विषयवस्तु नौ: तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग एक) खण्ड चार
ख्रीष्टविरोधीहरूले आफूलाई पृथक तुल्याउन अनि आफ्नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्नो कर्तव्य निर्वाह गर्ने, परमेश्वरको घरका हितहरूलाई कहिल्यै विचार नगर्ने, अनि ती हितहरूमाथि विश्वासघात समेत गर्ने र तिनलाई व्यक्तिगत महिमासँग साट्ने कार्यको चिरफार
अ. परमेश्वरका हितहरू के-के हुन् र मानिसहरूका हितहरू के-के हुन्
यसपटक हामी ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूको नवौँ विषयवस्तुबारे सङ्गति गर्नेछौं—तिनीहरू आफूलाई पृथक तुल्याउन अनि आफ्नै हित र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि मात्रै आफ्ना कर्तव्य निर्वाह गर्छन्; तिनीहरू परमेश्वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती हितहरूमाथि विश्वासघात समेत गर्छन् र ती व्यक्तिगत महिमासँग साट्छन्। हाम्रो दैनिक जीवनमा, हामी प्रायजसो परमेश्वर र परमेश्वरको घरका हितहरूमा जोड दिन्छौँ। तर कतिपय मानिसहरूमा प्रायजसो परमेश्वरको घरका हितहरू विचार नगर्ने प्रवृत्ति हुन्छ, र तिनीहरूले आफ्नै हितहरूलाई पहिलो प्राथमिकता र सबै कुराको केन्द्रविन्दुमा राख्छन्। यी मानिसहरू विशेष स्वार्थी हुन्छन्। यसको साथै, मामलाहरू सम्हाल्ने क्रममा, तिनीहरूले प्रायजसो परमेश्वरको घरका हितहरूमा हानि गर्ने गरी आफ्नै हितहरू रक्षा गर्ने गर्छन्, यहाँसम्म कि तिनीहरूले आफ्नै इच्छाहरू पूरा गर्न परमेश्वरको घरमा अप्रत्यक्ष मागहरूसमेत राख्छन्। यहाँ मुख्य शब्द कुन हो? मुख्य रूपमा केको बारेमा कुरा गरिएको छ? (हितहरू।) “हितहरू” भनेको के हो? यो शब्दमा के कुरा समावेश हुन्छ? कसैले के कुरालाई मानिसहरूका हितहरू मान्छ? मानिसहरूका हितहरूमा के-के कुरा पर्छन्? हैसियत, प्रतिष्ठा, र भौतिक हितहरूसँग सम्बन्धित कुराहरू। उदाहरणको लागि, जब कुनै व्यक्तिले अरूलाई भ्रममा पारेर उसको सम्मान र उपासना गर्ने तुल्याउँछ, तब उसले आफ्नै मनोवैज्ञानिक हितहरू पछ्याइरहेको हुन्छ; यसमा भौतिक हितहरू पनि छन्, जसमा मानिसहरूले अरूबाट लाभ लिएर, आफ्नो लागि फाइदा लुटेर, वा परमेश्वरको घरको सम्पत्ति चोरेर यस्तो हित खोजी गर्छन्, र यी केही उदाहरण मात्र हुन्। ख्रीष्टविरोधीहरूले सधैँ आफ्नै फाइदाबाहेक अरू केही खोज्दैनन्। ख्रीष्टविरोधीहरूले मानसिक हितहरू पछ्याइरहेको भए पनि भौतिक हितहरू पछ्याइरहेको भए पनि तिनीहरू अत्यन्तै लालची र कहिल्यै चित्त नबुझाउने हुन्छन्, र तिनीहरूले यी सबै कुराहरू आफै लिने प्रयास गर्छन्। व्यक्तिका हितहरूसँग सम्बन्धित कुराहरूले नै तिनीहरूलाई सबैभन्दा बढी प्रकाश गर्छन्। हितहरू हरेक व्यक्तिको जीवनसँग घनिष्ट रूपमा जोडिएका हुन्छन्, र हरेक दिन व्यक्तिको सम्पर्कमा आउने हरेक कुरा उसका हितहरूसँग सम्बन्धित हुन्छन्। उदाहरणको लागि, जब तैँले कुनै कुरा भन्छस् वा कुनै विषयमा कुरा गर्छस्, तब के-कस्ता हितहरू संलग्न हुन्छन्? जब दुई मानिसहरूले कुनै विषयमा छलफल गर्छन्, तब यो बोल्न को सिपालु छ र को सिपालु छैन, र अरूले कसलाई उच्च आदर गर्छन् र कसलाई हेयको दृष्टिले हेर्छन् भन्नेसँग सम्बन्धित कुरा हो, र यो तिनीहरूको फरकफरक बोल्ने शैलीका फरकफरक परिणामहरूसँग सम्बन्धित कुरा पनि हो। के यो हितहरूसँग सम्बन्धित कुरा होइन र? त्यसोभए, यस्ता कुराहरू आइपर्दा मानिसहरूले के गर्छन्? मानिसहरूले धाक लगाउन सक्दो प्रयास गर्छन्, र त्यो विषयलाई स्पष्ट रूपमा व्याख्या गर्न, र शब्दहरू अझै सुन्दर ढङ्गले व्यक्त गर्न, र अझै राम्रो सुनिने बनाउन, र संरचनाको अनुभूति दिलाउन, र मानिसहरूमा चिरस्थायी प्रभाव पार्न आफ्ना शब्दहरू व्यवस्थित गर्न दिमाग खियाउँछन्। मानिसहरूको कृपादृष्टि प्राप्त गर्न र तिनीहरूमा गहन प्रभाव पार्न यस्तो शैली, अनि बोल्ने कला, मस्तिष्क र ज्ञान प्रयोग गर्नु—यो एकप्रकारको हित हो। मानिसहरूले पछ्याउने यी हितहरू अरू कुन-कुन पक्षहरूसँग पनि सम्बन्धित हुन्छन्? आफ्नो कामकाज गर्ने क्रममा, मानिसहरूले निरन्तर कुराहरू तौलने, हिसाबकिताब गर्ने, र मनमस्तिष्कमा मनन गर्ने गर्छन्, र यसरी कुन-कुन कार्यहरू तिनीहरूको हितमा छन्, कुन-कुन कार्यहरू तिनीहरूको हितमा छैनन्, कुन-कुन कार्यहरूले तिनीहरूको हित अघि बढाउन सक्छन्, कुन-कुन कार्यले कम्तीमा पनि तिनीहरूको हितमा हानि गर्दैनन्, र कुन-कुन कार्यले तिनीहरूलाई सबैभन्दा बढी वैभव र सबैभन्दा बढी भौतिक लाभहरू दिलाउन, र तिनीहरूलाई सबैभन्दा ठूलो हितग्राही बनाउन सक्छन् भनेर सोच्न दिमाग खियाउँछन्। मानिसहरूले कुनै मामिलाहरू आइपर्दा यी दुई वटा हितहरूको लागि नै लडाइँ गर्छन्। मानिसहरूले पछ्याउने हितहरू यी दुई पक्षमै केन्द्रित हुन्छन् र अरू केहीमा केन्द्रित हुँदैनन्: एक हिसाबमा, भौतिक फाइदाहरू प्राप्त गर्ने, वा कम्तीमा पनि घाटा नलाग्ने, र अरूबाट फाइदा लिने कुरामा; साथै, मनोवैज्ञानिक स्तरमा, मानिसहरूलाई तिनीहरूको उच्च ठान्ने र सम्मान गर्ने बनाउनु, र मानिसहरूको हृदय जित्ने कुरामा केन्द्रित हुन्छन्। कहिलेकहीँ, शक्ति र हैसियत प्राप्त गर्नको लागि, मानिसहरूले भौतिक हितहरूसमेत त्याग्न सक्छन्—अर्थात्, पछि गएर अरूबाट अझ ठूलो फाइदा लिन—तिनीहरूले सानो घाटा भोग्नेथिए। छोटकरीमा भन्दा, मानिसहरूको प्रतिष्ठा, हैसियत, वैभव र भौतिक कुराहरूसँग सम्बन्धित यी कुराहरू सबै मानिसहरूका हितहरूको श्रेणीमा पर्छन्, र ती सबै मानिसहरूले पछ्याउने हितहरू हुन्।
मानिसहरूले यी हितहरू पछ्याउनुको प्रकृति के हुन्छ? मानिसहरूले किन यी कुराहरू पछ्याउँछन्? के यी कुराहरू पछ्याउनु वैध कुरा हो? के यो उचित छ? के यो मानिसहरूप्रतिका परमेश्वरका मापदण्डहरूअनुरूप छ? के सृष्टि गरिएको प्राणीको लागि परमेश्वरले माग्नुभएको मानक यही हो? परमेश्वरका वचनहरूमा, के उहाँले यसो भन्नुभएको छ: “तिमीहरूले आफ्नै हितहरू पछ्याउनुपर्छ र आफ्नै हितहरूलाई अधिकतम बनाउनुपर्छ। परमेश्वरमा विश्वास गर्दैमा र कर्तव्य निभाउँदैमा, आफ्ना हितहरू त्याग्नु हुँदैन। तिमीहरूले आफ्नो हैसियत, प्रतिष्ठा, र शक्तिलाई बहुमूल्य ठान्नुपर्छ, र यी कुराहरू जुनसुकै मूल्य चुकाएर भए पनि रक्षा गर्नुपर्छ। यदि परमेश्वरले तँलाई हैसियत दिनुभयो भने, तैँले यसलाई कदर गर्नुपर्छ र आफ्नो लज्जा होइन आफ्नो महिमामा परिणत गर्नुपर्छ। यो तँलाई परमेश्वरले दिनुभएको आज्ञा हो”—के परमेश्वरले कहिल्यै यसो भन्नुभएको छ? (छैन।) परमेश्वरका वचनहरूमा त्यस्तो केही नभएको हुनाले, परमेश्वरले आफ्नो हृदयमा सृष्टि गरिएका प्राणीहरूलाई के मापदण्ड दिनुहुन्छ? परमेश्वरले मानिसहरूलाई हितहरूलाई के-कस्तो रूपमा लिन लगाउनुहुन्छ? एक हिसाबमा, परमेश्वरले मानिसहरूले आफ्ना हितहरू त्यागून् भन्ने चाहनुहुन्छ—यो समग्र रूपमा भनिएको कुरा हो; यसको साथै, परमेश्वरले मानिसहरूलाई अझै धेरै पक्षहरूमा अभ्यासका उचित मार्गहरू दिनुहुन्छ, मानिसहरूलाई आफूले लिनुपर्ने मार्ग पछ्याउन कसरी व्यवहार गर्नुपर्छ, सृजित प्राणीले गर्नुपर्ने अभ्यास कसरी गर्नुपर्छ, भौतिक कुराहरूप्रति, र ख्याति र प्राप्तिप्रति मानिसहरूमा के-कस्तो दृष्टिकोण र मनोवृत्ति हुनुपर्छ, र तिनीहरूले के-कसरी छनौट गर्नुपर्छ भनेर बताउनुहुन्छ। निस्सन्देह नै, परमेश्वरका वचनहरूले मानिसहरूलाई के-कसरी हितहरूलाई हेर्ने भनेर सीधै नबताए पनि, ती वचनहरूमाझ उहाँले भ्रष्ट मानवजातिका हितहरूबारे परमेश्वरका दृष्टिकोणहरू वास्तवमा के हुन् भन्ने कुरा पनि व्यक्त गर्नुहुन्छ, र मानिसहरूले आफ्ना दृष्टिकोणहरू पन्छाउनुपर्छ, सत्यता सिद्धान्तहरूअनुसार कामकुरा गर्नुपर्छ, सृजित प्राणीको आफ्नो स्थानअनुसार व्यवहार गर्नुपर्छ, र आफ्नो स्थानमा बस्नुपर्छ भन्ने कुरा अत्यन्तै स्पष्ट पार्नुहुन्छ। परमेश्वरको हृदयमा, के उहाँले मानिसहरूसँग यसरी कार्य गर्नुपर्ने माग गरेर तिनीहरूलाई जानीजानी तिनीहरूका हितहरूबाट वञ्चित गरिरहनुभएको हुन्छ? अवश्य नै हुँदैन। कतिपय मानिसहरू भन्छन्, “मण्डलीमा, सधैँ परमेश्वरको घरका हितहरू र मण्डलीका हितहरूबारे कुरा गरिन्छ, तर कसरी कसैले पनि हामी मानिसहरूका हितहरूबारे कुरा नगरेको हो? हाम्रो हितचाहिँ कसले हेरिरहेको छ? के हामीमा पनि केही मानव अधिकार हुनुपर्ने होइन र? हामीलाई पनि केही साना फाइदाहरू त दिइनुपर्ने हो। किन हामीलाई केही थोरै कुरा पनि दिइँदैन? सबै हित कसरी परमेश्वरको हुन्छ र? के परमेश्वर पनि स्वार्थी हुनुहुन्न र?” यस्तो कुरा भन्नु अत्यन्तै विद्रोही र विश्वासघाती कार्य हो। यो त प्रष्ट रूपमै गलत बोल्नु हो। मानवता भएको व्यक्तिले अवश्यै यस्तो बोल्न सक्दैन, र दियाबलसहरूले मात्रै नानाथरीका विद्रोही कुराहरू बोल्ने आँट गर्छन्। कति अरू भन्छन्: “परमेश्वर मानिसहरूलाई सधैँ आफ्ना व्यक्तिगत हितहरूबारे विचार नगर्नू भन्नुहुन्छ। उहाँ सधैँ आफ्नो खातिर षड्यन्त्र नगर्नू भन्नुहुन्छ। मानिसहरू कुनै काम गरेर वा कुनै कुरा हासिल गरेर सबैलाई तिनीहरूको आराधना गर्ने तुल्याउँदै आफूलाई भीडभन्दा माथि उठाउन चाहन्छन्। परमेश्वर यो महत्त्वाकाङ्क्षा हो भनेर भन्नुहुन्छ। मानिसहरू आफ्नै हितहरूको लागि लड्न, राम्रो खाना खान, जीवनको आनन्द लिन, देहका सुखहरूमा लिप्त हुन, र मानवजातिमाझ आदरणीय रूपमा जिउन चाहन्छन्। यसरी त मानिसहरूले आफ्नै हितहरू मात्रै पोषण गरिरहेका हुन्छन्, र तिनलाई पन्छाउनैपर्छ भनेर परमेश्वर भन्नुहुन्छ। यदि हामीले यी सबै हितहरू पन्छाउने हो भने, हामी कसरी अझै राम्ररी जिउन सक्छौँ र?” यदि मानिसहरू परमेश्वरका अभिप्राय बुझ्दैनन् भने, तिनीहरूले सधैँ परमेश्वरका मागहरूको प्रतिरोध गर्नेछन्, र यी मामिलाहरूमा सधैँ परमेश्वरसँग विवादमा हुन्छन्। यो त छोराछोरी हुर्काउन आफ्नो आधा जीवन मेहनत गरेका र अति थकित भएर नानाथरी रोगहरू लागेका कतिपय आमाबुबाको कुराजस्तै हो। आमाबुबालाई आफ्नो शरीरले आफूलाई साथ दिनेछैन र आफ्ना छोराछोरी पालनपोषण गर्ने कोही हुनेछैन भन्ने चिन्ता हुन्छ, त्यसैले तिनीहरू केही स्वास्थ्य सामग्रीहरू किन्छन्। छोराछोरीलाई राम्रो कुरा केही थाहा हुँदैन र यी सामग्रीहरू देख्दा तिनीहरू यसो भन्छन्: “मैले केही वर्षदेखि नयाँ लुगासमेत किनेको छैनँ, र पनि तपाईं कसरी स्वास्थ्य सामग्रीहरू किन्न सक्नुहुन्छ? तपाईंले त मलाई कलेज पठाउन त्यो पैसा बचत गर्नुपर्ने हो।” के यो टिप्पणीले आमाबुबाको भावनामा चोट पुर्याउँदैन र? आमाबुबाले आफ्नै हितहरूको लागि यो सब गर्दैनन्, र तिनीहरूले देहका सुखमा लिप्त हुन चाहेर वा अलि लामो समय र अलि बढी सहजतामा जिउन र भविष्यमा आफ्ना छोराछोरीको सुखमा सहभागी हुन चाहेर यसो गर्दैनन्। यी कारणहरूले गर्दा यसो गरिएको हुँदैन। अनि, तिनीहरूले केको लागि यसो गरिरहेका हुन्छन् त? तिनीहरूले छोराछोरीको लागि यसो गरिरहेका हुन्छन्। छोराछोरीले यो कुरा बुझ्दैनन् र आमाबुबालाई दोषसमेत दिन्छन्—के यो विश्वासघाती कार्य होइन र? (हो।) यदि छोराछोरीले आमाबुबाका अभिप्रायहरू बुझ्दैनन् भने, तिनीहरू आमाबुबासँग विमत हुन सक्छन्, यहाँसम्म कि तिनीहरूले विवाद पैदा गर्न र आमाबुबाको भावनामा चोट पुर्याउनसमेत सक्छन्। त्यसोभए, के तिमीहरू परमेश्वरको हृदय बुझ्छौ त? यो सत्यता बुझ्नुसँग सम्बन्धित कुरा हो। किन परमेश्वर मानिसहरूका आफ्नै हित र महत्त्वाकाङ्क्षाहरू पोषण गर्ने अभ्यासलाई निन्दा गर्नुहुन्छ? के परमेश्वर स्वार्थी हुनुभएर हो? के परमेश्वर मानिसहरूलाई दरिद्र र दयनीय पार्न व्यक्तिगत हितहरू नपछ्याउनू भनेर भन्नुहुन्छ? (होइन।) त्यस्तो अवश्यै होइन। परमेश्वर मानिसहरूका लागि सर्वोत्तम कुरा चाहनुहुन्छ, र परमेश्वर मानवजातिलाई आशिष् दिन र मानिसहरूलाई सुन्दर गन्तव्यमा लैजान आफ्नो काम गर्न र मानिसलाई मुक्ति दिन आउनुहुन्छ। परमेश्वरले गर्नुहुने सबै कुरा मानिसहरूले सत्यता र जीवन प्राप्त गरून् भनेर हो, ताकि तिनीहरू परमेश्वरको प्रतिज्ञा र आशिष्हरू प्राप्त गर्न योग्य हुन सकून्। तैपनि, मानिसहरूलाई शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको छ र तिनीहरूसँग भ्रष्ट स्वभाव छ, र तिनीहरूले सत्यता र जीवन प्राप्त गर्न धेरै कष्ट भोग्नुपर्छ। यदि सबैजना देहका लालची इच्छाहरू सन्तुष्ट पार्न व्यक्तिगत हितहरू पछ्याउँछन् र सुखी जीवन बिताउन चाहन्छन्, तर सत्यता पछ्याउने प्रयास गर्दैनन् भने, परिणामहरू के हुनेछन्? तिनीहरूले सत्यता प्राप्त गर्न, र शुद्धीकरण र मुक्ति पाउन सक्दैनन्। तिनीहरूले मुक्ति नपाउनुको परिणाम के हुन्छ? तिनीहरू सबै प्रकोपहरूमा मर्नैपर्छ। के यो देहसुखमा डुब्ने समय हो? होइन। जसले सत्यता प्राप्त गर्दैन ऊ मर्नैपर्छ। त्यसैले, मानिसहरूले आफ्ना देहगत हितहरू त्यागून् र सत्यता पछ्याऊन् भन्ने परमेश्वरको माग मानिसहरूका खातिर, तिनीहरूको जीवनका खातिर, र तिनीहरूका मुक्तिका खातिर हो। मानिसहरूले सत्यता प्राप्त गरी मुक्ति पाएपछि, परमेश्वरका प्रतिज्ञा र आशिष्हरू कुनै पनि बेला आउनेछन्। परमेश्वरले मान्छेलाई दिनुहुने आशिष्हरू मानिसहरूले कल्पना गर्ने देहसुखभन्दा कति सय वा कति हजार गुणा बढी हुनेछन्, कसलाई के थाहा र। अनि, किन मानिसहरूले तिनलाई देख्न नसकेका हुन्? के सबै मानिसहरू यी कुराहरूप्रति अन्धा भएका हुन्? त्यसोभए, किन परमेश्वरले मानिसहरूलाई सधैँ आफ्ना हितहरू पन्छाएर परमेश्वरका हितहरू र परमेश्वरको घरका हितहरू रक्षा गर्न लगाउनुहुन्छ? यो कुरा कसले व्याख्या गर्न सक्छ? (मानिसहरूलाई शैतानले भ्रष्ट तुल्याएको हुनाले, र तिनीहरूको हित सत्यताअनुरूप नहुने हुनाले, परमेश्वर तिनीहरूलाई व्यक्तिगत हितहरू त्याग्न लगाउनुहुन्छ। मानिसहरूलाई परमेश्वरको घरका हितहरू रक्षा गर्न लगाउँदा, परमेश्वरले मानिसहरूलाई कसरी आफूलाई आचरणमा ढाल्ने भनेर सिकाइरहनुभएको हुन्छ। किनभने परमेश्वरले गर्नुहुने सबै काम मानिसहरूलाई मुक्ति दिनलाई हो, र यदि कसैलाई परमेश्वरको घरका हितहरू रक्षा गर्न आउँदैन भने, ऊ मानव कहलिन लायक हुँदैन।) तैँले भनेको कुरामा केही व्यावहारिक बुँदाहरू छन्। (म एउटा कुरा थप्न चाहन्छु। म ख्याति, प्राप्ति, र हैसियतप्रति तल्लीन थिएँ। मलाई लाग्थ्यो, मसँग केही वरदान छ र त्यसैले मलाई बढुवा गरी सुपरभाइजर बनाइनुपर्छ। तैपनि, हरेकपटक निर्वाचन हुँदा, म हार्थेँ, र आफ्नो हृदयमा परमेश्वरविरुद्ध गुनासो गर्थेँ—किन परमेश्वरले मेरो यो सानो इच्छा पनि पूरा नगरिदिनुभएको? पछि गएर, केही असफलताहरू अनुभव गरेपछि, मैले परमेश्वरका वचनहरू पढेँ र आफ्नो बारे चिन्तन गरेँ, र ख्याति, प्राप्ति, र हैसियत पाउने मेरो खोजको कारण नै म प्रायजसो डाहा र झगडामा संलग्न हुने, अनि विश्वासी दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर सहकार्य नगर्ने गर्दो रहेछु भन्ने कुरा पहिचान गरेँ। मैले जीवनमा कुनै प्रगति नगरेको मात्रै होइन, परमेश्वरको घरको काममा केही घाटा पनि गराएको थिएँ। अनि मैले महसुस गरेँ, ख्याति, प्राप्ति, र व्यक्तिगत हितहरू पछ्याउनु सही जीवन दृष्टिकोण वा पछ्याउनुपर्ने सही उद्देश्य होइन रहेछ, यो त मानिसहरूलाई बहकाउन शैतानले मानिसहरूमा हालिदिएको गलत दृष्टिकोण रहेछ, र यस्तो खोज अत्यन्तै खतरनाक हुने रहेछ। मानिसहरूमा समस्या ल्याउन चाहेर वा तिनीहरूविरुद्ध कठोर हुन चाहेर नभई, यो अत्यन्तै खतरनाक मार्ग भएकोले, र यस्ता खोजहरूले व्यक्ति अन्ततः खाली हात मात्रै हुन सक्ने भएर परमेश्वरले तिनीहरूलाई ख्याति, लाभ र हैसियत पछ्याउनु हुँदैन भनेर भन्नुहुन्छ।) यहाँ “खाली हात” र “अत्यन्तै खतरनाक” भन्ने शब्दहरूद्वारा, उहाँले उल्लेख गर्नुभएको खतरा के हो, तिमीहरूलाई के लाग्छ? के यो साँच्चै खाली हात हुने मात्रै कुरा हो, र योभन्दा बढी अरू केही होइन? यो कस्तो मार्ग हो? (विनाशको मार्ग।) यो खोज परमेश्वरलाई प्रतिरोध गर्ने मार्ग हो। यो सत्यता पछ्याउनु होइन, बरु हैसियत र प्रतिष्ठा पछ्याउनु हो। यो ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नु हो। तैँले आफ्ना इच्छा र आकाङ्क्षाहरूलाई जति नै वैध ठाने पनि, परमेश्वरले चाहनुहुने कुरा यो र यसप्रकारको खोज होइन। तैँले यसरी खोजी गरेको परमेश्वर चाहनुहुन्न। यदि तँ आफ्नै मार्गमा लागिरहन जिद्दी गर्छस् भने, तेरो अन्तिम परिणाम भनेको तँ खाली हात हुने मात्रै हुँदैन, बरु तँ त परमेश्वरको प्रतिरोध गर्ने मार्ग हिँड्नेछस्। यसमा के खतरा छ? तैँले परमेश्वरको प्रतिरोध गर्नेछस्, परमेश्वरविरुद्ध कोलाहल मच्चाउनेछस् र उहाँको विरोध गर्नेछस्, र उहाँविरुद्ध खडा हुनेछस्, र यसको परिणाम विनाश हुनेछ। थप्नुपर्ने अरू केही छ? (परमेश्वर, म एउटा कुरा थप्न चाहन्छु। भर्खरै परमेश्वरले सोध्नुभयो, किन परमेश्वर मानिसहरूले आफ्नै हितहरू रक्षा गरेको नभई, परमेश्वरको घरका हितहरू रक्षा गरेको चाहनुहुन्छ? मैले बुझेअनुसार, परमेश्वरले सबथोक सृष्टि गर्नुभयो, र सबथोक परमेश्वरबाट आउँछन्। परमेश्वरले सृष्टि गर्नुभएको सबथोक मानिसहरूकै लागि हुन्। परमेश्वरले जे गर्नुभए पनि—यो सब काम गर्न उहाँ दुईपटक देह बन्नु, र अहिले मण्डली स्थापना गर्ने यो सारा काम गर्नुलगायत—यो सब वास्तवमा मानिसहरूलाई मुक्ति दिनलाई हो। मानिसहरूले परमेश्वरमा विश्वास गरेपछि, मण्डली जीवन जिउन थालेपछि, र कर्तव्य निभाउन सक्ने भएपछि, तिनीहरूले मुक्तिको मार्ग प्राप्त गर्छन्। त्यसैले, परमेश्वरले हामीलाई आफ्ना व्यक्तिगत हितहरू पन्छाउन लगाउनु भनेको बञ्चिति होइन, किनभने परमेश्वरका हित र परमेश्वरको घरका हितहरू रक्षा गर्दा अन्ततः हामीलाई नै फाइदा हुन्छ।) एकदम राम्रो। तिमीहरूले सङ्गति गरेको कुराको सामान्य अर्थ आधारभूत रूपमै सही छ। कति मानिसहरूले आफ्नै व्यक्तिगत अनुभवहरूबारे कुरा गर्छन्, र अरूले यसबारे सैद्धान्तिक दृष्टिकोणबाट कुरा गर्छन्। आधारभूत रूपमा तैँले बुझेको कुरा कस्तो हुन्छ भने, परमेश्वरका हितहरू उचित छन् र मानिसहरूका हितहरू उचित छैनन्। परमेश्वरका हितहरूलाई मात्रै हितहरू भनेर भन्न सकिन्छ, जबकि मानिसहरूका हितहरू अस्तित्वमा रहनु हुँदैन। खासगरी, “मानिसहरूका हितहरू”—यो वाक्यांश, यो अभिव्यक्ति, यो तथ्य—मानिसहरूले आनन्द लिनुपर्ने कुरा होइन। परमेश्वरका हितहरू सबै कुराभन्दा पहिले आउँछन् र तिनको प्रतिरक्षा गरिनुपर्छ। आधारभूत रूपमा तैँले बुझेको कुरा यही हो। भन्नुको अर्थ, मानिसहरूमा परमेश्वरका हितहरू रक्षा गर्ने जिम्मेवारी हुनुपर्छ र तिनीहरूले परमेश्वरका हितहरूलाई सही रूपमा हेर्नुपर्छ, जबकि मानिसहरूका हितहरूलाई तिरस्कारसाथ लिनु र खोस्नुपर्छ, किनभने मानिसहरूका हितहरू त्यति वैभवपूर्ण हुँदैनन्। मानव दृष्टिकोणबाट हेर्दा—मूल रूपमा मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ, र भित्री रूपमा तिनीहरू भ्रष्ट स्वभावले दूषित भएका हुन्छन्—त्यसैले मानिसहरूका सबै हितहरू, तैँले तिनलाई जसरी हेरे पनि, र ती देखिने भए नि वा नदेखिने भए नि, ती सबै अवैध श्रेणीमा पर्छन्। तसर्थ, मानिसहरूले ती कुराहरू पन्छाउन सके नि नसके नि, आत्मपरक रूपमा चाहिँ तिनीहरूले मानिसहरूका हितहरू पन्छाउनुपर्छ, र परमेश्वरका हितहरूको लागि लड्नु र प्रतिरक्षा गर्नुपर्छ भनेर महसुस गरिसकेका छन्। यो कुरामा सबैको सहमति छ। अब अहिले हामी सहमतिमा पुगिसकेका हुनाले, परमेश्वरका हितहरू वास्तवमा के-के हुन् भन्नेबारे सङ्गति गरौँ।
परमेश्वरका हितहरू वास्तवमा के-के हुन् त? के परमेश्वरका हितहरू, परमेश्वरको घरका हितहरू, र मण्डलीका हितहरू सबै एउटै हुन् त? “परमेश्वर” भन्ने शब्द एउटा पदवीनाम हो, र परमेश्वरको सारको समानार्थी शब्द पनि हो भनेर भन्न सकिन्छ। “परमेश्वरको घर” र “मण्डली” चाहिँ के हुन् त? दायराको हिसाबमा परमेश्वरको घर निकै व्यापक हुन्छ, तर मण्डली निश्चित हुन्छ। के परमेश्वरका हितहरू, परमेश्वरको घरका हितहरू, र मण्डलीका हितहरूलाई उस्तै मान्न सकिन्छ त? (अहँ, सकिँदैन।) कति मानिसहरू सकिँदैन भनेर भन्छन्, तर के तिनलाई वास्तवमै त्यसो गर्न सकिन्छ त? के परमेश्वरको घरका प्रशासनिक आदेशहरू, मण्डलीका प्रशासनिक आदेशहरू, र परमेश्वरले जारी गर्नुभएका प्रशासनिक आदेशहरू एउटै कुरा होइनन् र? (हो।) ती सबै एउटै कुरा हुन्। यो दृष्टिकोणबाट हेर्दा, यी तीन वटै हितहरूलाई एकअर्कासँग तुलना गर्न सकिन्छ। परमेश्वरको घर परमेश्वर र उहाँका चुनिएका मानिसहरूले गर्दा मात्रै अस्तित्वमा आउँछ, र मण्डली परमेश्वरको घरका यी चुनिएका मानिसहरूले गर्दा मात्रै अस्तित्वमा आउँछ। मण्डली परमेश्वरको घरको अझै निर्दिष्ट “अधीनस्थ इकाइ” हो। परमेश्वरको घर बृहत् शब्द हो, तर मण्डली योभन्दा अलि निर्दिष्ट शब्द हो। त्यसोभए के परमेश्वरका हितहरू, परमेश्वरको घरका हितहरू, र मण्डलीका हितहरूलाई उस्तै मान्न सकिन्छ त? के तिमीहरू यी कुराहरूलाई समान रूपमा लिनुपर्छ भन्ने सोच्छौ? थाहा छैन? त्यसोभए, सुरुमा विश्लेषण गर्न तिनलाई तुलना गर्ने प्रयास गरौँ। उदाहरणको लागि, परमेश्वरको महिमा परमेश्वरको हित हो। तर के यो परमेश्वरको घरको महिमा हो भनेर भन्नु ठीक हुन्छ? (हुँदैन।) त्यो ठीक हुँदैन। परमेश्वरको घर एउटा नाम हो, र यसले परमेश्वरको सार प्रतिनिधित्व गर्दैन। अनि, के परमेश्वरको महिमा मण्डलीको महिमा हो भनेर भन्नु ठीक हुन्छ? (हुँदैन।) अवश्य नै त्यो पनि ठीक हुँदैन। मण्डलीको महिमा सबै विश्वासी दाजुभाइ-दिदीबहिनीहरूको महिमा हो। यसलाई परमेश्वरको महिमासँग तुलना गर्नु अपमानजनक हुनेछ। मानिसहरूले यो महिमा लिन सक्दैनन्, न त परमेश्वरको घरले न त मण्डलीले नै यसलाई लिन सक्छ। यस दृष्टिकोणबाट भन्नुपर्दा, के परमेश्वरका हितहरू, परमेश्वरको घरका हितहरू, र मण्डलीका हितहरूलाई उस्तै मान्न सकिन्छ? (अहँ, सकिँदैन।) अहँ, सकिँदैन। अर्को दृष्टिकोणबाट हेर्दा, के परमेश्वरले गर्नुहुने कामको एउटा भाग, परमेश्वरको घरको कामको एउटा भाग, र मण्डलीको कामको एउटा भागलाई उस्तै मान्न सकिन्छ त? उदाहरणको लागि, परमेश्वरले मानिसहरूलाई सुसमाचार प्रचार गर्न र परमेश्वरका वचनहरू प्रसार गर्न लगाउनुहुन्छ। यो परमेश्वरको अभिप्राय हो, र यो परमेश्वरले मानिसहरूलाई दिनुहुने आज्ञा पनि हो। जब परमेश्वरको घरलाई यो आज्ञा दिइन्छ, तब के यो कामलाई परमेश्वरले योजना गर्नुहुने कामसँग उस्तै मान्न सकिन्छ? परमेश्वरको आज्ञा पनि उहाँको कामको भाग हो, र यो निश्चित भागलाई परमेश्वरले योजना गर्नुहुने कामसँग उस्तै मान्न सकिन्छ। त्यसोभए जब यो आज्ञा मण्डलीलाई दिइन्छ, तब के यसलाई परमेश्वरको कामको रूपमा लिन सकिन्छ त? (सकिन्छ।) हो, सकिन्छ। यी दुईमध्ये एउटा उदाहरण परमेश्वरको सारसँग सम्बन्धित छ, र त्यो अवस्थामा परमेश्वर, परमेश्वरको घर, र मण्डलीलाई उस्तै मान्न सकिँदैन। अनि, अर्को उदाहरण परमेश्वरले गर्नुहुने काम, परमेश्वरको आज्ञा, र अझै निर्दिष्ट रूपमा, हरेक व्यक्तिको लागि परमेश्वरले दिनुभएका मापदण्डहरूसँग सम्बन्धित छ—यी कुराहरूलाई चाहिँ उस्तै मान्न सकिन्छ। जब परमेश्वरको महिमा, परमेश्वरको पहिचान, परमेश्वरको सार, र परमेश्वरको गवाहीसँग सम्बन्धित कुराहरूको प्रसङ्ग आउँछ, तब के परमेश्वर, परमेश्वरको घर, र मण्डलीलाई समान मान्न सकिन्छ त? (सकिँदैन।) परमेश्वरको घर र मण्डलीमा यो गवाही र महिमा हुन सक्दैन, र यसलाई परमेश्वरसँग उस्तै मान्न सकिँदैन, तर कुनै निर्दिष्ट काम वा निश्चित आज्ञाको कुरा गर्नुपर्दा, तिनलाई उस्तै मान्न सकिन्छ। यसभन्दा पहिले हामीले परमेश्वरको घर र मण्डलीका हितहरूबारे सङ्गति गरेका थियौँ, र त्यसबारे हामीले धेरै कुरा गरेका थियौँ। आज हामी परमेश्वरका हितहरू वास्तवमा के हुन्, र मानिसहरूलाई थाहा नभएका र मानिसहरूले कहिल्यै विचार नगरेका, र परमेश्वरसँग नजिक रूपमा सम्बन्धित र परमेश्वरका हितहरूका रूपमा गनिने कुराहरू वास्तवमा के-के हुन् भन्नेबारे सङ्गति गर्न ध्यान दिनेछौँ। चाहे नामपद, भनाइ, वा चाहे परमेश्वरको सार र पहिचानसँग सम्बन्धित कुनै कुरा होस्, ती कुन-कुन कुराहरूचाहिँ परमेश्वरका हितहरू हुन् त? (परमेश्वरको महिमा।) परमेश्वरको महिमा, निश्चय नै मानिसहरूबाट परमेश्वरले प्राप्त गर्नुहुने गवाही हो। अरू के छ? परमेश्वरको काम, परमेश्वरको व्यवस्थापन योजना, परमेश्वरको नाम, परमेश्वरको गवाही, परमेश्वरको पहिचान, र परमेश्वरको हैसियत—यी सबै उहाँका हितहरू हुन्। परमेश्वरको हकमा भन्नुपर्दा, उहाँले रक्षा गर्न चाहनुहुने सबभन्दा मूल्यवान् कुरा के हो? के यो परमेश्वरको नाम, परमेश्वरको महिमा, परमेश्वरको गवाही, वा परमेश्वरको पहिचान र हैसियत हो? ठ्याक्कै के हो? परमेश्वरले रक्षा गर्न चाहनुहुने सबैभन्दा मूल्यवान् कुरा मानवजातिलाई मुक्ति दिने परमेश्वरको व्यवस्थापन योजना हो। परमेश्वरको ६,००० वर्षे व्यवस्थापन योजना भनेको परमेश्वरले ६,००० वर्षको अवधिमा पूरा गर्ने योजना गर्नुभएको सबै काम हो। परमेश्वरको लागि, यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। यो भन्न सकिन्छ कि, सृष्टि गरिएको मानवजातिको नजरमा देखिने परमेश्वरको हित पनि यही नै हुनुपर्छ। परमेश्वरका हितहरूबारे मानिसहरूले धेरथोर रूपमा के बुझ्न सक्छन्, र मानिसहरूले के बुझ्नुपर्छ भन्ने कुरालाई मूलतः यतिमै रोक्न सकिन्छ। यसपछि, हामी परमेश्वरको घरका हितहरूबारे कुरा गरौँ। परमेश्वरको घरका हितहरूबारे कुरा गर्नुपर्दा, परमेश्वरको नाम, परमेश्वरको महिमा, र परमेश्वरको गवाही रक्षा गर्नुबाहेक, परमेश्वरले मानवजातिलाई अरू के रक्षा गर्ने आज्ञा दिनुभएको छ? (परमेश्वरको व्यवस्थापन योजना।) ठीक भन्यौ, मानवजातिलाई परमेश्वरले दिनुभएको सबैभन्दा ठूलो आज्ञा नै परमेश्वरको घरको सबैभन्दा ठूलो हित हो। त्यसोभए यो हित के हो त? यो परमेश्वरको ६,००० वर्षे व्यवस्थापन योजना मानवजातिमाझ लागू गर्नु हो, र यसमा अवश्य नै हरकिसिमका पक्षहरू समावेश छन्। त्यसोभए यसमा के-के समावेश छन् त? यसमा मण्डली स्थापना र गठन गर्ने, र मण्डलीको कामका विभिन्न विषयवस्तु र परमेश्वरको सुसमाचार फैलाउने कार्य बिनाबाधा अघि बढून् भनेर मण्डलीका सबै स्तरका अगुवा र कामदारहरू उत्पादन गर्ने कुरा समावेश छन्—यी सबै कुरा मण्डलीका हितहरूसँग सम्बन्धित छन्। परमेश्वर, परमेश्वरको घर, र मण्डलीका हितहरूको लागि सबैभन्दा महत्त्वपूर्ण कुराहरू यिनै हुन्, र यीबारे हामीले प्रायजसो कुरा गरिरहन्छौँ। परमेश्वरको काम फैलियोस्, परमेश्वरको व्यवस्थापन योजना बिनाबाधा अघि बढोस्, मानवजातिमाझ परमेश्वरको अभिप्राय र परमेश्वरको इच्छा बिनाबाधा पूरा होस्, र अझै धेरै मानिसहरू परमेश्वरअघि आउन सकून् भनेर परमेश्वरका वचनहरू मानिसहरूमाझ अझै व्यापक रूपमा फैलिन, प्रवर्धन हुन, र प्रसार हुन सकून्—परमेश्वरको सारा कामका उद्देश्य र केन्द्र यिनै हुन्। त्यसैले, परमेश्वरको घर र मण्डलीका हितहरूसँग सम्बन्धित जुनसुकै कुरा परमेश्वरको इच्छा र परमेश्वरको व्यवस्थापन योजनासँग निश्चय नै सम्बन्धित हुनुपर्छ। तोकेरै भन्नुपर्दा, यो हरेक युग र हरेक चरणमा, परमेश्वरको काम बिनाबाधा अघि बढ्न र फैलिन सक्छ सक्दैन, र यो मानवजातिमाझ सहजसाथ भइरहेको र सहजसाथ अघि बढिरहेको छ छैन भन्ने कुरा हो। यदि यो सब सामान्य रूपमा अघि बढिरहेको छ भने, परमेश्वरको घर र मण्डलीका हितहरूको रक्षा हुनेछ, र परमेश्वरको महिमा र परमेश्वरको गवाहीको रक्षा हुनेछ। यदि परमेश्वरको घर र मण्डलीमा परमेश्वरको काम रोकावटमा पर्छ र बिनाबाधा अघि बढ्न सक्दैन, र परमेश्वरको अभिप्राय र परमेश्वरले योजना गर्नुहुने काम विघ्नबाधामा पर्छ भने, परमेश्वरको घर र मण्डलीका हितहरूमा निश्चय नै ठूलो हानि हुनेछ—यी कुराहरू जोडिएका हुन्छन्। भन्नुको अर्थ, जब परमेश्वरको घर र मण्डलीका हितहरूलाई ठूलो हानि वा बाधा पुग्छ, तब परमेश्वरको व्यवस्थापन योजनामा निश्चय नै गम्भीर अवरोध आउनेछ, र परमेश्वरका हितहरूमा पनि ठूलो हानि पुग्नेछ।
परमेश्वरका हितहरू के-के हुन् भन्नेबारे सङ्गति गरिसकेपछि, अब हामी मानिसहरूका हितहरू के-के हुन् भन्नेबारे कुरा गरौँ। हामीले भर्खरै मानिसहरूका हितहरूबारे थोरै कुरा गर्यौँ, अब हामी मानिसहरूका हितहरूको प्रकृतिलाई परिभाषाको हिसाबमा कुरा गरौँ, र तिनलाई चित्रण गरौँ। परमेश्वर किन मानिसहरूलाई आफ्ना हितहरू पन्छाउन लगाउनुहुन्छ? के मानिसहरूमा यो अधिकार हुँदैन र? के परमेश्वर मानिसहरूलाई यो अधिकार दिनुहुन्न र? के मानिसहरू यस्ता अधिकार पाउन लायक हुँदैनन् र? के त्यस्तो हुँदैन र? हामीले भर्खरै कुरा गरेका मानिसहरूका हितहरूका यी विभिन्न पक्षहरू हेर्दा, मानिसहरूले केको लागि हितहरू पछ्याउँछन्? (आफ्नो लागि।) “आफ्नो लागि” भन्नु त सामान्यीकरण भयो। “आफ्नो लागि” भन्नाले को पर्यो? (शैतानहरू।) यदि मानिसहरूले सत्यता बुझेर सत्यताअनुसार जिउन सक्छन् भने, र तिनीहरूले स्वभाव परिवर्तन गरेर मुक्ति पाउँछन्, र आफूले चाहेको कुरा पछ्याउँछन् भने, के यो पछ्याइ परमेश्वरसँग मिल्दो हुँदैन र? तर परिवर्तन भएर मुक्ति पाउनुपहिले, मानिसहरूले पछ्याउने एउटै कुरा ख्याति र प्राप्ति, अर्थात् देहसँग सम्बन्धित असंख्य पक्षहरू हुन्; यी कुराहरू सत्यताप्रति अत्यन्तै शत्रुवत् र विरोधाभासपूर्ण हुन्छन्, ती सत्यताका अत्यन्तै उल्लङ्घन हुन्, र ती सत्यताविपरीत छन्। यदि कसैले सत्यलाई प्रेम गर्छु भन्छ र उनीहरू सत्यको पछि लाग्छौँ भनी भन्छन्, तर सारगत रूपमा उनीहरूको पछ्याउने लक्ष्य भनेको, आफैलाई विशिष्ट बनाउनु, धाकरवाफ देखाउनु, मानिसहरूलाई उनीहरूको बारेमा उच्च सोच्ने बनाउनु, उनीहरूका आफ्नै स्वार्थ पूरा गर्नु हो र उनीहरू परमेश्वरमा समर्पित हुन वा उहाँलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य निर्वाह गर्दैनन्, बरु त्यसको सट्टा ख्याति, प्राप्ति र हैसियत हासिल गर्न कर्तव्य निर्वाह गर्छन् भने, उनीहरूको खोजी अवैध हुन्छ। यस्तो मामिला हुँदा, जब मण्डलीको कामको कुरा आउँछ, के उनीहरूका कार्यहरू बाधा-व्यवधान हुन्छन्, कि उनीहरूले यसलाई अगाडि बढाउन सहयोग गर्छन्? उनीहरू स्पष्ट रूपमा बाधा-व्यवधान हुन्; उनीहरूले यसलाई अगाडि बढाउँदैनन्। केही मानिसहरू मण्डलीको काम गर्ने झन्डा फहराउँदै, आफ्नै व्यक्तिगत ख्याति, प्राप्ति र हैसियतको पछि लाग्ने, आफ्नै उद्यममा संलग्न हुने, आफ्नै सानो समूह, आफ्नै सानो राज्य बनाउने गर्छन्—के यस किसिमका व्यक्तिहरूले आफ्नो कर्तव्य गरिरहेका हुन्छन् र? उनीहरूले गर्ने सबै कामहरूले आधारभूत रूपमा बाधा दिन्छन्, अवरोध पुऱ्याउँछन् र मण्डलीको कामलाई हानि गर्छन्। तिनीहरूको ख्याति, प्राप्ति र हैसियतको खोजीको परिणाम के हुन्छ? सबैभन्दा पहिले, यसले परमेश्वरका चुनिएका मानिसहरूले परमेश्वरका वचनहरू सामान्यतया कसरी खान्छन् र पिउँछन्, र कसरी सत्यता बुझ्छन् भन्ने कुरामा असर पुर्याउँछ, यसले उनीहरूको जीवन प्रवेशमा बाधा उत्पन्न गर्छ, उनीहरूलाई परमेश्वरमाथिको विश्वासको सही मार्गमा प्रवेश गर्नबाट रोक्छ, र उनीहरूलाई गलत मार्गमा डोर्याउँछ—र यसले चुनिएका जनहरूलाई हानि गर्छ र बरबादीमा पुर्याउँछ। अनि, यसले अन्त्यमा मण्डलीको कामलाई के गर्छ? यो बाधा, क्षति, र विघटन हो। मानिसहरूले ख्याति, प्राप्ति र हैसियतको खोजी गर्दाको परिणाम यही हो। उनीहरूले यसरी कर्तव्य निर्वाह गर्दा, के यसलाई ख्रीष्टविरोधीको मार्ग हिँड्नु भनेर परिभाषित गर्न सकिँदैन? जब परमेश्वरले मानिसहरूलाई ख्याति, प्राप्ति र हैसियत पन्छ्याउन लगाउनुहुन्छ, तब उहाँले तिनीहरूलाई छनौट गर्ने तिनीहरूको अधिकारबाट वञ्चित गरिरहनुभएको हुँदैन; बरु, ख्याति, प्राप्ति र हैसियतको पछि लाग्ने क्रममा, मानिसहरूले मण्डलीको काम र परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा बाधा र अवरोध पुर्याउँछन्, र अझ धेरै मानिसहरूलाई परमेश्वरका वचनहरू खान-पिउन र सत्यता बुझ्न, अनि परमेश्वरको मुक्ति पाउनमा समेत असर पुर्याउँछन्, त्यसैले यसो गरिन्छ। यो निर्विवाद तथ्य हो। जब मानिसहरू आफ्नै ख्याति, प्राप्ति र हैसियतको पछि लाग्छन्, तिनीहरू सत्यताको पछि लाग्दैनन् र तिनीहरूले आफ्नो कर्तव्य विश्वासयोग्य तरिकाले पूरा गर्दैनन् भन्ने कुरा निश्चित हुन्छ। तिनीहरूले ख्याति, प्राप्ति र हैसियतको खातिर मात्र बोल्ने र व्यवहार गर्नेछन्, र तिनीहरूले गर्ने सबै काम अपवादरहित रूपमा तिनै कुराको लागि हुन्छ। त्यसरी व्यवहार र काम गर्नु भनेको ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नु हो भन्नेमा कुनै सन्देह छैन; यो परमेश्वरको काममा बाधा र अवरोध पुर्याउनु हो, र यसका विविध र हरेक परिणामहरूले राज्यको सुसमाचारको फैलावट र मण्डलीभित्रको परमेश्वरको इच्छा अघि बढाउनमा रोकावट पैदा गरिरहेका हुन्छन्। त्यसकारण, ख्याति, प्राप्ति र हैसियतको पछि लाग्ने मानिसहरूले हिँड्ने मार्ग परमेश्वरको प्रतिरोध गर्ने मार्ग हो भनेर निश्चयतापूर्वक भन्न सकिन्छ। यो उहाँविरुद्ध जानीजानी प्रतिरोध गर्नु, उहाँलाई इन्कार गर्नु हो—यो परमेश्वरलाई विरोध गर्न शैतानसँग सहकार्य गर्नु र उहाँविरुद्ध उभिनु हो। यो मानिसहरूद्वारा गरिने ख्याति, प्राप्ति र प्रतिष्ठाको खोजीको प्रकृति हो। मानिसहरू आफ्ना हितहरूको पछि लाग्नुको त्रुटि भनेको उनीहरूले पछ्याउने लक्ष्यहरू शैतानका लक्ष्यहरू हुन्—र ती दुष्ट र अनुचित लक्ष्यहरू हुन्। जब मानिसहरू ख्याति, प्राप्ति र हैसियतजस्ता आफ्नै हितहरूको पछि लाग्छन्, उनीहरू अनजानमा शैतानको हतियार बन्छन्, उनीहरू शैतानका लागि निकासद्वार बन्छन्, र यसबाहेक, उनीहरू शैतानकै मूर्तरूप बन्छन्। उनीहरूले मण्डलीमा नकारात्मक भूमिका खेल्छन्; मण्डलीको कामप्रति, र मण्डलीको सामान्य जीवन र परमेश्वरका चुनिएका मानिसहरूको सामान्य खोजीप्रति, उनीहरूले पार्ने प्रभाव भनेको बाधा पुर्याउने र कमजोर पार्ने मात्र हो; उनीहरूको केवल प्रतिकूल र नकारात्मक प्रभाव हुन्छ। जब कसैले सत्यताको खोजी गर्छ, उसले परमेश्वरका अभिप्राय र उहाँको बोझलाई ख्याल गर्न सक्छ। आफ्नो कर्तव्य निर्वाह गर्दा, तिनीहरूले हरेक पक्षबाट मण्डलीको कामलाई समर्थन गर्छन्। तिनीहरूले परमेश्वरलाई उचाल्न र उहाँको गवाही दिन सक्छन्, र तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई फाइदा पुर्याउँछन्, र साथ दिन्छन्, र भरणपोषण गर्छन्, अनि परमेश्वरले महिमा र गवाही प्राप्त गर्नुहुन्छ, जसले शैतानलाई लज्जित पार्छ। तिनीहरूको खोजीको फलस्वरूप, परमेश्वरले साँच्चै नै परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने, र परमेश्वरको साँचो आराधना गर्न सक्ने सृष्टि गरिएको प्राणी प्राप्त गर्नुहुन्छ। तिनीहरूको खोजीको कारण नै परमेश्वरको इच्छा पूरा हुन्छ, र परमेश्वरको काम अघि बढ्न सक्छ। परमेश्वरको नजरमा, त्यस्तो खोजी सकारात्मक, र निष्कपट हुन्छ। परमेश्वरका चुनिएका मानिसहरूका साथै मण्डलीको कामको लागि यस्तो खोजी औधी नै फाइदाजनक हुन्छ, र यसले सबै कुरा अघि बढाउन सहयोग गर्छ, र परमेश्वरले यस्तो कुरालाई अनुमोदन गर्नुहुन्छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।