विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्‍नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्‍ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्‍वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्‍वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग दुई) खण्ड एक

आ. ख्रीष्टविरोधीहरूका हितहरू

आज, हामी ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरूबारे रहेको नवौँ बुँदाको सङ्गति जारी राख्‍नेछौं। तिनीहरूको प्रकटीकरणबारे रहेको नवौँ बुँदा निम्नानुसार छ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्‍नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्‍ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्‍वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्‍वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन्। पछिल्‍लोपटक, हामीले यसको सानो भाग सङ्गति गर्‍यौँ, र हामीले बस विषयवस्तु थालनी गर्‍यौँ, र हितहरू भनेका के हुन् भन्‍नेबारे सङ्गति गर्‍यौँ, जुन पहिलो बुँदा हो। दोस्रो बुँदाको विषयमा भन्‍नुपर्दा, हामीले मानिसहरूका हितहरू के हुन् र मानिसहरूका हितहरूको सार के हो भन्‍नेबारे सङ्गति गर्‍यौँ। हामीले सङ्गति गरेको तेस्रो बुँदा परमेश्‍वरका हितहरू के हुन् र परमेश्‍वरका हितहरूको सार के हो भन्‍ने थियो—हामीले सङ्गति गरेका तीन बुँदाहरूको विषयवस्तु धेरथोर रूपमा यही थियो। हामीले पछिल्लोपटक सङ्गति गरेका कुराहरू मूलतः अवधारणागत सत्यताहरू थिए, र यसमार्फत हितहरूका विभिन्‍न पक्षहरूको परिभाषा दिँदै मानिसहरूलाई आधारभूत अवधारणाहरूको बुझाइ प्रदान गर्न गरिएको थियो। यसपटक हामी यी उल्लेखित विषयवस्तुको थप गहिराइमा प्रवेश गर्नेछैनौं, किनभने हाम्रो नवौं बुँदाको लागि हामीले सङ्गति गर्ने विषय ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणहरूलाई थप जोड दिने उद्देश्यले प्रस्तुत गरिएको विषय हो। त्यसकारण, हामी यो विषयवस्तुबारेको हाम्रो सङ्गतिमा ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरूलाई अझै गहिरिएर हेर्नेछौं। हामी मूलतः ख्रीष्टविरोधीहरूले आफूसँग सम्‍बन्धित विभिन्‍न हितहरूप्रति देखाउने मनोवृत्ति र व्यवहार चिरफार गर्नेछौं, अनि यस दृष्टिकोणबाट ख्रीष्टविरोधीहरूको प्रकृति सार र स्वभाव पहिचान गरेर चिरफार गर्ने प्रयास गर्नेछौं। हामी ख्रीष्टविरोधीहरूको नजरमा तिनीहरूको हितसँग सम्बन्धित कुराहरू के-के हुन् भन्‍नेबारे सङ्गति गर्दै सुरु गर्नेछौं।

ख्रीष्टविरोधीहरूको नजरमा, परमेश्‍वर, परमेश्‍वरको घर, र मण्डली कुनै वास्तविक मूल्यविनाका लेबलहरू मात्र हुन्, अर्थात् नामहरूबाहेक अरू केही पनि होइनन्। त्यसकारण, तिनीहरूले परमेश्‍वर, परमेश्‍वरको घर, र मण्डलीका हितहरूप्रति तिरस्कारको दृष्टिले हेर्छन्, र यी कुराहरू तिनीहरूले विचार पुर्‍याउनुपर्ने स्तरका वा तिनीहरूको ध्यान पाउन लायक हुँदैनन्। तर अर्कोतर्फ, ख्रीष्टविरोधीहरूका व्यक्तिगत हितहरू भने तिनीहरूका लागि सबैभन्दा ठूलो महत्त्वका हुन्छन्। फलस्वरूप, ख्रीष्टविरोधीहरूले प्राय आफ्ना व्यक्तिगत हितहरू साट्न मण्डली र परमेश्‍वरको घरका हितहरूलाई धोका दिन्छन्। अब, हितका मामलाहरूप्रति तिनीहरूका विचारहरूबारे मानिसहरूलाई स्पष्ट दृष्टिकोण प्रदान गर्नको लागि कुन-कुन कुराहरू ख्रीष्टविरोधीहरूका हितहरूसँग सम्बन्धित छन् भनेर वर्गीकरण गर्दै विस्तृत चिरफार गरौं। सर्वप्रथम त, ख्रीष्टविरोधीहरूलाई जसरी नाम दिए पनि, चाहे तिनीहरूलाई ख्रीष्टविरोधीहरू, दुष्ट मानिसहरू, वा चाहे सत्यता अभ्यास नगर्ने वा सत्यताविरुद्ध शत्रुता बोक्‍ने व्यक्तिहरू भनेर भने पनि, यस्ता मानिसहरू शून्यतामा जिउँदैनन्। तिनीहरू पनि देहमा जिउँछन् र तिनीहरूमा पनि सामान्य मानव जीवनका आवश्यकताहरू हुन्छन्। त्यसकारण, विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग वा परमेश्‍वरको घर र मण्डलीभित्र बस्‍ने ख्रीष्टविरोधीहरूजस्ता मानिसहरूसित पनि आफ्नै सुरक्षासँग सम्बन्धित हित वा स्वार्थहरू हुन्छन्। यो ख्रीष्टविरोधीहरूका हितहरूको पहिलो उपखण्ड, अर्थात् तिनीहरूको आफ्नै सुरक्षाको कुरा हो। ख्रीष्टविरोधीहरूका हितहरूको दोस्रो उपखण्ड तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो, जुन तिनीहरूको अख्तियारसँग सम्बन्धित हुन्छ। ख्रीष्टविरोधीहरूका हितहरूको तेस्रो उपखण्ड तिनीहरूको फाइदासँग सम्बन्धित छ। के ख्रीष्टविरोधीहरूका हितहरूलाई यी तीन उपखण्डहरूद्वारा चिरफार गर्नु तिनीहरूबारे असंरचित, सिधा तरिकामा सङ्गति गर्नुभन्दा बढी स्पष्ट हुन्छ? (हुन्छ।) यदि मैले तिमीहरूलाई यी तीन उपखण्डहरूको आधारमा सङ्गति गर्न लगाएँ भने, के तिमीहरूसित कुनै अन्तर्ज्ञान हुन्छ? के तिमीहरूले केही बुझाइबारे सङ्गति गर्न सक्छौ? (म दोस्रो उपखण्डसम्बन्धी केही अन्तर्ज्ञानहरूबारे छलफल गर्न सक्छु होला, तर व्यक्तिगत सुरक्षा र फाइदाबारे म त्यति स्पष्ट छैनँ।) ठीक छ, मैले सङ्गति गरिरहेको बेला, तिमीहरूले स्पष्ट रूपमा बोल्न सक्‍ने ठाउँमा पूरक कुराहरू प्रदान गर्न सक्छौ, र तिमीहरूलाई अस्पष्ट लाग्‍ने कुराहरूबारे म सङ्गति गर्नेछु। के त्यसो गर्दा हुन्छ? (हुन्छ।)

क. तिनीहरूको आफ्नै सुरक्षा

हामी ख्रीष्टविरोधीहरूका हितहरूको पहिलो उपखण्ड, अर्थात् तिनीहरूको आफ्नै सुरक्षाबाट हाम्रो सङ्गति सुरु गर्नेछौं। यो उपखण्डको अर्थ सबैलाई स्पष्ट भइसकेको हुनुपर्छ; यो व्यक्तिको शारीरिक सुरक्षासँग सम्बन्धित छ। मूलभूमि चीनमा, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको खतरनाक वातावरणमा जिउनु हो। परमेश्‍वरलाई पछ्याउने हरेक व्यक्तिले दैनिक रूपमा ठूलो रातो अजिङ्गरको पक्राउ, दण्ड र निर्दयी सतावटमा पर्ने जोखिम सामना गर्छ। ख्रीष्टविरोधीहरू पनि यसको अपवाद हुँदैनन्। तिनीहरूलाई परमेश्‍वरको घरभित्र ख्रीष्टविरोधीहरूका रूपमा चित्रण गरिएको त हुन सक्छ, तर ठूलो रातो अजिङ्गरले धार्मिक संसारसँग मिलेर परमेश्‍वरको मण्डली र उहाँका चुनिएका मानिसहरूलाई दमन गर्न र सताउन निरन्तर सक्दो प्रयास गरिरहेको हुन्छ, र अवश्य नै, ख्रीष्टविरोधीहरू पनि यस्तो वातावरणमा पर्छन् र तिनीहरू पक्राउको खतराबाट मुक्त हुँदैनन्। तसर्थ, तिनीहरूले आफ्नै सुरक्षाको समस्या बारम्बार सामना गर्नुपर्छ। यसले ख्रीष्टविरोधीहरू आफ्नो सुरक्षाको कुरा कसरी सम्‍हाल्छन् भन्‍ने प्रश्‍नबारे बताउँछ। यस उपखण्डमा हामीले मूलतः ख्रीष्टविरोधीहरूले आफ्नो सुरक्षाप्रति राख्‍ने मनोवृत्तिबारे सङ्गति गरिरहेका छौं। त्यसोभए, तिनीहरूको मनोवृत्तिचाहिँ के हो त? (तिनीहरूले आफ्नो सुरक्षा जोगाउन सक्दो गर्छन्।) ख्रीष्टविरोधीहरू आफ्नो सुरक्षा कायम राख्न सक्दो प्रयास गर्छन्। तिनीहरू मनमनै यस्तो सोच्छन्: “मैले जसरी पनि आफ्नो सुरक्षा पक्कापक्की गर्नैपर्छ। जो पक्राउ परे पनि, मचाहिँ पर्नै हुँदैन।” यस मामलामा, तिनीहरू प्राय: परमेश्‍वरसामु आएर आफूलाई समस्यामा पर्नबाट बचाउनुहोस् भनी याचना गर्छन्। तिनीहरूलाई, जे भए पनि आफूले मण्डली नेतृत्वको काम गरिरहेको छु र मलाई परमेश्‍वरले रक्षा गर्नुपर्छ भन्ने लाग्छ। आफ्‍नो सुरक्षाको खातिर र पक्राउ पर्नबाट जोगिन, सबै उत्पीडनबाट उम्‍केर आफूलाई सुरक्षित वातावरणमा राख्‍न, ख्रीष्टविरोधीहरू आफ्‍नो सुरक्षाको लागि प्रायजसो बिन्ती र प्रार्थना गर्छन्। तिनीहरू आफ्‍नै सुरक्षाको कुरा आउँदा मात्रै साँचो रूपमा परमेश्‍वरमा भरोसा गर्छन् र आफूलाई समर्पित गर्छन्। यस्तो बेला तिनीहरूको विश्‍वास साँचो हुन्छ र परमेश्‍वरमाथि तिनीहरूको भरोसा साँचो हुन्छ। तिनीहरू परमेश्‍वरलाई आफ्नो सुरक्षा गरिमाग्न मात्रै प्रार्थना गर्ने कष्ट गर्छन्, मण्डलीको काम वा आफ्‍नो कर्तव्यबारे अलिकति पनि विचार गर्दैनन्। तिनीहरूको काममा, व्यक्तिगत सुरक्षा नै तिनीहरूलाई डोऱ्याउने सिद्धान्त हो। यदि कुनै स्थान सुरक्षित छ भने, ख्रीष्टविरोधीहरूले काम गर्न त्यही स्थान रोज्नेछन्, र वास्तवमा तिनीहरू निकै सक्रिय र सकारात्मक देखिनेछन्, आफ्‍नो ठूलो “जिम्‍मेवारी बोध” र “बफादारिता” देखाउँछन्। यदि कुनै काममा खतरा हुन्छ र त्यसमा कुनै घटना घटित हुने सम्‍भावना छ, यो काम गर्ने व्यक्तिलाई ठूलो रातो अजिङ्गरले भेट्टाउने खतरा छ भने, तिनीहरूले यस्तो बहाना बनाएर यो काम अस्वीकार गर्छन्, र यसबाट भाग्‍ने मौका खोज्छन्। खतरा आउनेबित्तिकै, वा खतराको सङ्केत देख्‍नेबित्तिकै, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको कुनै वास्ता नगरी आफूलाई मुक्त गर्ने र आफ्‍नो कर्तव्य त्याग्‍ने उपाय सोच्छन्। तिनीहरूले आफूलाई खतराबाट मुक्त गर्ने बारेमा मात्रै सोच्छन्। तिनीहरूले पहिले नै हृदयमा तयारी गरिसकेका हुन सक्छन्। खतरा देखा पर्नेबित्तिकै, तिनीहरूले मण्डलीको काम कसरी अघि बढ्छ, वा परमेश्‍वरको घरका हितहरूमा के-कस्तो क्षति पुग्‍न सक्छ भन्‍नेबारे, वा दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षाबारे कुनै वास्ता नगरी तिनीहरूले आफूले गरिरहेको कामलाई तुरुन्तै छोड्छन्। तिनीहरूलाई भाग्‍नुको मात्रै मतलब हुन्छ। तिनीहरूले आफूलाई रक्षा गर्नका लागि “कम्मरसमेत कसेका हुन्छन्”: तिनीहरूमाथि खतरा आइपर्नेबित्तिकै वा तिनीहरू पक्राउ पर्नेबित्तिकै, तिनीहरू आफूलाई थाहा भएका सबै कुरा बताउँछन्, आफ्नो सुरक्षा कायम राख्न आफूलाई खतरामुक्त पार्दै सबै जिम्‍मेवारीहरू त्याग्छन्। तिनीहरूले तयार पार्ने योजना यही हो। यी मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्दा आइपर्ने सतावट भोग्‍न अनिच्‍छुक हुन्छन्; तिनीहरूलाई पक्राउ पर्ने, यातना भोग्‍ने, र जेल पर्ने डर हुन्छ। तथ्य के हुन्छ भने तिनीहरू आफ्नो हृदयभित्र शैतानको अधीनमा परेको लामो समय भइसकेको हुन्छ। तिनीहरूलाई शैतानी शासनको भय हुन्छ, र तिनीहरूमाथि यातना र कठोर सोधपुछ आइपर्ला भनेर तिनीहरूलाई अझै ठूलो डर हुन्छ। त्यसकारण ख्रीष्टविरोधीहरूका लागि, यदि सबै कुरा सहजतापूर्वक अघि बढिरहेको छ, र तिनीहरूको सुरक्षामा कुनै खतरा वा समस्या छैन, र कुनै जोखिम छैन भने, तिनीहरूले आफ्‍नो जोस र “बफादारिता,” अनि आफ्नो सरसम्पत्तिसमेत अर्पण गर्न सक्छन्। तर परिस्‍थितिहरू खराब छन् र परमेश्‍वरमा विश्‍वास गरेको र आफ्‍नो कर्तव्य निभाएको कारण तिनीहरू कुनै पनि बेला पक्राउ पर्न सक्छन् भने, र परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको कारण तिनीहरूलाई तिनीहरूको पदबाट हटाइने वा तिनीहरूका नजिकका मानिसहरूले तिनीहरूलाई त्याग्‍ने सम्भावना छ भने, तिनीहरू अत्यन्तै सतर्क हुन्छन्, र यसरी तिनीहरूले न त सुसमाचार सुनाउँछन् अनि न त परमेश्‍वरको साक्षी दिन्छन् न त आफ्‍नो कर्तव्य नै पूरा गर्छन्। समस्याको सानो सङ्केत देख्दा, तिनीहरू कछुवा आफ्नो खपेटामा लुकेजस्तो लुरुक्‍क पछि सर्छन्; जब समस्याको सानो सङ्केत देखा पर्छ, तिनीहरूले आफूलाई सुरक्षित र सकुशल राख्‍नका लागि तुरुन्तै आफूसँग भएका परमेश्‍वरको वचनका पुस्तकहरू र परमेश्‍वरमाथिको विश्‍वाससम्‍बन्धी कुनै पनि कुरा मण्डलीमा फिर्ता गर्न चाहन्छन्। के तिनीहरू खतरनाक हुँदैनन् र? पक्राउ परे भने, के तिनीहरू यहूदा बन्दैनन् र? ख्रीष्टविरोधीहरू यति खतरनाक हुन्छन् कि तिनीहरू कुनै पनि बेला यहूदा बन्‍न सक्छन्; तिनीहरूले परमेश्‍वरलाई धोका दिने सम्‍भावना सधैँ हुन्छ। यसको साथै, तिनीहरू अत्यन्तै स्वार्थी र घृणित हुन्छन्। यो कुरा ख्रीष्टविरोधीहरूको प्रकृति सारले निर्धारित गरेको हुन्छ।

कतिपयले यसो भन्‍न सक्छन्, “सायद यस्ता प्रकटीकरणहरू भएका मानिसहरू ठूलो रातो अजिङ्गरको देश, अर्थात् चीनको सामाजिक क्षेत्रमा मात्रै भेटिएलान्। जब विदेश गइन्छ, तब यस्तो कुनै सतावट वा पक्राउ हुँदैन, त्यसकारण व्यक्तिगत सुरक्षा त्यति महत्त्वपूर्ण हुँदैन। के यो विषयबारे छलफल गर्नु आवश्यक छ र?” के तिमीहरूलाई यो आवश्यक छ जस्तो लाग्छ? (लाग्छ।) विदेशमा समेत, परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गर्ने धेरैजसो मानिसहरू बारम्बार यस्ता व्यवहारहरू प्रदर्शन गर्छन्। यस्तो छलफल कुनै निश्चित देशको राजनीतिक शासन, गैरविश्वासी वा धार्मिक संसारले परमेश्‍वरको घरविरुद्ध गर्ने आक्रमण, निन्दा, र अभियानतर्फ मोडिनेबित्तिकै, निश्चित मानिसहरू भित्री मनमा एकदमै डर र कायरता अनुभूत गर्छन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास नगरेका भए अहिले तिनीहरू अझै राम्रो स्थितिमा र अझै स्वतन्त्र हुन्थे भन्‍नेसमेत सोच्छन्, र तिनीहरूमध्ये कतिले परमेश्‍वरमा विश्‍वास गरेकोमा पछुतो, र कतिले हृदयमा पछि हट्ने र विश्‍वास छोड्ने विचारसमेत गर्छन्। यस्ता मानिसहरूले सधैँ आफ्नै सुरक्षाबारे चिन्ता गर्छन्, र तिनीहरूलाई योभन्दा महत्त्वपूर्ण कुरा अरू केही छैन भन्‍ने लाग्छ। तिनीहरूको जीवन र तिनीहरूको आफ्नै सुरक्षा नै तिनीहरूको हृदयको गहिराइमा रहेका मुख्य चिन्ताहरू हुन्छन्। त्यसकारण, संसार र सारा मानवजातिले मण्डली र परमेश्‍वरको कामप्रति गर्ने बदनामी, निन्दा, र भर्त्सना सामना गर्दा, यी मानिसहरू आफ्नो हृदयभित्र परमेश्‍वरको पक्षमा खडा हुँदैनन्। बरु यसको सट्टा, जब यी घटनाहरू घट्छन्, जब तिनीहरूले परमेश्‍वरको निन्दा गर्ने र उहाँलाई भर्त्सना गर्ने आवाजहरू सुन्छन्, तब भित्री मनमा, तिनीहरू परमेश्‍वरको विरोधमा खडा हुन्छन्। तिनीहरूले आफू र परमेश्‍वर, उहाँको घर, र मण्डलीबीच सीमा कोर्ने इच्छा गर्छन्। साथै, यस्ता क्षणहरूमा, तिनीहरूको लागि आफूले परमेश्‍वरमा विश्‍वास गर्छु भनेर स्विकार्नु एकदमै गाह्रो र पीडादायी काम बन्छ। अनि, तिनीहरू परमेश्‍वर, उहाँको घर, वा मण्डलीसँग कुनै सम्बन्ध नराख्‍न जोडतोड गर्छन्। यस्तो बेला, तिनीहरूलाई आफू परमेश्‍वरको घरको सदस्य बनेकोमा अप्ठ्यारो र लाजसमेत लाग्छ र तिनीहरू आफ्नो अनुहार देखाउनसमेत सक्दैनन्। के त्यस्ता मानिसहरू परमेश्‍वरका साँचो अनुयायीहरू हुन् त? के तिनीहरूले परमेश्‍वरलाई पछ्याउन साँच्‍चै नै सबै कुरा त्यागेका हुन्छन् त? (हुँदैनन्।) जब मूलभूमि चीनमा मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्, तिनीहरूले बारम्बार सतावट र पक्राउ, अनि व्यक्तिगत सुरक्षासम्बन्धी समस्याहरू सामना गर्छन्; विदेशको वातावरण त त्यति कठोर छैन, तर विदेशमा पनि मानिसहरूले यस्तै परिस्थितिहरू सामना गर्छन्। तिनीहरूले धार्मिक संसारबाट हुने गिल्‍ला र भर्त्सनाहरू भोग्छन्, र तिनीहरूले मण्डलीप्रति फरकफरक देशहरूको उदासीनता वा मण्डलीलाई नबुझ्ने किसिमका निश्‍चित अभिव्यक्तिहरूसँग जुध्‍नुपर्छ। कतिलाई परमेश्‍वरको काम साँचो हो कि होइन भन्‍ने कुरामा अन्योलता अनि अनिश्‍चितता र शङ्कासमेत हुन्छ, जसले गर्दा तिनीहरूले परमेश्‍वरको सहीपनमाथि नै प्रश्‍न गर्छन्। त्यसकारण, तिनीहरूले आफ्नै सुरक्षाबारे बारम्बार विचार गर्ने हुनाले, तिनीहरूले परमेश्‍वरको घरमा स्थिर र सहज हृदयले आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैनन्। के यी व्यक्तिहरूले साँच्‍चै नै आफ्नो जीवन परमेश्‍वरलाई समर्पित गरेका हुन्छन् त? (अहँ, हुँदैनन्।) कतिपयले त यस्तोसमेत सोच्छन्, “विदेशमा आउनु भनेको ठूलो रातो अजिङ्गरको पकडबाट उम्कनु हो, होइन र? के विदेशमा धार्मिक स्वतन्त्रता छैन र? के सबै कुरा स्वतन्त्र र मुक्त छैन र? परमेश्‍वरले हामीलाई कर्तव्य निर्वाह गर्न विदेश ल्याउनुभएको भए पनि, किन हामीले अझै पनि यस्तै कठोर परिस्थितिहरू सामना गर्छौँ? किन हामीले विदेशमा अझै पनि यी पाठहरू सिक्‍नुपरेको र यो कष्ट भोग्‍नुपरेको?” कतिपय मानिसहरूको हृदयमा शङ्का हुन्छ, र कतिपयले चाहिँ शङ्का मात्रै होइन विरोध पनि गर्छन्, र तिनीहरूले यस्ता प्रश्‍नहरू गर्छन्, “यो साँचो मार्ग हो, यो परमेश्‍वरको काम हो, तर किन आफ्नो कर्तव्यमा बफादार रहेका, र परमेश्‍वरमा समर्पित हुन सबै कुरा त्यागेका हामीले अझै पनि यो संसारमा यस्तो असमान व्यवहार भोग्‍नुपरेको हो?” तिनीहरूले कुरा बुझ्दैनन्। अनि, तिनीहरूले नबुझ्ने हुनाले र तिनीहरूले आफ्नै सुरक्षालाई अरू सबै कुराभन्दा माथि राख्‍ने हुनाले, तिनीहरूले यो बुझाइको कमीलाई परमेश्‍वरप्रतिको गुनासो र प्रश्‍नमा परिणत गर्छन्। के कुरा त्यही होइन र? (हो।) विदेशमा रहेका कतिपय मानिसहरूलाई कर्तव्य निभाउँदा जोखिम लिनसमेत डर लाग्छ। यदि तिनीहरूलाई कुनै जोखिमपूर्ण कर्तव्य दिइएको छ भने, तिनीहरूले यस्तो बहाना बनाउँछन्, “म यो कर्तव्यको लागि योग्य छैनँ। मेरो परिवार अझै पनि मूलभूमि चीनमा छ, र ठूलो रातो अजिङ्गरले मलाई पत्ता लगायो भने, के यो मेरो लागि समस्याको कुरा हुनेछैन र?” तिनीहरूले त्यस्ता कर्तव्यहरू निर्वाह गर्न इन्कार गर्छन्। तिनीहरू आफूलाई रक्षा गर्ने, आफ्नो सुरक्षा गर्ने, र आफ्नो जीवन बचाउने विकल्प रोज्छन्। तिनीहरूले कर्तव्य स्विकार्न आफूलाई पूर्ण रूपमा समर्पित गर्नुको सट्टा, र सबै कुरा छोड्नु र त्याग्‍नुको सट्टा आफ्नै लागि एउटा उम्‍कने बाटो छोडेका हुन्छन्। तिनीहरूले यो कुरा हासिल गर्न सक्दैनन्। आफ्नो सुरक्षाको कुरा आउँदा, तिनीहरूले देखाउने केही व्यवहारहरू यिनै हुन्। कतिपय मानिसहरूलाई हृदयमा असहज महसुस हुन्छ र यसबारे बारम्बार प्रार्थना गर्छन्। कतिपय मानिसहरूले शैतानका शक्तिहरू अत्यन्तै शक्तिशाली छन्, र आफूहरूजस्ता साधारण व्यक्तिले कसरी प्रतिरोध गर्न सकिन्छ भन्‍ने सोच्दै प्रायजसो डर र कायरता अनुभूत गर्छन्। त्यसकारण, तिनीहरू प्रायजसो यसबारे डर र चिन्तामा हुन्छन्। कतिपयले त आफूहरू पक्राउ परेपछि, मण्डली वा परमेश्‍वरको घरले गर्न सक्‍ने केही हुँदैन, र कुनै घटना घटेमा कसैको केही सीप लाग्दैन भन्‍नेसमेत अनुभूत गर्छन्। अनि, तिनीहरूले आफूलाई रक्षा गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्‍ने सोच्छन्। त्यसकारण, जब तिनीहरूले कुनै खतरा मोल्नुपर्ने र जोखिमपूर्ण कर्तव्य लिनुपर्ने हुन्छ, तब तिनीहरू लुकेर बस्छन्, र कसैले पनि तिनीहरूलाई मनाउन सक्दैन। तिनीहरूले आफू योग्य छैन भनेर दाबी गर्छन्, र परमेश्‍वरको घरले तिनीहरूलाई सुम्पेको महत्त्वपूर्ण कर्तव्य इन्कार्न अनेक बहाना र कारणहरू देखाउँछन्। यदि वातावरण राम्रो छ भने, यी मानिसहरू ठूलो भीडअगाडि माइक्रोफोन लिएर खडा हुन र यसो भन्दै चिच्याउनसमेत सक्छन्, “म सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्छु, म सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीको सदस्य हुँ। मलाई आशा छ, सबैजना आएर साँचो मार्गबारे अनुसन्धान गर्नेछन्।” तिनीहरूको व्यक्तिगत सुरक्षामा खतरा नहुँदा, तिनीहरूले कुनै डरविना यसो गर्न सक्छन्। तर तिनीहरूले आफ्नो सुरक्षासँग सम्बन्धित कुनै खतरा वा कुनै परिस्थितिबारे थोरै सङ्केत पाउनेबित्तिकै, वा अचानक परिस्थितिहरू देखा पर्नेबित्तिकै, तिनीहरूको जोस हराउँछ, तिनीहरूको “बफादारिता” बिलाउँछ, र तिनीहरूको “विश्‍वास” सेलाउँछ। तिनीहरूलाई यता र उता भाग्न मात्र आउँछ, र तिनीहरू सधैँ कुनै लुप्त, पर्दापछाडिको काम गर्ने प्रयास गर्छन्, तर खतरा मोल्‍नुपर्ने काम र कर्तव्यचाहिँ अरूतिर हुत्याइदिन्छन्। अनि, वातावरणमा सुधार आउनेबित्तिकै, तिनीहरू फेरि पनि नौटङ्कीवालाझैँ मञ्चमा उत्रिहाल्छन्। यसरी किन तिनीहरू फेरि देखा पर्छन् त? आफ्नो प्रदर्शन गर्न, मानिसहरूलाई आफ्नो अस्तित्वबारे थाहा दिन, परमेश्‍वरलाई आफ्नो जोस देखाउन, परमेश्‍वरलाई त्यो बेलाको तिनीहरूको बफादारी देखाउन, साथै तिनीहरूले पहिले गरेको कुराको भरपाई गर्न, र आफूलाई पुनःस्थापित गर्न। तर अलिकति समस्या आउने बित्तिकै वा वातावरणमा अलिकति पनि परिवर्तन आउनेबित्तिकै, यी मानिसहरू फेरि हराइहाल्छन् र कतै लुकिबस्छन्।

सुसमाचार कार्य भर्खरै फैलिन थालेको बेला, सुसमाचार प्रचार गर्न निकै गाह्रो थियो। त्यो बेला, सुसमाचार प्रचार गर्न सक्‍ने मानिसहरू त्यति धेरै थिएनन्, र जो सुसमाचार प्रचार गर्थे तिनीहरूको सत्यतासम्‍बन्धी बुझाइ निकै सतही थियो। तिनीहरू मानिसहरूका धार्मिक धारणाहरू राम्ररी पत्ता लगाउन सक्दैनथे, र मानिसहरूलाई प्राप्त गर्नु चुनौतीपूर्ण थियो। यसको साथै, सुसमाचार प्रचार कार्य जोखिमपूर्ण पनि थियो। जब तैँले अलिक राम्रो मानवता भएका मानिसहरूलाई भेट्थिस्, तब बढीमा, तिनीहरूले यसलाई स्विकार्न मात्र मान्दैनथे र यतिमै कुरा टुङ्ग्याउँथे, र तिनीहरूले तँलाई हानि वा अपमान गर्दैनथे। अनि, तिनीहरूसँग सम्पर्क कायम राखिरहे, तिनीहरूलाई प्राप्त गर्ने आशा अझै पनि हुन सक्थ्यो, र यसले गर्दा केही न केही परिणामहरू प्राप्त हुन्थे। तर जब तैँले विभिन्‍न सम्प्रदायका दुष्ट मानिसहरू वा पाष्टर र एल्डरहरूलाई भेट्थिस्, तब यी मानिसहरूले स्विकार्न नमान्‍ने मात्र नभई संयुक्त रूपमा आक्रमणसमेत गर्थे, र तँलाई आफ्नो पाप स्विकार्न बाध्य पार्थे, र त्यसो नगरे, तिनीहरूले तँलाई शारीरिक चोटसमेत दिन सक्थे। अझै गम्भीर अवस्थामा त, तिनीहरूले तेरो बारे पुलिसलाई रिपोर्ट गरेर थानामा बुझाइदिनसमेत सक्थे, जसले गर्दा तँ कुनै पनि बेला पक्राउ पर्ने खतरा हुन्थ्यो। कतिपय मण्डली अगुवाहरू यी कुराहरूद्वारा बाधित हुन्थेनन्। तिनीहरूले कर्तव्य निभाउनुपर्दा आफ्नो कर्तव्य जारी राख्थे र सुसमाचार प्रचार गर्ने र परमेश्‍वरको गवाही दिने काममा अगुवाइसमेत गर्थे। तर कतिपय तथाकथित अगुवा वा ती झूटा अगुवाहरू यसरी व्यवहार गर्दैनथे। जब तिनीहरूले यस्ता खतराहरू सामना गर्थे, तिनीहरू आफै जाँदैनथे, बरु अरूलाई पठाउँथे। मैले एउटी अगुवाबारे सुनेको थिएँ, जसले सुसमाचार प्रचार गरिनुपर्ने व्यक्ति एउटा निश्‍चित सम्प्रदायका अगुवा हुन् भन्‍ने पत्ता लगाइछ। उसले त्यस व्यक्तिलाई सुसमाचार प्रचार गर्न कसैलाई पठाउने अभिप्राय राखेकी रहिछ। तर यसबारे राम्ररी विचार गरेपछि पनि, उसले उपयुक्त व्यक्ति भेट्टाउन सकिन र आफै जानु नै उचित हुन्छ भन्‍ने सोची। तर उसलाई खतराको डर लाग्यो र आफै जान मन लागेन, त्यसकारण उसले अठार-उन्‍नाइस वर्षकी एक जवान बहिनीलाई पठाई। तिमीहरूलाई के लाग्छ? के उसले त्यो जवान बहिनीलाई पठाउने बन्दोबस्त गर्नुपर्थ्यो त? (तिनले त्यसो गर्नु हुँदैनथ्यो।) किन गर्नु हुँदैनथ्यो? (किनभने सुसमाचार प्रचार गरिनुपर्ने ती व्यक्ति धेरै धार्मिक धारणाहरू भएको निश्‍चित सम्प्रदायका अगुवा थिए। ती जवान बहिनी सानो कदकी थिइन्, उनले सतही रूपमा मात्र सत्यता बुझेकी थिइन्, उनी सुसमाचार प्रचार गर्नुपर्ने सम्भावित व्यक्तिका समस्याहरू समाधान गर्न सत्यता सङ्गति गर्न सक्दिनथिन्, र उनले तिनलाई विश्‍वासमा ल्याउन सक्‍नुको साटो, उल्टै आफै बहकाउमा पर्न सक्थिन्।) उसको उमेरलाई ध्यानमा राख्दा, त्यो जवान बहिनीले कति वटा सत्यता बुझ्न सकेकी होली? ऊसँग बाइबलको कति धेरै ज्ञान थियो होला? उसले त्यस सम्प्रदायको अगुवालाई विश्‍वासमा ल्याउने कति सम्भावना छ? उसको उमेरलाई हेर्दा त, सुसमाचार प्रचार गर्ने कार्यमा ऊसँग निश्‍चय नै त्यति धेरै अनुभव थिएन। यसको साथै, ऊ भर्खरै वयस्क भएकी थिई र ऊसँग अनुभवको कमी नै थियो। के उसले वयस्कहरूका धारणा, विचार, र कठिनाइहरू छर्लङ्ग देख्‍न सक्थी त? (अहँ, सक्दिनथी।) अवश्य नै सक्दिनथी। उसको उमेरले, ऊ वयस्कहरूका विचारहरू सम्हाल्न सक्‍ने अवस्थामा थिइन। मलाई भन त, उसको उमेर हेर्दा, के त्यो बहिनी नै सबैभन्दा राम्रो विकल्‍प थिई त? (थिइन।) ऊ सबैभन्दा राम्रो विकल्प थिइन। त्यसकारण, त्यो जवान बहिनीलाई पठाउँदा, के त्यो अगुवाले सही अभिप्राय राखेकी थिई त? (त्यो अभिप्राय सही थिएन।) उसको अभिप्राय सही थिएन। उसले त्यो जवान बहिनीलाई पठाउनु हुँदैनथ्यो। पछि, त्यो सम्प्रदायको अगुवालाई सम्पर्क गरेर त्यो असल व्यक्ति होइन भन्‍ने थाहा पाएपछि, त्यो जवान बहिनीले अगुवालाई त्यो कुरा बताई, र आफूलाई निकै डर लागेको छ र फेरि जान आँट छैन भन्‍ने कुरा पनि बताई। तर त्यो अगुवाले उसलाई दबाब दिई र यसो भन्दै जोड दिई, “हुँदैन, यो तिम्रो कर्तव्य हो, र तिमी जानु नै पर्छ!” त्यो जवान बहिनी आँसुले भरिन बाध्य भई र उसले यसो भनी, “यो मेरो कर्तव्य हो, र म जानुपर्छ, तर म यो काम सम्‍हाल्‍न सक्दिनँ, र म यो काम गर्न सक्दिनँ।” तैपनि, त्यो अगुवाले जिद्दी छोडिन र यसो भनिरही, “तिमीले यो काम गर्न नसके पनि, तिमी जानैपर्छ; अरू कोही छैन, त्यसकारण तिमी जानैपर्छ!” तिमीहरूलाई त्यो कस्तो अगुवा हो भन्‍ने लाग्छ? खतरा आइपर्दा उसले आफूलाई रक्षा गरेकी मात्र नभई, पछि हट्ने क्रममा उसले अर्को व्यक्तिलाई समेत खतरामा पारी। त्यो जवान बहिनीले आफ्नो असक्षमता व्यक्त गरेर डरले रोएको परिस्थितिमा पनि, ऊ सहमत थिइन। त्यो कस्तो नीच व्यक्ति हो? के त्यो व्यक्ति मानव हो र? (होइन।) त्यो व्यक्ति मानव होइन। उसले आफ्ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षाबारे विचार गर्दिनथिई, केवल आफ्नै बारेमा मात्रै विचार गर्थी। उसले अरूको सुरक्षासित आफ्नै हित साट्ने कामसमेत गरी, ठ्याक्‍कै त्यसरी नै जसरी जुवाडे आमाबाउले आफ्नो सबै पैसा हारेपछि र आफूसँग केही नभएपछि, आफ्नो खुसीको सट्टा आफ्ना प्रियजनहरू त्यागेर आफ्नो ऋण तिर्न, कठिन समयहरू पार गर्न र विपत्तिबाट उम्कन आफ्नै छोरीहरू जमानत राख्छन्। त्यो अगुवा कस्तो नीच व्यक्ति हो? के त्योसँग कुनै मानवता बाँकी छ? (छैन।) त्यसमा मानवताको एउटा सानो टुक्रा पनि छैन। यस्तो व्यवहारका आधारमा भन्दा, के यस्ता मानिसहरूलाई ख्रीष्टविरोधीहरूका रूपमा चित्रण गर्न सकिन्छ? (सकिन्छ।) अवश्य नै सकिन्छ! कतिपयले यसो भन्‍न सक्छन्, “तिनीहरूले मण्डलीको कामको खातिर, सुसमाचार प्रचार गर्नहेतु यसो गरिरहेका हुन्छन्। के तिनीहरूले राम्रो मनसाय राखेका हुँदैनन् र? के तिनीहरूले परमेश्‍वरको घरका हितहरू रक्षा गर्न यसो गरिरहेका हुँदैनन् र? तिनीहरूलाई कसरी ख्रीष्टविरोधीहरूका रूपमा चित्रण गर्न सकिन्छ?” के कसैले यस्तो सोचेको छ? के यस्तो तर्क गर्न सकिन्छ? (अहँ, सकिँदैन।) त्यसोभए, मलाई भन त, यो समस्याको प्रकृति के हो? (आफ्नै हित र सुरक्षाको लागि, त्यो अगुवाले एउटी जवान बहिनीको जीवन र सुरक्षालाई सौदाको रूपमा प्रयोग गरिन्, अर्थात् तिनले जानीजानी उनलाई खाल्डोमा धकेलिन्—तिनमा निश्‍चित रूपमा दुर्भावपूर्ण मानवता छ।) यसलाई अझै स्पष्ट रूपमा भन्दा, त्यो अगुवाले, त्यो जवान सिस्टर त्यो काम गर्न पूर्ण रूपमा असमर्थ छे भन्‍ने कुरा राम्ररी थाहा पाएर पनि, आफूलाई रक्षा गर्ने उद्देश्यले त्यस्तो बन्दोबस्त गरेकी थिई। साथै, त्यसले आफ्नो कर्तव्य पूरा भएको हिसाब दिन, र आफ्ना व्यक्तिगत उद्देश्यहरू हासिल गर्न अरूका हित र सुरक्षा बलि चढाउँदै त्यसो गरेकी थिई। त्यसको अभिप्राय त्यही थियो। त्यसले त्यो काम गर्न सक्‍ने को छ, त्यो व्यक्तिलाई कसले विश्‍वासमा ल्याउन सक्छ, वा त्यस काम कसले प्रभावकारी रूपमा गर्न सक्छ भनेर विचार गरेकी थिइन, र त्यो कामको लागि सबैभन्दा उपयुक्त व्यक्ति खोजी गरेकी थिइन। त्यसको व्यवहारको सार आफ्नो कर्तव्य निर्वाह गर्नु वा आफ्नो बफादारी वा जिम्मेवारी पूरा गर्नुसँग सम्‍बन्धित थिएन, बरु अरूका हितहरू बलि चढाएर, अनि अरूलाई हानिसमेत गरेर आफ्ना उच्चपदस्थ व्यक्तिहरूलाई हिसाबकिताब दिन सक्नु र आफूलाई रक्षा गर्नुसँग सम्‍बन्धित थियो। त्यसले आफूलाई रक्षा गर्न र आफ्नै उद्देश्यहरू हासिल गर्न अरूलाई हानि गर्ने तरिकाले व्यवहार गरी—के यसको सार यही होइन र? (हो।) यसको सार त्यही हो। त्यसकारण, त्यस अगुवाका कार्यहरूलाई ख्रीष्टविरोधीका कार्यहरू भनेर चित्रण गर्न सकिन्छ। के समस्याको जड यही होइन र? (हजुर, हो।) वास्तवमा कुरा यही हो। यदि उपयुक्त व्यक्तिहरू नभएको भए, र त्यो जवान बहिनी त्यहाँ नभएकी भए, यदि त्यो अगुवा आफैलाई त्यो सम्प्रदायको अगुवालाई विश्‍वासमा ल्याउन लगाइएको भए, के त्यो अगुवा आफै जानेथिई त? के त्यसले यसो भन्‍न सक्थी त, “योग्य मानिसहरू छैनन् त्यसकारण म नै जान्छु। मलाई डर लाग्दैन। यदि मैले त्यो व्यक्तिलाई प्राप्त गर्न आफ्नो जीवन त्याग्‍नुपर्छ भने पनि, म जीवन त्याग्न तयार छु, किनभने यो मेरो कर्तव्य र जिम्मेवारी हो”? के त्यसले त्यसो गर्न सक्थी त? (सक्दिनथी।) त्यसले त्यसो गर्न सक्दिनथिई भनेर हामी किन भन्दै छौँ? हामीले यहाँ अनुमान गरिरहेका छैनौं। त्यसले गर्न सक्दिनथिई भनेर हामीले के कुराको आधारमा भनिरहेका छौं? (किनभने तिनले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा वास्तवमै परिणामहरू हासिल गर्न र सुसमाचार प्रचार गरिनुपर्ने व्यक्तिलाई विश्‍वासमा ल्याउनको लागि त्यो गरेकी थिइनन्। त्यसकारण, तिनले त्यो जवान बहिनीलाई पठाएर झारा टारिरहेकी थिइन्। यदि त्यो जवान बहिनी त्यहाँ नभएकी भए, तिनी त्यो व्यक्तिलाई प्राप्त गर्न व्यक्तिगत रूपमा पक्‍कै जान्थिनन्।) ठीक भन्यौ, यस्तै हुनेथ्यो। यदि त्यसले उपयुक्त व्यक्तिहरू छैनन् भन्‍ने कुरा देखेकी भए, के त्यसले आफै जानुपर्दैनथ्यो र? (हो।) यदि त्यो अगुवा आफ्नो कर्तव्यप्रति साँचो रूपमा बफादार थी भने र त्यसले आफ्नै व्यक्तिगत सुरक्षाबारे विचार गर्दिनथी भने, त्यसले त्यो जवान बहिनीलाई पठाउनेथिइन, बरु आफै जानेथिई। त्यसोभए, त्यसले आफै नगएको कुराले प्रकट गरेको समस्या के हो? (तिनले आफ्नै सुरक्षा र हितहरू रक्षा गरिरहेकी थिइन्।) ठीक भन्यौ, कुरा यस्तै हो। यदि त्यो अगुवा आफ्नो कर्तव्यप्रति साँचो रूपमा बफादार थिई भने, त्यसले त्यो गहकिलो जिम्मेवारी आफै लिनेथिई। तर त्यसले त्यसो गरिन; बरु, त्यसले आफ्‍नो सट्टा त्यहाँ जानको लागि सबैभन्दा अनुपयुक्त व्यक्ति छनौट गरी। के त्यसको अभिप्राय सबैभन्दा अनुचित व्यक्तिलाई सबैभन्दा खतरनाक स्थानमा पठाएर खतराबाट आफूलाई रक्षा गर्ने र आफूलाई बचाउने आफ्‍नो उद्देश्य हासिल गर्नु थिएन र? (थियो।) यो ख्रीष्टविरोधीहरूको व्यवहार हो। यो मानिसहरूको बन्दोबस्त मिलाउने कार्यसँग जोडिएको छ।

मूलभूमि चीनमा, ठूलो रातो अजिङ्गरले परमेश्‍वरका विश्‍वासीहरूलाई निरन्तर र निर्दयी रूपले दबाउने, पक्राउ गर्ने, र सताउने, अनि तिनीहरूलाई प्राय खतरनाक वातावरणमा पार्ने गर्दै आएको छ। उदाहरणको लागि, विश्‍वासीहरूलाई पक्राउ गर्न सरकारले विभिन्‍न बहानाहरू बनाउने गरिरहन्छ। अनि, ख्रीष्टविरोधी बस्‍ने क्षेत्र पत्ता लागेमा, त्यो ख्रीष्टविरोधीले सुरुमा के सोच्नेछ? त्यो सोच मण्डलीको कामको उचित बन्दोबस्त गर्नेबारेमा हुँदैन, बरु उक्त खतरनाक परिस्थितिबाट कसरी उम्कने भन्‍नेबारेमा हुन्छ। जब मण्डलीले दमन र पक्राउ सामना गर्छ, तब ख्रीष्टविरोधीहरू कहिल्यै पनि घटनापछिको कार्यमा संलग्‍न हुँदैनन्। तिनीहरू मण्डलीका अत्यावश्यक स्रोतसाधन वा कर्मचारीहरू बन्दोबस्त गर्दैनन्। बरु यसको साटो, तिनीहरू आफ्नो लागि सुरक्षित स्थान खोज्न र त्यतिमै सीमित रहन बहाना र तर्कहरू प्रस्तुत गर्छन्। तर तिनीहरू आफ्नो व्यक्तिगत सुरक्षा प्रत्याभूत भएपछि पनि मण्डलीको काम, कर्मचारी, वा स्रोतसाधन बन्दोबस्त गर्नमा व्यक्तिगत रूपमा बिरलै सहभागी हुन्छन्, न त तिनीहरूले यस विषयमा सोधपुछ गर्ने वा कुनै निश्‍चित बन्दोबस्तहरू गर्ने नै गर्छन्। यसको परिणामस्वरूप मण्डलीका स्रोतसाधन र वित्तीय कुराहरू तुरुन्तै सुरक्षित स्थानहरूमा स्थानान्तर हुँदैनन्, र अन्त्यमा, ठूलो रातो अजिङ्गरले धेरै कुरा लुटेर लैजान्छ, जसले गर्दा मण्डलीमा ठूलो घाटा हुन्छ र अझै धेरै विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू पक्राउ पर्छन्। यो ख्रीष्टविरोधीहरू आफ्नो कामप्रतिको जिम्मेवारीबाट तर्किनुको परिणाम हो। ख्रीष्टविरोधीहरूले आफ्‍नो हृदयको गहिराइमा सधैँ व्यक्तिगत सुरक्षालाई प्राथमिकता दिन्छन्। यो तिनीहरूको हृदयको समस्या हो जुन तिनीहरूको लागि सधैँ चिन्ताको विषय बनेको हुन्छ। तिनीहरू मनमनै यस्तो सोच्छन्, “म समस्यामा पर्नु हुँदैन। जोकोही पक्राउ पर्न सके पनि, मचाहिँ पक्राउ पर्नु हुँदैन—म बाँच्‍नुपर्छ। म अझै पनि परमेश्‍वरको काम सम्‍पन्‍न भएपछि परमेश्‍वरको महिमामा सहभागी हुन प्रतीक्षा गरिरहेको छु। यदि म पक्राउ परेँ भने, मैले यहूदाले जस्तो व्यवहार गर्नेछु, र मेरो लागि सब कुरा सक्‍किनेछ। मेरो लागि असल परिणाम हुनेछैन। म दण्डित हुनेछु।” त्यसकारण, जब तिनीहरू काम गर्न नयाँ ठाउँ जान्छन्, तब तिनीहरूले सर्वप्रथम कसको परिवार सबैभन्दा सुरक्षित र शक्तिशाली छ र सरकारको खोजतलासबाट लुक्‍न र सुरक्षित महसुस गर्न कहाँ सकिन्छ भनेर खोजबिन गर्छन्। दोस्रोमा, तिनीहरूले राम्रो जियाइ स्थिति भएका घरहरू खोज्छन्, जहाँ हरेक खानामा मासु हुन्छ, अनि गर्मीमा एसी र जाडोमा हिटर हुन्छ। यसको साथै, तिनीहरूले विश्‍वासीहरूमध्ये को बढी उत्साहित छ र कसको जग अझै दह्रिलो छ, र समस्या आइपर्दा कसले सुरक्षा प्रदान गर्न सक्छ भनेर सोधपुछ गर्छन्। तिनीहरूले सुरुमा यी सबै कुरा जाँचबुझ गर्छन्। जाँचबुझ गरेपछि, तिनीहरूले बस्‍ने ठाउँ खोज्छन् र केही सतही काम गर्छन्, पत्र पठाउँछन्, वा मौखिक रूपमा केही जानकारी वा कार्य बन्दोबस्तहरू प्रदान गर्छन्। अब तँलाई के लाग्छ, के ख्रीष्टविरोधीहरू काम गर्न सक्छन् त? तिनीहरूले आफ्नो व्यक्तिगत सुरक्षाबारे बडो होसियारीसाथ र व्यवस्थित रूपमा जेजसरी सोचविचार र बन्दोबस्तहरू गर्छन् त्यो देख्दा, तँलाई तिनीहरूले कुनै खास काम कसरी गर्ने भन्‍ने जानेका छन्, र तिनीहरूलाई त्यो काम कसरी गर्ने भन्‍ने हृदयदेखि नै आउँछ जस्तो लाग्‍न सक्छ। तैपनि, तिनीहरूको अभिप्राय सही हुँदैन, तिनीहरूले व्यक्तिगत फाइदाबारे मात्रै विचार गर्छन्, र तिनीहरू सत्यताप्रति वितृष्णा गर्छन्; तिनीहरूलाई आफूले गरिरहेको कुरा सत्यताविरुद्ध छ र त्यो स्वार्थी र घृणित कुरा हो भन्‍ने थाहा भए पनि, तिनीहरूले आफ्नै तरिकाले, मनमौजी र लापरवाह रूपमा काम गर्न जिद्दी गर्छन्। तिनीहरूले गर्ने सबै कुरा आफ्नै सुरक्षा सुनिश्‍चित गर्नको लागि हुन्छ। ख्रीष्टविरोधीहरूले आफूलाई सुरक्षित स्थानमा राखेपछि र आफू खतरामुक्त छु, खतरा टरिसकेको छ भन्‍ने महसुस गरेपछि, केही सतही काम गर्न थाल्छन्। ख्रीष्टविरोधीहरू आफ्नो बन्दोबस्तमा निकै होसियार हुन्छन्, तर यो तिनीहरू कोसँग काम गरिरहेका छन् भन्‍ने कुरामा निर्भर हुन्छ। तिनीहरू आफ्नै हितहरूसँग सम्बन्धित कुराहरूबारे निकै होसियारीसाथ विचार गर्छन्, तर मण्डलीको काम वा आफ्नो कर्तव्यको हकमा, तिनीहरूले आफ्नो स्वार्थीपन र नीचता देखाउँछन् र कुनै जिम्मेवारी देखाउँदैनन्, र तिनीहरूमा अलिकति विवेक वा समझसमेत हुँदैन। यी व्यवहारहरूको कारण नै तिनीहरूलाई ख्रीष्टविरोधीहरूका रूपमा चित्रण गरिन्छ। यदि हामीले तिनीहरूको क्षमताको आधारमा मात्रै मूल्याङ्कन गर्ने हो भने, तिनीहरूले आफ्नो सुरक्षाको लागि कति राम्ररी सोच्छन् र कति सावधानीपूर्ण र ठोस योजनाहरू बनाउँछन् भन्‍ने कुरालाई मात्र ध्यानमा राख्‍ने हो भने, तिनीहरूमा क्षमताको कुनै कमी छैन र तिनीहरूको दिमाग छ भन्‍ने देखिन्छ। तिनीहरूले परमेश्‍वरको घरको काम सम्हाल्न सक्नुपर्ने नै हो। अब, यदि तैँले तिनीहरूको क्षमताका आधारमा हेरिस् भने, तिनीहरूलाई ख्रीष्टविरोधी भनेर भनिनु हुँदैन, तर पनि किन तिनीहरूलाई अझै पनि ख्रीष्टविरोधी भनेर भनिएको हो त? यो तिनीहरूको सारको आधारमा, र तिनीहरूले सत्यता स्वीकार र अभ्यास गर्न सक्छन् सक्दैनन्, र तिनीहरू सत्यता खोजी गर्ने मानिसहरू हुन् होइनन् भन्‍ने कुराको आधारमा निर्धारित हुन्छ। तिनीहरूले आफ्नो जिउने वातावरण, आफ्नो खानपान, र आफ्नो सुरक्षाबारे ध्यानपूर्वक र निर्दिष्ट रूपले सोचविचार र बन्दोबस्तहरू गर्छन्। तैपनि, जब परमेश्‍वरको घरको कामको कुरा आउँछ, तब तिनीहरू पूर्ण रूपमा फरक मानिसहरू बन्छन्, विशेष स्वार्थी र घृणित हुन्छन्, र परमेश्‍वरका अभिप्रायलाई कुनै ध्यान दिँदैनन्। यिनीहरू पक्कै पनि सत्यता खोजी गर्ने मानिसहरू होइनन्। ख्रीष्टविरोधीहरू परमेश्‍वरको घरको काम र माथिका कार्य बन्दोबस्तहरूलाई पनि छानेर मात्र लिन्छन्। तिनीहरू आफूले गर्न चाहेका कुरा कुन-कुन हुन् र कुन-कुन होइनन्, र कुन-कुन कुरा तिनीहरूको आफ्‍नै सुरक्षासँग सम्‍बन्धित छ र कुन-कुन छैनन् भन्‍ने कुरालाई पनि छानेर मात्र लिन्छन्। त्यसपछि, तिनीहरू कुनै खतरा नभएका केही सजिला कामहरू गर्छन्, ताकि माथिले तिनीहरू खानमा छिटो तर काम गर्नमा ढिलो भएको, र तिनीहरूले आफ्नो उचित कर्तव्य पूरा गर्ने नगरको कुरा पत्ता लगाउन नसकोस्। कामको बन्दोबस्त गरिसकेपछि, तिनीहरूले निर्दिष्ट कामहरू कसरी अघि बढिरहेका छन् भनेर सोधपुछ गर्ने वा सुपरिवेक्षण गर्ने कहिल्यै गर्दैनन्। उदाहरणका लागि, भेटी र विभिन्‍न स्रोतसाधनहरूबारे तिनलाई कसरी बन्दोबस्त गर्ने, कहाँ राख्‍ने, तिनलाई कसरी सुरक्षित राख्ने, र कसले ती सुरक्षित राख्नुपर्छ भन्‍ने परमेश्‍वरको घरका निर्दिष्ट सिद्धान्त र नियमहरू छन्। अर्कोतर्फ, ख्रीष्टविरोधीहरू यी कुराहरूबारे केवल बोल्ने काम मात्रै गर्छन्, र एकपटक यी बन्दोबस्तहरू गरिसकेपछि, यी कुराहरू पूरा भइसके भन्ठान्छन्। चाहे वातावरण उपयुक्त होस् वा नहोस्, तिनीहरू कहिल्यै पनि अवलोकन गर्न स्थल भ्रमण गर्दैनन्; तिनीहरू जिब्रो मात्रै चलाउँछन्, र परमेश्‍वरको घरका यी स्रोतसाधनहरूबारे गरिएका निश्‍चित बन्दोबस्तहरू उचित वा सुरक्षित छन् कि छैनन् भनेर हृदयमा जानकारी राख्दैनन्, र सोधपुछ, अनुसन्धान, वा वास्ता गर्ने पनि गर्दैनन्। त्यसकारण, ख्रीष्टविरोधीहरूले अगुवाको रूपमा काम गरेको समयमा, तिनीहरूको कामको क्षेत्रभित्र, परमेश्‍वरको वचनका कतिपय पुस्तकहरू दुष्ट मानिसहरूले लैजान्छन्। कतिपय पुस्तकहरू अनुचित रूपमा भण्डारण गरिएर ढुँडी पर्छन्, र कतिपय अवस्थामा, निश्‍चित पुस्तक वा स्रोतसाधनहरूलाई त्यस्तो ठाउँमा राखिन्छ जहाँ कसैले पनि तिनको हेरचाह गर्दै गर्दैन। ख्रीष्टविरोधीहरूले यी मामलाहरूबारे निर्दिष्ट बन्दोबस्तहरू गर्न नसक्‍ने मात्र होइन, तिनीहरूले त यी कुराहरूबारे अवश्य नै सोधपुछ, अनुसन्धान, वा जाँचबुझ पनि गर्दैनन्। बरु यसको साटो, तिनीहरूले कुनै बन्दोबस्त गरेपछि आफ्नो काम पूरा भइसक्यो भन्ठान्छन्। तिनीहरूले केही बोल्छन् र त्यो त्यतिमै सीमित हुन्छ; तिनीहरूले कुनै वास्तविक परिणामहरू खोज्दैनन्, बस झारा मात्र टार्छन्। के यी व्यवहारहरूद्वारा ख्रीष्टविरोधीहरूले बफादारिता देखाउँछन् त? (देखाउँदैनन्।) तिनीहरूमा कुनै बफादारिता हुँदैन। मण्डलीका विभिन्‍न स्रोतसाधनहरू बन्दोबस्त गर्ने काममा, ख्रीष्टविरोधीहरूले कहिल्यै सोधपुछ गर्दैनन्। यहाँ, कहिल्यै “सोधपुछ गर्दैनन्” भनेर भन्‍नुको अर्थ के हो? के यसको अर्थ तिनीहरूले कुनै बन्दोबस्त नै गर्दैनन् भन्‍ने हुन्छ? तिनीहरूले मानिसहरूको आँखामा छारो हाल्न झाराटारुवा बन्दोबस्तहरू मात्र गर्छन्, नत्र कसैले तिनीहरूबारे माथिल्लो तहका मानिसहरूलाई रिपोर्ट गर्नेछ। तर तिनीहरूले कहिल्यै पनि कुनै निर्दिष्ट काम गर्दैनन्। यो निर्दिष्ट कामले के जनाउँछ? यसमा यी कुराहरू कहाँ राखिनुपर्छ, यी सुरक्षित छन् छैनन्, यिनलाई कुनै हानि हुने पो हो कि, मूसा आएर काटिदिन्छन् कि, यिनलाई बाढीले बगाउँछ कि वा यी चोरी हुन्छन् कि, सुरक्षा जिम्मेवारी पाएका व्यक्तिहरू उपयुक्त छन् कि छैनन् भन्‍नेजस्ता कुराहरू निर्धारित गर्ने कार्य समावेश हुन्छ। तर ख्रीष्टविरोधीहरू आफैले कहिल्यै सोधपुछ गर्दैनन्, कहिल्यै जाँचबुझ गर्दैनन्, र कहिल्यै चिन्ता गर्दैनन्। तिनीहरू हृदयमा यी कुराहरू आफूले आनन्द लिने कुरा होइनन् भन्‍ने विश्‍वास गर्छन्; तिनीहरू यी कुराहरूलाई महत्त्व दिँदैनन् र तिनीहरूलाई लाग्छ कि यी कुराहरूको कुनै काम छैन। यी कुराहरू त अरू मानिसहरूका हुन्, परमेश्‍वरको घरका हुन्, र यी कुरा तिनीहरूसँग सम्बन्धित छैनन्। तिनीहरूले यी कुराप्रति वास्ता गर्दैनन्; अरूले नै चिन्ता गरून् भन्‍ने सोच्छन्—तिनीहरूलाई यसको मतलब हुँदैन। तिनीहरूले बस बन्दोबस्त मिलाउँछन्, र त्यतिमै कुरो सक्‍किन्छ। कतिपय ख्रीष्टविरोधीहरू त बन्दोबस्त गर्ने झमेलासमेत लिँदैनन्। तिनीहरू के विश्‍वास गर्छन् भने, यो काम राम्ररी गरिए पनि आफूलाई कुनै इनाम प्राप्त हुँदैन, र कसैले पनि तिनीहरूलाई काम नराम्ररी गरेकामा जिम्मेवार ठहराउँदैन। यस्तो सानो कुराको लागि कसले पो तिनीहरूबारे रिपोर्ट गर्छ र? के परमेश्‍वरले तिनीहरूलाई यसको लागि दण्ड दिनुहुनेछ र? आफ्नो कर्तव्यप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति र दृष्टिकोण यस्तै हुन्छ: तिनीहरू झारा मात्र टार्छन् र लापरवाही रूपमा काम गर्छन्। यी कुराहरूले तिनीहरूको आफ्नै हैसियत वा सुरक्षामा असर गर्दैन भने, तिनीहरूलाई यी कुराहरूको व्यवस्थापन भयो भएन भन्‍नेबारे कुनै वास्ता हुँदैन। यी कुराहरू हराए पनि, घटेर गए पनि, वा यिनमा क्षति भए पनि, तिनीहरूलाई यसको कुनै मतलब हुँदैन। ख्रीष्टविरोधीहरूको मनमस्तिष्कमा, परमेश्‍वरको घरका यी स्रोतसाधनहरू सार्वजनिक सम्पत्ति हुन्। तिनीहरूले यी कुराहरूबारे चिन्ता गर्नु पर्दैन, यीबारे ध्यान दिनु पर्दैन, र यिनको व्यवस्थापन गर्न कुनै ऊर्जा खर्च गर्नु पर्दैन। यसकारण, ख्रीष्टविरोधीहरूले अगुवाको रूपमा काम गरेको समयमा, तिनीहरूको कर्तव्यप्रतिको लापरवाही र व्यक्तिगत आनन्दप्रतिको ध्यान, र तिनीहरूले निर्दिष्ट कामहरू पूरा गर्न नसकेको कारण, परमेश्‍वरको घरका विभिन्‍न स्रोतसाधनहरू ठूलो रातो अजिङ्गरले लुट्छ वा कब्जा गर्छ, वा ती स्रोतसाधनहरू केही दुष्ट मानिसहरूको पकडमा पर्छ। यस्ता घटनाहरू कैयौँ घटित भए। कतिपयले यसो भन्‍न सक्छन्, “यस्तो शत्रुतापूर्ण वातावरणमा, कसले यति होसियारीसाथ सबै कुरा हेरचाह गर्न सक्छ र? थोरै लापरवाही वा केही गल्तीहरू गर्नबाट को जोगिन सक्छ र?” के यो थोरै गल्ती गर्ने कार्य मात्रै हो त? म ठोकेरै भन्छु, यदि मानिसहरूले आफ्नो जिम्मेवारी पूरा गर्न र बफादारिता देखाउन सक्थे भने, यी स्रोतसाधनहरूमा त्यति ठूलो क्षति हुन्थेन; त्यो अवश्यै कम हुनेथ्यो, र कामको प्रभावकारिता निकै सुधार हुनेथ्यो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्