सक्दैनन्—यो पनि एउटा घातक रोग हो।) अरू कसले बोल्न चाहन्छ? (मेरो बुझाइ के हो भने, यी दुवै घातक रोग होइनन्, तर यदि कसैले सत्यता पछ्याउँदैन भने, त्यो चाहिँ घातक रोग हो।) यो यसबारे राम्रो बुझाइ हो। तैपनि, यसका लागि एउटा पूर्वसर्त छ, र त्यो ख्रीष्टविरोधीको सार हो—ख्रीष्टविरोधीको सार भएका मानिसहरू सत्यता पटक्कै पछ्याउँदैनन्, तिनीहरू अविश्वासी हुन्—ख्रीष्टविरोधीको सार हुनु सबैभन्दा खतरनाक कुरा हो। ख्रीष्टविरोधीको सार भन्नुको अर्थ के हो? यसको अर्थ यी मानिसहरू सत्यता पटक्कै पछ्याउँदैनन्; तिनीहरू हैसियत मात्रै पछ्याउँछन्, तिनीहरू अन्तर्निहित रूपमै परमेश्वरका शत्रु हुन्, तिनीहरू ख्रीष्टविरोधी हुन्, तिनीहरू शैतानको मूर्तरूप हुन्, जन्मैदेखि तिनीहरू दियाबलस हुन्, तिनीहरू मानवताविहीन हुन्छन्, तिनीहरू भौतिकवादी हुन्, तिनीहरू नमुना अविश्वासी हुन्, र त्यस्ता मानिसहरू सत्यताप्रति वितृष्णा राख्छन्। “सत्यताप्रति वितृष्णा राख्नु” भन्नुको अर्थ के हो? यसको अर्थ तिनीहरू परमेश्वर सत्यता हुनुहुन्छ भन्ने कुरामा विश्वास गर्दैनन्, तिनीहरू परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ भन्ने तथ्य स्वीकार गर्दैनन्, झन् परमेश्वर सबै थोक र सबै कुरामाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने तथ्य स्वीकार गर्नु त परको कुरा हो। त्यसकारण, जब त्यस्ता मानिसहरूलाई सत्यता पछ्याउने मौका दिइन्छ, तब के तिनीहरू त्यसो गर्न सक्छन् त? (सक्दैनन्।) तिनीहरूले सत्यता पछ्याउन नसक्ने हुनाले, र तिनीहरू सदासर्वदा सत्यताका शत्रु र परमेश्वरका शत्रु हुने हुनाले, तिनीहरूले कहिल्यै सत्यता प्राप्त गर्न सक्नेछैनन्। सत्यता प्राप्त गर्न सदा असमर्थ हुनु घातक रोग हो। अनि स्वभावको हिसाबमा, ख्रीष्टविरोधीको स्वभाव भएका सबै मानिस र ख्रीष्टविरोधीको सार भएका मानिसहरूबीच समानताहरू हुन्छन्: तिनीहरू उस्तै प्रकटीकरणहरू, उस्तै खुलासाहरू प्रदर्शन गर्छन्, र तिनीहरूले यी प्रकटीकरण र प्रकाशहरू प्रदर्शन गर्ने तरिका, तिनीहरूको सोचाइ शैली, र परमेश्वरबारे तिनीहरूका धारणा र कल्पनाहरू पनि उस्तै हुन्छन्। तर ख्रीष्टविरोधीको स्वभाव भएका मानिसहरूले सत्यता स्विकार्न सके पनि नसके पनि र परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ भन्ने तथ्य स्विकार्न सके पनि नसके पनि, तिनीहरू सत्यता पछ्याउँदैनन् भने, तिनीहरूको ख्रीष्टविरोधीको स्वभाव घातक रोग बन्छ, र यही कारणले गर्दा तिनीहरूको परिणाम पनि ख्रीष्टविरोधीको सार भएका मानिसहरूको जस्तै हुनेछ। तैपनि भाग्यवश, ख्रीष्टविरोधीको स्वभाव भएका मानिसहरूमध्ये कति जनामा मानवता, समझ, विवेक, र लज्जाबोध हुन्छ, तिनीहरू सकारात्मक कुराहरूलाई प्रेम गर्छन्, र तिनीहरूमा परमेश्वरबाट मुक्ति पाउनका लागि पूरा गर्नुपर्ने सर्तहरू हुन्छन्। यी मानिसहरू सत्यता पछ्याउँछन्, त्यसैले तिनीहरू स्वभाव परिवर्तन गर्छन्, आफ्नो भ्रष्ट स्वभाव त्याग्छन्, र आफ्नो ख्रीष्टविरोधी स्वभाव त्याग्छन्, र त्यसकारण तिनीहरूको ख्रीष्टविरोधी स्वभाव तिनीहरूका लागि घातक रोग हुन छोड्छ, र तिनीहरूले मुक्ति पाउने सम्भावना हुन्छ। कुन परिस्थितिमा ख्रीष्टविरोधी स्वभाव हुनु घातक रोग हो भनेर भन्न सकिन्छ? यसका लागि एउटा पूर्वसर्त छ, र त्यो के हो भने यी मानिसहरूले परमेश्वरको अस्तित्व स्विकारे पनि, परमेश्वरको सार्वभौमिकतामा विश्वास गरे पनि, परमेश्वरले भनेका सबै कुरामा विश्वास गरे पनि र त्यसलाई स्विकारे पनि, र तिनीहरूले कर्तव्य निर्वाह गर्न सके पनि, तिनीहरूमा एउटा कुरा गलत हुन्छ: तिनीहरू कहिल्यै सत्यता अभ्यास गर्ने वा सत्यता पछ्याउने गर्दैनन्। त्यसकारण तिनीहरूको ख्रीष्टविरोधी स्वभाव तिनीहरूका लागि घातक बन्छ, र यसले तिनीहरूको ज्यान लिन सक्छ। तर ख्रीष्टविरोधीको सार भएका मानिसहरूको कुरा आउँदा, परिस्थिति जेसुकै भए पनि, यी मानिसहरूले सत्यतालाई प्रेम गर्ने वा सत्यता स्विकार्ने सम्भावनै हुँदैन, र तिनीहरू कहिल्यै सत्यता प्राप्त गर्न सक्दैनन्। कुरो बुझ्यौ? (बुझ्यौँ।) तिमीहरूले बुझ्यौ। मलाई यो कुरा दोहोर्याएर बताओ त। (ख्रीष्टविरोधीको सार भएका मानिसहरू अन्तर्निहित रूपमै परमेश्वरका शत्रु हुन्। तिनीहरू अवश्य नै सत्यतालाई प्रेम र स्वीकार गर्न सक्ने मानिस होइनन्, र तिनीहरूले सत्यता प्राप्त गर्नु सधैँ असम्भव हुन्छ, त्यसकारण तिनीहरूका लागि तिनीहरूको ख्रीष्टविरोधी स्वभाव घातक रोग हो। जबकि ख्रीष्टविरोधी स्वभाव भएका निश्चित मानिसहरूको हकमा भने, तिनीहरूमा मानवता, समझ, विवेक, र लज्जाबोध छ भने, र तिनीहरू सकारात्मक कुराहरूलाई प्रेम गर्छन् र सत्यता पछ्याउँछन्, र त्यसपछि सत्यता पछ्याएर स्वभाव परिवर्तन गर्छन् भन्ने पूर्वसर्तका आधारमा, तिनीहरू सही मार्ग पछ्याइरहेका हुन्छन्, र तिनीहरूका लागि तिनीहरूको ख्रीष्टविरोधी स्वभाव घातक रोग होइन। यो सबै कुरालाई यी मानिसहरूको सार र तिनीहरूले पछ्याउने मार्गले निर्धारित गरेको हुन्छ।) भन्नुको अर्थ, ख्रीष्टविरोधी सार भएका मानिसहरूले सत्यता पछ्याउनु कहिल्यै सम्भव हुँदैन, र तिनीहरूले कहिल्यै मुक्ति प्राप्त गर्न सक्दैनन्, जबकि ख्रीष्टविरोधी स्वभाव भएका मानिसहरूलाई दुई प्रकारमा वर्गीकरण गर्न सकिन्छ: एक प्रकारकाले सत्यता पछ्याउँछन् र मुक्ति प्राप्त गर्न सक्छन्, र अर्को प्रकारकाले सत्यता पटक्कै पछ्याउँदैनन् र तिनीहरूले मुक्ति प्राप्त गर्न सक्दैनन्। मुक्ति प्राप्त गर्न नसक्नेहरू सबै श्रमिक हुन्; केही निश्चित बफादार श्रमिक रहिरहन सक्छन्, र तिनीहरूले फरक परिणाम प्राप्त गर्ने सम्भावना हुन सक्छ।
ख्रीष्टविरोधी सार भएका मानिसहरू किन मुक्ति प्राप्त गर्न सक्दैनन्? किनभने यी मानिसहरू सत्यता स्वीकार गर्दैनन्, न त परमेश्वर सत्यता हुनुहुन्छ भन्ने कुरा नै स्वीकार गर्छन्। यी मानिसहरू सकारात्मक कुराहरू हुन्छन् भनेर स्वीकार गर्दैनन्, र सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन्। बरु त्यसको साटो, तिनीहरू दुष्ट र नकारात्मक कुराहरूलाई प्रेम गर्छन्; तिनीहरू सबै दुष्ट र नकारात्मक कुराहरूका मूर्तरूप हुन्, र तिनीहरू सबै नकारात्मक र दुष्ट कुराहरू व्यक्त गर्नेहरू हुन्, र त्यसैले तिनीहरू सत्यताप्रति वितृष्णा राख्न, सत्यताप्रति शत्रुता राख्छन्, र सत्यतालाई घृणा गर्छन्। के तिनीहरूले त्यस्तो सार लिएर सत्यता पछ्याउन सक्छन्? (सक्दैनन्।) त्यसकारण, यी मानिसहरूलाई सत्यता पछ्याउन लगाउनु असम्भव हुन्छ। के कुनै पशुलाई अर्को प्रकारको पशुमा रूपान्तरित गर्नु सम्भव छ त? उदाहरणका लागि, के बिरालोलाई कुकुर वा मूसा बनाउन सकिन्छ त? (सकिँदैन।) मुसो सधैँ मुसो नै हुनेछ, त्यो प्रायः प्वालहरूमा लुकेर अँध्यारोमै बस्ने गर्छ। बिरालो सधैँ मुसाको प्राकृतिक शत्रु हुनेछ, र यस कुरालाई परिवर्तन गर्न सकिँदैन—यसलाई कहिल्यै परिवर्तन गर्न सकिँदैन। तैपनि ख्रीष्टविरोधी स्वभाव भएका मानिसहरूमाझ केही यस्ता व्यक्ति पनि हुन्छन्, जो सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्छन्, जो सत्यता अभ्यास गर्न र पछ्याउन सबै कुरामा सक्रिय रूपमा लागिपर्न इच्छुक हुन्छन्; तिनीहरू परमेश्वर जे भन्नुहुन्छ त्यही अभ्यास गर्छन्, परमेश्वरले तिनीहरूलाई जसरी अगुवाइ गर्नुभए पनि तिनीहरूले पछ्याउँछन्, तिनीहरू परमेश्वर जे भन्नुहुन्छ त्यही गर्छन्, तिनीहरूले पछ्याउने मार्ग पूर्ण रूपमा परमेश्वरले माग गरेको मार्गअनुरूप हुन्छ, र तिनीहरू परमेश्वरले देखाएको दिशा र उद्देश्यअनुसार नै पछ्याउँछन्। तर अरूको हकमा भन्दा, तिनीहरू सत्यता पछ्याउँदैनन् भन्ने तथ्यबाहेक, तिनीहरू ख्रीष्टविरोधीको मार्ग पनि पछ्याउँछन्, र यी मानिसहरूको परिणाम के हुनेछ भन्ने कुरा थाहा पाउन त्यति धेरै समय लाग्दैन। तिनीहरूले सत्यता प्राप्त नगर्ने मात्र होइन, मुक्ति पाउने मौका पनि गुमाउनेछन्—यी मानिसहरू कति दयनीय हुन्छन्! परमेश्वर तिनीहरूलाई अवसर दिनुहुन्छ अनि सत्यता र जीवन पनि प्रदान गर्नुहुन्छ, तर तिनीहरू यी कुराहरूको कदर गर्दैनन्, र सिद्ध पारिने मार्ग पछ्याउँदैनन्। परमेश्वर केही मानिसहरूलाई अरूलाई भन्दा बढी निगाह गर्नुहुन्छ र यी मानिसहरूलाई चाहिँ मौका दिनुहुन्न भन्ने होइन, बरु के हो भने तिनीहरूले यी अवसरहरूको कदर नगरेकाले वा परमेश्वरले माग गर्नुभएअनुसार काम नगरेकाले तिनीहरूले मुक्ति पाउने मौका गुमाएका हुन्छन्। त्यसकारण, तिनीहरूको ख्रीष्टविरोधी स्वभाव घातक बन्छ र यसले गर्दा तिनीहरूले आफ्नो जीवन गुमाउन सक्छन्। तिनीहरूले के सोच्छन् भने केही धर्मसिद्धान्त बुझ्दा अनि केही बाहिरी कार्य र असल व्यवहार प्रदर्शन गर्दा परमेश्वर तिनीहरूको ख्रीष्टविरोधी स्वभावको मामला हेर्नुहुन्न, तिनीहरूले यसलाई लुकाउन सक्छन्, र परिणामस्वरूप तिनीहरूले स्वाभाविक रूपमै सत्यता अभ्यास गर्नुपर्दैन र आफूले चाहेको जुनसुकै कुरा गर्न सक्छन्, र आफ्नै बुझाइ, विधि, र कामनाअनुसार काम गर्न सक्छन्। अन्त्यमा, परमेश्वरले तिनीहरूलाई जेसुकै मौका दिनुभए पनि, तिनीहरू जिद्दी भएर आफ्नै मार्गमा टाँसिरहन्छन्, तिनीहरू ख्रीष्टविरोधी मार्ग पछ्याउँछन्, र तिनीहरू परमेश्वरका शत्रु बन्छन्। परमेश्वरले तिनीहरूलाई सुरुदेखि नै शत्रुका रूपमा परिभाषित गर्नुभएकाले तिनीहरू परमेश्वरका शत्रु बन्ने होइनन्—परमेश्वरले सुरुमा तिनीहरूलाई कुनै परिभाषा दिनुभएन, किनभने परमेश्वरको नजरमा तिनीहरू उहाँका शत्रु वा ख्रीष्टविरोधी सार भएका मानिस थिएनन्, बरु तिनीहरू केवल शैतानी भ्रष्ट स्वभाव भएका मानिस मात्रै थिए। परमेश्वरले जति नै सत्यता व्यक्त गर्नुभए पनि, तिनीहरू अझै पनि आफ्नो पछ्याइमा सत्यताप्रति लागिपर्दैनन्। तिनीहरू मुक्तिको मार्गमा पाइला चाल्न सक्दैनन्, बरु ख्रीष्टविरोधी मार्ग पछ्याउँछन्, र अन्ततः मुक्ति पाउने आफ्नो मौका गुमाउँछन्। के त्यो लाजमर्दो कुरा होइन र? यो त अति लाजमर्दो कुरा हो! यी मानिसहरू अत्यन्तै दयनीय छन्। तिनीहरू किन दयनीय छन्? तिनीहरूले केही शब्द र धर्मसिद्धान्त बुझेका हुन्छन् तर तिनीहरू आफूले सत्यता बुझेको छु भन्ने सोच्छन्; तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा थोरै मूल्य चुकाउँछन् र केही असल व्यवहार देखाउँछन् तर तिनीहरू आफूले सत्यता अभ्यास गरिरहेको छु भन्ने सोच्छन्; तिनीहरूसँग केही प्रतिभा, क्षमता, र वरदान हुन्छन्, र तिनीहरू केही शब्द र धर्मसिद्धान्त बोल्न सक्छन्, केही काम गर्न सक्छन्, केही विशेष कर्तव्य निर्वाह गर्न सक्छन्, तर आफूले जीवन प्राप्त गरेको छु भन्ने सोच्छन्; तिनीहरूले थोरै कष्ट भोग्न सक्छन् र थोरै मूल्य चुकाउन सक्छन् तर तिनीहरू परमेश्वरमा समर्पित हुन र सबै कुरा त्याग्न सक्छु भनेर गलत रूपमा सोच्छन्। तिनीहरू आफ्नो बाहिरी असल व्यवहार, वरदान, र आफूलाई सुसज्जित पार्ने शब्द र धर्मसिद्धान्तहरूलाई सत्यता अभ्यासलाई प्रतिस्थापित गर्न प्रयोग गर्छन्—तिनीहरूको सबैभन्दा ठूलो समस्या, तिनीहरूको घातक कमजोरी यही हो। यसले तिनीहरूलाई तिनीहरू पहिले नै मुक्तिको मार्गमा हिँडिसकेका छन्, र तिनीहरूमा पहिले नै कद र जीवन छ भनेर गलत विश्वास गराउँछ। तर जे भए पनि, यदि यी मानिसहरूले अन्त्यमा मुक्ति प्राप्त गर्न सकेनन् भने, तिनीहरूले आफूबाहेक अरू कसैलाई दोष दिन पाउँदैनन्; किनभने तिनीहरू आफैले सत्यतामा ध्यान दिइरहेका, र सत्यता पछ्याइरहेका हुँदैनन्, र तिनीहरू ख्रीष्टविरोधीहरूको मार्ग पछ्याउन अत्यन्तै इच्छुक हुन्छन्।
अहिले कति मानिसहरू त यस्ता पनि छन्, जसले ३० वर्षदेखि प्रवचन सुनेपछि पनि सत्यता के हो, वा धर्मसिद्धान्त के हो भनेर अझै थाहा पाएका छैनन्। जब तिनीहरू मुख खोल्छन्, तब खोक्रा सिद्धान्तहरू, अरूलाई भाषण दिने शब्दहरू, र खोक्रा नाराहरू मात्रै बोल्छन्, र आफूले विगतमा कसरी कष्ट भोगेँ र मूल्य चुकाएँ भनेर मात्रै कुरा गर्छन्, र यसरी आफ्नो वरिष्ठता मात्र प्रकट गर्छन्। तिनीहरू कहिल्यै आफ्नो आत्मज्ञानबारे बोल्दैनन्, र तिनीहरूले काटछाँट कसरी स्वीकार गर्छन्, कसरी भ्रष्ट स्वभावहरू प्रकट गर्छन्, कसरी ख्याति र लाभका लागि प्रतिस्पर्धा गर्छन्, वा तिनीहरूमा ख्रीष्टविरोधी स्वभावका के-कस्ता प्रकटीकरणहरू छन् भन्ने कुरा बोल्दैनन्। तिनीहरू यी कुराहरूबारे कहिल्यै कुरा गर्दैनन्; तिनीहरू आफ्नो योगदानबारे मात्रै कुरा गर्छन् तर आफ्नो अपराधबारे कुरा गर्दैनन्। के यी मानिसहरू ठूलो खतरामा हुँदैनन् र? कति मानिसहरूले प्रवचन सुनेको २०-३० वर्ष भइसकेको हुन्छ तर अझै पनि सत्यता वास्तविकता के हो वा परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनु भनेको के हो भन्ने कुरा तिनीहरूलाई थाहै हुँदैन, त्यसकारण, मलाई त शङ्कै लाग्छ, यी मानिसहरूमा परमेश्वरका वचनहरू बुझ्ने सामर्थ्य सायद नहुन सक्छ। तिनीहरू ३० वर्षसम्म प्रवचन सुनेपछि आफूमा कद छ भन्ने सोच्छन्, तर जब तिनीहरूसँग हैसियत हुँदैन, तब अझै पनि तिनीहरू नकारात्मक हुन सक्छन्, र एकान्तमा तिनीहरू रुनेछन् र गुनासो गर्नेछन्, र तिनीहरूले आफ्नो कामसमेत त्याग्न सक्नेछन्। ३० वर्षसम्म प्रवचन सुनेपछि, जब तिनीहरूलाई बर्खास्त गरिन्छ, तब तिनीहरू अझै पनि झगडालु र अनुचित हुन सक्छन्, र आफूलाई परमेश्वरविरुद्ध खडा गर्न सक्छन्। तिनीहरूले त्यति धेरै वर्षदेखि प्रवचन सुनेर के बुझेका हुन्छन्? यदि तिनीहरूले त्यति धेरै प्रवचन सुनेपछि पनि सत्यता के हो भनेर बुझेका छैनन् भने, के तिनीहरूले व्यर्थमा विश्वास गरेका छैनन् र? भ्रमित विश्वास भनेको यही हो!
मार्च १४, २०२०
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।