विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक् तुल्याउन अनि तिनीहरूका आफ्‍नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्न आफ्‍ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्‍वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्‍वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग तीन) खण्ड एक

आ. ख्रीष्टविरोधीहरूका हितहरू

ख. तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत

पछिल्लो पटक हामीले ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणहरूबारे रहेको बुँदा नौमा सङ्गति गरेका थियौँ। अब हामी त्यसबारे एउटा सरल पुनरावलोकन गरौँ। हामीले ख्रीष्टविरोधीहरूका हितहरूलाई हाम्रो चिरफार गर्नका लागि कति उपखण्डमा बाँडेका थियौँ? (तीन उपखण्डमा। पहिलो ख्रीष्टविरोधीहरूको आफ्नै सुरक्षा थियो, दोस्रो तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत थियो, तेस्रोचाहिँ फाइदाहरू थियो।) ख्रीष्टविरोधीहरूसँग सम्बन्धित हितहरू यी तीन उपखण्डहरूसँग सम्बन्धित छन्: तिनीहरूको आफ्नै सुरक्षा, हैसियत र तिनीहरूका व्यक्तिगत फाइदाहरू—के यो सही कुरा हो? (हो।) पहिलो उपखण्ड अर्थात् तिनीहरूको आफ्नै सुरक्षा तुलनात्मक रूपमा बुझ्न अलि सजिलो छ। यो तिनीहरूले सामना गर्ने खतरनाक वातावरणसँग सम्बन्धित छ र यसले ख्रीष्टविरोधीहरूका प्रत्यक्ष हितहरू अर्थात् तिनीहरूको व्यक्तिगत सुरक्षालाई छुन्छ। हामीले यो उपखण्डबारे सङ्गति गरेर लगभग सकिसकेका छौं। दोस्रो उपखण्ड तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो। पछिल्‍लो पटक हामीले यसका केही प्रकटीकरणहरूबारे सङ्गति गर्‍यौँ, तर यो अलि व्यापक अर्थमा गरिएको थियो। मलाई लाग्छ तिमीहरू सबैमा यो उपखण्डको अवधारणागत बुझाइ र ज्ञान मात्रै छ। यदि मैले तिमीहरूलाई केही उदाहरणहरू दिइनँ, केही विस्तृत र ठोस विश्‍लेषण प्रदान गरिनँ भने तिमीहरूमा ख्रीष्टविरोधीहरूको सार र प्रकटीकरणहरूको यो पक्षबारे थोरै मात्र धर्मसैद्धान्तिक र शाब्दिक बुझाइ हुन सक्छ, तिमीहरू यी कुनै पनि वास्तविक, विशिष्ट प्रकाश र प्रकटीकरणहरू पहिचान गर्न सक्षम नहुन सक्छौ। तिमीहरूको दृष्टिकोणबाट हेर्दा यी विषयहरूमा सङ्गति गर्ने कुरा हुँदा यो जति निर्दिष्ट तवरको भयो त्यति नै राम्रो हुन्छ, होइन र? (हो।) तिमीहरूलाई पूर्वतयार कुराहरू सुन्न मनपर्छ; तिमीहरूलाई आफै कुराहरू पत्ता लगाउन मन पर्दैन। के तिमीहरूले यी प्रवचनहरू सुनेपछि केही गृहकार्य गर्छौ? यदि मैले धेरै विवरणबारे सङ्गति गरेँ भने के तिमीहरूलाई म साना-साना कुरामा धेरै ध्यान दिँदै छु र कुराहरू लम्ब्याउँदै छु जस्तो लाग्छ? तैँले यसो भन्‍न सक्छस्, “तपाईंले साँच्‍चै हाम्रो आइक्यूलाई कम ठानिरहनुभएको छ; के हामी साँच्‍चै त्यति कमजोर क्षमताका छौं? तपाईंले एक-दुई वटा उदाहरण दिनु नै पर्याप्त हुन्छ। यसको साथै ख्रीष्टविरोधीहरूको सार चिरफार गर्ने कुरा गर्नुपर्दा हामीले तिनीहरूको हैसियत र शक्तिप्रतिको प्रेमसँग सम्बन्धित कुराहरूबारे पहिले नै निकै धेरै सङ्गति गरिसकेका छौं। ख्रीष्टविरोधीहरूका हितहरूबारेको हाम्रो सङ्गतिले पनि किन यो विषय छुनुपर्‍यो? के त्यो कुरा दोहोर्‍याउने र साना-साना कुरामा धेरै ध्यान दिने कार्य होइन र? के यसबारे सङ्गति गर्नु साँच्‍चै आवश्यक छ र?” वास्तवमा अलिअलि दोहोर्‍याउनु नराम्रो कुरा होइन। यदि हामीले सबै कोणबाट सङ्गति गर्‍यौँ भने तिमीहरूले ख्रीष्टविरोधीहरूको सारको यो पक्षबारे अझै राम्ररी बुझ्नेछौ। यसको साथै सत्यता सङ्गति गर्दा तिमीहरू कुरा दोहोर्‍याउनबाट पछि हट्नु हुँदैन। कति सत्यताहरू त यस्ता पनि छन्, जसबारे वर्षौंदेखि सङ्गति गर्दै आइएको छ, तैपनि त्यसमा मानिसहरूले प्रवेश प्राप्त गरेका छैनन्। के सधैँ कुरा दोहोर्‍याउनबाट जोगिने प्रयास गर्नु, सधैँ नयाँ शैली र अभिव्यक्तिहरू खोजी गर्नु सही हो? (यो गलत हो।) सत्यता आफै मानिसहरूको जीवनसँग घनिष्ठ रूपले सम्बन्धित हुन्छ। मानिसहरूले आफ्नो जीवनमा प्रकट गर्ने हरकिसिमका कुरा र भ्रष्ट स्वभावहरू, तिनका प्रकटीकरणहरू र हरकिसिमका कुराहरूप्रति तिनीहरूमा रहेका दृष्टिकोण र मनोवृत्तिहरू हरदिन निरन्तर दोहोरिँदै आइरहेका हुन्छन्। सत्यता सङ्गति गर्नु र विभिन्‍न कोणबाट फरक-फरक विषयवस्तु र सारहरू चिरफार गर्ने कार्य मानिसहरूको सत्यता प्रवेशको लागि अत्यन्तै फाइदाजनक हुन्छ। पछिल्‍लो पटक हामीले ख्रीष्टविरोधीहरूका हितहरूको दोस्रो उपखण्ड अर्थात् तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियतबारे सरल र व्यापक रूपमा सङ्गति गर्‍यौँ। आज म केही उदाहरणहरू दिनेछु ताकि हामीले यस विषयमा विस्तृत रूपमा सङ्गति गर्न सकौँ। अवश्य नै, यदि तिमीहरूले मेरो सङ्गतिको जगमा केही नयाँ बुझाइ प्राप्त गरेका वा केही प्रकाश वा ज्योति हासिल गरेका छौ भने, वा यदि तिमीहरूले आफ्नो अनुभव वा जीवनको क्रममा केही उपयुक्त उदाहरणहरू देखेका छौ भने, तिमीहरूले पनि सङ्गतिमा सहभागिता जनाउन सक्छौ। अब यसपछि हामी ख्रीष्टविरोधीहरूका हितहरूको दृष्टिकोणबाट हेर्दा ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियतको हकमा के कुरा प्रकट गर्छन्, ख्रीष्टविरोधीहरूले के-कस्ता भ्रष्ट स्वभावहरू प्रकट गर्छन् र ख्रीष्टविरोधीहरूले कस्तो किसिमले यस्ता प्रकृति सारहरू प्रकट गर्छन् भन्‍ने कुरालाई अलि निर्दिष्ट रूपमा चिरफार गरौँ।

ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियतलाई अत्यन्तै प्यारो ठान्ने कार्य सामान्य मानिसको भन्दा धेरै परको हदसम्म जान्छ र यो तिनीहरूको स्वभाव सारभित्रै रहेको हुन्छ; यो तिनीहरूको अस्थायी रुचि वा तिनीहरूको पर्यावरणले पारेको क्षणिक प्रभाव होइन—यो तिनीहरूको जीवन र हड्डीभित्र गाडिएको कुरा हो, त्यसैले यो तिनीहरूको सार हो। भन्नुको मतलब ख्रीष्टविरोधीहरूले गर्ने हरेक कुरामा तिनीहरूको पहिलो सोच भनेको तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो, योभन्दा अरू केही होइन। ख्रीष्टविरोधीहरूको लागि प्रतिष्ठा र हैसियत नै तिनीहरूको जीवन हो र जीवनभरको लक्ष्य हो। आफूले गर्ने सबै कुराहरूमा तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: “मेरो हैसियत के हुनेछ? अनि मेरो प्रतिष्ठा के हुनेछ? के यो काम गर्दा यसले मलाई राम्रो प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?” तिनीहरूले पहिलोपटक सोच्ने कुरा यही हो, जुन तिनीहरूमा ख्रीष्टविरोधीहरूमा भएको स्वभाव र सार छ भन्ने कुराको प्रमाण हो; त्यसकारण तिनीहरू कामकुरालाई यसरी विचार गर्छन्। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत केही अतिरिक्त आवश्यकता होइनन्, झन् तिनीहरूका लागि नहुँदा पनि हुने बाह्य कुराहरू हुने त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन् र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले प्रतिष्ठा र हैसियत धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको मनोवृत्ति होइन। त्यसो भए तिनीहरूको मनोवृत्ति के हो त? प्रतिष्ठा र हैसियत घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक अवस्था र तिनीहरूले दैनिक रूपमा पछ्याइरहेका कुरासँग जोडिएको हुन्छ। यसकारण ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्‍च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो। तिनीहरूलाई तैँले पहाडको प्राचीन जङ्गलको भित्री भागमा छोडिस् भने पनि तिनीहरूले अझै पनि हैसियत र प्रतिष्ठाको खोजीलाई पन्छाउन सक्दैनन्। तिनीहरूलाई तैँले जुनसुकै समूहका मानिसमाझ राख्‍न सक्छस् तर तिनीहरूले सोच्न सक्‍ने भनेकै प्रतिष्ठा र हैसियत मात्रै हुन्छ। ख्रीष्टविरोधीहरूले पनि परमेश्‍वरमा विश्‍वास गर्ने भए पनि, तिनीहरू आफ्नो प्रतिष्ठा र हैसियतको पछ्याइलाई परमेश्‍वरमाथिको विश्‍वास बराबर मान्छन् र यी दुई कुरालाई समान स्तरमा राख्छन्। भन्‍नुको मतलब, परमेश्‍वरमा विश्‍वास गर्ने मार्गमा हिँड्दा, तिनीहरूले आफ्नै प्रतिष्ठा र हैसियत पनि पछ्याउँछन्। के भन्‍न सकिन्छ भने, ख्रीष्टविरोधीहरूका हृदयमा, परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा सत्यताको पछ्याइ भनेको प्रतिष्ठा र हैसियतको पछ्याइ हो, अनि प्रतिष्ठा र हैसियतको पछ्याइ भनेको सत्यताको पछ्याइ पनि हो; प्रतिष्ठा र हैसियत प्राप्त गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो। यदि तिनीहरूलाई आफ्नो कुनै ख्याति, लाभ वा हैसियत छैन, कसैले पनि तिनीहरूलाई आदरभावले हेर्दैन, सम्मान गर्दैन, वा पछ्याउँदैन भन्‍ने लाग्यो भने, तिनीहरू अत्यन्तै निराश हुन्छन्, परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ छैन, कुनै मूल्य छैन भन्‍ने ठान्छन्, र तिनीहरूले मनमनै भन्छन्, “के परमेश्‍वरमाथिको त्यस्तो विश्‍वास असफलता हो? के म आशाहीन छैनँ र?” तिनीहरू प्रायः आफ्ना हृदयमा त्यस्ता कुराहरूको हिसाबकिताब गर्छन्। तिनीहरू आफ्ना लागि परमेश्‍वरका घरमा कसरी स्थान बनाउन सकिन्छ, मण्डलीमा कसरी उच्‍च प्रतिष्ठा प्राप्त गर्न सकिन्छ, कसरी मानिसहरूलाई तिनीहरूको कुरा सुन्न लगाउन सकिन्छ, र तिनीहरूले काम गर्दा समर्थन गराउन सकिन्छ, आफू जहाँ भए पनि मानिसहरूलाई कसरी तिनीहरूलाई पछ्याउन लगाउन सकिन्छ, र कसरी मण्डलीमा प्रभाव जमाउन सकिन्छ, अनि ख्याति, लाभ, र हैसियत पाउन सकिन्छ भनेर हिसाबकिताब गर्छन्—तिनीहरूले हृदयमा साँच्चै यस्ता कुराहरूमा ध्यान दिन्छन्। त्यस्ता मानिसहरूले पछ्याउने कुरा यिनै हुन्। किन तिनीहरूले सधैँ त्यस्ता कुराहरूको बारेमा सोचिरहन्छन् त? परमेश्‍वरका वचनहरू पढेपछि, उपदेशहरू सुनेपछि, के तिनीहरूले वास्तवमै यी सबै कुराहरू बुझ्दैनन् त? के तिनीहरू वास्तवमै यी सबै कुरा खुट्ट्याउन सक्षम छैनन् त? के परमेश्‍वरका वचनहरू र सत्यताले तिनीहरूका धारणा, विचार र रायहरूलाई बदल्न सक्दैनन् त? अवस्था बिलकुलै त्यस्तो होइन। तिनीहरूले सत्यतालाई प्रेम नगर्ने हुनाले र हृदयमा तिनीहरूले सत्यताप्रति वितृष्ण मान्‍ने हुनाले समस्या तिनीहरूमै हुन्छ, फलस्वरूप तिनीहरू सत्यता ग्रहण गर्न सक्‍दै नसक्‍ने हुन्छन्—र यो कुरा तिनीहरूको प्रकृति सारले निर्धारित गरेको हुन्छ।

ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरू र सत्यता सुनेपछि आफ्नो हृदयमा दिशा भेट्टाएजस्तो लाग्छ। तर यो तथाकथित दिशा वास्तवमा के हो त? यो तिनीहरूले एक प्रकारको औजार प्राप्त गर्नु हो—वा यसलाई एक प्रकारको फाइदाजनक हतियार प्राप्त गर्नु हो भनेर पनि भन्‍न सकिन्छ—जसले तिनीहरूलाई हैसियत प्राप्त गर्नेबारे थप निश्‍चितता प्रदान गर्छ। त्यसकारण तिनीहरूले यो अवसरलाई थप सुन्न, थप पढ्न, थप सिक्न, थप सङ्गति गर्न र थप अभ्यास गर्न प्रयोग गर्छन्, यसरी तिनीहरू बिस्तारै धेरै वचन र सिद्धान्तहरूबारे कुरा गर्न र तथाकथित यादगार प्रवचनहरू प्रचार गर्न र मानिसहरूलाई तिनीहरूको आदर गर्न लगाउन सक्‍ने अवस्थामा पुग्‍न सक्षम बन्छन्। मानिसहरूले आफ्नो शाब्दिक अर्थको हिसाबमा असल ठानेका यी सिद्धान्तहरू बुझेपछि तिनीहरूले जीवनडोरी पक्रेका छन् जस्तै र दिशा र बिहानीको ज्योति भेट्टाएका छन् जस्तै हुन्छ। त्यसकारण ख्रीष्ट-विरोधीहरूले आफ्नो अभ्यासको खातिर वा परमेश्‍वरको वचन पछ्याउनको लागि प्रवचन सुन्दैनन् र परमेश्‍वरका वचनहरू पढ्दैनन् र तिनीहरूले अवश्य नै उहाँका अभिप्रायहरू बुझ्नको लागि पनि यी कुराहरू गर्दैनन्। तिनीहरूले यी कुराहरू गर्नुको कारण त तिनीहरूले परमेश्‍वरका वचनहरू प्रयोग गरेर वा तिनीहरूलाई आत्मिक लागेका यी सिद्धान्तहरू प्रयोग गरेर वा उत्कृष्ट प्रवचनहरू प्रचार गरेर मानिसहरूलाई आफ्नो पक्षमा पार्न सकूँ र आफूलाई आराधना गर्न र पछ्याउन लगाउन थप मानिसहरूलाई प्रलोभनमा पार्न सकूँ भनेर हो। अमूर्त रूपमा परमेश्‍वरका वचनहरू, सत्यता, उहाँको मार्ग अरूमाझ हैसियत र प्रतिष्ठा प्राप्त गर्न यी मानिसहरूले प्रयोग गर्ने एक प्रकारको माध्यम, एक प्रकारको भर्‍याङ र एक प्रकारको औजार बन्छन्। त्यसकारण तैँले जसरी हेरे पनि ख्रीष्टविरोधीहरूमा कुनै पनि साँचो विश्‍वास वा कुनै पनि साँचो समर्पण भेट्टाउन सक्‍नेछैनस्। बरु यसविपरीत तिनीहरूले प्रवचनहरू सुन्न र परमेश्‍वरका वचनहरू पढ्न जति नै मेहनत गरे पनि र उहाँका वचनहरूमाथिको तिनीहरूको विश्‍वास जति नै “भक्त” जस्तो देखिए पनि एउटा कुरा इन्कार गर्न सकिँदैन, त्यो के हो भने ख्रीष्टविरोधीहरूले यी कुराहरू गर्दा तिनीहरूको अभिप्राय र योजना परमेश्‍वरको इच्छा पछ्याउनु भन्‍ने हुँदैन, यो पक्कै पनि आफ्नो कर्तव्य राम्ररी पूरा गर्नु भन्‍ने पनि हुँदैन; तिनीहरू परमेश्‍वरको आज्ञा र उहाँको सार्वभौमिकता र बन्दोबस्तहरू कर्तव्यपरायण रूपमा स्वीकार गर्दै सबैभन्दा सानो अनुयायी बन्‍न वा सृजित प्राणी बन्‍न चाहँदैनन्। बरु तिनीहरू त यी कुराहरूलाई आफ्नो व्यक्तिगत उद्देश्यहरू हासिल गर्न, अरूको हृदयमा स्थान पाउन र परमेश्‍वरको अघि सकारात्मक मूल्याङ्कन पाउन मात्रै प्रयोग गर्न चाहन्छन्—तिनीहरूले चाहने भनेकै यही मात्र हो। त्यसकारण ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरू जसरी प्रचार गरे पनि र तिनीहरूले प्रचार गर्ने प्रवचनहरू जति नै सही, उच्च, आत्मिक र मानिसहरूको चाखअनुरूप भए पनि तिनीहरूमा अभ्यास र प्रवेश शून्य हुनेछ। यसका साथै तिनीहरूको हैसियत र प्रतिष्ठाप्रतिको पछ्याइले झन्झन् बढी “फल” फलाउनेछ। मैले किन यसो भन्छु त? मैले किन यसो भन्छु भने यस्ता मानिसहरूले जे गरे पनि तिनीहरूले जसोतसो ठूलो मेहनतद्वारा जे हासिल गर्न सके पनि तिनीहरूले पछ्याउने दिशा र उद्देश्यहरू, तिनीहरूले काम गर्दा हृदयको गहिराइमा राख्‍ने अभिप्राय र उत्पत्ति बिन्दुलाई तिनीहरूका हैसियत र प्रतिष्ठाबाट अलग गर्न सकिँदैन, ती तिनीहरूका आफ्नै हितहरूसँग अत्यन्तै नजिकबाट जोडिएका हुन्छन्।

भनाइ नै छ तैँले जे रोप्छस्, त्यही फसल भित्र्याउँछस्। ख्रीष्टविरोधीहरूमा जस्तोसुकै राम्रो क्षमता र वरदान भए पनि वा तिनीहरूले जस्तोसुकै भक्त र आत्मिक प्रकटीकरणहरू प्रदर्शन गरे पनि तिनीहरूसँग शक्ति प्रयोग गर्ने र परमेश्‍वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्ने महत्त्वाकाङ्क्षा र इच्छा हुने हुनाले, तिनीहरूले सत्यता खोजी नगर्ने हुनाले, प्रतिष्ठा र हैसियत मात्रै खोजी गर्ने हुनाले के तिनीहरूले परमेश्‍वरका मापदण्डहरू अनुसार अभ्यास गर्न सक्छन् त? के तिनीहरूले आफ्नो व्यवहारमा परमेश्‍वरले तोक्नुभएका मापदण्डहरू पूरा गर्न सक्छन् त? (सक्दैनन्।) त्यसोभए तिनीहरूका कार्य र व्यवहारले वास्तवमा के-कस्ता परिणामहरू ल्याउनेछन्? (निश्‍चय नै तिनीहरूलाई आफ्नो स्वतन्त्र राज्य स्थापना गर्ने र आफै निर्णय गर्ने स्थानमा पुर्‍याउनेछन्।) ठीक भन्यौ। ख्रीष्टविरोधीहरूले जे गरे पनि अन्तिम परिणाम यही हो। त्यसोभए केले यो परिणाम पैदा गर्छ? यो मुख्य रूपमा तिनीहरूले सत्यता स्विकार्न नसक्नुको कारण पैदा हुन्छ। ख्रीष्टविरोधीहरूलाई काटछाँट, न्याय गरिए वा सजाय भए पनि तिनीहरू यसलाई हृदयमा स्विकार्दैनन्। ख्रीष्टविरोधीहरूले जे गरिरहेका भए पनि तिनीहरूको सधैँ आफ्‍नै उद्देश्य र अभिप्रायहरू हुन्छन्, तिनीहरू सधैँ आफ्‍नै योजनाअनुसार काम गरिरहेका हुन्छन्, र परमेश्‍वरको घरका बन्दोबस्त र कामप्रति तिनीहरूको मनोवृत्ति यस्तो हुन्छ, “तपाईंका हजारौँ योजना होलान्, तर मेरो एउटै नियम छ”; यो सबै ख्रीष्टविरोधीहरूको प्रकृतिले निर्धारित गरेको हुन्छ। के ख्रीष्टविरोधीहरूले आफ्‍नो मानसिकता परिवर्तन गरेर सत्यता सिद्धान्तहरू अनुसार काम गर्न सक्छन्? माथिबाट प्रत्यक्ष रूपमा तिनीहरूलाई त्यसो गर्न लगाइएको अवस्थामा बाध्यतावश तिनीहरूले मन नलागी-नलागी केही मात्रामा त्यसो गर्न सक्छन् नत्र भने त्यो कुरा असम्भव हुनेछ। तिनीहरूले केही गरेनन् भने त तिनीहरूलाई खुलासा गरेर बर्खास्त गरिन्छ। त्यसैले यी परिस्थितिहरूमा मात्रै तिनीहरूले थोरै वास्तविक काम गर्न सक्छन्। कर्तव्य निभाउनुप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति यस्तै हुन्छ; सत्यता अभ्यास गर्नुप्रति पनि तिनीहरूको मनोवृत्ति यस्तै हुन्छ: सत्यता अभ्यास गर्दा तिनीहरूलाई फाइदा हुन्छ भने, तिनीहरूलाई सबैले अनुमोदन र आदर गर्छन् भने तिनीहरू अवश्यै त्यस अनुरूप चल्छन् र अरूलाई लगभग स्वीकार्य लाग्‍ने गरी केही प्रयास गरेजस्तो गर्छन्। यदि सत्यता अभ्यास गर्दा तिनीहरूलाई कुनै फाइदा हुँदैन, कसैले देख्दैन, माथिल्‍लो स्तरका अगुवाहरूले देख्दैनन् भने त्यस्तो बेला तिनीहरूले सत्यता अभ्यास गर्ने कुरै हुँदैन। तिनीहरूको सत्यता अभ्यास प्रसङ्ग र परिस्थितिमा निर्भर हुन्छ, तिनीहरूले अरूले देख्‍ने तरिकाले कसरी यो काम गर्न सकिन्छ र फाइदाहरू कति ठूला हुनेछन् भनेर विचार गर्छन्; तिनीहरूमा यी कुराहरूबारे उत्कृष्ट बुझाइ हुन्छ र तिनीहरूले फरक-फरक परिस्थितिमा आफूलाई समायोजित गराउँछन्। तिनीहरूले सधैँ आफ्नो ख्याति, प्राप्ति र हैसियतबारे विचार गरिरहेका हुन्छन्, परमेश्‍वरका अभिप्रायहरूप्रति कति पनि ख्याल पुर्‍याइरहेका हुँदैनन् र यहीँनेर तिनीहरू सत्यता अभ्यास गर्न र सिद्धान्तहरू पालना गर्न चुक्छन्। ख्रीष्टविरोधीहरू आफ्नो ख्याति, प्राप्ति, हैसियत र व्यक्तिगत हितहरूप्रति मात्रै ध्यान दिन्छन्, तिनीहरूलाई आफूले कुनै फाइदा नपाउनु वा आफ्नो प्रदर्शन गर्न नपाउनु स्वीकार्य हुँदैन र सत्यता अभ्यास गर्नु तिनीहरूको लागि समस्याको कुरा हुन्छ। यदि तिनीहरूको प्रयासलाई पहिचान गरिएन भने, यदि तिनीहरूले अरूको अघि काम गरिरहेका भएर पनि तिनीहरूको कामलाई देखिएन भने तिनीहरूले सत्यता अभ्यास पटक्‍कै गर्दैनन्। यदि काम परमेश्‍वरको घरले प्रत्यक्ष रूपमा बन्दोबस्त गरेको हो र यो काम गर्नेबाहेक तिनीहरूसँग कुनै विकल्‍प छैन भने पनि अझै तिनीहरूले यसबाट आफ्नो हैसियत र प्रतिष्ठामा फाइदा हुन्छ कि हुँदैन भन्‍ने कुरा विचार गर्छन्। यदि यो तिनीहरूको हैसियतको लागि राम्रो हो र यसले आफ्नो प्रतिष्ठा बढाउन सक्छ भने तिनीहरूले यो काममा आफ्‍नो सर्वस्व सुम्पन्छन् र राम्ररी काम गर्छन्; तिनीहरूलाई आफूले एक पन्थ दुई काज गरिरहेको छु जस्तो लाग्छ। यदि यसले तिनीहरूको ख्याति, प्राप्ति र हैसियतमा कुनै फाइदा पुग्दैन, यो काम नराम्ररी गरिएमा आफ्नो विश्‍वसनीयता गुम्‍न सक्छ भने तिनीहरू यसबाट उम्‍कने उपाय वा बहानाको बारेमा सोच्छन्। ख्रीष्टविरोधीहरूले जुनसुकै कर्तव्य निभाए पनि तिनीहरू सधैँ एउटै सिद्धान्तमा लागिरहन्छन्: तिनीहरूले प्रतिष्ठा, हैसियत वा आफ्‍ना हितहरूमा केही न केही फाइदा पाउनैपर्छ र तिनीहरूलाई कुनै घाटा हुनु हुँदैन। ख्रीष्टविरोधीहरूलाई तिनीहरूले कुनै कष्ट भोग्‍नु वा मूल्य चुकाउनु नपर्ने, अनि तिनीहरूको प्रतिष्ठा र हैसियतमा फाइदा पुग्‍ने काम सबैभन्दा बढी मन पर्छ। समग्रमा ख्रीष्टविरोधीहरूले जे गरिरहेका भए पनि तिनीहरू सुरुमा आफ्‍नै हितहरूलाई विचार गर्छन् र यो सबै विचार गरेपछि मात्रै तिनीहरू काम गर्छन्; तिनीहरू सम्झौता नगरी साँचो रूपमा, इमानदारीपूर्वक र पूर्ण रूपले सत्यतामा समर्पित हुँदैनन्, तर छनौट गरेर अनि सर्तमा मात्रै सो गर्छन्। यो कस्तो सर्त हो? यो तिनीहरूको हैसियत र प्रतिष्ठालाई रक्षा गरिनैपर्छ, र कुनै घाटा हुनै हुँदैन भन्ने सर्त हो। यो सर्त पूरा भएपछि मात्रै तिनीहरू के गर्ने भनेर निर्णय र छनौट गर्छन्। अर्थात् सत्यता सिद्धान्तहरू, परमेश्‍वरका आज्ञाहरू र परमेश्‍वरको घरको कामलाई कसरी लिने वा आफूले सामना गर्ने कुराहरू कसरी सम्‍हाल्‍ने भन्ने कुरालाई ख्रीष्टविरोधीहरू गम्‍भीर रूपमा विचार गर्छन्। तिनीहरू परमेश्‍वरका अभिप्रायहरू कसरी पूरा गर्ने, परमेश्‍वरको घरका हितहरूलाई हानि गर्नबाट कसरी बच्‍ने, परमेश्‍वरलाई कसरी सन्तुष्ट तुल्याउने वा दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी फाइदा पुऱ्याउने भन्नेबारे विचार गर्दैनन्; यी तिनीहरूले विचार गर्ने कुरा होइनन्। ख्रीष्टविरोधीहरू केलाई विचार गर्छन्? कतै आफ्नो हैसियत र प्रतिष्ठामा असर पो पुग्ने हो कि र प्रतिष्ठा पो घट्ने हो कि भनेर विचार गर्छन्। यदि सत्यता सिद्धान्तहरूअनुसार कुनै काम गर्दा मण्डलीको काममा र दाजुभाइ-दिदीबहिनीहरूलाई फाइदा पुग्छ, तर तिनीहरूको आफ्‍नै प्रतिष्ठामा धक्का पुग्छ र धेरै मानिसले तिनीहरूको साँचो कद अनि तिनीहरूमा कस्तो प्रकृति सार छ भन्‍ने कुरा थाहा पाउँछन् भने तिनीहरूले अवश्य नै सत्यता सिद्धान्तहरूअनुसार काम गर्नेछैनन्। यदि केही वास्तविक काम गर्दा अझ धेरै मानिसले तिनीहरूको इज्जत गर्छन्, आदर र प्रशंसा गर्छन्, तिनीहरूलाई झन् ठूलो प्रतिष्ठा हासिल गर्न दिन्छन् वा तिनीहरूको बोली अख्‍तियारपूर्ण बन्छ र अझै धेरै मानिसले तिनीहरूको कुरा मान्छन् भने तिनीहरू त्यो काम त्यसरी गर्ने निर्णय गर्छन्; नत्र तिनीहरूले परमेश्‍वरको घर वा दाजुभाइ-दिदीबहिनीहरूका हितका खातिर आफ्‍नै हितहरूलाई बेवास्ता गर्ने निर्णय कहिल्यै गर्नेछैनन्। ख्रीष्टविरोधीहरूको प्रकृति सार यही हो। के यो स्वार्थी र घृणास्पद कुरा होइन र? कुनै पनि परिस्थितिमा ख्रीष्टविरोधीहरू आफ्‍नो हैसियत र प्रतिष्ठालाई सबैभन्दा महत्त्वपूर्ण ठान्छन्। तिनीहरूसँग कसैले प्रतिस्पर्धा गर्न सक्दैन। जुनसुकै विधिको आवश्यकता परे पनि यदि त्यसले मानिसहरूको मन जित्छ र अरूलाई तिनीहरूको उपासना गर्न लगाउँछ भने ख्रीष्टविरोधीहरू त्यही विधि अपनाउँछन्। यदि परमेश्‍वरको गवाही दिएकोमा परमेश्‍वरका चुनिएका मानिसले अरू कसैलाई आदर र अनुमोदन गरेका छन् भने ख्रीष्टविरोधीहरूले पनि मानिसहरूलाई आफ्नो पक्षमा पार्न यही विधि प्रयोग गर्नेछन्। तर ख्रीष्टविरोधीहरूमा सत्यता वा व्यावहारिक अनुभव हुँदैन, त्यसकारण तिनीहरूले मानव कल्पनाहरूको आधारमा परमेश्‍वरको गवाही दिने सिद्धान्तहरू निर्माण गर्न दिमाग खियाउँछन्, अनि परमेश्‍वर कति महान् हुनुहुन्छ, परमेश्‍वरले मानिसलाई कति प्रेम गर्नुहुन्छ, परमेश्‍वरले मानिसलाई मुक्ति दिन कसरी मूल्य चुकाउनुहुन्छ, परमेश्‍वरले कति धेरै आफूलाई नम्र बनाउनुहुन्छ र गुप्त राख्‍नुहुन्छ भन्‍ने बारेमा कुरा गर्छन्। तिनीहरूले यसरी परमेश्‍वरको गवाही दिएपछि तिनीहरूले हासिल गर्ने परिणाम यो हुन्छ कि मानिसहरूले तिनीहरूलाई पहिलेभन्दा अझै बढी आदर गर्छन्, तिनीहरूको हृदयमा यी ख्रीष्टविरोधीहरूको लागि अझै धेरै ठाउँ हुन्छ तर परमेश्‍वरको लागि कुनै ठाउँ हुँदैन। यदि तिनीहरूले आत्मज्ञानबारे कुरा गर्दा अझै धेरै मानिसले तिनीहरूलाई भरोसा, आदर र सम्‍मान गर्न सक्छन् भन्‍ने देखे भने तिनीहरूले प्रायजसो आफूलाई चिन्‍ने बारेमै कुरा गर्नेछन् र प्रायजसो आफूलाई चिरफार गरिरहनेछन्। तिनीहरूले तिनीहरू दियाबलस हुन्, तिनीहरू मानव होइनन्, तिनीहरूमा कुनै समझ छैन, तिनीहरूले सत्यता पछ्याउँदैनन् र तिनीहरूमा सत्यता छैन भन्‍ने तथ्यबारे चिरफार गर्नेछन्। तिनीहरूले अरूलाई बहकाउन, अरूको भरोसा जित्न र अझै धेरै मानिसलाई तिनीहरूको प्रशंसा गर्न र आदर गर्न लगाउन केही मिथ्या र अर्थहीन विषयहरूबारे सङ्गति गर्नेछन्। ख्रीष्टविरोधीहरू यसरी नै व्यवहार गर्छन्। यदि अनुभव गवाही बाँड्ने निश्‍चित विधिले तिनीहरूलाई अरूको अनुमोदन र आदर प्राप्त गर्न सहयोग गर्छ भने तिनीहरूले यसलाई प्रयोग गर्न हिचकिचाउँदैनन्। तिनीहरूले साँच्‍चै नै यो विधिमा ध्यान लगाउनेछन्, मेहनत गर्नेछन् र आफ्नो दिमाग खियाउनेछन्। समग्रमा भन्दा यो सब गर्ने तिनीहरूको उद्देश्य र मनसाय हैसियत र प्रतिष्ठा बाहेक अरू केही कुरामा केन्द्रित हुँदैन। चाहे यो तिनीहरूको बाहिरी भाषा, विधि, व्यवहार होस् वा चाहे तिनीहरूको कुनै प्रकारको विचार, दृष्टिकोण वा पछ्याइ विधि होस्, यी सबै कुरा प्रतिष्ठा र हैसियतमा केन्द्रित हुन्छन्। ख्रीष्टविरोधीहरूको काम गर्ने तरिका यही हो।

ख्रीष्टविरोधीहरूको लागि उनीहरूको प्रतिष्ठा वा हैसियतलाई आक्रमण गर्नु र खोसी लैजानु उनीहरूको ज्यान लिने प्रयास गर्नुभन्दा पनि गम्भीर कुरा हुन्छ। उनीहरूले जति उपदेशहरू सुने पनि वा परमेश्‍वरका वचनहरू जति धेरै पढे पनि आफूले सत्यताको कहिल्यै अभ्यास नगरेकोमा र ख्रीष्टविरोधीहरूको मार्ग लिएकोमा अनि ख्रीष्टविरोधीहरूको प्रकृति सार धारण गरेकोमा दुःख वा पछुतो महसुस गर्नेछैनन्। यसको सट्टा उनीहरू सधैँ आफ्नो हैसियत प्राप्त गर्ने र आफ्नो इज्‍जत बढाउने उपायहरूका निम्ति आफ्नो दिमाग खियाइरहेका हुन्छन्। यो भन्‍न सकिन्छ कि ख्रीष्टविरोधीहरूले जे गर्छन् त्यो अरूको अगाडि आफ्नो प्रदर्शन गर्नको लागि गर्छन् र परमेश्‍वरको अगाडि गर्दैनन्। म किन यसो भन्छु त? किनकि त्यस्ता मानिसले हैसियतलाई यति धेरै प्रेम गर्छन् कि उनीहरू त्यसलाई आफ्नो जीवन र आफ्नो जीवनभरिको लक्ष्यको रूपमा लिन्छन्। यसबाहेक उनीहरूले हैसियतलाई धेरै प्रेम गर्ने भएकाले उनीहरू सत्यताको अस्तित्वमा कहिल्यै पनि विश्‍वास गर्दैनन् र उनीहरू परमेश्‍वरको अस्तित्वमा पटक्‍कै विश्‍वास गर्दैनन् भनेर पनि भन्‍न सकिन्छ। यसैले उनीहरूले प्रतिष्ठा र हैसियत प्राप्त गर्न जे-जसरी हिसाबकिताब गरे पनि र मानिसहरू र परमेश्‍वरलाई झुक्याउन उनीहरूले जे-जसरी झुटा रूपरङ्गहरू प्रयोग गर्ने कोसिस गरे पनि उनीहरूको हृदयको गहिराइमा कुनै चेतना वा ग्लानि हुँदैन, उनीहरूमा कुनै चिन्ता हुन्छ भनेर त नसोचेकै बेस। प्रतिष्ठा र हैसियत सम्‍बन्धी निरन्तरको खोजीमा तिनीहरूले परमेश्‍वरले गर्नुभएका कुराहरूलाई पनि स्वेच्छाचारी रूपमा नकार्छन्। म किन यसो भन्छु त? ख्रीष्टविरोधीहरूले आफ्‍नो हृदयको गहिराइमा यस्तो विश्‍वास गर्छन्, “सबै प्रतिष्ठा र हैसियत आफ्‍नै प्रयासहरूद्वारा कमाइन्छ। मानिसहरूमाझ दह्रिलो स्थान हासिल गरेर अनि प्रतिष्ठा र हैसियत प्राप्त गरेर मात्रै तिनीहरूले परमेश्‍वरका आशिष्‌हरू प्राप्त गर्न सक्छन्। मानिसहरूले पूर्ण शक्ति र हैसियत प्राप्त गरेपछि मात्रै जीवनको मूल्य हुन्छ। यो मात्रै मानव जसरी जिउनु हो। यसको विपरीत परमेश्‍वरको वचनमा भनिएजस्तै सबै कुरामा परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुनु, सृजित प्राणीको स्थानमा उभिन इच्छुक हुनु र सामान्य व्यक्तिजस्तै जिउनु व्यर्थ हुनेछ—कसैले पनि त्यस्तो व्यक्तिलाई आदरको नजरले हेर्दैन। व्यक्तिको हैसियत, प्रतिष्ठा र खुसी आफ्नै संघर्षबाट प्राप्त गर्नुपर्छ; ती कुराका लागि लडाइँ लड्नुपर्छ र सकारात्मक र सक्रिय मनोवृत्तिले तिनलाई टपक्‍कै टिप्‍नुपर्छ। अरू कसैले तँलाई ती कुराहरू दिनेछैन—हात बाँधेर प्रतीक्षा गर्दा असफलता मात्र हात लाग्छ।” ख्रीष्टविरोधीहरूले यसरी नै हिसाबकिताब गर्छन्। यो ख्रीष्टविरोधीहरूको स्वभाव हो। यदि तिमीहरूले ख्रीष्टविरोधीहरूले सत्यता स्वीकार गरून्, गल्तीहरू स्वीकार गरून् र साँचो पश्‍चात्ताप गरून् भन्‍ने आशा गर्छौ भने त्यो असम्‍भव हुन्छ—तिनीहरूले कदापि त्यो गर्न सक्दैनन्। ख्रीष्टविरोधीहरूमा शैतानको प्रकृति सार हुन्छ, तिनीहरू सत्यतालाई घृणा गर्छन्, त्यसकारण तिनीहरू जहाँ गए पनि, तिनीहरू पृथ्वीको अन्तिम छेउमा गए पनि प्रतिष्ठा र हैसियत खोजी गर्ने तिनीहरूको महत्त्वाकाङ्क्षा कहिल्यै परिवर्तन हुनेछैन, न त विभिन्‍न कुराहरू हेर्ने तिनीहरूको दृष्टिकोण परिवर्तन हुनेछ, न त तिनीहरूको मार्ग नै परिवर्तन हुनेछ। कतिपय मानिसले यसो भन्‍नेछन्: “यसबारेमा आफ्नो दृष्टिकोण परिवर्तन गर्न सक्‍ने केही ख्रीष्टविरोधीहरू पनि हुन्छन्।” के यो अभिव्यक्ति सही छ? यदि तिनीहरू साँच्‍चै परिवर्तन हुन सक्छन् भने के तिनीहरू अझै पनि ख्रीष्टविरोधीहरू हुन्? ख्रीष्टविरोधी प्रकृति भएकाहरू कहिल्यै परिवर्तन हुनेछैनन्। ख्रीष्टविरोधी स्वभाव भएका मानिसले सत्यता खोजी गरे भने मात्रै परिवर्तन हुन्छन्। ख्रीष्टविरोधीको मार्गमा हिँड्ने कतिपय मानिसले मण्डलीको काममा बाधा दिने केही दुष्कर्म गर्छन्, र तिनीहरूलाई ख्रीष्टविरोधीहरूका रूपमा चित्रित गरिए पनि, बर्खास्त गरिएपछि तिनीहरूले साँचो रूपमा पछुतो गर्छन्, तिनीहरूले आफूलाई नवीकरण गर्ने सङ्कल्प गर्छन्, अनि एक अवधिको चिन्तन, आत्मज्ञान र पश्‍चात्तापपछि तिनीहरूले केही वास्तविक परिवर्तन हासिल गर्छन्। यस्तो हुँदा यी मानिसहरूलाई ख्रीष्टविरोधीहरूका रूपमा चित्रण गर्न सकिँदैन; तिनीहरूसँग ख्रीष्टविरोधीको स्वभाव मात्रै हुन्छ। यदि तिनीहरूले सत्यता खोजी गर्छन् भने तिनीहरू परिवर्तन हुन सक्छन्। तैपनि निश्‍चयताको साथ के भन्‍न सकिन्छ भने मण्डलीले ख्रीष्टविरोधीहरूका रूपमा चित्रण गर्ने, सफाइ गर्ने वा निकाल्‍ने धेरैजसो मानिसचाहिँ साँचो रूपमा पश्‍चात्ताप गर्ने वा परिवर्तन हुनेछैनन्। यदि तिनीहरूमध्ये कुनै व्यक्तिले यस्तो गर्‍यो भने पनि, त्यो दुर्लभ कुरा हुनेछ। कतिपय मानिसले सोध्नेछन्: “त्यसोभए के ती दुर्लभ घटनाहरूलाई गलत रूपमा चित्रण गरिएको हो?” त्यो असम्भव छ। आखिर तिनीहरूले केही न केही दुष्कर्म गरेकै हुन्छन् र यसलाई मेटाउन सकिँदैन। तैपनि यदि तिनीहरूले साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छन् भने, यदि तिनीहरू कर्तव्य पूरा गर्न तयार छन् भने, तिनीहरूसँग तिनीहरूको पश्‍चात्तापको साँचो गवाही छ भने मण्डलीले तिनीहरूलाई अझै पनि स्वीकार गर्न सक्छ। यदि यी मानिसलाई ख्रीष्टविरोधीहरूका रूपमा चित्रित गरिएपछि तिनीहरूले गल्ती स्विकार्न वा पश्‍चात्ताप गर्न पूर्ण रूपमा इन्कार गर्छन् भने, तिनीहरूले आफूलाई कुनै पनि माध्यमले सही साबित गर्ने प्रयास गरिरहन्छन् भने तिनीहरूलाई ख्रीष्टविरोधीहरूका रूपमा चित्रण गर्नु ठीक र पूर्ण रूपमा सही हुन्छ। यदि तिनीहरूले आफ्नो गल्ती स्विकार्थे र साँचो रूपमा पछुतो गर्थे भने मण्डलीले तिनीहरूलाई कसरी ख्रीष्टविरोधीहरूका रूपमा चित्रण गर्न सक्थ्यो र? त्यो असम्भव हुनेथियो। व्यक्ति जोसुकै भए पनि, उसले जति नै धेरै दुष्कर्म गरे पनि वा उसको गल्ती जति नै गम्भीर भए पनि, व्यक्ति ख्रीष्टविरोधी हो होइन वा उसमा ख्रीष्टविरोधी स्वभाव छ छैन भन्‍ने कुरा उसले सत्यता स्विकार्न र काटछाँट हुन स्विकार्न सक्छ सक्दैन र उसमा साँचो पछुतो छ छैन भन्‍ने कुरामा निर्भर हुन्छ। यदि तिनीहरूले सत्यता स्विकार्न र काटछाँट हुन स्विकार्न सक्छन् भने, यदि तिनीहरूसँग साँचो पछुतो छ भने, यदि तिनीहरू परमेश्‍वरको लागि आफ्नो सारा जीवन श्रम गरेर बिताउन तयार छन् भने यसले साँच्‍चै केही पश्‍चात्तापको सङ्केत दिन्छ। यस्तो व्यक्तिलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्न सकिँदैन। के कट्टर ख्रीष्टविरोधीहरूले साँच्‍चै सत्यता स्विकार्न सक्छन्? अवश्यै सक्दैनन्। तिनीहरूले सत्यतालाई प्रेम नगर्ने र सत्यताप्रति वितृष्णा मान्‍ने हुनाले नै तिनीहरूले प्रतिष्ठा र हैसियतलाई कहिल्यै त्याग्‍न सक्‍नेछैनन् किनकि ती तिनीहरूको सम्पूर्ण जीवनसँग अत्यन्तै नजिकबाट जोडिएका हुन्छन्। ख्रीष्टविरोधीहरू दृढताका साथ हृदयमा विश्‍वास गर्छन् कि ख्याति र हैसियत भएमा मात्र उनीहरूको इज्जत हुन्छ र उनीहरू साँचो सृजित प्राणी हुन्छन्, हैसियत हुँदा मात्र उनीहरूलाई इनाम र मुकुट मिल्छ, उनीहरू परमेश्‍वरको अनुमोदन पाउन योग्य हुन्छन्, सबै कुरा प्राप्त गर्छन् र सच्चा व्यक्ति बन्छन्। ख्रीष्ट विरोधीहरूले हैसियतलाई केको रूपमा हेर्छन्? उनीहरूले यसलाई सत्यताको रूपमा हेर्छन्; उनीहरू त्यसलाई मानिसहरूले पछ्याउनुपर्ने सर्वोच्‍च लक्ष्य मान्छन्। के यो एउटा समस्या होइन र? हैसियतमा यस प्रकारले आशक्त हुन सक्ने मानिसहरू सच्चा ख्रीष्टविरोधीहरू हुन्। तिनीहरू पावल जस्तै व्यक्तिहरू हुन्। तिनीहरू के विश्‍वास गर्छन् भने सत्यता पछ्याउनु, परमेश्‍वरप्रति समर्पित हुन खोज्नु र इमानदार हुन खोज्नु सबै त्यस्ता प्रक्रिया हुन् जसले व्यक्तिलाई सबभन्दा उच्च हैसियतमा पुऱ्याउँछन्; ती केवल प्रक्रिया हुन्, आफूलाई आचरणमा ढाल्नुको लक्ष्य र मानक होइनन् र ती पूर्ण रूपमा परमेश्वरले हेर्नको लागि भनेर गरिन्छ। यस्तो बुझाइ निरर्थक र हास्यास्पद छ! सत्यतालाई घृणा गर्ने बेतुकेहरूले मात्र यस्तो हास्यास्पद विचार उत्पन्‍न गर्न सक्छन्।

जब ख्रीष्टविरोधीहरूको कुरा आउँछ तैँले सत्यताको जुनसुकै पक्ष सङ्गति गरे पनि तिनीहरूको बुझ्‍ने क्षमता र बुझाइको तरिका सत्यता पछ्याउने मानिसहरूको भन्दा फरक हुनेछ। सत्यता सुनेपछि सत्यता पछ्याउने मानिसहरूले सोच्छन्, “मसँग सत्यताको यो पक्ष छैन र परमेश्‍वरले मलाई प्रकट गर्नुभएको यो स्थितिलाई म आफैसँग जोड्न सक्छु। यो सुनेपछि किन म यति धेरै पछुतोले भरिएको र परमेश्‍वरप्रति यति ऋणी भएको महसुस गर्छु? म अझै पनि सत्यता पछ्याउनबाट धेरै चुकेको छु र साँचो रूपमा समर्पित हुन सक्‍ने अवस्थाको छेउ पनि पुगेकै छैन। मलाई एकदमै धेरै डर लाग्छ; यो मेरो लागि एउटा चेतावनीको घण्टी भएको छ। मलाई लाग्थ्यो मैले हालै निकै राम्रो काम गरिरहेको छु, म वास्तवमा सत्यता अभ्यास गर्ने वा परमेश्‍वरलाई खुशी पार्ने व्यक्ति होइन भन्‍ने मलाई थाहा थिएन। अबदेखि म होसियार र समझदार हुनुपर्छ, परमेश्‍वरको अघि प्रार्थना गर्ने र मार्गदर्शन र ज्योतिको लागि उहाँलाई बिन्ती गर्ने कार्यमा ध्यान दिनुपर्छ। म आफ्नै बाटो लाग्‍नु हुँदैन। म सत्यताको यो पक्षमा गहन रूपमा प्रवेश गर्नेछु र मैले प्रगति गर्ने ठाउँ अझै पनि बाँकी छ। परमेश्‍वरले मलाई अझै राम्ररी काम गर्न र मेरो इमानदारी र बफादारी चढाउन मदत गर्ने वातावरण खडा गर्नुहुनेछ भन्‍ने आशा छ।” सत्यता पछ्याउने मानिसहरूले यस्तै सोच्छन्। तर ख्रीष्टविरोधीहरूले चाहिँ विभिन्‍न प्रकारका सत्यताहरूलाई कसरी बुझ्छन्? मान्छेलाई हप्काउने परमेश्‍वरका वचनहरू सुनेपछि तिनीहरूले के सोच्छन्? “मैले त्यो काममा राम्रो गरिनँ, मैले मेरो कार्य-व्यवहारमा केही कुराहरू खुस्काएँ र गल्तीहरू देखा परे। यसबारेमा कति मानिसलाई थाहा छ? परमेश्‍वरका वचनहरू स्पष्ट रूपमा बोलिएका थिए; के यसको अर्थ उनले मेरो वास्तविकता देखेका छन् भन्‍ने हुन्छ? ठीक छ, तर यो राम्रो परिणाम होइन; यो मैले चाहेको कुरा होइन। यदि परमेश्‍वरले मेरो वास्तविकता देखेका छन् भने के यसबारेमा अरू कसैलाई पनि थाहा छ? यदि कसैले थाहा पाएको छ भने त्यो अझै खराब कुरा हुनेछ। यदि परमेश्‍वरलाई मात्रै थाहा छ र अरू कसैलाई थाहा छैन भने त्यो ठीकै हुन्छ। यदि केही मानिसले मान्छेको खुलासा गर्ने परमेश्‍वरका यी वचनहरू सुनेर तिनलाई मसँग जोडे र मेरो जीवनमा लागू गरे भने त्यो मेरो प्रतिष्ठाको लागि खराब हुनेछ। मैले यसलाई सुधार्ने उपाय सोच्नुपर्छ। मैले यसलाई कसरी समाधान गर्न सक्छु होला?” ख्रीष्टविरोधीहरूले यसरी नै मनन गर्छन्। उदाहरणको लागि मानिसहरू कसरी इमानदार हुनुपर्छ भन्‍ने बारेमा परमेश्‍वरले गर्नुभएको सङ्गति सुनेपछि, ख्रीष्टविरोधीले तुरुन्तै यस्तो सोच्नेछ, “मूर्खहरू मात्रै इमानदार मानिस बन्‍ने प्रयास गर्छन्। मजस्तो चलाख व्यक्ति कसरी इमानदार व्यक्ति हुन सक्छ? इमानदार मानिसहरू बुद्धिहीन र मूर्ख हुन्छन्; तिनीहरूले मनमा जे आउँछ त्यही भन्छन्, तिनीहरूले अरूलाई सबै कुरा बताउँछन् र सबै कुरा बुझ्न दिन्छन्। म कहिल्यै त्यसो गर्दिनँ! परमेश्‍वरले हामी इमानदार हुनुपर्छ भनेर भन्‍नु सापेक्षित कुरा हो, त्यसकारण म बुद्धिमान्‌ व्यक्ति मात्रै हुनेछु, कुरो त्यति हो। इमानदार व्यक्ति बन्‍ने हकमा भन्दा म कहिले त्यस्तो व्यक्ति बन्‍ने भनेर आफै छनौट गर्नेछु। म केही कुराहरूबारे खुलस्त कुरा गर्नेछु, तर म हृदयको गहिराइमा मैले राखेका ती सबै रहस्य र लुकेका कुराहरूबारे अर्थात् मैले बताउँदा मानिसहरूले मलाई हेला गर्ने खालका त्यस्ता कुराहरूबारे बताउनेछैनँ। इमानदार व्यक्ति बन्‍नुको के फाइदा हुन्छ र? मलाई त यसको कुनै फाइदा छ जस्तो लाग्दैन। कति मानिसले सधैँ आफूलाई विश्लेषण गरिरहेका हुन्छन्, इमानदार हुने र इमान्दारीपूर्वक बोल्ने प्रयास गरिरहेका हुन्छन्, आफ्नो भ्रष्ट स्वभाव खुलासा गरिरहेका हुन्छन्, तर तिनीहरूले परमेश्‍वरको अनुग्रह प्राप्त गरेका हुँदैनन्, तिनीहरूलाई काटछाँट गरिनुपर्ने बेला अझै पनि काटछाँट गरिन्छ; परमेश्‍वरले थप रूपमा तिनीहरूको कुनै उत्थान गर्नुहुन्‍न।” तिनीहरूले बारम्बार मनन गरिरहन्छन्, “मैले अर्को मार्ग रोज्नुपर्छ। यो मैले हिँड्नुपर्ने बाटो होइन; म अरूलाई नै यो कुरा सुम्पनेछु। मजस्तो बुद्धिमान्‌ व्यक्ति कसरी यसरी जिउन सक्छ र?” ख्रीष्टविरोधीहरूले सत्यताको जुनसुकै पक्षबारे सुने पनि तिनीहरूले आफ्नो हृदयमा के-कस्ता हिसाबकिताबहरू गर्छन्? के तिनीहरूले त्यो सत्यता शुद्ध रूपमा बुझ्न सक्छन्? के तिनीहरू यसलाई हृदयको गहिराइमा सत्यताको रूपमा स्विकार्न सक्छन्? अवश्यै सक्दैनन्। तिनीहरूले निरन्तर हिसाबकिताब र षड्यन्त्र गरिरहेका हुन्छन् र निरन्तर अवलोकन गरिरहेका हुन्छन्। तिनीहरूले अन्तिममा कस्तो प्रतिक्रिया दिन्छन्? तिनीहरू परिस्थितिअनुसार परिवर्तन हुन्छन्, अवस्थाअनुसार आफूलाई अनुकूल बनाउँछन्, अरूसँगको व्यवहारमा मधुर र धूर्त बन्छन् र तिनीहरूले पूरै गुप्त रूपमा काम गर्छन्। तिनीहरूले जे गरे पनि, भित्री मनमा जे सोचे पनि वा हिसाबकिताब नै गरे पनि, तिनीहरूले अरूलाई थाहा दिन सक्दैनन्, न त परमेश्‍वरलाई नै थाहा दिन सक्छन्; तिनीहरूले यी कुराहरू परमेश्‍वरको अघि उदाङ्गो पार्न सक्दैनन्, मानिसहरूलाई स्पष्ट रूपमा बताउनु त परै जाओस्—तिनीहरूले यी कुराहरू तिनीहरूको आफ्नै व्यक्तिगत मामला हुन् भन्‍ने विश्‍वास गर्छन्। त्यसकारण ख्रीष्टविरोधीहरू सत्यता अभ्यास गर्न पूर्ण असमर्थ मानिसहरू हुन्। सत्यता अभ्यास नगर्ने बाहेक तिनीहरू सत्यता अभ्यास गर्ने मानिसहरूलाई हेला पनि गर्छन्, योभन्दा पनि बढी, सत्यता अभ्यास गर्दा केही विचलन गरेको वा केही गलत मोड लिएको वा केही गल्तीहरू गरेको कारण काटछाँट गरिएका मानिसलाई तिनीहरू गिल्ला गर्छन् र हाँसोमा उडाउँछन्। तिनीहरू परमेश्‍वरको धार्मिकतामा विश्‍वास गर्दैनन्, झन् मानिसहरूलाई व्यवहार गर्ने उहाँका विभिन्‍न तरिकाहरूमा सत्यता र उहाँको प्रेम हुन्छ भन्‍ने कुरामा तिनीहरूले विश्‍वास गर्नु त परको कुरा हो; ख्रीष्टविरोधीहरूले यी कुराहरूमा विश्‍वास गर्दै गर्दैनन्। तिनीहरूको दृष्टिकोणबाट तिनीहरू यी सबै कुरा मानिसहरूलाई धोका दिन बनाइएका झुट हुन् भन्‍ने विश्‍वास गर्छन्; तिनीहरू ती सबै बहाना हुन्, राम्रो सुनिने भनाइहरू मात्रै हुन् भन्‍ने सोच्छन्। अनि तिनीहरू गुप्त रूपमा प्राय कुन कुरामा आनन्द मान्छन्? “भाग्यवश, म सबै कुरा अर्पण गर्ने गरी मूर्ख छैनँ; भाग्यवश, मैले मेरो हृदयभित्र राखेका ती फोहोरी र कुरूप कुराहरूबारे केही बताएको छैन; भाग्यवश, मैले अझै पनि आफ्नो हैसियत र प्रतिष्ठा कायम राखिरहेको छु, तिनलाई पछ्याउन सक्दो गरिरहेको छु र तिनकै खातिर दौडधूप गरिरहेको छु। यदि मैले आफ्नो खातिर दौडधूप गरिनँ भने मेरो बारे कसले विचार गर्नेछ र?” ख्रीष्टविरोधीहरू छली मात्र हुँदैनन्, तर तिनीहरू दुष्ट पनि हुन्छन्, तिनीहरूले सत्यताप्रति वितृष्णा गर्छन् र तिनीहरू क्रूर स्वभावका हुन्छन्; अर्थात् ख्रीष्टविरोधीहरूमा भ्रष्ट मानिसहरूमा देखिने भ्रष्ट स्वभावका सबै पक्षहरू पुष्टि भएका हुन्छन् र एक कदम अगाडिसम्‍म “उच्च पारिएका” हुन्छन्। यदि तँ मानवजातिको भ्रष्ट स्वभाव हेर्न चाहन्छस् भने एउटा ख्रीष्टविरोधी खोज्, अनि त्यसको चिरफार गर् र त्योसित अन्तरक्रिया गर्; त्यही नै समस्यालाई चित्रण गर्ने सबैभन्दा राम्रो तरिका हो, त्यही नै भ्रष्ट मानवजातिको भ्रष्ट सार र शैतानको अनुहार देख्‍ने सबैभन्दा राम्रो तरिका हो। यदि तैँले ख्रीष्टविरोधीलाई प्रमुख उदाहरणको रूपमा लिन्छस् र त्यसलाई चिरफार गरेर चिन्छस् भने तैँले यी कुराहरू अझै स्पष्ट रूपमा बुझ्न सक्‍नेछस्।

ख्रीष्टविरोधीहरूको हैसियत र प्रतिष्ठा पछ्याइ साधारण मानिसको भन्दा निकै पर जाने खालको हुन्छ, हैसियत र प्रतिष्ठाप्रतिको तिनीहरूको इच्छा पनि त्यस्तै खालको हुन्छ। साधारण मानिसमा हैसियत र प्रतिष्ठाप्रतिको इच्छा त्यति ठूलो हुँदैन, जबकि ख्रीष्टविरोधीहरूमा त्यो इच्छा अत्यन्तै दह्रिलो र स्पष्ट हुन्छ। तैँले ख्रीष्टविरोधीसँग अन्तरक्रिया गरेर तिनीहरूसँग कुराकानी गरेपछि र तिनीहरूसँग समय बिताएपछि तेरो आँखाअगाडि तिनीहरूको प्रकृति सार खुलासा हुनेछ र तैँले तुरुन्तै तिनीहरूको वास्तविकता छर्लङ्गै देख्‍नेछस्। तिनीहरूको इच्छा यति ठूलो हुन्छ। जब तिनीहरूसँगको तेरो अन्तरक्रिया गहिरिँदै जान्छ तब तँलाई तिनीहरूप्रति घिन लाग्‍नेछ र तैँले तिनीहरूलाई त्याग्‍नेछस्। अन्ततः, तैँले तिनीहरूलाई इन्कार गर्ने मात्र होइन, निन्दा र श्रापसमेत दिनेछस्। ख्रीष्टविरोधीहरू असल कुराहरू होइनन्; तिनीहरू परमेश्‍वरका शत्रुहरू हुन्, सत्यता पछ्याउनेहरू सबैका शत्रुहरू हुन्। ख्रीष्टविरोधीहरूलाई सत्यताप्रति वितृष्णा हुन्छ, तिनीहरूले हैसियत र प्रतिष्ठाको खातिर हरकिसिमका खराब कुराहरू गर्न सक्छन्। तिनीहरू आफूले गर्ने हरकुरामा हैसियत र प्रतिष्ठाको खातिर सम्झौता गर्दै आफूलाई ढाकछोप गर्छन्, अनुकरण गर्छन् र परिस्थितिअनुसार खेल्दै जान्छन्। यस्ता मानिसहरूको त प्राण र सार नै फोहोरी हुन्छ; ती घिनलाग्दा हुन्छन्। तिनीहरूमा सत्यता वा सकारात्मक कुराहरूप्रति अलिकति पनि प्रेम हुँदैन। यसको साथै तिनीहरू मानिसहरूलाई बहकाउन सकारात्मक कुरा, अनि सही वचन र धर्मसिद्धान्त प्रचारको प्रयोग गर्छन्, ताकि तिनीहरूले प्रतिष्ठा र हैसियत प्राप्त गर्न, आफ्ना इच्छा र महत्त्वाकाङ्क्षाहरू सन्तुष्ट पार्न सकून्। ख्रीष्टविरोधीहरूको व्यवहार र सार यही हो। तैँले शैतान कस्तो देखिन्छ, शैतानले संसारमा कस्तो आचरण देखाउँछ र मानिसहरूसित कसरी व्यवहार गर्छ र शैतानसँग कस्तो प्रकृति सार छ भनेर देख्‍न सक्दैनस्; परमेश्‍वरको नजरमा शैतान वास्तवमा कस्तो कुरा हो भन्‍ने तँलाई थाहै छैन। तर यो समस्या होइन; तैँले ख्रीष्टविरोधीलाई अवलोकन र चिरफार गर्नु मात्रै पर्छ, अनि यी सबै कुराहरू देख्‍नेछस्—शैतानको प्रकृति सार, शैतानको कुरूप रूप, शैतानको दुष्टता र क्रूरता—यी सबै कुराहरू तेरो लागि स्पष्ट हुनेछन्। ख्रीष्टविरोधीहरू जीवित शैतानहरू हुन्; तिनीहरू जीवित पिशाचहरू हुन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्