विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग पाँच) खण्ड चार
ख्रीष्टविरोधीहरू आफूलाई भव्य, महान्, र कुलीन ठान्छन्। यदि तिनीहरूले परमेश्वरका वचनहरू पढ्नुपर्यो भने, तिनीहरूले दिव्य वाणीहरू, अर्थात् तेस्रो स्वर्गबाट परमेश्वरले बोल्नुभएका वचनहरू नै रोज्नुपर्छ, वा आमसाधारण मानिसहरूलाई बुझ्न र राम्रोसँग बोध गर्न गाह्रो हुने परमेश्वरका केही गहन वचनहरू नै पढ्नुपर्छ। तिनीहरूले परमेश्वरका वचनहरूमा सत्यता वा अभ्यासको मार्ग चाहँदैनन्, बरु तिनीहरूका आफ्नै जिज्ञासा, खोक्रा सोच, महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्ने चाहना राख्छन्। त्यसैले, यदि तैँले आफ्नो वरपरका केही मानिसहरूले परमेश्वरका वचनहरूका बढी सामान्य र सजिलै बुझिने भागहरू, अर्थात् मानवताको दृष्टिकोणबाट बोलिएका परमेश्वरका वचनहरूलाई बेवास्ता गरेको, वा सङ्गीत भरेपछि तिनलाई गाउने कामसमेत नगरेको, बरु चयनशील तरिकाले परमेश्वरका वचनहरूलाई हेरेको, सुनेको वा पढेको देखिस् भने, यस्ता मानिसहरूमा एउटा समस्या हुन्छ। कतिपयले सोध्न सक्छन्, “कस्तो समस्या? के यो तिनीहरूको सोचाइको समस्या हो कि मनोवैज्ञानिक समस्या हो?” दुवै होइन; यस्ता मानिसहरूमा स्वभावको समस्या हुन्छ। के तिमीहरूले कतिपय मानिसहरूले परमेश्वरका वचनका भजनहरू गाउँदा दैनिक जीवनका सत्यतासँग सम्बन्धित भजनहरू नगाउने, आफूलाई चिन्नेबारेका भजनहरू गाउन अनिच्छुक हुने, मानिसहरूका भ्रष्ट स्वभाव, धार्मिक धारणा, र परमेश्वरमा विश्वास गर्नेबारेमा रहेका गलत विचारहरू खुलासा गर्ने भजनहरू गाउन नचाहने, साथै मानिसहरूलाई इमानदार हुन माग गर्ने परमेश्वरका भजनहरू गाउन अनिच्छुक हुने गरेको देखेका छौ? खासगरी परमेश्वरको देहधारणसम्बन्धी वचन र विषयवस्तुहरू, र परमेश्वरको नम्रता र गुप्तताको गवाही दिने, देहधारी परमेश्वरको प्रशंसा गर्ने र गवाही दिने भजनहरू तिनीहरूले एक शब्दसमेत गाउँदैनन्, र अरू कसैले गाउन थाल्नेबित्तिकै तिनीहरू घिन महसुस गर्छन्। तर जब तिनीहरूले स्वर्गको परमेश्वर र परमेश्वरका आत्माको गवाही दिने र प्रशंसा गर्नेबारे, परमेश्वरको धर्मी स्वभाव, पराभौतिकता, कृत्य, प्रशासनिक आदेशहरू, र क्रोधको गवाही दिनेबारे गाउँछन्, तिनीहरूले ठूलो जोशसाथ गाउने गर्छन् र एक अवर्णनीय भावसमेत प्रकट गर्छन्। तिनीहरूले यस्ता भजनहरू गाउँदा, तिनीहरू भयानक बन्छन्; तिनीहरूले अनुहार बिगार्छन्, र तिनीहरूको दुष्ट चालढाल देखा पर्छ। परमेश्वरको धर्मी र प्रतापी स्वभावबारे गाउँदा, तिनीहरूले झोकमा टेबुल ठटाउँछन् र खुट्टा बजार्छन्, र तिनीहरू एक स्तरको आक्रोशमा पुग्छन्; परमेश्वरले क्रोध प्रकट गर्नुभई सारा मानवजातिमाथि महाविपत्ति ल्याउनुहुनेबारे गाउँदा, तिनीहरू दाह्रा किट्दै गाउँछन्, जसले गर्दा तिनीहरूको मुहार रातो र सुन्निएको हुन्छ। के यस्ता मानिसहरूको आत्मामा समस्या हुँदैन र? उदाहरणको लागि, परमेश्वरले भन्नुहुन्छ, “जब म ठूलो क्रोध प्रकट गर्छु, तब हरेक देश हल्लिनेछ”; यस भनाइलाई लयमा हाल्दा यो प्रथम पुरुषबाट तृतीय पुरुष “जब परमेश्वरले ठूलो क्रोध प्रकट गर्नुहुन्छ, तब देशहरू हल्लिनेछन्” भन्ने बन्छ। सामान्य मानसिकताले यी परमेश्वरका वचनहरू हुन् भन्छ, यो परमेश्वरका वचनहरू गाएर उहाँको स्वभाव बुझ्नु हो, र यो परमेश्वरको स्वभाव र मानसिकता, साथै परमेश्वरले तृतीय पुरुष अर्थात् मानव दृष्टिकोणबाट बोल्नुको प्रसङ्ग बुझ्नु हो भन्छ। सामान्य मानवताको समझ र प्रतिक्रिया यही हो। तर ख्रीष्टविरोधीहरूले यसलाई कसरी गाउँछन्? तिनीहरूले तृतीय पुरुषलाई परिवर्तन गर्दैनन्, तर तिनीहरूको मानसिकता सामान्य मानिसहरूको भन्दा फरक हुन्छ। सामान्य मानिसहरूले “परमेश्वर” भन्दै गाउँदा, तिनीहरूले सोच्छन्, “यी परमेश्वरका कार्यहरू हुन्, परमेश्वरका वचनहरू हुन्; परमेश्वरले यही भन्नुहुन्छ।” तर ख्रीष्टविरोधीहरूले गाउँदा के सोच्छन्? तिनीहरूको मानसिकताले भन्छ, “मैले गरेको यही हो, मैले भनेको यही हो, मैले देखाउने क्रोध र प्रकट गर्ने स्वभाव यही हो।” के यो फरक छैन र? तिनीहरूले खुलस्त रूपमा सबैका अगाडि “जब म ठूलो क्रोध प्रकट गर्छु, तब हरेक देश हल्लिनेछ” भनेर गाउने आँट नगर्ने भए पनि, तिनीहरूले हृदयमा गाउने त्यसरी नै हो। तिनीहरू आफैले नै क्रोध प्रकट गरिरहेका छन् र हरेक देश हल्लाइरहेका छन् भन्ने सोच्छन्, त्यसकारण तिनीहरू सच्चा भावनाले यी वचनहरू गाउँछन्। के यसले तिनीहरूमा समस्या छ भन्ने जनाउँदैन र? सुरुदेखि अन्त्यसम्म, ख्रीष्टविरोधीहरूले परमेश्वरलाई मान्यता नदिनुको कारण तिनीहरू परमेश्वर हुन चाहनु हो। तिनीहरू परमेश्वरलाई अस्वीकार गरेर, मानिसहरूलाई तिनीहरू परमेश्वर भएको विश्वास गराएर, साथै तिनीहरूलाई मानवजातिको परमेश्वरको रूपमा मान्यता दिन लगाएर आफूलाई स्थापित गर्न चाहन्छन्। कुरा ठ्याक्कै त्यही हो। त्यसकारण, परमेश्वरले उहाँको ईश्वरत्वमा बोल्नुभएको अनुच्छेद पढ्दा, सामान्य मानवताको समझ भएका मानिसहरूले त्यसलाई तृतीय पुरुषको दृष्टिकोणबाट बुझ्ने र प्रार्थनार्थ पढ्ने, साथै परमेश्वरका अभिप्रायहरूबारे मनन गर्ने गर्छन्। तर ख्रीष्टविरोधीहरू फरक हुन्छन्। जब तिनीहरूले यी वचनहरू गाउने वा पढ्ने गर्छन्, तिनीहरू आफैले यस्तो स्वभाव व्यक्त गर्ने, यस्तो स्वभाव र सारमा जिउने तीव्र इच्छा अनुभव गरिरहेका हुन्छन्। तिनीहरू परमेश्वरलाई प्रतिस्थापन गर्ने उद्देश्य राख्छन्, परमेश्वरको बोल्ने लवज, परमेश्वरका वाणीहरूभित्रका शैली, शब्द, र स्वभाव, उहाँको बोलीको लवज, उहाँका सारा भावहरू, र उहाँले प्रकट गर्नुहुने स्वभावहरूको अनुकरण गर्ने कोसिस गर्छन्। तिनीहरू कट्टर ख्रीष्टविरोधी हुन्। तिनीहरू परमेश्वरले झैँ बोल्न नसक्ने, परमेश्वरको स्वभाव व्यक्त गर्न नसक्ने, र अनुकरणमा असफल हुने भएकाले, जब परमेश्वरले आफ्नो ईश्वरत्वमा बोल्नुहुन्छ, तब ख्रीष्टविरोधीहरूले अन्तत: परमेश्वरको अनुकरण गर्ने र परमेश्वर हुने कोसिस गर्ने मौका देख्छन्। परमेश्वरको ईश्वरत्वको दृष्टिकोणबाट बोलिएका उहाँका वाणीहरूले ख्रीष्टविरोधीहरूलाई सङ्केत र निर्देशनहरू प्रदान गर्छन्, परमेश्वरको बोल्ने तरिका, उहाँले मानिसलाई सम्बोधन गर्न प्रयोग गर्नुहुने लवज, शैली, दृष्टिकोण र स्वरको आरोहअवरोहबारे थाहा दिन्छन्। तिनीहरूले परमेश्वरको ईश्वरत्वमा व्यक्त गरिएका उहाँका वचनहरूलाई प्रिय ठान्नु र आराधना गर्नुको एउटा लक्ष्य यही हो। त्यसकारण, दैनिक जीवनमा, केही मानिसहरूले परमेश्वरको घरको कामको लागि वा दाजुभाइ-दिदीबहिनीहरूको जीवनको लागि जिम्मेवार हुने बहानामा परमेश्वरको लवज अनुकरण गरेर अरूलाई भाषण दिएको प्रायः देख्न सकिन्छ। तिनीहरूले परमेश्वरका वचनहरूलाई समेत हुबहु उद्धृत गरेर मानिसहरूलाई भाषण दिने, निन्दा गर्ने, काटछाँट गर्ने, र खुलासा गर्ने गर्छन्। धेरै तथ्यहरूको जड र प्रसङ्गबाट जाँच्दा तिनीहरूका कार्यहरूपछाडिको उद्देश्य कुनै सच्चा बफादारी, इन्साफको बोध, वा जिम्मेवारी होइन—त्यसको साटो, तिनीहरू परमेश्वरको स्थान र दृष्टिकोणबाट परमेश्वरको काम गर्ने कोसिस गर्छन्, र परमेश्वरलाई प्रतिस्थापित गर्ने उद्देश्य राख्छन्। कति मानिसहरू भन्छन्, “तिनीहरूले कहिल्यै परमेश्वरलाई प्रतिस्थापित गर्न चाहन्छु भनेका छैनन्।” तिनीहरूले त्यसो भनिरहनु आवश्यक छैन; तिनीहरूका कार्यहरूको सार, जड र प्रेरणालाई हेरेर नै यो बताउन सकिन्छ; यो निर्क्योल गर्न सकिन्छ कि यही नै ख्रीष्टविरोधीको बाधा र विधिहरू हो। प्रकटीकरण जेजस्तो भए पनि, परमेश्वर हुन चाहनु, जुनसुकै तवरले यस्तो नियत बोक्नु—के सामान्य मानवताको समझ भएको व्यक्तिले गर्नुपर्ने यही हो त? (होइन।) के यस्तो व्यक्तिलाई यसैको आधारमा मात्र ख्रीष्टविरोधी भन्न मिल्छ? (मिल्छ।) यो एउटै कुरा नै पर्याप्त छ। तेरो कद जतिसुकै ठूलो भए पनि, यदि तँ सधैँ परमेश्वर हुन चाहन्छस्, र जथाभाबी परमेश्वरको अनुकरण गर्छस्, र तँलाई परमेश्वरको रूपमा लिन अरूलाई आदेश दिन्छस् भने, यस्ता कार्य, व्यवहार र स्वभावहरूमा ख्रीष्टविरोधी सार हुन्छ। कुनै व्यक्तिलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्न यो एउटै कुरा पर्याप्त हुन्छ। यो ख्रीष्टविरोधीको स्वभाव वा थोरै ख्रीष्टविरोधीको व्यवहार होइन, बरु ख्रीष्टविरोधीको सार हुनुको प्रकटीकरण हो।
ल भन् त, प्रकृतिको हिसाबले कुन बढी गम्भीर छ: परमेश्वर हुन चाहनु कि सधैँ हैसियत खोज्ने महत्त्वाकाङ्क्षा र चाहनाहरू राख्नु? (परमेश्वर हुन चाहनु।) मानिसहरूमा महत्त्वाकाङ्क्षा र अहङ्कारी स्वभाव हुन्छन्, र तिनीहरू आफ्नो हैसियत प्रस्तुत गर्न रुचाउँछन्, र कहिलेकाहीँ यस हैसियतले दिने लाभहरूको आनन्द लिन्छन्, र यसलाई बहुमूल्य ठान्छन्—यो एउटा भ्रष्ट स्वभाव हो, र यो परिवर्तन हुन सक्छ। तर परमेश्वर हुन चाहनु, परमेश्वरको बोल्ने लवज अनुकरण गर्नु, परमेश्वरको बोल्ने शैली अनुकरण गर्नु, र पूराका पूरा परमेश्वरका वचनहरू उद्धृत गर्नु, तिनलाई हुबहु वाचन गर्नु र आफूले ठ्याक्कै परमेश्वरजस्तै बोल्न र कार्य गर्न सक्छु, आफ्नो लवज र बोल्ने शैली परमेश्वरकोसँग अत्यन्तै मिल्छ भनी अरूलाई गलत सोच्ने तुल्याउनु, र अन्त्यमा आफू परमेश्वर वा लगभग परमेश्वरजस्तै भएको भनी अरूलाई गलत विश्वास गराउनु, र कतिलाई त आफूलाई परमेश्वरको रूपमा हेर्नसमेत लगाउनु—त्यो समस्याजनक कुरा हो; यो सुल्झाउन नसकिने समस्या अर्थात् निको नहुने रोग हो। के परमेश्वर हुन चाहनु चानचुने मामला हो त? परमेश्वरको पहिचान उहाँको सारद्वारा निर्धारित हुन्छ। परमेश्वर देहधारी हुनुभएको देहको सार र स्वभाव उहाँका व्यक्तिगत प्रयत्नहरूबाट प्राप्त हुने वा समाज, राष्ट्र, मानवजाति, वा कुनै व्यक्तिद्वारा संवर्धन गरिने कुरा होइन, र यो परमेश्वर स्वयम्द्वारा संवर्धन गरिने कुरा पनि होइन। परमेश्वरको सार त परमेश्वरमा अन्तर्निहित रूपमै हुन्छ। उहाँलाई मानव सहयोग वा सहायता आवश्यक पर्दैन, न त कुनै वातावरणीय वा समयका परिवर्तनहरू नै आवश्यक पर्छ। परमेश्वरसित परमेश्वरको रूपमा उहाँको पहिचान छ, त्यसकारण उहाँको सार धेरै पहिले नै पूर्वनिर्धारित भएको छ; यो अन्तर्निहित कुरा हो। उहाँले सत्यता व्यक्त गर्ने क्षमता मानवबाट सिक्नुभएको होइन, न त यो तिनीहरूले नै विकास गरेको कुरा हो। ख्रीष्टविरोधीहरूले यस मामलालाई राम्रोसँग बोध गर्न सक्दैनन्। तिनीहरू मूर्खतापूर्वक यो विश्वास गर्छन् कि यदि तिनीहरूले परमेश्वरको बोल्ने लवज र शैलीको अत्यन्तै राम्रो अनुकरण गर्न सकेर मानिसहरूले तिनीहरूलाई अझ बढी परमेश्वरजस्तो ठानेमा तिनीहरू परमेश्वर हुन योग्य हुन्छन्। अझ भन्ने हो भने, मानिसहरूलाई अनभिज्ञ र अन्योल पार्ने केही खोक्रा, अव्यावहारिक, अबोधगम्य तथाकथित “परमेश्वरका वचनहरू” बोलेर, तिनीहरू मानिसहरूले तिनीहरूलाई परमेश्वर ठान्न सक्ने, र तिनीहरूले परमेश्वर बन्ने मौका पाउन सक्ने भन्ठान्छन्। के यो खतरनाक मामला होइन र?
ख्रीष्टविरोधीहरूका हृदयमा परमेश्वर बन्ने चाहना र महत्त्वाकाङ्क्षा सधैँ हलचल गरिरहेको हुन्छ। तिनीहरूले एकातिर परमेश्वरका वचनहरूलाई नकार्ने र निन्दा गर्ने गर्छन्, र अर्कोतिर तिनीहरू उहाँको बोल्ने लवज पनि अनुकरण गर्छन्। कस्तो घृणास्पद, दुष्ट, लज्जास्पद, र नीच कार्य! तिनीहरू परमेश्वर हुने चाहनाले आसक्त र विक्षिप्त हुन्छन्। के यो घिनलाग्दो कुरा होइन र? (हो।) के तिमीहरूमध्ये कसैले परमेश्वर हुने चाहना बोकेका छौ? जो परमेश्वर हुन चाहन्छ ऊ दोषी ठहरिनेछ! जो परमेश्वर हुन चाहन्छ ऊ नष्ट हुनेछ! यो तथ्य हो, यो बढाइचढाइ वा तँलाई तर्साउने प्रयास होइन। विश्वास लाग्दैन? कोसिस गरिहेर्। त्यसतर्फ सोच्, त्यसमाथि काम गर्, अनि तैँले त्यसलाई भित्री रूपमा सहन सक्छस् सक्दैनस् हेर्, भित्री रूपमा कस्तो महसुस हुन्छ हेर्। यदि यस्ता कार्यहरू गरेर भित्री रूपमा तँलाई खुसी, गर्विलो, र सन्तुष्ट महसुस हुन्छ भने, तँ ठीक छैनस्, र तँ खतरामा छस्। तर यदि त्यस तरिकाले काम गर्दा तँलाई आत्मग्लानि हुन्छ, विवेकले घोच्छ, अरू मानिसहरू वा परमेश्वरलाई भेट्न अति लाज लाग्छ भने, तँमा केही विवेक छ, तँमा सामान्य मानवताको केही चेतना छ। धेरै मानिसहरू परमेश्वर हुने आकाङ्क्षा राख्छन्। परमेश्वरको देहधारण भनेको के हो भनेर नबुझी, परमेश्वरको बोलीको लवज र शैली नचिनी, यो जानकारी बोध नगरी, तिनीहरूले यो कुरामा रुचि राख्न र महत्त्वाकाङ्क्षा र योजनाहरू बनाउन सक्छन्, तर कसरी अघि बढ्ने भन्ने थाहा नभएर तिनीहरूले जथाभाबी कार्य गर्ने आँट गर्दैनन्। बढीमा, तिनीहरूले आत्मिक भएको, उद्धार पाएको, पवित्र रहेको, वा मुक्तियोग्य भएको बहाना गर्छन्। तर तिनीहरूले परमेश्वरबारे केही जानकारी पाइसकेपछि, तिनीहरूका महत्त्वाकाङ्क्षाहरू अङ्कुराउन थाल्छन्, र तिनीहरूले कार्य गर्न थाल्छन्। तिनीहरूले के गर्छन्? एउटा प्रस्ट प्रकटीकरणचाहिँ तिनीहरू परमेश्वरले बोल्नुभएका गहन र बुझ्नै नसकिने वचनहरू बढीभन्दा बढी पढ्छन्। ती वचनहरूमा, तिनीहरू परमेश्वरको बोलीका मनोवृत्ति, शैली, लवज, र शब्दहरूसँग परिचित हुन्छन्, र त्यसपछि तिनीहरूले ती कुराहरू अनुकरण गर्ने र तिनलाई गहिराइमा अध्ययन गर्ने कोसिस गर्छन्। जति धेरै परिचित भयो, त्यति नै राम्रो, यहाँसम्म कि तिनीहरूले आँखा चिम्लेरै परमेश्वरको बोलीको लवज र शैली थाहा पाउन सक्छन्। ती कुराहरू तिनीहरूले गम्भीरतासाथ कण्ठ पार्छन्, र त्योसँगसँगै मानिसहरूमाझ अभ्यास र रिहर्सल गर्छन्, आफ्नो बोलीमा यो शैली, छाँट, लवज, र शब्दहरू अनुकरण गर्छन्, र त्यसपछि यो तरिकाले कार्य गर्दा र बोल्दा आफूलाई परमेश्वर भएको महसुस हुन्छ हुँदैन भनी गहिरो रूपमा अनुभव गर्छन्। जब तिनीहरू यो अभ्यासमा अझ बढी परिचित र दक्ष बन्छन्, तब तिनीहरूले थाहै नपाई आफूलाई परमेश्वरको स्थानमा राख्छन्। अचानक, कुनै दिन, कसैले भन्छ, “तिनीहरूको भावना र बोलीको लवज परमेश्वरको जस्तै-जस्तै लाग्छ। तिनीहरूसँग कुरा गर्दा परमेश्वरसँग भएझैँ महसुस हुन्छ; तिनीहरूका शब्दहरूमा परमेश्वरको बोलीको स्वाद छ।” संयोगवश यस्ता टिप्पणीहरू सुनेपछि, तिनीहरूको हृदय असीमित सन्तुष्टिले भरिन्छ, तिनीहरूलाई अन्तत: आफ्नो कामना पूरा भएको, र आफू परमेश्वर बनेको महसुस हुन्छ। के अब तिनीहरू सक्किएका होइनन् र? हिँड्नलाई अन्य मार्गहरू हुँदाहुँदै विनाशको मार्ग किन रोज्नु? के यो काल खोज्नु होइन र? यस्ता सोचहरू राख्नु नै खतरनाक हो—यी सोचहरूलाई व्यवहारमा उतार्नु त झनै खतरनाक हो। यदि कसैका कार्यहरू नियन्त्रणभन्दा बाहिर जान्छन् र तिनीहरू अन्त्यसम्म यही दिशा पछ्याउँछन्, यसमा सफल बनेर यसलाई वास्तविकता बनाउन दृढ हुन्छन् भने, तिनीहरू पूर्ण विनाशका निशाना बन्छन्। कति ख्रीष्टविरोधीहरू त वास्तवमा यसै दिशातर्फ काम र प्रयत्न गरिरहेका हुन्छन्। के तिमीहरूले यस्ता मानिसहरू देखेका वा भेटेका छौ? (म मूलभूमि चीनमा हुँदा, मैले परमेश्वरको बोलीको लवज अनुकरण गर्ने र अक्सर परमेश्वर हुने सोच राख्ने एक व्यक्ति भेटेँ। त्यो समयमा, दुईतीन जनाले उसलाई परमेश्वर ठान्थे, र एकजना त उसलाई देख्दा घुँडा टेकेर ऊसामु लम्पसार नै पर्यो।) व्यक्तिले परमेश्वर बन्न जतिसुकै कोसिस गरे पनि, त्यो निकासहीन बाटो हो। के तिमीहरूले यो कुरा छर्लङ्गै देखेका छौ? मानवजातिप्रतिका परमेश्वरका सारा वचनहरूको अभिव्यक्ति र भरणपोषणको उद्देश्य मानिसहरूलाई परमेश्वरका अभिप्रायहरू बुझ्न र मुक्ति प्राप्त गर्न मदत गर्नु हो। यदि मानिसहरूले परमेश्वरले यी सन्देशहरू व्यक्त गर्नुभएकोले, तिनीहरूले ती सन्देशहरूबाट परमेश्वर बन्ने विस्तृत कुराहरू सिक्नुपर्छ र परमेश्वर हुन, परमेश्वरको अनुकरण गर्न, परमेश्वर बन्न खोज्नुपर्छ भन्ने गलत विश्वास राख्छन् भने, तिनीहरू सिद्धिन्छन्। यो विनाशतर्फको मार्ग हो; तैँले यसलाई कहिल्यै अनुकरण गर्नु हुँदैन। कति मानिसहरू भन्छन्, “परमेश्वरको अनुकरण नगर्न अलि गाह्रो छ। परमेश्वरले बोलेको सुन्दैपिच्छे, म परमेश्वरको पहिचान बोकेर बोल्नु कति सम्मानजनक र भव्य सुनिन्छ भनेर सोच्छु। त्यो किन त्यति मधुर र मनमोहक सुनिन्छ? मलाई किन परमेश्वरले बोल्दा परमेश्वर हुनु अति राम्रो अनुभूति हो भन्ने लाग्छ? परमेश्वरको पहिचान बोक्ने व्यक्ति बोल्दा अत्यन्तै फरक सुनिन्छ।” तसर्थ, तिनीहरूले थाहै नपाई परमेश्वरका केही लवज र शब्दहरू नक्कल गर्न थाल्छन्। आत्मगत चाहनामा, तिनीहरू परमेश्वर हुन वा यति प्रस्ट रूपमा परमेश्वर बन्न नचाहे पनि, तिनीहरूले अनुकरण गर्नुको मूलजड के हो? के यो तिनीहरूले सत्यता र परमेश्वरका वचनहरूलाई प्रिय ठान्ने भएकोले हो? (होइन।) त्यसोभए के हो त? (यो परमेश्वर हुन चाहने मनसायबाट आएको हो।) यदि ममा यो पहिचान वा हैसियत थिएन र मैले यी वचनहरू बोलेको भए, कसैले मेरो अनुकरण गर्नेथियो र? मलाई कसैले चासो दिनेथिएन, मलाई कसैले उच्च ठान्नेथिएन; तथ्य त्यही होइन र? मसित यो पहिचान र हैसियत नहुँदा पनि, मैले मानिसहरूसित कुराकानी र सङ्गति गरेँ। त्यसबेला मलाई कसले गम्भीरतापूर्वक लिन्थ्यो र? तिनीहरू मलाई सानो उमेरको, उच्च शिक्षा नभएको र कुनै सामाजिक हैसियत नभएको देख्नेबित्तिकै मेरै मण्डली वा अरू कुनै मण्डलीका कसैले पनि मलाई साँच्चिकै गम्भीरतापूर्वक लिँदैनथे, न त आफ्नो कर्तव्य गरिरहेका र मसित अन्तरक्रिया गरिरहेका मानिसहरूमध्ये कसैले नै मलाई गम्भीरतापूर्वक लिन्थ्यो। मैले सही र इमानदारीसाथ बोले पनि, कसैले ध्यान दिँदैनथ्यो। किन? पहिचान वा हैसियतबिना अरूको नजरमा परिँदैन; जे बोले पनि त्यसले अर्थ राख्दैन, चाहे त्यो सही वा सत्यता नै किन नहोस्। तैँले जे बोले पनि मानिसहरूले त्यो सबै गलत हो भनेर नकार्न सक्छन्। त्यसपछि, कसैले तेरो अनुकरण गर्ला र? पहिचान वा हैसियतबिनाको निकै औसत र साधारण व्यक्ति—तेरो अनुकरण गर्ने कष्ट कसले गर्छ? मानिसहरूको नजरमा, यस्तो व्यक्ति विद्यमानताहीन हुन्छ र आदर गर्न लायक हुँदैन; यदि तिनीहरूले तँलाई हेप्दैनन् भने, तँ भाग्यमानी होस्। तेरो अनुकरण गरेर के काम? के अरूले हेयको दृष्टिले हेर्न, हेप्न, र विभेद गर्न सकून् भनेर तिनीहरूले तेरो अनुकरण गर्छन् र? मानिसहरू कसको अनुकरण गर्छन्? तिनीहरू तिनीहरूको नजरमा जसको विद्यमानता र महान्ता छ, जोसँग हैसियत र पहिचान छ, तिनकै अनुकरण गर्छन्। मानिसहरू ती व्यक्तिहरूकै अनुकरण गर्छन्। व्यक्तिले पहिचान र हैसियत प्राप्त गरेपछि, उही व्यक्तिले उही कुराहरू भने पनि, ऊ किन अरूको नजरमा फरक देखिन्छ? ऊ कसरी एक्कासी विद्यमानता भएको र अनुकरणयोग्य देखिन्छ? मानिसहरू साँच्चिकै के अनुकरण गरिरहेका हुन्छन्? तिनीहरूले स्विकार्ने, नक्कल गर्ने र आदर गर्ने कुराहरू सत्यता वा सकारात्मक कुरा नभई, बाह्य महान्ता अर्थात् देखावटी हैसियत मात्र हो। कुरा त्यही होइन र? यदि मसित कुनै पहिचान वा हैसियत नभएको भए, मैले सत्यतासँग मिल्दो कुरा जति नै बोले पनि वा जतिसुकै आत्मिक वचनहरू बोले पनि, के ती वचनहरूलाई तिमीहरूमाझ फैलाउन सकिन्थ्यो र? सकिन्नथ्यो; यसमा कसैले चासो दिने थिएन। तर मैले मेरो पहिचान र हैसियत प्राप्त गरिसकेपछि, मैले अक्सर बोलिरहने मेरा केही वचनहरू, मेरा बोलीचालीको भाषा, मेरो शब्दचयन, मेरो बोल्ने तौरतरिका र शैली—धेरै मानिसहरूले यी कुराहरू अनुकरण गर्न थाल्छन्। यो कुरा सुन्दा मलाई घिन लाग्छ। कति घिन लाग्छ? यो कुरा सुन्दा मलाई बान्ता आउला जस्तो हुन्छ। मेरो अनुकरण गर्ने जोकोहीप्रति मलाई घिन लाग्छ, मेरो अनुकरण गर्ने जोकोहीदेखि मलाई दिगमिग हुन्छ, यतिसम्म कि म तिनीहरूलाई दोषी नै तुल्याउँछु! मानिसहरूले यी कुराहरू अनुकरण गर्नुपछाडिको अभिप्राय र लक्ष्य के हो? परमेश्वरको बोलीको लवज नक्कल गर्नु, र परमेश्वर हुँदाको अनुभूति चाख्नु हो; तथ्य त्यही होइन र? यो हैसियत चाहने, हैसियतको पदबाट बोल्न चाहने, पहिचान र हैसियत भएको व्यक्तिको लवज र शैलीमा बोल्ने र कार्य गर्ने, र आफूसँग पनि हैसियत, पहिचान र मूल्य भएझैँ देखिने भन्ने कुरा हो—कुरा यति होइन र? यदि तैँले कुनै साधारण व्यक्तिको अनुकरण गरिस् भने, त्यो ठूलो समस्या होइन; बढीमा त्यो एउटा अहङ्कारी स्वभाव मात्र हो। तर यदि तैँले परमेश्वरको लवज र बोल्ने शैली अनुकरण गरिस् भने, समस्या त्यहीँबाट सुरु हुन्छ। म त भन्छु, तैँले बारुदी सुरुङमाथि पाइला टेकिरहेको हुनेछस्।
परमेश्वरका वचनहरूमा एउटा वाक्यांश छ: परमेश्वर दुष्टतालाई घृणा गर्ने परमेश्वर हुनुहुन्छ। “दुष्टतालाई घृणा गर्नु” ले के जनाउँछ? परमेश्वरको पहिचान र हैसियत अद्वितीय छन्। परमेश्वरको पवित्रता, धार्मिकता, अख्तियार, र प्रेम कुनै पनि सृजित वा असृजित प्राणीसँग हुँदैन; यी कुराहरू अनुकरण गर्ने कोसिस गर्नु ईशनिन्दा हो। तँसित यी विशेषताहरू छैनन् भने, तँ किन यी कुरा अनुकरण गर्ने कोसिस गर्छस्? तँसित यी विशेषताहरू छैनन् भने, तँ किन परमेश्वर हुने कोसिस गर्छस्? अनुकरण गर्दा, के तैँले परमेश्वर हुने अर्थात् परमेश्वर बन्ने अभिप्राय राखिरहेको हुँदैनस् र? कि तैँले परमेश्वरलाई आदर गर्ने भएकोले, उहाँको प्रेमिलोपन र सारको डाह गर्ने भएकोले, उहाँको अनुकरण गरेको होस्? कदापि होइन; त्यसको लागि तँसित चरित्र र कद छैन। तँ परमेश्वर हुने लालसा पूरा गर्न, मानिसहरूको प्रशंसा र सम्मान पाउन, र मानिसहरूमाझ परमेश्वरले झैँ व्यवहार पाउन मात्र चाहन्छस्। के यो लाजमर्दो कार्य होइन र? यो पूर्णतया अपमानजनक कार्य हो! अनुकरण आफैमा अप्रिय कुरा हो, र परमेश्वर हुने आकाङ्क्षा राख्नु घिनलाग्दो मात्र होइन; यो निन्दनीय कुरा हो। त्यसकारण, म तिमीहरूलाई गम्भीरतासाथ भन्छु, चाहे मैले जेसुकै भनेको वा जेसुकै गरेको होस्, वा चाहे तिमीहरूको हृदयमा श्रद्धा, ईर्ष्या वा डाह पैदा गराउन मैले जेसुकै भनूँ वा गरूँ, तिमीहरूले सम्झनैपर्ने एउटा कुरा छ: मेरो अनुकरण कहिल्यै नगर्नू। तिमीहरूले अनुकरण गर्ने अभिप्राय त्याग्नैपर्छ, तिमीहरूले अनुकरणको मानसिकताविरुद्ध विद्रोह गर्नैपर्छ र परमेश्वरलाई चिढ्याउनबाट जोगिनैपर्छ। यो एउटा गम्भीर मामला हो! परमेश्वरको बोलीको लवज, बोल्ने शैली, र स्वभावलाई मामुली कुराको रूपमा लिएर ओठेसेवा गर्ने, स्वेच्छाचारी रूपमा आफूअनुकूल प्रयोग गर्ने र खेलबाड गर्ने भ्रष्ट मानव परमेश्वरको लागि घिनलाग्दो हुन्छ। यदि तैँले त्यसो गर्छस् भने, तैँले परमेश्वरको स्वभाव चिढ्याइरहेको छस्—यस्तो कहिल्यै नगर्! तैँले देहधारी परमेश्वरको बोल्ने शैली र लवज अनुकरण गरेको मैले सुन्न नसके पनि, तँमा यस्तो स्वभाव र यस्ता सोचहरू छन् भन्ने थाहा पाउँदा नै मलाई पूरै घिन लाग्छ। यदि तैँले सम्पूर्ण मानवजाति वा सर्वसाधारणलाई सम्बोधन गर्ने उद्देश्यले परमेश्वरको आत्माको लवज अनुकरण गर्छस् भने, के तैँले काल खोजिरहेको छैनस् र? यसबारे सबैजना सतर्क रहनुपर्छ; यस्तो कहिल्यै नगर्! कति मानिसहरूले सोध्ने गर्थे, “परमेश्वरको स्वभाव चिढ्याउनुको अर्थ के हो?” आज, म तँलाई एउटा कुरा भन्छु: परमेश्वरको लवज र बोल्ने शैलीको नक्कल गर्नु, साथै परमेश्वरको पहिचान र हैसियतसँग सम्बन्धित शृङ्खलाबद्ध कुराहरू, चाहे ती बाह्य होऊन् वा आन्तरिक, ती सबै परमेश्वरको स्वभावविरुद्धको अपराधमा पर्छन्। तिमीहरूले कसैगरी यो सम्झनैपर्छ र यो अपराध कहिल्यै गर्नु हुँदैन! यदि तैँले यो अपराध गर्छस् र तत्काल आफूलाई सच्याउन, आफूविरुद्ध विद्रोह गर्न, र आफूलाई रूपान्तरण गर्न सक्छस् भने, आशा अझै बाँकी रहन्छ। तर यदि तँ निरन्तर यही मार्गमा लागिरहन्छस् भने, तँ एक ख्रीष्टविरोधी कहलिनेछस्, र म तँलाई सत्य बताउँछु: परमेश्वरको नजरमा, त्यसपछि कुनै सच्चिने मौका हुनेछैन—तँ पूर्ण रूपमा सक्किनेछस्। याद राख्, परमेश्वर दुष्टतालाई घृणा गर्ने परमेश्वर हुनुहुन्छ। तैँले परमेश्वरको पहिचान र सारसँग सम्बन्धित हरेक पक्षलाई पूर्णतः अधिकतम सतर्कतासाथ हेर्नुपर्छ र त्यसलाई हल्का रूपमा लिनै हुँदैन। यदि परमेश्वरको बोल्ने शैली र लवज कुनै भ्रष्ट मानवको मुखबाट व्यक्त गरिएमा, यो परमेश्वरको ठूलो अपमान र उहाँविरुद्धको ठूलो ईशनिन्दा हो, जसलाई परमेश्वरले किमार्थ सहन सक्नुहुन्न। मानवहरूले यस्तो अपराध कहिल्यै गर्नु हुँदै हुँदैन। कुरो बुझिस्? यदि तैँले यस्तो अपराध गरिस् भने, तँ मर्छस्! यदि तँ मेरो कुरा सुन्दैनस् र ममा विश्वास गर्दैनस् भने, त्यसै गरिहेर्, अनि जब तैँले साँच्चिकै आफैलाई विपत्ति निम्त्याउँछस्, तब तैँले मैले भनिनँ भनेर मलाई दोष नलगा।
अगष्ट १५, २०२०
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।