विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक् तुल्याउन अनि तिनीहरूका आफ्नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्न आफ्ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग तीन) खण्ड पाँच
के मण्डलीमा परमेश्वरमा विश्वास गरेको धेरै वर्ष भएर पनि सत्यता पटक्कै नपछ्याउने, बरु सधैँ हैसियत र प्रतिष्ठा पछ्याउने मानिसहरू हुन्छन्? त्यस्ता मानिसहरूका प्रकटीकरणहरू के-के हुन्? के तिमीहरू आफूलाई सधैँ प्रदर्शनमा राख्ने, मौलिक सोचहरू निकाल्न र उच्च सुनिने कुराहरू फलाक्न सिपालु व्यक्तिहरू त्यस्ता मानिसहरू हुन् भनेर भन्नेथियौ? तिनीहरूले प्रायजसो के-कस्ता कुरा गरिरहन्छन्? (कसैले आफ्नो दृष्टिकोण व्यक्त गर्छ र अरू सबैलाई यो सही लाग्छ, तर यस्ता व्यक्तिहरू आफू कति प्रतिभाशाली छु भनेर देखाउन फरक दृष्टिकोण लिएर आउँछन्, त्यो कुरालाई मानिसहरूले झन् सही ठान्छन्, त्यो कुराले पहिलो व्यक्तिको दृष्टिकोण पनि इन्कार गरिदिन्छ र यसले तिनीहरू कति प्रतिभाशाली छन् भन्ने कुरा देखाउँछ।) यसलाई आफ्नो प्रदर्शन गर्नु भनिन्छ। तिनीहरूले अरूका दृष्टिकोणहरू इन्कार गर्छन् र त्यसपछि आफ्नै पृथक दृष्टिकोण लिएर आउँछन्, जुन दृष्टिकोण तिनीहरू आफैलाई पनि वास्तविक वा मान्य लाग्दैन—केवल नारा मात्र हो भन्ने लाग्छ—तैपनि तिनीहरूले मानिसहरूलाई आफू कति प्रतिभाशाली छु भनेर देखाउनैपर्छ र सबैलाई तिनीहरूको कुरा सुन्न लगाउनैपर्छ। तिनीहरू सधैँ फरक हुनैपर्छ, तिनीहरूले सधैँ मौलिक सोचहरू निकाल्नैपर्छ, तिनीहरूले सधैँ उत्कृष्ट सुनिने विचारहरू बोलिरहनैपर्छ, अरूले भनेको कुरा जति नै लागु गर्न सकिने र व्यावहारिक भए पनि तिनीहरूले त्यस विरुद्ध मतदान गर्नैपर्छ र अरूका दृष्टिकोणहरू काट्न विभिन्न कारण र बहानाहरू खोज्नैपर्छ। मौलिक सोचहरू निकाल्न र उत्कृष्ट सुनिने विचारहरू सुनाउन प्रयास गर्ने मानिसहरूका सबैभन्दा आम व्यवहारहरू यिनै हुन्। कुनै व्यक्तिको कार्य जति नै सही वा उचित भए नि तिनीहरूले त्यसलाई इन्कार्छन् र बेवास्ता गर्छन्। त्यो व्यक्तिले उचित रूपमा व्यवहार गरेको छ भन्ने तिनीहरूलाई स्पष्टै थाहा भएर पनि अझै तिनीहरू उसका कार्य-व्यवहारहरू उचित थिएनन् भनेर भन्छन्, र तिनीहरूले ऊभन्दा राम्रो गर्न सक्थे साथै तिनीहरू उसका तुलनामा कमजोर छैनन् भन्नेजस्तो देखाउँछन्। यस्ता मानिसहरू आफू जतिको राम्रो कोही पनि छैन र आफू सबै हिसाबमा अरूभन्दा राम्रो छु भन्ने सोच्छन्। तिनीहरूका लागि अरूले भनेका सबै कुरा गलत हुन्छन्; अरू मानिसहरू व्यर्थका हुन्छन्, तर तिनीहरू आफै भने हरेक हिसाबले असल हुन्छन्। तिनीहरू कुनै गलत काम गरेर काटछाँटमा परे पनि समर्पित हुन अनिच्छुक हुन्छन्, सत्यतालाई पटक्कै स्विकार्दैनन् र तिनीहरूले थुप्रै बहानाहरू पनि बनाउन सक्छन्, जसले गर्दा अरूलाई तिनीहरूले गल्ती गरेका छैनन् र तिनीहरूलाई काटछाँट गरिनु हुँदैन भन्ने सोच्ने बनाउँछन्। मौलिक विचारहरू निकाल्न र सुन्दा ठूला लाग्ने विचारहरू सुनाउन मन पराउने मानिसहरू यसरी अहङ्कारी र आत्म-धर्मी हुन्छन्। वास्तवमा यीमध्ये धेरैजसो मानिसहरूमा वास्तविक प्रतिभाको कमी हुन्छ र तिनीहरूले कुनै पनि काम राम्रोसँग गर्न सक्दैनन्, अनि तिनीहरूले जे गरे पनि त्यो पूर्ण रूपमा बरबाद हुन्छ। तर तिनीहरूमा कुनै आत्म-सचेतना हुँदैन र तिनीहरू आफू अरूभन्दा असल छु भन्ने सोच्छन्, तिनीहरू अरूले जे गरिरहेका छन् त्यसमा हस्तक्षेप गर्ने र संलग्न हुने दुस्साहस गर्छन्, उत्कृष्ट सुनिने विचारहरू फलाकिरहन्छन्, सधैँ अरूले तिनीहरूको आदर गरून् र तिनीहरूको कुरा सुनून् भन्ने चाहन्छन्। परिस्थिति जस्तोसुकै भए पनि वा तिनीहरू जुन समूहमा भए पनि अरूले आफ्नो सेवा गरून् र कुरा सुनून् भन्ने मात्र चाहन्छन्; तिनीहरू अरू कसैलाई सेवा गर्न वा अरू कसैको कुरा सुन्न चाहँदैनन्। के तिनीहरू ख्रीष्टविरोधी होइनन् र? ख्रीष्टविरोधीहरू यति अहङ्कारी र आत्म-धर्मी हुन्छन्; तिनीहरूमा यति धेरै समझको कमी हुन्छ। तिनीहरू मिथ्या धर्मसिद्धान्तहरूबारे मात्रै कुरा गर्छन्, यदि अरूले तिनीहरूका गल्तीहरू औँल्याए भने तिनीहरूले मानिसहरूलाई तिनीहरू नै सही छन् भन्ने महसुस गराउनका लागि शब्द र तर्कहरू बङ्ग्याउनैपर्छ र झूटो, मनमोहक सुनिने तरिकाले बोल्नैपर्छ। अरू कसैको राय जति नै सही भए नि ख्रीष्टविरोधीहरूले त्यसलाई गलत लाग्ने बनाउन र सबैलाई तिनीहरूकै राय स्विकार्न लगाउन कुशल बोली प्रयोग गर्नेछन्। ख्रीष्टविरोधीहरू यस्तै प्रकारका मानिस हुन्—तिनीहरू अरूलाई बहकाउन असाधारण रूपमा सक्षम हुन्छन्, तिनीहरूले अरूलाई दुबिधा र दिग्भ्रममा पर्ने र सही र गलत छुट्याउन नसक्ने गरी बहकाउन सक्छन्। अन्त्यमा समझशक्ति नभएका सबै जनालाई यी ख्रीष्टविरोधीहरूले पूर्ण रूपमा बहकाउ र बन्धनमा पार्नेछन्। धेरैजसो मण्डलीहरूमा अरूलाई यसरी नै बहकाउने यस्ता मानिसहरू हुन्छन्। जब परमेश्वरका चुनिएका मानिसहरूले सत्यता सङ्गति गरिरहेका वा आफ्नो अनुभवात्मक गवाही सुनाइरहेका हुन्छन्, तब ख्रीष्टविरोधीहरू सधैँ खडा भएर आफ्नै दृष्टिकोणहरू व्यक्त गर्छन्। तिनीहरूले आफ्नो अनुभवात्मक ज्ञानबारे खुलस्त रूपमा सङ्गति गर्न आफ्नो हृदय खोल्दैनन्; बरु, तिनीहरू आफू कति चलाख छु भनी प्रदर्शन गर्न र अरूलाई आफ्नो आदर गर्न लगाउने उद्देश्य हासिल गर्नका लागि सधैँ अरूका अनुभवात्मक ज्ञानहरूमा खोट औँल्याउँछन् र आलोचनात्मक, गैरजिम्मेवार टिप्पणीहरू गर्छन्। ख्रीष्टविरोधीहरू शब्द र धर्मसिद्धान्तहरूबारे बोल्न सबैभन्दा सिपालु हुन्छन्; तिनीहरूले कहिल्यै पनि साँचो अनुभवात्मक गवाही बाँड्न सक्दैनन् र आत्मज्ञानबारे कुरा गर्दैनन्। बरु, तिनीहरू सधैँ अरू मानिसहरूमा समस्याहरू खोजिरहेका हुन्छन् र तिनलाई ठूलो बनाइरहेका हुन्छन्। तैँले ख्रीष्टविरोधीहरूले अरूका रायहरू खुला मनले स्विकारेको वा आफ्नो भ्रष्ट स्वभावबारे सक्रिय रूपमा सङ्गति गरेको र अरूसामु आफूलाई उदाङ्गो पारेको कहिल्यै देख्दैनस्। तैँले निश्चय नै तिनीहरूले के-कस्ता गलत र हास्यास्पद दृष्टिकोणहरू पालेर राखेका थिए, तिनीहरूले कसरी तिनलाई परिवर्तन गरे भन्नेबारे तिनीहरूले सङ्गति गरेको देख्दैनस् र तिनीहरूले आफूले गरेका गल्तीहरू वा आफ्ना कमीकमजोरीहरू स्वीकार गरेको पनि तैँले अवश्यै सुन्दैनस्…। ख्रीष्टविरोधीहरूले अरूसँग जति लामो समयसम्म अन्तरक्रिया गरे पनि तिनीहरूले सधैँ अरूलाई तिनीहरूमा कुनै भ्रष्टता छैन, तिनीहरू जन्मजात रूपमै सन्त र सिद्ध मानिस हुन् र अरूले तिनीहरूलाई आराधना गर्नुपर्छ भन्ने महसुस गराउँछन्। साँचो रूपमा समझ भएका मानिसहरू अरूको आदर वा आराधना पाउन चाहँदैनन्। यदि अरू मानिसहरूले तिनीहरूलाई साँच्चै आदर र आराधना गरे भने तिनीहरूलाई यो लाजमर्दो लाग्छ, किनभने तिनीहरू भ्रष्ट स्वभाव भएका भ्रष्ट मानिस हुन् र तिनीहरूसँग सत्यता वास्तविकताहरू छैनन् भन्ने तिनीहरूलाई थाहा हुन्छ। तिनीहरूलाई आफ्नो नाप थाहा हुन्छ, त्यसकारण तिनीहरूले जुनसुकै भ्रष्टता प्रकट गरे पनि र तिनीहरूले जुनसुकै गलत दृष्टिकोणहरू पैदा गरे पनि तिनीहरूले ती कुराहरूबारे खुलस्त सङ्गति गर्न र अरूलाई जानकारी दिन सक्छन्, यसो गर्दा तिनीहरूलाई निकै ढुक्क, स्वतन्त्र र खुशी महसुस हुन्छ। तिनीहरूलाई यो काम गर्न गाह्रो छ भन्ने पटक्कै लाग्दैन। अरूले तिनीहरूलाई आलोचना गरे नि, नीच ठाने नि, मूर्ख भने नि वा हेला गरे नि, तिनीहरू त्यति व्याकुल हुँदैनन्। यस विपरीत तिनीहरूलाई यो अत्यन्तै सामान्य कुरा हो भन्ने लाग्छ र तिनीहरूले यसलाई सही रूपमा लिन सक्छन्। मानिसहरूमा भ्रष्ट स्वभाव हुने भएकोले तिनीहरूले स्वतः भ्रष्टता प्रकट गर्छन्। तैँले यसलाई स्विकारे नि नस्विकारे नि, यो तथ्य हो। यदि तैँले आफ्नो भ्रष्टता पहिचान गर्न सक्छस् भने त्यो राम्रो कुरा हो, अरूले यसलाई स्पष्ट रूपमा देख्न सके भने त्यो अझै राम्रो हुन्छ, त्यसरी तिनीहरूले तँलाई आराधना वा आदर गर्नेछैनन्। सत्यता बुझेका र अलिअलि समझ भएका मानिसहरूले आफ्नो हृदय खोली आफूलाई चिन्नेबारेमा सङ्गति गर्न सक्छन्; तिनीहरूलाई यो गाह्रो लाग्दैन। तर ख्रीष्टविरोधीहरूका लागि यो निकै गाह्रो हुन्छ। तिनीहरू विशुद्ध रूपमा खुलस्त कुरा गर्नेहरूलाई मूर्खका रूपमा हेर्छन्, आफ्नो आत्मज्ञानबारे कुरा गर्ने र इमानदारितासाथ बोल्नेहरूलाई बेवकुफका रूपमा हेर्छन्। त्यसकारण ख्रीष्टविरोधीहरूले ती मानिसहरूलाई पूर्ण रूपमा हेयको दृष्टिले हेर्छन्। यदि कसैले सत्यता बुझेको छ र सबैले उसलाई विशेष रूपमा अनुमोदन गर्छन् भने ख्रीष्टविरोधीहरूले त्यो व्यक्तिलाई आफ्नो आँखाको तारो र बिझाउने काँडाको रूपमा हेर्छन्, उसलाई आलोचना र निन्दा गर्छन्। तिनीहरूले त्यो व्यक्तिका सही अभ्यास र सकारात्मक कुराको खण्डन गर्छन् र तिनलाई गलत र विकृत बुझाइजस्तो सुनिने बनाउँछन्। जसले मण्डली वा दाजुभाइ-दिदीबहिनीहरूलाई फाइदा हुने केही काम गरे पनि ख्रीष्टविरोधीहरूले तिनीहरूलाई हेला, गिल्ला र खिसी गर्ने तरिकाहरू सोच्नेछन्; तिनीहरूले गरेका कामकुरा जति नै राम्रो भए नि, वा यसले मानिसहरूलाई जति नै फाइदा गरे नि ख्रीष्टविरोधीहरूले यसलाई उल्लेखनीय ठान्नेछैनन्, तिनीहरूले यसलाई सानो कुरा बनाउनेछन् र घटाउनेछन् र यति न्यून बनाउनेछन् कि यो पूरै निरर्थक देखिनेछ। तर यदि ती ख्रीष्टविरोधीहरू आफैले थोरै राम्रो काम गरेमा तिनीहरूले यसलाई बढाइचढाइ गर्न र ठूलो बनाउन, सबैलाई यो कुरा देखाउन, यो काम तिनीहरूले गरेका हुन् र यो तिनीहरूको सराहनीय सेवा हो भन्ने कुरा सबैलाई थाहा दिलाउन सक्दो प्रयास गर्नेछन्, ताकि दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई विशेष आदरसाथ हेरून्, निरन्तर तिनीहरूकै बारेमा विचार गरून्, तिनीहरूप्रति एकदमै कृतज्ञ महसुस गरून् र तिनीहरूको राम्रो पक्ष के हो भनेर याद गरून्। सबै ख्रीष्टविरोधीहरू यसरी व्यवहार गर्न सक्षम हुन्छन् र ख्रीष्टविरोधी स्वभाव भएकाहरूले पनि यसो गर्न सक्छन्। यो हिसाबले हेर्दा ख्रीष्टविरोधीहरू ढोँगी फरिसीहरूभन्दा फरक छैनन्; वास्तवमा यिनीहरू त तिनीहरूभन्दा खराब छन्। ख्रीष्टविरोधीहरूका सबैभन्दा आम र स्पष्ट नमुना प्रकटीकरणहरू यिनै हुन्।
ख्रीष्टविरोधीहरूले काम गर्दा कस्तो मनोवृत्ति राख्छन्? तिनीहरू अरूका अगाडि असल कामहरू गर्न चाहन्छन् र गोप्य रूपमा खराब कामहरू गर्न चाहन्छन्। तिनीहरू आफूले गर्ने असल कामबारे सबैलाई थाहा होस् भन्ने चाहन्छन्, तर सबै खराब कामहरू ढाकछोप गर्न चाहन्छन् ताकि तिनका बारेमा कसैले पनि पत्तो नपाओस्, यतिसम्म कि यसको एउटा शब्द पनि बाहिर नआओस् र तिनीहरू ती कुराहरू लुकाउन सक्दो प्रयास गर्नुपर्ने विवशता नै महसुस गर्छन्। ख्रीष्टविरोधीहरूको यो स्वभाव घृणित छ, होइन र? ख्रीष्टविरोधीहरूले यसरी व्यवहार गर्नुको उद्देश्य के हो? (यो तिनीहरूको प्रतिष्ठा र हैसियतको रक्षा गर्नलाई हो।) ठीक भन्यौ। झट्ट हेर्दा तिनीहरूले हैसियतका लागि प्रतिस्पर्धा गरिरहेका वा हैसियतका खातिर केही भनिरहेका हुँदैनन् जस्तो लाग्छ, तर तिनीहरूले गर्ने र भन्ने सबै कुरा आफ्नो हैसियत रक्षा गर्न र बचाउन, उच्च प्रतिष्ठा र राम्रो नाम कमाउनका लागि हुन्छ। कहिलेकाहीँ तिनीहरू कसैले थाहा नपाउने गरी समूहभित्र हैसियतका लागि प्रयत्न लाउनसमेत लागिपर्छन्। तिनीहरूले कसैलाई सिफारिस गरे पनि, अर्थात् तिनीहरूले गर्नुपर्ने केही काम गर्न लगाए पनि तिनीहरू आफूले सिफारिस गरेको व्यक्तिलाई आफूप्रति अत्यन्तै कृतज्ञ महसुस गराउन र तिनीहरूको सिफारिसका कारणले मात्रै उसले यो कर्तव्य निर्वाह गर्ने मौका पाएको हो भनेर थाहा दिन चाहन्छन्। ख्रीष्टविरोधीहरूले यसप्रकारको अवसर कहिल्यै गुमाउनेछैनन्। तिनीहरू सोच्छन्, “मैले तिमीलाई सिफारिस गरेको भए पनि म अझै तिम्रो अगुवा हुँ, त्यसकारण तिमीले मलाई उछिन्नु हुँदैन।” हैसियत र प्रतिष्ठाप्रति ख्रीष्टविरोधीहरूको जोश निकै प्रस्ट हुन्छ। हैसियतका लागि प्रतिस्पर्धा गर्न र त्यसलाई रक्षा गर्न, तिनीहरूले कसैको एउटा नजर वा अनजानमा बोलेको एउटा शब्दलाई पनि बेवास्ता गर्दैनन्, कुनै कुनामा हुने कुनै कुरालाई बेवास्ता गर्नु त झन् परको कुरा हो। ख्रीष्टविरोधीहरूले ठूला-साना यी सबै कुराहरूलाई ध्यानपूर्वक हेर्छन्, र अरूले बोलेका शब्दहरू तिनीहरूका मनमा बारम्बार खेलिरहेका हुन्छन्। यसो गर्नुका पछाडि तिनीहरूको उद्देश्य के हुन्छ? के तिनीहरूलाई गफ गर्न मन पर्छ? होइन; कुरा के हो भने, तिनीहरू सबै कुरामा आफ्नो हैसियत रक्षा गर्ने बाटो र अवसर खोज्न चाहन्छन्। तिनीहरू कुनै क्षणिक बेवास्ता वा लापरवाहका कारण तिनीहरूको हैसियत वा नाममा क्षति पुगोस् भन्ने चाहँदैनन्। हैसियतका खातिर तिनीहरूले सबै कुराबारे “अन्तर्ज्ञान” कसरी प्राप्त गर्ने भन्ने कुरा सिकेका हुन्छन्; जब कुनै दाजुभाइ वा दिदीबहिनीले आफूलाई अनादरपूर्ण लागेको कुरा बोल्छ वा आफ्नो विचारसँग बाझिने राय व्यक्त गर्छ, तब तिनीहरू त्यो कुरालाई त्यतिकै छोड्दैनन्; तिनीहरूले त्यसलाई गम्भीरतापूर्वक लिन्छन्, विस्तृत अनुसन्धान र गहन विश्लेषण गर्छन्, त्यसपछि उसले भनेको त्यो कुरालाई सामना गर्न त्यस अनुरूपको जवाफ खोज्छन् यतिसम्म कि तिनीहरूको हैसियत सबैको मनमा दह्रिलो रूपमा स्थापित र पूर्ण रूपमा अटल भएर बस्छ। तिनीहरूको नाममा दाग लाग्नेबित्तिकै वा त्यसबारे केही नकारात्मक शब्दहरू सुन्नेबित्तिकै तिनीहरूले तुरुन्तै त्यसको स्रोत पत्ता लगाउँछन् र आफूलाई पुनः माथि उकास्न बहाना र तर्कबाजी गर्ने प्रयास गर्छन्। त्यसकारण ख्रीष्टविरोधीहरूले जुनसुकै कर्तव्य निभाइरहेका भए नि, तिनीहरूले अगुवा र कामदारका रूपमा काम गरिरहेका भए नि नभए नि, तिनीहरूले गर्ने हरेक काम र बोल्ने हरेक शब्द तिनीहरूको हैसियतकै खातिर हुन्छ र त्यसलाई आफ्नो हितको रक्षा गर्ने तिनीहरूको चाहनाबाट अलग गर्न सकिँदैन। ख्रीष्टविरोधीहरूको हृदयको गहिराइमा तिनीहरूसँग सत्यता अभ्यास गर्ने वा परमेश्वरको घरका हितहरू रक्षा गर्ने कुनै अवधारणा हुँदैन। त्यसकारण ख्रीष्टविरोधीहरूको सारलाई सही रूपमा यसरी परिभाषित गर्न सकिन्छ: तिनीहरू परमेश्वरका शत्रु हुन्; तिनीहरू परमेश्वरको घरको काममा बाधा, अवरोध र विनाश पुर्याउन आएका दियाबलस र शैतानका हुल हुन्। तिनीहरू शैतानका नोकर हुन्; तिनीहरू परमेश्वरलाई पछ्याउने मानिस होइनन्, न त तिनीहरू परमेश्वरको घरका सदस्य नै हुन्, न त तिनीहरू परमेश्वरको मुक्तिका पात्र नै हुन्।
के आज हामीले सङ्गति गरेको कुनै पनि कुराले तिमीहरूलाई भावुक तुल्याएको छ? कुन भागले तिमीहरूलाई भावुक तुल्यायो? (अन्तिम भाग, अर्थात्, परमेश्वरले ख्रीष्टविरोधीहरूको प्रतिस्पर्धी प्रकृति चिरफार गर्नुभएको कुराले।) सधैँ प्रतिस्पर्धा गर्नु राम्रो कुरा होइन। यो व्यवहार ख्रीष्टविरोधीहरू र विनाशसँग सम्बन्धित छ। यो राम्रो मार्ग होइन। मानिसहरूमा यी प्रकटीकरण र खुलासाहरू हुँदा तिनीहरूले के गर्नुपर्छ? तिनीहरूले कस्तो विकल्प रोज्नुपर्छ? तिनीहरू यी कुराहरूबाट कसरी जोगिनुपर्छ? अहिले मानिसहरूले सबैभन्दा बढी सोच्नुपर्ने र मनन गर्नुपर्ने समस्याहरू यिनै हुन्, र ती मानिसहरूले हरेक दिन सामना गर्ने समस्याहरू पनि हुन्। परिस्थितिहरू आइपर्दा तिनीहरू कसरी प्रतिस्पर्धा गर्नबाट टाढा बस्न सक्छन्, र प्रतिस्पर्धा गरेपछि तिनीहरूले हृदयमा हुने पीडा र असहजता कसरी समाधान गर्नुपर्छ—हरेक व्यक्तिले सामना गर्नुपर्ने समस्या यही हो। मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ, त्यसकारण तिनीहरू सबैले प्रतिष्ठा, नाफा, र इज्जतको लागि प्रतिस्पर्धा गर्छन्, र तिनीहरूले आफूलाई प्रतिस्पर्धा गर्नबाट रोक्न गाह्रो हुन्छ। त्यसोभए, यदि व्यक्तिले प्रतिस्पर्धा गर्दैन भने, के यसको अर्थ उसले आफ्नो ख्रीष्टविरोधी स्वभाव र सार हटाएको छ भन्ने हुन्छ? (हुँदैन, त्यो त सतही स्तरको घटना मात्रै हो। यदि उसको भित्री स्वभाव समाधान भएको छैन भने, ख्रीष्टविरोधीहरूको मार्ग हिँड्ने उसको समस्या समाधान गर्न सकिँदैन।) त्यसोभए, ख्रीष्टविरोधीहरूको मार्ग हिँड्ने तिनीहरूको समस्या कसरी समाधान गर्न सकिन्छ? (एक हिसाबमा, तिनीहरूले नै यो कुरा बुझ्नुपर्छ, र तिनीहरूले हैसियतमा लागिपर्ने विचार प्रकट गर्दा, तिनीहरू प्रार्थना गर्न परमेश्वरको अघि आउनुपर्छ। यसको साथै, तिनीहरूले विश्वासी दाजुभाइ-दिदीबहिनीहरूको अघि आफूलाई उदाङ्गो पार्नुपर्छ, र त्यसपछि सचेत रूपमा यी गलत विचारहरू विरुद्ध विद्रोह गर्नुपर्छ। अनि, तिनीहरूले आफूलाई न्याय गर्न, सजाय दिन, काटछाँट गर्न र अनुशासनमा राख्न परमेश्वरलाई अनुरोध पनि गर्नुपर्छ। तब तिनीहरू सही मार्ग हिँड्न सक्नेछन्।) एकदमै राम्रो उत्तर। तैपनि, यो हासिल गर्न सजिलो छैन, र प्रतिष्ठा र हैसियतलाई धेरै प्रेम गर्ने मानिसहरूको लागि त यो अझै गाह्रो हुन्छ। प्रतिष्ठा र हैसियत त्याग्न सजिलो छैन—मानिसहरूले सत्यता पछ्याएर मात्रै त्यो हासिल गर्न सक्छन्। सत्यता बुझेर मात्रै व्यक्तिले आफूलाई चिन्न, ख्याति, प्राप्ति र हैसियत पछ्याउनुको खोक्रोपन देख्न, र मानवजातिको भ्रष्टताको सत्यता स्पष्ट रूपमा देख्न सक्छ। व्यक्तिले आफूलाई साँचो रूपमा चिनेपछि मात्रै उसले प्रतिष्ठा र हैसियत त्याग्न सक्छ। आफ्नो भ्रष्ट स्वभाव फाल्न सजिलो छैन। यदि तैँले आफूमा सत्यताको कमी छ, आफ्ना कमीकमजोरी धेरै छन्, र आफूले धेरै भ्रष्टता प्रकट गर्छु भन्ने कुरा पहिचान त गर्छस्, तर सत्यता पछ्याउन कुनै प्रयास गर्दैनस्, बरु पाखण्डीपनमा संलग्न हुन्छस्, जसले गर्दा मानिसहरूले तैँले जे पनि गर्न सक्छस् भन्ने विश्वास गर्छन् भने, यसले तँलाई खतरामा पार्नेछ—अनि, ढिलोचाँडो तैँले ठक्कर खाएर लड्ने समय आउनेछ। तैँले तँसँग सत्यता छैन भनेर स्विकार्नुपर्छ, र साहसी भएर वास्तविकता सामना गर्नुपर्छ। तैँले यो स्विकार्नैपर्छ कि तँमा कमजोरीहरू छन्, तँमा भ्रष्टता छ, र तँमा सबै किसिमका कमी छन्। यो सामान्य कुरा हो, किनभने तँ साधारण व्यक्ति होस्, तँ महामानव वा सर्वशक्तिमान् होइनस्, र तैँले यो कुरा पहिचान गर्नुपर्छ। जब अरूले तँलाई हेला गर्छन् वा व्यङ्ग्य गर्छन्, तब तिनीहरूले भनेको कुरा नराम्रो लागेको कारण तुरुन्तै वाक्क-दिक्क रूपमा प्रतिक्रिया नदे, वा तैँले आफूलाई सक्षम र सिद्ध ठान्ने गरेको कारण यसको प्रतिरोध नगर्—यस्तो कुराप्रति तेरो मनोवृत्ति यस्तो हुनु हुँदैन। तेरो मनोवृत्ति कस्तो हुनुपर्छ त? तैँले आफैलाई यसो भन्नुपर्छ, “मेरा गल्तीहरू छन्, ममा भएको सबै कुरा भ्रष्ट र त्रुटिपूर्ण छ, र म साधारण व्यक्ति मात्रै हुँ। तिनीहरूले मलाई खिसी र व्यङ्ग्य गरेको बाबजुद पनि, के यसमा कुनै सत्यता छ? यदि तिनीहरूले भनेको कुराको एउटा भाग साँचो हो भने, मैले यसलाई परमेश्वरबाट आएको भनी स्वीकार गर्नुपर्छ।” यदि तँमा यस्तो मनोवृत्ति छ भने, यो तैँले हैसियत, प्रतिष्ठा र अरूले तेरो बारे के भन्छन् भन्ने कुरालाई सही रूपमा सम्हाल्न सक्छस् भन्ने कुराको प्रमाण हो। हैसियत र प्रतिष्ठालाई सजिलै पन्साउन सकिँदैन। जो केही हदसम्म प्रतिभाशाली छन्, जोसँग केही हदसम्म क्षमता छ, वा केही मात्रामा कामको अनुभव छ, तिनीहरूलाई यी कुराहरू पन्साउनु अझ गाह्रो हुन्छ। तिनीहरूले कहिलेकाहीँ ती कुराहरू पन्साएको छु भनेर दाबी गर्न सक्छन्, तर हृदयमा चाहिँ तिनीहरूले त्यसो गर्न सक्दैनन्। परिस्थितिले अनुमति दियो भने, मौका पाउनेबित्तिकै, तिनीहरूले पहिलेजस्तै ख्याति, प्राप्ति, र हैसियतकै लागि प्रयास गरिरहनेछन्, किनभने सबै भ्रष्ट मानिसहरू यी कुराहरूलाई प्रेम गर्छन्, तर यति मात्र हो कि वरदान वा प्रतिभा नभएका मानिसहरूमा हैसियत पछ्याउने इच्छा अलिक कमजोर हुन्छ। ज्ञान, प्रतिभा, सुन्दरता र विशेष पूँजी भएका मानिसहरूमा प्रतिष्ठा र हैसियतप्रति विशेष रूपमा तीव्र चाहना हुन्छ, यहाँसम्म कि तिनीहरू यो महत्त्वाकाङ्क्षा र इच्छाले पूरै भरिएका हुन्छन्। तिनीहरूलाई पन्छाउन सबैभन्दा गाह्रो लाग्ने कुरा यही हो। जब तिनीहरूमा कुनै हैसियत हुँदैन, तिनीहरूको चाहना टुसाएको चरणमा हुन्छ; तिनीहरूले हैसियत प्राप्त गरेपछि, जब परमेश्वरको घरले तिनीहरूलाई केही महत्त्वपूर्ण काम सुम्पन्छ, र विशेष गरी यदि उनीहरूले धेरै वर्ष काम गरेका छन् र धेरै अनुभव र पूँजी छ भने, यो चाहना अब टुसाएको चरणमा हुँदैन, तर पहिले नै जरा गाडिसकेको, फक्रेको र फल फलाउन लागेको हुन्छ। यदि व्यक्तिमा ठूला कामहरू गर्ने, प्रसिद्ध बन्ने, कुनै महान् व्यक्तित्व बन्ने निरन्तर चाहना र महत्वाकाङ्क्षा छ भने, तिनीहरूले ठूलो दुष्कर्म गर्नेबित्तिकै र यसका परिणामहरू देखा पर्नेबित्तिकै, तिनीहरू पूर्णतया समाप्त भइसकेका हुन्छन्, र तिनीहरूलाई हटाइसकिएको हुन्छ। त्यसकारणले गर्दा, यसले महाविपत्तिमा पुऱ्याउनुअघि, समय छँदै तिनीहरूले तुरुन्तै यो परिस्थितिलाई बदल्नुपर्छ। जब-जब तैँले केही गर्छस्, सन्दर्भ जस्तोसुकै भए पनि, तब-तब तैँले सत्यता खोजी गर्नुपर्छ, परमेश्वरप्रति इमानदार र आज्ञाकारी रहने व्यक्ति बन्ने अभ्यास गर्नुपर्छ, अनि हैसियत र प्रतिष्ठाप्रतिको पछ्याइलाई पन्छ्याएर फाल्नुपर्छ। जब तँलाई हैसियतको लागि निरन्तर प्रतिस्पर्धा गर्ने सोच र चाहना हुन्छ, तब त्यसलाई समाधान नगरी त्यतिकै छोडियो भने, यस प्रकारको स्थितिले के-कस्ता प्रतिकूल परिणामहरूतर्फ डोऱ्याउनेछ भनेर तँलाई थाहा हुनुपर्छ। त्यसैले सत्यताको खोजी गर्नको लागि अबेर नगर्, हैसियतको लागि प्रतिस्पर्धा गर्ने तेरो चाहना छिप्पिनु अगावै सुल्झाइदे, र यसलाई सत्यताको अभ्यासद्वारा विस्थापित गरिदे। जब तैँले सत्यताको अभ्यास गर्छस्, हैसियतको लागि लड्ने तेरो चाहना र महत्त्वाकाङ्क्षा कम हुनेछ, र तैँले मण्डलीको काममा बाधा दिनेछैनस्। यसरी, तेरा कार्यहरूलाई परमेश्वरले स्मरण र अनुमोदन गर्नुहुनेछ। त्यसो भए, मैले कुन कुरालाई जोड दिने प्रयास गर्दै छु? त्यो हो: तेरा चाहना र महत्त्वाकाङ्क्षाहरूले छिप्पिएर ठूलो विपत्ति ल्याउनुअघि नै तैँले ती कुराहरूबाट आफूलाई मुक्त गर्नुपर्छ। यदि तैँले ती कुराहरू कलिलो अवस्थामा हुँदा नै समाधान गरिनस् भने, ठूलो मौका गुमाउनेछस्; र त्यसले ठूलो विपत्ति ल्याइसकेपछि, ती समाधान गर्न धेरै नै ढिलो भइसकेको हुनेछ। यदि तँसित देहको विरुद्ध विद्रोह गर्ने सङ्कल्पको समेत कमी छ भने, सत्यताको पछि लाग्ने मार्गमा हिँड्न तँलाई एकदमै कठिन हुनेछ; यदि तैँले ख्याति, प्राप्ति र हैसियतको पछि लाग्दा रोकावट र असफलता सामना गर्छस् र पनि तेरो होस खुल्दैन भने, यो खतरनाक कुरा हो: सम्भवतः तँ हटाइनेछस्। जब सत्यतालाई प्रेम गर्ने मानिसहरूले आफ्नो प्रतिष्ठा र हैसियतको हिसाबमा एक-दुई वटा असफलता र बाधाहरू सामना गर्छन्, तब तिनीहरूले ख्याति, प्राप्ति र हैसियतको कुनै मूल्य हुँदैन भन्ने कुरा स्पष्ट रूपमा देख्न सक्छन्। तिनीहरूले हैसियत र प्रतिष्ठा पूर्ण रूपमा त्याग्न सक्छन्, र तिनीहरूले कहिल्यै हैसियत नपाए पनि, सत्यता पछ्याउन र आफ्नो कर्तव्य उचित रूपमा पूरा गर्न, र आफ्नो अनुभव गवाही बाँड्न जारी राख्ने, र यसरी परमेश्वरको गवाही दिने परिणाम हासिल गर्ने दृढ संकल्प लिन सक्छन्। तिनीहरू साधारण अनुयायी हुँदा पनि, तिनीहरूले अझै पनि अन्त्यसम्म पछ्याउन सक्छन्, र तिनीहरूले परमेश्वरको अनुमोदन प्राप्त गर्न मात्रै चाहन्छन्। यिनीहरू मात्रै सत्यतालाई साँचो रूपमा प्रेम गर्ने र दृढ संकल्प भएका मानिसहरू हुन्। परमेश्वरको घरले धेरै ख्रीष्टविरोधी र दुष्ट मानिसहरूलाई हटाएको छ, र सत्यता पछ्याउने कतिपय मानिसहरूले ख्रीष्टविरोधीहरूको असफलता देखेर त्यस्ता मानिसहरूले लिएको मार्गबारे चिन्तन गर्छन्, अनि तिनीहरूले आत्मचिन्तन गरेर आफूलाई चिन्ने काम पनि गर्छन्। यसबाट तिनीहरू परमेश्वरका अभिप्रायहरूलाई बुझ्छन्, साधारण अनुयायी बन्ने सङ्कल्प गर्छन्, अनि सत्यता पछ्याउन र आफ्नो कर्तव्य राम्ररी निभाउनमा ध्यान दिन्छन्। परमेश्वरले तिनीहरू सेवाकर्ता वा तल्लो स्तरका महत्त्वहीन मानिसहरू हुन् भनेर भन्नुभए पनि, तिनीहरूलाई त्यो ठीकै लाग्छ। तिनीहरू परमेश्वरको नजरमा तल्लो स्तरका र सानो महत्त्वहीन अनुयायी नै बन्ने प्रयास गर्छन्, जो अन्त्यमा परमेश्वरद्वारा मानकअनुरूपका सृजित प्राणी कहलिनेछन्। यस्ता व्यक्तिहरू असल हुन्छन्, र यस्ता व्यक्तिहरूलाई परमेश्वरले अनुमोदन गर्नुहुन्छ।
परमेश्वरले सत्यता पछ्याउने मानिसहरूलाई मन पराउनुहुन्छ, र उहाँले सबैभन्दा बढी घृणा गर्ने मानिसहरूको काम भनेको ख्याति, लाभ, र हैसियत पछ्याउनु हो। कतिपय मानिसहरूले हैसियत र प्रतिष्ठालाई वास्तवमै बहुमूल्य ठान्छन्, तिनीहरू ती कुराप्रति गहन रूपमा जोडिएका हुन्छन्, र तिनीहरूले तिनलाई त्याग्न सक्दैनन्। तिनीहरूलाई सधैँ हैसियत र प्रतिष्ठाविना जिउनुको कुनै आनन्द वा आशा हुँदैन, तिनीहरूले हैसियत र प्रतिष्ठाको लागि जिउँदा मात्रै यो जीवनमा आशा हुन्छ भन्ने लाग्छ, र तिनीहरूसँग थोरै मात्र पनि ख्याति छ भने, तिनीहरूले कहिल्यै हरेस नखाई संघर्ष जारी राख्छन्। यदि तेरो सोचाइ र दृष्टिकोण यस्तै हो भने, यदि तेरो हृदय यस्ता कुराहरूले भरिएको छ भने, तँ सत्यतालाई प्रेम गर्न र पछ्याउन समर्थ छैनस्, तँसँग परमेश्वरमाथिको विश्वासमा सही दिशा र उद्देश्यहरू छैनन्, र तँ आत्मज्ञान पछ्याउन, भ्रष्टता फाल्न र मानिसको स्वरूपमा जिउन सक्षम छैनस्; तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा परिस्थितिहरू बिग्रे पनि हेरेर बस्छस्, तँमा जिम्मेवारीको कुनै बोध छैन, र तँ दुष्कर्म नगर्न, बाधा नदिन, हटाइनेमा नपर्न सक्दा नै सन्तुष्ट हुन्छस्। के त्यस्ता मानिसहरूले मानकअनुरूप आफ्नो कर्तव्य पूरा गर्न सक्छन्? अनि के परमेश्वरले तिनीहरूलाई मुक्ति दिन सक्नुहुन्छ? त्यो असम्भव छ। जब तैँले प्रतिष्ठा र हैसियतको खातिर काम गर्छस्, तब तैँले यस्तो समेत सोच्छस्, “मैले गर्ने काम दुष्ट कार्य होइन र यसले बाधा पैदा गर्दैन भने, मेरो मनसाय गलत भए नि, कसैले यसलाई देख्न वा मलाई दोषी ठहर्याउन सक्दैन।” तँलाई थाहै छैन, परमेश्वरले सबै कुरा छानबिन गर्नुहुन्छ। यदि तैँले सत्यता स्विकार्ने वा अभ्यास गर्ने गर्दैनस्, र परमेश्वरले तँलाई तिरस्कार गर्नुहुन्छ भने, तेरो लागि सबै कुरा खतम हुन्छ। परमेश्वरको डर मान्ने हृदय नभएका सबै मानिसहरूले आफूलाई चलाख ठान्छन्; वास्तवमा, तिनीहरूलाई आफूले उहाँको विरुद्धमा कहिले पाप गरेँ भन्ने समेत थाहा हुँदैन। कतिपय मानिसहरूले यी कुराहरू स्पष्ट रूपमा देख्दैनन्; तिनीहरूले सोच्छन्, “म अझै धेरै काम गर्न, अझै धेरै जिम्मेवारी लिनको लागि मात्रै प्रतिष्ठा र हैसियत पछ्याउँछु। यसले मण्डलीको काममा बाधा वा व्यवधान ल्याउँदैन, र यसले अवश्य नै परमेश्वरको घरका हितहरूमा हानि गर्दैन। यो ठूलो समस्या होइन। म त बस हैसियतलाई प्रेम गर्छु र आफ्नो हैसियतको रक्षा गर्छु, तर त्यो दुष्ट कार्य होइन।” झट्ट हेर्दा, यस्तो पछ्याइ दुष्ट कार्य हो जस्तो देखिँदैन, तर यसले अन्त्यमा के ल्याउँछ? के त्यस्ता मानिसहरूले सत्यता प्राप्त गर्नेछन्? के तिनीहरूले मुक्ति प्राप्त गर्नेछन्? अवश्य नै गर्नेछैनन्। त्यसकारण, प्रतिष्ठा र हैसियत पछ्याउनु सही मार्ग होइन—यो सत्यता पछ्याइको ठ्याक्कै विपरीत दिशामा अघि बढ्छ। सारांशमा भन्नुपर्दा, तेरो पछ्याइको दिशा वा लक्ष्य जेसुकै भए पनि, यदि तैँले तेरो हैसियत र प्रतिष्ठा पछ्याइबारे चिन्तन गर्दैनस्, र यसलाई पन्छाउन तँलाई निकै गाह्रो लाग्छ भने, त्यसले तेरो जीवन प्रवेशमा असर पार्नेछ। जबसम्म तेरा हृदयमा हैसियतले स्थान पाउँछ, तबसम्म यो तेरो जीवनको दिशा र तेरो पछ्याइको लक्ष्यलाई नियन्त्रित र प्रभावित पार्न पूर्ण रूपमा सक्षम हुनेछ, र त्यो अवस्थामा तँलाई सत्यता वास्तविकतामा प्रवेश गर्न निकै गाह्रो हुनेछ, र तेरो स्वभाव परिवर्तनको बारेमा त कुरै नगरौँ; तैँले अन्त्यमा परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्छस् सक्दैनस् भन्ने कुरा त झन् भनिरहनै पर्दैन। यति मात्र होइन, यदि तैँले कहिल्यै पनि तेरो हैसियत पछ्याइलाई त्याग्न सकिनस् भने, यसले मानकअनुरूप कर्तव्य निर्वाह गर्ने तेरो क्षमतामा असर पार्नेछ, जसले गर्दा तँलाई मानकअनुरूपको सृजित प्राणी बन्न निकै गाह्रो हुनेछ। मैले किन यसो भनेँ? मानिसहरूको हैसियत पछ्याउने कार्यलाई जति धेरै परमेश्वरले अरू केही कुरालाई पनि घृणा गर्नुहुन्न, किनभने हैसियत पछ्याउनु शैतानी स्वभाव हो, यो गलत मार्ग हो, यो शैतानको भ्रष्टताबाट पैदा भएको कुरा हो, यो परमेश्वरले निन्दा गर्नुभएको कुरा हो, र यो परमेश्वरले न्याय र शुद्धीकरण गर्नुहुने कुरा हो। मानिसहरूले हैसियत पछ्याउँदा, त्यस कुरालाई जति परमेश्वरले अरू कुनै पनि कुरालाई घृणा गर्नुहुन्न, तैपनि तँ अझै हैसियतको लागि ढिपी गर्दै प्रतिस्पर्धा गर्छस्, निरन्तर हैसियतलाई कदर र रक्षा गर्छस्, र सधैँ हैसियतलाई आफ्नै हातमा लिने प्रयास गर्छस्। के यो सबैमा परमेश्वरप्रति वैरी हुने थोरै गुण छैन र? हैसियत मानिसहरूको लागि परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको कुरा होइन; परमेश्वरले मानिसहरूलाई सत्यता, बाटो, र जीवन दिनुहुन्छ, ताकि अन्तिममा तिनीहरू मानकअनुरूपका सृजित प्राणी अर्थात् सृजित साना र महत्त्वहीन प्राणी बनून्—हैसियत र प्रतिष्ठा भएको र हजारौँ मानिसहरूले श्रद्धा गर्ने व्यक्ति बनाउनुहुन्न। त्यसकारण, यसलाई जुन दृष्टिकोणले हेरे पनि, हैसियतको पछि लाग्नु भनेको विनाशको मार्गमा हिँड्नु हो। हैसियतको पछि लाग्ने तेरो बहाना जति नै तार्किक भए पनि, यो अझै पनि गलत मार्ग नै हुन्छ, र परमेश्वरले यसलाई अनुमोदन गर्नुहुन्न। तैँले जति धेरै प्रयास गरे पनि वा जति ठूलो मूल्य चुकाए पनि, यदि तँ हैसियत पाउने इच्छा गर्छस् भने, परमेश्वरले तँलाई त्यो दिनुहुनेछैन; यदि परमेश्वरले दिनुहुन्न भने, त्यो प्राप्त गर्न लडाइँ गर्दा तँ असफल हुनेछस्, र यदि तैँले लडाइँ गरिरहिस् भने एउटै मात्र परिणाम आउनेछ: तँलाई प्रकट गरिनेछ र तँलाई हटाइनेछ, र तैँले विनाशको मार्ग सामना गर्नेछस्। कुरो बुझिस् नि, हैन?
मार्च ७, २०२०
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।